निर्णय नं. ९७७४ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री गोपाल पराजुली
फैसला मिति :२०७३।२।३
०६८-CR-१३९५
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक प्रतिवादी : दैलेख जिल्ला, भवानी गाउँ विकास समिति वडा नं. १ साहू बाडा घर भई हाल कारागार कार्यालय दैलेखमा थुनामा रहेका ईश्वर बोगटी
विरूद्ध
प्रत्यर्थी वादी : शम्शेर बोगटी र खगेन्द्रबहादुर बस्नेतसमेतको जाहेरीले नेपाल सरकार
असहाय पक्षलाई कानून व्यवसायी उपलब्ध गराई स्वच्छ सुनुवाइको मौका नदिएको भन्ने पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा फौजदारी मुद्दामा सुनुवाइको मौका नदिई एकतर्फीरूपमा निर्णयमा पुग्ने कार्यलाई कानूनसम्मत भएको कार्य मान्न मिल्दैन । प्रत्येक व्यक्तिले आफू विरूद्ध लागेको अभियोगमा सफाई दिने अवसर पाउने हक व्यक्तिको नैसर्गिक अधिकारको विषय हो । अभियोग लागेको व्यक्तिलाई सुनुवाइको मौका नदिई गरेको कुनै निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने ।
आफ्नो विरूद्धमा लगाइएको अभियोगको विरूद्धमा प्रतिरक्षा गर्नका लागि पक्षले रोजेको कानून व्यवसायी राख्न पाउने र त्यस्तो कानून व्यवसायी राख्न नसक्ने असक्षम र असमर्थ पक्षलाई निःशुल्क कानूनी सहायता उपलब्ध गराउनु राज्यको कर्तव्य हुन आउने ।
(प्रकरण नं. ४)
सुनुवाइको मौका दिइसकेपछि आरोपित व्यक्तिले दिएको जवाफ र अन्य सम्बद्ध तथ्य वा प्रमाणको मूल्याङ्कन गरी कानूनद्वारा निर्दिष्ट सीमाभित्र रही सजाय तोक्नु अख्तियारवालाको दायित्व र कर्तव्य हो । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट बहस पैरवी गर्नका लागि पुनरावेदन अदालत, सुर्खेतले कानून व्यवसायीको व्यवस्था गर्ने कार्य नगरी सुनुवाइको मौकाबाट वञ्चित गरी निर्णयमा पुगेको कार्यलाई प्राकृतिक न्यायको सिद्धान्त एवं संवैधानिक व्यवस्थासमेतको अनुकूल कार्य मान्न नमिल्ने ।
(प्रकरण नं. ५)
आफ्नै आमालाई कुटपिट गर्दा लडी बेहोस भएपछि घरमा गई डोरी खोजी ल्याई झुन्ड्याउने कार्यलाई मनसायरहित कार्य भन्न मिलेन । मार्नेसम्मको मनसाय नभएको भए आफूले प्रहार गरेको मुक्काको कारण बेहोस भई भुइँमा लडेपछि होसमा ल्याउने प्रयास गर्न सक्ने थिए । त्यसो नगरी उल्टै डोरीको पासो लगाई झुन्ड्याई मारेको अवस्थामा मनसाय नभई तत्काल उठेको रिस थाम्न नसकी आवेशप्रेरित हत्या हुन गएको भन्न नसकिने ।
(प्रकरण नं.६)
पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता किरणकुमारी गुप्ता
प्रत्यर्थी वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(३) नं.
सुरू फैसला फैसला गर्ने न्यायाधीश:
मा.जिल्ला न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा
पुनरावेदन तहमा फैसला गर्ने:
मा.मुख्य न्यायाधीश श्री गोविन्दकुमार श्रेष्ठ
माननीय न्यायाधीश श्री रत्नबहादुर बागचन्द
फैसला
स.का.मु.प्र.न्या. सुशीला कार्की : पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।९।१२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:-
जाहेरवाला शम्शेर बोगटी श्री गोरख दल गण बर्दिया गुलरियाबाट ४ दिनको बिदामा आमालगायत परिवार भेट्न घर आएको र बुबा नमराज बोगटी १२/१३ वर्षदेखि भारततर्फ गएका हालसम्म घरमा फर्की नआएकामा आमा लल्ता बोगटी मिति २०६७।९।१५ गते दिँउसो १/२ बजेको समयमा घाँस काट्न गएकी र साँझसम्म नआएकाले छरछिमेकीले खोज्दै जाँदा फेला नपारी ऐ. १६ गते बिहान अं. ६.३० बजेको समयमा फर्साको रूखमा झुन्डी मरेको अवस्थामा फेला पारेको, लासको नाक, मुखमा चोट भएको, लासको प्रकृति हेर्दा शंका लाग्दो भएकाले अपराध गर्ने व्यक्ति पत्ता लागेका बखत पुनः जाहेरी गर्ने छु भन्नेसमेत व्यहोराको शम्शेर बोगटीको जाहेरी दरखास्त ।
मृतक लल्ता बोगटीका पति १२/१३ वर्षदेखि भारततर्फ गएका, मृतकले छोरा छोरी पाली बसेकीमा घरमा ईश्वर बोगटी कहिले चामल चोर्ने कहिले खसी खाने र कहिलेकाहीँ आमालाई कुटपिट गर्ने
गर्थे । मिति २०६७।९।१५ गते आमा छोराको झगडा हुँदा प्रतिवादीले मार्छु भनेको र सोही दिन १/२ बजे लल्ता बोगटी घाँस काट्न गई घाँस काटी भारी बोकी आइरहेको अवस्थामा ईश्वर बोगटीले आफ्नी आमा लल्ता बोगटीलाई फेलापारी घाँसको भारी उछिट्याई मारी रूखमा झुन्डाएको भन्ने ईश्वर बोगटीको भनाइबाट थाहा पाई जाहेर गर्न आएको छु । मिति २०६७।९।१७ गते लल्ता बोगटीको छोरा शम्शेर बोगटीले घटनाको बारेमा पत्ता लागे पुनः जाहेरी गर्ने छु भनी उल्लेख गरेको र हाल पत्ता लागेकाले यो जाहेर गर्न आएको
छु । निज ईश्वर बोगटीलाई ज्यानसम्बन्धी महलबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको खगेन्द्रबहादुर बस्नेतको किटानी जाहेरी ।
चन्द्रबहादुर बोगटीको खरबारीमा फर्साको रूखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुन्डिएको, पासोको गाँठो पछाडि गर्धनमा रहेको, डोरीको पासो बनाई घाँटीमा छिराई पुनः गाँठो पारी बाँधेको अवस्थामा रहेको, टाउको अगाडि झुन्डिएको, कपालका रौंहरू खोल्सिएको, नाकबाट रगत निस्केको, बायाँ आँखामाथि निधारको दाहिने साइडमा सानो घाउ रहेको, नाकको डाँडीमा र बायाँ गालामा २ ठाउँमा छाला खोस्रिएको भन्नेसमेत व्यहोराको लासजाँच प्रकृति मुचुल्का ।
मिति २०६७।९।१५ गते वनभोज खान भनी म साथीहरूसँग प्लाष्टिकको जर्किनबाट रक्सीको खाली बोतलमा तेल भरी घरको ओथारोमा अटैसीको छेउमा राखी साथीहरूलाई जाउँ भनी गाउँमा गएको बेला बाजे विष्णुबहादुर बोगटीले उक्त कुरा आमा लल्ता बोगटीलाई भनी दिएका रहेछन् । म गाउँबाट फर्केपछि आमाले किन तेल झिकेको वनभोज नखाए पनि हुन्छ भन्नुभयो । सोही विषयमा आमा र मेरो धकलपकल भयो । म दिनभर ओथारोमा बसी साँझ ४/५ बजेतिर खरबारीमा दाउरा लिन भनी डोको बोकेर हालको घटनास्थल पैंयुको बोट नजिक बसिरहेको थिएँ । आमा खरबारीबाट भारी बोकी आउनुभयो । भारी बिसाई आमाले मलाई कहाँ जान लागेको बिहान पनि झगडा गरिस्, तैँले काम गर्नु पर्दैन जहाँ जान्छस् जा भनी सुकेको पैंयुको हाँगाले मेरो खुट्टामा हिर्काउनु भयो । मलाई पनि रिस उठ्यो । त्यसपछि मैले हातको पंजाले आमाको कोखामा हानेँ । आमाले मलाई धकेल्नु भयो र म लडेँ । भुइँबाट उठेर आमाको कञ्चटमा बक्सिङले हिर्काउँदा आमा भुइँमा लड्नु भयो । आमालाई समाती उठाउन खोज्दा बोलचाल तथा उठ्नु भएन । आमा मरेको यकिन भएपछि घरमा गई डोको राखी भाग्छु भन्ने सोचले डोको बोकी घरमा आएँ । भाग्ने पैसा नभएकाले र अरूले घटनाबारे थाहा पाउँछन् भन्ने सोचले आमालाई झुन्ड्याई दिनु पर्यो भनी सुत्ने खाटनजिक भाँडोमा भएको डोरी लिई गई आमाको घाँटीमा डोरीको पासो बनाई बाँधी फर्साको रूखमा झुन्डाई दिएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी ईश्वर बोगटीको अनुसन्धान अधिकारीसमक्षको बयान ।
मृतक लल्ता बोगटीको मुखको छाला खुइलिएको, दायाँ र बायाँ गालाको छाला खुइलिएको, दुवै नाकको प्वालबाट रगत निस्केको, मृत्युको कारण भिषेरा परीक्षण रिपोर्ट प्राप्त भएपश्चात् खुलाइने भन्ने जिल्ला स्वास्थ्य कार्यालय, दैलेखको (Autopsy) शव परीक्षण प्रतिवेदन ।
प्रतिवादी ईश्वर बोगटी र निजकी आमा लल्ता बोगटीबीच झगडा भएको भन्ने कुरा प्रतिवादीका बाजे विष्णुबहादुर बोगटीबाट थाहा पाएको हुँ । घटनाका बारेमा बुझ्दा मृतक लल्ता बोगटीलाई निजकै छोरा ईश्वर बोगटीले मारेको हो भनी भनेका हुन् र झगडा परेको कारण प्रतिवादीले आमा लल्ता बोगटीलाई मार्ने योजना बनाई खर काटी फर्कने क्रममा बाटोमा आमासँग झगडा गरी झुन्डाई मारेका हुन् भन्नेसमेत एकै मिलान व्यहोराको लोकबहादुर बोगटी, शेरबहादुर बोगटी र गगनबहादुर बोगटीको मौकाको कागज ।
मिति २०६७।९।१५ गते नाती ईश्वर बोगटीले वनभोज खान जाने भनी ग्यालेनमा भएको तेल रक्सीको बोतलमा भरी राखेको कुरा बुहारी लल्ता बोगटीले थाहा पाई सोही विषयमा आमा छोराबीच झगडा परेको र बुहारी घरको काम सकी घाँस काट्न भनी घरदेखि तलको खरबारीमा गइन् । साँझसम्म बुहारी घर नफर्के पछि नातिहरू राजेन्द्र बोगटी, महेन्द्र बोगटी र मसमेत भई खोज्न गयौं । मृतकलाई लिलाबहादुर बोगटी र गगन बोगटीले फर्साको रूखमा झुन्डिएको अवस्थामा फेला पारेका हुन् । घटना सम्बन्धमा बुझ्दा नाति ईश्वर बोगटीले नै बुहारी लल्ता बोगटीलाई मारी झुन्डाएको रहेछ भन्नेसमेत व्यहोराको प्रतिवादी ईश्वर बोगटीका बाजे विष्णुबहादुर बोगटीको मौकाको कागज ।
घटना भएको भोलिपल्ट लल्ता बोगटी झुन्डिएको अवस्थामा फेला परेको भन्ने हल्ला सुनेपछि घटनास्थल गएको हुँ । घटनाको सम्बन्धमा बुझ्दा ईश्वर बोगटीले नै कर्तव्य गरी मारी रूखमा झुन्डाएको हो भन्नेसमेत व्यहोराको कुलबहादुर गुरूङको मौकाको कागज ।
प्रतिवादी र मृतकलाई चिन्दछु । प्रतिवादी ईश्वर बोगटीले मेरो पसलमा एक्लै सुटुक्क पसी मेरा श्रीमान्सँग मरेको मानिसको बारेमा कम्प्युटर बोल्छ कि बोल्दैन भनी सोधेका र पोष्टमार्टम गरेपछि कम्प्युटर बोल्छ भनी मेरा श्रीमान्ले भनेपछि प्रतिवादीले हामीहरूसँग रू.२,०००।- मागे, हामीले छैन भनेपछि फेरी रू.५००।- मागे । अन्तमा चिया खान भनी रू.१००।- दियौं । यसरी मरेको मानिस बोल्छ बोल्दैन जस्ता कुरा गरेकाले प्रतिवादीले आमा लल्ता बोगटीलाई मारेको हुनुपर्छ भन्नेसमेत व्यहोराको रत्ना थापाको मौकाको कागज ।
घटनाबारे थाहा पाई घटनास्थल जाँदा मृतक लल्ता बोगटीको अनुहारमा चोट लागेको, नाकबाट रगत बगेको, कपाल खोस्रिई कपालमा धुलो लागेको, डोरीको पासोमा झुन्डिएको अवस्थामा देखेको र प्रतिवादीले मरेको मानिसको बारेमा कप्प्युटर बोल्छ कि बोल्दैन भनी सोधेका र दुई हजार रूपैयाँ मागेका कुरा सुन्दा आमालाई मारेको शंका लाग्यो । प्रतिवादीले आफूले मारेको हुँ भनेका हुँदा निजले नै मारेकोमा पूर्णविश्वास लाग्छ भन्नेसमेत व्यहोराको सिंहबहादुर बोगटीको मौकाको कागज ।
मृतक लल्ता बोगटीको मृत्युको कारण झुन्डिई मरेको हुनसक्ने भन्ने व्यहोराको मिति २०६७।१०।१० को जिल्ला स्वास्थ्य कार्यालय, दैलेखको पत्र ।
किटानी जाहेरी दरखास्त, मौकामा बुझिएका मानिसहरूको कागज, घटनास्थल लासजाँच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादी ईश्वर बोगटी स्वयम्ले आमा लल्ता बोगटीलाई हातको पञ्जाले पहिला कोखामा र पछि कञ्चटमा बक्सिङले हानेको र त्यसपछि आमा नबोलेको हुँदा मरिसकेको जस्तो देखी घरबाट प्लाष्टिकको डोरी लगी घाँटीमा पासो लगाई फर्साको रूखमा झुन्डाई दिएको कुरा स्वीकार गरी बयान गरेको आधार प्रमाणबाट प्रतिवादीले लल्ता बोगटीलाई मिति २०६७।९।१५ मा कर्तव्य गरी मारी रूखमा झुन्डाएको कुरा पुष्टि हुन आएकाले निजको सो कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र ऐ. को १३(३) नं. बमोजिमको कसुर अपराधमा हुँदा ऐ. महलको १३(३) नं. अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
मिति २०६७।९।१५ गते अपराह्न ५.०० बजेतिर आमा घाँस काटी घरतिर आइरहेको समयमा म पनि दाउरा लिन भनी गएको बेला आमाले मलाई बिहान पनि झगडा गरिस् काम गर्दैनस् जहाँ जाने हो जा भनी कुटपिट गर्दा एक्कासी मलाई रिस उठी रिसको आवेशमा आई हातले आमाको कोखामा, बक्सिङले कञ्चटमा हानेपछि आमा भुइँमा लड्नु भयो । उठाउन खोज्दा बोलचाल नगरी नउठ्नु भएकाले आमा मर्नुभयो भनी घरमा गई डोको राखी भाग्छु भन्ने सोचले घरमा आएँ । अरूले मारेको थाहा नपाउन् भनी मृतक आमालाई झुन्डाई दिनु पर्यो भनी डोरी लगी आमालाई बोकी फर्साको रूखमा झुन्डाई दिएको हुँ । मबाहेक अरू कोही कसैको कर्तव्यबाट आमा लल्ता बोगटीको मृत्यु भएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी ईश्वर बोगटीको दैलेख जिल्ला अदालतसमक्षको बयान ।
जाहेरी दरखास्तको व्यहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । प्रतिवादी ईश्वर बोगटीले मृतकलाई कुटपिट गरी मारी रूखमा झुन्डाएकाले किटानी जाहेरी दिएको हुँ भन्नेसमेत व्यहोराको जाहेरवाला खगेन्द्रबहादुर बस्नेतको बकपत्र ।
प्रतिवादीले मृतकलाई कुटपिट गरी मारी झुन्डाएको विश्वास लाग्छ । अनुसन्धान अधिकारीको कागजमा झुन्डाई मारेको भनी लेखिएको रहेछ । सो नभई प्रतिवादीले मारी झुन्डाएकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने शेरबहादुर बोगटीको बकपत्र ।
अनुसन्धान अधिकारीसमक्ष गरेको कागज व्यहोरा मेरै हो । मरेको लास पोष्टमार्टम गरेपछि कम्प्युटरमा बोल्छ बोल्दैन भनी प्रतिवादी ईश्वर बोगटीले मेरा श्रीमान्सँग सोधेकाले बोल्छ भनेपछि प्रतिवादीले रू.२०००।- दिनु पर्यो भनी भनेका र हामीले रू.२०००।- छैन भनेपछि रू.५००।- दिनुहोस् भनी भनेकोमा सो पनि छैन भनेपछि चिया खान भनी रू.१००।- दिनु भएको हो । आमा पनि मरेकी र पैसा पनि मागेको, लास पोष्टमार्टमपछि कम्प्युटर बोल्छ बोल्दैन भनी सोधेको हुँदा निजले नै मृतकलाई मारी झुन्डाएको हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने रत्ना थापाको बकपत्र ।
प्रतिवादी ईश्वर बोगटीले मृतक आमालाई आफूले नै मारेको भनी भनेको हुँदा निजले नै कर्तव्य गरी मारेका हुन् । अनुसन्धान अधिकारीसमक्ष गरेको कागजको व्यहोरा मेरै हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने लिलबहादुर बोगटीको बकपत्र ।
प्रतिवादी ईश्वर बोगटीले मिति २०६७।९।१५ मा आमासँग झगडा गरी कुटपिटसमेत गरेकाले लल्ता बोगटीको मृत्यु भएको हो । अनुसन्धान अधिकारीसमक्ष गरेको कागज व्यहोरा मेरै हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने गगन बोगटीको बकपत्र ।
प्रतिवादी ईश्वर बोगटीले मृतक लल्ता बोगटीलाई हानी मारी रूखमा झुन्डाएको हो । मौकाको कागज व्यहोरा मैले भनेबमोजिम ठीक हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने सिंहबहादुर बोगटीको बकपत्र ।
मृतक र प्रतिवादीबीच पटक पटक झै-झगडा भइरहने गरेको, घटना घटेको दिनमा पनि तेलको विषयमा झगडा भएको हुँदा मृतकलाई प्रतिवादीले मारी सकेपछि प्लाष्टिकको डोरीले घाँटीमा बाँधी झुन्डाएको हो । मौकाको कागज व्यहोरा ठीक हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने विष्णुबहादुर बोगटीको बकपत्र ।
जाहेरी दरखास्त व्यहोरा सुनाउँदा सुनी
पाएँ । जाहेरी मेरो राजीखुसीले दिएको हुँ । प्रतिवादी ईश्वर बोगटीले कर्तव्य गरी मारी फर्साको रूखमा झुन्डाएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला शम्शेरबहादुर बोगटीको बकपत्र ।
प्रतिवादी र मृतकबीच बिहान खाने तेलको विषयमा झगडा भएको, प्रतिवादीको उमेरसमेत १७ वर्ष देखिएको आधारमा मृतकलाई मार्नु पर्नेसम्मको पूर्व रिसइवी नभई मृतकले नै प्रतिवादीसँग झगडा गर्न आई पहिले मृतकले प्रतिवादीलाई हानेपछि प्रतिवादीले मृतकलाई तत्काल उठेको रिस थाम्न नसकी हात मुक्काले मृतकको कोखा र कञ्चटमा हाने पिटेको कारण मृत्यु भएपछि अपराधबाट बच्न सकिन्छ कि भन्ने उद्देश्यले रूखमा झुन्डाएको अवस्थासम्म देखिएको भई मृतकको कसुर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १४ नं. अनुसारको कसुर देखिएको तथा प्रतिवादीले अपराधको बारेमा मौका र अदालतमा समेत यथार्थ बताई सहयोग गरेको हुँदा प्रतिवादी ईश्वर बोगटीलाई ले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. अनुसार कैद वर्ष दश हुने ठहर्छ भन्नेसमेत व्यहोराको दैलेख जिल्ला अदालतको मिति २०६७।१२।१६ को फैसला ।
वारदात हुँदाका दिन बिहानैदेखि मृतकले आमासँग झगडा गरेको, वारदात अघि तत्कालसमेत मृतक आमासँग झगडा गरी मृतकलाई कुटपिट गरी डोरीले झुन्ड्याई मारेकोसमेत देखिएबाट प्रस्तुत वारदातमा प्रतिवादीको आमालाई मार्ने मनसाय स्पष्टरूपमा देखिएको र वारदातको प्रकृति र मृत्युको कारण सम्बन्धमा भएको (Autopsy Report) बाट समेत प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. अन्तर्गतको नभई ऐ. महलको १३(३) नं. अन्तर्गतको हो भन्ने पुष्टि भइरहेकोमा दैलेख जिल्ला अदालतबाट प्रतिवादी ईश्वर बोगटीलाई कम सजाय हुने गरी भएको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, सुर्खेतमा परेको पुनरावेदन पत्र ।
यसमा मृतकको शव परीक्षण प्रतिवेदनबाट घाँटीमा Ligature mark देखिएको र जिल्ला स्वास्थ्य कार्यालय, दैलेखको प.सं. २०६७।०६८ च.नं. ५६३ मिति २०६७।१०।१० को पत्रबाट मृतकको मृत्युको कारण Hanging भनी उल्लेख भई आएबाट सुरू जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका निमित्त अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी प्रतिवादीलाई झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।५।२५ को आदेश ।
वारदातको प्रकृति, कानूनी प्रावधान, मृत्युको कारण Hanging भन्नेसमेतका सबुद प्रमाणसमेतको आधारमा प्रतिवादी ईश्वर बोगटीले नै मृतक लल्ता बोगटीलाई कुटपिट गरी लल्ता बोगटी बेहोस भई ढलेपछि निजको मृत्यु भए नभएको यकिन नै नभएको अवस्थामा घाँटीमा डोरीले बाँधी रूखमा झुन्ड्याई हत्या गरेको देखिँदा तत्काल उठेको रिस थाम्न नसकी हात मुक्काले मृतकको कोखामा र कञ्चटमा हाने पिटेको कारण मृत्यु भएको भन्नेसमेत आधारमा प्रतिवादी ईश्वर बोगटीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. को कसुर गरेको ठहर गरी ऐ. नं. अनुसार कैद वर्ष दश हुने ठहर गरी भएको सुरू दैलेख जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी ईश्वर बोगटीलाई अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसुरमा ऐ. १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।९।१२ को
फैसला ।
म असहाय पक्षलाई कानून व्यवसायी उपलब्ध नगराई स्वच्छ सुनुवाइको मौका नै नदिई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. को कसुर अपराध हुन आवश्यक मनसाय तत्त्व स्थापित नै नभएको अवस्थामा विशेषज्ञको आधारहीन रायलाई ग्रहण गरी सुरू जिल्ला अदालतबाट तत्काल उठेको रिसका कारण कसुर हुन गएको भनी गरेको फैसला बदर गरी मनसायपूर्वक हत्या गरेको भनी भएको पुनरावेदन अदालत, सुर्खेतको फैसला नेपालको अन्तरिम संविधानद्वारा प्रदत्त फौजदारी न्यायको सिद्धान्त, प्रमाण ऐन, २०३१ को दफा १८, २३(७) र ५२ एवं सम्मानित अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको प्रतिकूल भई त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी भवितव्यबाट हुन गएको घटनालाई सोहोबमोजिमको कसुर कायम गरी इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी ईश्वर बोगटीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट विद्वान् वैतनिक अधिवक्ता श्री किरणकुमारी गुप्ताले वारदातका दिन बिहान मृतक र प्रतिवादीबीच झगडा भएकोमा बेलुकासमेत मृतकले प्रतिवादीलाई जहाँसुकै जा भनी पैँयुका छेस्काले कुटेका कारण तत्काल उठेको रिस थाम्न नसकी प्रतिवादीले मृतकलाई हातको पञ्जाले कोखामा र मुक्काले कन्चटमा हान्दा मृतक भुइँमा ढलेपछि निजको मृत्यु भएको भनी प्रतिवादीले डोरी ल्याई झुन्ड्याएको अवस्था छ । मृतकलाई मार्ने मनसाय र योजनासमेत नरही तत्काल उठेको रिस थाम्न नसकी भएको वारदातमा ज्यानसम्बन्धीको महलको १४ नं. अनुसार सजाय हुनुपर्नेमा १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद जस्तो हदैसम्मको सजाय गरी भएको पुनरावेदन अदालत, सुर्खेतको फैसला सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुँदा बदर गरी दैलेख जिल्ला अदालतको फैसला सदर हुनुपर्ने भनी बहस प्रस्तुत गर्नुभयो ।
उक्त बहस सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा पुनरावेदन अदालत, सुर्खेतको फैसला मिलेको छ छैन र प्रतिवादी ईश्वर बोगटीको पुनरावेदन जिकिर पुग्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा ईश्वर बोगटीले निजकी आमा लल्ता बोगटीलाई हात र मुक्काले कोखा र कञ्चटमा हानी लडेपछि प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई फर्साको रूखमा झुन्डाई कर्तव्य गरी हत्या गरेका हुँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(३) नं. को कसुरमा ऐ. महलको १३(३) नं. अनुसार सजाय गरिपाउँ भन्ने अभियोग रहेकामा प्रतिवादी ईश्वर बोगटीलाई निजकी आमा लल्ता बोगटीले पैँयुको छेस्काले कुटेपछि तत्काल उठेको रिस थाम्न नसकी हात र मुक्काले कोखा र कञ्चटमा हिर्काउँदा निजको मृत्यु भएपछि झुन्ड्याएको देखिई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. को कसुर अपराध गरेको देखिँदा प्रतिवादी ईश्वर बोगटीलाई ऐ. महलको १४ नं. बमोजिम दश वर्ष कैद सजाय हुने ठहर गरी भएको सुरू फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन अदालत, सुर्खेतमा पुनरावेदन परेको रहेछ । पुनरावेदन अदालत, सुर्खेतले प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरी भएको फैसलामा प्रतिवादी ईश्वर बोगटीको प्रस्तुत पुनरावेदन परेको देखियो ।
३. म असहाय पक्षलाई कानून व्यवसायी उपलब्ध नगराई स्वच्छ सुनुवाइको मौका नै नदिई ज्यानसम्बन्धीको महलको १३(३) नं. को कसुर अपराध हुन आवश्यक मनसाय तत्त्व स्थापित नै नभएकोमा विशेषज्ञको आधारहीन रायलाई ग्रहण गरी मनसायपूर्वक हत्या गरेको भनी अभियोग माग दाबीबमोजिम सर्वस्वसहित जन्म कैद गर्ने ठहर गरी भएको पुनरावेदन अदालत, सुर्खेतको फैसला संविधान, कानून र प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुँदा बदर गरी सुरू फैसलाअनुसार गरिपाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको पाइयो ।
४. असहाय पक्षलाई कानून व्यवसायी उपलब्ध गराई स्वच्छ सुनुवाइको मौका नदिएको भन्ने पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा फौजदारी मुद्दामा सुनुवाइको मौका नदिई एकतर्फीरूपमा निर्णयमा पुग्ने कार्यलाई कानूनसम्मत भएको कार्य मान्न
मिल्दैन । प्रत्येक व्यक्तिले आफू विरूद्ध लागेको अभियोगमा सफाई दिने अवसर पाउने हक व्यक्तिको नैसर्गिक अधिकारको विषय हो । अभियोग लागेको व्यक्तिलाई सुनुवाइको मौका नदिई गरेको कुनै निर्णयले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । आफ्नो विरूद्धमा लगाइएको अभियोगको विरूद्धमा प्रतिरक्षा गर्नका लागि पक्षले रोजेको कानून व्यवसायी राख्न पाउने र त्यस्तो कानून व्यवसायी राख्न नसक्ने असक्षम र असमर्थ पक्षलाई निः शुल्क कानूनी सहायता उपलब्ध गराउनु राज्यको कर्तव्य हो ।
५. असमर्थ पक्षलाई निःशुल्क कानूनी सेवा उपलब्ध गराउने सम्बन्धमा नेपालको संविधानमा नै व्यवस्था भएको भएको छ । नेपालको संविधानको धारा २०(९) मा “असमर्थ पक्षलाई कानूनमा व्यवस्था भएबमोजिम निःशुल्क कानूनी सेवा पाउने हक हुनेछ” भन्ने व्यवस्था रहेको छ । संविधानको उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि सर्वोच्च अदालत नियमावली, २०४९, पुनरावेदन अदालत, नियमावली, २०४८ र जिल्ला अदालत नियमावली, २०५२ समेतमा प्रत्येक अदालतमा वैतनिक कानून व्यवसायीको व्यवस्था गरी असहाय पक्षलाई निःशुल्क कानूनी सेवाको सुविधासमेत दिँदै आएको छ । सुनुवाइको मौका दिइसकेपछि आरोपित व्यक्तिले दिएको जवाफ र अन्य सम्बद्ध तथ्य वा प्रमाणको मूल्याङ्कन गरी कानूनद्वारा निर्दिष्ट सीमाभित्र रही सजाय तोक्नु अख्तियारवालाको दायित्व र कर्तव्य हो । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट बहस पैरवी गर्नका लागि पुनरावेदन अदालत, सुर्खेतले कानून व्यवसायीको व्यवस्था गर्ने कार्य नगरी सुनुवाइको मौकाबाट वञ्चित गरी निर्णयमा पुगेको कार्यलाई प्राकृतिक न्यायको सिद्धान्त एवं संवैधानिक व्यवस्थासमेतको अनुकूल कार्य मान्न मिल्दैन । यद्यपि पुनरावेदन अदालत, सुर्खेतमा वादी नेपाल सरकारको पुनरावेदन परेपछि विपक्षी झिकाउने आदेश भई पुनरावेदक प्रतिवादीलाई पेसीको सूचना दिई सुनुवाइको मौका दिएको
देखिन्छ । पेसीको सूचना प्राप्त गरी झिकाइसकेपछि निज प्रतिवादीले कानूनी सहायताका लागि पुनरावेदन अदालत, सुर्खेतमा कानून व्यवसायी राख्न नसकेको भनी निःशुल्क कानूनी सहायताका लागि निवेदन दिन सक्नेमा त्यस्तो निवेदन दिएको नदेखिँदा पुनरावेदन अदालत, सुर्खेतले सुनुवाइको मौका नै नदिएको भन्ने अर्थ गर्न मिलेन ।
६. मार्नेसम्मको मनसाय रहेको थिएन भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा पुनरावेदक प्रतिवादीका पिता १२/१३ वर्षदेखि घरमा नभएका, पुनरावेदक प्रतिवादीलाई मृतक आफैँले पालन पोषण गर्दै आएकी र पुनरावेदक प्रतिवादीको मृतकसँग पटक पटक झगडा हुने गरेको भन्ने जाहेरवाला तथा मौकामा बुझिएका मानिसहरूको मौकाको भनाई तथा अदालतमा गरेको बकपत्रसमेतबाट देखिन्छ । वारदातको दिन बिहानसमेत प्रतिवादीसँग मृतक लल्ता बोगटीको झगडा परेको भन्ने बुझिएका प्रतिवादीका हजुरबुबा विष्णुबहादुर बोगटीले मौकामा एवं अदालतमा बकपत्र गर्दा खुलाएको पाइन्छ । घटनास्थल तथा लास जाँच मुचुल्कामा डोरीले घाँटीमा पासो लगाई झुन्डिएको, पासोको गाँठो पछाडि गर्धनमा रहेको, डोरीको पासो बनाई घाँटीमा छिराई पुनः गाँठो पारी बाँधेको, टाउको अगाडि झुन्डिएको, कपालका रौंहरू खोल्सिएको, नाकबाट रगत निस्केको, बायाँ आँखामाथि निधारको दाहिने साइडमा सानो घाउ रहेको, नाकको डाँडीमा र बायाँ गालामा २ ठाउँमा छाला खोस्रिएको भन्ने खुलाएको पाइन्छ भने मृत्युको कारण Hanging भनी जिल्ला स्वास्थ्य कार्यालय दैलेखका Dr. Pratik Poudel ले खुलाई पठाएको समेतका प्रमाणहरूबाट मृतकलाई मार्नेसम्मको मनसाय थिएन कि भनी शंका गर्न सकिने अवस्था देखिँदैन । आफ्नै आमालाई कुटपिट गर्दा लडी बेहोस भएपछि घरमा गई डोरी खोजी ल्याई झुन्ड्याउने कार्यलाई मनसायरहित कार्य भन्न मिलेन । मार्नेसम्मको मनसाय नभएको भए आफूले प्रहार गरेको मुक्काको कारण बेहोस भई भुइँमा लडेपछि होसमा ल्याउने प्रयास गर्न सक्ने थिए । त्यसो नगरी उल्टै डोरीको पासो लगाई झुन्ड्याई मारेको अवस्थामा मनसाय नभई तत्काल उठेको रिस थाम्न नसकी आवेशप्रेरित हत्या हुन गएको भन्न सकिएन ।
७. आवेश प्रेरित हत्या हुनका लागि मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. मा “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नु पर्छ” भन्ने व्यवस्था रहेको छ ।
८. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले लुकी चोरी हानेको वा कुनै जोखिमी हतियारले हानेको वा विष खुवाई हत्या गरेको नभई लात र मुक्काले हान्दा मृतकको मृत्यु भएको भन्ने अर्थ गरी सुरू दोलखा जिल्ला अदालतले निज प्रतिवादीलाई आवेशप्रेरित हत्या अपराधमा दश वर्ष कैद ठहर गरेको
देखियो । पुनरावेदक प्रतिवादीले आमालाई हात मुक्काले हिर्काएपछि मृतक भुइँमा ढली बेहोस भएको अवस्थामा मार्ने मनसाय नभएको भए घरमा गएर डोरी खोजी ल्याई घिसार्दै रूखमा लगेर झुन्ड्याई मार्ने कार्य गर्ने थिएनन् । तसर्थ उल्लिखित कानूनी व्यवस्थाअनुसार मार्ने मनसाय बिना तत्काल उठेको रिस थाम्न नसकी मुक्काले हिर्काउँदा मृतक लल्ता बोगटीको मृत्यु भएको नभई झुन्ड्याएर कर्तव्य गरी हत्या गरेको भन्ने शव परीक्षण प्रतिवेदनबाट खुल्न आएको अवस्थामा मार्ने मनसाय रहेनछ वा थिएन भनी व्याख्या गर्न न्यायको मर्मविपरीत हुन जान्छ ।
९. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले मृतकलाई मारेकोमा साबित रही अधिकारप्राप्त अधिकारी एवं अदालतसमक्ष बयान गरेको देखिन्छ । निजको बयानबाट पनि पहिले हात र मुक्काले कोखामा हान्दा मृतक भुइँमा ढलेपछि बोलाउँदा नबोलेकी हुँदा घरमा गई डोरी ल्याई रूखमा लगी झुन्ड्याएको भनी खुलाएको देखिन्छ । मौकामा कागज गर्ने व्यक्तिहरूले अदालतमा आई गरेको बकपत्र, जाहेरी दरखास्त एवं जाहेरवालाको बकपत्र, घटनास्थल तथा लास जाँच मुचुल्कामा मृतकका विभिन्न ठाउँमा घाउ रहेको भन्ने खुलेको समेतबाट मृतकलाई पुनरावेदक प्रतिवादीले कुटपिट गरी बेहोस भएको अवस्थामा झुन्ड्याई हत्या गरेको भन्ने पुष्टि भएको देखिँदा पुनरावेदन अदालतको फैसलालाई अन्यथा गरी रहन परेन ।
१० .तसर्थ माथि विवेचित तथ्य, कानूनी व्यवस्था एवं सबुत प्रमाणहरूबाट पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम दश वर्ष कैद सजाय हुने ठहर्याई भएको सुरू दैलेख जिल्ला अदालतको फैसला उल्टी गरी निज प्रतिवादीलाई ऐ. महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरी पुनरावेदन अदालत, सुर्खेतबाट मिति २०६८।९।१२ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको उमेर, योभन्दा पहिलेको निजको आचरण, पुनरावेदक प्रतिवादीलाई मृतकले कुटेको कारण उत्पन्न भएको परिस्थितिका कारण वारदात घट्न गएको अवस्था, मृतकलाई मार्ने पूर्वयोजना बनाएको नदेखिएको र निजको आर्थिक तथा सामाजिक अवस्थासमेतलाई विचार गर्दा निजलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम पुनरावेदक प्रतिवादी ईश्वर बोगटीलाई बाह्र (१२) वर्ष कैद सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी ईश्वर बोगटीलाई बाह्र (१२) वर्ष कैद सजाय हुने ठहर भएकाले पुनरावेदन अदालत, सुर्खेतको फैसलाको तपसिल खण्डमा राखिएको सर्वस्वसहित जन्मकैदको लगत कट्टा गरी निज प्रतिवादी मिति २०६७।९।२१ देखि प्रहरी हिरासतमा रहेको मिसिलबाट देखिएकाले सो मितिबाट २०७९।९।२० मा बाह्र (१२) वर्ष कैद सजाय भुक्तान हुने देखिँदा सो मितिसम्म कैदमा राखी अन्य कारणले थुनामा राख्नु नपर्ने भए मिति २०७९।९।२१ मा प्रस्तुत मुद्दाबाट थुनामुक्त गरी दिनु भनी सुरू दैलेख जिल्ला अदालतमा लेखी पठाउनू -------------------१
फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू -------------------------२
उक्त रायमा सहमत छु ।
न्या. गोपाल पराजुली
इजलास अधिकृतः इन्दिरा शर्मा
इति संवत् २०७३ साल जेठ ३ गते रोज २ शुभम् ।