शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६६६ - अंश दर्ता चलन

भाग: ५८ साल: २०७३ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय 

फैसला मिति : २०७२।८।१६

०६८-CI-१२१४

 

मुद्दा : अंश दर्ता चलन । 

 

पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा उमाप्रेमपुर गा.वि.स. वडा नं. १ बस्ने विष्णुमाया मगर्नीसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला धनुषा उमाप्रेमपुर गा.वि.स. वडा नं. १ बस्ने लक्ष्मी क्यापछाकीको हकमा संरक्षिका भई आफ्नो हकमा समेत ऐ. बस्ने डुकुमाया क्यापछाकी

वस्तुतः अंशबन्डाको महलको १ र २ नं. को व्यवस्था भनेको अंश पाउने व्यक्तिको नैसर्गिक हकको प्रत्याभूत गराउने कानूनी व्यवस्था हो । उक्त व्यवस्थाले कुनै अंशियारलाई आफ्नो भागको अंश पूर्ण वा आंशिकरूपमा परित्याग गर्न रोक नलगाएको भए पनि नियोजित र दुराशययुक्तरूपमा आफूपछिका अंशियारलाई निरंशी बनाउने उदेश्यले अंश हक परित्याग गर्न छुट दिएको भन्ने देखिन नआउने ।

(प्रकरण नं. ७)

सामान्यतया सन्तानले आफ्नो बाबुआमाबाट नै अंश पाउने हो । बाबुले आफ्नो पुर्ख्यौली सम्पत्तिबाट आफ्ना अन्य अंशियारबाट अंश पाउने हो । तर सगोलमा बसेको अवस्थामा बाबुबाजे छोरानाति पनातिसमेत एक आपसमा भरपर्ने गरेको हुन्छ । अविभाजित सम्पत्तिबाट नै सबैको निर्वहन गर्नुपर्ने हुन जाने ।

अविभाजित सगोलको सम्पत्तिमा प्रत्यक्षतया अंशको हक लाग्ने पहिलो पिँढीको अंशियारहरूकै हक रहन्छ र अंशियारका छोराछोरी नाति नातिनीहरूलाई अंशियारको नाताबाट अर्को चरणको परोक्ष हक रहन जान्छ । तथापि ती सबै हकहरू कानूनबमोजिमकै हक हुन्छन् । सगोलको अमुक सम्पत्ति अविभाजित रहँदासम्म सगोलका सबै अंशियारहरू र अंशियारका सम्पत्तिमा हक लाग्ने तिनका सन्तानहरूको समेत हक र हित रहने हुनाले अविभाजित सगोलको सम्पत्तिमाथि प्रथम पुस्ताका अंशियारहरूको मात्रै आफूखुसी गर्न पाउने सम्पत्तिको रूपमा लिन मिल्ने 

देखिँदैन । यस अर्थमा पितापुर्खाको पालाको सम्पत्तिबाट अंशियारका सन्तानहरूले अंश पाउने हुनाले प्रथम वा अघिल्ला पुस्ताका अंशियारले कानूनबमोजिम भागशान्ति न्यायोचितरूपमा पाउने भई सो यथार्थमा पनि लिए पाएको हुन जरूरी हुन जाने ।

(प्रकरण नं. ८)

अंश अपुतालीको हक सम्पत्तिको हकसँग सम्बन्धित छ । अंशको हकको कुरा गर्दा अंशियारले अंश लिनुपर्ने भन्ने बाध्यता सिर्जना गर्न मिल्दैन । हक लाग्ने अंशियारहरूले आफ्नो हक परित्याग गर्न नपाउने होइन । तर त्यस्तो हक परित्याग गरेको कुरा निजको स्वेच्छामा आधारित हुनुपर्छ र त्यसले निजको हकमा सम्म बन्धनकारी हुन सक्दछ । अंशियारको हकमा अंशियार र निजको स्वास्नी छोराले समेत मन्जुरीले हक परित्याग गर्दछ भने त्यसमा अरूले चिन्ता लिनुपर्ने कुरा पनि हुँदैन । तर प्रथम वा अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्टयाउने नाममा अंश नलिने गरी वा पाउने हिसाब शान्ति नलिई वा अति कम लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्दछ र त्यसमा निजहरूको मन्जुरी लिइएको छैन भने त्यसको भिन्न कानूनी परिणाम रहने ।

(प्रकरण नं. ९)

सामान्यतया बाबु आमाले आफ्नो सन्तानको अंश हक वा कानूनबमोजिम पाउने भागमा नै प्रतिकूल असर पर्ने गरी व्यवहार गर्ने अपेक्षा गरिँदैन । तर बाबु वा आमाबीच र छोराछोरीबीच कुनैरूपमा सम्बन्ध बिग्रेको अवस्थामा त्यस्तो प्रतिकूल परिणाम निकाल्ने गरी आत्मघातीरूपमा पनि अंश लिनु दिनु गर्दैनन् भन्न 

सकिँदैन । सगोलको सम्पत्तिमा प्रत्यक्ष वा परोक्षरूपमा कानूनी हक वा हित भएका सन्तानहरूको अंश अपुतालीको हकमा अघिल्लो पुस्ताको अंशियार भएको नाताले जसरी पनि प्रभाव पार्न पाइन्छ भन्ने कुरा कानून, न्याय र विवेकसङ्गत हुँदैन । त्यसैले अंशियारहरूबीच अंश लिनुदिनु गर्दा अंशियारले कानूनबमोजिम भाग शान्ति लिए पाएको छ वा छैन  र त्यसबाट तिनका आआफ्नो सन्तानमा असर पर्न गएको छ वा छैन भन्ने कुरा हेर्न जरूरी हुने ।

(प्रकरण नं. १०)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट :

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

नेकाप २०७१, फागुन, नि.नं.९२७९

सम्बद्ध कानून :

अंशबन्डाको महलको १ र २ नं.

 

सुरू आदेश गर्नेः- 

मा. जिल्ला न्यायाधीश श्री अम्बरराज पौडेल

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा 

माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल

 

फैसला

स.प्र.न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।२।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

मूल पुरूष स्व. दलबहादुर क्यापछाकीको श्रीमती विष्णुमाया क्यापछाकी हुन् । यिनीहरूबाट ४ छोरा ३ छोरीको जायजन्म भएकोमा छोरीहरूको विवाह भइसकेको छ । ४ छोरामा जेठो जितबहादुर क्यापछाकी, माहिला छत्रबहादुर क्यापछाकी, साहिला खडगबहादुर क्यापछाकी र कान्छा हाम्रो पति पिता कमलबहादुर क्यापछाकी हुन् । कमलबहादुरसँग मेरो मिति २०६१।१२।२४ मा विवाह भई मिति २०६२।७।१५ मा छोरी लक्ष्मीको जायजन्म भएपछि विपक्षीहरूले मलाई हेला गर्न थालेको हो । मेरो विवाहपूर्व कमलबहादुरको जेठी श्रीमती विष्णुमायाबाट २ छोरा र २ छोरीको जायजन्म भइसकेको हो । हामीलाई दुःख दिन थालेपछि हाम्रो अंश माग्दा खान लाउन बन्द गरी घरबाट निकाला गरी दिएकोले विपक्षी झिकाई फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी सोको अघिल्लो मितिसम्मको बन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी दाखिल गराई ५ भागको १ भागलाई ८ भाग लगाई सो ८ भागबाट २ भाग अंश दिलाई दर्तासमेत गराई पाउँ भन्नेसमेत व्यहोराको वादीको फिराद पत्र । 

वादी तथा निजको पति, सौता हामीसँग बस्दा सधै कचिङ्गल हुँदा गाउँ घरमा बसी चलजति घरसारमा बाँडी बाँकी अचल जति रू. ११,१०,०००।– तथा नगद रू. ५०,०००।– जम्मा ११,६०,०००।– सम्पत्ति बाँडनु परेकोमा वादीको लोग्ने पिताले म खेती गर्न सक्दिन व्यापार गर्छु मलाई नगदै दिनुस् भनेपछि निजलाई नगद रू. ५०,०००।– दिई अरू भाइले जग्गा लिई दिई मिति २०६२।८।८ मा र.नं. २६०९ को अंशबन्डाको लिखत मालपोत कार्यालय, धनुषाबाट पास गराई लिएपछि वादीहरूले आफ्नो सम्पत्ति खाई मासेपछि हामीसँग पुनः अंश लिनलाई यो झुठ्ठा मुद्दा दिएको हो । वादीले हामीबाट होइन, आफ्नो पति पिताबाट मात्र अंश पाउने हुँदा हामीउपरको दाबी खारेज गरिपाउँ भन्ने प्रतिवादी खडगबहादुर, अन्तमाया, इन्द्रमाया, छत्रबहादुर, जितबहादुर, विष्णुमायासमेतको संयुक्त प्रतिउत्तर पत्र । 

वादीले देखाएको नाता पुस्ता ठीकै हो । वादीले हामीबाट अंश पाउने अंशियार हो । वादीकै सहमतिमा रू.५०,०००।– लिई दाजुभाइसँग अंशबन्डा गरेको हो । बन्डा गर्नुपर्ने कुनै सम्पत्ति नरहेकोले झुट्टा नालेस खारेज गरिपाउँ भन्नेसमेतको प्रतिवादीहरू कमलबहादुर, विष्णुमाया, निलम, आरती, आशिष, अभिशेषसमेतको प्रतिउत्तर पत्र । 

वादीका साक्षी वीरबहादुर मसरागीले वादी दाबीलाई समर्थन हुने गरी र प्रतिवादी कमलबहादुरको साक्षी कंशलाल लामाले प्रतिउत्तर पत्रलाई समर्थन हुने गरी गरेको बकपत्र । 

अदालतबाट मिति २०६५।९।२१ मा तायदाती फाँटवारी वादी प्रतिवादीबाट दाखेल गराउने आदेशबमोजिम वादी प्रतिवादीबाट दाखेल भएको तायदाती फाँटवारी मिसिल सामेल रहेको । 

यसै लगाउको दे.नं. २२९८ को अंश भरपाई बदर मुद्दा आज यस इजलासबाट वादी दाबी नपुग्ने ठहरी फैसला भएकोसमेतको आधारमा यी वादीले प्रतिवादीमध्येका निजका सासू विष्णुमाया, जितबहादुर, छत्रबहादुर, खडगबहादुर, इन्द्रमाया र अन्तमायाबाट अंश पाउने नभई वादीले आफ्नो पतिपिता एवं सौता, सौतेनी छोराछोरीहरूबाट मात्र ८ भागको २ भाग अंश छुट्टयाई लिन पाउने ठहर्छ भन्ने मिति २०६६।१२।१२ गतेको धनुषा जिल्ला अदालतको फैसला । 

अंशबन्डाको महलको १ र २ नं. विपरीत मिति २०६२।८।८ को र.नं. २६०९ को अंश भरपाईको कागज भएको छ । उक्त अंश भरपाई हामीहरूको अंश मार्नको लागि मात्र भएको हो । अंश भरपाई हुँदा हामीहरूको मन्जुरी तथा जानकारीसमेत थिएन । अंश भरपाईको कागज हामीहरूको अंश हक मार्नका लागि तयार भएको प्रस्ट छ । ने.का.प. २०५६ नि.नं. ६७१० अंक ४ पृष्ठ ३०४ मा प्रतिपादित कानूनी सिद्धान्तविपरीत सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दाबीबमोजिम फैसला गरी इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदन 

पत्र । 

वादी प्रतिवादीहरूको अंश नछुट्टिएका अंशियार भएकोमा वादी प्रतिवादीको मुख मिलेको देखिन्छ । प्रतिवादी कमलबहादुर क्यापछाकी वादीको लोग्ने र पिता भएको र निजले पाउने अंशबाट वादीले अंश पाउने हुन्छ । प्रतिवादीहरूको नाममा दर्ता भएको जग्गा विगाहा ५-१३-१३ धुर रहेको र उक्त जग्गाहरूको मूल्यको आधारमा प्रतिवादी कमलबहादुर क्यापछाकीले सगोलको सम्पत्तिबाट पूर्ण अंश प्राप्त नगरेको अवस्थामा वादीले पनि सगोलको सम्पत्तिबाट अंश प्राप्त गर्नसक्ने अवस्था देखिन आएन । प्रतिवादी कमलबहादुर क्यापछाकीले मात्र रू. ५०,०००।– प्राप्त गरेको र सोको आधार अंशबन्डाको भरपाईमा नखुलेको अवस्थामा सुरूबाट भएको फैसला फरक पर्न सक्ने देखिएकोले मुलुकी ऐन, अ.बं. २०२ नं.समेत बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने मिति २०६७।१०।१० को पुनरावेदन अदालत, जनकपुरको आदेश । 

सुरू धनुषा जिल्ला अदालतले वादीहरूले प्रतिवादी विष्णुमाया मगर्नीसमेतबाट अंश नपाउने गरेको हदसम्मको फैसला नमिलेकोले उक्त मिति २०६६।१२।१२ को फैसला त्यति हदसम्म उल्टी भई प्रतिवादीहरूबाट पेस हुन आएको तायदाती फाँटवारीमा उल्लिखित श्रीसम्पत्तिबाट पाँच भागको एक भाग प्रतिवादी कमलबहादुर क्यापछाकीको भागमा पर्न आउने श्रीसम्पत्तिको अंशबन्डाको महलको १७ नं. बमोजिम विवाह नभएका चार जना अंशियाराको विवाह खर्च परसारी बाँकी रहन आउने तायदातीमा उल्लिखित श्रीसम्पत्तिको सात भागको दुई भाग वादीहरूले अंश छुट्टयाई चलन चलाई लिन पाउनेसमेत ठहर्छ भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।२।९ को फैसला । 

पुनरावेदन अदालतको फैसलामा चित्त 

बुझेन । वादी डुकुमाया क्यापछाकीको पति कमलबहादुरले आफ्नो अंश भागबापतको नगदै रू.५०,०००।– मिति २०६२।८।८ मा बुझी लिई र.नं. २६०९ बाट अंशबन्डाको लिखत पास गराई सकेको छ । वादीहरूले हामी प्रतिवादीहरूबाट अंश पाउनु पर्ने होइन । आफ्नो पति पिताबाट मात्र अंश पाउनु पर्ने 

हो । पुनरावेदन अदालतले हामीबाट समेत अंश पाउने ठहराएको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर कायम राखी पाउँ भन्ने प्रतिवादीहरूको यस अदालतमा परेको पुनरावेदन पत्र । 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो । प्रस्तुत मुद्दामा सुरू धनुषा जिल्ला अदालतको फैसला केही उल्टी गरी वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहराएको फैसला मिलेको छ वा छैन र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो । 

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीमध्येको कमलबहादुर वादीहरूको पति पिता भएकोमा पति पिताले हेला गरी खान लाउन नदिएकाले फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी सोको अघिल्लो दिनसम्मको चल अचल सम्पत्तिको तायदाती फाँटवारी दाखिल गराई सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई ५ भागको १ भागलाई ८ भाग लगाई सो ८ भागको दुई भाग अंश दिलाई भराई पाउँ भन्ने वादीको दाबी रहेको देखिन्छ । 

३. सुरू धनुषा जिल्ला अदालतले वादीहरूका पति पिताले आफ्नो अंशबापत रू.५०,०००।– नगदै बुझिलिएकोले अन्य अंशियारबाट अंश प्राप्त गर्न नसकी आफ्नो पति पिता कमलबहादुर एवम् सौतातर्फबाट माग ८ भागको दुई भाग अंश छुट्टयाई लिन पाउने ठहराएको फैसला पुनरावेदन अदालत, जनकपुरले केही उल्टी गरी वादीहरूले सम्पूर्ण अंशियारबाट सो सम्पत्तिबाट अंश पाउने ठहराएको फैसलाउपर प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको रहेछ । 

४. वादीको पति पिता कमलबहादुरले आफ्नो अंश भागको सम्पत्तिबापत रू. ५०,०००।– नगदै बुझी लिई अन्य अंशियारसँग अंशबन्डा भई बन्डापत्रको लिखत पारित भइसकेको अवस्थामा वादीले निजकै पति पितासँग मात्र आफ्नो अंश भागको दाबी गर्न सक्ने भन्ने प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेको 

पाइन्छ । प्रतिवादीहरूले पुनरावेदन अदालत, जनकपुरको फैसलाउपर यस अदालतमा पुनरावेदन गर्दासमेत वादीहरू आफ्नो अंशियार नभई निजको पति पिता मात्र अंशियार भएकाले आफूहरूसँग अंशको दाबी गर्ने अधिकार वादीहरूसँग नभएको भन्ने जिकिर लिएको देखिन आउँछ । 

५. यस सम्बन्धमा प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अवलोकन गर्दा वादी र प्रतिवादीहरू बीचको पुस्ताबलीमा दुवै पक्षबाट कुनै विवाद गरिएको पाइँदैन । मूल अंशियार स्व. दलबहादुरकी श्रीमती विष्णुमाया मगर्नीका ४ छोरा र ३ छोरीको जन्म भएकोमा छोरीहरूको पहिले नै विवाह भई ४ छोराहरूमा प्रतिवादीहरू कमलबहादुर, जीतबहादुर, छत्रबहादुर र खडगबहादुर रहेको भन्ने देखिएको छ । प्रतिवादीहरू मध्येका कमलबहादुर वादी डुकुमाया क्यापछाकीका पति एवम् लक्ष्मी क्यापछाकीका पिता रहेको देखिन आएको छ । मूल अंशियार विष्णुमाया मगर्नी र निजका छोराहरू कमलबहादुर, जीतबहादुर, छत्रबहादुर र खड्गबहादुरबीच मिति २०६२।८।८ मा र.नं. २६०९ बाट बन्डापत्रको लिखत पारित गरी अंशबन्डा भएको भन्ने मिसिलबाट देखिएको छ । उक्त बन्डापत्र हुँदा प्रतिवादीहरूका नाममा दर्ता भएको ज.वि. ५-१३-१८ जग्गा अंशबन्डा भएको देखिएकोमा प्रतिवादी कमलबहादुरले रू. ५० हजार मात्र अंशबापत नगदै बुझेको भन्ने देखिन्छ । वादीहरूका पति पिताले सोही पारित बन्डापत्रबाट आफ्नो भागको अंशबापत रू. ५० हजार बुझिलिइसकेकाले निजबाट मात्र वादीहरूले अंश पाउन सक्ने भन्ने प्रतिवादीहरूको कथन रहेको देखिन आएको छ । 

६. वस्तुतः प्रतिवादीहरूबीच मिति २०६२।८।८ मा भएको बन्डापत्रको व्यहोरा हेर्दा अंशियारमध्ये कमलबहादुर क्यापछाकीले अंशबापत अंशियारसँग रू. ५० हजार नगदै बुझी आफ्नो अंशको सम्पूर्ण अंश भाग छाडि दिई अन्य अंशियारबीच मूल्य रू. ११,६०,०००।– पर्ने ज.वि. ५-१३-१८ जग्गा बन्डा गरिएको भन्ने उल्लेख भएको देखिन्छ । अन्य प्रतिवादीहरूबीच रू. ११,६०,०००।– पर्ने ज.वि. ५-१३-१८ जग्गा बन्डा हुने तर वादीहरूका पति पिता कमलबहादुरले रू ५० हजार मात्र अंश लिनुपर्ने विवेकसम्मत् कारण र आधार उक्त अंशबन्डाको लिखतमा खुलेको देखिँदैन । उक्त पारित बन्डापत्रको लिखतमा यी वादीहरू साक्षी बसेको वा निजहरूको समेत मन्जुरीमा उक्त लिखत पारित भएको भन्ने देखिएको छैन । 

७. अंशबण्डाको महलको १ र २ नं. को कानूनी व्यवस्थाअनुसार एकासगोलमा रहेका बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरी प्रत्येकलाई समानरूपमा वितरण हुने गरी अंशको बन्डा गर्नुपर्ने र सोही कानूनी व्यवस्थाबमोजिम सगोलका प्रत्येक अंशियारको अंशको सम्पत्तिउपर समानरूपमा हक हुने प्रत्याभूति गरिएको समेत पाइन्छ । अंशबण्डाको महलको उक्त व्यवस्थाले समान पुस्ताका अंशियारहरूबीच समानरूपमा अंशको बण्डा हुनुपर्ने कुराको प्रत्याभूति प्रदान गरेको भए पनि कुनै अंशियारले आफूखुसी अन्य अंशियारभन्दा कम अंश लिन्छु भन्नको लागि कुनै प्रकारको रोक लगाएको भने पाइँदैन । त्यस्तै कुनै अंशियारलाई आफूले पाउने अंश हकको परित्याग गर्नसमेत उक्त कानूनी व्यवस्थाले रोक लगाएको पाइँदैन । तर कुनै अंशियारले आफूले पाउने अंश हकको पूर्ण वा आंशिकरूपमा परित्याग गर्दछ र निजको सो आचरण एवम् व्यवहारबाट निजका हाँगातर्फका अर्को पुस्ताका अंशियार निरंशी हुने अवस्था सिर्जना हुन्छ भने र सो कार्यमा तल्लो पुस्ताको अंशियारको मन्जुरी छैन भने त्यस्तो अवस्थामा पनि अंश भागको सम्पत्ति परित्याग गर्न वा असमान किसिमको बन्डा स्वीकार गर्न अंशबन्डाको महलले छुट प्रदान गरेको देखिँदैन । अपितु यस्तो गरियो भने अंशबन्डाको महलको १ र २ नं. को व्यवस्थाविपरीत हुन जान्छ । वस्तुतः अंशबन्डाको महलको १ र २ नं. को व्यवस्था भनेको अंश पाउने व्यक्तिको नैसर्गिक हकको प्रत्याभूत गराउने कानूनी व्यवस्था हो । उक्त व्यवस्थाले कुनै अंशियारलाई आफ्नो भागको अंश पूर्ण वा आंशिकरूपमा परित्याग गर्न रोक नलगाएको भए पनि नियोजित र दुराशययुक्तरूपमा आफूपछिका अंशियारलाई निरंशी बनाउने उद्देश्यले अंश हक परित्याग गर्न छुट दिएको भन्ने देखिन आउँदैन ।

८. सामान्यतया सन्तानले आफ्नो बाबुआमाबाट नै अंश पाउने हो । बाबुले आफ्नो पुर्ख्यौली सम्पत्तिबाट आफ्ना अन्य अंशियारबाट अंश पाउने 

हो । तर सगोलमा बसेको अवस्थामा बाबुबाजे छोरानाति पनातिसमेत एक आपसमा भरपर्ने गरेको हुन्छ । अविभाजित सम्पत्तिबाट नै सबैको निर्वहन गर्नुपर्ने हुन्छ । अविभाजित सगोलको सम्पत्तिमा प्रत्यक्षतया अंशको हक लाग्ने पहिलो पिँढीको अंशियारहरूकै हक रहन्छ र अंशियारका छोराछोरी नाति नातिनीहरूलाई अंशियारको नाताबाट अर्को चरणको परोक्ष हक रहन जान्छ । तथापि ती सबै हकहरू कानूनबमोजिमकै हक हुन्छन् । सगोलको अमुक सम्पत्ति अविभाजित रहँदासम्म सगोलका सबै अंशियारहरू र अंशियारका सम्पत्तिमा हक लाग्ने तिनका सन्तानहरूको समेत हक र हित रहने हुनाले अविभाजित सगोलको सम्पत्तिमाथि प्रथम पुस्ताका अंशियारहरूको मात्रै आफूखुसी गर्न पाउने सम्पत्तिको रूपमा लिन मिल्ने देखिँदैन । यस अर्थमा पितापुर्खाको पालाको सम्पत्तिबाट अंशियारका सन्तानहरूले अंश पाउने हुनाले प्रथम वा अघिल्ला पुस्ताका अंशियारले कानूनबमोजिम भागशान्ति न्यायोचितरूपमा पाउने भई सो यथार्थमा पनि लिए पाएको हुन जरूरी छ । 

९. अंश अपुतालीको हक सम्पत्तिको हकसँग सम्बन्धित छ । अंशको हकको कुरा गर्दा अंशियारले अंश लिनुपर्ने भन्ने बाध्यता सिर्जना गर्न मिल्दैन । हक लाग्ने अंशियारहरूले आफ्नो हक परित्याग गर्न नपाउने होइन । तर त्यस्तो हक परित्याग गरेको कुरा निजको स्वेच्छामा आधारित हुनुपर्छ र त्यसले निजको हकमा सम्म बन्धनकारी हुन सक्दछ । अंशियारको हकमा अंशियार र निजको स्वास्नी छोराले समेत मन्जुरीले हक परित्याग गर्दछ भने त्यसमा अरूले चिन्ता लिनुपर्ने कुरा पनि हुँदैन । तर प्रथम वा अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्टयाउने नाममा अंश नलिने गरी वा पाउने हिसाब शान्ति नलिई वा अति कम लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्दछ र त्यसमा निजहरूको मन्जुरी लिइएको छैन भने त्यसको भिन्न कानूनी परिणाम रहन्छ ।

१०. सामान्यतया बाबु आमाले आफ्नो सन्तानको अंश हक वा कानूनबमोजिम पाउने भागमा नै प्रतिकूल असर पर्ने गरी व्यवहार गर्ने अपेक्षा 

गरिँदैन । तर बाबु वा आमाबीच र छोराछोरीबीच कुनैरूपमा सम्बन्ध बिग्रेको अवस्थामा त्यस्तो प्रतिकूल परिणाम निकाल्ने गरी आत्मघातीरूपमा पनि अंश लिनु दिनु गर्दैनन् भन्न सकिँदैन । सगोलको सम्पत्तिमा प्रत्यक्ष वा परोक्षरूपमा कानूनी हक वा हित भएका सन्तानहरूको अंश अपुतालीको हकमा अघिल्लो पुस्ताको अंशियार भएको नाताले जसरी पनि प्रभाव पार्न पाइन्छ भन्ने कुरा कानून, न्याय र विवेकसङ्गत हुँदैन । त्यसैले अंशियारहरूबीच अंश लिनुदिनु गर्दा अंशियारले कानूनबमोजिम भाग शान्ति लिए पाएको छ वा छैन  र त्यसबाट तिनका आआफ्नो सन्तानमा असर पर्न गएको छ वा छैन भन्ने कुरा हेर्न जरूरी 

हुन्छ । प्रस्तुत मुद्दामा त्यही स्थिति विद्यमान भएको छ ।

११. नेपाल कानून पत्रिका २०७१, फागुन नि.नं. ९२७९ मा प्रकाशित पुनरावेदक विक्कीरत्न शाक्यसमेत प्रत्यर्थी कुलरत्न शाक्यसमेत भएको अंशचलन मुद्दामा यस अदालतको पूर्ण इजलासबाट वादीका पति पिताले आफ्नो हकमा जे गर्न सके पनि निजको अंश भागमा सरोकार रहने र कानूनबमोजिम अंश प्राप्त गर्न सक्ने पत्नी वा सन्तानको हकमा अंश भागै कटौती हुने गरी अत्यन्तै न्यून भाग अंश लिए पनि पति पिताको सो कार्यले वादीहरूको हकमा बन्धनकारी परिणाम निकाल्न सक्ने हुँदैन । बन्डापत्रमा वादीहरूको मन्जुरी वा सहमतिमा भएको भन्ने नदेखिएको अवस्थामा आफूभन्दा तल्लो पुस्ताको अंश हकमा असर पार्ने उद्देश्यले तयार पारिएको उक्त बण्डापत्रले अंशबण्डाको महलको १ र २ नं. बमोजिमको हैसियत प्राप्त गर्न सक्ने  अवस्था नदेखिने भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । 

१२. प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा मूल अंशियार स्व. दलबहादुरको श्रीमती विष्णुमाया मगर्नीका चार छोराहरूमा कमलबहादुर, जीतबहादुर, छत्रबहादुर र खडगबहादुरबीच मिति २०६२।८।८ मा भएको बन्डा पत्रमा वादीहरूका पति पिता कमलबहादुरले पचास हजार रूपैयाँ मात्र अंशबापत बुझिलिएको तर अन्य अंशियार प्रतिवादीहरूले ज.वि. ५-१३-१८ जग्गा बन्डा गरी लिएको देखिएको र सो बन्डापत्रमा वादीहरूलाई साक्षी राखिएको वा निजहरूको मन्जुरी लिइएको अवस्था नदेखिएकाले प्रतिवादीहरूको आचरण एवम् व्यवहार हेर्दा प्रतिवादीहरूबीच भएको उक्त बन्डापत्र पैतृक सम्पत्तिको न्यायपूर्ण तरिकाले बन्डा गर्ने उद्देश्यको नभई अंश पाउने अधिकार भएका तल्लो पुस्ताका अंशियार यी वादीहरूको अंश हक अपहरण गरी निरंशी बनाउने उद्देश्य खडा गरिएको बन्डापत्र भएको भन्ने देखिन आएकोले सुरू फैसला केही उल्टी गरी प्रतिवादीहरूबाट पेस हुन आएको तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिबाट पाँच भागको एक भाग प्रतिवादी कमलबहादुरको भागमा पर्न आउने सम्पत्तिको अंशबन्डाको महलको १७ नं. बमोजिम विवाह नभएका चार जना अंशियारको विवाह खर्च परसारी बाँकी रहन आउने तायदातीमा उल्लिखित सम्पत्तिको अंशियारमध्येकी कमलबहादुरकी छोरी निलम क्यापछाकीको विवाह भई अंशियार नरहेको भन्ने उल्लेख भएकाले सात भागको दुई भाग अंश वादीहरूले छुट्टयाई लिन पाउने ठहराएको पुनरावेदन अदालत, जनकपुरको फैसला मनासिब देखिन आयो । 

१३. तसर्थ उपर्युक्त आधार र कारणसमेतबाट सुरू धनुषा जिल्ला अदालतको फैसला केही उल्टी गरी वादीहरूले जम्मा सम्पत्तिको सात भागका दुई भाग अंश छुट्टयाई लिन पाउने ठहराएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।२।९ का फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

१. वादीले प्रतिवादीबाट भरी पाउने ठहरेको कोर्टफी रू. ३००।– पुनरावेदन अदालत, जनकपुरमार्फत यस अदालतमा पुनरावेदन गर्दा सो अदालतको र.नं. १२१ मिति २०६८।१०।४ बाट धरौटी राखेको देखिँदा उक्त धरौटीबाट कोर्टफी भराई पाउँ भनी वादीको ऐनका म्यादभित्र दरखास्त परे वादीहरूलाई भराई दिनु भनी पुनरावेदन अदालत, जनकपुरलाई लेखी पठाउनू । 

२. प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु । 

न्या.गोविन्दकुमार उपाध्याय

 

इजलास अधिकृत: विश्वनाथ भट्टराई

इति संवत् २०७२ साल मङ्सिर १६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु