निर्णय नं. ९७२५ - अंश

सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला मिति : २०७३।६।१३
०६७-NF-००२६
मुद्दाः अंश
निवेदक वादी : भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं.४ बस्ने पाँचकन्या प्रजापतीसमेत
विरूद्ध
विपक्षी प्रतिवादी : ऐ.ऐ. बस्ने हरिचन्द्र प्रजापतीसमेत
मुलुकी ऐन, अंश बन्डाको १० नं. ले बाबु, आमा र लोग्नेलाई आफ्ना सन्तती, छोराछोरी र श्रीमतीलाई इज्जत आमदअनुसार खान लाउन, शिक्षा दिक्षा, स्वास्थ्योपचारको व्यवस्था गरी दिन पर्छ भनी घरको मूल व्यक्तिउपर जिम्मेवारी तोकेको देखिन्छ । अंशबन्डा गरिदिँदा आफ्ना सम्पत्ति तथा सबै अंशियारहरू जीयजीयैको अंश गरिदिनुपर्ने र अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गरी दिनु भनी अंश बन्डाको १ र २ नं. ले व्यवस्था गरेको छ । पैतृक सम्पत्तिमा बाबु, आमा, लोग्ने र श्रीमतीले जथाभावी गरी अंशियारहरूमध्ये कसैलाई काखा र कसैलाई पाखा राख्ने गरी पैतृक सम्पत्तिको बाँडफाँड र हक हस्तान्तरण गर्न मिल्दैन । यसो गर्दा बाबु आमाले आफूले पैतृक वा स्वआर्जन जुनसुकै तरिकाबाट आर्जन गरेको भए पनि सन्ततीको लागि पैतृकसरह हुन्छ भन्ने कुरा पनि हेक्का राख्नु पर्दछ । साथै वृद्धावस्थामा पालन पोषण गर्ने भन्ने नाममा सन्तत्तिहरूबीचमा प्रत्यक्षरूपमा देखिने र महसुस हुने गरी भेदभाव गर्नसमेत नमिल्ने ।
(प्रकरण नं. ३)
अंशबन्डा गर्दा सबै अंशियारहरूलाई बराबर हुने गरी गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा सबै सम्पत्तिबाट बराबर कि.का. गर्दा व्यवहारमा मिल्दो नहुन पनि सक्दछ । त्यसैले सम्पत्तिको मूल्याङ्कन, क्षेत्रफल, बनोट, प्रकृति आदि तथ्यको आधारमा व्यावहारिक हुने गरी सम्पत्तिको बाँडफाँड गरिदिनु न्यायोचित हुन्छ । साथै त्यस्तो कार्यले सम्पत्तिको उचित व्यवस्थापन भई सबै अंशियारहरूको व्यवहार सल्टिन
पुग्दछ । अंश बन्डाको महलको मुख्य मकसद पनि पैतृक सम्पत्तिको न्यायोचितरूपमा बराबर बाँडफाँड हुनुपर्ने ।
(प्रकरण नं. १६)
बाबुले बासस्थानको लागि हा.ब. गरिदिएको र निजकै सहमति मन्जुरीमा पुरानो घर भत्काई नक्सा पास गरी घर निर्माण गरेको स्थितिमा निजहरूको आफ्नो निजी प्रयास आर्जनबाट गरेको त्यस्तो व्यवहार खल्बल्याउनु न्यायोचित हुँदैन । हा.ब. गरिदिएको जग्गामा हा.ब. गरिदिने पिताले आफूले घर निर्माण गरिदिएको भए वा सो घर निर्माणमा आर्थिक टेवा दिएको भए छोराहरूलाई जग्गा हा.ब. गरिदिनुपर्ने र घर बनाउन सहमति दिनुपर्ने अवस्था नरहने ।
(प्रकरण नं. १७)
निवेदक वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता ध्रुवनाथ पन्त, विद्वान् अधिवक्ताहरू विश्वप्रकाश सिग्देल र विजयप्रसाद मिश्र
विपक्षी प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा र हरिप्रसाद उप्रेती एवं विद्वान् अधिवक्ता बच्चुसिंह खड्का, ईश्वरीप्रसाद भट्टराई
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, अंशबन्डाको महलको १, २ र १९ नं.
सुरू फैसला गर्ने :
मा.जि.न्या.श्री सुष्मालता माथेमा
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या.श्री रणबहादुर बम
मा.न्या.श्री लक्ष्मणमणि रिसाल
स.अ. संयुक्त इजलासबाट फैसला गर्नेः
मा.न्या.श्री मोहन प्रकाश सिटौला
मा.न्या.श्री प्रकाश वस्ती
फैसला
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०६६।१२।१५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम वादी ज्वालाकुमार प्रजापतीसमेतको तर्फबाट पुनरावलोकनको लागि परेको निवेदनमा निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
हामी फिरादीमध्येका हर्षबहादुर र पाँचकन्या श्रीमान श्रीमती हौं । हामीहरूबाट विपक्षीमध्येका हरिचन्द्र, कृष्णभक्त र फिरादीमध्येका ज्वालाकुमारको जन्म भएको हो । एक मात्र छोरी कृष्णेश्वरीको जन्म भएकोमा छोराछोरी सबैको विवाह भइसकेकोले विवाह खर्च पर सार्नुपर्ने अवस्था छैन । हामीबीचमा अंशबन्डा भएको छैन । ठूलो परिवार भएकाले अंशबन्डा गरौं भन्दा विपक्षी छोरा बुहारीहरूले अंशबन्डा गर्दैनौं । भएका जग्गाहरू पनि सबै हामीहरूले मात्र भोगचलन गरी केही दिदैनौं भनी जवाफ दिएकाले हामी वृद्ध अवस्थाका बाबुआमालाई हेला गरेकाले फिरादीमध्येको कान्छो छोरा ज्वालाकुमार मात्रको हेरचाहमा फिरादीको आर्जनको घरमा बस्न बाध्य भएका छौं । तसर्थ फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंश बन्डाको २०, २१, २२ र २३ नं. बमोजिम तायदाती लिई ५ खण्डको ३ खण्ड हाम्रो अंश भाग दिलाइ पाउँ भन्ने फिराद पत्र ।
नाता सम्बन्धमा र अंशियारहरूको विवाह भइसकेकोमा कुनै विवाद छैन । म प्रतिवादीमध्येकी तेजलक्ष्मीले पति कृष्णभक्तको अंश भागमा परेको सम्पत्तिबाट मात्र अंश पाउने हुँदा मलाई प्रतिवादी बनाउनुपर्ने कुनै औचित्य छैन । हामी परिवारबीच सुमधुर सम्बन्ध कायम हुन नसकेकोले हामी अंशियारहरूकै सल्लाहअनुसार भक्तपुर जिल्ला भक्तपुर नं.पा. वडा नं. ४ कि.नं. १९२ बाट कि.का. भई कायम भएको कि.नं. ११३७ को घरजग्गा दिने विपक्षी पिता हर्षबहादुर लिने कृष्णभक्त भएको र.नं. ७४४ मिति २०४४।८।२४ को अंश छोडपत्रको लिखतअनुसार उक्त घरजग्गा मैले पाउने अंशमध्येबाट प्राप्त गरेको हुँ । उक्त लिखतमा आमा साक्षी बस्नुभएको छ । उक्त घरजग्गा पिताले छोडपत्र गरिदिनु भएको मितिदेखि नै म अन्य अंशियारसित मानो छुट्टिई भिन्न बसी आएको छु । अन्य अंशियारहरू सगोलमै छन् । मेरो हकमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम नगरी पिताले अंश छोडपत्र गरी दिएको मिति २०४४।८।२४ लाई मानो छुट्टिएको मिति कायम गरिपाऊँ । साथै मैले माता पिताको हेरविचार नगरेको भन्ने कुरा पनि झुट्ठा हो । मैले माता पिताको सेवा टहल गरी रिझाएबापत मलाई कि.नं. १५४ को जग्गा हा.ब. गरिदिनु भएको छ र यसमा अन्य अंशियारले पनि चित्त बुझाएको अवस्था छ । साथै कि.नं. १५५ को जग्गा पैतृक सम्पत्ति भएको र घर पनि पैतृक सम्पत्तिबाट निर्माण गरिएकोले वादीहरू बस्ने गरेको घर वादीहरूको स्वआर्जनको नभई सगोलको म कृष्ण भक्त प्रजापतीको समेत अंश हक लाग्ने सम्पत्ति हो । यसका साथै मैले घर बनाउँदा र चिउरा उद्योग सञ्चालन गर्दा ऋणसमेत लिएको छु । उक्त कि.नं. ११३७ को घरजग्गामात्र म प्रतिवादी र अन्य अंशियारबीच बन्डा भएको छ । उक्त घरजग्गा अन्य अंशियारबीच बन्डा नलाग्ने हो । कि.नं. ११५४ को जग्गा पिताले मलाई हा.ब. गरिदिनु भएको हो, बन्डा लाग्ने होइन । म प्रतिवादीसँग अबन्डाको सम्पत्ति छैन । सोबाहेक अन्य अंशियारहरूका नामको दर्ता भोग जिम्माको सम्पूर्ण सम्पत्ति ५ भाग लगाई १ भाग म प्रतिवादीसमेतले अंश पाउने गरी न्याय पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका कृष्णभक्त प्रजापती र तेजलक्ष्मी प्रजापतीको संयुक्त प्रतिउत्तर पत्र ।
प्रतिवादीमध्येका कृष्णभक्त प्रजापतीले मिति २०४४।८।२४ मा र.नं. ७४४ मार्फत जग्गा पारित गरी लिई छुट्टिई भिन्न बसेका व्यक्तिलाई समेत गरी ५ भाग अंश लगाउने भन्ने वादीहरूको कथन झुट्टा हो। विपक्षीले अंश लिई भिन्न बसेको अवस्थामा अब बाँकी ४ अंशियार कायम हुनुपर्दछ । जहाँसम्म विपक्षी वादी आमा बाबुको सेवा टहल नगरेको भन्ने कथन छ, सो पनि झुट्टा हो । मैले माता पिताको सेवा टहल गरेबापत २ पटक गरी बकसपत्र गरी जग्गा दिनुभएको छ । मसँग अंशबन्डा गर्नुपर्ने कुनै पैतृक चल अचल सम्पत्ति
छैन । अंशबन्डा गर्नुपर्ने सम्पूर्ण पैतृक सम्पत्ति वादीहरूकै जिम्मा भएकोले मेरो हकमा मिति २०४८।९।२८ लाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण पैतृक सम्पत्तिलाई ४ भाग गरी १ भाग अंश मलाई दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका हरिचन्द्र प्रजापती र देवलक्ष्मी प्रजापतीको तर्फबाट परेको संयुक्त प्रतिउत्तर पत्र ।
आदेशानुसार वादी प्रतिवादीबाट तायदाती फाँटवारी पेस भई मिसिल सामेल रहेको ।
वादी प्रतिवादीबीच रीतपूर्वक अंशबन्डा भएको नदेखिँदा ५ भागको ३ भाग अंश वादीहरूले प्रतिवादीहरूबाट छुट्टयाई चलनसमेत चलाई लिन पाउने ठहर्छ । प्रतिवादी कृष्णभक्तको नाममा रहेको कि.नं. ११३७ को घरजग्गा निजले अंशमध्येबाट प्राप्त गरेको भन्नेमा लगाउको अंश मुद्दामा सो सम्पत्ति निजले पाउने ठहर भएकोले बन्डा गर्न परेन । प्रतिवादी कृष्णभक्तको नामको कि.नं. १५४ र प्रतिवादीमध्येका हरिचन्द्रका नाममा रहेको कि.नं. १४६ र ११३८ का जग्गाहरू वादीमध्येको हर्षबहादुरले बकसपत्र गरिदिएको र अन्य वादीहरूले सो सम्पत्तिउपर दाबी उजुर नगरेका र हाल दातासमेत वादी भई आएको अंश मुद्दामा सो सम्पत्ति बन्डा गर्न मिलेन। वादीले तायदातीमा उल्लेख गरेको भक्तपुर न.पा. वडा नं. ४(ज) कि.नं. ७१ को जग्गा सम्बन्धमा सो कित्ता जग्गा कि.का. भई कि.नं. १२३ र १२४ उनाउ व्यक्तिका नाममा गएको, कि.नं. १४६ र १५४ प्रतिवादीहरूका नाममा हा.ब. भई बन्डा नलाग्ने ठहर भएकोले बाँकी कि.नं. १५५ बाटमात्र बन्डा लाग्छ । सोबाहेक वादीको तायदातीमा उल्लिखित सम्पत्तिबाट ५ भाग लाग्ने भई प्रतिवादी कृष्णभक्तले पाइसकेको अंशबापतको कट्टा गरेरमात्र अंश पाउने गरी लगाउको अंश मुद्दामा निर्णय भएकोले निज कृष्णभक्तको भाग कटाई बाँकी ४ भागबाट ३ भाग अंश वादीहरूले पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू भक्तपुर जिल्ला अदालतको मिति २०६०।१।८ को फैसला ।
हामी अंशियारहरूको बीच बन्डापत्र नभएको अवस्थामा एकाको नामबाट अर्काको नाममा दर्तासम्म सार्नको लागि कुनै कित्ता जग्गा छोडपत्र र कुनै कित्ता जग्गा हा.ब.को लिखतबाट छोराहरूको नाममा सारिएकोसम्म हो । एकासगोलका एक अंशियारका नामबाट अर्का अंशियारका नाममा लैजाँदैमा बन्डा नलाग्ने भन्ने प्रश्न उठ्नै सक्दैन । यदि पिता / पति हर्षबहादुरले हा.ब. गरेर दिएकै कारणले हामी समान अंशियार आमा र भाइसमेतले बन्डा नपाउने हो भने अंश जस्तो नैसर्गिक हकबाट बन्चित हुनुपर्ने र समान अंशियारबीच असमान बन्डा भई अंश बन्डाको २ नं. विपरीत हुन जाने हुन्छ । लिखतमा हा.ब. भनी उल्लेख गरे तापनि हा.ब. दिनु पर्ने कारण व्यवहार प्रमाणबाट पुष्टि हुनुपर्नेमा सो हुन सकेको छैन । एक अंशियारले अर्को अंशियारका नाममा जुनसुकै व्यहोराबाट हक हस्तान्तरण गरेकै भए तापनि पैतृक सम्पत्ति बन्डा लाग्ने नै हुँदा बन्डा नलाग्ने भनी गरेको सुरू फैसला त्रुटिपूर्ण छ । तसर्थ उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा ६(क), ५४ र मुलुकी ऐन, अ.बं.१८४क नं. तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत हुँदा सो बदर गरी वादी कृष्णभक्त र प्रतिवादी हरिचन्द्रका नाममा रहेको सम्पूर्ण सम्पत्ति बन्डा लगाई ५ खण्डको ३ खण्ड हामीहरूको नाममा छुट्टयाई चलनसमेत चलाई हामीहरूको सुरू फिरादपत्र तथा प्रस्तुत पुनरावेदन पत्रबमोजिम गरिपाउँ भन्ने व्यहारोको वादीमध्येका हर्षबहादुर, पाँचकन्या र ज्वालाकुमारको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन ।
मिति २०४४।८।२४ मा विपक्षी मेरो पिता हर्षबहादुर प्रजापतीले तिमी छोराले अंश पाउनेमध्येबाट घर छोडपत्र गरी दिएँ भनी कैफियतमा जनाई छोडपत्र गरी मलाई दिएको पुरानो घर मैले लिएको हो । मैले अरू अंश लिन बाँकी रहेको र उक्त मितिदेखि नै मानो छुट्टी भिन्दै बसी आएको निर्विवाद छ । यसरी मिति २०४४।८।२४ को मितिलाई मानो छुट्टिएको मिति कायम नगरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी भएको उक्त फैसला त्रुटिपूर्ण छ । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने हो भने मैले तायदाती फाँटवारीमा उल्लेख गरेको ऋणसम्बन्धमा विपक्षी अंशियारलाई पनि दामासाहीले भाग लाग्नु पर्नेमा सोबमोजिम नभएको फैसला लेनदेन व्यवहारको ८ नं. तथा अंश बन्डाको १८ नं. विपरीत छ । तसर्थ विपक्षी अंशियारहरूले फिराद गर्नुभन्दा अगाडिदेखि नै म भिन्दै बस्दै आएको स्वीकार गरेको हुँदा मेरो हकमा मानो छुट्टिएको मिति २०४४।८।२४ लाई कायम गर्नुपर्नेमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी भएको उक्त फैसला अंश बन्डाको १८ नं., ने.का.प. २०५२ पृष्ठ ३७१, ने.का.प. २०५० पृष्ठ ५ मा प्रकाशित प्रतिपादित कानूनी सिद्धान्त एवं प्रमाण ऐन, २०३१ को दफा ३, ५४, मुलुकी ऐन, अ.बं. १८४क, र १८५ समेतको त्रुटि भएकोले आंशिक बदर गरी मेरो सुरू प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णभक्तको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन ।
यसमा हरिचन्द्र प्रजापतीको नाममा बकसपत्र गरी दिँदा अरू अंशियारहरूको मन्जुरी नलिएको हुनाले सो जग्गाहरूमा समेत सबै अंशियारहरूको अंश कायम नगरेको सुरू भक्तपुर जिल्ला अदालतको फैसला फरक पर्नसक्ने हुनाले अ.बं. २०२ नं.अनुसार विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६०।९।२५ को आदेश ।
प्रस्तुत मुद्दामा तायदाती फाँटवारीमा उल्लेख गरेको ऋण धनको हकमा साहुको उजुर परेका बखत कानूनबमोजिम हुने नै देखिएको र प्रतिवादी कृष्णभक्तले कि.नं. ११३७ अंश छोडपत्रबाट र कि.नं. १५४ हा.ब.बाट प्राप्त गरेको, प्रतिवादी हरिचन्द्रले कि.नं.११३८ र १४६ बाबु हर्षबहादुरबाट हा.ब.बाट प्राप्त गरेको घरजग्गा र निजहरूले निजी खर्चबाट बनाएका भनेका घरहरू सबै सम्पत्तिबाट अंशबन्डा लाग्ने ठहर्छ । सोबमोजिम नगरेको हदसम्म सुरू फैसला मिलेको नदेखिँदा केही उल्टी हुन्छ । अरू कुरामा सुरू जिल्ला अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६१।६।१९ को फैसला ।
मेरा पिता हर्षबहादुरले मिति २०३९।३।८ मा खरिद गरिलिएको कि.नं. १४६ को जग्गा पिताले आफ्ना पालामा आर्जनको आफूखुस गर्न पाउने सम्पत्ति हो, पैतृक बन्डा लाग्ने सम्पत्ति होइन । पिताले आफूखुस गर्न पाउने उक्त सम्पत्ति मलाई हा.ब. गरिदिनु भएकोले सो सम्पत्ति बन्डा लाग्ने सम्पत्ति हो भन्न मिल्दैन । साथै मेरा नामको कि.नं. ११३८ साबिक कि.नं. १९१ बाट कि.का. भई कायम भएको घरजग्गा हो । सो घरजग्गा पनि पिता हर्षबहादुरले आफ्ना पिता पुर्खाको कुनै लगत वा स्रेस्ता देखाई आफ्ना नाममा दर्ता गरेको नभई आफ्नै पालामा २०४० सालमा स्वबासी दर्ता गरी लिएको अचल सम्पत्ति हो । पिता पुर्खाको पैतृक सम्पत्ति होइन । यसरी बन्डा नलाग्ने सम्पत्तिलाई बन्डा लाग्ने भनी गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण छ । मैले पिताबाट प्राप्त गरेको अचल सम्पत्तिहरू पिताले आफ्ना पालामा आर्जेको सम्पत्ति होइन भन्न सक्नु भएको छैन । मैले लिएको लिखतमा विपक्षीहरूको नालेस परेको पनि छैन । मुलुकी ऐन, अंश बन्डाको १९ नं. को देहाय २ बमोजिम पिता हर्षबहादुरले आफूखुस गरी दिन पाउने अचल सम्पत्ति म छोरा हरिचन्द्रलाई हालैको बकसपत्रको लिखत गरी दिनु भएको हो । अंश बन्डाको १९ नं. को देहाय ५ मा “माथि लेखिएबमोजिम दिन पाउने जति अंशबन्डा नहुँदै कुनै स्वास्नी, अविवाहित छोरी वा बुहारीलाई लिखत गरी दिएको जति पछि अंशबन्डा गर्दा बन्डा गर्नुपर्दैन । जसले पाएको हो उसले एकलौटी गरी खान पाउँछ” भन्ने कानूनी व्यवस्था रहेको छ । पिताले मलाई कि.नं. १४६ को जग्गामात्र दिनु भएको थियो । त्यसमा पछि मैले घर बनाएको हुँ । त्यस्तै कि.नं. ११३८ को घर पनि पुरानो जिर्ण भई भत्किई मैले मेरो नाममा नक्सा पास गरी घर बनाई बसोवास गरेको छु । पिता हर्षबहादुरले मलाई दिएको लिखतउपर कसैको पनि दाबी छैन । मैले प्राप्त गरेको सम्पत्ति बन्डा लाग्ने होइन भनी स्वीकार गर्ने कृष्णभक्तसमेतले अंश पाउने गरी फैसला भएको
छ । जो त्रुटिपूर्ण छ । यसरी सो जग्गाहरू र सोमा बनेको घरसमेत बन्डा गर्न नपर्ने भई मैले एकलौटी लिन खान पाउने कानूनी व्यवस्था अंश बन्डाको १९ नं. को देहाय २ र ५ मा रहेकोमा उल्लिखित कानूनको गम्भिर त्रुटि गरी प्रमाण ऐन, २०३१ को दफा ६(क) को आधार लिई बन्डा लाग्ने ठहर्छ भनी गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा मुलुकी ऐन, अ.बं. १८४क, १८५ र अंश बन्डाको १९ नं. को देहाय २ र ५ तथा प्रमाण ऐन, २०३१ को दफा ३४ र ५४ समेतको त्रुटि रहे भएकोले पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी सुरू भक्तपुर जिल्ला अदालतको फैसला सदर ठहर्याई इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका हरिचन्द्र प्रजापतीको यस अदालतमा पुनरावेदन ।
मानो छुट्टिएको मिति कायम गर्ने विषयमा लिएको उक्त निर्णयाधार निरपेक्ष होइन । अंश बन्डाको १८ नं.ले अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खती उपती आफ्नो आफ्नो गरी आफ्नो हिस्सासम्म मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्छ भन्ने व्यवस्था छ । पिताले र.नं. ७४४ मिति २०४४।८।२४ को छोडपत्रको लिखतबाट कि.नं. ११३७ को जग्गा र सो जग्गामा बनेको घर चर्की भत्कन लागेको घरमध्येबाट दिएबमोजिम लिई उक्त मितिदेखि नै मानो छुट्टिई भिन्न बसी आएको र ऋण लिई उक्त भत्कन लागेको घरलाई भत्काई नयाँ घर बनाई बसेकोमा प्रतिवादीहरूले स्वीकार गरेकै छन् । पिताले उक्त छोडपत्र गरिदिएउपर विपक्षी अंशियारहरूसमेतको कुनै उजुर परेको छैन । पिता हर्षबहादुरले र.नं. ४४१ मिति २०४९।५।१० मा हा.ब. गरी कि.नं.१५४ को जग्गामात्र दिनुभएको थियो । उक्त जग्गामा मैले ऋण लिई घर बनाएको
छु । अतः आफैँ घर बनाई बस्नु भनी अंशमध्येको जग्गा छुट्टयाई भत्कन लागेको घर मेरो भागमा पारी दिएपछि सो भत्कन लागेको घर आफ्नो निजी प्रयासबाट पुनः निर्माण गरी सकेपछि पुनः सगोलको ठहर गर्न अंश बन्डाको १८ नं., प्रमाण ऐन, २०३१ को दफा २९, सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तसमेत विपरीत भई प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा अ.बं. १८४ र १८५ नं. समेतको त्रुटि भएकोले बदर गरी मेरो प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णभक्तको यस अदालतमा पुनरावेदन ।
यसमा हर्षबहादुरले राजीनामाबाट प्राप्त गरेको सम्पत्तिलाई अंशमध्येको भनी छोरा कृष्णभक्त प्रजापतीलाई मिति २०४४।८।२४ मा अंश छोडपत्रको लिखत पारित गरी दिएको देखिएको अवस्थामा सो अंश छोडपत्र गरेको सम्पत्तिबाट बन्डा लाग्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसलामा अंश बन्डाको १८ र १९(२) नं. को व्याख्यात्मक त्रुटि देखिएको र अंश छोडपत्रको लिखतको आधारमा लिखत पारित भएको मितिबाट कृष्णभक्त प्रजापती छुट्टिभिन्न भई अलग बसेको ठहर गर्नुपर्ने स्थितिको विद्यमानता हुँदा पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६६।८।१० को आदेश ।
मानो छुट्टिएको मितिको सम्बन्धमा मुख नमिलेकोमा फिराद परेको मितिलाई नै मानो छुट्टिएको मिति कायम गर्ने न्यायिक परिपाटी तथा कानूनी व्यवस्था हो । विपक्षी र हामीबीचमा रीतपूवर्क बन्डा भएको छैन । बन्डापत्र हुनको लागि अंश बन्डाको १ नं.बमोजिम बन्डा हुनुपर्दछ । विपक्षीले लिएको जग्गा अंश बन्डाको महलबमोजिम रीतपूर्वक बन्डा गरी लिएको होइन । कि.नं. १५५ मलाई पिता हर्षबहादुरले मिति २०४९।५।१९ मा शे.ब. गरी दिनुभएकोमा सो कित्ता बन्डा भएको छ । मैले शे.ब.बाट पाएको कित्ता बन्डा हुने सोही प्रकृतिको सम्पत्ति विपक्षीले पाएको बन्डा नहुने हुनै सक्दैन । एक अंशियारको नामबाट अर्को अंशियारको हक जाने र लिनेको एकलौटी हक हुने कुनै कानूनी व्यवस्था छैन । अंश गर्दा अंश बन्डाको १ नं. ले जीयजीयै र २ नं. ले बराबर गरिनु पर्ने प्रस्ट छ । विपक्षीको नाममा भएको सम्पत्तिबाट हामीले अंश नपाउने हो भने अंश बन्डाको २ नं.को प्रतिकूल हुन जाने स्वतः स्पष्ट छ । विवादको सम्पत्तिमा हाम्रो अंश हक छैन भनी विपक्षीहरूले पुष्टि गर्न सकेको अवस्थासमेत छैन । तसर्थ माथिका आधार र कारणबाट पुनरावेदन अदालत, पाटनको फैसला यथावत् कायम राखिपाउँ भन्नेसमेत व्यहोराको वादी पाँचकन्या र ज्वालाकुमार प्रजापतीको लिखित प्रतिवाद ।
यसमा वादीले सुरू भक्तपुर जिल्ला अदालतमा पेस गरेको मालपोत कार्यालयअन्तर्गत दर्ता स्रेस्ता रहेको कि.नं. ४६६, ४७०, ५२, ५३, १५५, १५७, ३७१, ४९२, ५४, ५५, ४६८, ४९६, ३३२, २२४ र १५५ को घर जग्गासमेतबाट वादी दाबीअनुसार ५ भाग लाग्ने भई प्रतिवादी कृष्णभक्तले अंशबापत पाइसकेको कि.नं. ११३७ कट्टा गरेरमात्र अंश पाउने गरी लगाउको दे.पु.नं. ९३७४ र ९३९४ को अंश मुद्दामा ठहर भएकोले निज कृष्णभक्तको भाग कटाई बाँकी ४ भागबाट ३ भाग अंश प्रतिवादीहरूबाट वादीले बन्डा छुट्याई लिन पाउने ठहर्छ । सो ठहराई फैसला गर्नुपर्नेमा सुरू फैसला उल्टी गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६१।६।१९ को फैसला केही उल्टी भई सुरूको फैसला सदर हुने ठहर्छ भन्ने व्यहोराको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०६६।१२।१५ को फैसला ।
यसमा लगाउको अंश मुद्दामा आजै पुनरावलोकन गरिपाउन छुट्टै निवेदन गरेको हुँदा सो निवेदनसमेत साथै राखी यसै निवेदनको अभिन्न अंग मानिपाऊँ । विवादित घरजग्गा पति/पिता हर्षबहादुरको स्वआर्जनको होइन । अंश बन्डाको १९ नं.ले आफ्ना पालामा आर्जेको जग्गा आफूखुस गर्न पाउने कुरामा विवाद छैन । अन्य व्यक्तिलाई हस्तान्तरण हुनु र अंशियारहरूबीच हस्तान्तरण हुनु फरक हो । प्रस्तुत मुद्दामा ठूलो परिवार भई घर व्यवहार मिलाउने क्रममा अंशबन्डा नहुँदै अंशियारहरूलाई हक हस्तान्तरण गरेको कुरालाई पृथकरूपमा हेर्नुपर्दछ । प्रस्तुत मुद्दामा बन्डा नलाग्ने भनी फैसला हुन गएका विवादित कि.नं. ११३७, ११३८, १४६ र १५४ हुन् । उक्त जग्गामध्ये कि.नं. ११३७ र ११३८ को साबिक स्रोत कि.नं.१९२ हो । कि.नं. १९२ को घरजग्गा हर्षबहादुरले पछि खरिद गरेको नभई साबिकदेखि भोगचलन गरेको आधारमा स्वबासी दर्ता गराउनु भएको हो । कृष्णभक्तलाई छोडपत्र गरिदिएको कि.नं. ११३७ अंशमध्येको भन्ने बोली परेकाले बन्डा लाग्ने सम्पत्ति हो भन्ने पुष्टि
हुन्छ । उक्त स्वबासी दर्ताको कि.नं. १९२ को घरजग्गाबाट कि.का. गरी ११३७ को घरजग्गा कृष्णभक्त र ११३८ को घरजग्गा हरिचन्द्र प्रजापतीका नाममा रहेकोमा त्यस्तो स्वबासी घरजग्गालाई स्वआर्जनको भनी हुन गएको फैसला त्रुटिपूर्ण छ । यसरी विवादित कि.नं. ११३७ र ११३८ का जग्गा स्वबासी दर्ताको र कि.नं. १४६ र १५४ को जग्गा सगोलको सम्पत्तिबाट खरिद गरी घर निर्माण गरिएको हो । त्यस्तो बन्डा लाग्ने घरजग्गा पिता हर्षबहादुरका नामबाट सगोलका छोराका नाममा राखिएकोसम्म हो । यसरी विपक्षीहरूका नाममा सरेकै कारणबाट अंश हक नलाग्ने हुँदैन । यस्तो सम्पत्ति बन्डा नलाग्ने गरी भएको फैसला बदरभागी छ । विवादको घरजग्गा सुरू जिल्ला अदालतले बन्डा नगरेकोमा पुनरावेदन अदालतबाट बन्डा लाग्ने फैसला भएको हो । कि.नं.१४६ बाट कि.का. भई कि.नं. १५४ कृष्णभक्तका नाममा र कि.नं. १५५ हर्षबहादुरका नाममा बाँकी रहन गएको हो। हर्षबहादुरले सो कि.नं. १५५ म ज्वालाकुमार प्रजापतीलाई मिति २०४९।५।१९ मा शे.ब. लिखत पारित गरिदिनु भएको हो । एउटै स्रोतको घरजग्गाबाट म ज्वाला कुमारले पाएको बन्डा हुने विपक्षीहरूले पाएको बन्डा नहुने गरी भएको फैसला न्यायसम्मत छैन । तसर्थ सर्वोच्च अदालत संयक्त इजलासबाट मिति २०६६।१२।१५ मा भएको फैसला सर्वोच्च अदालतद्वारा ने.का.प. २०४१ नि.नं. २१०३ पृ. ७६२ समेतमा प्रतिपादित पूर्व नजिर विपरीत भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) को अवस्था विद्यमान भएकोले प्रस्तुत मुद्दा पुनरावलोकन गरी सो बन्डा नलाग्ने भनी हुन गएका हदसम्मको घरजग्गाको फैसला बदर गरी बन्डा लाग्ने ठहर्याई हाम्रो अंश हक सुरक्षित गरिपाउँ भन्ने वादी पाँचकन्या प्रजापती र हर्षबहादुरको मु.स. गरी आफ्नो हकमा समेत ज्वालाकुमार प्रजापतीको निवेदन ।
यसमा सम्बन्धित सुरू, रेकर्ड (पुनरावेदन अदालत र यस अदालतसमेतको) र भए प्रमाण मिसिलसमेत झिकाई नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०६७।११।२७ को आदेश ।
यसमा “पुर्खाबाट हक सरी आई बाबुमा निहित रहेको सम्पत्ति र बाबु आमाले आफ्नो जीवनकालमा निजी ज्ञान, सीप, प्रयास वा दान दातव्य वा कुनै व्यहोराबाट प्राप्त गरेको भए पनि खुस गर्न बाँकी रहेको सम्पत्ति छोराछोरीको हकमा पैतृक सम्पत्ति हुन जाने भएकाले सो सम्पत्ति छोराछोरीहरूमा अंश भाग लाग्ने सम्पत्ति मान्नुपर्ने” भनी यस अदालतबाट पुनरावेदक प्रतिवादी गंगाप्रसाद भगतसमेत वि. प्रत्यर्थी वादी उमेशकुमार भगत भएको अंश मुद्दा (ने.का.प. २०६६ नि.नं. ८२३१ पृष्ठ १५५६-१५५७) मा सिद्धान्त प्रतिपादन भएको देखिन आएको परिप्रेक्ष्यमा एक अंशियारले अर्को अंशियारको नाममा अर्थात् बाबुको नाममा रहेको सम्पत्ति बाबुले जुनसुकै व्यहोराबाट अन्य अंशियारको नाममा हक हस्तान्तरण गरे तापनि त्यस्तो हक हस्तान्तरण गरेको सम्पत्ति अंशियारबीच बन्डा लाग्ने नै हुँदा त्यस्तो सम्पत्ति अंशियारबीच बन्डा लगाउनु पर्नेमा सो नगरी पुनरावेदन अदालत, पाटनको फैसलालाई केही उल्टी गरी बाबु हर्षबहादुरले प्रतिवादीमध्येका कृष्णभक्त र हरिचन्द्र प्रजापतीका नामको छोडपत्र र हा.ब. लिखत गरिदिएका कि.नं.का जग्गाहरू बाबु हर्षबहादुरको निजी आर्जन मानी अंशियारबीच बन्डा नलाग्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०६६।१२।१५ मा फैसला भएको देखियो । प्रस्तुत फैसलामा उल्लेख गरिएको ने.का.प.२०५९ नि.नं. ८०८७ को नजिरले आफ्नो पालामा मुख्यले आर्जन गरो सम्पत्ति अंशबन्डाको १९(२) नं.ले आफूखुस गर्न पाउनेसम्म बोलेको हो । आफ्नो पालामा बाबु आमाले आर्जन गरेको सम्पत्ति छोराछोरीले अंश नपाउने भन्ने उक्त नजिरले नबोलेको देखिए पनि सोको गलत अर्थ लगाई प्रस्तुत मुद्दामा वादीको बाबु हर्षबहादुरले आर्जन गरेको सा.कि.नं. १९२ हालको कि.नं. १३३७, ११३८, १४६ र १५४ का जग्गाबाट वादीले अंश नपाउने ठहराएको यस अदालतको उक्त मिति २०६६।१२।१५ को फैसला उक्त नजिरलगायत अनेक मुद्दामा यस अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तविपरीत देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६८।१।१६ को आदेश ।
विपक्षी प्रतिवादी कृष्णभक्त प्रजापतीले पेस गरेको लिखित प्रतिवाद मिसिल सामेल रहेको ।
यसमा प्रस्तुत विवाद मेलमिलापबाट निरूपण हुन उपयुक्त देखिएको र दुवै पक्षका कानून व्यवसायीले मेलमिलापको प्रयास राम्रो हुने भनी इजलाससमक्ष व्यक्त गरेको हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६५(घ) बमोजिम १ महिनाको समय दिई सर्वोच्च अदालत मेलमिलाप केन्द्रमा पठाई दिएको छ । नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०७२।५।१० को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी ज्वालाकुमार प्रजापतीसमेतका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री ध्रुवनाथ पन्त, विद्वान् अधिवक्ताहरू श्री विश्वप्रकाश सिग्देल र श्री विजयप्रसाद मिश्रले सगोलमा रहेको सम्पत्ति बाबुले अर्को अंशियारको नाममा हक हस्तान्तरण गर्दैमा अंश छोडपत्र गरिदिएको भन्न मिल्दैन । त्यस्तो हक हस्तान्तरणलाई अंश बन्डाको रूपमा लिन पनि मिल्दैन । निवेदक वादी र विपक्षी प्रतिवादीहरूका बीचमा हालसम्म रीतपूर्वक अंशबन्डा भएको अवस्था छैन । बाबुले निवेदक वादी ज्वालाकुमारलाई शे.ब. गरिदिएको कि.नं. १५५ को जग्गा सगोलको भई सबै अंशियारलाई बन्डा लाग्ने तर सोही प्रकृतिबाट विपक्षी कृष्णभक्तलाई दिएको जग्गा बन्डा नहुने भन्न मिल्दैन । बाबुको पालामा आर्जेका सम्पत्ति छोराहरूको लागि पैतृकसरह भएकोले सबै अंशियारहरूका बीचमा समानरूपमा बन्डा
हुनुपर्दछ । ठूलो परिवार भएकोले घर सीमित सम्पत्तिको हक हस्तान्तरणलगायतका व्यवहार मिलाउने कार्यलाई अंशबन्डा भन्न मिल्दैन । त्यसैले अंश छोडपत्र र हा.ब. गरिदिएको जग्गासमेत बन्डा लाग्ने गरी भएको पुनरावेदन अदालतको फैसला न्यायोचित छ । विवादित घरजग्गाहरू पति / पिता हर्षबहादुरको लागि पनि निजी आर्जन नभई पैतृक हो । विवादित स्वबासी पैतृक घरजग्गाको हैसियत समान रहेको अवस्थामा सगोलकै घरजग्गालाई निजी आर्जनको मानी हरिचन्द्र र कृष्णभक्तले पाएको बन्डा नलाग्ने तर समान स्तरबाटै ज्वालाकुमार प्रजापतीले पाएको सम्पत्ति बन्डा लाग्ने भनी सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी हरिचन्द्र र कृष्णभक्तले पाएको जग्गासमेत बन्डा गर्नुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।
विपक्षी प्रतिवादी हरिचन्द्र प्रजापतीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री हरिप्रसाद उप्रेती एवं विद्वान् अधिवक्ता श्री बच्चुसिंह खड्काले पिता हर्षबहादुरले २०३९ सालमा खरिद गरिलिएको कि.नं. १४६ को जग्गा आफ्ना पालामा आर्जेको निजी आर्जनको भएकोले र सो जग्गा हरिचन्द्रलाई हा.ब. गरिदिएको जग्गा हरिचन्द्रको एकलौटी हुने भएकोले बन्डा लाग्ने होइन । कि.नं. ११३८ को जग्गा सा.कि.नं. १९१ बाट कि.का. भई कायम भएको जग्गा हो । सो जग्गा पिता हर्षबहादुरको पैतृक नभई २०४० सालमा स्वबासी दर्ता गरी लिएको हो । अंश बन्डाको १९(५) ले सो सम्पत्तिसमेत बन्डा नलाग्ने हुँदा सोबाट कृष्णभक्तले पाउने अवस्था छैन । यस्तो अवस्थामा सुरू भक्तपुर जिल्ला अदालतले गरेको फैसला न्यायोचित भएकोले सो सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको फैसला न्यायसम्मत भएकोले सदर हुनुपर्दछ भनी बहस गर्नुभएको बहस सुनियो ।
विपक्षी प्रतिवादी कृष्णभक्त प्रजापतीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराईले यी प्रतिवादीलाई पिता हर्षबहादुरले मिति २०४४।८।२४ मा अंश छोडपत्रबाट आफ्नी श्रीमती साक्षी राखी कि.नं. ११३७ को जग्गा र सोमा बनेको घर र कि.नं. १५४ को जग्गा मिति २०४९।५।१० मा हा.ब. गरी दिएको हो। यस विषयमा अन्य अंशियारहरूको कुनै दाबी विरोध रहेको छैन । त्यसपछिका कारोबारहरूमा कृष्णभक्तलाई एकाघरको भनी देखाइएको अवस्था छैन । यसबाट मिति २०४४।८।२४ को अंश छोडपत्रको लिखतबाटै कृष्णभक्त भन्ने छुटिएर बसेको स्पष्ट हुन्छ । आफैँले अंश छोडपत्र र हा.ब. बाट एकपटक हक हस्तान्तरण गरी सकेको जग्गा पुनः आफूलाई समेत बन्डा लाग्छ भनी हर्षबहादुर र पाँचकन्याले भन्न मिल्ने अवस्था छैन । मानो छुट्टिएर अलग बसेको अवस्थामा आफ्नो खती उपती गरी बढेबढाएको सम्पत्ति स्वआर्जनको भई बन्डा गर्नु नपर्ने हुँदा कृष्णभक्तले अंश छोडपत्र र हा.ब. बाट प्राप्त सम्पत्ति बन्डा लाग्ने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । सो फैसला बदर गरी कृष्णभक्तको ती जग्गाहरू बन्डा गर्नु नपर्ने ठहराएको सुरू फैसला न्यायसम्मत हुँदा सो सुरू फैसला सदर गरेको सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो । अब पुनरावेदन अदालत, पाटनको फैसला केही उल्टी गरी सुरू फैसलालाई सदर कायम गरेको सर्वोच्च अदालत संयुक्त इजलासको फैसला मिलेको छ छैन तथा निवेदक वादीको निवेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
प्रस्तुत मुद्दामा हर्षबहादुर प्रजापती र पाँचकन्या प्रजापती श्रीमान श्रीमती भई उनीहरूबाट हरिचन्द्र, कृष्णभक्त र ज्वालाकुमारसमेत ३ छोरा र एक छोरी कृष्णेश्वरीको जन्म भएकोमा छोराछोरी सबैको विवाह भइसकेकोले विवाह खर्च पर सार्नु पर्ने अवस्था नरहेकोले हर्षबहादुर, पाँचकन्या र ज्वालाकुमार वादी भई हरिचन्द्र, कृष्णभक्त र निजहरूका श्रीमतीहरूलाई प्रतिवादी बनाई फिराद दायर गरेको देखिन्छ । फिरादमा हामीबीचमा अंशबन्डा नभएको, परिवार ठूलो भएको र भएको जग्गा पनि विपक्षी प्रतिवादीहरूले मात्र भोगचलन गरेका, हामी वृद्धबृद्वालाई फिरादीमध्येकै छोरा ज्वालाकुमारले मात्र हेरचाह गरी विपक्षीहरूले हेला गर्न थालेकोले फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशबन्डाको महलबमोजिम अंशबन्डा तायदाती लिई ५ भागको ३ भाग अंश दिलाई पाऊँ भनी मिति २०५८।२।१२ मा फिराद गरेको देखिन्छ भने नाता सम्बन्ध र अंशियारहरूको विवाह भइसकेको सम्बन्धमा कुनै विवाद नभएको र मिति २०४४।८।२४ को छोडपत्रको लिखत अनुसार कि.नं. ११३७ मा रहेको घरजग्गा प्राप्त गरेकोले सोही मितिलाई मानो छुट्टिएको मिति कायम गरिपाउँ भनी प्रतिवादी कृष्णभक्तको प्रतिउत्तर जिकिर रहेको देखिन्छ भने प्रतिवादी हरिचन्द्रले अंशबन्डा गर्न बाँकी भए पनि प्रतिवादीमध्येका कृष्णभक्त मिति २०४४।८।२४ मा जग्गा लिई अंश छोडपत्र गरी भिन्न भई बसेको अवस्थामा निजलाई समेत गणना गरी ५ अंशियार कायम गर्न मिल्दैन । त्यसैले अब ४ अंशियार मात्र कायम गर्नु पर्दछ । मैले माता पिताको सेवा हेरचाह गरेबापत मिति २०४८।९।२८ मा कि.नं. ११३८ र मिति २०४८।१०।१ मा कि.नं. १४६ को जग्गा हा.ब. पाएकोले मिति २०४०।९।२८ लाई मानो छुट्टिएको मिति कायम गरी अंशबन्डा गरिपाउँ भनी प्रतिउत्तर दिएकोमा सुरू भक्तपुर जिल्ला अदाललते वादी ज्वालाकुमारले मिति २०४९।५।१९ मा शे.ब. बापत पाएको कि.नं. १५५ बाट र वादीतर्फबाट मिति २०५९।८।१२ को तायदातीमा उल्लिखित सम्पत्तिबाट ५ भाग लाग्नेमा प्रतिवादीमध्येका कृष्णभक्तले मिति २०४४।८।२४ मा अंश छोडपत्र गरी कि.नं. ११३७ को जग्गा पाइसकेको अवस्थामा सोसमेत निजको भाग कायम गरी बाँकी जग्गालाई ४ भाग गरी ३ भाग अंश वादीहरूले पाउने ठहर्याई फैसला भएकोमा पुनरावेदन अदालत, पाटनले सो फैसला उल्टी गरी कि.नं. ११३७ को घरजग्गा, कि.नं.११३८ को घरजग्गा, कि.नं.१४६ र १५४ का जग्गासमेत बन्डा लाग्ने ठहराएकोमा सो फैसला केही उल्टी गरी सुरू फैसला सदर गरेउपर वादीहरूको तर्फबाट प्रस्तुत पुनरावलोकनको निवेदन पर्न आएको देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा मुलुकी ऐन, अंश बन्डाको महलले अंश बन्डाको अवधारणगत व्यवस्था र कानूनी आधारसम्बन्धी व्यवस्था गरेको छ । “अंश बन्डा” भन्नाले पैतृक सम्पत्तिको बराबर न्यायोचित बाँडफाँड गर्नुपर्ने कुरालाई नै बोध गराउँदछ । त्यसैले अंश हकलाई सबै अंशियारहरूको नैसर्गिक अधिकारको रूपमा नेपाल कानूनले हक सिर्जना गरी मान्यता प्रदान गरेको पाइन्छ ।
३. मुलुकी ऐन, अंश बन्डाको १० नं.ले बाबु, आमा र लोग्नेलाई आफ्ना सन्तती, छोराछोरी र श्रीमतीलाई इज्जत आमदअनुसार खान लाउन, शिक्षा दिक्षा, स्वास्थ्योपचारको व्यवस्था गरी दिन पर्छ भनी घरको मूल व्यक्तिउपर जिम्मेवारी तोकेको देखिन्छ । अंशबन्डा गरिदिँदा आफ्ना सम्पत्ति तथा सबै अंशियारहरू जीयजीयैको अंश गरिदिनुपर्ने र अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गरी दिनु भनी अंश बन्डाको १ र २ नं.ले व्यवस्था गरेको छ । पैतृक सम्पत्तिमा बाबु, आमा, लोग्ने र श्रीमतीले जथाभावी गरी अंशियारहरूमध्ये कसैलाई काखा र कसैलाई पाखा राख्ने गरी पैतृक सम्पत्तिको बाँडफाँड र हक हस्तान्तरण गर्न मिल्दैन । यसो गर्दा बाबु आमाले आफूले पैतृक वा स्वआर्जन जुनसुकै तरिकाबाट आर्जन गरेको भए पनि सन्ततीको लागि पैतृकसरह हुन्छ भन्ने कुरा पनि हेक्का राख्नुपर्दछ । साथै वृद्धावस्थामा पालन पोषण गर्ने भन्ने नाममा सन्तत्तिहरूबीचमा प्रत्यक्षरूपमा देखिने र महसुस हुने गरी भेदभाव गर्नसमेत
मिल्दैन । प्रस्तुत मुद्दाको सन्दर्भमा समेत वादी हर्षबहादुर र पाँचकन्याले अंश छोडपत्र, हा.ब. र शे.ब.बाट छोराहरू वादीमध्येकै ज्वालाकुमार र प्रतिवादीहरू कृष्णभक्त र हरिचन्द्रलाई फरक फरक मितिमा हक हस्तान्तरण गरेको पाइन्छ । यसरी भएको हक हस्तान्तरणलाई अंशबन्डा सरह मान्ने हो वा अंशबन्डा गर्दा त्यसरी हक हस्तान्तरण भएको भागलाई अंशबन्डा गर्दा समायोजन गर्नुपर्ने हो भन्ने सम्बन्धमा निर्क्यौल गरी निर्णय गर्नुपर्ने देखियो ।
४. पैतृक सम्पत्तिमा सबै अंशियारहरूको बराबर अश हक रहने हुँदा त्यस्तो सम्पत्ति बेचबिखन गर्दा र अंशियारहरूमध्येकै व्यक्तिलाई अंश छोडपत्र, हा.ब, शे.ब. लगायतबाट हक हस्तान्तरण गर्दा के, कति र कसरी त्यस्तो व्यवहार गर्न मिल्ने हो भन्ने बारेमा मुलुकी ऐन, अंश बन्डाको १९ नं. मा कानूनी व्यवस्था रहेभएको देखिन्छ ।
५. सगोलमा रहेको आफूखुस गर्न नपाउने सम्पत्तिको हक हस्तान्तरण गर्दा सगोलमा रहेका २१ वर्ष नाघेका स्वास्नी, छोरा, एकासगोलकी छोरी र विधवा बुहारीहरूको मन्जुरी भएमात्र पिता पुर्खाको आर्जनको समेत चल अचल सम्पत्ति मन परेका स्वास्नी, छोरा, एकासगोलकी छोरी वा बुहारीलाई दिनसमेत आफूखुस गरेको सदर हुन्छ भनी सोही १९(३) नं.मा व्यवस्था गरेको पाइयो ।
६. त्यस्तै आफूखुसी गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको हकको अंश जति भने आफूखुसी गर्न पाउने गरी ऐ. १९(४) नं.मा व्यवस्था गरेको रहेछ ।
७. दिन पाउने जति अंशबन्डा नहुँदै कुनै स्वास्नी, छोरा, एकासगोलका छोरी वा बुहारीलाई लिखत गरी दिएको जति पछि अंशबन्डा गर्दा बन्डा गर्नुपर्दैन । जसले पाएको हो, उसले एकलौटी गरी खान पाउँछ । दिन नपाउने दिएको रहेछ भने पछि बन्डा गर्दा सोसमेत सबै सम्पत्ति मिलाई बन्डा गरिदिनु पर्छ भनी ऐ. १९(५) नं.मा व्यवस्था गरेको पाइयो ।
८. उपर्युक्त कानूनी व्यवस्थाले बाबुले पिता पुर्खाको आर्जनको पैतृक सम्पत्तिमध्ये अन्य अंशियारहरूको सहमति मन्जुरीमा अंशियारमध्येकै व्यक्तिहरूलाई हस्तान्तरण गर्नसक्ने देखिन्छ । साथै आफ्नो अंश हक जतिमा आफूखुसी गर्न पाउने पनि देखियो ।
९. अब प्रस्तुत मुद्दामा भएको तथ्यहरूको उक्त कानूनी व्यवस्थाको बारेमा विवेचना गरी हेर्दा पैतृक सम्पत्तिमध्ये साबिक कि.नं. १९२ को जग्गामध्येबाट कि.का. भई हाल कायम कि.नं. ११३७ क्षे.फ. ०-०-३-२ को घरजग्गा हर्षबहादुरले आफ्नी श्रीमती पाँचकन्यालाई रोहवरमा राखी मिति २०४४।८।२४ मा अंश छोडपत्रको लिखत गरी जेठा छोरा प्रतिवादी कृष्णभक्तलाई हक हस्तान्तरण गरेको देखिन्छ । त्यसैगरी कि.नं. १५४ को ०-१-२-१ जग्गा मिति २०४९।५।१० मा पिताले गरिदिएको हा.ब.बाट प्रतिवादी कृष्णभक्तले नै प्राप्त गरेको देखिन्छ । साथै साबिक कि.नं. १९१ बाट कि.का. भई हालको कि.नं. ११३८ को ०-०-३-२ जग्गा मिति २०४८।९।२८ मा र कि.नं. १४६ को ०-३-३-२ जग्गा पिताले गरिदिएको हा.ब. बाट प्रतिवादीमध्येका हरिचन्द्रले प्राप्त गरेको देखिन्छ भने कि.नं. १५५ क्षे.फ. ०-६-३-१ को जग्गा पिता हर्षबहादुरले वादीमध्येकै छोरा ज्वालाकुमारलाई मिति २०४९।५।१९ मा शे.ब. बाट हक हस्तान्तरण गरेको देखिन आउँछ । यसरी प्रस्तुत मुद्दामा उमेर पुगेका छोराहरूलाई व्यवस्थितरूपमा अंशबन्डा गरी दिनु पर्नेमा फरकफरक मितिमा मनोमानी ढंगले अंश छोडपत्र, हा.ब. र शे.ब. लगायतबाट हक हस्तान्तरण गरेको, समयमा अंश बन्डा हुन नसकेको, मानो छुट्टिएको मिति सम्बन्धमा फरकफरक मितिहरू कायम हुनुपर्छ भनी दाबी जिकिर देखिएको र धेरैपछिमात्र अंश बन्डाको फिराद परेको देखिन्छ । प्रस्तुत अंश मुद्दा परेपछि प्रतिवादीमध्येका कृष्णभक्तले अंशबापत केही जग्गा पाए पनि अन्य अंश नपाएको हुँदा पाएको अंश कट्टा गरी बाँकी अंश पाउँ भनी पुनः अर्को फिराद मिति २०५८।१०।२५ मा दायर गरी सो मुद्दासमेत प्रस्तुत मुद्दासँगै साथै लगाउ रहँदै आएको र साथै पेस भएको देखिन्छ ।
१०. ती पैतृक सम्पत्ति हस्तान्तरण गर्नुको मुख्य उद्देश्य छोराहरूले पाउने अंशमध्ये उक्त कित्ता नं.का जग्गामा निज छोराहरूले घर निर्माण गरी बसोबास गर्नु नै रहेको देखिन्छ । परिवार निकै ठूलो भएको अवस्थामा यस्तो हुनु स्वाभाविक पनि
देखिन्छ । सो तथ्य जेठा छोरा कृष्णभक्तलाई र.नं. ७४४ मिति २०४४।८।४ मा सा.कि.नं. १९२ को जग्गामध्ये कि.नं. ११३७ को ०-०-३-२ को जग्गा अंश छोडपत्र गरिदिँदा घर चर्किएको अवस्थामा रहेकोले निज छोराको अंशमध्येबाट सो जग्गा हा.ब. गरिदिएको भनी सो लिखतको कैफियत महलमा खुलाएको व्यहोराबाट पुष्टि हुन्छ ।
११. महिला छोरा प्रतिवादी हरिचन्द्रलाई सा.कि.नं. १९१ मध्येबाट कि.नं. ११३८ क्षे.फ. ०-०-३-२ जग्गा मिति २०४८।९।२८ मा हा.ब.बाट हक हस्तान्तरण गरिदिएको र सो जग्गामा नक्सा पास गरी घर निर्माण गरेको भन्ने देखिन आएको छ । वस्तुतः अंशियारहरूमध्ये जेठा र महिला छोराहरूलाई घर निर्माण गरी बसोबास गर्न पिताले केही जग्गा दिएको स्पष्ट हुन्छ । पिताले छोराहरूलाई बसोवासको लागि आफ्नो सा.कि.नं. १९१ र १९२ बाट जग्गा दिई अब पिताको नाममा केवल कि.नं. १५५ क्षे.फ. ०-६-३-१ जग्गा बाँकी रहेको भन्ने तायदाती फाँटवारीबाट देखिन आउँछ ।
१२. आफ्ना सन्तती छोराहरू साथसाथै एकै स्थानमा बसोबास गरून् भन्ने चाहनाअनुसार नै पिताले पुरानो चर्केका घरहरू जेठा र माहिला छोरालाई हा.ब. गरिदिएको देखिन्छ । निजहरूले सो पुरानो घर पातालसम्म भत्काई बाबुको मन्जुरी सहमति लिई नक्सा पास गरी नयाँ घरहरू बनाई बसोबास गरी आएकोले सो स्थानमा निजहरूको घरहरू रहेको भन्ने तायदातीमा उल्लिखित व्यहोरासमेतबाट देखियो ।
१३. तायदाती फाँटवारी हेर्दा बाबुको नाममा बन्डा गर्नुपर्ने धेरै जग्गाहरू रहेको भन्ने देखिन आएको छ। घर बसोबास प्रयोजनसम्मको लागि जेठा र माहिला छोराहरूलाई निजहरूले पाउने अंशमध्येकै केही जग्गा बाबुले हस्तान्तरण गरिदिएको र कुनै लिखतमा आमा पाँचकन्या पनि रोहवरमा बसी सहिछाप गरेको
देखिन्छ ।
१४. मुलुकी ऐन अंश बन्डाको १० नं. मा भएको इज्जत आमदअनुसार खान लाउन, उचित शिक्षा दिक्षाको व्यवस्था गर्नुपर्नेअन्तर्गत बासस्थानको व्यवस्थासमेत स्वतः समावेश हुनेहुँदा कुनै निश्चित पैतृक सम्पत्ति (जग्गा) बाट घर बसोबासको लागि छोराहरूलाई अंशबापत हक हस्तान्तरण गरेको कार्यलाई अन्यथा भन्न पनि सकिँदैन । बाबुले सा.कि.नं. १९१ र १९२ बाट कि.का. गरी जेठा कृष्णभक्त र माहिला हरिचन्द्रलाई क्रमशः ११३७ क्षे.फ. ०-०-३-२ र कि.नं. ११३८ क्षे.फ. ०-०-३-२ जग्गा दिई अब कि.नं. १५५ को ०-६-३-१ बाँकी राखेबाट पनि जेठा र माहिला छोराहरूलाई सो कित्ताबाट सबै जग्गा दिएको देखिँदैन ।
१५. बाबुबाट अंश छोडपत्रबाट कि.नं. ११३७ क्षे.फ. ०-०-३-२ को जग्गा पाई जेठा छोरा प्रतिवादी कृष्णभक्तले ४ तले माटाको जोडाई भएको घर र हा.ब. पाएको कि.नं. १५४ को ०-१-२-१ जग्गामा तीन तले पक्की घर बनाई चिउरा मिल सञ्चालन गरेको भन्ने तायदातीमा उल्लेख छ भने माहिला छोरा प्रतिवादी हरिचन्द्रले हा.ब.बाट पाएको कि.नं. ११३८ क्षे.फ. ०-०-३-२ को जग्गामा ५ तले घर रहेको भन्ने तायदातीमा उल्लेख छ । दुई छोराहरूलाई हा.ब. गरी बाँकी रहेको कि.नं. १५५ मा २ तले घर रहेको भन्ने तायदातीमा उल्लेख छ । यसबाट प्रतिवादीहरू कृष्णभक्त र हरिचन्द्रले बसोबासको लागि अलगअलग घर बनाई बसेको भन्ने देखियो ।
१६. अंशबन्डा गर्दा सबै अंशियारहरूलाई बराबर हुने गरी गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा सबै सम्पत्तिबाट बराबर कि.का. गर्दा व्यवहारमा मिल्दो नहुन पनि सक्दछ । त्यसैले सम्पत्तिको मूल्याङ्कन, क्षेत्रफल, बनोट, प्रकृति आदि तथ्यको आधारमा व्यावहारिक हुने गरी सम्पत्तिको बाँडफाँड गरिदिनु न्यायोचित
हुन्छ । साथै त्यस्तो कार्यले सम्पत्तिको उचित व्यवस्थापन भई सबै अंशियारहरूको व्यवहार सल्टिन पुग्दछ । अंश बन्डाको महलको मुख्य मकसद पनि पैतृक सम्पत्तिको न्यायोचितरूपमा बराबर बाँडफाँड हुनुपर्ने नै हो ।
१७. अर्कोतर्फ बाबुले बासस्थानको लागि हा.ब. गरिदिएको र निजकै सहमति मन्जुरीमा पुरानो घर भत्काई नक्सा पास गरी घर निर्माण गरेको स्थितिमा निजहरूको आफ्नो निजी प्रयास आर्जनबाट गरेको त्यस्तो व्यवहार खल्बल्याउनु न्यायोचित हुँदैन । हा.ब. गरिदिएको जग्गामा हा.ब. गरिदिने पिताले आफूले घर निर्माण गरिदिएको भए वा सो घर निर्माणमा आर्थिक टेवा दिएको भए छोराहरूलाई जग्गा हा.ब. गरिदिनुपर्ने र घर बनाउन सहमति दिनुपर्ने अवस्था रहने थिएन ।
१८. साबिक कि.नं. १२५ क्षे.फ. ०-१२-० को पैतृक सम्पत्तिमध्ये कि.का. गरी जेठा कृष्णभक्त र माहिला हरिचन्द्रलाई हा.ब. गरी बाँकी कि.नं. १५५ मा ०-६-३-१ जग्गा बाँकी रहेको देखिन आएको हुँदा प्रतिवादीहरू कृष्णभक्त र हरिचन्द्रलाई अंश छोडपत्र र हा.ब. गरदिएको सबै कित्ता जग्गाहरूको क्षेत्रफलको तुलनामा करिब करिब बराबरी जस्तो क्षे.फ. सो पैतृक जग्गामध्येबाट बाँकी नै रहेको देखिन्छ ।
१९. बासस्थानको लागि निजैहरूले पाउने अंशमध्ये कै केही जग्गा पिताले हा.ब. गरिदिएका र कुनै लिखतमा आमासमेतको मञ्जुरी भएको देखिँदा त्यस्तो हा.ब. गरी हस्तान्तरण गर्न अंश बन्डाको महलको १० र १९(३)(४) र (५) नं. ले बाधा पुर्याएको पनि देखिन आउँदैन । अंश बन्डाको १९(५) नं. अनुसार पैतृक सम्पत्तिमध्ये केही जग्गा जमीन अंशियार छोराहरूलाई हक हस्तान्तरण गर्न मिल्ने र पछि बन्डा गर्दा त्यस्तो सम्पत्ति मिलाई बन्डा गर्नु नपर्ने कानूनी अवस्था रहेको पनि देखिन्छ । यसबाट प्रतिवादीहरूले अंश छोडपत्र र हा.ब.बाट प्राप्त गरेको जग्गा सगोलको सम्पत्तिमा मिसाई बन्डा गर्ने नभई प्रतिवादीहरूले पाएको भाग कट्टा गरी बाँकी सगोलको सम्पत्तिको अंशबन्डा हुनु न्यायोचित देखिन्छ ।
२०. यसर्थ साबिक कि.नं. १२५ को पैतृक सम्पत्तिबाट पाउने अंश हक प्रतिवादीहरू कृष्णभक्त र हरिचन्द्रले प्राप्त गरी व्यवहार मिलाई सकेको हुँदा सो सा.कि.नं. १२५ बाट निज प्रतिवादीहरूले पाउने अंश कट्टा गरी बाँकी रहेको कि.नं. १५५ को घरजग्गामा निज प्रतिवादीहरू कृष्णभक्त र हरिचन्द्रले अंश पाउने अवस्था देखिन आउँदैन । तसर्थ कि.नं. १५५ को घरजग्गासमेतबाट यी प्रतिवादीहरूले समेत अंश पाउने ठहराएको हदसम्म यस अदालत संयुक्त इजलासको मिति २०६६।१२।१५ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई सो कि.नं. १५५ क्षे.फ. ०-६-३-१ को घर जग्गाबाट प्रतिवादीहरू कृष्णभक्त र हरिचन्द्रले अंश नपाउने ठहर्छ । परिणामतः हरिचन्द्रका नामको कि.नं. १४६ र ११३८ को जग्गा र सोमा रहेको घर तथा कृष्णभक्तका नाममा रहेको कि.नं. १५४ र ११३७ को जग्गा र सोमा रहेको घर अंशबन्डा नलाग्ने भई हरिचन्द्र र कृष्णभक्तको एकलौटी हक कायम रहने ठहर्छ । सोबाहेकको अन्य कुराका हकमा सुरू भक्तपुर जिल्ला अदालतको मिति २०६०।१।८ को फैसला सदर गरेको यस अदालतको संयुक्त इजलासको उक्त फैसला सदर हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम यस अदालतको संयुक्त इजलासको मिति २०६६।१२।१५ को फैसला केही उल्टी भई हर्षबहादुर प्रजापतीका नाम दर्ता रहेको कि.नं. १५५ क्षे.फ. ०-६-३-१ को घर जग्गा बन्डा नलाग्ने ठहरेकोले सो कि.नं. १५५ को घरजग्गा बन्डा छुट्टाइदिनु नपर्ने र अरूमा यस अदालतको संयुक्त इजलासको मिति २०६६।१२।१५ को फैसला अनुसार गर्नु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाइदिनू --------------------------------------१
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा पठाई दिनू -----------------------२
उक्त रायमा हामी सहमत छौं ।
न्या. ईश्वरप्रसाद खतिवडा
न्या. प्रकाशमान सिंह राउत
इजलास अधिकृत: विदुर काफ्ले
इति संवत् २०७३ साल असोज १३ गते रोज ५ शुभम्