शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८५० - अपुताली हक कायम

भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली 

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे

फैसला मिति : २०७३।०९।०७

०७०-NF-०००६

 

मुद्दा : अपुताली हक कायम

 

पुनरावलोकनकर्ता वादी  : सप्तरी जिल्ला मानराजा गा.वि.स. वडा नं. ५ बस्ने कुसुमलाल यादवकी छोरी गुलजरिया देवी यादवनी

विरूद्ध

प्रत्यर्थी प्रतिवादी : ऐ.ऐ. वडा नं. ७ बस्ने वौवालाल यादवको मु.स. गर्ने गुन्जेश्वरी देवी यादव

 

ननुवतीको मृत्यु भइसकेपश्चात्‌ निजको नाममा रहेको सम्पत्तिमा निजकी छोरी वादी गुल्जरिया देवी यादवनीको स्वतः हक स्थापित भएको अवस्थामा निजले अपुतालीको महलको २० नं. ले तोकेको ३ वर्षभित्र नालिस नदिएकै आधारमा निजको हक समाप्त भई अन्य हकवालामा जाने भन्ने अवस्था नरहने ।

मुलुकी ऐन,  अपुतालीको महलको २ नं. को कानूनी व्यवस्थाअनुसार मर्ने ननुवती देवी यादवको मृत्युपश्चात्‌ निजकी छोरी पुनरावलोकनकर्ता / वादी गुल्जरिया देवी यादवनीको उक्त सम्पत्तिमा स्वतः हक स्थापित भएको अवस्थामा उक्त जग्गाको नामसारी नभएकै आधारमा आफ्नो नाममा नामसारी गर्ने हक प्रतिवादीलाई जुन कानूनले प्रदान गरेको छ, सोही कानूनी व्यवस्थाबमोजिम वादीको हकमा समेत समानरूपले नामसारी गर्न नपाउने भन्ने अर्थ गर्न नमिल्ने । 

(प्रकरण नं. ३)

 

पुनरावलोकनकर्ता वादीको तर्फबाट  : 

प्रत्यर्थी प्रतिवादीको तर्फबाट :

अवलम्बित नजिर : 

सम्बद्ध कानून : 

 

सुरू फैसला गर्नेः- 

मा.न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा

पुनरावेदन तहमा फैसला गर्नेः 

मा.मुख्य न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा

यस अदालतमा फैसला गर्नेः 

मा.न्यायाधीश श्री बलराम के.सी.

मा.न्यायाधीश श्री ताहिर अली अन्सारी

 

फैसला

न्या. गोपाल पराजुली :  यस अदालतको मिति २०६६/११/१२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छः 

म फिरादीकी आमा ननुवतिले प्रतिवादी वौवालाल यादवसमेतसँग मिति २०२१/१२/२४ मा अंशबन्डा छुट्याई भोग चलन गरिआएको सप्तरी जिल्ला, मानराजा गा.वि.स. वडा नं. ९(ख) कि.नं. २३ को ०-२-४१/२ र ऐ.ऐ. कि.नं. १४ को ०-२-१५ समेत ०-४-१९१/२ जग्गा मोल रू. १४,१३२ ।– पर्ने वौवलाल यादवले आफ्ना नाउँमा दर्ता गराई लिएकोले आमा ननुवतिको शेषपछि अपुताली पाउने म एक मात्र छोरी हुँ । आमा स्वर्गीय हुँदा हिन्दू विधिअनुसार आमाको सदगत गर्ने म वादी भएकोले अपुतालीको महलको २ नं. जग्गा पजनी महलको २(क) नं. बमोजिम वादीको नाउँमा हक कायम गरी सर्जमिन सिफारिस बदर, टिप्पणी आदेश बदर, दर्ता बदर गरी मेरा नाउँमा दर्तासमेत कायम गरिपाउँ भन्ने वादीको मिति २०५७/९/२५ को फिराद पत्र । 

मिति २०२१/१२/२४ मा र.नं. ३०४९ को पारित बन्डापत्रमा ननुवतिको अंशमा परेका जग्गा प्रतिवादीमध्येको वौवालाल यादवको मन्जुरी लिएर मात्र बेचबिखन गर्न पाउने सर्त अनुसार स्व. ननुवति वौवालाल यादवको नजिक रहेको पाइन्छ । वादीको फिराद अपुतालीको २० नं. को हदम्याद ३ वर्षभित्रको छैन । साथै वादीको फिराद लेखबाट ननुवति २०२१ सालमै भिन्न भएको हुँदा मउपरको दाबी खारेजयोग्य छ । वादीलाई टिप्पणी आदेश बदर गराउने हक छैन भन्नेसमेत व्यहोराको ६ जनाको संयुक्त प्रतिउत्तर पत्र । 

यसमा प्रतिवादीहरू झवर विश्वकर्मा, डोमी सदा, अनरूद्ध ठाकुर, मकसुदन ठाकुर, मो. इद्रिस, मो. बदरूल, श्रीलाल सदा, गा.वि.स. मानराजाले प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको पाइयो । 

सर्जमिनबाट ननुवति २०५५ सालमा मरेको हो भनी उल्लेख भएपनि वादीले कागज गर्दा उल्लेख गरेको मृत्यु मिति २०५५/११/१५ कसैले उल्लेख गर्न सकेको पाइँदैन भने २०५५ सालमा मृत्यु भएको पुष्टि हुने मृत्यु दर्ता प्रमाण पत्रसमेत वादीले पेस गर्न नसकेको अवस्थामा धेरै वर्ष अगाडी लिखतबाट स्थापित तथ्यलाई सर्जमिनका व्यक्तिको भनाइका आधारमा मात्र अन्यथा गर्न नमिली वादीको आमा ननुवति २०२६ सालमै मरेको देखिन आएको साथै दाबीको कि.नं. २३ र १४ को जग्गा दर्ता विहीन अवस्थामा नभई मालपोत कार्यालयको मिति २०५२/१०/१८ को निर्णयले प्रतिवादीका नाममा दर्तासमेत भइसकेको फिराद लेखबाट देखिएकाले अपुतालीको २० नं. को हदम्यादभित्र प्रस्तुत फिराद परेको देखिन आएन । अतः हदम्याद नघाई परेको फिरादबाट इन्साफ गर्न नमिली प्रस्तुत फिराद अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने सप्तरी जिल्ला अदालतको फैसला । 

हदम्यादको कुरो उठाई नालेस खारेज गरेको इन्साफ कानूनसम्मत छैन । हदम्यादको कुरालाई सुरू दर्ताकै अवस्थामा हेरिनु पर्दछ । सर्जमिनबाट ननुवति २०५५ सालमा मरेको हो भनी एकमतको सर्जमिन 

छ । मृत्यु दर्ता माग पनि भएको छैन । गा.वि.स. बाट बुझ्ने प्रयत्न पनि गरिएको छैन । २०२६ सालको फैसला र तारेख पर्चा प्रतिवादीबाट पेस भएकोमा पुष्टिको लागि अदालतले प्रमाण मिसिल नै नझिकाई सामेल नै नगरी पक्षकै विश्वासकै भरमा न्याय गर्नु कानूनी त्रुटिपूर्ण भएकोले सुरूको इन्साफ मिलेको छैन बदर गरिपाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन पत्र । 

यसमा प्रतिवादी र वादीको आमाबीच मिति २०२१/१२/२४ मै रजिष्ट्रेशन पारित गरी अंशबन्डा छुट्टयाई सकेको अवस्थामा आमाको अंश भोगको जग्गामा अपुतालीको २ नं. आकर्षित हुने भई इन्साफ नै गर्नुपर्नेमा खारेज गरेको सुरूको फैसला फरक पर्न सक्ने देखिएकोले छलफलको लागि अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६०/८/२९ को आदेश । 

यसमा पुनरावेदक गुलजरिया देवी स्व. ननुवती यादवको छोरी भएको कुरामा विवाद छैन । ननुवती र प्रत्यर्थी वौवालाल यादवबीच अंशबन्डा भएको कुरा मिसिल संलग्न २०२१/१२/१२ को बन्डापत्रबाट देखिन्छ । ननुवती यादवका नाममा रहेको उल्लिखित जग्गा २०५२/१०/२८ को मालपोत कार्यालयको निर्णयअनुसार वौवालालको नाममा दर्ता भएको देखिन्छ । ननुवतीको नामबाट हस्तान्तरित नभएसम्मको अवस्थामा तत्काल कायम रहेको कानूनबमोजिम नै जग्गाको स्वामित्व निर्धारण हुने भएकोले २०५२ सालमा ननुवतीको नाममा रहेको जग्गा, आमाको अपुताली स्वतः छोरीमा सर्ने भएकोले छोरीको निमित्त अपुतालीको २० नं. ले गरेको हदम्यादको व्यवस्था आकर्षित हुने स्थिति रहँदैन । अतः ननुवतीको नाउँमा रहेको कि.नं. २३ र १४ का जग्गा आमाको सम्पत्तिमा स्वभावत हक रहने पुनरावेदक छोरीले दर्ता नगराएकै कारणबाट प्रत्यर्थी वौवालालको नाममा दर्ता नामसारी हुन नसक्ने हुँदा अपुतालीको २० नं. को हदम्यादभित्र दायर हुन नआएको भनी फिराद खारेज गर्ने गरेको सप्तरी जिल्ला अदालतको फैसला नमिली उल्टी भई दाबीबमोजिम दर्ता बदर भई दाबीबमोजिम दर्तासमेत हुने ठहर्छ भन्नेसमेत पुनरावेदन अदालत, राजविराजको मिति २०६१/१०/७ को फैसला । 

पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन । ननुवतीको मृत्यु २०२६ सालमा भएको तथ्यमा विवाद छैन र तत्काल छोरीले अपुताली पाउने प्रावधान रहेको देखिँदैन । २०३२ सालमा मात्र अध्यादेशद्वारा छोरीले अपुताली पाउने व्यवस्था भएकोमा जग्गा हस्तान्तरण भएको मितिबाट अपुतालीको विवाद परेको र छोरीलाई अपुतालीको २० नं. को हदम्याद लाग्दैन भनी गरिएको फैसला त्रुटिपूर्ण छ । अपुताली कसले खाने भन्ने विवाद उत्पन्न भएपछि अपुताली परेको अवस्थामा रहेको कानून प्रभावकारी हुने सर्वमान्य सिद्धान्त हो । २०२६ सालमा ननुवली स्वर्गीय भई परेको अपुतालीको सम्बन्धमा मेरा स्वर्गीय पति वौवालालले स्व. ननुवतीले ऋण लिई राजीनामा लिखत गरिदिएकोमा ननुवती उपर परेको २०२५ सालको दे.नं. ३५६५ को लिखत पारित मुद्दामा मिति २०२६/८/२९ मा लिखत पारित हुने गरी भएको फैसलाउपर वौवालालले मुद्दा सकार गरी पुनरावेदनसमेत गरी मिति २०२७/८/२३ मा सगरमाथा अञ्चल अदालत राजविराज बेन्चबाट भएको फैसलासमेतबाट अपुताली परेको समयमा ननुवतीको अपुताली मेरा स्वर्गीय पतिबाहेक अरूले खान पाउने अवस्था देखिँदैन । 

अपुताली स्वतः पाउने होइन । अपुताली पाउनेले समयमा खोज्नु पर्छ । ननुवतीको नाम दर्ताको जग्गा मेरा पति वौवालालको नाममा २०५२/१०/२८ मा नामसारी भई दर्ता भइसकेपछि करिब ४ वर्ष १० महिनापछि परेको फिराद अपुतालीको २० नं. जग्गा पजनीको १७ नं. जग्गा मिच्नेको १८ नं. को हदम्यादभित्र नपरेकै कारणले सुरू अदालतले खारेजी फैसला गरेको छ । अपुतालीको २० नं. को हदम्याद नघाई दिएको फिरादमा छोरीलाई हदम्याद लाग्दैन भनी गरेको फैसला त्रुटिपूर्ण भएकाले उक्त फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर हुने गरी फैसला गरिपाउँ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

प्रस्तुत फिरादबाट वादीले अपुताली हक कायम गराउन खोजेको हो भने निजले अपुतालीको २० नं. ले निर्धारित गरेको हदम्याद अर्थात् "अपुताली परेको तीन वर्षभित्र" नालिस दिनुपर्ने नै हुन्छ । उक्त म्याद नाघी आएको नालिस लाग्न नसक्ने भनी सोही दफाले स्पष्ट व्यवस्था गरेको छ । आमाको अपुतालीसम्बन्धी विवादमा छोरीको हकमा उक्त अपुतालीको २० नं. को हदम्याद नलाग्ने भनी ऐनको व्याख्या गर्नु ऐनले गरेको व्यवस्था र ऐनको उद्देश्यविपरीत हुन्छ । उक्त २० नं. को हदम्याद अपुतालीमा दाबी गर्ने सबै हकवालाको हकमा लागू हुने व्यवस्था हो । यसको विपरीत गएर हदम्याद विहीन दाबीको तथ्यभित्र प्रवेश गरी अदालतले इन्साफ गर्न मिल्दैन । त्यसकारण आमाको नाममा पहिला दर्ता रहेको जग्गामा छोरीको हक लाग्नु स्वाभाविक भएको भन्दै छोरीको अपुताली हक कायम सम्बन्धमा उक्त २० नं. को हदम्यादको समय सीमा लाग्न नसक्ने भनी पुनरावेदन अदालतबाट गरिएको व्याख्या र लिइएको निर्णयाधार कानूनसम्मत देखिन आएन । 

अतः उल्लिखित आधार र कारणबाट अपुतालीको २० नं. को हदम्याद नाघी परेको प्रस्तुत फिराद खारेज गर्नुपर्नेमा सप्तरी जिल्ला अदालतको मिति २०५९/२/५ को खारेजी फैसला उल्टी हुने ठहराएको पुनरावेदन अदालत, राजविराजको फैसला त्रुटिपूर्ण भई नमिलेकोले उल्टी भई फिराद खारेज हुने ठहर्‍याएको सुरू सप्तरी जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने यस अदालतको संयुक्त इजलासबाट मिति २०६६/११/१२ मा भएको फैसला ।

आमा ननुवतीको हकवाला सन्तान एक मात्र छोरी म वादी हुँदाहुँदै आमाको स्वर्गवासपश्चात्‌ आमाको नाममा रहेका जग्गाहरू आफ्नो नाममा गराउन जग्गा पजनीको २क नं. ले जहिलेसुकै पाउने कानूनी व्यवस्था रहेको छ । मेरी आमासँग छुट्टिएर अलग भएका वौवालालले ननुवतीको हकवाला हुँ भनी जग्गा दर्ता गराएका हुन् । यस्तो कानूनी व्यवस्था र अवस्थासमेतको मूल्याङ्कन गरी पुनरावेदन अदालतले मेरो नाममा मागबमोजिम हुने गरी भएको फैसला कानूनसम्मत छ । पुनरावेदन अदालतबाट भएको फैसला फरक पर्ने अवस्थामा मुद्दाका दुवै पक्षलाई झिकाई फैसला गर्नुपर्नेमा मलाई नझिकाई पुनरावेदन अदालतको फैसला उल्टी गरी भएको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको त्रुटिपूर्ण भएकाले सो फैसला बदर गरी पुनरावेदन अदालतको फैसला सदर गरिपाउँ भन्ने वादी गुलजरिया देवी यादवनीको मिति २०६८/७/२९ को पुनरावलोकन गरिपाउँ भन्ने निवेदन पत्र ।

यसमा निवेदिका वादीका बाबु कुसुमलाल यादव माइला र प्रतिवादी वौवालाल यादव कान्छा भई वादी प्रतिवादी काका भतिजी नाताको रहेको देखियो । वादीका बाबुको मृत्युपश्चात्‌ निजकी आमा ननुवती र यी प्रतिवादीबीच मिति २०२१/१२/२४ मा रीतपूर्वकको बन्डापत्र पारित गरी अलग अलग भएका र ननुवतीको एक मात्र सन्तान यी निवेदिका वादी भएकोमा विवाद छैन । अपुतालीको २ नं. अनुसार मर्नेको कोही नभएमा मात्र सँग बसेका हकवाला वा त्यस्ता सँग बसेका हकवाला नभए अरू हकवालाले अपुताली पाउने 

हो । तर प्रस्तुत विवादमा मर्नेको छोरी रहेकी अवस्थामा त्यस्तो सम्पत्तिको हक अरू हकवालामा सर्न नसक्ने अवस्थामा ननुवतीको अपुताली खाने आफू हकवाला भएको भनी यी प्रतिवादीले भाउज्यू ननुवतीको नामको जग्गा आफ्नो नाममा मिति २०५२/१०/१८ मा नामसारी गराएको देखिन्छ । प्रतिवादीले सुरू जिल्ला अदालतसमक्ष मिति २०५८/११/१४ मा अ.बं. १३३ नं. अनुसार कागज गर्दा ननुवतीको मृत्यु २०२६ असोजमा भएको भनी उल्लेख गरेको भई हदम्याद ३ वर्षभित्र यी प्रतिवादीले उक्त जग्गा नामसारी नगराई २०५२/१०/१८ मा मात्र नामसारी गराएको अवस्था छ । मुलुकी ऐन छैठौं संशोधन २०३३/४/२८ ले यी प्रतिवादीको हक समाप्त गरी मर्नेको छोरीमा हक स्वतः भएकोमा यी प्रतिवादीले उक्त सम्पत्ति अपुताली परेको भनी नामसारी गराएको क्रियालाई कानूनी मान्यता दिई वादीको दाबी हदम्याद विहीन भनी फिराद खारेज हुने भनी ठहर गरेको देखिन्छ । अपुतालीको २० नं. को म्यादभित्रमा प्रतिवादीलाई नलागेको हदम्याद वादीलाई मात्र लाग्दछ भन्न मिल्दैन । मुलुकी ऐन छैठौं संशोधनले अपुतालीको हक मर्नेको छोरीले पाउने गरी व्यवस्था भई सम्पत्तिको हक स्वतः यी वादीमा हस्तान्तरण हुन सक्ने अवस्थामा पनि वादीका हकमा अपुतालीको २० नं. को हदम्याद आकर्षित हुने तर स्वतः हक सर्न नसक्ने अवस्थाको व्यक्तिको हकमा उक्त हदम्याद नलाग्ने अर्थ गरी फिराद दाबी खारेज हुने ठहर गरेको फैसलामा ने.का.प. २०५६, नि.नं. ६७३३ पृष्ठ ४१४ मा प्रतिपादित सिद्धान्तप्रतिकूल निर्णय भएको 

देखियो ।

साथै यी वादीले सो सम्पत्ति पाउने ठहर गरी पुनरावेदन अदालत, राजविराजको मिति २०६१/१०/७ मा भएको फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेकोमा पुनरावेदन अदालतको फैसला उल्टी गरी फिराद दाबी खारेज हुने ठहर गरी मिति २०६६/११/१२ मा फैसला भएको देखियो । पुनरावेदन अदालतको फैसलामा तात्त्विक भिन्नता हुने गरी फैसला गर्दा त्यस्तो फैसलाबाट प्रत्यक्ष असर पर्ने पक्षलाई अ.बं. २०२ नं. बमोजिम झिकाई उचित सुनुवाइको मौका प्रदान गरी कानून, न्यायका मान्य सिद्धान्त तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको अनुशरण गरी स्वच्छ सुनुवाइको प्रत्याभूतिका साथ प्रमाणबाट ठहरेबमोजिम निर्णयमा पुग्नुपर्नेमा अ.बं. २०२ नं. समेतको प्रयोग नै नगरी पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दाबी खारेज हुने ठहर गरेको यस अदालतको मिति २०६६/११/१२ को फैसला ने.का.प. २०५६, नि.नं. ६७३२ पृष्ठ ४०९ मा प्रतिपादित सिद्धान्तविपरीत भई न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) को अवस्था विद्यमान देखिँदा प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिदिएको छ । दुवै पक्षलाई सूचना जारी गरी तारेखमा राखी निर्णयार्थ पेस गर्नु भन्ने यस अदालत पूर्ण इजलासबाट मिति २०७०/४/६ मा भएको आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पेस हुन आएका मिसिल संलग्न कागज प्रमाणहरूको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, राजविराजको मिति २०६१।१०।७ को फैसला उल्टी गरी फिराद खारेज हुने ठहर्‍याई यस अदालतको संयुक्त इजलासबाट मिति २०६६/११/१२ मा भएको फैसला मिलेको छ छैन ? पुनरावलोकनकर्ता / वादी गुल्जरिया देवी यादवनीको पुनरावलोकन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने विषयमा निर्णय गर्नुपर्ने देखियो ।

यसमा आमा ननुवतिले प्रतिवादी वौवालाल यादवसँग मिति २०२१/१२/२४ मा अंशबन्डा गरी भोगचलन गरी आएको कि.नं. २३ र १४ का जग्गाहरू प्रतिवादी वौवालाल यादवले मिति २०५२।१०।१८ को मालपोत कार्यालय सप्तरीको निर्णयले आफ्ना नाममा नामसारी गराई लिएकोले आमाको शेषपछि अपुताली पाउने म एक मात्र छोरी भएकाले अपुतालीको २ नं. तथा जग्गा पजनीको २क नं. बमोजिम म वादीका नाममा हक कायम गरिपाउँ भन्ने फिराद रहेको देखियो । वादीको फिराद अपुतालीको महलको २० नं. को हदम्याद ३ वर्ष नाघी दायर भएको हुँदा फिराद खारेज गरिपाउँ भन्ने प्रतिउत्तर व्यहोरा रहेकोमा सुरू सप्तरी जिल्ला अदालतले अपुतालीको २० नं. को हदम्यादभित्र फिराद नपरेको हुँदा हदम्यादको आधारमा फिराद खारेज हुने ठहर गरी फैसला गरेको र आमाको नाउँमा रहेको सम्पत्तिमा स्वभावतः हक रहने छोरीले दर्ता नगराएकै कारणबाट वौवालालको नाममा दर्ता नामसारी हुन नसक्ने हुँदा हदम्यादका आधारमा फिराद खारेज गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला उल्टी भई फिराद दाबीअनुसार हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, राजविराजबाट भएको फैसला उल्टी गरी सुरू फैसला सदर हुने ठहर्‍याई यस अदालतको संयुक्त इजलासबाट मिति २०६६/११/१२ मा भएको फैसला उपर प्रस्तुत पुनरावलोकन दायर भई निस्सा प्रदान भई पेस हुन आएको देखियो । 

२. निर्णयतर्फ विचार गर्दा वादी गुल्जरिया देवी यादवनीकी आमा ननुवति र प्रतिवादीमध्येका वौवालाल यादव देवर भाउजू भई मिति २०२१/१२/२४ मा अंशबन्डा गरी छुट्टिभिन्न भई बसेको देखिन्छ । ननुवतीदेवी यादवको २०२६ सालमा मृत्यु भएको र निजकी एक मात्र सन्तान वादी गुल्जरियादेवी यादवनी भएको कुरामा विवाद रहेको देखिँदैन । वादीकी आमा ननुवती यादव र प्रतिवादीमध्येका वौवालाल यादवका बीचमा मिति २०२१/१२/२४ मा भएको बन्डापत्रमा ननुवतीका बन्डामा परेका कि.नं. १४ र २३ का जग्गाहरू ननुवतीको २०२६ सालमा मृत्यु भएपछि वौवालाल यादवले २०५२/१०/१८ मा मालपोत कार्यालयबाट आफ्नो नाममा दर्ता गराएको देखिन्छ । मुलुकी ऐन, अपुतालीको महलको २ नं. मा यस महलको अन्य नम्बरहरूको अधीनमा रही अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहिता छोरी, छोराको छोरा वा निजको अविवाहिता छोरी भएसम्म अरूले अपुताली पाउँदैन । मर्नेको छोरा नभई विधवा बुहारी भएमा निजले छोरासरह अपुताली पाउँछे । त्यस्ता कोही नभएमा विवाहिता छोरी विवाहिता छोरी पनि नभए निजका छोरा वा अविवाहिता छोरी र निजहरू पनि नभए त्यस्तो अपुताली ऐनबमोजिमको हकवालाले पाउँछन् भन्ने व्यवस्था रहेको छ । साथै सोही महलको २० नं. मा यस महलमा अन्यत्र हदम्याद लेखिएको कुरामा बाहेक अपुताली परेको तीन वर्षभित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था रहेको देखियो ।

३. यसरी अपुतालीको महलको २ नं. को उक्त कानूनी व्यवस्था हेर्दा मर्नेको हक खाने नजिकको कोही नभएमा मात्र अन्य हकवालाले पाउने अवस्था 

देखिन्छ । प्रस्तुत विवादमा मर्नेको छोरी यी वादी गुल्जरिया देवी यादवनी रहेको कुरामा विवाद छैन । मर्नेको छोरी रहेको अवस्थामा निजको नाममा रहेको सम्पत्तिको हक अरू हकवालामा सर्न सक्ने अवस्था नरहेकोमा मृतक ननुवतिको अपुताली खाने आफू हकवाला भएको भनी प्रतिवादी वौवालालले भाउज्यू ननुवतीका नामको जग्गा आफ्नो नाममा मिति २०५२/१०/१८ नामसारी गराई लिएको देखिन्छ । प्रतिवादीले अपुताली परेको सम्पत्तिको हकवाला आफू भएको भनी उक्त मितिमा नामसारी गराएकोमा सुरू जिल्ला अदालतबाट वादीको दाबी अपुतालीको २० नं. को हदम्याद नाघी दायर हुन आएको भन्ने आधारमा फिराद खारेज हुने ठहर गरी फैसला गरेको देखियो । उक्त २० नं. को कानूनी व्यवस्था हेर्दा नजिकको हकवालालाई ३ वर्षभित्रमा नालेस दिनुपर्ने र अन्य हकवालाको लागि सो हदम्याद नलाग्ने भन्ने अवस्था देखिँदैन । ननुवतीको मृत्यु भइसकेपश्चात्‌ निजको नाममा रहेको सम्पत्तिमा निजकी छोरी वादी गुल्जरिया देवी यादवनीको स्वतः हक स्थापित भएको अवस्थामा निजले अपुतालीको महलको २० नं. ले तोकेको ३ वर्षभित्र नालिस नदिएकै आधारमा निजको हक समाप्त भई अन्य हकवालामा जाने भन्ने अवस्था रहँदैन । मर्नेको छोरीले हदम्यादको आधारमा जग्गा नामसारी गराउन नपाउने हो भने प्रतिवादीले २०५२ सालमा आएर गराएको नामसारीले कानूनी मान्यता पाउने भनी व्याख्या गर्न सकिने अवस्था देखिँदैन । अपुतालीको महलको २ नं. को कानूनी व्यवस्थाअनुसार मर्ने ननुवती देवी यादवको मृत्युपश्चात् निजकी छोरी यी पुनरावलोकनकर्ता / वादी गुल्जरिया देवी यादवनीको उक्त सम्पत्तिमा स्वतः हक स्थापित भएको अवस्थामा उक्त जग्गाको नामसारी नभएकै आधारमा आफ्नो नाममा नामसारी गर्ने हक प्रतिवादीलाई जुन कानूनले प्रदान गरेको छ, सोही कानूनी व्यवस्थाबमोजिम वादीको हकमा समेत समान रूपले नामसारी गर्न नपाउने भन्ने अर्थ गर्न मिल्दैन ।

४. अतः उल्लिखित आधार र कारणबाट आमाको मृत्युपश्चात् आमाको नाममा रहेको सम्पत्तिमा छोरीको स्वतः हक स्थापित भएको अवस्थामा हदम्यादको आधारमा फिराद खारेज हुने ठहर गरी सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी वादी दाबीबमोजिम प्रतिवादीका नामको दर्ता बदर भई वादीको नाममा उक्त कि.नं. १४ र २३ को जग्गा दर्ता हुने ठहर्‍याई पुनरावेदन अदालत, राजविराजबाट भएको फैसला उल्टी हुने ठहर गरी अपुतालीको २० नं. को हदम्याद नाघी फिराद परेको भनी हदम्यादको आधारमा फिराद खारेज गर्ने गरी सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०६६/११/१२ मा भएको फैसला उल्टी भई पुनरावेदन अदालत, राजविराजको मिति २०६१/१०/७ को फैसला सदर हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि ठहर खण्डमा यस अदालतको संयुक्त इजलासबाट मिति २०६६/११/१२ मा भएको फैसला उल्टी भई पुनरावेदन अदालत, राजविराजको फैसला सदर हुने ठहरी फैसला भएकाले पुनरावेदन अदालत, राजविराजको फैसलाको तपसिल खण्डबमोजिम प्रतिवादी वौवालाल यादवका नाममा कायम रहेका सप्तरी जिल्ला मानराजा गा.वि.स. वडा नं. ९(ख) का कि.नं. १४ र २३ का जग्गाहरूको दर्ता बदर गरी उक्त जग्गाहरू वादी गुल्जरिया देवी यादवनीका नाममा दर्ता कायम गरिदिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु भनी सुरू सप्तरी जिल्ला अदालत तहसिल शाखामा लेखी पठाउनू .........................१

वादीले फिराद दर्ता गर्दा राखेको कोर्ट फी रू.९८५।२८ तथा पुनरावेदन अदालत, राजविराजमा पुनरावेदन दायर गर्दा राखेको कोर्ट फी रू.१४८।०५ र यस अदालतमा पुनरावलोकन गर्दा दाखिल गरेको पुनरावलोकन दस्तुर रू.१००।- समेत जम्मा रू.१२३३।३३ वादीले प्रतिवादीबाट भराई पाउने हुँदा उक्त रकम भराइ पाउँ भनी प्रतिवादीको यसै सरहदको जेथा देखाई म्यादभित्र वादीको दरखास्त पर्न आए कुनै दस्तुर नलिई प्रतिवादीबाट वादीलाई भराई दिनु भनी सुरू सप्तरी जिल्ला अदालत तहसिल शाखामा लेखी पठाइ दिनू ....................................................२ 

सरोकारवालाले प्रस्तुत फैसलाको नक्कल माग गरे नियमानुसार गरी नक्कल दिनू ...........................३

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ..........४

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

न्या. सारदाप्रसाद घिमिरे

 

इजलास अधिकृत:  दुर्गाप्रसाद खनाल

इति संवत् २०७३ साल पौष ७ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु