शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६३७ - कर्तव्य ज्यान

भाग: ५८ साल: २०७३ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.व.रा.

फैसला मिति :२०७२।११।३।२

 

मुद्दाः- कर्तव्य ज्यान

 

०६८-CR-०६७९

पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला बेतिनी गा.वि.स. वडा नं. ८ घर भई हाल कारागार कार्यालय नुवाकोटमा थुनामा रहेको वर्ष २४ को सिरलामा तामाङ

विरूद्ध

प्रत्यर्थी / वादी : तोकपेन तामाङको जाहेरीले नेपाल सरकार

 

०६८-CR-०६८०

पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला बेतिनी गा.वि.स. वडा नं. ८ घर भई हाल कारागार कार्यालय नुवाकोटमा थुनामा रहेको वर्ष २४ को सिरलामा तामाङ

विरूद्ध

प्रत्यर्थी / वादी : तोकपेन तामाङको जाहेरीले नेपाल सरकार

 

झिना मसिना कुरा निकालेर गम्भीर कसुरको सजायबाट उम्किन सक्ने गरी कानूनको व्याख्या हुन सक्दैन । खुकुरी जस्तो घातक हतियारले घाँटी जस्तो संवेदनशील ठाउँमा पटकपटक प्रहार गर्ने कार्यबाट मृतकको ज्यान लिने यी प्रतिवादीको मनसाय स्पष्ट प्रमाणित छ । मृतकको अत्यन्त बीभत्स र क्रुर हत्या भएको छ । यस्तो हत्या (murder) मा अ.बं. १८८ नं. को प्रयोग हुनै नसक्ने ।

(प्रकरण नं.४)

मृतकको शरीरबाट गहना निकाली लगेको भन्ने प्रतिवादीको साबितिबाट अभियोगदाबीको मुलुकी ऐन चोरीको महलको १२ नं. को कसुर पनि स्थापित भएको छ । यसमा ज्यानसम्बन्धीको महलबमोजिम ठूलो सजाय भइसकेपछि चोरीको महलको सजाय गर्न मिल्दैन भन्ने तर्कमा कुनै कानूनी बल छैन । यो कुरा फैसला कार्यान्वयन हुने बेलामा मुलुकी ऐन दण्ड सजायको महलबमोजिम तय हुने कुरा देखिन्छ । यसबाट फैसलामा हुने ठहर प्रभावित हुन नसक्ने हुँदा प्रतिवादीको यो पुनरावेदन जिकिरसँग सहमत हुन  नसकिने ।

(प्रकरण नं.५)

 

प्रतिवादीका तर्फबाट :

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सोमकान्त भण्डारी

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१), १४ नं.

मुलुकी ऐन, चोरीको महलको १२ नं.

 

सुरू फैसला गर्ने :

मा. जिल्ला न्या. श्री मोहनकृष्ण खनाल

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्यायाधीश श्री ठाकुर प्रसाद शर्मा

मा. न्यायाधीश श्री विश्वम्भर श्रेष्ठ

मा. न्यायाधीश श्री तेजबहादुर के.सी.

मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

 

फैसला

न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

नुवाकोट जिल्ला, बेतिनी गा.वि.स. वडा नं. ८ ढोडेनीस्थित पूर्व सोम्दा खोला, पश्चिम गाउवती खोल्सा, उत्तरमा तोकपेन तामाङको घर, दक्षिणमा साइला तामाङको घर यति चार किल्लाभित्र रहेको मृतक साइली तामाङको घर, उक्त घरभित्र भुइँ तल्लामा मृतक साइली तामाङनीको टाउको पूर्वपट्टि छुट्टिएको अवस्थामा र बाँकी गिंड पश्चिमपट्टि कोल्टो अवस्थामा रहेको लासको दायाँ र बायाँ साइडमा २।२ सानो ढुंगा रहेको बायाँ कान च्यातिएको, बायाँ हातको बुढी औंला नेर काटिएको भन्ने ८४ वर्षीय मृतकको मिति २०६६।८।२५ को घटनास्थल लासजाँच मुचुल्का ।

म काठमाडौं र भाइ विदेश भारततर्फ गई मृतक आमा साइली तामाङ छुट्टै घरमा एक्लै बस्नुभएकोमा मिति २०६६।८।२३ को दिन दिउँसोभरी वल्लोपल्लो घरका र छरछिमेकीका मानिसहरूले घरमा देखेको आमालाई सोको भोलिपल्ट २४ को दिन बिहानको अं. १० बजेको समयमा सधैँजसो म छुट्टिई बसेको हिँडेर अं. ९/१० मिनेटमा पुग्ने मेरो घरमा नआउनुभएकोले मेरो छोरा छेसो तामाङ हजुर आमाको घरमा जाँदा घरको भुइँ तलामा रगतपच्छे भई लडिरहेको अवस्थामा देखी दगुर्दै आई छरछिमेकीका घरमा गई मेरो हजुरआमा आफ्नो घरको भुइँ तलामा रगतपच्छे भई लडिरहनुभएको छ भनी पछि छरछिमेकका मानिसहरू घटनास्थल आमाको घरमा भित्र गई हेर्दा रगतपच्छे भई मृत्यु भइसकेको अवस्थामा देखी छरछिमेकका मानिसहरूले र आफ्नो नातेदारहरूले मलाई काठमाडौंमा तपाइँको आमालाई मारी राखेको छ तुरून्त घरमा आउनुस् भनी खबर गरेकोले सोही मङ्सिर २५ को दिन प्रहरीले त्रिशुली अस्पतालमा पोस्टमार्टमको लागि ल्याइसकेको थाहा पाएअनुसार त्रिशुली अस्पतालमा नै सरासर आई मुर्दा घरमा राखेको देखिएको । मेरी सौतेनी आमा साइली तामाङको धारिलो हतियारबाट टाउको र शरीर छुट्टयाएको अवस्थामा भेटिएकोले उक्त कार्य गर्ने नुवाकोट जिल्ला बेतिनी गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ३५ को सेलपोन तामाङ ऐ.ऐ. बस्ने वर्ष २२ को सिरलामा तामाङ, ऐ.ऐ. बस्ने वर्ष ४० को चतुर तामाङ र ऐ.ऐ. बस्ने वर्ष १८ को शंकर तामाङ हुनसक्ने भएकोले निजहरूलाई पक्राउ गरी छानबिन एवं कारवाही गरिपाउँ भन्ने तोकपेन तामाङको मिति २०६६।८।२६ को जाहेरी दरखास्त ।

Adult female dead body brought for postmortem examination. Head separated from the body due to cut with sharp objects. Incised wound dorsam of palm. Bloodstained cloth. गर्धन छिनाल्ने गरी लागेको चोटको कारणले मृत्यु भएको भन्ने व्यहोराको मृतक साइली तामाङको मिति २०६६।८।२६ को शव परीक्षण प्रतिवेदन ।

मिति २०६६।८।२३ को दिन म जाहेरवाला पेसाको लागि काठमाडौंतर्फ गएको र मेरो कान्छी आमा भिन्दै बसी रहेको अवस्थामा सोही मितिमा विपक्षी अपराधी सिरलामा तामाङले मेरो सहोदर कान्छी आमालाई उक्त घरको भुइँ तलामा हातहतियारले टाउको छिनाली हत्या गरेको छ भन्ने कुरा मलाई सोको भोलिपल्ट मिति २०६६।८।२४ मा अं. बिहान १० बजेको समयमा जानकारी हुन आएकोले साइली तामाङलाई सिरलामा तामाङले घाँटीमा खुकुरीले काटी हत्या गरी सुनका गरगहनासमेत लुटी लगेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने तोकपेन तामाङको मिति २०६६।९।१२ को किटानी जाहेरी ।

नुवाकोट जिल्ला, बेतिनी गा.वि.स. वडा नं. ८ स्थित ढोडेनी भन्ने स्थानको पूर्वतर्फ गोल्फु भन्ज्याङ जाने बाटो, पश्चिम नयाँ गाउँ जाने बाटो, उत्तर तोकपेन तामाङको बारी र दक्षिणमा ढोडेनी खोला यति चार किल्लाभित्र रहेको साइली तामाङको एक तल्ले घर उक्त घरको मझेरीको कुनामा बिँडसहितको १ फिट ५ इन्च लम्बाइ भएको काठको बिँड तथा दापसहितको फलामे खुकुरी थान १ र सिरलामा तामाङको शरीर तलासी गर्दा निजको पाइन्टको खल्तीमा रातो पत्थर भएको सुनको ढुंग्री थान २ सुनको फुली थान १ घाँटीमा लगाउने सुनको तिलहरी थान १ बरामद भएको भन्ने व्यहोराको मिति २०६६।९।१२ को बरामदी मुचुल्का ।

मिति २०६६।८।२३ मा म आफ्नो घर जिल्ला नुवाकोट बेतिनी गा.वि.स. वडा नं. ८ दोडेनी गाउँमा थिए । उक्त दिनमा मेरो घर गाउँमा मेरै छिमेकी तोकलामा तामाङको छोराको छेवर थियो । उक्त छेवरको कार्यमा मेरो घर परिवारलाई समेत निम्तो गरेका थिए । उक्त दिनमा म दिउसो आफ्नो घरमा भएको गाई भैंसीलाई घाँसपात गरी दिउँसो अं. १५.०० बजेको समयमा निज तोक लामा तामाङको घर छेवर भएको ठाउँमा गएको थिएँ । निजको घरमा गाउँका ५।७ जना अन्य मानिसहरू पनि थिए । म त्यहाँ पुगेपछि केही समय म पनि निज तोक लामाको घरमा कुराकानी गरी बसेँ । सोपछि निजका घरमा गएका मानिसहरू आ-आफ्नो घरतर्फ गए र तोक लामा निजको सासुससुरासमेतका मानिसहरू मसमेत कुराकानी गरी बस्यौं । तोक लामाको ससुरा छरपेन कान्छाले मलाई काँचको बटुकामा एक बटुका रक्सी दिए । मैले कुराकानी गर्दै बिस्तारै एक माना जति रक्सी खाएँ । रक्सी खाई सकेपछि म त्यहाँबाट आफ्नो घर जाने क्रममा ऐ. स्थान बस्ने राम सिंह तामाङको घर हुँदै आफ्नो घरतर्फ जाने क्रममा अं. १७.३० बजेको समयमा म मृतक साइली तामाङको घरनजिकमा पुग्दा निजको घरमा शंकर तामाङ बसेका रहेछन् । शंकर तामाङले मलाई देखेपछि ए सिर लामा तिमी एकछिन यता आउ भनी बोलाएपछि म पनि मृतक साइली तामाङको घरमा 

गएँ । केही समय म, शंकर तामाङ र साइली तामाङसमेत कुराकानी गरी केही समय बसेपछि शंकर तामाङ म गोठमा जानुपर्नेछ जान्छु भनी गए । म र साइली तामाङ निजकै घरमा कुराकानी गरी बसेपछि साइली तामाङले एक कचौरा जाँड मलाई दिइन् । मैले उक्त जाँड खाँदै बसी निज साइली तामाङसँग कुराकानी गरी बसेको थिएँ । सोपछि निज साइली तामाङले आफ्नै भाषामा मलाई अपशब्द प्रयोग गरी गालीगलौज गर्न लागिन् र म अं. ३५/४० मिनेट जति त्यहाँ बस्दा निज मृतक साइली तामाङले मलाई नराम्रो शब्दहरू प्रयोग गरी एकहोरो गालीगलौज गरिन् । मैले निजलाई हजुरआमा मलाई गालीगलौज नगर भनी पटकपटक भन्दा निजले मानिनन् र मलाई गालीगलौज गर्न छाडिनन् । मैले पनि रक्सी जाँड खाएको थिएँ । निजले मलाई पटक-पटक गाली गरेपछि मलाई पनि रिस उठ्यो । मैले आफ्नो कम्मरमा बाँधेको पेटीमा एउटा खुकुरी बाँधेको भिरेको थिएँ । मृतक साइली तामाङले एउटा लाठीले मलाई हिर्काउन लागिन् र मैले पनि तैंले मलाई हिर्काउँदा मैले तँलाई हिर्काउन सक्दिन भनी मलाई रिस उठेर थाम्न नसकेपछि मैले आफूले बोकेको खुकुरी निकाली निज साइली तामाङलाई ३।४ पटक घाँटीमा प्रहार 

गरेँ । निज कराउँदै भुइँमा ढलिन् र कराइन् । केही समय म सोही ठाउँमा बसे । निज कराउन चल्न छाडेपछि अब मैले बुढीलाई मारी हाले निजले लगाएको सुन गहनासमेत लैजान्छु भनी निजले कानमा लगाएको ढुंग्री एक जोर, नाकमा लगाउने रातो पत्थर भएको फुली एक र घाँटीमा लगाउने सुनको तिलहरी निकाली आफ्नो घरमा गई बसेँ । मृतक साइली तामाङलाई मैले मिति २०६६।८।२३ मा निजकै घरमा खुकुरी प्रहार गरी म एक्लैले मारेको हो भन्ने व्यहोराको प्रतिवादी सिरलामा तामाङको मिति २०६६।९।१४ को प्रहरीमा गरेको बयान ।

मैले मिति २०६६।८।२४ मा गाउँको ब्रतबन्धमा जाँदा उक्त कार्यक्रममा निज साइली तामाङ नआएपछि किन आइनन् भनी गाउँका मानिसले बुझ्न पठाउँदा निजलाई काटी मारेको अवस्थामा निजकै नातिले देखेपछि हारगुहार गर्दै आएपछि मात्र निज साइली तामाङलाई मारेको कुरा थाहा भयो । निज साइली तामाङ छोरा बुहारीसँग छुट्टै घरमा एक्लै बस्दै आइरहेकी थिइन् । त्यस्तो हल्ला भएपछि सो ब्रतबन्धमा भेला भएका हामी सबै गाउँबासी उक्त घटना घटेको स्थानमा गई हेर्दा निजको ज्यान र टाउको अलग पारी काटी मारेको अवस्थामा मैले पनि देखेको हो । निज वृद्धा साइली तामाङलाई त्यस प्रकारले बीभत्सरूपले काटी हत्या गर्ने सिरलामा तामाङ नै हो भन्ने व्यहोराको मिति २०६६।९।१६ मा रामसिंह तामाङले प्रहरीमा गरेको कागज ।

मैले मिति २०६६।८।२४ मा गाउँको ब्रतबन्धमा गएको थिएँ । साइली तामाङलाई घरभित्र नै काटी मारेको छ रे भन्ने कुरा सोही स्थानमा गाउँका मानिसले हल्ला खल्ला गरेपछि सुनी थाहा पाएको हुँ । उक्त घटनाको बारेमा थाहा पाएपछि म पनि उक्त घटनास्थलमा गई हेर्दा साइली तामाङको घाँटी काटी दुई टुक्रा पारी मारी राखेको लास घरको मजेरीमा देखेको हुँ भन्ने व्यहोराको मिति २०६६।९।१६ मा सेल्फेन तामाङले प्रहरीमा गरेको कागज ।

मिति २०६६।८।२४ मा गाउँको ब्रतबन्धमा गएको थिएँ । सोही बखतमा हिजो राति साइली तामाङलाई काटी घरभित्र नै लास रहेको छ रे भन्ने कुरा गाउँघरमा हल्ला भएपछि सुनी थाहा पाएको हुँ । उक्त साइली तामाङको घरमा गई हेर्दा घरको भुइँतल्लामा निज साइली तामाङको ज्यान एकातिर टाउको एकातिर भएको काटेर मारेको अवस्थामा मैले पनि देखेको हो । निज साइली तामाङलाई त्यस्तो बीभत्स तरीकाले घाँटी  छिनाली उक्त हत्या गर्ने सिरलामा तामाङ नै हो भन्ने व्यहोराको मिति २०६६।९।२० मा शंकर तामाङले प्रहरीमा गरेको कागज ।

मिति २०६६।८।२३ मा अं. १७.३० बजेको समयमा मेरो आमा साइली तामाङलाई सिरलामा तामाङले घाँटीमा खुकुरीले काटी हत्या गरी सुनको गरगहनासमेत लुटी लगेको भन्ने व्यहोराको जाहेरी दरखास्त परी अनुसन्धान हुँदा मिति २०६६।८।२३ मा अं. १७.३० बजेको समयमा म जाहेरवालाको आमा साइली तामाङको घरमा गएको थिएँ । निज साइली तामाङले मलाई एक कचौरा जाँड खान दिई र मलाई निजले गालीगलौज गरेपछि मैले रिस थाम्न नसकी आफूले कम्मरपेटीमा बाँधेको धारिलो हतियार खुकुरी निकाली निज साइली तामाङलाई ३।४ पटक घाँटीमा प्रहार गरेपछि निजको मृत्यु भएको हो । उक्त घटनामा अन्य कोही कसैको संलग्नता छैन । म एक्लैले मादक पदार्थ नशाको सुरमा खुकुरी प्रहार गरी मृतक साइली तामाङलाई मारी निजले लगाएको सुनको गरगहनासमेत लुटी लगेको हुँ भनी प्रतिवादी बयानमा साबितै देखिन्छ । म मिति २०६६।८।२३ मा आफ्नो घरमा थिएँ । सोको भोलिपल्ट मिति ०६६।८।२४ मा गाउँकै मान्छेको ब्रतबन्धको कार्यक्रम थियो । म पनि सोही कार्यक्रम गएको थिएँ । आफ्ना छोरा बुहारीसँग छुट्टिएर एक्लै बसेकी साइली तामाङलाई काटी मारेको अवस्थामा निजकै नातिले देखी हाल गुहार गर्दै आएपछि निज साइली तामाङलाई मारिएको कुरा थाहा भयो । त्यसपछि सो ब्रतबन्ध कार्यक्रममा भेला भएका हामी सबै गाउँ बासी उक्त घटना घटेको स्थानमा गई हेर्दा साइली तामाङको ज्यान र टाउको अलग पारी काटी मारेको अवस्थामा देखेको र त्यसरी बीभत्सरूपले काटी हत्या गर्ने सिरलामा तामाङसमेतका मानिसहरूले गरिदिएको मिल्दो जुल्दो व्यहोराको कागजबाट प्रतिवादी सिरलामा तामाङले धारिलो जोखमी हतियार खुकुरी प्रहार गरी बीभत्सरूपमा हत्या गरी मृतकले लगाएको सुनको गहनासमेत लिई गएको भन्ने पुष्टि भएको हुँदा प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३(१) नं. बमोजिम तथा चोरीको महलको १ नं. विपरीत ४ नं. बमोजिम बिगो रू. १८,३८१।– चोरी गरेको कसुर अपराध देखिएको हुँदा निज प्रतिवादी सिरलामा तामाङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम तथा मुलुकी ऐन चोरीको महल १२ नं. बमोजिम सजाय हुन र चोरीको महलको १०(३) नं. बमोजिम पीडितको हकवालालाई प्रतिवादीले चोरी गरी लगेको धनमाल सुनको गरगहनाहरू फिर्ता दिलाई भराई पाउँ भन्ने व्यहोराको अभियोग दाबी ।

उक्त वारदात मितिका दिन म आफ्नो घरबाट आफ्नै गोठमा ३ बजेतिर गएको थिएँ । गोठमा गई बस्तुभाउहरू बाँधी, घाँस पानी गरी तोकलामा तामाङको छोराको छेवरमा गएको थिएँ र खुकुरी पनि साथमा लिई गएको थिएँ । म छेवर घरबाट रक्सी खाएर निस्कि राम सिंहको घरमा जान लागेको बेलामा मृतक साइली तामाङको घर बाटैमा पर्थ्यो र शंकर तामाङ त्यही मृतकको घरमा बसी राखेको रहेछ । मलाई आउनु भनेर शंकर तामाङले बोलाएपछि म त्यही घरमा गए र जाँड छानेर राखेको रहेछ । आधी कचौरा जाँड त्यहाँ खाएँ र मृतक साइली तामाङले नचाहिँदो अपशब्दहरू बोली गाली गर्‍यो र मलाई पिटनु पर्‍यो भनी लठ्ठी दाउराहरू खोज्न थाल्यो र मैले पनि हान्न सक्छ नि भनेर मैले भनेँ र मलाई रक्सी लागेको 

थियो । मैले पनि लठ्ठीले हान्न पर्‍यो भनी लठीले हान्छु भन्दा मेरो पासमा भएको खुकुरीले मृतकलाई हानी मृतक बेहोस भयो वा छिन्यो मर्‍यो । मैले फर्केर पनि हेरिँन र म त्यहाँबाट रामसिंहको घरमा घिउको सिसि लिनु थियो । लिएर म आफ्नै घरमा गएँ र भोलिपल्ट आमाको घेवाको लागि सामान लिन भनी भिनाजुले बोलाएको थियो । काठमाडौंमा भिनाजुको डेरा नक्सालमा गएँ र सामान केही पनि ल्याएन । भोलिपल्टै घरमा आइरहेको अवस्थामा समुन्द्रटारमा आइपुग्दा मृतक साइली तामाङको लास बोकेर ल्याइरहेको रहेछ र मलाई त्यहाँबाट गाउँलेले र प्रहरीले सोधपुछको लागि ल्याएको हो र निज मृतक साइली तामाङको मृत्यु भएको थाहा पाएको हुँ । गहनाको हकमा अरू मानिसले लिएर जान्छ भनी म आफैँले सुनको गहना लिएर गएको हुँ । जाहेरी दरखास्त सत्य साँचो हो भनी प्रतिवादी सिरलामा तामाङको मिति २०६६।१०।५ को सुरू अदालतमा आई गरेको बयान ।

प्रतिवादी सिरलामा तामाङले मेरो सानीआमा साइली तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको 

हो । अरू कोहीले गरेको होइन र मिति २०६६।८।२६ मा दिएको जाहेरीको व्यहोरा मैंले दिएको हो जाहेरीमा लागेको सहिछाप मेरो हो प्रतिवादीलाई हदैसम्म सजाय गरिपाउँ भन्ने व्यहोराको मिति २०६७।३।१३ मा जाहेरवाला तोकपेन तामाङले सुरू अदालतमा आई गरेको बकपत्र ।

प्रतिवादी सिरलामा तामाङले साइली तामाङलाई खुकुरी प्रहार गरी मारेको हो भनी बुझिएका मानिस सेल्फोन तामाङले मिति २०६७।३।१३ मा सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी सिरलामा तामाङले साइली तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको हो र मैले प्रहरीमा गरेको कागजको व्यहोरा ठीक हो त्यसमा लागेको सहीछाप मेरो हो भनी बुझिएका मानिस भुइमान तामाङले मिति २०६७।३।१३ मा सुरू अदालतमा आई गरेको बकपत्र ।

मैले मिति २०६६।९।२२ मा गरेको कागज व्यहोरा पढिबाची सुनाउँदा सुनिपाए कागजमा लेखिएको व्यहोरा ठीक हो लागेको सहीछाप मेरो हो अरू कुरा मलाई थाहा छैन भनी बुझिएका मानिस चतुरमान तामाङले मिति २०६७।३।१३ मा सुरू अदालतमा आई गरेको बकपत्र ।

मैले गरेको कागज व्यहोरा पढिबाची सुनाउँदा सुनी पाएँ कागजमा लेखिएको व्यहोरा ठीक हो लागेको सहीछाप मेरो हो भनी बुझिएका मानिस शंकर तामाङले मिति २०६७।३।१३ मा सुरू अदालतमा आई गरेको बकपत्र । 

प्रतिवादी सिरलामा तामाङले साइली तामाङलाई खुकुरी प्रहार गरी मारेको हो । मैले प्रहरीमा गरेको कागजको व्यहोरा ठीक छ सहीछाप मेरो हो भनी बुझिएको मानिस रामहरी तामाङले मिति २०६७।३।१३ मा सुरू अदालतमा आई गरेको 

बकपत्र ।

यसमा प्रतिवादी सिरलामा तामाङले साइली तामाङलाई खुकुरीले घाँटी छिनाली हत्या गरी निजले लगाएको गरगहनासमेत लुटी लगेको प्रतिवादीको सो कार्य ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३(१) नं. तथा चोरीको महलको १ नं. विपरीत ४ नं. बमोजिम बिगो रू. १८,३८१।– चोरी गरेको हुँदा चोरीको महलको १२ नं. बमोजिम सजाय हुन र ऐजनको १०(३) नं. बमोजिम पीडित हकवालालाई चोरीको गहना सामान फिर्ता दिलाई पाउँ भन्नेसमेत अभियोगदाबी भएकोमा प्रस्तुत मुद्दामा प्रतिवादीले मृतकलाई खुकुरी प्रहार गरी भागेकोमा अधिकारप्राप्त अधिकारी तथा यस अदालतमा आई बयान गर्दा खुकुरी प्रहार गरेकोमा समेत साबित भएको देखिन्छ । जाहेरवाला एवं बुझिएका मानिससमेतले प्रतिवादीकै खुकुरी प्रहारको कारणबाट मृतकको मृत्यु भएको भन्ने कुरा लेखाई दिएको र पोष्टमार्टम रिपोर्टमा Head separated from the body due to cut with sharp objects भनी लेखिएकोसमेत आधार प्रमाणबाट प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर गरेको ठहर्छ । सो कसुरमा निजलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ र चोरीतर्फ रू. १८,३८१।– को धनमालसमेत चोरी गरेको 

ठहर्छ । अभियोग दाबीबमोजिम प्रतिवादीले रू. १८,३८१।– चोरी गरेको देखिए पनि जन्मकैदको सजाय हुने ठहरेकोले चोरीमा सजाय गर्न परेन । सर्वस्वसहितको सजाय चर्को पर्ने देखिँदा जन्मकैदको सजाय हुन अ.बं. १८८ नं. बमोजिमको राय पेस गरेको सुरू नुवाकोट जिल्ला अदालतको मिति २०६७।३।३० को फैसला ।

मबाट आवेगमा हुन पुगेको कसुरको बारेमा पश्चाताप भएको, घटनाको यथार्थ विवरण बताई न्याय सम्पादनमा सहयोग पुर्‍याएको, घटनाको कार्यमा कुनै योजना नभएको हाल कैद भुक्तान गर्दै सुधारोन्मुख अवस्थामा रहेको हुँदा ज्यानसम्बन्धीको महलको १४ नं. अनुसार सजाय हुनुपर्नेमा सर्वस्वसहित जन्मकैद गर्ने गरी भएको सुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाउँ भन्ने प्रतिवादी सिरलामा तामाङको पुनरावेदन अदालत, पाटनमा दायर भएको पुनरावेदन पत्र ।

पुनरावेदक प्रतिवादी सिर लामाले बृद्धा माइली तामाङलाई खुकुरीले घाँटीमा प्रहार गरी घाँटी छिनाली कर्तव्य गरी मारी निज मृतकले लगाएको सुनका गहना दाबीबमोजिम चोरी गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी सिरलामा तामाङलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने र सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरेकोले चोरीतर्फ थप सजाय गरिरहन परेन । बिगो पीडितले बुझी सकेको हुँदा भराई रहन परेन भनी सुरू नुवाकोट जिल्ला अदालतबाट मिति २०६७।३।३० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । चोरी गर्ने नियतले एक्लै घरमा भएकी ८४ वर्षकी वृद्धाको घाँटीमा खुकुरी प्रहार गरी घाँटी छिनाली हत्या गरी निजले लगाएको सुनका गहनाहरू चोरी गरी लगेको देखिन आएकोले मृतक माइली तामाङको हत्या भवितव्य हो कि भन्न सकिने अवस्था देखिन आएन । अतः सुरू जिल्ला अदालतले प्रतिवादीलाई जन्मकैदको सजाय हुनुपर्ने भनी अ.बं. १८८ नं. बमोजिम व्यक्त गरेको रायसँग सहमत हुन नसकेको हुँदा कम सजाय हुनुपर्ने भनी अ.बं. १८८ नं. अनुसारको राय व्यक्त गरेका छैनौं भन्ने पुनरावेदन अदालतको मिति २०६७।११।३ मा  भएको फैसला ।

प्रतिवादीउपरको किटानी जाहेरी, मौकामा र अदालतमा समेत प्रतिवादी कसुरमा साबित रहेको, पोष्टमार्टम रिपोर्ट र बुझिएका मानिसको भनाइसमेतबाट प्रतिवादीले मृतक साइली तामाङको घाँटी छिनाली निजको साथमा रहेको सुनका गहनाहरू चोरी लगेको भन्ने पुष्टि भएको साथै सुरू फैसलाले स्वीकारी रहेको अवस्थामा सर्वस्वसहित जन्मकैद र चोरीको बिगोबमोजिम जरिवाना गर्नुपर्नेमा त्यसो नगरी चोरीतर्फ सजाय नगरेको साथै सर्वस्वसहित जन्मकैद चर्को पर्ने भन्दै जन्मकैदको राय दिएको नमिलेको हुँदा सुरू फैसला उल्टी गरी अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा दायर भएको पुनरावेदन ।

प्रतिवादीलाई चोरीको कसुर ठहर भएपछि बिगोबमोजिम जरिवाना गर्नुपर्नेमा जाहेरवालाले बिगो फिर्ता लगी सकेको भनी जरिवानातर्फ केही नबोली भएको सुरूको फैसला विचारणीय देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ प्रत्यर्थी थुनामा रहेको देखिँदा निजलाई वादी नेपाल सरकारको पुनरावेदन पत्रको नक्कलसमेत राखी पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६८।१।१३ को आदेश ।

नेपाल सरकारको पुनरावेदनमा राय व्यक्त गरेको सुरू इन्साफ नमिलेको भन्नेउपर यस अदालतबाट फौ.पु.नं. ०३६६ को मुद्दामा राय व्यक्त गरेको कुरालाई अस्वीकार गरी ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद भएकोले सोतर्फ केही गरिरहनु परेन । जहाँसम्म सुरू फैसलामा चोरीतर्फ केही गरिरहन परेन भनेको छ सोतर्फ हेर्दा सर्वस्वसहित जन्मकैद भएपछि ठूलो सजायमा सानो सजाय गाभिने कुरा सजाय कार्यान्वयनको चरणमा विचार गरिने कुरा हो । फैसलाको चरणमा कुन कुन कानूनअन्तर्गत अभियोग लगाइएको छ र सो अभियोगदाबी पुग्छ पुग्दैन सो हेर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले साइली तामाङको हत्यामात्र नगरी निजले लगाएका सुनका गहनासमेत चोरी लुटी लगेकोमा साबित भई अदालतमा बयान गरेकोसमेत देखियो । तसर्थ मृतकलाई मारी निजको साथमा रहेको सुनका गरगहनासमेत चोरी लगेकोले चोरीको कसुर स्थापित हुने नै देखिन्छ । बिगो रू. १८,३८१।– बराबरको धनमाल जाहेरवालाले फिर्ता लगेपछि सो बिगोबमोजिम जरिवानासमेत गर्नुपर्नेमा सो नगरेकोसमेत सुरू इन्साफ मिलेको देखिएन । अतः सुरू नुवाकोट जिल्ला अदालतबाट मिति २०६७।३।३० मा प्रतिवादी सिरलामा तामाङलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरी अ.बं. १८८ नं. बमोजिम जन्मकैदको सजाय हुन राय व्यक्त गरेकोमा प्रतिवादीको पुनरावेदनमा यस अदालतमा मिति २०६७।११।३ मा सुरू इन्साफ केही उल्टी भई प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गर्नु नपर्ने ठहर्‍याई फैसला भएकोले सोतर्फ केही बोली रहनु 

परेन । जाहेरवालाले चोरी भएको बिगो बुझी लगेकोले बिगो नभराउने हदसम्म मिलेकै देखिँदा सो हदसम्म सदर हुने तर चोरी गरेकोमा हुने कैद र जरिवानातर्फ सुरू इन्साफ नमिलेको हुँदा सो हदसम्म केही उल्टी भई प्रतिवादी सिरलामा तामाङले चोरीको महलको १ नं. को कसुर गरी बिगो रू. १८,३८१।– को धनमाल चोरी गरेको देखिँदा सोही महलको १२ नं. बमोजिम प्रथम पटक चोरी गरेकोले १ महिना कैद र बिगोबमोजिम रू. १८,३८१।– जरिवाना हुने ठहर्छ भन्ने पुनरावेदन अदालतको मिति ०६८।३।२८ मा भएको फैसला ।

पुनरावेदन अदालतले अधिकारप्राप्त अधिकारी र अदालतमा कसुरमा साबित भएको भन्ने मुख्य आधार लिएर मलाई हदैसम्मको सजाय गरी गरेको फैसला कानूनसँग असङ्गत रहेको छ । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा चार पाँच पटक खुकुरी हानेको भनी लेखाइएको बाहेक अन्य व्यहोरा भनेबमोजिम लेखिएको भनी अदालतमा बयान गर्दा घटनाक्रमको बारेमा भएको यथार्थ विवरण खुलाई न्याय सम्पादनमा भरपुर सहयोग पुर्‍याएको 

छु । घटना घटेको भनिएको दिन आफ्नो घरबाट अन्दाजी तीन बजेतिर गाइवस्तुलाई घाँसपात गर्न भनी गोठमा गएँ । पहाडको ठाउँ, घाँसपात गर्न गाउँबाट गोठमा जाँदा प्राय: सँधैजसो कुनै न कुनै हतियार बोकिने र उक्त दिन मेरो साथमा खुकुरी थियो । घाँसपात गरिसकेपछि म पुनरावेदक गोठबाट सिधै तोकलामा तामाङको छोराको छेवर भएकाले निजको घरमा गएँ । हाम्रो परम्पराअनुसार उक्त कार्यका दिन मदिरा सेवन गरिने भएकाले मैले त्यहाँ बसी रक्सी खाइ केही समयपछि रामसिंहको घरमा जान्छु भनी हिँडे । निजको घर जाने क्रममा बीच बाटैमा मृतक साइली तामाङको घर पर्थ्यो र शंकर तामाङ त्यही बसेको रहेछ । उसले मलाई यता आउ भनी बोलाएपछि म त्यहाँ गएँ । उनीहरूले जाँड छानेर राखेका रहेछन् र मलाई पनि दिएकाले मैले पनि जाँड खाएँ । शंकरले मेरो काम छ भनी जाँड खाएर 

हिँड्यो । म त्यहीँ बसेर साइली तामाङसँग कुराकानी गर्दैको अवस्थामा निजले मलाई नचाहिँदो अपशब्द प्रयोग गरी गाली गरी मलाई पिटनु पर्‍यो भनी लाठी दाउरा खोज्न थालिन् । मैले पनि हान्न सक्छु नि मलाई नपिट भन्दा भन्दै निजले मलाई पिट्न खोज्दा मैले पनि लठ्ठीले हानेँ भनेको रक्सीले मातेको सुरमा साथमा भएको खुकुरीले हान्न पुगेछु । यसरी घटनाको बारेमा भएको यथार्थ विवरणसहित अदालतमा बयान गरी न्याय सम्पादनमा सहयोग पुर्‍याएकोमा उल्टै मलाई हदैसम्मको सजाय गरियो । कुनै पूर्वयोजना नभएको, मनसाय नरहेको, कुनै रिसइवी नभएको, तत्कालको घटनाक्रमबाट रिस उठ्न गई आवेगमा होसहवास ठीक नभएको अवस्था र रक्सीले मातेको अवस्थामा खुकुरी प्रहार हुन गई साइली तामाङको मृत्यु हुन पुगेकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. अनुसार १० वर्ष भन्दा बढी सजाय गर्न नमिल्नेमा सोतर्फ कुनै विवेचना नगरी हदैसम्म सजाय गर्ने गरी भएको फैसला मिलेको छैन । पुनरावेदन अदालत, पाटनबाट भएको फैसला उल्टी गरी मेरो पुनरावेदन मागबमोजिम गरिपाउँ भन्ने व्यहोराको प्रतिवादीको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।

मलाई सर्वस्वसहित जन्मकैद भइसकेपछि चोरीतर्फ पनि थप सजाय गर्नुले राज्यले मलाई जसरी भए पनि अपराधमा क्रियाशील बनाउन लागि परेको छ नकि कारागारमा राखेर सुधार गरी बाँकी जीवन समाज र परिवार उपयोगी बनाउन । त्यसैले मलाई उपल्लो हदमा सजाय भइसकेको हुनाले थप सजाय गर्ने गरी गरेको त्रुटिपूर्ण फैसला बदर गरिपाऊँ । मबाट आवेगमा हुन पुगेको कसुरको बारेमा पश्चाताप भएको, न्याय सम्पादनका क्रममा घटनाको यथार्थ विवरण बताएर सहयोग पुर्‍याएको, घटना घटाउने कार्यमा कुनै योजना नभएको, हाल कारागारमा रही कैद भुक्तान गर्दै सुधारोन्मुख अवस्थामा रहेको, मानव अधिकार मैत्रीका हिसाबले समेत सम्पत्तिहरण गर्नु उपयुक्त हुँदैन । अतः चोरीतर्फ थप सजाय गरेको त्रुटिपूर्ण फैसला बदर गरिपाउँ भन्ने व्यहोराको प्रतिवादीको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।

यसमा संवत् २०६७ सालको फौ.पु.नं. ०३६६ को मुद्दामा मिति ०६७।११।३ मा भएको फैसलामा सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरेकोले चोरीतर्फ थप सजाय गरी रहनु परेन भनी निर्णय भइरहेकोमा नेपाल सरकार पुनरावेदक रहेको ०६७ सालको स.वा.फौ.नं. ०८१२ को सोही मुद्दामा मिति ०६८।३।२८ मा दोस्रो पटक भएको फैसलामा चोरीतर्फ १ महिना कैद र बिगोबमोजिम रू. १८,३८१।– जरिवानासमेत प्रतिवादीबाट भराउने गरी उल्लेख भएको देखिँदा एउटै मुद्दामा एकै अदालतबाट दुई पटक फैसला भई फरकफरक गरेको निर्णय फरक पर्नसक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. बमोजिम महान्यायाधिवक्ता कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७०।१०।२२ को आदेश ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाका पुनरावेदकका तर्फबाट मुकरर कानून व्यवसायी आजको पेसीमा अनुपस्थित रहनु भयो तथा प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारीले प्रतिवादीउपरको किटानी जाहेरी, मौकामा र अदालतमा समेत प्रतिवादी कसुरमा साबित रहेको, पोष्टमार्टम रिपोर्ट र बुझिएका मानिसको भनाइसमेतबाट प्रतिवादीले मृतक साइली तामाङको घाँटी छिनाली मारी निजको साथमा रहेको सुनका गहनाहरू चोरी लगेको भन्ने पुष्टि भएको अवस्थामा प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद र चोरीको १ नं. को कसुरमा सोही महलको १२ नं. बमोजिम प्रथम पटक चोरी गरेकोले एक महिना कैद र बिगोबमोजिम रू.१८,३८१।– जरिवाना हुने ठहरी पुनरावेदन अदालतबाट भएको फैसला सदर कायम रहोस् भनी गर्नुभएको बहस सुनियो ।

 

प्रस्तुत मुद्दाको मिसिलको अध्ययन भयो ।

अब यसमा पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ छैन निर्णय दिनुपर्ने देखिन आयो ।

यसमा प्रतिवादी सिरलामा तामाङले मृतक साइली तामाङलाई धारिलो जोखिमी हतियार खुकुरी प्रहार गरी बीभत्स हत्या गरी मृतकले लगाएको सुनको गहनासमेत लिई गएको हुँदा प्रतिवादी सिरलामा तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम तथा मुलुकी ऐन चोरीको महलको १२ नं. बमोजिम सजाय गरी चोरीको महलको १०(३) नं. बमोजिम पीडितको हकवालालाई प्रतिवादीले चोरी गरी लगेको धनमाल सुनको गरगहनाहरू फिर्ता दिलाई भराई पाउँ भन्ने प्रतिवादी विरूद्धको अभियोगदाबी रहेको देखिन्छ । प्रतिवादीलाई सुरू जिल्ला अदालतले चोरीको सजायबाट उन्मुक्ति दिएको र ज्यानतर्फ अभियोगदाबी पुग्ने ठहरी भएको फैसला पुनरावेदन अदालतबाट समेत मिति २०६७।११।३ मा सदर भएको सोपछि मात्र प्रतिवादीलाई अभियोग दाबीबमोजिम चोरीतर्फ पनि सजाय हुनुपर्ने भनी वादी नेपाल सरकारले २०६७।१२।२४ मा पुनरावेदन गरेको र त्यसमा पुनरावेदन अदालत, पाटनबाट चोरीतर्फ पनि प्रतिवादीलाई सजाय भई २०६८।३।२८ मा फैसला भएकोले यी प्रतिवादीले दुवै फैसलाउपर अलगअलग पुनरावेदन गरेको दुवै पुनरावेदन प्रस्तुत इजलाससमक्ष निर्णयार्थ पेस भएको पाइयो ।

२. निर्णयतर्फ विचार गर्दा यसमा आफूले मृतकको घरमा जानुभन्दा पहिले एक माना जति रक्सी खाएको त्यसपछि मृतकको घरमा पनि एक कचौरा जाँड खाएको र सो समयमा मृतकले प्रतिवादीलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको सो नगर्नुस् भन्दा पनि नमानी एकोहोरो गाली गरेकी र लाठीले समेत हिर्काउन लागेबाट रक्सी जाँड खाएको मलाई पनि रिस उठी सो रिस थाम्न नसकी मृतकको घाँटीमा ३-४ पटक खुकुरीले प्रहार गरेको र मृतक कराउन चल्न छाडेपछि निजले कानमा लगाएको ढुंग्री एक जोर, नाकमा लगाएको फुली एक र घाँटीमा लगाएको सुनको तिलहरिसमेत १ लिई गएको भनी आरोपित कसुरमा साबित भई प्रतिवादीले मौकामा बयान गरेको देखिन्छ । यी प्रतिवादीले अदालतमा गरेको बयानमा पनि आफूले ठाउँ ठाउँमा रक्सी खाएको मृतकले गाली गरेको र आफूलाई कुट्न भनी लठ्ठी दाउरा खोज्न थालेको र मलाई रक्सी लागेकोले मैले पनि लठ्ठीले हान्न पर्‍यो भनी लठ्ठी हान्छु भन्दा खुकुरीले हानेँ । गहनाको हकमा अरू मानिसले लिएर जान्छ भनी म आफैँले सुनको गहना लिएर गएको हो भनी उल्लेख गरेको देखिन्छ । सोही बयानको जवाफ ७ मा आफूले कति पटक मृतकलाई हानेको थाहा नभएको र मौकाको बयानमा लेखेको सबै साँचो हो भनी उल्लेख भएको पाइन्छ । यी प्रतिवादीले गरेको उल्लिखित बयानबमोजिम नै मृतकको गर्धन खुकुरी प्रहारबाट छुट्टिएको मृतकको लासजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदन रहेको पाइन्छ । प्रतिवादीले मृतकको हत्या गरेको हो भनी जाहेरवाला तथा मौकामा कागज गर्नेहरूले अदालतमा उपस्थित भई मौकाको कागजको समर्थन गरी बकपत्र गरेको देखिन्छ । 

३. माथि उल्लेख भएबमोजिम यी प्रतिवादीले मिति २०६६।८।२३ मा बेलुकीतिर मृतकको घाँटीमा पटकपटक खुकुरी प्रहार गरी मृतकको हत्या गरेको र मृतकले लगाएको गहना फुकाली लगेको भन्ने अभियोगदाबी निर्विवाद प्रमाणबाट प्रमाणित भएको पाइन्छ । यसमा प्रतिवादीले गरेको पुनरावेदन पत्रमा पनि अभियोग दाबीबाट सफाइ पाउने जिकिर नभई प्रस्तुत वारदात मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १४ नं. को वारदात भएकोले १० वर्ष कैद हुनुपर्ने अथवा पूर्व नियोजित वारदात नभई मृतकको कारणले वारदात गरेको सो कसुरमा साबित भई आफूले न्याय सम्पादनमा सहयोग गरेकोले आफूलाई सुधारको मौका प्रदान हुनुपर्ने भनी  कम सजायतर्फ राय लाग्नु पर्ने भनी ज्यानतर्फ जन्मकैदको सजाय गरी सकेपछि चोरीमा सजाय थप्न नमिल्ने भनी चोरीमा भएको ठहरमा सम्म चुनौती गरी पुनरावेदन गरेको देखिन्छ ।

४. तर उल्लिखित वारदात घट्दाको अवस्थामा आफू होसहवासमा नरहेको भन्ने प्रतिवादीको जिकिर छैन । अत्यन्त वृद्ध र जिजु बजै भन्नसमेत सुहाउने असहाय मृतकले यी प्रतिवादीलाई लठ्ठीले हान्न खोज्दैमा प्रतिवादीले खुकुरी जस्तो घातक हतियारले कुटपिट गर्ने कुराको कुनै पनि औचित्य प्रतिवादीबाट पुष्टि हुन सकेको छैन । यी प्रतिवादीले सहजरूपमा मृतकको घरबाट हिँड्न सक्ने अवस्थाको सदुपयोग गर्नु पर्दथ्यो । झिना मसिना कुरा निकालेर गम्भीर कसुरको सजायबाट उम्किन सक्ने गरी कानूनको व्याख्या हुन सक्दैन । खुकुरी जस्तो घातक हतियारले घाँटी जस्तो संवेदनशील ठाउँमा पटकपटक प्रहार गर्ने कार्यबाट मृतकको ज्यान लिने यी प्रतिवादीको मनसाय स्पष्ट प्रमाणित छ । मृतकको अत्यन्त बीभत्स र क्रुर हत्या भएको छ । यस्तो हत्या (murder) मा अ.बं. १८८ नं. को प्रयोग हुनै सक्तैन । Manslaughtur अथवा culpable homicide को वारदात भएको भए रायतर्फ विचार गर्न सकिन्थ्यो ।

५. त्यसैगरी मृतकको शरीरबाट गहना निकाली लगेको भन्ने प्रतिवादीको साबितिबाट अभियोगदाबीको मुलुकी ऐन, चोरीको महलको १२ नं. को कसुर पनि स्थापित भएको छ । यसमा ज्यानसम्बन्धीको महलबमोजिम ठूलो सजाय भइसकेपछि चोरीको महलको सजाय गर्न मिल्दैन भन्ने तर्कमा कुनै कानूनी बल छैन । यो कुरा फैसला कार्यान्वयन हुने बेलामा मुलुकी ऐन, दण्ड सजायको महलबमोजिम तय हुने कुरा देखिन्छ । यसबाट फैसलामा हुने ठहर प्रभावित हुन नसक्ने हुँदा प्रतिवादीको यो पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

६. अतः प्रतिवादी विरूद्धको ज्यानको अभियोगदाबी पुग्ने ठहर्‍याई उक्त महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र जाहेरवालाले बिगो बुझी लगेकोले बिगो नभराउने हदसम्म मिलेकै देखिँदा सदर हुने तर चोरीतर्फ भएको सुरू नुवाकोट जिल्ला अदालतको फैसला नमिलेको हुँदा सो हदसम्म केही उल्टी भई चोरीको महलको १२ नं. बमोजिम १ महिना कैद र बिगोबमोजिम रू. १८,३८१।– जरिवाना हुने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको मिति ०६८।३।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत : गेहेन्द्रराज पन्त

इति संवत् २०७२ साल फागुन ३ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु