निर्णय नं. ४३०६ - कर्तव्य ज्यान

निर्णय नं. ४३०६ ने.का.प. २०४८ अङ्क ६
संयुक्तइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
सम्वत् २०४७ सालको फौ.पु.नं. ४२६
फौ.सा.नं. ४२
फैसला भएको मिति : २०४८।५।१९।४ मा
पुनरावेदक/प्रतिवादी : जि.का.शाखा काठमाडौंमा थुनामा रहेका ठागु भन्ने चन्द्रबहादुर गुरुङसमेत
विरुद्ध
वादी : चन्द्रमानको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) कुनै पनि फौज्दारी प्रकृतिको ज्यानसम्बन्धी अपराध सिद्ध हुन, पूर्व रिसइवी र मनसाय नै विद्यमान हुनुपर्दछ भन्न नसकिने ।
(प्रकरण नं. ४०)
पुनरावेदक, प्रतिवादीहरुतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डाना
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीहरु तर्फबाट कारागार मार्फत यस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं फैसला यस प्रकार छ ।
२. पोखरा महेन्द्रपुलमा जुयन्द्र होटल गरी बसेको छु । होटलमा गाइड काम गरेका शंभु धामीले यस अघि मेरो होटलमा पनि गाइड काम गरेको थियो । २०४०।४।१६ (साविक पेज नं. २७४) देखि मेरो होटलमा गाइडको काम गरी आएको निज शम्भु धामीले ०४१ श्रावण १७ गते बिहान देखि नै मादक पदार्थ सेवन गरेका र दिनभर होटलमा नै सुतिरहेका थिए । बेलुका हामी परिवार पनि खानपिन गरी सुतियो, बिहान धेरै बेरसम्म पनि शम्भु नआएकोले किन उठेन भनी हेर्न जाँदा निज सुतेको खटिया मुनि उत्तानो परी मरिरहेको रहेछ । १७ गते होटलमा पेसिन्जर पनि थिएनन् । निज के कुन परिवन्दबाट यस्तो अवस्थामा परे, निजको मृत्युको सम्बन्धमा कसै उपर शंका पनि लाग्दैन, निजको लाश जाँच गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रमानको मौकाको जाहेरी ।
३. होटल जुयन्द्रमा मृत अवस्थामा रहेका शम्भु धामी र होटल मालिक चन्द्रमानको बीच बैमनस्यता रहेको कारणबाट मृतकले जुयन्द्र होटल छाडी ग्यालेक्सी होटलमा गाइडको काम गर्न गएका थिए फेरि जुयन्द्र होटलका मालिकले निजलाई बोलाई ल्याएका, ग्यालेक्सी होटलमा काम गर्दा चन्द्रमान राम्रो मानिस छैन भनी कुरा गर्दथे, १७ गते राती चन्द्रमान र शम्भुसंग बसी बियर खाएका भन्ने समेत बुझिएकाले चन्द्रमानकै षडयन्त्रबाट शम्भु कर्तव्य परी मृत्यु भएको भन्ने समेत व्यहोराको प्र.स.नि.तेजप्रसाद शर्माको प्रतिवेदन ।
४. म होटल जुयन्द्रमा रुम बाहिर गाइडको काम गर्दछु । मृतक शम्भु धामीले चन्द्रमानको छाडी ग्यालेक्सी रुमवाई गएका थिए । साहुले बोलाउन पठाई ल्याएपछि काम गरिरहेका थिए । शम्भु र साहुकी माइली छोरी बीच हाँसख्याल मस्करी भइरहन्थ्यो । ०४१।४।१७ गते चन्द्रबहादुर र म बसिरहेका अवस्था साहु चन्द्रमानले बोलाई होटलको १०२ नं. को कोठामा गयौं । त्यसपछि भरे शम्भु धामीलाई मार्नु पर्दछ । तिमीहरुलाई ४।४ हजार रुपैयाँ दिउँला भने । राती ९–१० बजे तिर साहु चन्द्रमानले माथि गई बियर खाउँ भनी साहु र शम्भु १०१ नं. कोठामा गए, मलाई ५ बोतल बियर लिएर आइज भनी अह्राएपछि बियर लिएर गएँ । दुवै जना बियर खान थाले । २ प्लेट मासु पनि लगिदिएँ । साहुले ३ (तीन) बट्टा ट्याब्लेट मिची शम्भुको गिलासमा राखी दिएको भन्ने कुरा चन्द्रबहादुरले सुनाए । मैले देखेको थिइन । त्यसपछि साहुले मलाई र ठागुलाई बोलाई गएपछि शम्भु लल्याक लुलुक भई बेहोस अवस्थामा पुगिसकेको रहेछ । साहुले हामीलाई समात भनेपछि, साहु चन्द्रमानले शम्भुलाई एउटा हातले मुखमा र अर्को हातले घाँटीमा समात्यो, ठागुले टाउको, मैले गोडा समाती सकेपछि शम्भु छटपटाउन थाल्यो । शम्भुको टाउको भित्तामा ठोकिन गयो । शम्भु अचेत भएपछि जोडसंग फाल्दा टाउको भुँईमा बेसरी ठोकियो । छाम्दा मरिसकेको रहेछ । रातको ११ बजेको थियो । शम्भु आफैं मरेको बनाउन पर्छ भनी साहु चन्द्रमानले भनेपछि लाश म र चन्द्रबहादुर भई खाट मुनि घुसाई राखेको हो । होटल मालिकले मद्दत मागेको हुँदा मद्दत सम्म दिएको हुँ भन्ने समेत व्यहोराको कुलबहादुर पाण्डेले प्रहरी समक्ष गरेको बयान कागज ।
५. म बाजे नाताका चन्द्रमानको होटलमा काम गर्दछु । शम्भु मर्नु भन्दा पहिले साहु चन्द्रमान र शम्भु बीच झगडा परेको थियो । सोही कारण शम्भुले होटल छाडी गएको, निजले होटल छाडी गएपछि पेसिन्जर पनि कम हुँदै गएको, आम्दानी घटेकोले चन्द्रमानको बारेमा नराम्रो कुरा समेत गर्दै हिंडेको समेत सुनियो । शम्भुलाई साहुले होटलमा बोलाई ल्याएपछि मलाई र कुलबहादुरलाई शम्भुले मेरो बेइज्जत गर्यो । माइली छोरी सित पल्केछ, यसलाई मारेर मेरो इज्जत बचाउन पर्यो भन्दा हामी केही बोलेनौ । रातको ९ बजे साहु चन्द्रमान र शम्भु १०१ नं. कोठामा बसी मासु र बियर खान थाले, म र कुलबहादुर बियर खोली बस्यौं । शम्भुको गिलासमा साहुले सेतो ३ वटा ट्यावलेट मिची हालि दिए । त्यो खाएपछि शम्भु लल्याक लुलुक भयो । शम्भु उठ्न लाग्दा चन्द्रमानले समात भने, मैले टाउकोमा र कुलबहादुरले गोडामा समाती अठ्यायौं । साहुले घाँटी र मुख थुने, शम्भु छटपटी हुँदा टाउको भित्तामा ठोकाई दिएपछि शम्भुको (साविक पेज नं. २७५) मृत्यु भएको हो । शम्भुसंग मेरो कुनै रिसइवी छैन । मार्नु पर्ने कारण पनि थिएन । लाशलाई कुलबहादुर र म मिली खाट मुनि राखी दिएका हौं । मालिकको आज्ञा, पालना गर्दा मद्दत सम्म गरेका हौं भन्ने समेत व्यहोराको चन्द्रबहादुर गुरुङले प्रहरी समक्ष गरेको बयान कागज ।
६. मैले महेन्द्रपुलमा होटल जुयन्द्र खोलेदेखि नै शम्भु धामी होटलको गाइडको काम गरी बसेका थिए । बीचबीचमा मेरो होटल छाडी अन्यत्र जाने र कहिले आउने गर्दथे । लाहुरेको क्यामरा चोरी भागेपछि मेरो होटलमा नबसी होटल ग्यालेक्सीमा बस्न थाले । मेरो होटलमा आउने पेसेन्जरलाई फर्काई होटल ग्यालेक्सीमा लग्ने गरेकोले निजलाई जसरी भए पनि आफ्नो होटलमा ल्याउनु पर्छ भन्ने सोची फकाई होटलमा ल्याई राखिएको थियो । वारदातको दिन शम्भु राती १० बजेपछि होटलमा आयो निजलाई सुत्न अडर दिए । निजसंग बसी बियर खाएको हुँ । यसले मेरो होटल छाडी गएको अवस्थामा मारी दिए पनि केही हुँदैन । पैसा खर्च गरी बचौंला भनी मादकको नशामा भनेको थिएँ । यसैलाई सत्य मानी कुलबहादुर समेतले शम्भुलाई मारेको भए थाहा छैन । मैले शम्भुलाई मार्न लगाएको होइन । निज कुलबहादुर र चन्द्रबहादुरले म समेत भई शम्भुलाई मार्न लगाए भनी किन लेखाए मलाई थाहा छैन । शम्भु होटलमा आएपछि गाइड काम मैले नपाउने भनी कुलबहादुरले नै मारेकोमा शंका लाग्छ, कुलबहादुर १०२ नं. कोठामा सुतेका र १८ गते बिहान शम्भु मरेको कुरा निजले नै पहिला मलाई भन्न आएको हुँदा निज उपर नै शम्भुलाई मारेकोमा शंका लाग्छ । १७ गते राती मेरो होटलमा २ जना पेसिन्जर थिए भनी लेखाउन पर्नेमा कुनै पनि थिएनन् भनी भूलबाट लेखिन गएको हो । शम्भु धामीलाई बियरमा टेब्लेट राखी मुख थुनी मैले मारेको होइन भन्ने समेत व्यहोराको चन्द्रमान गुरुङले प्रहरी समक्ष गरेको बयान कागज ।
७. मृतक शम्भु धामीले पेसिन्जरलाई केटी चाहिएमा रण्डी केटी ल्याइदिने गर्दथे । मर्नु भन्दा अगाडि निजले मेरो होटल किन छाडी गए, थाहा भएन । बहिनी पूर्णसंग निजको सम्बन्ध छैन, निजको कसरी मृत्यु भयो, मलाई जानकारी भएन भन्ने समेत व्यहोराको लक्ष्मण गुरुङले प्रहरी समक्ष गरेको बयान कागज ।
८. शम्भु धामीको चरित्र राम्रो थिएन । जुयन्द्र होटलको उक्त रातको कुरा मलाई थाहा छैन । रजिष्टर पत्रमा कालो मसीले लेखिएको सो मैले लेखेको होइन काका चन्द्रमानले लेखेको हो कि मलाई यकीन थाहा छैन भन्ने समेत व्यहोराको रिषमान गुरुङले प्रहरी समक्ष गरेको बयान कागज ।
९. चन्द्रबहादुर, कुलबहादुरको बयानबाट मृतक शम्भु धामी र मेरो सम्बन्ध भन्ने लेखिएको रहेछ सो कुरा झुठ्ठा हो । निजसंग मेरो कुनै सम्बन्ध थिएन । निजको मृत्युको सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको चन्द्रमानकी छोरी पूर्ण गुरुङको बयान कागज ।
१०. ०४१।४।१७ गतेको रात लक्ष्मण गुरुङ र ऋषमान गुरुङ हाम्रो पोखरा लजमा सुती ऐ.१८ गते बिहान आएका हुन् भन्ने समेत व्यहोराको पोखरा लजको मेनेजर नारायणदत्त ढकालको बयान कागज ।
११. क्यामराको कुरा भएपछि शम्भुले जुयन्द्र होटलमा छाडी ग्यालेक्सी होटलमा गएपछि पेसिन्जर नआउने प्रभाव निजले पारी दिएकाले होटलमा पेसेन्जर खाली हुन्थ्यो । शम्भुको साहुको छोरीसँगको सम्बन्ध रहे भएकोमा मलाई थाहा छैन । शम्भु कसरी मर्यो मलाई थाहा छैन भन्ने समेत व्यहोराको जुयन्द्र होटलको कुक वीरबहादुर गुरुङको बयान कागज ।
१२. शम्भु मरेको कुरा मलाई थाहा छैन । प्रहरी गएर मात्र थाहा पाएको हुँ । साहुकी छोरी र शम्भुको बीच सम्बन्ध थियो थिएन मलाई थाहा छैन भन्ने समेत व्यहोराको जुयन्द्र होटलका कामदार रणबहादुरको बयान कागज ।
१३. जुयन्द्र होटलको पेसेन्जरको क्यामेरा लिई (साविक पेज नं. २७६) हिंडेपछि मनमुटाव हुँदा शम्भु धामी होटल ग्यालेक्सीमा सरेको त्यसपछि होटल जुयन्द्रको मालिकको विरुद्धमा कुरा गरी हिंडेको, जुयन्द्र होटलमा पेसेन्जर कम हुँदै गएको, त्यस होटलमा, केटी राख्ने गरेको कुरा पनि खुल्नमा आएकोले साहु चन्द्रमानले निज शम्भुलाई बोलाई निजलाई कर्तव्य गरी मारेकोमा मलाई शंका लाग्छ भन्ने समेत व्यहोराको शेरबहादुर बनेलको बयान कागज ।
१४. शम्भुले जुयन्द्र होटल छाडी, ग्यालेक्सी होटलमा आएपछि होटल जुयन्द्रमा पेसेन्जर जान छाडे । चन्द्रमानले होटलमा रण्डी ल्याई पैसा कमाउने गर्दथ्यो, त्यसकारण मैले सो होटल छाडेको हो, साहुकी छोरी माइलीले रु. ६००।– दिएकी थिइन् । यस विषयमा चन्द्रमानले छोरीलाई पिटेको थियो । मलाई होटलमा आइजा, तलब बढाई दिने छु, भनेको छ, भनेको तीन (३) दिन पछि निजको मृत्यु भएको, चन्द्रमानकै कर्तव्यबाट शम्भु धामीको मृत्यु भएको हुनुपर्छ भन्ने समेत व्यहोराको होटल ग्यालेक्सीका कुक कृष्णबहादुर पाण्डेको बयान कागज ।
१५. शम्भुलाई नारायणघाटसम्म लगी फिर्ता ल्याएको हुन मृत्यु सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको ट्याक्सी चालक विष्णु मगरको बयान कागज ।
१६. जुयन्द्र होटलको मालिक र कामदार समेतलाई चिन्दिन शम्भु धामीलाई मारे मराएकोमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको स्वीसकाटेज होटलका मालिक अनिलकुमार गुप्तको बयान कागज ।
१७. मृतक शम्भु धामी होटल छाडी मेरो होटलमा आई काम गरी बसेका थिए, जुयन्द्र होटलबाट फेरि मलाई बोलाएको छ, जान्छु भनी मेरो होटल ग्यालेक्सी छाडी गएका हुन् भन्ने समेत व्यहोराको होटल मालिक सरला हिराचनको बयान कागज ।
१८. जुयन्द्र होटलमा जूवा खेलाउने, केटीहरुलाई अनैतिक कार्यमा संलग्न गराउने, जुवा खेलाएको विषयमा चन्द्रमान उपर ०३९।५।९ मा मुद्दा समेत दायर भएको, यस कार्यमा होटल मालिक र गाइडको बीचमा अनेकौं रहस्यमय कुराहरु भएको साहुकी माइली छोरीसंग मृतकको प्रेमसम्बन्ध रहेको कारणबाट आफ्नो र होटलको इज्जत जोगाउन शम्भु धामीलाई मार्नु पर्ने कारण आइपरेकोले आफ्नो होटलमा काम गर्ने कुलबहादुर र चन्द्रबहादुरलाई रु. ४,०००।– का दरले रुपैयाँ दिइने प्रलोभन देखाई ५ बोतल बियर मासु समेत साहु चन्द्रमान र मृतक शम्भु धामीले खाएका र (३) वटा विषालु ट्याब्लेट चन्द्रमानले शम्भुलाई खान दिई अचेत अवस्थामा पुर्याएको कुरा चन्द्रबहादुर र कुलबहादुरको कागज र मारे पनि केही हुँदैन, पैसा खर्च गरी बचौंला भनी चन्द्रमानले भनेका, सोही आदेशानुसार चन्द्रबहादुरले टाउकोमा र कुलबहादुरले गोडा समाती चन्द्रमान गुरुङले मुख थुनी घाँटी समाती शम्भुको टाउको सिमेन्टको भित्तामा ठक्कर दिई मारेको होटलको रजिष्टरमा काल्पनिक नाम र ठेगानाको विवरण आफैं लेखी भतिजा रिषमानले लेखेको होला भनी भनेकोमा निजको बयान झुठ्ठा देखिन आएको छ । उल्लेखित कारणबाट जुयन्द्र होटलका मालिक चन्द्रमानले सोही होटलमा काम गर्ने कुलबहादुर पाण्डे र ठागु भन्ने चन्द्रबहादुर गुरुङ समेत ४ जनाले शम्भु धामीलाई कर्तव्य गरी मारी ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कार्य गरेका र शम्भुको प्राण प्रतिवादी मध्ये कुन कसको चोटबाट गएको हो, यकीन हुन नसकेकोले सामूहिक चोटको कारणबाट शम्भु धामीको मृत्यु भएको देखिन आउँदा ऐ.ऐनको दफा १३(३) नं. बमोजिम सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१९. मृतक शम्भु धामीले लाहुरे प्यासेन्जर ल्याई दिने, पेसेन्जरलाई आइमाई समेतको बन्दोवस्त गरी दिने गर्दथे । केटीहरु ल्याएकोमा त्यसको फाइदा कहिले शम्भुले र कहिले साहुले बाँडी लिने दिने गरेकोमा साहु (साविक पेज नं. २७७) र शम्भुको बीच झगडा भएको, सोही कारणबाट शम्भुलाई होटलबाट निकालिएको हो । त्यसपछि शम्भु ग्यालेक्सी होटलमा बस्न गयो । होटल जुयन्द्रको बेइज्जती गरी पेसेन्जरहरु भड्काई दिने र चन्द्रमानको समेत निजको बेइज्जति गर्दै हिंड्न थाले, त्यसपछि श्रावण १५ गते, निजलाई बोलाई होटल जुयन्द्रमा राखियो, चन्द्रमानकी छोरी माइलीसंग निजले ठट्टा मस्करी गरेको कुरा साहुले थाहा पाएपछि १७ गते म र चन्द्रबहादुरसंग आज शम्भुलाई मार्नुपर्छ भनी साहुले भने, हामी चुप लागी बस्यौं । बेलुकी १०.३० बजे साहुले ५ बोतल बियर लेउ भनेकाले मैले बियर लगी दिएँ । शम्भुलाई बोलाई १०१ नं. को कोठामा लगी साहु र शम्भुले बियर खाए । साहुले ३ वटा सेतो टेबलेट चक्की निकाली मिची शम्भुको बोतलमा राखी दिए, शम्भुले बियर खायो र एकछिन पछि शम्भु घडघडाउन थाल्यो । चन्द्रमानले शम्भुलाई समाती भित्तामा टाउको ठोक्कायो । शम्भु छटपटायो । मलाई र चन्द्रबहादुरलाई टाउको र खुट्टामा समात भन्यो । नसमातेमा तिमीहरुलाई सेतीमा फालि दिने भन्यो, डराई मैले खुट्टामा, चन्द्रबहादुरले टाउकोमा समात्यो र समाउँदा शम्भु मर्न लागेको थियो । समातेको ५ मिनेटमा नै शम्भु मर्यो । साहुले खाट मुनि राखिदेउ भनेकाले खाट मुनि राखी दिएका हौं । रु. ४०००।– का दरले दिउँला भनेका थिए । शम्भु साहुकै कर्तव्यबाट मरेको हो भन्ने समेत व्यहोराको कुलबहादुर पाण्डेले अदालत समक्ष गरेको बयान कागज ।
२०. शम्भु साहुसंग झगडा गरेर होटल ग्यालेक्सीमा गएर बस्यो, २०४१ साल श्रावण १५ गते पुनः साहुले निजलाई बोलाई होटलमा राखे । शम्भुले मेरो बेइज्जती गरी हिंड्छ पेसेन्जर पनि भडकाई दिन्छ, निजलाई बोरा बन्द गरी सेतीमा फाली देउ भनी ऐ.१७ गते साहुले भन्दा हामी चुप बस्यौं । बेलुका १०.३० बजेको समयमा ५ बोतल बियर ल्याउ भनेकाले मैले र कुलबहादुरले लगी दियौं । साहु र शम्भु १०१ नं. को कोठामा बसी बियर खान थाले २–२ बोतल बियर खाइसकेपछि साहुले आफ्नो खल्तिबाट सेतो रंगको ३ चक्की मिची शम्भुको बियरको ग्लासमा राखि दियो । शम्भुले खाइसकेपछि ढुनमुनाउन थाले चन्द्रमानले घाँटी अठ्याई मुख छोपी भित्तामा टाउको ३–४ पटक ठोकायो । हामीलाई टाउको खुट्टामा समात्न भन्यो, मैले टाउको समातें, कुलबहादुरले खुट्टा समायो त्यसबेला निजको सास अलिअलि थियो । एकै छिनपछि मर्यो । मृतक शम्भुलाई खाटमुनी राखिदेउ भनेकाले सो बमोजिम राखिदिएका हौं । दिनमा साहुले भनेको कुरा डराई शम्भुलाई भनेनौं । बास बस्न आएकोले रण्डी ल्याइदेउ भनेकोमा शम्भुले ल्याइदिन्थ्यो । त्यसबाट हुने फाइदाको सम्बन्धमा साहु र शम्भुको बीच झगडा भइरहन्थ्यो भन्ने समेत व्यहोराको ठागु भन्ने चन्द्रबहादुर गुरुङले अदालतमा गरेको बयान ।
२१. २०४१।४।४ मा शम्भुले मेरो होटलमा काम गरिरहेको अवस्थामा मेरो होटल छाडी होटल ग्यालेक्सीमा काम गर्न गएको रहेछ । ऐ.१५ गते मैले निजलाई मेरो होटलमा काम गर, कति पैसा दिनुपर्छ भनेर सोधे । रु. ४००।– मा काम गर भनें । होटलमा काम गर्न थाल्यो ऐ.१६ गते बिहान कुलबहादुर, चन्द्रबहादुर र शम्भु धामी, लज सफा गर्दा हल्ला गरेको सुनी हेर्न जाँदा, कुलबहादुर र शम्भु झगडा गरी रहेको देखेपछि मैले सम्झाए । १७ गते शम्भु र कुलबहादुर गाइड गर्न गए । बेलुका निजहरु कोठामा झगडा गर्दै थिए । म खाना खाई कोठामा सुत्न गएँ । निजहरु पनि सुत्न गए । निजहरु कुन कोठामा सुते मलाई थाहा भएन । भोलिपल्ट बिहान ७।३० बजेको समयमा शम्भु १०१ नं. को कोठामा चारपाई मुनि मरिरहेको रहेछ भनी ढोका खोली हेर्न जाँदा चारपाई मुनि शम्भु मरिरहेको देखें । तुरुन्त छिमेक बोलाई प्रहरीमा जाहेरी दिएको छु । निजलाई मैले कर्तव्य गरी मारेको होइन । घटना घटाउने काम कुलबहादुरले नै गरेको हुनु पर्दछ, कुलबहादुरले नै शम्भुलाई (साविक पेज नं. २७८) कर्तव्य गरी मारेकोमा शंका लाग्छ, निजहरु बीचको झगडाको कुरा तत्काल खुलाउन नसकेको हो, शम्भुसंग मेरो झगडा भएको छैन, प्र.स.नि.तेजप्रसादको प्रतिवेदन झुठ्ठा हो । कुलबहादुर र चन्द्रबहादुरले मैले शम्भुलाई मारेको भनी आफ्नो बयानमा किन लेखाए मलाई थाहा छैन, निजहरु नै जानुन, होटलको रजिष्टरमा मेरो हस्ताले लेखिएका होइन, भन्ने समेत व्यहोराको चन्द्रमान गुरुड्डले अदालत समक्ष गरेको बयान ।
२२. वारदातको सम्बन्धमा बुझ्न जाँदा मृतक शम्भु धामीलाई चन्द्रमानले कर्तव्य गरी मारेको विषयमा प्रतिवेदन दिएको हुँ भन्ने समेत व्यहोराको तेजप्रसाद शर्माले अदालत समक्ष गरेको बकपत्र ।
२३. यसमा मृतक शम्भु धामीको मृत्यु कर्तव्यबाट हुन गएको भन्ने कुरा संकलित प्रमाणबाट पुष्टि भएको प्रतिवादीहरुकै चोट र कर्तव्यबाट निजको मृत्यु भएको देखिन आएकोले प्रतिवादीहरु चन्द्रमान गुरुड्ड, ठागु भन्ने चन्द्रबहादुर गुरुड्ड र कुलबहादुर गुरुड्डलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ हुने ठहर्छ भन्ने समेत व्यहोराको कास्की जिल्ला अदालतको मिति ०४३।१२।१९ को फैसला ।
२४. मृतक शम्भु धामीलाई मार्नु पर्ने कारण छैन । मैले निजलाई मार्नुपर्ने नियत राखेको देखिँदैन । विवादास्पद मुख सावितीको भरमा म उपरको दावी ठहर गर्नु न्यायोचित नहुँदा जिल्ला अदालतको इन्साफ बदर गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रबहादुर गुरुड्डको गण्डकी अञ्चल अदालत समक्ष गरेको पुनरावेदनपत्र ।
२५. सहअभियुक्तको साविती पोलबाट कसूरदार ठहर्याउन नमिल्ने, शंकाको भरमा अपराधी ठहर गर्न नहुने, शंकाको सुविधा प्रतिवादीले पाउने हुँदा मलाई सो आधारमा कसूरदार ठहर गर्ने गरेको जिल्ला अदालतको फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको चन्द्रमान गुरुड्ड तर्फबाट अञ्चल अदालत समक्ष परेको पुनरावेदनपत्र ।
२६. कास्की जिल्ला अदालतले पुनरावेदक प्रतिवादीहरुलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद गर्ने गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको गण्डकी अञ्चल अदालतको फैसला ।
२७. कानुनी त्रुटिपूर्ण जिल्ला अदालतको फैसलालाई सदर गरेको गण्डकी अञ्चल अदालतको फैसला बदर गरी अभियोग प्रतिवेदनबाट सफाई पाउँ भन्ने समेत व्यहोराको ठागु भन्ने चन्द्रबहादुर गुरुङ र चन्द्रमान गुरुङबाट पृथक पृथक रुपमा पर्न आएको पुनरावेदनपत्र ।
२८. यसमा अभियुक्त मध्येका कुलबहादुर पाण्डेको पुनरावेदन नपरेको भए पनि निजका हकमा न्या.प्र.सु.ऐन, ०३१ को दफा १४(३) को प्रतिबन्धात्मक वाक्यांशमा पुनरावेदन नगर्ने अभियुक्तको हकमा साधकको रोहबाट जाँची मुद्दा किनारा गर्नु पर्ने छ भन्ने व्यवस्था भएकोले निजको हकमा पनि इन्साफ जाँची ठहर निर्णय गर्नु पर्नेमा, सो बमोजिम भएको देखिन नआएकोले ठहर निर्णय गर्न, मिसिल अञ्चल अदालत पठाई दिनु भन्ने समेत व्यहोराको आदेश ।
२९. प्रतिवादी कुलबहादुर पाण्डे समेतको प्रयासबाट शम्भुलाई कर्तव्य गरी मारेको देखिन आएकाले निजको हकमा पनि शुरुले जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको अञ्चल अदालतको फैसला ।
३०. यसमा मिसिल संलग्न प्रमाण कागज हेर्दा होटल मालिक चन्द्रमान आफू उपरको आरोपमा इन्कार रहे तापनि कुलबहादुर पाण्डे र चन्द्रबहादुरको बयान कागज, लाश जाँच प्रतिवेदनबाट निज चन्द्रमान समेतकै कर्तव्यबाट शम्भु धामीको मृत्यु हुन गएको देखिन्छ । यस वारदातमा शम्भु धामीलाई कर्तव्य गरी मार्न मराउनमा प्रतिवादीहरु कुलबहादुर र चन्द्रबहादुर समेतको संलग्नता रहे भएको देखिन आउँदा निजहरुलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने (साविक पेज नं. २७९) ठहर्याएको जिल्ला अदालतको फैसलालाई सदर गरेको गण्डकी अञ्चल अदालतको इन्साफ समेत मनासिब ठहर्छ । प्रतिवादीहरु मध्येका कुलबहादुर पाण्डे र चन्द्रबहादुर गुरुङको मृतक शम्भु धामीसंग कुनै किसिमको पूर्व रिसइवी समेत रहे भएको प्रमाणित हुन नआएको, होटल मालिक चन्द्रमानको अनुचित प्रभावमा परी शम्भु धामीलाई कर्तव्य गरी मार्ने कार्यमा सरिक भएको मिसिल संलग्न प्रमाणबाट देखिन आएकोले निजहरुलाई पनि चन्द्रमानकै सरह जन्मकैद गर्दा चर्को पर्न जाने देखिन्छ । निजहरु दुई जनाको हकमा कैद वर्ष १० का दरले सजायँ हुने भनी राय व्यक्त गरी साधक सदरको लागि पठाउनु भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
३१. मृतक शम्भु धामीको मृत्यु कर्तव्यबाट भएकोमा विवाद छैन निजको मृत्यु कर्तव्यबाट नभएको भन्ने हाम्रो जिकिर पनि होइन मृतकसंग हाम्रो कुनै पूर्व रिसइवी थिएन । जाहेरवाला चन्द्रमानकै होटलको कोठामा शम्भुको मृत्यु भएको छ । तर हाम्रो कर्तव्यबाट नै निजको मृत्यु भएको भन्ने कुरा कहीं खुल्न सकेको छैन । अपराधसंग सम्बन्धित कुनै तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु सबै एकै कुरा होइन । हामीहरुबाट अपराधसंग सम्बन्धित तथ्य स्वीकार हुँदैमा अपराध स्वीकार गरेको मानी सजायँ गर्नु न्यायसंगत नहुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको कारागार मार्फत कुलबहादुर पाण्डे र चन्द्रबहादुर गुरुङबाट यस अदालत समक्ष पर्न आएको संयुक्त पुनरावेदन ।
३२. यसमा पुनरावेदक प्रतिवादीहरुलाई होटल मालिक चन्द्रमान गुरुङले अनुचित प्रभावमा पारी शम्भु धामीको हत्या कार्यमा सरीक गराएको देखिँदा दावी बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिएकोले निजहरुलाई कैद वर्ष १० को दरले सजायँ गर्ने राय व्यक्त गरी साधकको लागि समेत जाहेर भई आएको र यस अदालतको साधकको लगतमा दर्ता भएको देखिन्छ ।
३३. यसरी नियम बमोजिम पेश भई आएकोमा पुनरावेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डानाले शम्भुको मृत्यु स्वभाविक तवरबाट भएको भन्न मिल्ने देखिँदैन । मिसिल संलग्न प्रमाणहरुबाट निजको मृत्यु जुयन्द्र होटलका मालिक चन्द्रमान गुरुङको कर्तव्यबाट भएको भन्ने कुरा तहगत अदालतबाट ठहर हुँदै आएको छ । मेरो पक्षहरु कुलबहादुर पाण्डे र चन्द्रबहादुर गुरुड्ड उपर पनि शम्भुको हत्याको आरोप लगाई प्रतिवेदन दावी दायर भएको पाइन्छ । निजहरु जुयन्द्र होटलमा कामदारको रुपमा रहेकोमा विवाद छैन । मृतक शम्भु धामी र होटल मालिक चन्द्रमान गुरुड्ड बीच समय समयमा झगडा भएको कुरा प्र.स.नि. समेतको प्रतिवेदनबाट देखिन्छ । तर शम्भु र मेरा पक्ष बीच रिस बैरभाव भए रहेको भन्ने कुरा कहींबाट खुल्न आउँदैन । होटल मालिकले शम्भुलाई मार्न भनेको, सो अनुरुप साहुको डर–धाक र प्रलोभनबाट शम्भुको मृत्युकालिन अवस्थामा समाती दिएको सम्म हो भन्ने कुरा निजहरुको बयानबाट खुल्न आउँछ । सो कुरा प्रमाणित हुन सकेको छैन । यस स्थिति अवस्थामा पुनरावेदक प्रतिवादीहरुलाई दावी बमोजिम सजायँ गर्नु न्यायसंगत हुने नहुँदा सफाई हुनुपर्छ, भनी प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
३४. यसमा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला न्यायसंगत छ छैन हेरी निर्णय दिन पर्ने हुन आयो ।
३५. यसमा मृतक शम्भु धामी जुयन्द्र होटलमा कार्यरत रहेको निजले सो होटल छाडी होटल ग्यालेक्सीमा गएको, पुनः जुयन्द्र होटलका मालिकले बोलाई आफ्नै होटलमा कार्य गर्न लगाएको कुरा होटल मालिक प्रतिवादी जाहेरवाला चन्द्रमान गुरुड्डको बयानमा उल्लेख भएबाट मृतक शम्भु धामी मृत्यु हुनु पूर्वसम्म होटल जुयन्द्रमा नै कार्यरत रहे भएको कुरामा विवाद देखिन आएन । (साविक पेज नं. २८०)
३६. जुयन्द्र होटलका मालिक चन्द्रमान गुरुङको जाहेरीबाट उठान भएको प्रस्तुत मुद्दामा मृतक शम्भु धामीको लाश जुयन्द्र होटलकै कोठामा भेटिएको, निजको मृत्यु स्वभाविक रुपबाट भएको भन्ने कुरा लाश जाँच प्रतिवेदन घटनास्थल मुचुल्का समेतबाट पुष्टि हुन नसकेकोबाट शम्भु धामीको मृत्यु अस्वाभाविक रुपबाट नै भएको देखिन आउँछ ।
३७. शम्भु धामीको मृत्यु के कुन रुपबाट हुन गएको रहेछ भनी हेर्दा, ०४१।४।१७ गते, आज शम्भुलाई मार्नु पर्दछ भनी होटल मालिकले भनेका, राती १०.३० बजेको समयमा साहुले ५ बोतल बियर ल्याउन आदेश दिएको, शम्भु र चन्द्रमान बसेर बियर खाएका र शम्भुले खाने गिलासमा ३ वटा ट्याब्लेट मिचेर राखी दिएका, त्यो खाएपछि शम्भु लल्याक–लुलुक भयो, साहुले शम्भुको मुख समाती घाँटी थिची भित्तामा ठोकाए, हामीलाई समात भनेपछि टाउका र खुट्टामा समात्यौं । त्यस समयमा निजको मृत्यु भइसकेको रहेछ । खटिया मुनि घुसाई देउ भनेकाले सो अनुसार घुसाई दिएका हौं भन्ने कुरा पुनरावेदक प्रतिवादी कुलबहादुर पाण्डे र चन्द्रबहादुर गुरुङको बयानमा उल्लेख रहेको पाइन्छ । यसबाट पनि निज पुनरावेदक प्रतिवादीहरुको वारदातमा संलग्नता रहेनछ भन्न सकिने स्थिति देखिन आएन । होटल मालिक चन्द्रमान गुरुङ आफू उपरको आरोपको इन्कारी कुलबहादुर र शम्भु बीचको झगडा परेको, कुलबहादुरले नै शम्भुलाई मारेको भनी गर्दछन् । यो इन्कारी केवल इन्कारीमा नै सीमित रहेको देखिन्छ ।
३८. प्रस्तुत वारदातको सम्बन्धमा पुनरावेदक प्रतिवादीहरु कुलबहादुर पाण्डे र चन्द्रबहादुर गुरुङको बयानलाई घटनास्थल प्रकृति मुचुल्का र लाश जाँच प्रतिवेदनबाट समेत पुष्टि भइरहेको पाइन्छ । यस वारदातमा आफ्ना संलग्नता नै नरहेको, शम्भुको मृत्यु गर्न गराउन आफू कुनै तवरबाट सरिक नै नभएको भन्ने पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर रहेको पाइँदैन ।
३९. कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको अपराध हुन पूर्व प्रतिवादीहरुलाई जानकारी रहे भएको भन्ने कुरा निजहरुकै बयानमा उल्लेख रहेको, शम्भु धामीलाई स्वभाविक तवरबाट मार्न षडयन्त्र गरी मुख घाँटीमा चन्द्रमानले समाएको र निज पुनरावेदक प्रतिवादीहरुले पनि शम्भुको मृत्यु हुनु पूर्व नै खुट्टा र टाउकोमा समातेको शम्भुको मृत्यु भएपछि खटिया मुनि घुसाई दिएकोमा प्रतिवादीहरुको असहमति नरहेको, यसबाट कस्को अन्तिम प्रहारले शम्भुको मृत्यु हुन गएको हो खुल्न नआएकोले प्रतिवादीहरु निर्दोष हुन भन्ने कानुनतः मिल्ने देखिन आएन ।
४०. कुनै पनि फौज्दारी प्रकृतिको, ज्यानसम्बन्धी अपराध सिद्ध हुन, पूर्व रिसइवी र मनसाय नै विद्यमान हुनुपर्दछ भन्न सकिँदैन । यसलाई वारदातको स्थिति र अवस्थाले पनि प्रमाणित गर्ने हुन्छ । प्रस्तुत वारदातमा पुनरावेदक प्रतिवादीहरुले मृतकसंग कुनै पूर्व रिसइवी थिएन, छैन, भने तापनि निजहरुले साहु चन्द्रमानले शम्भुलाई अस्वाभाविक रुपबाट मार्ने षडयन्त्र गरेको, सो षडयन्त्रमा निजहरु पनि संलग्न रहे भएको कुरा संलग्न प्रमाणहरुबाट पुष्टि रहे भएको देखिन आउँदा, पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर विद्वान अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन ।
४१. अतः शम्भु धामीको मृत्यु स्वभाविक तवरबाट भएको देखिन नआएको, प्रतिवादीहरु सो वारदातमा संलग्न नरहेको भन्ने कुरा संकलित प्रमाणबाट पुष्टि हुन नसकेकोले पुनरावेदक प्रतिवादीहरु कुलबहादुर पाण्डे र चन्द्रबहादुर गुरुड्ड निर्दोष रहेछन् भन्न सकिएन । अभियोग प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ गर्ने गरी (साविक पेज नं. २८१) गरेको जिल्ला अदालतको निर्णयलाई सदर गरेको अञ्चल अदालतको इन्साफलाई कायमै राख्ने गरेको क्षेत्रीय अदालतको फैसला न्यायसंगत नै देखिन्छ । निज पुनरावेदक प्रतिवादीहरुको हकमा क्षेत्रीय अदालतबाट साहु चन्द्रमानको प्रभावमा परी वारदातमा संलग्न रहेको आधारमा कैद वर्ष १० को दरले सजायँ कायम हुने राय ठहर साथ साधक जाहेर गरेको सम्बन्धमा हेर्दा, यी प्रतिवादीहरुकै षडयन्त्रबाट शम्भु धामीको मृत्यु भएको भन्ने देखिन नआएको, शम्भु धामीलाई निजहरु मार्नु पर्ने सम्मकै रिसइवी र मनसाय रहे भएको कुरा मिसिलबाट पुष्टि हुन नसकेको, शम्भुलाई मार्नु पर्छ, त्यो कार्यमा सामेल नभएमा तिमीहरुलाई मारी सेती नदीमा फाली दिनेछु भन्ने साहु प्रतिवादी चन्द्रमानको अनुचित प्रभावमा परी वारदातमा सघाएको भन्ने निजहरुको बयान कागज रहेको, वारदातको स्थिति र अवस्थालाई मध्यनजर राखी हेर्दा, सो अवस्था विद्यमान रहे भएको नै देखिन आउँदा निज प्रतिवादीहरु परिस्थिति अनुसार वारदातमा संलग्न भएको पुष्टि हुन आएको पाइंदा, दावी बमोजिम नै प्रतिवादीहरुलाई सजायँ गर्न न्यायिक दृष्टिबाट युक्तिसंगत हुने नदेखिँदा, अ.बं. १८८ नं. बमोजिम निजहरुलाई कैद वर्ष १० का दरले जनही कैद सजायँ हुने ठहर्छ । प्रतिवादीहरुबाट पुनरावेदन परी आएकोले साधकको लगत समेत कट्टा गरिदिनु । कारागार मार्फत पुनरावेदन परी आएको देखिँदा फैसला भएको जानकारी प्रतिवादीहरुलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या.ओमभक्त श्रेष्ठ
इतिसम्वत् २०४८ साल भाद्र १९ गते रोज ४ शुभम् ।