निर्णय नं. ९८५९ - जालसाजी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
फैसला मिति : २०७३।०७।२४
०६८-CR-०९६२
मुद्दा : जालसाजी ।
पुनरावेदक / वादी : उदयपुर जिल्ला, जोगिदह गा.वि.स. वडा नं. ८ बस्ने मेनसु कुमारी चौधरीसमेत
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : उदयपुर जिल्ला, जोगिदह गा.वि.स. वडा नं. ८ बस्ने सबुरलाल चौधरीसमेत
साक्षी हुनु र कारणी हुनुमा तात्त्विक अन्तर पर्दछ । साक्षीको हैसियत अर्काले गरेको व्यवहारको प्रमाणित गर्छ भने कारणीको हैसियत व्यवहारको कर्ता बन्नु हो । तसर्थ घरको मुख्य व्यक्ति साक्षीसम्म बसी गरेको व्यवहारलाई लेनदेन व्यवहारको ८ नं.अन्तर्गत कारणीले गरेको मान्न मिलेन । अंश बन्डाको १९ नं. को प्रयोग छोरा वा स्वास्नी हुने अर्थात् बाबुको हकमा प्रयोग हुने हो । बाबुबाहेकका घरको मुख्यलाई उक्त अंशबन्डाको १९ नं. आकर्षित हुन सक्ने देखिँदैन । सो अंशबन्डाको १९ नं. मा पनि बाबु स्वयम् नै कारणी भएर व्यवहार गरेको हुनुपर्ने ।
लेनदेन व्यवहारको १० नं. अनुसार सगोलमा रहेका वादीहरूलाई साक्षी नराखी निजहरूको मन्जुरीको लिखतसमेत नगराई रजिष्ट्रेशन पारित गरिएको राजीनामा लिखतबाट वादीहरूको हक गएको देखिएको अवस्थामा किर्ते कागजको १८ नं. बमोजिम म्यादभित्र नै दायर भएको फिरादलाई अन्यथा मान्न नमिल्ने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, विद्वान अधिवक्ता खगेन्द्र राउत
प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता अविनास कुमार प्याकुरेल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री यज्ञराज भट्ट
पुनरावेदन तहमा फैसला गर्ने :
मा.का.मु. मुख्य न्या. श्री लोकेन्द्र मल्लिक
माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल
फैसला
न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
विपक्षीहरू र हामीबीचमा अंशबन्डा हुन बाँकी छ । बन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति विपक्षीको जिम्मामा रहेकोमा बन्डा गरी सम्पत्ति पनि नदिएको र अंशसमेत नदिएको हुँदा विपक्षीसमेत उपर अंश मुद्दा दिई विचाराधीन अवस्थामा छ । हाम्रोसमेत अंश हक लाग्ने जिल्ला उदयपुर गा.वि.स. गाइघाट वडा नं. ६(क) कि.नं. ८३ को ज.वि. ०-२-० ऐ. ऐ. ८६ को ज.वि. ०-३-० समेत जम्मा ज.वि. ०-५-० जग्गाको थैली रू.५,००,०००।- राखी विपक्षी सासु पल्टीदेवी चौधरी ऋणी विपक्षी हंसाकुमारी चौधरी धनी बनी मालपोत कार्यालय, उदयपुरबाट र.नं. ३८३४ मिति २०६५।१।१२ गते जालसाजी तवरबाट राजीनामा लिखत रजिष्ट्रेसन पारित गराई दा.खा. समेत गरी सो कार्य प्रकाशमा नल्याई गुपचुप राखी हाम्रो हक मेट्ने उद्देश्यले अंश हकबाट वञ्चित गराउने उद्देश्यले जालसाज गरेको हुँदा विपक्षीहरूलाई सजाय गरी जालसाजबाट गरेको लिखत बदर गरिपाउँ भन्ने फिराद दाबी ।
लेनदेन व्यवहारको १० नं. को हद म्यादभित्र फिराद दायर नभई हदम्याद नाघी फिराद दायर भएको हुँदा खारेज गरिपाउँ भन्ने प्रतिवादी हंसाकुमारी चौधरीको प्रतिउत्तर पत्र ।
घरको मुख्य व्यक्तिको मन्जुरीले घर खर्च गर्नबापत भनी उक्त जग्गा बिक्री गरेको देखिँदा उक्त जग्गा प्रतिवादी पल्टीदेवी चौधरीको नाउँमा भएकै कारण निज प्रतिवादी पल्टीदेवी नामबाट प्रतिवादी हंसाकुमारी चौधरीको नाममा बिक्री भई गएको देखिँदा, घरको मुख्य व्यक्तिकै सल्लाह र मन्जुरीमा बिक्री गरेको देखिँदा घरको मुख्य व्यक्तिकै सल्लाह मन्जुरीमा बिक्री गरेको देखिन आयो । मुलुकी ऐन अंशबन्डा महलको १९(१) नं. ले अचलमा आधासम्म घर व्यवहार चलाउन घरको मुख्यले बिक्री गर्न पाउने कानूनी व्यवस्था भएकोमा, यहाँ घरखर्च गर्नबापत नै भनी बिक्री गरेको अवस्था हुँदा घर व्यवहार चलाउनलाई मुख्य व्यक्ति प्रतिवादी सबुरलालकै मन्जुरी र सल्लाहमा बिक्री गरेकोलाई वादीको हक मेटिएको भन्ने अवस्था देखिन आएन । तसर्थ जालसाजी घोषित गरिपाउँ भन्नेसमेत वादीको फिराद दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू उदयपुर जिल्ला अदालतको मिति २०६७।८।२६ को फैसला ।
हामी वादी प्रतिवादीहरूको घरमूली सबुरलाल चौधरी हुन् र सबुरलाल चौधरीको पत्नी पल्टीदेवी घरमूली होइन भन्ने हाम्रो पुस्तावलीबाटै पुष्टि हुन्छ । पल्टीदेवीले विपक्षी हंसाकमारी चौधरीलाई बिक्री गर्दा मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. बमोजिम हाम्रो पनि मन्जुरी लिनुपर्ने र हामीलाई साक्षी राख्नुपर्ने सो नगरी राजीनामा परित गरिदिएको हुँदा विपक्षीहरू मिली जालसाज गरी हाम्रो अंशहक मारेको, मुलुकी ऐन अंशबन्डा महलको १९(१) को आधारलाई हेर्दा हामी वादी प्रतिवादीको घरमूली सबुरलाल चौधरी भएको दाबीको कि.नं. ८३ र ८६ का जग्गा पिता पुर्खाको पालाको भनी व्याख्या गर्न नमिल्ने, उक्त खरिद गरी लिएको जग्गा पनि घरमूलीको नाउँमा दर्ता नरहेको प्रष्ट हुँदाहुँदै अंशबन्डाको १९(१) नं. ले आधासम्म घर चलाउन पाउने भनी ऐनलाई गलत किसिमले व्याख्या गरी गरिएको प्रत्यक्ष कानूनी त्रुटिपूर्ण फैसला उल्टी गरी फिराद दाबीबमोजिम गरिपाउँ भन्ने मेनसु चौधरी, रेणुका कुमारी चौधरी, कलावती चौधरीसमेतको पुनरावेदन पत्र ।
सबुरलाल चौधरी दाताको पति हुन् र निजले सो राजीनामाको लिखतमा सहिछाप गरेका छन् । जग्गा दर्ता हुने जग्गाधनीले आफ्नो हक पुग्ने जग्गा कानूनको रीत पुर्याई हक हस्तान्तरण गरेको कार्यलाई जालसाजको संज्ञा दिन मिल्दैन । तसर्थ उक्त लिखत जालसाज ठहर नगर्ने गरी उदयपुर जिल्ला अदालतबाट मिति २०६७।८।२६ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, राजविराजको मिति २०६८ ।३ ।१४ को फैसला ।
एकासगोलको परिवारमा रहेका हामी निवेदक वादीहरूको समेत अंश हक लाग्ने विपक्षीमध्येकी पल्टीदेवीको नाममा दर्ता कायम रहेको कि.नं. ८३ र कि.नं. ८६ को जग्गा हामीहरूको कुनै मन्जुरी नै नलिई विपक्षीले हंसाकुमारी चौधरीलाई र.नं ३८३४ मिति २०६५।१।१२ गतेको लिखतबाट लिनुदिनु गरेका हुँदा हाम्रो अंशहकको सम्पत्तिमा हाम्रो कुनै मन्जुरी विना नै बिक्री गर्ने कार्य जालसाजीपूर्ण रहेकोले बदर गर्नुपर्नेमा सुरू अदालतले गरेको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, राजविराजबाट भएको फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने व्यहोराको वादीहरूको यस अदालतमा पर्न आएको निवेदन ।
यसमा यसै लगाउको ०६८-RI-११५१ को अंश दर्ता मुद्दामा आज यसै इजलासबाट मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान भएको र सो मुद्दा प्रस्तुत मुद्दासँग अन्तरप्रभावी भएकोले प्रस्तुत मुद्दामा समेत न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६८।१०।२७ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खड्का र विद्वान् अधिवक्ता श्री खगेन्द्र राउतले वादीहरूको अंशहकको सम्पत्तिसमेत निजहरूको मन्जुरी विना नै घरको मूली नै नभएको व्यक्तिले अरूको हक नै मेटाउने गरी बिक्री गर्ने कार्य जालसाजीपूर्ण भएको हुँदा बदर गरिपाउँ भनी गर्नु भएको बहस र प्रत्यर्थीको तर्फबाट विद्वान् अधिवक्ता श्री अविनास कुमार प्याकुरेलले अरू सगोलको सम्पत्तिबाट नै वादीहरूको अंशहक बराबरको सम्पत्ति लिन सक्ने अवस्था भएको र घरको मूलीसमेतलाई साक्षी राखी घरव्यवहारको लागी बिक्री गरिएको हुँदा यो कार्य जालसाजी नभएकोले सुरू र पुनरावेदन अदालतबाट भएको फैसला मिलेको हुँदा सोही सदर गरिपाउँ भनी गर्नु भएको बहससमेत
सुनियो ।
विद्वान् वरिष्ठ अधिवक्ता एवम् विद्वान् अधिवक्ताहरूले गर्नुभएको उपर्युक्त व्यहोराको बहस जिकिर सुनी पुनरावेदन पत्रसहितका सक्कल मिसिल कागजातहरू अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, राजविराजबाट भएको फैसला मिलेको छ छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा वादीहरूले आफ्नो फिरादमा हाम्रो अंश मार्ने नियतबाट विपक्षीहरूबाट कि.नं. ८३ र कि.नं. ८६ को जग्गा हामीहरूको कुनै मन्जुरी नै नलिई विपक्षीले हंसाकुमारी चौधरीलाई र.नं ३८३४ मिति २०६५।१।१२ गतेको लिखतबाट लिनु दिनु गरेका हुँदा उक्त कार्य जालसाजीपूर्ण रहेकोले जालसाजी घोषित गरी लिखत दर्ता बदर गरिपाउँ भन्ने दाबी लिई प्रस्तुत फिराद परेको देखिन्छ । प्रतिवादीहरूले फिराद गर्ने वादीहरूको अंशहक मार्ने नियतले बिक्री नगरिएको घरमूलीसमेत भई घरव्यवहारको लागि साक्षी बसी कारोबार गरिएको हुँदा फिराद दाबी खारेजभागी छ भन्नेसमेत जिकिर लिएको पाइन्छ ।
३. लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुशी गर्न पाउने अरूको मन्जुरी लिनु नपर्नेमा बाहेक अरूमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मन्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ भन्नेसमेत लेखिएको पाइन्छ । वादीहरू एकासगोलमा रहेका अंशियार रहेको कुरामा कुनै विवाद देखिँदैन ।
४. प्रतिवादीमध्येकी जग्गा बिक्री गर्ने पल्टीदेवीको घरमूली सबुरलाल चौधरीको श्रीमती र यी वादीहरूको सासु / हजुरआमा भन्ने कुरामा विवाद देखिन्न । निजहरूसँग वादीहरू छुट्टी भिन्न भएको भन्ने कुराको प्रमाण प्रतिवादीहरूले लेखाउन सकेको छैन । प्रतिवादीहरूले जग्गा बिक्री गर्दा सगोलमा रहेका अंशियार यी वादीहरूलाई साक्षी राखी लिखत गरेको वा निजको मन्जुरीको लिखत भएको भन्ने देखिँदैन । घरको मुख्य व्यक्ति प्रतिवादी सबुरलाल चौधरी भन्ने कुरामा विवाद देखिन्न । वादीहरूले बदर गरिपाउँ भनी दाबी लिएको लिखत हेर्दा त्यसमा प्रतिवादीमध्येका सबुरलाल चौधरी साक्षीसम्म रहेको पाइन्छ । तर घरको मुख्य सबुरलाल कारणी बनी आगे भई लिनु दिनु गरी व्यवहार गरेको भन्ने देखिँदैन । साक्षी हुनु र कारणी हुनुमा तात्त्विक अन्तर पर्दछ । साक्षीको हैसियत अर्काले गरेको व्यवहारको प्रमाणित गर्छ भने कारणीको हैसियत व्यवहारको कर्ता बन्नु हो । तसर्थ घरको मुख्य व्यक्ति साक्षीसम्म बसी गरेको व्यवहारलाई लेनदेन व्यवहारको ८ नं. अन्तर्गत कारणीले गरेको मान्न मिलेन । अंशबन्डाको १९ नं.को प्रयोग छोरा वा स्वास्नी हुने अर्थात् बाबुको हकमा प्रयोग हुने
हो । बाबु बाहेकका घरको मुख्यलाई उक्त अंशबन्डाको १९ नं. आकर्षित हुन सक्ने देखिँदैन । सो अंशबन्डाको १९ नं.मा पनि बाबु स्वयम् नै कारणी भएर व्यवहार गरेको हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा त्यस्तो अवस्था विद्यमान नहुँदा उक्त अंशबन्डाको १९ नं. को जिकिर प्रासंगिक देखिएन । तसर्थ लेनदेन व्यवहारको १० नं.अनुसार सगोलमा रहेका वादीहरूलाई साक्षी नराखी निजहरूको मन्जुरीको लिखतसमेत नगराई रजिष्ट्रेशन पारित गरिएको राजीनामा लिखतबाट वादीहरूको हक गएको देखिएको अवस्थामा किर्ते कागजको १८ नं. बमोजिम म्यादभित्र नै दायर भएको फिरादलाई अन्यथा मान्न मिलेन ।
५. अतः उपर्युक्त उल्लेख भएअनुसार पल्टीदेवीको नाममा दर्ता कायम रहेको कि.नं. ८३ र कि.नं. ८६ को जग्गा विपक्षीले हंसाकुमारी चौधरीलाई र.नं ३८३४ मिति २०६५।१।१२ गतेको लिखतबाट गरेको राजीनामा जालसाजीपूर्ण तरिकाबाट गरिएको देखिँदा वादीहरूको हकसम्मको उल्टी भई वादीहरूका नाउँमा दर्ता हुनेसमेत ठहर्छ । जग्गा दर्ता हुने जग्गाधनीले हक हस्तान्तरण गरेको कार्यलाई जालसाजको संज्ञा दिन नमिल्ने भनी जालसाज ठहर नगर्ने गरी उदयपुर जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, राजविराजबाट मिति २०६८।३।१४ मा भएको फैसला नमिलेको हुँदा उल्टी हुने ठहर्छ । प्रतिवादी हंसा कुमारी चौधरीले रकम हाली जग्गा खरिद गरेको देखिँदा निजले जालसाजी गरेको भन्न नमिली प्रतिवादी पल्टीदेवीले सम्म जालसाजी गरेको ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पल्टीदेवीको नाममा दर्ता कायम रहेको कि.नं. ८३ र कि.नं. ८६ को जग्गा विपक्षीले हंसाकुमारी चौधरीलाई रू.५,००,०००।– मोल बिगो राखी गरेको राजीनामाको लिखत जालसाजीपूर्ण तरिकाबाट गरिएको देखिँदा बदर गरी जालसाज ठहर गर्ने गरी फैसला भएकोले जालसाजीको कागज गर्ने गराउनेलाई किर्ते कागजको १० नं. बमोजिम बिगोको सयकडा पच्चीसबमोजिम हुन आउने एक लाख पच्चीस हजार रूपैयाँको जरिवानाको लगत राखी प्रतिवादी पल्टीदेवीबाट असुलउपर गर्नु भनी सुरू अदालतमा लेखी पठाउने ....................१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइ दिनू .............................२
उक्त रायमा सहमत छु ।
न्या. सारदाप्रसाद घिमिरे
इजलास अधिकृत : यज्ञप्रसाद आचार्य
इति संवत् २०७३ साल कात्तिक २४ गते रोज ४ शुभम् ।