निर्णय नं. ९६३१ - हातहतियार खरखजाना

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७२।५।३१।५
०७०-CR-०७३२
मुद्दा: हातहतियार खरखजाना ।
पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, पातो गा.वि.स. वडा नं. ६ बस्ने अरविन्दकुमार पण्डित
वस्तुतः एउटै मुद्दाका सहअभियुक्तले सुरू फैसलाउपर दायर गरेको पुनरावेदनमा विपक्षी झिकाउने आदेश भई नेपाल सरकारको तर्फबाट सुनुवाईमा बहससमेत गरी सकेपछि पनि उक्त मुद्दाको सुरू फैसलाको जानकारी प्राप्त नभएको भन्न मिल्ने हुँदैन । एउटै मुद्दाको सुरू फैसलाउपर एउटा प्रतिवादीको तर्फबाट परेको पुनरावेदनमा विपक्षी झिकाउने आदेश भई वादी नेपाल सरकारको तर्फबाट बहस गरी सो मुद्दा मिति २०६७।३।१५ मा फैसला भइसकेपछि त्यसको ९ महिना ३ दिन पछि मिति २०६७।१२।१८ मा पुनरावेदन अदालतमा दायर भएको पुनरावेदन पत्रलाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २६ बमोजिम तोकिएको पुनरावेदन गर्ने हदम्यादभित्र परेको भन्न मिल्ने नदेखिने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीका तर्फबाट :
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, अ.बं.१८० नं.
सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २६
सुरू फैसला गर्नेः
प्र.जि.अ. श्री भोलाप्रसाद शिवाकोटी
पुनरावेदन अदालतमा फैसला गर्नेः
मा. मुख्य न्यायाधीश श्री केशरीराज पण्डित
मा. न्यायाधीश श्री विष्णुदेव पौडेल
फैसला
न्या.जगदीश शर्मा पौडेल : पुनरावेदन अदालत, पाटनको मिति २०७०।२।१२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
बालकहरू हराएको हुँदा खोजतलास गरिपाउँ भनी मिति २०६५।८।१ मा हराएका नाबालक आशिष मानन्धरका बाबु श्रीप्रसाद मानन्धर र रितेष रौनियारका बाबु विनोद रौनियारले दिनुभएको सूचना ।
मिति २०६५।८।११ का दिन का.जि. महादेवस्थान गा.वि.स. वडा नं. ४ को गुमाल चौकी सामुदायिक जंगलमा खोजतलासको क्रममा २ वटा लासहरू फेला परेको र सो लास भएको ठाउँ नजिक गोली थान १ समेत फेला परेको भन्ने बरामदी
मुचुल्का ।
फेला परेका लासहरू आफ्ना नाबालक छोराहरू आशिष मानन्धर र रितेष रौनियारको भएको र निजहरूलाई कर्तव्य गरी मारेकोले कारवाही गरिपाउँ भनी विनोद रौनियार र श्रीप्रसाद मानन्धरको जाहेरी ।
का.जि.का.म.न.पा. वडा नं. १५ स्वयम्भुमा चन्द्रदेव पण्डितले सञ्चालन गरेको सिमेन्टको रिङ पसलमा राजेन्द्र पण्डितले देखाएको स्थानमा कटुवा पेस्तोल थान १ र गोलीको खोका थान १ समेत बरामद भएको भन्ने मिति २०६५।८।१८ को बरामदी मुचुल्का र प्रतिवादी राजेन्द्र पण्डितलाई पक्राउ गरी प्रारम्भिक सोधपुछका क्रममा आशिष मानन्धर र रितेष रौनियारको हत्या वीरेन्द्रकुमार पण्डित, दीपक मेहता र मसमेत भई गरेको भनेको हुँदा बरामदी सामानसहित राजेन्द्र पण्डितलाई पक्राउ गरी प्रतिवेदनसाथ बरामदी मुचुल्का पेस भएको ।
प्रतिवादीहरू राजेन्द्र पण्डित, वीरेन्द्रकुमार पण्डित र दिपक मेहताले हामीहरूका नाबालक छोराहरूलाई एकान्तस्थलमा लगी हत्या गरेकोले निजहरूलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने विनोद रौनियार र श्रीप्रसाद मानन्धरको मिति २०६५।८।१८ को जाहेरी ।
मेरो भिनाजु नाता पर्ने सप्तरी गोविन्दपुरका अरविन्द पण्डितसँग रू.३०००।– दिने सर्तमा रू.२०००।– दिई १ थान कटुवा पेस्तोल र ३ थान गोली लिई काठमाडौं आएकोले मैले सो बोकी रिङ पसलमा बसेको अवस्थामा मेरो साथी मृतक रितेष रौनियाले माला बनाउन १ थान गोली मागेकोले मैले निजलाई दिएको, रितेषको मोबाइल मैले किनेकोमा सोको रकम पनि दिन बाँकी रहेकोमा मसँग विपक्षी सधैंजसो पैसा माग्ने र नदिएमा बन्दुक बोकी हिँड्ने गरेको कुरा अन्यलाई बताई दिने धम्की दिने गरेको हुँदा निजलाई मारेमा सो रकम पनि तिर्नु नपर्ने र हतियारबारे पनि चिन्ता लिनु नपर्ने ठानी साथी वीरेन्द्रकुमार पण्डितलाई आफ्नो उद्देश्य बताएपछि सो कामको लागि दीपक मेहताको समेत सहयोग लिने सल्लाह गरी रितेषलाई मोबाइलको पैसा लिन आउ भनी बोलाउँदा निज अर्का साथी आशिष मानन्धर पनि सँगै आएकोले थानकोट चौकीभन्दा माथिको जंगलमा लगी पेस्तोल निकाली रितेषलाई हान्दा गोली पड्किएन, पछि पुनः पड्कियो तर कसैलाई लाग्यो लागेन थाहा भएन, पछि गोली लोड गरी फायर गर्नु पर्यो भनी लोड गर्दा खोका ननिस्किई गोली सोही ठाउँमा खसी हराएको, मसँगै गएका साथी वीरेन्द्रकुमार पण्डित र दिपक मेहतासमेत भई आशिष र रितेशलाई खुकुरीसमेतले प्रहार गरी मारेको र हतियार मैले स्वयम्भु पसल छेउमा ल्याई गाडेको अवस्थामा बरामदी भएको भन्ने अनुसन्धानका क्रममा राजेन्द्र पण्डितले गरेको बयान ।
मैले आफ्नो सुरक्षार्थ भारतबाट रू. १२०० मा खरिद गरेको पेस्तोल र सशस्त्र प्रहरीमा काम गर्दा बनाएको गोली थान ३ मेरो साला नाता पर्ने राजेन्द्र पण्डितले मागेको हुँदा बरामदी पेस्तोल र गोलीसमेत मैले नै राजेन्द्र पण्डितलाई दिएको हो, त्यसरी हातहतियार खरखजाना राख्ने इजाजत लाइसेन्स छैन भनी प्रतिवादी अरविन्द पण्डितले मिति २०६५।९।१६ मा अनुसन्धानका क्रममा गरेको बयान ।
प्रतिवादीहरू अरविन्द पण्डित, राजेन्द्र पण्डित, वीरेन्द्र पण्डित र दीपक मेहताले हातहतियार तथा खरखजाना ऐन, २०१९ को दफा ३(२) र दफा ५(१) अनुसारको कसुर गरेकोले सोही ऐनको दफा २०(२) अनुसारको सजाय गरिपाउँ भन्ने अभियोग
पत्र ।
प्रतिवादी राजेन्द्र पण्डितलाई म चिन्दिन । निज मेरो साला नाताको पनि होइन, मैले भारतबाट हतियार आफ्नो घरमा ल्याई राखी राजेन्द्र पण्डितलाई दिएको छैन, होइन । प्रहरीले मलाई जबरजस्ती मन्जुरीबिना सहि गराएको हो, प्रस्तुत घटनाका विषयमा मलाई केही थाहा छैन भन्ने अरविन्दकुमार पण्डितले जिल्ला प्रशासन कार्यालयमा गरेको बयान ।
बरामदी हतियार र गोलीबारे मलाई केही थाहा छैन, यस मुद्दाका अन्य प्रतिवादीहरू कसैलाई पनि म चिन्दिन, रितेष रौनियार र आशिष मानन्धरलाई हत्या गरेका विषयमा अनुसन्धानका क्रममा पक्राउ गरेको
हो । मैले बिना इजाजतको पेस्तोल र गोली राख्ने प्रयोग गर्ने काम गरेको छैन भन्ने प्रतिवादी राजेन्द्र पण्डितको बयान ।
प्रतिवादीहरू राजेन्द्र पण्डित, वीरेन्द्र पण्डित र दीपक मेहताले बिना इजाजतको पेस्तोल प्रयोग गर्न साथमा लिई बोकी हिँड्ने काम गरी हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) र दफा ५(१) अनुसारको कसुर गरेको ठहर्छ । सोही ऐनको दफा २० को उपदफा २ अनुसार फरार प्रतिवादी वीरेन्द्रकुमार पण्डित र दीपक मेहतालाई रू.६०,०००।– (साठी हजार) जरिवाना र ३ वर्ष कैद जनहीका दरले हुन्छ, प्रतिवादी राजेन्द्र पण्डितका हकमा हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) र ५(१) अनुसार कसुर गरेको ठहर्दा सोही ऐनको दफा २०(२) अनुसार ३ वर्ष कैद र रू.६०,०००।– जरिवाना
हुन्छ । प्रतिवादी अरविन्दका हकमा यी प्रतिवादीले यसरी बिना इजाजतको अवैध पेस्तोल र गोली आफ्नो साथमा राख्ने काम गरेको भन्ने कुरा पत्यार हुन सक्ने अवस्था नदेखिएकोले सफाई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू जिल्ला प्रशासन कार्यालय, काठमाडौंको मिति २०६६।३।२४ को फैसला ।
अवैध हातहतियारसम्बन्धी कसुरमा सजाय भएका प्रतिवादी राजेन्द्र पण्डितले देखाएको स्थानबाट हतियार बरामद भएको पेस्तोल र गोलीका खोकासमेत यी प्रतिवादी अरविन्द पण्डितसँग खरिद गरेको भनी राजेन्द्र पण्डितले निज प्रतिवादी अरविन्द पण्डितलाई कसुरमा पोल गरेकोमा मौकाको बयान निज अरविन्द पण्डित साबित रहेकोमा निजलाई सफाई दिने गरी भएको सुरू जिल्ला प्रशासन कार्यालयको फैसला नमिलेको हुँदा उल्टी गरी अभियोग दाबीबमोजिम गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
बरामद भएको पेस्तोल र गोली अरविन्द पण्डितबाट लिएको हो भनी प्रतिवादी राजेन्द्र पण्डितले प्रहरीमा बयान गरेको र निजलाई सजाय भएकोमा आरोपित कसुरमा प्रहरीमा साबित भएका प्रतिवादी अरविन्द पण्डितलाई सफाई दिएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को त्रुटिको प्रश्नमा फरक पर्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी नेपाल सरकारको हकमा पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई जानकारी गराई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको २०६९।३।१३ को आदेश ।
मिति २०६७।१२।१८ मा दायर भएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २६ ले तोकेको म्याद र कानूनन सो म्याद थमाउन पाउने अवधि नघाई दर्ता भएको यो पुनरावेदन पत्रबाट मुद्दाको तथ्यमा प्रवेश गरी निर्णय दिई रहन पर्ने भएन । तसर्थ प्रस्तुत पुनरावेदन पत्र अ.ब. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०७०।२।१२ को फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त
बुझेन । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मिति २०६६।३।२४ मा भएको फैसलाउपर पुनरावेदन गर्ने म्याद मिति २०६७।११।२० मा प्राप्त गरेकोमा म्यादभित्र पुनरावेदन परेकोमा अर्का प्रतिवादीको सोही मुद्दामा परेको पुनरावेदनमा विपक्षी झिकाउने आदेश हुँदा प्राप्त भएको सूचना र सुनुवाई हुँदा सरकारी वकिलको बहसमा उपस्थित भएको भन्ने आधार लिई पुनरावेदन खारेज गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी अभियोग दाबीबमोजिम गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो । प्रस्तुत मुद्दामा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २६ बमोजिमको म्याद व्यतित गरी पुनरावेदन पत्र दर्ता भएको आधारमा अ.बं. १८० नं. बमोजिम पुनरावेदन पत्र खारेज हुने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ वा छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनको मिति २०७०।२।१२ को फैसला हेर्दा यसै मुद्दाका सहअभियुक्तले मिति २०६६।४।२५ मा सो अदालतमा दायर गरेको पुनरावेदनमा मिति २०६७।१।१४ मा प्रत्यर्थी झिकाउने आदेश भई पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई मिति २०६७।१।२९ मा सोको जानकारी दिई मिति २०६७।३।१५ को सो मुद्दाको पेसीमा उक्त कार्यालयको शाखा अधिकृतले वादी नेपाल सरकारको प्रतिनिधित्व गरी सोही मिति २०६७।३।१५ मा उक्त मुद्दा फैसला भएको र एउटै मुद्दाको सुरू फैसलाउपर एउटा प्रतिवादीको तर्फबाट परेको पुनरावेदनमा सुरू फैसला सदर हुनुपर्ने हो भनी वादी पक्षबाट प्रतिनिधित्व भइसकेपछि त्यसको ८ महिनापछि मात्र यो मुद्दाको सुरू फैसलाको जानकारी पाएको भनी मिति २०६७।१२।१८ मा दायर भएको पुनरावेदन पत्र सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २६ को म्याद र कानूनत: सो म्याद थमाउन पाउने अवधिसमेत व्यतित गरी दर्ता भएकोले मुद्दाको तथ्यभित्र प्रवेश नगरी अ.बं. १८० नं. बमोजिम पुनरावेदन खारेज हुने ठहराई फैसला गरेको देखिन्छ ।
३. उक्त फैसलाउपर वादी नेपाल सरकारले यस अदालतमा पुनरावेदन गर्दा सुरू फैसला गर्ने जिल्ला प्रशासन कार्यालयबाट मिति २०६६।३।२४ को फैसलाउपर २०६७।११।२० मा मात्र पुनरावेदनको म्याद प्राप्त भई सोही मितिबाट म्यादभित्र पुनरावेदन दर्ता गराएकोमा सोही मुद्दामा अर्का प्रतिवादी राजेन्द्र पण्डितको पुनरावेदनमा विपक्षी झिकाउने आदेश भई मुद्दा सुनुवाई हुँदा सरकारी वकिलको उपस्थित रहेको भन्ने आधारमा सोही मितिदेखि पुनरावेदनको हदम्याद गणना गरी पुनरावेदन खारेज गर्ने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएको भन्ने जिकिर लिएको पाइन्छ ।
४. यस सम्बन्धमा प्रस्तुत मुद्दाको तथ्यगत अवस्थाको बारेमा मिसिल संलग्न कागजात हेर्दा पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनबाट पुनरावेदन अदालत, पाटनमा दायर गरिएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रमा प्रतिवादीमध्येका अरविन्द पण्डितलाई सफाई दिने गरी मिति २०६६।३।२४ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट भएको फैसलाको जानकारी मिति २०६७।११।२० मा प्राप्त गरी पुनरावेदन पत्र दायर गरिएको भन्ने उल्लेख भएको पाइन्छ । सोही मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको फैसलाउपर सहअभियुक्त राजेन्द्र पण्डितले मिति २०६६।४।२५ मा पुनरावेदन अदालत, पाटनमा पुनरावेदन दायर गरी सो अदालतबाट मिति २०६७।१।१४ मा विपक्षी झिकाउने आदेश हुँदा पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई मिति २०६७।१।२९ मा पुनरावेदन पत्रको प्रतिलिपिसहित पेसीको जानकारी दिइएको देखिन्छ । मिति २०६७।३।१५ मा उक्त मुद्दाको सुनुवाईमा उक्त कार्यालयको तर्फबाट उपस्थित शाखा अधिकृतले बहस गर्नु भई सोही मिति २०६७।३।१५ मा उक्त मुद्दा सो अदालतबाट फैसला भएको देखिन्छ ।
५. वस्तुतः एउटै मुद्दाका सहअभियुक्तले सुरू फैसलाउपर दायर गरेको पुनरावेदनमा विपक्षी झिकाउने आदेश भई नेपाल सरकारको तर्फबाट सुनुवाईमा बहससमेत गरी सकेपछि पनि उक्त मुद्दाको सुरू फैसलाको जानकारी प्राप्त नभएको भन्न मिल्ने हुँदैन । एउटै मुद्दाको सुरू फैसलाउपर एउटा प्रतिवादीको तर्फबाट परेको पुनरावेदनमा विपक्षी झिकाउने आदेश भई वादी नेपाल सरकारको तर्फबाट बहस गरी सो मुद्दा मिति २०६७।३।१५ मा फैसला भइसकेपछि त्यसको ९ महिना ३ दिनपछि मिति २०६७।१२।१८ मा पुनरावेदन अदालतमा दायर भएको पुनरावेदन पत्रलाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २६ बमोजिम तोकिएको पुनरावेदन गर्ने हदम्यादभित्र परेको भन्न मिल्ने देखिएन । यस अवस्थामा कानूनबमोजिम तोकिएको म्याद र थाम्ने थमाउने अवधिसमेत व्यतित गरी परेको वादी नेपाल सरकारको उक्त पुनरावेदन पत्रबाट मुद्दाको तथ्यमा प्रवेश गरी निर्णय गर्नुपर्ने अवस्था नभएको भनी अ.बं. १८० नं. बमोजिम पुनरावेदन खारेज हुने ठहराएको पुनरावेदन अदालतको फैसला मनासिब देखिन आयो ।
६. तसर्थ उक्त आधार र कारणसमेतबाट वादी नेपाल सरकारको पुनरावेदन पत्र सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २६ बमोजिमको म्याद र कानूनबमोजिम थाम्ने थमाउने अवधिसमेत व्यतित गरी दायर भएको देखिएकोले उक्त पुनरावेदन अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहराएको पुनरावेदन अदालत, पाटनको मिति २०७०।२।१२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
स.प्र.न्या.कल्याण श्रेष्ठ
इजलास अधिकृत : विश्वनाथ भट्टराई
इति संवत् २०७२ साल भदौ ३१ गते रोज ५ शुभम् ।