निर्णय नं. ४३१६ - बेरीतसंग थुनी कागज गरायो

निर्णय नं. ४३१६ ने.का.प. २०४८ अङ्क ७
संयुक्तइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् ०४८ सालको फौ.पु.नं. ५१५
फैसला भएको मिति: २०४८।७।११।२ मा
पुनरावेदक/वादी : महेन्द्रनगर न.पा. वडा नं. ६ बस्ने परमानन्द भट्ट
विरुद्ध
विपक्षी : जिल्ला वैतडी श्री कोट गा.वि.स. वडा नं. १ बस्ने धनबहादुर चन्दसमेत
मुद्दा : बेरीतसंग थुनी कागज गरायो
(१) प्रहरी थानामा बेरीतसंग थुनिएको भन्ने आधिकारिक सबूद वादीले पेश दाखिल गर्न नसकेको, केवल वादीको अभिकथनकै भरमा प्रतिवादीहरुले वादीलाई बेरीतपूर्वक थुनी करकापसंग कागज गराएको भन्न सबूद प्रमाणको अभावमा नमिल्ने ।
(प्रकरण नं. १८)
(२) बेरीतपूर्वक प्रहरी थानामा थुनी, थुनाबाट मुक्त हुनु पूर्व कागज गराएको भन्ने वादी दावी प्रमाणित रुपबाट पुष्टि हुन नसकेको, करकापसंग गराएको भनिएको कागजमा वादीका बाबु र काका साक्षी बसेको समेतबाट वादी दावी सारगर्भित र कानुनसंगत देखिन नआउँदा वादी दावी पुग्न नसक्ने ।
(प्रकरण नं. १९)
पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री गोपाल प्रसाद भण्डारी
विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. प.क्षे.अ.को फैसला उपर न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान रहेको भन्ने आधारमा पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निर्णय आदेश यस प्रकार छ ।
२. म भारतको वनवासा भन्ने ठाउँमा पसल गरी बसी रहेको बखत, विपक्षी लोकबहादुर मोटरसाइकलमा चढी म भएको ठाउँमा आई तिम्रो बुबा बिरामी छन बोलाई ल्याउ भनी भनेकाले हामी दुवै मोटरसाइकलमा बस्यौं । मोटर साइकल बुबा भएको ठाउँमा नलगी गडा चौकी प्रहरी छोटी थानामा पुर्यायो र थानाका थानेदार विपक्षी प्रेमराज शाहीले रु. ४० हजार तिमीलाई, रामबहादुरले जिम्मा दिएको रुपैयाँ धनबहादुरको भतिजा लोकबहादुरलाई फिर्ता दिनु होस भन्दा मैले इन्कार (साविक पेज नं. ३२१) गरें । रुपैयाँ नदिएसम्म यसलाई थुनामा नै राख्नु पर्छ भनी २०४३।८।२३ देखि ऐ.३० गतेसम्म निज थानेदारले मलाई थुनी थुनाबाट छाड्नु (७) सात घण्टा पूर्व एउटा फुलस्केप कागजमा लेखिएको व्यहोरा नसुनाई धनबहादुर र लोकबहादुरको भनाईमा लागी धाक धम्की करकापसंग थानेदार प्रेमराजले सो कागजको किनारामा रेखात्मक र लेखात्मक सहिछाप गराएकाले सो कागज बदर गरी द.सं.को १२ नं. वेरीतसंग थुन्दाको ४ नं. बमोजिम कारवाही, सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको २०४३।११।५।३ को परमानन्द भट्टको फिरादपत्र ।
३. फिराद लेख कपोलकल्पित हो । विवादको कागज विपक्षीकै राजीखुशीले भएको कागज हो । सो कागज बदर गराउन पाए रुपैयाँ पचाउन सकिने बदनियतले म समेत उपर झुठ्ठा फिराद दिएको हो भन्ने समेत व्यहोराको प्रेमराज शाहीको प्रतिउत्तरपत्र ।
४. मेरो छोरा कृष्णलाई झुक्याई चेकको रुपैयाँ बैंकबाट भुक्तानी लिई लगेको रुपैयाँमध्ये रु. ४० हजार विपक्षीले रामबहादुरले ठगी गरी ल्याएको भन्ने जानी जानी आफ्नो जिम्मा लिइसकेपछि, रामबहादुर फेला नपरेको हुँदा निजकी आमाको रोहवरमा बुझाउने भाखापत्र कागज गरी आफ्नो राजीखुशीले मलाई दिएको हो । म समेत भई करकापसंग कागज गरे गराएको र बेरीतसंग थुने थुनाएको पनि छैन । ठगी गरी ल्याएका रुपैयाँ विपक्षीले लिने खाने नियतले कागज बदर गराउन झुठ्ठा फिराद गरेको हुँदा विपक्षीलाई सजायँ गरी निजबाट क्षतिपूर्ति समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको धनबहादुर चन्दको २०४३।११।२२ को प्रतिउत्तरपत्र ।
५. २०४३।९।१ को कागजको व्यहोरा देखें सुनें । थानेदार प्रेमराज शाहीले डर, धाक देखाई दस्तखत गर भन्दा डरले सहिछाप गरेको हुँ । कागजको व्यहोरा के थियो थाहा छैन । कागज २०४३।८।३० मा लेखिएको सही मेरो हो खुशीराजीले सो कागजमा सहिछाप भएको होइन, सहिछाप भने मेरै हो, भन्ने समेत व्यहोराको परमानन्द भट्टले गरेको बयान कागज ।
६. कागजको फडके पट्टिमा भएको दस्तखत मेरो राजीखुशीले भएको होइन । तिम्रो छोरा थुनाबाट छाडी दिन्छौं । सोही व्यहोराको कागज हो । सहिछाप गर भनी व्यहोरा नसुनाई सहिछाप गराएको हो छोरा थुनाबाट छुटाउने कागज भनी सहिछाप गरेको हुँ भन्ने समेत व्यहोराको किनाराको साक्षी वादीको बाबु जयदत्त भट्टले अदालत समक्ष गरेको बयान कागज ।
७. कागजमा भएको दस्तखत मेरो राजीखुशीले भएको होइन । तिम्रा भतिजा थुनामा छाडी दिन्छौ, सोही छाडी दिने व्यहोराको कागज हो भनी व्यहोरा नसुनाई सहिछाप गराएको हो भन्ने समेत व्यहोराको वादीको काका लिखतका साक्षी शिवलाल भट्टले अदालतमा गरेको बयान ।
८. वादीलाई थुनी करकापसंग कागज गराएको भन्ने होइन । परमानन्दले राजीखुशीले कागज गरी दिएको हो भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षीको बकपत्र ।
९. लोकबहादुर चन्दको इन्कारी प्रतिउत्तरपत्र ।
१०. बुझिएका फडके पट्टिका साक्षी जयदत्त भट्ट र शिवलाल भट्टले विवादास्पद कागजमा सहिछाप गरेको कुरलाई स्वीकार गरी, बकी लेखाई दिएबाट वादीका साक्षी भई बसेका वादी के बाबु र काकाको बकाई समेतबाट वादीको दावी समर्थन हुन आएको नदेखिँदा वादी दावी अनुसार प्रतिवादीहरुले वादीलाई थुनछेक गरी करकापसंग कागज गरे गराएको ठहर्दैन भन्ने समेत व्यहोराको महाकाली अञ्चल अदालतको २०४४।९।५ को फैसला ।
११. सरकारी कामकाजको व्यक्तिले दुनियाँको कारोबारको विषयमा कागजपत्र लेखी करकापसंग सहिछाप गराई वेरीतपूर्ण तवरबाट थुनिएको व्यहोरा पुष्टि हुँदैको अवस्थामा वादी दावी नपुग्ने ठहराएको महाकाली अं.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दावी (साविक पेज नं. ३२२) बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीतर्फबाट परेको पुनरावेदन ।
१२. यसमा मिसिल संलग्न कागज प्रमाणबाट, हाल विवादित कागजमा वादीकै बाबु र काका साक्षी बसेको निजहरुबाट समेत करकापबाट साक्षी बसी दिएको भन्ने कुरा कहींबाट खुल्न नआएको, यस्तो अवस्थामा वादीलाई बेरीतसंग थुनी करकापपूर्ण तवरले कागज गराएको भन्ने देखिन नआएकोले वादी दावी नपुग्ने ठहराएको अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१३. वादी दावी नपुग्ने ठहराएको त्रुटिपूर्ण अञ्चल अदालतको फैसलालाई सदर गरेको क्षेत्रीय अदालतको फैसला न्यायसंगत नहुँदा सो फैसला समेत बदर गरी पाउन पुनरावेदनको लागि अनुमति पाउँ भनी वादी पक्षबाट पर्न आएको निवेदनमा करकापसंग कागज गराएको नदेखिएको भन्ने क्षेत्रीय अदालतको इन्साफमा मुलुकी ऐन अ.बं. २४ नं. को व्याख्यात्मक त्रुटि देखिन आउँदा पुनरावेदनको लागि अनुमति दिइएको भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
१४. यसरी नियम बमोजिम पेश भई आएकोमा निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले विवादित कागज मेरो पक्षबाट करकापपूर्ण रुपले बेरीतसंग थुनी गराएको कुरा लिखतबाट नै पुष्टि भएको छ । केवल लिखतमा वादीकै पिता काका साक्षी बसी दिएको भन्ने आधारबाट विवादित लिखतलाई करकापबाट भएको होइन भन्न मिल्ने अवस्था नहुँदा वादी दावी नपुग्ने ठहराएको अञ्चल र क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो भने पुनरावेदक वादी तर्फबाट नै उपस्थित विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले मेरो पक्ष वादीलाई प्रहरी थानामा थुनी करकापपूर्ण तवरले कागज गराई सो कागजको मान्यता दिलाउन वादीको काका र पिता समेतलाई गफलतमा पारी झुठ्ठा व्यहोरा भनी सोही कागजमा साक्षी राखिएको छ । आफ्नो छोराको अहितमा कसैले कागज गर्ने अवस्था नहुँदा विवादित कागज करकापपूर्ण रुपबाट भएको स्पष्ट छ । यस स्थिति अवस्थामा वादी दावी नपुग्ने ठहराएको अञ्चल अदालतको त्रुटिपूर्ण फैसलालाई सदर गरेको क्षेत्रीय अदालतको फैसला समेत बदर गरी वादी दावी बमोजिम हुनुपर्दछ भनी प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१५. विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विवादित कागज वादीले स्वइच्छाले गरिदिएका हुन भन्ने कुरा वादीका पिता र काका समेत सो लिखतमा साक्षी बसी दिएकोबाट पुष्टि भइसकेको छ । वादीका पिता र काकाले आफूलाई स्वइच्छा विपरीत कागजमा सहिछाप गरे गराएको भनी कहीं कतै उजूरी पनि नगरेको हुँदा अब लिखत करकापपूर्ण रुपबाट भएको भन्न मान्न मिल्दैन । सोही आधारमा वादी दावी नपुग्ने ठहराएको अञ्चल अदालतको फैसलालाई सदर गरेको, क्षेत्रीय अदालतको फैसला समेत कानुनसंगत नै हुँदा सदर हुनुपर्दछ भनी आफ्नो बहस जिकिर प्रस्तुत गर्नुभयो ।
१६. प्रस्तुत मुद्दामा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुनसंगत छ छैन हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१७. निर्णयतर्फ हेर्दा, यसमा मलाई २०४३।८।२३ देखि ऐ. ३० गतेसम्म प्रहरी हिरासतमा राखी करकाप र जबरजस्तीसंग व्यहोरा नसुनाई कागज गराएकाले सो कागज बदर गरी प्रतिवादीहरुलाई सजायँ गरी पाउँ भन्ने वादी दावी रहेको पाइन्छ ।
१८. यसमा विवादमा आएको वादीले करकाप जबरजस्तीसंग प्रहरी थानामा गराएको भनिएको २०४३।९।१ को सक्कल कागज हेर्दा वादीका बाबु जयदत्त भट्ट र वादीकै काका शिवलाल समेत उक्त लिखतका साक्षी बसेका देखिन्छ । छोरालाई प्रहरी हिरासतबाट छुटाउन (साविक पेज नं. ३२३) भनी झुक्याई कागजमा सहिछाप गरी देउ, भनेकोबाट सहिछाप गरी दिएको हुँ भन्ने निजहरुको इन्कारी बयान प्रमाणित हुन सकेको देखिँदैन । यस स्थिति अवस्थामा वादी दावी कानुनसंगत देखिन आएन । यसको साथै प्रहरी थानामा बेरीतसंग थुनिएको भन्ने आधिकारिक सबूद वादीले पेश दाखिल गर्न नसकेको केवल वादीको अभिकथनकै भरमा प्रतिवादीहरुले वादीलाई बेरीतपूर्वक थुनी करकापसंग कागज गराएको भन्न सबूद प्रमाणको अभावमा मिलेन ।
१९. अतः वादीलाई २०४३।८।२३ देखि ऐ. ३० गतेसम्ममा बेरीतपूर्वक प्रहरी थानामा थुनी, थुनाबाट मुक्त हुनु पूर्व कागज गराएको भन्ने वादी दावी प्रमाणिक रुपबाट पुष्टि हुन नसकेको करकापसंग गराएको भनिएको कागजमा वादीका बाबु र काका साक्षी बसेको समेतबाट वादी दावी सारगर्भित र कानुनसंगत देखिन नआउँदा वादी दावी पुग्न नसक्ने ठहराएको महाकाली अञ्चल अदालतको फैसलालाई सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी परमानन्द भट्ट के इन्साफ मनासिब ठहरेकाले शुरु महाकाली अञ्चल अदालतले गर्ने गरेको जरिवाना रु. १।– को अ.बं. २०३ नं. ले थप जरिवाना रु. –।१० पैसा हुन्छ । कानुन बमोजिम असूल गर्नु भनी का.जि.अ.मार्फत लगत दिनु...१, मिसिल नियमानुसार बुझाई दिनु...२
उक्त रायमा म सहमत छु । न्या.गोविन्दबहादुर श्रेष्ठ
इतिसम्वत् २०४८ साल कार्तिक ११ गते रोज २ शुभम् ।