शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६२४ - अंश चलन

भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री गोपाल पराजुली

आदेश मिति : २०७२।११।६।५

०६८-NF-०००२

 

मुद्दाः अंश चलन

 

पुनरावेदक / प्रतिवादी : मुस्ताङ जिल्ला, लोमान्थाङ गाउँ विकास समिति वडा नं.१ बस्ने झिग्मी पलवर विष्टसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : मुस्ताङ  जिल्ला, लोमान्थाङ गाउँ विकास समिति वडा नं.१ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२ बस्ने डिकी डोलकर पलवर विष्टको मु.स. गर्ने कर्साङ लवाङ

 

पुनरावेदक प्रतिवादीले अंशबन्डा भइसकेको भनी जिकिर लिएको २०१७ सालको लिखतको सक्कल प्रति पेस हुन नसकेको, वादीका नाममा कुनै जग्गा दर्ता नै नरहेको, वादीका छोरीहरूका नाममा दर्ता रहेका जग्गा वादीले अंशबापत प्राप्त गरेका पैतृक सम्पत्ति हुन् भन्ने कुरा पुष्टि हुन नसकेको तथा वादी प्रतिवादीहरूबीच आपसी व्यवहार, कारोबार भएको कुरा मिसिल प्रमाणबाट पुष्टि हुन नसकेको  अवस्थामा वादी प्रतिवादीहरूबीच अंशबन्डा भइसकेको भनी ठहर निर्णय गर्नु न्यायोचित हुने नदेखिँदा वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन आउने ।

(प्रकरण नं.७)

अंशसम्बन्धी हक नैसर्गिक हक रहेको र पति पिताले अंशहरू परित्याग गर्दैमा श्रीमती छोरा छोरीको अंश हकसमेत समाप्त हुन नसक्ने हुँदा वादीका माहिला देवर चराङ स्याण्टुङ्गका श्रीमती छोरा छोरीहरू रहेका भए र निजहरूले अंशमा दाबी गरेमा सोही बखत निजहरूको अंश हकका सम्बन्धमा ठहर इन्साफ हुने नै भएकोले अहिले नै निजहरूको अंशहक सम्बन्धमा केही बोलिरहनु उचित हुने नदेखिँदा हाल वादी प्रतिवादीहरू दुई अंशियार रहेकोमा तीन अंशियार कायम गरी वादीले तीन भागको एक भाग अंश पाउने ठहर्‍याएको यस अदालत संयुक्त इजलासको फैसला सो हदसम्म मिलेको देखिन नआउने ।

(प्रकरण नं.८)

मिसिल संलग्न प्रमाणबाट दरबार ऐतिहासिक महत्त्वको देखिएको र सो कुरामा वादी प्रतिवादीबीच विवाद रहेको पनि नदेखिँदा उक्त मुस्ताङ दरबारमा वादी स्वयंले दाबी नै नगरेको र उक्त दरबारको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक स्वरूप यथावत्‌रूपमा संरक्षण गरी राख्नु उपयुक्त हुने देखिएकोले अंशियारहरूबीच बन्डा गर्नु उचित नहुने ।

तायदाती फाँटवारीमा उल्लिखित मुस्ताङ जिल्ला, चाराङ १(ख) कि.नं. ५९१ को जग्गामा बनेको गुम्बा घरसमेत धार्मिक स्थलको रूपमा रहेको हुँदा त्यस्तो धार्मिक स्थलको रूपमा रहेको गुम्बामा आफ्नो धार्मिक आस्थाअनुसार सर्वसाधारण जोसुकैले धार्मिक उपासना गर्न पाउने हुन्छ । यसरी सार्वजनिकरूपमा प्रयोग हुने धार्मिक स्थलको रूपमा रहेको गुम्बालाई व्यक्तिगत सम्पत्ति मानी अंशियारहरूबीच विभाजन गर्नु धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट समेत उचित नहुने ।

(प्रकरण नं.९)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता लोकभक्त राणा

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प. २०६६, अङ्क ९, नि.नं.८२२७

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :

मा.न्या.श्री बद्रीकुमार बस्नेत

संयुक्त इजलासमा फैसला गर्ने : 

मा.न्या.श्री अवधेशकुमार यादव

मा.न्या.श्री प्रकाश वस्ती

 

फैसला

स.प्र.न्या.कल्याण श्रेष्ठ : यस अदालत संयुक्त इजलासबाट मिति २०६६।११।४ मा भएको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

मेरा स्व. ससुरा तत्कालीन मुस्ताङ्गी राजा ओङगल जिम्बा पलवरका तीन भाइ छोराहरूमा जेठा तत्कालीन मुस्ताङ्गी राजा आङगुन वाङदी न्याङबो पलवर (मेरा श्रीमान्‌), माहिला चाराङ स्याण्टुङ विष्ट औतारी लामा र कान्छा वर्तमान मुस्ताङ्गी राजा जिग्मी पलवर विष्ट हुनुहुन्छ । म फिरादी जेठा (तत्कालीन राजा) की श्रीमती हुँ । मेरा पति २०१५ सालमा परलोक हुनुभएको, माहिला देवर बौद्ध धर्मअनुसार गृहस्थी जीवन त्याग गरी चाराङ गुम्बा सम्हाली बस्दै आउनुभएको छ । उहाँ अब गृहस्थ जीवनमा आउन सक्नु हुन्न । कान्छा देवर विपक्षी मुस्ताङ्गी राजा जिग्मी पलवर विष्टले म विधवा अवला नारी र मेरा दुई छोरीहरू छिमी डोलकर र कर्साङ लावाङसमेतलाई मुस्ताङ दरबारबाट निकाला गर्नुभयो । तपाई राजा हुनुभएकोले दरबारमा बस्नुहोस् तर, हामीलाई पनि खाने बस्ने व्यवस्था हुने गरी घर जग्गा दिनुहोस् भन्दा तिमीलाई केही दिन्न भनी जो भएको सम्पत्ति मैले मेरी श्रीमती ह्विटोल पलवर विष्ट तथा मेरो धर्मपुत्र झिग्मी सिङगी पलवर विष्टसमेतका नाममा बनाइसकें । तिम्रो सम्पत्ति केही छैन भनेकाले बाध्य भई फिराद दायर गर्न आएकी छु । अंशियारहरूमध्ये म जेठाको हक पाउने एक अंशियार हुँ । माहिला गृहस्थ जीवन त्याग गर्नुभएकोले मुलुकी ऐन, अंशबन्डाको ९ नं. अनुसार अंश नपाउने, कान्छा मुस्ताङ्गी राजा हुँदा म फिरादी र विपक्षी कान्छा गरी दुई अंशियार भएकोले मैले पाउने सम्पत्ति विपक्षी ह्विटुल पलवर विष्ट तथा झिग्मी सिंङ्गी पलवर विष्टसमेतका नाममा राखेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षीबाट तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिको दुई भागको एक भाग अंश छुट्‍याई चलन चलाई पाउँ भन्नेसमेत व्यहोराको मिति २०५२।१२।२ को वादीको फिराद पत्र ।

विपक्षी वादीका पति २०१५ सालमा परलोक हुनु भएपश्चात् म झिग्मी पलवर विष्ट र विपक्षीका बीचमा घरसारको बन्डापत्र खडा गराई अंश भाग बन्डा भई म र विपक्षी छुट्टिई भिन्न भइसकेका छौं । सो बन्डापत्रबमोजिम प्राप्त गरेको सम्पत्ति आ-आफूले दर्तासमेत गराई छुट्टाछुट्टै भोग बिक्री व्यवहारसमेत गरी आएका छौं । विपक्षीको भागको जग्गाहरूमध्ये कतिपय जग्गा दर्ता गरी हक हस्तान्तरण गरिसक्नुभएको छ भने कतिपय जग्गाहरू विपक्षीको दुई छोरीहरू छिमी डोल्कर र कर्साङ्ग लवाङको नाउँमा दर्ता गराई सक्नुभएको छ । उक्त कुरा विपक्षको ७ नं. फाँटवारी हेरिएमा पनि प्रस्ट हुन्छ । यस स्थितिमा अंशबन्डाको ३० नं. बमोजिम उक्त घरसारको बन्डापत्र कानूनी मान्यता प्राप्त छ । विपक्षीको वास्तविक नाम धिकिल्हा भए तापनि फिरादमा आफ्नो नाम डिकी डोल्कर लेखिएको बदनियत छ । विपक्षीका पति कहिल्यै मुस्ताङ्गी राजा हुनु भएन । विपक्षीका माहिलो देवरको नाम थुकदेन ग्याचो विष्ट हो । निजले मुडिई विजया होम गर्नुभएको छैन । मिति २०३४।९।२७ पूर्व घरसारमा नरम गरम मिलाई बन्डापत्र गरी बन्डापत्रबमोजिम आफ्नो भाग लिई दाखिल खारेजसमेत गराइसकेको र भोग बिक्री व्यवहार गरेमा बन्डा भएको ठहर्छ भन्ने कानूनी सिद्धान्त सर्वोच्च अदालतबाट विभिन्न मितिमा प्रतिपादित भएका छन् । तसर्थ विपक्षीको झुठ्ठा फिराद दाबीबाट फुर्सद पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको मिति २०५२।५।२७ को संयुक्त प्रतिउत्तर पत्र ।

यसमा वादी प्रतिवादीहरूले प्रमाणमा उल्लेख गरेका वादी डिकी डोल्कर पलवर र निजका छोरीहरू छिमी डोलकर, केसाङ लवाङ तथा प्रतिवादी मुस्ताङ्गी राजा झिग्मी पलवर विष्टसमेतका नाउँको ७ नं. फाँटवारीहरू मालपोत कार्यालयबाट झिकाउने, प्रतिउत्तरमा उल्लिखित २०१७।९।१० को घरसारको अंशबन्डा लिखत सक्कलै प्रतिवादीबाट दाखिल गराई अ.बं. ७८ नं. बमोजिम वादीलाई सनाखत गराउने र फिराद प्रतिउत्तरको पेटबोलीमा उल्लिखित माइला छोरा चराङ स्याण्टुङ लामालाई अ.बं. १३९ नं. बमोजिम बुझ्नु पर्ने हुँदा निजलाई झिकाउनु भन्ने आदेश ।

हामीहरू तीन भाइ हौं । जेठा दाजुको राजा नहुँदै स्वर्गबास भयो । माइला म चराङ गुम्बामा पूजा गरी सोही गुम्बाको गुठी जग्गामा बसिआएको छु । कान्छा भाइ मुस्ताङ्गी राजा हुन् । दाजुको मृत्युपछि प्रस्तुत मुद्दाकी वादी र प्रतिवादी मुस्ताङ्गी राजासमेतका बीचमा पैतृक सम्पत्तिलगायत बन्डा गरिएको हो । मैले धर्मकर्म गर्ने सामान र पाठपूजा गर्न चराङको ढावको खेत पाएको छु । म लामा भएकोले अंश चाहिँदैन । म लामा हुँ, जोगी होइन । मेरी जेठी श्रीमतीतर्फबाट एक छोरा र कान्छीतर्फबाट एक छोरी छन् । मैले पाउने पाइसकेको छु । अब पाउनु पर्ने छैन भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका चराङ स्याण्टुङ लामा भन्ने थुक्देन ग्याचो विष्टको मिति २०५२।९।१६ मा भएको बयान ।

यसमा चराङ स्याण्टुङ लामा भन्ने थुक्देन ग्याचो विष्ट कारणीसरह देखिँदा तारेखमा राख्नु भन्ने २०५२।९।१६ को आदेश ।

वादीले अंश लिई छुट्टिएर बसेको हो, मिति थाहा भएन । वादी लोमन्थाङ्गमा र प्रतिवादी ठिंगरमा बस्नुभएको थियो भन्नेसमेत व्यहोराको प्रतिवादीको साक्षी कर्म वाङदी गुरूङले मिति २०५३।६।११ मा गरेको बकपत्र ।

२०१७।९।१० गते अंशको कागज मैले लेखेको हुँ । वादी प्रतिवादीबीच अंशबन्डा भई छुट्टी भिन्न भएका हुन् । बन्डापत्रमा वादीको ऋण राजाले तिर्ने र सोबापत जग्गा राजाले लिने गरिएको हो भन्नेसमेत व्यहोराको चक्रबहादुर भट्टचनको मिति २०५३।६।११ को बकपत्र ।

वादीले अंश पाउनुपर्छ । अंश दिएको भन्ने झुठ्ठा हो । वादीको नाममा घर जग्गा खेत छैन । अंश बेचेको छैन र किनेको पनि छैन । २०१७ सालमा बन्डा भएको छैन भन्नेसमेत व्यहोराको मिति २०५३।६।११ मा सुवर्णकुमार विष्टले गरेको बकपत्र ।

वादीले अंश पाउनुपर्छ । निजले अहिलेसम्म अंश पाएकी छैनन् । प्रतिवादीले अंश दिएका छैनन् । २०१७ सालमा अंश दिएको होइन । वादीले घर जग्गा पाएको छैन भन्नेसमेत व्यहोराको मिति २०५३।६।११ मा पेमा रिन्जिङ विष्टले गरेको बकपत्र ।

वादी डिकी डोलकर पलवर अंशियार हुन् भन्ने कुरामा कुनै विवाद नदेखिएको, अंश नपाएकोले अंश पाउँ भनी डिकी डोलकर पलवरले फिराद दिएकोमा प्रतिवादीले अंश पाइसकेको र घरसारको कागजसमेत गरेको भनी फोटोकपी पेस गरेकोमा उक्त कागजको सक्कल दाखिल गराई अ.बं. ७८ नं. बमोजिमको प्रक्रिया पूरा गर्ने आदेश भएकोमा प्रतिवादीले उक्त सक्कल लिखत हालसम्म फेला नपरेको भनी दाखिला गर्न नसकेको र अन्य दर्ता स्रेस्ता, दाखिल खारेज नामसारीसमेत व्यवहार प्रमाणबाट हालसम्म वादीले अंश पाएको हो भन्ने कुनै एकिन प्रमाण नदेखिँदा वादी प्रतिवादीहरूका बीच फिराद दायर भएको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीका सबै अंशियारबाट मुलुकी ऐन, अंशबन्डाको महलको २०, २१, २२, २३ नं. बमोजिम आ-आफ्नो जिम्माको सम्पूर्ण चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी लिनु भन्ने मिति २०५४।३।२२ को आदेश ।

वादी म डिकी डोल्करका नाममा कुनै पनि चल अचल सम्पत्ति नभएको, कुनै सम्पत्ति दबाए छिपाएकोसमेत छैन भन्ने तायदाती फाँटवारी । विपक्षीको जिम्मा रहेका चल अचल श्रीसम्पत्तिको थप तायदाती पेस गरेको छु भन्ने वादीको वारेसले हुलाकबाट पठाएको तायदाती फाँटवारी र प्रतिवादीहरूले तायदाती फाँटवारी पेस गरेको देखिन्छ ।

यसमा प्रतिवादीबाट पेस भएको २०५५।३।२१ का आदेशानुसार नेपाली भाषामा अनुवाद भई आएका लिखत कागजमा उल्लेख भएको मराङ दरबारकी रानी महोदय, छ्‍यामा ढेकी ढोलकर, छोरी कलसाङ ल्हावाङ तथा ज्वाइँ कलसाङ र छोरी छिमे डोलाकार भनेका व्यक्तिहरू कोको हुन् र केके नाताका हुन् खुलाई प्रतिवादीको अ.बं. १३३ नं. बमोजिम कागज गराई पेस गर्नु भन्ने मिति २०५६।५।६ को आदेश ।

मराङ दरबारको रानी महोदय भनेको विपक्षी वादी डिकी डोलकर पलवर हो । छयामा ढेकी ढोलकर भनेको पनि विपक्षी नै हुन् । छोरी कलसाङ ल्हावाङ भनेको विपक्षी वादीको कान्छी छोरी हुन् । ज्वाइँ कलसाङ भनेको निज कान्छी छोरीको श्रीमान् प्रचलित नाम केसाङ नमग्याल हो । छिमे डोलाकार भनेको वादीको जेठी छोरी हुन् । निज विपक्षीबाट जग्गा प्राप्त गर्ने व्यक्तिहरूमध्ये मराङ वाङदी राप्केलगायत केही जीवित छन् भन्नेसमेत व्यहोराको प्रतिवादीका वारेसले अ.बं.१३३ नं. बमोजिम २०५६।६।९ मा गरेको 

कागज ।

मुस्ताङ जिल्ला अदालतमा दायर रहेको प्रस्तुत मुद्दाको कारवाही किनारा गर्न पुनरावेदन अदालतलाई तोक्न सकिने अवस्था पनि नभएकोले मुस्ताङ जिल्ला अदालतमा दायर रही आएको वादी डिकी डोलकर पल्वर विष्ट प्रतिवादी मुस्ताङ्गी राजा झिग्मी पलवर विष्टसमेत भएको अंश मुद्दा मुस्ताङ जिल्ला अदालतबाट झिकाई आफैँले हेरी बाँकी सुरू काम कारवाही गर्नु भनी आदेशको प्रतिलिपिसमेत राखी पुनरावेदन अदालत, बागलुङलाई लेखी पठाइदिनु भन्नेसमेत व्यहोराको सर्वोच्च अदालतको मिति २०५६।७।१२ को आदेशको प्रतिलिपि ।

यसमा सर्वोच्च अदालतका मिति २०५६।७।१२ का आदेशले यस अदालतमा दायर रही आएको वादी डिकी डोलकर पलवर विष्ट, प्रतिवादी मुस्ताङ्गी राजा झिग्मी पलवर विष्ट भएको प्रस्तुत मुद्दा मुस्ताङ जिल्ला अदालतबाट झिकाई पुनरावेदन अदालत, बागलुङबाट हेरी बाँकी सुरू काम कारवाही गर्नु भनी आदेशको प्रतिलिपिसहितको प.सं. ०५६/०५७ च.नं. ६९१ मिति २०५६।८।१ को पुनरावेदन अदालत, बागलुङको पत्र प्राप्त हुन आएकोले प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी रूजु तारेखमा हाजिर रहेका वादी प्रतिवादीलाई पुनरावेदन अदालत, बागलुङमा पठाइदिनु भन्ने २०५६।८।६ को मुस्ताङ जिल्ला अदालतको आदेश ।

यसमा वादीकी छोरी दुईमध्ये छिमी डोलकर विष्ट र कर्साङ लवाङसमेत हुन् भन्ने कुरामा विवाद नभएको, २०१७।९।१० को बन्डापत्र भनेको लिखतको फोटोकपीमा वादी र वादीको छोरीका भागमा परेको घर जग्गा भन्ने उल्लेख भएको र ७ नं. फाँटवारी भर्दा छिमी डोलकर र कर्साङ लवाङबाट भरिएको भन्ने मालपोत कार्यालयको पत्रसाथ प्राप्त ७ नं. फाँटवारीबाट देखिएको र मुस्ताङ मालपोत कार्यालयबाट प्राप्त जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपिबाट छिमी डोलकर विष्टको पाना नं. ९३५ को व्यहोरामा यस कार्यालयको मिति २०३८।८।११ को निर्णयानुसार कि.नं. ५ को क्षेत्रफल ११५-८-०-१ मध्ये हदबन्दी कायम गरी ९६-०-० भई कि.नं. ७८ को १९-८-० निजका छोरा नाङचुङ विष्टका नाममा कायम भई यसमा खारेज भन्ने उल्लेख भएको र प्रमाण संकेतमा झिग्मे पलवर विष्ट भन्ने उल्लेख हुँदै कुनै जग्गा करसाङ लवाङ, लावाङ थर्चिन विष्टसमेतका नाममा पाना नं. ७१/२ पाना नं. १३६ र नाङचुङ विष्टसमेतका नाममा कायम भएको र तमसुकका आधारमा विभिन्न व्यक्तिका नाममा बिक्री पनि भएको देखिएकोले २०३८।८।११ मा भएको निर्णय र यी छिमी डोलकर विष्टसमेतका नाममा नापी दर्ता हुँदा के व्यहोराबाट दर्ता प्रमाणित भएको छ । निर्णयसहित दर्ताको आधारसमेत पठाइदिनु भनी मालपोत कार्यालय, मुस्ताङलाई लेखी जवाफ आएपछि र हुकुम प्रमाङ्गीबाट जग्गा प्राप्त गरेको भन्ने प्रमाण प्रतिवादी पक्षबाट दाखिल गराई पेस गर्नु भन्ने मिति २०५६।११।२२ को पुनरावेदन अदालत, बागलुङको आदेश ।

अंशियारका सम्बन्धमा हाल जीवित अंशियार तीन जना भएको र वादीले मुस्ताङ्गी राजा एक र आफू एक अंशियार भएको माहिलो भाइ चाराङ स्याण्टुङ बौद्ध लामा भएको हुनाले अंश नपाउने भन्ने फिराद दाबी रहेको देखिन्छ । अदालतबाट मुलुकी ऐन, अ.बं. १३९ नं. बमोजिम बुझ्दा चराङ स्याण्टुङले वादी भाउजूले पनि अंश पाइसकेको आफूले पनि केही जग्गा, पूजाको सामान पाइसकेकोले अंशमा दाबी गर्दिन भन्ने बयान गरे तापनि निजका स्वास्नी छोराछोरी रहेको देखिन्छ । बाबुले अंशमा दाबी छोडे पनि स्वास्नी र छोराछोरीसम्बन्धमा यस मिसिलबाट बोल्न नमिल्ने हुँदा उनीहरूको दाबी परेको खण्डमा मात्र अदालतले बोल्ने भएकोले हाल चराङ स्याण्टुङ लामा भन्ने थुक्देन ग्याचो विष्टबाहेक वादी र मुस्ताङ्गी राजा झिग्मी पलवर विष्ट मात्र दुई अंशियार कायम हुने देखियो । वादी र झिग्मी पलवर विष्टका बीचमा कानूनबमोजिमको बन्डापत्र र व्यवहार प्रमाणबाट बन्डा भएको नदेखिएको अवस्था देखिँदा प्रतिवादीबाट वादीले दुई खण्डको एक खण्ड अंश पाउने देखियो । प्रतिवादी मुस्ताङ्गी राजाको २०५४।११।२५ को तायदातीमा उल्लेख भएको लोमान्थाङ्ग गाउँ विकास समिति वडा नं. १(घ) कि.नं. ३ को जग्गामा बनेको मुस्ताङ दरबार र सोही गाउँ विकास समिति को कि.नं. १८ मा बनेको घरका सम्बन्धमा वादी स्वयंले फिरादमा दरबारमा तिमी राजा भएकोले बस बाँकी हामीलाई खान बस्न देऊ भनेकोले दरबार र त्यसले चर्चेको घर जग्गा ऐतिहासिक महत्त्वको भएकोले बन्डा गर्न उचित नहुने र काठमाडौं महानगरपालिका वडा नं. ७, कि.नं. ७ को जग्गा र त्यसमा बनेको घर बकसपत्रबाट सर्त बन्देजसहित मुस्ताङ्गी राजाले पाप्त गरेको देखिँदा सो पनि बन्डा गर्न मिलेन । त्यस्तै प्रतिवादीमध्येकै झिग्मी सिङ्गी पलवर विष्टले दिएको तायदातीमा चराङ गाउँ विकास समिति वडा नं. १(ख), कि.नं. ५९१ को जग्गामा बनेको गुम्बा घर धार्मिकस्थल भएको, राज्य रजौटा ऐन, २०१७ को दफा ६ को कानूनी व्यवस्थाको प्ररिप्रेक्ष्यमा बन्डा नलाग्ने देखियो । अतः माथि उल्लिखितबाहेक अरूमा तायदातीमा उल्लेख भएका घर जग्गामध्येबाट दुई खण्डको एक खण्ड वादीले अंश पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, बागलुङको मिति २०५७।१।१८ को सुरू फैसला ।

विपक्षीका छोरीहरू छिमी डोलकर र कर्साङ लावाङले भूमिसुधार लागू भएपछि २०२४ सालमा ७ नं. फाँटवारीहरू भरी दाखेल गरेका छन् । उक्त सम्पत्तिहरू विपक्षीको अंश भागका पैतृक सम्पत्तिहरू हुन् । विपक्षीकी कान्छी छोरीले लोप्साङ्ग विष्ट भन्ने व्यक्तिलाई २०३९।५।१८ मा वारेसनामा दिँदा यो वारेसनामा मेरो नाउँमा रहेको आमा धिकल्हाको जग्गा भनी उल्लेख भएको  छ । यो तथ्य हामीले हालै थाहा पाएका हौं, प्रमाण लगाइपाऊँ । ७ नं. फाँटवारीमा उल्लिखित जग्गाहरू विपक्षीका छोरीहरूको नाममा नाप जाँच भयो । कि.नं. ५ ज.रो. ११५-८-०-३ मध्ये १९-८-३ छिमी डोलकरको छोरा नाङचुङ्ग विष्टका नाउँमा कायम भएको देखिन्छ । यस्ता दर्तावालाहरूलाई बुझी चल अचल सम्पत्तिको स्रोत खुलाउन लगाई पाऊँ । पुनरावेदन अदालत, बागलुङबाट दर्ता प्रमाण मगाउने आदेश भएकोमा सो जवाफ प्राप्त नहुँदै फैसला भएको 

छ । मिति २०१७।९।१० को बन्डापत्र हेरिएमा विपक्षी र विपक्षीका दुई छोरीहरूको भाग भनी उल्लेख भएको 

छ । विपक्षीका ज्वाइँहरूको नेपालमा कुनै पैतृक सम्पत्ति नभएको अवस्थामा विपक्षीका छोरीहरूको पतिको सम्पत्ति भन्ने प्रश्न पनि उठ्दैन । मुख्यतः ती जग्गा धनी दर्ता स्रेस्ताहरूमा उल्लिखित अचल सम्पत्तिहरूको दर्ताको स्रोत एकिन गरिएमा वास्तविक तथ्य खुल्ने प्रस्ट छ । २०१७।९।१० को बन्डापत्र बिन्तीपत्र चढाउँदा राजदरबारमा चढाएकोले राजदरबारबाट फोटोकपी झिकाई पाऊँ । अ.बं. १३९ नं. बमोजिम बुझी तारेखमा रहेका थुक्देन ग्याचोले तायदाती पेस गर्नुभएको छैन । यस स्थितिमा अंशबन्डाको २०, २१, २२ नं. बमोजिमको कार्यविधि नअपनाई फैसला भएको छ । निज थुक्देन ग्याचोलाई अंशियारबाट बाहेक गर्न मिल्दैन । निजले अंशमा दावा नगर्दैमा निजको परिवार अंशविहीन हुनुपर्ने होइन । पुनरावेदन अदालतबाट भएको फैसलामा “बाबुले अंश दाबी छोडे पनि” भन्ने वाक्यांश कानूनविपरीत छ । निजले वास्तवमा अंश पाएको छ, छैन भन्नेतर्फ फैसला मौन छ । विपक्षीले आफ्नो अंश प्राप्त गरी भोग, बिक्री, व्यवहारसमेत गरेको भन्ने तथ्य पुष्ट्‍याइँ गर्न हामीहरूले तीनैवटा भाषामा लेखिएको २८ थान लिखतहरू आदेशानुसार नेपालीमा अनुवाद भई मिसिल संलग्न भएकोमा त्यसलाई बेवास्ता गरिएको छ । यसमा माथि लेखिएअनुसार पुनरावेदन अदालत, बागलुङबाट भएको २०५७।१।१८ को फैसला कानूनी त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको संयुक्त पुनरावेदन पत्र ।

मुस्ताङ दरबार, अर्को कि.नं. १८ को जग्गा र त्यसले चर्चेको घर गोठ बन्डा नगर्ने निर्णय त्रुटिपूर्ण छ । सो सम्पत्ति साबिकदेखिकै मेरा ससुरा, पति तथा विपक्षी देवरलगायतको सगोल परिवारले भोगचलन गरेको सम्पत्ति म अंशियारले बन्डा नपाउने भन्न मिल्दैन । ऐतिहासिक महत्त्वको मान्दैमा अंशियारले अंश पाउँदैन भन्न कानूनतः मिल्ने देखिँदैन । मुस्ताङ्गी राजपरिवारका सबै सदस्य सामान्य नागरिक भएकाले प्रचलित कानूनले विशेष अधिकार दिएको छैन । एक अंशियारको नाम दर्ताका सम्पत्ति अर्को अंशियारले नपाउने भन्न मिल्दैन । कि.नं. १८ मा बनेको घर जग्गाबाटसमेत मैले अंश नपाउने कुनै कारण छैन । मैले उक्त कि.नं. समेतका घर जग्गा विपक्षीले पाउने गरी आफ्नो दाबी छोडेको छैन । मेरो व्यहोरालाई गलत अर्थ गरी फैसला गरेको र स्वयं विपक्षी प्रतिवादीले घर जग्गा ऐतिहासिक महत्त्वको हुँदा बन्डा लाग्दैन भन्न सकेको छैन । चराङ गाउँ विकास समिति वडा नं. १(ख) कि.नं. ५९१ को जग्गा र त्यसमा बनेको गुम्बा घरलाई धार्मिस्थल भएको भन्ने आधारसमेत त्रुटिपूर्ण छ । त्यस्तो घरबाट अंशियारले अंश नपाउने हो भने सार्वजनिक वा सरकारी स्वामित्वको देखिनु पर्दथ्यो । राज्य रजौटा ऐन, २०१७ को दफा ६ को आधारमा मैले अंश नपाउने भनिएको छ । मुस्ताङ्गी राजा सो ऐनले व्यवस्था गरेबमोजिम उपाधि पाएका राजा होइनन् । तसर्थ फैसला त्रुटिपूर्ण छ । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७, कि.नं. ७ को जग्गा विपक्षीले बकस पाएको भए पनि त्यो घर मसमेतले अंश पाउने सम्पत्ति लगाई बनेको हुँदा सोबाट मैले अंश नपाउने भन्न मिल्दैन । तसर्थ मैले अंश पाउने गरी भएको हदसम्म सदर गरी अंश नपाउने गरी भएको हदसम्म फैसला बदर गरी वादी दाबीबमोजिम अंश दिलाई पाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन पत्र ।

यसमा पुनरावेदक प्रतिवादीले विपक्षी वादीले पटकपटक श्री ५ महाराजाधिराजका हजुरमा बिन्तीपत्र चढाउनु हुँदा २०१७।९।१० को बन्डापत्रको फोटोकपी पेस गर्नुभएको छ । उक्त बिन्तीपत्रसहितको बन्डाको फोटोकपी राजदरबारबाट झिकाई प्रमाण लगाई पाउँ भनी पुनरावेदनमा जिकिर लिनुभएकोले उक्त बिन्तीपत्र राजदरबारको कुन विभागमा चढाएको हो । अ.बं. १३३ नं. बमोजिम प्रतिवादीको कागज गराई खुलाई बिन्तीपत्र र सो बिन्तीपत्र साथ संलग्न रहेको बन्डापत्रको छायाँप्रति मगाउनु भन्ने यस अदालतको मिति २०६१।४।२७ को आदेश ।

बिन्तीपत्रसहितको मिति २०१७।९।१० को बन्डापत्रको फोटोकपी राजदरबारको प्रमुख सचिवालय राजदरबार प्रमुख सचिव मि.सु.श्री पशुपतिभक्त महर्जनको विभागमा छ भन्नेसमेत व्यहोरा प्रतिवादीको वारेसले मिति २०६१।६।७ मा गरेको कागज ।

यसमा वादीले आफ्नो अंश भागको जग्गा आफ्ना छोरीहरूको नाममा राखी दाखिल खारेज गराई बिक्री व्यवहार गरेकोले अंश दिनु पर्दैन भनी प्रतिउत्तरमा जिकिर लिएको देखिँदा र वादीको छोरी छिमी डोलकर र कर्साङ्ग लवाङ्ग र निजको छोरा लवाङ थिचिङ्ग तथा नाङ्गचुङ्गको नाममा जग्गाहरू दाखिल खारेज भएको भन्ने कुरा मालपोत कार्यालयबाट झिकाई आएको स्रेस्ता प्रमाणबाट 

देखियो । वादी प्रतिवादीको पेटबोलीबाट बुझिनु पर्ने प्रमाणको मानिस अ.बं. १३९ नं. बमोजिम बुझी एकिन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले छिमी डोलकर र कर्साङ्ग लवाङको ठेगाना वादी प्रतिवादीबाट अ.बं. १३३ नं. अनुसार कागज गराई खोल्न लगाई निज छिमी डोल्कर र कर्साङ्ग लवाङलाई अ.बं. १३९ नं. अनुसार झिकाई निजहरूको नाउँमा दर्ता हुन आएको जग्गा के कसरी, कुन व्यहोराले कहाँबाट कहिले प्राप्त हुन आएको हो, निजहरूबाट खुलाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६२।६।५ को आदेश ।

यस अदालतको मिति २०६२।६।५ को आदेशानुसार अ.बं. १३९ नं. बमोजिम बुझिने भनिएका छिमी डोलकरको नाममा जारी सूचना निजको घर दैलामा टाँस भएको र कर्साङ्ग लवाङको नाउँमा जारी म्याद निजले घर बेचविखन गरी अन्यत्र गएको भन्ने व्यहोरा उल्लेख भई तामेल भएको देखियो । कर्साङ्ग लवाङको हकमा दे.पु.नं. ६५२७ को डिकी डोलकरको मुद्दा सकार गरेको रोहवरमा रहेको देखिँदा निजको सूचना निजको वारेसलाई अ.बं. ११० नं. को देहाय ६ बमोजिम तामेल गर्ने र छिमी डोलकरको हकमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १०४ (च) को प्रक्रिया पूरा गरी दुवै पक्षको पुनरावेदन परेको अवस्था हुँदा दुवैलाई एक अर्काको पुनरावेदन परेको व्यहोराको जनाउ दिनु भन्ने यस अदालतको मिति २०६४।३।२७ को आदेश ।

पुनरावेदक वादीको छोरी कर्साङ्ग लवाङ २/३ वर्ष पहिले पूरै परिवार आफू बसोबास गरिरहेको ठाउँ बेचबिखन गरी संयुक्त राज्य अमेरिकामा बसोबास गरी आएकी छिन् । मलाई साबिकमा वारेस मुकरर गरेकाले मैले अदालतमा समेत निजलाई उपस्थित गराउन नसकी मुद्दा पुर्पक्ष गरिरहेको छु । वादीले कहिल्यै अंश लिएकी छैनन् । वादीका छोरीहरूका नाममा रहेको सम्पूर्ण सम्पत्ति छोरीहरूकै पारिवारिक आर्जनको सम्पत्ति हो । त्यस्तो सम्पत्ति कुन कुन मितिमा के कसरी कुन व्यहोराले प्राप्त भयो कारणीसँग सम्पर्क नहुँदा खुलाउन सक्दिन भनी अ.बं. १३९ नं. बमोजिम कर्साङ्ग लवाङको वारेस टंकहरि दाहालले मिति २०६४।६।१४ मा गरेको बयान ।

मुद्दाको विषयवस्तु र प्रकृति हेर्दा मेलमिलाप हुन उपयुक्त देखिएको हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६५(घ) अनुसार सर्वोच्च अदालत, मेलमिलाप केन्द्रमा पठाउनु भन्ने मिति २०६६।२।२६ को यस अदालतको आदेश ।

अ.बं. १३९ नं. बमोजिम बुझिएको कर्साङ्ग लवाङको वारेसले सम्पत्तिको पूरा विवरण सम्बन्धित कारणीसँग सम्पर्क नभएको हुँदा खुलाउन सक्दिन भनी असमर्थतता व्यक्त गरेको पाइयो । के कारणले सम्पर्क हुन नसकेको हो कारणीसँग सम्पर्क गरी पूर्व आदेशानुसार खुलाउन लगाउनु भन्ने यस अदालतको मिति २०६६।९।१९ को आदेश ।

पक्ष कर्साङ्ग लवाङसँग विगत लामो समयदेखि मेरो तथा मेरो कानून व्यवसायीको भेटघाट हुन सकेको छैन । निज संयुक्त राज्य अमेरिमामा बसोबास गरिरहनु भएको छ । पक्षले हालसम्म मसँग सम्पर्क गर्नु नभएको र उहाँको ठेगानामा पत्राचार गर्दा कुनै जवाफ नआएकोले सम्मानित अदालतको आदेशानुसारको व्यहोरा खुलाउन नसकेको हो भन्ने कर्साङ्ग लवाङको वारेस टंकहरि दाहालले मिति २०६६।९।२७ गते गरेको कागज ।

वादी प्रतिवादीहरूबीच यसपूर्व बन्डा भएको नदेखिएको र सुरू पुनरावेदन अदालत, बागलुङले वादीको माहिलो देवरबाहेक दुई अंशियार मात्र कायम गरेकोमा सो नमिली तीन अंशियार रहेकोले वादी प्रतिवादीहरू जम्मा तीन अंशियार कायम भई वादीले तीन भागको एक भाग अंश पाउने ठहर्छ । मुस्ताङको कि.नं. ३ र १८ को मुस्ताङ दरबार बन्डा नगरेको हकमा पुनरावेदन अदालतको निर्णय नमिलेकोले उक्त दरबारको ऐतिहासिक, साँस्कृतिक र पुरातात्त्विक स्वरूपलाई कानूनअनुरूप संरक्षितरूपमा राख्नु पर्ने गरी तीन भाग वादीले अंश पाउने ठहर्छ । मुस्ताङ चराङ १(ख) को कि.नं. ५९१ को गुम्बासमेतको सम्पत्ति र काठमाडौं महानगरपालिका वडा नं.७ को कि.नं. ७ को घर जग्गा बन्डा नगर्ने र उल्लिखितबाहेकको अन्य सबै सम्पत्ति बन्डा गर्ने ठहराएको हदसम्म पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा सो फैसला केही उल्टी हुने ठहर्छ भन्नेसमेतको यस अदालत संयुक्त इजलासको मिति २०६६।११।४ को फैसला ।

संयुक्त इजलासबाट भएको फैसलामा चित्त बुझेन । वादीका छोरीहरू कर्साङ लवाङ र छिमी डोलकरका नाममा सम्पत्ति दर्ता भई निजहरूले बिक्री व्यवहार गरेको हदसम्म संयुक्त इजलासको फैसलाले मानेकै छ तर वादीको नाममा कुनै सम्पत्ति दर्ता नरहेको र दाखिल खारेज नभएको भन्ने आधारबाट मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. बमोजिम अंशबन्डा भएको मान्न मिलेन भनी ठहर गरेको विरोधाभाषपूर्ण 

छ । नापी हुँदाको अवस्थामा आफ्नो अंश भागको सम्पत्ति कसको नाममा दर्ता गराउने भन्ने कुरा विपक्षी वादीमै निहित रहने कुरा हो । विपक्षी वादीले आफ्नो नाममा ७ नं. फाँटवारी नभरी दुईजना छोरीहरू छिमी डोलकर र कर्साङ्ग लवाङका नाममा मिति २०२४।३।१९ मा छुट्टाछुट्टै ७ नं. फाँटवारी भराई उक्त दुई थान ७ नं. फाँटवारीबमोजिमका जग्गाहरू निजहरूकै नाममा दर्ता भई स्रेस्ता पुर्जीसमेत प्राप्त गरेका छन् । निज दर्तावालाहरूले विभिन्न कित्ता जग्गाहरू विभिन्न व्यक्तिको नाममा हकहस्तान्तरण गरेको देखिन्छ । उक्त जग्गाहरू निजहरूका नाममा के कसरी प्राप्त भएको हो सोको स्रोत खुलाउन सकेको अवस्था छैन । उल्लिखित आधारबाट विपक्षी वादी र हामीहरूबीच मुलुकी ऐन, अंशबन्डाको ३० नं. बमोजिम बन्डा भइसकेको देखिन्छ । छुट्टाछुट्टै भोग बिक्री व्यवहारबाट अंशबन्डा भइसकेको देखिइरहेको अवस्थामा सुरू पुनरावेदन अदालत, बागलुङ र सम्मानित अदालतको संयुक्त इजलासबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला पुनरावलोकन गरी हामीहरूको प्रतिउत्तर एवं पुनरावेदन जिकिरबमोजिम न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको यस अदालतमा परेको निवेदन पत्र ।

यसमा लोमान्थाङ्ग दरबार र त्यसले चर्चेको जग्गासमेतमा वादी दाबी नै नरहेकोमा पनि दाबीभन्दा बाहिर गएर लोमान्थाङ्ग १ कि.नं. ३ को दरबार ऐतिहासिक र पुरातात्त्विक हैसियतको हो भन्ने कुरा फैसलामा उल्लेख गरे पनि सो दरबारसमेतबाट वादीले अंश पाउने ठहराई यस अदालतबाट मिति २०६६।११।४ मा फैसला भएको रहेछ । मिति २०१७।९।१० मा घरसारमा बन्डा भई सबै अंशियारहरू भिन्न भइसकेको भन्ने प्रतिवादीको भनाइलाई वादीको स्वर्गीय पतिको माइलो भाइ र मूल तीन अंशियारमध्ये एक चराङ स्याण्टुङ भन्ने थुक्देन ग्याचोले स्वीकार गरी आफूले केही अंश पाइसकेको भनी अदालतका बयान गरेको भए पनि निजले समेत अंश पाउने ठहर्‍याई उक्त फैसला भएको रहेछ । यसका अतिरिक्त वादीको छोरीहरू छिमी डोल्कर र कर्साङ्ग लवाङको नाममा अनेक कित्ता जग्गालगायतका सम्पत्तिहरू दर्ता भएर निजहरूले बिक्री व्यवहारसमेत गरको देखिन्छ र सोको स्रोत खुलाउनेबारे अदालतमा बयान गराउने क्रममा प्रश्न गर्दा आफ्नो बाबुको अंशबाहेक भिन्नै स्रोत खुलाउन नसकेको देखिँदादेखिँदै वादी प्रतिवादी नभएको व्यक्तिको नाममा दर्ता रहेको सम्पत्तिको स्रोत खुलाउन नपर्ने भन्नेसमेतको निर्णाधारमा उक्त फैसला भएको रहेछ । जबकि खास अंशमा दाबी गर्ने मूल अंशियारकी श्रीमती वादीको परलोक भइसकेको अवस्थामा निजले पाउने भएको अंशमा निजकी छोरीले नै पाउने अवस्था हुँदा वादीको छोरीहरूको नाममा रहेको सम्पत्ति निजहरूको बाबुको अंशबापत पैतृक सम्पत्तिबाट नआएको भए अन्य स्रोत खुलाउनु पर्नेमा नखुलाएको देखिन्छ ।

यसरी वादीले दाबी गरेको भन्दा बढी सम्पत्ति दिलाई लोमान्थाङ्ग दरबारको बन्डासमेत गर्ने गरेको र अंश पाइसकेको भनी बयान गरेको अंशियारलाई पनि अंश नपाएको अंशियारको संख्याभित्र समावेश गरी अंश पाउने ठहर्‍याएको र मिति २०३४।९।२७ भन्दा अगावै घरसारमा बन्डा भई सबै अंशियारका नाममा नामसारी दर्तासमेत भइसकेको देखिँदा देखिँदै यस अदालतबाट ने.का.प. २०४५, नि.नं. ३५३२, ने.का.प. २०३८, नि.नं. १४३७, ने.का.प. २०६६, नि.नं ८२१२, ने.का.प. २०६६, नि.नं. ८२२७ लगायतका अनेक निर्णयहरूबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत मिति २०६६।११।४ मा यस अदालतबाट फैसला भएको देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) अनुसार पुनरावलोकन गर्न निस्सा प्रदान गरिदिएको देखिन्छ भन्ने यस अदालत पूर्ण इजलासको मिति २०६८।४।९ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थिति विद्वान् वरिष्ठ अधिवक्ता श्री लोकभक्त राणाले वादी प्रतिवादीबीच २०१७ सालमै घरसारमा अंशबन्डा भएको भन्ने कुरा अलगअलग ७ नं. फाँटवारी भरेको कुराले पुष्टि गर्दछ । प्रतिवादीले आफ्ना नामबाट ७ नं. फाँटवारी नभरी छोरीहरूको नामबाट भराएको अवस्था छ । सोबमोजिम निजका छोरीहरूका नाममा जग्गा दर्ता भई कतिपय जग्गाहरू बिक्री गरी हक हस्तान्तरण गरिसकेको देखिन्छ । आफ्ना छोरीहरूका नाममा भएका सम्पत्ति अन्य स्रोतबाट प्राप्त हुन आएको भनी वादीले खुलाउन नसकेबाट पनि ती जग्गाहरू पैतृक सम्पत्ति हुन भन्ने कुरा स्पष्ट हुन्छ । यसरी छुट्टाछुट्टै भोग बिक्री व्यवहारसमेतबाट अंशबन्डा भइसकेको कुरा पुष्टि भइरहेको अवस्थामा वादीलाई अंश दिने ठहर्‍याएको यस अदालत संयुक्त इजलाससमेतको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहसनोट प्रस्तुत गरी सोहीबमोजिम बहससमेत गर्नुभयो ।

उपरोक्त बमोजिम विद्वान् वरिष्ठ अधिवक्ताको प्रस्तुत गर्नुभएको बहसनोट एवं बहससमेतलाई मनन् गरी निवेदनसहितका मिसिल कागजात अध्ययन गरी आज निर्णय सुनाउने प्रयोजनार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा सुरू पुनरावेदन अदालत, बागलुङले गरेको फैसला केही उल्टी गरी यस अदालत संयुक्त इजलासबाट भएको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, स्व. ससुरा तत्कालीन मुस्ताङ्गी राजा ओङगल जिम्बा पलवरका तीन भाइ छोराहरूमा जेठा आङगुन न्याङवो पलवर, माहिला चराङ स्याण्टुङ विष्ट औतारी लामा र कान्छा वर्तमान मुस्ताङ्गी राजा झिग्मी पलवर विष्ट भएकोमा म फिरादी जेठा आङगुन न्याङवोकी श्रीमती हुँ । पति २०१५ सालमा परलोक हुनुभएको, माहिला देवर बौद्ध धर्मअनुसार गृहस्थ जीवन त्याग गरी चराङ गुम्बा सम्हाल्दै आउनुभएको छ । विपक्षी राजा झिग्मी पलवर विष्टले म तथा मेरा छोरीहरूलाई दरबारमा बस्न नदिई निकाला गर्नुभएकोले हामीलाई खाने बस्ने व्यवस्था गरी दिनुहोस् भन्दा केही दिन्न भनी भन्नुभएकोले प्रस्तुत फिराद गरेकी छु । अंशियारमध्ये म जेठाको हक पाउने अंशियार भएकी, माहिलाले गृहस्थ जीवन त्याग गरेकाले निजले अंश नपाउने हुँदा कान्छा मुस्ताङ्गी राजा झिग्मी पलवर विष्ट र म फिरादी गरी दुई अंशियार भएकोले दुई भागको एक भाग अंश दिलाई पाउँ भन्ने फिराद दाबी भएकोमा विपक्षीका पति २०१५ सालमा परलोक हुनु भएपश्चात्‌ म र विपक्षी वादी मिति  २०१७।९।१० मा घरसारमा बन्डापत्र खडा गरी छुट्टिई भिन्न भइसकेका छौं । बन्डापत्रबमोजिमका सम्पत्ति आ-आफूले दर्तासमेत गराई छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरी आएकोले अंशबन्डाको ३० नं. बमोजिम अंशबन्डा भइसकेको हुँदा झुठ्ठा फिराद दाबीबाट फुर्सद पाउँ भन्नेसमेतको प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा सुरू पुनरावेदन अदालत, बागलुङले मुस्ताङ दरबार र त्यसले चर्चेको घरजग्गा, काठमाडौं महानगरपालिका वडा नं. ७ को कि.नं. ७ को घर जग्गा तथा मुस्ताङ, चराङ १(ख) कि.नं. ५९१ मा बनेको गुम्बाबाहेक प्रतिवादीको तायदातीमा उल्लिखित सम्पत्तिबाट वादीले दुई भागको एक भाग अंश पाउने ठहर्‍याई गरेको फैसला केही उल्टी गरी तीन अंशियार कायम गरी वादीले तीन भागको एक भाग अंश पाउने र मुस्ताङ दरबारसमेत बन्डा लाग्ने ठहर्‍याई यस अदालत संयुक्त इजलासबाट फैसला भएको 

देखिन्छ । उक्त फैसलामा चित्त नबुझाई पुनरावलोकन गरी हेरी प्रतिउत्तर र पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भनी प्रतिवादी झिग्मी पलवर विष्टको निवेदन परेकोमा यस अदालतको पूर्ण इजलासबाट पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो ।

३. सम्बद्ध मिसिल कागजातहरूको अध्ययनबाट वादी प्रतिवादीहरूबीच पुस्तेवारी र नातासम्बन्धमा विवाद रहेको देखिँदैन । यी पुनरावेदक प्रतिवादीले २०१७ सालमै घरसारमा बन्डापत्र खडा गरी सोबमोजिमका जग्गाहरू आ-आफ्ना नाममा दर्ता गराई भोग बिक्री व्यवहार गरी आएको हुँदा अंश दिनुपर्ने होइन भन्ने जिकिर लिएको देखिन्छ । त्यस्तै वादीले अंशियारमध्येको माहिलो भाइ बौद्ध धर्मअनुसार गृहस्थ जीवन त्याग गरी औतारी लामा भएकोले निजले अंश पाउने अवस्था नहुँदा दुई भागको एक भाग अंश दिलाई पाउँ भनी दाबी लिएको तथा सुरू पुनरावेदन अदालत, बागलुङले वादीले दाबीबमोजिम नै दुई भागको एक भाग अंश पाउने र मुस्ताङ दरबार बन्डा नलाग्ने ठहर गरेकोमा यस अदालत संयुक्त इजलासले तीन अंशियार कायम गरी वादीले तीन भागको एक भाग अंश पाउने र उक्त मुस्ताङ दरबारसमेत बन्डा लाग्ने ठहर्‍याएको देखिँदा प्रस्तुत मुद्दामा मुख्यरूपमा यिनै विषयहरूमा केन्द्रित रही विवेचना गरी निष्कर्षमा पुग्नुपर्ने देखिन आयो ।

४. सर्वप्रथम वादी प्रतिवादीबीच मिति २०१७।९।१० मा घरसारमा बन्डापत्र खडा गरी छुट्टिई भिन्न भई सोबमोजिम आ-आफ्ना नाममा जग्गा दर्ता गरी भोग बिक्री व्यवहार गरी आएको हुँदा वादीलाई अंश दिनुपर्ने होइन भनी यी पुनरावेदक प्रतिवादीले लिएको जिकिरसम्बन्धमा हेर्दा, प्रतिवादीले बन्डा भइसकेको भनी मिति २०१७।९।१० को बन्डापत्रको फोटोकपी पेस गरेकोमा सो फोटोकपीमा उल्लिखित व्यहोरालाई वादीले अस्वीकार गरेको देखिन्छ । प्रतिवादीले उल्लेख गरेको उक्त बन्डापत्रको सक्कलै प्रति पेस गर्न अदालतबाट पटकपटक आदेश हुँदासमेत सोको सक्कल प्रति पेस हुन सकेको देखिँदैन । लिखतको सक्कल प्रति पेस हुन नसकेको अवस्थामा फोटोकपीको आधारमा मात्र उक्त लिखत वादीबाट सनाखत गराउन मिल्ने हुँदैन । प्रतिवादीले उक्त बन्डापत्र लिखतबमोजिमका जग्गा अंशियारहरूले आ-आफ्ना नाममा दर्ता गराएको भनी जिकिर लिए पनि वादीका नाममा कुनै जग्गा दर्ता भएको देखिएको 

छैन ।  प्रतिवादीले सो बन्डापत्रबमोजिमका जग्गा वादीले आफ्ना नाममा दर्ता नगराई आफ्ना छोरीहरू छिमी डोलकर र कर्साङ्ग लवाङका नामबाट ७ नं. फाँटवारी भरी छोरीहरूका नाममा दर्ता गराएको र निजहरूले केही जग्गाहरू अन्य व्यक्तिहरूलाई बिक्री वितरण हक हस्तान्तरणसमेत गरेकोले अंशबन्डाको ३० नं. बमोजिम व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको भनी जिकिर लिए पनि वादीका छोरीहरूका नाममा रहेका जग्गा वादीले अंशबापत प्राप्त गरेका पैतृक सम्पत्ति हुन् भनी प्रतिवादीले पुष्टि गर्न सकेको देखिँदैन भने मिसिल संलग्न अन्य कागज प्रमाणबाट पनि सो कुरा पुष्टि हुन सकेको देखिँदैन ।

५. मुलुकी ऐनमा मिति २०३४।९।२७ मा भएको सातौं संशोधनबाट संशोधित अंशबन्डाको ३० नं. मा अंशियारहरूबीच भएको अंशबन्डा लिखत रजिस्ट्रेसन नभएमा कानूनी मान्यता नपाउने तर उक्त संशोधन हुनुभन्दा अगाडिकाको हकमा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो हिसाब भागशान्तिबमोजिम लिई पाई दाखिल खारेज गराइसकेको वा बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको मानिने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाबमोजिम व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको कुराको पुष्टि हुनका लागि बन्डा पाउने अंशियारका भागमा बन्डामा परेको सम्पत्ति नरम गरम मिलेको हुनुका साथै सोबमोजिम आ-आफ्ना नाममा दर्ता नामसारी, दाखिल खारेज तथा भोग बिक्री व्यवहार भएको कुरा देखिनु पर्ने 

हुन्छ । उक्त कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा हेर्दा प्रस्तुत मुद्दाका प्रतिवादीले अंशबन्डा भइसकेको भनी जिकिर लिए पनि अंशियारमध्येका वादीका नाममा कुनै जग्गा दर्ता नै रहेको नदेखिएको तथा वादीका छोरीहरूका नाममा दर्ता भएका जग्गा वादीले अंशबापतमा प्राप्त गरी निजहरूका नाममा राखिएका पैतृक सम्पत्ति हुन् भन्ने कुरा पुष्टि हुन नसकेको अवस्थाका केवल प्रतिवादीको मौखिक कथन र अनुमानका आधारमा मात्र वादीले अंश प्राप्त गरिसकेको भनी निष्कर्षमा पुग्न न्यायोचित हुने देखिएन ।

६. यसैसम्बन्धमा पुष्करप्रसाद वाग्ले विरूद्ध राधदेवी वाग्ले उपाध्यायसमेत भएको अंशचलन मुद्दा (ने.का.प. २०६६, अंक ९, नि.नं. ८२२७) मा प्रतिपादित नजिर सिद्धान्त प्रस्तुत मुद्दामा सान्दर्भिक हुने देखिन्छ । उक्त मुद्दामा “अंशबन्डाको ३० नं. को प्रयोग र प्रयोजनका लागि विवादको स्वरूप, सम्पत्तिको प्रकृति एवं वादी प्रतिवादीहरूको व्यवहार नै निर्णायक तत्त्व हुन् । यस कानूनले व्यवहार प्रमाणबाट बन्डा भएको मानिने सुनिश्चित आधार नदिई केवल केही निर्णायक तत्त्वहरूको परिधि मात्र तोकिदिएको छ । यही परिधिको सीमाभित्र रही प्रत्येक मुद्दाको वस्तुस्थिति र सबुद प्रमाणको मूल्याङ्कन गर्दै न्यायकर्ताले न्यायिक निष्कर्ष निकाल्नु पर्ने हुन्छ । ... व्यवहार प्रमाण एवं आचरणबाट बन्डा भएको कुरा अंशियारले स्वीकार्ने माध्यम लिखत, आपसी व्यवहार, आपसी कारोबार, अलगअलग वासस्थान र समयको अस्वाभाविक अन्तराल हुन् । ती तत्त्वमध्ये एक वा एकभन्दा बढी अवस्थाको विद्यमानताले अंशबन्डाको ३० नं. को आवश्यकता पूरा गर्दछ । यस कसीमा जति बढी तत्त्वलाई प्रमाणले अंगिकार गर्दछ त्यति बढी व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको कुरामा विश्वस्त हुन अदालतसमक्ष हुन पुग्दछ” भनी अंशबन्डाको ३० नं. को कानूनी व्यवस्था र त्यसको प्रयोगका सम्बन्धमा विस्तृत विवेचना भई सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उक्त प्रतिपादित सिद्धान्तबमोजिम पनि प्रस्तुत मुद्दाका वादी प्रतिवादीहरू व्यवहार प्रमाणबाट छुट्टिई भिन्न भइसकेको भन्ने कुरा कुनै लिखत प्रमाण, आपसी व्यवहार, कारोबार आदिसमेतबाट स्थापित हुने सकेको देखिँदैन ।

७. उपर्युक्तबमोजिम विवेचित आधार कारण र प्रतिपादित सिद्धान्तसमेतबाट यी पुनरावेदक प्रतिवादीले अंशबन्डा भइसकेको भनी जिकिर लिएको २०१७ सालको लिखतको सक्कल प्रति पेस हुन नसकेको, वादीका नाममा कुनै जग्गा दर्ता नै नरहेको, वादीका छोरीहरूका नाममा दर्ता रहेका जग्गा वादीले अंशबापत प्राप्त गरेका पैतृक सम्पत्ति हुन् भन्ने कुरा पुष्टि हुन नसकेको तथा वादी प्रतिवादीहरूबीच आपसी व्यवहार, कारोबार भएको कुरा मिसिल प्रमाणबाट पुष्टि हुन नसकेको यस्तो अवस्थामा वादी प्रतिवादीहरूबीच अंशबन्डा भइसकेको भनी ठहर निर्णय गर्नु न्यायोचित हुने नदेखिँदा वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन आयो ।

८. अब वादी प्रतिवादीहरू कति अंशियार रहेछन् र वादीले कति भाग अंश पाउने हो भन्नेसम्बन्धमा विचार गर्दा, मूल पुर्खा ओङगल जिम्बा पलवर विष्टका तीन भाइ छोरामा जेठा वादी डिकी डोलकरका पति स्वर्गीय आङगुन वाङदी पलवर, माहिला चराङ स्याण्टुङ विष्ट र कान्छा प्रतिवादी मुस्ताङ्गी राजा झिग्मी पलवर विष्ट रहेकोमा माहिला चराङ स्याण्टुङ गृहस्थ जीवन त्याग गरी औतारी लामा भएकोले निजले अंश पाउने अवस्था नरहेकोले दुई भागको एक भाग अंश पाउँ भन्ने वादी दाबी रहेको देखिन्छ । पेटबोलीबाट देखिएका निज चराङ स्याण्टुङले अ.बं. १३९ नं. बमोजिम अदालतमा उपस्थित भई बयान गर्दा मैले धर्मकर्म पूजापाठ गर्ने सामानलगायत चराङ ढावको खेतसमेत पूजाको लागि प्राप्त गरेको, म लामा भएकोले अब अंश चाहिँदैन, कानूनले अंश पाउनु पर्ने भए पनि मैले जो पाउने पाई सकेकाले अब पाउनु पर्ने छैन भनी उल्लेख गरेको देखिन्छ । निजले आफ्नो उक्त बयानमा जेठी श्रीमतीबाट १ छोरा र कान्छी श्रीमतीबाट १ छोरी रहेको भनी उल्लेख गरे पनि निजहरूको अस्तित्व र पहिचान स्पष्टरूपमा खुलाउन सकेको देखिँदैन । यसरी निज चराङ स्याण्टुङले आफूले पाउने कुरा पाइसकेकोले अंश पाउन बाँकी छैन भनी बयान गरी अंशहक परित्याग गरेको देखिएको तथा निजले आफ्ना श्रीमती छोरा छोरीहरू छन् भने पनि निजहरूको पहिचान र अस्तित्व स्पष्टरूपमा खुलाउन नसकेको अवस्थामा अहिले नै यसै मुद्दाबाट निजहरूको पनि अंश छुट्‍याउनु उचित हुने देखिँदैन । अंशसम्बन्धी हक नैसर्गिक हक रहेको र पति पिताले अंशहरू परित्याग गर्दैमा श्रीमती छोरा छोरीको अंश हकसमेत समाप्त हुन नसक्ने हुँदा वादीका माहिला देवर चराङ स्याण्टुङ्गका श्रीमती छोरा छोरीहरू रहेका भए र निजहरूले अंशमा दाबी गरेमा सोही बखत निजहरूको अंश हकका सम्बन्धमा ठहर इन्साफ हुने नै भएकोले अहिले नै निजहरूको अंशहक सम्बन्धमा केही बोलिरहनु उचित हुने नदेखिँदा हाल वादी प्रतिवादीहरू दुई अंशियार रहेकोमा तीन अंशियार कायम गरी वादीले तीन भागको एक भाग अंश पाउने ठहर्‍याएको यस अदालत संयुक्त इजलासको फैसला सो हदसम्म मिलेको देखिन 

आएन ।

९. अब वादीले के कुन सम्पत्तिबाट अंश पाउने हो भन्नेसम्बन्धमा विचार गर्दा, प्रतिवादी मुस्ताङ्गी राजा झिग्मी पलवर विष्टले पेस गरेको तायदातीमा उल्लेख भएको लोमान्थाङ्ग गा.वि. स. वडा नं. १(ख) कि.नं. ३ को जग्गा र सो जग्गामा बनेको मुस्ताङ दरबार र ऐ. कि.नं. १८ मा बनेको घरसमेतका सम्बन्धमा वादी स्वयंले आफ्नो फिरादमा तपाइँ राजा हुनुभएकोले दरबारमा तपाई नै बस्नुहोस् तर हामीलाई पनि खाने बस्ने व्यवस्था हुने गरी घर जग्गा दिनुहोला भन्दा तिमीहरूलाई केही दिन्न भनेकोले फिराद गर्न आएकी छु भनी उल्लेख गरेको देखिन्छ । त्यस्तै मिसिल संलग्न प्रमाणबाट उक्त दरबार ऐतिहासिक महत्त्वको देखिएको र सो कुरामा वादी प्रतिवादीबीच विवाद रहेको पनि देखिँदैन । यसप्रकार उक्त मुस्ताङ दरबारमा वादी स्वयंले दाबी नै नगरेको र उक्त दरबारको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक स्वरूप यथावत्‌रूपमा संरक्षण गरी राख्नु उपयुक्त हुने देखिएकोले अंशियारहरूबीच बन्डा गर्नु उचित हुने देखिएन । त्यस्तै तायदाती फाँटवारीमा उल्लिखित मुस्ताङ जिल्ला, चाराङ १(ख) कि.नं. ५९१ को जग्गामा बनेको गुम्बा घरसमेत धार्मिक स्थलको रूपमा रहेको देखिन्छ । त्यस्तो धार्मिक स्थलको रूपमा रहेको गुम्बामा आफ्नो धार्मिक आस्थाअनुसार सर्वसाधारण जो सुकैले धार्मिक उपासना गर्न पाउने हुन्छ । यसरी सार्वजनिकरूपमा प्रयोग हुने धार्मिक स्थलको रूपमा रहेको गुम्बालाई व्यक्तिगत सम्पत्ति मानी अंशियारहरूबीच विभाजन गर्नु धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट समेत उचित हुने देखिएन ।

१०. काठमाडौं महानगरपालिका वडा नं. ७ को कि.नं. ७ को जग्गा र सो जग्गामा बनेको घरका सम्बन्धमा हेर्दा, उक्त जग्गा डेरामा बस्ने मुस्ताङ्गी राजाले तत्कालीन श्री ५ महाराजाधिराजमा बिन्तीपत्र चढाई हुकुम प्रमांगीबमोजिम तत्कालीन श्री ५ को सरकार, गृह मन्त्रालयबाट रकम भुक्तानी गरी जीवनकालमा अरू व्यक्तिलाई बेच्न नपाउने सर्तसहित मुस्ताङ्गी राजालाई खरिद गरिदिएको देखिन्छ । उक्त जग्गामा बनेको घर पैतृक सम्पत्तिको लगानीमा निर्माण भएको भन्ने आधारसमेत वादीले देखाउन सकेको पाइँदैन । यसरी उक्त जग्गा पैतृक सम्पत्ति नरही राज्यकोषबाट सर्तबन्देजसहित मुस्तङ्गी राजालाई किनिदिएको देखिएको र सो जग्गामा बनेको घरमा आफ्नोसमेत लगानी वा योगदान रहेको छ भन्ने कुरा वादी पक्षले प्रमाणद्वारा पुष्टि गर्न नसकेको अवस्थामा सो घर जग्गासमेत बन्डा लाग्ने देखिन आएन ।

११. अतः माथि प्रकरण प्रकरणमा विवेचित आधार कारणबाट वादी प्रतिवादीहरूबीच अंशबन्डा भइसकेको भन्ने कुरा पुष्टि हुन नआएको, वादी प्रतिवादीहरू हाल दुई अंशियार रहेको देखिएकोमा पुनरावदेन अदालत, बागलुङले गरेको फैसला केही उल्टी गरी तीन अंशियार कायम गरी वादीले तीन भागको एक भाग अंश पाउने र प्रतिवादीको तायदातीमा उल्लिखित मुस्ताङ जिल्ला लोमान्थाङ गा.वि.स. वडा नं. १ (घ) कि.नं. ३ मा बनेको मुस्ताङ दरबार र ऐ. कि.नं. १८ मा बनेको घरसमेत बन्डा लाग्ने ठहर्‍याएको हदसम्मको यस अदालत संयुक्त इजलासको मिति २०६६।११।४ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई उक्त कि.नं. ३ र १८ मा बनेको मुस्ताङ दरबार तथा घर, मुस्ताङ चराङ १(ख) कि.नं. ५९१ मा बनेको गुम्बा तथा काठमाडौं महानगरपालिका वडा नं. ७ को कि.नं. ७ को जग्गा र सो जग्गामा बनेको घरसमेत बन्डा लाग्ने प्रकृतिको नदेखिँदा तीबाहेक प्रतिवादीको तायदातीमा उल्लिखित सम्पत्तिबाट वादीले दुई भागको एक भाग अंश पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

१. माथि ठहर खण्डमा लेखिएबमोजिम यस अदालत संयुक्त इजलासको फैसला केही उल्टी भई मुस्ताङ जिल्ला, लोमान्थाङ गा.वि.स. वडा नं. १(घ) कि.नं. ३ र १८ मा बनेको मुस्ताङ दरबार तथा घर, चराङ १(ख) कि.नं. ५९१ मा बनेको गुम्बा र काठमाडौं महानगरपालिका वडा नं. ७ को कि.नं. ७ को जग्गा र सो जग्गामा बनेको घरबाहेक प्रतिवादीको तायदातीमा उल्लिखित सम्पत्तिबाट वादीले दुई भागको एक भाग अंश पाउने ठहरेकाले यस अदालत संयुक्त इजलासको फैसलाको तपसिल खण्डको देहाय १ को लगत कायम नरहने हुँदा सोबमोजिमको लगत राखिएको भए कट्टा गरी उपर्युक्त सम्पत्तिबाहेक प्रतिवादीको तायदातीमा उल्लिखित सम्पत्तिबाट कानूनबमोजिम वादीलाई दुई भागको एक भाग अंश छुट्याई दिनु भनी मुस्ताङ जिल्ला अदालतमा लेखी पठाइदिनू ।

२. पुनरावेदन अदालत, बागलुङको फैसलाबमोजिम वादीले प्रतिवादीबाट गरी पाउने ठहरेको कोर्ट फी रू.२५२०।९७ प्रतिवादीले पुनरावेदन गर्दा यस अदालतको र.नं. ४२९७९ मिति २०५७।४।३० मा धरौटी राखेको देखिँदा उक्त धरौटी रकम कानूनबमोजिम प्रत्यर्थी वादीलाई खर्च लेखिदिनु भनी यस अदालतको लेखा शाखालाई जानकारी दिनू । यस अदालत संयुक्त इजलासको तपसिल खण्डको देहाय २ बमोजिम केही गरिरहनु नपर्ने हुँदा सोबमोजिमको लगत राखिएको भए कट्टा गरी दिनु भनी मुस्ताङ जिल्ला अदालतमा लेखी पठाइदिनू ।

३. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाइदिनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.सुशीला कार्की

न्या.गोपाल पराजुली

 

इजलास अधिकृत : सन्तोषप्रसाद पराजुली

इति संवत् २०७२ साल फागुन ६ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु