निर्णय नं. ९६५९ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला मिति : २०७३।४।१९।४
मुद्दा : कर्तव्य ज्यान
०७०-CR-१०६८
पुनरावेदक / प्रतिवादी : कैलाली जिल्ला चुहा गा.वि.स. वडा नं. ५ घर भई कारागार कार्यालय कैलालीमा थुनामा रहेको प्रेम ढकाल कामी
विरूद्ध
प्रत्यर्थी / वादी : करनबहादुर बि.क. को जाहेरीले नेपाल सरकार
०७०-CR-११९१
पुनरावेदक / वादी : करनबहादुर बि.क. को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला चुहा गा.वि.स. वडा नं. ५ घर भई कारागार कार्यालय कैलालीमा थुनामा रहको प्रेम ढकाल कामी
भवितव्यलाई आकस्मिक घटना वा दुर्घटनाको रूपमा लिइन्छ । यसलाई दुर्घटनाको रूपमा लिइने हुँदा भवितव्य हुनलाई घट्न पुगेको घटना घटाउनेसम्मको कुनै कारण तथा रिसइवी नभएको देखिनु पर्ने, आफूले गरेको कामबाट कुनै दुष्परिणाम आउन सक्ने अवस्था तथा सम्भावना नरहेको देखिनु पर्ने, त्यस्तो दुष्परिणामको ईच्छा तथा पूर्वज्ञानसमेत नभएको हुनुपर्ने साथै वैध काम वैध साधनको प्रयोग गरी प्रयाप्त सावधानी अपनाई गरेको पनि पुष्टि हुनुपर्दछ । उल्लिखित यी अवस्थाहरू एक अर्काको विकल्पको रूपमा रहेको नभई यी सबै अवस्थाहरूको संयोजन रहे भएको हुनुपर्दछ । यीमध्ये कुनै एउटाको अभाव भएमा त्यसलाई भवितव्य मान्न नसकिने ।
(प्रकरण नं.६)
बियरको बोतल जस्तो वस्तुले संवेदनशील अंग टाउकोमा हिर्काउँदा ज्यान मर्न सक्छ भनी सामान्य सुझबुझ भएको व्यक्तिले जान्नु सोच्नु पर्ने कुरा हुन आउँछ । बियरको बोतलले टाउकोमा हिर्काउँदा ज्यान मर्न सक्ने सम्भावना रहने पनि सहज अनुमान गर्नुपर्ने विषय हो । यस्तो अवस्थामा प्रतिवादीमा भवितव्य ज्यान हुन आफूले गरेको कामबाट मानिस मर्ला भन्ने जस्तो नदेखिएको वा परिणामको पूर्व ज्ञान नभएको भनी मान्न सकिँदैन । यसमा प्रतिवादीको मृतकलाई मार्ने मनसाय स्पष्ट नदेखिए पनि मानिस मर्न सक्ने परिणामको पूर्व सम्भावनाको जानकारी भने रहेकै देखिँदा प्रस्तुत मुद्दाको वारदातलाई भवितव्यको कोटीमा राख्न सकिँदैन । यस्तो अवस्थामा प्रतिवादीमा रहेको त्यही सम्भावनाको जानकारी नै आपराधिक कार्य पछाडिको आपराधिक मनसायका रूपमा रहेको हुने ।
कुनै आपराधिक कार्य ठीक बेठीक छुट्याउन सक्ने व्यक्तिले आफ्नो कामको परिणाम देख्न सक्ने अवस्थामा कुनै कार्य स्वतन्त्र तथा स्वेच्छाले गर्दछ र त्यसको परिणाम आपराधिक कार्य हुन्छ भने त्यहाँ मानसिक तत्त्व विद्यमान रहेको नै मानिन्छ । नाबालक, होस ठेगाना नभएको, नशाको सुरमा रहेको, ठीकबेठीक छुट्टाउन नसक्ने अवस्थाको व्यक्तिले वा कुनै डर त्रास, दबाबमा परी कसैको आज्ञा पालन गर्न वा आफ्नो कार्यको परिणाम देख्न र पूर्व अनुमान गर्न नसक्ने व्यक्तिले गरेको आपराधिक कार्यको पछाडि आपराधिक मनसाय रहेको नमानिने अवस्था पनि यसमा विद्यमान नदेखिने ।
(प्रकरण नं.७)
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता चन्द्रबहादुर सापकोटा
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता सूर्यबहादुर वली
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(३) नं.
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री विष्णु सुवेदी
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री रेवन्तबहादुर कुँवर
मा.न्या. श्री हिमालयराज पाठक
फैसला
न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, दिपायलको मिति २०७०।४।२१ को फैसलाउपर वादी प्रतिवादी दुवैतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
जिल्ला कैलाली चुहा गा.वि.स. वडा नं. ५ बचैलास्थित पूर्वमा देवी थापाको रोपाइँ गरेको खेत, पश्चिममा निजकै गाई गोरू बाँध्ने गोठ, उत्तरमा ठूलो पिपलको रूख र दक्षिणमा देवी थापाको खेत यति चार किल्लाभित्र देवी थापाको घर आँगन अगाडि मिति २०६८/३/७ गते दिउँसो अ. ११ बजेको समयमा जाहेरवालाको भान्जा दिपेश ढकाल कामीलाई प्रतिवादी प्रेम ढकाल कामीले भात खाइरहेको अवस्थामा बियरको सिसा बोतलले टाउकोमा हिर्काई घाइते बनाएको र सोही घटनास्थल वरपर उक्त बियरका सिसा फुटेका टुक्राहरू फेला परेको भनिएको घटनास्थल मुचुल्का ।
मृतक दिपेश ढकाल कामीको निधारको दुवैतर्फ सेतो कपडाले पट्टी बाँधेको, बायाँ हातको पाखुरामा सेतो पट्टी बाँधेको, बायाँ हातको नाडीमा सानो काटिएको जस्तो घाउ, बायाँ गालामा सानो खोस्रिएको, घाँटीमा रातो भई रगत जस्तो रातो देखिएको र बायाँ कन्चटमा काटिएको घाउ रहेको भन्ने घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का ।
दिपेश ढकाल कामीलाई मिति २०६८/३/५ गते साँझ प्रतिवादी प्रेम ढकाल कामीले मृतकको घाँटी च्याप्न लाग्दा मेरी दिदी धौली बि.क. आएर बचाउँदा निजले दिदी र मृतकलाई कुटपिट गरी एम्बुलेन्स बोलाई लम्कीस्थित लालरत्न अस्पतालमा उपचार गराएका रहेछन् । ऐ. ७ गते दिदीले मृतकलाई घरमा गई लुगा कपडा बदल्न र पैसासमेत ल्याउन पठाएकोमा सो काम गरी फिर्ता हुने क्रममा रणबहादुर थापाको घरमा गई खाना खाइरहेको अवस्थामा प्रेम ढकाल कामीले एक्कासी पछाडिबाट बियरको बोत्तलले दुई पटक टाउकोमा प्रहार गरेकोमा तत्काल छरछिमेकीले बदर गोरिया अस्पतालमा सामान्य उपचार गराई थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा उपचार गराउँदासमेत निको नभएकोले भारतको लखनउस्थित सहर अस्पतालमा उपचारका क्रममा नै सोही चोटका कारण ऐ. १० गते साँझ अं. ६:०० बजेको समयमा दिपेश ढकाल कामीको मृत्यु भएकोले कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको करनबहादुर बि.क. को जाहेरी दरखास्त ।
मृतक दिपेश ढकाल कामीको टाउकोमा चोटका कारण मृत्यु भएको भन्ने शवपरीक्षण प्रतिवेदन रिपोर्ट ।
मृतक दिपेश ढकाल कामी मेरो सहोदर भाइ हो । हामीहरूबीच मिति २०६८/३/५ गते घरायसी सामान्य वादविवाद हुँदा आमासमेत उक्त स्थानमा आई हामीहरूलाई छुट्याउँदा घाइते भएका कारण आमाको उपचारको लागि एम्बुलेन्स बोलाई लालरत्न अस्पतालमा मृतक भाइ कुरूवा बसेको थियो । आमाले मृतक भाइलाई लुगा बदली पैसा लिएर आउनु भनी पठाएकोमा मिति २०६८/३/७ गते ११ बजेको समयमा जि.कै.चुहा गा.वि.स. वडा नं. ५ स्थित रणबहादुर थापाको घरबाहिर मृतक भाइ खाना खाई रहेको देखेपछि बियरको बोतलमा पानी भरी राखेको अवस्थामा नै उक्त बोतल मैले समाती मृतक भाइको अगाडिपट्टिको टाउकोमा हिर्काएको हुँ । भाइलाई उपचारको लागि छिमेकीहरूले भारतसमेत लगी औषधी उपचार हुँदा निको नभएकोले मैले हानेकै चोटका कारण मृतक भाइको मृत्यु हुन गएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेम ढकाल कामीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान कागज ।
मिति २०६८/३/५ गते राति प्रतिवादी प्रेम ढकालको श्रीमती र प्रतिवादीकै आमा धौली बि.क.बीच घरायसी विवाद भएको रहेछ । सोही राति प्रतिवादीको घरमा होहल्ला भएको सुन्दा के भयो भनी जाँदा प्रेम ढकाल कामीले आफ्नै आमालाई कुटपिट गरेको देखी मसहित गाउँघरका अन्य मानिस आई छुट्याएका
हौं । निज प्रतिवादीको कुटाइबाट निजकी आमा घाइते भएकीमा एम्बुलेन्स बोलाई लालरत्न अस्पतालमा उपचारको लागि लगिएको थियो । मृतक छोरा र घाइते आमा मिति २०६८/३/७ गतेसम्म अस्पतालमै भएका कारण मृतकलाई निजकी आमाले लुगा कपडा बदल्न र पैसासमेत ल्याउन पठाएकोमा ऐ. ११ बजेको समयमा मेरो घरमा आइ आन्टी मलाई साह्रै भोक लागेको छ खाने कुरा केही भए दिनुहोस् भन्दा भात छ बस खाएर जाऊ भन्दा मृतक भात खाइरहेको अवस्थामा प्रतिवादी प्रेम ढकाल कामीले आफ्नो घरबाट हातमा बियरको बोतललाई नल्का चलाई बोतलमा पानी भरी ट्वाइलेट जान्छ भन्ने सोचेकी थिएँ । मृतकलाई दाल लिन भनी म भान्सामा गएको अवस्थामा प्रेम ढकाल कामीले सोही बियरको बोतलले हिर्काइ मृतक मेरो घरबाट बेहोस अवस्थामा भागी खेततर्फ गएको हो । प्रेम ढकाल कामीकै चोटका कारण मृतकको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको धर्मादेवी थापाले मौकामा गरेको कागज ।
मिति २०६८/३/५ गते दिउँसो प्रतिवादी प्रेम ढकालको आमा र श्रीमती रिमा बि.क. बीच घरायसी विवाद भएको थियो । सोही दिन राति प्रतिवादी प्रेम ढकाल कामी बाहिरबाट घरमा आई मृतक दिपेश ढकाल कामीलाई बोलाई अब तिमीहरूको खैरेत छैन । तिमीहरूलाई मार्छु भनेको सुनी मृतक छोरालाई आफ्नो कोठा ल्याई आउँदै थियो । आउँदै गर्दाको अवस्थामा प्रतिवादीले एक्कासी मृतकको टाउको समाती घाँटी च्याप्दा मैले मृतकलाई छुट्याई भाग्न सफल भएको हो । प्रतिवादीले मसमेतलाई कुटपिट गरी घाइते बनाएकोमा मृतकले एम्बुलेन्स बोलाई लालरत्न अस्पतालमा उपचारको लागि लगेको थियो । मिति २०६८/३/७ गतेसम्म अस्पतालमै भएका कारण मृतकलाई मैले लुगा बदल्न र उपचारको लागि समूहबाट पैसा ऋण मागी ल्याउन पठाएकोमा ऐ. ११ बजेको समयमा छिमेकीको घरमा भात खाइरहेको अवस्थामा प्रतिवादी प्रेम ढकाल कामीले एक्कासी बियरको बोतलले टाउकोमा हिर्काइ घाइते बनाएकोमा सोही चोटका कारण मृतक दिपेश ढकाल कामीको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको धौली ढकाल कामीले मौकामा गरेको कागज ।
मिति २०६८/३/७ गते दिउसो ११:०० बजेको समयमा जि.कै. चुहा गा.वि.स. वडा नं. ५ बचैलास्थित रणबहादुर थापाको घरमा मृतक दिपेश ढकाल कामी खाना खाइरहेको अवस्थामा प्रतिवादी प्रेम ढकाल कामीले बियरको बोतलले टाउकोमा हिर्काई घाइते बनाएको अवस्थामा मसमेतले घाइतेलाई उपचारको लागि एम्बुलेन्स बोलाइ बदर गोरिया अस्पतालमा लगेका हौं । उक्त अस्पतालमा उपचार हुन नसकी कोहलपुर मेडिकल कलेजमा पुर्याई त्यहाँसमेत उपचार हुन नसकी भारतको लखनउ लगी उपचारको क्रममा मिति २०६८/३/१० गते सोही चोटका कारण मृतक दिपेशको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको एकै मिलानको उमेश जैसीसमेत जना ३ ले दिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी प्रेम ढकाल कामीले मृतक दिपेश ढकाल कामीसँगको पूर्व रिसइवीसमेत लिई मृतकलाई ज्यान मार्ने मनसायले बोतलमा पानी भरी पछाडिबाट टाउकोमा प्रहार गर्दा मृतक तत्काल छटपटिई उपचार गराउन बरद गोरिया अस्पताल, कोहलपुर मेडिकल कलेजसमेतमा लगिएकोमा उपचार हुन नसकी भारतको लखनउस्थित अस्पतालमा मृतक दिपेश ढकाल कामीको मृत्यु भएको तथ्य स्पष्ट खुल्न आएकोले आफ्नै भाइलाई मार्ने प्रतिवादी प्रेम ढकाल कामीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. विपरीतको कसुर अपराध गरेको पुष्टि हुँदा निज प्रतिवादी प्रेम ढकाल कामीलाई ऐ. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम हदैसम्मको सजाय गरी पाउन अभियोग माग दाबी लिइएको छ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।
मिति २०६८/३/५ गते बिहान आमा र मेरो श्रीमतीबीच घरायसी वादविवाद भई सामान्य झगडा भएको थियो । आमाले मेरो श्रीमतीसँग बेला बेलामा विना काममा झगडा गर्ने भएकीले २०६८/३/५ गते राति १० बजेको समयमा म आमाको कोठामा गई किन सधैँ झगडा गर्नुहुन्छ ? हामी पनि तपाईको छोराबुहारी हो भनी सम्झाउन खोज्दा मृतक भाइ पछाडिबाट आइ नल्काको हेण्डिलले मेरो टाउकोमा प्रहार गर्दा म घाइते भई भुइँमा लडेको र पुनः अर्को चोट निजले मलाई हान्न खोज्दा म भुइँबाट उठी निजको घाँटी च्यापी भित्तामा चेपेको हुँदा आमा आई छुट्याउन खोज्दा मैले आमालाई धकेल्दा आमा पलङ्गमा ठोकिन पुगी घाइते भएकी हुन् । त्यसपछि छिमेकीहरू आई झगडा छुट्याई आमा र मलाई एम्बुलेन्समा राखी लम्की स्थित लालरत्न अस्पतालमा उपचारको लागि लगेको हुँदा म उक्त राति अस्पतालमा नै बसी भोलिपल्ट घरमा आएको र आमा अस्पतालमै बेड भर्ना भएको थिइन् । मिति २०६८/३/७ गते बिहान मृतक भाइ रूपैयाँ लिन भनी अस्पतालबाट घरमा आई मेरो छिमेकी रणबहादुर थापाको घरको आँगनमा बसी खाना खाँदै रहेछ । मलाई दिसा लागेकोले बोतलमा पानी भरी कुलातिर दिसा गर्न जान लाग्दा निजलाई खाना खाइरहेको देखी किन अर्काको घरमा खाना खाँदैछस् ? झगडा भएपनि आफ्नै घरमा खाना खाएको भए भई हाल्थ्यो नि भन्दा तँलाई अझै पिटाइ पुगेको छैन भनी मृतक उठी मेरो हातको बोतल खोस्न लाग्दा मलाईसमेत रिस उठी सोही बोतलले एक चोट निजको टाउकोमा हानेको हुँ । मार्ने उद्देश्यले हानेको होइन । निजको टाउकोबाट रगत बगेको देखेपछि निजलाई पहिला बौनिया अस्पतालमा उपचार गराई त्यहाँ निको नभएपछि मेडिकल कलेज नेपालगञ्ज लगेकोमा त्यहाँबाट लखनउ रिफर गरेकाले लखनउमा लगी उपचार गराउँदा गराउँदै निजको सोही चोटका कारणले मृत्यु भएको हो । मैले मार्ने उद्देश्यले मृतकलाई हानेको नभई रिसको झोकमा हानेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेम ढकाल कामीले अदालतमा गरेको बयान ।
२०६८ साल आषाढको ५ गतेको दिनमा निजका भाइहरूबीच झगडा हुँदा दोस्रो दिन निज भाइ आफ्नो नजिकैको छिमेकीको घरमा खाना खाएको बेलामा निजको दाइले भाइ किन अरूको घरमा खाना खाएको यति सानोतिनो मनमुटावले घरको खाना छाड्ने, यस्ता किसिमका व्यवहार गर्नु हुँदैन भनी दाइले सम्झाउँदा निजको भाइ दिपेश ढकाल एक्कासी रिसको झोंकमा आई आफ्नो दाजुसँग झगडा गरेको र सोही बेलामा आषाढको महिना धान रोप्ने कामले गर्दा कसैलाई पनि फुर्सद नभएको कारण अन्य मान्छे कोही नहुँदा निजहरूको झगडा बढ्दै जाँदा प्रेम ढकालले दिपेश ढकाललाई कुन्नी केले हाने पछि निजलाई उपचारार्थ अस्पताल लिएपछि निजको मृत्यु अस्पतालमा भएको हो । निज प्रेम ढकालले उक्त घटनामा एक्कासी आफ्नो भाइलाई प्रहार गरे पनि मार्ने उद्देश्य बोकी उक्त घटना घटेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी छोटुलाल चौधरीले यस अदालतमा गरेको बकपत्र ।
प्रेम ढकाल र मृतकको बीच मृत्यु हुनुपूर्व कुनै किसिमको झै-झगडा रिसइवी केही पनि थिएन । दुवै भाइ घरपरिवारमा मिली बस्ने एक अर्काको सहयोगी काम गर्ने गर्दथे । मैले निज प्रतिवादीले हानेको चोट पनि देख्न पाइन । बियरको बोतल कसले ल्याए थाहा भएन भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने धौली ढकाल कामीले अदालतमा गरेको बकपत्र ।
प्रेम ढकाल कामी दिसा गर्न जाँदा छिमेकीको घरमा निजको भाइ दिपेश ढकाल कामी खाना खाइ रहेको थियो । सोही बेलामा प्रेम ढकाल कामीले आफ्नो भाइलाई सम्झाउँदा भाइहरूबीच पुनः भनाभन हुँदा निज दिपेश ढकाल कामीले आफ्नो दाजु प्रेम ढकालमाथि आक्रमण गर्ने क्रममा प्रेम ढकालसँग भएको बोतलले निजले आफ्नो भाइलाई रिसले हिर्काउन खोज्दा एक्कासी टाउकोमा लाग्न गई रगत बगिरहेको अवस्थामा निजलाई उपचारार्थ अस्पताल लगेकोमा अस्पतालमै मृत्यु भएको हो । निजहरूबीच रिसइवी नभई सो दिन अचानक सो घटना घट्न गएको हो । निज प्रेम ढकाल कामीले आफ्नो भाइ दिपेश ढकाललाई मार्ने उद्देश्यले नभई एक्कासी रिसको झोकमा उक्त बोतलले हिर्काएको हो भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी खड्क जैसीले अदालतमा गरेको बकपत्र ।
निज प्रेम ढकाल र मृतकबीच त्योभन्दा पहिला कुनै किसिमको रिसइवी झै-झगडा मनमुटाव थिएन । एक्कासी त्यो दिन के कति कारणले गर्दा झगडा भई निजको भाइको मृत्यु हुन गएको हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने मिना कुमारी भण्डारीले अदालतमा गरेको बकपत्र ।
दुवै भाइबीच विवाद हुँदा तत्काल उठेको रिसले प्रेम ढकालले बियरको बोतलले हानी भाइको मृत्यु भएको हो । रिसइवी केही थिएन भन्नेसमेत व्यहोराको जाहेरवाला करन सिंह बि.क. ले अदालतमा गरेको बकपत्र ।
वारदातको प्रकृतिबाट ज्यान मार्ने मनसाय, इविलागविना उसै मौकामा उठेको रिसका कारण घटना घट्न गएको, वारदातमा जोखिमी हतियार प्रयोग नभएको र निरन्तर प्रहार गरेको नभई एक पटकको प्रहारको कारणबाट मात्र निज दिपेश ढकाल कामीको मृत्यु भएको देखिँदा प्रतिवादीलाई वादी नेपाल सरकारको अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी १३(३) नं. अनुसार सयाज हुने नभई ऐ.को १४ नं. अनुसार १०(दश) वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत व्यहोराको कैलाली जिल्ला अदालतको मिति २०६९/२/८ को फैसला ।
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. लाई हेर्दा “ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ” भन्ने व्यवस्था छ । प्रस्तुत घटनामा मेरो ज्यान लिने इविलाग र मनसायसमेत नभएको, निजसँग घरमा झगडा भएपनि आफ्नै घरमा खाना खानुपर्छ भनी सम्झाई बुझाई गर्न खोज्दा निज नै मप्रति झगडा गर्न आएकोले निजको हातको बोतल खोसी बोतलले हिर्काउदा निजको टाउकोमा लागि मृत्यु भएको हो । ज्यानसम्बन्धीको ५ नं. बमोजिम भवितव्य ठहराउनु पर्नेमा सो नठहराई गरेको सुरू कैलाली जिल्ला अदालतको फैसला सो हदसम्म बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेम ढकाल कामीको पुनरावेदन पत्र ।
प्रतिवादीले मृतकसँग पटकपटक झगडा गरी वारदातका बखत लुकी चोरी बोतल जस्तो जोखिमी साधन प्रयोग गरी घटना घटेकोबाट वारदातपूर्व दूषित सोचाइ (Malice aforethought) रहेको देखिन आउँछ । वारदातका बखत उस्तै शारीरिक सामर्थ्य र अवस्थाका प्रतिवादीलाई कुनै चोट नहुनु र मृतकको टाउकोमा दुईवटा चोट रहनुसमेतबाट मृतकलाई मार्ने मनसायबाट योजनाबद्धरूपमा वारदात भएको तथ्यगत र परिस्थितिजन्य प्रमाणबाट स्थापित गरी राखेकोमा प्रस्तुत वारदात आवेसप्रेरित हत्या ठहर गरी भएको फैसलामा ज्यानसम्बन्धीको महलको १३(३) र १४ नं. को व्याख्यामा त्रुटि हुँदा सो फैसला बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा प्रेम ढकाल कामीले आफूलाई बढी सजाय भएको भनी पुनरावेदन गरेको र निजलाई कम सजाय भएको भनी नेपाल सरकारको पुनरावेदन परेकोमा प्रतिवादीको पुनरावेदनसम्बन्धमा वादी नेपाल सरकारलाई नेपाल नेपाल सरकारको पुनरावेदन सम्बन्धमा प्रतिवादीलाई जानकारी गराई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालतबाट मिति २०६९/१२/६ मा भएको आदेश ।
यसमा पुनरावेदक / प्रतिवादी प्रेम ढकाल कामीले मिति २०६८/३/७ गते बिहान मृतक भाइ अस्पतालबाट रकम लिन घरमा आई मेरो छिमेकी रणबहादुर थापाको घरको आँगनमा खाना खाँदै रहेको र मलाई दिसा लागेकोले बोतलमा पानी भरी कुलातर्फ दिसा गर्न जान लाग्दा निजलाई देखी किन अर्काको घरमा खाना खाँदैछस् आफ्नो घरमा खाना खाएको भए भई हाल्थ्यो नि भन्दा तँलाई अझै पिटाई पुगेको छैन भनी भाइ उठी मेरो हातको बोतल खोस्न लाग्दा मलाईसमेत रिस उठी सोही बोतलले एक चोट निजको टाउकोमा हानेको हुँ । मार्ने उद्देश्यले हानेको होइन भनी घटनालाई स्वीकार गरेको, प्रतिवादीको उक्त बयान कागजबाट मृतकलाई मार्ने मनसाय राखी उक्त मनसायलाई पूरा गर्नको लागि पानी भरेको बियरको बोतल लिएर मृतकको टाउकोमा हान्न गएको भन्ने नदेखिएको, जुन कुरा वस्तुस्थिति मुचुल्कामा कागज गर्ने उमेश जैशी, मिना कुरमी भण्डारी, लक्ष्मीदेवी भण्डारीले मार्ने उद्देश्यले हानेको होइन भनी लेखाई दिनुका साथै अदालतमा आई बकपत्र गरिदिएको र प्रतिवादीका साक्षी खड्क जैसी, धौली ढकाल कामी, छोटुलाल चौधरीसमेतले मार्ने उद्देश्यले नभई एक्कास रिसको झोकमा उक्त बोतलले हिर्काएको हो भनी बकपत्र गरी दिएबाट प्रतिवादी प्रेम ढकाल कामीले मृतक दिपेश ढकाल कामीलाई मार्ने उद्देश्यले तयारीसाथ बियरको बोतलमा पानी भरी मृतकलाई हिर्काएको नभई झगडा हुँदा रिसको आवेगमा मृतकको टाउकोमा हानेको भन्ने पुष्टि भएको, नेपाल सरकारको अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(३) नं. बमोजिमको अपराध हुनको निमित्त इविलाग, ज्यान मार्ने मनसाय, उक्त मनसाय पूरा गर्नको लागि तयारी स्वरूप मृतकलाई हानेको पुष्टि हुनुपर्ने देखिन्छ प्रस्तुत मुद्दामा प्रतिवादी प्रेम ढकाल कामी र मृतक दिपेश ढकाल कामीको बीच भनाभन भई तत्काल उठेको रिसले हातमा भएको बोतलले प्रतिवादी प्रेम ढकाल कामीले मृतक दिपेश ढकाल कामीलाई एक पटक हानेको र सोही चोटको कारण मृतकको मृत्यु भएको देखिँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय हुने नभई १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहर्याएको सुरू कैलाली जिल्ला अदालतको फैसला मनासिबै देखिने, अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) बमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र ज्यानसम्बन्धीको महलको ५ नं. बमोजिम भवितव्य ठहर गर्नुपर्ने भन्ने प्रतिवादी प्रेम ढकाल कामीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । तसर्थ प्रतिवादीलाई वादी नेपाल सरकारको अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार हुने नभई ऐ. को १४ नं. बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहरी सुरू कैलाली जिल्ला अदालतबाट मिति २०६९/२/८ मा भएको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, दिपायलको मिति २०७०/४/२१ को फैसला ।
प्रस्तुत मुद्दामा घटेको घटनाका सम्बन्धमा म निवेदकले सुरू कैलाली जिल्ला अदालतसमक्ष गरेको बयानलाई अन्यथा र गलत हो भनी वादी पक्षले कुनै पनि प्रमाणले खण्डन गरेको छैन । उक्त घटनालाई आवेसप्रेरित हत्याको संज्ञा दिन मिल्दैन । मैले सम्मानित अदालतमा बयान गर्दा सत्यतथ्य विवरण खुलाएको छु । मृतकलाई अभिभावकको हैसियतले सम्झाउन खोज्दा मृतक आफैँ आवेसमा आई म चर्पी जान पानी लिएको मेरो हातको बोतल खोस्न लाग्दा अकस्मात लाग्न गएको हो । ज्यानै मार्ने उद्देश्य, कुनै रिसइवी लिई प्रहार गरेको होइन । यस्तो अवस्थामा उक्त घटना मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम आकृष्ट हुने अवस्था देखिँदैन । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. मा “ज्यानै मार्नुपर्नेसम्मको रिसइवी अथवा कुनै पूर्व मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले कुनै मानिस मर्ला भन्ने नदेखिएको कुनै पनि काम कुरा गर्दा त्यसै कामद्वारा केही भई कुनै पनि मानिस मर्न गएमा भवितव्य गरेको ठहर्छ” भन्ने व्यवस्था भएको हुँदा प्रस्तुत वारदातमा पनि ज्यान लिने मनसाय, रिसइवी र वैमनस्यता नभई केवल अभिभावकीय जिम्मेवारी निर्वाह गर्दा घरमा नै खाना खानुपर्छ भनी सम्झाउने क्रममा सामान्य वादविवाद हुन गएको र सोही अवस्थामा नै मृतकको मृत्यु भएको हुँदा उक्त वारदात मुलकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. बमोजिम भवितव्य ठहर्नुपर्नेमा सो नठहर्याई सुरू कैलाली जिल्ला अदालतको फैसला सदर गर्ने श्री पुनरावेदन अदालत, दिपायलको फैसला बदर भागी छ बदर गरी न्याय पाउँ भन्ने व्यहोराको पुनरावेदक / प्रतिवादी प्रेम ढकाल कामीको पुनरावेदन पत्र ।
प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. को कसुरमा सजाय हुने ठहर भएको हुँदा कर्तव्य ज्यानको वारदात सम्बन्धमा विवाद
छैन । यी प्रतिवादी प्रेम ढकाल कामीले घटना वारदातपूर्व पनि मृतकसँग झगडा गरी वारदातका दिन मृतकलाई पछाडिबाट बियरको बोतलले टाउकोमा २ पटक प्रहार गरी सख्त घाइते बनाई उपचारकै क्रममा निजको मृत्यु भएको जाहेरीबाट देखिएको, मृतकको टाउकोमा २ वटा चोट रहेको र सोही चोटका कारण मृत्यु भएको शवपरीक्षण प्रतिवेदन रहेको, प्रतिवादीले बयान गर्दा वारदातपूर्व मृतक र आमा धौलीसँग अलग भिन्न भई बस्ने सम्बन्धमा विवाद हुने गरेको र वारदातका बखत मृतक अर्काको घरमा भात खाँदै गरेको देखी बियरको बोतलले टाउकोमा हानेको र सोही चोटका कारण निजको मृत्यु भएको स्वीकार गरेको अवस्था, मृतकको टाउकोमा बोतल जस्तो अत्यन्तै जोखिमी वस्तुले चोट प्रहार गरेको आपराधिक कार्यबाट आफूले गरेको उक्त कार्यको परिणामको पूर्व जानकारी (Freightless of the Consequences) प्रतिवादीलाई रहेको अवस्था देखिने, मृतकसँग पटकपटक झगडा गरी वारदातका बखत निजको टाउकोमा दुई पटक चोट प्रहार गरिएको हुँदा कर्तव्य गर्ने मनसाय लक्षितरूपमा वारदात भएको घटनाक्रमहरूले पुष्टि भई राखेको अवस्थामा वारदातलाई आवेसप्रेरित हत्याको ठहर गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको नेपाल सरकारको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी प्रेम ढकाल कामीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सूर्यबहादुर वलीले प्रतिवादी प्रेम ढकाल कामीले ज्यानै मार्नुपर्नेसम्मको रिसइवी वा कुनै पूर्व मनसाय नभई आफ्ना भाइ मृतक दिपेश ढकाल कामीलाई अभिभावकीय जिम्मेवारी निर्वाह गर्दा घरमा नै खाना खानुपर्छ भनी सम्झाउने बुझाउने क्रममा सामान्य वादविवाद हुन गएको र सोही अवस्थामा केही गर्दा मृतकको मृत्यु भएको हुँदा उक्त वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. बमोजिम भवितव्य ठहर्नु पर्नेमा सो नठहर्याई सुरू कैलाली जिल्ला अदालतको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, दिपायलको फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको बहस गर्नुभयो ।
त्यस्तै वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रबहादुर सापकोटाले मृतकउपर प्रतिवादी प्रेम ढकाल कामीले ज्यान मार्ने मनसायपूर्वक पछाडिबाट बियर बोतलले टाउकोमा प्रहार गरी उपचारको क्रममा ज्यान मर्न गएकोले सुरू अदालतले आवेसप्रेरित हत्या ठहर गरी गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, दिपायलले गरेको फैसलामा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) र १४ नं. को व्याख्यात्मक त्रुटि भई मिसिल संलग्न प्रमाणहरूको यथोचित मूल्याङ्कन नगरी मनसाय प्रेरित हत्यालाई आवेस प्रेरित ठहर गरी भएको फैसला बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसरी दुवै पक्षको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा, मिसिल संलग्न घटनास्थल प्रकृति मुचुल्का, लासजाँच प्रकृति मुचुल्का, जाहेरी दरखास्त, घटना विवरण कागज, प्रतिवादीको बयान कागजसमेत हेर्दा मृतक दिपेश ढकाल कामीको मृत्यु प्रतिवादी प्रेम ढकाल कामीले बियरको बोतलले टाउकोमा हानेको चोटको कारणबाट भएको तथ्य स्थापित भएको छ । सोलाई प्रतिवादीले अन्यथा भन्नसमेत सकेको छैन । यस्तो अवस्थामा पुनरावेदन अदालत, दिपायलबाट भएको फैसला मिलेको छ, छैन ? तथा वादी नेपाल सरकार र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्तैन ? भन्ने सम्बन्धमा निर्णयमा दिनुपर्ने देखियो ।
२. यसमा प्रतिवादी प्रेम ढकाल कामीले पानी भरिएको बियरको बोतलले मृतक दिपेश ढकाल कामीको टाउकोमा प्रहार गरी उपचारको क्रममा सोही चोटको कारणले मृतक दिपेश ढकाल कामीको मृत्यु भएको तथ्य स्पष्टरूपमा खुल्न आएकोले प्रतिवादी प्रेम ढकाल कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(३) विपरीतको अपराधमा सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी लिइएकोमा सुरू कैलाली जिल्ला अदालतबाट ऐ. महलको १३(३) नं. बमोजिम सजाय नगरी ऐ. महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहरी फैसला भएको पाइयो । सो फैसलाउपर मेरो मार्ने मनसाय नभएको अभिभावकीयरूपमा भाइलाई सम्झाउँदा विवाद भई मैले समाती राखेको बियरको बोतल खोस्न लाग्दा तत्काल उठेको रिसले पानी भरिएको बियरको बोतलले भाइलाई टाउकोमा हिर्काउँदा उपचारको क्रममा मृत्यु भएको हो । सुरू कैलाली जिल्ला अदालतको फैसला बदर गरी भवितव्य ठहर्याई न्याय पाउँ भनी र प्रतिवादीले मार्ने मनसाय लिई हानेकोले प्रतिवादीलाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, दिपायलमा पुनरावेदन परी पुनरावेदन अदालत, दिपायलबाट सुरू फैसला सदर हुने ठहर्याई फैसला भएको
पाइन्छ । उक्त फैसलाउपर ज्यानसम्बन्धीको महलको ५ नं. बमोजिम भवितव्यमा सजाय गरिपाउँ भनी प्रतिवादीको र अभियोग दाबीअनुसार सजाय हुनुपर्ने भनी वादी नेपाल सरकारको यस अदालतमा दोहोरो पुनरावेदन परेको पाइन्छ ।
३. अब यसमा पुनरावेदन अदालत, दिपायलको मिति २०७०/४/२१ को फैसला मिलेको छ छैन ? तथा वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्नेतर्फ विचार गर्दा दिपेश ढकाल कामीलाई प्रतिवादी प्रेम ढकाल कामीले खाना खाइरहेको अवस्थामा बियरको बोतलले टाउकोमा हिर्काई घाइते बनाएको र घटनास्थल वरपर उक्त बियरको बोतलको सिसा फुटेको टुक्राहरू फेला परेको भनिएको घटनास्थल प्रकृति मुचुल्का
देखिन्छ । मृतक दिपेश ढकाल कामीको निधारको दुवैतर्फ सेतो पट्टी बाँधेको, हात पाखुरामा सेतो पट्टी बाँधेको, नाडीमा सानो काटेको जस्तो घाउ, बायाँ गालामा खोस्रिएको, घाँटीमा रगत जस्तो देखिएको र बायाँ कन्चटमा काटिएको घाउ रहेको भन्ने लासजाँच प्रकृति मुचुल्का देखिन्छ । मृतकको मृत्यु टाउकामा लागेको चोटको कारण भएको भन्ने शवपरीक्षण प्रतिवेदनमा उल्लेख छ । करनबहादुर बि.क. ले मिति २०६८/३/७ मा मृतक दिपेश ढकाल रणबहादुर थापाको घरमा खाना खाइरहेको अवस्थामा एक्कासी प्रेम ढकाल कामीले बियरको बोतलले पछाडिबाट टाउकोमा प्रहार गरी उपचारको क्रममा सो चोटको कारणबाट मिति २०६८/३/१० गते दिपेश ढकाल कामीको मृत्यु भएकोले कानूनबमोजिम कारबाही गरिपाउँ भनी जाहेरी दरखास्त दर्ता गराएको
देखिन्छ । निजले आफ्नो जाहेरी व्यहोरालाई समर्थन गरी अदालतमा समेत बकपत्र गरेको देखिन्छ । प्रतिवादीले भाइ दिपेश ढकाल कामीले छिमेकी रणबहादुर थापाको घरमा खाना खाइरहेको अवस्था देखी किन अर्काको घरमा खाना खान्छौं, झै-झगडा भएपनि आफ्नै घरमा खाए हुन्छ भनी विवाद भई मृतकले बोतल खोस्न लाग्दा तत्कालै रीसको झोकमा पानी भरेको बियरको बोतलले भाइको अगाडिपट्टिको टाउकोमा हिर्काएको हुँ उपचारको क्रममा मैले हानेको चोटको कारण मृतक भाइको मृत्यु हुन गएको हो भनी अनुसन्धान अधिकारीसमक्ष बयान गरिदिएका र अदालतमा बयान गर्दा मैले मार्ने उद्देश्यले मृतकलाई हानेको नभई रिसको झोकमा हानेको हुँ भनी लेखाई दिएका छन् । त्यस्तै मौकामा कागज गर्ने धर्मदेवी थापा, धौली ढकाल कामी, लक्ष्मीदेवी भण्डारी, मिनाकुमारी भण्डारी र उमेश जैसीले प्रतिवादीले मृतक दिपेश ढकाल कामीलाई रिसले बियरको बोतलले टाउकोमा हिर्काएको कारण घाइते भई उपचारको क्रममा सोही चोटको कारणले मृत्यु भएको हो भन्ने लेखाई दिएका र सोही व्यहोरालाई अदालतमा बकपत्र गर्दा धौली ढकाल कामी र मिनाकुमारी भण्डारीले ज्यान मार्ने उद्देश्यले होइन, रिसको आवेसमा आई बियरको बोतलले हानेको कारण उपचारको क्रममा मृत्यु भएको हो भनी लेखाइदिएका छन् । प्रतिवादीका साक्षी खड्क जैसी र छोटुलाल चौधरीले प्रतिवादीले मृतकलाई रीसको झोकमा बियरको बोतलले हानेको र ज्यान मार्ने मनसायले हानेको होइन भनी अदालतमा बकपत्र गरेको देखिन्छ ।
४. यसरी प्रस्तुत मुद्दामा जाहेरी दरखास्तको व्यहोरा, घटनास्थल प्रकृति मुचुल्का, लासजाँच मुचुल्का, शवपरीक्षण प्रतिवेदनको व्यहोरा, घटना विवरण कागज गर्नेहरूको मौकाको कागजमा उल्लिखित कुराहरू तथा प्रतिवादीका मृतक अर्काको घरमा खाना खाइरहेको अवस्थामा किन अर्काको घरमा खाना खाएको आफ्नो घरमा जाउ भन्दा मृतकले बोतल खोस्न लाग्दा प्रतिवादीलाई तत्काल रिस उठी आफूसँग बोकेको पानी भरिएको बियरको बोतलले हानी सोही चोटको कारणबाट मृतकको मृत्यु भएको कुरा स्थापित हुन जान्छ । यस तथ्य सम्बन्धमा मिसिल संलग्न प्रमाणहरूमा एकरूपतासमेत रही एकआपसमा समर्थितसमेत रहेको पाइन्छ ।
५. अब अर्काको घरमा नखाई आफ्नै घरमा खाना खानुपर्दछ भनी अभिभावकीय जिम्मेवारी निर्वाह गर्दा सामान्य विवाद भई बियरको बोतलले हिर्काउँदा उपचारको क्रममा दिपेश ढकाल कामीको मृत्यु भई भवितव्यबाट वारदात घटना भएको हो भनी भन्ने प्रतिवादीले लिएको पुनरावेदन जिकिरतर्फ हेर्दा,
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. मा भएको “ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ” भन्ने व्यवस्था र ऐ. ६ नं. को विभिन्न प्रकारले हुने भवितव्य ज्यानमा हुने सजायसम्बन्धी व्यवस्था रहेको पाइन्छ । यी व्यवस्थाहरू हेर्दा मुख्यतः भवितव्य ज्यान हुनलाई निम्न अवस्था हुनुपर्ने देखिन आउँछ ।
१. ज्यान मार्ने कुनै इविलाग वा मनसाय नभएको हुनुपर्ने,
२. आफूले गरेको कामबाट मानिस मर्ला भन्ने जस्तो नदेखिएको वा परिणामको पूर्व ज्ञान नभएको हुनुपर्ने,
३. उपर्युक्त अवस्थामा कुनै काम गर्दा अप्रत्याशितरूपमा मानिस मर्न गएको हुनुपर्ने,
४. एउटा कामका निमित्त सावधानीसँग हातहतियार उठाएकोमा केही व्यहोराले अरूलाई लाग्न गई ज्यान मरेको हुनुपर्ने ।
६. त्यसैले भवितव्यलाई आकस्मिक घटना वा दुर्घटनाको रूपमा लिइन्छ । यसलाई दुर्घटनाको रूपमा लिइने हुँदा भवितव्य हुनलाई घट्न पुगेको घटना घटाउनेसम्मको कुनै कारण तथा रिसइवी नभएको देखिनु पर्ने, आफूले गरेको कामबाट कुनै दुष्परिणाम आउन सक्ने अवस्था तथा सम्भावना नरहेको देखिनु पर्ने, त्यस्तो दुष्परिणामको ईच्छा तथा पूर्वज्ञानसमेत नभएको हुनुपर्ने साथै वैध काम वैध साधनको प्रयोग गरी प्रयाप्त सावधानी अपनाई गरेको पनि पुष्टि
हुनुपर्दछ । उल्लिखित यी अवस्थाहरू एक अर्काको विकल्पको रूपमा रहेको नभई यी सबै अवस्थाहरूको संयोजन रहे भएको हुनुपर्दछ । यीमध्ये कुनै एउटाको अभाव भएमा त्यसलाई भवितव्य मान्न सकिँदैन ।
७. प्रस्तुत वारदातमा उल्लिखित अवस्थाको अन्तर्निहितता सम्बन्धमा विचार गर्दा, मिति २०६८/३/७ गते छिमेकी रणबहादुर थापाको घरमा मृतक दिपेश ढकाल कामीले खाना खाइरहँदा प्रेम ढकाल कामीले अर्काको घरमा खाना किन खाएको झै-झगडा परेपनि आफ्नो घरमा खाए हुन्छ भनी भन्दा विवाद परी प्रेम ढकाल कामीले दिसा गर्न जान भनी समाई राखेको पानी भरेको बियरको बोतलले मृतक दिपेश ढकाल कामीलाई टाउकोमा हिर्काउँदा घाइते भई उपचारको क्रममा मृत्यु भएको देखिन्छ । सोही घटनास्थल वरपर बियरको बोतलका सिसा फुटेका टुक्राहरू फेला परेको देखिन्छ । यसरी बियरको बोतल जस्तो वस्तुले संवेदनशील अंग टाउकोमा हिर्काउँदा ज्यान मर्न सक्छ भनी सामान्य सुझबुझ भएको व्यक्तिले जान्नु सोच्नु पर्ने कुरा हुन आउँछ । बियरको बोतलले टाउकोमा हिर्काउँदा ज्यान मर्न सक्ने सम्भावना रहने पनि सहज अनुमान गर्नुपर्ने विषय हो । यस्तो अवस्थामा प्रतिवादीमा भवितव्य ज्यान हुन आफूले गरेको कामबाट मानिस मर्ला भन्ने जस्तो नदेखिएको वा परिणामको पूर्व ज्ञान नभएको भनी मान्न सकिँदैन । यसमा प्रतिवादीको मृतकलाई मार्ने मनसाय स्पष्ट नदेखिए पनि मानिस मर्न सक्ने परिणामको पूर्व सम्भावनाको जानकारी भने रहेकै देखिँदा प्रस्तुत मुद्दाको वारदातलाई भवितव्यको कोटीमा राख्न सकिँदैन । यस्तो अवस्थामा प्रतिवादीमा रहेको त्यही सम्भावनाको जानकारी नै आपराधिक कार्य पछाडिको आपराधिक मनसायका रूपमा रहेको हुन्छ । कुनै आपराधिक कार्य ठीक बेठीक छुट्याउन सक्ने व्यक्तिले आफ्नो कामको परिणाम देख्न सक्ने अवस्थामा कुनै कार्य स्वतन्त्र तथा स्वेच्छाले गर्दछ र त्यसको परिणाम आपराधिक कार्य हुन्छ भने त्यहाँ मानसिक तत्त्व विद्यमान रहेको नै मानिन्छ । नाबालक, होस ठेगाना नभएको, नशाको सुरमा रहेको, ठीकबेठीक छुट्टाउन नसक्ने अवस्थाको व्यक्तिले वा कुनै डर त्रास, दबाबमा परी कसैको आज्ञा पालन गर्न वा आफ्नो कार्यको परिणाम देख्न र पूर्व अनुमान गर्न नसक्ने व्यक्तिले गरेको आपराधिक कार्यको पछाडि आपराधिक मनसाय रहेको नमानिने अवस्था पनि यसमा विद्यमान देखिँदैन ।
८. तसर्थ, यस वारदातलाई भवितव्यको संज्ञा दिन मिल्दैन । प्रस्तुत वारदातमा यी प्रतिवादीको मृतकलाई ज्यान मार्नेसम्मको मनसाय तथा इविलाग पहिलेदेखि नै नदेखिएको, लुकी चोरीकन पनि नहानेको, अर्काको घरमा खाना खाएकोमा रिस उठी तत्काल आफूसँग भएको बोतलले हान्दा चोट लागी सोही चोटको कारण मृत्युभएको देखिएबाट प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. ले परिभाषित गरेको आवेसप्रेरित हत्याको कोटीमा पर्न जाने हुन आउँछ । तसर्थ, भवितव्य ज्यान भएकोले ज्यानसम्बन्धीको महलको ५ नं. को कसुर कायम गरी ऐ. ६ नं. अनुसार सजाय गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
९. अब, वारदात पूर्व प्रतिवादी र मृतकबीच झै-झगडा हुने गरेकोले प्रतिवादीले मृतक दिपेश ढकाल कामीलाई बियरको बोतलले टाउकोमा प्रहार गरी मृत्यु भएकोले अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर तर्फ हेर्दा, अदालतमा उपस्थित भई जाहेरवालाले बियरको बोतलले हानी मृत्यु भएको हो र रिसइवी केही थिएन भनी बकपत्र गरेको देखिन्छ । यसै गरी प्रतिवादीले मैले मार्ने मनसायले हानेको होइन अकस्मात रिसको झोकमा बियरको बोतलले हानेको हो भनी अदालतमा गरेको बयानलाई घटना विवरण गर्ने व्यक्तिहरू धर्मदेवी थापा, मिनाकुमारी भण्डारी, धौली ढकाल कामीले समर्थन गरी अदालतमा बकपत्रसमेत गरेको
देखिन्छ । यसै गरी प्रतिवादीका साक्षी छोटुलाल चौधरी र खड्क जैसीले ज्यान मार्ने मनसायपूर्वक प्रतिवादीले मृतकलाई हिर्काएको होइन । रिसइवी पनि केही
थिएन । सामान्य विवादमा तत्काल उठेको रिसको झोकमा बियरको बोतलले हानेकोले ज्यान मर्न गएको हो भनी अदालतमा बकपत्र गरेको देखिएबाट यी प्रतिवादी प्रेम ढकाल कामीले मृतकलाई पूर्व रिसइवी, इविलाग नभई मार्ने मनसाय नराखी वादविवाद हुँदा तत्काल उठेको रिसको झोकमा बोतलले टाउको प्रहार गरेको देखिन्छ ।
१०. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. ले “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादिले हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ” भन्ने व्यवस्था गरेको देखिन्छ । यसरी हेर्दा प्रतिवादीमा मार्नुपर्नेसम्मको कुनै रिसइवी, मनसाय नभएको, लुकिचोरीकन पनि नहानेको, जोखिमी हतियार पनि प्रयोग नगरेको, दिसा गर्न भनी बोतलमा पानी लिएर हिँडेको अवस्थामा मृतक भाइसँग वादविवाद भई तत्काल उठेको रिसको झोकमा हातमा भएको बोतलले टाउकोमा प्रहार गरेको र उपचारको क्रममा सोही चोटका कारण मृत्यु भएको देखिँदा वादी नेपाल सरकारको मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) को अवस्था प्रस्तुत वारदातमा आकर्षित हुन सक्ने देखिँदैन । उक्त १३(३) को अवस्था विद्यमान हुन प्रतिवादीबाट ज्यान मार्ने पूर्व नियतका साथ त्यस्तो आपराधिक कार्य हुनुपर्दछ तर प्रस्तुत मुद्दामा यी प्रतिवादीले पहिलेदेखि ज्यान मार्ने मनसाय राखेको अवस्था देखिँदैन । मार्नलाई पूर्व तयारी गरी कुनै घातक हतियार लिएर गई सोही हतियारले प्रहार गरेको पनि देखिँदैन । त्यसैले प्रतिवादी प्रेम ढकाल कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.को अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।
११. अतः माथि उल्लिखित विवेचित आधार र कारणबाट प्रतिवादी प्रेम ढकाल कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(३) नं. बमोजिमको कसुर अपराधमा ऐ. को १३(३) नं. बमोजिम सजाय हुने नभई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर्याई सुरू कैलाली जिल्ला अदालतको मिति २०६९/२/८ को फैसलालाई सदर हुने ठहर्याई पुनरावेदन अदालत, दिपायलबाट मिति २०७०/४/२१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी प्रेम ढकाल कामी र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. प्रकाशमान सिंह राउत
इजलास अधिकृत : लोकबहादुर हमाल
इति संवत् २०७३ साल साउन १९ गते रोज ४ शुभम् ।