निर्णय नं. ९८०१ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७३।१०।१९
०६८-CR-१०४२
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : जिल्ला ललितपुर बडीखेल गा.वि.स. वडा नं. ४ घर भई हाल नख्खु कारागारमा थुनामा रहेका सुमन पहरी
विरूद्ध
प्रत्यर्थी / वादी : लिलाबहादुर नगरकोटीको जाहेरीले नेपाल सरकार
जबरजस्ती करणीको कसुर हुनका लागि मुख्यतः तीन वटा आधारभूत तत्त्व हुनु अनिवार्य हुन्छ । जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरी नभएको अवस्था । यस्ता आधारभूत तत्त्व विद्यमान भएको अवस्थामा जबरजस्ती करणीको कसुर स्थापित हुने ।
एक अवोध ४ वर्षकी नाबालिका जसलाई यौन अंग के हो ? करणी के हो ? योनिको भागमा खेलाउँदा वा पीडितको योनिमा लिङ्ग छिराई करणी गर्न लाग्दा आफूलाई के गरेको हो भन्ने कुराको बारेमा थाहा हुनसक्ने अवस्था हुँदैन । त्यस्तो नाबालिकाले बालिक प्रतिवादीले आफ्नो इच्छाविपरीत करणी गर्न लागेको र आफ्नो सतित्व रक्षाको लागि बचाउका लागि हरसम्भव प्रयत्न गर्ने वा विरोध गर्ने भन्ने प्रश्न नै आउँदैन । जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेको स्वयम् पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षण हुने ।
(प्रकरण नं.३)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता दानबहादुर बुढा, विद्वान् अधिवक्ता तिलबहादुर भट्टराई र विद्वान् अधिवक्ता निर्मला शाक्य
प्रत्यर्थी / वादीका तर्फबाट : उपन्यायाधिवक्ता दशरथ पंगेनी
अवलम्बित नजिर :
नेकाप २०६१, नि.नं.७४१४, पृ.९१९
नेकाप २०७३, अङ्क १, नि.नं.९५१९
सम्बद्ध कानून :
सुरू फैसला गर्ने अदालत :
माननीय न्यायाधीश श्री भीमकुमार ओझा
पुनरावेदन तहमा फैसाल गर्नेः
माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा
माननीय न्यायाधीश श्री यज्ञ प्रसाद बस्याल
फैसला
न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रअन्तर्गत भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
सम्मानित सर्वोच्च अदालतको पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका, २०६४ बमोजिम प्रस्तुत मुद्दामा पीडितको वास्तविक नाम परिवर्तन गरी रोसनी कायम गरिएको छ ।
मिति २०६७/४/२८ बेलुका पखको समयमा आफ्नै घरआँगनमा खेली रहेको मेरो छोरी रोसनीलाई ऐ. बस्ने सुमन पहरीले ललाई फकाई आफ्नो घरको कोठामा लगी जबरजस्ती करणी उद्योग गर्न खोजेको र छोरी रोइरहेको अवस्थामा फेला परेको हुँदा निज सुमन पहरीलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्नेसमेत व्यहोराको लिलबहादुर नगरकोटीको जाहेरी
दरखास्त ।
ललितपुर जिल्ला बडिखेल गा.वि.स. वडा नं. ४ स्थित बसन्त पहरीको दुईतले पक्की घरको भुइँतलाको कोठामा प्रतिवादी सुमन पहरीले रोसनीलाई जबरजस्ती करणी उद्योग गर्न खोजेको भन्ने घटनास्थल प्रकृति विवरण कागज ।
पीडित रोसनीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने सम्बन्धमा निज पीडितको शरीरको कहीँकतै कोतरिएको घाउ चोट नभएको भन्ने स्वास्थ्य जाँच परीक्षण प्रतिवेदन ।
प्रतिवादी सुमन पहरीको स्वास्थ्य परीक्षण गर्दा जबरजस्ती करणी उद्योग गरेको भन्ने सबुद नभएको भन्ने व्यहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
मिति २०६७/४/२८ का दिन साँझ म आफ्नै घरको आँगनमा बसी चोया काटी रहेको थिएँ । उक्त समयमा रोसनी खेल्दै म भएको स्थानमा आएकोले वरिपरि कोही नदेखी निजलाई ललाईफकाई चकलेट किनी दिन्छु भनी आफ्नो घरको म सुत्ने कोठामा लगी रोसनीको स्तन र योनिको भागमा हातले खेलाई गालामा चुम्बन गर्न खोज्दा रोई कराई गरेकाले मैले फकाई जबरजस्ती करणी गर्न खोजेको अवस्थामा निजको आमाले फेला पारेकोले म भागेको हुँ । पछि सोही विषयलाई लिएर मिति २०६७/४/२९ गते मलाई पक्राउ गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी सुमन पहरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६७/५/२१ मा गरेको बयान ।
मिति २०६७/४/२८ मा दिन साँझ १८ बजेको समयमा म आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा मेरो घर नजिकैको सुमन दाइले नानु आउँ म तिमीलाई फिलिम देखाउँछु भनी मलाई बोकी ऊ सुत्ने कोठामा लगी मलाई अस्लिल फिल्म देखाई मेरो पिसाब फेर्ने अङ्गमा उसको पिसाब गर्ने अङ्ग छिराउन खोज्दा म कराएकोले आमा आएपछि सुमन दादा भागी गएको हो । पछि मेरो आमाबुबाले प्रहरीलाई खबर गरी निजलाई पक्राउ गरी मलाई जबरजस्ती करणी गर्न खोज्नेलाई हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको रोसनीले आफ्नो आमाको रोहबरमा गरेको कागज ।
२०६७/४/२८ गतेका दिन साँझ १८ बजेको समयमा गाउँघरमा होहल्ला भएको सुनी बुझ्दा हाल पक्राउ परेका सुमन पहरीले जाहेरवालाको छोरी वर्ष ४ की रोसनीलाई ललाईफकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गर्न खोजेको अवस्थामा बच्चा रोएको सुनी के भयो भनी हेर्दा सुमन पहरीले रोसनीलाई समाइरहेको अवस्थामा फेला पारेको हुँदा निजलाई कानूनबमोजिम कारबाही होस् भन्नेसमेत व्यहोराको घटना आसपासका मानिसहरूले खुलाई दिएको घटना विवरण कागज ।
यी प्रतिवादी सुमन पहरीले जाहेरवालाको छोरी वर्ष ४ कि रोसनीलाई ललाईफकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरी मुलुकी ऐन जबरजस्ती करणीको १ नं. विपरीत ३(१) नं. को कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीलाई सोही महलको ३(१) नं. बमोजिम सजाय गरी सोही महलको १० नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोग माग
दाबी ।
उक्त मितिमा मैले नाम परिवर्तित रोशनी नगरकोटीलाई जबरजस्ती करणी उद्योगसमेत केही गरेको होइन । मिति २०६७/४/२८ गते बेलुका ५ बजेतिर म आफ्नै घरमा चोया काटी रहँदा छिमेकी लिलाबहादुर नगरकोटीको छोरी रोशनी नगरकोटी हाम्रो घरमा आएकि रहेछिन् मैले झुलुक्क देखिको मात्र हुँ । मेरो घरमा हजुरआमा समेत हुनुहुन्थ्यो । निज करिब ४ वर्षे बालिका मेरो हजुरआमासँग केही बेर बसी आफ्नो घर गइछन् । निज कतिबेला गइन् सोसमेत मलाई थाहा जानकारी भएन । करिब ६ बजेतिर म आफ्नो मामाको घरमा बडिखेल गा.वि.स. वडा नं. ७ गएँ, बेलुका ८ बजेतिर आफ्नो घरमा आई खाना खाई सुत्न लाग्दा ती छिमेकी लिलाबहादुरसमेत आई मलाई बोलाएर मेरो घरमा आमाबाबु थिएनन हाम्रो घर हिँड भनेकाले किन जाने भनी सोध्दा बहिनीले दाइ, दाइ भनी बोलाएकी छ भनी भनेकाले बहिनीले किन बोलाइछे भनी म निजहरूको घरमा गएँ । घरभित्र पस्नासाथ निज जाहेरवालासमेत घरका परिवार सबै मिली बाहिरी मानिसहरूसमेत भई केही बोल्न नदिई निर्घात कुटपिट गरे त्यसपछि मलाई राति नै बाँडेगाउँ चौकीमा ल्याएका हुन् । मलाई शरीरमा निलचोट, डाम हुने गरी प्रहरीले कुटपिट गरी सो कुटाईबाट सहन नसकी मैले बाध्य भई जबरजस्ती करणी गरेको हुँ भनेको हुँ सोपछि म ६ दिनसम्म थला नै परेँ । मैले जबरजस्ती गरेको होइन भन्ने व्यहोराको प्रतिवादी सुमन पहरीले अदालतमा गरेको बयान ।
मिति २०६७/४/२९ को जाहेरीमा भएको सहिछाप र व्यहोरा मेरै हो । २०६७/४/२८ का दिन उक्त घटना घटेको हो । उक्त घटनाको बारेमा छोरीसँग सोध्दा मलाई सुमनले टिभी देखायो, त्यसपछि मेरो योनिमा चलायो अनि त्यसपछि उसको योनि मेरो योनिमा घुसार्यो भनी बताएको हुँदा हामीले सुमन पहरीलाई राति १०:३० बजेतिर समातेको हो । त्यसपछि मंगलेले प्रहरीलाई फोन गर्यो । बाडेगाउँ चौकीबाट प्रहरीहरू आई चौकीमा लगे । सुमनले मेरो छोरीलाई जबरजस्ती करणी गरेको हुँदा निजलाई सजाय हुनुपर्छ भन्नेसमेत व्यहोराको जाहेरवाला लिलाबहादुर नगरकोटीले मिति २०६७/६/२० मा अदालतमा गरेको बकपत्र ।
उक्त घटना घटेको दिन हल्लाखल्ला भएको सुनेर म पनि त्यहाँ गएँ । के भयो भनेर सोध्दा पीडितको आमाले मलाई सबै कुरा भनेपछि म आफ्नो घरमा
गएँ । मलाई जाउलाखेलमा बोलाई सहिछाप गराएका हुन् । प्रतिवादीले जबरजस्ती करणी गरेको नै हो भन्नेसमेत व्यहोराको बुझिएका मानिस सुमित्रा पहरीले मिति २०६७/६/२० मा अदालतमा गरेको बकपत्र ।
उक्त घटना घटेको दिन हल्लाखल्ला भएको सुनेर म पनि त्यहाँ गएँ । के भयो भनेर पीडितलाई सोध्दा मलाई सुमनले काउकुती लगायो भनी बताएकी हुँदा हामीले सुमनले बलात्कार गर्न खोजेकै होला भनी प्रहरीमा लगेको हो भन्नेसमेत व्यहोराको बुझिएका मानिस सानुमैयाँ पहरीले २०६७/६/२० गते अदालतमा गरेको बकपत्र ।
मैले उक्त घटना राति १० बजे थाहा पाएको
हुँ । मलाई पीडितको आमा र सानुमैयाँले बोलाएकोले म जाहेरवालाको घरमा गएँ के भयो भनी सोध्दा पीडितले मलाई यहाँ गर्यो भनी बताएकी हुन् । प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्न खोजेको हो जबरजस्ती करणी गरेको चाहीँ होइन जबरजस्ती करणी गर्न खोज्नेलाई सजाय हुनुपर्छ भन्नेसमेत व्यहोराको बुझिएका मानिस मंगल पहरीले २०६७/६/२१ मा अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले जबरजस्ती करणी गरेको भन्ने कुरामा मलाई विश्वास लाग्दैन । जबरजस्ती करणी गरेको भए बच्चाको योनिमा घाउचोट हुनुपर्ने हो । केही पनि छैन । प्रतिवादीलाई कुटपिट गरेको हुँदा जबरजस्ती करणी गरेको हुँ भनेको होला भन्नेसमेत व्यहोराको प्रतिवादी सुमन पहरीको साक्षी सुनिल पहरीले मिति २०६७/६/२१ मा अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले मलाई कुरीकुरी लगाएर मेरो पिसाब फेर्नेमा कोतरी दिएको हो भन्नेसमेत व्यहोराको पीडित रोसनीले मिति २०६७/८/२७ मा आमा कमला पहरीको संरक्षकमा अदालतमा गरेको
बकपत्र ।
प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष अभियोग दाबी स्वीकार गरेको अवस्था र बालिकाको उमेर ४ वर्षको देखिएबाट जबरजस्ती करणी भएको होइन भनी भन्नसक्ने अवस्था देखिएन । सो हुँदा यी प्रतिवादी सुमन पहरीले आरोपित कसुर गरेको ठहर्छ । तसर्थ प्रतिवादी सुमन पहरीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १० वर्ष कैद र ऐ.को. १० नं. बमोजिम प्रतिवादीले पीडितलाई रू.२०,०००/- क्षतिपूर्तिसमेत भराई पाउने ठहर्छ भन्ने मिति २०६७/१२/२७ को ललितपुर जिल्ला अदालतबाट भएको फैसला ।
प्रस्तुत मुद्दाको जाहेरीले केवल जबरजस्ती करणीको उद्योग गरेको भनिए पनि अभियोग दाबी जबरजस्ती करणीको भएको देखिन्छ । यस्तो
आपराधिक वारदात पुष्टि हुनका लागि आपराधिक मनसाय एवं आपराधिक कार्यसमेत स्पष्ट र वस्तुनिष्ठरूपमा पुष्ट्याई हुनुपर्ने हुन्छ । स्वयम् चिकित्सकद्वारा पनि करणी उद्योगको कुनै सबुत नभएको भनी जनाएको अवस्थामा चश्मदिद् नभएका व्यक्तिहरूको केवल अदालतमा आई बकपत्र गरेकोसम्मको आधार लिई मलाई मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (१) र १० नं. बमोजिम सजाय गरेको कानूनी सिद्धान्तविपरीत भएको हुँदा सो सुरू अदालतको फैसला बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्ने व्यहोराको प्रतिवादी सुमन पहरीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी सुमन पहरीले अभियोग माग दाबीबमोजिम पीडित रोसनीलाई जबरजस्ती करणी गरेको ठहर्याई सुरू ललितपुर जिल्ला अदालतले मिति २०६७/१२/२७ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६८/५/२७ को
फैसला ।
जाहेरवाला लिलाबहादुर नगरकोटीले मउपर किटानी जाहेरी दरखास्त दिएको कुरा साँचो भए पनि निजले दिएको जाहेरी दरखास्तको प्रकरण नं. २ मा कुन मुद्दासम्बन्धी अपराधबारे जाहेरी दरखास्त गरेको भन्ने मुद्दाको शिर्षकमा जबरजस्ती करणी उद्योग भनी उल्लेख गरेका छन् । यसरी जाहेरवालाले जबरजस्ती करणी उद्योगमा सजाय गरिपाउँ भनी निवेदन गरेको अवस्थामा पनि मलाई जबरजस्ती करणी नै ठहर गर्नु त्रुटिपूर्ण रहेको छ । निज जाहेरवाला घटनाका प्रत्यक्षदर्शी पनि होइनन् । जुन कुरा उनले अदालतमा गरेको बकपत्रमा समेत उल्लेख गरेका छन् । जाहेरवाला लिलाबहादुर नगरकोटीले अदालतमा गरेको बकपत्रमा मलाई कुटपिट गरी डर धाक धम्की दिएको कुरा पनि स्वीकार गरेका छन् भने मलाई पक्राउ गरी स्थानीय बाँडेगाउँ प्रहरी चौकीमा सोही रात पुर्याई प्रहरीले सोधपुछ गर्दा निर्दोष देखिएकोले तपाइँहरूलाई झन्झट हुन्छ, दुःख हुन्छ मिलेर जानुहोस् भन्दा हामीले सोही प्रहरी चौकीमा मिलापत्र गरी सुमनसहित घर फर्केका हौं । भोलिपल्ट भाइहरूले उक्साएकाले प्रहरीमा उजुरी दिएको हुँ भनी आफ्नो व्यहोरामा लेखाएका छन् । यसरी जाहेरवालाले आफ्नो स्वेच्छाले र स्वस्फुर्तरूपमा जाहेरी नदिएको प्रस्ट छ । मेरो अदालतसमक्षको सत्य साँचो इन्कारी बयान व्यहोरालाई मेरो साक्षी सुनिल पहरीले अदालतसमक्ष उपस्थित भई बकपत्र गरी पुष्टि गरिदिएका छन् । सुरू ललितपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनले प्रतिवादीले अनुसन्धान अधिकारीसमक्षको बयानमा आफूले कसुर गरेकोमा साबित भई बयान गरेको भन्ने आधार लिएको रहेछ । अनुसन्धान अधिकारीसमक्ष भएको बयान मैले भनेबमोजिम लेखिएको होइन्, अनुसन्धान अधिकारीले आफूखुसी लेखी तयार पारेको कागज मलाई पढ्न नदिई र पढेर नसुनाई डर, धाकधम्की दिई कुटपिटसमेत गरी जबरजस्ती सहिछाप गराएको हो जुन कुरा मेरो सुरू अदालतसमक्षको बयानमा स्पष्टसाथ लेखाएको छु । मैले अदालतसमक्ष स्वतन्त्ररूपमा गरेको बयानलाई प्रमाणमा नलिनु र अदालतबाहिर प्रहरी हिरासतमा डर धाक धम्की र कुटपिटबाट गराएको बयानलाई प्रमाणमा लिनु न्यायका मान्य सिद्धान्त र फौजदारी विधिशास्त्रको सर्वमान्य मान्यता र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविपरीत रहेको छ । चिकित्सकको स्वास्थ्य परीक्षण प्रतिवेदनमा Libia Minora सामान्य रहेको भनी उल्लेख भएको छ । सुमित्रा पहरीले अदालतमा बयान गर्दा प्रतिवादीले करणी गरेको होला भनी अनुमान र आशंकासम्म व्यक्त गरेकी छिन् । मौकामा कागज गर्ने मंगल पहरीले अदालतमा उपस्थित भई प्रतिवादीले पीडितको जबरजस्ती करणी गर्न खोजेको हो, करणी चाहीँ गरेको होइन भनी स्पष्टसाथ खुलाई लेखाइदिएका छन् । यसरी मैले पीडितलाई कुनै जबरजस्ती करणी अपराध नगरेको कुरा स्वयम् वादीका साक्षीहरू, मौकामा घटना विवरण कागज गर्नेहरूले अदालतमा उपस्थित भई गरेको बकपत्र र सम्पूर्ण मिसिल अध्ययनबाट स्पष्ट भएको अवस्थामा केवल शंका र अनुमानसम्म गरी बकपत्र गर्ने वादीका साक्षीको बकपत्रलाई आधार मानी भएको फैसला न्यायका मान्य सिद्धान्त एवं प्रमाण ऐन २०३१ को दफा ८, २५,५४, र अ.बं. १८४(क) तथा अ.बं. १८५ नं.समेत प्रतिकूल भई तथ्य र कानूनको गम्भीर त्रुटि तथा हिरालाल विरूद्ध श्री ५ को सरकार भएको जबरजस्ती करणी मुद्दामा (ने.का.प. २०६१ पृष्ठ ९१९ नि.नं. ७४१४) “जबरजस्ती करणी भएको हो होइन, यकिन भन्न नसकिने भन्नेसमेत जिल्ला स्वास्थ्य कार्यालयको मेडिकल जाँच प्रतिवेदनबाट देखिएको भन्दै कसुर कायम गरिएको देखिँदैन” भनी सिद्धान्त प्रतिपादन भएको अवस्थामा उक्त सिद्धान्तविपरीत भएको सुरू ललितपुर जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्ने व्यहोराको सुमन पहरीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा प्रतिवादीउपर जबरजस्ती करणीको कसुरमा दाबी लिई जबरजस्ती करणी मुद्दाको अभियोगपत्र दायर भएकोमा ललितपुर जिल्ला अदालतबाट जबरजस्ती करणी उद्योग मुद्दाको नामकरण गरी थुनछेक आदेश भएको र तत्पश्चात् साक्षीहरूको बकपत्रसमेत जबरजस्ती करणी मुद्दाको उद्योग नै नामकरण भई भएको देखिएको र सुरू ललितपुर जिल्ला अदालत, पुनरावेदन अदालत, पाटनको फैसलामा समेत मुद्दाको नामकरण जबरजस्ती करणी उद्योग मुद्दा नै भइरहेको देखिनुको साथै सुरू जाहेरीबाट समेत प्रतिवादीले पीडितलाई जबरजस्ती करणी उद्योगसम्म गरेको भन्ने व्यहोरा उल्लेख भएकोमा उल्लिखित प्रमाणहरूको समुचित विवेचना नगरी भएको पुनरावेदन अदालत, पाटनको फैसला प्रमाणको मूल्याङ्कनका रोहमा फरक पर्ने देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ वादी नेपाल सरकारलाई पुनरावेदनको जानकारीसहितको पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०७३/५/२१ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री दानबहादुर बुढा, विद्वान् अधिवक्ता श्री तिलबहादुर भट्टराई र विद्वान् अधिवक्ता श्री निर्मला शाक्यले जाहेरवालाले पुनरावेदकउपर किटानी जाहेरी दरखास्त दिए पनि जबरजस्ती करणीमा नभई जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकोमा दाबी नै नलिएको जबरजस्ती करणीमा ठहर गरी सजाय गर्नु त्रुटिपूर्ण रहेको छ । जाहेरवाला घटनाका चश्मदिद् पनि होइनन् । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट करणी गरेको भन्ने प्रमाणित भएको छैन । पीडितको शरीरमा कुनै घाउचोट नभएको र Libia Minora सामान्य रहेको देखिए तापनि पीडितको गुप्ताङ्गको Libia Minora मा बढी मात्रामा रगत जमेको जबरजस्ती करणीको प्रमाण होइन । जबरजस्ती करणीको ३(१) बमोजिम गरेको भने पनि प्रमाण कागजबाट Corpus Delict देखिँदैन । जुन प्रकृतिबाट घटना घटेको हो त्यसमा उद्योगसम्मको कारबाही हुनसक्ने भएकाले पुनरावेदन अदालतको फैसला उल्टी गरी पुनरावेदक प्रतिवादीले सफाई पाउनुपर्छ भन्नेसमेत र प्रत्यर्थी नेपाल सरकारको तर्फबाट उपन्यायाधिवक्ता श्री दशरथ पंगेनीले पीडितको अनुसन्धान अधिकारीसमक्ष गरेको काजगमा हातको औंलाले चलाई सकेपछि लिङ्ग छिराउन खोज्दा चिच्चाएपछि मेरो आमा आउनुभयो र मेरो आमा आएको देखेपछि सुमन दादा त्यहाँबाट भाग्नुभयो भनी स्पष्टरूपमा लेखाएकी र अदालतसमक्ष गरेको बयानमा पनि कुरीकुरी लगाएको र पिसाब फेर्ने ठाउँमा कोतरी दिएको हो भनी बकपत्र गरेको अवस्थामा जबरजस्ती करणी गरेको होइन भन्ने पुनरावेदक प्रतिवादीको जिकिर तथ्ययुक्त छैन । तसर्थ अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
उल्लिखित दुवै पक्षको तर्फबाट भएको बहस जिकिर तथा मिसिल संलग्न प्रमाण कागजातहरू अध्ययन गरी हेर्दा यी प्रतिवादी सुमन पहरीले जाहेरवालाको छोरी वर्ष ४ कि रोसनीलाई ललाईफकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. विपरीत ३(१) नं. को कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीलाई सोही महलको ३(१) नं. बमोजिम सजाय गरी सोही महलको १० नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोग माग दाबी रहेकोमा प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष अभियोग दाबी स्वीकार गरेको अवस्था र बालिकाको उमेर ४ वर्षको देखिएबाट जबरजस्ती करणी भएको होइन भनी भन्न सक्ने अवस्था नदेखिएकाले प्रतिवादी सुमन पहरीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १० वर्ष कैद र ऐ.को. १० नं. बमोजिम प्रतिवादीले पीडितलाई रू. २०,०००/- क्षतिपूर्तिसमेत भराई पाउने ठहर्याई सुरू जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलाउपर चित्त नबुझाई प्रतिवादी सुमन पहरीको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
अब प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनबाट मिति २०६८/५/२७ को फैसला मिलेको छ छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मिति २०६७/४/२८ बेलुकापखको समयमा आफ्नै घरआँगनमा खेली रहेको मेरो छोरी रोसनीलाई ऐ. बस्ने सुमन पहरीले ललाईफकाई आफ्नो घरको कोठामा लगी जबरजस्ती करणी उद्योग गर्न खोजेकोले निज सुमन पहरीलाई पक्राउ गरी कारबाही गरिपाउँ भनी किटानीसाथ जाहेरी दरखास्त परी प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । पीडित ४ वर्षकी नाबालिका रहेको देखिन्छ । निजको शारीरिक परीक्षणबाट पीडितको गुप्ताङ्गको Libia Minora मा बढी रगत जमेको भन्ने उल्लेख गरेको पाइन्छ । प्रतिवादी सुमन पहरीले अदालतमा उपस्थित भई बयान गर्दा कसुरमा इन्कार रही बयान गरे तापनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पीडितलाई ललाईफकाई चकलेट किनी दिन्छु भनी आफ्नो घरमा सुत्ने कोठामा बोकी लगी स्तन र योनिको भागमा हातले खेलाई गालामा चुम्बन गर्न खोज्दा रोईकराई गरेकाले मैले फकाई जबरजस्ती करणी गर्न खोजेको अवस्थामा निजको आमाले फेला पारेकोले म भागेको हुँ भनी कसुरमा साबित भई बयान गरेको देखिन्छ । निज प्रतिवादीले अदालतमा बयान गर्दा अनुसन्धान अधिकारीसमक्ष भएको बयान मैले भनेबमोजिम लेखिएको होइन, मलाई पढ्न नदिई डर, धाकधम्की दिई कुटपिटसमेत गरी जबरजस्ती सहिछाप गराएका हुन् भनी कसुरमा इन्कार गरी बयान गरे तापनि त्यसरी कुटपिट गरी जबरजस्ती सहिछाप गराएका हुन् भन्ने वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सकेको अवस्था देखिँदैन भने प्रतिवादीको शरीरमा कुनै घाचोट परेको पनि देखिँदैन ।
३. जबरजस्ती करणीको कसुर हुनका लागि मुख्यतः तीन वटा आधारभूत तत्त्व हुनु अनिवार्य हुन्छ । जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरी नभएको अवस्था । यस्ता आधारभूत तत्त्व विद्यमान भएको अवस्थामा जबरजस्ती करणीको कसुर स्थापित हुन्छ । प्रतिवादी सुमन पहरीले पीडित आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा ललाईफकाई आफू सुत्ने कोठामा लगी स्तन र योनिको भागमा हातले खेलाई निज बालिकाको योनिमा लिङ्ग छिराउन लागेको अवस्थामा दुख्यो भनी कराउँदा निजको आमाले फेला पारेकोले म भागेको हुँ भनी गरेको बयान गरेको देखिएकोले प्रतिवादीको पीडित नाबालिकालाई करणी गर्ने मनसाय रहेको तथ्य स्पष्ट हुन्छ । एक अवोध ४ वर्षकी नाबालिका जसलाई यौन अंग के हो ? करणी के हो ? योनिको भागमा खेलाउँदा वा पीडितको योनिमा लिङ्ग छिराई करणी गर्न लाग्दा आफूलाई के गरेको हो भन्ने कुराको बारेमा थाहा हुनसक्ने अवस्था
हुँदैन । त्यस्तो नाबालिकाले बालिक प्रतिवादीले आफ्नो इच्छाविपरीत करणी गर्न लागेको र आफ्नो सतित्व रक्षाको लागि बचाउका लागि हरसम्भव प्रयत्न गर्ने वा विरोध गर्ने भन्ने प्रश्न नै आउँदैन । जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेको स्वयम् पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षण हो । प्रस्तुत मुद्दामा पीडित नाबालिकाले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा दाइ सुमन पहरीले नानु आउ तिमीलाई फिल्म देखाउँछु भनी मलाई बोकेर उसको कोठामा लगी मलाई अश्लिल खालको सिनेमा देखाई मेरो पिसाब गर्ने ठाउँमा हातको औंलाले चलाई सकेपछि उसको पिसाब फर्ने अंग (लिङ्ग) मेरो पिसाब फेर्ने अंगमा छिराउन खोज्दा म चिच्चाएपछि मेरो आमा आउनु भएकोले सुमन दादा भाग्नु भएको हो भनी बयान गरेको देखिन्छ भने सुरू अदालतमा उपस्थित भई प्रतिवादीले मलाई कुरीकुरी लगाएर मेरो पिसाब फेर्ने ठाउँमा कोतरी दिएको हो भनी बालसुलभ भाषामा निश्चल एवम् निष्कपटरूपमा आफ्नो आमाको रोहबरमा अदालतमा बकपत्र गरिदिएको देखिन्छ । पीडितको गुप्ताङ्गको Libia Minora मा बढी रगत जमेको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदबाट नै प्रतिवादीले जबरजस्ती करणीको कसुर गरेको स्थापित हुन प्रयाप्त हुन्छ । जबरजस्ती करणी जस्तो फौजदारी अपराधमा पीडित व्यक्तिले व्यक्त गरेको कुरा महत्त्वपूर्ण प्रमाण हो । पीडित स्वयम् घटनाको वा वारदातको चश्मदिद् गवाह पनि हो । एकातिर यी पीडित एक अवोध निर्दोष बालिकाले आफूमाथि जबरजस्ती करणी नगरेको भए यी प्रतिवादीलाई किटान गरी मेरो पिसाब फेर्ने ठाउँमा कुरीकुरी लगाएको र कोतरी दिएको भनी भन्नु पर्ने कुनै कारण वा परिस्थिति पनि छैन । साथै, बालिकाउपर आजीवन सामाजिक दाग लाग्ने जबरजस्तीकरणी जस्तो जघन्य अपराधमा अवोध बालिकालाई पीडित देखाई स्वयम् पीडित बालिकाको आमाले नै यी प्रतिवादीउपर जाहेरी दिनुपर्ने र सोही जाहेरीको व्यहोरालाई समर्थन गर्ने गरी अदालतमा उपस्थित भई बयान गरिदिनु पर्ने अरू कुनै कारण पनि विद्यमान देखिँदैन भने अर्कोतिर पीडित नाबालिकाले अनुसन्धान अधिकारीसमक्ष तथा अदालतको भनाईलाई स्वयम् प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलगायत अनुसन्धानका सिलसिलामा घटना विवरण कागज गरिदिने सानुमैया पहरी, सुमित्रा पहरी र मंगल पहरीले घटना विवरण कागजमा लेखिएको व्यहोरालाई समर्थन गर्ने गरी अदालतमा उपस्थित भई गरेको बकपत्र गरेको
देखिन्छ । प्रतिवादीको साक्षी सुनिल पहरीले प्रतिवादीले जबरजस्ती करणी गरेको कुरामा मलाई विश्वास लाग्दैन किनभने जबरजस्ती करणी गरेको भए बच्चाको योनिमा घाउ चोट केही पनि छैन भनी अदालतमा उपस्थित भई बकपत्र गरेको देखिन्छ । पीडितको गुप्ताङ्गको Libia Minora मा बढी रगत जमेको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिइरहेको अवस्थामा अन्य कुनै घाउ चोट नभएको कारणले मात्र जबरजस्ती करणी भएको होइन भनी भनेको भनाईमा तथ्य एवम् कानूनसम्मत देखिँदैन ।यस्तो अवस्थामा प्रतिवादी सुमन पहरीले पीडित नाबालिकालाई जबरजस्ती करणीको कसुर गरेको प्रमाणित हुन आयो ।
४. अब जहाँसम्म प्रतिवादी सुमन पहरीको जाहेरी दरखास्त जबरजस्ती करणी उद्योगमा सजाय गरिपाउँ भनी दिएको अवस्थामा पनि मलाई जबरजस्ती करणी नै ठहर गर्नु त्रुटिपूर्ण रहेको छ । फौजदारी मुद्दामा जाहेरी दरखास्त आफैँमा प्रमाण होइन र प्रमाण हुन सक्दैन । त्यसलाई स्वतन्त्र र निर्विवाद सबुद प्रमाणहरूबाट आरोपित कसुरको पुष्टि हुनुपर्छ । जाहेरी दरखास्त र प्रहरीमा भएको साबिती बयानको आधारमा मात्र कसुर ठहर गर्नु कानूनसम्मत हुँदैन । हिरालाल विरूद्ध श्री ५ को सरकार भएको जबरजस्ती करणी मुद्दामा (ने.का.प. २०६१ पृष्ठ ९१९ नि.नं. ७४१४) जबरजस्ती करणी भएको हो होइन यकिन भन्न नसकिने भन्नेसमेत जिल्ला स्वास्थ्य कार्यालयको मेडिकल जाँच प्रतिवेदन देखिएको भन्दै कसुर कायम गरिएको देखिँदैन भनी प्रतिपादित सिद्धान्तविपरीत भएको फैसला उल्टी गरी पूर्ण सफाई पाउँ भन्ने जिकिरको सम्बन्धमा विचार गर्दा यी प्रतिवादीले अनुसन्धान अधिरकारीसमक्ष कसुरमा साबित भइरहेको, सोको पीडित बालिकाको भनाइले पुष्टि गरेको अवस्थामा अदालतमा उपस्थित भई इन्कारी बयान गर्नु मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्दैन । आफूमाथि लागेको आरोपबाट छुटकारा पाउनको लागि अदालतमा उपस्थित भई इन्कारी बयान गर्नु फौजदारी मुद्दामा सामान्य कुरा हो । अनुसन्धान अधिकारीसमक्ष भएको बयान कुनै डर, त्रास, धाकधम्की गरी वा कुटपिट गरी गराइएको हो भनी मौखिक जिकिर लिएर मात्र पुग्दैन त्यो कुरा अदालतमा वस्तुनिष्ठ प्रमाणहरूबाट पुष्टि गर्न सक्नु पर्ने हुन्छ । सो कुरा प्रतिवादीले प्रस्तुत मुद्दामा तथ्ययुक्त र वस्तुनिष्ठ आधार प्रमाणबाट खण्डन गर्न सकेको देखिँदैन ।
५. जबरजस्ती करणी जस्तो फौजदारी अपराधमा पीडित व्यक्तिले व्यक्त गरेको कुरा महत्त्वपूर्ण प्रमाण हो । पीडित स्वयम् घटनाको वा वारदातको चश्मदिद् गवाह पनि हो । एकातिर यी पीडित एक अवोध निर्दोष बालिकाले आफूमाथि जबरजस्ती करणी नगरेको भए यी प्रतिवादीलाई किटान गरी मेरो पिसाब फेर्ने ठाउँमा कुरीकुरी लगाएको र कोतरी दिएको भनी भन्नु पर्ने कुनै कारण वा परिस्थिति पनि छैन । साथै, बालिकाउपर आजीवन सामाजिक दाग लाग्ने जबरजस्ती करणी जस्तो जघन्य अपराधमा अवोध बालिकालाई पीडित देखाई स्वयम् पीडित बालिकाको आमाले नै यी प्रतिवादीउपर जाहेरी दिनुपर्ने र सोही जाहेरीको व्यहोरालाई समर्थन गर्ने गरी अदालतमा उपस्थित भई बयान गरिदिनु पर्ने अरू कुनै कारण पनि विद्यमान देखिँदैन । पीडित नाबालिकाको गुप्ताङ्गको Libia Minora मा बढी रगत जमेको भनी स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख भइरहेको अवस्थामा अन्य कारणबाट पीडितको गुप्ताङ्गको Libia Minora मा रगत जमेको भन्ने कुरा मिसिल संलग्न कागज प्रमाणबाट नदेखिएको अवस्थामा ४ वर्षे नाबालिकालाई जवान भएका प्रतिवादीले जबरजस्ती करणी गर्दाकै परिणाम हो भनी भन्न सकिने अवस्था रहन्छ । प्रतिवादीले जिकिर लिएको हिरालाल विरूद्ध श्री ५ को सरकार भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०६१ पृष्ठ ९१९ नि.नं. ७४१४) प्रस्तुत मुद्दामा सान्दर्भिक हुन आउने देखिएन । जबरजस्ती करणीको महलको १(ग) मा “योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिनेछ” भन्ने व्यवस्था गरिएको छ । ने.का.प. २०७३ अंक १ नि.नं. ९५१९ वादी नेपाल सरकार प्रतिवादी टसि वि.क.समेत रहेको जबरजस्ती करणी मुद्दामा “लिङ्ग र योनिको सम्पर्क गरी करणीको कार्य हुने हुनाले योनिमा कति प्रवेश होइन कि योनिमा किञ्चित घर्षण वा प्रवेश पनि करणी गर्ने उद्देश्यले भएको छभने सो करणी भएको मान्नु पर्ने । बालिकाको यौनाङ्गमा लिङ्गले छुने, रगड्ने वा आंशिकरूपमा प्रवेश गरेको रहेछ भने पनि बालिका विरूद्धको करणीको कार्य पूरा भएसरह नै मान्नु पर्ने हुन्छ । अन्यथा लिङ्गले त्यहाँसम्म प्रवेश गर्ने कुरा अप्रासँगिक हुन्छ । आपराधिक मनसायलाई हेरी खराब कार्य (Mischief) लाई निरूत्साहित गरी दण्डित गर्ने हिसाबले कसुरसम्बन्धी कानूनको व्याख्या गर्नुपर्ने” भन्ने सर्वोच्च अदालत पूर्ण इजलासबाट सिद्धान्तसमेत प्रतिपादन भएको छ । यस सिद्धान्तअनुसार जबरजस्ती करणी हुनका लागि योनिमा लिङ्गको पूरै प्रवेश हुनुपर्छ भन्ने छैन । लिङ्गले योनिमा छोएको, घर्षण गरेको वा आंशिकरूपमा प्रवेश गरेको रहेछ भने पनि करणी गरेको मानिन्छ । यसरी प्रतिवादीउपर जाहेरवाला लिलाबहादुर नगरकोटीको किटानी जाहेरी र सो जाहेरीको व्यहोरालाई समर्थन गर्ने गरी अदालतसमक्ष गरिदिएको बयान, प्रतिवादीको अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयान, पीडितको गुप्ताङ्गको Libia Minora मा बढी रगत जमेको minor abrasion of 1x1 mm in the Rt cover of labia minora भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडितको मौकाको कागज र अदालतसमक्ष भएको बकपत्र, घटना विवरण कागज गरिदिने मानिसहरूले घटना विवरण काजगको व्यहोरालाई समर्थन गर्ने गरी अदालतसमक्ष उपस्थित भई गरिदिएको बकपत्रलगायत मिसिल संगल्न कागज प्रमाणहरूबाट प्रतिवादीले पीडित नाबालिकालाई जबरजस्ती करणी गर्ने उद्योग गरेको नभई जबरजस्ती करणी नै गरेको प्रमाणित हुन आएकोले प्रतिवादीको पुनरावेदन जिकिर तथा यस अदालतको संयुक्त इजलासबाट झ.झि. गर्दा लिएका कारण आधारसँग यो इजलास सहमत हुन सकेन ।
६. अतः माथि उल्लिखित आधार कारण तथा प्रमाणहरूबाट प्रतिवादी सुमन पहरीले अभियोग माग दाबीबमोजिम पीडित नाबालिका रोशनीलाई जबरजस्ती करणी गरेको ठहर्याई सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०६७/१२/२७ मा भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६८/५/२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. अनिलकुमार सिन्हा
इजलास अधिकृतः उदविर नेपाली
इति संवत् २०७३ साल माघ १९ गते रोज ४ शुभम् ।