निर्णय नं. ४३०५ - लागू औषध हेरोइन बिक्री

निर्णय नं. ४३०५ ने.का.प. २०४८ अङ्क ६
संयुक्तइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
सम्वत् २०४६ सालको फौ.पु.नं. ३७१
सम्वत् २०४७ सालको फौ.पु.नं. २६९
फैसला भएको मिति: २०४८।५।२६।४ मा
पुनरावेदक/प्रतिवादी : जिल्ला कार्यालय कारागार शाखा नख्खु ललितपुरमा थुनामा रहेको वर्ष ३० को शान्त थापा
विरुद्ध
प्रत्यर्थी/वादी : श्री ५ को सरकार
पुनरावेदक/वादी : श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला बागबजार डेरा गरी बस्ने वर्ष ३६ की छिरिङ शेर्पिनीसमेत
मुद्दा : लागू औषध हेरोइन बिक्री
(१) एउटै अपराधमा संलग्न २ प्रतिवादीलाई भएको सजायँको बीचमा ठूलो अन्तर रहनु न्यायसंगत नदेखिँदा प्रतिवादीलाई अपराधको मात्रा, प्रकृति र परिमाणको आधारमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(ख) अन्तर्गत वादी दावी बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा चार वर्ष कैद र रु. १०,०००।– दश हजार रुपैयाँ जरिवाना हुने ।
(प्रकरण नं. २३)
वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान
प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री सुवास नेम्वाङ
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।९।२४।२ को फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३)(ख) बमोजिम पुनरावेदनको रुपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र जिकिर निम्न बमोजिम छ ।
२. का.जि.बालुवाटार बस्ने शान्त थापा र बागबजार बस्ने छिरिङ शेर्पिनीले लागू औषध कारोबार गर्ने गरेको छ भन्ने बुझेकोले कारवाही गरी पाउँ भन्ने प्र.ज.गंगाराम परियारको प्रतिवेदन ।
३. छिरिङ शेर्पिनीले बोकी ल्याएको ब्याग भित्र प्लाष्टिकको कागजमा लपेटी पोको पारी राखेको ३ पोकामा रहेको हेरोइन २०० ग्राम बरामद भएको भन्ने लक्ष्मण राणा समेतले गरी दिएको मिति २०४३।५।२९ गतेको बरामदी मुचुल्का ।
४. पक्राउ परेका शान्त थापा, छिरिङ शेर्पिनी समेतका व्यक्ति र बरामद भएको हेरोइन २०० ग्राम (साविक पेज नं. २७०) सहित कारवाहीका लागि पठाएको वागमती अञ्चल प्रहरी कार्यालयको मिति ०४३।५।२९ को पत्र ।
५. बरामदी मुचुल्कामा उल्लेख भए बमोजिमको अवैध लागू औषध ब्राउन सुगर हेरोइन २२० ग्राम मैले बोकी हिंडेको झोलामा राखेको हेरोइन मेरै साथबाट बरामद भएको हो । मिति बार थाहा भएन का.जि.बालुवाटार बस्ने शान्त थापासंग प्रति ग्राम रु. ११५।– का दरले रु. २५,३००।– रुपैयाँमा खरीद गरी फुटकर रुपमा अन्य व्यक्तिहरुलाई बिक्री गर्ने उद्देश्यले हिंडेको बेलामा बिक्री गर्न नपाउँदै प्रहरीहरुले पक्राउ गरेका हुन । निज शान्त थापालाई पैसा भुक्तान गरिसकेको छैन । बिक्री वितरण गरी पैसा तिर्ने उद्देश्य थियो भन्ने समेत व्यहोराको प्रतिवादी छिरिङ शेर्पिनीले प्रहरीमा गरेको मिति ०४३।५।२९।१ को बयान ।
६. छिरिङ शेर्पिनीबाट बरामद भएको ब्राउन सुगर देखाउँदा देखें चिनें, सो ब्राउन सुगर मैले नै छिरिङ शेर्पिनीलाई बिक्री वितरण गरेको हो । रेष्टुराँबाट नोक्सान भएको हुँदा रेष्टुराँमा आउने मानिसको संगतबाट अवैध लागू औषध ब्राउन सुगर हेरोइन बिक्री वितरण गर्ने काम गर्दै आएको हुँ । भारत निवासी धर्म नाम गरेको व्यक्तिसंग कारोबार गर्दै थिएँ । निजै धर्मसंग प्रति ग्राम रु. ६०।– का दरले २२० ग्राम ब्राउन सुगर १३,२००।– मा मोल छिनी खरीद गरेको हुँ । सो २२० ग्राम हेरोइन बिक्री गर्ने उद्देश्यले ३ पोकामा राखेकोमा छिरिङ शेर्पिनीलाई प्रति ग्राम रु. ११५।– का दरले २२० ग्राम नै ३ पोका बिक्री गरेको हुँ । भुक्तानी पाएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी शान्त थापाले प्रहरी समक्ष गरेको मिति २०४८।५।२९।१ को बयान ।
७. मिति ०४३।५।२९ गतेका दिन छिरिङ शेर्पिनीलाई पक्राउ गर्दा निजबाट २२० ग्राम हेरोइन बरामद भएको सुनेका हौं र निज छिरिङ शेर्पिनीले सो बरामदका हेरोइन बिक्री गर्न लिई हिंडे वा के हो थाहा छैन । शान्त थापाबाट उक्त हेरोइन २२० ग्राम खरीद गरेको हो वा के कसो हो थाहा छैन भन्ने समेत व्यहोराको मिति २०४३।६।७।३ को सरजमीन मुचुल्का ।
८. मिति २०४३।५।२९ का दिन प्रतिवादी छिरिङ शेर्पिनीले बिक्री गर्न भनी लिई हिंडेको बखत निज छिरिङलाई बागबजारमा फेला परी निजको व्यागबाट सो हेरोइन समेत बरामद भएकोले बेच्ने प्र.शान्त थापा र प्र.छिरिङ शेर्पिनीले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(छ) को कसूर गरेकोले निजहरु उपर उक्त ऐनको दफा १४(ख) अनुसार कारवाही सजायँ हुनका लागि माग दावी लिई प्रस्तुत भएको मिति ०४३।६।९ को प्रहरी प्रतिवेदन ।
९. प्रहरीमा भएको बयान राजीखुशीको होइन । मैले अभियोग अनुसारको कसूर गरेको पनि छैन । प्रहरी कागजमा भएको सही मेरो हो । प्र.छिरिङ सेर्पिनीलाई चिन्दिन, निजले आफू बच्नको लागि मलाई देखाएको हो, ब्याग र लागू औषध मेरो होइन मैले बिक्री वितरण समेत गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी शान्त थापाले अदालतमा गरेको मिति २०४६।६।१० को बयान ।
१०. प्रतिवादी शान्त थापाले लिएर आएको ब्याग एकछिन राखी देऊ भनी मेरो डेरामा बाकस माथि राखी गएका थिए । मैले ब्याग खोली हेरिन । एकछिन पछि प्रहरीले पक्राउ गरी लगेका हुन । मैले बोकी हिंडेको अवस्थामा पक्राउ गरेको होइन । डेराबाट बरामद भएको हो, सनाखत गर्दछु भन्ने समेत व्यहोराको प्रतिवादी छिरिङ शेर्पिनीले अदालतमा गरेको मिति २०४३।६।१०।६ को बयान ।
११. शान्त थापाले लागू औषधि छिरिङ शेर्पिनीलाई बिक्री गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी शान्त थापाको साक्षी गोवर्धन ढुंगेलले गरेको बकपत्र ।
१२. मिति २०४०।५।२९ का दिन बागबजार स्थित विद्युत प्राधिकरण पछाडि फुटपाथमा प्रतिवादी छिरिङ शेर्पिनीलाई म समेतका चारजनाले निजप्रति शंका (साविक पेज नं. २७१) लागि रोकी निजले बोकी ल्याएको लागू औषध हेरोइन बरामद गरेको हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्काका प्र.ना.नि. दामोदर लामिछानेले गरेको बकपत्र ।
१३. प्रतिवादी शान्त थापा र छिरिङ शेर्पिनीले लागू औषध बिक्री वितरण गरी लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) को कसूर गरेको ठहरेकोले सोही ऐनको दफा १४(ख) बमोजिम प्रतिवादी शान्त थापालाई १२ वर्ष कैद र रु. ३०,०००।– जरिवाना र प्रतिवादी छिरिङ शेर्पिनीलाई सोही दफा बमोजिम कैद वर्ष ६ र रु. १०,०००।– जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको वागमती विशेष अदालतको मिति २०४५।११।४ को फैसला ।
१४. वागमती विशेष अदालतको फैसला कानुन विपरीत र अन्यायपूर्ण भएकोले चित्त बुझेन, फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको छिरिङ शेर्पिनी र शान्त थापाको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पृथक पृथक पुनरावेदन ।
१५. यसमा सबूद प्रमाणबाट प्रतिवादी छिरिङ शेर्पिनीको खानतलाशी गर्दा निजले बोकेको ब्यागबाट २२० ग्राम हेरोइन बरामद हुँदा निज रोहवरमा बसेको र निजको अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयानमा निजले बिक्री गर्ने उद्देश्यबाट प्रतिवादी शान्त थापाबाट खरिद गरी ल्याएको भनी उल्लेख गरेको र ब्यागमा राखी ग्राहक खोजी हिंडेको भन्ने कुरा बरामदी मुचुल्काबाट देखिन्छ भने निजले अदालतमा बयान गर्दा निजको डेरामा बरामद भएको हो भनी लागू औषध राखिएको ब्याग र बरामद भएको तथ्य समेत स्वीकार गरेको देखिएको छ । प्रतिवादी शान्त थापाको हकमा विचार गर्दा निजले भारतीय धर्म भन्ने व्यक्तिसंग रु. १३,२००।– मा खरिद गरेको र प्र.छिरिङ शेर्पिनीलाई रु. २५,३००।– मा बिक्री गरी नाफा आर्जन गरेको देखिएको र सो भन्दा अगाडि २।४ पटक बिक्री वितरण गरेको भनी शुरुको कागजमा सावित रहेकोमा अदालतमा आई निजले सो बयानमा सहिछाप गरेको भनी स्वीकार गरेको र कुटपिट गरेको भनी लिएको जिकिर ठोस प्रमाणबाट पुष्टी गर्न सकेको नदेखिएको र बरामदी मुचुल्काको प्र.ना.नि. दामोदर लामिछानेको बकपत्रबाट बरामदी मुचुल्का समेत समर्थित भएको देखिएको छ । तसर्थ कसूरको प्रकृति, लागू औषधको परिमाण समेतबाट वागमती विशेष अदालतले प्रतिवादी शान्त थापा र प्रतिवादी छिरिङ शेर्पिनीलाई क्रमशः ८ वर्ष कैद र रु. ३० हजार जरिवाना र ४ वर्ष कैद र रु. १० हजार जरिवाना गर्नु पर्नेमा बढी सजायँ गरेको नमिलेकोले वागमती विशेष अदालतको फैसला केही उल्टी हुन्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।९।२४।२ को फैसला ।
१६. प्रहरीमा गरेको कागज स्वेच्छाको होइन । सहअभियुक्तको बयान अन्य प्रमाणबाट पुष्टी नभएको हुँदा मेरा साक्षी प्रमाणबाट पनि मैले सफाई पाइरहेको र जोसंगबाट बरामद भएको भनिएको छ उसलाई ४ वर्ष कैद र जसको विरुद्ध कुनै प्रमाण नै छैन त्यसलाई ८ वर्ष कैद गरिएकोमा न्यायिक आधार नभएकोले म.क्षे.अ.को फैसलामा चित्त बुझेन भन्ने समेतको प्रतिवादी शान्त थापाको पुनरावेदन ।
१७. प्रतिवादीहरुलाई बिना आधारमा सजायँ घटाएकोमा चित्त बुझेन भन्ने समेत जिकिरको वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन ।
१८. पुनरावेदक प्रतिवादी शान्त थापा प्रहरीमा सावित भए पनि अदालतमा कुन कस्तो प्रकारको कागजमा सही गराएको थाहा नपाएको भनी इन्कारी रहेको र प्रतिवादी पुनरावेदक शान्त थापा उपर प्रतिवादी छिरिङ शेर्पिनीको पोल स्वतन्त्र प्रमाणबाट समर्थित छैन । यस्तो अवस्थामा प्रतिवादी पुनरावेदकलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(ख) बमोजिम सजायँ गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिनाले अ.बं. २०२ नं. बमोजिम वादीलाई सूचना गरी पेश गर्नु (साविक पेज नं. २७२) भन्ने मिति २०४७।११।२० को यस अदालतको आदेश ।
१९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधानले लागू औषधको परिमाण २२० ग्राम बरामद भएबाट सो परिमाणका आधारमा मात्र पनि माग दावी बमोजिम सजायँ गर्नु पर्ने हुन्छ भनी गर्नु भएको बहस र प्रत्यर्थी शान्त थापाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुवास नेम्वाङले लागू औषध शान्त थापाबाट बरामद नभई छिरिङ शेर्पिनीबाट बरामद भएको, छिरिङको प्रहरीमा भएको सावितीको आधारमा मात्र अर्को अभियुक्तलाई सजायँ गर्न नमिल्ने हुँदा प्रतिवादी छिरिङको प्रहरीको बयान भरपर्दो नभएको हुँदा शान्त थापाले सफाई पाउनु पर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
२०. वादी प्रतिवादीका विद्वान अधिवक्ताहरुको बहस तथा मिसिल सामेल सबूद प्रमाणका आधारमा वागमती विशेष अदालतको शुरु फैसलालाई केही उल्टी गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको पुनरावेदन फैसला मिलेको छ छैन सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
२१. यसमा मिति २०४३।५।२९ का दिन बागबजार स्थित प्र.छिरिङ शेर्पिनीका डेराबाट बरामदी मुचुल्कामा उल्लेख भए बमोजिम २०० ग्राम ब्राउन सुगर बरामद भएको कुरामा कुनै विवाद देखिँदैन । प्रतिवादी छिरिङ शेर्पिनीलाई ४ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना र प्रतिवादी शान्त थापालाई ८ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सजायँ घटाई फैसला गरेको नमिलेको हुँदा शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने पुनरावेदक वादी श्री ५ को सरकारको र सफाई पाउनु पर्नेमा सजायँ गरेको नमिलेको हुँदा सफाई पाउँ भन्ने प्रतिवादी शान्त थापाको मुख्य पुनरावेदन जिकिर देखिन्छ ।
२२. यसमा लागू औषधको परिमाण र कसूरको प्रकृति समेतलाई आधार बनाई मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादी छिरिङ शेर्पिनीलाई ४ वर्ष कैद र दश हजार रुपैयाँ जरिवाना गरी सजायँ घटाएको मिलेकै देखिँदा निजको हकमा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब ठहर्छ । प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ हुनुपर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२३. अर्को प्रतिवादी शान्त थापाको हकमा विचार गर्दा निजको साथबाट लागू औषध बरामद हुन नआए तापनि मौकामा प्रहरी समक्ष निजले सो बरामदी भएको लागू औषध धर्म भन्ने भारतीयबाट रु. १३,२००।– मा खरिद गरेको र छिरिङ शेर्पिनीलाई रु. २५,३००।– मा बिक्री गरी नाफा आर्जन गरेको भन्ने देखिँदा निजले बिना कारण उक्त साविती व्यक्त गर्नु नपर्ने र प्रहरी हिरासतमा कुटपिटबाट बयान गरेको भनी अदालतमा सो सावितीलाई इन्कार गरे तापनि कुटपिट गरेको भनी लिएको जिकिर ठोस प्रमाणबाट पुष्टी हुन सकेको देखिँदैन, प्रतिवादी छिरिङ शेर्पिनीले अकारण निजलाई पोल गर्नु पर्ने परिस्थिति पनि नदेखिँदा लागू औषधको बिक्रीको कार्यमा निजको संलग्नता छैन भनी भन्न सकिएन । एउटै अपराधमा संलग्न यी २ प्रतिवादी शान्त थापा र छिरिङ शेर्पिनीलाई भएको सजायँको बीचमा ठूलो अन्तर रहनु पनि न्यायसंगत नदेखिँदा प्रतिवादी शान्त थापाका हकमा पनि सजायँ घटाएको मिलेको छैन भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । पुनरावेदक प्रतिवादी शान्त थापालाई पनि अपराधको मात्रा, प्रकृति र परिमाणको आधारमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(ख) अन्तर्गत वादी दावी बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा ४ चार वर्ष कैद र रु. १०,०००।– दश हजार रुपैयाँ जरिवाना हुन्छ । सो हदसम्म मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी शान्त थापालाई माथि इन्साफ खण्डमा ठहरे (साविक पेज नं. २७३) बमोजिम कैद वर्ष ४ र जरिवाना रु. १०,०००।– हुने ठहरी फैसला भएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको कैद वर्ष ८ र जरिवाना रु. ३०,०००।– को साथै पुनरावेदन गरेबापत थप कैद ।९।१८ नौ महीना अठार दिन र जरिवाना बापत रु. ३०००।– तीन हजार समेत जम्मा कैद ८।९।१८ आठ वर्ष नौ महीना १८ दिन र जम्मा जरिवाना बापत रु. ३३,०००।– नलाग्ने हुँदा उक्त लगत कट्टा गर्नु भनी काठमाडौं जिल्ला अदालत तहसील शाखालाई लगत दिनु...१
प्रतिवादी शान्त थापालाई कैद वर्ष चार र जरिवाना रु. १०,०००।– हुने ठहरेकोले निज मिति २०४३।५।२९ देखि थुनामा बसी कैद भुक्तान भइसकेको देखिँदा अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भएमा निजले जरिवाना बापतको रकम रु. १०,०००।– दश हजार बुझाएमा असूल गरी थुनाबाट छाडी दिनु, जि.अ.मा लगत दिनु...१
फैसलाको एक प्रति नक्कल जानकारीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु...१, मिसिल नियमानुसार गरी बुझाई दिनु...१
उक्त रायमा म सहमत छु । न्या.मोहनप्रसाद शर्मा
इतिसम्वत् २०४८ साल भाद्र २६ गते रोज ४ शुभम् ।