निर्णय नं. ९६७४ - वैदेशिक रोजगार कसुर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
फैसला मिति : २०७३।०४।१९
मुद्दाः- वैदेशिक रोजगार कसुर ।
०७१-CR-०२३६
पुनरावेदक / वादी : कमल गिरीसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला तेह्रथुम, ओयाग्जुङ गाउँ विकास समिति वडा नं. ५ स्थायी ठेगाना भई हाल काठमाडौंं जिल्ला, मनमैंजु गाउँ विकास समिति वडा नं. ८ डेरा गरी बस्ने तुलसीप्रसाद गिरी
०७१-CR-०५८०
पुनरावेदक / प्रतिवादी :जिल्ला तेह्रथुम, ओयाग्जुङ गाउँ विकास समिति वडा नं. ५ स्थायी ठेगाना भई हाल काठमाडौंं जिल्ला, मनमैंजु गाउँ विकास समिति वडा नं. ८ डेरा गरी बस्ने तुलसीप्रसाद गिरी
विरूद्ध
प्रत्यर्थी/वादी : कमल गिरीसमेतको जाहेरीले नेपाल सरकार
प्रमाण कानूनले लिखत प्रमाणलाई सर्वोत्तम प्रमाण मान्दछ । त्यसैले लिखतमा उल्लेख भएको कुरा अन्यथा प्रमाणित भएमा बाहेक सोमा उल्लेख भएको कुरालाई भरपर्दो र बस्तुपरक प्रमाणको रूपमा अदालतले ग्रहण गर्नुपर्ने ।
(प्रकरण नं. ५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता राम घिमिरे
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः-
माननीय अध्यक्ष श्री मीरा खड्का
माननीय सदस्य श्री डा. रवि शर्मा अर्याल
वैदेशिक रोजगार न्यायाधीकरण
फैसला
न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य ठहर यसप्रकार छः-
विपक्षी तुलसीप्रसाद गिरीले हामी जाहेरवालाहरूलाई वैदेशिक रोजागारीका लागि अफगानिस्तान पठाउने भनी म प्रकाश भारतीबाट रू.३,००,०००।– रूद्रबहादुर थापाबाट रू.२,९५,०००।– र कमल गिरीबाट रू.३,५०,०००।– बुझी लिएको र दुवईसम्म पुर्याई अलपत्र अवस्थामा पारी उक्त भने अनुसारको मूलुकमा नपठाई हामीहरूको रकम ठगी गरेकाले हामीहरूको बिगो र हर्जाना दिलाई निज विपक्षीलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रकाश भारतीसमेत जना ३ को संयुक्त उजुरी ।
विपक्षी तुलसी गिरीले म निवेदकको भाइ गजेन्द्र वि.क.लाई वैदेशिक रोजगारमा पठाउने भनी मिति २०६६।१०।२२ मा रू.३,००,०००।– लिई हालसम्म उक्त मूलुकमा नपठाई रकमसमेत फिर्ता नगरी लुकीछुपी हिड्ने गरेकाले निजलाई पक्राउ गरी मेरो बिगो र हर्जानासमेत दिलाई भराई दिई निज विपक्षीलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको विनोद वि.क.को उजुरी ।
मैले वैदेशिक रोजगारमा अफगानिस्तान पठाउने भनेर जाहेरवाला प्रकाश भारतीसँग रू.३,००,०००।–, रूद्रबहादुर थापासँग रू.३,००,०००।–, गजेन्द्रबहादुर वि.क. बाट रू.३,००,०००।– लिएर झापा जिल्ला दुवागढी गाउँ विकास समिति वडा नं. ९ बस्ने राजकुमार श्रेष्ठलाई दिएको हो । सो पैसा बुझाएको कागज पछि पेस गर्नेछु । जाहेरवालाहरूबाट लिएको रकममध्ये प्रकाश भारतीलाई रू.१,५०,०००।– र रूद्रबहादुर थापालाई रू.१,००,०००।– फिर्ता गरिसकेको छु । सो रकम फिर्ता गरेको कागज पछि पेस गर्नेछु । कागजमा भएको सहिछाप र व्यहोरा मेरो हो । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति लिएको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी तुलसीप्रसाद गिरीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
जाहेरवाला कमल गिरीसँग मेरो चिनजान छैन । निजबाट मैले रू.३,५०,०००।– लिई दुवई पुर्याई अलपत्र पारेको भन्ने जाहेरी व्यहोरा झुट्ठा हो भनी प्रतिवादी तुलसीप्रसाद गिरीले वैदेशिक रोजगार विभागमा गरेको ततिम्बा बयान ।
प्रतिवादीहरू तुलसीप्रसाद गिरी र राजकुमार श्रेष्ठले जाहेरवालाहरूलाई वैदेशिक रोजगारका लागि अफगानिस्तान पठाई दिने भनी झुट्टा प्रलोभन देखाई रकम लिई आरोपित कसुर गरेको पुष्टि हुन आएकाले यी प्रतिवादीहरू तुलसीप्रसाद गिरी र राजकुमार श्रेष्ठलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुरमा ऐ. ऐनको दफा ४३ बमोजिम हदैसम्मको सजाय गरी जाहेरवालाहरूबाट लिएको जम्मा बिगो रू.१२,४५,०००।– र सोको ५० प्रतिशतले हुने हर्जाना रू.६,२२,५००।– समेत गरी जम्मा रू.१८,६७,५००।– दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।
मैले जाहेरवालासँग रकम लिएको होइन । मलाई जमानी राखेर राजकुमार श्रेष्ठले पैसा लिएको हो । मैले विदेश पठाएको पनि होइन । जाहेरी व्यहोरा झुट्टा हो । मैले वैदेशिक रोजगारको व्यवसाय गरेको
छैन । राजकुमार श्रेष्ठले कागज गरिदिनु म पछि पैसा दिन्छु भनेकोले मैले जाहेरवालाहरूलाई कागज गरदिएको
हो । वैदेशिक रोजगारको कागज भन्ने मलाई थाहा थिएन । व्यहोरा मेरो होइन, सहिछाप मेरो हो । अभियोग मागदाबी अनुसारको कार्य नगरेकोले मैले सजाय पाउनुपर्ने होइन । जाहेरवालाहरूको रकम मैले नलिएको भए तापनि प्रकाश भारतीलाई रू.१,५०,०००।– र रूद्रबहादुर थापालाई रू.१,००,०००।– दिएको
छु । अभियोग खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी तुलसीप्रसाद गिरीले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बयान ।
प्रतिवादी तुलसीप्रसाद गिरीलाई जाहेरवालाहरूलाई कागज गरिदिनु भनेर मैले भनेको होइन र रकम पछि दिन्छु भनेको पनि होइन । प्रतिवादीको उक्त बयान झुट्टा हो । अभियोग मागदाबीबमोजिम मैले कुनै कसुर नगरेको हुँदा सजाय पाउनुपर्ने होइन । जाहेरवालाहरूलाई म चिन्दिन । मैले जाहेरवालाबाट र प्रतिवादी तुलसीप्रसाद गिरीबाट पनि मैले रकम लिएको होइन । तुलसीप्रसाद गिरीले विभागमा र न्यायाधिकरणमा बयान गर्दा मलाई किन पोल गरे थाहा छैन । तुलसीप्रसाद गिरीले मलाई जबरजस्ती कागज गराई त्यसैको आधारमा निजको भाइ राजन गिरीले म विरूद्ध जाहेरी दिई यसै न्यायाधिकरणमा मुद्दा नं. २३३ दायर गरी धरौटीमा रहेको छ । तसर्थ अभियोग दाबी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी राजकुमार श्रेष्ठले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बयान ।
यी प्रतिवादीले विदेश पठाउने मानिसलाई चिनेको छ भनेको आधारमा निजउपर मुद्दा दिएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी राजकुमार श्रेष्ठका साक्षी कमल चुडालले गरेको बकपत्र ।
मिति २०६८।१।२७ मा दिएको निवेदनको व्यहोरा र सोमा भएको सही मेरै हो । उक्त निवेदनमा उल्लेख भएअनुसार प्रतिवादीले मेरो बहिनी ज्वाई गजेन्द्र वि.क.लाई अफगानिस्तान पठाई दिन्छु भनी रू. ३,००,०००।– लिएर पठाउन सक्नु भएन । दुवईमा लगेर पठाउन नसकी नेपाल फर्किएका हुन् । निज प्रतिवादीले रकम बुझी गरिदिएको सक्कल लिखत यसै बकपत्र साथ पेस गर्दछु । प्रमाण लगाई पाउँ भन्नेसमेत व्यहोराको जाहेरवाला विनोद वि.क.ले गरेको बकपत्र ।
प्रतिवादी तुलसीप्रसाद गिरीले वैदेशिक रोजगारमा अफगानिस्तान पठाउने भनी रू. ३,००,०००।– लिई दुवई पुर्याई २ महिना त्यहाँ राखी नेपाल फर्काएका हुन् । प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरी मेरो बिगो रकम र सोको हर्जानासमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको जाहेरवाला कमल गिरीले गरेको बकपत्र ।
प्रतिवादीले जाहेरवालाहरूलाई वैदेशिक रोजगारमा पठाइदिने भनी रकम बुझिलिई गरिदिएको लिखतहरूबाट यी प्रतिवादी तुलसीप्रसाद गिरीले वादीले लगाएको अभियोगबमोजिम वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ को कसुर गरेको देखिन आएकाले निज प्रतिवादीलाई सोही ऐनको दफा ४३ अनुसार एक वर्ष आठ महिना कैद र रू.१,६०,०००।– जरिवाना हुने ठहर्छ । बिगोको हकमा जाहेरवाला कमल गिरीसँग वैदेशिक रोजगारमा पठाउनको लागि यी प्रतिवादी तुलसीप्रसाद गिरीले रकम लिएको वादी दाबी पुष्टि हुने सकेको नदेखिँदा कमल गिरीको बिगो भराई पाउँ भन्ने हदसम्मको वादी दाबी पुग्न
सक्दैन । अरू जाहेरवालाहरूले वादी दाबीबमोजिमको हर्जानासहितको बिगो यी प्रतिवादी तुलसीप्रसाद गिरीबाट भरी पाउने ठहर्छ । वादीले प्रतिवादी राजकुमार श्रेष्ठउपर आफूले लगाएको अभियोग प्रमाणित गर्न सकेको नदेखिँदा निज प्रतिवादीलाई पनि वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ को कसुरमा दफा ४३ बमोजिम सजाय गरी निज प्रतिवादीसमेतबाट जाहेरवालाहरूलाई हर्जानासहितको बिगो भराई पाउँ भन्ने वादीको अभियोग मागदाबी पुग्न सक्दैन । प्रतिवादी राजकुमार श्रेष्ठले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्नेसमेतको वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७०।३।२३ को फैसला ।
उक्त फैसलामध्ये जाहेरवाला कमल गिरीको बिगो नठहर्याई प्रतिवादी तुलसीप्रसाद गिरीलाई कम सजाय गर्ने गरी र प्रतिवादी राजकुमार श्रेष्ठलाई सफाइ दिने गरी भएको हदसम्म चित्त बुझेन । जाहेरवाला कमल गिरीले आफूलाई प्रतिवादीले दुई पटकसम्म दुवईसम्म पुर्याई अलपत्र छाडिदिएको भनी दिएको जाहेरी दरखास्त, निजले बकपत्रको क्रममा पेस गरेको सम्झौतापत्र, इन्ट्री परमिट, कामदार विमा गराएको रसिद, श्रम स्वीकृतिका लागि रकम बुझाएको नगदी रसिद, आते जाते प्लेन टिकटहरूले समेतका प्रमाणको मूल्याङ्कन नगरी भएको फैसला त्रुटिपूर्ण छ । जाहेरवालालाई विदेश दुवईसम्म पठाई सकेको अवस्थामा प्रतिवादी तुलसीप्रसाद गिरीलाई सोही ऐनको दफा ४३ अनुसार पुरै सजाय नै हुनुपर्नेमा आधा सजाय गरेको पनि त्रुटिपूर्ण भयो ।
प्रतिवादी राजकुमार श्रेष्ठले न्यायाधिकरणमा बयान गर्दा कसुरमा इन्कार रहे तापनि सह अभियुक्त तुलसीप्रसाद गिरीले मौकामा बयान गर्दा निज प्रतिवादीलाई पोल गरी गरेको बयान, राजकुमार श्रेष्ठले जाहेरवालाहरूलाई रकम लिएको कागज गरिदिन म पछि पैसा दिन्छु भनी भनेकाले कागज गरिदिएको हो भनी तुलसीप्रसाद गिरीले यी प्रतिवादीलाई पोल गरी न्यायाधिकरणसमक्ष गरेको बयानबाट संगठितरूपमा हुन गएको प्रस्तुत मुद्दाको कसुरमा यी प्रतिवादी राजकुमार श्रेष्ठको प्रमुख भुमिका रहेको देखिन आएकोले निजलाई कसुरबाट पूर्ण सफाइ दिई भएको फैसला त्रुटिपूर्ण छ । तसर्थ उल्लिखित हदसम्मको सुरू फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम पूर्ण सजाय गरी जाहेरवाला कमल गिरीबाट लिएको बिगो रकम र हर्जाना रकमसमेत दिलाई भराई पाउँ भन्नेसमेत वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
उक्त फैसला चित्त बुझेन । म पुनरावेदकले हालसम्म कोही कसैलाई वैदेशिक रोजगारमा पठाई दिने भनी रकम लिएको छैन । यी जाहेरवालासँग राजकुमार श्रेष्ठले मलाई जमानी राखी पैसा लिएका हुन् । अनुसन्धानको साबिती बयानलाई इन्कार गरी न्यायाधिकरणमा भएको साँचो बयानको कुनै सुनुवाइ नै गरिएन । अनुसन्धान अधिकृतसमक्षको बयान झुट्ठा हुँदा प्रमाणमा लिन मिल्दैन । अन्य प्रमाण नहेरी जाहेरवालाको जाहेरी र लिखतका भरमा फैसला भएको छ । जुन सरासर त्रुटिपूर्ण छ । जाहेरवालाहरू प्रकाश भारती र रूद्रबहादुर थापा न्यायाधिकरणसमक्ष उपस्थित नभएकाले मेरो विरूद्ध प्रमाण लगाउन मिल्दैन । जाहेरवाला विनोद वि.क.को बकपत्र आफैँंमा विरोधाभाषापूर्ण छ । निज विनोद वि.क. आफैँ पीडित नभएको र पीडित भनिएका गजेन्द्र विश्वकर्मालाई उपस्थित गराउन सकिएको छैन । म वैदेशिक रोजगारको व्यवसाय नगर्ने व्यक्तिलाई इजाजत पत्र लिनुपर्ने वा नपर्ने कुरासित कुनै सम्बन्ध नै छैन । तसर्थ उक्त फैसला बदर गरी न्याय दिलाई पाउँ भन्नेसमेतको प्रतिवादी तुलसीप्रसाद गिरीले यस अदालतमा दिएको पुनरावेदनपत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री राम घिमिरेले जाहेरवाला कमल गिरीले आफूलाई प्रतिवादीले दुई पटकसम्म दुवईसम्म पुर्याई अलपत्र छाडि दिएको भनी किटानी जाहेरी दिई सो कुरा निजले बकपत्रबाट समेत पुष्ट्याँई गरेका
छन् । निजले बकपत्रसाथ पेस गरेका सम्झौता पत्र, इन्ट्री परमिट, कामदार बिमा गराएको रसिद, श्रम स्वीकृतिका लागि रकम बुझाएका नगदी रसिद, प्लेन टिकटहरू पेस गरेकोमा ती प्रमाणहरूलाई ग्रहण नगरी फैसला भएको छ । जाहेरवालालाई विदेश दुवईसम्म पठाई सकेको देखिएको अवस्थामा प्रतिवादी तुलसीप्रसाद गिरीलाई पुरै सजाय गरिनुपर्नेमा आधा सजाय मात्र गरियो । सहप्रतिवादी तुलसीप्रसाद गिरीले प्रतिवादी राजकुमार श्रेष्ठलाई पोल गरी गरेको बयानबाट प्रतिवादी राजकुमार श्रेष्ठको प्रस्तुत मुद्दामा प्रमुख भूमिका देखिँदा देखिँदै निजलाई सफाइ दिएको मिलेको छैन । तसर्थ सुरू फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिमको सजाय गरी जाहेरवाला कमल गिरीबाट लिएको बिगो रकम र हर्जानासमेत दिलाई भराई पाउनु पर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्त बहस जिकिर सुनि मिसिल अध्ययन गरी हेर्दा वादी नेपाल सरकार र प्रतिवादी तुलसीप्रसाद गिरीको पुनरावेदन जिकिर हेरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा वादी नेपाल सरकार र प्रतिवादी तुलसीप्रसाद गिरीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सुरू फैसला मिलेको छ, छैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी तुलसीप्रसाद गिरीले अनुसन्धानको क्रममा विपक्षी राजकुमार श्रेष्ठसमेतलाई उक्त वारदातमा पोल गरी बयान गरेकोले प्रतिवादीद्वय तुलसीप्रसाद गिरी र राजकुमार श्रेष्ठको संलग्नतामा वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर भए गरेको पुष्टी भएकाले निज प्रतिवादीहरू द्वयलाई सोही ऐनको दफा ४३ बमोजिम हदैसम्मको सजाय गरी जाहेरवालाहरूबाट लिएको जम्मा बिगो रू.१२,४५,०००।– र सोको ५०% ले हुने हर्जानासमेत जाहेरवालाहरूलाई दिलाई भराई पाउन माग दाबी लिई अभियोग पत्र दायर भएको रहेछ । प्रतिवादी तुलसीप्रसाद गिरीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ को कसुरमा सोही ऐनको दफा ४३ अनुसार एक वर्ष आठ महिना कैद र रू.१,६०,०००।– जरिवाना हुने, कमल गिरीको बिगो भराई पाउँ भन्ने दाबी नपुग्ने, अरू जाहेरवालाहरूको वादी दाबीबमोजिमको हर्जानासहितको बिगो प्रतिवादी तुलसीप्रसाद गिरीबाट जाहेरवालाहरूले भराई पाउने र प्रतिवादी राजकुमार श्रेष्ठले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई वैदेशिक रोजगार न्यायाधिकरणबाट फैसला भएको पाइयो । उक्त फैसलामध्ये प्रतिवादी तुलसीप्रसाद गिरीलाई कम सजाय गरेको तथा जाहेरवाला कमल गिरीको हर्जानासहितको बिगोउपरको दाबी नपुग्ने र प्रतिवादी राजकुमार श्रेष्ठलाई सफाइ दिने ठहर्याएको हदसम्म चित्त बुझेन भनी वादी नेपाल सरकारको र आफूले आरोपित कसुर नगरेकोमा कसुरदार ठहर गरी हर्जानासहितको बिगो भराइदिने गरी भएको फैसला चित्त बुझेन भनी प्रतिवादी तुलसीप्रसाद श्रेष्ठको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. विपक्षी तुलसीप्रसाद गिरीले हामी जाहेरवालाहरूलाई वैदेशिक रोजागारीका लागि अफगानिस्तान पठाउने भनी म प्रकाश भारतीबाट रू.३,००,०००।– रूद्रबहादुर थापाबाट रू.२,९५,०००।– र कमल गिरीबाट रू.३,५०,०००।– बुझी लिई दुवईसम्म लगि अलपत्र छाडेको र जाहेरवालाहरू स्वदेश फर्की आई रकम माग्दा नदिई ठगी गरेको भनी परेको जाहेरीबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । त्यसैगरी विपक्षी तुलसीप्रसाद गिरीले गजेन्द्र वि.क.लाई वैदेशिक रोजगारमा पठाउने भनी मिति २०६६।१०।२२ मा रू.३,००,०००।– लिई हालसम्म उक्त मूलुकमा नपठाई रकमसमेत फिर्ता नगरेको भनी विनोद वि.क.को अर्को छुट्टै उजुरिसमेत रहेछ । विदेश अफगानिस्तान पठाई दिन भनी पुनरावेदक प्रतिवादी तुलसीप्रसाद गिरीले जाहेरवाला मध्येका प्रकाश भारती र गजेन्द्रबहादुर वि.क.बाट रू.३,००,०००।– का दरले र रूद्रबहादुर थापाबाट रू.२,९५,०००।– रकम बुझिलिएको भन्ने व्यहोराको कागज निज जाहेरवालाहरूले जाहेरी दरखास्त साथ पेस गरेको देखिन्छ । पुनरावेदक तुलसीप्रसाद गिरीले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजत पत्र नलिएको तथ्यमा कुनै विवाद देखिँदैन । मैले वैदेशिक रोजगारमा अफगानिस्तान पठाउने भनेर जाहेरवाला प्रकाश भारतीसँग रू.३,००,०००।–, रूद्रबहादुर थापासँग रू.३,००,०००।–, गजेन्द्रबहादुर वि.क.बाट रू.३,००,०००।– लिएर राजकुमार श्रेष्ठलाई दिएको हो । सो पैसा बुझाएको कागज पछि पेस
गर्नेछु । जाहेरवालाहरूबाट लिएको रकममध्ये प्रकाश भारतीलाई रू.१,५०,०००।– र रूद्रबहादुर थापालाई रू. १,००,०००।– फिर्ता गरिसकेको छु । सो रकम फिर्ता गरेको कागज पछि पेस गर्नेछु । कागजमा भएको सहिछाप र व्यहोरा मेरो हो । जाहेरवाला कमल गिरीसँग मेरो चिनजान छैन । निजबाट मैले रू.३,५०,०००।– लिई दुवई पुर्याई अलपत्र पारेको भन्ने जाहेरी व्यहोरा झुट्ठा हो भनी पुनरावेदक प्रतिवादीले अनुसन्धान अधिकृतसमक्ष बयान गरेको देखिन्छ । निज पुनरावेदक प्रतिवादीले न्यायाधिकरणसमक्षको बयानमा मैले जाहेरवालासँग रकम लिएको होइन । मलाई जमानी राखेर राजकुमार श्रेष्ठले पैसा लिएको हो । मैले विदेश पठाएको पनि होइन । जाहेरी व्यहोरा झुट्टा हो । मैले वैदेशिक रोजगारको व्यवसाय गरेको छैन । राजकुमार श्रेष्ठले कागज गरिदिनु म पछि पैसा दिन्छु भनेकोले मैले जाहेरवालाहरूलाई कागज गरदिएको हो । वैदेशिक रोजगारको कागज भन्ने मलाई थाहा थिएन । व्यहोरा मेरो होइन, सहिछाप मेरो हो । अभियोग मागदाबीअनुसारको कार्य नगरेकोले मैले सजाय पाउनुपर्ने होइन भनी आरोपित कसुरमा इन्कार रहेता पनि अनुसन्धान अधिकृतसमक्ष डर धाक देखाई वा कुटपिट गरी इच्छाविपरीत बयान गराइएको हो भनी जिकिर लिएको देखिँदैन । साथै निजले न्यायाधिकरणसमक्ष गरेको बयानको स.ज.८ मा अनुसन्धान अधिकृतसमक्ष गरेको बयानको व्यहोरा र सहिछाप मेरै हो भनी लेखाएको देखिँदा प्रमाण ऐन, २०३१ को दफा ९ ले निजको अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रमाणको लागि ग्राह्य नै रहेको देखिन्छ ।
४. यी पुनरावेदकले अनुसन्धान अधिकृतसमक्ष बयान गर्दा जाहेरीसाथ पेस भएका लिखतमा लागेको सहिछाप र व्यहोरा आफ्नै भएको कुरालाई स्वीकार गरेको देखिन्छ । उक्त लिखतअनुसारको रूपैयाँ बुझिलिएर प्रतिवादी राजकुमार श्रेष्ठलाई दिएको हुँ । सो रकम बुझाएको कागज पछि पेस गर्नेछु भनी पुनरावेदकले जिकिर लिएता पनि राजकुमार श्रेष्ठलाई रकम बुझाएको कागज न्यायाधिकरणसमक्ष समेत पेस नगरी तारेखै गुजारी बसेको देखिन्छ । प्रतिवादी तुलसीप्रसाद गिरीलाई जाहेरवालाहरूलाई कागज गरिदिनु भनेर मैले भनेको होइन र रकम पछि दिन्छु भनेको पनि होइन । प्रतिवादीको उक्त बयान झुट्ठा हो । जाहेरवालाहरूलाई म चिन्दिन । जाहेरवालाबाट र प्रतिवादी तुलसीप्रसाद गिरीबाट पनि मैले रकम लिएको होइन भनी प्रतिवादी राजकुमार श्रेष्ठले न्यायाधिकरणसमक्ष बयान गरेको देखिन्छ । जाहेरवालाहरूबाट पेस भएका मिति २०६६।१०।२२ का थान ३ लिखत व्यहोरा हेर्दा पनि जाहेरवालाहरूबाट यिनै पुनरावेदक प्रतिवादी तुससीप्रसाद गिरीले रकम बुझिलिएको व्यहोरा उल्लेख भएको देखिन्छ । जाहेरवालाहरूले पनि यिनै पुनरावेदकले रकम बुझिलिएको दाबी लिई उजुरी गरेको र अर्का प्रतिवादी राजकुमार श्रेष्ठलाई पोल गरेको देखिँदैन । जाहेरवालामध्येका विनोद वि.क.ले जाहेरी व्यहोरालाई पुष्टि गरी बकपत्र गरेको देखिन्छ ।
५. प्रमाण कानूनले लिखत प्रमाणलाई सर्वोत्तम प्रमाण मान्दछ । त्यसैले लिखतमा उल्लेख भएको कुरा अन्यथा प्रमाणित भएमा बाहेक सोमा उल्लेख भएको कुरालाई भरपर्दो र वस्तुपरक प्रमाणको रूपमा अदालतले ग्रहण गर्नुपर्दछ । वादी पक्षले लिखत नै पेस गरी अभियोग दाबीलाई पुष्टि गरेको र सो लिखतमा लागेको सहि र व्यहोरा मेरो हो भनी जाहेरवालाले पेस गरेको लिखतलाई स्वीकार गरेको देखिएकोले यी पुनरावेदकले विदेश अफगानिस्तान पठाइदिन भनी जाहेरवालाहरू रूद्रबहादर थापा, प्रकाश भारती र गजेन्द्रबहादुर वि.क. बाट रकम बुझिलिएको कुरा लिखत प्रमाणबाट प्रमाणित हुन आयो ।
६. पुनरावेदक प्रतिवादीले जाहेरवालाहरू प्रकाश भारती र रूद्रबहादुर थापा न्यायाधिकरणसमक्ष उपस्थित नभएकाले मेरो विरूद्ध प्रमाण लगाउन मिल्दैन भनी लिएको जिकिरतर्फ हेर्दा न्यायाधिकरणबाट निज जाहेरवालासमेतका व्यक्तिहरूलाई बकपत्रको लागि उपस्थित गराइदिन लेखी पठाएकोमा रोजगारीको सिलसिलामा जाहेरवाला गजेन्द्रबहादुर वि.क. मलेसियामा र प्रकाश भारती बहराइनमा गएको कारण बकपत्रको लागि उपस्थित हुन नसकेको भनी सो मूलुकमा भएको प्रमाणसमेत संलग्न गरी न्यायाधिकरणसमक्ष जानकारी गराएको देखिन्छ । यस्तो स्थितीमा निज जाहेरवालाहरू उपस्थित हुन नसक्नु स्वाभाविक छ । यी प्रतिवादीले जाहेरवालाहरूबाट रकम लिई कागज गरी दिएको तथ्य समर्थित भएबाट निज जाहेरवालाहरू बकपत्र गर्न उपस्थित हुन नसकेको कारणले प्रतिवादीले कसुरबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने जिकिर न्याय, विवेक र तर्कसङ्गत देखिन आएन ।
७. प्रतिवादी राजकुमार श्रेष्ठलाई सफाइ दिएको मिलेन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा जाहेरवालाहरूले निज राजकुमार श्रेष्ठलाई पोल उजुरी गरेको देखिँदैन । जाहेरवाला बिनोद वि.क.ले प्रतिवादी राजकुमार श्रेष्ठलाई चिन्दिन भनी बकपत्र गरेको देखिन्छ । जाहेरवालाहरूबाट पेस भएको लिखतबाट पनि निज प्रतिवादीले जाहेरवालाहरूबाट रकम बुझेको भन्ने देखिँदैन । यी प्रतिवादी राजकुमार श्रेष्ठलाई पोल गरी बयान गर्ने प्रतिवादी तुलसीप्रसाद श्रेष्ठले पनि निज प्रतिवादीलाई रकम बुझाएको कुनै लिखत प्रमाण पेस गर्न सकेको देखिँदैन । यी प्रतिवादी आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । तसर्थ मिसिल संलग्न कुनैपनि प्रमाणबाट विदेश पठाइदिन भनी प्रतिवादी राजकुमार श्रेष्ठले जाहेरवालाहरूबाट रकम बुझेको प्रमाणित हुन नआएकोले प्रतिवादी तुलसीप्रसाद गिरीको पोल बयानको आधारमा मात्र निजलाई दोषी ठहर गर्न मिल्ने देखिएन ।
८. जाहेरवाला कमल गिरीको हकमा अभियोग दाबी नपुग्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा निज जाहेरवालाले रकम बुझाएको कुनै लिखत प्रमाण पेस गर्न सकेको देखिँदैन । प्रतिवादी तुलसीप्रसाद गिरीले अनुसन्धानको क्रममा र न्यायाधिकरणमा समेत बयान गर्दा जाहेरवाला कमल गिरीलाई चिन्दिन । निजसँगबाट रकम बुझिलिएको पनि छैन भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । निज जाहेरवालाले न्यायाधिकरणमा बकपत्र गर्दा पनि रकम बुझाएको लिखत छैन भनी उल्लेख गरेको देखिन्छ । तसर्थ निज जाहेरवालाको मौखिक भनाइ कै आधारमा मात्र निज जाहेरवाला कमल गिरीलाई विदेश पठाइदिन भनी रकम लिई ठगी गरेको भन्न सकिने अवस्था रहेन ।
९. अब प्रतिवादी तुलसीप्रसाद गिरीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ अनुसार पुरै सजाय नै हुनुपर्नेमा आधा सजाय गरेको मिलेन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ अनुसार "कसैले दफा १० विपरीत इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाई दिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जानाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई निजलाई तीन लाख रूपैयाँदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ । विदेश पठाई नसकेको भए सो सजायको आधा सजाय हुनेछ ।" भन्ने कानूनी व्यवस्था देखिन्छ । मिसिल संलग्न जाहेरवालाहरूबाट पेस भएको लिखतमा विदेश अफगानिस्तान पठाउन भनी कागज भएको देखिन्छ । दुवईसम्म पुर्याएर फर्की आएको भन्ने दाबी भए तापनि सो कुरालाई पुष्टि गर्ने कुनै लिखत प्रमाण जाहेरवालाहरू रूद्रबहादुर थापा, प्रकाश भारती र गजेन्द्रबहादुर वि.क.को हकमा जाहेरवाला विनोद वि.क.बाट पेस हुन आएको छैन । जाहेरवाला कमल गिरीले बकपत्र साथ प्लेनका टिकटसमेतका कागजात प्रस्तुत गरेपनि निजलाई विदेश पठाउने भनी कुनै रकम नलिएको भनी प्रतिवादी तुलसीप्रसाद गिरीले बयान गरेको देखिन्छ । यी प्रतिवादीले जाहेरवाला कमल गिरीसँग रकम लिएको कुरालाई पुष्टाई गर्ने कुनै तथ्ययुक्त प्रमाण पेस हुन नसकेको अवस्था रहेबाट कमल गिरीको हकमा प्रतिवादी तुलसीप्रसाद गिरीलाई कसुरदार ठहर गर्न मिलेन । अन्य जाहेरवालाबाट विदेश जान आउन लागेको खर्चको माग दाबीसमेत नदेखिएकोले जाहेरवालाहरू दुवईसम्म पुगी फर्कि आएका रहेछन् भन्न सकिने अवस्था देखिँदैन । तसर्थ प्रतिवादी तुलसीप्रसाद गिरीले उल्लिखित व्यक्तिहरूबाट अफगानिस्तान पठाउन भनी रकम बुझिलिएर सो मूलुकमा नपठाएकोसम्मको अवस्था प्रमाणित हुन आएको देखिएकोले उल्लिखित कानूनी व्यवस्थाअनुसार प्रतिवादी तुलसीप्रसाद गिरीलाई एक वर्ष आठ महिना कैद र रू.१,६०,०००।- जरिवाना गर्ने गरी भएको सुरू फैसला कानूनसम्मत देखिन्छ ।
१०. तसर्थ प्रतिवादी तुलसीप्रसाद गिरीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ को कसुरमा सोही ऐनको दफा ४३ अनुसार एक वर्ष आठ महिना कैद र रू.१,६०,०००।– जरिवाना हुने, कमल गिरीको बिगो भराई पाउँ भन्ने हदसम्मको वादी दाबी पुग्न नसक्ने, अरू जाहेरवालाहरूले वादी दाबीबमोजिमको हर्जानासहितको बिगो यी प्रतिवादी तुलसीप्रसाद गिरीबाट भरी पाउने र प्रतिवादी राजकुमार श्रेष्ठउपरको अभियोग मागदाबी पुग्न नसक्ने ठहर्याई वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०७०।३।२३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादी तुलसीप्रसाद गिरीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
प्रतिवादी तुलसीप्रसाद गिरीले धादिङ्ग, पीडा-२घ कि.नं. ४९९ को जेथा जमानत राखी यस अदालतबाट अदालती बन्दोबस्तको १९४ नं. बमोजिम सुविधा लिई पुनरावेदन गरेको देखिँदा निजलाई वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७०।३।२३ को फैसलाको तपसिल खण्डको देहाए दफा ३ बमोजिम राखिएको कैद र जरिवानाको लगत असुल भएपछि निजले राखेको उल्लिखित जेथा नियमानुसार गरी फुकुवा गरिदिनू .......................................................१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइ दिनू .............................२
उक्त रायमा सहमत छु ।
न्या. दीपककुमार कार्की
इजलास अधिकृत : आनन्दराज पन्त
इति संवत् २०७३ साल साउन १९ गते रोज ४ शुभम् ।