शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८५४ - जबरजस्ती करणी

भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी 

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

फैसला मिति : २०७४।०१।२९

०७१-CR-१३८९

 

मुद्दाः जबरजस्ती करणी ।

 

पुनरावेदक / प्रतिवादी : जिल्ला दाङ, हापुर गा.वि.स. वडा नं. २ घर भई हाल कारागार कार्यालय तुलसीपुरमा कैदमा रहेको देवेन्द्र गिरी

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित नामथर जिल्ला प्रहरी कार्यालय दाङ (ञ) को जाहेरीले नेपाल सरकार 

 

मोबाइलमा सम्पर्क भएको वा मिसकल (miss call) गरेको भन्‍ने आधारमा मात्र करणीकै लागि प्रतिवादीहरूलाई आमन्त्रण भएको थियो भनी अनुमान गर्न नमिल्ने । 

(प्रकरण नं. ४)

आफूलाई जबर्जस्ती करणी भएको भनी महिलाले तथ्यसहित उजुर गरिरहेको परिप्रेक्ष्यमा नेपाली समाजको वर्तमान अवस्था, एउटी महिलाको इज्जत प्रतिष्ठाप्रतिको सामाजिक दृष्टिकोण र साँघुरो यौन स्वतन्त्रताको नेपाली परिवेशमा अन्यथा स्थापित हुने अवस्था नदेखिएसम्म एउटी महिलाले रातको समयमा दुई जना व्यक्तिहरूलाई एकसाथ बोलाई पालै पालो करणी गर्न मन्जुरी दिइन् होला भनेर विश्वास गर्न सकिने अवस्था नरहने । 

(प्रकरण नं. ५)

 

पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू नारायणप्रसाद देवकोटा र महानिधी सेढाइ

प्रत्यर्थी वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता दुर्गा खड्का

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

 

सुरू फैसला गर्नेः-

माननीय न्यायाधीश श्री विश्‍वमंगल आत्रेय

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का

माननीय न्यायाधीश श्री पदमराज भट्ट

 

फैसला

न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, तुलसीपुरको मिति २०७१/९/२० को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्‍य  र ठहर यसप्रकार छ :-

मिति २०६९/१०/१३ गते राति अ. २१:०० बजेको समयमा मामाका छोराछोरी वर्ष ११/१२ का भाई बहिनीहरूसँग सुतिरहेको अवस्थामा माधव गिरी र देवेन्द्र गिरी म सुतिरहेको घरको झ्यालबाट भित्र प्रवेश गरी मेरो मुख रूमालले थुनी मलाई कोठाबाट लतार्दै घिसारेर दुवै जनाले घरदेखि दक्षिणतर्फ रहेको खरकट्टीमा लगी मेरो घाँटी र मुखमा गलबन्दी रूमालले बाँधी दुवै जनाले जबरजस्ती करणी गरेको हुँदा निज अन्यायीहरूलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको परिवर्तिति नाम थर जिल्ला प्रहरी कार्यालय दाङ (ञ) को जाहेरी दरखास्त ।

जिल्ला दाङ, हापुर गा.वि.स. वडा नं. ४ स्थित पूर्व भन्मै सोता, पश्‍चिम दुर्घ बहादुर न्यौपानेको खेतबारी, दक्षिण बाँझो खेतबारी र उत्तर दुर्घबहादुर न्यौपानेको खेतबारी यति चार किल्लाभित्र रहेको खरको झाडीमा मिति २०६९/१०/१३ गते राति अ. २१:०० बजेको समयमा परिवर्तित नाम थर जिल्ला प्रहरी कार्यालय दाङ (ञ) लाई देवेन्द्र गिरीसमेतका व्यक्तिले जबरजस्ती करणी गरेको भनिएको ठाउँमा माटो खोस्रिएको, खर उखेलिएको, कुल्चिएको भन्‍नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

परिवर्तित नाम थर जिल्ला प्रहरी कार्यालय, दाङ (ञ) को स्वास्थ्य परीक्षण गर्दा निजको शरीरमा कुने बाहिरी चोटपटक नदेखिएको, निजको योनिको पछाडी भागमा सामान्य चोट देखिएको, कन्या जाली च्यातिएको, घस्रिएको चिह्न देखिन्छ भन्‍ने स्वास्थ्य परीक्षण रिपोर्ट ।

प्रतिवादीहरू माधव गिरी र देवेन्द्र गिरीको स्वास्थ्य परीक्षण गर्दा निजहरूको शरीरमा कुनै चोटपटक नदेखिएको, लिङ्गको अवस्था सामान्य रहेको कपडाहरूको अवस्था सामान्य रहेको निजहरूले करणी गरेको स्वीकार गरेको भन्‍ने स्वास्थ्य परीक्षण प्रतिवेदन ।

मिति २०६९/१०/१३ गतेको राति अं. २१:०० बजेको समयमा जाहेरवाली परिवर्तित नाम जिल्ला प्रहरी कार्यालय दाङ (ञ) ले देवेन्द्र गिरीलाई फोनबाट माधव गिरीलाई पनि घरको दक्षिणतिरको खरबारीमा लिएर आउनु भनेपछि देवेन्द्र गिरीले मलाई जाउँ जाहेरवालीले बोलाएकी छ भनेपछि देवेन्द्र गिरी र म सो ठाउँमा जाँदा हामी पुग्नुभन्दा पहिला जाहेरवाली पुगिसकेकी थिइन् । हामी सबैको सल्लाह अनुसार म अलि पर गएर बसेँ, देवेन्द्र गिरीले जाहेरवालीलाई यौन सम्पर्क गरिसकेपछि जाहेरवालीले मलाई बोलाई मैले हुन्छ की हुँदैन भनी सोधेपछि हुन्छ भनिन् र दुवैको सल्लाहले मैले पनि एक पटक यौनसम्पर्क गरेको हुँ । जाहेरवालीलाई मैले जबरजस्तीसँग नभई निजकै सल्लाह अनुसार यौन सम्पर्क गरेको हुँ । यस अघि २०६९ साल पौष महिनाको २५/२६ गते तिर पनि जाहेरवालीले सोही ठाउँमा देवेन्द्र गिरी र मलाई बोलाएको अवस्थामा देवेन्द्र र मैले निजलाई एक / एक पटक यौन सम्पर्क गरेका हौं । सो कुरा जाहेरवालीको घर परिवारले थाहा पाएको कारणले जाहेरवालीले मसमेतको नाममा किटानी जाहेरी दरखास्त दिएको हुनुपर्छ भन्‍नेसमेत व्यहोराको प्रतिवादी माधव गिरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६९/१०/१३ गतेको राति अं. २१:०० बजेको समयमा जाहेरवालीले आफ्नो मोबाइल नं. ९८०९७८३१७० बाट मेरो मोबाइल नं. ९८४७९६४१०६ मा मिसकल गरेपछि मैले निजलाई कल गरेको हुँ । फोनमा कुरा हुँदा जाहेरवालीले माधव गिरी र तिमी मेरो घरको दक्षिणपट्टि रहेको झाडीमा आउनु भनेपछि म र माधव गिरी जाहेरवालीले बोलाएको स्थानमा जाँदा हामीभन्दा अगाडी जाहेरवाली पुगिसकेकी थिइन । केहिछिन कुराकानी भएपछि जाहेरवालीकै सहमतिमा माधव गिरी र मैले जाहेरवालीलाई एक / एक पटक यौन सम्पर्क गरेपछि आ-आफ्नो घर गएका हौं । २०६९ साल पौष महिनाको २५/२६ गतेतिर पनि सोही स्थानमा जाहेरवालीको सहमतिमा माधव गिरी र मैले यौन सम्पर्क गरेका 

थियौं । सो कुरा जाहेरवालीको घर परिवारले थाहा पाएको कारणले जाहेरवालीले मसमेतको नाममा किटानी जाहेरी दरखास्त दिएको हुनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी देवेन्द्र गिरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६९/१०/१३ गतेको राति जाहेरवाली परिवर्तित नामथर जिल्ला प्रहरी कार्यालय दाङ (ञ) लाई प्रतिवादी देवेन्द्र गिरी र माधव गिरीले घरको दक्षिणतर्फ रहेको झाडीमा लगी पालैपालोसँग जबरजस्ती करणी गरिसकेपछि जाहेरवालीलाई सोही ठाउँमा लगी छोडी गएका हुन् भन्‍ने कुरा सुनी थाहा पाएपछि जाहेरवालीको घरमा आउँदा जाहेरवालीको कुर्ता च्यातिएको, कपाललगायत लगाएको कपडाहरूमा धुलो लागेको र शरीरका विभिन्‍न भागमा कोतरिएको दाग देखेको हुँ । यसरी सामुहिकरूपमा जबरजस्ती करणी गर्ने माधव गिरी र देवेन्द्र गिरीलाई कानूनबमोजिम कारवाही हुनुपर्छ भन्‍ने तिला बस्नेत, बसन्ती बुढाथोकी र मीना विष्टसमेतले गरेको घटना विवरण कागज ।

मिति २०६९/१०/१३ गतेको राति हेमराज सिजवाल, लक्ष्मी बुढाथोकी, घनश्याम बुढाथोकी, बसन्ता सिजवाल र परिवर्तित नाम थर जिल्ला प्रहरी कार्यालय, दाङ (ञ) एउटै कोठामा सुतिराखेका थियौं । प्रतिवादीहरूले जाहेरवालीलाई कोठाबाट के कसरी लगे थाहा भएन । एक्‍कासी रातिको समयमा जाहेरवाली रुँदै आएपछि मलाई देवेन्द्र गिरी र माधव गिरीले जबरजस्ती करणी गरे भनेपछि थाहा पाएका हौं । यसरी जबरजस्ती करणी गर्ने प्रतिवादीहरूलाई कानूनबमोजिम कारवाही हुनुपर्छ भन्‍ने व्यहोराको लक्ष्मी बुढाथोकी, बसन्ता सिजवाल र हेमराज सिजवालसमेतले गरेको घटना विवरण कागज ।

प्रतिवादीहरू देवेन्द्र गिरी र माधव गिरीले मिति २०६९/१०/१३ गते राति पीडित परिवर्तित नामथर जिल्ला प्रहरी कार्यालय, दाङ (ञ) लाई सामुहिकरूपमा जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत ऐ. ३(क) नं. बमोजिमको कसुर गरेको हुँदा प्रतिवादीहरू देवेन्द्र गिरी र माधव गिरीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय (४) बमोजिमको सजायका साथै सोही महलको ३(क) नं. बमोजिम थप सजाय हुन तथा सोही महलको १० नं. बमोजिम निज प्रतिवादीहरूबाट पीडित जाहेरवालीलाई मनासिब क्षतिपूर्तिसमेत भराई पाउँ भन्‍नेसमेत व्यहोराको वादी नेपाल सरकारको अभियोग पत्र ।

पीडित जाहेरवालीले ९८०९७८३१७० नं. को मोबाइलबाट मेरो मोबाइल नं. ९८४७९६४१०६ मा मिसकल गरेपछि मैले उसको मोबाइलमा फोन गरेको हुँ । फोनबाटै उसको घरदेखि केही पर झाडीमा बस्ने ठेगान भई माधव गिरीलाई समेत लिएर आउनु भनेकाले हामी दुवै जना रातको अं. ८:३० तिर घटनास्थल खरबारीमा जाँदा जाहेरवाली पहिला नै गएर बसेकी थिइन । त्यहाँ हाम्रो कुराकानी भई सल्लाह र सहमतिले पहिला मैले र पछि माधवले पालैपालो करणी गरेका हौं । जबरजस्ती करणी गरेको हैन । शायद उसको घरका मानिसहरूले थाहा पाएको हुनाले हामीउपर जाहेरी दरखास्त दिएकी होलिन् भन्‍नेसमेत व्यहोराको प्रतिवादी देवेन्द्र गिरीले अदालतसमक्ष गरेको बयान ।

मिति २०६९/१०/१३ गते अं. ५ बजेतिर जाहेरवालीले देवेन्द्र गिरीको मोबाइलमा मिसकल गरेपछि देवेन्द्रले जाहेरवालीको ९८०९७८३१७० नं. को मोबाइलमा फोन गर्दा जाहेरवालीले हामी दुवैजनालाई उसको घरदेखि दक्षिणतिर रहेको घटनास्थल खरबारीमा बोलाएपछि हामी दुवैजना बेलुकी अं. ८:३० बजेतिर पुग्दा जाहेरवाली पहिले नै पुगिसकेकी थिइन् । त्यसपछि हामी एकछिन बसी कुराकानी गरेपछि जाहेरवालीकै इच्छाअनुसार पहिला देवेन्द्रले र पछि मैले यौनसम्पर्क गरेका हौं । कुनै करकाप जोर जुलुम गरी करणी गरेको हैन । जाहेरी व्यहोरा झुठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी माधव गिरीले अदालतसमक्ष गरेको बयान ।

पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल अ.बं. ११८ को देहाय २ बमोजिम प्रतिवादीहरू देवेन्द्र गिरी र माधव गिरीलाई पुर्पक्षका लागि थुनामा राख्‍नु र प्रतिवादी चुक्ता भइसकेकाले पीडित, घटनास्थल मुचुल्का गर्ने व्यक्तिहरू, मौकामा बुझिएका मानिसहरू र प्रतिवादीका साक्षी बुझी नियमानुसार पेस गर्नु र परीक्षणका लागि पठाएको भन्‍ने रिपोर्ट प्रतिवेदन झिकाई मिसिल सामेल राख्नु भन्‍नेसमेत व्यहोराको मिति २०६९/११/९ गतेको जिल्ला अदालतको आदेश ।

मिति २०६९/१०/१३ गते राति अं. ९:०० बजेतिर म सबैको मामाको घरमा माधव गिरी र देवेन्द्र गिरी भन्‍ने मानिसहरू आई झ्यालबाट भित्र पसी मलाई बोकी जबरजस्ती घरदेखि पश्‍चिमतिर खरबारीमा लगी पहिले माधव गिरी र त्यसपछि देवेन्द्र गिरीले पालैपालो जबरजस्ती करणी गरेका हुन् भन्‍ने व्यहोराको पीडित जाहेरवाली परिवर्तित नामथर जिल्ला प्रहरी कार्यालय, दाङ (ञ) ले अदालतसमक्ष गरेको बकपत्र ।

प्रतिवादीहरू र जाहेरवाला बीचमा पटक पटक भेटघाट र फोनमा कुराकानीसमेत हुने गर्दथ्यो । मिति २०६९/१०/१३ गतेको दिन पनि जाहेरवालीले प्रतिवादी देवेन्द्रको मोबाइलमा फोन गरेकी 

थिइन् । जाहेरवाली र प्रतिवादीहरू बीच उक्त मितिमा जबरजस्ती करणी नभई निजहरूको सहमतिबाटै करणी लिनु दिनु भएको हो भन्‍ने व्यहोराको प्रतिवादीका साक्षी सीता गिरीले अदालतमा गरेको बकपत्र ।

जाहेरवाली पीडितलाई मिति २०६९/१०/१३ गतेको साँझतिर माधव गिरी र देवेन्द्र गिरीले जबरजस्ती करणी गरेकाले प्रतिवादीहरूलाई सजाय हुनुपर्ने हो भन्‍नेसमेत व्यहोराको वादी पक्षका साक्षी तिला बस्नेतले अदालतमा गरेको बकपत्र ।

मिति २०६९/१०/१३ गतेको बेलुकी अं. ९:०० बजेको समयमा पीडित जिल्ला प्रहरी कार्यालय दाङ (ञ) र प्रतिवादीहरू बीच करणी लिनुदिनु भएकै हो तर जबरजस्ती करणी भएको होइन । पीडित र प्रतिवादीहरू बीच आपसी सल्लाह र सहमतिबाटै करणी लिनुदिनु भएको हो भन्‍नेसमेत व्यहोराको प्रतिवादीका साक्षी चुडामणी गिरीले अदालतमा गरेको बकपत्र ।

मिति २०६९/१०/१३ गते राति दुईजना मानिस हामी सुतेको कोठामा आई दिदीलाई उठाएर लग्न लागे । हामीलाई बोले, हल्ला गरेपछि मारिदिन्छौं भनेकाले डरले हामीहरूले केही गर्न सकेनौँ । दिदीलाई कोठाबाट उठाई घर बाहिर लगेका थिए । मिति २०६९/१०/१३ गतेको घटना विवरण कागजको व्यहोरा र सोमा भएको सहीछाप मेरै हो भन्‍नेसमेत व्यहोराको वादीका साक्षी हेमराज सिजवालले अदालतमा गरेको बकपत्र ।

हामी सुतेको ठाउँ कोठामा राति दुईजना मैले नचिनेका मानिस आएका थिए । ती मानिसहरूले दिदी पीडितलाई लगी गएका थिए । डरले हामीले केही गर्न सकेनौं भन्नेसमेत व्यहोराको वादीका साक्षी लक्ष्मी बुढाथोकीले अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरू उपर किटानी जाहेरी, पीडितको स्वास्थ्य जाँच रिपोर्ट, पीडित सँगसँगै सुतेका हेमराज सिजवाल र लक्ष्मी बुढाथोकीको मौकाको कागज र अदालतसमक्षको बकपत्र, मौकामा कागज गर्ने मानिसहरूको कथन, माटो खोस्रिएको र खर उखेलिएको भन्‍ने घटनास्थल प्रकृति मुचुल्का, करणी गरेका हौं भन्‍ने प्रतिवादीहरूको साबिती बयानसमेतबाट जाहेरवाली पीडितलाई प्रतिवादीहरूले सामुहिकरूपमा जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले प्रतिवादीहरू देवेन्द्र गिरी र माधव गिरीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ को देहाय ४ बमोजिम ५(पाँच) वर्ष कैद र ऐ. को ३(क) नं. बमोजिम थप ५(पाँच) वर्ष गरी जम्मा १०(दश) वर्ष कैदको सजाय हुने ठहर्छ । क्षतिपूर्तिको हकमा पीडितले प्रतिवादीहरूबाट जनही रू.२५,०००/- (पच्चीस हजार) क्षतिपूर्तिबापत भरी पाउने ठहर्छ भन्नेसमेत व्यहोराको मिति २०७०/१२/०१० को दाङ देउखुरी जिल्ला अदालतको फैसला ।

हामी प्रतिवादीहरूले अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दा पीडित भनिएकी जिल्ला प्रहरी कार्यालय दाङ (ञ) लाई जबरजस्ती करणी गरेका होइनौँ । पीडितसँग हाम्रो पहिलेदेखि नै चिनजान र प्रेम सम्बन्ध रहेकोले जाहेरवालीको सहमतिबाटै निजसँग यौन सम्बन्ध भएको हो । निजसँग उक्त मितिभन्दा अघि पनि सहमतिमा करणी भएको र वारदात मितिका दिन पीडितले आफ्नो मोबाइलबाट देवेन्द्र गिरीको मोबाइलमा माधवलाई समेत लिई आउनु भनी फोन गरी बोलाएकी हुन् । सो फोन संवादको रेकर्ड बुझ्ने भनी आदेश भई नेपाल दूरसञ्‍चार कम्पनीलाई समेत कल डिटेल उपलब्ध गराउन पत्राचार भएकोमा दूरसञ्‍चार कम्पनीबाट संवाद रेकर्ड राख्‍ने प्रविधि नभएको भन्‍ने जवाफसमेत प्राप्त भएको अवस्था छ । यसरी सुरू अदालतबाट फैसला हुँदा आफूले गरेको आदेश पूर्णरूपमा कार्यान्वयन नै नगरी हामीहरूलाई कैद सजाय हुने गरी फैसला गरिदिएको छ । पीडितले आफ्नो जाहेरी व्यहोरालाई अदालतसमक्ष आई पुष्टि गरिदिएको भन्‍ने आधार लिइएको छ । पीडितले घटनाको बारेमा तत्काल कोही कसैसँग नभनी कुनै किसिमको प्रतिकार पनि नगरी चूप लागी बसेबाट पनि करणी हुनमा निजको सहमति रहेको प्रष्ट हुन्छ । वारदातको बारेमा अरूले थाहा पाएपछि आफ्नो इज्जत जोगाउनका लागि पनि निजले आफन्तहरूको बहकाउमा लागि हाम्रो विरूद्ध झुठ्ठा उजुरी दिएकी हुन् । हामीहरूले पीडितको इच्छा विरूद्ध जबरजस्ती करणी गरेको नभई सहमतिले नै करणी गरेको हुँदा सुरू अदालतबाट हामीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाई दिलाई पाउँ भन्‍ने प्रतिवादीहरू देवेन्द्र गिरी र माधव गिरीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

जाहेरवालीको मोबाइल नं. ९८०९७८३१७० बाट प्रतिवादी देवेन्द्र गिरीको मोबाइल नं. ९८४७९६४१०६ मा विभिन्‍न मितिमा ९ पटकसम्म फोन गरी कुरा भएको र प्रतिवादी माधव गिरीको मोबाइल नं. ९८१९५३३४६० बाट जाहेरवालीको मोबाइल नं. मा २ पटक कुरा भएको मिसिल संलग्न दूरसञ्‍चारको Call Detail Statement बाट देखिएको तथा जाहेरवाली र निजका भाइबहिनीहरूसँगै सुतेको कोठाको झ्यालबाट प्रतिवादीहरू भित्र पसेको जाहेरवाली र निजका भाइबहिनीहरूले देखेको भन्‍ने बकपत्र भए पनि बचाउको लागि जाहेरवाली वा अन्य कसैले विरोध नगरेको अवस्था रहेको देखिँदा प्रमाण मूल्याङ्कनको सन्दर्भमा सुरू दाङ देउखुरी जिल्ला अदालतको मिति २०७०/१२/१० को फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, तुलसीपुरलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालतको मिति २०७१/७/२३ को आदेश ।

पीडित परिवर्तित नामथर जिल्ला प्रहरी कार्यालय दाङ (ञ) को योनिको पछाडिको भागमा सामान्य चोट देखिएको, कन्याजाली च्यातिएको, योनिमा घस्रिएको चिह्न देखिन्छ भन्‍ने स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख हुनु, पीडित जाहेरवालीले प्रतिवादीहरूले आफूलाई कोठबाट जबरजस्ती उठाई खरबारीमा लगी जबरजस्ती करणी गरेका हुन् भनी आफ्नो जाहेरीलाई पुष्टि हुने गरी अदालत आई बकपत्र गर्नु, वारदात मितिमा पीडितसँग सँगै सुतेका हेमराज सिजवाल र लक्ष्मी बुढाथोकिले २ जना मानिस हामी सुतेको कोठामा आई दिदीलाई जबरजस्ती उठाएर लगेका हुन् । हल्ला गरेपछि मारिदिने धम्की दिएकोले डरले केही गर्न सकेनौँ भनी मौकामा लेखाइदिएको कागजलाई पुष्टि गर्दै अदालतमा बकपत्र गरिदिनु, प्रतिवादीहरू अदालतमा कसुर गरेतर्फ इन्कार भई बयान गरे पनि अनुसन्धान अधिकारीसमक्ष कसुरमा साबित भई बयान गर्नु, तथा सहमतिबाट करणी लिनु दिनु भएको हो भन्‍ने प्रतिवादीहरूको अदालतको बयानलाई प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिम पुष्टि गर्न सकेकोसमेत नदेखिएबाट प्रतिवादीहरूले पीडित जाहेरवालीलाई जबरजस्ती करणी गरेको तथ्य शंकारहित रूपबाट प्रमाणित हुन आएको छ । अतः प्रतिवादीहरू देवेन्द्र गिरी र माधव गिरीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ को देहाय ४ बमोजिम ५(पाँच) वर्ष कैद गरी जम्मा दश वर्ष कैद सजाय हुने र प्रतिवादीहरूबाट क्षतिपूर्तिबापत पीडितलाई जनही रू.२५,०००/- (पच्चीस हजार) भराई दिने ठहर्‍याई गरेको सुरू दाङ देउखुरी जिल्ला अदालतको मिति २०७०/१२/१० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत व्यहोराको मिति २०७१/९/२० को पुनरावेदन अदालत, तुल्सीपुरको फैसला ।

हामीलाई दोषी ठहर गर्दा जाहेरीलाई मूल आधार बनाइएको छ । तर जाहेरी स्वतन्त्र प्रमाणबाट पुष्टि हुन सकेको छैन । हामीले करणी गरेको होइन भनेको छैन । करणी त भएको हो तर जाहेरवालीको सहमतिले भएको हो । घरबाट घिसार्दै खरबारीमा लगेको भए जाहेरवालीको शरीरमा घाउचोट हुनुपर्ने सोसमेत शारीरिक परीक्षण प्रतिवेदनबाट देखिएको छैन । कन्याजाली च्यातिनु मात्र जबरजस्ती करणीको चिह्न होइन । सहमतिमा नै हामीले करणी गरका 

छौं । जाहेरवालीको उमेर पुगेको छ त्यस अवस्थामा कन्याजाली नहुनु स्वाभाविक हो । सुरू र पुनरावेदनका फैसलाहरूले त्यस्ता कुराहरूलाई आधार लिई भएको फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी अभियोग दाबीबाट सफाई पाउँ भनी प्रतिवादीहरूको यस अदालतमा परेको पुनरावेदन पत्र ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू श्री नारायणप्रसाद देवकोटा र महानिधी सेढाइले जाहेरवाला र प्रतिवादीहरूका बीच सहमतिमा करणी लिनु दिनु भएको तथ्य जाहेरवालीले प्रतिवादीको मोबाइलमा गरेको फोनबाट पनि प्रष्ट 

छ । घरमा मानिसहरूको बीचमा सुतेकी जाहेरवालीलाई प्रतिवादीहरूले बोकी घिसारी लगेको भए निजले कराउनु चिच्याउनु पर्ने, शरीरमा चोटपटक आदि देखिनुपर्नेमा सो पनि देखिएको छैन । घर परिवारले थाहा पाएको कारण मात्र जाहेरी परेको हो भन्‍ने कुरा उक्त तथ्यहरूले स्थापित भएको अवस्थामा प्रतिवादीहरूलाई सजाय गर्ने गरी भएको फैसला मिलेको छैन सफाई हुनुपर्छ भनी गर्नुभएको बहस तथा नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री दुर्गा खड्काले फोन गर्दैमा करणी सहमतिमा भएको भन्‍न सकिन्‍न, घरबाट जबरजस्ती लैजाँदा डरधाक धम्की दिएर लगेको भन्‍ने कुरा जाहेरवालीको बकपत्र तथा बुझिएका व्यक्तिहरूको बकपत्रसमेतबाट देखिएको अवस्थामा प्रतिवादीहरूले करणी गरेको स्वीकार गरेको देखिएको स्थितिमा निजहरूलाई सजाय गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भनी गर्नु भएको बहस सुनी मिसिलसमेत अध्ययन गरी विचार गर्दा पुनरावेदन अदालत, तुलसीपुरको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरूले जाहेरवाली प्रहरी कार्यालय दाङ (ञ) लाई घरबाट जबरजस्ती खरबारीमा लगी जबरजस्ती करणी गरेकोले जबरजस्ती करणीको १ नं. विपरीत ३(क) बमोजिमको कसुर गरेकोले ३(४) नं. बमोजिम सजाय गरी ३(क) नं. बमोजिमको थप सजायसमेत गरी, पीडितलाई क्षतिपूर्तिसमेत दिलाउन माग गरी अभियोग पत्र दायर भएकोमा प्रतिवादीहरूलाई जनही १० वर्ष कैद तथा रू.२५,०००/- क्षतिपूर्ति भराई दिने गरी सुरू अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालतबाट फैसला भएकोमा सोमा चित्त नबुझाई प्रतिवादीहरूले पुनरावेदन गरेको देखियो ।

३. पीडितलाई घरमा सुतिरहेको अवस्थामा प्रतिवादीहरूले रूमालले मुख थुनी, लतार्दै बाहिर लगेको भन्‍ने जाहेरी दरखास्तबाट देखिन्छ । पीडितसँगै सुतेका निजका भाइ, बहिनी हेमराज सिजवाल र लक्ष्मी बुढाथोकीले अदालतमा आई बकपत्र गर्दा दुईजना मानिसहरूले दिदीलाई उठाई लान लागेको र आफूहरूले हल्ला गर्न खोज्दा मारिदिने धम्की दिएकोले चुप लागी बसेका हौं भनी खुलाई दिएको देखिन्छ । पीडितले अदालतमा आई बकपत्र गर्दासमेत प्रतिवादीहरूले आफूलाई जबरजस्ती घरबाट बाहिर लगी जबरजस्ती करणी गरेका हुन् भनी बकपत्र गरिदिएको अवस्था छ । बुझिएका तिला बस्नेतले यिनै प्रतिवादीहरूले पीडितलाई जबर्जस्ती करणी गरेका हुन् भनी बकपत्रसमते गरिदिएको अवस्था 

छ । यसरी बुझिएका व्यक्ति, पीडितसमेतले अदालतमा आई आफ्नो जाहेरी, कागज व्यहोरालाई समर्थन गरी प्रतिवादीहरूले जबर्जस्ती करणी गरेका हुन् भनी बकपत्र गरिदिएको देखिएको छ । घटनास्थलको खर माडिएको, माटो उक्किएकोसमेतको अवस्था देखिएको र पीडितको शारीरिक परीक्षण प्रतिवेदनले योनिमा चोट देखिएको अवस्था छ । यी सम्पूर्ण तथ्य प्रमाणले पीडितलाई जबर्जस्ती करणी भएको भन्‍ने जबर्जस्ती करणीको आपराधिक तथ्य (corpus delicti) स्थापित भएको देखियो । 

४. प्रतिवादीहरूले बयान गर्दा जबरजस्ती करणी गरेको नभई सहमतिले करणी लिनुदिनु भएको हो भनी भने तापनि पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा योनिको पछाडी भागमा सामान्य चोट तथा घस्रिएको चिह्न देखिएको छ, पीडितको कथन प्रतिवादीहरू विरूद्ध छ । प्रतिवादीहरूले आफ्नो कथन स्थापित / पुष्टि गर्ने ठोस प्रमाण पेस गर्न सकेको छैन । मोबाइलमा सम्पर्क भएको वा मिसकल (miss call) गरेको भन्‍ने आधारमा मात्र करणीकै लागि प्रतिवादीहरूलाई आमन्त्रण भएको थियो भनी अनुमान गर्न पनि मिल्दैन ।

५. आफूलाई जबर्जस्ती करणी भएको भनी महिलाले तथ्यसहित उजुर गरिरहेको परिप्रेक्ष्यमा नेपाली समाजको वर्तमान अवस्था, एउटी महिलाको इज्जत प्रतिष्ठाप्रतिको सामाजिक दृष्टिकोण र साँघुरो यौन स्वतन्त्रताको नेपाली परिवेशमा अन्यथा स्थापित हुने अवस्था नदेखिएसम्म एउटी महिलाले रातको समयमा दुई जना व्यक्तिहरूलाई एकसाथ बोलाई पालै पालो करणी गर्न मन्जुरी दिइन् होला भनेर विश्वास गर्न सकिने अवस्था रहँदैन । त्यसमाथि प्रस्तुत वारदातमा प्रतिवादीहरूले पीडितलाई घरबाटै जबरजस्ती उठाई लगेको भन्ने कुरा हेमराज र लक्ष्मीले प्रत्यक्ष देखेका छ्न् । निजहरूले सो कुरा अदालतमा आई बकपत्र गर्दासमेत खुलाई दिएको अवस्था छ । पीडितको सहमतिले करणी लिनुदिनु गरेको भए प्रतिवादीहरू उपर जाहेरी दिनुपर्ने तथा अदालतमा समेत आई बकपत्र गर्नुपर्ने अवस्था नै रहने थिएन । उल्लिखित अवस्थाहरूले गर्दा सहमतिमा करणी लिनु दिनुभएको हो भन्‍ने प्रतिवादीहरूको कथनलाई मान्‍न सकिने अवस्था रहेन ।

६. अतः माथि उल्लिखित तथ्य एवम्‌ प्रमाणको आधारमा प्रतिवादीहरू देवेन्द्र गिरी र माधव गिरीले पीडितलाई जबरजस्ती करणी गरेको ठहर्‍याई निजहरूलाई मुलुकी ऐन, जबर्जस्ती करणीको महलको ३ को देहाय ४ नं. बमोजिम जनही ५ वर्ष कैद र ऐ. को ३(क) नं. बमोजिम थप ५ वर्ष कैद गरी जम्मा जनही १० वर्ष कैद गरी पीडितलाई जनही २५,०००/-(पच्चीस हजार रूपैयाँ) क्षतिपूर्ति प्रतिवादीहरूबाट भराई दिने ठहर्‍याई भएको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, तुलसीपुरको मिति २०७१/९/२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. दीपकराज जोशी 

 

इजलास अधिकृत : सुमनकुमार न्यौपाने

इति संवत् २०७४ साल वैशाख २९ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु