शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८१० - बहुविवाह

भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्‍ठ

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

फैसला मिति : २०७३।११।३०

०७०-CR-०२९९

 

मुद्दाः- बहुविवाह । 

 

पुनरावेदक / वादी : मालादेवी भण्डारीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : मोरङ जिल्ला, होक्लावारी गा.वि.स. वडा नं. २ बस्ने छत्रबहादुर भण्डारीसमेत

 

लोग्ने र सौतासँगै बसी निजहरूको वैवाहिक सम्बन्धलाई स्वीकार गर्ने र आफ्ना विरूद्धको अपराध स्वीकार गर्ने यी जाहेरवालीले तत्काल कहिँकतै उजुर बाजुर नगरी लामो अन्तरालपश्चात् आफूलाई मन लागेको बखत उजुर गर्न पाउने भन्न मिल्दैन । यस्तो स्थितिमा हदम्यादसम्बन्धी कानूनको उद्देश्य र आवश्यकतातर्फ विचार गर्नु पनि जरूरी देखिने । 

कुन काम वा क्रियालाई फौजदारी कानून भनी मान्नुपर्ने हो, कुन कसुरको लागि कति सजाय गर्नुपर्ने हो र कुन कसुरको सम्बन्धमा कति समयावधिभित्र उजुरी वा अभियोग दायर गरी सक्नुपर्ने हो भन्नेसमेतका कुराहरू विधायिकाले ऐनद्वारा निर्धारित गर्ने कुरा हुन् । कुनै कसुरको सम्बन्धमा मुद्दा वा दाबी गर्ने हदम्याद सीमित नरहने गरी खुल्ला राख्न र कुनै वा केही कसुरका लागि सीमित हदम्यादको व्यवस्था पनि ऐनमा विधायिकाले नै गर्ने कुरा हो । यी सबै विधायिकी कार्यक्षेत्र (Legislative Function) भित्रका कुरा हुन् । तर ऐनले गरेको हदम्यादसम्बन्धी व्यवस्था सबैले मान्नु र लागू गर्नुपर्ने ।

बहुविवाहको क्रियालाई विहावारीको ऐनले दण्डनीय फौजदारी कानूनको रूपमा परिभाषित गरी सो सम्बन्धमा अभियोग दाबी गर्ने वा मुद्दा गर्ने समयावधिको सीमा पनि सोही महलको ११ नं. ले निर्धारित गरेको छ । अर्थात् बहुविवाह मुद्दा गर्नका लागि सीमित समयावधिको हदम्याद कानूनले निर्धारित गरेको छ । यसमा कुनै विवाद छैन । बहुविवाह मुद्दा दायर गर्ने खुल्ला वा असीमित हदम्याद वा जहिले पनि दायर गर्न सकिने भन्ने ऐनले व्यवस्था नगरेकोले सीमित हदम्यादभित्रै बहुविवाह मुद्दा दायर गर्नुपर्ने ऐनको व्यवस्था र उद्देश्य स्पष्ट छ । यसलाई एक वा अर्को तर्क वा कारणको आधारमा विधायकिय मनसायविपरीत असीमित वा खुल्ला हदम्यादको रूपमा परिणत वा परिभाषित गर्न नमिल्ने । 

(प्रकरण नं. ६)

 

पुनरावेदक / वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली

प्रत्यर्थी / प्रतिवादीको तर्फबाट :

अवलम्बित नजिर :

ने.का.प.२०६३, नि.नं.७६९४६७, पृ.५५४ 

ने.का.प.२०६८, अंक ११, नि.नं.८७१६

सम्बद्ध कानून : 

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री चण्डीराज ढकाल

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री गोपाल पराजुली

मा.न्यायाधीश श्री नरेन्द्रकुमार शिवाकोटी

 

फैसला

न्या. देवेन्द्र गोपाल श्रेष्‍ठ : पुनरावेदन अदालत, विराटनगरको मिति २०६९।९।१ को फैसलाउपर यस अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्‌याई हेर्ने निस्सा प्रदान भई सोही ऐनको दफा ९(१) अनुसार यसै अदालतको अधिकार क्षेत्रअन्तर्गतको भई पुनरावेदन पत्र दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

मिति २०४१।१०।१६ गते जिल्ला मोरङ, होक्लाबारी-२ बस्ने छत्रबहादुर भण्डारीले म श्रीमती हुँदाहुँदै रूपादेवीलाई विवाह गरेको र निजको श्रीमती घरमा भएको थाहा हुँदाहुँदै विवाह गरी आएकोले निजहरूलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त ।

मैले २०३६ सालमा जाहेरवाली मालादेवीसँग विवाह गरी १ छोरीको जायजन्म भएपछि मेरो र मालादेवीको बीचमा घरायसी विवादको कारण मनमुटाव भएकाले श्रीमती हुँदाहुँदै रूपादेवीलाई दोस्रो विवाह गरेको हुँ भन्ने व्यहोराको प्रतिवादी छत्रबहादुर भण्डारीको बयान कागज ।

२०४० सालको कुरालाई आधार मानेर मेरो बुबालाई जबरजस्ती पक्राउ गरी थुनामा राखेको हुँदा थुनामुक्त गरिपाउँ भन्ने व्यहोराको रोशन भण्डारीले दिएको निवेदन ।

मिति २०४१।१०।१६ गते मोरङ होक्लावारी वडा नं. २ बस्ने छत्रबहादुर भण्डारीले घरमा श्रीमती हुँदाहुँदै रूपालाई दोस्रो विवाह गरेको हुँदा निजहरूलाई बहुविवाहमा कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने एकै मिलानको छुट्टाछुट्टैरूपमा खुलाई दिएको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी छत्रबहादुर भण्डारी र रूपादेवीले बहुविवाह गरेको प्रमाणित भएकोले विहावारीको १० नं. बमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको  अभियोग पत्र ।  

जाहेरवालीसँग २०३६ सालमा विवाह भएको थियो । निजले नै दोस्रो विवाह गर्नु भनेकाले २०३९ सालमा रूपादेवीसँग दोस्रो विवाह गरेको हुँ । मैले रूपालाई मेरो श्रीमती छ भन्ने थाहा दिएको 

थिएन । जग्गाजमिन जेठी श्रीमतीको नाउँमा रहेको र निजले सल्लाह नगरी जग्गा बिक्री गरेकाले अंश, लिखत बदर र जालसाजसमेतका मुद्दा दर्ता गरेपछि झुठ्ठा व्यहोराको जाहेरी दिएको हो । अनुसन्धानमा भएको बयान मैले नभनेको कुरासमेत लेखी व्यहोरा नसुनाई सही गराएको हो । अभियोग दाबीबमोजिम सजाय हुने होइन भन्ने व्यहोराको प्रतिवादी छत्रबहादुर भण्डारीको बयान ।

वादीका साक्षी वेणुप्रसाद शिवाकोटी, जाहेरवाली मालादेवी भण्डारी र प्रतिवादीका साक्षी मेघमाया श्रेष्ठले गरेको बकपत्र मिसिल सामेल रहेको ।

२०४१ सालमा बहुविवाह भएको भनी प्रतिवादीहरू उपर २०६७ सालमा दाबी लिई दायर भएको अभियोगपत्र मनासिब नहुँदा प्रतिवादीहरूले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्ने व्यहोराको मोरङ जिल्ला अदालतको फैसला ।

२०४१ सालमा भएको विवाहलाई २०६७ सालमा अभियोग दायर भएको भन्ने आधारमा अभियोग दाबी पुग्न सक्दैन भन्ने फैसलाको आधारलाई हेर्दा, स्वयम्‌ जिल्ला अदालतले नै सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नि.नं. ७६१४ को सिद्धान्तलाई स्वीकार गरेकोले हदम्यादभित्रको अभियोग भएकोमा विवाद देखिँदैन । प्रतिवादी छत्रबहादुरले दोस्रो विवाह गर्न जाहेरवालीको मन्जुरी थियो भनी लिएको जिकिरलाई यी प्रतिवादीले आधार प्रमाणबाट पुष्टि गराउन सकेको पाइँदैन । प्रतिवादी रूपादेवी र जाहेरवालीको घर बसोबास एकै वडामा भएको अवस्थामा यी रूपादेवीलाई प्रतिवादी छत्रबहादुरको जेठी श्रीमती भएको थाहा जानकारी नै थिएन भन्न नमिल्ने हुँदा सुरूले यी प्रतिवादीहरूले आरोपित कसुरबाट सफाई पाउने ठहर्‌याएको फैसला नमिलेको हुँदा उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, विराटनगरमा पर्न आएको पुनरावेदन पत्र । 

प्रतिवादी छत्रबहादुर भण्डारीले जाहेरवालीको मन्जुरीमा दोस्रो विवाह गरेको हो भनी जिकिर लिएको देखिन्छ । आफूसँग २०३६ सालमा र प्रतिवादी रूपासँग २०४१ सालमा प्रतिवादी छत्रबहादुरको विवाह भएको भन्ने व्यहोरालाई जाहेरवालीले अदालतमा आई गरेको बकपत्रबाट पुष्टि भइरहेको देखिन्छ । जाहेरवालीले आफ्ना नाम दर्ताका जग्गा बिक्री गरेउपर प्रतिवादी छत्रबहादुरले लिखत बदरसमेतका मुद्दा दायर गरेपछि जाहेरवालीले यी प्रतिवादीसमेतका उपर बहुविवाहमा जाहेरी दरखास्त दिएको देखिन आएको छ । यसरी जाहेरवाली र प्रतिवादीका बीच २०४१ सालदेखि २०६७ सालसम्म अर्थात् पारिवारिक विवाद नहुँदासम्म कुनै उजुर नै नगरी जाहेरवाली बसेकी र आफूले बिक्री गरेको जग्गाको लिखत बदर गराउन प्रतिवादीले फिराद दिएपछि जाहेरवालीले पनि बहुविवाहमा जाहेरी दरखास्त दिएको देखिन्छ । जाहेरवालीले थाहा जानकारी नै नदिई प्रतिवादी छत्रबहादुर २०४६ सालदेखि सम्पर्कमा नआउनु भएको भने पनि मिति २०६०।१०।१८मा पति छत्रबहादुर भनी यी प्रतिवादी छत्रबहादुर साक्षी बसी लिखत पारित भएको देखिन आएकाले जाहेरवालीको उक्त जाहेरी व्यहोरा खण्डित भइरहेको देखिन्छ । यी जाहेरवालीले आफ्ना पतिले २०४१ सालमा दोस्रो विवाह गरेको कुरा थाहा जानकारी भएर पनि बहुविवाहमा जाहेरी दरखास्त नदिई लामो समयसम्म अर्थात् २०६७ सालसम्म चुप लागेर बस्नुले पनि यी जाहेरवालीले मन्जुरी व्यक्त गरी बसेको भन्ने देखिन आउँछ । बकसपत्र बदर मुद्दाको फिराद तथा प्रतिउत्तरमा उल्लिखित प्रतिवादी रूपादेवीबाट जन्मिएका छोराछोरीको उमेरलाई हेर्दा पनि २०४१ सालको वैवाहिक सम्बन्धलाई अन्यथा भन्न मिल्ने नदेखिँदा प्रतिवादीहरूले अभियोग दाबीबाट सफाई पाउने ठहर्‍याई मोरङ जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको फैसला ।

प्रतिवादी छत्रबहादुर भण्डारीले जाहेरवाली जेठी श्रीमती हुँदाहुँदै रूपादेवी भण्डारीसँग दोस्रो विवाह गरेको तथ्यमा विवाद नरहेको, जाहेरवालीसँगको लोग्ने स्वास्नीको सम्बन्ध पनि कायम नै रहेको, जाहेरवालीले लोग्नेसँग अंश लिई भिन्न बसेको पनि नदेखिएको तथा विहावारीको महलको ९ नं. तथा १० नं. को अवस्थाको विद्यमानता पनि नभएको, लामो समयसम्म जाहेरी नदिएको तथा जाहेरवालीको मन्जुरीले दोस्रो विवाह गरेको भन्ने आधारमा सफाई दिएको, बहुविवाह गर्न पाउने कानूनी आधार नरहेको अवस्थासमेत हुँदा प्रतिवादीहरूलाई सफाई दिने गरी भएको फैसला भएको छ । यी प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा कान्छी श्रीमती रूपादेवीलाई घरमा जेठी श्रीमती छिन् भन्ने कुरा थाहा थियो भनी लेखाएको तथा प्रतिवादी निज रूपादेवी एउटै वडा अर्थात् होक्लाबारी वडा नं. २ स्थित विरबहादुर कार्कीको छोरी हुन् भनी लेखाएबाट निज प्रतिवादी रूपादेवीलाई प्रतिवादी छत्रबहादुरको जेठी श्रीमती भएको थाहा थिएन भन्ने अवस्था नरहेको स्पष्ट छ । अतः उल्लिखित आधार प्रमाण एवं प्रतिपादित कानूनी सिद्धान्तसमेतका आधारबाट यी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय नगरी सफाई दिने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला कानून एवं नजिरसमेतको प्रतिकूल हुँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मुद्दा दोहोर्‌याई पाउँ भनी वादी नेपाल सरकारले यस अदालतमा दर्ता गरेको निवेदन पत्र ।

यसमा यस अदालतको पूर्ण इजलासबाट पुनरावेदक प्रतिवादी दिपक पाण्डेसमेत र प्रत्यर्थी वादी नेपाल सरकार भएको बहुविवाह मुद्दा (ने.का.प. २०६३ नि.नं. ७६९४ पृष्ठ ५५४) मा प्रतिपादित सिद्धान्तको आधारमा पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिँदा मुद्दा दोहोर्‌याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७०।५।२ मा भएको आदेश ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवालीले प्रतिवादी छत्रबहादुर भण्डारीले बहुविवाह गरेकोमा विवाद छैन । आरोपित कसुरमा साबित भई प्रतिवादीले बयान गरेका छन्। प्रतिवादीको बयानलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि गरिरहेको अवस्थामा प्रतिवादीहरूले अभियोग दाबीबाट सफाई पाउने ठहर्‌याएको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला नमिलेको हुँदा प्रत्यर्थी झिकाउने आदेश हुनुपर्दछ भनी गर्नु भएको बहस सुनियो ।

उल्लिखित विद्वान्‌ उपन्यायाधिवक्ताको बहस सुनी पुनरावेदनसहितको सक्‍कल मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादी छत्रबहादुर भण्डारी र रूपादेवीले बहुविवाह गरेको प्रमाणित भएकोले विहावारीको १० नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएकोमा अभियोग दाबीबाट प्रतिवादीहरूले सफाई पाउने ठहर्‌याएको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसलामा चित्त नबुझाई सो फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा मिति २०४१।१०।१६ गते जिल्ला मोरङ, होक्लावारी–२ बस्ने छत्रबहादुर भण्डारीले म मालादेवी भण्डारी श्रीमती हुँदाहुँदै रूपादेवीलाई दोस्रो विवाह गरेको र आफ्नो श्रीमती घरमा भएको थाहा हुँदाहुँदै विवाह गरी आएकोले निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको जाहेरवाला मालादेवी भण्डारीको जाहेरी दरखास्त परी प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । 

३. प्रतिवादी छत्रबहादुर भण्डारीले अधिकार प्राप्त अधिकारीसमक्ष बयान गर्दा मैले २०३६ सालमा जाहेरवाली मालादेवीसँग विवाह गरी १ छोरीको जायजन्म भएपछि मेरो र मालादेवीको बीचमा घरायसी विवादको कारण मनमुटाव भएकाले श्रीमती हुँदाहुँदै रूपादेवीलाई दोस्रो विवाह गरेको हुँ भन्ने व्यहोराको प्रतिवादी छत्रबहादुर भण्डारीले बयान गरेको 

देखिन्छ । अदालतसमक्षको बयानमा यी प्रतिवादी छत्रबहादुरले जाहेरवालीसँग २०३६ सालमा विवाह भएको थियो । निजले नै दोस्रो विवाह गर्नु भनेकाले २०३९ सालमा रूपादेवीसँग दोस्रो विवाह गरेको हुँ । मैले रूपालाई मेरो श्रीमती छ भन्ने थाहा दिएको 

थिएन । जग्गाजमिन जेठी श्रीमतीको नाउँमा रहेको र निजले सल्लाह नगरी जग्गा बिक्री गरेकाले अंश, लिखत बदर र जालसाजसमेतका मुद्दा दर्ता गरेपछि झुठ्ठा व्यहोराको जाहेरी दिएको हो भनी बयान गरेको पाइन्छ ।

४. यी प्रतिवादीहरू उपर मुलुकी ऐन, विहावारीको १० नं. बमोजिम सजाय गरी पाउन अभियोग दाबी लिएको देखिन्छ । प्रतिवादी छत्रबहादुर भण्डारीले जाहेरवालीको मन्जुरीमा दोस्रो विवाह गरेको हो भनी जिकिर लिएको देखिन्छ । जाहेरवाला मालादेवी भण्डारीले अदालतमा गरेको बकपत्रको सवाल जवाफ ४ र ८ मा आफूसँग २०३६ साल फागुन १५ गते र प्रतिवादी रूपासँग मिति २०४१।१०।१६ गते प्रतिवादी छत्रबहादुरको दोस्रो विवाह भएको भन्ने व्यहोरालाई जाहेरवाली मालादेवीले अदालतमा आई बकपत्र गरेको देखिन्छ । त्यसैगरी जाहेरवालीले कान्छी श्रीमतीतर्फ ५ जना छोराछोरी रहेको, छोरालाई देखेको भन्दै मेरा पति २०३८ सालदेखि घर छोडी हिँडेको भनी अदालतमा बकपत्र गरेको देखिन्छ । आफ्ना नाम दर्ताका जग्गा बिक्री गरेउपर प्रतिवादी पति छत्रबहादुरलाई साक्षी राखेको छैन भनी बकपत्र गरेको देखिन्छ । प्रतिवादी छत्रबहादुरका साक्षी मेघमाया श्रेष्ठले दुवै जनाको सहमतिमा मिति २०३९।८।१८ मा प्रतिवादीले दोस्रो विवाह गरेका हुन् भनी अदालतमा बकपत्र गरेको देखिन्छ ।

५. जाहेरवालाले आफ्नो नाम दर्ताका जग्गा बिक्री गरेउपर प्रतिवादी छत्रबहादुरले लिखत बदरसमेतका मुद्दा दायर गरेपछि जाहेरवालीले यी प्रतिवादीसमेतका उपर बहुविवाहमा जाहेरी दरखास्त दिएको देखिन आएको छ । यसरी जाहेरवाली र प्रतिवादीका बीच २०४१ सालदेखि २०६७ सालसम्म अर्थात् पारिवारिक विवाद नहुँदासम्म कुनै उजुर नै नगरी जाहेरवाली बसेकी र आफूले बिक्री गरेको जग्गाको लिखत बदर गराउन प्रतिवादीले फिराद दिएपछि जाहेरवालीले पनि बहुविवाहमा जाहेरी दरखास्त दिएको देखिन्छ । यी जाहेरवालीलाई थाहा जानकारी नै नदिई प्रतिवादी छत्रबहादुर २०४६ सालदेखि सम्पर्कमा नआउनु भएको भने पनि मिति २०६०।१०।१८ मा पति छत्रबहादुर भनी यी प्रतिवादी छत्रबहादुर साक्षी बसी मालपोत कार्यालय, झापाबाट र.नं. १९१५ को राजीनामाको लिखत पारित भएको देखिन आएकाले जाहेरवालीको उक्त जाहेरी व्यहोरा खण्डित भइरहेको देखिन्छ । यी जाहेरवालीले आफ्ना पतिले २०४१ सालमा दोस्रो विवाह गरेको कुरा थाहा जानकारी भएर पनि बहुविवाहमा जाहेरी दरखास्त नदिई लामो समयसम्म अर्थात् २०६७ सालसम्म चुप लागेर बस्नुले पनि यी जाहेरवालीले मन्जुरी व्यक्त गरी बसेको भन्ने देखिन आउछ । बकसपत्र बदर मुद्दाको फिराद तथा प्रतिउत्तरमा उल्लिखित प्रतिवादी रूपादेवीबाट छोराछोरीको उमेरलाई हेर्दा पनि २०४१ सालको वैवाहिक सम्बन्धलाई अन्यथा भन्न मिल्ने अवस्थासमेत देखिँदैन ।

६.  प्रस्तुत मुद्दामा जाहेरवाली मालादेवी भण्डारी र प्रतिवादीमध्येका छत्रबहादुर भण्डारीले २०३६ सालमा विवाह गरी ३ जना छोरीको जायजन्म भई २०३९ सालमा जाहेरवालीसमेतको मन्जुरीमा कान्छी रूपा कार्कीसँग दोस्रो विवाह भई ५ सन्तानको जायजन्म भएको अवस्था छ । साथै जाहेरवाला तथा प्रतिवादी छत्रबहादुरको २०३६ सालमा नै जिल्ला झापा लखनपुर गा.वि.स.बाट विवाह दर्तासमेत भएको पाइन्छ । यी तथ्यहरू र तथ्यसँग सम्बन्धित मितिको सम्बन्धमा कुनै विवाद छैन । विवाह भएको कुरा थाहा पाएको मितिको सम्बन्धमा मात्र विवाद रहेको पाइन्छ । यस सम्बन्धमा घटनाक्रम हेर्दा प्रतिवादी छत्रबहादुरले जाहेरवाली मालादेवीलाई २०३६ सालमा विवाह गरी २०३७, २०४२, २०४६ सालमा क्रमशः ३ छोरीसहित दोस्री श्रीमतीलाई आफ्नो घरमा ल्याएको अवस्थामा सोही घरमा बसी आएकी जाहेरवालीले उसै बेला थाहा पाएको नै स्वभाविक अनुमान गर्नुपर्ने देखिन्छ । साथै विपक्षीको कान्छी श्रीमती रूपादेवीको कोखबाट ५ जना छोराछोरीको समेत जन्म भई निजहरूसमेत वयस्क भएको मिसिल संलग्न प्रमाण कागजातहरूबाट देखिन्छ । यी प्रतिवादी तर्फका ५ जना छोराछोरीसमेतले जाहेरवाली तथा निजतर्फको अंशियार कान्छी छोरीसमेतलाई विपक्षी बनाई मिति २०६७।५।२ मा झापा जिल्ला अदालतमा अंश चलन मुद्दा दायर गरेपछि त्यसको विपरीत मिति २०६७।५।२० लाई थाहा पाएको मिति कायम गरी २०६८।३।७ मा जाहेरी दरखास्त दिएको देखिन्छ । प्रतिवादीहरूले दोस्रो विवाह गरेको मितिदेखिको हरेक घटनाक्रमको प्रत्यक्षदर्शीका रूपमा रहेकी जाहेरवालीले मिति २०६७।५।२० गतेभन्दा अगाडि नै दोस्रो विवाह गरेको थाहा पाई सो कुरालाई स्वीकार गरी आएको देखियो । यसरी प्रतिवादी दोस्रो विवाह गरी दुवै सौता-सौता एकै घरमा लामो समयको अन्तरालसम्म सँगसँगै बसी सोको परिणामलाई आत्मसात् गरी उक्त वैवाहिक सम्बन्ध पछाडिको हरेक गतिविधिहरूलाई स्वीकार गरी बसी आएको देखिन्छ । यसरी लोग्ने र सौतासँगै बसी निजहरूको वैवाहिक सम्बन्धलाई स्वीकार गर्ने र आफ्ना विरूद्धको अपराध स्वीकार गर्ने यी जाहेरवालीले तत्काल कहीँकतै उजुर बाजुर नगरी लामो अन्तराल पश्चात् आफूलाई मन लागेको बखत उजुर गर्न पाउने भन्न मिल्दैन । यस्तो स्थितिमा हदम्यादसम्बन्धी कानूनको उद्देश्य र आवश्यकतातर्फ विचार गर्नु पनि जरूरी देखिन्छ । कुन काम वा क्रियालाई फौजदारी कानून भनी मान्नुपर्ने हो, कुन कसुरको लागि कति सजाय गर्नुपर्ने हो र कुन कसुरको सम्बन्धमा कति समयावधि भित्र उजुरी वा अभियोग दायर गरी सक्नुपर्ने हो भन्नेसमेतका कुराहरू विधायिकाले ऐनद्वारा निर्धारित गर्ने कुरा हुन् । कुनै कसुरको सम्बन्धमा मुद्दा वा दाबी गर्ने हदम्याद सीमित नरहने गरी खुल्ला राख्न र कुनै वा केही कसुरका लागि सीमित हदम्यादको व्यवस्था पनि ऐनमा विधायिकाले नै गर्ने कुरा हो । यी सबै विधायिकी कार्यक्षेत्र (Legislative Function) भित्रका कुरा 

हुन् । तर ऐनले गरेको हदम्यादसम्बन्धी व्यवस्था सबैले मान्नु र लागू गर्नुपर्ने हुन्छ । बहुविवाहको क्रियालाई विहावारीको ऐनले दण्डनीय फौजदारी कानूनको रूपमा परिभाषित गरी सो सम्बन्धमा अभियोग दाबी गर्ने वा मुद्दा गर्ने समयावधिको सीमा पनि सोही महलको ११ नं. ले निर्धारित गरेको छ । अर्थात् बहुविवाह मुद्दा गर्नका लागि सीमित समयावधिको हदम्याद कानूनले निर्धारित गरेको छ । यसमा कुनै विवाद छैन । बहुविवाह मुद्दा दायर गर्ने खुल्ला वा असीमित हदम्याद वा जहिले पनि दायर गर्न सकिने भन्ने ऐनले व्यवस्था नगरेकोले सीमित हदम्यादभित्रै बहुविवाह मुद्दा दायर गर्नुपर्ने ऐनको व्यवस्था र उद्देश्य स्पष्ट छ । यसलाई एक वा अर्को तर्क वा कारणको आधारमा विधायकिय मनसायविपरीत असीमित वा खुल्ला हदम्यादको रूपमा परिणत वा परिभाषित गर्न मिल्दैन । 

७. एउटा पुरूष र एक जना महिला लोग्नेस्वास्नी भएर बस्छन् वा आफ्नो सामाजिक रीत, परम्परानुसार वैवाहिक सम्बन्ध गाँसेर बस्दछन्; सो घटनाको अधिकार प्राप्त निकायमा दर्ता गराउँछन्; वैवाहिक सम्बन्धबाट एक वा अनेक सन्तानको जायजन्म हुन्छ, फेरि एक अर्काबीच मुद्दा मामिला 

हुन्छ । यी सबै हुँदा गर्दा पनि न सँगै रहेकी पहिलो श्रीमतीले थाहा पाउँछिन् र न त अनुसन्धान गरी मुद्दा दायर गर्ने अख्तियारी पाएका सरकारी संयन्त्रले थाहा पाउँछ । यस्तो स्थितिको कल्पना विहावारीसम्बन्धी कानूनले गरेको पाइँदैन । केही समयसम्म बहुविवाह गर्नेहरूले आफ्नो सम्बन्धलाई लुकाउन नसक्ने भन्ने पनि होइन । त्यसकारण केही समयसम्म थाहा नपाउन सक्ने पनि हुन्छ । केही समय भन्नाले केही दिन वा महिना हुन सक्दछ  वा एक दुई सालसम्म पनि हुन सक्दछ । तर त्यसको आडमा विवाह गर्नेहरूले अनिश्चितकालसम्म आफ्नाबीचको सम्बन्धलाई लुकाई राख्ने भन्ने कुराको कल्पना गर्दै निश्चित र सीमित हदम्यादलाई अनिश्चित वा असीमित बनाउन पाइने होइन । किनभने लोग्नेस्वास्नी भएर बस्नु वा विवाह गरी बस्नु भनेको समाजमा पति र पत्नीको रूपमा स्थापित हुनु पनि हो । वैवाहिक सम्बन्धलाई सामाजिक मान्यता प्राप्त गर्नु पनि हो । समाजले मान्यता प्रदान गरिसकेको, छोरा, छोरी जन्मिसकेको, तिनीहरूको जन्मदर्ता पनि गरिसकेको अवस्थामा पनि पहिलो पत्नी वा अनुसन्धान र मुद्दा गर्ने सरकारी निकायले थाहा नपाउनु भनेको सीमित हदम्यादसम्बन्धी कानूनी व्यवस्थाको बेवास्ता वा उपेक्षा गर्नु हो । कुनै पति-पत्नीमाथि आजीवन बहुविवाहको अभियोग दायर हुन सक्ने भन्ने ऐनले व्यवस्था गरेको छैन । त्यसकारण बहुविवाहमा जहिले पनि नालिस लाग्छ भनी सोच्नु वा अर्थ गर्नु भनेको विहावारी ऐनको हदम्यादसम्बन्धी कानूनी व्यवस्था र यसको उद्देश्यलाई र विधायिकाको मनसायलाई पनि पराजीत गर्नु हो । जहिलेसुकै पनि अभियोग दाबी गर्न सकिने भए विहावारीको ११ नं. मा तीन महिने हदम्यादको सीमा नै उल्लेख गर्नुपर्ने थिएन भनी यस अदालतबाट कमलमोहन चापागाईसमेत विरूद्ध नेपाल सरकार भएको (ने.का.प. २०६८, अंक ११, नि.नं. ८७१६) बहुविवाह मुद्दामा सिद्धान्त प्रतिपादनसमेत भएको पाइन्छ ।

८. यसर्थ यस अदालतबाट निस्सा प्रदान गर्दा पुनरावेदक प्रतिवादी दिपक पाण्डेसमेत र प्रत्यर्थी वादी नेपाल सरकार भएको बहुविवाह मुद्दा (ने.का.प. २०६३ नि.नं. ७६९४ पृष्ठ ५५४) मा प्रतिपादित सिद्धान्त पूर्ण इजलासबाट हदम्याद सम्बन्धमा प्रतिपादित कानूनी सिद्धान्तलाई विहावारीको ११ नं. लाई निष्क्रिय वा निष्प्रयोजन गर्ने गरी अर्थ, व्याख्या वा प्रयोग गर्न मिल्ने देखिँदैन । उक्त नजिरसँग सम्बन्धित मुद्दामा यस अदालतले त्यस्तो हुने गरी फैसला गरेको पनि 

देखिँदैन । त्यसलाई आफूखुसी ऐनको उद्देश्यविपरीत हुने गरी व्याख्या गर्न मिल्दैन । प्रस्तुत मुद्दाको परिस्थिति र तथ्यहरू उक्त नजिरको मुद्दासँग बिल्कुल फरक रहेको देखिँदा हदम्याद सम्बन्धमा यस अदालतबाट उल्लिखित नजिरको आधारमा दिएको निस्सासँग उपरोक्त नजिर प्रस्तुत मुद्दामा आकर्षित हुने वा प्रयोग हुने अवस्था नदेखिँदा निस्सासँग सहमत हुन सकिएन । 

९. मुलुकी ऐन, विहावारीको ११ नं. ले विहावारीको ६ र ७ नं. का कुरामा भए गरेका मितिले र अरूमा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस नदिए लाग्न सक्दैन भन्ने कानूनी व्यवस्था गरेको परिप्रेक्ष्यमा प्रतिवादीहरू छत्रबहादुर भण्डारी र मालादेवीबीच २०३६ सालमा विवाह भएको र २०३७, २०४२ र २०४६ सालमा तीन छोरीहरूको जायजन्म भई पतिकै घरमा बसेको देखिनुको साथै प्रतिवादी रूपादेवी भण्डारीबाट बच्चाहरूसमेत जन्मी हुर्किसकेको अवस्था देखिन्छ । जाहेरवालीको जाहेरी एवं बकपत्र विपक्षी रूपादेवी भण्डारीको मिति २०४१ सालमा छत्रबहादुरसँग दोस्रो विवाह भएको, निज कान्छी श्रीमतीको तर्फबाट पाँच जना छोराछोरीको जन्म भई २०४६ सालमा सगोलमै बसेको एवं यी प्रतिवादीतर्फका ५ जना छोराछोरीसमेतले जाहेरवाली तथा निजतर्फको अंशियार कान्छी छोरीसमेतलाई विपक्षी बनाई मिति २०६७।५।२ मा झापा जिल्ला अदालतमा अंश चलन मुद्दा दायर गरेपछि मिति २०६८।३।७ गते मात्र यी जाहेरवालीले आफ्ना पतिउपर बहुविवाह मुद्दाको जाहेरी दिएको देखियो । साथै छोरीहरूको जन्मदर्ता एवं आफूहरूको विवाह दर्तासमेत भइसकेको अवस्थामा तबसम्म सगोलमा नै रहेको भनी दाबी गर्ने जाहेरवालीलाई प्रतिवादीहरू बीच विवाह भएको कुरा मिति २०६७।५।२० मा थाहा पाएको भनी मिति २०६८।३।७ मा जाहेरी दरखास्त दिएको र मिति २०६८।३।२७ मा अभियोग दायर भएको देखिँदा उल्लिखित कानूनको हदम्यादभित्र प्रस्तुत अभियोग पत्र दायर भएको देखिन आएन । 

१०. अतः माथि उल्लिखित आधार, कारण र प्रमाणसमेतबाट प्रतिवादीहरू छत्रबहादुर भण्डारी र रूपादेवी भण्डारीले अभियोग दाबीबाट सफाई पाउने ठहर्‍याई मोरङ जिल्ला अदालतबाट मिति २०६८।१०।१७ मा भएको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०६९।९।१ को फैसला मिलेकै देखिँदा यस अदालतबाट मिति २०७०।५।२ मा प्रदान गरिएको निस्सासँग सहमत हुन सकिएन । पुनरावेदन अदालत, विराटनगरको मिति २०६९।९।१को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमति छ ।

न्या. पुरूषोत्तम भण्डारी

 

इजलास अधिकृतः- कोशलेश्‍वर ज्ञवाली

इति संवत् २०७३ साल फागुन ३० गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु