निर्णय नं. ४३०७ - जग्गा खिचोला चलन

निर्णय नं. ४३०७ ने.का.प. २०४८ अङ्क ६
संयुक्तइजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
सम्वत् २०४५ सालको दे.पु.नं. ६७३, ७८०
फैसला भएको मिति : २०४८।५।२१।६ मा
पुनरावेदक/प्रतिवादी : का.न.पा.वडा नं. १८ तामसी पाखा बस्ने बेखानारायण महर्जनसमेत
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने तुलसीमाया महर्जन
पुनरावेदक/प्रतिवादी : गुठी संस्थानको तर्फबाट कार्यकारिणी अध्यक्ष विश्वमान श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : का.न.पा. वडा नं. १८ बस्ने तुलसीमाया महर्जन
मुद्दा : जग्गा खिचोला चलन
(१) गुठी संस्थानले उठाएको कारवाहीमा, गुठी संस्थानले विवादको जग्गा गुठी र रैकर के हो ? विवादित जग्गाका पक्ष विपक्ष समेतलाई बुझी निर्णय गर्नु पर्दछ र तत्पश्चात चित्त नबुझ्ने पक्षले उल्लेखित गुठी संस्थान (पहिलो संशोधन) ऐन, २०४१ को दफा (साविक पेज नं. २८२) ३९(२) बमोजिम अञ्चल अदालतमा पुनरावेदन दिन पाउने व्यवस्था भए बमोजिम पुनरावेदनमा गई निर्णय गराउन पाउने स्पष्ट कानुनी व्यवस्था भइरहेकोमा सो ऐनको उक्त कानुनी व्यवस्था विपरीतको लाग्न नसक्ने फिराद लिई वागमती अञ्चल अदालतले गरेको निर्णय र सो लाई सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय समेत त्रुटिपूर्ण देखिँदा दुवै फैसलाहरु बदर भई उल्टी हुने ।
(प्रकरण नं. २१)
पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
गुठी, संस्थानतर्फबाट : विद्वान अधिवक्ता श्री हेमराज सुवेदी
प्रत्यर्थी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझाई प्रतिवादीहरु तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. पूर्व बाटो, पश्चिम कि.नं. ९१ र २०५ को जग्गा, उत्तर कि.नं. ९१ को जग्गा, दक्षिण गोरेटो बाटो यति चार किल्ला भित्रमा मोहनमान श्रेष्ठका नाउँमा काठमाडौं ठमेल पोता नं. ५७६ को का.न.पं. वडा नं. १३क. कि.नं. ९२ को तामसीको जग्गा रोपनी १–१–१ नरबढी समेत सो लगत भिडी निजले जोती भोगी तिरो भरो चलन गरी आएको भोग बमोजिमको जग्गा माइती तथा आशानारायण महर्जनबाट पाएको रुपैयाँमा मोहनमान सँग रु. ३००।– मा राजीनामा फार्छे गराई लिई २०१६।८।२४ मा रजिष्ट्रेशन पास भई सो लगतबाट मेरा नाउँमा का.किलागल ५५७ को लगतमा मालपोत कार्यालय काठमाडौंमा नामसारी दर्ता भई सो पूरै जग्गा जोती आएकोमा कसैको खिचोला थिएन । उक्त जग्गाको रै.प. गरी ज.ध.प्र.पुर्जा उपलब्ध गराई माग्न भू.सु.का.मा मेरो निवेदन पर्दा पिता पुननारायण परलोक भएपछि उक्त जग्गा मेरै नाममा दर्ता गराएको छु भनी विपक्षीले प्रतिवाद गर्नु भएपछि हक बेहक तर्फ सम्बन्धित निकायबाट निर्णय भई आएपछि सोही अनुसार गर्ने भनी २०३९।५।७ मा सो कार्यालयबाट निर्णय भएपछि सोही विषयलाई लिएर विपक्षले २०४०।४।२७ मा हक कायम गरी पाउँ भनी का.जि.अ.मा नालिश दिई मेरो आफ्नो भएको प्रतिउत्तर दिएपछि २०४१।१।१४।५ मा फैसला भएको सो उपर विपक्षहरुको र मेरो यस अदालतमा पुनरावेदन परेकोमा उक्त कि.नं. ९२ को तामसीको रोपनी १–१–१–० मेरो नाममा दर्ता हक कायम हुने ठहरी मिति ०४१।११।२० मा अन्तिम फैसला भई विपक्षीले अनुमतिको लागि म.क्षे.अ.मा निवेदन दिएकोमा अनुमति समेत प्रदान नभएपछि उक्त फैसला बमोजिम ०४१।१२।१९ को रै.प.नामसारी निर्णयले आशानारायण महर्जनको कि.नं. ९२ मेरा नाममा जोतपोत एकलौटी दाखिल दर्ता कायम भई २०२६ सालदेखि मालपोत समेत तिरी आएको उक्त जग्गा दानबक्सको १ नं. बमोजिम आफू खुश गर्न पाउने हुँदा विभिन्न मितिमा विभिन्न व्यक्तिलाई हा.व. गरी दिई बाँकी रहेको कि.नं. २११ को रोपनी ०–३–१ तामसीको जग्गा मेरो एकलौटी हक भोगको हो । विपक्षी गुठी संस्थानले कणेलचोक भगवति गुठी ४८।१ खला का.न.पं. वडा नं. १३क. कि.नं. ९२ को क्षेत्रफल १–१–१ जग्गा सम्बन्धमा केही बुझ्नु पर्ने हुँदा हाजिर हुन आउनु भनी म्याद पठाएबाट (साविक पेज नं. २८३) आफ्नो सबूद प्रमाण पेश गरी बयान गरी दिएको र विपक्षी गुठी तहसील कार्यालयबाट उक्त रैकर जग्गालाई गुठी जग्गा भनी अनुचित कारवाही गराएको कुरा २०४२।१०।२५ मा थाहा हुन आएकोले यो फिराद गर्न आएको छु । विपक्षी बेखानारायण र पञ्चनारायणले बयान गरी दिने विपक्ष तहसील कार्यालयले गराउने निज आशानारायणलाई बुझिएकोमा मेरो नाम आशानारायण नभई अष्टनारायण महर्जन हो भनी झुठ्ठा बयान गरी गराई विपक्षी कार्यालयले उक्त जग्गा आजसम्म कसले भोग गरेको छ भनी बुझ्नु भनी विपक्षी वडा समितिलाई लेखी पठाई मैले हा.व. गरी दिएको जग्गा जोती भोगी आउने अम्बिका श्रेष्ठ समेतका मानिसलाई पत्तै नदिई विपक्ष पञ्चनारायण र बेखानारायणको हक भोगको देखाई अन्य विपक्ष मध्येका व्यक्तिहरु समेत रोहवरमा बसी विपक्षी वडा समितिको सक्रियतामा मिति २०४२।८।४।५ मा झुठ्ठा व्यहोराको मुचुल्का लेखी विपक्ष गुठी तहसील कार्यालयमा पठाएपछि विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालय समेतले उक्त मैले चारैतर्फ किल्ला ठोकी साँध लगाई राखेको जग्गामा विपक्षी कान्छी महर्जननी पञ्चनारायण महर्जन, बेखानारायण महर्जनलाई जग्गा खनी किल्ला समेत ओखली खिचोला गर्न आएकाले उक्त विपक्षहरुको बेरीतको कारवाही निष्कृय गरी प्रचलित मोल रु. ५००।– पर्ने उक्त मेरो हक भोगको जग्गालाई गुठी भनी खिचोला गरेकाले विपक्षीहरुको खिचोला मेटाई विपक्षहरुलाई कानुन बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०४३।२।१९।२ को तुलसीमाया महर्जननीको फिरादपत्र ।
३. कडेलचोक भगवती गुठी ४८।१ को साविक खेत रोपनी १ दर्तावाला सिद्धिनारायण मालीसंग मिति २०१६।१।२२ मा हाम्रा पिता आशानारायणले राजीनामा पास गराई लिनु भएको यस कार्यालयको लगतमा सिद्धिमान हुन गएकोमा के कसो भएको हो सच्याई पाउँ र नामसारी दर्ता हुन नपाउँदै पिताजी र माताजी परलोक हुनु भई हक खाने निवेदक बाहेक अरु छैन, उक्त जग्गा सर्भे नापी हुँदा का.न.पं. वडा नं. १३क कि.नं. ९२ मा क्षेत्रफल १–१–१ ठहर हुन आएकोले हामीहरुका नाममा नामसारी गरिपाउँ भन्ने बेखानारायण महर्जन र पञ्चनारायण महर्जनको निवेदन पर्न आएबाट वडा समितिको सिफारिशको अतिरिक्त अन्य सबूद प्रमाणको आधारमा निजहरुको नाममा नामसारी भएपछि ज.ध.प्र.पु.को नक्कल दिने सम्बन्धमा लेखापढी हुँदा उक्त जग्गा मिति २०४१।१२।१९ का निर्णयले तुलसीमाया महर्जनका नाउँमा रै.प. नामसारी भई निजले विभिन्न व्यक्तिलाई हा.व. गरिदिएको भन्ने मालपोत कार्यालयबाट जवाफ प्राप्त हुन आएको हुँदा उचित निकासाको लागि गुठी संस्थानलाई लेखी गएको हो, वादी दावी बमोजिमको जग्गामा खिचोला नगरेको हुँदा झुठ्ठा उजूर गरेमा वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०४३।४।२७ गतेको गुठी तहसील कार्यालय काठमाडौंको तर्फबाट लक्ष्मी कपालीको प्रतिउत्तरपत्र ।
४. विवादित जग्गा सिद्धिनारायण मालीसंग मिति २०१६।१।२२ मा हाम्रा पिता आशानारायण महर्जनले राजीनामा पास गरी लिनु भएकोमा यस कार्यालयको लगतमा सिद्धिमान कसो गरी हुन गएको हो सच्चाई पाउँ र नामसारी नहुँदै पिताजी तथा माताजीको परलोक भएको हुँदा उक्त जग्गा नामसारी समेत गरिपाउँ भनी वेखानारायण र पञ्चनारायण महर्जनको गुठी तहसील कार्यालयमा निवेदन परी सबूद प्रमाणको आधारमा सोही कार्यालयको मिति २०४१।१२।१५ को निर्णयबाट नामसारी भई ज.ध.प्र.पु.को लागि मालपोत कार्यालयलाई लेखापढी गर्दा मिति २०४१।१२।१९ को निर्णय बमोजिम विवादित जग्गा तुलसीमायाका नाउँमा रै.प.भई नामसारी भई अन्य व्यक्तिहरुले पनि निजबाट हा.व. पाइसकेको भन्ने जवाफ प्राप्त भएको हुँदा अन्य सबूद प्रमाण समेत बुझी गुठी रैकर सम्बन्धी विवाद देखिन आएको हुँदा उचित निकासाको लागि यस कार्यालयमा पठाएकोले यस कार्यालयबाट छानविनको कार्य हुँदै रहेको हो । दावी (साविक पेज नं. २८४) बमोजिम जग्गाको खिचोला गरेको होइन भन्ने समेत व्यहोराको मिति २०४३।४।२७ गतेको गुठी संस्थान केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष विष्णुप्रसाद खनालको प्रतिउत्तरपत्र ।
५. वादी दावीको जग्गा हाम्रा पिता आशानारायणले सिद्धिनारायण मालीबाट मिति २०१६।१।२२ गते राजीनामा पास गराई सोही अनुसार गुठी तहसील पहिलो फाँट अड्डामा कडेलचोक भगवती गुठीका लगत नम्बर ४८।१ मा दर्ता भएकोछ । उक्त जग्गा पिताको मृत्युपछि आजसम्म हामीले हकभोग गरी आएका छौं । उक्त जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम मेरा पिताका नाउँमा नाप जाँच भई फिल्डबुक एवं जग्गाधनी दर्ता श्रेस्ता खडा भएकोमा मालपोत ऐन, २०३४ को दफा ६(२) बमोजिम नाप जाँचबाट तयार भएको लगत बमोजिम हाम्रा पिताका नाउँमा जग्गाधनी श्रेस्ता कायम हुनुपर्ने हुँदा उनाउ व्यक्तिका नाउँमा हुनसक्ने होइन । दावीको जग्गा गुठी तहसील कार्यालयको मिति २०४१।१२।१५ का टिप्पणी बमोजिम हाम्रो नाउँमा दर्ता भइसकेको छ । जबकी मिति २०४१।१२।१९ गतेको निर्णयले विपक्षीको नाममा दर्ता भएको देखिन्छ । उक्त जग्गाको ज.ध.प्र.पूर्जा पाउनको लागि हाम्रो काठमाडौं गुठी तहसीलमा निवेदन परेपछि ज.ध.प्र.पु.को लागि मालपोत कार्यालयलाई लेखापढी हुँदा उल्लेखित मितिमा रै.प.नामसारी भई निजले विभिन्न मितिमा अन्य व्यक्तिहरुलाई हा.व. गरी दिनुभएको भन्ने जवाफ अनुसार उक्त जग्गा हालसम्म कसैले भोग चलन गरेको छ भनी बुझ्दा हाम्रो नै ठहरी सरजमीन समेत भइसकेको छ । सोही आधारमा अन्य सम्बद्ध बुझी इन्साफ हुनको लागि प्रस्तुत मुद्दा गुठी संस्थानमा सरी कारवाहीको लागि तारेखमा बस्तै आएका छौं । गुठी संस्थान ऐन पहिलो संशोधनको दफा ३९(१) बमोजिम कारवाहीको लागि रायसाथ संस्थानमा पठाउनुपर्ने व्यवस्था समेत भएको पाइन्छ । दावीको जग्गा वादीको कहिल्यै पनि भोग चलनमा रहेको छैन । उनाउ व्यक्तिको जग्गामा खिचोला गर्न जानुपर्ने कारण समेत केही नभएकोले विपक्षको झुठ्ठा उजूरीबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०४३।८।१६ को बेखानारायण महर्जन र पञ्चनारायण महर्जनको संयुक्त प्रतिउत्तरपत्र ।
६. गुठी संस्थान काठमाडौं गुठी तहसील कार्यालयको का.न.प. वडा नं. १८ वडा समितिलाई भई आएको अनुरोध अनुसार मिति २०४२।९।४ मा भएको सरजमीन मुचुल्कामा वादी दावीको जग्गा आजसम्म प्रतिवादी मध्येका पञ्चनारायण महर्जन, बेखानारायण महर्जनले नै कमाई आएको हुँदा सोही अनुसार भएको सत्य साँचो व्यहोराको सरजमीन गरी दिएको हो । यस बाहेक अन्य कुनै किसिमको कब्जा खिचोला समेत गरेका छैनौं । कानुन बमोजिम खडा गरिएको मुचुल्कालाई गैरकानुनी भन्न मिल्ने होइन, तसर्थः विपक्षको झुठ्ठा फिराद दावाबाट अलग फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको देउसी महर्जन, चन्द्रलाल सिं, वासुदेव पाठक, लक्ष्मीनारायण महर्जन, वासुनारायण महर्जन, तयुपाछे देव नारायण महर्जन समेत जना ७ को संयुक्त प्रतिउत्तरपत्र ।
७. अन्य विपक्षीहरुका नाउँमा वागमती अञ्चल अदालतबाट जारी भएको ३० दिने इतलायनामा म्याद मिति २०४३।७।२३ मा तामेल भएकोमा सो म्यादभित्र प्रतिउत्तर दर्ता नगरी शुरु म्यादै गुजारी बसेको ।
८. हालको विवादित जग्गा समेतको साविक कि.नं. ९२ ज.रो. १–१–१ को सम्बन्धमा नामसारी रैकर परिणत समेत भन्ने मुद्दा अष्टनारायण भन्ने आसानारायण महर्जन वादी र यिनै वादी तुल्सीमाया प्रतिवादी भई मुद्दा चली सो कि.नं. ९२ को पूरै जग्गा तुलसीमायाले रैकर परिणत गरी दर्ता गर्न पाउने ठहरी यसै अञ्चल अदालतबाट मिति २०४१।११।२० मा फैसला भई सो फैसला अनुसार मिति २०४१।१२।१९ को नामसारी निर्णयले वादीको नाउँमा दर्ता भई निजको बकसपत्र अनुसार श्रीमती अम्बिका श्रेष्ठ समेतका नाउँमा कायम भई बाँकी कि.नं. २११ को क्षेत्रफल ०–३–१ वादी तुलसीमायाको नाममा कायम रहेको (साविक पेज नं. २८५) देखिँदा यसरी वादीका नाउँमा अदालतबाट अन्तिम फैसला भएको थाहा पाउँदा पाउँदै सो जग्गा प्रतिवादी मध्ये बेखानारायण र पञ्चनारायणको निवेदन अनुसार निजहरुको नाममा नामसारी गरी दर्ता गर्ने कारवाही गरी रहेको देखिएकोले प्रतिवादी मध्ये गुठी संस्थान केन्द्रीय कार्यालय गुठी तहसील कार्यालय, पञ्चनारायण र बेखानारायणले वादी दावी अनुसार कि.नं. २११ मा खिचोला गरेको ठहर्छ । उक्त प्रतिवादी उपरको वादी दावी पुग्दैन । कि.नं. २११ को जग्गा वादीको हकले चलन पाउने समेत ठहर्छ भन्ने समेत वागमती अञ्चल अदालतको मिति २०४३।१०।२८ को फैसला ।
९. कानुन बमोजिम रजिष्ट्रेशन पारित गरी हक हुन आएको कडेल चोक भगवती गुठी जग्गालाई रैकर भनी त्यही कित्ता भिडाई खान खोज्दैमा हामीहरुको हक जाने होइन, अतः वागमती अञ्चल अदालतको बेरीतको फैसला बदर गरी इन्साफ दिलाई पाउँ भन्ने समेत पञ्चनारायण, बेखानारायणको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
१०. गुठी संस्थान केन्द्रीय कार्यालयले जग्गा खिचोला गर्नु पर्ने कुनै कारण नभएको र खिचोला पनि नगरेकोमा खिचोला गरेको ठहराएको अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी पाउँ भन्ने समेत गुठी संस्थान केन्द्रीय कार्यालय तर्फबाट समेत विष्णुप्रसाद खनालको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
११. यसमा प्रतिवादी मध्येका गुठी संस्थान केन्द्रीय कार्यालय, गुठी तहसील कार्यालय प्रतिवादी पञ्चनारायण र बेखानारायणले वादी दावाको कि.नं. २११ को जग्गामा खिचोला गरेको र वादीले चलन पाउने ठहराएको तथा अन्य प्रतिवादीको हकमा वादी दावा पुग्न नसक्ने ठहराई गरेको समेत वागमती अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।११।२६ को फैसला ।
१२. विशेष कानुनको दर्जामा मानिने गुठी संस्थान ऐन एवं विनियमका अधीनमा रही भए गरिएका काम कारवाही उपर मुलुकी ऐन बमोजिम नालेश गर्न मिल्ने होइन । मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनको गलत व्याख्या समेत भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी बेखानारायण र पञ्चनारायणको यस अदालतमा मिति २०४५।२।२४ मा दर्ता हुन आएको निवेदनपत्र ।
१३. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा प्रमाण ऐनको दफा ५४ समेतको त्रुटि हुन गएको छ र मुख्यतः गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को व्याख्या हुन पर्ने स्थिति पनि विद्यमान हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको गुठी संस्थानको तर्फबाट कार्यकारिणी अध्यक्ष विश्वमान श्रेष्ठको मिति २०४५।३।६ मा यस अदालतमा दर्ता हुन आएको निवेदनपत्र ।
१४. यसमा विवादित जग्गा वादीको कायम हुने ठहराई गरेको म.क्षे.अ.को निर्णयमा गुठी संस्थान (पहिलो संशोधन) ऐन, २०४१ को दफा ३९ समेतको व्याख्यामा त्रुटि गरेको देखिन आएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत निवेदक पञ्चनारायण समेत विरुद्ध तुलसीमाया भएको मुद्दामा मिति २०४५।३।२ मा यस अदालत संयुक्तइजलासबाट भएको आदेश र सो निवेदनमा पुनरावेदनको अनुमति दिएकोले प्रस्तुत मुद्दामा पनि पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत गुठी संस्थानको तर्फबाट परेको निवेदनमा मिति २०४५।४।२८ मा यस अदालत संयुक्तइजलासबाट आदेश भएको रहेछ ।
१५. नियम बमोजिम निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी बेखानारायण महर्जन समेतका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा गुठी संस्थानका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हेमराज सुवेदीले यसमा गुठी संस्थान (पहिलो संशोधन) ऐन, २०३३ को दफा ३९ र विनियम (साविक पेज नं. २८६) २० अनुसार गुठी संस्थानमा निवेदन परी कारवाही चलेको विषयमा गुठीको प्रशासकलाई सो हेर्ने अधिकार भएको पाइन्छ । गुठी संस्थानले त्यसरी विवाद परेको विषयमा निर्णय गरे उपर पुनरावेदन लाग्ने व्यवस्था छ । गुठीबाट अनाधिकार निर्णय भएमा पनि त्यस उपर पुनरावेदनमा जान सक्ने व्यवस्था छँदैछ । तसर्थ वागमती अञ्चल अदालतले क्षेत्रात्मक त्रुटि गरी निर्णय गरेको र सो लाई सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला समेत त्रुटिपूर्ण छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१६. प्रत्यर्थी वादी तुल्सीमायाका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले विवादको जग्गामा अष्टनारायण भन्ने आशानारायण महर्जन समेत प्रतिवादी र वादी तुलसीमाया बीच नामसारी रैकर परिणत मुद्दा परी तुलसीमायाकै ठहरी वागमती अञ्चल अदालतबाट मिति २०४१।११।२० मा फैसला भई रैकरमा परिणत भएको छ । उक्त अन्तिम रहेको फैसलालाई यी प्रतिवादीहरुले अन्यथा भन्ने स्थिति छैन । अदालतका अन्तिम फैसला समेतको जानकारी हुँदा हुँदै प्रतिवादीहरुको निवेदन अनुसार गुठी संस्थानबाट दर्तातर्फ कारवाही थालेको देखिन्छ । यस्तो अवस्थामा क्षेत्रीय अदालतबाट भएको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
१७. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१८. यसमा निर्णयतर्फ विचार गर्दा विवादित का.न.पं. वडा नं. १३(क) कि.नं. ९२ को तामसीको जग्गा म वादी तुलसीमायाले माइतीको रुपैयाँबाट मोहनमानसंग मिति २०१६।८।२४ मा रजिष्ट्रेशन पारित गरी लिएको हो । उक्त जग्गा रैकर परिणत गरी ज.ध.प्र.पुर्जा पाउँ भनी मेरो निवेदन पर्दा विपक्षीले प्रतिवाद गर्नु भएपछि हकबेहकमा समेत अञ्चल अदालतबाट मिति २०४१।१०।२० मा अन्तिम निर्णय भई मेरो नाममा दर्ता हक कायम हुने ठहरेको छ । विपक्ष गुठी तहसील कार्यालयले उक्त रैकर जग्गालाई कणेलचोक भगवती गुठी जग्गा भनी अनुचित कारवाही गराएको कुरा २०४२।१०।२० मा थाहा भयो । विपक्षी गुठी संस्थान र पञ्चनारायण समेत भई मेरो हकको विवादित जग्गामा गुठी भनी खिचोला गरेकोले विपक्षको खिचोला मेटाई सजायँ गरिपाउँ भन्ने समेत वादीको मुख्य फिराद दावी देखिन्छ ।
१९. विवादित जग्गा हाम्रा पिता आशानारायणले २०१६।१।२२ मा राजीनामा पास गराई लिनु भएको पिता माताको मृत्युपछि निवेदक बाहेक अरु हक खाने नहुँदा हाम्रा नाउँमा संयुक्त नामसारी गरी पाउँ भनी पञ्चनारायण समेतको निवेदन गुठी तहसील कार्यालयमा परेको र मालपोत कार्यालयबाट अञ्चल अदालतका फैसला अनुसार २०४१।१२।१९ का निर्णय बमोजिम विवादित जग्गा तुलसीमायाका नाउँमा रै.प.भएको देखिँदा गुठी रैकर सम्बन्धी विवाद देखिन आएको हुँदा छानविन भइरहेको हो, खिचोला गरेको होइन भन्ने गुठी संस्थानको प्रतिउत्तर परेको देखिन्छ । हाम्रा पिता आशानारायणले सिद्धिनारायण मालीबाट मिति २०१६।१।२२ गते राजीनामा पास गराई सोही अनुसार गुठी तहसील पहिला फाँट अड्डामा कडेंल चोक भगवती गुठीको लगत नम्बर ४८।१ मा दर्ता भएको हो । पिताको मृत्यु पछि हामीले आजसम्म भोग गरी आएको जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम पिताका नाममा श्रेस्ता खडा भएको मालपोत ऐन, २०३४ को दफा ६(२) बमोजिम हाम्रा पिताको नाउँमा जग्गाधनी श्रेस्ता कायम हुनु पर्नेमा उनाउ व्यक्तिको नाममा हुन सक्ने होइन । उनाउ व्यक्तिको जग्गामा खिचोला गर्न जानु पर्ने कुनै कारण नभएको, दावीको जग्गा वादीको नहुँदा वादी दावा झुठ्ठा हो भन्ने समेत पञ्चनारायण, बेखानारायणको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वागमती अञ्चल अदालतबाट विवादित जग्गा तुलसीमायाको नाउँमा रैकर परिणत गरी दर्ता गर्न पाउने ठहरी मिति २०४१।११।२० मा फैसला भएको (साविक पेज नं. २८७) देखिन्छ । उक्त फैसलालाई आधारमानी अञ्चल अदालतबाट यस मुद्दामा विपक्षीहरु पञ्चनारायण, बेखानारायण समेतले खिचोला गरेको ठहराएको पाइन्छ । विवादित जग्गामा प्रतिवादी पञ्चनारायण समेतको निवेदन बमोजिम काठमाडौं गुठी तहसील कार्यालयले कारवाही गरी गुठी संस्थान ऐन, २०३३ को दफा ३९ समेतको कानुनी व्यवस्था अनुसार निर्णय गर्न गुठी संस्थानमा पठाएको र गुठी संस्थानबाट यी वादीलाई समेत झिकाई कारवाही भइरहेको कुरा गुठी संस्थानको प्रतिउत्तर पत्रबाट समेत देखिन्छ । विवादित जग्गाका सम्बन्धमा वादीलाई गुठी संस्थानबाट बुझ्न झिकाइएको कुरामा वादीको फिराद लेखमा स्वीकारोक्ती भएको पाइयो ।
२०. अब यस सम्बन्धमा अञ्चल अदालतबाट प्रस्तुत फिराद लिई वादीको नाउँमा रैकर कायम समेत भइसकेको आधारमा वादी दावी बमोजिम खिचोला ठहराएको र सो फैसलालाई क्षेत्रीय अदालतबाट सदर गर्ने गरेको इन्साफ कानुनसंगत भयो भएन भनी हेर्दा गुठी संस्थान (पहिलो संशोधन) ऐन, २०४१ को दफा ३९(१) मा गुठीको जग्गा वा घर रैकरमा दर्ता भएको भए तापनि गुठीको जग्गा वा घर भन्ने गुठीको श्रेस्ताबाट वा लालमोहर, खड्गनिशाना, ताम्रपत्र, शिलापत्र आदि लिखतबाट देखिन आई प्रमाणित हुन आएमा प्रशासकले त्यस्तो जग्गा वा घर गुठीमा दर्ता गर्न सक्नेछ र सो जग्गा वा घरको रैकरमा दर्ता भएको लगत कट्टा हुनेछ भन्ने र ऐ.को (२) मा उपदफा (१) बमोजिम प्रशासकले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले सो निर्णय उपर पैंतीस दिनभित्र अञ्चल अदालतमा पुनरावेदन दिन सक्नेछ भनी उल्लेख भएको पाइन्छ । उल्लेखित गुठी संस्थान (पहिलो संशोधन) ऐन, २०४१ को दफा ३९ बमोजिम विवादित जग्गाको विषयमा गुठी संस्थानबाट कारवाही भइरहेको भन्ने कुरामा विवाद देखिएन । त्यसरी गुठी संस्थानबाट कारवाही भई निर्णय नहुँदैको अवस्थामा प्रस्तुत फिराद मिति २०४३।२।१९ मा अञ्चल अदालतमा दायर भएको देखिन्छ । यसर्थ गुठी संस्थानबाट कारवाही भई रहेको अवस्थामा परेको फिरादबाट प्रस्तुत मुद्दाको कारवाही भई अञ्चल अदालतबाट भएको निर्णय र सो सदर गरेको म.क्षे.अ.को फैसला समेत कानुन अनुरुप भएको देखिएन ।
२१. अतः गुठी संस्थानले उठाएको कारवाहीमा गुठी संस्थानले प्रस्तुत विवादको जग्गा गुठी र रैकर के हो ? विवादित जग्गाका यी पक्ष विपक्ष समेतलाई बुझी सो बमोजिम निर्णय गर्नु पर्दछ र तत्पश्चात चित्त नबुझ्ने पक्षले उल्लेखित गुठी संस्थान (पहिलो संशोधन) ऐन, २०४१ को दफा ३९(२) बमोजिम अञ्चल अदालतमा पुनरावेदन दिन पाउने व्यवस्था भए बमोजिम पुनरावेदनमा गई निर्णय गराउन पाउने स्पष्ट कानुनी व्यवस्था भइरहेकोमा सो ऐनको उक्त कानुनी व्यवस्था विपरीतको लाग्न नसक्ने फिराद लिई वागमती अञ्चल अदालतले गरेको मिति २०४३।१०।२८ को निर्णय र सो लाई सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।११।२६ को निर्णय समेत त्रुटिपूर्ण देखिँदा दुवै फैसलाहरु बदर भई उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी पञ्चनारायण, बेखानारायण के माथि इन्साफ खण्डमा लेखिए बमोजिम वागमती अञ्चल अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहरेकोले क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी बापतको रु. ३५।– ऐनका म्यादभित्र माग गर्न आए कानुन बमोजिम फिर्ता दिनु भनी का.जि.अ.तहसीलमा लेखी पठाउनु...१, पुनरावेदक ऐ.ऐ.के मध्यमाञ्चल क्षेत्रीय अदालतमा र यस अदालतमा समेत पुनरावेदन गरे बापत राखेको कोर्टफी क्रमशः रु. ५।२५, ५।२५ गरी जम्मा रु. १०।५० वादी तुलसीमायाबाट भराई पाउने हुँदा ऐनका म्याद भित्र कानुन बमोजिम माग भई आएमा भराई दिनु भनी का.जि.अ. तहसीलमा लेखी पठाउनु...२ (साविक पेज नं. २८८) पुनरावेदक प्रतिवादी गुठी संस्थान केन्द्रीय कार्यालयके, मध्यमाञ्चल क्षेत्रीय अदालत र यस अदालतमा समेत पुनरावेदन गर्दा राखेको कोर्टफी क्रमशः रु. ५।२५, ५।२५ गरी जम्मा रु. १०।५० वादी तुलसीमायाबाट भराई पाउने हुँदा ऐनका म्याद भित्र कानुन बमोजिम माग भई आएमा कानुन बमोजिम भराई दिनु भनी का.जि.अ.त.मा लेखी पठाउनु...३, मिसिल नियमानुसार गरी बुझाई दिनु...४
उक्त रायमा म सहमत छु । न्या.ओमभक्त श्रेष्ठ
इतिसम्वत् २०४८ साल भाद्र २१ गते रोज ६ शुभम् ।