निर्णय नं. ९७२८ - कर्तव्य ज्यान ।

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
फैसला मिति : २०७३।०२।०४
०६८-CR-१४००
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादी : रूकुम जिल्ला, घेत्मा गाउँ विकास समिति वडा नं. १ घर भई हाल कारागार कार्यालय तुलसीपुर दाङमा थुनामा रहेका भद्रे कामी
विरूद्ध
प्रत्यर्थी वादी : प्रजित मल्लको जाहेरीले नेपाल सरकार
फौजदारी मुद्दामा मनसाय तत्त्वलाई विशेष हेरिनुपर्छ । मनसायसहित गरेको आपराधिक कार्य र मनसाय बिना गरेको आपराधिक कार्यलाई छुट्टाछुट्टैरूपमा हेर्नुपर्ने हुन्छ । फौजदारी कानूनमा मनसायसहित गरेको आपराधिक कार्यलाई जघन्य अपराधको रूपमा हेरिन्छ र हेरिनु पनि पर्छ । कसैको हत्या गर्ने पूर्व योजना बनाई हत्या गरेपछि अपराध गरेमा साबिती बयान दिएकै आधारमा अदालतलाई सहयोग गरेको हुँदा सजायमा छुट पाउनुपर्छ भनी जिकिर लिएकै आधारमा अदालतले सजायबाट छुट दिंदा समाजमा पुनः आपराधिक गतिविधिले प्रश्रय पाउन सक्नेतर्फ समेत दृष्टि पुर्याउनु पर्ने हुन जाने ।
फौजदारी कानूनले अनुसन्धान तथा अदालतको काम कारवाहीमा सहयोग गरेको अवस्थामा अभियुक्तले सजायमा छुट पाउन सक्छ भनी राखेको प्रावधानको उद्देश्य योजनाबद्धरूपमा गरेको मानवता विरूद्धको जघन्य अपराधका दोषीलाई समेत सजायमा छुट दिनुपर्छ भन्ने नभई पूर्व रिसइवी र योजना नबनाई कसैको हत्या हुन गए वा कुनै गैरकानूनी कार्य हुन गएको अवस्थाका अभियुक्तलाई सजायमा केही छुट दिने भन्नेसम्म हुने ।
(प्रकरण नं. ४)
पुनरावेदक प्रतवादीको तर्फबाट :
प्रत्यर्थी वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्ने :
मा.जिल्ला न्यायाधीश श्री अर्जुन अधिकारी
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी
माननीय न्यायाधीश मिहिरकुमार ठाकुर
फैसला
स.का.मु.प्र.न्या. सुशीला कार्की : पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६८।९।२६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :
घेत्मा गाउँ विकास समिति वडा नं. ८ बाँके ज्युलामा पसल गरी बस्ने मेरो भाइ जयबहादुर मल्लले पसलको सामान लिन जाने भनी प्रतिवादी भद्रे कामीसँग २/४ दिन पहिला सल्लाह गरी मिति २०६६।४।२१ गते दिउँसो नगद रू.१०,००,०००/- (दश लाख रूपैयाँ) र ७ तोला सुनका विभिन्न गरगहना लिई छोरा दिनेश मल्ललाई कक्षा ११ मा सुर्खेतमा भर्ना गर्ने, भारतमा उपचारार्थ रहेका भिनाजुलाई पैसा पठाउने र फर्कंदा नेपालगञ्जबाट पसलको सामान ल्याउने भनी घरबाट गएका, प्रतिवादी भद्रे कामीसँगको पूर्व सल्लाह अनुसार प्रतिवादी भद्रे कामी पनि सो दिन बिहानै घरबाट गई चौरजहारीमा भाइ जयबहादुर मल्लसँग भेट भई शशीराम कामीको डाँडागाउँले होटलमा सँगै खाना खाई सुती राति २.०० बजेको समयमा त्यहाँबाट सुर्खेत जान भनी हिँडेकामा निजहरू विजयश्वरी गाउँ विकास समितिको जुम्रामारे भन्ने स्थानमा पुगेपछि प्रतिवादी भद्रे कामीले जयबहादुर मल्ललाई टाउकामा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारी जयबहादुरको साथमा भएको नगद र सुनका गरगहनासमेत लिई गएको भन्नेसमेत व्यहोराको प्रजित मल्लको जाहेरी ।
मृतक जयबहादुर मल्लको टाउकोमा धारिलो हतियारले काटेको विभिन्न नाप साइजका घाउ चोटहरू रहेको र मृतको मृत्युको कारण Injury in the head भन्ने उल्लेख भएको जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटको शव परीक्षण प्रतिवेदन ।
मिति २०६६।४।२१ गते बेलुका राति अं. ९.०० बजेको समयमा प्रतिवादी भद्रे कामी, मृतक जयबहादुर मल्ल, वीरबहादुर घर्ती, सर्वजित वि.क.ले डाँडागाउँले होटलमा बसी रक्सी मासु खाएका हुन् । मृतक र प्रतिवादी भद्रे कामीले खाना खाइसकेपछि वीरबहादुर घर्तीकी श्रीमती लिन आएकाले निज आफ्नो घरतर्फ गए । म र सर्वजित वि.क. बरन्डामा एकैसाथ सुत्यौं । मृतक र प्रतिवादी एउटै कोठामा सँगै सुतेका हुन् । निजहरू राति कुन समयमा त्यहाँबाट उठी गए थाहा भएन । भोलिपल्टमात्र भद्रे कामीले जयबहादुर मल्ललाई मारेको भन्ने कुरा सुनी थाहा पाएको
हुँ । जयबहादुर मल्लसँग नगद रू.१०,००,०००।– (दश लाख रूपैयाँ) र सुनका गरगहना भएकाले सोही धनमालको प्रलोभनले गर्दा भद्रे कामीले जयबहादुर मल्ललाई कर्तव्य गरी मारेको विश्वास लाग्छ भन्नेसमेत व्यहोराको दिपक विश्वकर्माको घटना विवरण ।
मिति २०६६।४।२१ गते अं. ७.०० बजेको समयमा म घरबाट चौरजहारी बजारतर्फ आउने क्रममा जिल्ला जाजरकोट डाँडागाउँ गाउँ विकास समिति वडा नं. ४ बस्ने सर्वजित वि.क.सँग भेट भई ऐ. बस्ने रूकुम चौरजहारी बजारको शशीराम वि.क.को डाडागाउँले होटलमा २ बोतल रक्सी र मासु खाई करिब ८.०० बजेको समयमा म घरतर्फ लागें र भोलिपल्ट बिहान सर्वजित वि.क. भेट गर्न आउँदा निज जाजरकोटतर्फ नजाने भएपछि म आफ्नो घरतर्फ गएँ । करिब १०.०० बजेको समयमा जयबहदुर मल्ललाई निजको साथी भद्रे कामीले कर्तव्य गरी मारी ७ तोला सुन र नगद रकम लिई भागेको कुरा बजारमा सुनी थाहा पाएको हुँ । उक्त वारदात घटना प्रतिवादी भद्रे कामीले नै घटाएको हुनुपर्छ भन्नेसमेत व्यहोराको मनबहादुर सुनारको घटना विवरण कागज ।
प्रतिवादी भद्रे कामीले आफूले जाहेरवालाको भाइ मृतक जयबहादुर मल्ललाई कर्तव्य गरी मार्दा प्रयोग गरेको चक्कु, घटनास्थलनजिकै रहेको झाडीमा फालेको भनेकाले सो स्थानमा गई खोजतलास गर्दा चक्कु थान-१ फेला परेको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का ।
प्रतिवादी भद्रे कामीले जयबहादुर मल्ललाई कर्तव्य गरी मारी निजको साथमा रहेको सुनका गहना र नगद रकमहरू लिई आफ्नो घरमा लुकाई राखेको कुरा बताएकाले सो स्थानमा गई नगद रू.९२,०००।-, १३ थान सुनका गहनाहरू र मोबाइल सेटसमेत बरामद भएको भन्नेसमेत व्यहोराको बरामदी खानतलासी मुचुल्का ।
मृतक जयबहादुर र म मिति २०६६।४।१९ गते भेट भई हामी दुवै जना सुर्खेत हुँदै नेपालगञ्ज जाने सल्लाह भएअनुसार म मिति २०६६।४।२१ गते बिहानै घरबाट हिँडी चौरजहारी पुगेको हुँ । सोही दिनको बेलुका ६.०० बजेतिर मेरो जयबहादुरसँग भेट भई हामी २ जना वीरबहादुर घर्तीको पसलमा गई केही बेर कुराकानी गरी बयरसमेत खाएको हो । पछि हामी खाना खान र सुत्नको लागि शशीराम वि.क.को होटलमा गएर फेरि रक्सी मासु र खाना खाई मृतक जयबहादुर र म राति त्यहीँ बस्यौं । सोही राति अं. २.०० बजेतिर जयबहादुर र म सामान लिन जाने भनेर उठेर जाँदै गर्दा बाटोमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरीले रोकी सोद्धा मैले हामीहरू व्यापारी हौँ सामान लिन जान लागेको भनी परिचय दिई नाम दर्ता गराई त्यहाँबाट हिँडी विजयश्वरी -४ जुम्रामारे भन्ने स्थानमा पुगेपछि मैले साथमा लगेको चक्कु निकाली जयबहादुर मल्ललाई पछाडिबाट टाउकमा हानेँ । निजले ऐया भनी करायो, मैले पटक पटक चक्कु प्रहार गरी डिलमुनि फालेँ र निजको मृत्यु भएपछि निजको साथमा रहेको नगद, सुनका गरगहना, मोबाइल सेटसमेत लिएर अरू सामन त्यहीँ छोडेँ । हतारमा काम गर्दा मैले लगाएको चप्पल, छाता र टर्चसमेत घटनास्थलमै छुटेको
थियो । वारदातमा प्रयोग भएको चक्कु घटनास्थल नजिक झाडीमा फालेको हुँ । मैले लिएर आएका सुनका गरगहना र नगद रूपैयाँ घरमा ल्याई मेरै घरको कोठामा रहेको मकैको बोराभित्र राखेको थिएँ । मैले जयबहादुर मल्ललाई नगद र सुनका गरगहनाको प्रलोभनले गर्दा कर्तव्य गरी मारेको हुँ । हाल बरामद भई आएको चक्कु, चप्पल, टर्च, छाता, मोबाइल सेट, नगद रूपैयाँ र सुनका गरगहना देखाउँदा चिनेँ । ती सामानहरू मध्ये छुरी थान-१, चप्पल जोर-१, टर्च थान-१ र छाता थान-१ मेरा हुन्, नगद र गरगहनालगायत अरू सामान जयबहादुर मल्लको हो भन्नेसमेत व्यहोराको प्रतिवादी भद्रे कामीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
मिति २०६६।४।२१ गते म आफ्नो बाजे शशीराम वि.क.को होटलमा बसेको अवस्थामा वीरबहादुर घर्ती, मृतक जयबहादुर मल्ल, प्रतिवादी भद्रे कामी र मसमेतले सँगै मासु रक्सी खाएका हौं । पछि भद्रे कामी र मृतक जयबहादुर मल्ल खाना खाई एउटै कोठामा सुतेका थिए । निजहरू त्यहाँबाट कति बेला उठी गए थाहा भएन । भोलिपल्ट मात्रै भद्रे कामीले जयबहादुर मल्ललाई मारेको भन्ने कुरा सुनी थाहा पाएको हुँ । जयबहादुर मल्लसँग रू.१०,००,०००।- र सुनका गरगहना भएकाले सोही धनमालको प्रलोभनले गर्दा भद्रे कामीले जयबहादुर मल्ललाई कर्तव्य गरी मारेकोमा पूरा विश्वास छ भन्नेसमेत एकै मिलान व्यहोराको सर्वजित वि.क. (कामी) र शशीराम वि.क. को घटना विवरण ।
मृतक जयबहादुर मल्लले मेरो पसलबाट विगत ३/४ वर्ष पहिलेदेखि जुत्ता र चप्पल नगद तथा उधारो लैजाने गर्नुहुन्थ्यो । करिब एक वर्ष जति भयो होला मेरो पसलबाट सामान लैजान छोडी आजभोलि विरबहादुर घर्तीकोबाट सामान लैजानु हुन्छ । मिति २०६६।४।२२ गते बिहान करिब १०.०० बजेको समयमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी मेरो पसलमा आई जयबहादुर मल्लको फोटो देखाई प्रश्न गर्दै चिन्नुहुन्छ वा हुँदैन भनी मलाई सोधपुछ गर्दा मैले राम्रोसँग चिन्छु भनेँ । त्यसपछि मैले जयबहादुर मल्लको मृत्यु भएको भन्ने सुनी थाहा पाएको हुँ । जयबहादुर मल्ललाई प्रतिवादी भद्रे कामीले नै कर्तव्य गरी मारेकोमा पूरा विश्वास लाग्छ । निजलाई हदैसम्मको सजाय हुनुपर्छ भन्नेसमेत व्यहोराको भीमबहादुर कार्कीको घटना विवरण कागज ।
मिति २०६६।४।२२ गते अं. ९-१० बजेको समयमा हिजो राति भद्रे कामीले जयबहादुर मल्लसँग रहेको नगद तथा सुनका गहनाको लागि मारेको भन्ने चौरजहारी बजारबाट मलाई नेपालगञ्जमा फोनबाट जानकारी भएको थियो । जयबहादुर मल्ललाई निज प्रतिवादी भद्रे कामीले नै कर्तव्य गरी मारेको पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको गोरखबहादुर रावतको घटना विवरण कागज ।
मेरो लोग्ने जयबहादुर मल्लले वारदात घट्नु भन्दा ३-४ दिन अगाडि तिजको लागि फेन्सी कपडा सामान लिन जाने भनी प्रतिवादी भद्रे कामीसँग कुराकानी गरेका थिए । सोही क्रममा लोग्ने जयबहादुर मल्लले छोरा दिनेश मल्ललाई कक्षा ११ मा सुर्खेतमा भर्ना गर्ने, भारतमा उपचारार्थ रहेका भिनाजुलाई पैसा पठाउने र पसलको मालसामान ल्याउने भनी नगद रू.१०,००,०००।- र ७ तोला सुनका गरगहनासमेत लिई मिति २०६६।४।२१ गते दिउसो घरबाट हिँडेका हुन् । सोही दिन बिहान गएको भद्रे कामी चौरजहारीमा मेरो लोग्नेलाई पर्खी बसेकोले भेट भई साँझ दुवै जना डाँडागाउँले होटलमा सँगै खाना खाई सुतेकामा राति २.०० बजेको समयमा उठी सामान खरिद गर्न भनी जाने क्रममा जुम्रामारे भन्ने स्थानमा पुग्दा मेरो लोग्ने जयबहादुर मल्ललाई प्रतिवादी भद्रे कामीले पछाडिबाट छुरी प्रहार गरी मारी मेरो लोग्नेको साथमा रहेका सम्पूर्ण नगद र सुनका गरगहनासमेत लिई गएको हो । घटनास्थलमा फेला परेका मालसामान र प्रतिवादीको घरबाट बरामद भएको नगद र सुनका गरगरहनासमेत देखाउँदा देखेँ ती मालसामान नगद रूपैयाँ सुनका गरगहना र लुगा कपडा मेरा लोग्ने जयबहादुर मल्लका हुन् भन्नेसमेत व्यहोराको मृतककी कान्छी श्रीमती विमला मल्लको घटना विवण कागज ।
मिति २०६६।४।२१ गते दिउँसो प्रतिवादी भद्रे कामी जयबहादुरलाई खोज्दै मेरो पसलमा आएका थिए । निजले जयबहादुर मल्ल आएपछि त्रिवेणी होटलमा पठाई दिनु भनी फर्की गएका हुन् । बेलुका ६.०० बजेको समयमा फेरि जयबहादुर मल्ल र प्रतिवादी भद्रे कामी दुवै जनासँगै मेरो पसलमा आई जयबहादुरले मलाई पसलको बाँकीमध्ये रू.२०,०००।– दिए । निजले मालसामान ल्याउन नेपालगञ्ज जानु छ भन्थे । बेलुका हामी ३ जना बसेर मेरै घरमा २ बोतल बियर खाएपछि मैले निजलाई खाना खुवाउनको लागि मेरो चिनजानको शशीराम वि.क.को डाँडागाउँले होटलमा पुर्याएर केही बेर बसी म फर्की आएँ, निजहरू त्यहीँ बसेका थिए । राति २.०० बजेतिर भद्रे कामी मेरो कोठामा छुटेको छाता लिन आएका थिए र सोही दिन बिहान फेरी ४.०० बजेतिर प्रतिवादी भद्रे कामी फर्की आई जयबहादुर मल्ललाई परसम्म पुर्याएर आएँ । म घरतर्फ फर्कन लागेको
छु । गाउँघरतिर केही खबर भए लगिदिन्छु भनी गएका हुन् । भोलिपल्ट मात्र मैले जयबहादुरको मृत्यु भएको कुरा थाहा पाएको हुँ । जयबहादुर मल्ललाई नगद र सुनका गरगहनाको प्रलोभनमा परी प्रतिवादी भद्रे कामीले नै कर्तव्य गरी मरेको हो भन्नेसमेत व्यहोराको वीरबहादुर घर्तीको घटना विवरण कागज ।
प्रतिवादी भद्रे कामीको घरबाट बरामद भएका सुनका गहना र नगद रकम रू.९२,०००।-, नोकिया मोबाइल र घटनास्थलमा बरामद भएको सामानहरू मलाई देखाई चिनाउँदा चिनी पाएँ । उक्त सुनका गहना र नगद रकम तथा घटनास्थलमा फेला परेका सामान मेरा लोग्ने जयबहादुर मल्लको साथमा रहेका सामानहरू हुन् भन्नेसमेत व्यहोराको बिमला मल्लको सनाखत कागज ।
प्रतिवादी भद्रे कामीले जयबहादुर मल्ललाई धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी हत्या गरी निजसँग रहेको नगद तथा सुनका गरगहना लुटी लगेको निजको सो कार्य ज्यानसम्बन्धी महलको १ र १३(१) नं. विपरीत एवं मुलुकी ऐन, चोरीको महलको १ नं. विपरीत ४ नं. बमोजिमको कसुर अपराध हुँदा निज प्रतिवादी भद्रे कामीलाई ज्यानसम्बन्धी महलको १३(१) नं. र चोरीको महलको १४(२) नं. बमोजिम सजाय गरी जबरजस्ती चोरी गरी लिएको कूल बिगो रू.१२,८८,४००।– (बाह्र लाख अठासी हजार चार सय रूपैयाँ) मध्ये बरामद नगद र गरगहनासमेत गरी जम्मा रू.३,८०,४००।– (तीन लाख असी हजार चार सय रूपैयाँ) मुलकी ऐन चोरीको महलको १० नं. र २१ नं. बमोजिम मृतकको हकदारलाई फिर्ता दिई नपुग बिगो रू.९,०८,०००।– (नौ लाख आठ हजार रूपैयाँ) समेत प्रतिवादीबाट मृतकको हकदारलाई दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।
मृतक जयबहादुर मल्ल र मेरो मिति २०६६।४।१९ गते भेट भई सामान ल्याउन भनी सल्ली बजारसम्म सँगै जाउँला भन्ने कुरा गरेअनुसार मिति २०६६।४।१ गते म घरबाट हिँडी चौरजहारी गएको हुँ । निज मृतक जयबहादुरसँग मेरो भेट सोही दिनको साँझ करिब ६.३० बजेतिर चौरजहारी बजारको त्रिवेणी होटलमा भएको हो । भेट भएपछि मृतक, म र वीरबहादुरसमेत ३ जनाले सँगै बसी बियर र मासु खाएका हौं । त्यसपछि पुनः सोही ठाउँको बाराकोटी होटलमा गएर म र मृतकसमेत ४ जनाले रक्सी, मासु र खानासमेत खाई म र मृतक जयबहादुर मल्लसगै एउटै कोठामा सुतेका हौं । निज मृतक र म सोही दिनको बिहानी पख अं. दुई ढाई बजेतिर उठी सल्ली बजार जाने भनेर हिँडेका हौं । करिब ३.०० बजेतिर इलाका प्रहरी चौकीनेर पुग्दा प्रहरीले मेरो र मृतकको नाम ठेगानासमेत सोधेकाले मैले मेरो र मृतकको नामसमेत सबै विवरण टिपाएर हिँड्यौं । त्यसपछि मेरो र मृतकको बीचमा पहिलेदेखिको सामान्य झगडाको कारण मैले निज मृतकलाई मार्छु भन्ने योजना बनाएकाले उक्त प्रहरी चौकीभन्दा करिब १००-१५० मिटर टाढा पुगेपछि मृतक अगाडि हिँडी रहेको थियो र म पछाडि हिँडी रहेको बेलामा मैले मेरो झोलाबाट चक्कु निकालेर पछाडिबाट मृतकको टाउकोमा २ पटक
हानेँ । त्यसपछि मृतक ढल्यो । ढलेपछि निजलाई बाटोदेखि अलि तल फालेँ त्यहाँ पनि टाउकोमा पुनः १ चोटी हानेँ । निजले १ पटक ऐया मात्र गर्यो केही बोलेन । त्यसपछि त्यहाँबाट घिसार्दै करिब ५०-६० मिटर तल झाडीमा लिई निजले बोकेको झोला निकाली मृतकलाई झाडीको बीचमा कसैले नदेख्न्ने ठाउँमा फालेको हुँ । मृतकको झोलामा भएको सुन र पैसा झिकेर मेरो झोलामा राखेर मेरो चक्कु चप्पलसमेतका सामानहरू सोही घटनास्थलमा नै छोडेर म एक्लै घरमा आएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी भद्रे कामीको रूकुम जिल्ला अदालतसमक्षको बयान ।
मिति २०६६।४।२१ गते राति ऐ. २२ गतेको बिहान मृतक र प्रतिवादी भद्रे कामी २ जनामात्र चौरजहारीको प्रहरी चौकी पार गरी एकान्त ठाउँमा हिँडिरहेको अवस्थामा मृतक जयबहादुर मल्लसँग रहेको नगद र सुन लिने नियतले मृतकलाई प्रतिवादी भद्रे कामीले धारिलो हतियार प्रयोग गरी हानी मारेका हुन् भन्ने सुनेको हुँ । मृतकको मृत्यु प्रतिवादी भद्रे कामीले हानेको चोटको कारणबाट भएको हो भन्नेसमेत व्यहोराको वादीका साक्षी राजेन्द्र पुनको बकपत्र ।
मृतक जयबहादुर मल्ल नगद करिब रू.११,००,०००।- र करिब ७ तोला जति सुन लिई नेपालगञ्ज जाने क्रममा चौरजहारीको होटलमा मृतक र प्रतिवादी एउटै होटलमा बसी मिति २०६६।४।२१ गते राति ऐ.२२ गतेको बिहान २ जनामात्र सँगै हिँडी रहेको अवस्थामा मृतक जयबहादुर मल्लले नगद र सुनसमेत साथ लिई गएकाले सोही रूपैयाँ र सुनसमेत खाने नियतले मृतकलाई प्रतिवादी भद्रे कामीले धारिलो हतियार प्रयोग गरी हानी मारेका हुन् भन्ने सुनेको हुँ । मृतकको मृत्यु प्रतिवादी भद्रे कामीले हानेको चोटको कारणबाट भएको हो भन्नेसमेत व्यहोराको वादीका साक्षी चन्द्र प्रकाश मल्लको बकपत्र ।
प्रतिवादी भद्रे कामी र जयबहादुर मल्ल मेरो होटलमा सँगै सुतेकामा बिहान कति बजे उठेर हिंडेका हुन् मलाई थाहा भएन । मैले उक्त दिनको भोलिपल्ट मृतक जयबहादुर मल्लको मृत्यु भएको कुरा सुनी थाहा पाएको हुँ । मृतकलाई प्रतिवादी भद्रे कामीले ढुंगा, चक्कु हानी मार्ने योजनासमेत बनाई मारेका हुन् भन्नेसमेत व्यहोराको वादीका साक्षी शशीराम वि.क. को बकपत्र ।
मृतक जयबहादुर मल्ल मिति २०६६।४।२१ गते पसलको सामान ल्याउन नेपालगञ्ज जाने भनी हिँडेकोमा सोही दिनको साँझ मृतक र प्रतिवादी भद्रे कामी भेट भई एउटा होटलमा सँगै बास बसी सोही दिनको राति करिब २.३० बजेतिर नेपालगञ्ज जाने भनी प्रतिवादी भद्रे कामी र मृतक जयबहादुर मल्लसँगै गएकाले प्रहरी चौकीमा २ जनाको नाम टिपिएको
रहेछ । मृतक र प्रतिवादीले प्रहरी चौकी पार गरी केही पर पुगेपछि सँगै हिँडी रहेको अवस्थामा प्रतिवादी भद्रे कामीले मृतकको शरीरमा चक्कु हतियार प्रयोग गरी टाउकोमा हानी मारेको हो । मृतक जयबहादुर मल्लको साथमा पसलको सामान ल्याउन भनी लगेको नगद रू.१०,००,०००।- र करिब ७ तोला सुन रहेकाले सोही रूपैयाँ र सुन खाने लोभले प्रतिवादी भद्रे कामीले मृतकलाई मारेका हुन् । मिति २०६६।४।२२ मा दिएको किटानी जाहेरीको व्यहोरा सही साँचो हो भन्नेसमेत व्यहोराको जाहेरवाला प्रजित मल्लको बकपत्र ।
अभियोग दाबीबमोजिम प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको पुष्टि भएकाले निजलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । दण्ड सजायको १० नं. बमोजिम सर्वस्वसहित जन्मकैद भएकालाई जबरजस्ती चोरीतर्फको जरिवानाबापतको कैद सोही सर्वस्वसहित जन्मकैदमा समावेश हुने हुँदा जबरजस्ती चोरीतर्फ प्रतिवादीलाई केही सजाय गरिरहन
परेन । नपुग बिगो रू.९,०८,०००।- रकम प्रतिवादीबाट मृतकको हकदारलाई भराई पाउँ भन्ने अभियोग दाबी भने पुग्न सक्दैन भन्नेसमेत व्यहोराको रूकुम जिल्ला अदालतको मिति २०६७।२।१४ को फैसला ।
जाहेरी दरखास्त र जाहेरवालाको बकपत्र आपसमा विरोधाभाष भएको अवस्थामा त्यसलाई प्रमाणमा ग्रहण गरी र मैले अधिकारप्राप्त अधिकारी तथा अदालतमासमेत अपराध गरेकोमा साबिती रही घटनाको वास्तविकता उजागर गरी अदालतलाई सहयोग गरिरहेको अवस्थाको कुनै विवेचना नै नगरी वादी दाबीबमोजिम कसुरदार ठहर्याई भएको सुरू फैसला कानून तथा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा उल्टी गरी घटनाको यथार्थताबमोजिम हक इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी भद्रे कामीको पुनरावेदन अदालत, तुलसीपुरमा परेको पुनरावेदन पत्र ।
मृतकसँग रहेको रूपैयाँ तथा सुनसमेत खाने बद्नियत राखी योजनाबद्धरूपमा मृतकको टाउकामा पछाडिबाट चक्कु प्रहार गरी हत्या गरेको कुरामा प्रतिवादी अधिकारप्राप्त अधिकारी तथा अदालतमा साबित रहेको देखिँदा प्रतिवादी भद्रे कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर गरी भएको रूकुम जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६८।९।२६ को फैसला ।
मृतक जयबहादुर मल्ललाई मेरो पूर्व योजनाअनुसार कर्तव्य गरी मारेको भनी अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दा यथार्थ खुलाई बयान गरी अनुसन्धान तथा अदालतलाई समेत सहयोग गरेतर्फ कुनै विवेचना नै नगरी सर्वस्वसहित जन्मकैद गर्ने ठहर गरी भएको सुरूको फैसलालाई सदर गरी भएको पुनरावेदन अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा १८, २५, २७ र ५४ तथा अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा उक्त फैसला उल्टी गरी घटनाको यथार्थताबमोजिम इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी भद्रे कामीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा पुनरावेदन अदालत, तुलसीपूरको फैसला मिलेको छ छैन र प्रतिवादी भद्रे कामीको पुनरावेदन जिकिर पुग्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी भद्रे कामीले जयबहादुर मल्ललाई धारिलो हतियार छुरीले टाउकामा प्रहार गरी हत्या गरी निज मृतकको साथमा रहेको नगद दश लाख रूपैयाँ र ७ तोला सुनसमेत लगेको हुँदा निजको सो कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. विपरीत एवं मुलुकी ऐन, चोरीको महलको १ नं. विपरीत ४ नं. बमोजिमको कसुर अपराध हुँदा निजलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. र चोरीको महलको १४(२) नं. बमोजिम सजाय गरी जबरजस्ती चोरी गरी लगेको बिगो रू.१२,८८,४००।– मध्ये बरामद नगद र गरगहनासमेत गरी जम्मा रू.३,८०,४००।– चोरीको महलको १० नं. र २१ नं. बमोजिम मृतकको हकदारलाई फिर्ता दिई नपुग बिगो रू.९,०८,०००।– प्रतिवादीबाट मृतकको हकदारलाई दिलाई भराई पाउँ भन्ने अभियोगदाबी भएकोमा प्रतिवादी भद्रे कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने र दण्ड सजायको १० नं. बमोजिम सर्वस्वसहित जन्मकैद भएकालाई जबरजस्ती चोरीतर्फको जरिवानाबापतको कैद सोही सर्वस्वसहित जन्मकैदमा समावेश हुने हुँदा जबरजस्ती चोरीतर्फ प्रतिवादीलाई केही सजाय गरिरहन परेन र बिगो भराउनेतर्फको वादी दाबी पुग्न नसक्ने भनी भएको रूकुम जिल्ला अदालतको फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत, तुलसीपुरमा पुनरावेदन परेको देखियो । पुनरावेदन अदालत, तुलसीपुरबाट सुरू फैसलालाई सदर ठहर गरी भएको फैसलाउपर प्रतिवादीको प्रस्तुत पुनरावेदन परेको देखिन्छ ।
३. अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दा यथार्थ खुलाई बयान गरी अनुसन्धान तथा अदालतलाई समेत सहयोग गरे तर्फ कुनै विवेचना नै नगरी सर्वस्वसहित जन्मकैद गर्ने ठहर गरी भएको फैसला कानून प्रतिकूल रहेको भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन सम्बन्धमा विचार गर्दा पुनरावेदक प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दा मृतकसँग पहिलेदेखि सामान्य झगडा भएको कारण मार्ने योजना बनाएको भनी खुलाएको पाइन्छ । यस अदालतमा परेको पुनरावेदन पत्रमा समेत पूर्व योजनाअनुसार नै मृतकको टाउकामा पछाडिबाट चक्कु प्रहार गरी हत्या गरेको भनी खुलाएको पाइन्छ ।
४. फौजदारी मुद्दामा मनसायतत्त्वलाई विशेष हेरिनुपर्छ । मनसायसहित गरेको आपराधिक कार्य र मनसाय बिना गरेको आपराधिक कार्यलाई छुट्टाछुट्टैरूपमा हेर्नु पर्ने हुन्छ । फौजदारी कानूनमा मनसायसहित गरेको आपराधिक कार्यलाई जघन्य अपराधको रूपमा हेरिन्छ र हेरिनु पनि पर्छ । कसैको हत्या गर्ने पूर्व योजना बनाई हत्या गरेपछि अपराध गरेमा साबिती बयान दिएकै आधारमा अदालतलाई सहयोग गरेको हुँदा सजायमा छुट पाउनु पर्छ भनी जिकिर लिएकै आधारमा अदालतले सजायबाट छुट दिँदा समाजमा पुनः आपराधिक गतिविधिले प्रश्रय पाउन सक्नेतर्फ समेत दृष्टि पुर्याउनु पर्ने हुन्छ । फौजदारी कानूनले अनुसन्धान तथा अदालतको काम कारवाहीमा सहयोग गरेको अवस्थामा अभियुक्तले सजायमा छुट पाउन सक्छ भनी राखेको प्रावधानको उद्देश्य योजनाबद्धरूपमा गरेको मानवता विरूद्धको जघन्य अपराधका दोषीलाई समेत सजायमा छुट दिनुपर्छ भन्ने नभई पूर्व रिसइवी र योजना नबनाई कसैको हत्या हुन गए वा कुनै गैरकानूनी कार्य हुन गएको अवस्थाका अभियुक्तलाई सजायमा केही छुट दिने भन्नेसम्म हो ।
५. पुनरावेदक प्रतिवादीले मृतकलाई मार्ने योजना बनाई झोलामा बोकेको चक्कु झिकी पछाडिबाट टाउकोमा पटकपटक प्रहार गरी मारी झाडीमा फालेको र मृतकले बोकेको नगद तथा सुनका गरगहनासमेत चोरी गरेको भनी अधिकारप्राप्त अधिकारी तथा अदालतको बयानमा खुलाएको देखिन्छ । पुनरावेदकले मृतकलाई मार्न प्रयोग गरेको चक्कु निजले देखाएको झाडीबाट बरामद भएको, मृतकबाट चोरी गरेको नगद तथा गरगहना पुनरावेदक प्रतिवादीका घरबाट बरामद भएको, प्रतिवादीउपरको किटानी जाहेरी तथा जाहेरवालाको बकपत्र एवं मौकामा कागज गर्ने मानिसहरूको मौकाको कागज एवं बकपत्रसमेतबाट पुनरावेदक प्रतिवादीको अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्षको साबिती बयानलाई समर्थन गरिरहेको देखिँदा प्रमाण ऐन, २०३१ को दफा १८, २५, २७ र ५४ को विपरीत फैसला भएको भनी लिएको पुनरावेदन जिकिर युक्तियुक्त देखिएन ।
६. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. मा “धार भएको वा नभएको जोखमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा जतिजना भई हतियार छाडेको छ उती जना ज्यानमारा ठहर्छन् । सर्वस्वसहित जन्म कैदको सजाय गर्नु पर्छ” भन्ने व्यवस्था छ । सो व्यवस्थाबमोजिम प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले मृतकलाई मार्ने मनसायले घरदेखि झोलामा चक्कुसमेत बोकी सुनसान र एकान्त स्थानमा पुगेपछि अगाडि हिँडी रहेका व्यक्तिलाई पछाडिबाट अचानक धारिलो चक्कु प्रहार गरी हत्या गरेको अवस्था देखिन्छ । यस्तो अवस्थामा अपराध गरेकामा साबिती बयान दिएको हुँदा सजायबाट छुट पाउनु पर्छ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
७. अतः माथि विवेचित तथ्य, कानूनी व्यवस्था तथा प्रमाणका आधारमा पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरी भएको सुरू अदालतको फैसलालाई सदर ठहर्याई पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६८।९।२६ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. ओमप्रकाश मिश्र
इजलास अधिकृतः इन्दिरा शर्मा
इति संवत् २०७३ साल जेठ ४ गते रोज ३ शुभम् ।