निर्णय नं. ९७४७ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७३।०१।१४
०६७-RC-०१०२
मुद्दा: कर्तव्य ज्यान ।
वादी : निरकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : खोटाङ जिल्ला खार्मी गा.वि.स.वडा नं.७ घर भई हाल कारागार कार्यालय, खोटाङमा कैदमा रहेका शैलेन्द्र श्रेष्ठ
कर्तव्य ज्यान मुद्दामा आपराधिक कार्य र मनसायको विद्यमानता जरूरी हुन्छ । प्रतिवादीको प्रहार गरेको चोटबाट मृतक महेन्द्रको मृत्यु भएकोले प्रतिवादीबाट प्रत्यक्षरूपमा आपराधिक कार्य भएको स्पष्ट छ । प्रतिवादीले पूर्व योजना र तयारीका साथ प्रस्तुत वारदात घटित गराएको नदेखिए तापनि एउटा साधारण समझ र मिजासको मानिसले खुकुरी जस्तो जोखिमी हतियारले जथाभावी प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने कुरा सहजै बुझ्न सकिने विषय हो । तसर्थ, प्रतिवादीले मृतकउपर धारिलो जोखिमी हतियारले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गरेको कार्यले मनसाय तत्त्वलाई समेत अप्रत्यक्षरूपमा प्रकट गरेको मान्नुपर्ने ।
(प्रकरण नं. ५)
अपराधीलाई सजाय गर्नुको उद्देश्य अपराधीबाट समाजको सुरक्षा गर्नु, भविष्यमा त्यस प्रकारका अपराध गर्न उन्मुख व्यक्तिलाई हतोत्साहित गराउनु, आफूले गरेको अपराधको प्रायश्चित गराई निजलाई सुधार गरी भोलि कानूनपरायण नागरिक बनाई समाजमा पुनर्स्थापित गर्नु र पीडित पक्षलाई सान्त्वना दिलाउनु हो । त्यसैले अपराधको प्रकृति, वारदात हुँदाको अवस्था र परिस्थिति पीडित पक्षले वारदातमा खेलेको भूमिका, पीडक अर्थात् कसुरदारले अपराध घटेपछि खेलेको भूमिका र घटनाप्रति आफूले गरेको प्रायश्चितसमेतलाई दृष्टिगत गरी अपराध र सजायमा सन्तुलन हुने गरी सजाय दिइनु र हुनुपर्ने ।
(प्रकरण नं. ६)
वादीको तर्फबाट :
प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता गणेशबहादुर गुरूङ
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्ने:
मा.जि.न्या.श्री दयानाथ खरेल
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या.श्री अलिअकबर मिकरानी
फैसला
न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक जाँचको लागि र सोही ऐनको दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छ:-
खोटाङ जिल्ला खार्मी गा.वि.स.वडा नं.७ बस्ने सम्बरबहादुरको घरपछाडि भएको खानेपानीको धाराबाट पाइप लगाई घरमा पानी लगेकोमा उक्त पाइप शैलेन्द्र श्रेष्ठसमेतले काटेको विषयलाई लिएर विवाद भएपछि पानीकै धारानजिक गएर सोही बारेमा कुरा गर्नलाई दाजु उपेन्द्र श्रेष्ठ, महेन्द्र श्रेष्ठ साथी सुर्यबहादुर तामाङ र म मिति २०६५/०८/२० गते बेलुका अं.७:०० बजेको समयमा गएको अवस्थामा प्रतिवादी शैलेन्द्र श्रेष्ठसमेतले हात हातमा लाठी, खुर्मी, खुकुरी लिई हामीमाथि प्रहार गर्दा महेन्द्र श्रेष्ठलाई लागी उनी भुइँमा ढले। मसमेत घाइते भएपछि मान्छे मर्यो भन्दै कराउँदा हामीलाई बचाउन आउने काजीदास श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, विनोद श्रेष्ठसमेतलाई हिर्काई काटी घाइते पारेको र महेन्द्र श्रेष्ठको मृत्यु भएको हुँदा अपराधीहरूलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भनी निरकुमार श्रेष्ठले दिएको जाहेरी दरखास्त ।
नाक अनुहारमा रगत लागी सुकेको, छातीको बायाँपट्टिको १/२ इन्च लामो निल रहेको, दाहिने हातको बुढी औंठाबीचमा काटिएर छिनी छालाले मात्र अडिएको, चोरी औंठा काटिएर टुप्पो छिनेको, माझी औंठाबीचमा काटिएर छिन्न लागेको देखिएको, दायाँ आँखामाथि १ इन्च दाहिने गालाको माथिल्लो भागमा १ इन्च छाला खुइलिएको, बायाँ कानभन्दा माथि टाउकोमा कडा वस्तुले हिर्काएर सुनिएको तथा पछाडि टाउकोमा कडा चिजले हिर्काएर सुन्निएको जस्तो देखिएको र वारदात स्थलबाट खुर्मी थान-१, लाठी थान-१,समेत बरामद भएको भन्ने व्यहोरा मृतक महेन्द्र श्रेष्ठको घटनास्थल लास जाँच मुचुल्का ।
प्रतिवादी शैलेन्द्र श्रेष्ठलाई दापसहितको खुकुरी थान-१ सहित फेला पारी खुकुरी बरामद गरी पक्राउ गरी दाखिला गरेको भन्ने प्रहरी प्रतिवेदन ।
मिति २०६५/०८/२० गते दिउँसो भैंसीको गोठ बनाएर बेलुका अं.६:०० बजेतिर घरमा गई खाना खान लाग्दाको अवस्थामा महेन्द्रकुमार श्रेष्ठ, निरकुमार श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, काजीदास श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, विनोद श्रेष्ठसमेत मेरै घर नजिकको पानीको धारामा आई हाम्रो घरमा लगेको पानीको पाइप किन काटेर पानी नजाने बनाएको भन्दै मेरो नाम लिँदै तथानाम गाली गलौज गरेकाले खाना खान छोडेर बाहिर निस्की आज रात परिसक्यो विवाद नगरौं, भोलि बिहान आउनुहोस् गल्ती भएको भए बेहोरौंला भन्नासाथ उपेन्द्र श्रेष्ठले मलाई लाठीले टाउकोमा प्रहार गरे, पुनः दोस्रो पटक महेन्द्र श्रेष्ठले ममाथि लाठी प्रहार गरेपछि म पनि उत्तेजित भएर मेरो कम्मरमा भिरिराखेको खुकुरी निकालेर महेन्द्र श्रेष्ठउपर प्रहार गर्दा निजले खुकुरी छल्न खोज्दा दाहिने हातको बुढी औंला, चोर औंला र माझी औंलासमेत काटिएको र आँगनमा रहेको बटम दाउरो टिपेर अन्धाधुन्ध महेन्द्र श्रेष्ठको टाउकोमा प्रहार गरेँ। निज महेन्द्र ढलेपछि जथाभावीरूपमा खुकुरी प्रहार गर्दा अन्य को कसलाई लाग्यो मलाई यकिन भएन । मैले भिरेको खुकुरी तथा बटम काठसमेत लिएर त्यहाँबाट हिँडेकोमा बाटोमा के कता काठको बटम फालेँ यकिन भएन । मैले प्रहार गरेको चोटको कारण महेन्द्र श्रेष्ठको मृत्यु भएपछि दिक्तेलतिर आउनलाई दिक्तेल-५ स्थित आइपुग्दा प्रहरीले फेला पारी मेरो साथमा रहेको खुकुरी थान-१ सहित मलाई पक्राउ गरेको हो भन्नेसमेत व्यहोराको शैलेन्द्र श्रेष्ठको अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मेरो पति शैलेन्द्र श्रेष्ठलाई खाना पस्कन लाग्दाको अवस्थामा निरकुमार श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, महेन्द्र श्रेष्ठ नाला कसले काटेको भन्दै कराउँदै हाम्रो घरतर्फ आउने क्रममा पस्किएको खाना छोडेर पति शैलेन्द्र श्रेष्ठ पनि घरबाहिर निस्कनु भयो । उपेन्द्र श्रेष्ठले शैलेन्द्र श्रेष्ठलाई लाठी प्रहार गरेपछि हो-हल्ला भयो । सो अवस्थामा मपनि हातमा खुर्मी लिएर बाहिर निस्किएको हुँ । उपेन्द्र श्रेष्ठ, महेन्द्र श्रेष्ठ, निरकुमार श्रेष्ठसमेत र मेरो पति शैलेन्द्रबीचमा काटाकाट हुँदै गरेको देखी मैले पनि प्रतिकार गरेको हुँ । उक्त खुर्मीले को कसलाई लाग्न गयो मलाई थाहा भएन । घटनामा महेन्द्र श्रेष्ठ, काजीदास श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, निरकुमार श्रेष्ठ र विनोद श्रेष्ठ घाइते भएका र महेन्द्र श्रेष्ठ भुइँमा ढलेपछि शैलेन्द्र श्रेष्ठ खुकुरीसमेत लिई वारदात स्थानबाट भागेका हुन् । महेन्द्र श्रेष्ठको सोही वारदात स्थानमा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको अनुसन्धान अधिकारीसमक्ष निरकुमारी श्रेष्ठले गरेको बयान ।
वारदात मिति र समयमा म खाना पकाउँदै थिएँ । शैलेन्द्र श्रेष्ठको घर आँगनमा शैलेन्द्र श्रेष्ठ र जाहेरवाला पक्ष निरकुमार श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, महेन्द्र श्रेष्ठसमेत आपसमा विवाद गर्दै थिए । सो अवस्थामा मेरो पति नन्दकुमार श्रेष्ठ तथा मसमेत वारदात स्थानमा पुग्दा मेरो पति नन्दकुमार श्रेष्ठलाई निरकुमार श्रेष्ठले कुटपिट गरेकोमा मैले पनि आफूले बोकेको वारदात स्थलबाट बरामद भएको लाठीले निरकुमार श्रेष्ठलाई कुटपिट गरेको हुँ । झगडाको क्रममा को कसले को कसलाई हान्यो, साँझ अँध्यारोको समय भएकोले देखिन । सोही वारदातमा महेन्द्र श्रेष्ठको मृत्यु भएको हो र निरकुमार श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, विनोद श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, काजीदास श्रेष्ठसमेत घाइते भएका हुन् भन्नेसमेत व्यहोराको नन्दकुमारी श्रेष्ठले अनुसन्धान अधिकारीसमक्ष गरिदिएको बयान ।
मिति २०६५/०८/२० गते पाइप कसले काटेछ भनी शैलेन्द्रसमेतलाई सोध्नको लागि सोही दिन साँझतिर महेन्द्र श्रेष्ठसमेत गएको अवस्थामा नन्दकुमार श्रेष्ठले मलाई लाठीले एक्कासी प्रहार गरेको र पुनः खुकुरीले प्रहार गर्न लाग्दा हामीले पनि हात मुक्काले प्रहार गर्न लाग्यौं । प्रतिवादी शैलेन्द्र श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, डिल्लीराम श्रेष्ठ, नन्दकुमार श्रेष्ठ, नन्दकुमारी श्रेष्ठ, निरकुमारी श्रेष्ठसमेतले लाठी, खुर्मी तथा खुकुरीसमेत प्रहार गरी अन्धाधुन्ध हानी निरकुमार श्रेष्ठ, काजीदास श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, विनोद श्रेष्ठ र मलाई घाइते बनाएका र महेन्द्र श्रेष्ठलाई वारदात स्थलमै मारेका हुन् भन्नेसमेत व्यहोराको उपेन्द्र श्रेष्ठले अनुसन्धानको क्रममा गरेको कागज ।
उक्त पाइप शैलेन्द्र श्रेष्ठसमेतले काटिदिएको कारणले मिति २०६५/०८/२० गते बेलुका अं.७:०० बजेको समयमा प्रतिवादी शैलेन्द्रसमेत र निरकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, उपेन्द्र श्रेष्ठबीच विवाद हुँदा प्रतिवादी शैलेन्द्र श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, डिल्लीराम श्रेष्ठ, नन्दकुमार श्रेष्ठ, निरकुमारी श्रेष्ठ, नन्दकुमारी श्रेष्ठसमेतले हातहातमा खुकुरी, खुर्मी, लाठीसमेत लिई आई महेन्द्र श्रेष्ठ, काजीदास श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, विनोद श्रेष्ठ, निरकुमार श्रेष्ठ, उपेन्द्र श्रेष्ठसमेतउपर प्रहार गरी घाइते पारेको र घाइतेमध्ये महेन्द्र श्रेष्ठको वारदात स्थलमै मृत्यु भएको हो भन्नेसमेत व्यहोराको सुर्यबहादुर तामाङले अनुसन्धानको क्रममा गरिदिएको कागज ।
उक्त मितिको सो समयमा हाम्रो घरमा लगिएको पानीको पाइप शैलेन्द्र श्रेष्ठसमेतले काटेको विषयलाई लिई को कसले काटेको भनी सोध्न जाँदा बुबा निरकुमार, उपेन्द्र श्रेष्ठ, महेन्द्र श्रेष्ठसमेतलाई शेलेन्द्र श्रेष्ठसमेतले काटी कुटी घाइते बनाएको हुँदा हो-हल्ला भएपछि छुटाउन गएका काजीदास श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ र मलाई समेत प्रहार गरी घाइते बनाएको र महेन्द्र श्रेष्ठको वारदात स्थानमा नै मृत्यु भएको हो । मलाई निरकुमारी श्रेष्ठले खुर्मीले काटी घाइते पारेको हो भन्नेसमेत व्यहोराको विनोद श्रेष्ठले अनुसन्धानको क्रममा गरेको कागज ।
उक्त मितिको सो समयमा प्रतिवादी शैलेन्द्र श्रेष्ठ, नन्दकुमार श्रेष्ठ, डिल्लीराम श्रेष्ठ, मोहकुमार श्रेष्ठ, निरकुमारी श्रेष्ठ, नन्दकुमारी श्रेष्ठसमेतले खुकुरी खुर्मी, लाठीसमेतले प्रहार गरी महेन्द्र श्रेष्ठलाई मारेको र निरकुमार श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, काजीदास श्रेष्ठ, विनोद श्रेष्ठ, उपेन्द्र श्रेष्ठलाई घाइते पारेको हो भन्नेसमेत व्यहोराको मृतक महेन्द्र श्रेष्ठकी श्रीमती चन्द्रकुमारी श्रेष्ठले अनुसन्धानको क्रममा गरेको कागज ।
उक्त मितिको सो समयमा प्रतिवादी शैलेन्द्र श्रेष्ठ, नन्दकुमार श्रेष्ठ, डिल्लीराम श्रेष्ठ, मोहकुमार श्रेष्ठ, निरकुमारी श्रेष्ठ, नन्दकुमारी श्रेष्ठसमेतले खुकुरी खुर्मी, लाठीसमेतले प्रहार गरी महेन्द्र श्रेष्ठलाई मारेको र निरकुमार श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, काजीदास श्रेष्ठ, विनोद श्रेष्ठ, उपेन्द्र श्रेष्ठलाई पनि प्रतिवादीहरूले काटकुट गरी घाइते पारेको हो भन्नेसमेत व्यहोराको कृष्णकिशोर राईसमेतले अनुसन्धानको क्रममा लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।
अभियुक्त शैलेन्द्र श्रेष्ठले मिति २०६५/०८/२० गते अभियुक्तहरूको घरपछाडि रहेको धाराबाट आफ्नो घरतर्फ पानी ल्याउन लगाइराखेको पाइप अभियुक्तहरूकै घर परिवारका सदस्यहरूले काटी पानी बन्द गरिदिएको विषयमा पीडित र अभियुक्त पक्षहरूबीच भएको वादविवादमा अभियुक्तहरू मध्येका शैलेन्द्र श्रेष्ठले फलामे धारिलो हतियार खुकुरी र काठको बटम, अभियुक्त निरकुमारी श्रेष्ठले फलामे धारिलो हतियार खुर्मी, अभियुक्त नन्दकुमारी श्रेष्ठले लाठी र अन्य फरार अभियुक्तहरू नन्दकुमार श्रेष्ठ, डिल्लीराम श्रेष्ठ र मोहनकुमार श्रेष्ठमध्ये कसैले लाठी त कसैले छुरी लिई घटनास्थलमा सामूहिकरूपमा हुल बाँधी आई खुकुरी, खुर्मी, छुरी, काठको बटम, लाठी र दाउराले सामूहिकरूपमा साङ्घातिकरूपले आक्रमण गर्दा महेन्द्र श्रेष्ठ तत्काल घटनास्थलमै लडी सोही ठाउँमा तत्काल निजको मृत्यु भएको, काजीदास श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ सख्त घाइते भएका, निजहरू हालसम्म पनि उपचारकै क्रममा रहेका, अन्य घाइतेहरू विनोद श्रेष्ठ, उपेन्द्र श्रेष्ठ र जाहेरवाला सामान्य उपचारपछि फर्किएको हुँदा अभियुक्तहरू शैलेन्द्र श्रेष्ठ, निरकुमारी श्रेष्ठ, नन्दकुमारी श्रेष्ठ, नन्दकुमार श्रेष्ठ र डिल्लीराम श्रेष्ठद्वारा घटित उल्लिखित अपराधमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग माग दाबी ।
मिति २०६५/०८/२० गते बेलुका अं.७:०० बजेको समयमा म आफ्नो घरमा खाना बनाइरहेको थिएँ । एक्कासी हल्ला सुनी बाहिर निस्किएर हेर्दा मेरो घरदेखि तल्लो घरमा मृतक महेन्द्र श्रेष्ठको र शैलेन्द्र श्रेष्ठको झगडा भएको देखी शैलेन्द्र श्रेष्ठको उक्त घर छेउमा पुग्दा शैलेन्द्रले महेन्द्र श्रेष्ठलाई हानी, कुटी, काटी मारेको रहेछ । महेन्द्र श्रेष्ठको मृत्यु भइसकेको रहेछ । यस्तो घटना घटिसकेपछि म आफ्नो घरमा आई बसेँ । मृतकलाई मार्न मराउनमा मेरो कुनै संलग्नता छैन भनी प्रतिवादी नन्दकुमारी श्रेष्ठले अदालतसमक्ष गरेको बयान ।
मिति २०६५/८/२० गते बेलुका म आफ्नै घरमा खाना पकाएर बसेकी थिएँ । मलाई थाहा भए अनुसार प्रतिवादी शैलेन्द्र श्रेष्ठले मात्र के कुन हतियार प्रयोग गरी मारेका हुन्, मलाई थाहा भएन । निजलाई मार्नमा मेरो कुनै संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी निरकुमारी श्रेष्ठले अदालतसमक्ष गरेको बयान ।
मृतक महेन्द्र श्रेष्ठ मेरो काकाको छोरा दाई नाताका मानिस हुन् । मिति २०६५/८/२० गते बेलुकी म घरमै थिएँ । मृतक र उपेन्द्र, निरकुमार, काजीदास, विष्णुकुमारीसमेत ५ जना मेरो घर नजिकै भएको धारामा आएर हाम्रो घरमा लगेको पानीको पाइप कसले किन काट्यो भनी कराउन लाग्दा मपनि निजहरूको छेउमा गई यो पाइप केटाकेटीले अथवा वस्तुले टेकिएर भाँचिएको हुन सक्छ, आज रात पर्यो भोलि बसेर छलफल गरौंला, बिगार गर्नेले बिगो तिर्नुपर्छ भन्नासाथ विपक्षीहरू सबै जनाले यो पाइप तैँले नै काटेको होस्, तँलाई पनि यसरी नै काट्छौं भन्दै विवाद चर्कँदै गएपछि उपेन्द्र श्रेष्ठले लाठीले मेरो टाउकोमा हान्यो । मृतक महेन्द्रले मेरो देब्रे हातको नाडीमा लाठीले हान्यो । त्यसपछि कसले कुटे थाहा भएन र मैले मेरो ज्यान जोगाउन आफूले भिरिराखेको खुकुरी निकालेँ र एक हातमा काठको बटम लिएर पहिला उपेन्द्रलाई बटमले हिर्काएँ, त्यस्पछि मृतक महेन्द्र श्रेष्ठलाई सोही बटम तथा खुकुरीसमेतले हानेँ । महेन्द्र सोही ठाउँमा लड्यो । त्यसपछि विष्णुकुमारी आइन्, निजलाई पनि मैले बटमले हान्दा निजको टाउकोमा लाग्यो । काजीदासलाई पनि मैले बटमले नै हिर्काएँ । त्यसपछि म आक्रोशमा आएर को कसलाई कुटेँ थाहा भएन । म भागेर जिल्ला प्रहरी कार्यालयतर्फ आई मेरो खुकुरीसमेत जिम्मा दिई घटना घटेको व्यहोरा भनेको हुँ । मृतक महेन्द्र श्रेष्ठको मृत्यु मेरो कुटपिटकै कारणबाट भएको हो । अरू कोही कसैको सहमति छैन भन्नेसमेत व्यहोराको प्रतिवादी शैलेन्द्र श्रेष्ठले अदालतसमक्ष गरेको बयान ।
मिति २०६५/८/२० गते बेलुकीको समयमा मृतक महेन्द्र श्रेष्ठलाई को कसले के कस्तो रिसइवीबाट कुटपिट गरी मारे मलाई केही थाहा छैन । उक्त मिति र समयमा म इन्डियाको सिक्किम दुलारजोत भन्ने ठाउँमा थिएँ । मलगायत प्रतिवादी मोहनकुमार र डिल्लीराम श्रेष्ठसमेत उक्त स्थानमा आरा काट्ने काम गरी मिति २०६५/७/१७ गते घरबाट हिँडी मिति २०६५/१२/०१ गते झापा चन्द्रगढीमा आई त्यहाँ मेरो मितबहिनी कला क्षेत्रीबाट प्रस्तुत वारदातको विषयमा थाहा पाएको हो । मैले कुनै प्रकारको अपराध नगरेको हुँदा अभियोग मागदाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको अदालतबाट जारी भएको म्यादी पुर्जीको म्यादमा निवेदन साथ हाजिर हुन आएका प्रतिवादी नन्दकुमार श्रेष्ठले अदालतसमक्ष गरेको बयान ।
मिति २०६५/८/२० गते म घरमा
थिइँन । मलगायत अन्य प्रतिवादीहरू मोहनकुमार श्रेष्ठ, नन्दकुमार श्रेष्ठ मिति २०६५/०७/१७ गते घरबाट हिँडी इन्डियाको दार्जिलिङको दुलारजोत भन्ने ठाउँमा मिति २०६५/०७/२२ गते पुगी काठ काट्ने काम गर्दै आएका थियौं । म उक्त घटना घट्नुभन्दा अगाडि नै हिँडी घटनास्थलभन्दा धेरै टाढा भएको हुँदा के कुन कारणबाट को कसले निज महेन्द्र श्रेष्ठलाई मारे मराए मलाई थाहा भएन । मृतकलाई मैले नमारेको हुँदा मलाई सजाय हुने होइन भन्नेसमेत व्यहोराको म्यादी पुर्जीको म्यादमा निवेदनसाथ हाजिर भएका प्रतिवादी डिल्लीराम श्रेष्ठले अदालतसमक्ष गरेको बयान ।
मिति २०६५/८/२० गते म वारदात स्थलमा थिइँन, म उक्त समयमा इन्डियाको दार्जिलिङको दुलान रोडमा काठ काट्ने काम गरी बसेको थिएँ । मृतकलाई मैले मार्ने मराउने काम गरेको होइन । म वारदातमा नभएको हुँदा मैले अभियोग माग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन भनी निवेदनसाथ हाजिर भएका प्रतिवादी मोहनकुमार श्रेष्ठले अदालतसमक्ष गरेको बयान ।
जाहेरवाला निरकुमार श्रेष्ठले जाहेरी दर्खास्तको व्यहोरा र सहिछाप मेरो हो भनी वस्तुस्थिति मुचुल्काका धनचन्द्र राई र कृष्ण किशोर राईले प्रतिवादीहरूले हानेको बेला म घटनास्थलमा थिइन भनी पूर्णकुमार श्रेष्ठले मृतकलाई शैलेन्द्रले खुकुरीले हानेको हो भनी घाइते उपेन्द्र श्रेष्ठ, विनोद श्रेष्ठ, विष्णुकुमार श्रेष्ठले प्रतिवादीहरूले महेन्द्र श्रेष्ठलाई कुटी मारेको हो भनी अर्का घाइते काजीदास श्रेष्ठले शैलेन्द्रले पहिला मलाई खुकुरीले हानेका हुन् । त्यसपछि म बेहोस भएछु भनी र बुझिएका चन्द्रकुमारी श्रेष्ठ, मदनबहादुर श्रेष्ठ र नन्दकुमार श्रेष्ठले शैलेन्द्रले खुकुरी लाठीसमेतले प्रहार गरी मारेका हुन भनी गरेको बकपत्र मिसिल संलग्न रहेछ ।
प्रतिवादीमध्येका शैलेन्द्र श्रेष्ठले ज्यानसम्बन्धीको महलको १ नं.को कसुर गरेको
ठहर्छ । निजलाई ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय १ अनुसार सर्वस्वसहित जन्मकैद हुने
ठहर्छ । प्रतिवादीहरू निरकुमारी श्रेष्ठ र नन्दकुमारी श्रेष्ठलाई मतसल्लाहमा सहमत देखिँदा ज्यानसम्बन्धीको महलको १७ नं. को देहाय ३ बमोजिम जनही ६(छ) महिनाका दरले कैद हुने
ठहर्छ । प्रतिवादीहरू नन्दकुमार श्रेष्ठ, मोहनकुमार श्रेष्ठ र डिल्लीराम श्रेष्ठउपर लागेको अभियोग पुष्टि हुने ठोस प्रमाण पेस हुन नसकेको हुँदा निज प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ भन्ने व्यहोराको मिति २०६६/०५/२५ गतेको खोटाङ जिल्ला अदालतबाट भएको फैसला ।
पानीको पाइप भाँचिएको कुरालाई लिएर उपेन्द्र श्रेष्ठ, निरकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, काजीदास श्रेष्ठसमेतका व्यक्तिहरू आई मलाई तथानाम गाली गलौज गर्दा आज राति भयो भोलि छलफल गरौं, मेरो गल्ती देखिए बिगो भरौंला भनी मैले भन्दा निजहरूले मलाई लाठीले टाउको समेतमा प्रहार गर्दा म स्वाभाविकरूपमा उत्तेजित भई आक्रोशमा आई ज्यान जोगाउन आफूसँग भएको खुकुरी प्रहार गर्दा महेन्द्र श्रेष्ठको मृत्यु भएको कुरा प्रमाणहरूबाट पुष्टि भएको तथा मृतक महेन्द्र श्रेष्ठलाई मार्नुपर्नेसम्मको रिसइवी नरहेको र पूर्व मनसाय पनि नरहेको अवस्था विद्यमान हुँदा हुँदै ज्यानसम्बन्धीको महलको ७ नं. र १४ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ मा भएको कानूनी व्यवस्थासमेतलाई नजरअन्दाज गरी ज्यानसम्बन्धीको महलको १३(१) नं.बमोजिम सजाय गरेको सुरू फैसला मिलेको नहुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी शैलेन्द्र श्रेष्ठले पुनरावेदन अदालत, राजविराजमा दिएको पुनरावेदन-पत्र ।
प्रतिवादी शेलेन्द्र श्रेष्ठलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. को कसुरमा सोही महलको १३ नं. को देहाय दफा १ बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरेको खोटाङ जिल्ला अदालतको मिति २०६६/०५/२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेतको पुनरावेदन अदालत, राजविराजको मिति २०६७/०३/२३ को फैसला ।
पुनरावेदन अदालत, राजविराजको च.नं. ९५१७ मिति २०६८/०२/१६ को पत्रबाट पुनरावेदन अदालत, राजविराजको मिति २०६७/०३/२३ को फैसला जाँचको लागि सुरू र रेकर्ड मिसिल प्राप्त भई प्रस्तुत मुद्दा साधक दायरीमा दर्ता भएको रहेछ ।
उक्त फैसलामा चित्त बुझेन । मृतकलाई मार्नुपर्ने किसिमको मेरो पूर्व रिसइवी केही थिएन । विपक्षीहरूले मेरो ज्यानै लिने किसिमले सामूहिकरूपमा आक्रमण गरेको र भाग्न उम्कन पाउने अवस्थासमेत नहुँदा आत्मरक्षाको लागि मैले प्रतिरक्षात्मक आक्रमण गर्दा उक्त दुःखद घटना हुन पुगेको अवस्थालाई न्यायकर्ताले विवेक नपुर्याई केबल परिणामलाई मात्र विचार गरी फैसला गरियो । मैले अनुसन्धान अधिकारी र अदालतसमक्षसमेत बयान गर्दा साबिती रही सहयोग गरेकोमा मलाई सकारात्मक दृष्टिले हेरी फौजदारी न्यायको मान्य सिद्धान्तसमेतका आधारमा न्यूनतमभन्दा न्यूनतम सजाय गर्नुपर्ने हो । तसर्थ सुरू जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, राजविराजको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, २५ र ५४, मुलुकी ऐन, अ.बं.१८४(क) नं., ज्यानसम्बन्धीको महलको १, ७, १३(३), १४ नं. तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल, त्रूटिपूर्ण र अन्यायपूर्ण भएकोले उल्टी गरी पूर्ण न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी शैलेन्द्र श्रेष्ठको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री गणेशबहादुर गुरूङले पुरावेदकले मार्ने नै मनसाय लिई मृतकलाई कुटपिट गरेको नभई मृतकसमेतका घटनास्थलमा गएका व्यक्तिहरूले सामूहिकरूपमा आक्रमण गरेको आवेशमा प्रतिरक्षात्मक आक्रमण गर्दा उक्त वारदात भएको देखिएको छ । निजले अनुसन्धान अधिकारी र अदालतसमक्षसमेत प्रस्तुत वारदातको सम्पूर्ण घटनाक्रमलाई उल्लेख गरी मृतकलाई कुटपिट गर्नुपर्नाको तत्कालको अवस्था परिस्थितिलाई दर्शाइ साबिती बयान दिई न्यायिक प्रक्रियामा सहयोग पुर्याएको अवस्था छ । तसर्थ उल्लिखित तथ्य प्रमाणबाट निजलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय गर्ने ठहराएको सुरू जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला त्रूटिपूर्ण हुँदा उल्टी गरी निजलाई न्यूनतम सजाय हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।
यसमा मिति २०६५/०८/२० गते अभियुक्तहरूको घरपछाडि रहेको धाराबाट आफ्नो घरतर्फ पानी ल्याउन लगाइराखेको पाइप अभियुक्तहरूकै घर परिवारका सदस्यहरूले काटी पानी बन्द गरिदिएको विषयमा पीडित र अभियुक्तहरूबीच भएको वादविवादमा अभियुक्तहरू मध्येका शैलेन्द्र श्रेष्ठले खुकुरी र काठको बटम, अभियुक्त निरकुमारी श्रेष्ठले फलामे धारिलो हतियार खुर्मी, अभियुक्त नन्दकुमारी श्रेष्ठले लाठी र अन्य फरार अभियुक्तहरू नन्दकुमार श्रेष्ठ, डिल्लीराम श्रेष्ठ र मोहनकुमार श्रेष्ठमध्ये कसैले लाठी कसैले छुरी लिई घटनास्थलमा सामूहिकरूपमा हुल बाँधी आई खुकुरी, खुर्मी, छुरी, काठको बटम, लाठी र दाउराले सामूहिकरूपमा साङ्घातिकरूपले आक्रमण गर्दा महेन्द्र श्रेष्ठको मृत्यु भएकोले उल्लिखित वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३ नं. बमोजिमको अपराध देखिन आएकोले निजहरूलाई सोही महलको १३ नं. को देहाय दफा १ बमोजिम सजाय हुन माग दाबी लिई अभियोग-पत्र पेस भएकोमा प्रतिवादी शैलेन्द्र श्रेष्ठले खुकुरीसमेतले प्रहार गरेको चोटको कारण मृतक महेन्द्रको मृत्यु भएको पुष्टि भएकोले निज शैलेन्द्र श्रेष्ठलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय दफा १ बमोजिम सर्वस्वसहित जन्मकैद हुने, वारदात स्थलमा मौजुदा रही मतसल्लाहमा सहमत देखिँदा प्रतिवादीहरू निरकुमारी श्रेष्ठ र नन्दकुमारी श्रेष्ठलाई सोही महलको १७ नं. को देहाय दफा ३ बमोजिम जनही ६(छ) महिना कैद हुने र प्रतिवादीहरू नन्दकुमार श्रेष्ठ, डिल्लीराम श्रेष्ठ र मोहनकुमार श्रेष्ठको कसुर अपराध पुष्टि हुन नसकेकोले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याई सुरू खोटाङ जिल्ला अदालतबाट फैसला भएको रहेछ ।
उक्त फैसलाउपर वादी नेपाल सरकार तथा प्रतिवादीहरू निरकुमारी श्रेष्ठ र नन्दकुमारी श्रेष्ठको पुनरावेदन अदालतमा पुनरावेदन नपरी अन्तिम भई बसेको देखिन्छ । प्रतिवादीमध्येका शैलेन्द्र श्रेष्ठको पुनरावेदन अदालतमा पुनरावेदन परेकोमा सुरू अदालतको फैसलालाई नै सदर गरी पुनरावेदन अदालत, राजविराजबाट फैसला भएको देखिन्छ । पुनरावेदन अदालतको सो फैसला साधक जाँचको लागि यस अदालतमा साधक दायरीमा दर्ता भएपछि प्रतिवादी शैलेन्द्र श्रेष्ठको पुनरावेदन पर्न आएकोले पुनरावेदनको रोहबाट हेरी पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छ, छैन? पुनरावेदक/प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
निर्णयतर्फ विचार गर्दा, पुनरावेदक प्रतिवादी शैलेन्द्र श्रेष्ठले मृतक महेन्द्र श्रेष्ठलाई आफ्नो साथमा रहेको खुकुरी तथा काठको बटमले कुटपिट गर्दा मृत्यु भएको हो भनी आरोपित कसुरमा साबित रही अधिकारप्राप्त अधिकारी र अदालतसमक्षसमेत बयान गरेको र मिसिल संलग्न लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदनसमेतबाट निजको बयान समर्थित रहेको देखिँदा मृतक महेन्द्रको मृत्यु यिनै प्रतिवादीको कर्तव्यबाट भएको तथ्यमा विवाद रहेन ।
यी पुनरावेदक / प्रतिवादीले आफ्नो कर्तव्यबाटै मृतकको मृत्यु भएको तथ्यलाई स्वीकार गरेतापनि मृतकलाई मार्नुपर्ने पूर्व रिसइवी नभएको, आत्मरक्षाको लागि मृतकलाई प्रहार गर्दा मृतकको ज्यान गएको, आवेशमा आई वारदात भएको, अधिकारप्राप्त अधिकारी र अदालतसमक्षसमेत कसुरमा साबित रही सहयोग पुर्याएकोलगायतका वारदात हुँदाको अवस्था परिस्थितिलाई मध्यनजर गरी मलाई सकारात्मक दृष्टिले हेरी न्यूनतमभन्दा न्यूनतम सजाय हुनुपर्ने हो भनी पुनरावेदन जिकिर लिएको देखिँदा प्रस्तुत मुद्दामा निम्न प्रश्नमा केन्द्रित रही निर्णय दिनुपर्ने देखियो ।
(क) प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ७ नं.मा उल्लेख भएको कानूनी व्यवस्थाभित्र पर्छ, पर्दैन ?
(ख) ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिमको आवेशप्रेरित हत्या हो वा अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाए दफा १ बमोजिमको अवस्था हो ?
(ग) वारदात हुँदाको अवस्था र परिस्थितिलाई दृष्टिगत गर्दा प्रतिवादीलाई कति सजाय हुनु पर्ने हो ?
२. प्रथम प्रश्न सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ७ नं. को देहाय दफा १ मा “कसैले हातहतियार लिई वा नलिई आफ्नो ज्यान लिनेसम्मको जोरजुलुम गर्न लागेकोमा त्यस्तालाई पक्राउ गर्न वा गुहार मद्दत माग्न नसकिने वा मागे पनि बखतमा मद्दत पुग्न नसक्ने वा त्यस्ताको पञ्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउनसमेत फुर्सद नपाउने अवस्थामा आफूले केही नगरे आफ्नो ज्यान रहँदैन भन्ने पूरा विश्वास भई ज्यान बचाउनको खातिर उसै मौकामा केही गर्दा सो जुलुमीको ज्यान मरेको अवस्थामा ज्यानमाराको वात नलाग्ने” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । मृतक महेन्द्र श्रेष्ठ, निरकुमार श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, काजीदास श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठसमेतका मानिसहरू मेरो घर नजिकैको पानीको धारामा आई हाम्रो धारामा लगेको पाइप किन काटेको भन्दै मेरो नाम लिदैँ तथानाम गाली गलौज गरेकाले खादैँ गरेको खाना छाडेर बाहिर निस्की सम्झाउँदा उपेन्द्र श्रेष्ठ र महेन्द्र श्रेष्ठले ममाथि लाठीले प्रहार गरेकाले मपनि उत्तेजित भएर मेरो कम्मरमा भिरिराखेको खुकुरी निकालेर महेन्द्र श्रेष्ठउपर प्रहार गर्दा निजले खुकुरी छल्न खोज्दा दाहिने हातको बुढी, चोर र माझी औंठासमेत काटिएको र आँगनमा रहेको काठको बटम दाउरो टिपेर अन्धाधुन्ध महेन्द्र श्रेष्ठको टाउकोमा प्रहार गरेको, निज महेन्द्र ढलेपछि अन्धाधुन्ध खुकुरी र बटम काठले प्रहार गर्दा अन्य को कसलाई लाग्यो यकिन भएन भनी यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको र अदालतमा समेत सोही मिलानको बयान गरेको देखिन्छ । मिसिल संलग्न प्रस्तुत वारदातमा घाइते भएका व्यक्तिहरूको मौकाको कागज र अदालतमा गरेको बकपत्रसमेतबाट पनि धाराको पानीको पाइप काटेको विषयमा विवाद भई प्रस्तुत वारदात घटित भएको तथ्यमा विवाद देखिँदैन ।
३. कुनै पनि हत्या आत्मरक्षाको सिद्धान्तअन्तर्गतको हुनको लागि सो हत्यामा न्यूनतम शक्तिको प्रयोग भए नभएको, तत्काल जोखिमको अवस्थाको विद्यमानता रहे नहेको, आक्रमणकारीले जोखिमी हतियारको प्रयोग गरे नगरेको अवस्थालाई हेर्नुपर्ने हुन्छ । प्रस्तुत वारदातमा घटनास्थलमा गएका मृतकलगायतका पीडित पक्षले हातहतियारसहित गएको भन्ने कहिँ कतैबाट देखिएको छैन । घटना यी प्रतिवादीको घर नजिकै घटित भएको र घटनास्थल वरपर घरहरू रहेको कारणबाट घटनास्थलमा हो-हल्ला भएपश्चात् धेरै मानिसहरू जम्मा भएको देखिएको हुँदा यी प्रतिवादीले गुहार माग्ने वा माग्न पाउने अवस्थाको विद्यमानता देखिएको छ । उल्लिखित कानूनी व्यवस्था अनुसार आत्मरक्षाको सुविधा पाउन जोरजुलुम गर्न लागेकोमा गुहार मद्दत माग्न नसकिने वा मागे पनि वारदातमा पुग्न नसकिने वा त्यस्तो पञ्जाबाट भागी उम्की ज्यान बचाउन फुर्सद नपाउने अवस्थाको विद्यमानता हुनुपर्दछ । कुटपिटकै कारणबाट मात्र मृतक महेन्द्रको मृत्यु भएको नदेखिई जोखिमी हतियार खुकुरी र बटम काठसमेतले टाउको जस्तो संवेदनशील अङ्गमा र त्यसपछि पनि पटक-पटक मृतकउपर प्रहार भएको भन्ने यी प्रतिवादी स्वयम्को बयान तथा मृतकको लास जाँच मुचुल्का एवं शव परीक्षण प्रतिवेदनबाट देखिन्छ । सो घटनामा घाइते विष्णुमाया श्रेष्ठ, विनोद श्रेष्ठ, काजीदास श्रेष्ठ, निरकुमार श्रेष्ठ, उपेन्द्र श्रेष्ठको घाउजाँच केस फारमबाट सो कुरालाई पुष्टि गरेको छ ।
४. तसर्थ, मृतकलगायतका अन्य पीडित पक्षले हतियार लिई यी प्रतिवादीलाई ज्यानै लिने मनसायले आक्रमण गर्न आएको नदेखिएको, यी प्रतिवादीले गुहार माग्न र पाउन सक्ने पर्याप्त अवसर रहेको र खुकुरी र बटम काठले हतियारविहीन मृतकमाथि अन्धाधुन्ध प्रहार गरी मृतकको मृत्यु भएको देखिएको यस प्रकारको वारदातलाई आत्मरक्षाको सिद्धान्त एवम् प्रचलित कानूनले स्वीकार गरेको सिद्धान्तले यी प्रतिवादीलाई सहयोग गर्न सक्ने देखिन आएन ।
५. दोस्रो प्रश्न सम्बन्धमा विचार गर्दा पुनरावेदक प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिमको कसुर भएको जिकिर लिई यस अदालतमा पुनरावेदन गरेको देखिन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. मा “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ । यी प्रतिवादीले विना हतियारधारी मृतकलगायतका अन्य घाइते पीडितलाई खुकुरी जस्तो धारिलो जोखिमी हतियारले टाउको जस्तो संवेदनशील अङ्गलगायत शरीरका विभिन्न भागमा प्रहार गरेको तथ्यमा विवाद देखिँदैन । कर्तव्य ज्यान मुद्दामा आपराधिक कार्य र मनसायको विद्यमानता जरूरी हुन्छ । प्रतिवादीको प्रहार गरेको चोटबाट मृतक महेन्द्रको मृत्यु भएकोले प्रतिवादीबाट प्रत्यक्षरूपमा आपराधिक कार्य भएको स्पष्ट छ । प्रतिवादीले पूर्व योजना र तयारीका साथ प्रस्तुत वारदात घटित गराएको नदेखिए तापनि एउटा साधारण समझ र मिजासको मानिसले खुकुरी जस्तो जोखिमी हतियारले जथाभावी प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने कुरा सहजै बुझ्न सकिने विषय हो । तसर्थ, प्रतिवादीले मृतकउपर धारिलो जोखिमी हतियारले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गरेको कार्यले मनसाय तत्त्वलाई समेत अप्रत्यक्षरूपमा प्रकट गरेको मान्नुपर्ने हुन्छ । अतः जोखिमी धारिलो हतियारले टाउको जस्तो संवेदनशील भागमा प्रहार गरी मृतकको मृत्यु भएको देखिएको प्रस्तुत वारदात ज्यानसम्बन्धीको महलको १४ नं. ले परिभाषित गरेको आवेशप्रेरित हत्या अन्तर्गत पर्ने देखिएन । प्रस्तुत वारदातको प्रकृति हेर्दा यी प्रतिवादीले धारिलो हतियार खुकुरी र बटम काठसमेतले मृतकको संवेदनशील भाग टाउको समेतमा प्रहार गरी महेन्द्र श्रेष्ठको मृत्यु भएको देखिएको छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको १३ नं. को देहाए दफा १ मा “धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा जति जना भई हतियार छाडेको छ उति जना ज्यानमारा ठहर्छन् । सर्वस्वसहित जन्म कैदको सजाय गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था गरेको र यी प्रतिवादीको उल्लिखित कार्य सोही कानूनी व्यवस्था अन्तर्गतको देखिँदा पुनरावेदन अदालत, राजविराजको फैसला मनासिब देखियो ।
६. अब सजायको हकमा विचार गर्दा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाए दफा १ बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिएपनि अपराधीलाई सजाय गर्नुको उद्देश्य अपराधीबाट समाजको सुरक्षा गर्नु, भविष्यमा त्यस प्रकारका अपराध गर्न उन्मुख व्यक्तिलाई हतोत्साहित गराउनु, आफूले गरेको अपराधको प्रायश्चित गराई निजलाई सुधार गरी भोलि कानूनपरायण नागरिक बनाई समाजमा पुनर्स्थापित गर्नु र पीडित पक्षलाई सान्त्वना दिलाउनु हो । त्यसैले अपराधको प्रकृति, वारदात हुँदाको अवस्था र परिस्थिति पीडित पक्षले वारदातमा खेलेको भूमिका, पीडक अर्थात् कसुरदारले अपराध घटेपछि खेलेको भूमिका र घटनाप्रति आफूले गरेको प्रायश्चितसमेतलाई दृष्टिगत गरी अपराध र सजायमा सन्तुलन हुने गरी सजाय दिइनु र हुनुपर्दछ भन्ने उद्देश्यले विधायिकाले मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. मा “ऐनले सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गर्दाको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहर्याई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नुहुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ” भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ ।
७. प्रस्तुत मुद्दामा पनि प्रतिवादीले आपराधिक मनसाय राखी पूर्व तयारीका साथ योजनाबद्ध ढङ्गले वारदात घटाएको देखिँदैन । आफ्नो धारामा जाने पानीको पाइप काटिएको जस्तो सामान्य विषयमा मृतकलगायतका व्यक्तिहरू यी प्रतिवादीको घर नजिक आएर विभिन्न गाली गलौज गर्दै मृतकसमेतले यी प्रतिवादीउपर लाठी प्रहार गरेको र सोही क्रममा प्रतिकारस्वरूप निजले आफ्नो साथमा भिरेको खुकुरी र काठले मृतकलाई प्रहार गरेको देखिन्छ । अर्थात् प्रस्तुत वारदात घटित गराउन अग्रसर गराउने तत्त्व मृतकलगायतका व्यक्तिहरू रहेको देखिन्छ । यी प्रतिवादीले वारदातको सम्पूर्ण घटनाक्रमलाई सिलसिलेवाररूपमा उल्लेख गरी आरोपित कसुरमा साबित रही न्यायिक प्रक्रियामा सहयोग पुर्याएको तथ्यलाई पनि नजरअन्दाज गर्न मिल्दैन । त्यसकारण उल्लिखित अवस्था परिस्थितिलाई मध्यनजर गरी हेर्दा पुनरावेदक प्रतिवादीले गरेको कसुरको मात्रा र निजलाई दिइने सजायको बीचमा सन्तुलन कायम गर्दा निजलाई ऐनबमोजिमको सजाय गर्दा चर्को पर्ने देखिन आएको छ ।
८. वारदात स्थल प्रतिवादीको घर नजिक भएको पानीको धारा नजिकै भएकोले सो पानीको पाइप काटेको जस्तो सामान्य कुरामा दुवै पक्षबीच भनाभन भई उत्पन्न परिस्थितिजन्य घटनाको परिणामस्वरूप भएको कुटपिटको कारण मृतकको मृत्यु भएको देखिन्छ भने प्रतिवादी आरोपित कसुरमा अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष साबित रहेको वारदात हुँदाको अवस्था र परिस्थितिलाई हेर्दा हदैसम्मको सजाय गर्दा चर्को पर्ने भई न्यायोचितसमेत नहुने हुँदा प्रहार गरेको हतियारको प्रकृतिलाई समेत विचार गर्दा पुनरावेदक प्रतिवादी शैलेन्द्र श्रेष्ठलाई मुलुकी ऐन, अ.बं.१८८ नं.बमोजिम कैद वर्ष १५ (पन्ध्र) हुने ठहर्छ । प्रस्तुत मुद्दाको साधकको लगत कट्टा गरी अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
प्रतिवादी शैलेन्द्र श्रेष्ठलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहाय दफा १ बमोजिमको कसुर गरेको ठहरी मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम १५ (पन्ध्र) वर्ष कैद हुने भएकोले सुरू खोटाङ जिल्ला अदालतको मिति २०६६/०५/२५ को फैसलाको तपसिल खण्डको देहाय १ बमोजिमको कैद र सर्वस्वको लगत कायम नरहने भएकोले सोको लगत कट्टा गरी निज थुनामा रहेको मिति २०६५/०८/२२ देखि १५ वर्षको कैद सजायको मात्र लगत ठेकी कैदी पुर्जी दिई कैद सजाय असुल गर्नू भनी सुरू खोटाङ जिल्ला अदालतमा लेखी पठाउनू -------------------१
यो फैसलाको जानकारी कैदमा रहेका प्रतिवादीलाई पठाइदिनू --------------------------------------------२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ------------------------------३
उक्त रायमा सहमत छु ।
न्या. जगदीश शर्मा पौडेल
इजलास अधिकृतः आनन्दराज पन्त
इति संवत् २०७३ साल वैशाख १४ गते रोज ३ शुभम् ।