शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७७३ - कर्तव्य ज्यान

भाग: ५९ साल: २०७४ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री गोपाल पराजुली

फैसला मिति : २०७३।०४।३२

०६८-CR-०२७७

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादी : पाँचथर जिल्ला, यासोक गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय पाँचथरमा थुनामा रहेकी लक्ष्मी लावती

विरूद्ध

प्रत्यर्थी वादी : निशासन रिमालको जाहेरीले नेपाल सरकार

 

आत्मरक्षा वा प्रतिरक्षा फौजदारी कानूनले निर्धारण गरेका त्यस्ता परिस्थितिहरू हुन् जसको विद्यमानता भएको प्रमाणित भएमा वा स्थापित भएमा वारदातमा मुछिएको व्यक्तिले आपराधिक दायित्वबाट छुट वा सजायमा कमी हुने अवस्था रहने ।

आफूलाई गैरकानूनी आक्रमण गरिरहेका अवस्थामा उक्त आक्रमणबाट आफू बाँच्न नसक्ने वा भाग्न नपाउने वा आफ्नो धर्म वा सतीत्व बचाउन नसक्ने अवस्था भई आफू बाँच्न वा सतीत्व रक्षाका लागि प्रतिक्रियात्मक बल प्रयोग गर्दा ज्यान मर्न गएको अवस्थामा आपराधिक दायित्वबाट छुट वा उन्मुक्ति पाउने भन्ने कानूनको मकसद हो । अपितु आत्म रक्षाको दाबी लिने पक्षले उक्त सुविधा पाउनु पर्ने अवस्थाको विद्यमानता भएको स्थापित गर्न सक्नुपर्छ । त्यस्तो दाबी लिनु नै दायित्वबाट उन्मुक्तिको आधार हुन 

नसक्ने । 

(प्रकरण नं. ५)

 

पुनरावेदक प्रतिवादीको तर्फबाट : 

प्रत्यर्थी वादीको तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प. २०६६, अंक ११, नि.नं.८२७०, पृ.१९०५

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. र १३(१) नं.

सुरू फैसला गर्नेः  

मा.जिल्ला न्यायाधीश श्री उमेशराज पौडेल

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की

माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर

 

फैसला

स.प्र.न्या. सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिमस यस अदालतको क्षेत्राधिकारभित्रको भई हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

इलाम नगरपालिका २ स्थित अग्नीबहादुर कार्कीको घरा डेरा गरी बस्ने मृतक विरू भन्ने कल्याण रिमाल र विपक्षी लक्ष्मी लावतीबीचमा पहिलेदेखि नै उठ बस भई व्यापार व्यवसायसमेत साझेदारीरूपमा गर्ने गरेकोमा मिति २०६५।११।१० गते निज कल्याण रिमाल आफ्नो कोठामा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकोले विगतमा समेत निज लक्ष्मीसँग पटकपटक गालमुखाल परी लक्ष्मीले मृतकलाई कुटपिट गरेको बुझिएको र मिति २०६५।११।९ गते बेलुकी रू.४१,०००।- लक्ष्मी लावतीलाई कल्याण रिमालले राख्न दिएको तथा शेयरको गाडीको कारोबारमा समेत विवाद भएकोले लक्ष्मी लावतीले कल्याण रिमाललाई धारिलो हतियार प्रहार गरी मारेकोमा शंका लागेकोले आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको निशान रिमालले मिति २०६५।११।१० गते जिल्ला प्रहरी कार्यालय, इलाममा दर्ता गराए जाहेरी दरखास्त । 

अग्नी कार्कीको घर कोठामा मृतक विरू भन्ने कल्याण रिमालको कानबाट रगत आएको, दाहिने कानभन्दा माथि चोट रही रगत आइरहेको, दाहिने आँखामा निलो भएको देखिएको लास रहेको भन्नेसमेत व्यहोराको मिति २०६५।११।१० गतेको घटनास्थल लास जाँच मुचुल्का ।

मिति २०६५।११।९ गते मेरो साथी विरू भन्ने कल्याण रिमाल तथा मसमेत भई माईखोलामा रम मासु खाई बेलुका अं. राति ११ बजेतिर मातेको अवस्थामा मैले नै निजलाई बोकी ल्याई विरूकै छेउको कोठामा रहेको लक्ष्मी लावतीको कोठामा लगी विरूले मलाई दिएको पैसा विरूले नै लक्ष्मी लावतीलाई राख्न दिई विरू र म विरूकै कोठामा सँगै सुतेको र मिति २०६५।११।१० गते बिहान ४.४५ बजे म उठी हिँडेको हो र विरू निदाई रहेका थिए । कल्याण रिमाल र लक्ष्मी लावतीबीच शारीरिक सम्बन्ध रही व्यवहारसमेत एकै ठाउँ गर्ने गरेको, पहिलादेखि नै नजिकको सम्बन्ध रही विरूको सम्पूर्ण राखनधरन लक्ष्मी लावतीले नै गर्ने गरेको मलाई थाहा छ । कहिले काहीँ लक्ष्मी लावतीले विरूलाई कुटपिट गर्ने गरेको मलाई थाहा छ । लक्ष्मी लावतीको श्रीमान् विदेशमा रहेकोले पछि श्रीमान्‌ले थाहा पाउलान् भनी विरू भन्ने कल्याण रिमाललाई निज लक्ष्मी लावतीले सुतेकै अवस्थामा फलामको चिजवस्तुले टाउकोमा प्रहार गरी हत्या गरेकोमा पूर्ण विश्वास लाग्छ । कल्याण रिमालको सम्पूर्ण व्यवहार लक्ष्मीले नै हेर्ने गरेको कारण लेनदेन व्यवहारमा कुटपिट गरेको हुनुपर्छ भन्नेसमेत व्यहोराको अर्जुन भन्ने दुर्गाबहादुर चौलागाईले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६५।११।१९ गते गरिदिएको बयान ।  

मसमेत विरू भन्ने कल्याण रिमाल लक्ष्मी लावती बस्ने गरेको अग्निबहादुर कार्कीको घरमा बस्ने गरेकोले विरू भन्ने कल्याण रिमाल र लक्ष्मी लावतीबीच ३/४ वर्ष अगाडिदेखि नजिकको सम्बन्ध रही लक्ष्मीले नै विरूको व्यवहार समाली आएकीमा लक्ष्मीको श्रीमान् विदेशमा रहेकोमा निज लक्ष्मी र विरू मादक पदार्थ खाई पहिलादेखि नै झगडा गरी कुटपिटसमेत गरेको मैले देखेको हो । श्रीमान् विदेशबाट आएपछि सम्पूर्ण सम्बन्ध र आर्थिक कारोबारसमेत श्रीमान्‌लाई थाहा भई आफू श्रीमान्‌बाट अलग हुनुपर्ने र सम्पूर्ण आर्थिक कारोबारसमेत बिग्रन सक्ने भएकोले लक्ष्मी लावतीले नै फलामको हतियारले प्रहार गरी कर्तव्य गरी विरू भन्ने कल्याण रिमालको मृत्यु भएकोमा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको लक्ष्मी अधिकारी र एलिसा शेर्पासमेतले मिति २०६५।११।२२ गते गरिदिएको एकै मिलान व्यहोराको अलगअलग घटना विवरण कागज । 

म र विरू भन्ने कल्याण रिमाल अग्नी कार्कीको घरमा डेरा गरी बसेकोमा चिनजान भई प्रेम सम्बन्धसमेत राखी मेरो श्रीमान् विदेश भएकोले शारीरिक सम्पर्कसमेत भई श्रीमान् श्रीमती जस्तो भई दुवैजनाको सहमतिमा गाडीसमेत किनी व्यवहार गरी आएकोमा मिति ०६५।११।१० गते बिहान ५.३० बजे निज विरू भन्ने कल्याण रिमालको कोठामा गई सुगरको औषधि खान दिएपछि निज विरूलाई किन रातिसम्म रक्सी खाई बसेको यति ठूलो व्यवहार छ भन्दा मेरो इच्छा हो, तेरो अडरमा हिँड्नु पर्ने, तँ मात्र छस् भनी मलाई गाली गरी ढाडमा एक बक्सिङ हानी घाँटीमा समातेर घोक्र्याई बाहिर निकालेकोले मैले रिस थाम्न नसकी आवेशमा आई गाडीको सामान राख्ने कोठाबाट फलामको भाटा ल्याई निजलाई सुतेकै अवस्थामा टाउकोमा प्रहार गरी हत्या गरी सिरकले छोपी होटलमा आई काम गर्न थालेको हुँ । मैले एक्लै निजको हत्या गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मी लावतीले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६५।११।२३ मा गरेको बयान ।

लक्ष्मी लावतीको कोठामा घर्रामा विभिन्न दरका जम्मा रू.४३,८४०।- फेला परेको भन्नेसमेत व्यहोराको मिति २०६५।११।२४ को बरामदी 

मुचुल्का ।

कल्याण रिमाललाई मिति २०६५।११।१० मा टाउकोमा प्रहार गरेको समान फलामको भाटा (पत्ति) लक्ष्मी लावतीले देखाएको भन्नेसमेत व्यहोराको मिति २०६५।११।२४ को बरामदी मुचुल्का ।  

मिति २०६५।११।२४ गते मेरो रोहवरमा प्रहरीले बरामद गरेको गाडीमा लगाउने फलामको भाटाले मैले मिति २०६५।११।१० गते बिहान विरू भन्ने कल्याण रिमालको टाउकोको दायाँपट्टि कानमाथि प्रहार गरेको फलामको पत्ति हो । हेरी चिनी सनाखतसमेत गरी सोही पत्तिको प्रहारबाट निजको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मी लावतीले मिति २०६५।११।२६ मा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको ततिम्बा बयान कागज ।

अर्जुन भन्ने दुर्गाबहादुर चौलागाई विरूको कोठामा मिति २०६५।११।९ गते राति आई सोही समयमा प्रतिवादी लक्ष्मी लावतीलाई विरूले रू.४३,८४०।- नगदसमेत राख्न दिई काका विरू र अर्जुन भन्ने दुर्गाबहादुर चौलागाई विरूकै कोठामा सुती मिति २०६५।११।१० गते बिहानै उठी आफ्नो कोठा वरबोटे गएपछि लक्ष्मी लावती विरूको कोठामा गई आर्थिक कारोबारसमेतमा विवाद गरी गाडीको सामान राख्ने कोठामा गई फलामको पत्ति ल्याई काका विरू भन्ने कल्याण रिमालको टाउकोमा प्रहार गरी कर्तव्य गरी निज एक्लैले मारेको हो भन्नेसमेत व्यहोराको निशान रिमालले मिति २०६५।११।२६ गते अनुसन्धान अधिकृतसमक्ष गरिदिएको कागज ।

मेरो दाजु मृतक कल्याण रिमाल इ.न.पा.२ स्थित अग्नीबहादुर कार्कीको घरमा डेरा गरी बसेकोमा त्यही घरमा डेरा गरी बस्ने लक्ष्मी लावतीको श्रीमान् विदेशमा रहेकोले निज लक्ष्मी लावती र मेरो दाजु कल्याणबीच एक आसपसमा नजिकको सम्बन्ध रही शारीरिक सम्पर्कसमेत हुने गरेको थियो । निज दाजुको सम्पूर्ण व्यवहारसमेत लक्ष्मी लावतीले नै हेरी आएकोमा पहिलादेखि नै दाजु विरू र लक्ष्मी लावतीबीच लेनदेनको विषयमा लक्ष्मीले दाजु विरूलाई कुटपिटसमेत गर्ने गरेको र यसै क्रममा मिति २०६५।११।१० मा निज दाजुको कोठामा सुतेकै ठाउँमा कर्तव्यबाट मृत्यु भएको सुनी जाँदा टाउकोमा चोट भई रगतपक्ष भएको 

थियो । घटना बारेमा बुझ्दा  लक्ष्मी लावतीले व्यवहारको विषयमा वादविवाद गरी तत्कालै दाजुको गाडीको सामान राख्ने कोठामा गई फलामको पत्ति ल्याई सुतेकै ठाउँमा टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेको रहेछ भन्ने पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको कल्पना रिमालले मिति २०६५।११।२७ गते अनुसन्धान अधिकृतसमक्ष गरिदिएको कागज । 

मसमेत विरू भन्ने कल्याण रिमाल र लक्ष्मी लावती बस्ने गरेको अग्नीबहादुर कार्कीको घरमा बस्ने गरेको थिएँ । लक्ष्मीले नै विरूको व्यवहार समाली आएकीमा मिति २०६५।११।१० गते विरूले जिब्रो टोकेछ भन्दै हल्ला गरेकोले अस्पताल गई हेर्दा टाउकोमा चोट रहेकोले बुझ्दा रक्सी खाई माती बेलुका आएको, दुवैको गाडीमा सेयर रहेको, लक्ष्मी लावतीका श्रीमान् विदेशमा रहेकामा आउने समय भएकोले एक आपसमा विवाद गरी लक्ष्मी लावतीले आवेशमा आई फलामको हतियारले प्रहार गरी कर्तव्य गरी सिरकले छोपी हिँडेकी रहिछन् भन्नेसमेत व्यहोराको निर्मल शाहले मिति २०६५।१।२९ गते अनुसन्धान अधिकृतसमक्ष गरिदिएको कागज । 

मसमेत विरू भन्ने कल्याण रिमाल र लक्ष्मी बस्ने गरेको अग्नीबहादुर कार्कीको घरमा बस्ने गरेकोले विरू भन्ने कल्याण रिमाल र लक्ष्मी लावतीबीच नजिकको प्रेम सम्बन्ध रही शारीरिक सम्पर्कसमेत रहने गरी लक्ष्मीले नै विरूको व्यवहार समाली आएकोमा लक्ष्मीको श्रीमान् विदेशमा रहेकोमा निज लक्ष्मी र विरू मादक पदार्थ खाई पहिलादेखि नै झगडा गरी कुटपिटसमेत गरेको मैले निजहरूकै व्यवहारबाट थाहा पाएको हो । श्रीमान् विदेशबाट आउने समय भएको सोही दिन आफूमाथि कसैले शंका नगर्ने सोची विरूकै कोठामा आर्थिक कारोबारसमेत वादविवाद गरी लक्ष्मी लावतीले फलामको हतियारले प्रहार गरी कर्तव्य गरी विरू भन्ने कल्याण रिमालको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको छत्रबहादुर मुखियाले मिति २०६५।११।२९ गते अनुसन्धान अधिकृतसमक्ष गरदिएको कागज । 

म विरू अंकलको कोठामा गई अंकल भनी सिरक तानी हेर्दा विरू अंकलको गाला, मुख, नाकसमेतमा रगत रही पसलमा गई आमालाई विरू अंकल मरेछ भनी सुनाई हल्ला भएको हो । ममी विरू अंकलको कोठामा पानी र औषधि लिएर जानु हुन्थ्यो । कहिलेकाहीँ वरू अंकल मातेर आउँदा ममीले अंकललाई कुटपिटसमेत गर्न हुन्थ्यो । मिति २०६५।११।१० गते अंकललाई कसरी चोट लागेको हो मलाई थाहा छैन । विरू अंकल र ममीको गाडीसमेत थियो । पैसा ममीले नै राख्नु हुन्थ्यो । विरू अंकल खानासमेत हाम्रो होटलमा खानु हुन्थ्यो भन्नेमसते व्यहोराको रस्नी लावतीले मिति २०६५।११।२९ गते अनुसन्धान अधिकृतसमक्ष गरदिएको कागज ।

मृतक विरू भन्ने कल्याण रिमाल र प्रतिवादी लक्ष्मी लावतीबीच पहिलादेखि नै नजिकको सम्बन्ध रहेको सुनी थाहा पाएको र जाहेरी मिति समयमा मृतक विरू भन्ने कल्याण रिमाललाई प्रतिवादी लक्ष्मी लावतीले गाडीको पत्तिले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेको भन्ने सुनी थाहा पाएको हो भन्नेसमेत व्यहोराको मिति २०६५।१२।४ गतेको वस्तुस्थिति मुचुल्का । 

प्रतिवादी लक्ष्मी लावतीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत ऐ. १३(१) नं. अन्तर्गतको कसुरमा सोही ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिमको सजाय गरी पाउन माग दाबी लिई वादी नेपाल सरकारको तर्फबाट सुरू अदालतमा प्रस्तुत गरिएको अभियोग पत्र । 

मृतकलाई मैले कुटपिट गरेको नभई निज मादक पदार्थ सेवन गरी लडेको अवस्थामा मैले औषधि लगाई दिएको हो । मिति २०६५।११।१० गते बिहान हामीबीच सामान्य विवाद हुँदा मृतकले मलाई अपशब्द प्रयोग गरी आइज सुतौं भनी जबरजस्ती तानी हातपात गर्दा मैले मेरो आत्मरक्षाको लागि इज्जत बचाउन निजलाई धकेल्दा खाटमा ठोकिई लडेपछि म बाहिर निस्की हिँडेको हो । मृतक र मबीच कुनै अनैतिक सम्बन्ध थिएन । विरूले पैसा निकाली अर्जुनलाई दिएपछि निजले मलाई दिएको हो । मैले हत्या गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मी लावतीले सुरू अदालतसमक्ष गरेको बयान ।

प्रतिवादी लक्ष्मी लावती सुरू अदालतको मिति २०६५।१२।१० गतेको आदेशानुसार अ.बं.११८ को देहाय २ बमोजिम मुद्दा पुर्पक्षको क्रममा थुनामा रही पुर्पक्ष भएको ।

लक्ष्मी लावतीले फलामले हानी मारेको विश्वास छैन । घटना को कसले के कारणले गरे थाहा भएन भन्नेसमेत व्यहोराको बुझिएका मानिस छत्रबहादुर मुखियाले सुरू अदालतमा गरेको बकपत्र ।

मेरो दाजुलाई प्रतिवादी लक्ष्मी लावतीले धेरै चोटी तँलाई मार्छु भनेकी थिइन् । कुट्ने पनि गर्थिन्, गाडीको पैसा पनि उनैले लिन्थिन् । निजले नियतवश नै मारेको हो  भन्नेसमेत व्यहोराको बुझिएका मानिस कल्पना रिमालले अदालतमा गरेको बकपत्र ।

प्रतिवादी र मृतकबीच कहिलेकाहीँ झगडा परेको देखिन्थ्यो । लक्ष्मी लावतीले नै मारेको हो । केमा लेनदेन नमिली पत्तिले हानी मारेको हो भन्नेसमेत व्यहोराको बुझिएका मानिस लक्ष्मी अधिकारीले अदालतमा गरेको बकपत्र ।

मृतक र प्रतिवादीबीच झगडा वादविवाद, कुटाकुट भएको र मेरै दोकान अगाडिबाट लक्ष्मीले विरू भन्ने कल्याण रिमाललाई कुट्दै कोठातिर लगेको, मारेर जेल जान्छु सम्म भनेको कहिलेकाहीँ देखे सुनेको हो । लेनदेन व्यवहारकै कारण होला लक्ष्मी लावतीले नै मारेकी हुन् भन्नेसमेत व्यहोराको बुझिएका मानिस एलिसा शेर्पाले अदालतमा गरेको बकपत्र । 

लासको छेउमा स्प्रिङ पत्ति रहेको, टाउकोमा चोट रहेको, त्यही पत्तिले हानेको भनी लक्ष्मी लावतीले भनेको हुँदा लक्ष्मी लावतीले मारेको हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस रंजिता थापा तथा गीता ढकालले अदालतमा गरेको प्रायः एकै मिलान व्यहोराको अलगअलग बकपत्र ।

मृतक कल्याण रिमालको मृत्यु के कुन समयमा के कुन कारणले भयो मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी सुशीला कार्कीले अदालतमा गरी दिएको बकपत्र । 

मिति २०६५।११।२४ को बरामदी मुचुल्काको व्यहोरा ठीक छ भन्नेसमेत व्यहोराको बरामदी मुचुल्काका मानिस सुनी श्रेष्ठ तथा लाक्पा दिकी शेर्पाले अदालतमा गरिदिएको प्रायः एकै मिलान व्यहोराको अलगअलग बकपत्र ।

प्रतिवादी लक्ष्मी लावतीले आरोपित कसुर गरेको भनी मौकामा अनुसन्धानको क्रममा बयान गर्दा साबित भई बयान गरेको देखिएको, अदालतमा बयान गर्दाको अवस्थामा समेत वारदात मितिको बिहान मृतक र आफ्नो बीच वादविवाद भएको कुरालाई स्वीकार गर्नुको साथै यस अदालतको बयानको स.ज.१० मा मौकामा अनुसन्धानको क्रममा भएको बयानमा उल्लेख भएअनुसारकै व्यहोरा उल्लेख गरी आफूले बयान गरेको भन्ने कुरालाई स्वीकार गरेको देखिएको, मौकाको बयानमा मृतकउपर आफूले प्रहार गरेको जोखिमी हतियार फलामको भाटा पत्ति यी प्रतिवादीले देखाएकै स्थानबाट बरामद भएको देखिएको र मौकामा आफ्नो व्यहोरा लेखाउने व्यक्तिहरू मध्येका कतिपय व्यक्तिले यी प्रतिवादीउपर आरोपित कसुर गरेको भनी पोल गरेको समेतका मिसिल संलग्न प्रमाणहरूबाट यी प्रतिवादी लक्ष्मी लावतीले आरोपित कसुर गरेको पुष्टि भइरहेको देखिँदा यी प्रतिवादी लक्ष्मी लावतीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. अनुसार सजाय हुने ठहर्छ भन्ने सुरू इलाम जिल्ला अदालतको मिति २०६६।१२।२६ को फैसला । 

मृतक कल्याण रिमाललाई मार्नुपर्नेसम्मको मेरो कुनै रसइवी वा मनसाय थिएन, छैन भन्ने कुरा मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भइसकेको अवस्था छ । मौकामा आफ्नो व्यहोरा लेखाउने व्यक्तिहरू चश्मदिद् नभई केवल शंका व्यक्त गरी अनुमान गर्ने व्यक्ति भएको हुँदा तिनै व्यक्तिहरूको भनाइका आधारमा गरिएको फैसला त्रुटिपूर्ण बदरभागी छ, प्रमाणहरूको मूल्याङ्कन नै नगरी शंकाको भरमा गरिएको कागज र हचुवाको भरमा गरिएको बरामदी मुचुल्काका आधारमा मलाई सर्वस्व सहित जन्मकैद गर्ने गरी गरेको सुरू इलाम जिल्ला अदालतको फैसला बदर गरी सफाई दिने गरी इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदन पत्र । 

मौकामा कागज गर्ने कल्पना रिमाल, लक्ष्मी अधिकारी र एलिसा शेर्पासमेतले अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादीले मृतकलाई मारेको हो भनी गडाउ गरी बकपत्र गरिदिएको देखिन्छ । त्यस्तै वस्तुस्थिति मुचुल्का मानिस रंजिता थापा र गीता ढकालले अदालतसमक्ष बकपत्र गर्दा निज प्रतिवादीले मारेको हो भनी बकपत्र गरिदिएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम निजहरूको बकपत्र प्रमाण ग्राह्य देखिन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयानलाई मृतकको टाउकोमा प्रहार गरेको फलामको पत्ति बरामद गरिएको बरामदी मुचुल्का, शव परीक्षण प्रतिवेदन र वस्तुस्थित मुचुल्का एवं मौकामा कागज गर्ने मानिसहरूको अदालतसमक्षको बकपत्रसमेतबाट समर्थन भई प्रतिवादीउपरको आरोपित कसुर पुष्टि भइरहेको देखिँदा प्रतिवादी लक्ष्मी लावतीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैद ठहर हुने गरी भएको सुरू इलाम जिल्ला अदालतको मिति २०६६।१२।२६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६७।१०।१७ को फैसला । 

सम्मानित अदालतसमक्ष बयान गर्दा मृतकलाई मैले कुटपिट गरेको नभई निज मादक पदार्थ सेवन गरी लडेको अवस्थामा मैले औषधि लगाई दिएको हो । मिति २०६५।११।१० गते बिहान हामीबीच सामान्य विवाद हुँदा मृतकले मलाई अपशब्द प्रयोग गरी आइज सुतौं भनी जबरजस्ती तानी हातपात गर्दा मैले मेरो आत्मरक्षाको लागि इज्जत बचाउन निजलाई धकेल्दा खाटमा ठोकिई लडेपछि म बाहिर निस्की हिँडेको हो भन्ने बयानबाट मैले आत्मरक्षाको लागि कल्याण रिमाललाई मारेको भन्ने होइन कि तत्कालको अवस्थामा बच्न, उम्कन कल्याण रिमाललाई धक्का दिँदा निज खाटामा ठोकिई लडेको भन्ने भनाई र राति मादक पदार्थ सेवन गरी लडेको अवस्थामा चोटपटक लागेको घा खतमा मैले औषधि लगाई दिएको भनेकी छु । अनुसन्धानमा कागज गर्ने अर्जुन भन्ने दुर्गाबहादुर चौलागाईको मिति २०६५।११।१९ मा भएको बयानबाट समेत निजसँगै कल्याण रिमालले माईखोलामा रक्सी र मासु खाई बेलुका अं.११ बजेतिर मातेको अवस्थामा मैले नै निजलाई बोकी कोठामा लगी सँगै सुतेको भनेको कागज व्यहोराबाट कल्याण रिमालले अत्याधिक मादक  पदार्थ सेवन गरेको भन्ने पुष्ट्याईं हुन्छ । लास प्रकृति मुचुल्का र Post Martum बाट समेत दाहिने कानभन्दा माथि कञ्चटमा र दाहिने आँखानिर फुलेको चोटपटकसम्म 

देखिन्छ । ज्यानसम्बन्धीको महलको ५ नं. ले भवितव्यका आधारभूत तत्त्वहरूमा ज्यान लिने इविलाग वा मनसाय हुनु नहुने, आफूले गरेको कुनै कार्यले कुनै मानिस मर्ला जस्तो नदेखिएको कुनै काम गर्दा त्यसैद्धारा मानिस मरेको हुनुपर्ने हुन्छ । सोही महलको ६ नं. ले भवितव्यको विभिन्न घटनाका विभिन्न अवस्था र प्रकृतिहरू अन्जाम गरेको पाइन्छ । मृतक कल्याण रिमालको मृत्युको कारण हेर्दा प्रतिवादीलाई पटकपटक प्रहार नभई एकपटक मात्र भएको, कसुरको समग्र तौर तरिका सामान्य र भावावेशवश घटना घटेको भन्ने देखिएको छ । यसर्थ घटनाक्रम समग्र पक्षको विश्लेषण गर्दा भवितव्य ज्यानको निष्कर्षमा पुग्न प्रचलित कानून र न्यायको दृष्टिले पनि उचित देखिएकोमा कसुरअनुसार सजाय नभई अत्यन्तै कठोर र चरमरूपमा गर्ने गरी गरिएको फैसलामा न्यायिक मनको प्रयोग भएको छैन । ज्ञानबहादुर कार्की विरूद्ध नेपाल सरकार (ने.का.प.२०२७ नि.नं.५५५ पृ.२११) को मुद्दामा ज्यान लिने इविलाग मनसाय नभई अरू अपराधमा साबित गराउन साधारण कुटपिट गरेमा पछि केही भई कुटिएर बस्ने व्यक्ति मरेको देखिएमा उक्त कुटपिटको घा खतको रूपबाट मर्ने जस्तो नदेखिएमा त्यसैद्वारा मर्न गएमा भवितव्य ठहरिने भन्ने प्रतिपादित सिद्धान्त र न्यायिक प्रचलनबाट समेत प्रस्तुत वारदातमा भवितव्यमा सजाय ठहर गर्नुपर्नेमा अभियोग माग दाबीअनुसार नै अत्यन्तै कठोर सजाय गर्ने सुरू फैसला गम्भीर त्रुटिपूर्ण छ । 

अतः सुरू इलाम जिल्ला अदालतको मिति २०६६।१२।२६ को फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, इलामले गरेको मिति २०६७।१०।१७ को फैसलामा गम्भीर त्रुटि रहेकोले उल्टी बदर गरी मलाई सफाई दिलाई इन्साफ पाउँ भन्ने व्यहोराको प्रतिवादी लक्ष्मी लावतीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा प्रतिवादी लक्ष्मी लावतीले मृतकलाई मार्नुपर्ने कारण र पूर्व रिसइवी मिसिलबाट देखिन नआएको र घटनाको राति निजसँग कुनै वादविवाद भएको समेत देखिँदैन । सोको अलावा निजउपरको अभियोग दाबी प्रमाणित हुने प्रत्यक्षदर्शी साक्षीसमेतको अभाव रहेको हुँदा अकाट्य र विश्वसनीय प्रमाणको अभावमा निजलाई कसुरदार ठहर्‌याएको पुनरावेदन अदालत, इलामको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनका लागी महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश ।  

नियमानुसार पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसमेतका मिसिल संलग्न कागज अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, इलामबाट मिति २०६७।१०।१७ मा भएको फैसला मिलेको छ छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन सोही सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. को कसुरमा ऐ.१३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी रहेकोमा अभियोग दाबीबमोजिम सजाय हुने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर ठहर गरेको पुनरावेदन अदालत, इलामको फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस भएको देखियो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीउपरको किटानी जाहेरी, अग्नी कार्कीको घर कोठामा मृतक विरू भन्ने कल्याण रिमालको कानबाट रगत आएको, दाहिने कानभन्दा माथि चोट रही रगत आइरहेको, दाहिने आँखामा निलो भएको देखिएको लास रहेको भन्ने घटनास्थल लास जाँच मुचुल्का, प्रतिवादी लक्ष्मी लावतीको अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयान, मृत्युको कारणमा cause of death is due to cerebral hemorrhage and laceration of R temporal lobe at brain भनी उल्लेख भएको समेतबाट मृतक विरू भन्ने कल्याण रिमालको मृत्यु स्वाभाविक नभई अस्वाभाविकरूपमा भएको तथ्यमा विवाद देखिएन । 

३. अब प्रस्तुत वारदात पुनरावेदक प्रतिवादीको कर्तव्यबाट हुन गएको हो होइन भन्नेतर्फ हेर्दा पुनरावेदक प्रतिवादीको कर्तव्यबाट विरू भन्ने कल्याण रिमालको मृत्यु भएको भनी  निजलाई किटान गरी जाहेरी परेको देखियो । प्रतिवादी लक्ष्मी लावती र मृतक कल्याण रिमाल अग्नी बहादुर कार्कीको घरमा डेरा गरी बस्ने गरेको र निजहरू बीच व्यापारिक कारोबारसमेत रहेको भन्ने मिसिल कागजबाट देखिन आयो । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा म र मृतकबीच वारदातका दिन वादविवाद हुँदा आवेशमा आई गाडीको सामान राख्ने कोठाबाट गाडीमा लगाउने फलामको भाटाले टाउकोमा प्रहार गरेको हुँ । निजको मृत्यु मैले फलामको भाटा टुक्राले टाउकोमा प्रहार गरेकै कारणबाट भएको हो भनी साबित भई बयान गरेको देखिन्छ । मृतक र प्रतिवादीबीच झगडा वादविवाद, कुटाकुट भएको र मेरै दोकान अगाडिबाट लक्ष्मीले विरू भन्ने कल्याण रिमाललाई कुट्दै कोठातिर लगेको, मारेर जेल जान्छु सम्म भनेको कहिलेकाहीँ देखे सुनेको हो । लेनदेन व्यवहारकै कारण होला लक्ष्मी लावतीले नै मारेकी हुन् भन्ने मौकामा कागज गर्ने एलिसा शेर्पा, लासको छेउमा स्प्रिङ पत्ति रहेको, टाउकोमा चोट रहेको, त्यही पत्तिले हानेको भनी लक्ष्मी लावतीले भनेको हुँदा लक्ष्मी लावतीले मारेको हो भन्ने वस्तुस्थिति मुचुल्काका रंजिता थापा र गीता ढकाल, मिति २०६५।११।२४ को बरामदी मुचुल्काको व्यहोरा ठीक छ भन्ने बरामदी मुचुल्काका मानिस सुनी श्रेष्ठ तथा लाक्पा दिकी शेर्पाले अदालतमा उपस्थित भई बकपत्र गरेको देखिन्छ । यसरी प्रतिवादीको बयान व्यहोरालाई मौकामा कागज गर्ने र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरू समेतको बकपत्रबाट समर्थित गरेको देखियो । 

४. अदालतमा बयान गर्दा मृतक र मेरो गाडी एवं लेनदेन व्यवहार साझेदारीमा भएको ठीक हो । वारदात मितिमा हामीबीच सामान्य विवाद हुँदा मृतकले मलाई अपशब्द प्रयोग गरी आइज सुतौं भनी जबरजस्ती तानी हातपात गर्दा मैले मेरो आत्मरक्षाको लागि निजलाई धकेल्दा खाटमा ठोकिई लडेपछि म बाहिर निस्की हिँडेको हुँ भनी उल्लेख गरेको पाइन्छ । मृतकलाई धकेल्दा खाटमा ठोकिएको भन्ने प्रतिवादीको अदालतसमक्षको बयानबाट निज प्रतिवादी र मृतकबीच विवाद भएको र प्रतिवादी वारदातस्थलमा उपस्थित रहेको कुरामा कुनै विवाद देखिएन । जहाँसम्म मेरो आत्मरक्षाको लागि इज्जत बचाउन मृतकलाई धकेलेको भन्ने प्रतिवादीको कथन छ सो सम्बन्धमा हेर्दा पुनरावेदक प्रतिवादी मादक पदार्थ सेवन गरी लडेको अवस्थामा मैले मृतकलाई औषधि लगाई दिएको हो भन्ने भनाई र मृतकले जबरजस्ती आफू माथि हातपात गर्न खोज्दा मेरो आत्मरक्षाको लागि इज्जत बचाउन भनी निजलाई धकेल्दा खाटमा ठोकिई लडेको भन्ने भनाई एक आपसमा विरोधाभाषपूर्ण रही सत्यताभन्दा टाढा रहेको देखियो । 

५. आत्मरक्षा वा प्रतिरक्षा फौजदारी कानूनले निर्धारण गरेका त्यस्ता परिस्थितिहरू हुन् जसको विद्यमानता भएको प्रमाणित भएमा वा स्थापित भएमा वारदातमा मुछिएको व्यक्तिले आपराधिक दायित्वबाट छुट वा सजायमा कमी हुने अवस्था रहन्छ । आफूलाई गैरकानूनी आक्रमण गरिरहेका अवस्थामा उक्त आक्रमणबाट आफू बाँच्न नसक्ने वा भाग्न नपाउने वा आफ्नो धर्म वा सतीत्व बचाउन नसक्ने अवस्था भई आफू बाँच्न वा सतीत्व रक्षाका लागि प्रतिक्रियात्मक बल प्रयोग गर्दा ज्यान मर्न गएको अवस्थामा आपराधिक दायित्वबाट छुट वा उन्मुक्ति पाउने भन्ने कानूनको मकसद हो । अपितु आत्म रक्षाको दाबी लिने पक्षले उक्त सुविधा पाउनु पर्ने अवस्थाको विद्यमानता भएको स्थापित गर्न सक्नु पर्छ । त्यस्तो दाबी लिनु नै दायित्वबाट उन्मुक्तिको आधार हुन सक्दैन । यसै सन्दर्भमा “आत्मरक्षा आफूले मन लागेको बेलामा वा अनुकूल पर्ने गरी वा बचाउको अन्य आधारको समाप्ति (exhaust at other grounds of defense) मा जिकिर लिन पाउने होइन । वास्तवमा नै ऐनले निर्दिष्ट गरेको अवस्थामा आफ्नो जीउ ज्यान जोगाउन अन्तिम विकल्पको रूपमा हतियार उठाएको वा आफ्नो ज्यान जोखिममा पार्ने माथि प्रहार गरेको देखिनु पर्ने र यो अवस्था कुनै सन्देहबिना प्रमाणित हुनुपर्ने” भनी ने.का.प.२०६६ अंक ११ नि.नं.८२७० पृ.१९०५ मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दामा मृतकले रक्सी सेवन गरी लडिरहेको भन्ने पुनरावेदक प्रतिवादीको बयान कागजमा उल्लेख भएको देखिन्छ भने सोही बयानमा आत्मरक्षाको लागि धकेलेको भनाई रहेको देखिन आउँछ । प्रतिवादीको बयान, मौकामा कागज गर्ने मानिसहरूको भनाई, मिसिल संलग्न कागज प्रमाणहरू एवं वारदातको समग्र वस्तुस्थितिबाट आत्मरक्षाको जिकिर स्थापित हुने अवस्थाको विद्यमानता रहेको नदेखिँदा पुनरावेदन जिकिर विश्वासप्रद देखिन आएन ।

६. भवितव्यतर्फको जिकिरका सन्दर्भमा विचार गर्दा सर्वप्रथम ज्यानसम्बन्धीको महलको ५ नं. र ऐ. १३(१) को कानूनी व्यवस्थाको अवलोकन गर्न सान्दर्भिक देखिन आयो । ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ  भन्ने  ज्यानसम्बन्धीको महलको  ५ नं. र धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा जति जना भई हतियार छाडेको छ उति जना ज्यानमारा ठहर्छन् भन्ने ऐ. १३(१) नं. को कानूनी व्यवस्था रहेको देखियो । उक्त कानूनी व्यवस्थाको अवलोकनबाट ज्यानसम्बन्धीको महलको ५ र ऐ. १३(१) नं. को अवस्था बिल्कुल पृथक प्रकृतिको देखिन्छ । त्यो पृथकता घटनामा संलग्न व्यक्तिहरूको क्रिया, व्यवहार र आचरणबाट निर्धारण हुने देखिन आयो । यसरी त्यही क्रियाका आधारमा ज्यानसम्बन्धीको ५नं. को कसुरको प्रकृति जरिवानासम्म हुन सक्ने हत्याको सामिप्य रहन जाने वा कसुरको मात्राअनुसार ऐ. ६ नं. बमोजिम सजाय हुने देखिन्छ भने १३(१) नं. को कसुरको प्रकृति कठोर एवं दण्डित हत्याको कोटिमा पर्ने देखिन्छ । भवितव्य आकस्मिक घटना वा मनसायरहित अप्रत्यासित कार्य भएकोले यस्तो जिकिर लिनेले सो कार्य दुर्घटनापूर्वक परिणामको पूर्वजानकारी बिना भएको तथ्य स्थापित गर्नुपर्ने देखिन्छ र प्राप्त प्रमाणहरूबाट सो परिस्थिति देखिनु पर्दछ । मनसाय नरहेको, मार्नेसम्मको कारण नभएको, आफूले गरेको कार्यबाट मानिस मर्ला जस्तो नदेखिएको अवस्थामा ज्यानसम्बन्धीको महलको ५ र ६ नं. आकर्षित हुन जान्छ भने ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसुरमा उपर्युक्त तत्त्वहरूको अवस्था रहने देखिँदैन । परिणामको पूर्व जानकारीका साथ जोखिमी वा गैह्र जोखिमी हतियारले हानी ज्यान मारेमा ज्यानसम्बन्धीको महलको १३(१) नं. आकर्षित हुन जाने देखिन्छ ।

७. प्रस्तुत वारदातमा मृतकको पोस्टमार्टम रिपोर्टमा cause of death is due to cerebral hemorrhage and laceration of R temporal lobe at brain भनी टाउकोमा लागेको चोटको असरबाट मृत्यु हुन गएको भन्ने देखिएको छ । फलामको भाटाले टाउकोमा प्रहार गर्दा मृत्यु हुन सक्ने अवस्थाको जानकारी हुँदाहुँदै प्रतिवादीले मृतकलाई गैह्र जोखिमी हतियारले प्रहार गरेको भन्ने मिसिल कागजबाट देखिन्छ । मौकामा कागज गर्ने व्यक्तिको कागज व्यहोरामा पुनरावेदक प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु हुन गएको भन्ने तथ्यमा विवाद 

देखिँदैन । प्रतिवादीको अदालत र अनुसन्धानको बयानबाट मृतकसँग व्यवसायिक साझेदारीसम्बन्धी मनमुटाव रहेको र सोही जरियाबाट मृतकको टाउकोमा प्रहार गरेको भन्ने देखिन्छ । यसका अतिरिक्त घटनास्थल मुचुल्कालगायतका समग्र मिसिल संलग्न कागज प्रमाणबाट फलामको पत्ति (भाटा) ले टाउको जस्तो संवेदनशील अंगमा प्रहार गरी मृतकको मृत्यु भएको अवस्था देखिन आएकोले प्रस्तुत वारदात ज्यानसम्बन्धीको महलको ५ नं. तर्फको भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर र यस अदालतबाट विपक्षी झिकाउने आदेशमा उल्लिखित आधारसँग सहमत हुन सकिएन ।

८. तसर्थ पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसुरमा ऐ. १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने गरी सुरू अदालतबाट भएको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत, इलामको मिति २०६७।१०।१७ को फैसला अन्यथा नभई मनासिब देखिन आयो ।  

९. प्रस्तुत वारदातको प्रकृति र घटनाको परिस्थितितर्फ विचार गर्दा मृतक र प्रतिवादीले साझेदारीमा व्यवसाय चलाएको भन्ने देखिएको, व्यापार व्यवसायको जरियाबाट विवाद सृजना भई एकाएक वारदात घट्न गएको, मृतकसँग पहिलेदेखि नै रिसइवी रहेको भन्ने नदेखिएको, पूर्वयोजना बनाई वारदात गरेको नदेखिएको अवस्थासमेतका आधारमा ठहर भएको सजाय गर्दा चर्को पर्ने भई अ.ब.१८८ नं. बमोजिम दश वर्ष कैद सजाय गर्न उपयुक्त देखिएकोले पुनरावेदक प्रतिवादी लक्ष्मी लावतीलाई दश वर्ष कैद सजाय हुने ठहर्छ । पुनरावेदक प्रतिवादी लक्ष्मी लावतीको  पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदक प्रतिवादी लक्ष्मी लावतीलाई अ.बं.१८८ नं. बमोजिम दश वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोले निजको नाममा कायम रहेको सर्वस्वसहित जन्मकैदको सजायको लगत कट्टा गरी निज पुनरावेदक प्रतिवादी मिति २०६५।११।१४ बाट थुनामा रहेको देखिँदा सोही मितिबाट लागू हुने गरी १०(दश) वर्ष अर्थात् मिति २०७५।११।१३ सम्म थुनामा राखी अन्य मुद्दा वा कारणबाट थुना वा कैदमा राख्न नपर्ने भए प्रस्तुत मुद्दाको रोहमा मिति २०७५।११।१४ गते प्रतिवादी लक्ष्मी लावतीलाई कैद मुक्त गर्न संशोधित कैदी पुर्जी लेखी पठाउनु भनी सुरू इलाम जिल्ला अदालतमा लगत दिनू --------------------------------------------१   

पुनरावेदक प्रतिवादी लक्ष्मी लावतीलाई अ.बं.१८८ नं. बमोजिम दश वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोले निजको अंश रोक्का रहेको भएमा फुकुवा गरिदिनु भनी सुरू इलाम जिल्ला अदालतमा लेखी पठाई दिनू ----२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू -----------------------------३

   

उक्त रायमा सहमत छु ।

न्या. गोपाल पराजुली

 

इजलास अधिकृतः दिलीपराज पन्त

इति संवत् २०७३ साल साउन ३२ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु