निर्णय नं. ९६४२ - अंश चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
फैसला मिति : २०७३।५।८।४
०७१-CI-१४७९
मुद्दा : अंश चलन
पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, सितापाइला गाउँ विकास समिति वडा नं. ४ बस्ने सनतकुमार श्रेष्ठसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ ढोकाटोल मामाघर बस्ने सजन श्रेष्ठको छोरी सलोन श्रेष्ठको संरक्षक एकाघरकी आमा सजन श्रेष्ठको श्रीमती रिना मिश्र श्रेष्ठ
दुनियाँको बिगोको हकमा जायजात गर्दा ऋण खाँदा सँग बसेका १२ वर्षभन्दा कम उमेरका अंशियारहरूको अंश हक पर सारेर मात्र जायजात गर्नुपर्ने भन्ने विद्यमान कानूनी व्यवस्था रहेको देखिन्छ । यस्तो अवस्थामा सो ऋण लिँदाको अवस्थामा जायजन्मसमेत नभएकी र मिति २०६९।१२।१९ मा मात्र जन्म भएकी नाबालिग वादीले समेत उक्त ऋण बुझाउनु पर्छ भन्न मुलुकी ऐन, दण्ड सजायको २६ नं. को कानूनी व्यवस्थाले मिल्ने देखिएन । त्यस्तै अन्य ऋणहरू पनि मुद्दा चल्दाचल्दैको अवस्थामा लिएको देखिँदा सो ऋणहरूमा समेत नाबालिग वादीको दायित्व सिर्जना हुने अवस्था नदेखिने ।
(प्रकरण नं.४)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता शोषित अकेला बानिया
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्ने :
माननीय न्यायाधीश श्री विष्णु सुवेदी
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या. श्री डा. सलाहुद्दीन अख्तर सिद्दीकी
माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह
फैसला
न्या.सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०७१।११।१७ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः
वििपक्षी नं.१ हजुरबुवा नाताको व्यक्ति हुनुहुन्छ भने विपक्षी २ नं. हजुरआमा, विपक्षी नं.३ पिता र विपक्षी नं.४ र ५ फुपू नाताका व्यक्तिहरू
हुन् । म फिरादी नाबालक सलोना श्रेष्ठ हुँ । मेरो जन्म आमा रिना मिश्र श्रेष्ठ र पिता सजन श्रेष्ठको वैवाहिक सम्बन्धबाट मिति २०६९।१२।१९ गतेका दिन भएको हो । विपक्षीहरूले छोरी/नातिनी प्रति गर्नुपर्ने दायित्व र कर्तव्यबाट विमुख भई खान, लगाउन नदिई घरबाट समेत निकाली शारीरिक तथा मानसिक यातना दिई हालसम्म पनि कुनै बस्ने व्यवस्थासमेत नगरी दिएको कारण बाध्य भई अदालतको शरणमा आएको छु । अतः मुलकी ऐन, अंशबन्डाको १, २, १० को आधार लिइ मुलुकी ऐन, अंशबन्डाको २०, २१, २२, २३ नं. बमोजिम फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिको विवरण विपक्षीहरूबाट माग गरी मूल अंशियार ५ जनालाई ५ भाग लगाई विपक्षी पिता सजन श्रेष्ठको भागमा पर्ने १ भाग सम्पत्तिलाई पुनः विपक्षी पिता र संरक्षिका आमा र म फिरादी गरी जम्मा ३ भाग लगाई मेरो १ भाग अंश आमाको संरक्षणमा रहने गरी अड्डैबाट चलनसमेत चलाइ पाउँ भन्नेसमेत व्यहोराको वादी नाबालक सलोना श्रेष्ठको फिराद माग दाबी ।
वादीले उल्लेख गर्नु भएको नाता पुस्तेवारी ठीक छ । यी वादीलाई हामीहरूले कहिले पनि कुनै प्रकारको अन्याय गरेको छैन । साथै वादी नाबालिका भएको र निजको आमा संरक्षिका रिना मिश्र हामी घरपरिवारसँग मात्र नभई निजका श्रीमान्सँग समेत कुनै प्रकारको सरसल्लाह नगरी आफुखुशी गरी हिँड्ने भएको कारणबाट निज रिना मिश्र र हामीबीच पारिवारिक सम्बन्धको नाताले सामान्य असन्तुष्टी रहेको हो । निज रिना मिश्रले विभिन्न निकायहरूमा झुठ्ठा विवरण दिई छोरा तथा हामी परिवारका अन्य सदस्यहरूसमेत उपर झमेला दिने कार्य गरी आफैँ नै घर बाहिर बस्ने गरेकोमा हामीले वादीलाई घरबाट खान लाउन नदिई निष्काशन गरेकोसमेत नभएको हुँदा फिराद दाबी खारेज गरिपाऊँ । निज वादीका पिता सजन श्रेष्ठले हामी प्रतिवादीहरूसँग मिति २०६८।०४।०४ मा नै अंशबापत रू. ५,००,०००/- नगद बुझिलिई अंश छोडपत्रको लिखत पारित गरी आफ्नो अंश भाग लिई हामीबाट छुटी भिन्न भइसकेकाले यी वादी हामीहरूको अंशियार नै नभएको अवस्थामा मुलकी ऐन, अंशबन्डाको १ नं. विपरीत रहेको वादीको फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू सनतकुमार श्रेष्ठ, गिता श्रेष्ठ, सोनी श्रेष्ठ र मोनी श्रेष्ठको एकै व्यहोराको २ थान छुट्टाछुट्टै प्रतिउत्तर जिकिर ।
निज वादी नाबालिका भएको र निजको उमेर हाल जम्मा ७ महिनाको मात्र भएको छ । निजलाई वादीका संरक्षिका आमाले फिरादमा उल्लेख गरेअनुरूप म प्रतिवादीलगायतका अन्य प्रतिवादीहरूले समेत कुनै प्रकारको अन्याय गरेको अवस्थासमेत छैन । निज वादीलाई म प्रतिवादीले साथै रहे बसेको अवस्थामा मेरो इज्जत आमदअनुसार खान लाउन तथा पालनपोषणसमेत गरिरहेको थिएँ । म प्रतिवादीसँग कुनै प्रकारको चलअचल सम्पत्ति नरहेको र आफ्ना बुबा आमासँग मिति २०६८/४/४ मा नै अंशबापत रू.५,००,०००/- बुझिलिई अंश छोडपत्रको लिखत सम्बन्धित मालपोत कार्यालयबाट रजिस्ट्रेसन पारित गरी आफ्नो अंश लिई सकेको अवस्था रहेको छ । म प्रतिवादीसँग निज वादीलाई अंश दिन सक्ने क्षमता भएको अवस्थामा जुनसुकै समयमा अंश दिने नै छु भन्नेसमेत व्यहोराको प्रतिवादी सजन श्रेष्ठको प्रतिउत्तर जिकिर ।
वादी प्रतिवादीहरूबाट मुलुकी ऐन, अंशबन्डाको २०, २१, २२, २३ नं. बमोजिम फिराद परेको अघिल्लो दिनसम्मको बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी दाखिला गर्न लगाउनु भन्ने मिति २०७०।१२।११ को आदेश र सो आदेशानुसार वादी र प्रतिवादीहरूले पेस गरेको तायादाती फाँटवारी मिसिल सामेल रहेको ।
वादी प्रतिवादीहरूबीच नाता पुस्ता र अंशियार संख्यामा विवाद रहन नगएको, निजहरूबीच रितपूर्वक अंशवण्डा भइसकेको देखिन नआएको र तायदाती फाँटवारीमा उल्लिखित ऋणमध्ये अंशियारहरूबीच बन्डा लाग्ने प्रकृतिको ऋणउपर मध्यनजर गरी हेर्दा फाँटवारीमा उक्त तायदाती फाँटवारीमा उल्लिखित ऋणमध्ये प्रतिवादी गीता श्रेष्ठले कृषि विकास बैंकबाट कर्जाबापत लिएको ऋणमध्ये तिर्न बाकी ऋण रू.२,८०,०००/- का हकमा अंशियारहरूबीच बन्डा लाग्ने र अन्य ऋणको हकमा यसै लगाउको २०६७ सालको ०३७६४ को सम्बन्ध विच्छेद अंश मुद्दामा वादीको तर्फबाट २०६८/३/१५ मा फिराद परेको देखिन आएकोमा मुद्दा पर्दा पर्दैको अवस्थामा अंशियारहरूले ऋण लिएको अवस्था देखिन गएबाट उक्त ऋणको हकमा साहुको नालेस परेका बखत कानूनबमोजिम हुने नै हुँदा तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई ५ भाग लगाई सोमध्ये वादीका पिताको भागमा पर्न आउने १ भागलाई पुनः ३ भाग लगाई सोमध्येको १ भाग सम्पत्ति वादीले अंश पाउने भई चलनसमेत चलाई दिने ठहर्छ भन्ने सुरू काठमाडौ जिल्ला अदालतको मिति २०७१।२।१८ को फैसला ।
विपक्षी वादी रिना श्रेष्ठ र म सजन श्रेष्ठको १० वर्षअगाडि चिनजान भएको, विपक्षीले म पनि विदेश जान्छु भनी विदेश जाने प्रयोजनको लागि गाउँ विकास समितिबाट विवाह दर्ता गराएका थियौं । विपक्षी वादीले सम्पत्ति हात पार्ने नियतले योजना बनाई म विरूद्ध सम्बन्ध विच्छेद मुद्दा दायर गरी सम्पत्ति रोक्का राखी मलाई नगद अंश लिन लगाई सोसमेत लिइसकेको स्थितिमा पुनः सामाजिक परम्पराअनुसार विवाह गर्न लगाई म पहिल्यै अंश लिएको व्यक्तिको समेत अंश भाग छुट्याउने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले बदरभागी छ । हामी सनतकुमार श्रेष्ठ, गिता श्रेष्ठ, सोनी श्रेष्ठ र मोनी श्रेष्ठको अंश भाग हामीसँगै सुरक्षित छ । एकपटक अंश बुझिसकेपश्चात् वादीहरूको पति पिताबाट विपक्षीहरूले अंश पाउनु पर्नेमा हाम्रो भागको समेत अंश दिने गरी तथा हामीले तायदातीमा पेस गरेको ऋणसमेतलाई अन्यथा भनी भएको फैसला त्रुटिपूर्ण छ । एकपटक भएको बन्डालाई अन्देखा गरी भएको फैसला त्रुटिपूर्ण छ । उक्त फैसला बदर गरी सजन श्रेष्ठले अंश बुझिसकेको हुनाले निजले पाएको अंशबाट मात्र वादीलाई अंश दिलाई काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सनतकुमार श्रेष्ठसमेतको पुनरावेदन पत्र ।
प्रतिवादी गीता श्रेष्ठले कृषि विकास बैंकबाट लिएको ऋणमध्ये बाँकी ऋण रू. २,८०,०००।– अंशियारबीच बन्डा लाग्ने गरी भएको फैसलामा सहमत हुनसक्ने अवस्था छैन । फिराद परी मानो छुट्टिई सकेपछि लिएको ऋणको हकमा समेत साहुको नालेस परेको बखतसमेत मेरो कुनै दायित्व नरहने हुँदा उक्त विषय अहिले नै निरूपण गर्नुपर्ने विषय हो । पछि साहुको नालेस परेका बखत कानूनबमोजिम ठहर्ने भन्ने फैसलाको हदसम्म उक्त फैसला बदर गरी ऋण बन्डा नलाग्ने तथा साहुको नालेस परेको बखतसमेत म पुनरावेदकको हकमा कुनै दायित्व लागू नहुने गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको वादी सलोना श्रेष्ठको संरक्षक आमा रिना मिश्र श्रेष्ठले पुनरावेदन अदालत, पाटनमा गरेको पुनरावेदन पत्र ।
यसमा काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।२।१८ मा भएको फैसलाउपर वादी प्रतिवादीको दोहोरो पुनरावेदन परेको देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदन एक आपसमा परस्पर सुनाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनबाट मिति २०७१।७।१३ मा भएको आदेश ।
यसमा सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।२।१८ मा भएको फैसला पूर्णरूपमा मिलेको नदेखिँदा केही उल्टी भई तायदाती फाँटवारीमा उल्लिखित ऋणहरूमध्ये प्रतिवादी गीता श्रेष्ठले कृषि विकास बैंकबाट लिएको ऋणमध्ये बुझाउन बाँकी रहेको ऋण रू. २,८०,०००।- का हकमा फिरादी सलोना श्रेष्ठबाहेकका अंशियारहरूमा बन्डा लाग्ने तथा अन्य ऋणहरू मुद्दा विचाराधीन रहेको अवस्थामा ऋण लिएको देखिँदा सो ऋणहरूमा वादीलाई बन्डा नलाग्ने ठहर्छ भनी पुनरावेदन अदालत, पाटनले मिति २०७१।११।१७ मा गरेको फैसला ।
पुनरावेदन अदालत, पाटनको फैसलामा चित्त बुझेन । विपक्षी वादी रिना मिश्रले म सजन श्रेष्ठलाई विदेश जाने प्रयोजनको लागि मात्र विवाह गरेको हो । उक्त विवाह दर्तालाई हतियार बनाई मलाई ब्लाकमेल गरेको र पछि विवाह स्वीकार गरी विपक्षीकै सल्लाहले परिवारलाई विवाह गरेको थाहा नदिई अंश लिन लगाएको र अंश बुझेको भरपाई रितपूर्वक रजिस्ट्रेसन भएको स्थितिमा नाताभित्रको देखिने बित्तिकै एकपटक भएको बन्डालाई अन्देखा गरी भएको फैसला म सजन श्रेष्ठको हकमा त्रुटिपूर्ण छ । बदर गरिपाऊँ । हाम्रा छोरा/दाजु सजन श्रेष्ठले अंश बुझिसकेको हुनाले निजले पाएको अंशबाट मात्र वादीहरूलाई अंश दिलाउनुपर्नेमा सो नगरी भएको पुनरावेदन अदालत, पाटनको फैसला मुलुकी ऐन, रजिस्ट्रेसनको १ नं. र अंशबन्डाको १, २, १०, २०, २१, २२ र २३ नं. विपरीत भएकोले बदर गरी वादीको फिराद खारेज हुने गरी फैसला गरिपाउँ भनी प्रतिवादीहरू सनतकुमार श्रेष्ठसमेतले यस अदालतमा गरेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी निम्नअनुसारको बहस सुनियो ।
पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री शोषित अकेला बानियाँले मिति २०६९।१२।१९ गते छोरी सलोना श्रेष्ठको जन्म भई घरमा लगी राखेकोमा वादीको संरक्षक आमा रिना मिश्र श्रेष्ठले नै लिई गएकी हुन् । वादीका पति पिता सजन श्रेष्ठले अंश बुझिसकेको हुनाले वादीलाई निजले पाएको अंशबाट मात्र अंश दिलाई दिनुपर्ने र सगोलमा रहँदाको अवस्थामा लिएको ऋणमा सबै अंशियारलाई बन्डा लगाउनु पर्नेमा सो ऋणमा बन्डा नलाग्ने भनी पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला उल्टी हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपरोक्तानुसारको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनले गरेको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिको विवरण विपक्षीहरूबाट माग गरी मूल अंशियार ५ जनालाई ५ भाग लागाई विपक्षी पिता सजन श्रेष्ठको भागमा पर्ने १ भाग सम्पत्तिलाई पुनः विपक्षी पिता र संरक्षिका आमा र म फिरादी गरी जम्मा ३ भाग लगाई मेरो १ भाग अंश आमाको संरक्षणमा रहने गरी अड्डैबाट चलनसमेत चलाइ पाउँ भन्ने वादी सलोना श्रेष्ठको फिरादपत्र, वादीका पिता सजन श्रेष्ठले हामी प्रतिवादीहरूसँग मिति २०६८/४/४ मा नै अंशबापत रू.५,००,०००/- नगदै बुझिलिई अंश छोडपत्रको लिखत पारित गरी आफ्नो अंश भाग लिई हामीबाट छुट्टि भिन्न भइसकेकाले यी वादी हामीहरूको अंशियार नै नभएको हुँदा हाम्रो हकमा फिराद खारेज गरिपाउँ भन्ने प्रतिवादीहरू सनतकुमार श्रेष्ठ, गिता श्रेष्ठ, सोनी श्रेष्ठ र मोनी श्रेष्ठको प्रतिउत्तरपत्र र वादीलाई म प्रतिवादीले साथै रहे बसेको अवस्थामा मेरो इज्जत आमदअनुसार खान लाउन तथा पालनपोषणसमेत गरिरहेको थिएँ । म प्रतिवादीसँग कुनै प्रकारको चल अचल सम्पत्ति नरहेको र आफ्ना बुबा आमासँग अंशबापत रू.५,००,०००/- बुझिलिई अंश छोडपत्रको लिखत पारित गरी आफ्नो अंश लिइसकेको अवस्था रहेकोले वादीलाई अंश दिन सक्ने क्षमता भएको अवस्थामा जुनसुकै समयमा अंश दिने नै छु भन्नेसमेत प्रतिवादी सजन श्रेष्ठको प्रतिउत्तरपत्र भएकोमा प्रतिवादी गीता श्रेष्ठले कृषि विकास बैंकबाट कर्जाबापत लिएको ऋणमध्ये तिर्न बाँकी ऋण रू. २,८०,०००/- का हकमा अंशियारहरूबीच बन्डा लाग्ने, ऋणको हकमा साहुको नालेस परेका बखत कानूनबमोजिम हुने नै हुँदा तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई ५ भाग लगाई सोमध्ये वादीका पिताको भागमा पर्न आउने १ भागलाई पुनः ३ भाग लगाई सोमध्येको १ भाग सम्पती वादीले अंश पाउने ठहराई सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । सो फैसलामा चित्त नबुझी ऋणको हकमा बन्डा नलाग्ने गरिपाउँ भन्ने वादीको र सजन श्रेष्ठको भागबाट मात्र वादीले अंश पाउनुपर्ने हो भन्ने प्रतिवादीहरूको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेकोमा फिरादी सलोना श्रेष्ठबाहेकका अन्य अंशियारहरूमा कृषि विकास बैंकबाट लिएको ऋणमा बन्डा लाग्ने तथा अन्य ऋणहरू मुद्दा विचाराधीन रहेको अवस्थामा ऋण लिएको देखिँदा सो ऋणहरूमा वादीलाई बन्डा नलाग्ने फैसला भएको देखियो । उक्त फैसलामा चित्त नबुझाई प्रतिवादीहरू सनतकुमार श्रेष्ठसमेतले वादीका पिता पतिले हामीबाट अंश लिएकोले सो अंश भागबाट मात्र अंश पाउनु पर्छ र ऋणको हकमा सबै अंशियारलाई बराबर भाग लगाई फैसला गरिपाउँ भनी यस अदालतमा पुनरावेदन गरेको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, रिना मिश्र श्रेष्ठ र सजन श्रेष्ठको दाम्पत्य सम्बन्धबाट मिति २०६९।१२।१९ गते छोरी सलोना श्रेष्ठको जन्म भएको जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपीबाट देखिन्छ । यिनै वादी र प्रतिवादीहरूसमेत भएको पुनरावेदन अदालत, पाटनको दे.पु.नं. ०७१–DP- ०२६५ को अंश बुझेको भरपाई लिखत बदर मुद्दामा फिराद दाबीबमोजिम र.न.४०/क मिति २०६८/४/४ को अंश बुझेको भरपाई बदर हुने ठहर्याई भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहर्याई फैसला भएको देखियो । उक्त फैसला अन्तिम भइसकेको देखिँदा र सो बन्डापत्रको लिखत नै बदर भइसकेको अवस्थामा यी वादी र प्रतिवादीहरू एकासगोलमा नै रहेको देखिन आयो । वादीले देखाएको नातालाई प्रतिवादीले स्वीकार गरेकोले वादी र प्रतिवादीहरूको नातामा विवाद रहेको देखिएन । वादी र प्रतिवादीहरूबीच कानूनबमोजिम अंशबन्डा भएको नदेखिँदा र यी वादी नाबालिग भएकी र प्रमाणमा आएको लगाउको मानाचामल मुद्दामा यिनै वादीलाई प्रतिवादीहरूबाट मानाचामल भरी पाउने ठहर भएको देखियो । मुलुकी ऐन, अंशबन्डाको १० नं. मा लोग्ने वा बाबु आमाले स्वास्नी वा छोराछोरीलाई इज्जत आमदअनुसार खान, लाउन र आवश्यकतानुसार उचित शिक्षा दिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्छ । सो नगरे अंश दिनुपर्छ भन्ने कानूनी व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाबमोजिम प्रतिवादीहरूले वादीलाई खानलाउनसमेत नदिएको अवस्थामा अंश जस्तो नैसर्गिक अधिकारबाट वादीलाई वञ्चित गर्न नमिल्ने हुँदा वादीले अंश पाउने भई चलनसमेत चलाई दिने ठहर्याएको पुनरावेदन अदालत, पाटनबाट मिति २०७१।११।१७ मा भएको फैसला मिलेकै देखियो ।
३. अब ऋणको हक विचार गर्दा यी नाबालिग वादीको जन्म मिति २०६९।१२।१९ मा भएको देखिँदा र कृषि विकास बैंक लि. बाट गीता श्रेष्ठले लिएको रू.२,८०,०००।– तिर्न बाँकी रहेकोमा उक्त रकम मिति २०६२।१।२९ र मिति २०६३।५।१८ मा स्वीकृत ऋण रकममध्येको भएको भन्ने मिति २०७१।१।२१ को कृषि विकास बैंक लि. बैङ्किङ कार्यालय स्वयम्भूको पत्रबाट देखियो ।
४. मुलुकी ऐन, दण्डसजायको २६ नं. मा ... दुनियाँको बिगोबापत जायजात गर्दा त्यो धन खाने बाह्र वर्षदेखि माथिका ऐनबमोजिम मानु नछुट्टी सँग बसेका वा त्यो धन खाँदा सँग बसेका पछि भिन्न हुनेको अंशसमेत ... जायजात गर्नुपर्छ । सोबमोजिम जायजात गर्दा स्वास्नी छोरी बुहारीको दाइजो, विवाह नभएका छोराछोरीको विवाह खर्च, दुनियाँको बिगोमा जायजातको दरखास्त नपर्दै र सरकारी बिगोमा सो बिगो लाग्ने भनी पक्राउ भएका मितिभन्दा अगावै साहूलाई लेखिदिएको अचलको भोग दृष्टि तमसुकबमोजिमको थैली, एक हल गोरू, रोजगार गर्ने एकसरा हतियार, खाने पकाउने एकसरो भाँडा, ओड्ने ओछ्याउने, लाएको कपडा र अन्न रहेछ भने सो जायजात हुनेलाई छ महिनासम्म खान पुग्ने अन्न पर सारी छाडी अरू जायजात गरी पुगेसम्म असुल गर्नुपर्छ । बढ्ता भए फिर्ता दिनुपर्छ । जायजात भएपछि पुगेन भने पनि अरू जहानलाई पक्रन हुँदैन । तर फरार रहेको कसुरदारको अंश जायजात लिलाम बिक्री गर्दा यो नम्बरबमोजिम कुनै कुरा पर सार्नुपर्दैन । भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाबमोजिम दुनियाँको बिगोको हकमा जायजात गर्दा ऋण खाँदा सँग बसेका १२ वर्षभन्दा कम उमेरका अंशियारहरूको अंश हक पर सारेर मात्र जायजात गर्नुपर्ने भन्ने विद्यमान कानूनी व्यवस्था रहेको देखिन्छ । यस्तो अवस्थामा सो ऋणलिँदाको अवस्थामा जायजन्मसमेत नभएकी र मिति २०६९।१२।१९ मा मात्र जन्म भएकी नाबालिग वादीले समेत उक्त ऋण बुझाउनु पर्छ भन्न मुलुकी ऐन, दण्ड सजायको २६ नं. को कानूनी व्यवस्थाले मिल्ने देखिएन । त्यस्तै अन्य ऋणहरू पनि मुद्दा चल्दाचल्दैको अवस्थामा लिएको देखिँदा सो ऋणहरूमा समेत नाबालिग वादीको दायित्व सिर्जना हुने अवस्था देखिएन ।
५. यसर्थ वादीले समुच्चा सम्पत्तिबाट फिराद दाबीबमोजिम अदालतबाट अंशचलन गरी लिन पाउने र ऋणको हकमा बन्डा नलाग्ने भनी पुनरावेदन अदालत, पाटनले गरेको फैसला मिलेको नै देखियो ।
६. अतः सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।२।१८ मा भएको फैसला केही उल्टी गरी वादीले फिराद दाबीबमोजिम अंश चलन गरी लिन पाउने र प्रतिवादीहरूले देखाएको ऋणमा वादीलाई बन्डा नलाग्ने ठहर्छ भनी पनरावेदन अदालत, पाटनले मिति २०७१।११।१७ मा गरेको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गर्नू ।
उक्त रायमा सहमत छु ।
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ
इजलास अधिकृत : प्रेम खड्का
इति संवत् २०७३ साल भदौ ८ गते रोज ४ शुभम् ।