निर्णय नं. ९६४० - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७३।१।१५।४
मुद्दा : कर्तव्य ज्यान
०६९-CR-०६५३
पुनरावेदक / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक उग्रतारा गा.वि.स. वडा नं. १ स्थायी घर भई हाल कारागार कार्यालय काभ्रेमा थुनामा रहेका विकास खड्का
विरूद्ध
प्रत्यर्थी / वादी : केदार थापाको जाहेरीले नेपाल सरकार
०६९-CR-०६७१
पुनरावेदक / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक उग्रतारा गा.वि.स. वडा नं. १ स्थायी घर भई हाल कारागार कार्यालय काभ्रेमा थुनामा रहेका सानुभाई भन्ने पूर्णबहादुर खड्का
विरूद्ध
प्रत्यर्थी / वादी : केदार थापाको जाहेरीले नेपाल सरकार
०७०-CR-०२३२
पुनरावेदक / वादी : केदार थापाको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक उग्रतारा गा.वि.स. वडा नं. १ बस्ने कृष्णबहादुर खड्कासमेत
हाम्रो कानून प्रणालीमा कसुर गरेको कुरा वादीले शंकारहित तरिकाले पुष्टि हुने प्रमाण अदालतसमक्ष प्रस्तुत गर्न सक्नुपर्छ र ती प्रमाणहरूको अदालतले वस्तुनिष्ट मूल्याङ्कन वा न्यायिक परीक्षण गरी न्याय निरूपण गर्दछ । कसैको भनाइलाई परीक्षण नै नगरी भनेको आधारमा मात्र कसुरदार कायम गर्दा निर्दोष व्यक्ति पनि कसुरदार ठहरिन सक्छ । केही गरी निरपराध व्यक्ति अदालतबाट कसुरदार ठहर हुन गए निजलाई हुन सक्ने अपूरणीय क्षतिको कल्पना पनि गर्न सकिँदैन । त्यस्तोमा निज तथा सिंगो समाजको अदालतप्रति र अन्तमा राज्यप्रति नै ठूलो कुण्ठासमेत उत्पन्न हुन जान्छ । त्यसैले कसुर गरेको भन्नेमा थोरैमात्र पनि शंका देखिएमा कसैलाई पनि कसुरदार ठहराउन नमिल्ने ।
(प्रकरण नं.६)
प्रतिवादीहरूमा मार्ने मनसाय थियो थिएन ? यदि थियो भने के कुन हदसम्म थियो ? भनी हेर्नु सान्दर्भिक हुन
आउँछ । कुनै पनि कसुरका सम्बन्धमा मनसाय तत्त्वलाई छुट्टै मापन गर्ने कुनै यान्त्रिक विधि छैन । यसलाई आपराधिक कार्य गर्दा गरेका गतिविधि, तत्कालीन परिस्थिति, घटनाको पृष्ठभूमि, कसुरदारको संलग्नता, पीडितलाई पुग्न गएको चोट आदि जस्ता विषय सापेक्ष रही हेर्नुपर्ने ।
(प्रकरण नं.१२)
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. मा ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ भन्ने उल्लेख छ । यसबाट भवितव्य हुनलाई ज्यान मार्ने कुनै मनसाय रहेको हुनु हुँदैन र आफूले गरेको कामबाट मानिस मर्ला भन्ने परिणामको ज्ञान पनि यसमा हुँदैन । यस्तो अप्रत्यासित अवस्थामा केही गर्दा घटना घटेको वा मानिस मरेको भएमा मात्र भवितव्य भएको मानिन्छ । यसलाई आकस्मिक घटना वा दुर्घटनाका रूपमा लिइन्छ । त्यसैले भवितव्य हो भन्नलाई वारदात घटाउने मनसाय नभएको, गर्न खोजेको कार्य र त्यसमा प्रयोग भएका साधन वैध रहेको, यस्तो गर्दा वारदातको यस्तो परिणाम आउला भनी नदेखिएको, कार्य गर्न प्रसस्त सावधानी अपनाएको जस्ता कुरा पुष्टि हुन सक्नुपर्ने ।
कर्तव्य ज्यान हुन मार्ने मनसाय धेरै अघिदेखि रहेको देखिनु पर्ने भन्ने आवश्यक हुँदैन, घटनाको तत्काल अघि पनि कुनै कारणले इवी तथा मनसाय सृजना भएको हुन सक्छ । त्यस्तै यसमा भएको मासु किनी दिनु भन्नु, नकिनी दिँदा झगडा गर्नु, झगडाकै क्रममा कुटपिट गर्नु र घचेट्नु, घचेटेपछि पनि कुटपिट गर्नु र यसरी गरेका कुटपिटका कारण मृत्यु भई मृत्युका कारकहरूको शृङ्खलाबद्धता रहेको छ । यदि ज्यान मार्ने मनसाय नभएको भए यो शृङ्खलाबद्धताको कतै न कतै क्रमभङ्गता देखिनु पर्ने थियो । यस वारदातमा भएका यस्ता गतिविधि तथा कामलाई कुनै वैध तथा उचित काम र सावधानीपूर्वक गरेको कामका रूपमा पनि लिन सकिँदैन । यस्ता खाले कार्यमा मृत्युको परिणामको पूर्व जानकारी (Forsightness of Consequence) हुने अवस्थाहरू नरहेको मान्न पनि नसकिने ।
(प्रकरण नं.१३)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सोमकान्त भण्डारी
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता तुलसी शंकर अधिकारी
अवलम्बित नजिर :
ने.का.प. २०६९, अङ्क २, पृष्ठ १७१
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१ को दफा २७
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय (३)
मुलुकी ऐन, अ.बं.१८८ नं.
सुरू तहबाट फैसला गर्ने :
मा.जि.न्या. श्री दीपेन्द्र अधिकारी
पुनरावेदन तहबाट फैसला गर्ने :
मा.न्या. श्री टंकबहादुर मोक्तान
मा.न्या. श्री प्रकाशचन्द्र गजुरेल
फैसला
न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
मिति २०६८।५।७ गते बेलुका ७:३० बजेको समयमा मेरो भाइ अर्जुन थापासमेतलाई पूर्णबहादुर खड्का, विकास खड्कासमेतले कुटपिट गरी सख्त घाइते बनाएकोले हाल निजको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कानूनबमोजिम कारवाही गरी ज्यानमार्ने उद्योगमा सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६७।५।८ को जाहेरवाला केदार थापाको जाहेरी दरखास्त व्यहोरा ।
मिति २०६७।५।७ गते बेलुका मेरो भाइ अर्जुन थापालाई प्रतिवादी पूर्णबहादुर खड्कासमेतले कुटपिट गरी गम्भीर घाइते बनाई भाइको उपचार नर्भिक अस्पतालमा भइरहेकोमा निजको सोही कुटपिटको चोटको कारण मिति २०६७।५।१० गते मृत्यु भएको छ । निज भाइलाई प्रतिवादीहरू पूर्णबहादुर खड्का, विकास खड्का, कृष्णबहादुर खड्का र बच्चु खड्कासमेतले वारदात समयमा कुटपिट गरेको थाहा भएकोले निज अभियुक्तहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलबमोजिम कानूनी कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६७।५।१० को जाहेरवाला केदार थापाको जाहेरी दरखास्त ।
मिति २०६७।५।७ गते बेलुका काभ्रेपलाञ्चोक जिल्ला, उग्रतारा जनागाल गा.वि.स. वडा नं.१ स्थित सडकमा रगत जस्तो रातो पदार्थ लागी पानीले पखालेको जस्तो देखिएको स्थानमा अर्जुन थापालाई पूर्णबहादुर खड्कासमेतले कुटपिट गरी घाइते बनाएकोमा स्थानीय मानिसहरूले समेत उपचारको लागि शीरमेमोरियल अस्पताल लिई गएको भन्नेसमेत व्यहोराको मिति २०६७।५।८ को घटनास्थल मुचुल्का ।
टाउकोको भाग ब्यान्डेज लगाएको, बायाँ हातको कुहिनाको भित्री भागमा छाला खुइलिएको, सानो घाउसमेत रहेको भन्नेसमेत व्यहोराको मृतक अर्जुन थापाको मिति २०६७।५।१० को लासजाँच प्रकृति मुचुल्का ।
Cause of Death मा “Blunt force injuries to head” भन्नेसमेत व्यहोराको मृतक अर्जुन थापाको पोस्टमार्टम प्रतिवेदन ।
मिति २०६७।५।७ गते बेलुका का.प.जि., उग्रतारा जनागाल गा.वि.स. वडा नं.१ स्थित अरनिको राजमार्गको सडकमा अर्जुन थापासँग मेरो एक किलो मासु किन्ने विषयमा विवाद परी मसमेतले कुटपिट गरेको हो । रिसको आवेगमा यत्रतत्र पिटिएछ । निज अर्जुन थापाको सोही चोटको कारणले मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सानुभाइ भन्ने पूर्णबहादुर खड्काले मिति २०६७।५।१८ गते अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।
वारदातस्थलमा अर्जुन थापालाई पूर्णबहादुर खड्काले हिर्काएपछि म पनि गई निजलाई काठको लाठीसमेतले हिर्काइ दिएँ । पछि आएका हजुरबा कृष्णबहादुर खड्का, आमा बच्चु खड्कासमेतले के कस्तो गरे थाहा भएन । मसमेत रिसमा थिएँ । मसमेतले अर्जुन थापालाई कुटपिट गरेको कारणले निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको मिति २०६७।५।१८ मा अनुसन्धान अधिकारीसमक्ष प्रतिवादी विकास खड्काले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।
म त मेरो छोराहरू कराएको सुनेर कस्को पिटाइ खाए भनी हतपत उक्त घटनास्थलमा गएको हुँ । मैले हतियार बोकेर गएकी हैन । छोराहरूले एक जनालाई लाती मुक्काले हानिरहेका थिए । निजको
नाम अर्जुन थापा भन्ने थाहा भयो । निज अर्जुनको
अर्को साथी पनि सामान्य घाइते थिए । मेरो छोराहरूसँग झगडा गर्ने भनेर रिस चाहिँ उठेको हो । छोराहरूको पिटाइले रगतपच्छे भई ढलेकोले मैले केही गरिन । छोराहरू रिस आवेगमा भएकाले छोराहरूलाई पनि रोकिन । छोराहरूसमेतको कुटपिटको कारण निज
मृतक अर्जुन थापाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी बच्चु खड्काले मिति २०६८।५।२० मा अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।
म लौरो नभई हिंड्न नसक्ने भएकोले लौरोको सहाराले घटनास्थलमा आएको हुँ । बुहारी के कसरी आइन् देखिन । मैले अर्जुन थापालाई हतियारले हिर्काएको छैन । वारदात मिति, समय र स्थानमा नातिहरू पूर्णबहादुर खड्का र विकास खड्काले अर्जुन थापालाई लाती मुक्काले हिर्काइरहेका
थिए । मेरा नातिहरूसँग झगडा गर्ने भनी मलाई पनि रिस उठेको थियो । मैले नातिहरूलाई रोक्नु पर्नेमा रोकेन । नातिहरूले हिर्काएको कारण निज घाइते अर्जुन थापाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णबहादुर खड्काको मिति २०६७।५।२० को अनुसन्धान अधिकारीसमक्षको बयान कागज ।
मिति २०६७।५।७ गते बेलुका मलगायत अर्जुन थापा र ईश्वर थापा बनेपाबाट घर जाने क्रममा वारदातस्थलमा प्रतिवादीहरू पूर्णबहादुर खड्का, विकास खड्काले एक किलो मासु किन्न भनेकोमा नकिनी दिएकोले अर्जुन थापालाई हिर्काएँ । मसमेतलाई मुक्का प्रहार गरेपछि आएका कृष्णबहादुर खड्कासमेतका प्रतिवादीहरूले अर्जुन थापालाई यत्रतत्र हिर्काएको कारण निज घाइतेको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको मिति २०६८।५।२१ मा नवराज थापाले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
वारदातस्थान, मिति र समयमा प्रतिवादीहरू पूर्णबहादुर खड्का, विकास खड्का, कृष्णबहादुर खड्का र बच्चु खड्कासमेतले अर्जुन थापालाई लौरोले घोची, यत्रतत्र हिर्काइरहेको अवस्थामा मैले देखेको
हो । घाइतेलाई गोकर्ण खत्री समेतले उपचारको लागि शीरमेमोरियल लिई गएका थिए । निज घाइतेको सोही चोटको कारण मृत्यु भएको हो भन्नेसमेत व्यहोराको उद्धव राउतले मिति २०६७।५।२७ मा अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
मिति २०६७।५।७ गतेका दिन बेलुका ७:३० बजेको समयमा प्रतिवादी पूर्णबहादुर खड्का, विकास खड्का, कृष्णबहादुर खड्का र बच्चु खड्कासमेतले जाहेरवालाको भाइ अर्जुन थापालाई कुटपिट गरी सख्त घाइते बनाइदिएकोले सोही चोटको कारणले निजको मृत्यु मिति २०६७।५।१० गते भएको हो भन्नेसमेत व्यहोराको पुरूषोतम खड्का, हरिशरण खड्कासमेतले मिति २०६७।५।२७ मा अनुसन्धान अधिकारीसमक्ष गरी दिएको करिब एकै मिलानको छुट्टाछुट्टै कागज ।
मिति २०६७।५।७ गते बेलुका ७:३० बजेको समयमा तँ यहीँ भैसेपाटीको मानिस होइनस् भनी प्रतिवादीहरू पूर्णबहादुर खड्का, विकास खड्का, बच्चु खड्का र कृष्णबहादुर खड्कासमेतले अर्जुन थापालाई लौराले हिर्काउने, घोचिदिने, यत्रतत्र लात्ती मुक्कासमेतले हानिरहेको अवस्थामा म पुगी मैले मेरो मान्छेलाई नहिर्काऊ भनी रोकी घाइते अवस्थामा रहेका अर्जुन थापालाई उपचारको लागि शीरमेमोरियल अस्पताल लिई गएको हो । घाइतेको मिति २०६७।५।१० गते नर्भिक अस्पतालमा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको दीपक खत्रीले मिति २०६७।५।२७ मा अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
मिति २०६७।५।७ गते बेलुका ७:३० बजेको समयमा पूर्णबहादुर खड्कासमेत चार जनाले अर्जुन थापा, म र नवराज थापालाई समेत कुटपिट गरेका हुन् । मसमेत कुटाई खाने ३ जना बनेपाबाट घर जाने क्रममा प्रतिवादी पूर्णबहादुर खड्का र विकास खड्काले पहिला हिर्काए, पछि कृष्णबहादुर खड्का र बच्चु खड्काले पनि हिर्काएका हुन् । निजहरूले नै हिर्काएको चोटले उपचार हुन नसकी अर्जुन थापाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको ईश्वर थापाले मिति २०६७।५।२८ मा गरेको कागज ।
मिति २०६७।५।७ गते कृष्णबहादुर खड्का, बच्चु खड्का, पुर्णबहादुर खड्का र विकास खड्कासमेतले अर्जुन थापालाई लाठी, मुक्का, लात्तीले हानी, घोची कुटपिट गरिरहेको अवस्थामा मैले देखी निजहरूबाट कुटपिट गर्न रोकी घाइतेलाई अस्पतालतर्फ लगेको र ऐ.१० गते घाइते अर्जुन थापाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको गोकर्ण खत्रीको मिति २०६७।६।१ को कागज ।
मिति २०६७।५।७ गते बेलुका म काम गर्ने पसल कान्छा लामाको मासु पसलमा थिएँ । सो पसलमा एक जना मानिस आई एक किलो मासु किन्दा रोडमा ४।५ जना गाँइगुईं गरिरहेका थिए । एक्कासी मैले चिनेका सानुभाइ भन्ने पूर्णबहादुर खड्काले मेरो दाइलाई कुट्ने भनी अर्जुन थापालाई धकेलेपछि निज सडकमा ढली उठेर भाग्न खोजे । त्यहीबेला विकास खड्काले समाती पछारे । विकास खड्का र पूर्णबहादुर खड्काले ढलेका अर्जुन थापालाई यत्रतत्र
हिर्काए । अर्को एक जना मासु किन्ने व्यक्ति क्वाँटी र मासु बोकेर उभिरहेका थिए । त्यसलाई पनि रण्डीको छोरा भनी गालै गालामा र टाउकोमा पूर्णबहादुर खड्काले हिर्काइ घचेडी दिए । एक जना बुढो मान्छे कृष्णबहादुर खड्का र आइमाई मान्छे पछि आएका हुन् । मानिसहरू आई घाइतेलाई उपचारको लागि लिई गएकोमा निज घाइते अर्जुन थापाको मृत्यु भएको सुनी थाहा
भयो । निज मृतकको मृत्यु प्रतिवादीहरूको कुटपिटको कारणबाट नै भएको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम हदैसम्म कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको नाबालक राजिव लामाले संरक्षक कान्छा लामाको रोहबरमा मिति २०६७।६।१ गते अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
वारदातस्थलमा मेरो मासु पसलमा मासु किनी हिँड्न लागेका ईश्वर थापासमेतका ३ जनालाई प्रतिवादी पूर्णबहादुर खड्कासमेतका जना ४ ले कुटपिट गरेको, लौराले घोचिदिएको कारणबाट निज अर्जुन थापाको मृत्यु भएको हो । प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको कान्छा लामाले मिति २०६७।६।१ गते गरेको कागज ।
मिति २०६७।५।७ गते बेलुका ७:३० बजेको समयमा पूर्णबहादुर खड्का, विकास खड्का, बच्चु खड्का र कृष्णबहादुर खड्काले कुटपिट गरी सख्त घाइते बनाएको कारण निज अर्जुन थापाको मुत्यु भएको हो । प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिसहरू गणेशबहादुर विष्ट, ठाकुर राउत, वसन्तराम राउत, नारायण थापा, ध्रुवबहादुर बस्नेत, केशव विष्ट र माइलो खड्कासमेतले मिति २०६७।६।३ मा अनुसन्धान अधिकारीसमक्ष गरिदिएको कागज ।
प्रतिवादीहरू पूर्णबहादुर खड्का, विकास खड्का, कृष्णबहादुर खड्का र बच्चु खड्कासमेत ४ जना प्रतिवादीहरू मिली ज्यानमार्ने कार्य गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. ले निषेधित र १३(३) नं. ले परिभाषित कसुरजन्य कार्य गरेको देखिँदा त्यस्तो कार्य गर्ने प्रतिवादीहरूलाई सोही ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको मिति २०६७।६।५ गतेको अभियोग मागदाबी ।
मिति २०६७ साल भाद्र ३ गतेबाट म ओछ्यान परी खानासमेत ओछ्यानमा खाने गरेकोमा २०६७ साल भाद्र ८ गते बिस्तारै उठी चोटामा आउँदा कृष्णबहादुरको नातिलाई प्रहरीले लगेको भनी सुनी बिस्तारै उठी ईलाका प्रहरी कार्यालय, बनेपामा मोटरसाइकलमा गएकोमा यसैको नाति हो भनी मलाई ईलाका प्रहरी कार्यालय, बनेपाबाट थुनेको हो । २०६७।५।७ गते म आफ्नो घरमा नै छु । मैले अर्जुन थापालाई कुटी घोची मारेको छैन । कसले मार्यो थाहा छैन । प्रहरीमा डरत्रासमा पारी म निरक्षर वृद्धले नभनेको व्यहोरामा सहिछाप गराएका हुन् । अरू कागज गर्नेले मलाई किन पोले थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णबहादुर खड्काले अदालतसमक्ष मिति २०६७।६।६मा गरेको बयान ।
मिति २०६७।५।७ गतेका दिन म र मेरी श्रीमती शान्ति खड्का क्वाँटीको सामान किन्न भनी पसलमा आएकोमा मैले श्रीमतीलाई पसलमा छाडी अर्को पसलमा हल्का रक्सी खाँदै गर्दा श्रीमती आएपछि दुवै बाहिर निस्क्यौं । त्यहीबेला मोटरसाइकलमा आएका ३ जनाले को हो भनी श्रीमती शान्तिका हात समाई तान्दा मैले समात्ने व्यक्तिलाई ठेलेर श्रीमतीलाई छुट्याई दुवै घर गयौँ । त्यसपछि के भयो थाहा भएन । प्रहरीले व्यहोरा नसुनाई डर त्रासमा पारी कुटपिटसमेत गरी मैले नभनेको व्यहोरामा बिना राजीखुसी सहिछाप गराएको हो । गाउँको रिसइबीको कारण सबै जना मिली परिवारलाई नै फसाउन झुठ्ठा कागज गरिदिएका
हुन् । मैले मृतक अर्जुन थापालाई कुटे मारेको होइन भनी प्रतिवादी पूर्णबहादुर खड्काले अदालतसमक्ष मिति २०६७।६।६ मा गरेको बयान ।
वारदात भएको भनिएको मितिमा म घटनास्थल गएको छैन । मृतकलाई मैले कुटपिट गरेको छैन । कसले गरे थाहा छैन । भोलिपल्ट प्रहरीले मेरा छोराहरू प्रेमबहादुर र पूर्णबहादुरलाई पक्राउ गरेको हो । के विषयमा झगडा भयो थाहा छैन । रिसइवीको कारणले मेरा विरूद्ध लेखाइदिएका हुन् । प्रहरीमा भएको बयान मेरो राजीखुसीले नभई प्रहरी आफैँले तयार गरेका कागजमा सहिछाप गराएका हुन् । मैले कुनै कसुर अपराध गरेको होइन भनी प्रतिवादी बच्चु खड्काले अदालतसमक्ष मिति २०६७।६।६ गते गरेको बयान ।
वारदात भएको भनिएको मितिमा म आफ्नै घरमा थिएँ । घटनाको बारेमा थाहा छैन । भोलिपल्ट अर्जुन थापालाई हाम्रो परिवारले मार्यो भन्ने हल्ला चाहिँ भयो । मैले मारेको हैन । मेरो विरूद्ध किन जाहेरी भयो थाहा छैन । प्रहरीले सही गर भनेकाले सही गरेको हो । मैले कुटपिट नगरेकोमा किन झुठ्ठा लेखाए थाहा छैन । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी विकास खड्काले अदालतसमक्ष मिति २०६७।६।६ मा गरेको बयान ।
जाहेरी दरखास्तमा भएको व्यहोरा सहिछाप मेरो नै हो । उक्त मितिको जाहेरी दरखास्त मैले नै दिएको हो । मिति २०६७।५।७ गते गाउँले भाइ सुरज थापाले फोन गरी तपाइँको भाइलाई जनागालका मानिसहरूले कुटपिट गरी बनेपा अस्पतालमा राखेको छ भनेका, त्यहाँबाट नर्भिक अस्पतालमा रिफर गरिएकोमा भोलिपल्ट बनेपा आई ज्यानमार्ने उद्योग मुद्दामा २ जना मात्र उपर किटानी जाहेरी दिएकोमा ऐ.१० गते भाइ अर्जुनको उपचारकै क्रममा मृत्यु भएको कारण स्थानीयलाई समेत बुझी चारै जना प्रतिवादीउपर किटानी जाहेरी दिएको हुँ । यी चारै जना प्रतिवादीको कुटाइबाट मेरो भाइको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला केदार थापाको अदालतसमक्ष मिति २०६७।९।७ गते भएको बकपत्र ।
अनुसन्धान अधिकारीसमक्ष भएको कागजको व्यहोरा र सहिछाप मेरो नै हो । पढीबाची सुनाउँदा सुनी पाएँ । वारदात मितिमा म बजारबाट घर जाँदै गर्दा घटना भएको स्थानमा मृतक अर्जुन थापा बाटो किनारामा लडिरहेको, बोलाउँदा नबोलेको, टाउकोबाट रगत बगिरहेको कारण गाडी मगाई बनेपा प्रहरी चौकीको गाडीमा अस्पताल पठायौँ । त्यही समयमा विकास, पूर्णबहादुरसमेत हामीसँग झगडा गर्ने भनी कराइरहेका थिए । विकासको हजरबुबा र ममी पनि थिए । हजुरबुबाको हातमा लौरो थियो भन्नेसमेत व्यहोराको हरिशरण खड्काले मिति २०६७।९।१८मा अदालतसमक्ष गरेको बकपत्र ।
वारदात भएको दिन हामी बनेपाबाट किनमेल गरी फर्कंदा बाटामा झगडा परिरहेको, ४ जनाले मृतक अर्जुन थापालाई हानिरहेका थिए । हामी झगडातिर नलागी घर गयौं भन्नेसमेत व्यहोराको ध्रुवबहादुर बस्नेतले मिति २०६७।९।१८ मा अदालतसमक्ष गरेको बकपत्र ।
वारदात समय र मितिमा म घर फर्कंदा भटाभट हिर्काइरहेका थिए । को कसलाई कुटेको थाहा भएन । अँध्यारो हुनाले मान्छे चिनेनौं । भोलिपल्ट २५ किलो भन्ने ठाउँमा अर्जुन थापालाई मारे भन्ने थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको नारायणबहादुर थापाले २०६७।९।१८ मा अदालतसमक्ष गरेको बकपत्र ।
वारदात मितिमा मायोज कारखानाको डिउटीबाट घर जाँदा बाटोमा गोकर्ण खत्री गुहार गुहार गर्दै गरेको सुनेँ । अर्जुन थापा सडकमा लडिरहेको अवस्थामा विकास र पूर्णबहादुरले निजलाई कुटिरहेका थिए । कृष्णबहादुरका हातमा लाठो थियो । बच्चु खड्का पनि त्यहीँ थिइन् । मैले मान्छे मर्ला भनेको
हुँ । एम्बुलेन्स बोलायौं तर त्योभन्दा अगाडि नै प्रहरीको गाडी आइसकेको हुँदा अर्जुन थापालाई पठायौं । यी चारै जना प्रतिवादीको कुटाइको चोटको कारणबाट निज मृतकको मृत्यु भएको भाद्र १० गते सुनेको हो । विकास र पूर्णबहादुरले अर्जुनलाई लडाएको देखेको हुँ भन्नेसमेत व्यहोराको उद्धव राउतले मिति २०६७।९।१९ मा अदालतसमक्ष गरेको बकपत्र ।
वारदात मिति, समय र स्थानमा झगडा सुनी म दौडिएँ । पुग्दा मृतक रगतपच्छे भई रोडमा लडेको, नचिनेको मानिसलाई विकास र पूर्णबहादुर पिट्दै गरेका, मानिस मर्छ नपिट भन्दा रिसको झोँकमा तँ पनि मर्लास् भनी दुवैले धम्क्याएका, कृष्णबहादुर र बच्चु खड्का उभिरहेका थिए । कुट्न रोकिएपछि गोकर्ण खत्री आइपुगी एम्बुलेन्स बोलाउ भन्नुभयो । म घर लागेँ । चारै जनाको पिटाइबाट अर्जुन थापाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको दीपक खत्रीले मिति २०६७।९।१९ मा अदालतसमक्ष गरेको बकपत्र ।
अनुसन्धान अधिकारीसमक्ष भएको कागजको व्यहोरा र सहिछाप मेरो नै हो । हामी ३ जना अपाङ्ग अस्पताल जाने दोबाटोको मासु पसलमा मासु किन्न जाँदा पूर्णबहादुर र विकास त्यही पसलमा आई हामीलाई पनि मासु किन्न भनी धम्क्याएकोमा अर्जुनले किन्दिन भनेपछि एक्कासी हामी ३ जनालाई आक्रमण गरे । कृष्णबहादुर र बच्चुसमेत आई लाठाले हाने । मृतक अर्जुन थापालाई कृष्णबहादुरले पेटमा लाठाले हाने । मलाई पनि लडाए । ईश्वरलाई हान्न जाँदा म उठी प्रहरी चौकीतर्फ भाग्दा आँखामा हानी पछारे । गोकर्ण खत्री आई छुट्याई अस्पताल लगे । यी चारै जना प्रतिवादीको कुटाइबाट मृतक अर्जुन थापाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको नवराज थापाले मिति २०६७।९।२० मा अदालतमा गरेको बकपत्र ।
म पसलमा चिया खान लाग्दा हल्ला सुनी वारदातस्थल गएको हुँ । अर्जुन थापा रगत पच्छे भई लडेकोमा विकास खड्का, बच्चु खड्का, पूर्णबहादुर खड्का र कृष्णबहादुर खड्कालाई यसरी नकुट भन्दा मेरो छोरालाई कुटनेलाई मार्नपर्छ भनी बच्चु खड्काले भनेकी र नहान मरिसक्यो भन्दासमेत यस गा.वि.स.मा हामीसँग लडार्इं गर्ने को छ भनी पुनः अर्कोलाई हानी ढलाए । त्यसपछि प्रहरीको गाडी आई अस्पताल लगी २ घण्टा अस्पतालमा उपचार गराई काठमाडौं लगियो । मासु किन्न आएका ३ जनासँग विकास र पूर्णबहादुरले एक किलो मासु किन्न लगाएको विषयमा विवाद परी झगडा हुँदा यी चारै जनाको लठ्ठी प्रहारबाट मृतक अर्जुन थापाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको गोकर्ण खत्रीले मिति २०६७।९।२० मा अदालतसमक्ष गरेको बकपत्र ।
वारदात मिति, समय र स्थानमा यी चारै जना प्रतिवादीहरूले लाठी र मुक्काले कुटिरहेका थिए । यी नै प्रतिवादीहरूका चोटको कारण अर्जुन थापाको मृत्यु भएको हो । गोकर्णबहादुर खत्रीले छुटयाएका हुन् भन्नेसमेत व्यहोराको पुरूषोतम खड्काले मिति २०६७।९।२० मा अदालतसमक्ष गरेको बकपत्र ।
घटना मैले नदेखेकोले के कसरी अर्जुन थापाको मृत्यु भयो थाहा भएन भन्नेसमेत व्यहोराको कान्छा लामाले मिति २०६७।११।४ मा अदालतसमक्ष गरेको बकपत्र ।
टाउकोको दायाँपट्टि अप्रेसन गरी टाँका लगाएको, कञ्चटमा छालामुनि नील परेको, दाहिने कञ्चटको हड्डी फ्याक्चर भएको, गिदी छोप्ने खोल टाइट भई सुनिएको, रक्तश्राव भई धार नभएको वस्तुको चोटबाट मृतकको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको शव परीक्षण गर्ने डा. हरिहर वस्तीले अदालतसमक्ष मिति २०६७।११।१७ मा गरेको बकपत्र ।
सानुभाइले मर्ने मान्छेलाई ठेली रोडमा
ढलायो । विकास आएर कुटन थाल्यो, अर्को एकजना क्वाँटी र मासु लिएर मैले होइन भनेर रोएर बसेकोमा सानुभाइले निजलाई समेत कुट्यो । दुई बुढाबुढी आएका थिए तर केही गरेनन् । हातले नै कुटपिट गरेका हुन् भन्नेसमेत व्यहोराको अ.बं. ११५ नं.बमोजिम बुझिएका राजीव लामाले मिति २०६८।७।२७ मा अदालतसमक्ष गरेको बकपत्र ।
वारदात समयमा म पसलमा चिया खाइरहेको अवस्थामा होहल्ला सुनी घटनास्थलतर्फ जाँदा
नवराज थापा, अर्जुन थापा र ईश्वर थापा ३ जना आपसमा भनाभनपछि घचेटा घचेट गर्दा अरनिको राजमार्गको पीच सडकमा उत्तानो परेर लडदा अर्जुनको थाप्लो फुटयो । नवराज र ईश्वर लडिसकेपछि भागे । पछि प्रहरीको गाडी बोलाएर अर्जुन थापालाई अस्पताल पठायौं । बच्चु खड्का उपस्थित थिइनन् । पूर्णबहादुर यसो हेरेर घरतर्फ लागे । पूर्णबहादुर झगडामा संलग्न छैनन् भन्नेसमेत व्यहोराको प्रतिवादीहरू पूर्णबहादुर खड्का, विकास खड्का, बच्चु खड्का र कृष्णबहादुर खड्काका साक्षी विष्णु खड्काले मिति २०६७।९।१८ मा अदालतसमक्ष गरेको बकपत्र ।
वारदात मिति भाद्र ७ गते बिहान ७–८ बजेसम्म दाजु कृष्णबहादुर खड्का घरमा उहाँलाई बिसञ्चो भएको कारण हेर्न गएका थिए । बच्चु खड्का पनि त्यहीं हुनुहुन्थ्यो । गफ सकेर फर्किएँ । अर्जुन थापालाई कसले मार्यो थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णबहादुर खड्काका साक्षी हर्कबहादुर खड्काले अदालतसमक्ष आई मिति २०६७।९।१८ मा गरेको बकपत्र ।
घटनास्थलमा होहल्ला थियो । विकास खड्का त्यहाँ थिएनन् । हुलमा मान्छे चिनेनौं। ३/४ दिनपछि अर्जुन थापा मरेको सुनेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विकास खड्काका साक्षी नानीकाजी थापाले मिति २०६७।९।१९ मा अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्काले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम आरोपित कसुर गरेको
ठहर्छ । वारदातको अवस्था प्रकृति र संलग्नतासमेतबाट निजहरूलाई सजायमा छुट गरिरहनुपर्ने अवस्था नहुँदा अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुनेसमेत ठहर्छ । प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्काले आरोपित कसुर अपराधबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको मिति २०६८।११।३ को फैसला ।
जाहेरवाला केदार थापाले मिति २०६७।५।१० मा दिएको दोस्रो जाहेरीमा प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्काको नाम उल्लेख गरेको अवस्था छ । प्रत्यक्षदर्शी राजीव लामा र ध्रुव बस्नेतसमेतले मृतकलाई पिटिरहेको देखेको भनी उल्लेख गरेको अवस्थामा प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्कालाई सफाई दिने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीहरू समेतलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको पुनरावेदन जिकिर ।
मृतक अर्जुन थापासँग पूर्व रिसइवी नभएको कारण नियोजितरूपमा मार्ने योजना बनाई मारेको होइन । दुई पक्षबीच सामान्य भनाभन घचेटा घचेट हुँदा निज पीच सडकमा लड्न गई सोही चोटको कारणले मृत्यु भएको हो । म पूर्णबहादुर खड्काले सामान्य कुटपिट गरेको र म विकास खड्काको कुटपिटमा कुनै भूमिका छैन । मृतकलाई धारिलो हतियारले प्रयोग नगरेको र शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण टाउकोमा गहिरो चोट भन्ने उल्लेख गरेको देखिँदा अनुमानमा आधारित शंकाको भरमा २० वर्ष कैद हुने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाइ पाउँ भन्नेसमेतको प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्काको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
पुनरावेदक प्रतिवादीहरू सानुभाइ भन्ने पूर्णबहादुर खड्का र विकास खड्कालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. को कसुरमा ऐ. १३ (३) नं. बमोजिम सजाय गर्ने गरेको र प्रत्यर्थी प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्कालाई अभियोग मागदाबीबाट सफाइ दिने ठहराएको सुरू काभ्रेपलान्चोक जिल्ला अदालतको मिति २०६८।११।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरू र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६९।५।२६को फैसला ।
हाम्रो हत्या गर्ने मनसाय होइन । हत्या गर्ने कारण रहेको कतै खुलेको पनि छैन । सामान्य विवाद भई हात हालाहाल हुँदा मृतकलाई घचेड्दा पिच सडकमा लडेका कारण टाउकामा चोट लागी भवितव्य परी मृत्यु भएको हो । यस्तो अवस्थामा परस्पर विरोधी कागज प्रमाणलाई मात्र आधार लिई गरेको फैसला त्रुटिपूर्ण
छ । कुनै पनि कसुरलाई शंकारहित तवरले पुष्टि गर्नुपर्ने दायित्व अभियोजन पक्षको हुने सिद्धान्तको विपरीत भवितव्यबाट ज्यान मर्न गएको तथ्य मिसिलबाट देखिइरहेकोमा मनोगत तर्क गरी अनुमानको भरमा सुरू फैसला सदर हुने गरी गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पूर्णबहादुर खड्काको यस अदालतमा परेको पुनरावेदन पत्र ।
पुनरावेदन अदालतबाट प्रस्तुत वारदातमा यी पुनरावेदक प्रतिवादी पूर्णबहादुरले नै मृतकसँग बिना कारण निहुँ खोजेको र वादविवाद भई झगडा हुन थालेपछि निजका दाजु प्रतिवादी विकास खड्कासमेत आई निजहरूले मृतकलाई कुटपिट गरेको अवस्था हुँदा प्रस्तुत मुद्दामा मुलुकी ऐन, ज्यानसम्बन्धीको ५ नं. अनुसारको भवितव्य ज्यानको अवस्था स्थिति रहेको मान्न मिलेन भनी भएको फैसला त्रुटिपूर्ण छ । मेरो पुनरावेदन जिकिर सफाई पाउँ भन्ने रही ज्यानसम्बन्धीको ५ नं. को जिकिर नै नगरेकोले उक्त आधार मेरो हकमा समेत अभियोग प्रमाणित हुने आधार बन्न सक्दैन । पूर्णबहादुरले मृतकसँग निहुँ खोजेको र झगडा हुन थालेपछि मसमेत आई कुटपिट गरेको भन्ने तथ्य मिसिलबाट पुष्टि हुँदैन । मैले कुटपिट गरेको चोट लासमा छ भनी मिसिलमा कतै उल्लेख नहुँदा नहुँदै मसमेतले कुटपिट गरेको अवस्था देखिएको भनी मलाई समेत कसुरदार ठहराई मनोगत आधारमा गरेको पुनरावेदन अदालतको फैसला बदरभागी छ भन्नेसमेत व्यहोराको प्रतिवादी विकास खड्काको यस अदालतमा परेको पुनरावेदन पत्र ।
सफाई पाउने प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्का कसुर ठहर भएका प्रतिवादीहरू सँगै वारदातस्थलमा रहे भएको र निजहरूले समेत मृतकलाई कुटपिट गरेको तथ्य निजहरूकै बयानबाट र अन्य मिसिल संलग्न कागजबाट पुष्टि भइरहेकोमा सोको बेवास्ता गरी पहिले दिएको ज्यान मार्ने उद्योगको जाहेरीमा यी प्रतिवादीहरूको नाम नपरेको भन्ने जस्ता आधार लिई यी प्रतिवादीहरू जना २ लाई सफाई दिने ठहराई गरेको सुरू फैसला सदर हुने ठहराई गरेको श्री पुनरावेदन अदालत, पाटनको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी यी प्रतिवादीहरूसमेतलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम साप्ताहिक तथा आजको दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारीले प्रतिवादीहरूको मौकाको कागज र अदालतमा गरेको बयान र मौकामा कागजको व्यहोरा र अदालतमा गरेको बकपत्र जस्ता मिसिल संलग्न कागज प्रमाणबाट घटना कर्तव्यबाट भएकोमा कुनै विवाद छैन । यी प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्काले पनि मौकामा बयान गर्दा आफूहरू घटनास्थलमा रहेको भनी स्वीकारेका र अन्य मौकामा कागज गर्ने व्यक्तिहरूले पनि यी प्रतिवादीहरू जना २ ले समेत कुटपिट गरेको भनी लेखाई दिएका छन् । यस्तो अवस्थामा यी प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको फैसला नमिलेकोले निजहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो । प्रतिवादीहरू विकास खड्का र पूर्णबहादुर खड्काका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता तुलसी शंकर अधिकारीले मृतकलाई मार्ने यी प्रतिवादीहरूको कुनै पूर्व योजना, कारण र मनसाय थिएन । मासु किन्ने कुरामा झगडा हुँदा तत्काल आवेशमा आई धकेला धकेल भएर मृत्यु भएको हो । तसर्थ मनसाय तत्त्वको विचार नगरी अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको १३ नं. को देहाय (३) बमोजिम सजाय गरेको मिलेको छैन भनी गर्नुभएको बहससमेत सुनियो ।
यसरी पुनरावेदकहरू दुवै पक्षको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निरूपण गरी निर्णय गर्नुपर्ने देखियो ।
१. प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्कालाई सफाई दिने र पूर्णबहादुर खड्का र विकास खड्कालाई अभियोग दाबीबमोजिम सजाय हुने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन ?
२. वादी नेपाल सरकारको र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ?
यसमा प्रतिवादीहरू पूर्णबहादुर खड्का, विकास खड्का, कृष्णबहादुर खड्का र बच्चु खड्कासमेत ४ जना प्रतिवादीहरू मिली अर्जुनबहादुर थापासमेतलाई कुटपिट गरी निज अर्जुन थापाको सोही कुटपिटका कारण मृत्युसमेत भएकाले निजहरूले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. ले परिभाषित कसुर गरेको देखिँदा प्रतिवादीहरूलाई सोही नं. अनुसार सजाय गरिपाउँ भनी अभियोग माग दाबी लिएको देखियो । सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्काले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम आरोपित कसुर गरेको ठहराई जन्म कैदको सजाय र प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्काले आरोपित कसुरबाट सफाइ पाउने ठहराई फैसला भएको पाइयो । सो फैसलाउपर प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्कालाई सफाई दिने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको र हामीलाई सजाय गर्ने गरी भएको सुरू फैसला उल्टी गरी सफाई पाउँ भनी प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्काको श्री पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेको देखिन्छ । श्री पुनरावेदन अदालत, पाटनबाट प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्कालाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको र प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्काले सफाई पाउने गरी भएको सुरू फैसला सदर गर्ने गरी फैसला भएको पाइयो । उक्त फैसलाउपर हत्या गर्ने मनसाय नभएको अवस्थामा परस्पर विरोधी कागज प्रमाणलाई आधार लिई भवितव्यबाट ज्यान मर्न गएको तथ्य मिसिलबाट देखिइरहेकोमा मनोगत तर्क गरी गरेको पुनरावेदन अदालतको फैसला बदर गरी न्याय पाउँ भनी प्रतिवादी पूर्णबहादुर खड्काको, मेरो पुनरावेदन जिकिर सफाई पाउँ भन्ने रही ज्यानसम्बन्धीको ५ नं. को जिकिर नै नगरेकोले उक्त आधार मेरो हकमा समेत अभियोग प्रमाणित हुने आधार नबन्ने र मसमेतले कुटपिट गरेको भन्ने तथ्य मिसिलबाट पुष्टि नभएको अवस्थामा मलाईसमेत कसुरदार ठहराई गरेको पुनरावेदन अदालतको फैसला बदर गरी सफाई पाउँ भनी प्रतिवादी विकास खड्काको यस अदालतमा पुनरावेदन परेको र प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्काले सफाई पाएको हकमा वादी नेपाल सरकारको निजहरूले समेत मृतकलाई कुटपिट गरेको तथ्य निजहरूकै बयानबाट र अन्य मिसिल संलग्न कागजबाट पुष्टि भइरहेकोमा यी प्रतिवादीहरू जना २ लाई सफाई दिने ठहराई गरेको सुरू फैसला सदर गर्ने पुनरावेदन अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी यी प्रतिवादीहरू समेतलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी यस अदालतमा पुनरावेदन परेको देखिन्छ ।
२. निर्णयका लागि सर्वप्रथम मृत्यु कर्तव्यबाट भएको हो होइन ? भन्नेतर्फ विचार गर्दा, मृतकको शव परीक्षण प्रतिवेदनको Cause of Death को महलमा “Blunt force injuries to head” भनी उल्लेख भएको र शव परीक्षण गर्ने विशेषज्ञ डा. हरिहर वस्तीले टाउकोमा धार नभएको बोधो वस्तुको चोटका कारण मृतकको मृत्यु भएको भनी आफ्नो अदालतसमक्षको बकपत्रमा लेखाइ दिएका छन् । घटना विवरण कागज गर्ने, मौकामा कागज गर्ने, अदालतमा बकपत्र गर्ने व्यक्तिहरूले मृतक कुटपिटका कारण सडकमा पल्टीरहेको देखेको भनी लेखाई दिएका छन् । स्वयम् प्रतिवादीहरूले मौकामा कागज गर्दा कुटपिट गरेको स्वीकारेका र ७ गते कुटपिट भई १० गते उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको देखिएको छ । यस्तो छोटो समयको अन्तरालमा अस्पतालमा उपचारार्थ रहेको अवस्थामा मृत्युको अन्य कारण हुन सक्ने पनि केही नदेखिएको तथा मृत्युको कारण कुटपिटबाहेक अरू भएको भनी प्रतिवादीहरूले कहीँकतै विवाद गर्न नसकेकोबाट प्रतिवादीको मृत्यु कर्तव्यबाट भएको हो भन्नेमा कुनै विवाद देखिँदैन ।
३. मृतकको मृत्यु कर्तव्यबाट भएको तथ्य निर्विवाद पुष्टि भएपश्चात् को कसको कस्तो संलग्नताबाट उक्त कर्तव्य हुन गएको हो भन्नेतर्फ विचार गर्नुपर्ने हुन्छ । यससम्बन्धमा सर्वप्रथम सुरू र पुनरावेदन अदालतबाट कसुरमा संलग्नता नरहेको भनी सफाई पाएका प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्कालाई सफाई दिएको मिले नमिलेको के हो ? अर्थात् यी प्रतिवादीहरूसमेतको संलग्नतामा वारदात भएको मिसिल संलग्न कागजबाट देखिएकोले निजहरूले सफाई पाउने गरी भएको फैसला उल्टी गरी सजाय गरिपाउँ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा यसमा मिति २०६७।५।७ गते बेलुका पूर्णबहादुर खड्का र विकास खड्काले यसलाई मार्नुपर्छ भनी हातमा भएको काठको डन्डीले भाइ अर्जुन थापालाई र ईश्वर थापालाई टाउको तथा शरिरको विभिन्न भागमा हिर्काई सख्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेको भनी २०६७।५।८ मा जाहेरी दिएकोमा मिति २०६७।५।७ गते पूर्णबहादुर खड्का, विकास खड्का, कृष्णबहादुर खड्का र बच्चु खड्काले गरेको कुटपिटका कारणले भाइ अर्जुन थापाको उपचारको क्रममा मृत्यु भएको भनी २०६७।८।१० मा अर्को जाहेरी गराएको देखिन्छ । पहिलो जाहेरीमा कुटपिट गर्ने भनी कृष्णबहादुर खड्का र बच्चु खड्काको नाम उल्लेख नगरेको भए तापनि दोस्रो जाहेरीमा निजहरूको नामसमेत कुटपिट गर्ने भनी उल्लेख गरेको पाइन्छ । प्रतिवादीहरूमध्येका पूर्णबहादुर खड्का र विकास खड्काले मौकामा बयान गर्दा निज प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्का कुटपिटको हो हल्ला सुनी घरबाट वारदातस्थलमा आउनुभएको र निजहरूले के कसो गर्नुभयो थाहा नभएको भनी लेखाई दिएका छन् । प्रतिवादी पूर्णबहादुर खड्काले आफू र यी प्रतिवादीहरू जना २ घटनास्थलमा नभएको भनी र प्रतिवादी विकास खड्काले पनि आफूलगायतका प्रतिवादीहरूको कसुरमा कुनै संलग्नता नभएको भनी अदालतमा बयान गरेको पाइन्छ । यी प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्काले आफूहरू पूर्णबहादुर खड्का र विकास खड्का कराएको सुनी घटनास्थलमा गएको, आफूले हतियार नबोकेको, पूर्णबहादुर र विकास खड्काले मृतकलाई पिटी मृतक रगतपच्छे भई ढलेकोले आफूहरूले केही गरिन र निजहरूलाई पनि रोकिन भनी आफू घटनास्थलमा गएको तर आफूहरूले नपिटेको भनी र प्रतिवादी पूर्णबहादुर खड्का र विकास खड्काले पिटेको देखेको भनी निजहरूलाई पोल गरी मौकामा बयान गरिदिएको छन् । निज प्र. कृष्णबहादुर खड्काले आफ्नो अदालतको बयानमा आफू बिरामी भई सो दिन घरमै भई घटनाका बारेमा आफूलाई थाहा नभएको र पछि नातिलाई प्रहरीले लगेको थाहा पाई बल्लतल्त मोटर साइकलबाट के रहेछ भनी बुझ्न इलाका प्रहरी कार्यालय, बनेपामा गएकोले मलाई त्यहीँबाट प्रहरीले पक्राउ गरेका हुन् भनी र बच्चु खड्काले आफू खेतबारीमा भएकाले घटनाका बारेमा केही थाहा नभएको पछि छोराहरूलाई पक्री इलाका प्रहरी कार्यालय, बनेपा लगेकोले मात्र थाहा पाएको हो भनी कसुरमा इन्कार रही बयान गरिदिएको पाइन्छ । यसरी यी प्रतिवादीहरूको मौकाको बयान र अदालतमा गरेको बयानमा आफ्नो उपस्थितिका सम्बन्धमा कुरा बाझिए पनि कुटपिटमा संलग्नता रहेको सम्बन्धमा भने इन्कारी नै रहेको देखिन्छ । साथै प्रतिवादीहरू विकास खड्का र पूर्णबहादुर खड्काले मौकाको बयानमा यी प्रतिवादीहरूको घटनास्थलमा उपस्थितिसम्म रहेको र संलग्नतासम्बन्धमा थाहा नभएको भनी लेखाए पनि अदालतमा उपस्थितिका बारेमा पनि भन्न सकेको पाइँदैन ।
४. मौकामा कागज गर्ने नवराज थापा, उद्धव राउत, पुरूषोत्तम खड्का, हरिशरण खड्का, दिपक खत्री, गोकर्ण बहादुर खत्री र कुटपिटबाट पीडित भनिएका ईश्वर थापासमेतले यी प्रतिवादीहरू पनि कुटपिट गरेको ठाउँमा गई हातमा लिएको लौरो र गजवारले हिर्काउने अण्डकोषमा घोच्ने काम गरेका हुन् भनी लेखाई दिएको तर यिनै मौकामा कागज गर्ने हरिशरण खड्का, दिपक खत्री, पुरूषोत्तम खड्का र उद्धव राउतले अदालतमा बकपत्रका क्रममा आफू बजारबाट घर जाँदै गरेको अवस्थामा गुहार गुहार भन्ने आवाज सुनी घटनास्थलमा जाँदा अर्जुन थापा लडिरहेको देखेको र ईश्वर थापालाई विकास, पूर्णबहादुरले कुटिरहेको देखेको त्यहाँ नजिक निजहरूका हजुर बुबा र मम्मी पनि थिए भनि लेखाएबाट निजहरू अर्जुन थापालाई कुटपिट गर्दा घटनास्थलमा नभई अलिपछि त्यहाँ पुगेको देखिएको साथै मृतकलाई कुटपिट गर्नमा निज प्रतिवादीहरू २ जनाको संलग्नता बारेमा भन्न नसकेको देखिन्छ । घटना भएको स्थानमा रहेको मासु पसलमा काम गर्ने राजिव लामाले कृष्णबहादुर खड्का र बच्चु खड्का घटनास्थलमा पछि आएको कुरा आफूले गरेको मौकाको कागजमा लेखाई सोही कुराको समर्थन गरी अदालतमा समेत बकपत्र गरेको पाइन्छ । त्यस्तै मौकामा कागज गर्ने कान्छा लामा, वस्तुस्थिति मुचुल्काका मानिसहरू गणेश विष्ट, ठाकुर राउत, बसन्त राम राउत, नारायणबहादुर थापालगायतका व्यक्तिहरूले आफू घटनास्थलमा नभएकाले प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्काले प्रतिवादीहरूलाई कुटपिट गर्दा बच्चु खड्का र कृष्णबहादुर खड्कासमेतले मृतक र घाइतेलाई कुटेको भन्ने सुनेको भनी मौकामा र सोही व्यहोरा समर्थन हुने गरी अदालतको बयानमा लेखाई दिएको पाइन्छ । यसरी मौकामा कागज गर्ने व्यक्तिहरूको यी प्रतिवादीहरू जना २ को वारदातमा संलग्नतासम्बन्धमा मौकाको कागजको व्यहोरा र अदालतमा गरिदिएको बकपत्रको व्यहोरा आपसमा मिल्न सकेको पाइँदैन । वस्तुस्थितिका ध्रुवबहादुर बस्नेतले प्रतिवादीहरू जना ४ ले नै कुटपिट गरेको तर राति भएकाले मानिस चिनेन भनी बकपत्र गरिदिएको पाइन्छ । यसबाट पनि यी प्रतिवादीको संलग्नतासम्बन्धमा केही भन्न सकिँदैन । कतिपयले यी प्रतिवादीहरूको संलग्नता सम्बन्धमा केवल सुनेको आधारमा मात्र लेखाइदिएको अवस्था छ । यसरी व्यक्त गरेका कुरा एक आपसमा बाझिने परिस्थितिमा कुन कुरा सत्य हो भनी निर्क्योल गर्न नसकिने हुँदा त्यस्ता कुराहरूलाई प्रमाणमा लिन सकिँदैन । साथै सुनेको कुरामा विश्वसनीयता रहने भन्ने आधारसमेत रहन नसक्ने हुँदा सुनी जान्ने प्रमाण प्रमाण होइन भन्ने सिद्धान्त रही यसका आधारमा कानूनी व्यवस्थासमेत भएको देखिन्छ । त्यसैले सुनेको आधारमा व्यक्त गरेको भनिएका कुरा पनि प्रमाणमा ग्राह्य हुँदैनन् ।
५. मौकामा कागज गर्नेमध्येका नवराज थापाले यी प्रतिवादीहरूसमेतको कुटपिटबाट अर्जुन थापाको मृत्यु भएको र आफूलाई समेत कुटपिट गरेको भनी बकपत्रमा लेखाएको, मौकामा कागज गर्ने गोकर्णबहादुर खत्रीले र जाहेरवाला केदार थापाले पनि सोही व्यहोरालाई समर्थन हुने गरी बकपत्र गरी दिएका छन् तापनि निजहरूले भने अनुसारको चारै जनाको संलग्नता रहेको अन्यको कागज र बकपत्रबाट समर्थित भएको पाइँदैन । मृतकको मृत्यु कुटपिटको कारणबाट भएको स्थापित भएको यस वारदातका सम्बन्धमा स्वयम् मृतकका दाजु यी जाहेरवाला केदार थापाले ज्यान मार्ने उद्योगतर्फको पहिलो जाहेरी दिँदा यी २ जना प्रतिवादीको संलग्नताका सम्बन्धमा केही उल्लेख गर्न नसकेकोमा दोस्रो जाहेरीमा मात्र यी प्रतिवादीहरूको नाम उल्लेख गरेको पाइन्छ । निजहरूको मौकाको पोल एवं बकपत्र भनाइ मृतकको लासप्रकृति मुचुल्काबाट समर्थित रहेको देखिँदैन । बुझिएका निजहरूको भनाइलाई मान्दा यी प्रत्यर्थीहरू समेत ४ जनाले मृतकको शरीरमा यत्रतत्र कुटपिट गर्दा मृतकको शरीरमा प्रशस्त चोटपटक लागेको हुनुपर्नेमा मृतकको लासप्रकृति मुचुल्का हेर्दा त्यस्ता चोटपटक देखिएका छैनन् । बायाँ हातको भित्री भागमा छाला खुइलिएको सानो घाउ, ढाडमा सानो घाउ, टाउकोमा चोटबाहेक मृतकका शरीरमा अन्य चोटहरू लागेको नदेखिएकाले ती व्यक्तिहरूको पोल विवादरहित मान्न सकिँदैन । त्यस्तै जाहेरवाला मृतकका दाजु भएको, नवराज थापा र ईश्वर थापा स्वयम्ले कुटाइ खाएको भनिएका व्यक्तिहरू भएका र गोकर्णबहादुर खत्री पनि कुटपिटपछि उपचारमा लग्ने निजहरूकै मानिस भनी बुझिएकाले निजहरूमा प्रतिवादीहरूका पुरै परिवारप्रति नै आक्रोसको भावना रहन सक्ने हुँदा यी प्रतिवादीहरू २ जनासमेतको संलग्नता रहेको भनेर पनि लेखाइ दिएको हुन सक्ने हुन्छ । अपराध प्रमाणित गर्न, कसले के भन्यो भन्दा पनि कसको भनाइ शंकारहित छ भन्ने कुराले प्राथमिकता पाउँछ ।
६. हाम्रो कानून प्रणालीमा कसुर गरेको कुरा वादीले शंकारहित तरिकाले पुष्टि हुने प्रमाण अदालतसमक्ष प्रस्तुत गर्न सक्नुपर्छ र ती प्रमाणहरूको अदालतले वस्तुनिष्ट मूल्याङ्कन वा न्यायिक परीक्षण गरी न्याय निरूपण गर्दछ । कसैको भनाइलाई परीक्षण नै नगरी भनेको आधारमा मात्र कसुरदार कायम गर्दा निर्दोष व्यक्ति पनि कसुरदार ठहरिन सक्छ । केही गरी निरपराध व्यक्ति अदालतबाट कसुरदार ठहर हुन गए निजलाई हुन सक्ने अपूरणीय क्षतिको कल्पना पनि गर्न सकिँदैन । त्यस्तोमा निज तथा सिङ्गो समाजको अदालतप्रति र अन्तमा राज्यप्रति नै ठूलो कुण्ठासमेत उत्पन्न हुन जान्छ । त्यसैले कसुर गरेको भन्नेमा थोरैमात्र पनि शंका देखिएमा कसैलाई पनि कसुरदार ठहराउन मिल्दैन । यससम्बन्धमा यस अदालतको पूर्ण इजलासबाट कुनै पनि फौजदारी कसुरलाई शंकारहित तवरले पुष्टि गर्नुपर्ने दायित्व अभियोजन पक्षको हुने, अदालतले प्राप्त प्रमाणहरूको परीक्षण एवं मूल्यांकन गरी ती प्रमाणले ठहरेबमोजिम मात्र न्याय निरूपण गर्नुपर्ने भन्ने नै हुन्छ । अदालत स्वयम्ले कुनै प्रमाण सिर्जना गरी कुनै कसुर स्थापित गर्ने वा कसै उपरको अभियोग पुष्टि गर्न नहुने भनी नेपाल सरकार वि. यज्ञबहादुर थापासमेत भएको कर्तव्य ज्यान मुद्दा
(ने.का.प. २०६९ अंक २ पृष्ठ १७१) मा व्याख्यासमेत गरेको छ ।
७. यी प्रतिवादी कृष्णबहादुर खड्का र बच्चु खड्का प्रतिवादीमध्येका विकास र पूर्णबहादुर खड्काका हजुरबा र आमा नाताका देखिएकोले अन्य पक्षसँग झगडा हुँदा वारदातस्थलमा आएको नै
देखिन्छ । वारदातस्थलमा निजहरूसमेत भएको तथ्य माथि विवेचित आधार प्रमाणबाट पनि पुष्टि भएको अवस्था छ । वारदातस्थलमा रहेको पुष्टि हुँदैमा कसुरमा संलग्नता रहेको भनी द्विविधारहित प्रमाणबाट पुष्टि नभएसम्म कसुरदार कायम गर्नु न्यायोचित हुँदैन ।
८. यसरी प्रस्तुत मुद्दामा यी प्रतिवादीहरू कृष्णबहादुर खड्का र बच्चु खड्काको कसुरका संलग्नता सम्बन्धमा वारदातका चश्मदिद भनिएका व्यक्तिहरूको भनाईमा एकरूपता नदेखिनु, पहिलो जाहेरीमा निजहरूको संलग्नता सम्बन्धमा केही उल्लेख नहुनु, निजहरूले कुटपिट गरेको पुष्टि हुन सक्ने गरी मृतकको लासमा धेरै घाउ चोट रहेको नपाइनु, निजहरूको संलग्नता रहेको भन्ने सुनेकोमात्र भनी लेखाइनु जस्ता मिसिल संलग्न आधार प्रमाणबाट यी प्रतिवादीहरूको कसुरमा कुनै किसिमको संलग्नता रहे भएको पुष्टि नहुँदा निजहरूले सफाई पाउने ठहरी गरेको सुरू फैसला सदर गरी भएको पुनरावेदनको फैसलालाई अन्यथा भन्न सकिँदैन । यस्तो अवस्थामा यी प्रतिवादीहरू समेत वारदात स्थलमा रही कुटपिट गरेको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
९. अब, पूर्णबहादुर खड्का र विकास खड्कालाई अभियोग दाबीबमोजिम सजाय हुने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्नेतर्फ हेर्दा यी दुवै जनाले कुटपिट गरेको र सोही कुटपिटबाट मृतकको मृत्यु भएको भनी फरकफरक मितिमा २ वटा जाहेरी परेको देखिन्छ । यी प्रतिवादीहरू स्वयम्ले आफूमध्येका पूर्णबहादुरले मासु किन्ने निहुँमा झगडा गरी मृतकलाई सडकमा ढालेको र आफूमध्येका विकास खड्काले मृतक ढलेपछि पनि लाठाले हिर्काएको भनी अनुसन्धानका क्रममा आफूहरूको सम्बन्धमा जाहेरीको व्यहोरालाई स्वीकार गरेर बकपत्र गरेको अवस्था छ । प्रतिवादीमध्येका बच्चु खड्का र कृष्णबहादुर खड्काले पनि आफ्नो अनुसन्धानको बयानमा आफ्नो संलग्नता सम्बन्धमा इन्कारी रहेपनि प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्काले मृतकसमेतलाई कुटपिट गरेको भनी पोल गरी जाहेरी व्यहोराको समर्थन गरिदिएको
पाइन्छ । मौकामा कागज गर्ने नवराज थापा, उद्धव राउत, पुरूषोत्तम खड्का, हरिशरण खड्का, दिपक खत्री, गोकर्णबहादुर खत्री र कुटपिटबाट पीडित भनिएका ईश्वर थापासमेतले आफ्नो मौकाको गरिदिएको कागजमा यी प्रतिवादीहरूले कुटपिट गरेको कुरा उल्लेख गरी लेखाई दिएका छन् । प्रतिवादीमध्येका कृष्णबहादुर खड्का र बच्चु खड्काको वारदातमा संलग्नता सम्बन्धमा मौकामा कागज गर्ने व्यक्तिमध्ये कसैले सुनेको आधारमा मात्र भनेको र कसैले यिनिहरूको वारदातमा संलग्नता नरहेको तथा पछिमात्र घटनास्थलमा आएका भनी अदालतमा बकपत्रमा लेखाए तापनि प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्काको संलग्नताको हकमा भने वारदातमा संलग्न भनी आफ्नो अनुसन्धानको बयानलाई नै समर्थन गरी बयान गरिदिएका छन् । यी प्रतिवादीहरूले अदालतमा बयान गर्दा अनुसन्धानसमक्षको बयानलाई समर्थन नगरी आफूहरू वारदातमा संलग्न नरहेको भनी बकपत्र गरी दिए तापनि सो कुरा अन्य प्रमाणबाट समर्थित हुन सकेको अवस्था छैन । स्वयम् प्रतिवादीहरूले आफ्नो पुनरावेदन अदालतमा र यस अदालतमा दायर गरेको पुनरावेदन जिकिरमा वारदातस्थलमा आफूहरू नभएको र आफूले कुटपिट नगरेको भनी लेखाउनसमेत सकेको अवस्था छैन । प्रतिवादीमध्येका पूर्णबहादुर खड्काले आफूले मनसायपूर्वक कसुर नगरेको र वारदात भवितव्यबाट घट्न गएकोले भवितव्यमा सजाय हुनुपर्ने भनी वारदातमा आफ्नो संलग्नतालाई स्वीकार गरी पुनरावेदन जिकिर लिएको देखिन्छ भने प्रतिवादी विकास खड्काले पनि आफू कुटपिटमा संलग्न नरहेको जिकिर गरे तापनि आफू वारदातस्थलमा नभएको भनी भन्न सकेको अवस्था छैन । यसबाट पनि प्रतिवादीहरूको अदालतको इन्कारी बयानलाई सत्य मान्न सकिँदैन । त्यस्तै प्रतिवादीहरू पूर्णबहादुर खड्कासमेतका साक्षी विसु खड्काले आफू पसलमा चिया खाइरहेको अवस्थामा हो हल्ला भएको ठाउँतिर हेर्न जाँदा नवराज थापा, ईश्वर थापा र अर्जुन थापा एक आपसमा भनाभन गरिरहेका र एक आपसमा घचेटाघचेट गर्दा अर्जुन थापा अरनिको राजमार्गमा लडेका हुन् र प्रतिवादी पूर्णबहादुर खड्काको कुटपिटमा संलग्नता नरहेको भनी मिसिलमा कतै नभएको तथ्य नवराज थापा, ईश्वर थापा र अर्जुन थापाको एक आपसमा घचेटाघचेट भई अर्जुन थापा लडेको कुरा स्थापित गराउन खोजेकोले निजको बकपत्रलाई सही हो मान्न सकिने अवस्था रहेन । प्रतिवादी विकास खड्काका साक्षी नानी काजी थापाले वारदातस्थलमा विकास खड्का थिएन भनी आफूले वारदात देखेको मनसाय व्यक्त गरेकोमा विकास खड्कालाई नभएको देख्न सक्नेले अरू को थिए मलाई थाहा भएन भनी लेखाई दिएबाट यसलाई पनि सत्य मान्न सकिँदैन ।
१०. त्यस्तै मृतकको मृत्यु मृतकलाई कुटपिट गरी धकेल्दा सडकमा उत्तानो पर्दा टाउकोमा लागेको चोटका कारण भएको हो भनी मौकामा कागज गर्ने व्यक्तिहरूको मौकाको कागज तथा यस अदालतमा गरिदिएको बकपत्र र प्रतिवादीहरूको मौकाको बयानमा उल्लेख छ । यसरी निजहरूले उल्लेख गरे जस्तै किसिमले मृतकको मृत्यु भएको कुरा मृतकको शव परीक्षण प्रतिवेदनको Cause Of Death को महलमा Blunt Force Injuries to Head भनी उल्लेख गरेलगायतका वस्तुगत प्रमाणबाट समेत समर्थित भइरहेको अवस्था पनि विद्यमान छ ।
११. यसरी मृतकको मृत्यु यी प्रतिवादीहरूको कुटपिटबाट भएको हो भन्ने तथ्य जाहेरी दरखास्तको व्यहोरा, प्रतिवादीहरूको साबिती बयान, मौकामा बुझिएका व्यक्तिहरूको मौकाको कागज तथा अदालतमा गरेको बकपत्रको व्यहोरा, शव परीक्षण प्रतिवेदनमा उल्लिखित कुराहरू जस्ता मिसिल संलग्न कागज प्रमाणहरूबाट समर्थित भइरहेको र सो सम्बन्धमा मिसिल संलग्न प्रमाणहरू एक आपसमा मिल्न भिड्नसमेत आइरहेको अवस्थामा मृतकको मृत्यु यी प्रतिवादीहरूको कुटपिटबाट भएको पुष्टि हुन जान्छ । अरू प्रमाणबाट समर्थित नहुने अवस्थामा केवल अदालतमा यी प्रतिवादीहरू जना २ को इन्कारी बयान र निजहरूका साक्षीको सोलाई समर्थनलाई मात्र आधारमा मानी घटनामा निजहरूको संलग्नता नभएको मान्न सकिँदैन ।
१२. वारदातमा यी प्रतिवादीहरूको संलग्नता पुष्टि भएपछि वारदात मनसायपूर्वक घटेको हैन सामान्य झगडा हुँदा मृतकलाई धकेल्दा निज लडी पीच सडकमा उत्तानो परी टाउको ठोक्किई लागेको चोटबाट निजको मृत्यु भएको हो । वारदात कर्तव्य नभई भवितव्य मात्र हो भन्ने प्रतिवादी पूर्णबहादुर खड्काको पुनरावेदन जिकिरतर्फ हेर्दा, प्रतिवादीहरूमा मार्ने मनसाय थियो थिएन ? यदि थियो भने के कुन हदसम्म थियो ? भनी हेर्नु सान्दर्भिक हुन आएको छ । कुनै पनि कसुरका सम्बन्धमा मनसाय तत्त्वलाई छुट्टै मापन गर्ने कुनै यान्त्रिक विधि छैन । यसलाई आपराधिक कार्य गर्दा गरेका गतिविधि, तत्कालीन परिस्थिति, घटनाको पृष्ठभूमि, कसुरदारको संलग्नता, पीडितलाई पुग्न गएको चोट आदि जस्ता विषय सापेक्ष रही हेर्नुपर्ने हुन्छ । प्रस्तुत वारदात मासु पसल नजिक भएको देखिन्छ । मृतकलगायतका व्यक्तिहरू मासु पसलबाट मासु किनी निस्किएपछि मृतकलाई प्रतिवादीमध्येका पूर्णबहादुर खड्काले १ के. जी. मासु किन्न भनेकोमा किनी नदिएकाले भनाभन भएको सोही अवस्थामा विकास खड्का पनि आएपछि मृतकलाई कुटपिट गरी घचेटी सडकमा उत्तानो पर्दा टाउको सडकमा ठोक्किई सोही चोटका कारण मृत्यु भएको देखिन्छ । निज लडिसकेपछि पनि दुवैले पिटेको देखिन्छ । यसरी मृतकलाई मासु किनी दिनु भन्नु, किनि नदिएपछि झगडा गर्नु, झगडा हुँदा नजिक रहेको पूर्णबहादुर खड्का पनि त्यहीँ आउनु, मृतकलाई घचेट्नु, घचेटी लडेपछि पनि लाठा ढुंगाले पिटी रहनु जस्ता वारदात पछाडि रहेको कारण, वारदातमा भएका गतिविधि, शृङ्खलाबद्धता, संलग्नता जस्ता कारणबाट घटना अकस्मात् भएको वा भवितव्यबाट भएको देखिने अवस्था देखिँदैन ।
१३. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. मा ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ भन्ने उल्लेख छ । यसबाट भवितव्य हुनलाई ज्यान मार्ने कुनै मनसाय रहेको हुनुहुँदैन र आफूले गरेको कामबाट मानिस मर्ला भन्ने परिणामको ज्ञान पनि यसमा
हुँदैन । यस्तो अप्रत्यासित अवस्थामा केही गर्दा घटना घटेको वा मानिस मरेको भएमा मात्र भवितव्य भएको मानिन्छ । यसलाई आकस्मिक घटना वा दुर्घटनाका रूपमा लिइन्छ । त्यसैले भवितव्य हो भन्नलाई वारदात घटाउने मनसाय नभएको, गर्न खोजेको कार्य र त्यसमा प्रयोग भएका साधन वैध रहेको, यस्तो गर्दा वारदातको यस्तो परिणाम आउला भनी नदेखिएको, कार्य गर्न प्रसस्त सावधानी अपनाएको जस्ता कुरा पुष्टि हुन सक्नुपर्दछ । प्रस्तुत वारदातका परिप्रेक्ष्यमा हेर्दा झगडाको कारण मासु नकिनिदिनु रहेको
देखिन्छ । झगडा भई कुटपिट गर्ने क्रममा धकेलेकोमा कसैलाई धकेले तल पीच सडकमा पुग्छ र पीच सडकमा ठोक्किँदा मानिस मर्न पनि सक्छ भन्ने एउटा सामान्य चेतना भएको मानिसले जान्न नसक्ने कुरा हो भनी मान्न पनि सकिँदैन । कुटपिट २ जना प्रतिवादीले गरेको देखिएको, धकेली सकेपछि सडकमा उत्तानो परिरहेको अवस्थामा पनि यी दुवै प्रतिवादीहरूले लाठा ढुंगाले निरन्तर पिटिरहनुले मृतकलाई मार्ने मनसाय नरहेको भनी भन्न सकिँदैन । कर्तव्य ज्यान हुन मार्ने मनसाय धेरै अघिदेखि रहेको देखिनु पर्ने भन्ने आवश्यक हुँदैन घटनाको तत्काल अघि पनि कुनै कारणले इवी तथा मनसाय सृजना भएको हुन सक्छ । त्यस्तै यसमा भएको मासु किनी दिनु भन्नु, नकिनी दिँदा झगडा गर्नु, झगडाकै क्रममा कुटपिट गर्नु र घचेट्नु, घचेटेपछि पनि कुटपिट गर्नु र यसरी गरेका कुटपिटका कारण मृत्यु भई मृत्युका कारकहरूको शृङ्खलाबद्धता रहेको छ । यदि ज्यान मार्ने मनसाय नभएको भए यो शृङ्खलाबद्धताको कतै न कतै क्रमभङ्गता देखिनु पर्ने थियो । यस वारदातमा भएका यस्ता गतिविधि तथा कामलाई कुनै वैध तथा उचित काम र सावधानीपूर्वक गरेको कामका रूपमा पनि लिन सकिँदैन । यस्ता खाले कार्यमा मृत्युको परिणामको पूर्व जानकारी (Forsightness of Consequence) हुने अवस्थाहरू नरहेको मान्न पनि सकिँदैन । त्यस्तै ज्यानसम्बन्धीको महलको १६ नं. अनुसारको एउटा कामको लागि सावधानीपूर्वक हतियार उठाउँदा मृतकलाई लाग्न गएको, होस नपुरयाई हेलचक्राई गरी कुनै काम गर्दा घटना घटेको र रक्षा शिक्षा गर्नेले मर्नेको हितको निमित्त पनि कुटपिट गरेको देखिँदैन । सामान्य कुटपिटमात्र गरेर पनि छोडेको नभई कुटपिट गरी घचेट्ने काम पनि गरेको र घचेटेपछि पनि दुवै मिलि कुटपिट गरेको देखिन्छ । यस्तो अवस्थामा प्रस्तुत वारदात भवितव्यबाट भएको भन्ने प्रतिवादी पूर्णबहादुर खड्काको पुनरावेदन जिकिरसँग सहमत हुन सकिँदैन ।
१४. प्रतिवादी विकास खड्काको आफू कुटपिटमा संलग्न नभएकोले सफाई पाउँ भनी यस अदालतमा पुनरावेदन परेको देखिन्छ । निजको समेत संलग्नतामा कुटपिट भएको हो भन्ने तथ्य माथि विवेचित आधार प्रमाणबाट पुष्टि भइसकेको अवस्था
छ । सुरू र पुनरावेदन अदालतबाट निजको समेत कसुरमा संलग्नता रहेको भनी निजलाई अभियोग दाबीबमोजिम सजाय भएको अवस्थामा आफ्नो कसुरमा संलग्नता नरहेकोले सफाई पाउनु पर्ने हो भनी निजले जिकिर लिँदा सो जिकिर प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार निज प्रतिवादीमा नै रहने हुन्छ । सोअनुसार प्रतिवादीले आफ्नो संलग्नता नरहेको भनी आधार प्रमाण पुर्याउन सकेको पनि देखिँदैन । यसरी निज वारदातस्थलमा रही कुटपिट गरेको पुष्टि भइरहेको अवस्थामा निजको पुनरावेदन जिकिरसँग पनि सहमत हुन सकिँदैन ।
१५. अतः माथि विवेचित आधार प्रमाणबाट प्रतिवादीहरूमध्येका कृष्णबहादुर खड्का र बच्चु खड्कालाई अभियोग दाबीबाट सफाई पाउने ठहराई र प्रतिवादीहरूमध्येका पूर्णबहादुर खड्का र विकास खड्कालाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३ बमोजिम जन्म कैदको सजाय हुने ठहराई गरेको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहराई पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६९।५।२६को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको र प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्काको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१६. यसरी पुनरावेदक प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्काले अभियोग दाबीबमोजिम कसुर गरेको ठहराई निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय (३) बमोजिम सजाय गर्ने गरेको सुरू फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला सदर ठहरे पनि मृत्युको जरियाको रूपमा रहेको कुटपिटको वारदातमा कुनै ठूलो रिसइवी पहिलेदेखि रहेको र कुटपिट गरी मार्ने मनसाय तत्त्व पहिलेदेखि नै भएको देखिँदैन । कुटपिट तत्काल मासु किनी नदिँदा उठेको रिसबाट भएको देखिन्छ । कुनै षड्यन्त्र गरी, मार्नलाई पूर्व योजना बनाई र संघातिक हतियारसमेतको प्रयोग गरी घटना भएको देखिँदैन । यी प्रतिवादीहरूको पारिवारिक तथा आर्थिक स्थिति हेर्दा, यी दुवै प्रतिवादीहरूले घरमा दुईदुईवटा श्रीमती रही आर्थिक अवस्था राम्रो नभएको भनी आफ्नो बयानमा लेखाई दिएको छन् । यस्तो अवस्थामा प्रतिवादीहरूले गरेको कसुरको अवस्थासमेतलाई विचार गरी अभियोग प्रमाणित भएको भएपनि ऐनअनुसारको २० वर्ष सजाय गर्दा चर्को पर्ने चित्तले देखेकाले यी प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्कालाई मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम जनही १५ (पन्ध्र) वर्षमात्र कैद सजाय हुनु उपयुक्त देखिँदा निजहरूलाई जनही १५ वर्ष कैद सजाय हुने ठहर्छ । सो ठहर्नाले अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
प्रतिवादीहरू पूर्णबहादुर खड्का र विकास खड्कालाई जनही १५(पन्ध्र) वर्ष कैद हुने ठहरी फैसला भएकाले सुरू र पुनरावेदन अदालतको फैसलाअनुसार निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय ३ अनुसार भएको जनही कैद वर्ष २० (बीस) को लगत संसोधन गरी जनही १५ (पन्ध्र) वर्षको लगत कायम गरी सोहीअनुसार सम्बन्धित कारागार कार्यालयमा र निज प्रतिवादीहरूलाई जानकारी दिनु भनी सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतमा लेखी पठाइदिनू --------------------------------------------१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू -------------------------२
उक्त रायमा सहमत छु ।
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृत : यदुराज शर्मा
इति संवत् २०७३ साल वैशाख १५ गते रोज ४ शुभम् ।