निर्णय नं. ९७५० - आगोलागी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
फैसला मिति : २०७३।०८।१४
०६८-CR-१०५७
मुद्दा: आगोलागी
पुनरावेदक वादी : अर्जुन कुमार राईको जाहेरीले नेपाल सरकार
विरूद्ध
विपक्षी प्रतिवादी : जिल्ला सँखुवासभा खाँदबारी नगरपालिका वडा नं. ४ बस्ने गंगाप्रसादको छोरा पर्शुराम पोखरेल
हाम्रो कानूनी व्यवस्थाले प्रतिद्वन्द्वात्मक (Adversarial model) न्याय प्रणालीको अवलम्बन गरेको छ । यस प्रणालीको प्रमुख विशेषता भनेको दाबी प्रमाणित गर्ने भार - कानूनले विशेष व्यवस्था गरेको केही कसुरमा बाहेक वादीमा रहेको हुन्छ र अदालतको भूमिका निष्पक्ष न्यायकर्ताको रूपमा रहनुपर्दछ । अदालतले पक्षको स्थान लिई प्रमाण बुझ्न अग्रसरता देखाउने हो भने वादीले कसुर प्रमाणित गर्ने भारबाट उन्मुक्ति पाउने ।
आगो लगाउने कार्य एक फौजदारी कसुर भएको अवस्थामा अदालतनै एक पक्ष जस्तो बनी मुद्दाको एक पक्ष वादीलाई सहयोग पुग्ने गरी सर्जमिन गर्ने कार्य आफैँमा खोटपूर्ण छ । सर्जमिन गरी मुचुल्का तयार गर्ने कार्यमा प्रतिवादीले प्रतिवाद गर्ने अवसर नपाउने र सर्जमिनका व्यक्तिलाई जिरह पनि गर्न नसक्ने भएकोले यस प्रमाणलाई फौजदारी मुद्दामा दोषमुक्त प्रमाणको रूपमा लिन नमिल्ने ।
(प्रकरण नं. ५)
पुनरावेदक वादीको तर्फबाट : विद्वान् उपन्यायधिवक्ता सुरेन्द्र बहादुर थापा
विपक्षी प्रतिवादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जि.न्यायाधीश श्री गोपालप्रसाद बास्तोला
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मा. न्यायाधीश श्री विदुरविक्रम थापा
फैसला
न्या. केदारप्रसाद चालिसे : पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।०७।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः
मिति २०६७/२/१४ गते हामी घरपरिवारका मानिस कोही नभएको अवस्थामा दिनको अं.१४.०० बजेको समयमा मेरो दुइतले घर आगलागी भई मूल्य रू.१०,८५,०००/– मूल्य बराबरको धनमाल जली नष्ट भएकोले को कसले आगो लगाएका हुन् खोजतलास गरी पक्राउ गरी कानूनबमोजिम कारवाही गरी मेरो क्षति भएको बिगो दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अर्जुनकुमार राईले दिएको सुरू निवेदन ।
संखुवासभा जिल्ला खाँदवारी नगरपालिका वडा नं. ४ स्थित अर्जुन कुमार राईको वारीले पश्चिम, बमबहादुर राईको खालि खेत तथा वारीले पूर्व, स्कूल जाने कच्ची बाटोले दक्षिण, परशुराम पोखरेलको घरवारीले उत्तर यति चार किल्लाभित्र रहेको अर्जुनकुमार राईको दुई तले फुसको छानो भएको टाँढे घर सो घरमा आगलागी भई जम्मा मूल्य रू.१०,८५,०००/- बराबरको धनमाल जली नष्ट भएको भनी देखाएको घटनास्थल मुचुल्का ।
मिति २०६७/२/१४ गते हामी घरपरिवारका मानिसहरू कोही नभएको मौका पारी कोकस्ले आगो लगाई दिए भनी मैले मौकामा निवेदन दिएकोमा मसमेतले खोजतलास गर्दै जाँदा खाँदबारी नगरपालिका वडा नं.४ बस्ने परशुराम पोखरेलले मेरो घरमा आगो लगाएको हुँदा निजलाई पक्राउ गरी कारवाही गरी मेरो क्षति भएको निवेदनमा उल्लिखित धनमाल दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको किटानी जाहेरी दरखास्त ।
जाहेरवाला मेरो छिमेकी हुन्, हामी दुवैजना अर्मपर्म गर्ने क्रममा जाहेरवालाको खेतमा मैले गोरू जोती पाउनुपर्ने रकम ५/७ सय माग्दा जाहेरवालाको श्रीमतीले तिम्रो हाम्रो हिसाब मिली सक्यो भनेको हुँदा सो कुरा जाहेरवालालाई भनेको थिएन, मनमा लिइरहेको थिएँ । यस्तैमा मिति २०६७/२/१४ गते १४.०० बजेको समयमा जाहेरवालाको घरमा लाइटर लगी जाहेरवालाको घरमा आगो लगाई दिएको हुँ । लाईटर सोही आगलागी भएको ठाउँमा फालिदिएको जाहेरवालाको घरमा के कति धनमाल थियो र जली नष्ट भयो म यकिन भन्न सक्दिन भन्नेसमेत व्यहोराको प्रतिवादी परशुराम पोखरेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
हाल पक्राउ परेका प्रतिवादी गाउँ घरमा खराब आचरणका मानिस हुन् । विभिन्न किसिमका अनैतिक कार्य गर्दै हिँड्ने गर्थे । जाहेरीमा उल्लिखित मिति र समयमा जाहेरवालाको घरमा कोही नभएको मौका पारी घरमा आगो लगाई जाहेरीमा उल्लेख भएअनुसारको धनमाल क्षति भएकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिसहरूले लेखाई दिएको व्यहोरा ।
पक्राउ परेका प्रतिवादी छिमेकी भएका कारण हामी अर्म पर्म गरी काम गर्थ्यो तर निजसँग कुनै लेनदेन थिएन । निजले नै कर्तव्य गरी घरमा आगो लगाई जाहेरीमा उल्लिखित धनमाल नष्ट भएको विश्वास लाग्छ भन्नेसमेत व्यहोराको शान्तिदेवी राईको मौकाको कागज ।
प्रतिवादी परशुराम पोखरेलले पूर्व रिसइवी र मनसायले जाहेरवालाको घरमा कोही नभएको मौका पारी आगो लगाई सो घरभित्र रहेको रू.१०,८५,०००।– बराबरको धनमाल नोक्सान पारी मुलुकी ऐन, आगो लगाउनेको १ र ५ नं. विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादी परशुराम पोखरेललाई सोही ऐनको ५ नं. अनुसार सजाय गरिपाउँन र जाहेरवाला को सो आगोलागीबाट रू.१०,८५,०००।– मूल्य बराबरको क्षति भएको धनमाल प्रतिवादीको जायजातबाट जाहेरवालालाई बिगो भराई पाउँ भन्नेसमेत व्यहोराको जिल्ला सरकारी वकिल कार्यालय, चैनपुरको मिति २०६७/३/२२ गतेको अभियोग पत्र ।
मिति २०६७/२/१४ गतेका दिन मैले गोरू जोती दिएबापतको पाउनु पर्ने रू.७००।– माग्न भनी जाहेरवालाको घरमा दिनको ११ बजेतिर जाँदा घरमा कोही नभएकोले फर्की आएर घरमा बसिरहेको अवस्थामा एक्कासी जाहेरवालाको घरमा आगो लगाइदिन मन लागी मेरै घरमा भएको लाइटर बोकी मकैबारीभित्रबाट जाहेरवालाको घर गई निजको घर पछाडिबाट लाइटर पारी आगो लगाई दिएको हुँ भन्ने व्यहोरको प्रतिवादी परशुराम पोखरेलले मिति २०६७/३/२२ गते सुरू अदालतमा गरेको बयान ।
जाहेरवालाको घरमा आगो लागी हुँदा रू.१०,८५,०००।– भन्दा बढीको नगद जिन्सी क्षति भएको हो प्रतिवादीले मैले आगो लगाए भनेको कुरा सुनेको हुँ । गाउँ समाजका मानिससमेत भेला जम्मा भई क्षति भएको सामानको मूल्याङ्कन गरी बिगो निर्धारण गरिएको हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने दिलबहादुर राईले मिति २०६७/५/१३ गते सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरीमा उल्लिखित व्यक्ति गाउँ घरमा नराम्रो आचरणका मानिस हुन् । अभियुक्तले जाहेरवालाको घरमा आगो लगाएको भनी गाउँघरमा होहल्ला भएपछि सुनी थाहा पाएको हुँ । आगो लाग्दा जाहेरीमा उल्लिखितबमोजिमको धनमालको क्षति भएको हो । सो अपराध अभियुक्त परशुराम पोखरेलले गरेकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने देवान सिं राईले मिति २०६७/५/१३ गते सुरू अदालतमा गरेको बकपत्र ।
आगोलागी हुँदा जाहेरवालाको घरमा रू.१०,८५,०००।– को नगद जिन्सी क्षतिभएको हुन सक्छ । मेरो विचारमा सोभन्दा बढी को धनमाल क्षति हुनुपर्ने हो तर रू.१०,८५,०००।– को मात्र मूल्याङ्कन गरिदिएको रहेछ । अभियुक्त परशुराम पोखरेल गाउँघरमा खराब आचरणका मानिस भई सामान्य चोरी गर्ने कार्यसमेत गर्दै आएको हुँदा सो वारदात निजैले गरेकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने जित हाङ्ग राईले मिति २०६७/५/१३ गते सुरू अदालतमा गरेको बकपत्र ।
परशुराम पोखरेलले जाहेरवालासँगको सामान्य लेनदेनको विषयलाई लिएर रिस आवेगमा घरमा कोही नभएको अवस्थामा जाहेरीमा उल्लिखित समयमा जाहेरवालाको घरमा आगो लगाइदिएको भन्ने सुनी थाहा पाएको हुँ । अभियुक्त गाउँघरमा खराब आचरणका मानिस भएकाले निजले नै आगो लगाएकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने राजु राईले मिति २०६७/५/१३ गते सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७/२/१४ गते शुक्रबार दिनको २ बजे परशुराम पोखरेलले मेरो घरमा आगो लगाई दिएका हुन् । प्रतिवादी स्वयम्ले नै स्वीकार गरेकाले मैले भनेको हुँ । आगलागीबाट जम्मा रू.१,०८,५०००।– रकम बराबरको क्षति भएको हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने शान्ति देवी राईले मिति २०६७/५/१३ गते सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७/२/१४ गते अन्दाजी २ बजेको समयमा प्रतिवादी परशुराम पोखरेलले मेरो घरमा आगो लगाई दिएको हो । पहिला शंका लागेको पछि प्रतिवादी स्वयम्ले स्वीकार गरेको हो । आगोलागी हुँदा म र मेरा घरका अन्य मानिसहरू नजिकैको ढाडे बजार मेलामा गएका थियौं।आगलागीबाट जम्मा रू.१०,८५,०००।–बराबरको धनमाल क्षति भएको हो । बिगोबमोजिमको रकम प्रतिवादीबाट दिलाई भराई प्रतिवादीलाई कडा सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाला अर्जुन राईले मिति २०६७/५/१३ गते सुरू अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादी परशुराम पोखरेलले मौकामा र अदालतमा घटना घटाएको कुरामा साबित भई गरेको बयानलाई किटानी जाहेरी तथा अदालतसमक्षको बकपत्रसमेतबाट पुष्टि भएको अवस्था हुँदा प्रतिवादी परशुराम पोखरेलले जाहेरवालाको घरमा आगो लगाएको ठहर्छ । सो ठहर्नाले निजलाई आगो लगाउने को ५ नं. बमोजिम घरमा आगो लगाएकोले कैद वर्ष ४ सजाय हुने ठहर्छ । बिगोको हकमा जाहेरवालाले १२ लाख ८५ हजार उल्लेख भएको र सो कुरालाई मौकामा कागज गर्ने दिलबहादुर राईले समेत समर्थन गरिदिएको
देखियो । यस अदालतबाट भएको मूल्यसम्बन्धी सर्जमिन हेर्दा जाहेरीको बिगो अनुरूप हुने गरी विभिन्न शीर्षकमा मूल्य लेखिएको देखिन आयो । वादीको रू.३ लाख पर्ने घर सर्जमिन मुचुल्काअनुरूपको भाँडा र लत्ताकपडा को रू.७०,०००/- अन्नबापतको रू.५१,०००/- नगद रू.५०,०००/– र सुनको रू.३५,०००/– समेत जम्मा रू.५ लाख ६ हजार मूल्य बराबरको बिगो नोक्सान भएको देखिएकोले सो ५ लाख ६ हजारको बिगो मात्र प्रतिवादीको जेथाबाट जाहेरवालाले भरी पाउनेसमेत ठहर्छ भन्नेसमेत व्यहोराको सुरू संखुवासभा जिल्ला अदालतको मिति २०६७/११/१६ को फैसला ।
मैले अदालतमा बयान गर्दा घर र घरमा भएको धनमालसमेत गरी रू.३ लाख बराबरको नोक्सान भएको हुन सक्छ भनी लेखाई दिएको व्यहोरालाई साङ्गोपाङ्गो व्याख्या गरी घरको मात्र रू.३ लाख कायम गरी अन्य जिन्सी तथा नगदको मूल्य जोडी ५ लाख ६ हजार कायम गरिएको फैसलामा समन्यायिक विश्लेषण गरिएको छैन । २०६७ सालको सरकारी मूल्याङ्कनअनुसार २ तले फुसको छाना भएको घरको रू.३५,०००/– मूल्य कायम भइरहेको र सोही कायम मूल्यका आधारमा कारोबार भइरहेको अवस्थालाई बेवास्ता गरी स्वयम् अदालतले घरको मूल्य रू.३,००,०००/– कायम गर्नु त्रूटिपूर्ण छ । लत्ताकपडा कति थान थिए, भाँडा बर्तन कति थान थिए कुन कुन धातुका थिए भन्ने विवरणहरू जाहेरी र सर्जमिनमा खुलेको छैन । अन्नबाट रू .५१,०००/- बराबरको हुन कति मूरी चाहिन्छ भाँडा बर्तनको रू.७०,०००/– र अन्नपातको रू.५१,०००/- पर्छ भनेकै भरमा पञ्चकिर्ते मूल्य कायम नभई ठहराउन न्याय र कानूनसङ्गत नहुने हुँदा फैसला त्रूटिपूर्ण छ । मेरोउपर लिएको अभियोग दाबी कुन कानूनको कुन दफाबमोजिमको हो अभियोगमा उल्लेख छैन । अभियोगपत्रमा उल्लेख नगरी यति भरि पाउने नभनेकोमा भराउन नमिल्ने भन्ने नजिर सिद्धान्तविपरीत भएको फैसला खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको परशुराम पोखरेलले पुनरावेदन अदालत, धनकुटामा दायर गरेको पुनरावेदन पत्र ।
जाहेरवालाले मौकामा जाहेरी दिँदा घरमा आगो लगाई अन्नपात, भाडाकुँडा, नगद, सुन चाँदीसमेत जम्मा रू.१०,८५,०००/– क्षति पुर्याएको भन्ने किटानी जाहेरी दिई सो जाहेरीलाई मौकामा भएको घटनास्थल प्रकृति मुचुल्काले समेत समर्थन गरेको छ । मौकामा कागज गर्ने व्यक्तिले जाहेरवालाको घरमा प्रतिवादीले आगो लगाई क्षति पुर्याएको हो भनी व्यहोरा लेखाई अदालतसमक्ष जाहेरवालासमेतका बुझिएका दिलबहादुर राई, देवानसिंह राई, जितहाङ्ग राई, राजु राई शान्तिदेवी राईले प्रतिवादीले घरमा आगो लगाई रू.१०,८५,०००/– बराबरको धनमालसमेत क्षति पुर्याएको हो भनी किटानी साथ बकपत्र गरिदिएको अवस्थामा प्रतिवादीले व्यक्त गरेको कुरा तथा सर्जमिन मुचुल्कालाई आधार मानी रू.५,०६,०००/– मात्र कायम गर्ने गरी भएको फैसला प्रमाणको उचित मूल्याङ्कन नगरी भएको भन्ने स्पष्टै देखिएकोले सो हद सम्मको फैसला स्वतःत्रूटिपूर्ण भई बदरभागी भएकाले सो हदसम्मको फैसला बदर गरी अभियोग दाबीबमोजिम बिगो कायमगरिपाउँ भन्नेसमेत व्यहोराको नेपाल सरकारका तर्फबाट पुनरावेदन अदालत, धनकुटामा दायर भएको पुनरावेदन पत्र ।
आगोलागीबाट भएको क्षतिको बिगो रू.५ लाख ६ हजार भराएको सुरू फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई जाहेरवालाले प्रतिवादीबाट रू.३,००,०००।– क्षतिपूर्ति पाउने ठहर्छ । अरू कुराका हकमा संखुवासभा जिल्ला अदालतको मिति २०६७/११/१६ को फैसलासदर हुने ठहर्छ । पूरै बिगो भराई पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, धनकुटाको मिति २०६८।७।२३ को
फैसला ।
जाहेरवालाले मौकामा जाहेरी दिँदा प्रतिवादीले आफ्नो घरमा आगो लगाई अन्नपात, भाँडाकुडा नगद, सुनचाँदीसमेत जम्मा बिगो रू.१०,८५,०००।- को क्षति पुर्याएको भन्ने तथ्यलाई उल्लेख गर्नुको साथै उक्त जाहेरी व्यहोरालाई पुष्टि गर्दै अदालतमा बकपत्र गरेको अवस्था तथा वस्तुस्थिति मुचुल्काका मानिसहरूले समेत अदालतमा गरेको बकपत्रबाट उक्त तथ्य पुष्टि हुँदाहुँदै प्रतिवादीले रू.३,००,०००।- मात्र क्षति पुर्याएको ठहर्याई पुनरावेदन अदालत, धनकुटाले गरेको फैसला सो बिगोको हदसम्म त्रूटिपुर्ण छ । अतः पुनरावेदन अदालत, धनकुटाको उक्त फैसला बदर गरी जाहेरवालालाई सुरू अभियोग मागदाबीबमोजिम बिगो दिलाई भराई पाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयको लागि यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायधिवक्ता श्री सुरेन्द्रबहादुर थापाले प्रतिवादीले आगो लगाइ जाहेरवालाको रू.१०,८५,०००।- मूल्यको क्षति पुर्याएको अवस्था छ । जाहेरवालाले वारदात घट्ने बित्तिकै दिएको जाहेरी दरखास्तमा सो कुरा उल्लेख गरेको छ भने सो कुरालाई अदालतमा गरेको बकपत्रमा समेत समर्थन गरेको छ । सो तथ्यतर्फ विश्लेषण नगरी प्रतिवादीले रू.३,००,०००।- मात्र क्षतिपुर्याएको ठहरी पुनरावेदन अदालत, धनकुटाले गरेको फैसला सो हदसम्म त्रूटिपूर्ण छ । तसर्थ पुनरावेदन अदालत, धनकुटाको उक्त फैसला सो हदसम्म बदर गरी अभियोग माग दाबीबमोजिम प्रतिवादीबाट बिगो भराउनु पर्छ भनी बहस गर्नुभयो ।
उपर्युक्त तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा जिल्ला अदालत संखुवासभाको फैसलालाई केही उल्टी गर्ने गरी पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसला मिलेको छ वा छैन? सोहीसम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०६७।२।१४ गते अन्दाजी १४ बजे घरमा कोही नभएको अवस्थामा मेरो दुइ तल्ले घरमा आगलागी भई रू.१०,८५,०००।- मूल्य बराबरको धनमाल जली नष्ट भएकोले को कसले आगो लगाएका हुन् खोज तलास गरी पक्राउ गरी कानूनबमोजिम कारवाही गरी मेरो क्षति भएको बिगो भराई पाउँ भन्ने व्यहोराको अर्जुनकुमार राईको निवेदनबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । त्यसैगरी मिति २०६७।२।३१ मा यिनै निवेदकले खाँदवारी नगरपालिका वडा नं. ४ बस्ने पर्शुराम पोखरेलले मेरो घरमा आगो लगाएकोले कारवाही गरी कानूनबमोजिम क्षतिपूर्ति भराई पाउँ भनी किटानी जाहेरी दरखास्त दिएको देखिन्छ । प्रतिवादी पर्शुराम पोख्रेलले समेत अधिकारप्राप्त अधिकारी तथा सुरू अदालतमा आफूले जाहेरवालाको घरमा आगो लगाएको कुरा स्वीकार गरेको देखिन्छ । सुरू धनकुटा जिल्ला अदालतले प्रतिवादी पर्शुराम पोख्रेलले आगो लगाएको ठहर गर्दै निजलाई ४ वर्ष कैद तथा जाहेरवालाको रू.५ लाख ६ हजार मूल्य बराबरको नोक्सानी भएको ठहर गर्दै सो ५ लाख ६ हजारसमेत प्रतिवादीको जेथाबाट जाहेरवालाले भरी पाउने ठहर गरेको रहेछ । सुरू धनकुटा जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझाई वादी प्रतिवादी दुवैको पुनरावेदन अदालत, धनकुटामा पुनरावेदन परेकोमा पुनरावेदन अदालत, धनकुटाले उक्त फैसला केही उल्टी गर्दै आगलागीबाट भएको क्षतिको बिगो रू.५ लाख ६ हजार भराएको सुरू फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी गरी जाहेरवालाले प्रतिवादीबाट रू.३,००,०००।- क्षतिपूर्ति पाउने ठहराएको रहेछ । पुनरावेदन अदालत, धनकुटाको सो फैसलामा समेत चित्त नबुझाई वादी नेपाल सरकारले प्रस्तुत पुनरावेदन पत्र दायर गरेको देखिन्छ ।
३. प्रस्तुत मुद्दामा प्रतिवादीले जाहेरवालाको घरमा आगो लगाएको भन्ने तथ्यमा कुनै विवाद रहेको छैन । प्रतिवादीलाई भएको कैद सजायको सम्बन्धमा समेत वादीले चित्त बुझाएको देखिन्छ । वादीले यस अदालतमा दायर गरेको पुनरावेदन पत्रमा पुनरावेदन अदालतले निर्धारण गरेको आगोलागीबाट नोक्सान भएको भनिएको सम्पत्तिको मूल्यको सम्बन्धमा मात्र चित्त नबुझाएको देखिन्छ । पुनरावेदन अदालत, धनकुटाले आगोलागीबाट भएको क्षतिको बिगो रू.३ लाख ठहाएकोमा सो हदसम्म पुनरावेदन अदालत, धनकुटाको फैसला बदर गरी अभियोग माग दाबीबमोजिम रू.१०,८५,०००।- बराबरको क्षति भएकोले सो रकम जाहेरवालाले प्रतिवादीबाट भराउनु पर्छ भन्ने पुनरावेदन जिकिर रहेको देखिन्छ । यस अवस्थामा प्रस्तुत मुद्दामा प्रतिवादीले आगो लगाएको कारणबाट नोक्सान भएको सम्पत्तिको मूल्य कति हो र पुनरावेदन अदालतले ठहराएको मूल्य मिलेको छ वा छैन भन्ने प्रश्नमा केन्द्रित हुनुपर्ने देखिन्छ ।
४. प्रस्तुत मुद्दामा जाहेरवालाले आफ्नो रू.१०,८५,०००।- बराबरको क्षति भएको भनी सुरू देखिनै दाबी लिएको अवस्था रहेको छ । यद्यपि निजको घर के कति क्षेत्रफलमा बनेको र त्यसमा कति कोठा रहेको थियो भन्ने जस्ता सान्दर्भिक कुराहरू कही कतै उल्लेख गरेको देखिँदैन । आगोलागेपश्चात् तयार पारिएको घटनास्थल मुचुल्कामा समेत के कस्ता सामानहरू जलेको र उक्त सामानहरूको मूल्य के कतिको हो भन्ने सम्बन्धमा सविस्तार उल्लेख गर्न सकेको अवस्था देखिँदैन । घटनास्थल मुचुल्काको अध्ययन गरी हेर्दा फुसको छानो भएको काठले बेरेको टाढे घरसम्म उल्लेख भएको छ तर घटनास्थल मुचुल्कामा उल्लेख हुनुपर्ने अन्य सान्दर्भिक जानकारी सुचनाहरू भएको देखिँदैन । उक्त घटनास्थल मुचुल्कामा यति मूल्य परेको यति कोठाको घर त्यसमा यो यस्तो लम्बाई चौडाई भएको यो जातको काठ भनी उल्लेख भएको पाइँदैन । साथै के कस्ता कपडा, अन्नपात, भाँडा कुडालगायतका सामानहरू हुन् सो कुरा उल्लेख नगरी केबल गोश्वारारूपमा विभिन्न मूल्यहरू निर्धारण गरिएको अवस्था छ । यस अवस्थामा घटनास्थल मुचुल्कामा उल्लेख भएको आधारमा मात्र वादी पुनरावेदकले जिकिर गरेजति मूल्यको क्षति पुगेको हो भनी भन्न मिल्ने अवस्था रहँदैन ।
५. मिसिल संलग्न प्रमाणहरूको अध्ययन गरी हेर्दा सुरू धनकुटा जिल्ला अदालतको आदेशअनुसार आगोलागी भएको सामानको मूल्य खुलाउनको लागि मिति २०६७।६।१० मा सर्जमिन मुचुल्का गरेको देखिएकोले उक्त मुचुल्काको प्रमाणिकताको सम्बन्धमा समेत विवेचना हुनुपर्ने देखिन्छ । हाम्रो कानूनी व्यवस्थाले प्रतिद्वन्द्वात्मक (Adversarial model) न्याय प्रणालीको अवलम्बन गरेको छ । यस प्रणालीको प्रमुख विशेषता भनेको दाबी प्रमाणित गर्ने भार - कानूनले विशेष व्यवस्था गरेको केही कसुरमा बाहेक वादीमा रहेको हुन्छ र अदालतको भूमिका निष्पक्ष न्यायकर्ताको रूपमा रहनुपर्दछ । अदालतले पक्षको स्थान लिई प्रमाण बुझ्न अग्रसरता देखाउने हो भने वादीले कसुर प्रमाणित गर्ने भारबाट उन्मुक्ति पाउछ । प्रस्तुत मुद्दामा वादीले आफ्नो दाबी प्रस्टसँग प्रमाणित गर्न नसकेको कारणबाटै सुरू जिल्ला अदालतले वादीको सहजताको लागि सर्जमिनको आदेश गरेजस्तो देखिन्छ । आगो लगाउने कार्य एक फौजदारी कसुर भएको अवस्थामा अदालत नै एक पक्ष जस्तो बनी मुद्दाको एक पक्ष वादीलाई सहयोग पुग्ने गरी सर्जमिन गर्ने कार्य आफैँमा खोटपूर्ण छ । सर्जमिन गरी मुचुल्का तयार गर्ने कार्यमा प्रतिवादीले प्रतिवाद गर्ने अवसर नपाउने र सर्जमिनका व्यक्तिलाई जिरह पनि गर्न नसक्ने भएकोले यस प्रमाणलाई फौजदारी मुद्दामा दोषमुक्त प्रमाणको रूपमा लिन मिल्दैन । सुरू धनकुटा जिल्ला अदालतले गरेको सर्जमिन मुचुल्काको विवरण हेर्दासमेत ती विवरणहरू विश्वासयोग्य रहेको देखिँदैन । उक्त मुचुल्काको विवरण हेर्दा ३० वटा खम्बा, निदाल ५ वटा, बलो ७ वटा, तख्ता बटम २०० क्यु.बी., धान १५ मुरी, कोदो ५ मुरी, मकै १० मुरी, सुन १ तोला, नगद रूपैयाँ रू.५००००।-, भाँडा कुँडा नयाँ कपडा, सालको नयाँ काठ, उत्तिसारको नयाँ काठ, दराज खटियालगायतका सामानहरू जलेको भनी उल्लेख भएको देखिन्छ । फुसको छानो भएको काठले बेरेको टाढे घरमा ३० वटा खम्बा, निदाल ५ वटा, बलो ७ वटा, तख्ता बटम २०० क्यु.बी अटाउन सक्छ भनी अनुमान गर्न उपयुक्त हुँदैन । अन्नको हकमा हेर्दा वारदात घटेको महिना आषाढमा त्यति धेरै मात्रामा अन्न रहन सक्छ भनी अनुमान गर्नु विश्वासयोग्य हुँदैन भने वादीको के कति उब्जनीको कस्तो खेत रहेको छ र सालको अन्तिममा सम्म पनि त्यति धेरै मात्राको अन्न बाँकी रह्यो भनीसमेत खुल्न सकेको अवस्था छैन । त्यसैगरी लत्ताकपडा तथा भाडाँकुडाको हकमा समेत प्रत्येकको नाम, विवरण र अलग अलग मूल्य उल्लेख गर्न सकेको अवस्था छैन । यस अवस्थामा आगलागीबाट रू.१०,८५,०००।- को क्षति पुगेको र सो मूल्य प्रतिवादीबाट बिगो भराउनुपर्छ भन्ने पुनरावेदक वादीको जिकिरसँग सहमत हुन सकिएन ।
६. अब आगो लगाउने कार्यबाट कति मूल्यको क्षति भएको हो र प्रतिवादीबाट कति रकम बिगो भराउनु पर्ने हो भन्ने सम्बन्धमा विचार गर्दा पुनरावेदन अदालत, धनकुटाले रू.३,००,०००।- बिगो भराउने ठहराई फैसला गरेको देखिन्छ । माथि विवेचना भएजस्तै वादीले रू.१०,८५,०००।- को क्षति पुर्याएको भनी दाबी लिएको भए तापनि सो दाबीलाई वस्तुनिष्ठ तवरबाट पुष्टि गर्न सकेको अवस्था छैन भने बिगो निर्धारण गर्नको लागी अन्य वस्तुगत आधारहरू पनि देखिँदैनन् । यस अवस्थामा प्रतिवादीले अदालतमा बयान गर्दा रू.३,००,०००।- सम्मको क्षति पुगेको हुनसक्छ भनी सुरू अदालतमा बयान गरेकोमा सोहीअनुसार बिगो भराउनु नै न्यायसङ्गत हुन जाने देखिन्छ । सोहीबमोजिम रू.३,००,०००।- बराबरको क्षति भएको ठहर गरी सोही रकम बिगो भराउने गरी पुनरावेदन अदालत, धनकुटाले गरेको फैसलालाई अन्यथा भन्न मिलेन ।
७. अतः माथि विवेचित आधारमा सुरू संखुवासभा जिल्ला अदालतको मिति २०६७।११।१६ को फैसला केही उल्टी गर्ने गरी पुनरावेदन अदालत, धनकुटाले गरेको मिति २०६८।७।२३ को फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ
इजलास अधिकृत : सन्देश श्रेष्ठ
इति संवत् २०७३ साल मङ्सिर १४ गते रोज ३ शुभम् ।