निर्णय नं. ४३१४ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ४३१४ ने.का.प. २०४८ अङ्क ६
संयुक्तइजलास
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
सम्वत् २०४६ सालको रिट नम्बर ९५८
आदेश भएको मिति: २०४८।६।२ मा
रिट निवेदक : का.जि.गोठाटार गा.पं. वडा नं. १ बस्ने श्री कृष्णराज पुडासैनी
विरुद्ध
विपक्षी : भू.सु.का. काठमाडौंका भू.सु. अधिकारी आर.डी.प्रभाससमेत
विषय : उत्प्रेषणयुक्त परमादेश
(१) मोहियानी हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने वा नसर्ने भन्ने कुरा प्रमाणको मूल्याड्ढन गरी तोकिएको अधिकारी स्वयंले कानुन बमोजिमको प्रकृया पूरा गरी निर्णय गर्नु पर्नेमा जग्गाधनीलाई बुझ्दै नबुझी फाँटवालाले मुद्दाको संक्षिप्त तथ्य उद्धृत गरी उचित निर्णयको लागि पेश गरेको टिप्पणीमा कुनै राय नै व्यक्त नगरी प्रशासकीय टिप्पणीमा टिप्पणी उठाउनेले व्यक्त गरेको राय सरहको सम्झी सदर मात्र लेखी निर्णय गरेको अ.बं. १८५ र यस अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरीत निर्णय भएको देखिएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ अब कानुन बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षी भू.सु.का. को नाउँमा परमादेशको आदेश समेत जारी हुने ।
(प्रकरण नं. १८)
(२) निर्णयकर्ता भू.सु.अधिकारीले कस्तो टिप्पणी पेश गरेको हो हेर्दै नहेरी निर्णयको लागि पेश गरेको टिप्पणीमा कुनै राय ठहर नै नलेखी सदर गर्ने गरी निर्णय गरेको अर्धन्यायिक अधिकारीको कर्तव्य अनुरुप भएको नदेखिँदा आइन्दा यस्तो निर्णय गर्ने जस्तो कुरामा होस पुर्याएर मात्र कार्य गर्ने भन्ने “न्यायिक टिप्पणी” गर्ने समेत ठहर्छ, यस टिप्पणीको जानकारी सम्बन्धित कार्यालयमा लेखी पठाउने ।
(प्रकरण नं. १९)
रिट निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना (साविक पेज नं. ३११)
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की, विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान
अवलम्बित नजीर : ने.का.प. २०३८ पृष्ठ २९ मा सिद्धान्त प्रतिपादित ।
आदेश
न्या.लक्ष्मणप्रसाद अर्याल
१. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. प्रस्तुत मुद्दामा दिने डम्वरमान श्रेष्ठ– १, निरकुमारी श्रेष्ठ –१ समेत दुई जनाले का.जि. बत्तीसपुतली गा.पं. वडा नं. ६ कि.नं. ९५ को क्षेत्रफल ०–१०–० जग्गा म रिट निवेदकको परदाता सोमप्रसाद पुडासैनीलाई मिति ०३०।११।२१ मा त्यसपछि उक्त जग्गा सोमप्रसाद पुडासैनीले मेरो दाता कन्चन पुडासैनीलाई मिति ०३१।९।२२ मा र कञ्चन पुडासैनीले म रिट निवेदकलाई उक्त जग्गा मिति २०३९।३।२८ मा मा.पो.का. काठमाडौं मार्फत राजीनामा रजिष्ट्रेशन पारीत गरी दिनु भएको । उक्त पारित ३ वटा लिखतहरुमा पनि जोताहा कृष्णकुमारी बस्नेत भइरहेको कुरा प्रष्ट छ ।
३. यसरी उक्त का.जि.बत्तीसपुतली पं. वडा नं. ६ कि.नं. ९५ क्षेत्रफल ०–१०–० जग्गाको जग्गा धनि म रिट निवेदक र जोताहा कृष्णकुमारी बस्नेत भएकोमा निज जोताहा कृष्णकुमारी बस्नेत (दुषित जालसाज पूर्व छोडपत्र लिखत गरी दिन गरी)–१ विपक्षी मध्येकी चोलकुमारी आचार्य (सो दुषित जालसाज छोडपत्र लिखत गराई लिने गरी)–१ तत्कालिन बत्तीसपुतली गा.पं.का प्रधानपञ्च राधेश्याम थापाले (सो दुषित जालसाजी छोडपत्र लिखत प्रमाणित गरी दिने गरी)–१, उक्त मिति २०३०।११।२१ को पारित हो वा लिखतको विपरीत गरी मिति ०३०।११।२१ पछि दुषित जालसाज पूर्व तरीकाबाट छोडपत्र भनिएको लिखत खडा गरी सो लिखतको पुच्छारमा २०२४ साल भाद्र लेखी गते बार खाली राखी लिखतको सिरमा २०२४।५।१८।१ मिति लेखी लेखाई दुषित कृतिम जालसाज छोडपत्रको लिखत गरी गराई दिएको रहेछ ।
४. यसको अलावा म रिट निवेदकको परदाता विपक्षी डम्बरमान श्रेष्ठ–१, निजको आमा भनिएको निरकुमारी श्रेष्ठ–१ समेत दुई जनाले मञ्जूरीनामा भनिएको कागज गरी दिने र विपक्षी चोलकुमारीले मञ्जूरनामा कागज गराई लिने गरी विपक्षीहरु आपसमा मिलेमतो गरी मञ्जूरनामा भनिएको दुषित कागज खडा गरी गराई उक्त लिखतको पुच्छारमा मिति २०२४ साल भाद्र १९ गते रोज २० शुभम् भनी लेखी लेखाई उक्त मञ्जूरनामा भनिएको दुषित कागज खडा गरी गराई लिए दिएको रहेछ ।
५. विपक्षी डम्बरमान श्रेष्ठ–१, निजको आमा भनिएको निरकुमारी श्रेष्ठ–१ समेत दुई जनाले भर्पाई भनिएको दूषित जालसाजपूर्ण कृतिम कागज गरी दिने गरी र विपक्षी चोलकुमारी आचार्य लिने गरी विपक्षीहरु मिलोमतो गरी विपक्षी चोलकुमारी आचार्यसंग ०२४ र ०२५ सालको बाली बुझी लिएको भन्ने समेत व्यहोरा लेखी कागज खडा गरी गराई सो कागजको पुछारमा मितिमा ०२५ साल चैत्र ९ गते रोज सात शुभम् भनी लेखी लेखाई उक्त भर्पाई भनिएको दूषित कृतिम कागज खडा गरी गराई दिए लिएको रहेछ ।
६. विपक्षी नं. २ को चोलकुमारी आचार्यले माथि दूषित कागजहरु भनिएका लिखतहरुको प्रतिलिपि निवेदनपत्र साथ राखी उपरोक्त कि.नं. ९५ को जग्गामा नक्शा पास बेगर म जग्गाधनीको स्वीकृति मञ्जूरी बेगर घर बनाउने सुनियोजित कार्यक्रम बनाई उक्त जग्गामा विपक्षी चोलकुमारी आचार्यको कुनै पनि घरै नभएको हुँदा हुँदै पनि २०२४ साल देखि घर बनाई बसोवास गरी आएको भन्ने झुठ्ठा कुराहरु लेखी उक्त जग्गामा (साविक पेज नं. ३१२) जोताहा मोहियानी कायम गरी मोहियानी हकको स्थायी प्रमाणपत्र लिई पाउँ भनी विपक्षी नं. १ को कार्यालयमा मिति २०४४।१२।३० मा दिएको निवेदन कारवाहीको सिलसिलामा विपक्षी नं. १ को कार्यालयबाट प.स. मोही १२।०४४।४५ मिति ०४५।२।१९ को श्री मा.पो.का. काठमाडौंमा लेखी पठाएको पत्रानुसार उक्त जग्गा म रिट निवेदकको नाउँमा दर्ता प्रमाणित देखिएको भनी श्री मा.पो.का. काठमाडौंबाट मिति ०४४।४।२५ मा विपक्षी नं. १ को कार्यालयमा पत्र लेखी पठाएको रहेछ ।
७. विपक्षी मध्येका चोलकुमारी आचार्यले दिएको उक्त निवेदनको सम्पूर्ण कुरालाई स्वीकार गरी विपक्षी कृष्णकुमारी बस्नेतको छोरा भोलामान सिंह बस्नेतले उक्त कि.नं. ९५ को जग्गामा विपक्षी चोलकुमारी आचार्यका नाउँमा जोत हक कायम गरी दिएमा मेरी मञ्जूर छ भन्ने समेत व्यहोराको विपक्षी नं. १ को कार्यालयमा मिति ०४५।२।३१ मा झुठ्ठा कुराहरुको निवेदन दिएको रहेछ ।
८. यिनै झुठ्ठा कपोलकल्पित कागजहरुको आधार लिई विपक्षी नं. १ कार्यालयबाट म रिट निवेदक जग्गाधनीलाई बुझ्दै नबुझी मलाई झिकाउँदै नझिकाई, मलाई थाहा जानकारी नदिई प्रतिवाद गर्ने मौका नै नदिई फि.बु. र २ नं. अनुसूचीमा मोही कृष्णकुमारी बस्नेत देखिएको नक्शा बुझ्दा उक्त जग्गामा घर नभएको भनी जवाफ प्राप्त भएको साथै कबूलियत भर्पाई स्थानीय पं.मा गरेको छोडपत्र कागजको प्रतिलिपि पेश हुन आएको र द.नं. ६७१ मिति ०४५।२।३१ मा भोलामान सिंह बस्नेतले मेरो आमा मरीसकेको निजको नाम कट्टा गरी चोलकुमारीको नाममा जोत कायम भएमा मञ्जूर छ भनी निवेदन दिई सनाखत समेत गरेकोले उचित निर्णयको लागि पेश गरेको छु भनी विपक्षी नं. १ का फाँटवालाले उठाएको टिप्पणीलाई सदर भनी मिति ०४५।२।३१ मा विपक्षी नं. १ ले गैरकानुनी निर्णय गरेको रहेछ ।
९. उक्त जग्गामा विपक्षी मध्येका भोलामान सिंह बस्नेत र विपक्षी चोलकुमारी आचार्य समेत बसी मेरो स्वीकृति मञ्जूरी बेगर नक्शा पास बेगर दिउँसो राती गरी पचासौं मानिसहरु राखी मिति ०४६।६।२८ सम्म पक्की घर पर्खाल बनाइसकेको हुँदा विपक्षीहरुले गैरकानुनी तरीकाबाट घर बनाएको दुषित कागजहरु निस्क्रिय गराई सजायँ गराउन श्री का.जि.अ.मा छुट्टै नालिश गराउने मेरो हक सुरक्षित नै छ ।
१०. म रिट निवेदकको हक भोगको उक्त कि.नं. ९५ को जग्गामा विपक्षी चोलकुमारी आचार्यलाई विपक्षी नं. १ को कार्यालयबाट मोही कायम गरी दिएको छ भन्ने कुरा मिति ०४६।८।२१ मा थाहा पाई मिति ०४६।८।२३ मा विपक्षी नं. १ को कार्यालयमा गई सबै कागजहरुको नक्कल सारी लिई हेर्दा विपक्षीहरुले उक्त प्रकारबाट दूषित कार्य गरे गराएको थाहा पाएको छु । विपक्षी नं. १ ले मलाई प्रतिवाद गर्ने मौका नै नदिई विपक्षी नं. १ ले विपक्षी नं. २ को चोलकुमारी आचार्यलाई उक्त जग्गाको मोहियानी हकको प्रमाणपत्र दिने गरी पेश गरेको टिप्पणीलाई सदर गरी मिति २०४५।२।३१ मा गरेको गैरकानुनी आदेश निर्णयबाट नागरिक अधिकार ऐन, २०१२ को दफा ३, ६(६)९ द्वारा प्रदत्त मेरो नागरिक अधिकार र नेपालको संविधानको धारा ९(ख) १०(१), ११(२)(ङ), १५ द्वारा प्रदत्त मेरो मौलिक हक अधिकारबाट बञ्चित हुने भएकोले विपक्षी नं. १ ले मिति ०४५।२।३१ मा गरेको आदेश निर्णय बदर गराउन अन्य उपचारको व्यवस्था नभएकोले नेपालको संविधानको धारा १६।७१ बमोजिम सम्मानीत अदालत समक्ष यो रिटनिवेदन प्रस्तुत गरेको छ । तसर्थ सम्वत् २०४२ सालको रिट नं. १४१६ निर्णय नं. २५२५, ने.का.प. २०४३, अंक २, पृष्ठ संखया १३४, उत्प्रेषण मुद्दामा, सम्वत् २०३७ सालको रि.नं. १२४२, निर्णय नं. १५१२, ने.का.प. २०३८ अंक १०, पृष्ठ २९, ३० उत्प्रेषण मुद्दामा प्रतिपादित भएका सिद्धान्त समेत लगायत संविधानको धारा ७१ समेतको आधारमा उत्प्रेषण परमादेशको आदेश जारी (साविक पेज नं. ३१३) गरी विपक्षी नं. १ ले गरेको मिति २०४५।२।३१ को गैरकानुनी निर्णय आदेश र विपक्षी नं. २ लाई मोही कायम गरेको निर्णयलाई बदर निष्कृय गरिपाउँ र अब उप्रान्त उक्त लेखिएको कुनै पनि गैरकानुनी कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउँमा प्रतिषेध लगायतका जो चाहिने आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४६।९।३ को रिटनिवेदन ।
११. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासबाट मिति ०४६।१०।१९ मा भएको आदेश ।
१२. रिटनिवेदनको प्रकरण १, २, ३ मा लेख्नु भएका दाता परदाता सम्बन्धी कुराको हकमा सोमप्रसाद पुडासैनी १, कन्चन पुडासैनी १ र विपक्षी रिट निवेदक ३ जना एउटै परिवारका दाजु भाइहरु हुन् । अदालतलाई भ्रममा पार्न सकिन्छ कि ? भन्ने उद्देश्यले विपक्षीले दाता परदाता सम्बन्धी अनावश्यक कुराहरु उल्लेख गर्नु भएको छ । म चोलकुमारी १, साविक जोताहा कृष्णकुमारी बस्नेत १, तत्कालिन गा.पं.का प्र.पं. राधेश्याम थापा समेत मध्ये कसैले पनि कुनै पनि प्रकारको दुषित जालसाजी छोडपत्र लिखत गरे गराएको छैन । साविक का.जि.बत्तीसपुतली पं.वडा नं. ६ कि.नं. ९५ को क्षेत्रफल ०–१०–० जग्गा मैले भोगचलन गरी आएकोमा तत्कालिन जोताहा कृष्णकुमारी बस्नेतले तत्कालिन पञ्चायतमा साक्षीहरुको रोहवरमा मिति ०२४।५।१८ मा मोहियानी छोडपत्रको सद्दे साँचो कागज लेखी सहिछाप गरी मलाई दिनु भएको सो कागजलाई तत्कालिन प्र.पं.राधेश्याम थापाले प्रमाणित गरी दिनु भएको छ । बाली बुझे बुझाएको भर्पाई समेत दुषित जालसाजी गरी खडा गरे गराएको होइन छैन । कुनै पनि प्रकारको झुठ्ठा व्यहोरा लेखी भू.सु.का. काठमाडौंमा निवेदन दिएको होइन छैन । रिट निवेदकले दाता परदाता भनिएको कुनै पनि व्यक्तिले तत्कालिन मोही कृष्णकुमारी बस्नेत, निजको छोरा भोलामान सिंह बस्नेत र म चोलकुमारीलाई जग्गाधनी परिवर्तन भएको सूचना दिएको पनि छैन । यदि सूचना दिइएको भए उक्त जग्गामा साविक जोताहा कृष्णकुमारी बस्नेतले म चोलकुमारीलाई ०२४ सालमा मोही छोडपत्र गरी दिएको र ०२४ सालमा पक्की घर बनाएको रिट निवेदकलाई लिखित रुपमा जानकारी गराइन्थ्यो । विपक्षीले उक्त दायित्व पूरा गर्न सक्नु भएन । मिति २०२४।५।१९ मा नै साविक जग्गाधनी डम्बरमान श्रेष्ठ समेतले उक्त जग्गामा म चोलकुमारी आचार्यलाई जोताहा हक समेत प्राप्त हुने गरी मञ्जूरीनामा गरी दिनु भएको छ । ०२४, ०२५ सालमा साविक जग्गाधनीलाई कूत बुझाएको त्यसपछि कानुन बमोजिम उक्त जग्गाको कूतबाली धरौटी समेत राख्दै आएकी छु । सम्वत् ०४३ सालको रिट नं. १५५७ को उत्प्रेषण मुद्दामा सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतबाट उक्त घरवारी जग्गामा मेरो मोहियानी हक समेत कायम भइसकेको छ । मिति २०४३।७।२४ देखि भू.सु.का.को निर्णय उपर अञ्चल अदालतमा पुनरावेदन लाग्ने भनी साधारण कानुनी व्यवस्था न्या.प्र.सु.(चौ.सं.) ऐन, ०४३ ऐ.०३१ मा भएको संशोधनबाट क्षेत्राधिकार त्रुटि गरी असाधारण अधिकार क्षेत्र गुहार्न आउनु भएको छ । भू.सु.का. काठमाडौंबाट मेरो कानुनी सबूद प्रमाणहरु बुझी मिति ०४५।२।३१ मा उक्त घर वारी जग्गामा म चोलकुमारी आचार्यलाई मोही कायम गर्ने निर्णय भएको डेढ वर्ष पछि आएर अति नै बिलम्ब गरी प्रस्तुत रिटनिवेदन दायर भएकोमा विलम्बको सिद्धान्त लागू भई स्वतः खारेजभागी छ । ०४६।६।२८ मा पक्की घर पर्खाल समेत बनाएको भन्ने रिट निवेदकको भनाई सरासर झुठ्ठो छ । ०२५ साल भित्रमा मैले पक्की घर पर्खाल समेत बनाइसकेको र मिति २०४३।१०।१ मा नै उक्त घरवारी जग्गा एउटै कम्पाउण्ड भित्र कायम भई श्री ३ नं. नापी गोश्वारा १ नं. नापी टोली जयवागेश्वरीबाट काठमाडौंबाट नापी (साविक पेज नं. ३१४) भई उक्त घर जग्गा कम्पाउण्ड म चोलकुमारी आचार्यका नाउँमा नाप जाँच समेत भइसकेको छ र सो कुरा विपक्षी रिट निवेदकले थाहा पाई मिति ०४३।१०।१५ मा नै ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीमा द.नं. ५७० मा भूलसुधार गरी कित्ता काटी दर्ता गरी पाउँ भन्ने निवेदन दिएको र मेरो घरबारी जग्गाको मेरो नाउँमा मोहियानी हकमा प्रमाणपत्र, क्षेत्रीय किताब नक्शा समेत हेरी बुझी मिति ०४६।५।१९।२ मा १ नं. नापी टोली जयबागेश्वरीमा गर्नु भएको बयान समेतबाट पनि विपक्षी रिट निवेदकले रिटनिवेदन दर्ता गर्नु भन्दा कम्तीमा ५ महीना अगाडि औपचारिक रुपमा थाहा भइसकेको हुँदा विलम्ब समेत गरी एकै पटक असाधारण अधिकार क्षेत्र अन्तर्गत दायर गर्नु भएको यो रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको चोलकुमारी आचार्यको लिखितजवाफ ।
१३. यस कार्यालयबाट रिट निवेदकलाई प्रतिवाद गर्ने मौका नै नदिई विपक्षीलाई मोहियानी हकको प्रमाण पत्र दिएको भन्ने उल्लेख गरेको सम्बन्धमा फाँटवालाबाट व्यहोरासम्म पेश गरेको टिप्पणी झुक्किएर मिति ०४५।२।३१ मा सदर भएछ राय नै नभएको सदर टिप्पणीको आधारमा मोहियानी प्रमाणपत्र दिन नपर्ने सो पनि झुक्किएर गएछ । सो सम्बन्धमा पछि थाहा लाग्ना साथ सम्बन्धित फाँटवालासंग स्पष्टीकरण सोधियो । साथै मोहियानी प्रमाणपत्र लगी जाने व्यक्ति चोलकुमारीलाई सो प्रमाणपत्र लिई आउन १० दिने म्याद मिति ०४६।२।९ मा पठाइएको तर निजले म्याद बुझी लिएर र साक्षीको अभावमा टाँस समेत हुन नसकेको खटी गएका पिउनको मिति ०४६।२।२६ को रिपोर्ट साथ म्याद फिर्ता हुन आयो । फलस्वरुप अग्रिम कारवाही हुन सकेन तसर्थ उक्त जग्गाको मोही सम्बन्धी कारवाही रोक्का राखी दिन मा.पो.का.काठमाडौंलाई यस कार्यालयबाट मिति ०४७।३।२५ मा लेखी गएको छ । यसरी मोहियानी प्रमाणपत्र सम्बन्धी कार्यवाहीको सिलसिलामा भएकोले रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय काठमाडौंको लिखितजवाफ ।
१४. विपक्षी मध्ये भोलामान सिंह बस्नेतले, विपक्षी मध्येका चोलकुमारी आचार्यको लिखितजवाफ मिलान गरी रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रस्तुत गरेको लिखितजवाफ ।
१५. विपक्षी मध्येका निरकुमारी श्रेष्ठ तर्फबाट लिखितजवाफ प्राप्त हुन नआएको ।
१६. विपक्षी मध्येका राधेश्याम थापाको तर्फबाट लिखितजवाफ प्राप्त हुन नआएको ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुड्डानाले विपक्षी भूमिसुधार अधिकारीले मलाई प्रतिवाद गर्ने मौका नै नदिई प्राकृतिक न्यायको सिद्धान्त विपरीत गरी विपक्षी चोलकुमारी आचार्यलाई मोहियानी प्रमाणपत्र दिने गरी पेश गरेको टिप्पणीलाई सदर गरी गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको विपरीत हुनुको साथै न्यायिक मनको अभाव समेत भएको कारणबाट विपक्षी भूमिसुधार अधिकारीको निर्णय र सो निर्णयको आधारमा दिइएको मोहियानी हकको प्रमाणपत्र समेत बदर हुनुपर्दछ भन्ने र प्रत्यर्थी चोलकुमारी आचार्यतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्कीले मेरो पक्ष चोलकुमारी आचार्यले ०२४, ०२५ साल देखि जग्गा भोग चलन गरी कूत बाली बुझाउँदै आएको छ । रिट निवेदकले पुनरावेदन गर्ने बाटो छोडी असाधारण अधिकार गुहार्न आउनु भएको जुन सरासर त्रुटि छ र मिति ०४५।२।३१ मा भू.सु.का. काठमाडौंले चोलकुमारीलाई मोहियानी कायम गरेको निर्णयको करीब डेढ वर्ष पछि निकै बिलम्व गरी प्रस्तुत रिटनिवेदन दायर भएको देखिँदा विलम्बको सिद्धान्त लागू भई रिटनिवेदन खारेज हुनुपर्दछ भन्ने र भूमि (साविक पेज नं. ३१५) सुधार कार्यालय काठमाडौं तर्फबाट उपस्थित विद्वान सरकारी सहन्यायाधिवक्ता श्री श्यामप्रसाद श्रेष्ठले मोहियानी प्रमाणपत्र सम्बन्धी कार्यवाहीको सिलसिला भएको र रिट निवेदक निकै बिलम्व गरी आउनु भएको हुँदा विलम्बको सिद्धान्त लागू भई प्रस्तुत रिटनिवेदन खारेज हुनुपर्दछ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१८. यसमा म जग्गाधनीलाई बुझ्दै नबुझी विपक्ष चोलकुमारी आचार्यलाई मिति ०४५।२।३१ मा मोही कायम गर्ने गरेको निर्णय बदर गरी पाउँ भन्ने रिट निवेदकको मुख्य निवेदन भनाई पाइयो । भू.सु.का. काठमाडौंको लिखितजवाफमा फाँटवालाबाट व्यहोरासम्म पेश गरेको टिप्पणीमा झुक्किएर मिति ०४५।२।३१ मा सदर भए छ राय नै नभएको सदर टिप्पणीको आधारमा मोहियानी प्रमाणपत्र दिन नपर्ने सो पनि झुक्किएर गएछ भन्ने र चोलकुमारी आचार्यतर्फबाट मोहीको छोडपत्र ज.ध.को कबूलियत र बाली बुझेको भर्पाई समेतका कागजहरु बदर गराउन नसकेको ज्यादै बिलम्व गरी तथ्य लुकाई रिटनिवेदन गर्न आएको भन्ने लिखितजवाफ र बहस बुँदा प्रस्तुत गरेको पाइयो । मोहियानी हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने वा नसर्ने भन्ने कुरा प्रमाणको मूल्यांकन गरी तोकिएको अधिकारी स्वयंले कानुन बमोजिमको प्रकृया पूरा गरी निर्णय गर्नु पर्नेमा जग्गाधनीलाई बुझ्दै नबुझी फाँटवालाले मुद्दाको संक्षिप्त तथ्य उद्धृत गरी उचित निर्णयको लागि पेश गरेको टिप्पणीमा कुनै राय नै व्यक्त नगरी प्रशासकीय टिप्पणीमा टिप्पणी उठाउनेले व्यक्त गरेको राय सरहको सम्झी सदर मात्र लेखी निर्णय गरेको अ.बं. १८५ र ने.का.प. २०३८ पृष्ठ २९ मा यस अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरीत निर्णय भएको देखिएकोले उक्त मिति ०४५।२।३१ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । अब कानुन बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षी भू.सु.का. काठमाडौंको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ ।
१९. प्रस्तुत केशमा निर्णयकर्ता विपक्षी भू.सु.अधिकारी श्री आर.डि.प्रभासले कस्तो टिप्पणी पेश गरेको हो हेर्दै नहेरी निर्णयको लागि पेश गरेको टिप्पणीमा कुनै राय ठहर नै नलेखी सदर गर्ने गरी निर्णय गरेको अर्धन्यायिक अधित्रकारीको कर्तव्य अनुरुप भएको नदेखिँदा आइन्दा यस्तो निर्णय गर्ने जस्तो कुरामा होस पुर्याएर मात्र कार्य गर्ने भन्ने आर.डी.प्रभासको नाउँमा न्यायिक टिप्पणी गर्ने समेत ठहर्छ । यस टिप्पणीको जानकारी सम्बन्धित कार्यालयमा लेखी पठाउने समेत ठहर्छ । जानकारीको लागि आदेशको प्रमाणित प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी कार्यालयमा पठाई दिनु र फायल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या.मोहनप्रसाद शर्मा
इतिसम्वत् २०४८ साल असोज २ गते रोज २ शुभम् ।