शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८२६ - जबरजस्ती करणी

भाग: ५९ साल: २०७४ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ 

फैसला मिति :२०७३।०२।२३

०७१-CR-०४३१

 

मुद्दा : जबरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादी : झापा जिल्ला गरामुनी गा.वि.स. वडा नं. ३ घर भई हाल जिल्ला कारागार कार्यालय झापामा थुनामा बस्ने ईश्वर ऋषिदेव

विरूद्ध

प्रत्यर्थी / वादी : नेपाल सरकार

 

जबरजस्ती करणीको अपराध र यसको उद्योगका बीचमा मनसाय र कार्यको दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता पनि देखिँदैन । जबरजस्ती करणीको वारदात स्थापित हुन पीडित बालिकाको योनिको कन्याजाली च्यातिएको हुनुपर्दछ र योनिको भाग सुन्निएको हुनुपर्दछ भन्ने पूर्वसर्त हुँदैन । कन्याजाली च्यातिएको थियो र योनिको भाग पनि सुन्निएको थियो भने त्यसले केवल अपराध स्थापित गर्न थप पुष्टि हुन जाने । 

(प्रकरण नं. ७)

पुनरावेदक प्रतिवादीलाई निजको लिङ्ग पीडित बालिकाको योनिभित्र प्रवेश नगरेको भन्ने मात्र आधारमा निजको क्रियालाई जबरजस्ती करणीको परिभाषाभित्र नपार्ने हो भने यस प्रकारका अमानवीय व्यवहारले छुट पाउने अवस्था सिर्जना हुन्छ । बालिकाको योनिसम्म लिङ्ग पुर्‍याई वीर्य स्खलन गराई आफ्नो यौन सन्तुष्टि लिने कार्यलाई केवल करणीको उद्योग मात्र हो भनी कायम गर्नु जबरजस्ती करणी सम्बन्धी कानूनी व्यवस्थाको भावना प्रतिकूल हुने । 

योनिमा लिङ्ग प्रवेश नगरेसम्म जबरजस्ती करणीको कसुर हुँदैन भनी व्याख्या विश्लेषण गर्ने हो भने यस्ता कलिला उमेरका बालिकामाथि हुने यौनजन्य अपराधबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आई समाजमा यस्ता घटनाले पश्रय पाउने अवस्था आउने । 

(प्रकरण नं. ८)

 

पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान्् अधिवक्ता  विकास दाहाल

प्रत्यर्थी / वादीको तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प. २०६३, अंक २, नि.नं.७६५२

ने.का.प. २०६५, अंक १, नि.नं.७९२३

ने.का.प. २०६६, अंक ५, नि.नं.८१४२

 

सम्बद्ध कानून : 

प्रमाण ऐन, २०३१ को दफा ९

 

 

सुरू अदालतमा फैसला गर्ने :-

मा.जिल्ला न्या.श्री शालीग्राम कोइराला

पुनरावेदन अदालतमा फैसला गर्ने :- 

माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई

माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई

 

फैसला

न्या. गोपाल पराजुली : पुनरावेदन अदालत, इलामको मिति २०६९।३।४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादी इश्वर ऋषिदेवको तर्फबाट यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

झापा जिल्ला गरामनी गा.वि.स.वडा नं. २ स्थित पूर्व रूपलाल लिम्बुको घर, पश्चिम नाला मुर्मुको घर, उत्तर चन्द्रबहादुर राईको घर, दक्षिण कुमारसिंह देवानको गहुँबारी यति चार किल्लाभित्र रहेको पवनलालको गहुँबारीको बीच भागमा भएको २ मिटर गोलाईको गहुँ पूरै माडीई नष्ट भएको, सोही स्थानमा राजु भन्ने ईश्वर ऋषिदेवले १३ वर्षकी परिवर्तित नाम “बि” लाई जबरजस्ती करणी गरेको, सोही घटनास्थलबाट कण्डम २ थान, घडिको टुक्रा चेन र पिन १ समेत बरामद भएको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

मिति २०६६।१०।२४ गते साझ ७.३० बजेको समयमा म जाहेरवालाको नाबालिका छोरी वर्ष १३ की पीडिता प्लाष्टिकको जर्किन बोकेर पानी लिन गएकीमा नआएकी हुँदा आफन्तसमेतको सहयोगमा गाउँ घरमा खोजतलास गर्दा फेला परिनन्। खोजतलास कै क्रममा मिति २०६६।१०।२५ गते लिम्बुनी थरकी वुढी महिलाले मलाई बोलाई गहुँबारीमा लगेपछि हेर्दा गहुँ पूरै माडिई घटनास्थलमा २ थान कण्डम देखिएपछि मेरो छोरीलाई करणी गरी हत्या गरेको शंका लागी मेरो घरमा आई रहने व्यक्तिलाई सोधपुछ गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिए । मैले छोरीलाई एकान्तमा सोधपुछ गर्दा निजले मिति २०६६।१०।२४ गते राति ८ बजे नसाको सुरमा बाटोबाट तानी गहुँबारीमा लगी जबरजस्ती करणी गरी राति के कुन समयमा आफन्तको घरमा लगी छाडेको, पिसाब गर्दा पोलेको भनी भएका सबै व्यहोरा बताएकी हुँदा प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍नेसमेत व्यहोराले सुनिता मुर्मुले जिल्ला प्रहरी कार्यालय, झापामा पेस गरेको जाहेरी दरखास्त ।

पीडिताको कन्याजाली नच्यातिएको, योनिको भाग नसुन्निएको, योनिबाट रजस्वलाको रगत बगेको देखिएको भन्‍नेसमेत व्यहोराको मेची अञ्चल अस्पतालको परीक्षण प्रतिवेदन ।

मिति २०६६।१०।२४ गते म काम विशेषले बिर्तामोड गएकोमा बिर्तामोडबाट गरामनीतर्फ आउँदै गर्दा दिउँसो ३ बजेको समयमा लिलु बेस्राले फोन गरी देउनिया आउनु भनेको हुँदा म देउनियामा जाँदा लिलु बेस्रा रक्सी खाई रहेका थिए । भेटभए पछि दुवै जनाले तुम्बा (रक्सी) खाँयौ र केही पर गई केरेमबोर्ड खेल्यौ । साँझ पर्न लागेको हुँदा लिलु बेस्राले मेरो सोल्टिनीको घरमा जाउँ भनेकाले निजको सोल्टिनीको घरमा 

गयौ । केही समय त्यही बसी सोल्टिनीसँग होटलमा गई रक्सी खायौं । सोल्टिनीको छोरी पीडितालाई साथीले चिनाएको थियो । रातिसम्म रक्सी खाँदा निकै मातेछु । जाहेरवालीकी छोरी पीडिता निकै पटक पानी लिन ओहोर दोहोर गरेको देखी मैले निजलाई पानी लिन आएको मौकामा समाती जाँउ भन्दा प्रतिकार नगरेकाले तानी गहुँबारीमा लगि सुताई निजले लगाएको फ्रक फर्काइ म आफूले लगाएको कपडा खोली साथमा बोकेको कण्डम (ढाल) लिङ्गमा लगाई पीडिताको योनिमा छिराउन खोज्दा छिराउन नपाउँदै वीर्य झरेको हुँदा निज बालिकालाई केही समय सुम्सुमाई अर्को ढाल झिकी लिङ्गमा लगाई पुनः बालिकाको योनिमा छिराउने प्रयास गर्दा पनि वीर्य स्खलन 

भयो । त्यसपछि निकै रातिसम्म नाबालिकालाई गहुँबारीमा नै राखी पटक-पटक करणी गरी राति नै गरामनी-२ बस्ने आइते बेस्राको घरमा लगी छाडी म आफ्नो घर गएँ । घटनास्थलमा फेला परेको २ थान कण्डम मैले प्रयोग गरेको हो । बालिकालाई मैले मात्र करणी गरेको हो, लिलु बेस्राले चिनजान मात्र गराएका हुन भन्‍ने समेत व्यहोराको प्रतिवादी राजु भन्‍ने ईश्वर ऋषिदेवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको 

बयान ।

वारदातको दिन मैले देउनिया डाँडाबाट ईश्वर ऋषिदेवलाई फोन गरेर बोलाए । ऊ आएपछि दुवै जनाले होटलमा रक्सी खाई केही समय केरेमबोर्ड खेली साझ पख मेरो सोल्टिनी नाताकी सुनिता मुर्मुको घरमा जाँदै गर्दा सोल्टिनीलाई बाटैमा भेटेकाले हामी ३ जना नजिकैको पसलमा गएर रक्सी खायौं । रक्सीले मातेकाले ८ बजेको समयमा म आफ्नो घरतर्फ गएँ । ईश्वर ऋषिदेवलाई सोल्टिनीसँगै छाडेको थिएँ । ईश्वर ऋषिदेवले मातेको अवस्थामा जाहेरवाली सोल्टिनीको छोरी वर्ष १३ की नाबालिकालाई बेलुका एक्लै पानी लिन आएको मौका पारी बाटोबाट तानी गहुँबारीमा लगी जबरजस्ती करणी गरी राति नै आइते बेस्राको घरमा लगी छाडेको कुरा मिति २०६६।१०।२५ गते मात्र थाहा पाएको हुँ । यस घटनामा मेरो कुनै संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी विजय भन्ने लिलु बेस्रा सतारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६६।१०।२४ गतेका दिन मेरो आमाको सोल्टी नाता पर्ने झापा गरामनी बस्ने लिलु बेस्राले साथी लिई घरमा आए । केही समय बसी नजिकैको रक्सी पसलमा गए । म मोती रोक्काको घरमा सत्यनारायणको पूजा लगाएकाले पूजाको प्रसाद खान गए । म फर्केर आउँदा लिलु बेस्रासमेत केरेमबोर्ड खेल्दै थिए । आमा पनि पूजाको प्रसाद खान जानु भयो । बुबा बिहानैदेखि काममा जानु भएको थियो । घरमा आउनु भएको थिएन । म अं. ८ बजेको समयमा म पानी लिन जाँदै गर्दा बाटोमा पर्ने गहुँबारीबाट लिलु बेस्रासँग आएको राजु भन्ने ईश्वर ऋषिदेवले मेरो नाडीमा समाती मुखमा चकलेट जस्तो चिज खुवाई रूमालले मुख छोपेकाले म बेहोस भएछु । भोलिपल्ट होसमा आउँदा म आइते बेस्राका घरमा थिएँ । मेरो छाती, ढाड, योनिसमेत दुखेको र पिसाब फेर्दा पोलेको थियो । मेरो बुबाआमासमेतले खोजतलास गर्दै जाँदा गहुँबारी माडिएको स्थान र त्यहाँ २ वटा ढालसमेत फेला परेकोले शंङ्का लागी लिलु बेस्रालाई प्रहरीमा जिम्मा लगाएपश्चात् प्रहरी म भएको स्थानमा आई ईश्वर ऋषिदेवलाई पक्राउ गरेको हो । ईश्वर ऋषिदेवले नाडिमा समाती मुख छोपी बेहोस गराएको हो । लिलु बेस्राले ईश्वर ऋषिदेवसँग चिनाई गएपछि निजले मलाई उपरोक्तबमोजिम करणी गरेको हुँदा निजहरू दुवैजना उपर कानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराले परिवर्तित नाम “वि” ले जाहेरवाली आमाको रोहवरमा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज । 

मौकामा पार्वता लिम्बु, रूपलाल लिम्बु, बिरेन लिम्बु, सन्जु लिम्बु र गजेन्द्र शेर्पाले लेखाई दिएको प्रायः एकै मिलानको वस्तुस्थिति मुचुल्का मिसिल सामेल रहेको । 

प्रतिवादी ईश्वर ऋषिदेवले परिवर्तित नाम “वि” लाई रातको ८ बजेको समयमा मौका पारी ललाई फकाई गहुँबारीमा लगी जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत कसुर गरेको देखिँदा प्रतिवादी ऋषिदेवलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय २ बमोजिम सजाय गरी ऐ. महलको को १० (ग) नं. बमोजिम पीडितालाई क्षतिपूर्ति दिलाई भराई पाऊँ । प्रतिवादी लिलु बेस्राले ईश्वर ऋषिदेव र पीडितालाई चिनजान गराएपश्चात् जबरजस्ती करणीको संयोग मिली प्रतिवादी ईश्वर ऋषिदेवले जबरजस्ती करणीको वारदत सम्पन्न गरेको हुँदा लिलु बेस्रालाई जबरजस्ती करणीको महलको ४ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराले वादी नेपाल सरकारले झापा जिल्ला अदालतमा पेस गरेको अभियोग पत्र ।

लिलु बेस्रा र जाहेरवाली सोल्टि सोल्टिनी नाताका मानिस हुन् । वारदातको दिन म र लिलु बेस्राले बेलुकी ७ बजेदेखि ७.३० बजेसम्म १/१ वटा तोम्बा खायौ । त्यसै समयमा पीडिता हामी भएको स्थानमा आई आमाले बोलाउँदै हुनुहुन्छ भनेकाले निज पीडिताको आमा, म र लिलु बेस्राले अर्को पसलमा रक्सी खायौ । २ बोतल रक्सीको पैसा मैले तिरे । रक्सी खाएपछि लिलु बेस्रा त्यहाँबाट हिँडे । रात परेको हुँदा निजको सोल्टिनीले साथी नआउन्जेल पर्ख भनेकाले पर्खंदा साथी आएन । जाहेरवालीले भात खाएर जानु भनिन । त्यतिकैमा पीडिता आइन । पीडितालाई मैले कहाँ हिँडेकी भनेर सोधेँ । म यँही आएको भनिन, हामीबीच गफ भयो । त्यसै क्रममा मैले मसँग विवाह गर्छौं भन्दा निज विवाह गर्न राजी भइन । करणी गर्न दिन्छौ भनी सोद्धा करणी गर्न पनि राजी भएकाले घर पछाडिको आलीमा बसेर गफ गर्‌यौं । म बसेको आलीबाट लडेर गहुँबारीमा पुगे । अनि राजीखुशीसाथ हामी गहुँबारीमा गई करणी लिनु दिनु गरेको हौं । तर योनिभत्र लिङ्ग प्रवेश नहुँदै लिङ्गबाट चिल्लो पर्दाथ झर्‌यो । म मातेको हुनाले हात चाहिँ समातेँ । अन्यतिर समाउन पाइन । २ पटक करणी गर्न प्रयास गर्‌यो । तर २ पटकनै वीर्य बाहिर नै स्खलन भयो । जबरजस्ती करणी गरेको होइन । देखाइएको घडीको टुक्रा, चेन र पिन मेरो हो भन्नेसमेत व्यहोराको प्रतिवादी राजु भन्ने ईश्वर ऋषिदेवले झापा जिल्ला अदालतमा गरेको 

बयान ।

मिति २०६६।१०।२४ गते देउनियाको गुरूङको घरमा म रक्सी खाई रहेको बखत बेलुका ३ बजेतिर पीडिताको आमाले मलाई रक्सी खुवाउने होइन भनेकी थिइन । मैले पैसा छैन भनेँ । मेरो सोल्टिनी नाताकी निजले किन डराएको भनेकाले मैले एक गिलास रक्सी किनेर दिएँ । रक्सी खाएपछि ईश्वर ऋषिदेवलाई सोल्टिनीसँगै छोडी म घर गएँ । भोलिपल्ट केटीको आमा र मामा २ जना मेरो घरमा आई मलाई देउनिया जाउँन् सोल्टी भनी फकाएर ल्याए । बेलुकी ४ बजे देउनियामा आई पुगेपछि केटीको आमा र मामाले मलाई मेरी छोरी र भान्जीलाई अपहरण गरी कहाँ लगी मारी फालिस भन्दा मैले तपाइँकी छोरीलाई मारेको छैन भने । यतिकैमा देउनियाका मानिसहरू आई मलाई डोरीले हातमा बाँधी पक्राउ गरेका हुन् । मैले जबरजस्ती करणी गराउनका लागि अभियोग दाबीअनुसार संयोग मिलाउने कार्य गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी विजय भन्ने लिलु बेस्राले अदालतमा गरेको बयान । 

घटनास्थलमा फेला परेको ढालमा Semen could not be detected on exhibit भनी उल्लेख भएको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन मिसिल सामेल रहेको देखिएको ।

मौकामा वस्तुस्थिति मुचुल्काको रोहवरमा बस्ने पार्वता लिम्बु, रूपलाल लिम्बु र विरेन लिम्बुले गरेको बकपत्र मिसिल सामेल रहेको देखिन्छ । 

प्रतिवादी राजु भन्ने ईश्वर ऋषिदेवले बयानमा उल्लेख गरेका कार्यहरू र मिसिल संलग्न प्रमाणहरूको विश्लेषण गर्दा निजले अभियोग दाबीबमोजिम जबरजस्ती करणी गरेको ठहर्छ । सो ठहर्नाले पीडिता १३ वर्ष उमेरकी भएको देखिँदा प्रतिवादी ईश्वर ऋषिदेवलाई सोही महलको ३ नं. को देहाय २ बमोजिम १०(दश) वर्ष कैद सजाय भई प्रतिवादीबाट पीडिताले रू. ५०,०००।– क्षतिपूर्ति भराई लिन पाउने ठहर्छ । प्रतिवादी विजय भन्ने लिलु बेस्राले प्रतिवादीले जबरजस्ती करणी गर्नमा ईश्वर ऋषिदेवलाई संयोग पारेको कुराको प्रमाण वादी पक्षबाट पेस नभएको आधार र कारणबाट प्रतिवादी विजय भन्ने लिलु बेस्राले अभियोग दाबीबाट सफाई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको झापा जिल्ला अदालतको मिति २०६८।१।२० को फैसला । 

मैले पीडिताको मन्जुरी र सहमतिमा करणी गर्ने प्रयाससम्म गरेको हो । तर करणी सम्भव भएन । पीडिता र वस्तुस्थिति मुचुल्काका मानिसले भनेका कुरा कुनै तथ्यमा आधारित छैन । करणी गर्ने प्रयास गर्दा लिङ्ग उत्तेजित भई योनिमा लिङ्ग छिराउनुभन्दा अगाडि कण्डम लगाउन नपाउँदै वीर्य झरेको हो । दोस्रो पटक पनि त्यस्तै भयो । कण्डममा समेत वीर्य नभेटिएको र पीडिताको शारीरिक परीक्षणमा रजश्वलाको रगत भएको देखिएको अवस्थामा पीडिताको समेत मन्जुरी हुँदा करणीको उद्योगसम्म ठहर गर्नुपर्नेमा सुरू अदालतले मलाई करणी नै गरेको भनी गरेको सजाय त्रुटिपूर्ण हुँदा बदर गरी उद्योग ठहर गरिपाउँ भन्नेसमेत व्यहोराले प्रतिवादी ईश्वर ऋषिदेवले पुनरावेदन अदालत, इलाममा पेस गरेको पुनरावेदन पत्र ।

मिसिल संलग्न प्रमाणरूबाट झापा जिल्ला अदालतबाट मिति २०६८।१।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०६९।३।४ को फैसला ।

उक्त फैसला मिलेको छैन । किनभने जाहेरवालीले मैले जबरजस्ती करणी गरेको भनी जाहेरी दिएको देखिन्छ । पीडिताले मौकामा सोही व्यहोरा उल्लेख गरी कागज गरेको देखिन्छ । तर जाहेरवाली र पीडिताको बकपत्र हुन सकेको छैन । मौकाको जाहेरी र कागज बकपत्रबाट समर्थित नभएमा मुद्दामा आरोपित व्यक्ति विरूद्ध प्रमाण हुँदैन । तर पनि पीडिताको मौकाको कागजलाई अदालतले Pick and choose को आधारमा प्रमाणमा ग्रहण गरी फैसला गरेको छ । मेरो हकमा पीडिताले बकपत्र नगरेको अवस्थामा पनि मेरो विरूद्द प्रमाणमा लिने र सहप्रतिवादीलाई प्रमाणमा नलिई सफाई दिँदा प्रमाणको अवमूल्यन हुन्छ । करणीको प्रयास भएको स्थल पीडिताको घर पछाडि हो । जबरजस्ती करणी भएको  भए पीडिता कराउने थिइन । कराउँदा घर, परिवार र छिमेकीले थाहा पाउने अवस्थाको विद्यामानता छ । यी तथ्यसमेतले मैले जबरजस्ती करणी नगरेको र हामीबीच करणीको जे जती प्रयाससम्मको कार्य भए ती सबै सहमतिमा भएको कुरा वस्तुगतरूपमा पुष्टि भएको छ । मैले पीडिताको सहमतिमा करणीको प्रयास गरेको स्वीकार गरेको छु । मैले करणी गर्न लिङ्गमा कन्डम लगाउनु अगावै वीर्य स्खलन भएको थियो । वीर्य स्खलन भएको कुराको आधारमा करणी गरेको मान्न मिल्दैन । 

वारदातस्थलमा गहुँ माडिएको र कण्डम भेटिएको कुरालाई फैसलाको निर्णयधार बनाइएको पाइन्छ । गहुँ माडिएको र कण्डम भेटिएको कुराले करणीको पुष्टि हुन सक्दैन । करणी भएको भए कण्डममा मेरो वीर्य भेटिनु अनिवार्य हुन्छ । मेची अञ्चल अस्पतालको मेडिकल स्वाव रिपोर्ट र शारीरिक परीक्षणसमेतले करणी नभएको पुष्टि गर्दछ । यस विवादमा पीडिताको उमेरको पनि सन्दर्भ जोडिएको 

छ । २० वर्ष उमेर भएकी केटी मानिसलाई १३ वर्ष उमेर बनाई मलाई षडयन्त्रपूर्वक फसाउने गलत मनसायले १३ वर्ष उमेर लेखाएको हो । उमेर २० वर्ष भइसकेको कुरा अदालतसमक्ष पीडिता उपस्थित भएमा निजको शारीरिक अवस्थाबाट सजिलै पुष्टि हुने अवस्था छ । तर उपस्थित गराइएको छैन । यदि मलाई कसुरदार ठहर गर्ने हो भने निजलाई अदालतमा उपस्थित गराई परीक्षण गरिनु पर्दछ । यस्तो आधारहीन एकतर्फीरूपमा उमेर घटाई तयार पारिएको कथनको आधारमा पुनरावेदन अदालत, इलामबाट भएको फैसला बदर हुनुपर्दछ भन्नेसमेत व्यहोराले प्रतिवादीले यस अदालतमा पेस गरेको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न सक्कल कागजातहरूको अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्् अधिवक्ता श्री विकास दाहालले मेरो पक्ष उपर जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दरखास्त परेको तथ्यमा विवाद 

छैन । उक्त मुद्दामा मेरो पक्षले मौका र अदालतमा सहमतिमा करणी गर्न प्रयाससम्म गरेको कुरालाई स्वीकार गरेको छ । सहमतिमा करणी गर्न खोजेको तर करणी सम्भव नभएको अवस्थामा जबरजस्ती करणी गरेको भन्न मिल्दैन । पीडिताको शारीरिक परीक्षणबाट पनि अभियोग दाबीअनुसारको क्रिया भएको देखाएको छैन । योनिबाट बगेको रगत रजस्वलाको भन्ने देखिएको छ । एवं प्रकारले पीडित र जाहेरवालीले मौकामा लेखाएको कुरा अदालतमा बकपत्र गरी समर्थन गर्न सकेको अवस्था छैन । बकपत्र नभएको कागजलाई प्रमाणमा लिन मिल्दैन । मिसिल संलग्न प्रमाण र प्रतिवादीको क्रियाबीचको तादम्यता उद्योगसम्ममा सिमित भएको देखिँदा पुनरावेदन अदालत, इलामको फैसला सो हदसम्म बदर हुनुपर्दछ भन्नेसमेत व्यहोराले गर्नुभएको बहससमेत सुनी पुनरावेदन अदालत, इलामको मिति २०६९।३।४ को फैसला मिलेको छ छैन? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा मिति २०६६।१०।२४ गते प्रतिवादी इश्वर ऋषिदेवले १३ वर्ष उमेरकी नाबालिका पीडिता परिवर्तित नाम “वि” लाई मिति २०६६।१०।२४ गते साँझ ८ बजेको समयमा टुबेलमा पानी लिन गएको मौका पारी पीडिताको नाडीमा समाती नजिकैको गहुबाँरीमा लगी जबरजस्ती करणी जस्तो अपराधजन्य क्रिया गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ विपरीत कार्य गरेकोले प्रतिवादी इश्वर ऋषिदेवलाई ऐ. महलको ३ नं को देहायको २ नं. बमोजिम सजाय गरी पीडितालाई प्रतिवादीबाट क्षतिपूर्तिसमेत दिलाई भराई पाउन वादी नेपाल सरकारले झापा जिल्ला अदालतमा अभियोग पत्र पेस गरेको देखिन्छ । सो अदालतले पुनरावेदक / प्रतिवादीलाई आरोपित कसुरमा १० वर्ष कैद सजाय र पीडिताले प्रतिवादीबाट रू.५०,०००।– क्षतिपूर्ति भराई लिन पाउने गरी गरेको फैसलाउपर यिनै पुनरावेदक / प्रतिवादीले पुनरावेदन अदालत, इलाममा पुनरावेदन गरेकोमा उक्त अदालतबाट पनि सुरू झापा जिल्ला अदालतबाट भएको फैसला सदर गरेपश्चात पुनरावेदक प्रतिवादीले सो फैसलामा चित्त नबुझाई यस अदालतमा प्रस्तुत पुनरावेदन गरेको देखिन्छ । 

३. पुनरावेदक प्रतिवादीले पुनरावेदन पत्रमा आफूले परिवर्तित नाम “बि” लाई सहमतिमा करणी गर्ने प्रयाससम्म गरेको हुँदा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. अनुसारको वारदात कायम गरी पाउन जिकिर लिएको देखिन्छ, सो सम्बन्धमा विचार गर्दा पुनरावेदक / प्रतिवादीलाई सुरू झापा जिल्ला अदालतले ऐ. महलको ३ नं. को देहाय २ बमोजिम १० वर्ष कैद सजाय र ऐ. महलको १० (ग) नं. बमोजिम यी पुनरावेदक प्रतिवादीबाट पीडिताले रू. ५०,०००।- क्षतिपूर्ति भराई लिन पाउने ठहर गरेको फैसला पुनरावेदन अदालत, इलामबाट पनि सदर भएको छ । उक्त ३ नं. को देहाय २ मा दश वर्ष वा सोभन्दा कम उमेरकी बालिका भए आठ वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय गर्न मिल्ने कानूनी व्यवस्था भएको देखिन्छ भने ऐ. को ५ नं. मा जबरजस्ती करणी गर्ने उद्योग गरेको करणी गर्न पाएको रहेनछ भने जबरजस्ती करणी गर्नेलाई हुने सजायको आधा सजाय हुन्छ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ ।

४. घटनास्थल प्रकृति मुचुल्कामा २ वटा कन्डम, घडिको टुक्रा, चेन र पिनसमेत बरामद भएको भन्ने व्यहोरा उल्लेख भई पवनलालको गहुबाँरीको बीच भाग माडिई गहुँ नस्ट भएको भन्ने देखिन्छ । अनुसन्धानको सिलसिलामा वादीको तर्फबाट उक्त गहुँबारी माडिएको देखिने फोटो पेस गरेको 

देखिन्छ । उक्त तथ्यलाई प्रतिवादीले अन्यथा भन्न सकेको देखिँदैन । पुनरावेदक / प्रतिवादी आफैँले पनि सो गहुँबारीमा पीडितालाई पटकपटक करणी प्रयास गरेको कुरा स्वीकार गरी पुनरावेदन अदालत र यस अदालतमा पुनरावेदन गरेको देखिन्छ । 

५. उपरोक्तबमोजिम प्रस्तुत मुद्दामा विद्यमान रहेको तथ्यको विश्लेषण गर्दा मिति २०६६।१०।२४ गते पुनरावेदक प्रतिवादीले राति ८:०० बजेको समयमा पीडिता परिवर्तित नाम “बि” लाई जबरजस्ती करणीको कसुर गरेको हुँदा सजाय गरी पाउन माग गरेको 

देखिन्छ । जबरजस्ती करणी हुनका लागि योनिमा लिङ्ग प्रवेश हुनु अनिवार्य हुन्छ वा योनिभित्र लिङ्ग प्रवेश नगरेको अवस्थामा अन्य आधारमा पनि जबरजस्ती करणी गरेको मानिन्छ भन्ने प्रश्न सर्वाधिक महत्त्वपूर्ण रहेको छ । यस अवस्थामा अपराधका चरणहरू पहिचान गरी हेर्न जरूरी देखिन आयो । कुनै पनि अपराध हुन मनसाय (Intention), तयारी (Preparation), उद्योग (Attempt) र अपराधले पूर्णता पाउने अवस्था (Commission) को विद्यमानता रहेको हुन्छ । यी चरणहरू मध्ये मनसाय र तयारीको चरणसम्म कुनै अपराध हुन लागेको भन्ने जानकारी सामान्यतया त्यसमा संलग्न व्यक्तिबाहेक अरूलाई नहुन सक्छ र त्यसले पीडित पक्षलाई असर पुगेको हुँदैन । जब उल्लिखित चरण पार गरेर सम्बन्धित अपराधलाई पूर्णता दिनका लागि उद्योगको चरण प्रारम्भ हुन्छ, त्यसमा निश्चितरूपमा पीडित पक्षलाई असर पर्ने क्रिया पनि सँगसँगै प्रारम्भ भएको हुन्छ । उद्योगको चरणमा सफलता पाउनु भनेको नै अपराधले पूर्णता पाउनु हो ।

६. अपराध गर्ने मनसायसहित गरिएको उल्लिखित कार्यमा बाह्य हस्तक्षेप भएन भने अपराधले पूर्णता पाउने तथ्यमा विवाद छैन । अब अपराधका चरणहरू सम्बन्धी यी मान्यतालाई तथ्यमा दाँजेर हेर्दा प्रतिवादीले आफूले मिति २०६६।१०।२४ गते साँझ ८:०० बजेको समयमा पीडित बालिका पानी लिन जाँदै गर्दा मौका पारी नाडीमा समाती गहुँबारीमा लगेको अवस्था नै मनसायको चरण भन्ने स्पष्ट देखिएको 

छ । त्यसपछि पुनरावेदक प्रतिवादीले यौन इच्छा पूर्तिका लागि बालिकालाई गहुँबारीमा लगेको कार्य तयारीको चरण हो । गहुँबारीमा लगि बालिकाले लगाएको फ्रक फर्काई आफ्नो लिङ्गमा ढाल लगाउने कार्य उद्योग हो । यतिसम्मको कार्य गरेकोसम्म उद्योग 

हो । तर, पुनरावेदक प्रतिवादीले उप्रान्त सोही गहुँबारीमा सुताई उत्तेजित भई आप्नो लिङ्ग बालिकाको योनिमा छिराउन नपाउँदै वीर्य स्खलन भएको भन्ने 

देखिन्छ । एक पटक त्यसबमोजिम वीर्य स्खलनपश्चात् पुनः बालिकालाई सुमसुमाई अर्को पटक लिङ्गमा ढाल लगाई योनिमा लिङ्ग प्रवेश गराउन नपाउँदै वीर्य स्खलन भएपछि पनि पटकपटक सोही घटनास्थलमा करणी गरेको कुरालाई प्रतिवादीले मौकाको बयानमा उल्लेख भएबाट प्रतिवादीले प्रारम्भमा राखेको करणी गर्ने इच्छा वा निजको मनसायले पूर्णता प्राप्त गरेको हुँदा अपराधले पूर्णता पाएको अवस्थालाई commission of the crime का रूपमा लिनुपर्ने हुन्छ ।

७. त्यसमा पनि जबरजस्ती करणीको अपराध र यसको उद्योगका बीचमा मनसाय र कार्यको दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता पनि 

देखिँदैन । जबरजस्ती करणीको वारदात स्थापित हुन पीडित बालिकाको योनिको कन्याजाली च्यातिएको हुनुपर्दछ र योनिको भाग सुन्निएको हुनुपर्दछ भन्ने पूर्वसर्त हुँदैन । कन्याजाली च्यातिएको थियो र योनिको भाग पनि सुन्निएको थियो भने त्यसले केवल अपराध स्थापित गर्न थप पुष्टि गर्नेसम्म हो । प्रतिवादीकै भनाईबाट पनि अपराध भएको पुष्टि भएको अवस्थामा पीडित र जाहेरवालीको बकपत्र हुनुपर्दछ भन्ने कुरा गौण हो । पुनरावेदकले अपराधले पूर्णता पाउन बाँकी रहेको हुँदा वारदातलाई उद्योगको रूपमा चित्रित गरेको देखिन्छ । तर, मिसिल संलग्न गहुँवारी माडिएको फोटोसमेतबाट पुनरावेदक प्रतिवादीले बालिकालाई घटना स्थलमा करणी गर्नको लागि धेरै प्रयास गरेको भन्ने स्पष्ट देखिन आएको छ । 

८. जबरजस्ती करणीसम्बन्धी विधिशास्त्रीय दृष्टिकोणलाई हेर्दा जबरजस्ती करणी हुनका लागि योनिभित्र लिङ्ग पसेकै हुनुपर्ने नभई लिङ्ग पसाउने प्रयाससम्म गरेकोलाई समेत जबरजस्ती करणीको परिभाषाभित्र समेटेको पाइन्छ । पुनरावेदक प्रतिवादीलाई निजको लिङ्ग पीडित बालिकाको योनिभित्र प्रवेश नगरेको भन्ने मात्र आधारमा निजको क्रियालाई जबरजस्ती करणीको परिभाषाभित्र नपार्ने हो भने यस प्रकारका अमानवीय व्यवहारले छुट पाउने अवस्था सिर्जना हुन्छ । बालिकाको योनिसम्म लिङ्ग पुर्‍याई वीर्य स्खलन गराई आफ्नो यौन सन्तुष्टि लिने कार्यलाई केवल करणीको उद्योग मात्र हो भनी कायम गर्नु जबरजस्ती करणीसम्बन्धी कानूनी व्यवस्थाको भावना प्रतिकूल हुन्छ । योनिमा लिङ्ग प्रवेश नगरेसम्म जबरजस्ती करणीको कसुर हुँदैन भनी व्याख्या विश्लेषण गर्ने हो भने यस्ता कलिला उमेरका बालिकामाथि हुने यौनजन्य अपराधबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आई समाजमा यस्ता घटनाले पश्रय पाउने अवस्था आउँछ । कलिला उमेरका बालिकाउपर यौनजन्य कार्य गर्नेलाई उन्मुक्ति दिन नमिल्ने सम्बन्धमा यस अदालतबाट ने.का.प. २०६३, जेठ, निर्णय नं. ७६५२, पृष्ठ २३२ र प्रतिवादीको लिङ्गको पूर्ण प्रवेश र वीर्य योनिमा स्खलन नभएको अवस्थामा यसैलाई आधार बनाएर यसैको अभावमा प्रतिवादीले पीडितउपर करणी नगरेको भनी ठहर गर्न न्यायसँगत नहुने भनी ने.का.प. २०६५, वैशाख, निर्णय नं. ७९२३, पृष्ठ ११० सिद्धान्त प्रतिपादन भएको देखिन्छ । 

९. एवं प्रकारले ने.का.प. २०६६, भाद्र, निर्णय नं. ८१४२ मा जबरजस्ती करणीका लागि सम्पूर्ण प्रयास गरेको, त्यसमा कहीँ कतैबाट हस्तक्षेपसमेत नभएको, योनिभित्र लिङ्ग प्रवेश नगरेको अवस्थालाई अपराधको गम्भीरता घटाउने आधार बनाउन नमिल्ने भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उक्त प्रतिपादित सिद्धान्तको आधारमा यस मुद्दालाई विश्लेषण गर्दा पनि साझको समयमा अरू व्यक्ति कोही नभएको मौकामा पीडिताउपर यौन क्रिडा गरेको देखिन्छ । योनिभित्र लिङ्ग प्रवेश नहुँदै वीर्य स्खलन भएको भनाई पुनरावेदक प्रतिवादीको छ । निज पुनरावेदक प्रतिवादीले कण्डम पनि प्रयोग गरेको कुरा मौकामा खिचिएको फोटोबाट देखिन्छ । फोटोमा २ वटा कण्डम देखिएकोमा प्रतिवादीले अदालतमा बयान गर्दा पनि स्वीकार गरेको देखिन्छ । यस्तो स्वीकारोक्तिको बयान प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादी विरूद्ध प्रमाणमा लाग्ने नै हुन्छ । 

१०. त्यसमा पनि मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्ने व्यवस्था छ । पीडिता बालिका १६ वर्ष उमेरभन्दा कम १३ वर्ष उमेरकी भएकी देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाको अध्ययनबाट १६ वर्षभन्दा कम उमेरकी बालिकालाई कसैले मन्जुरी लिई वा नलिई करणी गरेमा सो करणी जबरजस्ती करणी हुने अवस्थालाई हदृयगम गर्दा पुनरावेदक / प्रतिवादीको कार्य करणीको उद्योग भन्ने देखिएन ।

११. अब पुनरावेदक प्रतिवादीलाई के कति सजाय हुने भन्ने सम्बन्धमा विचार गर्दा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. ले विभिन्न उमेर समूहका पीडित उपर भएको यौनजन्य कार्यमा फरक-फरक सजाय हुने व्यवस्था गरी सोको देहाय २ नं. मा १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेकोमा त्यसरी करणी गर्नेलाई आठ वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय गर्न मिल्ने कानूनी व्यवस्था  भएअनुरूप प्रतिवादीलाई १० वर्ष कैद सजाय हुने देखियो । त्यसै गरी कसुरदारबाट पीडिताले क्षतिपूर्ति पनि भराई पाउने व्यवस्था  ऐ. महलको १०ग नं. मा भएको देखिदा झापा जिल्ला अदालतको मिति २०६८।१।२० को फैसला सदर गरेको पुनरावेदन अदालत, इलामको मिति २०६९।३।४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इजलास अधिकृत : भीमबहादुर निरौला

इति संवत् २०७३ साल जेठ २३ गते रोज १ शुभम् ।  

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु