शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३१३ - उत्प्रेषण

भाग: ३३ साल: २०४८ महिना: असोज अंक:

निर्णय नं. ४३१३     ने.का.प. २०४८      अङ्क ६

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

सम्वत् २०४६ सालको रिट नं. १४९१

आदेश भएको मिति: २०४८।५।२५।३ मा

निवेदक      : मोरङ विराटनगर न.पं. वडा नं. १४ बस्ने लम्बोदरलाल कायस्त

विरुद्ध

विपक्षी : मालपोत कार्यालय विराटनगरसमेत

विषय : उत्प्रेषण (साविक पेज नं. ३०४)

(१)    जिल्ला अदालतमा रिट निवेदक तथा विपक्षी समेत बीच अंश मुद्दाको कारवाही चलिरहेको देखिँदा मुद्दा पर्दा पर्दैको अवस्थामा त्यसलाई असर पर्ने गरी तथा अधिकार प्राप्त अदालतबाट कानुन बमोजिम मुद्दाको कारवाही भइरहेको अवस्थामा सोही मुद्दाको विवादित विषयमा रिट क्षेत्रबाट हेर्न नमिल्ने ।

(प्रकरण नं. १८)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास

आदेश

न्या.लक्ष्मणप्रसाद अर्याल

१.     स्व.बैजनाथका दुई छोरामा जेठा दाजु सगमलाल र जयलाल भई सगमलालको ९० सालमा र कान्छा जयलालको २००६ सालमा देहावसान भए पश्चात सगमलालका ४ भाइ छोराहरु क्रमशः झण्डीलाल, अर्जुनलाल, हर्षितलाल र जनार्दनलालले १० आना र कान्छा जयलाल पट्टिका दुई छोरामा जेठा विपक्षी शारदाका पति स्व.दामोदर र कान्छा म निवेदक ६ आना हिस्सा लिने गरी ०८।८।१०।१ मा अंशबण्डा गरी लियौं ।

२.    अंशबण्डा हुँदा तक हाम्रो बाबु बाजेको जिम्दारी र जिरायत जग्गा समेत भएको हुँदा सो सहित बण्डा भएको थियो । बाबु बाबुका छोराहरुमा अंशबण्डा भएको हो । बण्डा हुनु अघि दाजु दामोदरसंग हामी आपसको समेत यसै बण्डापत्रबाट अलग अलग भाग गरौं भन्दा जि.प.खान्गी र जिरायत जग्गा समेत भएकोले हाल फुटाई लिन अनुकूल पर्दैन । बण्डापत्रबाट प्राप्त हुने मोरड्ड र महोत्तरीका जग्गा मध्ये दाजु महोत्तरी बस्ने मलाई मोरड्ड राख्ने इच्छा व्यक्त गर्नु भई मानो सम्म छुट्टाई अलग बसौं भन्दा रीतपूर्वकको आपसी बण्डापत्र पछि गर्ने गरी पारस्परिक सहमति र सल्लाहबाट अलग जग्गा जिरायत र पटुवारी खान्गी लोभ गरी दाजु महोत्तरी बस्ने इच्छा व्यक्त गर्नु भएकाले म निवेदक मोरङ बस्ने अब उप्रान्तको आर्जनमा आफ्नो हुने गरी बण्डापत्रबाट प्राप्त सम्पत्तिमा मोरङपट्टिका र अब दाखिल दर्ता गर्दा नरम करम मिलाई तिम्रा फाँटमा पनि जि.पं.मा दाखिल दर्ता गराई रीतपूर्वकको आपसी बण्डा गर्ने भन्ने दाजुको इच्छा मुताविक मोरड्ड पट्टिका प्र.वरियाती मौजे मोरङ, जागिर खान्गी मधुरा मौजाका जग्गा समेत मेरै दर्तामा रहने तथा महोत्तरी तर्फका मेरा दर्ताका मेरै दर्तामा राख्न मञ्जूर गरी चलको हकमा हातहातै बण्डा गरी बण्डापत्र भई म निवेदक मोरड्ड बस्ने भई उल्लेख गरी ००९।१।१ देखि मानो छुट्टी म फिरादी परिवार सहित विराटनगर आई बसेको छु । मानो छुट्टिएको कुरा ००८ सालको बण्डापत्रबाट प्राप्त सम्पत्ति दाखिल दर्ता गर्ने सिलसिलामा जि.पं.मा दर्खास्त दिंदा दाजु स्व.दामोदरको वतन महोत्तरी कोजरी मौजे अफौरा र म निवेदकको विराटनगर भनी उल्लेख (साविक पेज नं. ३०५) भएको दर्खास्तबाट प्रष्ट छ । ००८ सालदेखि ०४५ साल तकको लामो अन्तरालसम्म हामीहरुको लेनदेन कारोबार आफ्नो आफ्नो भएको कुरामा विवाद छैन । यसको अतिरिक्त दाजु स्व.दामोदरले बिगत ०४२ सालसम्म विभिन्न व्यक्तिहरुलाई जग्गा बिक्री गर्दा आफ्नो वतन जि.धनुषा देवडिया गा.पं. उल्लेख गर्नु भएको छ । मेरो अंश हकमा जग्गा दाजु समेतले बिक्री गरेकोमा मैले मोरङ जिल्ला अदालतमा नालेश गरेको छु ।

३.    ००९।१।१ देखि दाजु दामोदरसंग मानो छुट्टि परिवार सहित म निवेदक विराटनगर आई बस्दा बसोवासको निम्ति घरको आवश्यक परी विराटनगर न.पं. वडा नं. १० हाल वडा नं. १४ र नं. १९६ को ० को जग्गामा घर बनाउन २०१३ सालमा तत्कालिन विराटनगर सकल अफिसबाट इजाजत प्राप्त गरेको थियो, सो घर कच्ची भएकोले ईट्टाको गाह्रो उठाई घर बनाउन इजाजत पाउँ भनी विराटनगर नगरपञ्चायतमा निवेदन गर्दा २०२७।२।१८ मा इजाजत दिएकोले घर बनाउँदा कानुनी प्रकृया उल्लंघन गरेको भनी प्रत्यर्थी नगरपञ्चायतले ०३०।७।३ मा जरिवाना समेत गरेको थियो ।

४.    दाजु दामोदरलालको २०४२ सालमा देहावसन भएपछि निजको छोरा प्रत्यर्थी मध्ये जगदिशचन्द्रले मेरो उक्त घरवास भएको मौजे पिछरा रै.नं. १९६ को ० जग्गा आफ्ना र म निवेदकका नाममा संयुक्त नामसारी गरी पाउँ भनी प्रत्यर्थी मालमा ०४३।१०।२३ मा निवेदन गर्नु भएछ । सो अगावै प्रत्यर्थी जगदिशले मात्र प्रत्यर्थी समिति कार्यालयमा नामसारी गर्न सिफारिशको लागि निवेदन गर्नु भएछ । सो समितिले ०४३।१०।१६।६ मा आफ्नो क्षेत्राधिकार भित्र नपर्ने धनुषा जिल्ला अन्तर्गतको जग्गा समेतको सन्दर्भमा वेरितसंग मुचुल्का स्वरुपको सरजमीन गरेको रहेछ । सोही सरजमीनलाई आड लिई प्रत्यर्थी पञ्चायतले प्रत्यर्थी मध्येको जगदीशका नाममा नामसारी गर्न प्रत्यर्थी मालका नाउँमा च.नं. २९०७ मिति ०४३।१०।१९ मा सिफारिश गरेको रहेछ । प्रत्यर्थी जगदीशको ०४३।१०।२३ मा प्रत्यर्थी मालमा निवेदन परेछ । प्रत्यर्थी मालबाट संयुक्त दर्तावालाको पनि यसमा सहमति हुनु पर्ने देखिएबाट सहमति भएपछि कारवाही हुने गरी मुलतवीमा राखी दिने भनी ०४४।३।२३ मा मुलतवी रहेछ । पुनः प्रत्यर्थी जगदिशचन्द्रको ०४४।६।९ मा निवेदन पर्दा प्रत्यर्थी मालले कारवाही जगाएको रहेछ । त्यो पश्चात प्रत्यर्थी मालले प्र. १ नं. नापीमा पत्राचार गरी उक्त जग्गा हाल कसको नाममा नापी रहेको छ भनी बुझेछ । प्रत्यर्थी १ नं. नापीले ०४४।१०।१३ मा हाल कित्ता नं. १०४ मा फिल्ड बुकमा दामोदरलाल र जगदीश चन्द्रलाल कर्णको नाममा ज.वि. ०१ नाप नक्शा भई आएको दर्ता हुन बाँकी देखिएको व्यहोरा दर्शाई जवाफ दिएको रहेछ । अतः प्रत्यर्थी मालका फाँटवालाबाट निवेदकका नाममा नामसारी दर्ता गर्न मनासिब हुँदा पेश गरेको भनी राय उठेको र सोही व्यहोरा मनासिब भनी ना.सु.ले स्वीकृति जनाएपछि जग्गा पजनीको २क नं. रजिष्ट्रेशनको ३२ क.नं. लगाई साविक दर्तावालाको नाउँ खारेज गरी निवेदकहरुको नाउँमा निवेदन बमोजिम नामसारी दा.खा. गरी दिने भनी मेरो दर्तालाई समेत खारेज गर्ने बोली पारी ०४४।१२।१ मा अधिकृतज्यूबाट टिप्पणी उपर आदेश भएछ । अन्ततः म निवेदक र प्रत्यर्थी जगदिशचन्द्रलाललाई संवोधन गरी प्रत्यर्थी मालका नायब सुब्बाले सही गरी मिति ०४४।१२।१६ मा चलन पुर्जी लेखी दिनु भएछ ।

५.    मृतक दामोदरलालको छोरा प्रत्यर्थी जगदिशचन्द्रका नाउँमा नामसारी गरिदिने भनी निर्णय भएको भनी पत्र प्राप्त भएपछि सो पत्र लिई म निवेदक प्रत्यर्थी मालमा गएको थिएँ ।

६.    प्रत्यर्थी शारदादेवीले म समेत उपर मोरङ जिल्ला अदालतमा अंश मुद्दा दायर गर्नु भई मेरा नाममा जारी भएको इतलायनामा मिति ०४५।१०।२।१ मा तामेल भयो । अंश मुद्दाको प्राप्त फिराद नक्कलमा यही विवादको जग्गा प्रत्यर्थी मध्येको जगदिशचन्द्रलालको नाउँमा नामसारी भएको भन्ने कुरा उल्लेख भएको (साविक पेज नं. ३०६) देखिएबाट सत्य के रहेछ भनी प्रत्यर्थी मालमा वारेश पठाई मिति ०४५।११।५ मा नक्कल लिंदा उक्त सबै कुरा ज्ञात हुन आयो । मालको मिसिलमा प्रत्यर्थी १ नं. नापीको पत्र समेत संलग्न रहेको देखिन आई अरु थप जानकारी मिल्न सक्ने देखी प्रत्यर्थी १ नं. नापीको मुख्य कार्यकारिणी कार्यालय प्रत्यर्थी नापी क्याम्पमा गई ०४६।१।५ मा नक्कल लिई हेर्दा प्रत्यर्थी जगदिशले प्रत्यर्थी १ नं. नापीमा म निवेदकको हकमा र आफ्नो हकमा समेत भनी मबाट अख्तियारनामा नै नपाएकोमा ०४५।६।९।१ मा कागज गर्नु भएछ । कागज गर्दा घर अम्बिकाको दाइजो पेवाबाट बनेको होइन सगोलमा बसी आएकोले सगोलबाट बनेको हो निजको पति लम्बोदरले पनि एकलौटी बनाएको होइन भनी मेरै विरुद्धमा लेखी लेखाई दिएका रहेछन् । प्रत्यर्थी १ नं. नापीले ०४५।३।७ को पत्रबाट म तथा प्रत्यर्थी जगदीशलाई झिकाएको रहेछ तर सो पत्र प्रत्यर्थी जगदिशले आफैं बुझी प्रत्यर्थी १ नं. नापीमा कागज गर्नु भएछ । दाजु दामोदर र म ००९ सालमा मानो छुट्टि अलग बसेपछि मेरी पत्नी अम्बिकाको दाइजो पेवा समेत लगाई घर बनेको हो । अतः नापीमा घर बसोवास जनाउन निवेदन गरेकी थिइन् । सो कुरा खण्डन गरेको बहाना पारी जगदीशले मेरै विरुद्ध मेरो अख्तियार बिना नै कागज गरेको प्रष्ट छ । प्रत्यर्थी १ नं. नापीले प्रत्यर्थी जगदीशलाई कागज गराएपछि फायल प्रत्यर्थी नगर नापीमा पठाइए छ । नगर नापीले समेत निर्णय नगरी केवल आफ्नो कार्यालयको प्याडमा अरु कुराको अतिरिक्त निवेदिका र दर्तावाला व्यक्तिहरु एक परिवारका भएको देखिएको भन्दै संयुक्त दर्ता गरी दिने यसमा चित्त नबुझेमा सम्बन्धित अदालतमा ऐनका म्यादभित्र उजूरी गर्न जानु भनी जानकारी दिने भन्ने समेत लेखी पारी प्रत्यर्थी १ नं. नापीलाई प्रत्यर्थी नापी क्याम्पले फायल फिर्ता पठाएको रहेछ ।

७.    प्रशासनिक वा अर्धन्यायिक निर्णय गर्न पाउने अधिकारी कार्यालयको निर्णयले अर्काको हक अधिकारमा प्रतिकूल प्रभाव पर्दछ भन्ने प्रतिरक्षा गर्ने न्यूनतम मौकासम्म नदिई निर्णय गर्न प्राकृतिक न्यायको सिद्धान्त अनुसार मिल्दैन । प्रत्यर्थी मालले मेरो सहमति भएपछि कार्यवाही हुने एक पटक मुलतवी राखी सकेपछि मुलतवी जगाई कारवाही गर्दा समेत माल अधिकृतले आफूले पाएको निर्णय सम्बन्धी अधिकारलाई उपयोग नगरी टिप्पणी उपर आदेश गर्नु भएको छ । प्रत्यर्थी मालले स्वयं हक बेहकको स्थिति देखिसकेपछि हकबेहक गराउन अदालत जान सुनाउन पर्ने हो । प्रत्यर्थी जगदीशले प्रत्यर्थी १ नं. नापीमा ०४५।६।९।१ मा कागज गर्दा मेरो हकमा समेत भनी कागज गरेको छ । मैले अख्तियारनामा दिएको छैन । म समेतले घरबास जनाई पाउँ भनी प्रत्यर्थी १ नं. नापीमा उजूर गरिसकेपछि आवश्यक सबूद प्रमाण बुझी निर्णय गर्नु पर्नेमा हक बेहक गराउन सुनाउनु पर्नेमा प्रत्यर्थी नापी क्याम्पले निर्णय नै नगरी सगोलको देखिएको भनी विपक्षीहरुलाई सगोल देखाई मातहतको १ नं. नापीलाई संयुक्त दर्ता गरी दिने तथा चित्त नबुझे अदालतमा उजूर गर्न जाने गरी सुनाई दिने भन्ने उल्लेख गरी प्रत्यर्थी १ नं. नापीले वडा नं. १४ मा हुँदै नभएका उनाउ व्यक्ति साक्षी राखी स्थानीय सदस्य समेत रोहवरमा नराखी प्राकृतिक न्यायको सिद्धान्त विपरीतको कारवाही र टिप्पणी आदेशबाट नेपालको संविधान, २०१९ को दफा १०(२), ११(६)(ङ), १५ द्वारा प्रदत्त मौलिक हक हनन् गरी प्रमाण ऐन, ०३१ को दफा ३/५४, अ.बं. ६५, ११, १८४(क) र १८५ नं. विपरीत पत्र लेखी तथा टिप्पणी आदेश गरी हक बेहकको स्थिति देखिँदा देखिँदै पनि अ.बं. ३५ नं. विपरीत विपक्षी जगदीशको नाउँ समावेश गरी दर्ता नामसारी गरी दिने प्रत्यर्थी मालको टिप्पणी एवं परिवार कायम गरी दर्ता गर्ने आदेश दिने प्रत्यर्थी नापी क्याम्पको पत्रबाट उपचारको अन्य बाटो अवरुद्ध पारी दिएकोले संविधानको धारा १६।७१ अन्तर्गत प्रस्तुत रिटनिवेदन दिन आएको छु ।

८.    अतः प्रत्यर्थीहरुसंग जे जो बुझ्नु पर्छ बुझी प्रत्यर्थी मालको मिति ०४४।१२।१ को टिप्पणी आदेश सो को आधारमा ना.सु.ले गरी दिएको मिति ०४४।१२।१६ (साविक पेज नं. ३०७) को चलन पुर्जी म निवेदकको हकमा र आफ्नो हकमा समेत भनी प्रत्यर्थी जगदीशले प्रत्यर्थी १ नं. नापीमा गरे गराएको ०४५।६।९।१ को कागज एवं प्रत्यर्थी नगर नापीको मिति ०४५।७।१८ को प.स.प्र. १३ नि. ५४।०४५।०४६ को पत्र र तत्सम्बन्धमा उठेका माल, १ नं. नापीका समस्त कारवाही पत्राचारहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी म निवेदकलाई समेत सुनुवाइको अवसर दिई कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत प्रत्यर्थीहरुका नाममा परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।

९.    यसमा के कसो भएको हो ? निवेदन माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई प्राप्त भएपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीश इजलासबाट मिति ०४६।३।१४।४ मा भएको आदेश बमोजिम प्राप्त हुन आएको लिखितजवाफहरुको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

१०.    विराटनगर नगरपञ्चायत वडा नं. १४ बस्ने लम्बोदरलालको वि.न.न.पं. वडा नं. १४(ग) को कि.नं. १०४ को जग्गा यस नापी क्याम्पबाट नाप नक्शा हुँदा लम्बोदरलाल जगदिशचन्द्र लालको संयुक्त दर्ताको जग्गा हो भनी साँध संधियार समेतले देखाए बमोजिम ०४३।४।१० मा नाप नक्शा भएको र सोही अनुसार ०४५।८।१५ मा फिल्डबुकमा सहिछाप गर्न जगदिशचन्द्र लालले मौजे पिछडाको रै.नं. १९६ को रसिद पेश गर्नु भई लम्बोदरलाल १, जगदिशचन्द्र लालको नाउँमा संयुक्त दर्ता भई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो उक्त जग्गामा अंश लाग्ने नलाग्ने तत्सम्बन्धमा तथा दा.खा. रीत बेरीत के हो तत्सम्बन्धमा अधिकार यस क्याम्पलाई नभएको हुँदा प्रमाणको आधारमा जग्गा दर्ता गरिएको हुँदा विपक्षी दावी झुठ्ठा हो ।

११.    अम्विकादेवी कायस्तले यसै क्याम्पको द.नं. ५२८ मिति ०४५।२।५ मा हुलाकबाट घर बसोवास जनाई पाउँ भनी निवेदन दिनु भएको र सोही सम्बन्धमा निजको नाउँमा ७ दिने म्याद पुर्जी जारी गर्दा निजको वा.प्रमोदकुमार लालले उपस्थित भई बयानमा वि.न.पं. वडा नं. १४(ग) को कि.नं. १०४ मा अम्बिकादेवीले दाजुको पेवाबाट घर बनाउनु भएको र घरमा जडान भएको बिजुली छोरा प्रमोदकुमारको नाउँमा भएको र उक्त घर दाइजो पेवाबाट बनाएकोमा प्रमाण केही पनि नभएको भनी सनाखत बयान गर्नु भएको र जगदीश चन्द्रलालले, अम्बिकादेवी मेरो सगोलको काकी हुनु भएको र काका लम्बोदरलाल र म जगदीशचन्द्रको सगोलको सम्पत्तिबाट नै घर समेत बनेको हुँदा दाइजो पेवाको होइन भनी बयान गरेकोमा प्रमाणको अभावले घर अम्बिकादेवीको नाउँमा कायम गर्न नसकिने भनी यस क्याम्पबाट ०४५।७।१ मा निर्णय भई सो उपर चित्त नबुझे ऐनका म्याद भित्र उजूर गर्न जानु भनी जानकारी समेत पठाउँदा जगदिशचन्द्रका सगोलको भाइ पवनकुमारले ०४५।७।३० मा जानकारी पत्र बुझी लिनु भएको र अम्बिकादेवीको एकासगोलका छोरा पवनकुमारले जानकारी पत्र ०४५।७।३० मा बुझी लिनु भएको जानकारीपत्र व्यहोरा मिसिलबाट देखिएको हुँदा निज लम्बोदरलालको श्रीसम्पत्तिमा कुनै किसिमले कानुनी हकबाट बन्देज हुने किसिमको कानुन विपरीत कार्य यस क्याम्पबाट नभएको हुँदा विपक्षीको रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको विराटनगर नगर नापी क्याम्पको लिखितजवाफ ।

१२.   लम्बोदर कायस्तले घर बनाउने सम्बन्धमा २०२६ साल फाल्गुणमा घर बनाउनेको नक्शा पास गर्न निवेदन दिएको बेला विराटनगर नगरपञ्चायतको वडा समिति नै थिएन । लम्बोदर कायस्थले घर बनाउने इजाजत पाउन निवेदन दिएपछि पञ्चायत नियम अनुसार निजले विराटनगर न.पं. वडा नं. १० हाल वडा नं. १४ स्थित कलेज रोड पूर्व गोविन्द अग्रवाल देखि पश्चिम, झडीलाल हर्षितलाल उत्तर, सूर्यकुमारीदेखि दक्षिणको जग्गामा लम्बाई ४३ फिट चौडाई २६ को पक्की घर बनाउन नक्शा पास गरिपाउँ भनी निवेदन दिएपछि मर्का (साविक पेज नं. ३०८) पर्ने व्यक्तिले १५ दिन भित्र यस नगर पञ्चायत कार्यालयमा उजूर गर्न सूचना जारी गरिएको थियो । तत्पश्चात नै झडीलाल दास कायस्तले मिति २०२६।१२।२३ मा निज लम्वोदरले घर बनाउने जग ३४।२५ फिटमा लम्बाई भएको हुँदा हाम्रो ७।८ फिट जग्गा मिचिने हुँदा उजूर गरेको देखिन्छ र यस नगरपञ्चायतबाट सरजमीन तथा ओभरसियर गई जाँच गर्दा निजको जग्गा देखि उत्तर दक्षिणतर्फ साँधमा साविकदेखि ईटाको पर्खाल लागिरहेको र सो उत्तर दक्षिणसम्मको पर्खाल सम्मको जग नापी गर्दा ३५६ भएको र सो मध्ये उत्तरतर्फबाट लम्बाई २६ र चौडाई २२६ को नक्शा गरिदिएको हो । निवेदक र निजको अन्य अंशियारका विषयमा यो नगरपञ्चायतले कुनै निर्णय नगरेको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने विराटनगर नगरपञ्चायतको लिखितजवाफ ।

१३.   २००८।८।१० मा अंशबण्डा भई हाम्रो पति पिता दामोदरलाल र यी विपक्षी निवेदक सहोदर दाजु भाइ भएकोले दुवै दाजु भाइका परिवार एकासगोलमा नै बसी सम्पूर्ण व्यवहार खती उपती सगोलबाट हुँदै रहेको र विपक्षी निवेदक र हाम्रो पति दामोदरलालको आपसी सल्लाहबाट महोत्तरी जिल्ला तर्फको जग्गा पटवारी आदिको रेखदेख दामोदरलालले गर्ने, मोरङ जिल्ला अन्तर्गतको जग्गा पटवारी आदिको रेखदेख लम्बोदर लालले गर्ने निश्चय भई सो अनुरुप मोरङ जिल्लामा पर्ने जग्गा पटवारी आदि विपक्षी निवेदकका नाउँमा र महोत्तरी जिल्लाको जग्गा पटवारी आदि हाम्रो पति पिता दामोदरलालका नाममा दर्ता गरी गराई सगोल परिवारको घर व्यवहार चली रहेको हाम्रो पति पिता दामोदरलाल अघि देखि महोत्तरीको जग्गा पटवारीको रेखदेख गरी राख्नु भएको हुनाले आफ्नो वतन महोत्तरी जिल्ला लेख्नु हुन्थ्यो तर निजको परिवार र निजको स्थाई बसोवास चाही मोरङ जिल्लाको विराटनगर बजारमा नै विपक्षी निवेदककै संग साथमा रहेको । हाम्रो पति पिता स्व.दामोदरलालको मृत्यु भएपछि हामीहरु जि.मोरङ विराटनगरमा रहे भएको प्रमाणको लागि निजको नागरिकता प्रमाणपत्र पेश गरेका छौं । जसबाट यथार्थ कुरा अवगत हुने नै छ । तसर्थ २००९।९।१।१ देखि विपक्षी निवेदक र हाम्रो पति पिता दामोदरलाल मानो छुट्टी भिन्न भई बसी आफ्नो खति उपति व्यवहार बेग्ला बेग्लै गरी आएको भन्ने निवेदकको भनाई सर्वथा झुठ्ठा र फरेवपूर्ण छ । विपक्षी निवेदकले हामीलाई अंश दिन इन्कार गर्दा हामीले विपक्षी उपर श्री मोरङ जिल्ला अदालतमा अंश मुद्दा दिई कारवाही भइरहेको रिसले दुःख दिनलाई विपक्षीले हामी उपर अन्य विभिन्न झुठ्ठा मुद्दा श्री मो.जि.अ. मा दर्ता गराएको त्यसमा पनि कारवाही भइराखेको र सोही क्रममा हामीलाई दुःख दिनलाई झुठ्ठा कुराहरु उल्लेख गरी यो रिटनिवेदन दिनु भएको हो ।

१४.   निवेदक र हाम्रो पति पिता दामोदरलालको आधी आधी अंश हक लाग्ने दुवै दाजु भाइका संयुक्त नाममा दर्ता रहेको उक्त जग्गा र सो जग्गा साथ संगै बसेका घरहरु समेत नगर नापी क्याम्पबाट नापी हुँदा निवेदक लम्बोदर र म जगदिशचन्द्रलालका संयुक्त नाउँमा दर्ता रही सो जग्गामा रहेको उक्त घरहरुमा हामीहरु समेत साविक देखि बसी भोगी आएको कारणले सो जग्गा घर बसोवास दुवैजनाको संयुक्त नाममा नापी गरिएको अवस्था यी निवेदकले कुनै बाधा विरोध नगरी नापी भएपछि निवेदकले आफ्नी श्रीमती अम्बिकादेवीबाट उक्त संयुक्त नामको नापीमा कायम भएको कि.नं. १०४ को जग्गामा बनेको घरहरु निजको दाइजो पेवाबाट बनेकोले निजको घर बसोवास कायम गरी पाउँ भनी मिति ०४५।२।५ गतेमा नापी टोलीमा उजूर दिनु भयो । विराटनगर नापी क्याम्पबाट उक्त कि.नं. १०४ को जग्गामा अम्बिकादेवीले मेरो घर बसोवास जनाई पाउँ भनी निवेदन तथा बयान गरे पनि निवेदिका र दर्तावाला व्यक्तिहरु एकै परिवारका भएका देखिएकोले र निजको दाइजो पेवाबाट घर बनाएको कुनै प्रमाण नभएकोले फिल्ड सरजमीनबाट नाप नक्शा भई आए अनुरुप प्रमाण बमोजिम संयुक्त दर्ता गरी (साविक पेज नं. ३०९) दिने र यसमा चित्त नबुझेमा सम्बन्धित अदालतमा ऐनका म्याद भित्र उजूर गर्न जाने भनी जानकारी दिने भनी निर्णय गरिएको थियो । सो को जानकारी अम्बिकादेवीलाई मिति ०४५।१।९ मा दिई सो को बोधार्थ म जगदीश चन्द्रलाल र निवेदक लम्बोदरलाललाई पनि बुझाएकोमा अम्बिकादेवीले वा निवेदक लम्बोदरलालले सो निर्णय उपर आजसम्म कुनै अदालतमा नालेश गर्न सक्नु भएको छैन । यस्तो निर्णय गर्ने अधिकार जग्गा (नाप जाँच) ऐन, अन्तर्गत नापी अधिकृतलाई भइरहेको ऐनद्वारा प्रदत्त अधिकारको परिधि भित्र रही सो निर्णय कानुन अनुकूल नै छ र सो निर्णयमा चित्त नबुझेको भए अम्बिकादेवीले ३५ दिन भित्र अदालतमा नालेश गरी सबूद प्रमाण पेश गरी आफ्नो घरवास कायम गराउनु पर्दथ्यो तर निज अम्बिकादेवीले गर्न सक्नु भएन । अब यी निवेदकले सो जग्गामा निजको ज्ञान शीपबाट एकलौटी घर बनाएको भनी यो रिटनिवेदनमा झुठ्ठा उजूर लिई निवेदन दिनु भएकोले र हामीले विपक्षी निवेदक उपर समेत हाम्रो अंश हकको लागि श्री मोरङ जिल्ला अदालतमा मुद्दा दिई कारवाही चलिरहेको मुद्दामा विपरीत असर पार्न र मुद्दा लम्ब्याउन झुठ्ठा कुराहरु उल्लेख गरी रिटनिवेदन दिएकोले खारेज गरी पाउँ भन्ने समेत व्यहोराको शारदादेवी कायस्त समेत ४ जनाको संयुक्त लिखितजवाफ ।

१५.   मालपोत कार्यालय मोरङको तर्फबाट लिखितजवाफ प्राप्त हुन नआएको ।

१६.    नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदकको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले प्रत्यर्थी मालले संयुक्त दर्ता गर्ने माल कार्यालय मोरङको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ । हक बेहकको प्रश्नमा न्यायिक निरोपण गर्ने अधिकार मालपोत कार्यालयलाई छैन भनी तथा विपक्षी जगदिशचन्द्र समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दासले मालपोत कार्यालय मोरङले रिट निवेदकलाई सूचना दिएको र मेरो पक्षले रिट निवेदक विरुद्ध मोरङ जि.अ.मा अंश मुद्दा दायर गरी कारवाही चलिरहेको अवस्था हुँदा रिट क्षेत्रबाट हेर्न मिल्ने होइन भनी बहस जिकिर प्रस्तुत गर्नुभयो प्रत्यर्थी कार्यालयको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान अनुपस्थित रहनु भएको ।

१७.   यसमा रिट निवेदकले रिट निवेदकको प्रकरण छ मा विपक्षी शारदादेवी समेतले यी रिट निवेदक उपर मोरङ जिल्ला अदालतमा अंश मुद्दा दायर गरेको र निजको नामको इतलायनामा मिति ०४५।१०।२।१ मा तामेल भयो भनी उल्लेख गरेको देखिन्छ । निवेदक उपर अंश मुद्दा मोरङ जि.अ.मा दायर भई कारवाही चलिरहेको कुरा विपक्षी शारदादेवीको लिखितजवाफ प्रकरण १० मा पनि उल्लेख गरेको देखिन्छ । विपक्षी शारदादेवी समेतले यी रिट निवेदक उपर अंश मुद्दा दायर गरी तायदाती माग्ने आदेश समेत भएको मोरङ जि.अ.को आदेशपत्र (अर्डर सिट) विपक्षी शारदादेवी समेतको तर्फबाट उपस्थित विद्वान कानुन व्यवसायीले बेञ्च समक्ष आफ्नो बहस जिकिरको क्रममा प्रस्तुत गर्नु भएबाट समेत रिट निवेदक तथा विपक्षी शारदादेवी बीच अंश मुद्दा श्री मोरङ जिल्ला अदालतमा परी कारवाही चलिरहेको कुरामा विवाद देखिएन ।

१८.   अतः मोरङ जिल्ला अदालतमा रिट निवेदक तथा विपक्षी शारदादेवी समेत बीच अंश मुद्दाको कारवाही चलिरहेको देखिँदा मुद्दा पर्दा पर्दैको अवस्थामा त्यसलाई असर पर्ने गरी तथा अधिकार प्राप्त अदालतबाट कानुन बमोजिम मुद्दाको कारवाही भइरहेको अवस्थामा सोही मुद्दाको विवादित जग्गामा रिट क्षेत्रबाट हेर्न नमिल्ने हुँदा प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.गोविन्दबहादुर श्रेष्ठ

इतिसम्वत् २०४८ साल भाद्र २५ गते रोज ३ शुभम् ।

(साविक पेज नं. ३१०)

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु