निर्णय नं. ४३०३ - कीर्ते

निर्णय नं. ४३०३ ने.का.प. २०४८ अङ्क ६
पूर्णइजलास
सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४५ सालको फौ.पू.इ.नं. १९
फैसला भएको मिति: २०४८।६।३।५ मा
निवेदक/प्रतिवादी : तनहुँ जिल्ला अरुणोदय गा.वि.स. वडा नं. ५ किंहु खोरिक बस्ने बद्रीप्रसाद सिग्देल
विरुद्ध
विपक्षी/वादी : श्री ५ को सरकार
मुद्दा : कीर्ते
(१) अनुमानको आधारमा मात्र प्रतिवादीलाई कसूरदार ठहर्याई सजायँ गर्न न्यायसंगत नदेखिँदा विवादास्पद प्याड र छाप सद्दे हो वा होइन भन्ने कुराको यथार्थता प्रमाणको आधारमा यकीन नगरिएकोले सहअभियुक्तको पोलको आधारमा मात्र निवेदक प्रतिवादीले आरोपित अपराध गरेको शंका गरी निजलाई कसूरदार ठहर्याउन मिल्ने नदेखिने, शंकाको लाभ अभियुक्तले पाउने ।
(प्रकरण नं. ३२)
निवेदक, प्रतिवादीतर्फबाट : विद्वान व.अ. श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त (साविक पेज नं. २५५)
विपक्षी, वादीतर्फबाट : विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
प्र.न्या.विश्वनाथ उपाध्याय
१. श्री ५ महाराजाधिराजका हजूरमा यस सर्वोच्च अदालत संयुक्तइजलासबाट मिति २०४३।२।२६ मा भएको फैसला दोहर्याई पाउँ भनी निवेदक प्रतिवादी बद्रीप्रसाद सिग्देलले न्यायिक समिति मार्फत चढाएको निवेदनपत्र र सो सम्बन्धमा न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधान, २०१९ को धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरबारबाट मिति २०४५।४।७ मा लेखी आए बमोजिम यस सर्वोच्च अदालतको पूर्णइजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. बगनाहा गा.प.वा.नं. ३ बस्ने मोतिराम थारु, लोटन थारु र चंगु भन्ने चुन्नु थारु समेत जना ३ ले ०२३ सालमा मोहीको हैसियतले प्राप्त गरेको जग्गा ०२८ सालमा किस्ता चुक्ता नगरेबाट निजहरुबाट जफत भई गएको बगनाहा गा.पं.वा.नं. ३ को कि.नं. २, ९५, ७, १०८, १०७ र १०९ को जग्गा जम्मा बिगहा ९–११–५ जग्गाको यस कार्यालयका हाकिम, ना.सु. र मुखिया समेतको दस्तखत, कार्यालयको छाप कीर्ते गरी सिफारिशपत्र थान ३ तयार गरी मोति थारुबाट रु. ५,३३५।– लिनु खानु गरेकाले लेखनदास काम गर्ने गोपालसिंह धमालले नै हो भन्ने कुरा प्रष्ट बुझिएकोले निज गोपालसिंह धमाललाई कीर्ते जालसाजीको महल बमोजिम कारवाही गरी दिनु भन्ने व्यहोराको जि.का.भू.सु. शाखाको ०३७।१०।२९ को पत्र ।
३. च.नं. ३२७, ३३८, ३२९ को पत्रहरु हाम्रो कार्यालयबाट दर्ता र चलानी कुनै नभए नगरेको लौटन थारु, चंगु थारु, मोति थारु समेत ३ जनाको ज.ध.प्रमाण पूर्जा पाउँ भनी दर्खास्त नपरेको, मोती थारु समेत ३ जनाले यस कार्यालयमा निवेदन समेत नदिएको हुँदा पैड र छाप कार्यालयको नभएको, भू.सु.अ., ना.सु.भन्ने स्ट्याम्प पनि यस कार्यालयको नभएको, दर्ता चलानी फाँट त्यस बखत मु. बद्रीप्रसादकोमा रहन गएको । भूमिसुधार अधिकारी ना.सु. भन्ने छाप लागेको नमूना पत्र र गोपालसिंह धमालको हस्ताक्षरबाट लेखिएका यस कार्यालयको द.नं. १२१०, १२१२, १२१३ र १२१८ को निवेदन थान ४ यसै साथ पठाएको छ । माघ २५, २६ र २७ गते दिन ३ बिदा परेको र निजहरुलाई बुझी माघ २९ गते त्यहाँ पठाएको भन्ने समेत व्यहोराको मिति ०३७।११।२ को जि.प्र.का. बर्दियाको पत्रानुसार मिति ०३७।११।४ को भू.सु. शाखा बर्दियाको पत्र ।
४. बगनाहा गा.पं. वा.नं. ३ को लेखापढी काम गर्ने एकजना मानिस ल्याई रुपलाल शर्माले पुर्जा सम्बन्धी निवेदन लेखी दिनु पर्यो भनेबाट मैले लेखी दिएको हुँ, गते बार थाहा छैन । हिराबहादुर राइले व.गा.पं.वा.नं. ३ बस्ने ६ जना र अन्य ठाउँका ३ जनालाई १८ नं. बमोजिम लालपूर्जा पाउँ भन्नेबारे निवेदन लेखी दिनु पर्यो भनेबाट वगनाहा गा.पं.का. २ जना मानिसको निवेदन लेखी दिएको हुँ । भू.सु.शाखा बर्दियाको छाप पुछ«े छाप, मसंग छैन मैले बनाएको पनि छैन । मोती थारुसंग मैले पटक पटक गरी रुपैयाँ लिएको छैन । उक्त लालपूर्जा जे जसो गरेर भए पनि रुपलालले हिराबहादुरलाई भनेपछि हिराबहादुरले रुपलाललाई म कहाँ ल्याई मलाई भनेकाले भू.सु.का. का मु.बद्रीप्रसादलाई काम हुन्छ हुँदैन भनी सोद्धा किस्ता बक्यौता बाँकी छ सो वाक्यौता रु. ३३६५।– र मलाई मेहनतको रु. ५०००।– पाँच हजार दिएमा काम हुन्छ भनेबाट रुपलालले गएको श्रावण महीनादेखि पटक पटक (साविक पेज नं. २५६) गरी रु. ५३००।– दिए सो मध्ये मु.बद्रीप्रसादलाई पटक पटक गरी रु. ४५५५।– दिई बाँकी रु. म र हिराबहादुरले बराबर बाँडी लिएका छौं । श्री ५ को सरकार जिल्ला कार्यालय, भूमिसुधार कार्यालय बर्दिया भन्ने कार्यालयको प्याडमा लेखिएको च.नं. ३२७, ३२८ र ३२९ समेतको पत्र थान ३ मा भएको अंक अक्षर दस्तखत समेत भएको माल कार्यालयलाई लेखेको ०३७।६।१६ को पत्र देखाउँदा देखें सो पत्रमा लेखिएको अक्षरमध्ये भूमिसुधार अधिकारी, ना.सु. र मुखियाको दस्तखत र द.नं. १२४०, ०३७।६।२७ भनी लेखिएको च.नं. ३२७ को पत्रमा र च.नं. ३२८, १२३९।६।२७ र ३२९ को १२३८।६।२७ भन्ने अंक मेरो होइन र अरु अंक अक्षर कालो मसीको र डटपेन समेतको मेरै हस्ताक्षर हो, कसैको होइन । पत्र थान ३ मु.बद्रीप्रसादले भने बमोजिम मैले लेखी दिए पछि निजले सो पत्रमा भूमिसुधार अधिकारी नायब सुब्बा समेतको सहिछाप गराई म राख्छु भने त्यसको ६।७ दिन पछि उक्त पत्रको बोधार्थ समेत ६ प्रति मलाई निज मुखियाले दिएका थिए । लौटन थारु, मोति थारु र चंगु थारु भन्ने चुन्नु थारु समेतका नाउँको बोधार्थ पत्र निज रुपलाललाई दिएँ । च.नं. ३२७, ३२८, ३२९ को पत्रमा परेको छाप दस्तखत कसरी कस्को गराएका हुन निजै जानुन भन्ने प्र.गोपालसिंह धमालको प्रहरीमा भएको कागज ।
५. भू.सु.का. बर्दियाको च.नं. ३२७, ३२८, ३२९ को पत्र कसबाट कसरी लेखिएको हो र सो पत्रमा सि.नं. वार्ड नं. साविक जग्गाधनी कि.नं. क्षेत्रफल समेत कसले भरे लेखेको हो र उक्त पत्रमा ना.सु. तथा भूमिसुधार अधिकारी भन्ने छाप लगाई दस्तखत समेत कसले बनायो सो समेत मलाई थाहा छैन । श्री ५ को सरकार जिल्ला कार्यालय भूमिसुधार शाखा बर्दिया भन्ने लेखिएको प्याड कहाँबाट कसरी कसले ल्यायो थाहा छैन साथै सोही व्यहोरा लेखिएको रबरको छाप नक्कली हो वा सक्कली हो, कहाँबाट आयो थाहा छैन ०३७ साल आश्विन १६ गते म आफ्नो कार्यालयमा हाजिर छु । उक्त दिन गोपाल सिंह मेरो फाँटमा आई मसंग कुनै काम गरी दिन पर्यो भनी भनेको छैन देखाएको कीर्ते च.नं. ३२७, ३२८, ३२९ मिति ०३७।६।१६ नक्कली पत्रमा लागेको सरकारी छाप ना.सु., भूमिसुधार अधिकारी भनी लेखिएको छाप नक्कली हुनुपर्छ । गोपालसिंह धमालले भनेका कुराहरु झुठ्ठा हो मैले पनि कागजपत्र बाहिरको मानिसलाई लेख्न लगाएको छैन । गोपाल धमालले रुपलाल भन्ने संग कुनै रकम कलम काम गरे बापत लिई मलाई ल्याई दिएको वा मैले लिएको समेत छैन भन्ने प्र.बद्रीप्रसाद सिग्देलको प्रहरीमा भएको बयान कागज ।
६. प्याड छाप दस्तखत सो पत्रमा परेको अक्षरहरु यस भू.सु.शाखा बर्दियाको होइनन् । सबै छाप अक्षर दस्तखत समेत कीर्ते हो सो कीर्ते गर्ने मानिस निजले यस कार्यालयमा दिएको अन्य निवेदन समेतको कागजबाट निजको हस्ताक्षर मिल्न आएको हुँदा निज गोपालसिं धमालले नै गरेका हुन अरु कसैले कीर्ते गरेको होइन । मु.बद्रीप्रसादले कीर्ते गरेको होइन सो कीर्ते गरेमा निज गोपालसिंह धमाल बाहेक अरु कुनै मानिस मतियार भएको मलाई शंका लाग्दैन भन्ने दधिराम सुवेदीको सरजमीन मुचुल्का ।
७. च.नं. ३२७, ३२८, ३२९ मिति ०३७।६।१६ गतेको पत्रमा लेखिएको अक्षर, अंक, छाप, दस्तखत भूमिसुधार शाखा बर्दिया भनी लेखिएका प्याड समेत कार्यालयको होइन सो पत्रमा परेको छाप दस्तखत समेत सम्बन्धित कर्मचारीको होइन । कीर्ते निज गोपालसिंह धमालले गरेका हुन् । मु.बद्रीप्रसादको दर्ता चलानीको फाँट भएबाट निजले सो कीर्ते गरेका होइनन् । अरु मतियार सहमति समेत कोही भएको हाम्रो चित्तमा लाग्दैन भन्ने हिमलाल अर्याल समेत जना ७ को सरजमीन मुचुल्का र सो पत्रमा परेको छाप दस्तखत समेत कीर्ते निज गोपालसिंह धमालले गरेको हामीलाई विश्वास लाग्छ । मु.बद्रीप्रसादले (साविक पेज नं. २५७) उक्त कीर्ते गरेमा विश्वास लाग्दैन । सो पत्रमा परेका छाप दस्तखत सम्बन्धित कर्मचारीको होइन उक्त अक्षर अभियुक्त गोपालसिंह धमालले मेरो हो भनी सावित भएबाट निजकै हुनुपर्छ मु.बद्रीप्रसादको दर्ता चलानीको काम हुँदा निजले सो कीर्ते गरेको चित्तमा लाग्दैन भन्ने समेत व्यहोराको राजेन्द्रप्रसाद श्रीवास्तव समेत जना १४ को सरजमीन मुचुल्का ।
८. चंगु थारु भन्ने चन्नु थारु मेरो बाबु कालगतिले ३ वर्ष अगाडि परलोक भइसकेका छन् पक्राउमा परेका गोपालसिंह धमाललाई आश्विन महीनामा दाज्यू मोति थारुले ल्याई लेखापढी काम गर्दछन् भनी चिनाएकाले चिनेको हुँ बगनाहा गा.पं. वार्ड नं. ३ मा मेरो बाबु दाज्यू मोति थारु र म समेतका नाउँमा मोहीको हैसियतले वि.वि.मा पाएको ज.वि. ९–११–५ आज सम्म भोग गरी खाई आएका छौं । सो जग्गाको जग्गाधनी प्रमाण पुर्जा बनाउन बाँकी किस्ता तिर्न भनी गोपाल धमाललाई रु. ५,०००।– (पाँच हजार) दिएको छ भनी दाजु मोतिले भनेका थिए । च.नं. ३२७, ३२८, ३२९ मिति ०३७।६।१६ को पत्रद्वारा मालपोत कार्यालयलाई लेखी म समेतका ३ जनाका नाउँमा दिएको बोधार्थ पत्रको अक्षर र छाप दस्तखत कस्को हो मलाई थाहा छैन सो पत्र कीर्ते हो भन्ने हाल सुनेको हुँ कस्ले गरे थाहा छैन सो जग्गाको लालपूर्जा पाई रुपलाल शर्माको कर्जा भएबाट निजसंग थियो । हाल हामीसंग छैन पत्र कीर्ते गराउनमा म समेतको मिलोमतो गरेको होइन भन्ने प्र.लोटन थारुको प्रहरीमा बयान कागज ।
९. गोपाल सिंहलाई गएको आश्विन महीनामा न्योलापुर बस्ने रुपलालले लेखापढी गर्छन भनी चिनाउँदा चिनेको हुँ । मु.बद्रीप्रसाद, हिरा बहादुरलाई चिनेको छैन । वनगाहा गा.पं. वार्ड नं. ३ को जग्गा मेरो बाबु चुन्नु, भाइ लोटन र म समेतका नाउँमा ०२३ सालमा वि.वि.मा पाई भोग गरी आएको सो जग्गाको किस्ता र मालपोत ६, ७ वर्षको तिरेको छु प्रमाण पुर्जा पाएको थिएन । प्रमाण पुर्जा लिन रुपलाललाई भन्दा निजले गोपाल सिंहको घरमा ल्याई चिनाई लेखापढी गरिदिनु पर्यो भनी मैले भनेपछि मैले रु. ५५।– पचपन्न सो बापत र बाँकी रु. ५५३।– दुई तीन दिन पछि ल्याई निज गोपालसिंह धमाललाई दिएको हुँ १ पटक ३,८००।– चेक, अर्को पटक १,०००।– निज रुपलालले गोपालसिंह धमाललाई दिएँ भनी मसंग भनेका थिए, सो रुपैयाँ कसो गरेका हुन मलाई थाहा छैन । गोपालले सहिछाप गराएको थियो । सो निवेदनहरु गोपालसिंह धमालले लिई भूमिसुधार कार्यालय समेतमा दिए नदिएको मलाई थाहा छैन, म र भाइहरु उक्त कार्यालयमा र माल कार्यालय समेतमा निवेदन गर्न गएको छैन भनी मोती थारुको प्रहरीमा भएको बयान कागज ।
१०. अभियुक्त गोपालसिंह धमालले मुलुकी ऐन कीर्ते कागजको १ नं. बमोजिम कसूर गरेकोले सोही ऐनको ७ नं. र १२ नं. बमोजिम सजायँ हुनु पर्ने सरकारी छाप निज बद्रीप्रसादले नलगाई अरु बाहिरी मानिसले लगाउन पनि सक्ने समेत हुँदा निज मु.बद्रीप्रसाद सिग्देलको समेत सहयोग मिलोमतोबाट दुवै जना भई उक्त कीर्ते भएको देखिन आउने हुँदा निज मु.बद्रीप्रसाद सिग्देलले पनि सोही ऐनको १ नं. बमोजिम कसूर गरेको हुँदा सोही ऐनको नं. ७ र १२ बमोजिम सजायँ हुनु पर्ने, पंचे चंगु थारु भन्ने चन्नु थारु २, ३ वर्ष अघि नै मरिसकेको भनी मोति थारु, लौटन थारुले बयान गरेको हुँदा निज उपर केही उल्लेख गरिरहनु नपर्ने, मोति थारु, लौटन थारु, रुपलाल शर्मा उपर उक्त कीर्ते गराउनमा मतियार सहमत भएको अभियुक्त गोपाल सिंह समेतको बयानबाट र अन्य सरजमीन समेतको र अन्य समेतको सबूद प्रमाणबाट नदेखिए तापनि निज मोती थारु, रुपलाल शर्माले निज गोपालसिंह धमाललाई रु. ५,३००।– दिएको निजको बयानबाट देखिन आएकोले सो तर्फ भ्रष्टाचार ऐन, २०१७ अन्तर्गत कारवाही हुन सम्बन्धित कागजात समेत राखी जिल्ला कार्यालय बर्दियामा लेखी पठाउने समेत उल्लेख र (साविक पेज नं. २५८) दावीलाई सम्बन्धित केश फाइल र अभियुक्त गोपालसिंह धमाल र मु.बद्रीप्रसाद सिग्दललाई पेश गरिएको छ भन्ने प्रहरी प्रतिवेदन ।
११. मु.बद्रीप्रसादले छाप दस्तखत समेत कीर्ते गरेको कुनै सबूद प्रमाण नभई अभियुक्त गोपालले पोली दिएको भरबाट मात्र मुद्दा चलाउन सबूद प्रमाण नपुग्ने हुँदा निज मु.बद्रीप्रसाद उपर उक्त मुद्दा नचलाउने राय व्यक्त गरी पेश गरिएको भन्ने स.स.अ.को राय ।
१२. नं. ३२७, ३२८, ३२९ का पत्र थान ३ लेखिएको कागज हाम्रो भू.सु.का. को लेटर प्याड होइन सोमा लागेको जि.भू.सु.का. भन्ने छाप भूमिसुधार अधिकारी र नायब सुब्बा भन्ने रबर स्टाम्प समेत जि.भू.सु.का. बाट मैले लगाएको होइन यस्तो किसिमको लेटर प्याड पनि जि.भू.सु.का. मा छैन कहाँबाट ल्याए वा के कस्तो परिवन्दबाट बनाई ल्याए मलाई थाहा छैन । प्र.गोपाल धमालले के कस्तो किसिमबाट ल्याए गोपाल धमालले नै गरेको होला सो पत्रहरुमा लेखिएको छाप दस्तखत कस्को हो जि.भू.सु.अधिकारी र नायब सुब्बा समेतको होइन सो पनि निजले नै गरेको हुनुपर्छ । रुपैयाँ माग गरेको र लिए खाएको समेत होइन छैन ०३७।६।१६ गतेका दिनमा कार्यालयमा हाजिर छु सो दिन प्र.गोपाल धमाल, रुपलाल र लौटन थारु समेत भू.सु.का.मा आएको देखिन । दर्ता र चलानी फाँटको काम मेरो जिम्मा र वि.वि.फाँटमा सहयोगार्थको रुपमा काम गर्दछु स्टाम्प र छाप टेबुलको घर्रामा राख्ने गरेको छु भन्ने प्र.बद्रीप्रसाद सिग्देलको अदालतमा भएको बयान ।
१३. पत्र थान ३ मैले लेखेको हुँ सो पत्रहरु र सो भन्दा पनि अघि र पछि पनि जि.भू.सु.का.मा यस्तो किसिमको पत्रहरु फाँटवालाहरुले अरावट गरे अनुसार लेखिदिने गरी आएको छु । पत्रहरुमा लागेको जि.भू.सु.का. को छाप र स्टाम्पहरु लागेको हुनाले सम्बन्धित फाँटवालालाई थाहा होला वा सो सम्बन्धमा काम गराउने रुपलाल शर्मा, कसले गरे गराए मलाई थाहा छैन हाकिम सुब्बाको दस्तखत को कस्ले गरेको हो मलाई थाहा छैन । सो पत्रमा कसले सहिछाप गरें मलाई थाहा छैन । लेटर प्याड, स्टाम्प पनि मैले अन्यत्रबाट बनाई ल्याएको समेत होइन । थारुहरुको १८ नं. का पुर्जा बनाउने काममा प्रयोग गराएको लेटर प्याड भूमिसुधार अधिकारी नायब सुब्बा भन्ने स्टाम्प पनि वि.भू.सु.का. कै हो प्रमाण पुर्जा लिने पत्रको लेखापढी गराउने काममा मैले कुनैसंग पनि रुपैयाँ पैसा लिएको छैन मु.बद्रीप्रसादलाई दिएको समेत होइन प्रमाण पुर्जा लिई पत्र लेखी सकेपछि म आफ्नो लेख्ने काम सिद्धिएपछि घरतर्फ गएको हुँ तिम्रो काम छ भने जाउ म सहिछाप गराई राखँुला भन्यो भन्ने समेत व्यहोरा मैले लेखाएको होइन । प्रहरीमा आफैं लेखी सहिछाप गराएको हो । सो कुरा सम्म मेरो स्वइच्छाले गरेको होइन । सो पत्रहरुमा भएको छाप दस्तखत को कस्ले गरेको म जान्दिन । नायब सुब्बा र भूमिसुधार अधिकारी भन्ने रबर स्टाम्प समेत मेरो रोहवरमा भएको, ल्याएको हो । पत्रहरु मैले बुझी ल्याएको होइन, रुपलाल शर्माले ल्याई प्रमाण पुर्जा लिने निवेदन लेखी दिनु पर्यो भनेकाले निवेदन लेखी प्रमाण पुर्जाको लागि मालमा गई त्यसपछि प्रमाण पुर्जा लिने कारवाही भएको हो । रु. ५,०००।– लिएको दिएको भनाई झुठ्ठा हो भन्ने प्र.गोपाल सिं धमालको अदालतमा भएको बयान ।
१४. कीर्ते मुद्दामा कीर्ते जालसाज सम्बन्धमा मलाई थाहा छैन । मोति थारुले घर खर्च बापत म संग रु. ५,३३५।– कर्जा लिएको हो । यो कर्जा बापतको रुपैयाँ मध्ये ताराताल दोकान गरी बस्ने बाबुराम पौड्यालसंग रु. ३८,००।– माग गरेकोमा नगद नदिएर मेरो नाउँमा चेक काट्नु भयो । गोपाल सिं धमाललाई दिएको चेक लिएर हिराबहादुर राई समेत दुई जना फिर्ता आए भू.सु.का.को पत्र थान ३ सनाखत गरे । कीर्ते जालसाजी कस्ले गरे मलाई थाहा छैन भन्ने बुझिएको रुपलाल शर्माको अदालतमा बकपत्र । (साविक पेज नं. २५९)
१५. कीर्ते मुद्दामा मलाई अरु थाहा छैन । रुपलाल शर्माले म संग घर व्यवहार गर्नको लागि रु. ४०००।– माग्नु भएको म संग पैसा नभएर रु. ३८००।– मात्र सापटी दिएको थिएँ । मैले रु. १०.१५ दिन पछि पाइसके । उक्त रकम मैले बैंक मार्फत पाउने गरी निजकै नाममा चेक काटी दिएको थिएँ भन्ने बुझिएको बाबुराम पौड्यालको अदालतमा बकपत्र ।
१६. प्र.गोपाल सिं धमाल र म एकै ठाउँमा बसी आएका हौं । मलाई निजले यो कीर्ते काम गरे होलान भन्ने शंका लाग्दैन भन्ने प्र.गोपाल धमालको साक्षी श्रावण बनिया –१, मानबहादुर –१, हेमन्त राणा –१ समेतको बकपत्र ।
१७. प्र.बद्रीप्रसाद सिग्देलले भू.सु.का.को पत्र च.नं. ३२७, ३२८, ३२९ को पत्रहरु निजले गरेको मलाई लाग्दैन । निज दर्ता चलानी मात्र गर्दथिए । उक्त च.नं. ३२७, ३२८, ३२९ को पत्रहरु अन्तै गरेको भन्ने सुनेका हौं । उक्त पत्र निजले कीर्ते गरेको लाग्दैन । दर्ता चलानीको फाँट अफिस खुलेको समयमा काम लाग्ने छापहरु रही रहन्छन् कस्ले कुन बेला गएर छाप स्टाम्प लगायो म भन्न सक्दिन भन्ने प्र.बद्रीप्रसादको साक्षी दुलानन्द कर्ण –१, लिलानाथ खरेल –१, तोयनाथ शर्माको अदालतमा बकपत्र ।
१८. सरकारी दस्तखत कागजातहरुमा कीर्ते मैले गरे गराउन कसैलाई लगाएको पनि होइन गोपाल धमाल बद्रीप्रसाद समेतले कीर्ते गरेको हो होइन म भन्न सक्तिन मैले कुनै लेखनदास र कर्मचारीहरुलाई कीर्ते कागज गर्नको लागि कुनै किसिमको रुपैयाँ दिएको छैन भन्ने बुझिएको मोति थारुको अदालतमा बकपत्र ।
१९. सरजमीनमा लेखिएको मानिसको मेरो व्यहोरा मैले भने बमोजिम लेखिएको होइन सिर व्यहोरा रामबहादुर वरुवालले भनेर लेखिएको हो पढेर सुनाएन, सही गर भनेकाले सही गरी दिएको हुँ कीर्ते ३ वटा पत्रमा कस्ले सही गरे थाहा छैन । भू.सु.का. को छाप स्टाम्प कार्यालयको हो, कीर्ते पत्रमा लेखिएको अक्षर गोपालसिंह धमालको हो । छाप स्टाम्प कीर्ते कस्ले गर्यो मलाई थाहा छैन, कीर्ते पत्र ३ वटा गोपालसिंह धमालले लेखेको हो । भू.सु.अ., ना.सु.को सही गोपालसिंह धमालले र बद्रीप्रसादले गरेको हो होइन मलाई थाहा छैन भन्ने सरजमीनको मानिस चक्रपाणी शर्मा १, रेशम शर्मा १, लक्ष्मणप्रसाद १, कृष्णबहादुर १, टेकबहादुर १, गंगाधर समेतको बकपत्र ।
२०. विवादास्पद पत्रमा परेको दस्तखत मेरो होइन भन्ने भू.सु.अ.भरतराज ज्ञवालीको तामेली बन्द सवाल ।
२१. विवादास्पद पत्रमा परेको दस्तखत मेरो होइन भन्ने ना.सु. दधिराम सुवेदीको बकपत्र ।
२२. मिसिल संलग्न सबूद प्रमाणको आधारबाट प्र.गोपालसिंह धमाल र प्र.मु.बद्रीप्रसाद सिग्देल समेत २ जना मिली प्रहरी प्रतिवेदन माग दावी बमोजिम मुलुकी ऐन कीर्ते कागजको १ नं. को कसूर गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा दिने सिफारिशपत्र बनाई सरकारी कर्मचारीको दस्तखत समेत गरी गराई कीर्ते गरेको ठहरेकोले प्रतिवादीहरुलाई सोही महलको ७ नं. बमोजिम जनही ५७,३६५। जरिवाना र सोही महलको १२ नं. ले प्र.गोपालसिंह धमाललाई १। एक वर्ष र प्रतिवादी मु.बद्रीप्रसाद सिग्देल भूमिसुधार कार्यालयको कर्मचारी हुँदा निजलाई दुई वर्ष कैद थप समेत दुवै सजायँ ठहर्छ भन्ने बर्दिया जिल्ला अदालतको २०४०।४।३१ को फैसला ।
२३. प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम कसूर प्रमाणित गर्ने भार बोकेको वादी श्री ५ को सरकारले कसूर प्रमाणित गर्न नसकेको र सरजमीन समेतले कसूरदार हैन भनी बकपत्र गरेको समेतबाट मलाई कसूरदार ठहराएको शुरुको फैसला न्यायोचित नहुँदा (साविक पेज नं. २६०) उक्त फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने बद्रीप्रसाद सिग्देलको पुनरावेदनपत्र ।
२४. प्रस्तुत मुद्दामा अपराधिक संज्ञा दस्तखतलाई दिन सकिन्छ तर दस्तखत कस्ले गर्यो भन्न अर्थात कसूरको हस्तलिपी को संग मिल्छ सो कुराको विशेषज्ञद्वारा जँचाई पुष्टि नगरी अनुमानको आधारमा गरिएको फैसला कानुनसंगत नभएकोले उक्त फैसला बदर गरी हक इन्साफ गरी पाउँ भन्ने गोपालसिंह धमालको पुनरावेदनपत्र ।
२५. प्र.बद्रीप्रसाद सिग्देल र गोपालसिंह धमाल दुवैले मिति २०३७।६।१६ को सिफारिशपत्र मिलेमतोबाट कीर्ते गरेको ठहर्याएको बर्दिया जि.अ.को इन्साफ मनासिब छ भन्ने समेत म.प.क्षे.अ.को फैसला ।
२६. म.प.क्षे.अ.को फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीहरुको निवेदन परेकोमा जाहेरीमा बद्रीप्रसादको नाम उल्लेख नभएको प्रमाण लगाइएका लौटन थारु, मोती थारु र रुपलाल शर्माले अदालतमा गरेको बकपत्रमा बद्रीप्रसादलाई दोषी भनी बकपत्र नगरेको र लगाइएको अभियोग कीर्ते कागजको ७ नं. र १२ नं. अन्तर्गत पर्ने नदेखिएको समेत हुँदा ऐनको सही व्याख्या र प्रमाणको मूल्यांकन नगरी गरेको फैसलामा प्रमाण ऐन, ०३१ को दफा ५४ को त्रुटि देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत यस सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।११।२।४ को आदेश ।
२७. यसमा प्रतिवादी गोपालसिंह धमालले जग्गाधनी प्रमाण पुर्जा लिने निवेदन आफूले लेखिदिएको र उक्त जग्गाधनी प्रमाण पुर्जा दिलाउनलाई मेहनत गरे बापत पाँचहजार रुपैयाँ बद्रीप्रसादले मागेकोले चार हजार पाँचसय पचपन्न रुपैयाँ बद्रीप्रसादलाई दिएको भनी अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान दिनुको साथै बद्रीप्रसादले भने बमोजिम भू.सु.शाखा बर्दियाको लेटर प्याडमा जग्गाधनी प्रमाण पुर्जाका निमित्त सिफारिशपत्र लेखिदिएको हुँ भनी प्रतिवादी गोपालसिंह धमालले अदालतमा बयान गरेको पाइन्छ । पुनरावेदक प्रतिवादी बद्रीप्रसादले अड्डा र हाकिमको छाप निजकै जिम्मा रहेको भनी बयान गरेको र आफ्नो सफाइको कुनै भरपर्दो ठोस सबूद प्रमाण दिन सकेका छैनन् । तसर्थ पुनरावेदक प्रतिवादी बद्रीप्रसाद सिग्देलले समेत कीर्ते गरेको ठहर्याएको बर्दीया जिल्ला अदालतको फैसला मनासिब ठहर्याएको म.प.क्षे.अ.को इन्साफ सदर हुने ठहर्छ भन्ने समेतको यस सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला ।
२८. उक्त फैसलामा चित्त बुझेन दोहर्याई हेरी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा प्रतिवादी बद्रीप्रसाद सिग्देलले न्यायिक समिति मार्फत चढाएको निवेदनपत्रमा न्यायिक समितिबाट सम्पूर्ण सरजमीनका व्यक्तिहरुले प्रतिवादी बद्रीप्रसादले कीर्ते गरेको होइन भनी लेखाएका, प्रतिवादी बद्रीप्रसाद प्रहरी तथा अदालत समेतमा कसूरमा इन्कार रहेको, मोती थारुले बद्रीप्रसादलाई रुपैयाँ दिएको भनेको नदेखिएबाट समेत प्रतिवादी बद्रीप्रसादले भूमिसुधार अधिकारी र ना.सु.भन्ने कीर्ते सहिछाप गरेको नै हो भनी मान्न सकिने स्थिति नहुँदा सहअभियुक्त गोपालसिंह धमालको पोलको भरमा मात्र प्रतिवादीले कीर्ते गरेको ठहर्याएको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ अ.बं. १८४(क) को रीत पुर्याई प्रमाण बुझेको नदेखिएकोले सो र प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटिपूर्ण हुँदा मिलेको छैन भन्ने समेतको पर्चा भई श्री ५ महाराजाधिराजबाट उक्त मुद्दा दोहर्याई दिनु भनी बक्स भई आएका हुकुम प्रमांगी बमोजिम यस सर्वोच्च अदालत पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।
२९. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ (साविक पेज नं. २६१) पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले छाप लगाउने कार्य मुलुकी ऐन कीर्ते कागजको १ नं. भित्र पर्दैन । बद्रीप्रसादले कीर्ते गरी सम्पत्ति प्राप्त गरेको वा कुनै सम्पत्ति लिए खाएको छैन । विवादास्पद लिखतमा दस्तखत गोपाल सिंहले गरेको प्रमाणित भएकै छ । अरु नम्बरले सजायँ हुने अवस्थामा मात्र कीर्ते कागजको १२ नं. ले थप सजायँको व्यवस्था गरेको छ । उक्त १२ नं. स्वतन्त्र छैन । भूमिसुधार अधिकारी र नायबसुब्बा दुवैले छाप र प्याड कार्यालयको होइन भनेका छन् । यस्तो अवस्थामा शंकाको भरमा मात्र प्रतिवादीलाई सजायँ गर्न मिल्दैन भन्ने समेतको बहस गर्नुभयो । निवेदक प्रतिवादी तर्फकै अर्का विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले भू.सु.का. को जाहेरीमा बद्रीप्रसादले कीर्ते गरेको भन्ने आरोप छैन । बद्रीप्रसादले प्रहरी तथा अदालत दुवैमा कसूरमा इन्कार रही बयान गरेका छन् । सरजमीन र अड्डा प्रमुख तथा कार्यालयका अन्य कर्मचारीहरु तथा निवेदक प्रतिवादीहरुका साक्षीहरु समेतले बद्रीप्रसाद उपर शंकासम्म गरेका छ्रैनन् । प्याड र छाप निजको जिम्मामा रहेको र सहअभियुक्तले पोलेको भन्ने आधारमा मात्र प्रहरीले निज बद्रीप्रसाद उपर कारवाही चलाउने भनेकोमा सरकारी वकीलले उक्त आधारमा मात्र कारवाही चलाउन नमिल्ने राय व्यक्त गरेका छन् । सरकारी मुद्दा सम्बन्धी नियमावली, २०१८ को नियम ११ बमोजिम त्यसरी सरकारी वकील र प्रहरी बीच मुद्दा चलाउने नचलाउने विषयमा मतैक्य हुन नसकेमा सर्वप्रथम अदालतले मुद्दा चलाउने वा नचलाउने वा थप सबूद प्रमाण संकलन गर्ने आदेश दिनु पर्छ । तर सो नियम अन्तर्गत आदेश नदिई अ.बं. ११८ नं. अन्तर्गतको पर्चा भई प्रहरीको राय मनासिब भन्दै धरौट दिए धरौट र नदिए पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरिएको छ । सहअभियुक्तको पोल बाहेक प्रतिवादी बद्रीप्रसादले कसूर गरेको भन्ने कुनै सबूद प्रमाण छैन । उक्त विवादित पत्र लेखिएको प्याड र त्यसमा लागेको छाप समेत अड्डाका होइनन् भनी प्रतिवादी बद्रीप्रसाद सिग्देल र सो कार्यालयका हाकिम तथा ना.सु.ले बन्दसवाल बयान गरिदिएको अवस्थामा उक्त प्याड र छाप कार्यालयको हो होइन निक्र्योलै नगरी सहअभियुक्तको पोलको आधारमा अनुमान गरी कसूरदार ठहर्याउन मिल्दैन मेरो पक्ष प्रतिवादी बद्रीप्रसादले सफाई पाउनु पर्दछ भन्ने समेतको बहस गर्नुभयो । विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले जाहेरीमा पोल नभए पनि पछि प्राप्त सबूद प्रमाणबाट प्रतिवादी उपर अभियोग लगाउन नमिल्ने होइन । मुद्दा चलाउने वा नचलाउने विषयमा प्रहरी र सरकारी वकील बीच मतैक्य हुन नसकेमा सरकारी मुद्दा सम्बन्धी नियमावली, २०१८ को नियम ११ बमोजिम अदालतले मुद्दा चलाउने आदेश दिन सक्दछ । छाप अरुले पनि लगाउन सक्ने अवस्था होला तर विवाद आएपछि त्यसको उत्तरदायित्व छाप जिम्मा लिने फाँटवालाकै हुन्छ । अ.बं. ११८ नं. अन्तर्गतको पर्चामा भए पनि मुद्दा चलाउने अदालतको ठहर सरकारी मुद्दा सम्बन्धी नियमावलीको नियम ११ अन्तर्गतकै हो भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
३०. प्रस्तुत मुद्दामा प्रतिवादी बद्रीप्रसाद सिग्देलले कीर्ते गरेको ठहर्याएको यस सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४३।२।२६ को इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
३१. यसमा निर्णयतर्फ हेर्दा बगनाहा गा.पं. वडा नं. ३ बस्ने मोति थारु, लोटन थारु र चंगु भन्ने चुन्नु थारु समेत जना तीनले २०२३ सालमा मोहीको हैसियतले प्राप्त गरेको जग्गा २०२८ सालमा किस्ता चुक्ता नगरेबाट निजहरुबाट जफत भई गएको बनगाहा गा.पं. वडा नं. ३ को कि.नं. २, ९५, ७, १०७, १०८ र १०९ को जग्गा बिगाहा ९–११–५ जग्गाको यस कार्यालयका हाकिम, ना.सु. र मुखिया समेतको दस्तखत (साविक पेज नं. २६२) र कार्यालयको छाप कीर्ते गरी सिफारिशपत्र थान तीन तयार गरी मोति थारुबाट रु. ५३५५।– लिनु खानु गरेकोले सो कार्य लेखनदास काम गर्ने गोपालसिंह धमालले नै गरेको हो भन्ने कुरा प्रष्ट बुझिएकोले निज गोपालसिंह धमाललाई कीर्ते जालसाजीको महल बमोजिम कारवाही गरिदिनु भन्ने व्यहोराको जिल्ला भूमिसुधार शाखा बर्दियाको मिति २०३७।१०।२९ को जाहेरी अनुसार प्रस्तुत मुद्दाको कारवाही अगाडि बढेको देखिन्छ । प्रतिवादी गोपालसिंह धमालले प्रहरी समक्ष बयान गर्दा श्री ५ को सरकार भूमिसुधार कार्यालय बर्दिया भन्ने प्याडमा लेखिएको च.नं. ३२७, ३२८ र ३२९ का थान तीन पत्र मु.बद्रीप्रसादले भने बमोजिम मैले मेरै हस्ताक्षरले लेखेको हुँ उक्त तीन थान पत्र मैले लेखिदिए पछि निजले त्यसमा भू.सु.अ. र नायब सुब्बा समेतको सहिछाप गराई राख्छु भने । त्यसको ६–७ दिन पछि उक्त पत्रको बोधार्थ समेत ६ प्रति मलाई निज मुखियाले दिएका थिए भन्ने समेतको बयान गरेपछि निज मुखिया बद्रीप्रसाद सिग्देललाई समेत प्रतिवादी बनाई कीर्ते कागजको १ नं., ७ नं. र १२ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने माग दावी लिई प्रहरी प्रतिवेदन परेको र यसमा निज बद्रीप्रसाद उपर मुद्दा चलाउन सबूद प्रमाण नपुग्ने हुँदा बद्रीप्रसाद उपर मुद्दा नचलाउने भन्ने स.स.अ.को छुट्टै राय पेश भएको देखिन्छ । उक्त विवादास्पद लिखतहरुमा परेका कीर्ते सहिछाप समेत निज गोपालसिंह धमालले नै गरेको हो र निज बद्रीप्रसाद सिग्देलले कीर्ते गरेको होइन भन्ने समेतको सरजमीन मुचुल्का रहेको देखिन्छ । सरजमीनमा लेखाई दिने व्यक्तिहरुले सोही कुरालाई समर्थन गरी अदालतमा समेत आई बकपत्र गरी दिएको पाइन्छ । प्रतिवादी गोपालसिंह धमालले प्रतिवादी बद्रीप्रसादलाई पटक पटक गरी रु. ४,५५५।– दिएको भन्ने सन्दर्भमा पनि मोतीप्रसाद थारु समेतले अदालतमा गरेको बकपत्रबाट निज बद्रीप्रसादलाई रुपैयाँ दिएको भनेको देखिँदैन । उक्त विवादास्पद तीन पत्रहरु लेखिएको प्याड र त्यसमा लागेको कार्यालय तथा हाकिम र ना.सु.को छाप समेत भूमिसुधार कार्यालय बर्दियाको होइनन् र आफू कसूरमा संलग्न नरहेको भनी प्रतिवादी बद्रीप्रसाद सिग्देलले प्रहरी तथा अदालत दुवैमा इन्कारी बयान दिएको देखिन्छ । उक्त प्याड तथा छापहरु भू.सु.का. बर्दियाका होइनन् भनी सोही अड्डाका हाकिम भरतराज ज्ञवाली र ना.सु.दधीराज सुवेदी समेतले बयान गरेको पाइन्छ ।
३२. यस प्रकार प्रस्तुत मुद्दामा सहअभियुक्त गोपालसिंह धमालले आफूले कीर्तेको अपराध गरेको कुरा स्वीकार गरी सो अपराध गर्नमा निवेदक प्रतिवादी बद्रीप्रसाद सिग्देलको समेत संलग्नता देखाएको र भूमिसुधार कार्यालय बर्दियाको दर्ता फाँटमा सो कार्यालयको छाप समेत जिम्मा लिई काम गर्ने मुखियाको पदमा निज निवेदक प्रतिवादी बहाल रहेकोले त्यस्तो छाप लागेको लिखत निजबाट वा निजको जानकारीमा मात्र तयार हुन सक्ने साधारणतः अनुमान हुने भएकोले आरोपित अपराधमा निवेदक प्रतिवादी पनि संलग्न रहेको छ कि भनी शंका उठ्नु स्वभाविक हो । तर उक्त विवादित कीर्ते लिखत तयार गर्न प्रयोग गरिएको प्याड र छाप भूमिसुधार कार्यालय बर्दियाको प्याड वा छाप समेत होइन भनी निवेदक प्रतिवादी बद्रीप्रसाद सिग्देलका अतिरिक्त तत्कालिन भूमिसुधार अधिकारी र भूमिसुधार कार्यालयका नायब सुब्बा समेतले आफ्नो बयानमा जिकिर लिएकोमा सो प्याड र छाप कार्यालयको हो होइन भनी त्यस सम्बन्धमा यथार्थ तथ्य पत्ता लगाउने तर्फ प्रहरी कार्यालय तथा अदालतले समेत कुनै वास्ता नगरी सो प्याड र छाप सद्दे नै हो भन्ने निष्कर्षमा पुग्न सिर्फ अनुमानको सहारा लिएको देखिन्छ । यसरी अनुमानको आधारमा मात्र प्रतिवादी बद्रीप्रसाद सिग्देललाई कसूरदार ठहर्याई सजायँ गर्न न्यायसंगत देखिँदैन । तसर्थ विवादास्पद प्याड र छाप सद्दे हो वा होइन भन्ने कुराको यथार्थता प्रमाणको आधारमा यकीन नगरिएकोले सहअभियुक्तको पोलको आधारमा मात्र निवेदक प्रतिवादीले आरोपित अपराध (साविक पेज नं. २६३) गरेको शंका गरी निजलाई कसूरदार ठहर्याउन मिल्ने देखिएन । शंकाको लाभ अभियुक्तले पाउने हुँदा निवेदक प्रतिवादी बद्रीप्रसाद सिग्देललाई कसूरदार ठहर्याएको शुरु बर्दिया जिल्ला अदालतको इन्साफ मनासिब ठहर्याएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको यस सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४३।२।२६।२ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । निवेदक प्रतिवादी बद्रीप्रसाद सिग्देलले सफाई पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक प्रतिवादी बद्रीप्रसाद सिग्देल के माथि इन्साफ खण्डमा लेखिए बमोजिम कसूरबाट सफाई पाउने ठहरेकोले निजलाई कीर्ते गरेको ठहर्याई देहायको अदालतले देहाय बमोजिम कैद र जरिवाना गर्ने गरेकोमा सो सजायँ गर्नु परेन सो लगत कट्टा गरिदिनु भनी शुरु बर्दिया जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...१, शुरु बर्दिया जिल्ला अदालतको मिति २०४०।४।३१ को फैसलाले लाग्ने गरेको कैद वर्ष –२।– दुई वर्ष र जरिवाना रु. ५७,३७५।– सन्ताउन्न हजार तीनसय पचहत्तर रुपैयाँ...१ पुनरावेदन गरे बापत म.प.क्षे.अ.को मिति २०४१।५।१० का फैसलाले लाग्ने गरेको कैद वर्ष ।२।१२। दुई महीना बाह्र दिन र थप जरिवाना रु. ५७३७।५० पाँच हजार सात सय सैतीस रुपैयाँ पचास पैसा...१, सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४३।२।२६ का फैसलाले पुनरावेदन गरे बापत थप कैद वर्ष ।१।६।१२ एक महीना छ दिन बाह्र घण्टा र थप जरिवाना रु. २,५६८।७५ दुई हजार पाँच सय अठसठ्ठी रुपैयाँ पचहत्तर पैसा...१,
निवेदक प्रतिवादी बद्रीप्रसाद सिग्देल के शुरु फैसलाउपर मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा निजलाई शुरु बर्दिया जिल्ला अदालतको फैसलाले लागेको कैद वर्ष २।– दुई वर्ष र जरिवाना रु. ५७,३७५।– बापत दुर्गा सिग्देलका नाउँमा रहेको देहाय बमोजिमको जग्गा बर्दिया जिल्ला अदालतको मिति २०४०।६।११ को आदेशले जेथाजमानी दिई सो जि.अ.मार्फत रोक्का रहेको देखिँदा सो जग्गा फुकुवा गरिदिनु भनी शुरु बर्दिया जिल्ला अदालतमा लेखी पठाई दिनु...२,
बर्दिया जिल्ला गुलरीया गा.पं. वडा नं. १ बस्ने दुर्गा सिग्देलका नाउँमा दर्ता भएको बर्दिया जिल्ला गुलरीया गा.पं. वडा नं. १ को कि.नं. ४७० को ज.वि. ०–२–०...१, निजकै नाममा दर्ता भएको सौरहवा गा.पं. वडा नं. २ को कि.नं. ६१४ को ज.वि. ३–०–३...१,
निवेदक प्रतिवादी बद्रीप्रसाद सिग्देलके इन्साफ सदरमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।५।१०।१ का फैसलाले थप कैद वर्ष ।२।१२ दुई महीना बा¥ह दिन र थप जरिवाना रु. ५,७३७।५० लाग्ने गरेकोमा सो अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन गर्दा उक्त कैद र जरिवाना बापत सर्वोच्च अदालतको मिति २०४१।८।६ को आदेशले जेथाजमानी राखी रोक्का रहेको र सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४३।२।२६।२ का फैसलाले लाग्ने गरेको थप कैद वर्ष ।१।६।१२ एक महीना छ दिन बा¥ह घण्टा र थप जरिवाना रु. २५६८।७५ बापत मुद्दा दोहर्याई ल्याउँदा समेत जेथाजमानी दिएको देहायको जग्गा फुकुवा गरिदिनु भनी शुरु बर्दिया जिल्ला अदालतमा लेखी पठाई दिनु...३,
बद्रीप्रसाद सिग्देलका नाउँमा दर्ता रहेको बर्दिया जिल्ला गुलरिया गा.पं. वडा नं. ७(घ) कि.नं. ९३/१९२ को ज.वि. २–०–०......१,
मिसिल नियमानुसार गरी बुझाई दिनु...४
उक्त रायमा हामीहरु सहमत छौं । न्या.गजेन्द्रकेशरी बास्तोला, न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४८ साल आश्विन ३ गते रोज ५ शुभम् ।
(साविक पेज नं. २६४)