निर्णय नं. ९८३१ - अंश चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला मिति : २०७४।०१।२९
०७१-CI-१४७८
मुद्दा : - अंश चलन
पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला, शंकरपुर गाउँ विकास समिति वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं. १० गोल्फुटार बस्ने शर्मिला मुक्तान
विरूद्ध
प्रत्यर्थी / वादी : सर्लाही जिल्ला, शंकरपुर गाउँ विकास समिति वडा नं. ५ बस्ने अनिता लामा मुक्तानसमेत
वस्तुतः भोगबन्धकीको लिखतले स्वामित्ववालाको स्वामित्व समाप्त गर्दैन । भोगबन्धकीवाला साहुले असामीको ऋण चुक्ता नगरेसम्म लिखतअनुसारको सम्पत्तिमा भोगाधिकारको हैसियतसम्म राख्ने हुँदा सम्पत्तिको स्वामित्वलाई निस्तेज पार्दैन । मुलुकी ऐन, लेनदेन व्यवहारको ३ नं. अनुसार भोगबन्धकी लेखाई लिएकोमा लिखत भएका मितिले २ वर्षभित्र अचल सम्पत्ति चलन गर्नुपर्छ वा चलन गर्न नदिए चलन चलाई माग्न नालिस गर्नुपर्छ । सो म्यादभित्र नालिस नदिए बन्धकी लिखत कपाली सरह हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइने ।
(प्रकरण नं. ३)
लेनदेनसम्बन्धी विषयमा सम्बन्धित साहुले नालिस लिई अदालत प्रवेश गरेको अवस्थामा सोही मुद्दाको रोहबाट बुझ्नु पर्ने प्रमाण बुझी निर्णय गर्नुपर्ने हुन्छ । साहुको उजुर नपर्दै ऋण बन्डा लाग्ने वा नलाग्ने भनी निष्कर्षमा पुग्न कानूनसम्मत र व्यवहारिकसमेत नहुने ।
(प्रकरण नं. ५)
पुनरावेदक / प्रतिवादीको तर्फबाट :
प्रत्यर्थी / वादीको तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्नेः
मा.जिल्ला न्यायाधीश श्री कैलाश के.सी.
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री विनोद शर्मा
माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी
फैसला
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको पुनरावेदन परी पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
मूल पुरूष विपक्षी गोपालबहादुर मुक्तान निज गोपालबहादुर मुक्तानको दुई श्रीमतीमा जेठी म वादी अमिता लामा कान्छी प्रतिवादी शर्मिला मोक्तान हुन् । अमितातर्फ एक छोरी म वादी अमृता र शर्मिलातर्फ एक नाबालक छोरी गरिमा भई हामी वादी प्रतिवादी जम्मा ५ अंशियार छौं । म वादी अमृताको हालसम्म विवाह भएको छैन । हामी वादी प्रतिवादीबीच हालसम्म कानूनबमोजिम अंशबन्डा भएको छैन । विपक्षीले अंश नदिएकोले सम्पूर्ण अंश हक लाग्ने श्री सम्पत्ति विपक्षीहरूकै जिम्मा हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी म वादीमध्येका अमृताको विवाह खर्च छुट्टाई सम्पूर्ण श्री सम्पत्तिलाई ५ भाग लगाई ५ भागमध्ये २ भाग अंश पाउँ भन्नेसमेत व्यहोराको फिराद पत्र ।
सगोलका मूल व्यक्ति सासु चन्द्रमाया मुक्तान हुनुहुन्छ । मेरो नाउँमा सगोलको सम्पत्ति केही पनि
छैन । विपक्षी मेरो सल्लाह नमानी आफूखुसी मबाट अलग बस्न थालेकीले मेरो घर व्यवहार चलाउन मुस्किल भएको हुँदा २०४९ सालमा म गोपालले शर्मिलासँग विवाह गरेको हुँ । म गोपालको समान पुस्तामा मेरो आमा चन्द्रमाया हुनुहुन्छ । अंश भाग लगाउनु पर्ने सम्पत्ति आमाको जिम्मामा नै छ । मेरो भागमा आउने सम्पत्तिबाट मात्रै विवाह खर्च पर सारी अन्य सम्पत्तिबाट मात्रै अंश पाउने हुन भन्नेसमेत व्यहोराको प्रतिवादी गोपालबहादुर मुक्तानको प्रतिउत्तर पत्र ।
घरको मुख्न व्यक्ति चन्द्रमाया हुनुहुन्छ । यस वहाँलाई बुझी पाउँ । विपक्षी वादी केवल अंशियार नाताले मात्र अंश माग्न आउनु भएको हो । २०/२२ वर्ष पहिलेदेखि घर, परिवार त्यागी घर व्यवहारको वास्ता पनि राख्नु भएको छैन । श्रीमान्को कमाईले घर व्यवहार धान्न मुस्किल छ । मैले ऋण धन गरी घर बनाउने रकम जुटाएको हो । उक्त रकम भाखामा तिर्न बुझाउन नसके घर जग्गा बिक्री गरी तिरौंला भनी घर बन्धकी राखेको हो । तसर्थ सासुसमेतलाई झिकाई नियमानुसार बन्डा लाग्ने सम्पत्तिबाट बन्डा गरियोस भन्नेसमेत व्यहोराको प्रतिवादी शर्मीला मुक्तानको प्रतिउत्तर पत्र ।
म साहिँलो छोरा गोपाल र बुहारी शर्मिला मुक्तानसँग बस्दछु । अन्य चारै भाई छोराहरू छुट्टी भिन्न भई बसेको छन् । अब अरूसँग लिनु दिनु छैन । वादी अमिता र अमृताले गोपालबहादुर मुक्तानको भागबाट अंश पाउने हो । कान्छी श्रीमती शर्मिला मुक्तानको पनि एउटी छोरी छन् । निजको नाम गरिमा मुक्तान हो भन्नेसमेत व्यहोराको बुझिएकी चन्द्रमाया मुक्तानले गरेको बयान कागज ।
प्रतिवादीले दाखिला गरेको तायदाती फाँटवारीमा उल्लिखित प्रतिवादी चन्द्रमायाको नाममा दर्ताको सम्पत्ति र प्रतिवादी शर्मिलाको नाममा दर्ता भएको घर जग्गालाई २ भाग लगाई एक भाग प्रतिवादी चन्द्रमायाको अंश भाग छुट्टाई बाँकी १ भागमध्ये विवाह गर्न बाँकी अंशियारको अंश बन्डाको १७ नं. बमोजिम विवाह खर्च परसारी बाँकी सम्पत्तिलाई ५ भाग लगाई त्यसमध्येबाट वादीहरूले २ भाग अंश बन्डा छुट्टाई लिन पाउने ठहर्छ । साथै प्रतिवादी शर्मिलाले कि.नं. १७९० र १७९३ को जग्गामा घर बनाउनको लागि सो जग्गा भोगबन्धकी धितो राखी लिएको ऋण रू.२९,००,०००/- समेत अंश बन्डाको १८ नं. ले अंशियारबीच बन्डा लाग्ने नै हुँदा सो ऋण रकम लाई २ भाग लगाई त्यसको १ भागलाई पुन: ५ भाग लगाई सो मध्ये २ भाग ऋण वादीहरूले व्यहोर्नु पर्ने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०७०/०१/२३ गतेको फैसला ।
हामी पुनरावेदक वादी र विपक्षीहरूबीच पुस्तावली तथा हामीहरूबीच एक आपसमा अंशबन्डा हुने गरी भएको फैसला सो हदसम्म मिलेको भए तापनि विपक्षी प्रतिवादीले तिमीहरूलाई निरअंशी बनाइदिन्छु भनी हाम्रो अंश हक मार्नका लागी जालसाजी तवरले खडा गरेको भोग बन्धकीको लिखतबाट लिएको रकमलाई घर बनाउन ऋण भनी लिएकोले सो ऋण हामी वादीसमेतले व्यहोर्ने गरी भएको फैसला त्रुटिपूर्ण
छ । विपक्षी गोपालबहादुरले जागिरबाट अवकास भएपछि सोबाट आएको रकमसमेत मिलाई काठमाडौंमा जग्गा खरिद गरेको हो । सोपश्चात पनि विपक्षी पिता / पति विदेश गई कमाई ल्याएको रकमबाट घर बनाएको हुँदा उक्त घर जग्गामा हामी पुनरावेदकसमेतको बराबर अंश लाग्ने हुँदा घरको मुख्य व्यक्ति नभएकी प्रतिवादीले तायदातीमा देखाएको झुट्ठा ऋण हामीले समेत तिर्न बुझाउन पर्ने गरी भएको सो हदसम्मको काठमाडौं जिल्ला अदालतको फैसला बदर गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
यसमा २०६३ सालमा जग्गा किनेको र २०६४ सालमा घर बनाएको भन्ने कुरामा विवाद नभएको अवस्थामा २०६७ सालमा पारित भोग बन्धकीको थैलीसमेत बन्डा लाग्ने गरी भएको सुरूको फैसला प्रमाणको मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी झिकाई नियमबमोजिम पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको अदालतको २०७१/०९/१२ गतेको आदेश ।
प्रतिवादी चन्द्रमाया र गोपालबहादुर दुई जना मूल अंशियार कायम गरी दुई भागको एक भाग गोपालबहादुरको अंशमध्ये विवाह गर्न बाँकी अंशियारको मुलुकी ऐन, अंशबन्डाको १७ नं. बमोजिम विवाह खर्च पर सारी पाँच भागको दुई भाग वादीहरूले अंश पाउने ठहर्याएको हदसम्म सुरू फैसलामा वादीको समेत कुनै पुनरावेदन पनि नरहेको र प्रतिवादीहरूको पनि कुनै पुनरावेदन नपरेको हुँदा सोतर्फ कुनै विवेचना गरिरहनु परेन । प्रतिवादी शर्मिला मुक्तानले तायदाती फाँटवारीमा देखाएको भोगबन्धकको ऋण रू.२९,००,०००/- सम्बन्धमा साहुको दाबी उजुर परेको नदेखिँदा साहुको उजुर परेका बखत ठहरेबमोजिम हुने गरी फैसला गर्नुपर्नेमा सो ऋणसमेत बन्डा लाग्ने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७०/०१/२३ मा भएको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई तायदातीमा उल्लिखित भोगबन्धकी ऋणको हकमा साहुको उजुरी परेका बखत ठहरेबमोजिम हुने ठहर्छ भन्नेसमेतको पुनरावेदन अदालत, पाटनको मिति २०७१।९।११ को फैसला ।
उक्त फैसलामा चित्त बुझेन । काठमाडौं, चपली-९क को कि.नं.१७९० र १७९३ को जग्गा र सो जग्गामा बनेको घर घरसगोलको कुनै पनि सम्पत्ति लगानी गरी बनाइएको होइन । उक्त घर जोडदा लागेको ऋण तिर्न नसकी साहुलाई भोग बन्धकी पारित गरी दिएको अवस्थामा व्यवहारिक यथार्थताको विश्लेषण नगरी मेरो नाउँमा जोडिएको सम्पत्तिमा अंश भाग लगाउँदा सोही सम्पत्ति जोड्दा लागेको ऋण बन्डा नलाग्ने भनी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुदा बदर गरी काठमाडौ जिल्ला अदालतको फैसला सदर कायम गरिपाउँ भन्नेसमेतको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो ।
यसमा गोपालबहादुर मुक्तानको दुई श्रीमतीमा जेठी म वादी अमिता लामा कान्छी प्रतिवादी शर्मिला मोक्तान हुन् । अमितातर्फ एक छोरी म वादी अमृता र शर्मिलातर्फ एक नाबालक छोरी गरिमा भई हामी वादी प्रतिवादी जम्मा ५ अंशियार छौं । अविवाहित छोरीको विवाह खर्च परसारी ५ भागको २ भाग अंश पाउँ भन्ने फिराद वादी रहेछ । घरको मुख्य व्यक्ति सासु आमा चन्द्रमाया हुनुहुन्छ । मैले ऋण धन गरी घर बनाउने रकम जुटाएको र घर बन्धकी राखेको हो । तसर्थ सासुसमेतलाई झिकाई नियमानुसार बन्डा लाग्ने सम्पत्तिबाट बन्डा गरियोस भन्नेसमेत व्यहोराको प्रतिउत्तर जिकिर देखियो ।
प्रतिवादी चन्द्रमाया मोक्तानको नाम दर्ताको सम्पत्ति र प्रतिवादी शर्मिला मोक्तानको नाममा दर्ता भएको घर जग्गाबाट वादीले प्रतिवादीहरूबाट अंश पाउने र प्रतिवादी शर्मिला मोक्तानले कि.नं. १७९० र १७९३ को जग्गामा घर बनाउनको लागि सो जग्गा भोगबन्धकी धितो राखी लिएको ऋण रू.२९,००,०००/- समेत अंशबन्डाको १८ नं. ले अंशियार बीच बन्डा लाग्ने ठहर्याई काठमाडौ जिल्ला अदालतबाट फैसला भएको पाइयो । सो फैसलालाई केही उल्टी गरी वादीहरूले अंश पाउने ठहर्याएको हदसम्म सुरू फैसलामा वादीको समेत कुनै पुनरावेदन पनि नरहेको र प्रतिवादीहरूको पनि कुनै पुनरावेदन नपरेको हुँदा सोतर्फ कुनै विवेचना गरिरहनु नपर्ने र भोगबन्धकीको ऋण रू २९,००,०००/- सम्बन्धमा साहुको दाबी उजुर परेको नदेखिँदा साहुको उजुर परेका बखत ठहरेबमोजिम हुने ठहर्याई पुनरावेदन अदालतबाट फैसला भएको पाइयो ।
यसप्रकार वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहर्याई भएको फैसलाउपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन नपरी अन्तिम भइसकेको देखियो । पुनरावेदन अदालतले भोगबन्धकीको ऋण सम्बन्धमा साहुको उजुर परेका बखत ठहरेबमोजिम हुने ठहर्याएको पुनरावेदन अदालतको फैसलाउपर चित्त नबुझाई उक्त भोगबन्धकीको ऋण बन्डा लाग्नु पर्ने जिकिर लिई प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको रहेछ ।
उपरोक्तानुसारको तथ्य रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? सोही विषयमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीको तर्फबाट बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी पेस गर्दा प्रतिवादी गोपालबहादुरका नाउँमा कुनै सम्पत्ति नरहेको, प्रतिवादी चन्द्रमायामा नाउँमा सर्लाही जिल्लाका अंशबन्डा गर्नुपर्ने सम्पत्ति रहेको र प्रतिवादी शर्मिला मुक्तानको नाउँमा दर्ता स्रेस्ता कायम रहेको काठमाडौं, चपली- ९क को कि.नं. १७९० र १७९३ को दुई कित्ता जग्गा र सोमा बनेको घरसमेत रहेको र सो घर जग्गा मिति २०६७/०९/०८ मा र.नं. २८६८ (क) को भोगबन्धकी लिखत पारित गरी साहु कविराज खड्गीलाई दिएको भन्नेसमेत व्यहोरा खुलाई मिति २०६९/१०/२५ मा तायदाती फाँटवारी पेस गरेको देखिन्छ । साहु कविराज खड्गीबाट सो ऋण सम्बन्धमा कुनै दाबी उजुर परेको देखिँदैन ।
३. वस्तुतः भोगबन्धकीको लिखतले स्वामित्ववालाको स्वामित्व समाप्त गर्दैन । भोगबन्धकीवाला साहुले असामीको ऋण चुक्ता नगरेसम्म लिखतअनुसारको सम्पत्तिमा भोगाधिकारको हैसियतसम्म राख्ने हुँदा सम्पत्तिको स्वामित्वलाई निस्तेज पार्दैन । मुलुकी ऐन, लेनदेन व्यवहारको ३ नं. अनुसार भोगबन्धकी लेखाई लिएकोमा लिखत भएका मितिले २ वर्षभित्र अचल सम्पत्ति चलन गर्नुपर्छ वा चलन गर्न नदिए चलन चलाई माग्न नालिस गर्नुपर्छ । सो म्यादभित्र नालिस नदिए बन्धकी लिखत कपाली सरह हुन्छ भन्ने कानूनी व्यवस्था देखिन्छ । शर्मिला मुक्तानका नाउँमा रहेको उल्लिखित कि.नं. १७९० र १७९३ का २ कित्ता घरसहितको जग्गा निज शर्मिलाले कविराज खड्गीलाई रू.२८,००,०००।– मा मिति २०६७।९।८ मा भोगबन्धकी पारित गरी दिएको देखिन्छ । सो भोगबन्धकी सम्बन्धमा उल्लिखित लेनदेन व्यवहारको ३ नं. मा भएको कानूनी व्यवस्थाअनुसार साहुको उजुर परेको देखिँदैन ।
४. मुलुकी ऐन, अंशबन्डाको १८ नं. मा मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारको सगोलको सम्पत्तिबाट वा सगोलको खेति उद्योग व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नं. बमोजिम लगाएको ऋण सबै अंशियारकोलाई भाग लाग्छ भन्ने कानूनी व्यवस्था देखिन्छ । लेनदेन व्यवहारको ८ नं. मा घरको मुख्य भई कामकाज गर्ने वा एकाघरका उमेर पुगेका अरूले गरेको व्यवहारमा मुख्यको सहिछाप वा लिखत भएको व्यवहार मात्र गोश्वारा धनबाट चल्छ भन्ने कानूनी व्यवस्था देखिन्छ । हामी वादीहरूको मन्जुरी नलिई साक्षी पनि नराखी हाम्रो अंश हक मार्ने नियतले उक्त जग्गा भोगबन्धकी दिइएको भन्ने वादीको जिकिर रहेको पाइन्छ ।
५. यसप्रकार प्रतिवादी शर्मिला मुक्तानले मिति २०६७।९।८ मा गरिदिएको भोगबन्धकीको लिखतसम्बन्धी व्यवहार लेनदेनसम्बन्धी विषय रहेको देखिन्छ । लेनदेनसम्बन्धी विषयमा सम्बन्धित साहुले नालिस लिई अदालत प्रवेश गरेको अवस्थामा सोही मुद्दाको रोहबाट बुझ्नु पर्ने प्रमाण बुझी निर्णय गर्नुपर्ने हुन्छ । साहुको उजुर नपर्दै ऋण बन्डा लाग्ने वा नलाग्ने भनी प्रस्तुत मुद्दाबाट निष्कर्षमा पुग्न कानूनसम्मत र व्यवहारिकसमेत हुँदैन । त्यसकारण लेनदेनको विषयमा साहुको नालेस परेका बखत सोही मुद्दाबाट प्रतिवादीले उल्लेख गरेको ऋण वास्तविक हो होइन ? लिखत गर्दा अरू अंशियारहरूको मन्जुरी संलग्नता छ छैन ? प्रतिवादी शर्मिला मुक्तानले लिएको ऋण गोश्वारा धनबाट चल्ने हो होइन ? साहुले को कसबाट सावाँ ब्याज भरी पाउने हो ? भन्नेलगायतका विषयमा सोही मुद्दाबाट निर्क्योलमा पुग्न सकिने हुन्छ ।
६. तसर्थ प्रतिवादीले देखाएको ऋणको सम्बन्धमा साहुको उजुर परेमा सोही मुद्दामा बुझ्नु पर्ने प्रमाण बुझी न्यायिक निष्कर्षमा पुग्न सकिने विषय देखिएकोले सो ऋणको सम्बन्धमा साहुको उजुर परेका बखत ठहरेबमोजिम हुने ठहर्याई पुनरावेदन अदालत, पाटनबाट मिति २०७१।९।११ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. प्रकाशमान सिंह राउत
इजलास अधिकृतः आनन्दराज पन्त
इति संवत् २०७४ साल वैशाख २९ गते रोज ६ शुभम् ।