शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६२३ - जबरजस्ती करणी

भाग: ५८ साल: २०७३ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७३।१।१५।४

०६९-CR-०५६५

 

मुद्दा : जबरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादी : जिल्ला कैलाली मालाखेती गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय कैलालीमा कैदमा रहेका अमरबहादुर बोगटी

विरूद्ध

प्रत्यर्थी / वादी : कैलाली (ङ) परिवर्तित नामको जाहेरीले नेपाल सरकार

 

पीडितको उमेर १४ वर्ष रहेको कुरालाई स्वयम्‌ प्रतिवादीले पनि स्वीकार गरेबाट उमेर सम्बन्धमा विवाद देखिन आएन । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को व्यवस्थाअनुसार १६ वर्ष मुनिको बालिकालाई निजको मन्जुरी लिई वा नलिई जे जसरी करणी गरेमा पनि जबरजस्ती करणी गरेको नै ठहर्दछ । पीडितको १४ वर्षको उमेर र यस्तो कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा जबरजस्ती करणीका आवश्यक तत्त्व, जबरजस्ती करणी ठहराउन हुनुपर्ने परिस्थिति आदिका सम्बन्धमा यसमा विवेचना गरिरहनु पर्ने आवश्यकता देखिँदैन । तसर्थ यी पीडित १४ वर्षिया कैलाली ङ लाई प्रतिवादी अमरबहादुर बोगटीले जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन जाने । 

(प्रकरण नं.३)

जबरजस्ती करणी जस्तो नेपाल सरकार वादी भई चल्ने मुद्दामा पीडितको जाहेरी नै पर्नुपर्छ भन्ने पनि हुँदैन । पीडितले सामाजिक लज्जा, लाग्न सक्ने लाञ्छना, कसुरदारको डर धाक, आफ्नो चेतना स्तर, आर्थिक सामाजिक पारिवारिक स्थिति जस्ता कारणले पनि जाहेरी दिन नसक्ने अवस्था हुने हुँदा जाहेरी नपरी अन्य कुनै किसिमले घटनाको बारेमा थाहा जानकारी भएमा पनि प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउनु पर्ने 

हुन्छ । यस्तो अवस्थामा जबरजस्ती करणी जस्तो मुद्दामा हदम्यादको परम्परागत मान्यतालाई कठोरताका साथ अंगिकार गरिरहनु न्यायोचित पनि नहुने । 

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

नेकाप २०६८, अङ्क १०, पृ.१६५७

सम्बद्ध कानून :

मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. तथा ३ नं. को देहाय ३

 

सुरू तहबाट फैसला गर्ने : 

मा.जि.न्या. श्री विष्णु सुवेदी 

पुनरावेदन तहबाट फैसला गर्ने : 

मा.न्या. श्री दीपकराज जोशी

मा.न्या. श्री थीर बहादुर कार्की

 

फैसला

न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । 

मेरो मित बुबा अमर बोगटीले मिति २०६७।१।२२ गतेदेखि मिति २०६७।१०।२८ गतेसम्म मलाई विभिन्न डर त्रास देखाई मेरै घरमा आई रातको समयमा मलाई जबरजस्ती करणी गर्दै आएका हुन् । निजले गरेको जबरजस्ती करणी वीर्यबाट मेरो गर्भसमेत रहन गई मिति २०६७।१०।२९ मा मबाट नवजात शिशु छोरीको जन्मसमेत भएकोले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त । 

जिल्ला कैलाली मालाखेती गा.वि.स. वडा नं. ९ बासकोटास्थित पूर्वमा खोला, पश्चिम धर्म मल्लको घर, उत्तर सडक, दक्षिण नवराज कापडीको खेत यति चार किल्लाभित्र रहेको पीडितकै घरको तल्लो कोठामा प्रतिवादी अमर बोगटीले मिति २०६७।१।२२ देखि मिति २०६७।१०।२८ गतेसम्म विभिन्न मितिमा जाहेरवालीलाई डराई धम्काई जबरजस्ती करणी गरेको भनिएको घटनास्थल प्रकृति मुचुल्का । 

मेरो छोरा र जाहेरवालीको भाई एक आपसमा मीत मीत भनी राख्ने र निजको घर परिवारसँग मेरो पहिलादेखि नै  चिनजान भएको हुँदा म निज जाहेरवालीको घरमा गई निज पीडितकै बुबासँग रक्सी सेवन गरी निजकै घरमा सुत्ने पनि गर्थें । यसै क्रममा मिति २०६७।१।२२ गते रातिसमेत म निजको घरमा सुतेकोमा सोही राति अ.१२:३० बजेको समयमा म निद्राबाट बिउँझिई करणी गर्ने मन लागी निज पीडित सुतेको कोठाको खटियामा जाँदा निज पीडित कराउँदा मुख थुनी डर त्रास देखाई जबरजस्ती करणी गरेको थिएँ । मैले मिति २०६७।१।२२ गतेदेखि मिति २०६७।१०।२८ गतेसम्म पटकपटक जबरजस्ती करणी गर्दै आएको थिएँ । मेरै वीर्य करणीबाट निजको गर्भ रही शिशु नाबालिकाको जन्म भएको हुनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी अमरबहादुर बोगटीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज । 

प्रतिवादी अमरबहादुर बोगटी जाहेरवालीको घरमा गई खाने तथा बस्ने गरेको सन्दर्भमा मिति २०६७।१।२२ गते राति निज प्रतिवादी जाहेरवालीको घरमा सुतेकोमा रातको समयमा निज पीडितका बुबाले थाहा नपाउने गरी पीडितले सुतेको कोठा तथा खटियामा गई पीडितलाई डर त्रास देखाई जबरजस्ती करणी गरेको र सोपश्चात समेत पीडितसँग जबरजस्ती करणी गरी निज पीडितले नवजात शिशुको जन्मसमेत दिएको कुरा जाहेरवालीले बताएको थिइन् । निज अन्यायीले उमेर नपुगेकी बालिकासँग जबरजस्ती करणी गरेकोले निजलाई कानूनबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत व्यहोराको राम भट्टले मौकामा गरेको कागज । 

प्रतिवादी अमरबहादुर बोगटी पहिलादेखि नै मेरो घरमा आउने तथा कहिलेकाहीँ रातिसमेत मेरै घरमा बस्ने गर्नुहुन्थ्यो । उक्त घटनाका बारेमा पहिला म तथा घर परिवारका मानिसहरूलाई थाहा थिएन । मिति २०६७।१०।२९ गते मेरी छोरी जाहेरवालीले बच्चा जन्माएपछि निज छोरीलाई सोधपुछ गर्दा मिति २०६७।१।२२ गते राति आफू आफ्नै कोठामा सुतिरहेको अवस्थामा निज प्रतिवादी अमर बोगटी आफू सुतेको ठाउँमा आई आफूलाई डर त्रास देखाई जबरजस्ती करणी गरेको र सोपश्चात् समेत निजले पटकपटक मौका छोपी मिति २०६७।१०।२८ गतेसम्म आफूलाई जबरजस्ती करणी गर्दै आएको हो । उक्त कुरा अरूलाई नभन्नु भनी डर त्राससमेत देखाएका कारण आफूले उक्त कुरा अरूलाई बताउन नसकेको भन्ने कुरा बताएकी थिइन् । यसरी उमेरै नपुगेकी नाबालिका छोरीलाई जबरजस्ती करणी गरी पेटमा गर्भ बोकाई गर्भ रहेको अवस्थामा समेत जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई कानूनबमोजिम सजाय हुनै पर्छ भन्नेसमेत व्यहेराको नवराज कापडीले मौकामा गारेको कागज । 

प्रतिवादी अमरबहादुर बोगटी पहिलादेखि नै जाहेरवालीको घरमा गई राख्ने, निज जाहेरवालीकै बुबासँग बसी मादक पदार्थ रक्सी सेवनसमेत गरी राख्ने र निजकै घरमा बस्ने सुत्नेसमेत गर्दथे । मिति २०६७।१।२२ गते राति निज प्रतिवादीले आफ्नै कोठामा सुतेकी जाहेरवालीलाई डर त्रास देखाई जबरजस्ती करणी गरेको, सोपछि समेत मिति २०६७।१०।२८ गतेसम्म पटकपटक आफूलाई  जबरजस्ती करणी गर्दै आएको र उक्त कुरा अरूलाई नभन्नु भनी डर त्राससमेत दिएको तथा आफ्नै बदनाम हुन्छ भनी उक्त कुरा अरूलाई बताउन नसकेको भन्ने कुरा मिति २०६७।१०।२९ गते निज पीडितले नवजात नाबालिका जन्माएपश्चात बताएकी थिइन् । निज प्रतिवादीलाई कानूनबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत व्यहोराको चन्द सिंह धामीसमेत जना ३ ले गरेको वस्तुस्थिति मुचुल्का । 

वर्ष १४ की नाबालिका पीडित कैलाली ङ (परिवर्तित नाम) लाई प्रतिवादी अमरबहादुर बोगटीले डर त्रास दिई मिति २०६७।१।२२ देखि पटकपटक जबरजस्ती करणी गर्दै आएकोमा अन्तिम पटक मिति २०६७।१०।२८ को मितिमा समेत जबरजस्ती करणी गरेको र प्रतिवादीको करणी वीर्यबाट नवजात शिशु छोरीसमेत पैदा गरेको देखिन खुल्न आएको हुँदा प्रतिवादी अमरबहादुर बोगटीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. कसुर अपराधमा ऐ.ऐ. को ३ नं. को देहाय ३ बमोजिम सजाय हुन र सोही ऐन को ऐ.महलको १० नं. र १० ग नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने मागदाबीसहितको अभियोग पत्र । 

मिति २०६७ सालको वैशाख जेठतिर मैले र पीडितको बुबाले सँगै रक्सी सेवन गरी म पीडितको बुबाको घरमा नै सुतेको थिएँ । राति अं. १२ बजेतिर म अचानक निद्राबाट ब्युँझी आफ्नै घरमा सुतेको रहेछु भन्ने सम्झी करणी गर्ने इच्छाले भित्र पीडित सुतेको पलङमा जाँदा पीडितले पनि केही चाल नगरी करणी गर्न दिएको हुँदा करणी गरेको हुँ । त्यसपछि २०६७ साल जेठ महिनामा नै १ पटक निजको मन्जुरीले करणी गरेको थिएँ । निजले गर्भ बोकेको कुरा मलाई थाहा थिएन र निज पीडितले समेत मलाई सो कुरा केही भनिनन् । मिति २०६७ सालको माघ महिनातिर पीडित घरबाट भागी निजका घरको मानिसले खोज तलास गर्दासमेत फेला नपरेपछि डोटी दिपायलमा महिला प्रहरीले निज पीडितलाई फेला पारी दिपायल पिपल्लास्थित नरी ढाँटको घरमा रहेको दिपक मल्लको होटलमा महिला प्रहरीले नै जिम्मा लगाएको रहेछ । सोही होटलमा माघ २९ गते बच्चा जन्माएको भन्ने खबर २०६७ सालको फागुन महिनाको ३ गते पीडितको माइती घरका मान्छेले भनेपछि थाहा पाएको थिएँ । निज बच्चा कसको करणी वीर्यबाट रहन गएको हो मलाई थाहा छैन ।२०६७ साल फाल्गुण १० गते पीडितका माइती घरमा मान्छे गएर पीडितलाई घरमा ल्याएर राखेका छन् । यदि मेरो करणीबाट गर्भ रहन गएको भए निज पीडितले मलाई पहिला नै सो कुराको जानकारी दिनुपर्दथ्यो भन्नेसमेत व्यहोराको प्रतिवादी अमरबहादुर बोगटीले अदालतमा गरेको बयान । 

पीडितले २०६७ वैशाखको अन्तिमतिर मलाई जबरजस्ती करणी गरेको कुरा भनेको 

हुन् । प्रतिवादी अमर बोगटीले पीडितकै घरमा पीडित सुतिरहेको बेला डर धम्की देखाई जबरजस्ती करणी गरेको हो भन्ने कुरा पीडितबाट मैले थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको घटना विवरणमा कागज गर्ने राम भट्टले अदालतमा गरेको बकपत्र । 

मिति २०६७।१।२२ गते म आफ्नै घरमा 

थिएँ । पीडित कोठामा सुतेकी थिइन् । ढोका थिएन । करणी सम्बन्धमा मलाई थाहा छैन । केटी (पीडित) ले बच्चा पाई सकेपछि मलाई भनेकी हुँदा सो कुरा थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको घटना विवरणमा कागज गर्ने नवराज कापडीले अदालतमा गरेको बकपत्र । 

वैशाखको अन्तिमतिर अमर बोगटीको करणीबाट गर्भ रहन गएको हो ।२०६७।१०।२९ गते शिशुको जन्म भएको हो । प्रतिवादीले मलाई मिति २०६७।१०।२८ मा जबरजस्ती करणी गरेको कुरा कसैलाई नभन्नु भने मारी दिन्छु भनी धम्क्याएको हो भन्नेसमेत व्यहोराको पीडित कैलाली ङ (परिवर्तित नाम) ले अदालतमा गरेको बकपत्र । 

म आफ्नो व्यक्तिगत कामको सिलसिलामा दिपायल गएको बखतमा २०६७।१०।२८ गतेको साँझ ६।७ बजेको समयमा एकजना मेरो परिचयको ड्राइभरले एउटा तपाइँकै ठाउँतिरको केटी मेरो कियामा आएकी थिइन् । निज अलपत्र अवस्थामा भएकोले अहिले इ.प्र.का. दिपायलका प्रहरीहरूले इ.प्र.का. भित्र राखेको छ भनेपछि मैले अहिले साँझ भइसक्यो को रहेछ भोलि बिहान हेर्न जानु पर्ला भन्ने सोची सो राति म नेचुरल होटलमा बसेको र भोलिपल्ट ऐ. २९ गते बिहान ८.०० बजेतिर दिपक मल्ल र म इ.प्र.का. मा गएका हौं । निजले आफ्नो ठेगाना श्रीपुर भनेकी र थर पनि जोशी बताएकीले आफ्नो गाउँ ठाउँको एउटै थरको भएकोले म पुर्‌याई दिउँला भन्ने सोची निजलाई इ.प्र.का. बाट जिम्मा लिएको हुँ । गेटबाहिर आइसकेपछि म बिरामी छु अस्पताल जान्छु भनी भन्दा हामीले जिल्ला अस्पताल सिलगढी लगेका र त्यहाँ डाक्टरले निज पीडित कैलाली ङ गर्भवती भएकी र ६।७ दिनभित्रमा बच्चा जन्मन्छ भनेपछि मैले निज गर्भवती भएको भन्ने थाहा पाएको 

हुँ । पछि दिपायलको एउटा होटलमा ल्याई आराम गराई चिनेको मानिससँग घर पठाइ दिउँला भन्ने सोच राखी होटलमा बसेको अवस्थामा पुनः निज छटपटाई बिरामी व्यथा सुरू भएपछि डाक्टरलाई होटलमै बोलाएपछि २०६७।१०।२९ गते राति १०.०० बजेतिर बच्चा जन्मेको हो । पछि निजले वास्तविक ठेगाना मालाखेती ९ कैलाली र आफ्नो थर कापडी भनी बताई दिदीको फोन नं. दिइन् र बच्चा जन्मेको तेस्रो दिन निजको दिदी त्यहाँ पुगेपछि होटलमै निजको दिदीको जिम्मा लगाई म धनगढी आई हाले । मैले जिम्मा लिँदाका अवस्थामा निजलाई केही सोद्धा पनि जवाफ नदिने झोक्राएर झपक्क सल ओढेर बस्ने गर्दथिन् भन्नेसमेत व्यहोराको पीडितलाई जिम्मा लिने हेमराज जोशीले अदालतमा गरेको बकपत्र । 

प्रस्तुत मुद्दा हदम्यादविहीन देखिन नगएको र यी प्रतिवादीले १४ वर्षीया पीडितलाई मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. तथा ३ नं. विपरीत कसुर अपराध गरेको देखिँदा निजलाई सोही महलको ३(३) बमोजिम ६ वर्ष कैद र ऐ.को ३ क नं. बमोजिम थप ५ वर्षसमेत जम्मा ११ वर्ष सजाय हुने र प्रतिवादीको आर्थिक हैसियत र पीडितको शारीरिक र मानसिक क्षतिसमेतलाई विचार गरी यी प्रतिवादीले पीडितलाई रू. २५,०००। – क्षतिपूर्तिसमेत भराई दिने ठहराएको सुरू कैलाली जिल्ला अदालतको मिति २०६८।८।८ को फैसला । 

म पुनरावेदक प्रतिवादीले अदालतमा गरेको बयान, जाहेरवालीले अदालतमा गरेको बकपत्र, जाहेरवालाका बुबा नवराज कापडीले अदालतमा गरेको बकपत्र, मौकामा कागज गर्ने राम भट्टले अदालतमा गरेको बकपत्र, इलाका प्रहरी कार्यालय, दिपायलको मिसिल सामेल रहेको कागज, जाहेरवालीलाई जिम्मा लिने हेमराज जोशीले अदालतमा गरेको बकपत्र, जाहेरवालीले जाहेरी दरखास्तमा उल्लेख गरेको समय, स्थान, मितिको अध्ययन विश्लेषण नगरी हदम्यादभित्र नरहेको मुद्दालाई हदम्यादभित्र रहेको भनी ठहर गरी मलाई कैद सजाय हुने गरी भएको कैलाली जिल्ला अदालतको मिति २०६८।८।८ को फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी न्याय दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अमरबहादुर बोगटीको पुनरावेदन पत्र । 

यसमा हदम्यादको विवेचना सम्बन्धमा सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ प्रत्यर्थी वादी नेपाल सरकारलाई पुनरावेदनको प्रतिलिपि साथै राखी जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, दिपायलको मिति २०६८।१२।१३ को झगडिया झिकाउने आदेश । 

मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादी अमरबहादुर बोगटीले मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. तथा ३ नं. को देहाय ३ अनुसारको कसुर अपराध गरेको देखिँदा  प्रतिवादी अमरबहादुर बोगटीलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणीको महलको ३ को देहाय ३ बमोजिम ६ वर्ष कैद र सोही महलको ३ क नं. बमोजिम थप ५ वर्षसमेत गरी जम्मा ११ वर्ष कैद सजाय हुने ठहर गरेको कैलाली जिल्ला अदालतको मिति २०६८।८।८ को फैसला वादीले दाबी नै नलिएको जबरजस्ती करणीको महलको ३ क नं. बमोजिम थप ५ (पाँच) वर्ष कैद सजाय हुने ठहर गरेको हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीलाई अभियोग दाबीबमोजिम ६ वर्ष कैद 

हुन्छ । पीडितले प्रतिवादीबाट रू.२५,०००।- क्षतिपूर्ति भराई पाउने ठहर गरेकोसम्मको सुरूको फैसला सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको श्री पुनरावेदन अदालत, दिपायलको मिति २०६९।२।३० को फैसला । 

जाहेरी दरखास्त आफैँमा प्रमाण होइन । जाहेरी पीडितकै बकपत्रबाट खण्डित भएको अवस्था छ । जाहेरी दरखास्तमा उल्लिखित मिति समय र स्थानमा करणी नभएको तथ्य प्रमाणबाट पुष्टि हुँदाहुँदै प्रमाणको अपव्याख्या गरी फैसला भएको 

छ । जबरजस्ती करणी मुद्दामा जबरजस्ती करणी भए गरेको मितिले ३५ दिनभित्र नालेस नदिए लाग्न सक्दैन भन्ने मुलुकी ऐन, जबरजस्ती करणी महलको ११ नं. मा व्यवस्था भएकोमा हदम्यादबाहिर गएर दायर भएको मुद्दालाई हदम्यादसम्बन्धी व्यवस्थाको अध्ययन विश्लेषण र व्याख्या नै नगरी गरेको फैसला कानूनको सिद्धान्तविपरीत भएकाले उक्त फैसला उल्टी गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अमर बोगटीले यस अदालतमा गरेको पुनरावेदन पत्र । 

जबरजस्ती करणीको महलको ३ क नं. बमोजिम ५ वर्ष थप कैदसमेत गर्ने गरेको हदसम्म सुरू फैसला नमिलेको हुँदा केही उल्टी हुने ठहराई पुनरावेदन अदालतले गरेको सो फैसलाउपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखिएन । 

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी हेर्दा निम्न प्रश्नको निरूपण गरेर निर्णयमा पुग्नुपर्ने देखिन आएको छ । 

१. अभियोग दाबीबमोजिम पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको हो वा होइन ?

२. प्रस्तुत मुद्दा हदम्यादभित्रको छ छैन ?

३. पुनरावेदन अदालत, दिपायलको फैसला मिलेको छ छैन तथा पुनरावेदकको पुनरावेदन जिकिर पुग्छ पुग्दैन ? 

 

यसमा प्रतिवादीले १४ वर्षको नाबालक परिवर्तित नाम कैलाली ङ (परिवर्तित नाम) लाई डर त्रास दिई मिति २०६७।१।२२ देखि पटकपटक जबरजस्ती करणी गर्दै आएकोमा अन्तिम पटक मिति २०६७।१०।२८ मा समेत जबरजस्ती करणी गरी निजको करणी वीर्यबाट पीडितले नवजात शिशु छोरीसमेत जन्माएको देखिन आएकोले प्रतिवादी अमरबहादुर बोगटीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. को कसुर अपराधमा ऐ. को ३ नं. को देहाय दफा ३ बमोजिम सजाय हुन र सोही ऐ. को १० र १० ग नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउनसमेत अभियोग माग दाबी लिएको 

देखियो । सुरू कैलाली जिल्ला अदालतबाट प्रतिवादीले १४ वर्षको पीडितलाई मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. तथा ३ क नं. विपरीत कसुर अपराध गरेको देखिँदा निजहरूलाई सोही महलको ३ नं. को देहाय ३ बमोजिम ६ वर्ष कैद र ऐ. को ३ क नं. बमोजिम थप ५ वर्षसमेत जम्मा ११ वर्ष कैद सजाय हुने र प्रतिवादीले पीडितलाई रू. २५,०००। - क्षतिपूर्तिसमेत भराई दिने ठहराई फैसला भएको पाइयो । सो फैसलाउपर हदम्याद नाघेको आधारमा उल्टी गरिपाउँ भनी प्रतिवादी अमरबहादुर बोगटीको पुनरावेदन अदालत, दिपायलमा पुनरावेदन परी श्री पुनरावेदन अदालत, दिपायलबाट कैलाली जिल्ला अदालतको मिति २०६८।८।८ को फैसला वादीले दाबी नै नलिएको जबरजस्ती करणीको महलको ३ क नं. बमोजिम थप ५ वर्ष कैद सजाय हुने ठहर गरेको हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीलाई अभियोग दाबीबमोजिम ६ वर्ष कैद हुने र रू. २५०००। - क्षतिपूर्ति भराई पाउने ठहर गरेकोसम्मको सुरूको फैसला सदर गरी फैसला भएको पाइयो । उक्त फैसलाउपर जाहेरी दरखास्तमा उल्लिखित मिति, समय र स्थानमा करणी नभएको तथ्य प्रमाणबाट पुष्टि हुँदाहुँदै प्रमाणको अपव्याख्या गरी फैसला भएको साथै जबरजस्ती करणी भए गरेको मितिले ३५ दिनभित्र नालेस दिनुपर्ने भन्ने मुलुकी ऐन, जबरजस्ती करणी महलको ११ नं. मा व्यवस्था भएकोमा हदम्यादबाहिर गएर दायर भएको मुद्दालाई हदम्यादसम्बन्धी व्यवस्थाको अध्ययन विश्लेषण र व्याख्या नै नगरी गरेको फैसला कानूनको सिद्धान्तविपरीत भएकाले उल्टी गरी न्याय पाउँ भनी प्रतिवादी अमरबहादुर बोगटीको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ । 

जबरजस्ती करणीको महलको ३ क नं. बमोजिम ५ वर्ष थप कैदसमेत गर्ने गरेको हदसम्म सुरू फैसला नमिलेकोले केही उल्टी हुने ठहराई गरेको पुनरावेदनको फैसलाउपर वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको नदेखिएकाले थप कैद गर्नुपर्ने वा नपर्ने सम्बन्धमा केही विचार गरिरहनु परेन । 

२. निर्णयका लागि अभियोग दाबीबमोजिम पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको हो वा होइन ? भन्ने पहिलो प्रश्न सम्बन्धमा हेर्दा, अमरबहादुर बोगटीले मिति २०६७।१।२२ गतेदेखि मिति २०६७।१०।२८ गतेसम्म मलाई विभिन्न डर त्रास देखाई जबरजस्ती करणी गर्दै आई निजले गरेको जबरजस्ती करणीबाट मेरो गर्भसमेत रही मिति २०६७।१०।२९ गते छोरीको जन्मसमेत भएको छ भन्ने उल्लेख गरी मिति २०६७।११।२५ मा पीडितको जाहेरी दरखास्त परेको छ । प्रतिवादी अमर बोगटीले म मिति २०६७।१।२२ गते राति पीडितको घरमा सुती सोही राति अ.१२.३० बजेको समयमा निद्रा खुल्दा निज जाहेरवालीलाई करणी गर्ने मन लागी निज सुतेको कोठाको खटियामा जाँदा निज पीडित कराउन लाग्दा निजको मुख थुनी डर त्रास देखाई जबरजस्ती करणी गरी त्यसपछि मिति २०६७।१०।२८ गतेसम्म पटकपटक जबरजस्ती करणी गर्दै आएको भनी अनुसन्धानका क्रममा बयान गरी जाहेरीको कसुरलाई स्वीकार गरेको छ । निजले अदालतसमक्ष पनि पीडितसँग सहमतिले २ पटक करणी गरेको भनी करणीको कसुर अपराधलाई स्वीकार नै गरेको अवस्था छ । जाहेरी दरखास्तको रोहवरमा बसेका पीडितका बुबा नवराज कापडीले जाहेरी दरखास्तको व्यहोरालाई समर्थन हुने गरी मौकामा कागज गरी दिएका र घटना विवरण कागज गर्ने राम भट्ट, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरू चन्द्र सिंह धामी, देवराज पाठक र तेजराज कापडीले पनि जबरजस्ती करणी भएको भनी जाहेरीको व्यहोरा समर्थित हुने गरी लेखाई दिएका छन् । पीडितका बुबा नवराज कापडी तथा घटना विवरणका राम भट्टले सोही मौकाको कागजलाई नै स्वीकार गरी अदालतमा समेत बकपत्र गरिदिएका छन् । 

३. यसरी प्रस्तुत मुद्दामा जाहेरी दरखास्तको व्यहोरा, स्वयम्‌ प्रतिवादीको मौकाको बयान र सुरू अदालतसमक्ष गरेको बयान, मौकामा कागज गर्नेहरूले कागजमा लेखाई दिएका कुराहरू र अदालतमा गरी दिएका बकपत्रका कुराहरू एक अपसमा मिले भिडेको अवस्था विद्यमान छ । यसरी जाहेरी दरखास्तको व्यहोरालाई समर्थित गर्ने प्रमाण कागज मिसिल संलग्न रहेकाले र स्वयम्‌ प्रतिवादी पनि यसमा मुख मिलाई स्वीकारी बसेको अवस्थामा करणी गरेको भन्ने तथ्य निर्विवाद रहेको छ । अब उक्त करणी जबरजस्ती हो होइन ? भन्नेतर्फ विचार गर्दा पीडितको उमेर १४ वर्ष रहेको कुरालाई स्वयम्‌ प्रतिवादीले पनि स्वीकार गरेबाट उमेर सम्बन्धमा विवाद देखिन आएन । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को व्यवस्थाअनुसार १६ वर्षमुनिको बालिकालाई निजको मन्जुरी लिई वा नलिई जे जसरी करणी गरेमा पनि जबरजस्ती करणी गरेको नै ठहर्दछ । पीडितको १४ वर्षको उमेर र यस्तो कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा जबरजस्ती करणीका आवश्यक तत्त्व, जबरजस्ती करणी ठहराउन हुनुपर्ने परिस्थिति आदिका सम्बन्धमा यसमा विवेचना गरिरहनु पर्ने आवश्यकता देखिँदैन । तसर्थ यी पीडित १४ वर्षिया कैलाली ङ लाई प्रतिवादी अमरबहादुर बोगटीले जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन जान्छ । 

४. अब, प्रस्तुत मुद्दा हदम्यादभित्रको छ छैन भन्ने दोस्रो प्रश्न तथा हदम्यादभित्रको छैन भन्ने पुनरावेदन जिकिरतर्फ विचार गर्दा, यसमा प्रतिवादीले पीडितलाई मिति २०६७।१।२२ गतेदेखि मिति २०६७।१०।२८ गतेसम्म लगातार करणी गरेको भनी जाहेरीमा उल्लेख छ । सोही कुरालाई प्रतिवादीले मौकामा बयान गर्दा पनि स्वीकारेको अवस्था छ । अन्य मौकामा कागज गर्ने व्यक्तिहरूले पनि अनुसन्धानमा सोही व्यहोरा उल्लेख गरेको पाइन्छ । १६ वर्षभन्दा कम उमेरकी बालिकालाई मन्जुरी लिएर वा नलिएर जे जसरी करणी गरेमा पनि जबरजस्ती करणी नै हुने विद्यमान कानूनी व्यवस्थाका कारण निज १४ वर्षिया बालिकाको हकमा पहिलो चोटि बिना मन्जुरी र पछि पटकपटक मन्जुरी लिएर नै करणी गरेको भए पनि जबरजस्ती करणी नै गरेको मानिन्छ । यसमा अन्तिम पटक मिति २०६७।१०।२८ मा करणी भएको भन्ने जाहेरी दरखास्त, प्रतिवादीको मौकाको बयान र मौकामा गरेका कागजहरूबाट देखिई जाहेरी २०६७।११।२५ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको देखिन्छ । यसलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ११ नं. अनुसारको जबरजस्ती करणी भए गरेको मितिले ३५ दिनभित्र नै नालिस दिएको मानिन्छ । पहिलो पटक करणी भएको मितिले मात्र हदम्याद कायम गर्नुपर्ने भनी अर्थ गर्न मिल्दैन । 

५. जबसम्म पीडितले मैले २०६७ वैशाख र जेठ महिनामा २ पटकमात्र करणी गरेको भनी आफ्नो अदालतको बयानमा लेखाई दिएका, मौकामा कागज गर्ने राम भट्टले पीडित माघ २६ गते, पीडितका बुबा नवराज कापडीले माघ २७ गते पीडित दिपायल गएको र हेमराज जोशीले आफूले पीडितलाई २०६७।१०।२८ गते दिपायलमा भेटाएको भनी अदालतमा बकपत्र गर्दा लेखाएबाट प्रतिवादीले माघ २८ गतेसम्म पीडितलाई करणी गरेको भन्ने कुरा पुष्टि नहुने भनी लिएको जिकिरलाई नै सत्य मान्ने हो भने पनि यसले प्रस्तुत मुद्दामा कुनै तात्त्विक असर पार्ने देखिँदैन । जबरजस्ती करणी जस्तो नेपाल सरकार वादी भई चल्ने मुद्दामा पीडितको जाहेरी नै पर्नुपर्छ भन्ने पनि हुँदैन । पीडितले सामाजिक लज्जा, लाग्न सक्ने लाञ्छना, कसुरदारको डर धाक, आफ्नो चेतना स्तर, आर्थिक सामाजिक पारिवारिक स्थितिका जस्ता कारणले पनि जाहेरी दिन नसक्ने अवस्था हुने हुँदा जाहेरी नपरी अन्य कुनै किसिमले घटनाको बारेमा थाहा जानकारी भएमा पनि प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउनु पर्ने हुन्छ । यस्तो अवस्थामा जबरजस्ती करणी जस्तो मुद्दामा हदम्यादको परम्परागत मान्यतालाई 

कठोरताका साथ अंगिकार गरिरहनु न्यायोचित पनि हुँदैन । यस सम्बन्धमा यस अदालतको पूर्ण 

इजलासबाट जाहेरी तत्काल दियो वा दिएन भन्दा पनि अपराध भयो वा भएन र अपराधमा कसको संलग्नता थियो भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । जाहेरी दरखास्त ढिला पर्नाका विभिन्न कारण हुन सक्छन् । देशको भौगोलिक अवस्था, घटनास्थलबाट प्रहरी रहेको स्थानको दुरी र विकटता, समाजको चेतनाको स्तर, सामाजिक परिवेश, यस्तो अपराधबाट पीडितको भावी जीवनमा पर्न सक्ने प्रभाव तथा अभियुक्तको पीडितउपर पर्ने दबाब वा प्रभाव आदि जस्ता कारणले गर्दा जबरजस्ती करणी जस्तो कसुरका सम्बन्धमा जाहेरी ढिला पर्ने हुन सक्छ । तसर्थ जबरजस्ती करणी जस्तो प्रत्यक्षरूपमा नारी अस्मितासँग जोडिएको गम्भिर विषयमा जाहेरी दरखास्त दर्ता गराउन लागेको समयलाई मात्र निरपेक्षरूपमा मूल्याङ्कन गरेर कसुरको मात्रा र गाम्भिर्यता घटीबढी हुन 

नसक्ने । ढिला जाहेरी परेको भन्दैमा जबरजस्ती करणीको वारदात स्थापित नहुने भनी भन्न नमिल्ने भनी रामहरी लामिछाने वि. नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०६८, अंक १०, पृष्ठ १६५७) मा  व्याख्यासमेत भएको 

पाइन्छ । तसर्थ हदम्याद कहिलेदेखि के कुन कारणले सुरू भयो, हदम्याद छ छैन भनी दिन तथा समय गणना गर्ने कुरालाई प्रस्तुत मुद्दामा महत्त्व दिइरहनु पनि न्यायोचित नदेखिएकाले पुनरावेदनमा लिएको हदम्यादको जिकिरसँग सहमत हुन सकिँदैन । 

६. अतः माथि उल्लिखित आधार कारणबाट प्रतिवादी अमरबहादुर बोगटीले वर्ष १४ को बालिका कैलाली ङ लाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. तथा ३ नं. को देहाय ३ बमोजिमको कसुर अपराध गरेको देखिँदा निज प्रतिवादी अमरबहादुर बोगटीलाई अभियोग दाबीबमोजिम ऐ. महलको ३ नं. को देहाय ३ बमोजिम ६ वर्ष कैद गर्ने र पीडितले प्रतिवादीबाट रू. २५,०००।- क्षतिपूर्ति भराई पाउने ठहराई गरेको सुरू फैसला सो हदसम्म सदर गरी र सुरूले सोही महलको ३ क नं. बमोजिम थप ५ वर्षसमेत कैद गर्ने गरी फैसला गरेको हकमा वादीले दाबी नै नलिएको विषय भनी थप ५ वर्षको कैदको हदसम्म सुरू फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम ६ वर्षमात्र कैद हुने ठहराई श्री पुनरावेदन अदालत, दिपायलले गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु । 

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत : यदुराज शर्मा 

इति संवत् २०७३ साल वैशाख १५ गते रोज ४ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु