निर्णय नं. ९८३३ - नाता कायम गरिपाऊँ

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७४।०१।१७
०७३-CI-०१३१
मुद्दा : नाता कायम गरिपाऊँ
निवेदक / प्रतिवादी : कास्की जिल्ला, लेखनाथ नगरपालिका वडा नं. २ बस्ने चुडामणि लामिछानेको छोरा नारायणमणी लामिछाने
विरूद्ध
प्रत्यर्थी / वादी : धादिङ जिल्ला मुरली भञ्ज्याङ गाउँ विकास समिति वडा नं. ३ घर भई हाल मुस्ताङ जिल्ला स्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा शिक्षक पदमा कार्यरत सरिता श्रेष्ठ
पत्नी हो भनी स्वीकारेको साक्षी राखी गरिएको कागजले विवाहको कानूनी मान्यता नै हुन्छ भन्ने पनि होइन तर उक्त कागजले वैवाहिक सम्बन्धमा रहेको आत्मिय र सामाजिक सम्बन्धको स्वीकारोक्ति गरेको छ । विवाह दर्ता गर्नुपर्ने कानून रहे तापनि नेपालमा हालसम्म व्यक्तिगत घटना दर्ता ऐनको प्रभावकारिता नरहेको अवस्थामा प्रेम विवाह सामाजिक साँस्कृतिक विवाहलाई अन्यथा भन्न नमिल्ने ।
(प्रकरण नं. २)
नियुक्तिको फारम भर्दा पतिको नाम नराखेको र नागरिकता लोग्नेको नामबाट किन नलिएको भन्ने प्रश्नमा महिलाले कुन थर लिने उसको स्वनिर्णयको अधिकार रहेको, महिला अधिकारसम्बन्धी महासन्धि (CEDAW) को धारा १६ ले पारिवारिक नामथर छान्ने व्यक्तिको व्यक्तिगत अधिकार हो (Right to choose a family name) भन्ने मान्यता स्थापना भएको अवस्थामा आफ्नो स्वतन्त्र पहिचान सहितको पारिवारिक जीवनको हक रहेको हुन्छ । तसर्थ, नागरिकतामा वा नियुक्तिको फारममा पतिको नाम उल्लेख नगर्नु वा पतिको नामबाट नागरिकता नलिनुको अर्थ श्रीमती होइन भन्ने पुष्टिको आधार हुन नसक्ने ।
(प्रकरण नं. ४)
निवेदक / प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ता पूर्णचन्द्र पौडेल
प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय विष्णुमाया भुसाल, ईश्वरीप्रसाद भट्टराई र वैतनिक अधिवक्ता नारायणप्रसाद देवकोटा
अवलम्बित नजिर :
ने.का.प. २०४६, अंक ११, नि.नं.३९८५
सम्बद्ध कानून :
सुरू फैसला गर्नेः
माननीय न्यायाधीश श्री अजयराज उपाध्याय
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री प्रेमराज कार्की
माननीय न्यायाधीश श्री युवराज सुवेदी
फैसला
न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकार भित्रको हुँदा संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
मेरो माइतिघर धादिङ जिल्लाको मुरलीभञ्याङ गाउँ विकास समितिको वडा नम्बर ३ मा पर्दछ । विपक्षी नारायणमणी लामिछानेको धादिङ जिल्ला घरेलु तथा साना उद्योग विकास शाखा कार्यालयमा कार्यरत हुँदा २०५६ साल चैत्र महिनाको १५ गतेदेखि चिनजान भएको हो । परस्पर चिनजानको अवस्थामा विपक्षीले पहिलो श्रीमतीसँग ५-६ वर्ष अगाडि सम्बन्ध विच्छेद भएको भनी विश्वासमा पारेकोले हाम्रो बीचमा प्रेम सम्बन्ध भई २०५७।११।०६ देखि पटकपटक शारीरिक सम्बन्ध हुँदै आयो । विपक्षी सरूवा भई गएको सबै जिल्लामा म गएको छु । सबै ठाउँमा हामीले श्रीमान् श्रीमतीको रूपमा परिचय दिँदै आएका थियौं । विपक्षी तनहुँमा सरूवा भएपछि दमौलीमा पटकपटक हाम्रोबीचमा श्रीमान् श्रीमतीको रूपमा सम्बन्ध रहँदै आएको र नागरिकता निकाली सकेकाले २०६५।४।१६ मा मलाई श्रीमती हो भनी आफ्नै बहिनी ज्वाई चन्द्र भट्ट र तुलबहादुर क्षेत्री तथा मेरो माइतीतर्फका मनराज भण्डारी, सोम्बले तामाङ, दिपककुमार श्रेष्ठ साक्षी राखी कागज गरिदिनु भएको
छ । मलाई विपक्षी पतिले नै मुस्ताङमा जागिर लगाई दिनु भएकाले २०६५।६।१ देखि मुस्ताङमा कार्यरत रहँदा विपक्षी पति मुस्ताङ जानु भई हामी साथै बसेका छौं । हामी एकै विस्तरामा विपक्षीको अँगालोमा सुतेकोसमेत मसँग फोटो रहेको छ ।११ वर्ष जति विपक्षीसँग मेरो श्रीमान् श्रीमतीको सम्बन्ध भएको र आफ्नो सम्पूर्ण अस्मिता विपक्षी पतिलाई नै सुम्पी पतिकै सतमा रहेकी छु । विपक्षी पतिले १०-११ वर्षसम्म श्रीमतीको रूपमा फकाउँदै कागज गर्दै अन्तमा मबाट टाढा भाग्न खोज्नु भएकाले मिति २०६८।०२।०४ मा महिला हिंसा पीडित सामुदायिक सेवा केन्द्र दमौलीमा छलफल हुँदा जानेको गर म तिमीलाई श्रीमती स्वीकार गर्दिन भन्नु भएकाले बाध्य भई आफ्नो अस्तित्व र पहिचानको लागि यो फिराद पत्र दिन आएको छु । मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको ५(क) नं. अनुसार विपक्षीसँग मेरो श्रीमान् श्रीमतीको नाता कायमगरी इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको वादी सरिता लामिछाने (श्रेष्ठ) को मिति २०६८।२।८।१ को फिराद पत्र ।
विपक्षीको फिराद व्यहोरा झुठा हो । विपक्षीका काका हरिलाल श्रेष्ठ एउटै कार्यालयमा काम गर्ने भएकाले निजकै कारणबाट मिति २०५५ भाद्र १ देखि २०५७ श्रावण ६ सम्म घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, धादिङमा कार्यरत रहँदा विपक्षीसँग चिनजान भएको हो । विपक्षीलाई जागिर खुवाएको मैले होइन विज्ञापन भएको सम्बन्धमा जानकारीसम्म गराई दिएको हो । सिलाई शिक्षक पदमा परीक्षा उतिर्ण गरी आफैँले जागिर खानु भएको हो । म विवाहित हुँ । म सेवारत रहेको जिल्लामा मैले श्रीमती साथमा लिएर गएको छु । मैले मेरो छोरीको उमेरकी विपक्षीसँग त्यस्तो कुनै अनैतिक सम्बन्ध राख्ने प्रश्न नै रहन्न । मिति २०६५।०४।१६ मा गरेको कागज मेरो राजिखुसी बेगर अपहरणको सैलीमा जबरजस्ती गराएको हो । लेखेर ल्याएको कागजमा अर्कैले हस्ताक्षर गरी जबरजस्ती मेरो ल्याप्चे लगाएको हो । कागज गराउँदा काठमाडौंको नयाँबजार स्थित विपक्षीको घर डेरामा गराएको हो कुनै तरहले मैले सहोदर बहिनी ज्वाई श्री चन्द्रबहादुर भट्ट, रोसन पौडेल तथा तुलबहादुर क्षेत्री र तीनवटै बहिनीलाई मलाई अपहरण गरी राखेको घरमा मैले बोलाएको हो । बहिनी ज्वाईहरू चन्द्रबहादुर भट्ट र तुलबहादुर क्षेत्रीलाई पनि जबरजस्ती साक्षीमा सही गराएको हो । मलाई सफाया गर्ने धम्की दिएकाले कागजका सम्बन्धमा कहीँकतै उजुर नगरी बसेको हुँ । मिति २०६५।४।१६ मा गरेको कागज झुट्ठा हो भन्ने कागज व्यहोराबाटै देखिई रहेको छ । कागजमा विपक्षीसँग मिति २०५६।११।६ मा पहिलो पटक शारीरिक सम्बन्ध भयो भनिएको छ भने अदालतमा पेस गरेको फिराद पत्रमा २०५७।११।६ मा पहिलो पटक शारीरिक सम्बन्ध स्थापित भएको भन्ने उल्लेख भएको छ । कागजको व्यहोराबाटै कागज नक्कली बनावटी र झुट्ठा भएको भन्ने देखिई रहेको छ । विपक्षीलाई श्रीमतीको रूपमा आफू कार्यरत कार्यालयहरूमा लगेको तथा श्रीमतीको रूपमा राखेको वा चिनजान गराएको भन्ने झुट्ठा हो । निज विपक्षी कार्यरत कार्यलय, मुस्ताङमा गएको छैन । तीर्थस्थल भएकाले मुक्तिनाथ गएको भएपनि निजलाई भेट्न मुस्ताङ गएको होइन । के कुन कारणले हो विपक्षीले मेरा विरूद्धमा अनेकन स्थानमा उजुर गर्ने गरेको सो मलाई थाहा भएन । मेरो मान मर्यादा इज्जत प्रतिष्ठाविपरीत अन्यायपूर्ण किसिमबाट दायर गरिएको फिराद दाबी झुठा हो । यसबाट फुर्सद दिलाई पाऊँ । हुँदै नभएको झुट्ठा फिराद गरेबापत वादीलाई नै हदैसम्मको सजाय गरी न्याय इन्साफ पाउँ भन्नेेसमेत व्यहोराको मिति २०६८।३।१७।३ मा प्रतिवादी नारायणमणी लामिछानेले पेस गरेको प्रतिउत्तर पत्र ।
प्रतिवादी नारायणमणी लामिछाने र सरिता लामिछाने दमौली स्थित घरेलु कार्यालयको क्वाटरमा सँगै बस्नु हुन्थ्यो । वादी प्रतिवादी एउटै कोठामा सँगै बस्ने सँगै खाने गर्नुहुन्थ्यो । २०६७ सालको दशै तिहारमा सरिता लामिछाने प्रतिवादीकै क्वाटरमा बसेको देखेको हो । उहाँहरूको विवाह भएको रहेनछ भन्ने थाहा थिएन भन्नेसमेत व्यहोराको वादीका साक्षी शंसी गुरूङ र राधा खनालले गरेको एकै मिलानको मिति २०६८।९।१२।३ को बकपत्र ।
फिरादसमेतको व्यहोरासँग म अनभिज्ञ छु । मेरो भन्नु केही छैन । अरू प्रमाण मिसिलमा नै संलग्न छन् भन्नेसमेत प्रतिवादी नारायणमणी लामिछानेका साक्षी दामोदर सिग्देल र रत्नप्रकाश श्रेष्ठले गरेको एकै मिलानको मिति २०६८।०९।१२ को बकपत्र ।
मिति २०६८।०९।२० मा वादीले पेस गरेको मिति २०६५।०४।१६ को विवाहसम्बन्धी कागजको सम्पूर्ण व्यहोरा झुठा हो । वादी सरिता श्रेष्ठसमेतका केटाहरू आएर मलाई जबरजस्ती सरिता बस्ने गरेको कोठा काठमाडौंको नयाँ बजारमा लगी पहिला नै तैयार गरेको कागजमा मेरो हात तानी ल्याप्चे लगाएका हुन् । मैले हस्ताक्षर गरेको होइन । मैले बोलाएका मानिसहरूलाई पनि डरधाकमा पारी सही गर्न लगाएका हुन् यो कागजको कुनै कानूनी मान्यता
छैन । मेरा साक्षी बुझिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी नारायणमणी लामिछानेले अ.बं. ७८ नं. बमोजिम मिति २०६९।०३।१७ मा सुरू जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६५।०४।१६ को विवाहसम्बन्धी कागजको व्यहोरा सत्य साँचो हो । प्रतिवादीले खुसीराजीले किनाराका साक्षीसमेत राखेर कागज गरी हस्ताक्षरसमेत गरेको हो । कागजमा साक्षी बसेका व्यक्तिहरू प्रतिवादीका अत्यन्त नजिकका बैनी ज्वाइँहरू समेत रहेका छन् । कागज जालसाजी नभएको व्यहोरा थाहा हुने हुँदा निज प्रतिवादीले यस अदालतसमक्ष मिति २०६९।०३।१७ लेखाएका सम्पूर्ण व्यहोराहरू झुट्ठा हुन् निजलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको अ.बं. ७८ नं. बमोजिम वादी सरिता लामिछाने (श्रेष्ठ) का वारेस गोपालचन्द्र हडखलेले गरेको मिति २०६९।०३।२१ मा सुरू जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादी नारायणमणी लामिछाने र निजको श्रीमती २०५५ सालमा धादिङमा २०-२५ दिन सँगै बस्नु भएको थियो । उहाँको सम्बन्ध राम्रै
थियो । अरू नारायणमणी लामिछाने र सरिता बैनीको कहाँ कहाँ के कस्तो सम्बन्ध भयो मलाई थाहा भएन । उहाँहरू बीच लोग्ने स्वास्नीको सम्बन्ध भए नभएको मलाई जानकारी भएन । उहाँहरू सँग मेरो सम्बन्ध २०५५ सालमा जागिरको सिलसिलामा भएको
हो । मिति २०६५।०४।१६ को कागज गराउँदा मलाई प्रतिवादीले बोलाए पनि जान सकिन । अपहरण शैलीमा लगेर विवाह गरेको कागज गराएको भनी प्रतिवादीले मलाई भन्नु भएको थियो भन्नेसमेत प्रतिवादीले अ.बं. ७८ नं. बमोजिम बयान गर्दा अदालतमा उल्लेख गरेका प्रतिवादीका साक्षी महेशप्रसाद अधिकारीले मिति २०६९।०५।२४ मा सुरू अदालतमा गरेको बकपत्र ।
मेरो जेठान नारायणमणी लामिछाने र भाउजुको सम्बन्ध राम्रो छ । वादी सरिता लामिछानेलाई घरेलु कार्यालय मुस्ताङमा जागिर लगाई दिएको र विभिन्न कार्यालयमा जाँदा सँगै गएर श्रीमान् श्रीमतीको सम्बन्ध कायम राखे नराखेको कुरा थाहा भएन । मिति २०६५।०४।१६ मा गरेको विवाहसम्बन्धी कागज जबरजस्ती करकापमा गराइएको हो । द्वन्द्वकालिन अवस्थापनि भएको र ज्यानै लिनेसम्मको डरधाक धम्की दिएको कारण बाध्यतावश जबरजस्ती सही गरेको हो । यस्तो कागजले कुनै कानूनी मान्यता राख्दैन । करकापमा कागज नगरेको भए मुद्दा नै पर्ने थिएन । भन्नेसमेत व्यहोराको प्रतिवादीले अ.बं. ७८ नं. बमोजिम बयान गर्दा अदालतमा उल्लेख गरेका प्रतिवादीका बहिनी ज्वाई तथा साक्षी चन्द्रबहादुर भट्ट र तुलबहादुर क्षेत्रीले मिति २०६९।०५।२४ मा सुरू अदालतमा गरेको एकै मिलानको अलग अलग बकपत्र ।
वि-१ मिति २०६५।०४।१६ मा भएको कागजका प्रष्ट उत्रिएका ल्याप्चेहरूसँग न-१ प्रतिवादी नारायणमणी लामिछानेले सुरू तनहुँ जिल्ला अदालतमा २०६९।९।२६।५ मा दिएको नमुना ल्याप्चेहरूसँग मिल्दछ । न-२ न-३ न-४ र न-५ का दस्तखतहरूको तुलनामा वि-२ मिति २०६५।०४।१६ को कागजका दस्तखतहरू भिन्न ढाँचामा रहेको हुनाले न-२ न-३ न-४ र न-५ का दस्तखतहरूसँग वि-२ दस्तखतहरू तुलना योग्य पाइएन भन्नेसमेत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विवादग्रस्त प्रलेख इकाई खुमलटारबाट मिति २०७०।०२।०५ मा विवादित ल्याप्चे तथा हस्ताक्षर परीक्षण भएको सहायक वैज्ञानिक अधिकृत बासुदेव के.सी.को प्रतिवेदन सुरू तनहुँ जिल्ला अदालतमा मिति २०७०।०२।१२ मा प्राप्त भई मिसिल संलग्न रहेको ।
मेरो माइतीघर धादिङ जिल्ला मुरली भञ्ज्याङ गाउँ विकास समिति भएको र विपक्षी नारायणमणी लामिछाने धादिङ जिल्ला घरेलु तथा साना उद्योग विकास शाखा कार्यालयमा कार्यरत हुँदा २०५६ साल चैत्र १५ गतेदेखि चिनजान भई बोलचाल हुँदै जाँदा आफ्नो पहिलेको श्रीमतीसँग सम्बन्ध विच्छेद भएको भनी विश्वासमा पार्नुभएकोले हामीहरू बीच प्रेम सम्बन्ध भई मिति २०५७।११।१६ देखि पटकपटक शारीरिक सम्बन्ध हुँदै आएको १०-११ वर्षसम्म सँगै बसी शारीरिक सम्बन्ध रहेको तथा हामीहरू श्रीमान् श्रीमती भएको कुरा उहाँका नातागोता आफन्तजनलाई थाहाँ दिई उहाँहरूलाईनै साक्षी राखी कागज गरेको भनी मिति २०६५।४।१६ मा भएको कागज वादी पक्षबाट पेस हुन आएको उक्त सक्कल लिखतलाई अ.बं.७८ नं. बमोजिम सनाखत गराउँदा सो लिखतमा परेको सहिछाप मेरो होइन भनी प्रतिवादीले जिकिर लिएकोमा सो लिखतमा परेको सहिछाप र निज प्रतिवादीसँगबाट लिएको नमुना सहिछाप जाँच गर्न पठाउँदा उक्त सहि छाप विशेषज्ञबाट जाँच भई एक आपसमा सहिछाप मिल्ने भिड्ने भनी प्रतिवेदन प्राप्त भएको तथा वादी प्रतिवादीसँगै खाने बस्ने गरेको कुरा उल्लेख गरी वादीका साक्षीले वादी दाबीलाई समर्थन हुने गरी बकपत्र गरेकोसमेतका तथ्य तथा मिसिल संलग्न आधार प्रमाणबाट वादी प्रतिवादीबीच लोग्ने स्वास्नीको नाता कायम हुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू तनहुँ जिल्ला अदालतको मिति २०७०।३।२७।५ को फैसला ।
जिल्ला अदालतको फैसलामा मिति २०६५।४।१६ को कागजलाई आधार लिई वादी दाबी ठहर भएको छ । सो कागज आफैँमा कानूनी मान्यता राख्नसक्ने अवस्थाको नरहेकोले यस्तो कानूनी मान्यता शुन्य रहेको कागजलाई करकापमा गराएको भनेर बदर गराई रहन पर्ने नै हुन्न । कागजको व्यहोरा र सर्त नै गैरकानूनी रहेका छन् । कागजअनुसार विवाह भएको श्रीमतीलाई अस्थाई जागिर लगाइदिने र स्थायीसमेत गराउने भन्नेसमेतको सर्त राखिएको छ । जो कानूनसम्मत छैन । घरसारको कागजबाट विवाह हुने पनि होइन यस्तो कागजलाई आधार लिनै नमिल्नेमा सुरूको फैसलाले लिएको निर्णयधारमा न्यायिक मनको प्रयोग भएको छैन । नाता कायम हुनको लागि प्रत्यक्ष प्रमाण हुनुपर्दछ । गर्भको अवस्था छैन । शरीरिक परीक्षण गरिएको छैन । कोही चस्मदिद गवाह छैन । कहिले वादीसँग शारीरिक सम्पर्क भएको भन्ने नै अलग अलग मिति वादीले उल्लेख गरेको
छ । भेट चिनजान कहिले भएको भन्ने नै मिलेको
छैन । चिनजान भएको भनिएको समय तथा मितिमा मेरो सरूवा इलाममा भइसकेको छ । वादीका साक्षीहरू राधा खनाल र शशी गुरूङसँग म प्रतिवादीको चिनजान नै छैन । वादीले भनेको आधारमा प्रतिवादीसँग लोग्ने स्वास्नीको सम्बन्ध रहेको भन्नेसमेतको बकपत्र अदालतमा यी वादीका साक्षीहरूले गरेका छन् । वादीले जस्तो भनेको त्यसैलाई आधारमानी वादीका साक्षीहरूले बकपत्र गर्नु स्वभाविक हो । वादीका साक्षीहरूले पती पत्नी भई बसेको देखेको वा वादी प्रतिवादीले हामी पति पत्नी भई बसेकोमा चिनजान गराएको भन्न लेखाउँन सकेको पाइन्न । मौखिक प्रमाण प्रत्यक्ष हुनुपर्दछ । वादीका साक्षीहरूले गरेको बकपत्रले प्रत्यक्ष प्रमाणको स्थान ग्रहण गर्नसक्ने अवस्था देखिन्न । यसलाई निर्णयाधार बनाउँन सक्ने देखिन्न । वादीले फिरादमा ११ वर्षदेखि प्रतिवादीलाई लोग्ने मानी आएको र प्रतिवादीले जेठी स्वास्नीसँग सम्बन्ध विच्छेद गरेको भन्ने कुरा ढाँटेको भन्ने उल्लेख गरेको छ । विवाह गर्दा घरसारको सर्तानामा गरी कसैले विवाह गर्दै गर्दैन । मिति २०६५।०४।१६ मा भएको कागजलाई नै वादीले एकमात्र प्रमाणको रूपमा पेस गरेको तथा अदालतले प्रमाणको रूपमा ग्रहण गरेको देखिन्छ । विवाहको कागज गराउँनु भनेकै जालझेल र कपटपूर्ण व्यवहार हो । सुरू जिल्ला अदालतबाट भएको फैसला मौजुदा कानून, नजिर र न्यायको मान्य सिद्धान्तविपरीत भएकाले झुट्ठा दाबीबाट अलग फूर्सद गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी नारायणमणी लामिछानेको पुनरावेदन पत्र ।
पुनरावेदक प्रतिवादीले वादीसँग कुनै नाता सम्बन्ध नरहेको भनी वादी दाबीलाई पुरै इन्कार गरेको अवस्थामा प्रतिवादीले मिति २०६५।०४।१६ मा गरेको कागजलाई आधार मानी सुरू तनहुँ जिल्ला अदालतबाट मिति २०७०।०३।२७ मा नाता कायम गरी भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने हुँदा प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने आदेश ।
वादी दाबीबमोजिम वादी सरिता लामिछाने (श्रेष्ठ) र प्रतिवादी नारायणमणी लामिछानेका बीचमा लोग्ने स्वास्नीको नाता कायम हुनेगरी भएको सुरू तनहुँ जिल्ला अदालतको मिति ०७०।३।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पोखराको मिति २०७०/२/२८ को फैसला ।
मिति २०६५/४/१६ को घरसारको कागजमा वादीलाई स्वास्नी स्वीकार गरी ३० दिनभित्र अस्थायी र ७ महिनाभित्र स्थायी जागिर गराईदिने सर्त राखिएको छ । जुन प्रचलित कानून विरूद्ध छ । करकाप वा जालसाजी घोषित नभएका जुनसुकै कागज प्रमाणमा लाग्ने हुँदैन । शारीरिक सम्पर्क भएको कागज गराउँदैमा लोग्ने स्वास्नीको नाता कायम हुन सक्ने होइन । वादीका साक्षी राधा खनाल र शशी गुरूङले यी वादी प्रतिवादीसँगै खाने बस्ने गरेको देखेको भने पनि वादीले ने प्रतिवादी नारायण मणी लामिछाने पति हो भनी बताएकीले लोग्ने स्वास्नी रहेछन् भनी थाहा पाएको भनी लेखाएको अवस्था छ । सँगै एकपटक खाना खाएको देखेको भनेको भरमा लोग्ने स्वास्नीको नाता कायम गर्नु कानूनी त्रुटिपूर्ण हुन्छ । विपक्षी वादीले ठोस सबुत प्रमाण दिन नसकेको अवस्थामा मैले Void कागज विरूद्ध करकापमा उजुर नगरेको र वादीका साक्षीले सुनी जानेको भनी गरिदिएको बकपत्रका आधारमा मलाई वादीले लोग्ने कायम गरेको सुरू पुनरावेदन अदालत फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) को आधारमा दोहोर्याई हेरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदन पत्र ।
प्रतिवादी नारायणी लामिछानेको ल्याप्चे परीक्षण गरी राय व्यक्त गर्ने विशेषज्ञलाई अदालतसमक्ष बकपत्र नगराई पुनरावेदन अदालत, पोखराबाट मिति २०७१/२/२८ मा भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, २३ र ५४ र अ.ब. १८४ क नं. को व्याख्यात्मक त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को उपदफा १ को खण्ड (क) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०७३।३/२१ को
आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री पूर्णचन्द्र पौडेलले वादी प्रतिवादीबीच नाता कायम गर्दा मिति २०६५/४/१६ को कागजलाई आधार लिएको छ । सो कागजले कानूनी मान्यता पाउन सक्दैन । घरसारको कागजबाट विवाह गर्ने र सरकारी जागिर लगाउने सर्त उल्लेख गरिएको कागजले कानूनी मान्यता पाउन सक्दैन । वादी प्रतिवादीहरू पति पत्नी भएर बसेको देख्ने कोही छैन । वादीका साक्षी राधा खनाल र शशी गुरूङले वादीले प्रतिवादी मेरो पति हो भनेकोले थाहा पाएको भनेकोले वादीले जे भन्यो त्यही भनेको कुरालाई प्रत्यक्ष प्रमाण मान्न सकिन्न । प्रतिवादी यी वादीको श्रीमान् हो सँगै बसेको भए मिति २०६५/५/१७ मा घरेलु तथा साना उद्योग विकास समितिमा वादीले भरेको दरखास्त फारामा पतिको नाम उल्लेख गर्नुपर्थ्थो, पतिको नामबाट नागरिकता लिनुपर्दथ्यो सो उल्लेख गरेकोसमेत नहुँदा नाता कायम हुनुपर्ने होइन अन्नपूर्ण राणाको मुद्दामा बच्चा हुँदैमा पनि विवाह नभएको हुनसक्ने भनी सिद्धान्त स्थापित भएको अवस्थामा नाता कायम हुनुपर्ने होइन भन्ने बहस गर्नुभयो ।
प्रत्यर्थी वादीको तर्फबाट विद्वान् अधिवक्ताद्वय श्री विष्णुमाया भुसाल, श्री ईश्वरीप्रसाद भट्टराई र वैतनिक अधिवक्ता श्री नारायणप्रसाद देवकोटाले यी पुनरावेदक धादिङ जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिमा कार्यरत रहेको अवस्थामा २०५६ सालदेखि चिनजान भई पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएको विश्वासमा पारी यौन सम्पर्क गर्दै आएको र आफू जहाँजहाँ सरूवा भएर गए सँगसँगै लगेका र साथै सँगै खाने बस्ने गरेका भन्ने कुरा वादीका साक्षी शशी गुरूङ र राधा खनालले बकपत्र गरिदिएको देखिन्छ । वादी र प्रतिवादी दुवै पक्षका मानिसहरू साक्षी बसी मिति २०६५/४/१६ मा गरेको कागजले पनि प्रतिवादीले श्रीमती स्वीकार गरी कायम गरिदिएको छ । सो कागजले वादी प्रतिवादीबीच सम्बन्ध रहेको भन्ने प्रमाणको रूपमा काम गरेको
छ । जबरजस्ती इच्छा विरूद्ध कागज गराएको भने पनि सो विरूद्ध कही करकापमा उजुरी दिएको छैन । निज पुनरावेदकसँग प्रत्यर्थी सरिताको सम्बन्ध नै नभएको भए यसरी नाता कायम गरिपाउँ भनी मुद्दा गर्दै हिँड्नु पर्ने अवस्था आउँदैन । अन्नपूर्ण राणाको नजिर यहा काम
लाग्दैन । अन्नपूर्ण राणाको मुद्दा विवाहित हो होइन भन्ने कुरामा प्रमाणित गर्न बच्चा पाएको छ वा छैन, पाठेघर परीक्षणको आदेश भएको सन्दर्भ थियो । तसर्थ सुरू र पुनरावेदन अदालत पोखराले नाता कायम हुने गरी गरेको फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तानुसारको तथ्य र बहस बुँदा रहेको प्रस्तुत मुद्दामा पुनरावेन अदालत, पोखराले गरेको फैसला मिलेको छ, छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा प्रतिवादी नारायणमणी लामिछाने धादिङ जिल्ला घरेलु तथा साना उद्योग विकास शाखा कार्यालयमा कार्यरत रहेका बखत चिनजान भई प्रेमसम्बन्ध हुन गई मिति २०५७/११/६ देखि शारीरिक सम्बन्ध हुन गई प्रतिवादी सरूवा भई गएका विभिन्न जिल्लाहरूमा समेत १०-११ वर्षसम्म यो सम्बन्ध कायम हुन गई श्रीमान् श्रीमतीको रूपमा परिचय दिँदै आएकोमा घरमा जेठी श्रीमती रहेको भन्ने पति पत्नीको सम्बन्ध कायम भएपछि मात्र थाहा पाएको र निजले मिति २०६५/४/१६ मा मलाई श्रीमती हो भनी कागजसमेत गरिदिएको र प्रतिवादीले नै मुस्ताङमा जागिर लगाइदिएको र त्यहाँसमेत एकै विस्तरामा सुती श्रीमान् श्रीमतीको सम्बन्ध कायम रहेकोमा हाल आएर प्रतिवादीले स्वास्नी मान्न इन्कार गरेकोले आफ्नो अस्तित्व र पहिचानको लागि मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको ५(क) बमोजिम विपक्षीसँग लोग्ने स्वास्नीको नाता कायम गरिपाउँ भन्ने सरिता श्रेष्ठ लामिछानेको फिराद दाबी, विपक्षीका काका हरिलाल श्रेष्ठ एउटै कार्यालयमा काम गर्ने भएकोलेले वादीसँग चिनजान भएको हो, विपक्षीलाई मैले जागिर लगाएको होइन मुस्ताङमा सिलाई शिक्षकको पदमा विज्ञापन भएको जानकारीसम्म गराएको हुँ । म विवाहित
हुँ । म सेवारत भएको जिल्लामा श्रीमती लिएर गएको छु । मेरी छोरीको उमेरकी विपक्षीसँग अनैतिक सम्बन्ध राख्ने प्रश्नै रहन्न । मिति २०६५/४/१६ मा गरेको कागज मलाई करकापमा पारी जबरजस्ती गराएको
हो । मलाई मार्ने धम्की दिएकोले कतै उजुर नगरी बसेको हो । विपक्षीलाई श्रीमतीको रूपमा कहिँकतै स्वीकारेको छैन । फिराद दाबी झुट्ठा हो भन्ने प्रतिउत्तर रहेकोमा मिति २०६५/४/१६ मा गरेको कागज अ.ब. ७८ नं. बमोजिम सनाखत गराउँदा सो लिखतमा परेको सहिछाप मेरो होइन भनी प्रतिवादीले जिकिर लिएकोमा विशेषज्ञबाट जाँच गराउँदा सहिछाप मिल्ने भिड्ने वा वादी प्रतिवादीसँग बस्ने खाने गरेको कुरा उल्लेख गरी वादीका साक्षीहरूले गरेको बकपत्रसमेतबाट वादी प्रतिवादीबीच लोग्ने स्वास्नीको नाता कायम हुने ठहर्छ भनी सुरू तनहुँ जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पोखराको मिति २०७१/२/२८ को फैसलाउपर प्रतिवादीको यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी सोमा दोहोर्याउने निस्सा प्रदान भई पेस हुन आएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०६५/४/१६ मा प्रतिवादी नारायणमणी लामिछानेले वादी सरिता श्रेष्ठलाई विवाह गरी श्रीमती स्वीकार गरेको कागज कानूनविपरीत छ अमूक महिलालाई स्वास्नी स्वीकार्छु भनी गराइएको घरसारको कागजले कानूनी मान्यता प्राप्त गर्न सक्दैन भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा, मिति २०६५/४/१६ को कागजमा म नारायणमणी लामिछाने र सरिता श्रेष्ठबीच मिति २०५६/१/१५ मा जिल्ला घरेलु तथा साना उद्योग विकास कार्यालयमा पहिलो पटक चिनजान भई उक्त चिनजान प्रेम सम्बन्धमा परिणत भई पटक पटक शारीरिक सम्बन्ध कायम हुन गए तापनि वैधानिकरूपमा मूलघरमा भित्र्याउन नसकेको हुँदा निज श्रीमतीकै डेरा कोठामा उपस्थित भई विवाह गरी तपसिल साक्षीहरूको रोहवरमा सहिछाप गरिदिएँ भनी कागज गरेको
देखिन्छ । साक्षीमा वादी पक्षका २ जना र प्रतिवादी पक्षका २ जना राखेको भन्ने देखिन्छ । प्रतिवादीले उक्त कागज करकापसँग गराएको सहिछाप मेरो होइन भनी अ.ब. ७८ नं. बमोजिम बयान गरेको हुँदा उक्त लिखतको हस्ताक्षर र ल्याप्चे राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन आएको देखिन्छ । उक्त कागजमा भएको ल्याप्चे यी प्रतिवादी नारायणमणी लामिछानेको ल्याप्चेसँग मिलेको भनी वैज्ञानिक परीक्षणको प्रतिवेदन आएको देखिन्छ । औंठाछाप नै मिलिसकेको अवस्था छ । जसलाई साक्षीहरूले गरेको बकपत्रबाट पनि पुष्टि भएको छ । उक्त कागज करकापसँग गराएको हो भने निजले करकाप गरी कागज गराए भनी सम्बन्धित निकायमा उजुरी दिएको पनि देखिँदैन । यो कागज २०६५।४।१६ मा गरेको देखिएकोले द्वन्द्वको समयमा डर धाक धम्की दिएर गरिएको भन्ने जिकिरसँग सहमत हुन सकिएन । पत्नी हो भनी स्वीकारेको साक्षी राखी गरिएको कागजले विवाहको कानूनी मान्यता नै हुन्छ भन्ने पनि होइन तर उक्त कागजले वैवाहिक सम्बन्धमा रहेको आत्मिय र सामाजिक सम्बन्धको स्वीकारोक्ति गरेको छ । विवाह दर्ता गर्नुपर्ने कानून रहे तापनि नेपालमा हालसम्म व्यक्तिगत घटना दर्ता ऐनको प्रभावकारिता नरहेको अवस्थामा प्रेम विवाह सामाजिक साँस्कृतिक विवाहलाई अन्यथा भन्न मिल्दैन । पति पत्नी भनी लामो समयसम्म सम्बन्धलाई प्रकाश गरिसकेपछि सम्बन्धको इन्कार पछि नै फिरादी नाताको वैधानिकताको लागि अदालतको शरणमा आएको र मिति २०६५।४।१६ को कागजसमेत पेस गरेको अवस्थामा उक्त कागजलाई अन्यथा भन्न सकिँदैन । अदालतले प्रमाणको रूपमा लिखित, मौखिकलगायत कुनै संकेत, चिन्ह, नोटबुक, फोटोचित्र आदि आवश्यक पर्ने जुनसुकै चिज पनि लिन सक्छ । पक्ष विपक्षबीच मञ्जुरी सहमतिले साक्षी राखी गरिएको लिखतले प्रमाणको कुनै मान्यता प्राप्त गर्न सक्दैन भनी मान्न सकिँदैन । हुनत शारीरिक सम्बन्ध हुँदैमा विवाह भयो भन्न सकिँदैन तर वादीले २०५६ सालदेखि नै शारीरिक सम्पर्क भएको भनी फिरादमा उल्लेख गरेको तथा लोग्नेस्वास्नी भई बसेको र प्रतिवादीले उक्त कुरा २०६५/४/१६ को कागजमा स्वीकार गरिसके पछि प्रतिउत्तर फिराउँदा मैले शारीरिक सम्पर्क गरेको छैन लोग्नेस्वास्नीको सम्बन्ध छैन र वादीसँग सामान्य चिनजान मात्र भएको हो भनी उल्लिखित व्यहोरा कुनै पनि प्रमाणबाट पुष्टि हुने सकेको छैन ।
३. प्रतिवादीका साक्षीहरूले अदालतमा बकपत्र गर्दासमेत प्रतिउत्तर जिकिरलाई समर्थन गरेको पाइँदैन । उनीहरूले वादी प्रतिवादीबीच के कस्तो सम्बन्ध छ थाहा छैन भनी उल्लेख गरेका छन् भने वादी सरिता श्रेष्ठका साक्षी शशी गुरूङले वादी प्रतिवादी दमौलीमा सँगै खाने एउटै कोठामा बस्ने गरेको देखेको भनी बकपत्र गरिदिएको देखिन्छ भने अर्का साक्षी राधा खनालले वादी प्रतिवादी श्रीमान् श्रीमती भन्ने जानेको हो । एउटै कोठामा सुत्ने बस्ने गरेको देखेको हो भनी बकपत्र गरिदिएको देखिन्छ । यो तथ्यबाट वादी सरिता श्रेष्ठको पुनरावेदक नारायणमणी लामिछानेसँग धादिङ जिल्ला घरेलु तथा साना उद्योग विकास शाखा कार्यालयमा कार्यरत रहेको बेला २०५६ देखि चिनजान भई विभिन्न जिल्लामा सरूवा भई कार्यरत रहँदासमेत श्रीमान् श्रीमतीको रूपमा एकै घर कोठामा बस्दै आएको र श्रीमान् श्रीमतीको रूपमा परिचय दिँदै आएको भन्ने फिराद दाबीमा उल्लेख भएको भनाई असत्य हो भनी मान्न मिल्ने अवस्था देखिँदैन ।
४. अन्नपूर्ण राणाको मुद्दा नातामा विवाद नभई गोपनियताको विरूद्ध असमानपूर्ण तरिकाले महिलाको पाठेघर परीक्षणका आदेशउपर रहेको
थियो । जहाँसम्म मिति २०६५।५।१७ मा नियुक्तिको फारम भर्दा पतिको नाम नराखेको र नागरिकता लोग्नेको नामबाट किन नलिएको भन्ने प्रश्नमा महिलाले कुन थर लिने उसको स्वनिर्णयको अधिकार रहेको, महिला अधिकारसम्बन्धी महासन्धि (CEDAW) को धारा १६ ले पारिवारिक नामथर छान्ने व्यक्तिको व्यक्तिगत अधिकार हो (same personal right choose a family name) भन्ने मान्यता स्थापना भएको अवस्थामा आफ्नो स्वतन्त्र पहिचानसहितको पारिवारिक जीवनको हक रहेको हुन्छ । तसर्थ, नागरिकतामा वा नियुक्तिको फारममा पतिको नाम उल्लेख नगर्न वा पतिको नामबाट नागरिकता नलिनुको अर्थ श्रीमती होइन भन्ने पुष्टिको आधार हुन सक्दैन । विवाह नगरेकी एक महिलाले कुनै सम्पर्क वा सम्बन्ध नै नरहेको कुनै पुरूषलाई हाम्रोबीचमा प्रेम सम्बन्ध भई शारीरिक सम्पर्क भएको तथ्य श्रीमान् श्रीमतीको रूपमा रहेर प्रतिवादीको सतधर्ममा रहेकी छु अन्य कोही कसैसँग सम्बन्ध सम्पर्क छैन भन्नेसम्म उल्लेख गर्नुपर्ने अवस्था रहन्ने । “प्रेम विवाह गरी लोग्ने स्वास्नी भई नबसेको भए त्यसरी आफ्नो चरित्रको हत्य हुने गरी वादीसँग प्रेम विवाह गरेको मेरो लोग्ने हो भनी देखाउने अवस्था रहन्न (ने.का.प. २०४६, अंक ११, नि.नं. ३९८५, पृष्ठ १११३) भनी सिद्धान्तसमेत प्रतिपादन भएको अवस्थामा कुनै अविवाहित नारीले मैले यो पुरूषसँग करणी लेनदेन गरेको श्रीमान् श्रीमतीको रूपमा सँगसाथमा रहे बसेको र समाजमा अन्य व्यक्तिहरूलाई श्रीमान् श्रीमतीको रूपमा चिनजान गराएको र पुरूषको सतमा रहेको भन्ने अवस्था रहँदैन ।
६. आफ्नो उमेरभन्दा २० वर्ष फरक उमेरका यी पुनरावेदकलाई नै वादीले पति पत्नीको नाता कायम गराई पाउँ, मेरो २०५६ सालदेखि प्रेम सम्बन्ध र २०५७ सालदेखि शारीरिक सम्बन्ध हुँदै आएको १०-११ वर्ष भयो भनी यी पुनरावेदकसँग नै नाता कायम गराई माग्नु पर्ने के कारण हो सो कुरा प्रतिवादीले खुलाउन सकेको अवस्था पनि देखिँदैन । यीनै कुराहरू विचार गरी सुरू तनहुँ जिल्ला अदालतले वादी प्रतिवादीबीच लोग्ने स्वास्नीको नाताकायम हुने ठहर गरी गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पोखराको मिति २०७१/२/२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी नारायणमणी लामिछानेको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. अनिलकुमार सिन्हा
इजलास अधिकृतः जीवनकुमार भण्डारी
इति संवत् २०७४ साल वैशाख १७ गते रोज १ शुभम् ।