शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९७३७ - उत्प्रेषण

भाग: ५८ साल: २०७३ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा 

माननीय न्यायाधीश श्री  अनिलकुमार सिन्हा 

आदेश मिति : २०७३।०६।३०

 

मुद्दा : उत्प्रेषण

 

०६८-WO-००३१

निवेदक : काठमाडौं जिल्ला, इचगुंनारायण गा.वि.स. वडा नं. १ बस्ने हरिमान श्रेष्ठसमेत

विरूद्ध

विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत 

 

०६८-WO-०२६३

निवेदक : काठमाडौं जिल्ला, इचंगुनारायण गा.वि.स. वडा नं. ३ हलचोक बस्ने अर्जुन पुतवार

विरूद्ध

विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत

 

०६८-WO-०४६९

निवेदक : काठमाडौं जिल्ला, इचंगुनारायण गा.वि.स. वडा नं. १ बस्ने निलाम्बर खत्रीसमेत

विरूद्ध

विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत

 

कसैको हकहितमा असर पर्ने गरी कुनै निर्णय गर्नुपूर्व सम्बन्धित असर पर्ने व्यक्तिलाई सुनुवाइको अवसर प्रदान गर्नु आवश्यक हुन्छ । यो एक स्थापित न्यायिक मान्यता हो । यस मान्यता प्रतिकूलका निर्णयले मान्यता नपाउने, बदर हुने भनी अदालतबाट पटक-पटक व्याख्या, विवेचना र सिद्धान्त प्रतिपादन भएका 

छन् । यस दृष्टिबाट हेर्दासमेत विपक्षी आयोगको विवादित निर्णय र काम कारवाही न्यायिक मान्यता, न्यायका आधारभूत सिद्धान्तअनुकूल देखिन नआउने । 

(प्रकरण नं. ४)

जुनसुकै प्रकारका जग्गाको दर्ता स्रेस्ता दुरूस्त, अद्यावधिक र व्यवस्थितरूपमा राखिनु पर्दछ । जग्गाको दर्ता, हक स्वामित्व र भोगको विषय अवस्थानुसार व्यक्तिको हक, सार्वजनिक हक हित वा सरोकार र संस्थागत हक हितको विषयको रूपमा रहेको हुन्छ । जग्गा दर्ता गर्ने कुरा स्वामित्व निर्धारण सम्बन्धी विषय भएकोले यस कार्यलाई लामो समयसम्म अनिर्णित, अनिश्चित र संशययुक्त अवस्थामा रहन दिनु शोभनीय नहुने ।

अनिश्चयको अनुचित लाभ लिएर सरकारी वा सार्वजनिक जग्गालाई निजी कायम गर्ने दूषित प्रवृत्तिहरू समेत देखा पर्ने गरेका छन् । मालपोत ऐन, २०३४ को दफा २४ ले सार्वजनिक जग्गा व्यक्तिका नाउँमा दर्ता भएको भएपनि त्यस्तो दर्ता बदर हुने प्रावधान व्यवस्थित गरेको छ । उक्त कानूनी प्रावधानको कार्यान्वयनमा वाञ्छित प्रभावकारिता अभिवृद्धि गर्ने चुनौती पनि सम्भवतः कायम नै छ । जग्गा दर्तासम्बन्धी विषय अधिकारको कुरा मात्र नभएर जवाफदेहिताको विषय पनि हुने ।

(प्रकरण नं. ६)

 

निवेदकको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, विद्वान्‌ अधिवक्ताहरू ज्योति बानिया, दामोदर खड्का, लक्ष्मण थपलिया, मदनप्रसाद गौतम

विपक्षीको तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता खेमराज ज्ञवाली, विद्वान्‌ अधिवक्ता ज्ञानेन्द्रप्रसाद पोखरेल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

आदेश

न्या. ईश्वरप्रसाद खतिवडा  : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः

हामी निवेदकहरूको पुर्खादेखि हालसम्म मोहीको हैसियतले भोग बसोबास गरिरहेको र सोही जग्गाको आयस्ताबाट इन्द्रजात्रा पर्वमा हल्चोक आकास भैरवको जात्रा चलाउने राजगुठी भएको जग्गा हाम्रा पिताका नाउँमा जो.अ.नि. ७ नं. फाँटवारी फिल्डबुक आदिमा राजगुठीको उल्लेख भएको, कौसी तोषाखानाको पत्र, सर्जमिन, सिफारिस आदिबाट गुठी भएको राजगुठीको नाइके पारङ पुतवारले जग्गा राजगुठी भएको भनी जिन्सी बुझिलिएको, गुठी तहबिलले गुठी दर्तामा कारवाही चलाइरहेको काठमाडौं जिल्ला  सीतापाइला वडा नं. ६ हाल इचंगुनारायण गा.वि.स. वडा न. १ कित्ता नं. ३१५, ३१६, ३१८, २२१, ३२१ का जग्गामा साबिक देखि चलिरहेको गुठीलाई अन्यथा हुने गरी, हामी निवेदकलाई सुनुवाइको मौका नदिई, अधिकार क्षेत्र बाहिर गई कानूनले दिँदै नदिएको अधिकार प्रयोग गरी, हाम्रो बसोबास तथा धर्मसंस्कृतिमा आघात पर्ने गरी जग्गा दर्ता नै नगरेको नाइकेलाई दर्तासरह मानी निज पारङ पुतवार निःसन्तान हुँदा उल्लिखित कि.नं. ३१५, ३१६, ३१८, २२१, ३२१ का जग्गाहरू नेपाल सरकारका नाममा कायम गर्न विपक्षी आयोगले गरेको मिति २०६८।३।५ को निर्णय र मिति २०६८।३।७ को च.नं. २०९८ को पत्र तथा सोसम्बन्धी सम्पूर्ण काम कारवाही प्रतिषेध उत्प्रेषणको आदेशद्वारा बदर गरी उल्लिखित जग्गा राजगुठी कायम गर्ने गराउनेतर्फ आवश्यक निर्णय गर्नु गराउनु, साबिकदेखि चली आएको गुठी परम्परालाई निरन्तर चलाउनु तथा निवेदकलाई राजगुठीको मोहिको हैसियतले नाउसारीलगायतका काम कारवाही गर्नु गराउनु भन्नेसमेतको परमादेशलगायतको अन्य जो चाहिने आदेश विपक्षी गुठी संस्थानसमेतका नाउँमा जारी गरिपाउँ साथै आयोगको मिति २०६८।३।७ को च.नं. २०९८ को पत्रबमोजिमको काम कारवाही नगर्नु नगराउनु, यथास्थितिमा राख्नु भन्नेसमेत अन्तरिम आदेश विपक्षीहरूका नाउमा जारी गरिपाउँ भन्नेसमेत व्यहोराको ०६८-WO-००३१ को पूर्णमान श्रेष्ठसमेतको निवेदन पत्र । 

मेरो दाता अरि पुतवारको लोग्ने  पारङ पुतवारको नाउँमा साबिक का.इ. हलचोक मौजा, काठमाडौं फुटकर १४७ रै.नं. को लगत भिडी दर्ता हुने सर्वेको नापीमा सीतापाइला गाउँ विकास समिति वडा नं. ६ अन्तर्गत नापजाँच हुँदा किसानको व्यहोरामा  पारङ पुतवारको नाउँमा र मोहीमा निवेदनमा लेखिएबमोजिम तत् तत् कित्तामा तत् तत् मोही जनिएको ऐ. कि. नं. ३१५, ३१६, ३१८, २२१, ३२१, ३४२, ३९६, ४००, ४१३, ४११ का जग्गामा फिल्डबुक नापी भई  पारङ पुतवारको नाउँमा अप्रमाणित दर्ता स्रेस्ता खडा भएका जग्गा हुन् । हाल उक्त जग्गाहरू इचंगुनारायण गाउँ विकास समिति वडा नं. १ अन्तर्गत पर्दछन् । पारङ पुतवार र निजको श्रीमती अरि पुतवारबाट कुनै जाय जन्म नहुँदाका अवस्थामा आफ्नै कालगतिले  पारङ पुतवार २०५९।३।२२ मा परलोक हुनु भयो। अरि पुतवारले आफ्नो जीवनकालमा मिति २०६५।१।१५ मा मलाई शेपछिको बकसपत्र पारित गरी दुई अस्टलोह गैह्र सम्पत्ति लेखी दिनुभएको 

छ । सो बकसपत्र कायम रहेकै अवस्थामा अरि पुतवार पनि आफ्ना कालगतिले मिति २०६७।५।८ गते परलोक हुनुभयो । बाचुञ्जेल पालन पोषण र मरेपछि काज क्रिया मैले गरे । उपर्युक्तबमोजिम पारङ तथा अरि पुतवारको हकमा जग्गाहरूको हकदार म हुँ । मैले मेरो नाउँमा दर्ता गराई लिई हक भोग चलन गर्न पाउने मेरो निर्विवाद हकको रैकर जग्गा हुन् । यस्तोमा हकदार नभएको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका नाउँमा उक्त जग्गाहरू नेपाल सरकारका नाउँमा कायम गर्न प्रक्रिया अगाडि बढाउनु भनी मिति ०६८।३।५ मा निर्णय गरी सोअनुसार गर्न पत्राचार गरेको र मालपोत कार्यालय, कलंकीले उक्त जग्गा मेरो नाउँमा दा.खा. नामसारी दर्ता गरी पाउन दिएको निवेदनमा मिति २०६८।५।१५ मा गरेको दरपीठसमेत बदर गर्ने गरी आदेश भएकोले माथि लेखिएबमोजिम विपक्षी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०६८।३।५ को निर्णय र सोको आधारमा मालपोत कार्यालय, कलंकीमा पठाएको च.नं. २०९८/२०६८/३/७ को पत्र तथा सोलाई आधार मानी मालपोत कार्यालय, कलंकीबाट मिति २०६८।५।१५ मा गरिएको दरपीठलगायतको काम कारवाहीमा उपर्युक्तबमोजिम कानूनी त्रुटि भएको र त्यसबाट नेपालको अन्तरिम संविधान २०६३ को धारा १३, १९ द्वारा प्रत्याभूत मौलिक हक हनन् भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकको निवेदनसमेत दर्ता गरी विपक्षी मोहीहरूको निवेदन साथ राखी एकै साथ कानूनबमोजिम हक बेहकमा निर्णय गर्न जानु भनी सुनाइदिनु भन्ने परमादेशलगायत जो चाहिने उपयुक्त आदेश विपक्षीहरूका नाममा जारी गरी हक प्रचलन गरी भन्नेसमेत व्यहोराको रिट नं. ०६८-WO -०२६३ को अर्जुन पुतवारको निवेदन पत्र । 

हामी निवेदकहरूको पुर्खादेखि पितासमेतले गुठीको मोहीको हैसियतले हकभोग, बसोबास गरेको जग्गाधनी हलचोक आकास भैरव जात्रा चलाउने राजगुठी भएको काठमाडौं जिल्ला साबिक सीतापाइला गाउँ विकास समिति वडा नं. ६ र हाल इचंगुनारायण गाउँ विकास समिति वडा नं. १ को हामी निवेदकमध्ये केदार खत्रीका छोरा निलाम्बर खत्री र राम के.सी. ले कि.नं. ३४२ क्षेत्रफल ०-५-२,  कि.नं. ३९६ क्षेत्रफल ०-३-३-०, कि.नं. ४०० को ०-५-२-० गरी जम्मा ०-१४-३-० भैरवबहादुर खत्रीका ४ छोराहरू निवेदक नारायणबहादुर खत्री समेतले कि.नं. ४१३ क्षे.फ. १-२-२-० र राम काजी खत्रीको ४ छोराहरू निवेदक रामकुमार के.सी. समेतले कि.नं. ४११ क्षे.फ. ०-५-० घर बसोबास गरी आएका छौं । हाम्रा पिता केदार खत्री २०५५ असोजमा, भैरवबहादुरको २०४३ कात्तिक २२ गते, रामकाजी खत्रीको ०५४ चैत्रमा परलोक भई सक्नु भएको छ । उल्लिखित सम्पत्ति हामीबीच सगोलमा नै बसोबास गरी भोग गरी आएका छौं । उक्त पाँच कित्ता जग्गाको जग्गाधनी काठमाडौंमा इन्द्रजात्रा पर्वमा सोहीअन्तर्गतको हलचोक आकास भैरवको जात्रा चलाउने राजगुठीको जग्गा हो । यसैगरी हाम्रा पिताहरूका नाउँमा साबिक दर्ता ७ नं. फाँटवारीमा गुठी भनी उल्लिखित जग्गा जोताहा अस्थायी निस्सा र गुठीका नाइके पारङ पुतवारलाई जिन्सी बुझाएको रसिदसमेतबाट हाम्रा पिता मोही र जग्गाधनी इन्द्रजात्रा पर्वमा हलचोक आकास भैरवको जात्रा चलाउने राजगुठी सीतापाइला वडा नं. १, हाल इचंगुनारायण गाउँ विकास समिति वडा नं. ६ कि.नं. ३४२, ४००, ४१३, ४११ समेतका जग्गामा राजगुठीको जग्गा हुँदा उल्लिखित जग्गा हालसम्म कसैको नाउँमा दर्ता भएको थिएन । साबिक देखिनै गुठी संस्थान, शाखा कार्यालय, कालमोचन र गुठी संस्थान केन्द्रीय कार्यालयले उल्लिखित जग्गाहरू हामी मोहीको निवेदन तथा गुठी संस्थानमा आकास भैरव राजगुठी जग्गाको नाउँमा जग्गाधनी प्रमाण पुर्जा लिने क्रममा कारवाही भइरहेको थियो । हामी निवेदकको हकभोगको उल्लिखित आकास भैरवको जात्रा चलाउने राजगुठी जग्गाहरूको साबिक दर्ता, पिताले ७ नं. फाँटवारीमा इन्द्रजात्रामा गुठी चलाउने खेत भनी भरेको विवरण,  २०२१ सालको सर्वे नापीमा पिताले मोहीको हैसियतले नापनक्सा गरेको क्षेत्रीय किताब वा फिल्ड बुक, जोताहा अस्थायी निस्सा हाम्रो ठुली आमा वादी जमुनादेवी खत्री विरूद्ध कृष्णबहादुर खत्री भई चलेको अंश मुद्दामा जिल्ला अदालतबाट मिति २०२४।३।९ मा फैसला हुँदा यिनै जग्गा राजगुठी भनी उल्लिखित जग्गा इन्द्रजात्रा चलाउने राजगुठी भएको भनी मिति २०५६।५।७, ०५९।६।११ र २०६३।१।१४ साध संधियारसहितको सर्जमिन, कौषीतोषखाना कार्यालयको मिति २०५६।९।२० च.नं. ३२६४ को हलचोक भैरवलाई आर्थिकरूपमा खर्च जाने व्यहोराको पत्र, इचंगुनारायण गाउँ विकास समितिबाट मिति २०५३।१२।६ समेतबाट जग्गा राजगुठी भएकोले राजगुठी भएकोले राजगुठीमा दर्ता गर्न गरेको सिफारिस, गुठीमा नाइके तथा जग्गाधनी भनिएका पारङ पुतवारले मिति २०५३।८।७ मा उल्लिखित जग्गा हलचोक भैरव गुठी भएकोले गुठी सञ्चालन गर्न नाइकेको जिम्मेवारी बमोजिम जिन्सी बुझी लिएको भरपाई र निज पारङ पुतवारको परलोकपछि निजको श्रीमती अरि पुतवारले मिति २०६८।३।१७ मा गुठी कार्यालयमा गई राजगुठी भएको र राजगुठीको जग्गा साबिकदेखि हालसम्म घर बसोबास गरी रहेकोले राजगुठी नै कायम गरिपाउँ भन्नेसमेत निवेदन र सनाखतसमेतबाट उल्लिखित जग्गा इन्द्रजात्रा चलाउने हलचोक आकास भैरवको राजगुठी जग्गा भएको पुष्टि भइरहेको छ । उल्लिखित कित्ता जग्गा गुठी तहसिल कार्यालय, कालमोचन आफैँंले राजगुठी कायम गर्न कारवाही अगाडि बढाई रहेको बखतमा छोराका तर्फबट राजगुठीको जग्गा दर्ता नाउसारी गरी पूर्जा पाउन निवेदन दर्ता गरी र ठूलो हिरालालका छोराहरूले गुठीले बयानका लागि म्याद काटेपछि सो राजगुठी दर्ताको कारवाही चली हामी निवेदकसमेत रूजु तारेखमा रहे भएका छौं । उल्लिखित जग्गा राजगुठीको भएकोले राजगुठीका लागि निर्णय गर्न गुठी संस्थान, कालमोचनबाट गुठी संस्थान केन्द्रीय कार्यालयमा पुगी अन्तिम निर्णय हुन बाँकी रहेको थियो । यसरी उल्लिखित जग्गा राजगुठी भएको र राजगुठीका मोही हामी निवेदकका पिता र हामी छोराहरू भएको प्रमाणित भइरहेको अवस्थामा हामी निवेदकलाई कुनै सुनुवाइको मौका नै नदिई, राजगुठीको रूपमा दर्ता हुने अन्तिम आदेश हुने अवस्थामा रहेको जग्गालाई हकभोग नै नभएका गुठीका नाइके पारङ पुतवारलाई जग्गाधनी मानी निज निःसन्तान भएकोले हामी निवेदक मोही र जग्गाधनी इन्द्रजात्रा चलाउने आकास भैरवको राजगुठी जग्गालाई नेपाल सरकारको नाउँमा कायम गर्न प्रक्रिया अगाडि बढाउने भनी विपक्षी मालपोत कार्यालय, कलंकीलाई लेखी पठाउने भनी विपक्षी आयोगबाट मिति २०६८।३।५ मा निर्णय भएको र सोही व्यहोराको पत्र मिति २०६८।३।७ च.नं. २०९८ को पत्र तथा सोसम्बन्धी सम्पूर्ण काम कारवाही प्रतिषेध, उत्प्रेषणको आदेशद्वार बदर गरी उल्लिखित जग्गा राजगुठी कायम गर्ने गराउनेतर्फ आवश्यक निर्णय गर्नु र गराउनु, साबिक देखि चली आएको गुठी परम्परालाई निरन्तर चलाउनु तथा निवेदकलाई राजगुठीको मोहीको हैसियतले नाउँसारीलगायत काम कारवाही गर्नु गराउनु भन्नेसमेतको परमादेशलगायतको अन्य जो चाहिने आदेश विपक्षी गुठी संस्थानसमेतका नाउमा जारी गरिपाउँ भन्नेसमेत व्यहोराको ०६८-WO-०४६९ को रामचन्द्र के.सी. समेतको संयुक्त निवेदन पत्र ।

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र रिट निवेदनको एक प्रति नक्कल साथै राखी लिखित जवाफ पेस गर्नु भनी म्याद सुचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नु भन्ने 

०६८-WO-००३१, ०६८-WO-०२६३ र ०६८-WO-०४६९ का निवेदनमा यस अदालतबाट भएको आदेश ।

काठमाडौं जिल्ला साबिक सीतापाइला वडा नं. ६ कि.नं. ३४२, ३९६, ४००, ४१३, ४११ समेतका जग्गाहरू गुठी अधीनस्थ जग्गा रहेको सन्दर्भमा उक्त जग्गाहरू नेपाल सरकारको नाममा कायम गर्ने भन्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०६८।३।५ को निर्णय कार्यान्वयन नगर्नु नगराउनु र यो रिटको अन्तिम किनारा नभएसम्म यथास्थितिमा राख्नु भनी विपक्षीहरूको नाउँमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ भन्ने ०६८-WO-०४६९ का निवेदनमा यस अदालतबाट मिति २०६८।८।१८ मा जारी भएको अन्तरिम आदेश ।

काठमाडौं जिल्ला इचंगुनारायण गाउँ विकास समिति वडा नं. १ साबिक काठमाडौं जिल्ला सीतापाइला गाउँ विकास समिति वडा नं. ६क कि.नं. ३१५, ३१६ ,३१८ का समेत ३(तीन) कित्ता जग्गाहरू श्री हलचोक भैरव (आकाश भैरव) गुठीको इन्द्रजात्रा चलाउने राज गुठीको जग्गा भएको हुनाले दर्ता नामसारी गरिपाउँ भनी जोगमान श्रेष्ठका छोराहरू पूर्णमान श्रेष्ठसमेतले गुठी तहसिल कार्यालय, कालमोचन त्रिपुरेश्वरमा गुठीका नाइके पारङ पुतवारलाई श्री हलचोक भैरव (आकाश भैरव) को गुठीको जग्गा हो भनी २०५३ सालको बाली बुझाएको भरपाई तथा गाउँ विकास समितिको सिफारिससमेत संलग्न गरी निवेदन दिएकोमा गुठी संस्थानबाट कारवाही हुँदा कि.नं. ३२१ का मोही ठूलो हिरालालसमेतलाई बुझ्दा कि.नं. ३२१ का मोहीका हकदार निजका छोराहरू हरिलाल श्रेष्ठ र रामलाल श्रेष्ठले पनि उक्त जग्गा श्री हलचोक भैरव (आकाश भैरव) को हो भनी पारङ पुतवारले बाली बुझेको २०५३ सालको भरपाई साथ उपस्थित भएका थिए भने त्यस्तै कि.नं. ४१२ को जग्गाको मोही भैरवबहादुर खत्रीको हकदार छोरा नारायणबहादुर खत्रीले पनि उक्त जग्गा श्री हलचोक भैरव (आकाश भैरव) गुठीको इन्द्रजात्रा चलाउने राजगुठीको जग्गा हो भनी म्यादमा हाजिर भई बयान गरेका थिए । यसरी उल्लिखित कित्ताका जग्गाहरू गुठी अधीनस्थ जग्गा भई जग्गा धनी गुठी र मोही निवेदकहरू जनाई दर्ता नामसारी माग भएपछि उक्त जग्गा रैकर वा राजगुठी के कसो हो ? उक्त जग्गा गुठी अधीनस्ध जग्गा हो कि पारङको रैकर जग्गा के हो भनी बुझ्ने क्रममा पुनः कि.नं. ३१५, ३१६, ३१८, ३२१, ४१२, ३४२ र ४११ का जग्गाहरू श्री हलचोक भैरव (आकाश भैरव) को इन्द्रजात्रा गुठी चलाउने जग्गा हो भनी गुठीका नाइके माइला पुतवारसमेतका १६ जवान पुतवारहरूले मिति ०६३।१२।२३ मा निवेदन दिई सनाखतसमेत गरेका थिए । यसरी माथि उल्लिखित जग्गाहरू आकाश भैरवको इन्द्रजात्रा चलाउने गुठीको जग्गा हो भनी मोहीलगायत गुठी चलाउने नाइकेसमेतले लेखिदिएको अवस्था छ ।

जोगमानको छोरा चन्द्रमान श्रेष्ठसमेतले गुठीको जग्गा हो भनी फिल्डबुकमा जग्गाधनी महलमा उल्लिखित पारङ पुतवारलाई श्री हलचोक भैरव (आकाश भैरव) को गुठीका जग्गा हो भनी बाली बुझी लिएको भरपाई साथ निवेदन दिएको र पारङ पुतवारले समेत रैकर जग्गा हो भनी मालपोत कार्यालयमा कारवाही चलाएको अवस्थामा उक्त जग्गा गुठी रैकर के हो भनी बुझ्ने क्रममा गुठी लगत शाखा कार्यालय, भद्रकालीमा लगत बुझ्दा भद्रकाली लगत शाखा कार्यालयबाट श्री हलचोक भैरव गुठीको लगत नभएको तर हलचोक भैरवसँग सम्बन्धित शोभा मक्कुका नाइके पारङ भएको लगत शाखा कार्यालय, भद्रकालीबाट देखिएको भन्ने जवाफ प्राप्त भई स्थानीय स्तरमा उक्त जग्गा गुठी रैकर कै हो भनी गाउँ विकास समितिमार्फत सर्जमिन बुझ्दा अधिकांश स्थानीय मानिसहरूले श्री हलचोक भैरव (आकाश भैरव) को इन्द्रजात्रा चलाउने गुठी जग्गा हो भनी सरजमिन भई भएको छ । साथै इचंगुनारायण गाउँ विकास समितिले उक्त जग्गाहरू भैरव गुठीको हो भनी जिल्ला विकासलाई पत्राचार गरेको देखिन्छ । यी सबै तथ्यबाट केवल उक्त जग्गाहरू गुठीको लगतमा नदेखिने बित्तिकै गुठीको जग्गा होइन भन्ने अवस्था रहेको देखिँदैन ।

अतः माथि उल्लेख भएका जग्गा पारङ पुतवारको रैकर जग्गा भएको भए उनीले आफ्नो कि.नं. २६१ को जग्गा दर्ता गर्दाकै बखत दर्ता नामसारी माग गर्नुपर्ने थियो । अगाडि कि.न.२६१ को जग्गा दर्ता माग गरी पछि दर्ता माग गरेको जग्गामा पेस भएको लगत नं. १३८ मा कुन जग्गा हो भन्ने खुल्दैन, केवल २ वटा घर जनिएको छ, त्यति आधारमा उनको जग्गा हो भन्ने प्रमाण पुग्न सकेन, पारङ पुतवारले पेस गरेको लगत जग्गाको नाम क्षेत्रफल केही छैन, घरको लगतबाट जग्गा दर्ता हुन सक्तैन । नापीको समयमा फिल्डबुकमा लेखिएको आधारमा जग्गा धनि कायम हुने पनि 

होइन । पारङ पुतवार उक्त गुठीको नाइके भई भैरव गुठीको हो भनी बाली बुझी लिई भरपाईसमेत गरेका छन् । आफ्नो रैकर जग्गा भएको भए बाली बुझी लिएको भरपाई गरी दिनु पर्ने थिएन । एक पटक गुठीको हो भनी सकेपछि पछि होइन भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ ले विवन्धन ल्याउँछ । सरजमिनलगायतका भनाइ तथा पारङ पुतवार नाइके भएको गुठी लगत कार्यालयमा रहेको लगतबाट समेत गुठीको जग्गा भएको देखिन्छ । श्री हलचोक भैरव (आकाश भैरव) को गुठीको इन्द्रजात्रा चलाउनको लागी राखिएको गुठी जग्गा हो वा रैकर जग्गा हो भनी कारवाही चलिरहेको अवस्थामा सो कारवाहीलाई असर पर्ने गरी भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय क्षेत्राधिकार नाघी भएको छ भन्नेसमेत व्यहोराको गुठी संस्थान केन्द्रीय कार्यालयसमेतको ०६८-WO-००३१, ०६८-WO-०२६३ र ०६८-WO-०४६९ का निवेदनहरूमा एकैमिलानको छुट्टाछुट्टै लिखित जवाफ ।

काठमाडौं जिल्ला इचंगुनारायण गाउँ विकास समितिका सचिव लेखनाथ भट्टराईले जग्गा दलाल एवं राजनीतिक दलका व्यक्तिसँग मिली हलचोक भैरव गुठीको जग्गालाई व्यक्तिको नाम दर्ता गर्न मालपोत कार्यालय, कलंकीलाई सिफारिस गरेको भन्नेसमेतको उजुरीउपर अनुसन्धान भई यस आयोगबाट मिति २०६८।३।५ मा यसमा आज आयोगमा छलफल हुँदा उपर्युक्त जग्गाहरूका जग्गाधनी निःसन्तान भएको देखिँदा उपर्युक्त जग्गाहरूलाई नेपाल सरकारको नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाउन मालपोत कार्यालय, कलंकीमा लेखी पठाउने र पटक पटक बेग्ला बेग्लै पत्राचार गर्ने इचंगुनारायण गाउँ विकास समितिका सचिव लेखनाथ भट्टराईलाई विभागीय कारवाही गर्न जिल्ला विकास समिति, काठमाडौंमा लेखी पठाउने निर्णय भएको हो । पारङ पुतवारको नामबाट नापनक्सा भई दर्ता बाँकी रहेको साबिक सीतापाइला वडा न.६  कि.नं. ३२१, ३१५, ३१६, ३१८, २२१, ३४२, ४११, ४१३, ४०० र ३९६ समेतका जग्गाहरू सर्वे नापीको समयमा फिल्डबुकमा जोताहा महलमा विभिन्न व्यक्तिको नाम र जग्गाधनीको महल खाली भई किसानको व्यहोरामा पारङ पुतवारलाई कुत बाली तिरेको भन्ने व्यहोरा उल्लेख भएबाटै सो जग्गा गुठी अधीनस्थ भन्ने देखिन नआएको र कुतबाली बुझी लिने भनिएका पारङ पुतवार भन्ने व्यक्ति निःसन्तान भएको भन्ने देखिन आएको अवस्थामा आयोगबाट भएको उक्त निर्णयलाई अन्यथा भन्न मिल्दैन । विपक्षी रिट निवेदनमा उठाएको सन्दर्भ छ सो सम्बन्धमा आयोग भष्ट्राचार नियन्त्रणका लागि निरन्तर कार्यरत रहने निकाय भएको हुँदा यसको अस्तित्व कहिल्यै पनि पुग्न सक्दैन । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२० को उपधारा ७ ले आयोगले आफ्नो काम कर्तव्य र अधिकार नेपाल सरकारको कर्मचारीलाई सुम्पन सक्ने व्यवस्था भएबमोजिम मिति २०६६।९।२० मा आयोगले आयोगका सचिवलाई अधिकर सुम्पिई आयोगको काम कारवाहीले निरन्तरता प्राप्त गरेको र आयोग जीवन्त नै रहेको अवस्था विद्यमान छ । आयोगले क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी र सरकारी वकिललाई यस अघि नै अधिकार सुम्पिसकेको र आयोगमा पदाधिकारीहरू नियुक्त भई नआउन्जेलसम्मको अवधिको लागि संवैधानिक प्रावधानबमोजिम आयोगको सचिवलाई अधिकार सुम्पेको हुँदा पदाधिकारी नहुँदा पनि आयोग क्रियाशील रहिरहेको छ भन्नेसमेत व्यहोराको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ०६८-WO-००३१, ०६८-WO-०२६३ र ०६८-WO-०४६९ का निवेदनहरूमा एकैमिलानको छुट्टाछुट्टै लिखित जवाफ ।

साबिक नाइके पारङले भरेको भूमिसुधार कार्यालय, काठमाडौंमा ७ नं. फाँटवारीमा देखाएको जग्गामा सीतापाइला गाउँ पञ्चायत वडा नं. ८ रै.नं. १७२६ को ५२ घर धुरीको आफ्नो जिम्माको भनी पेस गरेको आफ्नो एक कित्ता रै.नं. १७२७ को जग्गा २०३८।१०।७ मा साबिक सीतापाइला गाउँ विकास समिति वडा नं. ८ स्थित कि.नं. २६१ को क्षे.फ. १-९-२ जग्गा भिडाई दर्ता गरिसकेको छ । यसरी मिति २०२१ मा निज पारङले माथि लेखिएकोबाहेक अरू जग्गा मेरो छैन भन्ने मलाई यकिन छ भनी ७ नं. फाँटवारी भरी प्रमाणित गरी दिएको छ । मोहि मेरो पिताले ७ नं. फाँटवारी भर्दा सीतापाइला गाउँ पञ्चायत वडा नं. ६ कि.नं. १ इन्द्रजात्रा चलाउने गुठी जग्गा भनी २०२१।९।१६ मा भू.सु.का. मा ७ नं. फाँटवारी भर्नुभएको छ । ठूलो हिरालाल श्रेष्ठले पनि ७ नं. फाँटवारी भर्दा ऐ. जग्गालाई सरकारी गुठी जग्गा भनी गर्नुभएको वडा नं. ८ हलचोकमा पर्छ वडा नं. ६ इचंगुमा पर्छ ।

विपक्षीलाई शे.व. दिने अरि पुतवारका पति उल्लिखित गुठीको नाइके पारङ पुतवारले म लिखित जवाफवालाबाट मिति २०५३ साल मंसिर ७ गते तत्कालीन साबिक नाइके पारङ पुतवारले गुठी चलाउनको लागि माथि उल्लिखित जग्गाको कुतबाली १ मुरी मनसुरी धान बुझी लिई भरपाईसमेत दिनुभएको छ । त्यस्तै उक्त कि.नं. ३२१ जग्गाको पनि कुत बुझी लिई म हरिलाललाई भरपाई दिनु भएकोबाट विपक्षीलाई प्रमाण ऐन, २०३१ को दफा ३४(१) बमोजिम विवन्धन लाग्छ । त्यस्तै का.जि. सीतापाइला गाउँ विकास समिति वडा नं. ६ स्थित कि.नं. २२१, ३१५, ३१६, ३१८ समेत ४ कित्ता जग्गाहरू हलचोक आकाश भैरवको जग्गा हो भनी अरि पुतवारले नै गुठी तहसिल कार्यालयमा सहमति मन्जुरीसमेत दिनु भई हकदाबी छाडी दिनुभएको छ । यसरी विपक्षीको दाताले आफ्नो जीवनकालमा हकदाबी छाडी दिएको जग्गा हो । शे.व. दिने व्यक्तिले आफ्नो जीवनकालमा गरेको मन्जुरीको लिखतबमोजिम गुठीको जग्गालाई विपक्षीले दाबी गर्न पाउने होइन । विपक्षीको दाता भनिएको व्यक्तिको पति पारङ पुतवार मिति २०५९।५।२२ गते परलोक हुँदा निजको श्रीमती अ.बं. ६२(३) बमोजिम मुद्दा सकार गर्नुभएको छैन । अरि पुतवार मिति २०६७।५।८ गते परलोक हुँदा पनि विपक्षीले ऐनका म्यादभित्र गुठी तहसिल कार्यालयमा हाजिर भई मुद्दा सकार गर्नुभएको छैन । 

अतः उल्लिखित भएका जग्गाहरू विपक्षीलाई शे.व. दिनका पति पारङ पुतवारको रैकर जग्गा भएको भए निजले आफ्नो सीतापाइला गाउँ विकास समिति वडा नं. ८ स्थित कि.नं. २६१ को जग्गा दर्ता गर्दाकै बखत दर्ता नामसारी माग गर्नुपर्ने थियो । अगाडि २६१ को जग्गा दर्ता माग गरी पछि दर्ता माग गरेको जग्गामा पेस भएको लगत नं. १४७ मा कुन जग्गा हो भन्ने खुल्दैन, केवल १ वटा घर जनिएको छ, त्यस आधारमा उनको जग्गा हो भन्ने प्रमाण पुग्न सक्दैन । पारङ पुतवारले पेस गरेको लगतमा जग्गाको नाम क्षेत्रफल केही छैन, घरको लगतबाट जग्गा दर्ता हुन सक्दैन । नापीको समयमा फिल्डबुकमा लेखिएको आधारमा जग्गाधनी कायम हुने पनि होइन । विपक्षीको दाताको पनि पारङ पुतवार उक्त गुठीको नाइके भई भैरव गुठीको हो भनी बाली बुझी लिई भरपाईसमेत गरेका छन । आफ्नो रैकर जग्गा भएको भए बाली बुझी लिएको भरपाई गरी दिनुपर्ने थिएन । एक पटक गुठीको हो भनी सकेपछि होइन भन्ने प्रमाण ऐन, २०३१ को दफा २४(१) ले विवन्धन लाग्छ । गुठीका हालका नाइके माइला पुतवार लगायत गुठीसँग सम्बन्धी पुतवारहरू र पारङ पुतवारको श्रीमती अर्थात्‌ यी निवदेकलाई शेपछिको बकसपत्र दिने दाता भनिएको अरि पुतवारले समेत उक्त जग्गा श्री हलचोक भैरव (आकाश भैरव) को गुठी जग्गा भनी गुठीमा निवेदन दिइसकेको अवस्थामा रैकर जग्गा हो भन्ने मिल्ने अवस्थासमेत छैन । यसरी गुठीका जग्गा रैकर हो भनी तथा कथित शेषपछिको बकसपत्रको आधारमा दर्ता र दाबी गर्न नपाउने हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको ०६८-WO-०२६३ विपक्षीहरू हरिलाल श्रेष्ठ, हरिमान श्रेष्ठ, रामलाल श्रेष्ठ, पूर्णमान श्रेष्ठ र चन्द्रमानको मु.स. गर्ने सुर्यमान श्रेष्ठको एकै मिलानको संयुक्त लिखित जवाफ ।

हामी मोही भई परापूर्वकालदेखि हक भोग गरी आएको जग्गा हक इन्द्रजात्रा पर्वमा हलचोक आकाश भैरव जात्रा चलाउने राजगुठी भएको, सो राजगुठीमा दर्ता गरी पाउनसमेत हामी निवेदक भई गुठी तहसिल कार्यालय कालमोचनमा कारवाही भई हालसम्म तारेखमा रही आएको, साबिक लगत ७ नं. फाँटवारी, वादी जमुनादेवी खत्रीनी र प्रतिवादी हाम्रा पिताहरू भई काठमाडौं जिल्ला अदालतमा चलेको दे.मि.नं. ११० को फैसला मिति २०२४।३।९ को फैसलामा समेत उल्लिखित जग्गा राजगुठी भएको भनी उल्लेख भएको गाउँ विकास समिति सिफारिस तथा सर्जमिनसमेतबाट उक्त जग्गा राजगुठी नै रहेको देखिने गुठी नाइके पारङ पुतवार र निजकी श्रीमतीले उक्त जग्गा नै हक छाडी सक्नु भएको र नाइकेको गुठी सञ्चालन गर्न नसक्ने भनी कागजसमेत गरिसकेको अवस्थामा विपक्षीले हुँदै नभएको कुरा उल्लेख गरी गुठी जग्गालाई रैकरमा दाबी गर्नुभएकोले सो रिट निवेदन खारेज भागी छ । साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०६८।३।५ को निर्णय छ सो निर्णय जग्गाको साबिक लगत ७ नं. फाँटवारी,  साबिक फैसला सर्जमिन तथा सिफारिसहरू र जग्गाको अवस्थासमेतका विषयमा विचारै नगरी हचुवाको भरमा निर्णय गरेकोले र हामी निवेदकहरू गुठी तहसिल कार्यालय कालमोचनमा हालसम्म पनि सो जग्गा राजगुठीमा दर्ता गराउन निवेदन दिई तारेखमा रही रहेका छौं । हामीले उक्त निर्णय बदर गरी पाउन रिट निवेदन दिने र उक्त रिटबाट निर्णय बदर हुने हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको निलम्बर खत्री, नारायणबहादुर खत्री र रामकाजी खत्रीको मु.स. गर्ने रामकुमार के.सी.को संयुक्त लिखित जवाफ ।

विपक्षी मालपोत कार्यालय, कलंकीले यस अदालतबाट जारी भएको म्याद बुझी ०६८-WO-००३१, ०६८-WO-००२६३ र ०६८-WO-०४६९ का निवेदनहरूमा लिखित जवाफ नफिराई बसेको देखिन्छ ।

यसमा यसै लगाउको ०६८-WO-०२६३ र ०६८-WO-००३१ को मुद्दासमेत साथै राखी नियमानुसार पेस गर्नु भन्ने ०६८-WO-०४६९ समेतको निवेदनमा यस अदालतबाट छुट्टाछुट्टै मितिमा भएको आदेश ।

यसमा विवादित जग्गाहरू नेपाल सरकारका नाममा कायम गर्न प्रक्रिया अगाडि बढाउन मालपोत कार्यालय, कलंकीलाई लेखी पठाउने भन्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०६८।३।५ को निर्णयसहितको सक्कल मिसिल साथै उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालय सूचना दिई नियमबमोजिम पेस गर्नु भन्ने ०६८-WO-००३१ को निवेदनमा यस अदालतबाट मिति २०६९।५।२५ मा भएको आदेश ।

नियमाबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी यस अदालतमा पेस हुन आएको प्रस्तुत रिट निवेदनहरूका सन्दर्भमा निवेदक पूर्णमान श्रेष्ठको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल, विद्वान्‌ अधिवक्ताहरू श्री ज्योति बानिया, श्री दामोदर खड्का, श्री लक्ष्मण थपलियाले काठमाडौ जिल्ला इचंगुनारायण गाउँ विकास समिति वडा नं. १ साबिक काठमाडौं जिल्ला सीतापाइला गाउँ विकास समिति वडा नं. ६क कि.नं. ३१५, ३१६, ३१८, ३२१, २२१, ३४२, ४११, ४१३, ३९६, ४०० समेतका जग्गाहरू श्री हलचोक भैरव (आकाश भैरव) गुठीको इन्द्रजात्रा चलाउने राज गुठीको जग्गा हुन् । तथापि उक्त जग्गाहरू गुठी जग्गा हुने नहुनेसम्बन्धमा पक्षहरू तारेखमा रहेको र कारवाही चलिरहेको अवस्थामा गाउँ विकास समितिका सचिवले सिफारिस दिएको भरमा विभागीय कारवाही गर्ने र उक्त जग्गाहरू नेपाल सरकारका नाममा लैजाने भनी मिति २०६८।३।५ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्णय गरेको छ । उक्त जग्गा गुठी र रैकरको विवाद रहेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कसैलाई कुनै जानकारी नदिई प्राकृतिक न्यायको सिद्धान्तविपरीत नेपाल सरकारका नाउँमा दर्ता गर्ने भन्ने निर्णय गर्न मिल्दैन भनी बहस गर्नुभयो । निवेदक अर्जुन पुतवारको तर्फबाट विद्वान्‌ अधिवक्ता श्री मदनप्रसाद गौतमले साबिक जग्गाका जग्गा धनी पारङ पुतवार हुन। मिति २०२२ सालमा पारङ पुतवारको मृत्युपश्चात्‌ २०६२ सालमा अरि पुतवारले गुठीमा निवेदन दिई जग्गा आफ्नो नाउँमा गराउने क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको हो । बेनामी उजुरी परेकोले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त जग्गा नेपाल सरकारका नाममा दर्ता गराउन मालपोत कार्यालय, कलंकीलाई पत्राचार गरेकोले मेरो पक्षको निवेदनमा मालपोत कार्यालयले दरपीठ गरेको हो । उक्त मालपोत कार्यालय कलंकीबाट मिति २०६८।५।१५ मा गरिएको दरपीठलगायतको काम कारवाहीमा कानूनी त्रुटि भएकोले उत्प्रेषणको आदेशले बदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालयको तर्फबाट विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेलले विवादित कि.न. का जग्गा गुठीको जग्गा हो । अर्जुन पुतवारले उल्लिखित जग्गा गुठीको भनेर स्वीकार गरेका छन । रैकर भनेर जग्गा दर्ता गराउने निवेदकहरूले नै राजगुठीमा दर्ता गरिपाउँ भनी निवेदन दिनुभएको छ । गुठीका जग्गाहरूको संरक्षण गर्ने अधिकार गुठी संस्थानलाई दिएको छ भने चली आएको धार्मिक कृति चलाई त्यसको संरक्षण गर्ने कामसमेत गुठी संस्थानको हो । विपक्षी आयोगले गुठीलाई बुझ्दै नबुझी नेपाल सरकारको नाममा दर्ता गर्ने कारवाही अगाडि बढाउने भन्ने निर्णयले गुठीलाई असर पर्ने भएकोले सोउपर यथोचित व्यवस्था गर्ने अधिकार गुठी संस्थानलाई रहेकोले श्री हलचोक भैरव (आकाश भैरव) को गुठीको इन्द्रजात्रा चलाउनको लागि राखिएको गुठी जग्गा हो वा रैकर जग्गा हो भनी कारवाही चली रहेको छ भनी बहस गर्नुभयो । विपक्षीमध्येकै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवालीले आयोगसमक्ष अनुचित कार्यमा उजुर परेको छ । सार्वजनिक हित वा सरोकारको विषयमा प्रतिकूल असर पर्ने गरी कसैले अनुचित कार्य गरेमा आयोगसमक्ष उजुरी दिन सक्ने व्यवस्था छ । गाउँ विकास समितिका सचिवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ बमोजिम विभागिय कारवाही गर्न र दफा १२ (ख) बमोजिम उक्त कार्य सच्याउन पठाउन सक्ने व्यवस्था रहेको छ । आयोगको निर्णय उपर यी निवेदकहरू पुनरावेदन अदालतमा पुनरावेदन गर्न जानुपर्नेमा गएको देखिँदैन । आफ्नो हक स्थापित नभएको अवस्थामा रिट लाग्दैन । रिट निवेदन खारेज हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

उपर्युक्तअनुसार विद्वान्‌ वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू तथा सहन्यायाधिवक्ताले गर्नुभएको बहस सुनी रिट निवेदन र सो साथ संलग्न कागजात अध्ययन गरी हेर्दा यसमा  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयबमोजिम भए गरिएका काम कारवाहीहरू बदर हुनुपर्ने हो, होइन ? निवेदन मागबमोजिमको आदेश जारी हुनुपर्ने हो, होइन? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा पिता पुर्खादेखि हालसम्म मोहीको हैसियतले भोग बसोबास गरिरहेको र सोही जग्गाको आयस्ताबाट इन्द्रजात्रा पर्वमा हल्चोक आकास भैरवको जात्रा चलाउने राजगुठी जग्गा पारङ पुतवार निःसन्तान हुँदा काठमाडौं जिल्ला  सीतापाइला वडा नं. ६ हाल इचंगुनारायण गा.वि.स. वडा न. १ को कि.न. ३२१, ३१५, ३१६, ३१८, २२१, ३४२, ४११, ४१३, ४०० र ३९६ समेतका जग्गा नेपाल सरकारका नाममा कायम गर्न विपक्षी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको मिति २०६८।३।५ को निर्णय र मिति २०६८।३।७ को च.नं. २०९८ को पत्र तथा सोसम्बन्धी सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी उल्लिखित जग्गा राजगुठी कायम गर्ने गराउनेतर्फ आवश्यक निर्णय गरी परमादेशसमेत जारी गरिपाउँ भन्ने निवेदकमध्येका पूर्णमान श्रेष्ठ, निलाम्बर खत्रीसमेतको निवेदन व्यहोरा रहेको देखिन्छ । साथै मेरो दाता अरि पुतवारको लोग्ने पारङ पुतवारको नाउँमा साबिक का.इ. हलचोक मौजा, काठमाडौं फुटकर १४७ रै.नं. को लगत भिडी दर्ता हुने सर्वेको नापीमा सीतापाइला गाउँ विकास समिति वडा नं. ६ अन्तर्गत नापजाँच हुँदा किसानको व्यहोरामा पारङ पुतवारको नाउँमा र मोहीमा निवेदनमा लेखिएबमोजिम तत् तत् कित्तामा तत् तत् मोही जनिएको ऐ. कि. नं. ३१५, ३१६, ३१८, २२१, ३२१, ३४२, ३९६, ४००, ४१३, ४११ का जग्गा नापी भई फिल्डवुकमा पारङ पुतवारको नाउँमा अप्रमाणित दर्ता स्रेस्ता खडा भएका जग्गा हुन। पारङ पुतवार र निजको श्रीमती अरि पुतवारबाट कुनै जाय जन्म नहुँदाका अवस्थामा आफ्नै कालगतिले पारङ पुतवार र अरि पुतवार परलोक भइसकेको हुँदा निजले आफ्नो जीवनकालमा मलाई शेषपछिको बकसपत्र पारित गरी दुई अस्टलोह गैह्र सम्पत्ति लेखि दिनुभएको र बाँचुञ्जेल पालन पोषण र मरेपछि काज क्रिया मैले गरेकोले उपर्युक्तबमोजिम पारङ तथा अरि पुतवारको हकका जग्गाहरूको हकदार म हुँदा उक्त जग्गा रैकर भएकोमा हकदार नभएको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका नाउँमा उक्त जग्गाहरू नेपाल सरकारका नाउँमा कायम गर्न प्रक्रिया अगाडि बढाउनु भनी मिति ०६८।३।५ मा निर्णय गरी सोअनुसार गर्न पत्राचार गरेको र मालपोत कार्यालय, कलंकीले उक्त जग्गा मेरो नाउँमा दा.खा. नामसारी दर्ता गरी पाउन दिएको निवेदनमा मालपोत कार्यालय, कलंकीबाट मिति २०६८।५।१५ मा गरिएको दरपीठलगायतको काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकको निवेदनसमेत दर्ता गरी विपक्षी मोहीहरूको निवेदन साथ राखी एकै साथ कानूनबमोजिम हक बेहकमा निर्णय गर्न जानु भनी सुनाइदिनु भन्ने परमादेशलगायत जो चाहिने उपयुक्त आदेश विपक्षीहरूका नाममा जारी गरिपाउँ भन्ने अर्जुन पुतवारको निवेदन व्यहोरा देखिन्छ । उल्लिखित कि.न. का जग्गाहरू श्री हलचोक भैरव (आकाश भैरव) को गुठीको इन्द्रजात्रा चलाउनको लागि राखिएको गुठी जग्गा हो वा रैकर जग्गा हो भनी कारवाही चलिरहेको अवस्थामा सो कारवाहीलाई असर पर्ने गरी भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय क्षेत्राधिकार नाघी भएको छ भन्नेसमेत व्यहोराको गुठी संस्थान केन्द्रीय कार्यालयको लिखित जवाफमा उल्लेख भएको देखियो ।

३. पारङ पुतवारको नामबाट नापनक्सा भई दर्ता बाँकी रहेका साबिक सीतापाइला वडा न. ६ कि.न. ३२१, ३१५, ३१६, ३१८, २२१, ३४२, ४११, ४१३, ४०० र ३९६ समेतका जग्गाको दर्ता सम्बन्धमा इचंगुनारायण गा.वि.स. का सचिव लेखनाथ भट्टराईले बेग्लाबेग्लै व्यहोराको सिफारिस गरेको भन्ने विषयको उजुरी निवेदन विपक्षीमध्येको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको देखियो । सो उजुरी सम्बन्धमा आयोगबाट २०६८।३।५ मा “यसमा उल्लिखित जग्गाहरूको जग्गाधनी निःसन्तान भएको देखिँदा उपर्युक्त जग्गाहरूलाई नेपाल सरकारको नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाउन मालपोत कार्यालय, कलंकीमा लेखी पठाउने” भन्ने निर्णय भएकोले निर्णय कार्यान्वयनका लागि लेखी पठाएको भन्ने व्यहोरा उल्लेख गरी च.न. २०९८ मिति २०६८।३।७ को पत्रद्वारा मालपोत कार्यालय, कलंकीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट पत्राचार भएकोसमेत देखिन आयो ।

४. विपक्षीमध्येको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विवादित मिति २०६८।३।५ को निर्णय र २०६८।३।७ को पत्रलगायत समस्त मिसिल प्रमाण अध्ययन गरी हेर्दा विपक्षी आयोगको निर्णय तथा काम कारवाहीमा निम्नानुसारका कानूनी त्रुटि विद्यमान रहेको देखिन आयोः- 

(क) विवादित जग्गा “जग्गाधनी निःसन्तान भएको” देखिँदा “नेपाल सरकारका नाउँमा कायम गर्ने प्रक्रिया अगाडि बढाउने” भनी आयोगले आफ्नो मिति २०६८।३।५ को निर्णयमा उल्लेख गरेको पाइयो । उल्लिखित व्यहोराबाट विपक्षी आयोगले स्पष्टतः अपुताली हकको निरूपण गर्न खोजेको देखिन्छ । प्रचलित नेपाल कानूनले कुनै व्यक्तिको अपुताली परेको छ, छैन ? निजको हक खाने सन्तान (हकवाला) छन वा छैनन ? कसको अपुताली कसले पाउने हो ? भन्ने विषयमा निर्णय गर्न पाउने अधिकार विपक्षी अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रदान गरेको देखिँदैन । अपुतालीसम्बन्धी प्रश्नहरूको निरूपण अवस्थाअनुसार अदालतबाट र केही प्रसंगमा भूमिसम्बन्धी प्रशासन हेर्ने मालपोत कार्यालय तथा भूमिसुधार कार्यालयबाट गरिने कानूनी व्यवस्था रहेको पाइन्छ । यस अवस्थामा विपक्षी आयोगले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको विषयमा प्रवेश गरी अपुताली हकको निरूपण गर्नु खोज्नु बिल्कुलै उचित कार्य होइन । राज्यका प्रत्येक अंग र निकायहरूले आ-आफ्नो क्षेत्राधिकारभित्र सिमित रहेर कानूनबमोजिम कार्य सम्पादन गर्नुपर्दछ । क्षेत्राधिकार नाघेर भए गरिएका काम कारवाहीले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । यस दृष्टिबाट हेर्दा विपक्षी आयोगको मिति २०६८।३।५ को निर्णय एवं सोअनुसार भए गरिएका काम कारवाहीहरूलाई कानूनअनुकूल मान्न मिलेन ।

(ख) रिट निवेदकले सुनुवाइको मौका प्रदान नगरिएको हुँदा प्राकृतिक न्यायको सिद्धान्तको गम्भिर उल्लङ्घन भएको छ भनी प्रश्न उठाएको 

देखिन्छ । क्षेत्राधिकारभन्दा बाहिरको विषयमा सुनुवाइको मौका प्रदान गरेर नै निर्णय गरिएको भएपनि त्यस्ता निर्णयले कानूनी वैद्यता प्राप्त गर्न सक्दैनन । यसका अतिरिक्त प्रस्तुत विवादका सन्दर्भमा हेर्दा विवादित जग्गामा हकदाबी गर्ने रिट निवेदकहरू कसैलाई पनि प्रतिवादको उचित अवसर नै प्रदान नगरी नेपाल सरकारको नाउँमा जग्गा दर्ता गर्ने निर्णय गरेको पाइयो । कसैको हकहितमा असर पर्ने गरी कुनै निर्णय गर्नुपूर्व सम्बन्धित असर पर्ने व्यक्तिलाई सुनुवाइको अवसर प्रदान गर्नु आवश्यक हुन्छ । यो एक स्थापित न्यायिक मान्यता हो । यस मान्यता प्रतिकूलका निर्णयले मान्यता नपाउने, बदर हुने भनी यस अदालतबाट पटक-पटक व्याख्या, विवेचना र सिद्धान्त प्रतिपादन भएका छन् । यस दृष्टिबाट हेर्दासमेत विपक्षी आयोगको विवादित निर्णय र काम कारवाही न्यायिक मान्यता, न्यायका आधारभूत सिद्धान्तअनुकूल देखिन आएन ।

(ग) विवादित जग्गा रैकर हो? वा राजगुठीको जग्गा हो? वा अन्य कुनै प्रकारको जग्गा हो? भन्ने सम्बन्धमा गुठी संस्थानमा कारवाही चली रहेको भन्ने तथ्यसमेत प्रस्तुत हुन आएको पाइयो । गुठी संस्थानका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेलले बहसका क्रममा विपक्षी आयोगको निर्णय सम्बन्धमा प्रश्न उठाउँदै सो निर्णयबाट गुठी संस्थानको अधिकारमा हस्तक्षेप हुन पुगेको कुरा उल्लेख गर्नुभएको 

छ । इजलाससमक्ष प्रस्तुत हुन आएका फायल, कागजातबाट माथि उल्लिखित विभिन्न १० कित्ता जग्गा दर्ता वा स्रेस्ता कायम गर्ने सम्बन्धमा गुठी संस्थानमा कारवाही चलिरहेको भन्ने पनि देखिन आएको छ । यस अवस्थामा विवादित जग्गा गुठीको जग्गा हो वा होइन ? यदि हो भने राजगुठी, निजी गुठी वा अरू के कुन प्रकृतिको जग्गा हो ? भन्ने कुराको निर्णय गर्ने अधिकार गुठी संस्थानमा रहेको देखिन्छ । यसका साथै, जग्गा दर्ता गर्ने कुरामा उचित निर्णय गर्न पाउने अधिकार तथा दायित्व मालपोत ऐन, २०३४ समेतका कानूनले सम्बन्धित मालपोत कार्यालयलाई तोकेको 

पाइन्छ । कानूनद्वारा अख्तियार प्राप्त निकायले तथ्य र प्रमाणको आधारमा स्वतन्त्र विवेकको प्रयोग गरी मूल्याङ्कन गर्ने र निर्णय गर्ने अधिकारको प्रयोग गर्न नपाउँदै विपक्षीमध्येको अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट निर्णय गरिनु उचित र कानून अनुकूल देखिँदैन ।

 

५. अतः विवादित जग्गाहरू श्री हलचोक भैरव (आकाश भैरव) को गुठीको इन्द्रजात्रा चलाउनको लागि राखिएको गुठी जग्गा हो वा रैकर जग्गा हो भनी गुठी संस्थानमा कारवाही चलिरहेको अवस्थामा सो कारवाहीलाई असर पर्ने गरी प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने गरी आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको विषयमा प्रवेश गरी भएको विपक्षीमध्येको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०६८।३।५ को निर्णय, मिति २०६८।३।७ को च.न. २०९८ को पत्र र सोबमोजिम भएका काम कारवाहीसमेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।

६. जुनसुकै प्रकारका जग्गाको दर्ता स्रेस्ता दुरूस्त, अद्यावधिक र व्यवस्थितरूपमा राखिनु पर्दछ । जग्गाको दर्ता, हक स्वामित्व र भोगको विषय अवस्थानुसार व्यक्तिको हक, सार्वजनिक हक हित वा सरोकार र संस्थागत हक हितको विषयको रूपमा रहेको हुन्छ । जग्गा दर्ता गर्ने कुरा स्वामित्व निर्धारणसम्बन्धी विषय भएकोले यस कार्यलाई लामो समयसम्म अनिर्णित, अनिश्चित र संशययुक्त अवस्थामा रहन दिनु शोभनीय हुँदैन । यही अनिश्चयको अनुचित लाभ लिएर सरकारी वा सार्वजनिक जग्गालाई निजी कायम गर्ने दूषित प्रवृत्तिहरू समेत देखा पर्ने गरेका छन् । मालपोत ऐन, २०३४ को दफा २४ ले सार्वजनिक जग्गा व्यक्तिका नाउँमा दर्ता भएको भएपनि त्यस्तो दर्ता बदर हुने प्रावधान व्यवस्थित गरेको 

छ । उक्त कानूनी प्रावधानको कार्यान्वयनमा वाञ्छित प्रभावकारिता अभिवृद्धि गर्ने चुनौती पनि सम्भवतः कायम नै छ । जग्गा दर्तासम्बन्धी विषय अधिकारको कुरा मात्र नभएर जवाफदेहिताको विषय पनि हो । यस पक्षमा पनि नेपाल सरकारअन्तर्गतका जग्गा प्रशासन गर्ने सम्बद्ध सबै निकायहरूको गम्भिर ध्यानाकर्षण हुन वाञ्छनीय देखिन्छ । उल्लिखित प्रसङ्गतर्फ समुचित दृष्टि दिई विवादित जग्गाहरू गुठी वा रैकर के हो ? सो जग्गा निजी वा सार्वजनिक वा सरकारी के कस्तो प्रकारको जग्गा हो ? गुठी संस्थानसँग उचित र आवश्यक समन्वय कायम गरी गुठी संस्थानसमेतको प्रतिक्रिया लिई, जग्गा दर्ता गर्ने सम्बन्धमा अरू जे जो बुझ्नुपर्ने प्रमाण बुझी तथ्य निरूपण गरी अख्तियार प्राप्त मालपोत अधिकृतले कानूनबमोजिम निर्णय गर्नु भनी विपक्षीमध्येको मालपोत कार्यालय, कलंकीसमेतका विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । आदेशको जानकारी विपक्षीहरूलाई गराई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.अनिलकुमार सिन्हा

 

इजलास अधिकृत : कोशलेश्वर ज्ञवाली

इति संवत् २०७३ साल असोज ३० गते रोज१ शुभम्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु