निर्णय नं. ९८२८ - कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपकराज जोशी
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
फैसला मिति : २०७३।०९।०३
०७१-CR-०६१८
मुद्दाः कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग
पुनरावेदक प्रतिवादी : जिल्ला सर्लाही गा.वि.स. जमुनिया वडा नं. ७ घर भई हाल रामेछाप जिल्ला कारागार कार्यालयमा थुनामा रहेको कृष्ण भन्ने किसनन्दन राय यादव
विरूद्ध
प्रत्यर्थी वादी : जिल्ला सर्लाही गा.वि.स. जमुनिया वडा नं. ५ बस्ने सोनेलाल रायसमेतको जाहेरीले नेपाल सरकार
मुख्यतः फौजदारी वारदातमा घटनाबारे थाहा पाउने र देख्ने व्यक्ति, पीडित, घाइते र प्रतिवादी नै हुन्छन् । ज्यान अपराधको वारदातमा पीडित घाइते यदाकदा मात्र हुने गर्छन्, घटनाबारे यथार्थ जानकारी हुने व्यक्ति त प्रतिवादी र निजहरूसँगै रहेका व्यक्ति नै हुन्छन् । घटनाको सम्बन्धमा निजहरूले कस्तो अवस्था र परिस्थितिमा उक्त घटना घटेको भनी उल्लेख गरेका हुन्छन्, त्यतीलाई मात्र सुक्ष्म तरिकाले केलाएर विश्लेषण गरी हेर्नुपर्ने ।
(प्रकरण नं. ५)
घाइते पीडित व्यक्तिको मौकाको र अदालतसमक्ष गरेको बकपत्रको व्यहोरालाई महत्त्वपूर्णरूपमा लिनुपर्ने
हुन्छ । प्रतिवादीको मौकाको बयानलाई उसैको पक्ष र विरूद्धमा जती महत्त्वपूर्णरूपमा हेरिन्छ मौकाको घाइते व्यक्तिको भनाईलाई पनि कसुर पुष्टि गर्न प्रमाण प्रयोजनको लागि प्रतिवादीकै विरूद्धमा प्रतिवादीको भनाई भन्दा कम महत्त्वको रूपमा लिन नहुने ।
(प्रकरण नं. ७)
पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता नारायणप्रसाद देवकोटा तथा विद्वान् अधिवक्ता रामप्रसाद ढुंगेल
प्रत्यर्थी / वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख)
सुरू तहमा फैसला गर्नेः
मा.जि.न्या.श्री माधवप्रसाद पोखरेल
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या.श्री तेजबहादुर के.सी.
मा.न्या.श्री द्वारिकामान जोशी
फैसला
न्या. दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, जनकपुरको मिति २०७०।२।२८ को फैसलाउपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
जिल्ला सर्लाही जमुनिया गा.वि.स. वडा नं. ५ बस्ने रामप्रसाद रायलाई गोली हानी घाइते बनाएकोमा उपचारार्थ मृत्यु भएको र मृतकको लास सर्लाही जिल्ला अस्पताल मलंगवाको मुर्दा घरमा राखिएको लास जाँच मुचुल्का ।
मेरो दाजु नाता पर्ने रामप्रसाद रायको लास सदगदको लागि जिम्मा बुझी पाउँ भन्ने व्यहोराको सोनेलाल रायको निवेदन ।
मिति २०६४।५।१ गते बेलुका अं. १८:०० बजेको समयमा जिल्ला सर्लाही जमुनिया गा.वि.स. वडा नं. ५ बस्ने रामप्रसाद रायलाई र ऐ.ऐ. बस्ने रामवृक्ष रायसमेतलाई गोली हानी घाइते बनाएकोमा घाइते मध्येका रामप्रसाद रायको उपचारका क्रममा मृत्यु भएको र घाइते रामवृक्ष यादवलाई काठमाडौं लगिएको र सो घटनामा जिल्ला सर्लाही जमुनिया गा.वि.स. वडा नं. ५ बस्ने उदय राय, किसनन्दन राय र चेतनकुमार रायसमेत संलग्न रहेको भन्ने प्रहरी सञ्चार ।
मृतकको मृत्युको कारण “External bleeding due to gun shoot injury” भन्ने शव परीक्षण प्रतिवेदन ।
मिति २०६४।५।१ गते बेलुका अं. १८:०० बजेको समयमा जिल्ला सर्लाही जमुनिया गा.वि.स. वडा नं. ५ बस्ने उदय राय, ऐ. वडा नं. ७ बस्ने किसनन्दन राय र वडा नं. ६ बस्ने चेतनकुमार रायसमेतले मेरो भाई रामप्रसाद रायलाई र ऐ.ऐ. बस्ने रामवृक्ष रायसमेतलाई गोली हानी घाइते बनाएकोमा घाइतेमध्येका रामप्रसाद रायको उपचारको क्रममा मृत्यु भएको र घाइते रामवृक्ष यादवलाई काठमाडौं लगेकोमा मेरो भाईलाई गोली हानी मारेको र घाइते बनाउने अभियुक्तहरूलाई खोजतलास पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त ।
जिल्ला सर्लाही जमुनिया गा.वि.स. वडा नं. ६ बस्ने रामप्रसाद राय र ऐ.ऐ. बस्ने रामवृक्ष रायसमेतलाई प्रतिवादी किसनन्दन रायसमेतले गोली हानी रामप्रसाद रायलाई मारेको र रामवृक्ष राय यादव घाइते बनाएको भन्ने व्यहोराको घटनास्थल तथा प्रकृति मुचुल्का ।
मृतक रामप्रसाद राय माओवादीमा संलग्न रही आतंक मच्चाउनुका साथै मलाई अपहरण गरी कुटपिट गरेकोले सोही रिसइवी साध्न म तराई जनतान्त्रिक मुक्ति मोर्चामा लागि उदय राय र चैतन्य रायसमेतसँग साँठगाँठ गरी निज मृतक रामप्रसाद रायलाई मार्नुपर्छ भनी कुरा मिलाई मिति २०६४।५।१ गते बेलुका हामी तीनै जना ढुकी बसेका थियौं, सोही बेला मृतक रामप्रसाद राय घाइते रामवृक्ष राय यादवलाई आएको देखी चेतन रायले हान भन्ने वचन दिनासाथ उदयले मृतक रामप्रसादलाई र मैले घाइते भएका रामवृक्ष राय यादवलाई गोली हानी भुईंमा लडाई हामी भागी फरार भएका भन्ने व्यहोराको प्रतिवादी किसनन्दन रायले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
गोली हानेको घाउ रहेको व्यहोराको घाइते रामवृक्ष राय यादवको घाउ जाँच केश फारम ।
जिल्ला सर्लाही जमुनिया गा.वि.स. वडा नं. ६ बस्ने रामप्रसाद रायलाई ऐ.ऐ. बस्ने रामवृक्ष रायसमेतलाई प्रतिवादी किसनन्दन रायसमेतले गोली हानी रामप्रसादलाई मारेको र रामवृक्ष रायलाई घाइते बनाई हातमा नलकटुवा लिई भाग्दै गरेको अवस्थामा किसनन्दन राय, चेतनकुमार राय र उदय रायलाई देखेको हुँ भन्ने व्यहोराको बुझिएका मानिस होमनाथ रायसमेतले लेखाई दिएको कागज ।
प्रतिवादी किसनन्दन रायसमेतले रामवृक्ष रायलाई गोली हानी आँखामा चोट पुर्याएकोमा घाइते रामवृक्ष रायले उपचार गराएको विभिन्न किसिमका कागजातहरू ।
जिल्ला सर्लाही, सलेमपुर-५ बस्ने सुरेन्द्र राय बरहथवाबाट घर आउँदै गर्दा बाटामा रोकी अपरिचित व्यक्तिहरूले साथमा रहेको नगद तथा मोबाइलसमेत खोसी लुटपाट गरी छाडेकोमा सो कुरा आफ्नो भिनाजु नाता पर्ने मृतक रामप्रसाद रायलाई सुनाउँदा मृतक रामप्रसाद रायले निज लुटेराहरूलाई पत्ता लगाई पक्राउ गर्नुपर्छ भन्ने कुरा प्रतिवादी किसनन्दन राय, चेतनकुमार राय र उदय रायसमेतले थाहा पाई मार्ने योजनासमेत बनाएकोमा मिति २०६४।५।१ गते बेलुका हामी दुवै जना घरतर्फ गइरहेको अवस्थामा बद्री पासवानको घर नजिकै पुग्दा प्रतिवादी किसनन्दन राय, चेतनकुमार राय र उदय रायसमेतले हामी माथि गोली हानी म घाइते भई भुईंमा लडेको थिएँ, उपचारको क्रममा रामप्रसादको मृत्यु भएको र म सिकिस्त भई काठमाडौं वीर अस्पतालमा उपचार गराई ठीक छु, निज प्रतिवादीहरूले मलाई पनि मार्ने मनसायले गोली चलाएको हो भन्ने व्यहोराको घाइते रामवृक्ष रायको कागज ।
जाहेरवालाको दाजु रामप्रसादलाई र रामवृक्षसमेतलाई प्रतिवादी किसनन्दन राय, चेतनकुमार राय र उदय रायसमेतले गोली हानी घाइते बनाएकोमा रामप्रसादको मृत्यु भएको हो । निज अभियुक्तहरू गाउँघरमा बदमास प्रकृतिको व्यक्तिहरू हुन भन्ने व्यहोराको रामविनयसमेतले गरेको कागज ।
अनुसन्धानको क्रममा पक्राउ नपरी भागी फरार रहेका प्रतिवादी चेतनकुमार राय र उदय रायसमेतको घर ठेगानामा गई खोजतलास गर्दा घर छाडी भारततर्फ लुकी छिपी बसेको भन्ने व्यहोराको प्रहरी प्रतिवेदन ।
प्रतिवादीहरूले मृतक रामप्रसाद रायलाई कर्तव्य गरी मारेको र रामवृक्ष यादवलाई गोली प्रहार गरी ज्यान मार्ने उद्योगको कसुर गरेको पुष्टि हुन
आयो । तसर्थ प्रतिवादीहरूले मृतकलाई गोली प्रहार गरी मारेको अभियोगमा प्रतिवादीहरू किसनन्दन राय, चेतनकुमार राय र उदय रायसमेत उपर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(१) नं. को कसुर अपराधमा ऐ. महलको १३(१) नं. अनुसार सजाय हुने मागदाबी लिइएको छ । प्रतिवादीहरूले रामवृक्ष यादवलाई ज्यान मार्ने उद्योगको कसुर अपराध गरेकोमा प्रतिवादीहरू उपर ऐ. महलको १ र १५ नं. कसुर अपराधमा ऐ. महलको १५ नं. अनुसार सजाय होस भन्नेसमेत व्यहोराको अभियोग मागदाबी ।
प्रतिवादी उदय राय, चेतनकुमार राय र मसमेत गाउँमा धेरै मानिसलाई मृतक रामप्रसाद रायले आफू माओवादी छ भनी आतंक गरी चन्दा उठाउने, गाउँका चेलीबेटीलाई बेइज्जती गर्ने गरी आएका थिए । एकपटक मलाई अपहरण गरी लगी बन्दक बनाई चन्दा माग्दा नदिएको हुँदा कुटपिट गरी मरणासन्न बनाई छोडेका हुँदा गाउँमा ज्यादै दुःख दिने गरेको चन्दा उठाई ल्याई रामवृक्ष यादव र रामप्रसादले मिली खर्च गरेका, निजहरूले गाउँघरमा दुख दिई हिँडेको हुँदा सहन नसकी प्रतिवादीहरू उदय राय, चेतनकुमार राय र म किसनन्दन रायले निज रामप्रसाद र रामवृक्षलाई ठीक पार्न रिसइवी साध्न तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला सिंह समूहमा गई मिति २०६४।५।१ गते अत्याचारीहरू नास्ता खाई आएका मौका छोपी तीनैजनाले बोकेको नलकटुवा बन्दुक लिई बाटो ढुकी बसेको अवस्थामा घटनास्थल आइपुग्दा चेतनकुमार रायले हान भनी वचन दिँदा उदय रायले रामप्रसाद रायलाई गोली फायर गरी सख्त घाइते बनाएको तथा मैले रामवृक्षलाई ज्यान मार्ने उद्योग गरेको र उदय राय र चेतनकुमारले रामप्रसाद रायलाई गोली प्रहार गरी सोही चोटबाट मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्ण भन्ने किसनन्दन राय यादवले अदालतमा गरेको बयान ।
म घटनास्थलमा थिएँ । उदय राय, चेतन राय, कृष्ण नन्दन राय तिनै जनाले नलकटुवा गोली हानी हत्या गरेको हो । जाहेरी दरखास्त मैले दिएको हुँ, मेरो नै सहिछाप हो भन्नेसमेत व्यहोराको जाहेरवाला रामपुकार राय यादवले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरूको गाउँघरमा खराब चाल चलनका मानिस हुन् । उदय, किसन, चेतनसमेतले हात हातमा नलकटुवा बन्दुक लिई आई सो बन्दुकको गोलीबाट रामप्रसाद राय मारेको र रामवृक्षलाई घाइते बनाएको हो । तिनैजनाहरूले गोली चलाई ढाई ढाई प्रहार गर्दा हामीहरू लुकी छिपी हाले । अपराधीहरू भागी फरार भएपछि घटनास्थलमा पुगी मानिसहरूबाट सोधपुछ गर्दा मलाई थाहा जानकारी भयो भन्नेसमेत व्यहोराको घटना विवरणका मानिस रामपृत राय यादवले अदालतमा गरेको बकपत्र ।
मेरो सहिछाप हो, व्यहोरा पनि मेरै हो। अपराधी प्रवृत्तिका व्यक्ति भई निजहरूको चालचलन खराब थियो । चेतनकुमार राय, उदय राय, किसनन्दन रायसमेत भई मृतक रामप्रसाद राय नलकटुवा बन्दुकबाट कर्तव्य गरी मारेको हो । निजहरू नलकटुवा बन्दुकबाट रामवृक्ष घाइते बनाएको हो भन्नेसमेत व्यहोराको जाहेरवालाको साक्षी होमनाथ राय यादवले अदालतमा बकेको बकपत्र ।
व्यहोरा मेरै हो, सहिछाप पनि मेरै हो । गाउँघरमा मृतक रामप्रसाद राय र रामवृक्ष रायसमेतको चालचलन धेरै राम्रो छ । नलकटुवा बन्दुकले किसनन्दन राय, चेतन कुमार राय र उदय रायसमेत भई घाइते रामवृक्षलाई घाइते रामवृक्षलाई घाइते बनाएको मृतक रामप्रसाद रायलाई मारेका छन् भन्नेसमेत व्यहोराको बुझिएका मानिस विकाउ राय यादवले अदालतमा गरेको बकपत्र ।
प्रहरीमा गरेको कागज व्यहोरा मेरो हो, सहिछाप पनि मेरै हो । निजहरूको चालचलन खराब
छ । उदय राय, कृष्ण भन्ने किसनन्दन राय, चेतन कुमार रायसमेतले नलकटुवा बन्दुकले घाइते म र मृतक रामप्रसाद रायलाई मारेको हो । प्रतिवादीहरू आउने वित्तिकै अन्धा धुन्ध गोली चलाई मेरो आँखासमेतमा रगत आउन थाल्यो । रामप्रसादलाई कसको गोलीबाट लागेको हो, मलाई यकिन छैन भन्नेसमेत व्यहोराको घाइते रामवृक्ष रायले अदालतमा बकेको बकपत्र ।
जाहेरी मैले दिएको हुँ, सो व्यहोरा मेरो हो, सहिछाप पनि मेरै हो । प्रतिवादीहरू खराब प्रवृत्तिका व्यक्ति हुन् । नलकटुवा पेस्तोलले चेतनकुमार राय, किसनन्दन राय, उदय रायसमेत भई मृतक रामप्रसादलाई मारी रामवृक्षलाई घाइते बनाइएको हो भन्नेसमते व्यहोराको जाहेरवाला सोनेलाल रायले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी किसनन्दन रायले घाइते रामवृक्ष राय वारदात नजिकको हुँदा निजलाई गोली हनेका
होलान् । रामप्रसादलाई मारेको होइन । म उसलाई चिन्दिन बताएकोले थाहा पाएको हुँ । रामप्रसाद रायलाई मारेको मेरो आँखाले देखेको होइन । रामवृक्षको घरमा जाँदा निज रामवृक्ष रायलाई घाइते भएको देखेको
हुँ । त्यहाँ सोधपुछ गर्दा रामवृक्षले नै मलाई ७/८ जना भई बन्दुक पड्काई घाइते बनाएको हुन, सोमध्ये किसनन्दनलाई मात्र चिन्दछु, को कसको गोलीबाट म घाइते भएँ यकिन हुन सकिन भनी बताएका
थिए । मृतक रामप्रसादलाई कसको गोलीबाट लागेको हो बताएका थिए । तिनीहरू बाहिरका मानिसहरू थिए । तिनीहरूलाई म चिन्दिन भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्ण भन्ने किसनन्दन रायको साक्षी सिताराम रायले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी चेतनकुमार राय नाउँको म्याद मिति २०६६।८।१२ मा र प्रतिवादी उदय रायको नाउँको म्याद मिति २०६७।९।१३ मा तामेल भएको म्यादमा हाजिर नभई फरार रहेका मिति २०६८।५।१७ मा अदालबाट निजहरूको अंश रोक्का रहेको मुचुल्का ।
फरार रहेका प्रतिवादी चेतनकुमार राय र प्रतिवादी उदय रायका हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी राखिदिएको छ । घटनाक्रम प्रत्यक्षदर्शीको बकपत्रसमेतका आधारबाट प्रतिवादी कृष्ण भन्ने किसनन्दन राय स्वयम् मौजुद रही गोली प्रहार गरेको प्रतिवादीले अभियोग दाबीबमोजिम ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम र ऐ. को १५ नं. बमोजिम कसुर गरेको ठहर्छ । प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुन्छ । ठूलो खतमा सजाय भएकोले ज्यान मार्ने उद्योगतर्फ सजाय गर्न
परेन । प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय चर्को हुने हुँदा १६ वर्ष कैद हुने उपयुक्त हुने ठानी अ.बं. १८८ नं. बमोजिम राय जाहेर गरिएको छ भन्ने व्यहोराको सर्लाही जिल्ला अदालतको मिति २०६८।८।१५ को फैसला ।
घटनाका प्रत्यक्षदर्शी जाहेरवालाहरूले अदालतमा आई बकपत्र गर्दा म पुनरावेदकको गोली प्रहारबाट मृतकको मृत्यु भएको भन्ने कुरा उल्लेख गर्न नसकेको अवस्थामा मउपर ज्यानसम्बन्धी १५ नं. को कसुर मात्र स्थापित हुँदा हुँदै ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी कृष्ण भन्ने किसनन्दन राय यादवलाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको सुरू सर्लाही जिल्ला अदालतको मिति २०६८।८।१५ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति २०७०।२।२८ को फैसला ।
यसमा म प्रतिवादीले मिति २०६६।७।६ मा प्रहरीमा बयान गर्दा सवाल १० को जवाफमा मैले फायर गरेको गोली रामवृक्ष रायलाई लागी घाइते बनाएको, पुनः गोली फायर गर्दा गोली नपड्केको भनी बयान गरेको र अदालतमा पनि सोहीबमोजिम बयान गरेको छु । यसैगरी रामवृक्ष रायले सर्लाही जिल्ला अदालतमा बकपत्र गर्दा सवाल १६ को जवाफमा “मलाई कसको गोली लागेको हो यकिन छैन” भनी बकपत्र गरेको अवस्था छ । तसर्थ मैले पड्काएको गोलीबाट मृतकको मृत्यु भएको हो भनी कुनै स्पष्ट प्रमाणले प्रमाणित नभएको अवस्थामा मलई सर्वस्वसहित जन्मकैद हुने ठहराएको सुरू सर्लाही जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मलाई ज्यान मार्ने उद्योगमा सजाय गरिपाउँ भन्ने प्रतिवादी किसनन्दन राय यादवको मिति २०७१।५।२२ मा यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक तथा साप्ताहिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी कृष्ण भन्ने किसनन्दन राय यादवको तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री नारायणप्रसाद देवकोटा तथा विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुंगेलले यी प्रतिवादीले मिति २०६६।७।६ मा प्रहरीमा बयान गरेको सवाल जवाफ १० मा “ मैले फायर गरेको गोली रामवृक्ष रायलाई लागी घाइते बनाएको, पुन: गोली फायर गर्दा गोली नपड्केको भनी बयान गरेका र सोही व्यहोराको बयान मिति २०६६।७।२५ मा अदालतमा गरेको बयानको स.ज. ५ मा उल्लेख गरेको देखिन्छ, चस्मदित गवाह, घाइते तथा जाहेरवालाको बकपत्रबाट समेत कसको गोलीले प्रहार भएको भन्ने कुराको पुष्टि नै भएको छैन । त्यसैगरी जाहेरवाला सोनेलाल रायले मिति २०६७।६।११ मा सर्लाही जिल्ला अदालतमा गरेको बकपत्रको सवाल २२ र २३ को जवाफमा कसको गोली लागेको खुलाउन सक्दिन भनी भनेकोसमेत आधारमा विना प्रमाण अनुमानको भरमा कर्तव्य ज्यानको कसुरमा सर्वस्वसहित जन्म कैद हुने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीले स्वीकार गरेको कसुर ज्यान मार्ने उद्योगमा सजाय होस भनी गर्नुभएको बहससमेत सुनियो ।
मिसिल संलग्न सम्पूर्ण तथ्य प्रमाण अध्ययन गरी विद्वान् कानून व्यवसायीहरूको उपरोक्त बहस जिकिर सुनी प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद हुने ठहरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेको छ वा छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा किसनन्दन रायसमेतले गोली हानी मेरो भाई रामवृक्ष राय यादवलाई घाइते बनाएको र रामप्रसाद रायलाई गोली लागि उपचारको क्रममा निजको मृत्यु भएको हुँदा अभियुक्तहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही होस् भन्ने व्यहोराको जाहेरी दरखास्त, प्रतिवादीहरूले मृतक रामप्रसाद रायलाई कर्तव्य गरी मारेका र रामवृक्ष यादवलाई गोली हानी ज्यान मार्ने उद्योगको कसुर गरी ज्यानसम्बन्धी महलको १, १३(१) र १५ नं. विपरीतको कसुर अपराधमा ऐ. महलको १३(१) र १५ नं.अनुसार सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी भएकोमा प्रतिवादी कृष्ण भन्ने किसनन्द रायले अधिकारप्राप्त अधिकारीसमक्ष पीडित रामवृक्ष रायलाई गोली फायर गरी घाइते बनाएको छु । मृतक राम प्रसादलाई मैले मारेको होइन । चेतन राय र उदय रायले रामप्रसादलाई गोली प्रहार गरी सोही चोटको कारणबाट निजको मृत्यु भएको हो भन्ने व्यहोराको बकपत्र गरेकोमा सुरू अदालतबाट अभियोग दाबी ठहर गरी सजाय गर्ने गरेको फैसला पुनरावेदन अदालत, जनकपुरबाट सदर भएउपर प्रतिवादी कृष्ण भन्ने किसनन्दन राय यादवको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ आज यस इजलासमा पेस हुन आएको पाइयो ।
३. यसमा प्रतिवादीको मुख्य पुनरावेदन जिकिरमा निजले ज्यान मार्ने उद्योगको कसुर मात्र गरेकोमा ज्यान मारेको कसुरमा सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण छ भन्ने रहेको छ । सो सम्बन्धमा हेर्दा, मिसिल संलग्न कागज प्रमाणबाट मृतक रामप्रसाद रायको मृत्यु प्रतिवादीहरूले प्रहार गरेको गोलीबाट भएको र रामवृक्ष घाइते भएका भन्ने तथ्यमा कुनै विवाद देखिँदैन ।
४. प्रतिवादी कृष्ण भन्ने किसनन्दन राय, उदय राय र चेतनकुमार रायसमेत उपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १३(१) र १५ नं. को कसुर अपराधमा ऐ. महलको १३(१) र १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको छ । प्रतिवादी उदय राय र चेतनकुमार राय हालसम्म फरार रहेका छन् । प्रतिवादी कृष्ण भन्ने किसनन्दन राय अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा पूर्ण साबिती रहेको देखिन्छ । अदालत समक्षको बकपत्रमा घाइते रामवृक्षले प्रतिवादीहरूले मृतक रामप्रसाद रायसमेतलाई मार्ने योजना गरेकोमा सहमत भई निजहरूलाई मार्न कुरी बसेको अवस्थामा फरार प्रतिवादी चेतन रायले वचन दिएको र अर्को फरार प्रतिवादी उदयकान्त रायले चलाएको गोली मृतक रामप्रसाद र आफूलाई पनि लागेको र आफू भने हाल उपचारबाट बाँचेको भनी उल्लेख गरेको देखिन्छ । यी प्रतिवादीसमेतको गोली प्रहारबाट मृतक रामप्रसाद रायको मृत्यु भएको र रामवृक्ष राय घाइते भएको भन्ने जाहेरवालाहरूको किटानी जाहेरी रहेको छ । मौकामा बुझिएका घटना विवरणका कागज गर्ने मानिसहरूले यी प्रतिवादी किसनन्दन रायसमेतको गोली प्रहारबाट मृतक रामप्रसाद रायको मृत्यु र रामवृक्ष राय घाइते भएको कुरा उल्लेख गरेका छन् । घटनाका पीडित प्रत्यक्षदर्शी रामवृक्ष रायले अनुसन्धानमा कागज गर्दा हाल पक्राउ परेका प्रतिवादी किसनन्दन रायले ताकेर गोली हानी घाइते पारी रामप्रसादलाई कर्तव्य गरी मारी मसमेतलाई मार्ने मनसायले घाइते बनाएको हो भन्ने र निजले अदालतसमक्षमा आई बकपत्र गर्दा प्रतिवादी किसनन्दन रायसमेतले चलाएको गोली लागी रामप्रसादको मृत्यु भएको र म घाइते भएको हुँ भन्ने व्यहोराको बकपत्र गरिदिएका छन् । उक्त घटना वारदातमा आफ्नोसमेत संलग्नता रहेको कुरामा प्रतिवादी किसनन्दन रायले अधिकारप्राप्त अधिकारी र अदालतसमक्षको बयानमा समेत साबित रहेका छन् । आफूले घाइते रामवृक्ष रायलाई गोली प्रहार गरी ज्यान मार्ने उद्योगको अपराधसम्म गरेको हो । मैले फायर गरेको गोलीबाट रामप्रसाद मरेको नहुँदा, मलाई ज्यान मारेको कसुरमा नभई सोको उद्योगको कसुरमा सजाय हुनुपर्छ भन्ने प्रतिवादी किसनन्दन रायको जिकिर रहेको छ । अर्को फरार प्रतिवादी चेतन रायले वचन दिएपछि प्रतिवादी उदय रायको गोली प्रहारबाट रामप्रसाद रायको मृत्यु भएको र आफूले हानेको गोलीले घाइते रामवृक्षलाई लागेको हुँदा ज्यान मार्ने उद्योगको कसुरमा मात्र सजाय पाउनुपर्ने हो भन्ने प्रतिवादी किसनन्दन राय यादवको पुनरावेदन जिकिर रहेको छ ।
५. सो जिकिरको सम्बन्धमा मिसिल संलग्न कागज र प्रमाणहरू केलाई हेर्दा मुख्यतः फौजदारी वारदातमा घटनाबारे थाहा पाउने र देख्ने व्यक्ति, पीडित, घाइते र प्रतिवादी नै हुन्छन् । ज्यान अपराधको वारदातमा पीडित घाइते यदाकदा मात्र हुने गर्छन्, घटनाबारे यथार्थ जानकारी हुने व्यक्ति त प्रतिवादी र निजहरूसँगै रहेका व्यक्ति नै हुन्छन् । घटनाको सम्बन्धमा निजहरूले कस्तो अवस्था र परिस्थितिमा उक्त घटना घटेको भनी उल्लेख गरेका हुन्छन्, त्यतिलाई मात्र सुक्ष्म तरिकाले केलाएर विश्लेषण गरी हेर्नुपर्ने हुन्छ । प्रस्तुत वारदातमा मौकामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा प्रतिवादी किसनन्दन राय यादवले आफूले हानेको बन्दुकबाट निस्केको गोलीले रामवृक्षलाई लागेको र निज घाइते भएका हुन्, अतः आफूबाट ज्यान मार्ने उद्योगसम्मको अपराध भएको भन्नेमा निजको साबिती रहेको छ । जाहेरीलगायत प्रहरीमा कागज गर्ने प्रायसः सम्पूर्ण व्यक्तिहरूले प्रतिवादीमध्ये उदयकान्त र किसनन्दन रायले फायर गरेको गोलीबाट रामप्रसाद राय यादव र रामवृक्षलाई लागेको हो, रामप्रसाद राय उपचार गर्न लाँदै गर्दा मरे, रामवृक्ष उपचार गर्दै जाँदा बाँचे भन्ने रहेको छ । प्रहरीमा कागज गर्ने एकजना व्यक्ति रामप्रवेशले मात्र प्रतिवादी कृष्णनन्दन रायले फायर गरेको गोलीबाट रामवृक्षलाई लागेको हो भनेका छन् । घटना विवरण कागज गर्ने केही व्यक्तिहरूले आफूले वारदात देखेको भनेका छन् । जाहेरवाला रामपुकार राय यादव, सोनेलाल र प्रहरीमा कागज गर्ने घटना विवरण कागज गर्ने व्यक्ति रामपृत राय यादव, विकाउ राय यादवले (स.ज. १२) ले अदालतको बकपत्रमा प्रतिवादीहरूले मृतकलाई गोली हानी मारी रामवृक्षलाई घाइतेसमेत बनाई भागेका हुन् भनी लेखाएका मिसिल संलग्न प्रमाणबाट देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रहरीमा कागज गर्ने यी व्यक्तिहरू अदालतमा उपस्थित भई गरेको बकपत्रलाई मात्र प्रमाणमा लिनुपर्ने भन्ने कानूनी व्यवस्था रहेको हुँदा यी व्यक्तिहरूको भनाईलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिन्छ ।
६. वारदातको पृष्ठभूमि र वारदात हेर्दा, मृतक रामप्रसाद राय र घाइते भएका रामवृक्ष राय यादव पहिला माओवादीमा लागी गाउँघरमा ज्यादती गरी सताएका र यी प्रतिवादीलाई एकपटक अपहरण गरेरसमेत लगेको रिसइवी साध्न मृतक पक्षहरूलाई प्रतिवादीहरू मिली मार्ने योजना बनाएको भन्ने मिसिल संलग्न कागजातबाट देखिन्छ । वारदातको दिन तीनैजना प्रतिवादीहरूले आफ्नो साथमा हतियार बोकी बाटो ढुकी बसेको अवस्थामा मृतक र घाइते व्यक्तिसमेत मिति २०६४।५।१ गतेका दिन बाढी पीडितलाई राहत बाँडी घरको छेउमा आई पुग्दा तीनै जना प्रतिवादीहरूले मृतक पक्षहरूलाई गोली फायर गर्दा रामप्रसाद राय र रामवृक्ष रायलाई गोली लागेकोमा उपचारको क्रममा रामप्रसादको मृत्यु भएको देखिन्छ भने अर्का रामवृक्ष राय उपचार गर्दा बाँचेकाले घाइते भएका देखिन्छन् । प्रतिवादीमध्ये किसनन्दन राय पक्राउ परी अधिकारप्राप्त अधिकारीसमक्षको मौकाको बयानको अतिरिक्त अदालतको बयानमा पनि आफूले फायर गरेको गोलीबाट रामवृक्ष यादवलाई लागेको हो भन्नेसम्मका कसुरमा साबित हुन्छन् । वारदातको पृष्ठभूमिलाई हेर्दा तीनैजना प्रतिवादीहरूले दुवैजना मृतक र घाइतेलाई गोली हानी मार्ने पुर्व योजना र तयारी गरेको देखिन्छ । तर कुन प्रतिवादीले कुन व्यक्तिलाई गोली हान्ने भन्ने सम्वन्धमा सबै प्रतिवादीहरूबीच कुनै पूर्व सल्लाह भएको कहिँ कतैबाट देखिँदैन । कुन प्रतिवादीले कुन व्यक्तिलाई ताकेर गोली हानेको
हो ? गोली हान्ने समयको विन्दुसम्म पनि सो तथ्यबारे प्रतिवादीहरू यकिन भएको भन्ने मिसिल संलग्न प्रमाणबाट भटिँदैन । मृतक रामप्रसाद र रामवृक्ष घटनास्थल आइपुग्दा सबै प्रतिवादीहरूले एकैचोटी बन्दुकबाट मृतक र घाइते पक्षहरूलाई गोली फायर गरेको भन्ने छ । कसले कसलाई गोली हान्ने भन्ने पनि सो अवस्थासम्म प्रतिवादीहरूबीच किटान गरी सल्लाह भएको देखिँदैन । बन्दुक फायर गर्दा प्रतिवादी किसनन्दन रायले घाइते बनेका रामवृक्षलाई नै ताकेर हानेको पनि निजले भनेका छैनन् । प्रतिवादीहरूबाट एकैचोटी फायर भएको गोली परिणामतः मृतक रामप्रसाद राय र घाइते रामवृक्षलाई लागेकोमा प्रतिवादी उदयकान्तले फायर गरेको गोली मृतक रामप्रसाद रायलाई र यी प्रतिवादी किसनन्दन रायले फायर गरेको गोली घाइते रामवृक्षलाई लागेको भनी प्रतिवादी किसनन्दन रायको मौकाको बयानमा मात्र उल्लेख हुन गएको
देखिन्छ । यी तीन प्रतिवादीहरू मध्ये कसले हानेको गोली कसलाई लाग्यो भनी यकिन गर्ने कुनै आधार देखिन्न । प्रतिवादी किसनन्दन रायले आफूले फायर गरेको गोली रामवृक्ष रायलाई लागेको भन्ने निजको भनाई रहेको छ । घाइते रामवृक्षलाई एउटा गोली र केही छर्राहरू लागेको भन्ने घाउ जाँच केश फारमको व्यहोराबाट देखिन्छ । प्रतिवादी किसनन्दन रायको आफूले पनि बन्दुक फायर गरेको भन्ने व्यहोराको बयानले केश फारमको उक्त तथ्यलाई पुष्टि गर्दछ । मृतक रामप्रसाद र घाइते रामवृक्षलाई गोली हानी मार्ने सल्लाह, योजना वा तयारीमा यी प्रतिवादीसमेत कार्यगतरूपमा उत्रेका र घाइते रामवृक्षले प्रतिवादीहरूले फायर गरेको गोली लागी रामप्रसादको मृत्यु भएको र आफूसमेत सख्त घाइते भएको भनी मौकामा गरेको कागजलाई समर्थन गर्ने गरी अदालतमा समेत बकपत्र गरिदिएका छन् ।
७. घाइते पीडित व्यक्तिको मौकाको र अदालतसमक्ष गरेको उक्त बकपत्रको व्यहोरालाई महत्त्वपूर्ण रूपमा लिनुपर्ने हुन्छ । प्रतिवादीको मौकाको बयानलाई उसैको पक्ष र विरूद्धमा जती महत्त्वपूर्णरूपमा हेरिन्छ मौकाको घाइते व्यक्तिको भनाईलाई पनि कसुर पुष्टि गर्न प्रमाण प्रयोजनको लागि प्रतिवादीकै विरूद्धमा प्रतिवादीको भनाई भन्दा कम महत्त्वको रूपमा लिनु हुँदैन । प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) मा कुनै काम घटना वा अवस्थाका सम्बन्धमा सो काम, घटना वा अवस्थाबाट पीडित भएका व्यक्ति मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ भनी भएको व्यवस्थाअनुसार घटनाबाट पीडित व्यक्तिले मौकामा प्रहरीसमक्ष र अदालतमा गरेको बकपत्रको व्यहोरालाई घटना वारदातसँग जोडेर हेर्दा उक्त बकपत्रलाई प्रमाणको रूपमा अवमूल्यन गर्न मिल्दैन । तसर्थ घटनाको प्रकृति, मृतक, घाइते व्यक्ति, प्रतिवादीहरू बीचको पूर्व रिसइवी तथा घटनाबाट पीडित / घाइते व्यक्तिको बकपत्रसमेतको आधारमा प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मनासिबै देखिन आयो ।
८. अत: माथि उल्लिखित तथ्य, व्यवस्था एवं विवेचनासमेतको आधारमा प्रतिवादी कृष्ण भन्ने किसनन्दन राय यादवलाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको सुरू सर्लाही जिल्ला अदालतको मिति २०६८।८।१५ को फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको मिति २०७०।२।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । ज्यान मार्ने उद्योगमा सजाय गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. दीपककुमार कार्की
इजलास अधिकृत : शकुन्तला कार्की
इति संवत् २०७३ साल पुस ३ गते रोज १ शुभम् ।