शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३०९ - उत्प्रेषण लगायत

भाग: ३३ साल: २०४८ महिना: असोज अंक:

निर्णय नं. ४३०९     ने.का.प. २०४८      अङ्क ६

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४७ सालको रिट नं. १२९३

आदेश भएको मिति: २०४८।६।१०।५ मा

निवेदक      : नेपाल अधिराज्यको महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतको जिल्ला सरकारी वकील कार्यालय खोटाङमा कार्यरत विजयकुमार श्रेष्ठ

विरुद्ध

विपक्षी : श्री सगरमाथा अञ्चल अदालत मुकाम ओखल ढुड्डासमेत

विषय : उत्प्रेषण लगायत (साविक पेज नं. २९१)

(१)    टेष्ट पास गरेकोमा क(२) निजामती मध्यमा सरहको अड्ढ दिई बढुवा गर्ने गरेको निर्णय नमिलेको देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ११)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

अवलम्बित नजीर : मानबहादुर बस्नेत विरुद्ध मु.न्या.म.प.क्षे.अ.समेत भएको २०४५ सालको रि.नं. १८५९ को उत्प्रेषणमा सिद्धान्त प्रतिपादित ।

आदेश

न्या.हरगोविन्द सिंह प्रधान

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बुको रिक्त ना.सु.पदमा बढुवाद्वारा पद पूर्ति गर्नु पर्ने भन्ने प्रकाशित सूचना अनुसार आफू पनि सम्भाव्य उम्मेदवार भएको हुनाले प्रकाशित सूचना म्याद भित्रै बढुवाको आवेदन बढुवा समिति समक्ष पेश गरेको थिएँ । उक्त बढुवामा प्रत्यर्थीको रुपमा निवेदक र प्रत्यर्थी चित्रप्रसाद बास्तोला मात्र थियौं । प्रस्तुत बढुवा नि.से.नि., ०२१ को नियम ३.५ बमोजिम गर्नु पर्ने भएकोले सम्पूर्ण फायल अञ्चल सरकारी वकील कार्यालयका अञ्चल न्यायाधिवक्ता श्री उपेन्द्रलाल कर्णको अध्यक्षतामा गठित बढुवा समितिमा पेश हुँदा निवेदकलाई मिति २०४६।१०।१५ मा बढुवा गर्ने निर्णय गरे अनुसार उक्त मितिबाट नै बढुवा पाएको थिएँ । उक्त बढुवामा चित्त नबुझी प्रत्यर्थी चित्रप्रसाद बास्तोलाको नि.से.नि., २०२१ को नियम ३.५.९ र ३.५.१० बमोजिम उजूरी परेको थियो । उक्त उजूरी उपर प्रत्यर्थी न्यायाधीशज्यूबाट मिति ०४७।१।१३ मा मेरो बढुवा बदर गर्ने गरी निर्णय भएको र उक्त निर्णय का.मु.अञ्चल न्यायाधीशले गरेकोले अधिकार क्षेत्रको त्रुटि भएको साथै निवेदकले शैक्षिक योग्यता स्वरुप एस.एल.सी. तृतीय श्रेणीमा उत्तीर्ण गरेको र प्रत्यर्थी चित्रप्रसादले टेष्ट परीक्षा मात्र उत्तीर्ण गरेका छन् । दुवैको हाल बहाल रहेको पद रा.प.अ. द्वितीय श्रेणी हो । द्वितीय श्रेणीको लागि आवश्यक शैक्षिक योग्यता एस.एल.सी.हो । निवेदकलाई नि.से.नि., २०२१ को नियम ३.५.६ को (ख) को (क)(१) बमोजिम ३२ अड्ढ प्रदान गर्न सक्ने तथ्यमा विवाद गर्न सकिँदैन । प्रत्यर्थीले टेष्ट परीक्षा मात्र उत्तीर्ण गरेकोले निजलाई नि.से.नि., ०२१ को नियम ३.५.६(ख) को (क)(२) अनुसार अंक दिन कदापी मिल्दैन । प्रत्यर्थीले उक्त नियमको (क)(३) अनुसार अंक मात्र पाउने हुन्छन् । निर्णयकर्ताले मेरो बढुवा बदर गर्दा एस.एल.सी. टेष्ट परीक्षा उत्तीर्ण गरेकोलाई ३.५.६ को (क)(२) अनुसार अंक पाउने भनी प्रत्यर्थीलाई २६ अंक दिई गरिएको बढुवा निर्णय नियम ३.५.६ को प्रतिकूल छ ।

३.    प्रत्यर्थीले ३.५.६ को (क)(२) अनुसार अंक नपाउने भन्ने सम्बन्धमा नि.से.नि.को उक्त नियम– (साविक पेज नं. २९२) को उदाहरणबाट नै स्पष्ट गरेको छ । विपक्षीले पाउनै नसक्ने शैक्षिक योग्यता बापतको अंक पाएकोले मेरो बढुवा हुने हक अपहरित भएको छ । विपक्षीको टेष्ट उत्तीर्ण बापतको अंक मात्र प्रदान गर्दा मेरो बढुवा हुने निश्चित छ । यसर्थ बढुवाको निर्णय बापत मलाई गम्भीर एवं घोर अन्याय भएको छ । यसर्थ प्रत्यर्थीले शैक्षिक योग्यताबाट १४ अंक मात्र पाउँदछन् । कारण निज टेष्ट परीक्षामा दुई विषयमा अनुत्तीर्ण भएको पाइन्छ । निजले (क)(३) को मात्र अंक पाउने भएकोले पनि निर्णय दूषित छ । अतः उल्लेखित तथ्य एवं कानुन अनुसार निवेदकको हक अपहरित हुनुको साथै नेपालको संविधान, २०१९ को धारा १०(१), ११(२)(ङ) र धारा १५ द्वारा प्रत्याभूत हकबाट बञ्चित हुनु परेकोले अन्य उपचारको अभावमा नेपालको संविधानको धारा १६।७१ बमोजिम अदालतको शरणमा आएको छु । उत्प्रेषणको आदेश जारी गरी का.मु.अञ्चल न्यायाधीश सगरमाथा अञ्चल अदालत ओखलढुड्डाबाट मिति ०४७।१।१३ मा निवेदकको बढुवा बदर गर्ने गरी गरेको निर्णय सो निर्णयको आधारमा सूचना प्रकाशित गर्न लगाएका सम्पूर्ण काम कारवाही आदेश बदर गरी निवेदकलाई ना.सु.पदमा बहाल गराउनु भन्ने परमादेश समेतको आदेश जारी गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर ।

४.    विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालतको मिति ०४७।२।३१ को आदेश ।

५.    शुरु यस अञ्चल अदालतमा उजूरी गर्ने ख.चित्रप्रसाद बास्तोलाले उजूरीको देहाय ५ मा नि.से.नि., ०२१ को नियम ३.५ को उपनियम (६) को २ अनुसार पाउने अड्ढ २६ को हकमा र बढुवा समितिको सदस्य जि.स.ब.का. सोलुखुम्बुका जिल्ला न्यायाधिवक्ताले निजामती मध्यमालाई शैक्षिक योग्यता भन्दा एक तह मुनीको शैक्षिक योग्यता मान्नुमा असहमती दर्शाउनु भएको हकमा विचार गर्दा दुवैजना उम्मेदवार निजामती मध्यमा पास नगरेको एस.एल.सी. पछि एस.एल.सी. टेष्ट परीक्षालाई न्यूनतम शैक्षिक योग्यता भन्दा एक तह मुनीको शैक्षिक योग्यता मान्नु पर्ने र उजूरीको सम्पूर्ण दावीलाई हेर्दा ख.चित्रप्रसाद बास्तोला ०३७।२।३ देखि ०४०।१।५ सम्म २।११।२ दिनको मुखिया पदमा काम गरे बापत प्रति वर्ष २ अंकका दरले ५.८४४१ र एस.एल.सी.टेष्ट परीक्षालाई २६ अंक दिनु पर्ने वर्गीकृत क्षेत्रमा काम गरे बापत अधिकतम अंक २५ र तालिम प्रथम श्रेणीको ९ अंक का.स.मु. फारामको ११२ अंक समेत जम्मा २०२.७८७६ पाउनु पर्ने देखिन्छ भने ख.विजयकुमार श्रेष्ठ ०४०।६।७ देखि ०४२।२।२६ तक १।८।१६ दिन खरिदार पदमा अस्थायी काम गरे बापत ७५% ले ५.१३१४ अंक र सोही स्थायी पदमा ०४२।२।२६ देखि ०४६।३।३१ सम्म ४४ को १६.३७७१ अंक वर्गीकृत क्षेत्रमा काम गरे बापत स्थायी र अस्थायी अवधि समेतको २४.५६७९ अंक शैक्षिक योग्यता बापत एस.एल.सी. तेश्रो श्रेणीलाई ३२ अंक का.स.मु. ११२ र तालिमको ९ अंक समेत १९९.०७६४ पाउनु पर्ने देखिई ख.चित्रप्रसाद बास्तोलाको अंक बढी भएकाले शुरु बढुवा समितिको निर्णय बदर भई ख.चित्रप्रसादलाई ना.सु.पदमा बढुवा गरी नियुक्ति समेत दिने गरी यस अदालतबाट निर्णय भएको मनासिब नै हुँदा रिट खारेज गरी पाउँ भन्ने अञ्चल न्यायाधीश ओखलढुड्डा बेञ्चको २०४७।४।८ को लिखितजवाफ ।

६.    उल्लेखित निर्णय मनासिब नै हुँदा सदर कायम भई रिटनिवेदन खारेज गरी पाउँ भन्ने मिति ०४७।४।८ को सगरमाथा अञ्चल अदालत ओखलढुड्डा बेञ्चको लिखितजवाफ ।

७.    बढुवा समितिको निर्णय उपर ख. चित्रप्रसाद बास्तोलाको अञ्चल अदालत ओखलढुड्डा समक्ष निवेदन पर्दा उक्त अदालतबाट ०४७।१।१३ को निर्णय अनुसार ख.चित्रप्रसादले २०२.७८७६ अड्ढ प्राप्त गरी निजलाई बढुवा दिने निर्णय भई अञ्चल अदालतकै आदेशानुसार ख. (साविक पेज नं. २९३) चित्रप्रसादलाई ना.सु.पदमा नियुक्ति गरी सकिएकोले निवेदन जिकिर खारेज हुन अनुरोध गरिन्छ भन्ने मिति ०४७।४।७ को अञ्चल सरकारी वकील कार्यालय ओखलढुड्डाका अञ्चल न्यायाधिवक्ताको अध्यक्षतामा गठित बढुवा समितिको लिखितजवाफ ।

८.    सबभन्दा पहिलो कुरा निजामती कर्मचारीले आफू सेवामा रहँदा बेला बेलामा पाउने बढुवा बहाल रहेको पदमा गरेको कार्य क्षमताको मूल्यांकन नै हो । कार्य क्षमतामा हुने मूल्यांकनमा शैक्षिक योग्यतालाई मात्रै नहेरी यसलाई कार्य क्षमताको मूल तत्व र पुरक तत्व विभाजन गरी पुरक तत्वमा मात्र शैक्षिक योग्यतालाई राखिएको छ । निवेदकले निवेदनको विभिन्न प्रकरणहरुमा शैक्षिक योग्यता बापत मैले पाएको अंकमा चित्त नबुझेको कुरा उल्लेख गर्नु भएको छ । जहाँसम्म मैले जुन अंक शैक्षिक योग्यता बापत पाएको छु उक्त बढुवा समितिले मेरो बढुवाको आवेदन फर्म हेरी प्रदान गरेको अंक हो । उदाहरण कानुन होइन । उदाहरणले कानुनी उपबन्धको ठाउँ लिन सक्तैन । टेष्ट उत्तीर्ण गरेपछि निजामती मध्यमा दिइन्न । निजामती मध्यमा भनी कुनै शैक्षिक उपाधि अब दिइन्न । कानुनलाई निरर्थक हुने गरी यसको व्याख्या गरिन्न । तसर्थ सम्बन्धित बढुवा समितिले विपक्षीलाई बढुवा दिने गरी गरेको निर्णयमा चित्त नबुझी नि.से.नि., ०२१ को नियम ३.५.९ र ३.५.१० बमोजिम मैले गरेको उजूरीलाई उचित ठहर्‍याई उजूरी सुन्ने निकायले गरेको निर्णय नै सही हुनाले सो निर्णयलाई कायम राखी विलम्ब गरी पर्न आएको रिटनिवेदन खारेज गरी पाउँ भन्ने मिति ०४७।८।२४ को चित्रप्रसाद बास्तोलाको लिखितजवाफ ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता शम्भु थापाले विपक्षी चित्रप्रसाद बास्तोलालाई नि.से.नि., ०२१ को नियम ३.५.६(क)(२) अनुसारको अड्ढ दिन मिल्दैन निजलाई ऐ.(क)(३) अनुसार १७ नं. मात्र पाउने हुँदा निवेदकलाई बढुवा सूचीबाट नाम हटाएको निर्णय त्रुटिपूर्ण छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो । विपक्षी कार्यालयबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले हाल निजामती मध्यमाको व्यवस्था नभएकोले टेष्ट पासलाई मध्यमा सरह अड्ढ दिन मिल्ने नै हुँदा रिट जारी हुनु पर्ने नभई खारेज गरी पाउँ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो । विपक्षी चित्रप्रसाद बास्तोलाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले एस.एल.सी.पछि एक तह मुनीको योग्यता टेष्ट परीक्षा हो । तसर्थ मेरो पक्षलाई नि.से.नि.को नियम ३.५.६(क)(२) अनुसार अड्ढ दिएको मनासिब नै हुँदा रिट जारी गर्नु पर्ने अवस्था नहुँदा खारेज गरी पाउँ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

१०.    अब यसमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने हो वा होइन त्यसतर्फ निर्णय दिनु परेको छ ।

११.    निर्णयतर्फ विचार गर्दा यसमा विपक्षी चित्रप्रसादले टेष्ट परीक्षा मात्र उत्तीर्ण गरेकोमा निजलाई नि.से.नि., ०२१ को नियम ३.५.६ को (क)(३) अनुसार अड्ढ दिनु पर्नेमा (क)(२) अनुसार अड्ढ दिई मेरो बढुवा बदर गरेको सगरमाथा अञ्चल अदालत ओखलढुंगा बेञ्चका अञ्चल न्यायाधीशको निर्णय बदर गरी निवेदकलाई बढुवा गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर भएकोमा विपक्षी चित्रप्रसादले टेष्ट परीक्षा उत्तीर्ण गरेको देखियो । बढुवा समिति उपर उजूरी सुन्ने अञ्चल अदालतबाट चित्रप्रसादलाई अड्ढ दिंदा निजामती मध्यमा सरह नियम ३.५.६(क)(२) अनुसार अड्ढ दिएको देखिन्छ । जबकी निजले नियम ३.५.६(क)(३) अनुसारको अड्ढ मात्र पाउनु पर्ने देखियो । यस सम्बन्धमा रिट निवेदक मानबहादुर बस्नेत विरुद्ध म.न्या. म.प.क्षे.अ.समेत भएको ०४५ सालको रिट नं. १८५९ को उत्प्रेषणको निवेदनमा एस. (साविक पेज नं. २९४) एल.सी. टेष्ट परीक्षा गरे बापत (क)(३) बमोजिमको अंक दिनु पर्नेमा (क)(२) बमोजिमको अड्ढ दिएको मिलेको देखिन आएन भनी विपक्षीहरुलाई ना.सु. पदमा बढुवा गर्ने गरी गरेको बढुवा समितिको निर्णय बदर गरेको देखिन्छ । उक्त नजीर समेतको आधारमा बढुवा समितिको निर्णय बदर गरी प्रस्तुत निवेदनको विपक्षी चित्रप्रसाद बास्तोलालाई टेष्ट पास गरेकोमा (क)(२) निजामती मध्यमा सरहको अड्ढ दिई बढुवा गर्ने गरेको सगरमाथा अञ्चल अदालत ओखलढुड्डा बेञ्चका अञ्चल न्यायाधीशले उजूरी सुनी गरेको मिति २०४७।१।१३ को निर्णय नमिलेको देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ अब शुरु बढुवा समितिले गरेको निर्णयानुसार निवेदकलाई नियुक्ति दिनु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । आदेशको जानकारी विपक्षीहरुलाई महान्यायाधिवक्ताको कार्यालय मार्फत दिई फायल नियम बमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.लक्ष्मणप्रसाद अर्याल

इतिसम्वत् २०४८ साल आश्विन १० गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु