निर्णय नं. ९६३९ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७३।२।२४।२
०६९-CR-०३८९
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : जिल्ला संखुवासभा, गा.वि.स. सिद्धकाली, वडा नं. ५ घर भई हाल कारागार कार्यालय, संखुवासभामा थुनामा रहेका दानुर्वु शेर्पासमेत
विरूद्ध
प्रत्यर्थी / वादी : ङिमबुटी शेर्पाको जाहेरीले नेपाल सरकारसमेत
फौजदारी कसुरमा प्रतिवादीमाथिको अभियोग निसन्देहरूपमा प्रमाणित गर्ने भार वादी पक्षमा निहित रहने हुन्छ । सो कुरा प्रमाण ऐन, २०३१ को दफा २५ मा स्पस्टरूपमा उल्लेख गरेको छ । प्रस्तुत मुद्दामा कसुरमा प्रतिवादीहरूको संलग्नता रहेको भनी पुष्टि हुने निर्विवाद आधारहरू वादी पक्षबाट पेस हुन सकेको देखिँदैन । केवल अभियोग लगाएको आधारमा मात्र कसुर कायम गर्न मिल्दैन र सो गर्नाले न्यायको मकसदसमेत पूरा हुँदैन । प्रमाणको पर्याप्त न्यायिक परीक्षण गरी न्यायिक परीक्षणबाट सत्य तथा सर्वोत्तम प्रमाणका रूपमा स्थापित प्रमाणले कसुरदार रहेको भनी समर्थन गरेमा मात्र कसुरदार कायम गर्न सकिन्छ । अन्यथा कुनै व्यक्तिलाई आरोप लगाएकै आधारमा दोषी प्रमाणित गर्दा ठूलो अन्याय हुन जाने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ता किरणकुमारी गुप्ता
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता पुस्कर सापकोटा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१ को दफा २५
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३, १४ नं.
सुरू तहबाट फैसला गर्ने :
मा.जि.न्या. श्री गोपालप्रसाद बास्तोला
पुनरावेदन तहबाट फैसला गर्ने :
मा.न्या. श्री शम्भुबहादुर खड्का
मा.न्या. श्री बिदुरविक्रम थापा
फैसला
न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ ।
मेरो छोरा पासाङ नुर्वु शेर्पा मिति २०६७।८।२९ गते पेम दोर्ची शेर्पाको घरमा विवाह भएकोले सो विवाहमा जाँदा दानुर्वु शेर्पा, पेम दोर्ची शेर्पा, साङमु शेर्पा, पासाङ शेर्पा, जङमु शेर्पासमेत ७-८ जना मानिसहरूले कुटपिट गरी शरीरमा निलडाम, कानबाट रगत बगिरहेको अवस्थामा घरमा आएर घरबाहिरको सिकुवामा सुतिरहेको थियो । त्यस्तैमा बजियालाई आज नमारी छाड्नु हुँदैन भनी कसैले हातमा लट्ठी र कसैले ढुङ्गा मुढा बोकेका र दानुर्वुले आफूले बोकी राखेको धारिलो हतियारले टाउको पछाडि काटी लडाए । छोरो लडेपछि मैले “गुहार छोरालाई मार्न लागे” भनी हार गुहार गर्दा अभियुक्तहरू भागेका हुन् । घाइतेलाई उपचार गर्न अस्पताल ल्याउँदा उपचार हुन नसकी मिति २०६७।९।१ गते चैनपुर गा.वि.स. वडा नं. २ स्थित फु दोर्जी शेर्पाको घरमा मृत्यु भएको हो । अभियुक्तहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाली ङिमबुटी शेर्पाको मिति २०६७।९।२ को जाहेरी दरखास्त ।
मेरो भतिजो पासाङ नुर्वु शेर्पालाई जाहेरीमा उल्लेख भएका मानिसहरूले घरमा सुतिरहेका अवस्थामा घरभित्रबाट उठाई आँगन सिकुवामा ल्याई दानुर्वु शेर्पाले धारिलो फलामको हतियारले प्रहार गरेका हुन् । रातको अवस्थामा भएकाले के कुन हतियार हो थाहा भएन । अन्य प्रतिवादीहरू पासाङ शेर्पा, जुङ्बु शेर्पा, पेम दोर्ची शेर्पासमेतले लाठी प्रहार गरी घाइते बनाएकोमा उपचार गर्न प्राथमिक स्वास्थ्य चौकी चैनपुरमा ल्याउँदा उपचार हुन नसकी निजको बाटैमा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने निम छिरी शेर्पाको मिति २०६७।९।२ को कागज ।
मृतकको मृत्युको कारणको महलमा Intracranial hemorrhage due to physical injury near the head भन्नेसमेत व्यहोराको पोस्टमार्टम रिपोर्ट ।
मिति २०६७।८।२९ गते मेरो कान्छो भाइ लाक्पा हिसी शेर्पाको विवाह भएकोले हाम्रो शेर्पा जातिको रीतिरिवाजअनुसार छिमेकी आफन्तहरूलाई सम्मानपूर्वक खानपिन गराउन तल्लीन थिएँ । नाचगानसमेत भइरहेको थियो । मृतक पासाङ नुर्वु शेर्पाको दानुर्वु शेर्पासँग एक्कासी वादविवाद भई पासाङ शेर्पासमेत ओडपसी पासाङ नुर्वु शेर्पासँग हात मिसामिस भएको देखी आजको दिन यस्तो नगर्नुस् भनी बिन्ती गरी निजहरूलाई आ-आफ्नो घर पठाएको हुँ । सो वाद-विवादलाई लिएर दानुर्वु शेर्पा पासाङ शेर्पा पुन: पासाङ नुर्वु शेर्पाको घरमा गई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको हो । सो घटनामा मेरो संलग्नता छैन भन्ने प्रतिवादी प्रेम दोर्ची शेर्पाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
छिमेकी पेम दोर्ची शेर्पाको कान्छो भाइ लाक्पा हिसी शेर्पाको सो दिन विवाह भएको र मलाईसमेत निम्तो भएकाले सो कार्जेमा सघाउ पघाउ गर्दै
थिएँ । सोही दिन राति पासाङ नुर्वु शेर्पा र दानुर्वु शेर्पाको वादविवाद हुँदा पासाङ शेर्पासमेत ओड पसी कुटपिट गर्दा बेहुलाको दाजु आई सम्झाई बुझाई गरी आ-आफ्नो घर पठाएका हुन् पछि कोको भई मृतकको घरमा गई धारिलो हतियार प्रहार गरे मलाई थाहा
भएन । दानुर्वु शेर्पा र पासाङ शेर्पा घर गाउँ छाडी भागेकाले निजहरूले नै घटना घटाई पासाङ नुर्वु शेर्पाको मृत्यु भएको हो । उक्त घटनामा मेरो संलग्नता छैन भनि प्रतिवादी जङवु शेर्पाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
विवाह घरमा मृतक पासाङ नुर्वु शेर्पासँग मेरो वादविवाद भई कुटपिट सुरू हुँदा विवाहमा भएकामध्ये पासाङ शेर्पा, फुर्दुवा शेर्पा, पेमदोर्ची शेर्पा, दावा शेर्पा, पासाङ तेम्बा शेर्पा र जङबु शेर्पासमेत भई विवाह घरमा पासाङ नुर्वु शेर्पालाई लात्ती तथा मुक्का प्रहार गरी कुटपिट गरेको हो । त्यसपश्चात् विवाहमा आएका पाहुनाहरूले छुट्याएपछि मृतक पासाङ घर गएका थिए । मलाई आमा चकारी गाली गरेकाले रिस थाम्न नसकी साथमा पासाङ शेर्पा र फुर्दुवा शेर्पालाई लिई गई निजकै घर आँगनमा भएको दाउराको चिरपट टिपी, मैले पहिला टाउकोमा प्रहार गरेँ । पासाङले घुँडामा र फुर्दावा शेर्पाले के कहाँ प्रहार गरे थाहा भएन । हामीहरूकै प्रहारबाट मृतकको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी दानुर्वु शेर्पाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६७।९।११ मा गरेको बयान ।
मिति २०६७।८।२९ गते पेमदोर्ची शेर्पाको भाइ लाक्पाहिसी शेर्पाको विवाह भएकोले गई जाँड रक्सी खाई नाच हेर्दै थिएँ । सोही बखतमा एक्कासी जाहेरवालीको छोरा पासाङ नुर्वु शेर्पा जाँडले मात्तिई दानुर्वु शेर्पालाई जग्गाको विषयमा विवाद झिकी आमा चाकरी गाली गरी कुटपिटसमेत गर्दा हामी विवाहमा भएका पेमदोर्ची शेर्पा, पासाङ तेम्बा शेर्पा, दानुर्वु शेर्पासमेत भई मृतक पासाङ नुर्वु शेर्पालाई कुटपिट गरी घरतर्फ पठाएकोमा पुन: पछि दानुर्वु शेर्पाले मलाई र फुर्दवा शेर्पालाई जाउँ भनी मृतकको घरमा गई चिरपट दाउराले मैले निज मृतकको घुँडा मुनी ३/४ पटक हानेको हुँ । त्यसपछि निज नबोलेपछि मर्यो होला भनी त्यहीँ छाडी हामी भागेका हौं । दानुर्वु शेर्पाले निजको टाउको कञ्चटमा चिरपटले प्रहार गरेकोले सोही कारणबाट निजको मृत्यु भएको हो भन्ने व्यहोराको प्रतिवादी पासाङ शेर्पाले मिति २०६७।९।११ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
विवाहमा मलाई निम्तो भएकोले सो दिन साँझबाटै विवाह घरमा थिएँ । साथी दानुर्वु शेर्पालाई पासाङ नुर्वुले अत्यधिक मात्रामा मादक पदार्थ खाई नशामा आमा चकारी गाली गरेकाले मसमेत ओड पसी विवाहमा कुटपिट गरी पेमदोर्ची शेर्पाले छुट्याई आ-आफ्नो घरमा पठाएकोमा सुतिरहेको जाहेरवालीको छोरा पासाङ नुर्वु शेर्पालाई हामी तीन जना भई मृतकको घर आँगनमा रहेको दाउराको चिरपट उठाई निजको जिउ शरीरमा ३/४ पटकसम्म हानेको हुँ । उक्त घटना हामी ३ जनाले घटाएको हौं । अरूको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी फुर्दवा शेर्पाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
विवाहमा मलाई निम्तो भएकोले सो दिन साँझबाटै म विवाह घरमा थिएँ । जाहेरीमा उल्लिखित मिति, समय र स्थानमा जाहेरवालीको छोरा पासाङ नुर्वु शेर्पा अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी दानुर्वु शेर्पासँग झगडा गर्दा पासाङ शेर्पा र फुर्दवा शेर्पासमेत ओड पसी कुटपिट गरी बेहुलाको दाजु पेमदोर्ची शेर्पा र विवाहमा भएका अन्य मानिसहरू भई छुट्याई आ-आफ्नो घर पठाएकोमा जाहेरवालीको छोरा पासाङ नुर्वु शेर्पा घरमा सुती रहेको अवस्थामा दानुर्वु शेर्पाको साथ लागि पासाङ शेर्पा र फुर्दवा शेर्पासमेतले दाउराको चिरपटले संवेदनशील अंग टाउकोमा प्रहार गरी मरणासन्न अवस्थामा पारी भोलिपल्ट उपचार हुन नसकी निजको मृत्यु भएको हो । सो घटनामा अन्य मानिसहरू र मेरो संलग्नता छैन । दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दवा शेर्पासमेतको कुटपिटबाटै मृतकको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी दावा शेर्पाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६७।९।१८ को बयान ।
जाहेरीमा उल्लिखित मिति, समय र स्थानमा जाहेरवालीका छोरा पासाङ नुर्वु शेर्पा अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी दानुर्वु शेर्पालाई आमा चकारी गाली गर्दा निजहरूले झगडा गरेका हुन् । झगडामा पासाङ शेर्पा र फुर्दवा शेर्पासमेत ओडपसी कुटपिट गरिरहेकोमा पछि छुट्याई आ-आफ्नो घर पठाएकोमा पुन: प्रतिवादी दानुर्वु, पासाङ र फुर्दवासमेत जाहेरवालीको घरमा गई सुतिरहेको पासाङ नुर्वु शेर्पालाई दाउराको चिरपटले टाउकोमा प्रहार गरेका हुन् । उक्त घटनामा अरूको संलग्नता छैन । मैले पनि निजलाई कुटपिट गरेको होइन भन्ने प्रतिवादी दोर्ची शेर्पाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७।८।२९ गते मेरो सहोदर कान्छो भाइ लाक्पा हिसी शेर्पाको विवाह भएकोले म विवाह घरमा थिएँ । रातको समयमा शेर्पा जातिको स्याब्रु नाच भइरहेको थियो । त्यस्तैमा मृतकले मादक पदार्थ सेवन गरी दानुर्वु शेर्पासँग झगडा गर्दा पासाङ शेर्पा र फुर्दवा शेर्पा ओड पसी झगडा गर्दा म आत्तिदै कराएकीले मैलेसमेत कुटपिट गरेको भनी जाहेरीवालीले नाम दिएको रहिछिन् । मैले जाहेरवालीको छोरालाई कुटपिट गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी फुर्वा साङमु शेर्पाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
विवाह घरमा जाहेरवालीको छोरा पासाङ नुर्वु शेर्पा र दानुर्वु शेर्पा झगडा गर्दा पासाङ शेर्पा र फुर्दवा शेर्पा ओड पसी कुटपिट गर्दा विवाहमा भएका मानिसहरूले छुट्याई पठाएका हुन् । पछि पुन: घरमा गई तीनजनाले जाहेरवालीको छोरा सुतिरहेको अवस्थामा दाउराको चिरपट उठाई कुटपिट गरी टाउकोमा हानी निजको मृत्यु भएको हो । सो घटनामा विवाहमा भएका मानिसहरू र मेरो संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी पासाङ तेम्बा शेर्पाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६७।९।१८ को बयान ।
जाहेरवालीको छोरा पासाङ नुर्वु शेर्पा अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी दानुर्वु शेर्पालाई ए रण्डीको छोरा, मेरो जग्गा छाड भनी आमा चकारी गाली गरी दानुर्वु शेर्पासँग झगडा पर्दा पासाङ शेर्पा र फुर्दवा शेर्पासमेत ओड पसी कुटपिट गर्दा मेरो कान्छी छोरी हुलमुलमा परेकोदेखि आत्तिदै चर्किलो स्वरले कराएकीले दानुर्वु शेर्पाले बयानमा पोलेका रहेछन् । मैले जाहेरवालीको छोरालाई कुटपिट गरेकी होइन भन्नेसमेत व्यहोराको प्रतिवादी लाक्पा ल्वमु शेर्पाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६७।९।१८ को बयान ।
मिति २०६७।८।२९ गते पेमदोर्चीको कान्छो भाइ लाक्पा हिसी शेर्पाको विवाह भएकाले निम्तो मान्न विवाह घरमा गएको थिएँ । विवाहमा मृतक पासाङ नुर्वु शेर्पा र दानुर्वु शेर्पाबीच झगडा हुँदा दानुर्वु शेर्पाले एक्कासी हातपात गर्दा निजसँग भएका पासाङ शेर्पा, फुर्दवा शेर्पाले दानुर्वु शेर्पाको सपोर्ट गरी कुटपिट गर्दा मसमेत भई छुट्याई पछि मृतक पासाङ नुर्वु शेर्पा घरतिर गएका हुन् । मृतकको मृत्यु दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दवा शेर्पाले कुटपिट गरेको कारणबाट भएको भन्ने सुनेको छु भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने काल्ले भन्ने कर्मा शेर्पाको मौकाको कागज ।
मिति २०६७।८।२९ गते जाहेरवालीको छोरा सुतिरहेको अवस्थामा दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दवा शेर्पाले दाउराको चिरपट प्रहार गरी मरणासन्न अवस्थामा पारी भोलिपल्ट उपचारका लागि चैनपुर अस्पताल ल्याउँदा उपचार हुन नसकी निजहरूकै कुटाइबाट मृत्यु भएको हो भन्ने लिङमा शेर्पाले गरेको मौकाको कागज ।
मिति २०६७।८।२९ गते म बेहुलाको रूपमा थिएँ । जाहेरीमा उल्लिखित मिति, समय र स्थानमा हल्ला खल्ला भएको सुनी दाजु पेमदोर्ची शेर्पालाई किन झगडा गरे दाजु सम्झाई बुझाई गर्नुहोस् भनि पठाएकोमा केही क्षणमा शान्त भई दानुर्वु शेर्पाले जाहेरवालीको छोरालाई धारिलो हतियार प्रहार गरी मरणासन्न अवस्थामा पारी उपचारका लागि चैनपुर अस्पताल लगेका छन् भन्ने सुनेको हुँ । दानुर्वु शेर्पा मृतककै जग्गामा बसेकाले रिसइवी लिई कर्तव्य गरी मारेको कुरामा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने लाक्पा हिसी शेर्पाको कागज ।
मिति २०६७।८।२९ गते राति १२:०० बजेको समयमा मृतक पासाङ नुर्वु शेर्पाले दानुर्वु शेर्पालाई विवाह घरमा मेरो जग्गा छोड् भनि आमा चकारी गाली गर्दा दानुर्वु शेर्पाले हात छोडी कुटपिट गर्दा फुर्दवा शेर्पा र पासाङ शेर्पासमेत ओडपसी कुटपिट गरेका हुन् अन्य विवाहमा भएका पेमदोर्ची शेर्पालगायतका मानिसहरूले छुट्याई घर पठाएकोमा निजहरू पुन: जाहेरवालीको घरमा गई पासाङ नुर्वु शेर्पालाई दाउराको चिरपटले संवेदनशील अङ्ग टाउकोमा प्रहार गरी घाइते बनाई भोलिपल्ट चैनपुर अस्पतालमा उपचारमा लाँदा उपचार हुन नसकी सोही दिन साँझ मृत्यु भएको हो । घटनामा ३ जनाभन्दा अरूको संलग्नता छैन । दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दवा शेर्पालाई हदैसम्मको सजाय दिलाई पाउँ भन्नेसमेत करिब एकै मिलानको लाक्पा शेर्पासमेतका ५ जनाको मिति २०६७।९।२१ को वस्तुस्थिति मुचुल्का ।
मिति २०६७।९।१ गते प्रतिवादी दानुर्वु शेर्पा, पासाङ शेर्पा, फुर्दवा शेर्पा, पेमदोर्ची शेर्पा, दोर्ची शेर्पा, दावा शेर्पा, जङवु शेर्पा, पासाङ तेम्वा शेर्पासमेतको कुटाइबाट मृतकको मृत्यु भएको हुँदा निजहरूलाई सोही मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार र प्रतिवादी साङमु भन्ने फुर्वा साङमु शेर्पा र वङमु भन्ने लाक्पा ल्वमु शेर्पासमेत वारदातस्थलमा रही ज्यान मार्नमा अरू किसिमसँग मत सल्लाहमा फसी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १७(३) विपरीतको कसुर गरेको हुँदा निजहरूलाई ऐ. ऐनको १७(३) नं. अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको जिल्ला सरकारी वकिल कार्यालय, चैनपुरको मिति २०६७।९।२५ को अभियोग पत्र ।
मिति २०६७।८।२९ गते गाउँकै लाक्पा हिसीको विवाह भएको हुँदा मसमेत सो विवाहमा गई नाचगान भई रहेकोमा रातको ११:०० बजेको समयमा म नाची रहेको ठाउँमा मृतक पासाङ नुर्वु शेर्पा आई तँ रण्डीको छोरा मेरो जग्गा छोड् भनी धकेली मलाई २ बक्सिङ हिर्काउँदा मैले पनि निजलाई हात्ती मुड्कीले हिर्काएको हो । सो झगडा विवाहमा आउने निम्तालुहरूले छुट्याई निज मृतक घरतिर लागे । म पनि केहीबेरपछि निजको घर आँगनकै बाटो हुँदै घर जान लाग्दा निजको आँगनमा निज उत्तिसको चिरपट दाउरा लिई लुकी बसेको रहेछ । म निजको आँगनमा पुग्नासाथ मलाई प्रहार गर्न लाग्दा मैले सोही चिरपट खोसी निजको टाउकोमा हान्दा निज भुइँमा लडे । सोपछि मैले निजको शरीरको विभिन्न भागमा प्रहार गरी निजकै आँगनमा छाडी गएकोमा मेरो मोबाइल हराई मोबाइल खोज्न पुन: निजको घरमा जाँदा गाली गलौज गरेकोले फेरी मैले त्यही छाडेको चिरपट दाउराले निजलाई कुटपिट गरेको हो । मृतकको मृत्यु मैले कुटपिट गरेकै कारणबाट मिति २०६७।९।१ गते चैनपुर अस्पतालमा भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी दानुर्वु शेर्पाले सुरू अदालतमा गरेको बयान ।
मृतक पासाङ नुर्वु शेर्पाको मृत्यु मिति २०६७।९।१ गते चैनपुर अस्पतालमा भएको हो । मिति २०६७।८।२९ गते गाउँकै लाक्पा हिसी शेर्पाको विवाह भएकोमा म पनि सो विवाहमा आएको थिएँ । रातको अन्दाजी ९:०० बजेको समयमा मृतक र प्रतिवादी दानुर्वुबीच के निहुँमा झगडा भयो मैले आँखाले देखिन । म बिहेको खाना बनाउन लागेको थिएँ । मृतक र प्रतिवादी दानुर्वु झगडा भएपछि मृतक केहीबेर अगाडि र प्रतिवादी दानुर्वु केहीबेर पछाडि घरतर्फ गएका थिए । म विवाहको खाना खुवाई रातको २ बजेको समयमा विवाह घरमा सुत्ने व्यवस्था नभएकोले प्रतिवादी दानुर्वु शेर्पाको घरमा सुत्न जाँदा मृतकले मलाई कुट्न खोजेकोले निज मृतकले नै बोकेको चिरपट दाउरा खोसी मृतकको टाउकोमा समेत हानेको हो । के भयो भनि प्रतिवादी दानुर्वु शेर्पाले भोलिपल्ट भनेको हुँदा सुनेको हुँ । मेरो साथमा फुर्दवा शेर्पासमेत थियो । मैले र फुर्दवा शेर्पाले मृतकलाई कुटपिट गरेको होइन । मृतकको मृत्यु सोही कुटाइको कारणबाट भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी पासाङ शेर्पाले अदालतमा गरेको बयान ।
गाउँकै लाक्पा हिसी शेर्पाको विवाह भएको हुँदा मृतक र हामी प्रतिवादीसमेतका छरछिमेक सो विवाह घरमा भेला भई खानपिन गरी, नाचगान भइरहेको अवस्थामा मृतक र प्रतिवादीमध्येका दानुर्वु शेर्पाबीच झगडा भएछ । सो झगडा निम्ता मान्न आउने गाउँलेहरूले छुट्याई मृतकलाई केही अगाडि र प्रतिवादी दानुर्वु मृतकको घरको बाटो हुँदै घरतर्फ जाँदा मृतकले दानुर्वुलाई कुट्न खोज्दा दानुर्वुले मृतकलाई कुटपिट गरे भनि निज दानुर्वुले भन्दा थाहा पाएको हुँ । मृतकलाई मसमेत भई कुटपिट गरेको होइन । मृतकको मृत्यु प्रतिवादी दानुर्वुले नै कुटपिट गरेको कारणबाट भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी फुर्दवा शेर्पाले सुरू अदालतमा गरेको मिति २०६७।९।२६ गतेको बयान ।
म मेरो भाइ लाक्पा हिसीको विवाहमा गएको थिएँ । रातको ९:०० बजे खानपिन सकेपछि म निन्द्रा लागेर सुतेकी हुँ । घटनाको कुरा मैले देखिन । को-कसले कुटेर मृतकको मृत्यु हुन गयो, म जान्दिन भन्नेसमेत व्यहोराको प्रतिवादी फुर्वा साङमु भन्ने सङमुलामु शेर्पाले सुरू अदालतमा गरेको मिति २०६७।९।२६ गतेको बयान ।
मृतकको मृत्यु प्रतिवादी दानुर्वु शेर्पाले कुटपिट गरेको निहुँबाट मिति २०६७।९।१ गते चैनपुर अस्पतालमा भएको भन्ने सुनेको हुँ । मिति २०६७।८।२९ गते गाउँकै मेरो बडा बाबुको छोरा लाक्पाहिसी शेर्पाको विवाह हुँदा सो विवाहमा मलाईसमेत निम्तो गरेकोले म पनि गएको थिएँ । रातको ७:०० बजेको समयमा म र बुवा आमासमेत घर गएका हौं । मृतकलाई अरू को-कसले कुटे कुटेन, म वारदातस्थलमा नभएको हुँदा थाहा पाइन । मैले मृतकलाई कुटपिट गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी जम्बु शेर्पाले सुरू अदालतमा गरेको मिति २०६७।९।२६ गतेको बयान ।
मिति २०६७।८।२९ गते दिनको ३:०० बजेको समयमा गाउँकै लाक्पा हिसी शेर्पाको विवाह भएको हुँदा सो विवाहमा गई विवाह भोज खाई बेलुका ५:०० बजे नै म आफ्नो घर फर्की गएको
हुँ । सो दिन मृतक तथा प्रतिवादीहरूसँग मेरो भेट भएन । मैले मृतकलाई कुटपिटसमेत नगरेको हुँदा झुट्ठा अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी दावा शेर्पाले सुरू अदालतमा गरेको मिति २०६७।९।२६ गतेको बयान ।
मिति २०६७।८।२९ गते बिहान १०:०० बजे परीक्षा दिन गई दिनको १:०० बजे परीक्षा सिद्धिएपछि घरमा आई साथी दोर्ची शेर्पा, दावा शेर्पासँग गाउँकै लाक्पाहिसी शेर्पाको विवाह घरमा आई भोज खाई भोलिपल्ट पनि परीक्षा भएकोले बेलुकी ५:०० बजे नै आफ्नो घर गएका हौं । मृतकलाई मैलेसमेत कुटपिट गरेको होइन, मृतकको मृत्यु मिति २०६७।९।१ गते चैनपुर अस्पतालमा भएको भनि सुनेको हुँ । के भएर भयो भएन भन्नेसमेत व्यहोराको प्रतिवादी पासाङ शेर्पाले सुरू अदालतमा गरेको बयान ।
मृतक पासाङ नुर्वु शेर्पाको मृत्यु कसले कसरी गराए थाहा भएन । विवाहमा झगडा भएर मृत्यु भएको भनी सुनेको थिएँ । घटना सम्बन्धमा मलाई केही थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादी लाक्पा ल्वमु शेर्पाले सुरू अदालतसमक्ष गरेको बयान ।
मिति २०६७/८/२९ गते बिहानको ८:३० बजे घरबाट स्कुल गई परीक्षा दिई दिनको १:३० बजेतिर घर गएको हुँ । घरमा गई गाउँकै लाक्पा हिसी शेर्पाको विवाहमा भोज खान म मेरो साथी दावा पासाङसमेत तीन जना गई भोज खाई दिनको ३:०० बजे हामी तीनै जना आ-आफ्नो घरतर्फ आएका हौं । मसमेत भई मृतकलाई लात्ती मुड्की प्रहार गरी कुटपिट गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी दोर्ची शेर्पाले सुरू अदालतसमक्ष गरेको बयान ।
म मेरो भाइको विवाह भएको हुँदा आएका निम्तालुहरूलाई घरभित्र नास्ता खुवाउने कार्यमा लागिरहेको थिएँ । रातिको अं. १०:०० बजेतिर आँगनमा हाम्रो जातीय परम्पराअनुसार शेर्पा नाच चलिरहेको ठाउँमा मृतक पासाङ नुर्वु र प्रतिवादी मध्येका दानुर्वु शेर्पाको के कुन निहुँमा झगडा भएको थाहा भएन । म बाहिर निस्की झगडा नगर भनी कराई पुनः भित्र पाहुनालाई खुवाउने कार्यमा लागेँ । म बाहिर निस्कँदा निज मृतक र प्रतिवादीमध्येका दानुर्वु शेर्पा कुटाकुट गरी आ-आफ्नो घरतर्फ लागिसकेका थिए । सो घटनाबारे अरू मलाई थाहा छैन । मृतक पासाङ नुर्वुको मृत्यु प्रतिवादीमध्येका दानुर्वु शेर्पाले कुटेको कारण उपचार हुन नसकी मिति २०६७।९।१ गते चैनपुर अस्पतालमा मृत्यु भएको भन्ने सुनेको हुँ । मैले देखिनँ, मैले कुनै कसुर नगरेको हुँदा झुट्टा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पेमदोर्ची शेर्पाले सुरू अदालतसमक्ष गरेको बयान ।
प्रतिवादी दानुर्वु शेर्पाले मेरो छोरालाई कर्तव्य गरी ज्यान मारेका हुन् । अरू प्रतिवादीहरूलाई त्यतिबेला रिसको झोँकमा आत्तिएर मैले त्यसरी भनेछु । दानुर्वुले मात्रै मारेको हुँदा उसले सजाय पाउनुपर्छ । दानुर्वुले मेरो घरको सिकुवामा आएर सुतेको बेला मारेको हो । मैले आँखाले देखेको हो भन्नेसमेत व्यहोराको जाहेरवाली ङिमबुटी शेर्पाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
म घरभित्रै सुतेको थिएँ । बाहिर दानुर्वु शेर्पाको आवाज सुनी बाहिर निस्की हेर्दा मेरै घरको सिकुवामा मृतक पासाङ नुर्वु शेर्पा रगताम्य अवस्थामा देखेको हुँ । निजको मृत्यु मिति २०६७।९।१ गते चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भएको हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने निमछिरी शेर्पाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मृतक र दानुर्वुबीच झगडा हुँदै थियो । क-कसले कहाँ कुटे थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी लाक्पा शेर्पाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मेरो घरमा मेरो विवाह भोज थियो । त्यहाँ पासाङ नुर्वु शेर्पा र दानुर्वु शेर्पाबीच सामान्य भनाभन भएको सुनेको हुँ । के निहुँमा भएको थाहा भएन । निजहरू दुईजनाबीच मात्र झगडा भएको र मृतक पासाङ नुर्वु शेर्पाको मृत्यु चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भएको भन्ने सुनेको हुँ र लास देखिनँ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने लाक्पाहिसी शेर्पाले गरेको बकपत्र ।
मृतक पासाङ नुर्वु शेर्पाको मृत्यु प्रतिवादीमध्येका दानुर्वु शेर्पाले कुटपिट गरेको कारण उपचारको लागि चैनपुर अस्पताल ल्याउँदा ल्याउँदै मिति २०६७।९।१ गते चैनपुर अस्पतालमा भएको हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने कोल्टे भन्ने कर्मा शेर्पाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मृतक पासाङ नुर्वु शेर्पाको मृत्यु प्रतिवादीमध्येका दानुर्वु शेर्पाले मिति २०६७।८।२९ गते कन्चेटमा हिर्काएको चोटको कारण मिति २०६७।९।१ गते चैनपुर अस्पतालमा भएको हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने वङदी शेर्पाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
विवाह घरमा मसमेत गएको थिएँ । रातको ९:०० बजेको समयमा मृतक र प्रतिवादीमध्येका दानुर्वु शेर्पाका बीच के कुन निहुँमा वादविवाद भइरहेको देखेको हुँ । सोपछि आफ्नो घर गएँ, भोलिपल्ट प्रतिवादी दानुर्वु शेर्पाले घरमै गई मृतकलाई कुटपिट गरेको हुँदा उपचारको लागि चैनपुर अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको हो भन्ने सुनेको हुँ । आँखाले देखिनँ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका लाक्पा शेर्पाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०६७।९।२ गते भएको लास प्रकृति मुचुल्काको व्यहोरा र सहिछाप मेरै हो भन्नेसमेत व्यहोराको लास मुचुल्कामा बस्ने डम्बर श्रेष्ठले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०६७।९।२ को लास प्रकृति मुचुल्का मेरै घर चैनपुर-२ मा भएको हो र सोही ठाउँमा बसी सहीछाप गरेकी हुँ भन्नेसमेत व्यहोरा लास प्रकृति मुचुल्कामा बस्ने अंमु शेर्पाले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
मृतक पासाङ नुर्वु शेर्पालाई प्रतिवादीमध्येका दानुर्वु शेर्पाले कुटपिट गरी मारेको भन्ने मैले पछि गाउँ घरमा हल्ला हुँदा सुनी थाहा पाएको हुँ, घटना आँखाले देखिनँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूका साक्षी सुनिता शेर्पाले सुरू अदालतमा गरेको बकपत्र ।
मिसिल संलग्न कागज प्रमाणहरूहरू तथा मृतकउपर परेको चोटहरूको प्रकृतिसमेत हेर्दा प्रतिवादीहरू दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दवा शेर्पाले मृतकउपर दाउराले टाउकामा प्रहार गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. विपरीतको कसुर गरेको हुनाले सोही नं. बमोजिम जन्मकैद हुने ठहर्छ । अन्य प्रतिवादीहरू उक्त वारदातमा संलग्न रहेको नदेखिँदा अभियोग दाबीबाट सफाइ पाउने
ठहर्छ । सुरूमा किटानी जाहेरी दिएर पनि प्रतिवादीहरूलाई जोगाउने उद्देश्यले अदालतसमेतलाई गुमराहमा पार्न खोजेकोले जाहेरवाली ङिमवुटी शेर्पालाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८(२)क बमोजिम रू.२००/- जरिवाना हुने ठहर्छ भन्ने व्यहोराको सुरू संखुवासभा जिल्ला अदालतको मिति २०६८।३।७ को फैसला ।
प्रतिवादीहरू सबैको संलग्नता रही मृतकउपर कुटपिट गरी मारेको कुरा मिसिल संलग्न सबुद प्रमाणहरूबाट पुष्टि भइरहेको अवस्थामा समेत प्रतिवादीहरू दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दवा शेर्पालाई मात्र कसुरदार ठहर्याई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्याई सर्वस्वतर्फ केही नबोलिएको र अन्य प्रतिवादीहरूलाई सफाइ दिने ठहर्याई सुरू संखुवासभा जिल्ला अदालतबाट मिति २०६८।३।७ मा भएको फैसला त्रुटिपूर्ण छ । अभियोग दाबीबमोजिमका कसुरदार ठहर गरिएका प्रतिवादीहरू दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दवा शेर्पालाई सर्वस्वतर्फ केही नबोली जन्मकैद मात्रको सजाय गरेकोमा सो हदसम्म बदर गरी सर्वस्वसहित जन्मकैद गरी र अन्य सफाइ पाएका प्रतिवादीहरूलाई पनि अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन अदालत, धनकुटामा दायर हुन आएको पुनरावेदन पत्र ।
मृतकसँग विवाहमा वादविवाद भई झै-झगडा हुँदा दानुर्वु शेर्पाले कुटपिटसम्म गरेको हो । मानिस मार्ने गरी कुटपिट गरेको होइन । दानुर्वुबाहेकका अन्य प्रतिवादीहरूले मृतकउपर कुटपिटसमेत गरेको होइन । सो कुरालाई जाहेरवालीले अदालतमा आई बकपत्रद्वारा पनि समर्थन हुने गरी बकपत्र गरिदिएकी छन् । आफ्नो छोराको मृत्युमा शोकाकूल रहेकी जाहेरवालीले आफ्नो सत्य तथ्य व्यहोराको अदालतमा गरेको बयानलाई समेत प्रमाणमा नलिई हामी तीनैजना प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिमको कसुरदार ठहर्याई सजाय गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण छ । फौजदारी कानूनमा अपराध प्रमाणित गराउने कार्य अभियोजन पक्षको हो । स्वतन्त्र प्रमाणहरूबाट हामीउपर लगाएको अभियोग प्रमाणित गराउनुपर्नेमा विना आधार कसुरदार ठहर गर्ने गरेको फैसला बदर गरी म दानुर्वु शेर्पालाई कुटपिटसम्मको सजाय गरी तथा हामी पासाङ र फुर्दवालाई पूर्णरूपमा सफाइ दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दावा शेर्पाको संयुक्त पुनरावेदन पत्र ।
वादी नेपाल सरकारको तर्फबाट प्रतिवादी दानुर्वु शेर्पासमेत उपर पुनरावेदन परेको र सुरूले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैद सजाय गरेकोमा प्रतिवादी पासाङ शेर्पा, दानुर्वु शेर्पा र फुर्दावा शेर्पासमेतको पुनरावेदन परेको देखिँदा दुवै पक्षको पुनरावेदन परेको जानकारी एक अर्कालाई गराई नियमानुसार मुद्दा पेस गर्नू भन्ने मिति २०६८।१०।२ को पुनरावेदन अदालत, धनकुटाको आदेश ।
प्रतिवादीहरू दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दावा शेर्पालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने तथा प्रतिवादीहरू दानुर्वु शेर्पा, पासाङ दोर्ची शेर्पा, जङबु शेर्पा, दोर्ची शेर्पा, दावा शेर्पा, पासाङ तेम्वा शेर्पा, फुर्वा साङमु शेर्पा र लाक्पा ल्हमु शेर्पालाई आरोपित कसुरबाट सफाई पाउने ठहर्याई सुरू संखुवासभा जिल्ला अदालतले मिति २०६८।३।७ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने मिति २०६९।१।४ को पुनरावेदन अदालत, धनकुटाको फैसला ।
प्रतिवादीमध्येको म दानुर्वु शेर्पाले पूर्व रिसइबी मनसाय, योजना बिना तत्काल मृतकले नै मउपर आक्रमण गरेकोले म आवेशमा आई मैले सामान्य उत्तिसको चिरपटले प्रहार गरेको कारणबाट मृतकको मृत्यु भएको अवस्थामा आवेश प्रेरित मान्न मिलेन भनी अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको र हामी प्रतिवादीहरू फुर्दावा शेर्पा र पासाङ शेर्पा कसुरमा इन्कार रही गरेको बयान प्रतिवादी दानुर्वु शेर्पाले गरेको बयान, जाहेरी दरखास्त, वादी तथा प्रतिवादीका साक्षीसमेतबाट समर्थित भइरहेको अवस्थामा सबुद प्रमाणको मूल्याङ्कन नगरी हामीसमेतलाई कसुरदार ठहर गरी भएको सुरू फैसला सदर गरी पुनरावेदन अदालतबाट भएको फैसला बदर गरी सफाई पाउँ भनी प्रतिवादीहरूको संयुक्त पुनरावेदन यस अदालतमा परेको देखिन्छ ।
यसमा पूर्व रिसइबी नरहेको, जोखिम तथा धारिलो हतियार बरामद हुन नसकेको, प्रतिवादी पासाङको मृतकलाई मार्नमा के भूमिका थियो भन्ने प्रस्ट हुन नसकेकोमा सबै प्रतिवादीहरूलाई समान सजाय गरेको पुनरावेदन अदालत, धनकुटाको मिति २०६९।१।४ को फैसला फरक पर्न सक्ने देखिदा अ. बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको यस अदालतबाट भएको आदेश ।
नियमबमोजिम साप्ताहिक तथा आजको दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ता श्री किरणकुमारी गुप्ताले प्रतिवादीमध्येका दानुर्वु शेर्पा र मृतकबीच विवाहमा झगडा भई दुवै छुट्टिई मृतक आफ्नो घर गएकोमा निज दानुर्वु शेर्पा पनि आफ्नो घर जान सोही बाटो भई जाँदा लुकी छिपी रहेको मृतकले पहिला प्रहार गरेकोमा निज दानुर्वुले आफू बच्न प्रहार गरेको हो । निजहरूबीच कुनै पूर्व रिसइबी थिएन । सांघातिक हतियार पनि केही बरामद भएको छैन । निज साबित रही न्यायिक प्रक्रियालाई समेत सहयोग गरेको अवस्थामा निजलाई ज्यानसम्बन्धीको महलको १४ नं. को कसुरमा सजाय हुनु पर्ने हो । अन्य प्रतिवादीहरू कसुरमा संलग्न रहेको भनी जाहेरीमा उल्लेख भएपनि जाहेरवालाले अदालतसमक्ष बकपत्र गर्दा निजहरूको नाम किटान गर्न सकेको छैन । यी प्रतिवादीहरू अदालतमा इन्कार रही बयान गरेका छन् । यस्तो अवस्थामा निजहरूलाई अभियोग दाबीअनुसार सजाय गर्ने गरी भएको फैसला बदर भई निजहरूले सफाई पाउनु पर्ने हो भनी बहस गर्नुभयो । त्यस्तै प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री पुस्कर सापकोटाले अनुसन्धानका क्रममा संकलित प्रमाणहरूबाट सबै प्रतिवादीहरूको कसुरमा संलग्नता रहेको देखिएको, मृतकका शरीरमा लागेका चोटहरू हेर्दा धेरैजनाले धेरै पटक चोट छोडेको देखिन्छ । यस्तो अवस्थामा यी प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार सजाय हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसरी दुवै पक्षको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा लास जाँच प्रकृति मुचुल्का, पोस्टमार्टम रिपोर्टलगायतका मिसिल संलग्न कागज प्रमाणहरूबाट मृतकको मृत्यु कर्तव्यबाट भएको पुष्टि भइरहेको अवस्थामा निम्न प्रश्नहरूको निरोपण गरी निर्णय गर्नुपर्ने देखियो ।
१. मृतकको मृत्युमा यी प्रतिवादीहरूको संलग्नता रहेको छ छैन ? यदि रहेको छ भने को कस्को कस्तो संलग्नता रहेको छ ?
२. यी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? तथा सुरू फैसला सदर हुने ठहरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ वा छैन ?
यसमा प्रतिवादी दानुर्वु शेर्पा, पासाङ शेर्पा, फुर्दवा शेर्पा, पेमदोर्ची शेर्पा, दोर्ची शेर्पा, दावा शेर्पा, जङवु शेर्पा, पासाङ तेम्वा शेर्पासमेतको कुटाइबाट मृतकको मृत्यु भएको हुँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३ अनुसार र प्रतिवादी साङमु भन्ने फुर्वा साङमु शेर्पा र वङमु भन्ने लाक्पा ल्वमु शेर्पासमेत वारदातस्थलमा रही ज्यान मार्नमा अरू किसिमसँग मत सल्लाहमा फसी कसुर गरेको हुँदा निजहरूलाई ऐ.को १७ नं. को देहाय ३ अनुसार सजाय गरिपाउँ भन्ने अभियोगपत्र भएकोमा प्रतिवादीहरू दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दवा शेर्पालाई ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३ बमोजिम जन्मकैद हुने र अन्य प्रतिवादीहरू उक्त वारदातमा संलग्न रहेको नदेखिँदा अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई सुरू संखुवासभा जिल्ला अदालतबाट फैसला भएको पाइन्छ । उक्त फैसलाउपर प्रतिवादीहरू दानुर्वु शेर्पा, पासाङ शेर्पा र फुर्दवा शेर्पालाई मात्र कसुरदार ठहर्याई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३नं. को देहाय ३ बमोजिम जन्मकैदको सजाय हुने ठहर्याई सर्वस्वतर्फ केही नबोलिएको र अन्य प्रतिवादीहरूलाई सफाइ दिने ठहर्याई भएको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी कसुरदार ठहर गरिएका प्रतिवादीहरूलाई सर्वस्वसहित जन्मकैद गरी र अन्य सफाइ पाएका प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी वादी नेपाल सरकारका तर्फबाट र हामी तीनैजना प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३ बमोजिमको कसुरदार ठहर्याई सजाय गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको भनी पुनरावेदन अदालत, धनकुटामा प्रतिवादीहरूको संयुक्त पुनरावेदन पत्र रहेकोमा पुनरावेदन अदालत, धनकुटाबाट सुरू फैसला सदर हुने ठहरी फैसला भएको पाइन्छ । सो फैसलाउपर प्रतिवादीहरूमध्ये दानुर्वु शेर्पाले ज्यानसम्बन्धीको १४ नं. अनुसारको कसुर कायम गरिपाउँ भनी र अन्य प्रतिवादीहरूले सफाई पाउँ भनी यस अदालतमा पुनरावेदन गरेको देखिन्छ ।
२. निर्णयका लागि सर्वप्रथम पहिलो प्रश्न मृतकको मृत्युमा यी प्रतिवादीहरूको संलग्नता रहेको छ छैन ? यदि रहेको छ भने को कसको कस्तो संलग्नता रहेको छ ? भन्नेतर्फ विचार गर्दा यी प्रतिवादीहरूसमेतले २०६७।८।२९ गते मेरो छोरा मृतक पासाङ नुर्वु शेर्पासँग झगडा कुटपिट गरी मेरो छोरा घरमा आई सुतिसकेपछि पनि आई निजहरूमध्येका दानुर्वु शेर्पाले आफूले बोकेको धारिलो हतियारले र अन्यले लाठा ढुंगाले प्रहार गरी घाइते बनाएकोमा सोही चोटका कारण निजको उपचारका क्रममा मृत्यु भएको हो भनी ङिमबुटी शेर्पाले जाहेरी दिएको पाइन्छ । सोही व्यहोराको समर्थन हुने गरी निम छिरि शेर्पाले मौकाको कागजमा लेखाइदिएको देखिन्छ । यसरी जाहेरीमा किटानी गरी जाहेरी दिएपनि अदालतमा बकपत्र गर्दा भने जाहेरवाली ङाबुटी शेर्पाले दानुर्वु शेर्पाले मात्र आफ्नो छोरालाई मारेको र अन्य प्रतिवादीउपर रिसको झोकमा मात्र जाहेरी दिएको तथा निजहरूको मार्ने कार्यमा कुनै संलग्नता नरहेको भनी लेखाइदिएको पाइन्छ । टाउको पछाडि बीच भागमा २ इन्च लम्बाई आधा इन्च चौडाइ भएको गहिरो चोट रहेको, छातीमा निल डाम रहेको, नाकबाट रगत बगेको भन्नेसमेत व्यहोराको लास प्रकृति मुचुल्का र पोस्टमार्टम रिपोर्टको मृतकको मृत्युको कारणको महलमा Intracranial hemorrhage due to physical injury near the head भन्ने उल्लेख भएको छ ।
३. यी पुनरावेदकमध्येका दानुर्वु शेर्पाले मृतकले रक्सी सेवन गरी विवाह घरमा आफूलाई गाली गरेकाले झगडा र कुटपिटसमेत भएको हो । पछि निज घर गएपछि पहिला गाली गरेको रिस थाम्न नसकी हामी तीनै जना पुनरावेदकहरू निजको घर गई दाउराको चिरपटले मैले टाउकोमा, पासाङ शेर्पाले घुँडामा प्रहार गरेको र फुर्दावा शेर्पाले काहाँ प्रहार गरे थाहा भएन, सोही प्रहारबाट मृत्यु भएको हो भनी अनुसन्धानका क्रममा गरेको बयानमा लेखाएको देखिन्छ । सोही व्यहोराको समर्थन हुने गरी प्रतिवादी पासाङ शेर्पा र फुर्दवा शेर्पाले मौकाको बयानमा लेखाइदिएको
पाइन्छ । त्यस्तै मौकामा कागज गर्ने लिङमा शेर्पा, वस्तुस्थिति मुचुल्काका लाक्पा शेर्पासमेतका व्यक्तिले पनि प्रतिवादीहरूले बयानमा लेखाए जस्तै गरी वारदात भएको हो भनी लेखाइदिएको पाइन्छ । तर प्रतिवादी दानुर्वु शेर्पाले अदालतमा बयान गर्दा विवाहमा मृतक पासाङ नुर्वु शेर्पाले आफूलाई गाली गरी हिर्काएकाले आफूले पनि निजलाई लात्ती मुड्कीले हिर्काएको र पछि निज मृतक घरतिर लागेको आफू पनि केही बेरपछि निजको घरको बाटो हुँदै घर जान लाग्दा निजको आँगनमा निज उत्तिसको चिरपट दाउरा लिई लुकी बसी निजको आँगनमा पुग्नासाथ आफूलाई प्रहार गर्न लागेकाले सोही चिरपट खोसी निजको टाउकोमा हान्दा निज भुँइमा लडेका हुन् । सोपछि निजको शरीरको विभिन्न भागमा प्रहार गरेँ । पछि मेरो मोबाइल हराई मोबाइल खोज्न पुन: निजको घरमा जाँदा गाली गलौज गरेकोले फेरि मैले त्यहीँ छाडेको चिरपट दाउराले निजलाई कुटपिट गरेको हो । आफूले कुटपिट गरेकै कारणबाट निजको मृत्यु भएको हो र अन्य कसैको पनि संलग्नता नरहेको भनी अन्य प्रतिवादीलाई पोल नगरी लेखाइदिएको पाइन्छ । त्यस्तै प्रतिवादी पासाङ शेर्पा र फुर्दवा शेर्पाले अदालतको आफ्नो बयानमा दानुर्वु शेर्पाले अदालतमा लेखाई दिएको व्यहोराको नै समर्थन हुने गरी मृतक र प्रतिवादी दानुर्वुबीच झगडा भएको, झगडापछि मृतक केही बेरअगाडि र दानुर्वु केही बेरपछाडि घरतर्फ गएका, आफू विवाहको खाना खुवाई रातको २ बजेको समयमा दानुर्वु शेर्पाको घरमा सुत्न गएको, भोलिपल्ट मृतकले मलाई कुट्न खोजेकोले निज मृतकले नै बोकेको चिरपट दाउरा खोसी मृतकको टाउकोमा समेत हानेँ भनी दानुर्वुले भनेको, आफूहरूको मृतकलाई कुटपिट गरी मार्नमा कुनै संलग्नता नरहेको भनी लेखाई दिएको पाइन्छ । सुरू अदालतमा सफाई पाएका अन्य प्रतिवादीहरूले पनि अदालतमा बयान गर्दा आफूहरूले घटना नदेखेको र घटनास्थलमा नहुँदा घटनाका बारेमा केही थाहासमेत नभएको भनी लेखाइदिएको पाइन्छ । त्यस्तै वस्तुस्थिति मुचुल्काका लाखा शेर्पालगायतका सरकारी पक्षका गवाहहरूले पनि आफ्नो बकपत्रमा मृतक र दानुर्वु शेर्पाबीच मात्र झगडा भएको सुनेको हो र अन्य कसैको पनि झगडामा संलग्नता थिएन भनी लेखाइदिएको पाइन्छ । यी प्रतिवादीहरूका साक्षी सुनिता शेर्पाले पनि यी प्रतिवादी दानुर्वु शेर्पाले मृतकलाई कुटपिट गरेको भन्ने सुनेको र अन्य प्रतिवादीहरूको कुनै संलग्नता नरहेको भनी बकपत्र गरिदिएको पाइन्छ ।
४. यसरी मिसिल संलग्न उपर्युक्तानुसारका कागज प्रमाण हेर्दा मृतकलाई कर्तव्य गरी मार्ने कार्यमा प्रतिवादीहरू पासाङ शेर्पा र फुर्दवा शेर्पाको संलग्नता सम्बन्धमा संकलित प्रमाणहरू एक आपसमा बाझिएको अवस्था विद्यमान देखिन्छ । आफूले अदालतबाहेक अन्यत्र लेखाई दिएको कुरालाई सत्य साबित गर्न अदालतमा पनि सोही कुराको समर्थनमा लेखाई दिनु पर्नेमा जाहेरीमा यी प्रतिवादीहरू २ जनासमेत उपर किटानी भएपनि निजले अदालतमा सो कुराको समर्थन गर्न नसकी केवल रिसको झोकमा मात्र यी प्रतिवादीउपर पोल गरेको भनी लेखाइदिएको पाइन्छ । अन्य मौकामा कागज गर्ने व्यक्तिहरूले पनि अदालतमा यी प्रतिवादीहरूको संलग्नता रहेको देखाउन सकेको छैन । प्रतिवादी दानुर्वु शेर्पाले पनि अदालतमा आफूले कसुर गरेको स्वीकारी यी प्रतिवादीहरूको भने वारदातमा कुनै किसमको संलग्नता नरहेको भनी बयान गरिदिएको पाइन्छ र सोही व्यहोरा यी प्रतिवादीहरू २ जनाबाट समेत समर्थित रहेको छ । प्रमाण ऐन, २०३१ को दफा दफा १८ को अनुसन्धान तथा तहकिकातको सिलसिलामा तयार भएका लिखतमा उल्लेख भएका कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्थाबाट पनि मौकामा व्यक्त कुरालाई प्रमाणका रूपमा ग्रहण गर्न सोको समर्थन हुने गरी अदालतमा भन्न सक्नु पर्ने देखिन्छ । यी प्रतिवादीको संलग्नता रहेको भनी अदालतमा भन्न नसकी संलग्नता नरहेको भनी लेखाएको र अन्य वस्तुगत प्रमाण तथा परिस्थितिजन्य प्रमाणबाट पनि संलग्नता पुष्टि हुन नसकेको अवस्थामा प्रतिवादीहरू पासाङ शेर्पा र फुर्दवा शेर्पाको कसुरमा संलग्नता रहेको भन्न सक्ने देखिँदैन ।
५. यी प्रतिवादीहरूले मृतकलाई मार्नु पर्ने कुनै कारण रहेको तथ्यसमेत मिसिलबाट खुल्न आएको देखिँदैन । मिसिल संलग्न प्रमाण कागजहरू एक आपसमा बाझिरहेको अवस्था तथा यी प्रतिवादीको संलग्नताका सम्बन्धमा प्रमाणको परीक्षणका क्रममा अदालतबाट लिएको बयान बकपत्रमा कसैले केही खुलाउन नसकेको अवस्थामा केवल शंकाका भरमा यी प्रतिवादीको कसुरमा संलग्नता रहेको मान्न
सकिँदैन । फौजदारी कसुरमा प्रतिवादीमाथिको अभियोग निसन्देहरूपमा प्रमाणित गर्ने भार वादी पक्षमा निहित रहने हुन्छ । सो कुरा प्रमाण ऐन, २०३१ को दफा २५ मा स्पस्टरूपमा उल्लेख गरेको छ । प्रस्तुत मुद्दामा कसुरमा यी प्रतिवादीहरूको संलग्नता रहेको भनी पुष्टि हुने निर्विवाद आधारहरू वादी पक्षबाट पेस हुन सकेको देखिँदैन । केवल अभियोग लगाएको आधारमा मात्र कसुर कायम गर्न मिल्दैन र सो गर्नाले न्यायको मकसदसमेत पूरा हुँदैन । प्रमाणको पर्याप्त न्यायिक परीक्षण गरी न्यायिक परीक्षणबाट सत्य तथा सर्वोत्तम प्रमाणका रूपमा स्थापित प्रमाणले कसुरदार रहेको भनी समर्थन गरेमा मात्र कसुरदार कायम गर्न
सकिन्छ । अन्यथा कुनै व्यक्तिलाई आरोप लगाएकै आधारमा दोषी प्रमाणित गर्दा ठूलो अन्याय हुने हुन्छ । तसर्थ यी प्रतिवादीहरू पासाङ शेर्पा र फुर्दवा शेर्पाउपरको अभियोग निर्विवादरूपमा पुष्टि हुने अवस्था नरहेकोले निजहरूलाई अभियोग दाबीअनुसार सजाय गर्ने गरी गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिँदैन ।
६. अर्का प्रतिवादी दानुर्वु शेर्पाको हकमा हेर्दा निजउपर किटानी जाहेरी रहेको र निजको संलग्नता समर्थित हुने गरी जाहेरवालीले अदालतमा समेत बकपत्र गरिदिएको देखिन्छ । यी प्रतिवादी दानुर्वु शेर्पाले आफ्नो संलग्नतासम्बन्धमा जाहेरीको व्यहोराको समर्थनमा तथा कसुरमा स्वीकार रही मौकामा र अदालतमा बयान गरी दिएको पाइन्छ । सहअभियुक्तहरूले समेत निजमात्र कसुरमा संलग्नता रहेको भनी अदालतमा समेत लेखाएको पाइन्छ । साथै मौकामा कागज गर्ने व्यक्तिहरूले यी प्रतिवादीको संलग्नता रहेको भनी लेखाएको र स्वयं प्रतिवादीका साक्षीले पनि यी प्रतिवादीको संलग्नता रहेको भनी सुनेको हुँ भनी संलग्नता नरहेको भनी लेखाउन सकेको पाइँदैन । यी प्रतिवादीले आफ्नो संलग्नतामा कसुर नभएकोले सफाई पाउनुपर्छ भनी कतै स्पस्टरूपमा जिकिर लिनसमेत सकेको पाइँदैन । यस्तो अवस्थामा यी प्रतिवादीबाट नै आपराधिक कार्य भएको देखिन आउँदछ ।
७. यसरी प्रतिवादी दानुर्वु शेर्पाबाट आपराधिक कार्य भएको पुष्टि भएको अवस्थामा सो कार्य के कसरी हुन गएको हो ? अर्थात् प्रतिवादीले आफ्नो पुनरावेदन जिकिरमा आफूले गरेको कार्य आवेशप्रेरित हत्याभित्र पर्दछ भनी लिएको जिकिरतर्फ हेर्दा मृतक र प्रतिवादीबीचमा मार्नु पर्नेसम्मको कुनै रिसइबी रहेको देखिँदैन । प्रतिवादीले मार्नलाई कुनै हतियार बोकी गएको, विभिन्न निहुँ खोजेको तथा मार्न कुनै पूर्व तयारी तथा योजना बनाएको अवस्था विद्यमान छैन । यी मृतकले रक्सी खाई प्रतिवादीलाई गाली गलौज गरी पहिला आफैँ आक्रमणसमेत गर्दा यी प्रतिवादी र मृतकको बीचमा विवाहको घरमा झगडा भएकोसम्म स्थापित भएको छ । झगडा अरूले छुट्याई मृतक आफ्नो घरमा गएको अवस्थामा केही पछि प्रतिवादीले पनि आफ्नो घर जान मृतककै घर भएर जानु पर्ने हुँदा प्रतिवादी घर जान भनी मृतकको आँगनमा पुग्दा अकस्मात मृतकले प्रतिवादीउपर आक्रमण गरेको देखिन्छ । यसरी मृतकले आक्रमण गरेपछि प्रतिवादीलाई रिस उठी त्यहीँ भएको दाउराको चिरपटले हान्दा मृतकको टाउकोमा लागी सोही चोटका कारण मृत्यु भएको मिसिलबाट स्थापित भएको पाइन्छ । अभियोग दाबीमा भनेअनुसार सुतेको मृतकलाई उठाएर ल्याई घातक हतियारले हानेको भन्ने कुरा मिसिलबाट पुष्टि भएको देखिँदैन । मार्नेसम्मको रिसइबी भई घातक हतियारसमेत बोकेको भए विवाह घरमा झगडा हुँदा नै सो हतियार प्रयोग हुनुपर्ने थियो अर्थात् मृतक आफ्नो घर आउना साथै निजको पिछा गरी निज एक्लो मानिसलाई बाटोमा नै प्रहार गर्नु पर्नेमा सो भएको पनि मिसिलबाट देखिँदैन । आरोपित अन्य व्यक्तिहरूको पनि घटनामा कुनै किसिमको संलग्नता नरहेको देखिई सफाई पाइसकेको अवस्थामा मार्नलाई अन्य कसैको सहयोग लिएको पनि देखिँदैन ।
८. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. मा ज्यान मार्नको मनसाय रहेनछ, ज्यान लिनु पर्नेसम्मको इबी पनि रहेनछ, लुकी चोरीकन हानेको रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुंगा, लात मुक्का आदिले हान्दा सोही चोटको पिरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भनी यस्तो हत्यालाई आवेशप्रेरित हत्याको कोटीमा राखेको पाइन्छ । प्रस्तुत मुद्दामा घटना हुँदाको परिस्थिति, परिवेश, बरामद भएको काठको चिरपट जस्ता वस्तुगत प्रमाण, यी प्रतिवादीलगायत अन्य प्रतिवादीहरूले अदालतमा गरिदिएको बयान र अन्य मौकाका व्यक्तिहरूले गरिदिएको बकपत्रको व्यहोरासमेत हेर्दा ज्यानसम्बन्धीको महलको १४ नं. मा उल्लेख भए जस्तै मार्ने मनसाय तथा रिसइबी यी प्रतिवादीमा केही नभएको, लुकी चोरी पनि नहानेको, घातक हतियार पनि प्रयोग नगरी पहिला मृतकले प्रहार गरेको रिस थाम्न नसकी काठको चिरपटले मात्र यी प्रतिवादीले हानेको देखिन्छ । पहिले पनि झगडा भएको भन्ने आधारमा मात्र मार्ने मनसाय रहेको थियो भन्ने अर्थ गर्नु न्यायोचित हुँदैन । यस्तो अवस्थामा यी प्रतिवादी दानुर्वु शेर्पाले ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिमको कसुर गरेको देखिन आएकोमा सोही नं. बमोजिम कसुर ठहर गरी सजाय गर्नुपर्नेमा निज प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३ अनुसारको कसुर कायम गरी सोही नं. अनुसार जन्मकैदको सजाय गर्ने गरी भएको फैसला मिलेको देखिँदैन ।
९. अतः माथि विवेचित आधार प्रमाणहरूबाट यी प्रतिवादीहरू पासाङ शेर्पा, फुर्दवा शेर्पा र दानुर्वु शेर्पालाई अभियोग दाबीअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३ अनुसार जन्म कैदको सजाय गर्ने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसला केही उल्टी भई प्रतिवादीहरू पासाङ शेर्पा र फुर्दवा शेर्पाले अभियोग दाबीबाट सफाई पाउने ठहर्छ र प्रतिवादी दानुर्वु शेर्पाले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. अनुसारको कसुरमात्र गरेको देखिँदा निजलाई १० (दश) वर्षमात्र कैद सजाय हुने ठहर्छ । सो ठहर्नाले अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा प्रतिवादीहरू पासाङ शेर्पा र फुर्दवा शेर्पाले अभियोग दाबीबाट सफाई पाउने ठहरी फैसला भएकोले निजहरूलाई सुरू तथा पुनरावेदन अदालतको फैसलाअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३ अनुसार जन्म कैदको सजाय भई निज कैदमा समेत रहेको देखिँदा निजहरूलाई कैद मुक्त गरिदिनु भन्ने यस अदालतको संक्षिप्त आदेशानुसार पत्र पठाइसकेको हुँदा अब निजहरूका नामको उक्त जन्म कैदको लगत कट्टा गरी दिनु भनी सुरू संङ्खुवासभा जिल्ला अदालतमा लेखी पठाइदिनू ..............................................१
प्रतिवादीमध्येका दानुर्वु शेर्पालाई ऐ. महलको १४ नं. अनुसार १० (दश) वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोले सुरू र पुनरावेदनको फैसलाअनुसार निजलाई ऐ. महलको १३ नं. को देहाय ३ अनुसार भएको जन्म कैदको लगत संसोधन गरी १० (दश) वर्षको लगत कायम गरी सोहीअनुसार असुलउपर गर्न सम्बन्धित कारागार कार्यालयमा र निज प्रतिवादीलाई जानकारी दिनु भनी सुरू संङ्खुवासभा जिल्ला अदालतमा लेखी पठाइदिनू .....................................................२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ...............................३
उक्त रायमा सहमत छु ।
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृत : यदुराज शर्मा
इति संवत् २०७३ साल जेठ २४ गते रोज २ शुभम् ।