निर्णय नं. ९८११ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
फैसला मिति : २०७३।०८।०८
०७२-CR-०९५५
मुद्दाः जबरजस्ती करणी ।
पुनरावेदक / प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका वडा नं. २ घर भई हाल कारागार कार्यालय, काभ्रेपलाञ्चोक, धुलिखेलमा कैदमा रहेको सुब्बा गाउँ तीन (नाम परिवर्तित)
विरूद्ध
प्रत्यर्थी / वादी : सुब्बा गाउँ एक (नाम परिवर्तित) को जाहेरीले नेपाल सरकार
मिति २०७१।४।३० मा घटेको वारदातको सम्बन्धमा मिति २०७१।५।८ मा पीडितको शारीरिक परीक्षण गराउँदा जबरजस्ती करणीको वारदात स्थापित गर्न आवश्यक पर्ने प्रमाणहरू नष्ट भई जाने अवस्था रहन्छ । यसका साथै पीडितले स्वयम् आफ्नो व्यहोरा लेखाउँदा एवं अदालतमा बकपत्र गर्दा प्रतिवादीले डर धाक देखाई वारदात घटाएको हो भनी लेखाएबाट यस्तो अवस्थामा हुने जबरजस्ती करणीमा पीडक र पीडितबीच संघर्ष नै नभएको हुँदा पीडितको शरीरमा संघर्षको चिह्नहरू नदेखिन सक्ने हुन्छ । तर पीडित स्वयम्ले जबरजस्ती करणी भए हो भनी लेखाएको एवं सोही व्यहोरा वारदातकै दिन अन्य साथीहरूलाई समेत बताएको अवस्थामा निजको शरीरमा संघर्षको चिह्न नभएको र जबरजस्ती करणी भएको कुनै प्रमाण फेला नपरेकोले जबरजस्ती करणी भएको होइन भनी मान्न नमिल्ने ।
(प्रकरण नं. ३)
प्रतिवादीले जबरजस्ती करणी भएको तथ्यलाई स्थापित गर्न कुनै भौतिक सबुद प्रमाण नभएको, पीडितको शरीरमा संघर्षको चिह्नहरू नभएको भनी जिकिर लिएको देखिन्छ। जबरजस्ती करणीको अपराधमा योनिभित्र पुरूषको विर्यलगायतका अन्य सबुद प्रमाण फेला पर्नको लागि वारदात घटे लगत्तै पीडितको शारीरिक परीक्षण भएको हुनुपर्दछ । त्यस्तै वारदातपश्चात् पीडितले कपडा फेर्दा पीडितको कपडामा पाउन सकिने पुरूष रौं भेटिने सम्भावना हुँदैन । पीडितले वारदात पछि नुहाएमा पनि धेरै सबुद प्रमाणहरू नष्ट हुन जाने ।
(प्रकरण नं. ५)
वारदात भएको यति लामो समय व्यतित भएपश्चात् भएको शारीरिक परीक्षणबाट पीडित र प्रतिवादीबीच यौनसम्पर्क भएको प्रमाण फेला पार्न सम्भावना एकदम न्यून देखिन्छ । प्रत्यक्ष प्रमाणको अभावमा परिस्थितीजन्य प्रमाणको मद्दतले निर्णय गर्नुपर्ने ।
(प्रकरण नं. ५)
पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता डा. रंजितभक्त प्रधानाङ्ग र अधिवक्ता सागर विष्ट
प्रत्यर्थी / वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, जबरजस्ती करणीको महलको १, २ र ३(४) नं.
सुरू तहमा फैसला गर्नेः
मा.जिल्ला न्या. श्री गोपालप्रसाद बास्तोला
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या.डा. सलाहुद्दीन अख्तर सिद्दिकी
मा.न्या.श्री नारायण प्रसाद श्रेष्ठ
फैसला
न्या. जगदिश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ:-
सुब्बागाउँ तीनको तीन तले पक्कीघरको दोस्रो तलाको पश्चिम उत्तरतर्फको कोठामा सुब्बागाउँ एकलाई सुब्बागाउँ तीनले मिति २०७१।४।३० को दिन जबरजस्ती करणी गरेको भन्नेसमेत व्यहोराको मिति २०७१।५।८ को घटनास्थल मुचुल्का ।
म निवेदिका आफ्नै घरमा विगत ९ वर्ष अगाडिदेखि हजुरबुबाबाट र ६ वर्ष अगाडिदेखि आफ्नै बुबाबाट जबरजस्ती करणीको पीडा भोग्दै आइरहेको र मलाई लामो समयबाट आफ्नै संरक्षकहरूबाट अन्याय भएको कुरा मैले मेरो ममीलाई र मेरो साथी पूर्णिमा लामा तामाङलाई समेत सुनाउँदा पनि न्यायको आशा गर्दै आएकोमा निजबाट मैले केही निकास पाउन सकिन । मलाई पटक-पटक घर परिवारबाट नै अन्याय भइरहेकोमा यस्तो कुरा बाहिर सुनाउँदा कसले विश्वास गर्ला अझ बुबाले गुण्डा लगाइदिने र मारिदिने आमा भाइबहिनीसमेतलाई सडकमा पुर्याई दिने र उल्टै मेरै बदनाम गरिदिने धम्की दिँदै मलाई जबरजस्ती करणी गर्ने गरेको र मिति २०७१।०४।३० गते दिउँसो १:०० बजे घरमा कोही नभएको मौका पारी बुबाले जबरजस्ती करणी गरेको हुँदा मैले आफ्नो भन्ने बुबाबाटै यस्तो अन्याय गरी कसैबाट पनि सहयोग नपाएकोले घरबाट हिँडी बनेपामा आई तरकारीमा हाल्ने विषादी किनी धुलिखेल आई जंगलमा विष सेवन गरेको थिएँ । मैले छिमेकी दाइ बुद्ध बस्नेतलाई मैले आफ्नो मान्छेबाट अन्याय भोग्न परेको कसैबाट सहयोग नपाएकीले अन्तिम बाटो रोजेँ भनि यथार्थ विवरण भनी मेटासीट विषादी सेवन गरी छट्पटाएकोसम्म थाहा छ । पछि धुलिखेल अस्पतालको बेडमा रहेको थाहा पाएँ । त्यसपछि मरेर पनि बाँच्न सफल भएपछि म साहसका साथ अपराधको विरूद्धमा न्याय पाउँन यस कार्यालयमा उपस्थित भएको छु भन्नेसमेत व्यहोराको पीडित सुब्बागाउँ एकले मिति २०७१।०५।०८ मा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकमा पेस गरेको निवेदन ।
म जाहेरवालालाई विगत ९ वर्ष अगाडि हजुरबुबाले मेरो ढाड मिच्ने बहानामा कसैलाई नभन्नु भनी डरधाक देखाई ममाथि पटकपटक जबरजस्ती करणी गरेको थियो । विगत ६ वर्ष अगाडिदेखि प्रतिवादी सुब्बागाउँ तीनले मलाई विभिन्न डरत्रास देखाई मसँग यौन सम्बन्ध राख्दै आएको र नमाने मलाई गुण्डा लगाई दिन्छु, घरबाट निकाला गरी तेरो भाइ बहिनी आमा समेतलाई सडकमा पुर्याइदिन्छु भनी पटक पटक जबरजस्ती करणी गर्दै आउनुभएको थियो । मैले आमा साथीहरूलाई भन्दा कोहीले पत्याएनन् । उल्टै आमाले मलाई गाली गर्नुभयो । कसैलाई भन्न नसकी भित्र-भित्र मनमा सकी नसकी पीडा सहेर बसिरहेको अवस्थामा पनि मिति २०७१।४।३० गते १:०० बजे घरमा कोही नभएको मौका पारी प्रतिवादी सुब्बागाउँ तीनले मलाई जबरजस्ती करणी गर्न खोज्दा मैले इन्कार गर्दा डर धाक-धम्की दिई बलपूर्वक जबरजस्ती करणी गर्यो । सो कुरा मैले सहन नसकी सोही दिन ३:०० बजेतिर बनेपामा गई तरकारीमा हाल्ने मेटासिट औषधी किनी बनेपाबाट धुलिखेलको जंगलमा आई खाएँ । तत्कालै मेरो साथी पूर्णिमा तामाङलाई यथार्थ विवरण फोनबाट भने र म छट्पटिएँ । मलाई छिमेकी दाइहरूले अस्पतालमा ल्याएर मेरो ज्यान बचाएको कुरा अस्पतालमा थाहा पाएँ । मलाई सुब्बागाउँ तीन र सुब्बागाउँ चारले जबरजस्ती करणी गरेको हुँदा निजहरूलई सजाय गरी क्षतिपूर्तिसमेत दिलाई भराई न्याय गरिपाउँ भन्नेसमेत व्यहोरको सुब्बागाउँ एकको जाहेरी दरखास्त ।
निज प्रतिवादीले मलाई जबरजस्ती करणी गरेको घटना सम्बन्धमा उजुरबाजुर गरेमा ठीक हुनेछैन भनी धाकधम्कीसमेत दिई निजसँग भएको फोन संवाद भएको सिडी यसै निवेदनमा साथ पेस गरेको छु, मिसिल संलग्न गरी थप प्रमाण लगाई पाउँ भन्नेसमेत व्यहोराको सुब्बागाउँ एकको निवेदन ।
जाहेरवाली "बुबा, तपाइँले म छोरीलाई किन बलात्कार गर्नु भो ? किन ?" प्रतिवादी -"जबरजस्ती करणी गरेको मैले गल्ती महसुस गरिसकेँ, मैले तलाई पहिले नै भनिसकेँ यस कुरालाई issue नबना, यो कुरा उठाइस् भने, issue बनाइस् भने राम्रो हुँदैन" भन्नेसमेत व्यहोरा उल्लेख भएको प्रतिवादी र जाहेरवाली बीच भएको फोन संवाद (CD / Phone Record को Print) लाई लिपिबद्ध गरिएको प्रतिलिपि मिसिल साथ रहेको ।
जाहेरवाली सुब्बागाउँ एक मेरो जेठी छोरी
हुन् । छोरी बुद्ध बस्नेतसँग हिँड्ने गरेकोले बुद्ध बस्नेतको अगाडि छोरीलाई पिटेको थिएँ । मेरो बेइज्जत गर्यो भनि यो जाहेरी दिएको हुनुपर्छ । मैले छोरीलाई जबरजस्ती करणी गरेको छैन । म र पीडितबीच भएको फोन संवाद मेरो स्वर जस्तो लाग्छ । यदी मैले प्रयोग गर्दै आइरहेको ९८४१८४९९३६ नं. बाट संवाद गरेको उल्लिखित व्यहोरा कल डिटेल्सबाट देखिन आएमा कानूनबमोजिम सहन भोग्न मञ्जुर छु भन्नेसमेत व्यहोराको प्रतिवादी सुब्बागाउँ तीनले अनुसन्धानको क्रममा गरेको बयान ।
जाहेरवाली पीडित मेरो जेठी छोरी हुन् भने प्रतिवादी सुब्बागाउँ तीन मेरो श्रीमान् हुन् । २०७० सालको मंसिर महिनामा छोरीले बुबाले मलाई सुतायो भनि भन्दा निज प्रतिवादीले छोरीलाई जबरजस्ती करणी गरेको थाहा पाएँ । सो कुरा श्रीमान्सँग सोध्दा श्रीमान् केही नबोलेपछि त्यस दिनदेखि छोरी एक्लै बस्ने, अनुहारमा तनाव रहेको जस्तो गरी बस्ने गरेको र सो कुरा निज छोरीले पुनः मलाई जिकिर नगरेकी र प्रतिवादी बुबासँग राम्रोसँग बोल्न थालेको हुँदा यो कुरा बाहिर ल्याएमा आफ्नो परिवारको बेइज्जत हुन्छ भनि मैले घटनालाई बिर्सिएर बसेको थिएँ । फेरी मिति २०७१।०४।३० मा मसमेत घरमा भएको अवस्थामा छोरी एक्लै भएको मौकापारी प्रतिवादीले जबरजस्ती करणी गरेको थाहा पाएँ । छोरीलाई जबरजस्ती करणी गरेको हुनुपर्दछ भन्नेसमेत व्यहोराको सुब्बागाउँ दुईले अनुसन्धानको क्रममा गरेको कागज ।
सन् २०१४-०८-०२ तदनुसार मिति २०७१।०४।१७ गते प्रतिवादी सुब्बागाउँ तीनले प्रयोग गर्ने गरेको मोबाइल नं. ९८४१८४९९३६ र पीडित सुब्बागाउँ एकले प्रयोग गर्ने गरेको ९८०३७३५१९० नं. बीच तीन पटक फोन सम्पर्क गरेको देखिएको कल स्टेटमेन्ट ।
कन्याजाली पुरानो च्यातिएको छ । मानसिक अवस्था तनावग्रस्त थियो भन्ने व्यहोराको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
प्रतिवादी र मबीच फोन संवाद रेकर्ड भएको ९८०३७३५१९० नं. को सिमकार्डसहितको कलर्स कम्पनीको सेतो रङ्गको मोबाइल थान एक यसै निवेदनसाथ पेस गरेको छु, प्रतिवादीउपर थप प्रमाण लगाई पाउँ भन्नेसमेत व्यहोराको सुब्बागाउँ एकको निवेदन ।
पीडितले निवेदनसाथ पेस गरेको मोबाइलमा कुनै फोन रेकर्डहरू छ, छैन ? यदि फोन रेकर्ड छ भने के कति नं. बीच भएको फोन रेकर्ड रहेको छ, उक्त फोन संवाद के कुन मिति र समयमा भएको देखिन्छ भन्नेसमेत व्यहोरा उल्लेख गरी प्रमाणीकरण नियन्त्रकको कार्यालय सिंहदरबार काठमाडौंलाई लेखेको पत्र ।
प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको घटना सम्बन्धमा जाहेरवाली र प्रतिवादीबीच भएको फोन संवाद Voice Record प्रतिवादीको स्वर हो वा होइन यकिन गर्नको लागि तुलनात्मक परीक्षण प्रयोजनार्थ प्रतिवादीसँग अनुसन्धान अधिकृतले Voice Record लिई सिडीमा उतार गरेको भन्नेसमेत व्यहोराको मुचुल्का ।
जाहेरवाली पीडितलाई जबरजस्ती करणी गरेको घटना सम्बन्धमा जाहेरवाली र प्रतिवादीबीच भएको फोन संवाद Voice Record लिई निजले बोलेको स्वर हो वा होइन यकिन गर्नको लागि निज प्रतिवादीसँग संवाद गरी सो संवादलाई Voice Record गरी सिडीमा कपी गरी Voice Spectrums Analysis को लागि पठाउने प्रयोजनार्थ पेस गरेको भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।
जाहेरवाली परिवर्तित नाम सुब्बागाउँ एक र प्रतिवादीबीच भएको फोन संवाद Voice Record र अनुसन्धान अधिकृतले प्रतिवादी सुब्बागाउँ तीनसँग लिएको Voice Record तुलनात्मकरूपमा एक आपसमा मेल खान्छ खाँदैन भनी परीक्षणको लागि केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंलाई लेखेको पत्र ।
स्वास्थ्य परीक्षणको क्रममा परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीले पीडितबाट लिएको Vaginal Swab र घटना वारदातको समयमा पीडक प्रतिवादीले लगाएको पेन्टी परीक्षणको लागि केन्द्रीय प्रहरी विधी विज्ञान प्रयोगशालामा पठाइएको पत्र ।
६ वर्ष अगाडि देखि म, आमा, भाइ, बहिनीलाई सडकमा पुर्याइ दिन्छु भन्ने धम्की दिँदै पटकपटक प्रतिवादी (बुबा) ले मलाई जबरजस्ती करणी गर्दै आएको हो, परिवारको विजोग हुन्छ भनेरै कतै उजुर गरिन । आमालाई भन्दा आमाले पनि सहयोग गर्नु भएन । मेरो साथी पूर्णिमा तामाङ र बुद्ध बस्नेतलाई सो कुरा सुनाएँ । साउन ३० गते बिरामी भएर म कोठामा सुतिरहेको, आमा, भाइ, बहिनी नभएको अवस्थामा मलाई पुनः बुबाले जबरजस्ती करणी गरेकोले मर्नुको विकल्प नभएपछि Suicide Note लेखेर घरमा छोडी बनेपाबाट मेटासिट किनेर धुलिखेलको गोखुरेश्वर वनमा आई विष खाएँ । बुद्ध बस्नेतलाई मैले म विष खाएर मर्दैछु, घरमा भनिदिनु भनेँ र पूर्णिमा तामाङलाई पनि बताउँदै गर्दा म बेहोस भएँ, होस आउँदा अस्पतालमा पाएँ, विष सेवन गरेको लगभग एक हप्ता अगाडि प्रतिवादीलाई फोन गरेँ र म प्रतिवादी बीच भएको कुरा Record गरेँ । मलाई बुबाले जबरजस्ती करणी गरेको हो भन्नेसमेत व्यहोराको पीडित तथा जाहेरवाली सुब्बागाउँ एकले अनुसन्धानको क्रममा गरेको कागज ।
सुब्बागाउँ चारको मिति २०७१।०५।१० मा मृत्यु भएको भन्ने व्यहोराको मिति २०७१।०४।२४ को मृत्यु दर्ताको प्रमाण पत्र ।
जाहेरवालीले जबरजस्ती करणी भएको घटना सम्बन्धमा प्रतिवादी सुब्बागाउँ तीनसँग गरेको फोन संवाद Voice Record संकेत A अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतको प्रतिवादीसँग लिएको Voice Record लाई संकेत B लिई तुलनात्मक परीक्षण गरी हेर्दा CD A/ Sample 01 The speakers identification traits match with confidence level of more than 99.1% match probability is more than 59.3% CD A/ Sample 02 The speakers identification traits match with confidence level of more than 99% match probability is more than 62.4%. CD A/Sample 03 The speakers identification traits match with confidence level of more than 99% match probability is more than 61.9% भन्नेसमेत व्यहोराको Voice Spectrum Analysis गरी विशेषज्ञहरूबाट परीक्षण भई केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त परीक्षण प्रतिवेदन ।
परीक्षणको लागि प्राप्त मोबाइल Sd Card को Recording भित्रको Call Recording Folder र ४ वटा Call Record रहेको बाँकी तीन Call ९८०८३०१७२३ नं. को मोबाइल नं. मा Call गर्दा रहेको बाँकी तीन Call ९८४१८४९९३६ को मोबाइल नं. मा Call गर्दाको रहेको देखिएको, पहिलो Call ०८/०२/२०१४ मा Record गरिएको ३ मिनेट २० से. रहेको, दोस्रो Call सोही मिति ४:३७ pm मा ३४ सेकेण्ड रहेको, तेस्रो कल ४:४० pm मा १ मिनेट ५१ सेकेण्ड र चौथो कल ४:४३ ए.एम मा ३ मिनेट १८ सेकेण्ड गरिएको देखिएको भन्नेसमेत व्यहोराको प्रमाणीकरण नियन्त्रकको कार्यालय, सिंहदरबार काठमाडौंबाट प्राप्त परीक्षण प्रतिवेदन ।
मलाई विगत ६ वर्ष अगाडिदेखि आफ्नै बुबाले डरत्रास देखाई जबरजस्ती करणी गर्दै आएको छ । सोही कारणले म कोहीसँग हिँडेको देखेमा यो कुरा खोल्छ भनि नहिँड्नु, नबोल्नु भनि कुटपिट गर्छ भनेर पीडितले बताइन् । सोपश्चात मैले निजलाई सम्झाई बुझाई गरी तिमीलाई सहयोग गर्छु भने । साउन ३० गते बुबाले फेरी Rape गरेपछि पीडितले विष खानु अघि मलाई फोन गरिन् र मैले प्रहरीमा आई घटनाको जानकारी गराएको हो । प्रतिवादीबीच भएको मेरो छलफलमा प्रतिवादीले गल्ती गरेको हुँ भनेको हो । सो कुरा निजसँग भएको फोन संवादलाई Record समेत गरी सो Record लाई CD मा Copy गरी पेस गरेको छु भन्नेसमेत व्यहोराको बुद्ध बस्नेतले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागज ।
एउटै College पढ्ने बुद्ध बस्नेतमार्फत मेरो चिनजान सुब्बागाउँ एकसँग भएको हो । पीडितलाई भेट्दा बोलाएमा मात्र बोल्ने, अनुहार सधैँ तनावपूर्ण देखेँ, कहिले अनुहार, गाला सुनिएको देख्ने गर्दा तिमीलाई के भएको छ भनि सोध्दा ६ वर्ष अगाडि देखि बुबाले जबरजस्ती करणी गर्दै आइरहेको र अहिले पनि बुबाले मलाई विभिन्न डरत्रास धाक धम्की दिई जबरजस्ती करणी गरिरहेको छ भनि भनेकी थिइन् । मिति २०७१।४।३० का दिन पीडितले मलाई फोन गरी आज १:०० बजेको समयमा म घरमा एक्लै भएको अवस्थामा बुबाले मलाई डरत्रास धाकधम्की दिई जबरजस्ती करणी गर्यो । धुलिखेल हजारसिडी छेउमा विष खाई मर्दैछु भनेकी थिई । प्रतिवादीले विगत समयदेखि नै पीडितलाई जबरजस्ती करणी गर्ने गरेको र पीडितसँगै हिँड्दा निजले मलाई मेरो छोरीसँग नहिँड्नु, नबोल्नु भनि धम्काउनेसमेत गरेकोले यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेकै हुनुपर्दछ भन्नेसमेत व्यहोराको पूर्णिमा तामाङले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागज ।
पीडित सुब्बागाउँ एक यस अस्पतालको आकस्मिक कक्षमा मिति २०७१।०४।३० मा विषादी सेवन गरी उपचारको लागि आएको र थप उपचारको लागि सघन उपचारकक्ष तथा मेडिकल वार्डमा भर्ना भई मिति २०७१।०५।०८ मा डिस्चार्ज भएको उपचारमा संलग्न कागजातहरू छायाँप्रतिसमेत पठाइएको भन्नेसमेत व्यहोराको धुलिखेल अस्पतालबाट प्राप्त पत्र । साथै उक्त अस्पतालबाट प्राप्त पीडितको उपचारसँग सम्बन्धित कागजातको छायाँकपिमध्ये सो अस्पतालको मनोविज्ञान ओ.पी.डी.मा डा. सुब्रतबाट पीडितको चेकजाँच हुँदा A २० Years femal who is a case of op poisoning in past. H/O Dissociative Disorder. H/O Physical and sexual abuse by father. Has repeated flash backs of the events and has developed, avoidal tendency towards parents' भन्ने उल्लेख भएको Kathmandu University Hospital, Dhulikhel को परीक्षण प्रतिवेदन ।
सुब्बागाउँ एक साउन ३० गते विष सेवन गरी उपचारमा रहेको । पीडितले मलाई बुबाले कुटपिट गर्ने, यौनसम्पर्क गर्ने गरेको त्यसैले विष खाई आत्महत्या गर्न खोजेको भनी पीडितले बताएको हुँदा सोही कुरा Prescription मा मैले लेखेको हो भन्ने व्यहोराको धुलिखेल अस्पतालको मानसिक एवं मनोवैज्ञानिक परामर्श विभागमा कार्यरत पीडितको चेकजाँचमा संलग्न डा. सुब्रत कोइरालाले गरेको कागज ।
निवेदकले यस कार्यालयमा दिएको निवेदनको प्रतिलिपि यसै पत्रसाथ हजुरको कार्यालयमा पठाएका छौं । पीडित जुन दिन निवेदन लिई हामीकोमा आएकी थिइन उक्त दिन पीडकले कुटपिट गरेको चोटसहित आएकी थिइन् । अनुसन्धानमा थप सहयोग होस भन्ने हेतुले उनको आँखामुनी देखिएको चोटसहितको फोटो पनि पठाएका छौं भन्नेसमेत व्यहोराको रक्षा नेपालबाट प्राप्त पीडितले दिएको निवेदनसहितको पत्र ।
"तपाइँले छोरीलाई Rape गर्नुभो" भन्ने बुद्ध बस्नेतको प्रतिवादीसँग फोनमा भएको संवादमा Sorry, त्यो कुरा अब Issue नबनाउ" भनी प्रतिवादीबाट दिएको जवाफसमेतका Phone Records.
जाहेरवाली पीडितलाई निजको बाजे, बाबुले विभिन्न किसिमको धाकधम्की दिँदै डरत्रासमा पारी बलपूर्वक पटकपटक जबरजस्ती करणी गर्दै आएको कारणले पीडित जाहेरवाली बुबा बाजेको श्रीमती भई कति बाँच्ने भनी जीवनदेखि हरेस खाई मर्न खोजिरहेको छ भनी थाहा पाई निज पीडितलाई सम्झाईबुझाई गरी पीडितको आमासँग घटनाबारेमा कुरा गर्दा निजले आफ्नो छोरी माथि विगतमा भएको बाजे बुबाबाट बलात्कृत भएको हामीसमक्ष स्वीकार गरी यो कुरा बाहिर हल्ला नगरी दिनु मेरो घर व्यवहार बिग्रिन्छ । सबैलाई मिलाएर राख्छु अबदेखि यस्तो हुँदैन भनी बताएकोले निज पीडितलाई समाजमा पुनः स्थापना हुन यसको प्रभाव पर्ने भएकोले पीडितको पछिको जीवन हेरी बसेकोमा पुनः मिति २०७१।०४।३० गते प्रतिवादी सुब्बागाउँ तीनले पीडितलाई घरमा कोही नभएको अवस्थामा एक्लै रहेको मौका छोपी धाकधम्की दिँदै बलपूर्वक जबरजस्ती करणी गरेको कारणले पीडितले अब बुबाको श्रीमती भई नबाँच्ने भनी घरबाट निस्किएर धुलिखेलस्थित हजारसिँढीमा विषादी सेवन गरेको कुरा मसमेतले थाहा पाई निज प्रतिवादीसमेतलाई सो कुराको जानकारी गराउँदा प्रतिवादीले मर्न गएकी मरोस् भनी बताएकोले पीडित मरेमा यो कुरा बाहिर आउँदैन भनी प्रतिवादीले छोरी मरोस् भनेको र निज प्रतिवादीले विगत र मिति २०७१।०४।३० गते दिनको अं. १:०० बजेको समयमा जाहेरवालीलाई जबरजस्ती करणी गरेको एउटै व्यहोराको बुझिएका मानिस सफल तामाङ, सागर कार्की र सुनिल भुजेलले गरेको एउटै व्यहोराको छुट्टाछुट्टै कागज ।
सुब्बागाउँ एकलाई प्रतिवादीले जबरजस्ती करणी गरेको प्रतिवादी पक्राउ परेपछि सुनेको हो । यस अघि थाहा पाएको थिइन भन्ने व्यहोराको सुब्बागाउँ पाँच, सुब्बागाउँ छ, सुब्बागाउँ सातको कागज ।
प्रतिवादी सुब्बागाउँ तीनले प्रयोग गर्न गरेको मोबाइल नं.९८४१८४९९३६ नं. बुद्ध बस्नेतले प्रयोग गर्ने गरेको मोबाइल नं.९८०८७५४३१२ र ९८१८२९१७११ बीच पटक पटक सम्पर्क भएको देखिएको कल स्टेटमेण्ट विवरण ।
मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीले जाहेरवालीलाई विगत ६ वर्षअगाडिदेखि जबरजस्ती करणी गर्दै आई विभिन्न किसिमको शारीरिक तथा मानसिक यातना दिने कार्यहरू गर्दै आइरहेको र अन्तिम पटक मिति २०७१।०४।३० का दिन दिउँसो १:०० बजे पीडित बिरामी भई घरमा आराम गरिरहेको अवस्थामा समेत डरत्रासमा पारी जबरजस्ती करणी गरेको र सोही कारण सहन नसकी पीडितले विष खाई आत्महत्या गर्ने प्रयास गरेको पुष्टि हुन आएकोले प्रतिवादी सुब्बागाउँ तीनले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको तथ्य निर्विवादरूपमा पुष्टि हुन आएकोले प्रतिवादी सुब्बागाउँ तीनको कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १, २ र ३(४) नं. बमोजिमको कसुर भएको हुँदा निज प्रतिवादी सुब्बागाउँ तीनलाई उक्त कसुर गरेकोमा सोही महलको ३(४) नं. बमोजिम सजाय गरी मुलुकी ऐन, हाडनातामा करणी गर्ने महलको १ नं. बमोजिम थप सजायसमेत हुन र सोही जबरजस्ती करणीको महलको १० र १० ग नं. बमोजिम प्रतिवादी सुब्बागाउँ तीनबाट जाहेरवाली सुब्बागाउँ एकलाई मनासिब क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।
मिति २०७१।४।३ का दिन हामी सबै परिवार घरमा नै थियौं । जाहेरवाला छोरीलाई सन्चो नभएकोले उनी अचेत भई सुतिरहेकीमा अन्दाजी १२:३० बजेतिर उठेर आफ्नो कोठामा भाइ बहिनीसँग ल्यापटप चलाई बसिरहेको अवस्थामा म आफ्नै कोठामा बसी अन्दाजी ३:०० बजेतिर तरकारी किन्न भनी बनेपा गई फर्किंदा उनी घरमा थिइनन् । जाहेरवाला छोरीलाई क्षयरोग लागी मुर्छा परी अचेत हुने र केही थाहा नहुने र पछि होस आएपछि मात्र उनलाई सबै कुरा थाहा हुन्थ्यो । मैले उक्त दिन जाहेरवाली छोरीलाई करणी गरेको छैन । छोरीको बुद्ध बस्नेतसँग सम्पर्क भएकोले छोरी र बुद्ध बस्नेत मिली नाटक रची मेरो सम्पत्तिका लागि निजहरूले मलाई फसाउन खोजेका हुन् । मबाट टाढा भई केटा लिई ४, ५ दिन घरबाट हराउने र चरित्र नराम्रो भएको कारणले गर्दा पनि मलाई फसाउन खोजेकी हुन् । मेरी छोरी मानसिक रोगी भएकोमा उपचार गराउन त्रिपुरेश्वर, बानेश्वर, रगत जाँच गर्न विदेशसमेत पठाएकोमा रिपोर्टमा केही छैन भन्ने रिपोर्ट आयो र हाल पनि १ वर्षभन्दा अगाडिदेखि धुलिखेल अस्पतालमा पनि जाँच गराइरहेको छु । मैले फोनमा त्यस्तो कुरा गरेको छैन । कुरा बढाई चढाई भएको
हो । प्रहरीमा भएको बयानको व्यहोरा मेरो होइन सहीछाप मात्र मेरो हो । बयानमा व्यहोरा बढाई चढाई नभए नगरेको कुरा लेखिएको छ । यदि मैले त्यस्तो गरेको भए पढाईमा डिस्टर्व हुने अन्य नराम्रो छाप पर्दथ्यो होला । यो बनावटी षड्यन्त्र र फसाउने नियत मात्र हो । बुद्ध बस्नेतले फोन गरेपछि थाहा पाई म धुलिखेल अस्पतालमा आएको हो । पूर्णिमा तामाङले गरेको कागजको व्यहोरालगायत अन्य कागज गर्नेहरूले लेखाइदिएको कुरा मलाई थाहा भएन । मैले पीडितलाई करणी गरेको नहुँदा अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सुब्बागाउँ तीनले जिल्ला अदालतमा गरेको बयान ।
पीडितको किटानी जाहेरी, सो घटनाकै कारण मृत्यु अँगाल्न विष सेवन गरेको भन्ने तथ्य, संलग्न परीक्षण गरेँ भनिनु, पूर्णिमा तामाङ र बुद्ध बस्नेतका कागजबाट यी प्रतिवादीले पीडितलाई करणी गरेको कुरा पहिले नै पीडितले भनेकी थिइन भन्ने र पीडितको शारीरिक तथा मानसिक परीक्षण प्रतिवेदनका आधारमा तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीको निर्दोषिता सिद्द हुँदैन । तसर्थ प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादीलाई मुद्दा पुर्पक्षका लागि अ.बं. ११८ को देहाय-२ बमोजिम थुनामा राख्न स्थानीय कारागारमा पठाउनु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०७१।६।३ को थुनछेक आदेश ।
जाहेरी व्यहोरा मैले भनेबमोजिम लेखिएको र त्यसमा भएको सहिछाप पनि मेरो हो । मलाई मेरो हजुरबुबाले जबरजस्ती करणी गरेपछि म बिरामी परें, मलाई ज्वरो आउने, रगत जाने, स्कुलमा जान नसक्ने अवस्थामा पुगेपछि हजुरबुबाले बनेपाको एउटा अस्पतालमा लगी औषधी ख्वाएपछि सन्चो भई म स्कुल जान थालेँ । ममी माथि घरमा बस्ने गर्नुहुन्थ्यो, ममी तल घरमा आएपछि मैले ममीलाई सहयोग गर्नुहुन्छकी भनी भनेको थिएँ । बाबु भनाउँदो बाहिर विदेशमा थियो। म कक्षा ९ मा पढ्दै गर्दा बुबा नेपाल आएकोमा ममीले हजुरबुबाले जबरजस्ती गरेको भन्ने कुरा नसुनेपछि बुबालाई भनेँ । फुपु दिदी बिरामी भई ममी कुर्न जाँदा बहिनीहरू टि.भी. हेर्न बोलाएकोले टि.भी. हेर्न जाँदा बहिनीहरू टि.भी. हेर्दा हेर्दै
निदाए । बहिनीहरूलाई आफ्नो कोठामा ल्याई सुताएपछि बुबाले हजुरबुबाको बारेमा सल्लाह गर्ने भन्दै आफ्नो खाटमा बोलाई नजिकै आई हात समाती त्यस्तो बुढो मान्छेले पनि सेक्स गर्न सक्दो रहेछ र भनी आफ्नो हात लगी मेरो संवेदनशील अङ्गमा छुन
थाल्यो । मैले हो ड्याडी म झुट्ठो कुरा गर्छु र मैले ममीलाई पनि भनेँ तर सुन्नु भएन भनेँ । बुबाले साँच्चै हो र म चेक गर्छु भनेर मेरो सबै कपडा खोल्न तिर लागेकोले उसको छुवाई र हजुरबुबाको छुवाई एउटै लागेर के गर्नु भाको ड्याडीभन्दा केही होइन भनेकोमा मैले मलाई कु दृष्टिले हेर्न लागेको भन्ने लागी म बाहिर निस्कन लाग्दा मलाई तानेर कुटेर टाउकोभित्रै भित्तामा ठोक्काइ अचेत बनाई सबै कपडा खोल्न लाग्दा कराएकोले उसको पेन्टी मेरो मुखमा घुसारी दियो र खुट्टा हात च्यापी मलाई बलात्कार गर्यो । त्यसपछि मलाई धम्काई यो कुरा बाहिर ल्याइस् भने म तँलाई नै नराम्रो
बनाइदिन्छु । म पैसा भएको मानिस त्यहि मसँग सुत्न आएको हो भनिदिन्छु । तेरो आमा, भाइ, बहिनी कसैलाई हेर्दिन । तँलाई पनि गुण्डा लगाई मारिदिन्छु भनी पटकपटक २ वर्ष सम्म करणी गरिरह्यो । डरत्रासले गर्दा तत्काल भन्न नसकेकोमा पछि ममीलाई भन्दा कौसीमा लगेर हिजो हजुरबुबाले भनीस आज बुबाले र भोली भाइले भन्छे भनी मलाई कुट्नु भयो । घरमा बस्न डर भएकोले कैयौं रात पिँढीमा, पाटीमा, मन्दीरमा र आफन्तको घरमा बिताएँ । मलाई त्यही कुराले गर्दा मानसिक तनाव र डिप्रेसन हुन्थ्यो । अरू समस्या केही थिएन । मलाई अन्तिम पटक २०७० साल श्रावण ३० गते दिउँसो १:०० बजे बुबाले जबरजस्ती करणी गरेको हो भन्नेसमेत व्यहोराको पीडित नाम परिवर्तित सुब्बागाउँ एकले जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति याद भएन ४/५ महिना पहिले पीडित जाहेरवालीले मलाई मेरो बाजेले करणी गर्नुभयो । अनि बुबाले पनि पटकपटक गर्नुभयो भनिन् । मैले भेटेको समयदेखि निजको अनुहार मलिन थियो । मैले धेरै निराश नहोऊ भनी सम्झाउँदा उनी म यस संसारमा रहन्न विष सेवन गरी मर्छु भन्थिन् । मिति २०७१।४।३० का दिन निज पीडित जाहेरवालीले विष सेवन गरी फोन गरी तँसँग अन्तिम भेट हो । मैले विष सेवन गरेँ भनेकीले मैले कहाँ छस् भनी सोध्दा धुलिखेल हजार सिँढीमा भनिन् । हामीबीचको फोन सम्पर्क टुट्यो । त्यसपछि मैले सुब्बागाउँ तीनलाई फोन गरी जानकारी गाउँदा त्यो मरे पनि मरोस् मलाई मतलब छैन भनेकोले मैले साथी बुद्ध बस्नेतलाई फोन गरेकी हुँ । बुद्ध बस्नेतले नै निजलाई अस्पताल पुर्याई उपचार गराउनु
भएछ । भोलिपल्ट म धुलिखेल अस्पतालमा आउँदासम्म निजको होस खुलेको थिएन । त्यसको भोलिपल्ट फेरी अस्पतालमा गई मैले त्यत्रो सम्झाउँदा पनि किन यसो गरेकोभन्दा मलाई मेरै बुबाले पटकपटक यौन शोषण गरेको कुरा खप्न नसकि, मन स्थिर राख्न नसकी मर्न असल भनी विष खाएको भनिन् । पीडितले मलाई ४/५ महिना अगाडि भनेकोमा प्रतिवादीले मलाई नै फोन गरी मेरो व्यक्तिगत मामलामा कुरा गरे ठीक हुँदैन भनेर धम्क्याउनु भयो । पीडित जाहेरवाली, म र बुद्ध बस्नेतबीच भेट ४/५ महिना अगाडि कोरियन भाषा सिक्ने क्रममा नेसनल मिडिया इन्स्टिच्युटमा भएको हो भन्ने व्यहोराको बुझिएका मानिस पूर्णिमा तामाङले जिल्ला अदालतमा गरेको बकपत्र ।
मैले पीडितलाई भेटेपछि निजले मलाई आफू १० वर्षको उमेरमा हजुरबुबाबाट बलात्कृत भएको र बुबाबाट ६ वर्षदेखि बलात्कृत हुँदै आएको छु । म मर्छु भन्ने गरेकोमा मैले सम्झाउने गर्दथेँ । पीडितले भनेपछि मैले उक्त कुरा प्रतिवादीको श्रीमतीलाई भनेकोमा निजकी श्रीमतीले पनि मलाई छोरीले भनी निजलाई भनेकोमा मलाई उल्टै धम्काएकोले मैले मुखमा थुकिदिएँ भनेकी हुन् । पछि आफ्नो श्रीमान्लाई भनिछन् र प्रतिवादीले मलाई फोन गरी धम्काउन थाल्यो । पनौतीमा भेटी यो कुरा बाहिर नलान भन्नु भयो । आर्थिक प्रलोभन देखाउनु भयो । पीडितलाई प्रतिवादी निजको श्रीमती र भाइले मानसिक तनाव दिने गर्दा रहेछन् । मिति २०७१।४।३० का दिन पीडितले मलाई फोन गरी म मर्दैछु भनेकोले म र मेरो २ जना साथीहरू हजार सिँढीमा आई २ भाइलाई अस्पताल लैजाउ भनी पठाई मैले निजको परिवारलाई फोन गर्दा मरे मरोस् हामी आउँदैनौ भनेकोले मैले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा आई जानकारी गराएँ भन्नेसमेत व्यहोराको घटना विवरणमा कागज गर्ने बुद्ध बस्नेतले जिल्ला अदालतमा गरेको बकपत्र ।
दाइ बुद्ध बस्नेतको मोटरसाइकलको साँचो मसँग भएकोले दाइले फोन गरी दिदीले विष खाइछन् जाउँ भनेकोले हामी बाइकमा हजार सिँढी आयौं । त्यहाँ दिदी विष सेवन गरी बेहोस अवस्थामा रहेकोमा दाइ बुद्ध जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुर गर्न जानु भएकोमा म र मेरो साथी मिलेर धुलिखेल अस्पतालमा लग्यौं । एकदिन दाइ बुद्ध बस्नेतले मानिस भेट्नु छ भनेकोले म, बुद्ध दाइ र सागर गएकोमा बुद्ध दाइ र विपक्षी मान्छेबीच ठूलो ठूलो आवाजमा भनाभन भएकोले हामी जाँदा विपक्षी मान्छेले बलात्कारको घटनाको कुरा गरी भइसकेको कुरालाई Issue नबनाउन, तिमी पनि केटा मान्छे र म पनि, तिमीले मेरो सपोर्ट गर्नुपर्छ बरू म तिमीलाई सहयोग गर्छु भन्नु भएको थियो भन्नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने सनिल भुजेलले जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०७१।५।२५ मा भएको घटना विवरण कागजको रोहबरको सहीछाप मेरो हो र प्रतिवादीलाई कडाभन्दा कडा सजायँ हुनुपर्छ भन्नेसमेत व्यहोराको घटना विवरण कागजको रोहबरमा बस्ने सागर बस्नेतले जिल्ला अदालतमा गरेको बकपत्र ।
म कहाँ उक्त बिरामी धुलिखेल अस्पतालबाट डिस्चार्ज भई आउनु भएको थियो । बिरामीले मेटासिट खाएको भनी धुलिखेल अस्पतालमा लगिएको
रहेछ । बिरामीलाई मैले सोध्दा र देख्दा बिरामी गम्भिर, टेन्सनमा र प्रश्न सोध्दा रोइरहेकी थिइन् । निजको मानसिक अवस्था तनाव ग्रस्त थियो । शरीरमा घाउ र चोट कतै थिएन । कन्या जाली पुरानो च्यातिएको थियो । मैले निजलाई सोधपुछ गर्दा रोइराख्ने र बच्चामा हजुरबुबाले ३ पटकसम्म करणी गरेको, ९ कक्षा पढ्दादेखि बुबाले आमा नहुँदा शारीरिक सम्बन्ध राख्ने गरेकोमा आमालाई भन्दा पहिला आमाले सपोर्ट गरेकोमा पछि आमा बुबा मिली कुटेकोले निजले बाँच्न मन नलागेर मेटासिट खाएको रहेछ । Sign for struggle, forcefull केही थिएन तर निजको बिहे नभएको भएपनि हामीले examination गर्दाखेरी पुरानो कन्याजाली च्यातिएको हुनाले सजिलोसँग परीक्षण गर्न सकिने थियो भन्नेसमेत व्यहोराको विशेषज्ञ डा. अल्का श्रेष्ठले जिल्ला अदालतमा गरेको बकपत्र ।
पीडित सुब्बागाउँ एकको र आमाको भनाई अनुसार मिति २०७१।४।३० मा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको हो भन्नेसमेत व्यहोराको घटना विवरणमा बुझिएका सागर कार्कीले जिल्ला अदालतमा गरेको बकपत्र ।
सन् २०।८।२०१४ मा भएको OPD परीक्षण प्रतिवेदनमा लेखिएको व्यहोरा मैले भनेबमोजिम लेखिएको हो । मैले परीक्षण गर्दा उक्त बिरामीले म एक्लै कुरा गर्न चाहन्छु भनेको र हामीकहाँ त्यस्ता बिरामीलाई एक्लै कुरा गर्ने प्रक्रिया पनि भएकोले म र एकजना नर्स यशोदा बसेर कुरा गर्दा वहाँले आफ्नो निन्द्रा बिग्रेको, खानामा रूचि घटेको बताउनुभयो । हामीले किन विष खाएको भनी सोध्दा वहाँले आफ्नो बुबाले शारीरिक पिटाई र जबरजस्ती करणी गर्ने गरेको बताउनु
भयो । उक्त घटना बारम्बार मेरो आँखा अगाडि आइरहन्छ । सकेसम्म म आफ्नो बुबा आमा अगाडि देखा पर्न चाहन्न भन्दै उहाँ निराश देखिनुहुन्थ्यो भन्ने व्यहोराको विशेषज्ञ डा. सुब्रत कोइरालाले जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०७१।५।८ को घटनास्थल मुचुल्काको व्यहोरा मलाई पढी नसुनाई सहीछाप गर्नुहोस् केही हुँदैन भनेकोले सहीछाप गरेको हो । उक्त व्यहोरा मैले सुनेको छैन, किन त्यसरी मुचुल्का गरे थाहा छैन भन्ने व्यहोराको घटना मुचुल्कामा बस्ने खड्गबहादुर थापाले जिल्ला अदालतमा गरेको
बकपत्र ।
मेरो, पिताको र दिदीको सम्बन्ध राम्रो
थियो । मिति २०७१।४।३० बिहान म कलेज गई १० बजे घरमा आउँदा म, पिता र दिदीले खाना खाई ल्यापटपमा फिल्न हेर्ने काम गर्यौं । पिता १ बजे बनेपा जानुभयो भने एकछिन पछि म पनि निस्किएँ । म घर फर्कँदा दिदी घरमा थिइनन् र बुबा पनि आउनु भएको थिएन । १० कक्षा पढिसकेपछि ११ कक्षा पढ्दापढ्दै दिदी बिरामी परिन् र पढ्न छोडिन् र केटाहरूको साथमा हिँड्न थालिन् । कति केटाहरूलाई घरमा पनि ल्याउँथिन् । दुनियाँ केटाहरूसँग लागी आफ्नो इज्जत गुमाइसकेपछि बुद्ध बस्नेतको बहकाउमा लागि पितालाई यो झुट्ठा आरोप लगाएकी हुन् भन्ने व्यहोराको प्रतिवादीका साक्षी प्रभाकार कार्कीले जिल्ला अदालतमा गरेको बकपत्र ।
यो आरोप नितान्त झुट्ठा हो । वादी सुब्बागाउँ एक विगत २ वर्षदेखि बिरामी परी छोप्ने, बर्बराउने, लामो समयसम्म सुतिरहने गर्थिन् भनी पारिवारिक स्रोतबाट थाहा पाएको हो । निजको पिताले धेरैजसो अस्पतालमा लगी उपचार गराउँदा पनि निको भएको छैन । मेरो गाउँमा जान्ने भएकोले धामी झाँक्रीमार्फत् उपचार गराउन मेरो घरमा राखेकोमा कतिपटक उनी एकान्तमा केटासँग बसेको मैले देखेको हो । सुब्बागाउँ एकले हजुरबुबा तथा बुबालाई अर्काको षड्यन्त्रपूर्ण जालमा परी आरोप लगाएकी हुन् । सुब्बागाउँ तीन निर्दोष छन् भन्नेसमेत व्यहोराको प्रतिवादीको साक्षी हरिशरण अधिकारीले जिल्ला अदालतमा गरेको बकपत्र ।
आफ्नै सहोदर छोरीलाई यी प्रतिवादीले जबरजस्ती करणी गरे भन्ने उजुरी माथि म विश्वास गर्दिन् । जाहेरवालीको उजुरी झुट्ठा हो । मैले देखेसम्म प्रतिवादी मेरो ज्वाँइको घरमा सबै राम्रो थियो । भान्जी जाहेरवाली करिब डेढ महिनाजति लगातार मेरो घरमा बसिन् । मैले कति पटक जाहेरवालीलाई बुद्ध बस्नेतसँग एकान्तमा बसेको देखेको हुँ । को हो त्यो केटाभन्दा मैले दाइ बनाएको भन्थिन् । भान्जीले निज बुद्ध बस्नेतकै बहकाउमा लागेर यो हुनै नसक्ने अपराधको आरोप लगाएकी हुन् । यो अपराध प्रतिवादीबाट भएको छैन र हुनै सक्दैन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी राजु रायमाझीले जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०७१।४।३० मा बिहन ९:०० बजे स्कुल गई दिउँसो १:०० बजे फर्किएकोमा घरमा दाइ दिदी मात्र हुनुहुन्थ्यो । दिदी बनेपा जान्छु भनी गएकोमा बेलुका ५:०० बजेसम्म नफर्किएकोले ममीले दिदीलाई फोन गरेकोमा लागेन । बेलुका खाना खाइसकेपछि ममीलाई दिदीले धुलिखेल डाँडामा विष खाएको भनी फोन आयो । दिदी दिउँसोभरी केटाहरूसँग हिँड्ने र बेलुका घर ढिला आउँदा बुबाले गाली गरेकोमा बुबालाई नै नराम्रो मानी १/२ दिन नबोल्ने
गर्नुहुन्थ्यो । उजुरी झुट्ठा हो । घरमा केटाहरू ल्याई राख्ने गर्थिन् । आफू धेरै केटाहरू सँग हिँडी केटाहरूले छाडेपछि बुबालाई फसाउन दिदीले उजुरी दिएकी हुन् भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी प्रकृति कार्कीले जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०७१।४।३० मा हामी सबै घरमा थियौं । म ११:३० बजेतिर छोरीहरूको रिजल्ट हेर्न गई रिजल्ट ल्याई जाहेरवाला, प्रतिवादी सबैले हेरेकोमा म गोठमा गई धन्दा सकी ३ बजे घरमा आउँदा घरमा छोरी श्रीमान् कोही थिएनन् । प्रकृतिलाई दिदी कहाँ गइन् भन्दा बनेपा गएकी भनिन् । छोराछोरी घरमा नै भएको बखत छोरी माथि आफ्नै बुबाले कसरी बलात्कार गर्न सक्छ । आफू विभिन्न केटाहरू सँग हिँड्ने र घरबाट खर्च दिन छाडेपछि छोरीले आफ्नै बाबुलाई करणी गरेको झुट्ठा आरोप लगाएकी हुन् । त्यस्तो कुकर्म मेरो श्रीमान्ले गरेको छैन । निज छोरीले मलाई बाबुले जबरजस्ती करणी गरेको भनेको भए म आफैँंले उजुरी दिई सजाय गराउने थिएँ । पीडितले अरूले उचालेर सम्पत्ति खानलाई मेरो श्रीमान्लाई फसाउन खोजेको हो भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी कल्पना कार्कीले जिल्ला अदालतमा गरेको बकपत्र ।
जि.प्र.का. काभ्रेबाट पाएको २ थान सि.डि.हरू मध्ये एउटामा पीडित र प्रतिवादीबीचमा भएको फोनको रेकर्डिङ र अर्कोमा जि.प्र.का. काभ्रेको अनुसन्धान अधिकृत र प्रतिवादीको बीचमा भएको थान २ सि.डि. प्राप्त भएको, सोको Sampling गर्दा Voice Sample (Phone Sample) बाट निजको आवाजहरू काटी Sample बनाई जि.प्र.का. काभ्रेको Voice Recording लाई पनि सोहीअनुसारको रेकर्ड बनाई Voice spectrum analysis (VSA) मा राखी परीक्षण गर्दा voice मिल्न गएको, सो Software मा ५०% भन्दा माथि आएको रिजल्टलाई सही मानिन्छ भन्नेसमेत व्यहोराको सि.डि. परीक्षण गर्ने प्र.ना.नि. आनन्द निरौलाले जिल्ला अदालतमा गरेको बकपत्र ।
परीक्षणका लागि आएका सि.डी. परीक्षण गरी निजहरूको स्वरहरूको sample बनाई परीक्षण गर्दा देखिएका स्वरहरूको रेकर्डअनुसार परीक्षण गरी भएको स्वरहरूको प्रतिवेदन तयार पारी प्रतिवेदन दिएको हो । स्वरहरू कम्प्युटरमा राखेपछि अन्य पछाडी बोलिएका शब्दहरू, हल्लाई कम्प्युटरले नै हटाई जुन नमूना जाँच गर्ने हो त्यसलाई मात्र निकाल्छ । हामीलाई प्राप्त भएको सि.डी. कहाँ उतार भएको हो थाहा छैन । परीक्षणका लागि प्राप्त नमूनाहरूलाई परीक्षण गर्न योग्य छ छैन भनी हेर्दा ९९% योग्य छ भनी बताउँछ। ५०% भन्दा माथि भएपछि परीक्षण गर्न योग्य देखिएको मानिन्छ । यसमा परीक्षण गर्दा ६२.४% आएको हो । त्यसैले परीक्षण गर्न योग्य मानिएको देखिन्छ भन्नेसमेत व्यहोराको सि.डी. परीक्षण गर्ने प्र.ना.नि. लोकराज पाठकले जिल्ला अदालतमा गरेको बकपत्र ।
बिरामी र बिरामीको साथीको भनाई अनुसार निजले मेटासिट (Organophosphere poisoning) सेवन गरेको भनेको र त्यही तथ्यमा रहेर त्यसैको आधारमा उपचार गरेको हो । निजको शरीर चेक जाँच गर्दा विष खाए नखाएको यकिन गर्न सकिएन । आँखा, छाती, नारी (मुटुको गति), जिभ्रो सामान्य देखिएको थियो भन्नेसमेत व्यहोराको विशेषज्ञ डा. रामकुमार महतोले जिल्ला अदालतमा गरेको बकपत्र ।
पीडितले आफूउपर हुने गरेको कुकृत्यका सम्बन्धमा सहारा नपाएपछि विष सेवन गर्नुपर्नेसम्मको परिस्थिति परेको भनी मौकैमा साथी पूर्णिमा तामाङलाई र बुद्ध बस्नेतलाई भनेको, विषको उपचारको क्रममा र पछि शारीरिक परीक्षणको क्रममा डाक्टरहरूका सामु पिताले करणी गर्ने गरेको कुरा बताएको, जाहेरी र कागजमार्फत प्रहरीसमक्ष बताएको तथा बकपत्रको क्रममा अदालतसमक्ष बताएको तथ्यमा समरूपता भई पीडितले किटानीरूपमा अदालतसमक्ष व्यक्त भनाई प्रमाण ऐन, २०३१ को दफा १० ले प्रथम प्रमाण मानिनु पर्छ । पितालाई यत्रो कसुरमा फसाउनु पर्नेसम्मको परिस्थिति कतैबाट पुष्टि नभएकोले यी प्रतिवादीले जाहेरवालीउपर जबरजस्ती करणी गरेको देखिएकोले प्रतिवादीलाई जबरजस्ती करणीको ३(४) नं. बमोजिम ८(आठ) वर्ष कैद सजाय तथा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको हुँदा जबरजस्ती करणीको २ नं. तथा हाडनाता करणीको १ नं. बमोजिम थप १०(दश) वर्षको सजायसमेत जम्मा १८(अठार) वर्षको कैद सजाय हुने ठहर्छ । साथै आफ्नै छोरीउपर जबरजस्ती करणी भएको देखिएको, निजको मानसिक अवस्था तनावपूर्ण रहेको भन्ने डाक्टरको भनाईबाट देखिएको समेत आधारबाट यी पीडितले प्रतिवादीबाट रू. २,००,०००।- क्षतिपूर्ति स्वरूप भराई लिन पाउने ठहर्छ भन्नेसमेत व्यहोराको मिति २०७१।०९।२२ को काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला ।
पीडितकी सँगै एउटै विस्तारामा सुत्ने बहिनी, जन्म दिने आमाको बकपत्रलाई अनदेखा गरी जाहेरवालीको जीवनशैली र आचरण के हो? वास्तविकता के हो? जस्ता कुरालाई बेवास्ता गरी उक्साहटमा दिएको जाहेरीको आधारमा मेरो विरूद्ध अभियोग माग दाबीबमोजिम कसुर कायम गरी फैसला गर्दा आरोपित कसुरको सम्बन्धमा त्यसलाई पुष्टाई गर्ने निष्पक्ष प्रमाणका आधार शंकाको सुविधाबाट माथि उठी फैसला हुनुपर्नेमा मिति २०७१।०४।३० गते दिउँसो १:०० बजे भएको भनिएको वारदातमा घटनास्थल प्रकृति मुचुल्का र पीडित भनीएकी व्यक्तिको स्वास्थ्य परीक्षण प्रतिवेदनका अलावा कथित वारदात समयमा घर भरी नै परिवारका अन्य सदस्य सन्तानहरू रहेको, संलग्न कागजबाट स्पष्ट भइरहेको अवस्थामा, मलाई सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसलालाई बदर गरी अभियोग दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक सुब्बा गाउँ तीन (नाम परिवर्तन) को पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन
पत्र ।
पीडितले आफूउपर हुने गरेको कुकृत्यका सम्बन्धमा सहारा नपाएपछि विष सेवन गर्नुपर्नेसम्मको परिस्थिति परेको हो भनी मौकामा पीडितको साथी पूर्णिमा तामाङ र बुझिएका मानिस बुद्ध बस्नेतलाई भनेको, विषको उपचारको क्रममा डाक्टरहरूसँग र अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतसमक्ष बकपत्र गर्दा एउटै व्यहोरा उल्लेख गरी बकपत्र गरेको देखिनुका साथै पुनरावेदनको पुनरावेदन जिकिर जस्तै उसको भनाई झुठो हो भन्ने कुरा वस्तुनिष्ठ र तथ्यपरकरूपमा पुष्टि हुने प्रमाण मिसिल संलग्न रहेको नदेखिएको हुँदा प्रतिवादीले पीडितलाई जबरजस्ती करणीको ३(४) नं. बमोजिम ८ वर्ष कैद सजाय तथा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको समर्थित भएको हुँदा जबरजस्ती करणीको २ नं. तथा हाडनाता करणीको (१) एक नं. बमोजिम वर्ष १० (दश) वर्षको सजायसमेत जम्मा १८ (अठार) वर्ष कैद सजाय हुने ठहर्याई सुरू अदालतले गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०७२।३।२९ को फैसला ।
प्रस्तुत मुद्दामा जाहेरी व्यहोरालाई निज जाहेरवालीको स्वास्थ्य परीक्षण प्रतिवेदनले समर्थन नगरेको मात्र नभई अन्य स्वतन्त्र प्रमाणहरूले समेत अभियोग दाबीलाई पुष्टि गर्न नसकेको, म पुनरावेदक प्रतिवादीलाई फसाउनका लागि निज पीडित र निजका साथीहरू बुद्ध बस्नेत तथा पूर्णिमा तामाङसमेतले बनाएको योजना र काल्पनिक कथालाई मिसिल संलग्न उक्त कल डिटेलहरूले नै उजागर गरी गलत साबित गरेको हुँदा निजहरूले मौकामा कागज गर्दा लेखाएको तथा अदालतमा आई गरेको सम्पूर्ण बकपत्र नै झुट्ठा भएको हुँदासमेत म पुनरावेदक प्रतिवादी निर्दोष एवं बेकसुर रहेको पुष्टि भई जाहेरवालीको जाहेरी नै गलत रहेको अवस्था हुँदाहुँदै म पुनरावेदक प्रतिवादीले पीडितलाई पटक पटक जबरजस्ती करणी गरेको होला भनी अनुमान र शंकाको भरमा मात्र कसुरदार कायम गराएको फैसला स्थापित न्यायका मान्य सिद्धान्त र फौज्दारी कानूनका सर्वमान्य सिद्धान्तहरू विपरीत भएको, प्रस्तुत मुद्दामा पीडितको शरीर तथा योनिमा कुनै घाउ चोट नरहेको तर पुरानो कन्याजाली च्यातिएको भनी लेखिएको व्यहोराले जबरजस्ती करणीको कुनै संकेतहरू नरहेको भन्ने तथ्य रहँदारहँदै सम्मानित अदालतले सो तथ्यहरूलाई प्रमाणमा नलिई जाहेरवालीको भनाईलाई मात्र प्रमाणमा लिई गरेको फैसला कानूनसङ्गत छैन । फौजदारी मुद्दामा सर्वप्रथम अपराध भएको तथ्य अर्थात् वारदात (Corpus delicti) स्थापना एवं प्रमाणित हुनुपर्दछ । यदि वारदात नै स्थापना छैन भने त्यस आरोपित कसुर अपराधमा अभियोजित व्यक्तिको सहभागिता वा संलग्नता रहे भएको वा नभएको भन्नेतर्फ अदालत प्रवेश गर्न नसक्ने हुन्छ । प्रस्तुत मुद्दामा अभियोजित वारदात नभएको भन्ने कुरा पीडितलाई निजका हजुरबुबाले ३ पटक करणी नै गरेको हो भनी पुष्टि नभएको, निजले विष सेवन गरेकै हो भनी प्रमाणित नभएको, सि.डी.हरू सक्कली नै हुन भनी वादीले सप्रमाण भन्न नसकेको, मौकामा बुझिएका मानिसहरू बुद्ध बस्नेत र पूर्णिमा तामाङका बीच फोन संवाद भएको कुरा कल डिटेलमा नदेखिएकोले पुष्टि गरेको छ । त्यस्तै पीडित जाहेरवालीको दुई ठाउँमा भएको स्वास्थ्य परीक्षण प्रतिवेदनले समेत जबरजस्ती करणीको भएकै हो भनी खुल्न नसकेको अवस्थामा सम्मानित अदालतबाट पीडितले बदला लिने उद्देश्यका साथ दिएको झुट्ठा जाहेरीकै कारणबाट जबरजस्ती करणी गरेको होला भनी शंका र अनुमानको भरमा कसुरदार कायम गराएको मात्र हो । म पुनरावेदक प्रतिवादी विलकुल निर्दोष रहेको, मिसिल संलग्न प्रमाणलाई गलतरूपमा मूल्याकन गरी अभियोजन पक्षले अभियोग पत्र दायर गरेकै भरमा जबरजस्ती करणी कसुर गरेको आशंका र अनुमान गरी ठहर गरिएको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी पूर्णरूपमा सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता डा. श्री रजितभक्त प्रधानाङ्ग र अधिवक्ता श्री सागर विष्टले प्रस्तुत मुद्दामा वारदात भएको तथ्य स्थापित भएको छैन। अभियोग पत्र र मिसिल संलग्न प्रमाणहरू एक आपसमा बाझिएका छन् । जबरजस्ती करणी गरेको भए पीडितको शरीर तथा योनिमा घाउ चोट देखिनु पर्नेमा निजको शारीरिक परीक्षणबाट त्यस्तो केही देखिएको छैन । पीडितको अर्कै मान्छेसँग प्रेम सम्बन्ध रहेको र सोही केटाको उक्साहटमा लागि आफ्नै बुबाउपर जबरजस्ती करणी जस्तो अपराधको आरोप लगाएकोमा निजको व्यहोरालाई मात्र आधार बनाई प्रतिवादी सुब्बा गाउँ तीनलाई आरोपित कसुरमा सजाय हुने ठहर्याई भएको काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा मिसिल संलग्न प्रमाणको समुचित मूल्याङ्कन नभएको हुँदा बदर गरी प्रतिवादीले आरोपित कसुरबाट सफाई पाउनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपरोक्तबमोजिमको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिलेको छ, छैन? पनुरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. प्रतिवादी सुब्बा गाउँ तीनले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेकोले निजको सो कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १, २ र ३(४) नं. अनुसारको कसुर भएको हुँदा निजलाई सोही महलको ३(४) नं. बमोजिम सजाय गरी ऐजनको १० नं. बमोजिम क्षतिपूर्ति दिलाई हाडनाता करणी गर्नेको महत्वको १ नं. बमोजिम थप सजायसमेत गरिपाउँ भनी अभियोग माग दाबी रहेको छ । प्रतिवादीले आरोपित कसुरमा इन्कार रही अदालतमा बयान गरे पनि प्रतिवादीले जबरजस्ती करणी गरेको ठहर्याई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) नं. ८ वर्ष र हाडनाता करणी गर्नेको महलको १ नं. बमोजिम थप १० वर्ष गरी १८ वर्ष कैद सजाय तथा पीडितले प्रतिवादीबाट रू. २०००००/- क्षतिपूर्ति पाउने ठहर्याई भएको जिल्ला अदालतको फैसलाउपर प्रतिवादीको पुनरावेदन पर्दा पुनरावेदन अदालत, पाटनबाट समेत सोही फैसला सदर भएको देखिन्छ । सो फैसलाउपर चित्त नबुझी प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. पीडित सुब्बा गाउँ एकले सुब्बा गाउँ तीन र सुब्बा गाउँ चारले जबरजस्ती करणी गरेको हुँदा सजाय गरिपाउँ भनी जाहेरी दरखास्त दिएको
पाइयो । पीडितको शारीरिक परीक्षण हुँदा कन्याजाली पुरानो च्यातिएको, मानसिक अवस्था तनावग्रस्त थियो भनी प्रतिवेदनमा उल्लेख भएको देखिन्छ । पीडितले निजको बुबा र हजुरबुबाले आफूसँग जबरजस्ती करणी गरेको भनी आफ्नो साथी पूर्णिमा तामाङसमेतलाई बताएको मिसिल संलग्न निज पूर्णिमा तामाङको कागज व्यहोराबाट देखिन्छ । पीडितको शारीरिक परीक्षण गर्ने डा. अनन्त श्रेष्ठलाई समेत सोही व्यहोरा बताएको देखिन्छ । आफूसँग भएको वारदातको भुक्तभोगी र प्रत्यक्षदर्शीसमेत यी पीडित स्वयम् भएको निजले सो कुरा आफ्ना अन्य साथीहरूलाई समेत बताएको अवस्था मिति २०७१।४।३० मा घटेको वारदातको सम्बन्धमा मिति २०७१।५।८ मा पीडितको शारीरिक परीक्षण गराउँदा जबरजस्ती करणीको वारदात स्थापित गर्न आवश्यक पर्ने प्रमाणहरू नष्ट भई जाने अवस्था रहन्छ । यसका साथै पीडितले स्वयम् आफ्नो व्यहोरा लेखाउँदा एवं अदालतमा बकपत्र गर्दा प्रतिवादीले डर धाक देखाई वारदात घटाएको हो भनी लेखाएबाट यस्तो अवस्थामा हुने जबरजस्ती करणीमा पीडक र पीडितबीच संघर्ष नै नभएको हुँदा पीडितको शरीरमा संघर्षको चिह्नहरू नदेखिन सक्ने हुन्छ । तर पीडित स्वयम्ले जबरजस्ती करणी भए हो भनी लेखाएको एवं सोही व्यहोरा वारदातकै दिन अन्य साथीहरूलाई समेत बताएको अवस्थामा निजको शरीरमा संघर्षको चिह्न नभएको र जबरजस्ती करणी भएको कुनै प्रमाण फेला नपरेकोले जबरजस्ती करणी भएको होइन भनी मान्न मिलेन । उक्त वारदातको प्रत्यक्षदर्शी यी पीडित स्वयम् भएकोले यस्तो अवस्थामा निजको भनाईलाई ग्राह्यता दिनुपर्ने देखिन्छ ।
४. पीडित सुब्बा गाउँ एकले जाहेरी दिँदा प्रतिवादी सुब्बा गाउँ तीनलाई किटान गरी दिएको देखिन्छ । निजले अदालतमा उपस्थित भई बकपत्र गर्दा आफ्नो जाहेरी व्यहोरालाई समर्थन गर्दै मम्मी घरमा नभएको बेला हजुरबुबाको बारेमा सल्लाह गर्ने भन्दै बोलाई मेरो संवेदनशील अङ्गमा छुन थाल्दा मैले के गरेको हो? भनी प्रतिरोध गर्दै बाहिर निस्कन खोज्दा तानेर कुट्दै टाउको भित्तामा ठोक्काई अचेत बनाई सबै कपडा खोल्न खोज्दा कराएकोले उसको पेन्टी मेरो मुखमा घुसारी दियो । हात खुट्टा च्यापी मलाई बलात्कार गरेपछि यो कुरा बाहिर कसैलाई भनेमा गुण्डा लगाई मारिदिन्छु भनी धम्की दिएको हो भनी सिलसिलेवाररूपमा लेखाई दिएको देखिन्छ । प्रतिवादी सुब्बा गाउँ तीनले अनुसन्धानको क्रममा बयान गर्दा आरोपित कसुरमा इन्कार रही छोरी बुद्ध बस्नेतसँग हिँड्ने गरेकोले बुद्ध बस्नेतको अगाडि छोरीलाई पिटेको थिएँ । त्यही निहुँमा जाहेरी दिएको हुनुपर्दछ भनी लेखाएको देखिन्छ । अदालतमा बयान गर्दा पनि आरोपित कसुरमा इन्कार रही छोरी र बुद्ध बस्नेतले नाटक रची मलाई फसाउन खोजेका हुन् भनी लेखाइदिएका छन् । प्रतिवादीको श्रीमती तथा पीडितकी आमा सुब्बा गाउँ दुईले छोरी एक्लै भएको मौका पारी प्रतिवादीले जबरजस्ती करणी गरेको थाहा पाएको भनी लेखाई दिएको देखिन्छ । अनुसन्धानको क्रममा कागज गर्ने बुद्ध बस्नेत र प्रतिमा तामाङको विगत ६ वर्षदेखि पीडितको बुबाले डरत्रास देखाई जबरजस्ती करणी गर्दै आएको कुरा पीडितले बताएको भनी लेखाउनुका साथै सोही व्यहोरालाई समर्थन हुने गरी अदालतमा बकपत्रसमेत गरिदिएको देखिन्छ । पीडित प्रतिवादीको आफ्नै छोरी भएको तथ्यमा विवाद भएन । पीडितले २०७१।४।३० मा आत्महत्या गर्ने प्रयाससमेत गरेको देखिन्छ । यी प्रतिवादीले आफ्नै छोरीलाई जबरजस्ती करणी नगरेको भए पीडितले सो कुरा आफ्ना साथीहरूलाई र आमासमेतलाई बताउनु पर्ने कारण केही देखिँदैंन । आमा समेतलाई सो कुराभन्दा आमाले निजलाई नै हप्काए पछि प्रतिवादीले फेरी जबरजस्ती करणी गर्दा मिति २०७१।४।३० मा आत्महत्या गर्ने प्रयास गरेको देखिन्छ । प्रतिवादीले यदी त्यस्तो कार्य नगरेको भए निजको आफ्नै छोरीले त्यस्तो आरोप लगाउने विश्वसनीय कारणसमेत खुलाउन सकेको छैन । निजले अदालतमा बयान गर्दा पीडित केटा लिई ४/५ दिन घरबाट हराउने र चरित्र नराम्रो भएको कारणले मलाई फसाउन खोजेकी भनी लेखाएका छन् । त्यस्तै यस अदालतमा पुनरावेदन गर्दा पीडितलाई आर्थिक सहयोग नगरेको र निजलाई सही बाटोमा ल्याउनको लागि हल्का र सावधानीपूर्वक हिर्काएको कारणले बदला लिने उद्देश्यले जाहेरी दिएको भनी प्रतिवादीले उल्लेख गरेका छन् । तर पीडित आफैँ एउटा वयस्क एवं पढेलेखेको मान्छे भएको देखिएको अवस्थामा उपरोक्त कारणहरूले गर्दा मात्र पीडितले आफ्नै बाबुउपर जबरजस्ती करणी जस्तो घृणित अपराध गरेको आरोप लगाउन सक्ने आधार देखिँदैन ।
५. प्रतिवादीले जबरजस्ती करणी भएको तथ्यलाई स्थापित गर्न कुनै भौतिक सबुद प्रमाण नभएको, पीडितको शरीरमा संघर्षको चिह्नहरू नभएको भनी जिकिर लिएको देखिन्छ । जबरजस्ती करणीको अपराधमा योनिभित्र पुरूषको विर्यलगायतका अन्य सबुद प्रमाण फेला पर्नको लागि वारदात घटेलगत्तै पीडितको शारीरिक परीक्षण भएको हुनुपर्दछ । त्यस्तै वारदातपश्चात पीडितले कपडा फेर्दा पीडितको कपडामा पाउन सकिने पुरूष रौं भेटिने सम्भावना हुँदैन । पीडितले वारदात पछि नुहाएमा पनि धेरै सबुद प्रमाणहरू नष्ट हुन जान्छ । प्रस्तुत वारदातमा प्रतिवादीले पीडितसँग ६ वर्षदेखि जबरजस्ती करणी गर्दै आएको उल्लेख भए पनि पछिल्लो पटक मिति २०७१।४।३० मा जबरजस्ती करणी गरेको भनी जाहेरी दिएकोमा मिति २०७१।५।८ मा मात्र निजको शारीरिक परीक्षण भएको देखिन्छ । वारदात भएको यति लामो समय व्यतित भएपश्चात भएको शारीरिक परीक्षणबाट पीडित र प्रतिवादीबीच यौनसम्पर्क भएको प्रमाण फेला पार्ने सम्भावना एकदम न्यून देखिन्छ । प्रत्यक्ष प्रमाणको अभावमा परिस्थितिजन्य प्रमाणको मद्दतले निर्णय गर्नुपर्ने हुन्छ ।
६. सुब्बा गाउँ एकले प्रतिवादीसँग भएको फोन संवादको सि.डी. पेस गरेकोमा सो संवाद अनुसन्धानको क्रममा यी प्रतिवादीलाई सुनाउँदा मेरो स्वर जस्तो लाग्छ भनी लेखाएको देखिन्छ । प्रतिवादी सुब्बा गाउँ तीनले प्रयोग गर्ने गरेको ९८४१८४९९३६ नं. को मोबाइल र पीडित सुब्बा गाउँ एकले प्रयोग गर्ने गरेको ९८०३७३५१९० नं. को मोबाइलबीच तीन पटक फोन सम्पर्क गरेको कल स्टेटमेन्टबाट
देखिन्छ । पीडित र प्रतिवादीबीच भएको कुराकानीको Voice Record लाई Voice Spectrums Analysis को लागि पठाउँदा प्रतिवादीको नमुना आवाजसँग record भएको आवाज क्रमशः ५९.३%, ६२.४% र ६१.९% मिलेको भनी केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट प्राप्त भएको परीक्षण प्रतिवेदनबाट देखिन्छ । सो परीक्षण गर्ने प्र.ना.नि. आनन्द निरौलाले प्रतिवादीको नमूना आवाज र शंकास्पद Voice recording लाई Voice Spectrum Analysis मा राखी परीक्षण गर्दा Voice मिल्न गएको, सो Software मा ५०% भन्दा माथि आएको निजल्टलाई सही मानिन्छ भनी अदालतमा आई बकपत्र गरिदिएको देखिन्छ । पीडित र प्रतिवादीबीच भएको उक्त संवादमा मैले गल्ती महसुस गरीसके यस कुरालाई issue, नबना यो कुरा उठाइस भने issue बनाइस भने राम्रो हुँदैन भनि प्रतिवादीले भनेको देखियो । यसरी यी प्रतिवादीले आफ्नो गल्ती महसुस गरी Issue नबनाउन भनी प्रतिवादीले पीडितसँग गरेको फोन संवादको आवाज निजको आवाजसँग मेल खाएको, पीडितले आफ्नै बुबाउपर जबरजस्ती करणी गरेको आरोप लगाउनुको अर्को कुनै विश्वसनीय कारण नदेखिएको, पीडितले उक्त वारदातको सम्बन्धमा आफ्नो आमालगायत अन्य साथीहरूलाई समेत सोही समयमा बताएको, निजका साथीहरूले समेत सोही व्यहोरालाई समर्थन हुने गरी अनुसन्धानको क्रममा एवं अदालतमा समेत बकपत्र गरिदिएको अवस्थामा यी प्रतिवादीले आरोपित कसुर गरेका होइनन् भनी मान्न मिलेन । आरोपित कसुरबाट प्रतिवादीले सफाई पाउनु पर्दछ भनी प्रतिवादीको पुनरावेदन जिकिर एवं निजको तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूको बहस जिकिरसँग सहमत हुन सकिएन ।
७. अब प्रतिवादीलाई हुने सजायको सन्दर्भमा हेर्दा पीडितको उमेर १६ वर्षभन्दा बढी र २० वर्षभन्दा कम देखिएकोले यी प्रतिवादीलाई सजाय गर्दा मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम सजाय हुने देखियो। प्रतिवादीले पीडितलाई धाक धम्की दिई कुटपिटसमेत गरी करणी गरेको देखिएको, वारदातपश्चात्समेत धम्क्याउने गरेको देखिएको, पीडितलाई बारम्बार करणी गरी निजको मानसिक स्वास्थ्यमा समेत असर परेको देखिएकोले निजलाई जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम ८ वर्ष कैद र प्रतिवादीले आफ्नै छोरीलाई करणी गरेको कार्य मुलुकी ऐन, हाडनाता करणीको १ नं. विपरीतको कार्य भएको सो १ नं. बमोजिम थप १० वर्ष कैद सजाय हुने ठहर्याएको फैसलालाई अन्यथा मान्न मिलेन ।
८. तसर्थ, माथि विवेचित आधार कारण र प्रमाणबाट पुनरावेदक प्रतिवादीले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेकोले निज प्रतिवादी सुब्बा गाउँ तीनलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(४) नं. बमोजिम ८ वर्ष कैद र पीडित निजको आफ्नै छोरी भएकोले ऐजन २ नं. बमोजिम तथा हाडनाता करणीको १ नं. बमोजिम थप १० वर्ष कैद सजाय हुने ठहर्याइएको काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनबाट मिति २०७२।३।२९ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल यस अदालतको अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सारदाप्रसाद घिमिरे
इजलास अधिकृत: रामु शर्मा
इति संवत्् २०७३ मंसिर ८ गते रोज ४ शुभम् ।