निर्णय नं. ९८६१ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई
फैसला मिति : २०७३।०३।२१
०७१-CR-००८७
मुद्दाः कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. ३ घर भई हाल कारागार कार्यालय, भरतपुरमा थुनामा रहेको सञ्जु महतोसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार
०७१-CR-००८८
पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. ३ घर भई हाल कारागार कार्यालय, भरतपुरमा थुनामा रहेको डोमा महतोको छोरा वर्ष ५३ को विक्रम महतोसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार
०७१-CR-००८९
पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. ३ धोवाह घर भई हाल कारागार कार्यालय, भरतपुर, चितवनमा थुनामा रहेको जीवन महतोको छोरा वर्ष २९ को विक्रम महतोसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार
०७१-CR-०१००
पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. २ बघौडा घर भई हाल कारागार कार्यालय, भरतपुर चितवनमा थुनामा रहेको विक्रम महतोकी छोरी वर्ष २५ की लक्ष्मी महतो
विरूद्ध
प्रत्यर्थी / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार
०७१-CR-०५२०
पुनरावेदक / प्रतिवादी : भारत पश्चिम चम्पारण गोवरैयादोना थाना घर भई जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. २ मा डेरा भई हाल कारागार कार्यालय, भरतपुर, चितवनमा थुनामा रहेको जुगेश्वर महतो
विरूद्ध
प्रत्यर्थी / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार
०७१-CR-०३७२
पुनरावेदक / वादी : झारी महतोको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला चितवन, माडी बघौंडा गाउँ विकास समिति, वडा नं. २ बघौडा बस्ने विक्रम महतोकी छोरी वर्ष २५ की लक्ष्मी महतोसमेत
कसैलाई बोक्सी वा बोक्साको आरोप लगाउनु, सताउनु, अपहेलना, वा वहिष्करण गर्नु, आक्रमण गर्नु, सामाजिक बेइजति गर्नु वा मार्नु जघन्य अपराध हो । कसैलाई बोक्सा बोक्सीको आरोप लगाउनु मात्र पनि आरोपित व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रपूर्वक हिँड्डुल, कारोबार, व्यवसाय गर्न पाउने हकउपरको आक्रमण हो । यस दृष्टिबाट यो मानव अधिकारको गम्भीर उल्लङ्घनको प्रश्न हुन आउने ।
बोक्सी लगाएको भनी झारफुक गर्ने गराउने, बोक्सीको आरोप लगाई हिंसामा उत्रने वा त्यस्तो हिंसा हेरी ताली पिट्नेहरू बोक्सीको अस्तित्वमा विश्वास गर्छन् । बोक्सीउपर शारीरिक वा मानसिक हिंसामा उत्रनेहरू आफूहरूले बोक्सी भनी आरोप लगाइएका व्यक्तिहरू उपर अन्याय गरेको ठान्दैनन् बरू आफूले न्याय खोजेको र दैवी शक्तिको आडमा न्याय दिएको महसुस गर्छन् । यो मान्यता र अन्धविश्वासबाट समाजलाई बाहिर ननिकालेसम्म हामी यो समस्याबाट मुक्त हुन सक्दैनौं । त्यसको निम्ति सर्वप्रथम बोक्सी-बोक्सा हुँदैनन् भन्नेमा समाजलाई विश्वास दिलाउनु पर्ने ।
धामी झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसैको आडमा शोषण गरिरहेका छन् भन्ने पुरूष, महिला, बाल, युवा, प्रौढ सबैलाई बुझाउन जरूरी छ । बोक्सी प्रथाका विरूद्ध मात्र होइन त्यसको कारकको रूपमा रहेको धामी झाँक्री प्रथाको विरूद्ध नै हाम्रो राज्य, कानूनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्ने ।
(प्रकरण नं. १२)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता यदुनाथ शर्मा
प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता देवी रेग्मी, विद्वान् अधिवक्ता सुनिलकुमार पोखरेल, सानुमैया डंगोल र विमला यादव
अवलम्बित नजिर :
नेकाप २०६२, नि.नं.७४९८, पृ.२०५
सम्बद्ध कानून :
ज्यानसम्बन्धीको महलको १३(३) र १३(४)
सुरू तहमा फैसला गर्ने :
मा.जिल्ला न्या.श्री भोलानाथ चौलागाई
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
माननीय न्यायाधीश श्री सरोजप्रसाद गौतम
फैसला
न्या.डा. आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः-
जिल्ला चितवन, बघौडा गाउँ विकास समिति वडा नं. २ स्थित पूर्वमा लिला चौधरीको घर, पश्चिममा विक्रम महतोको घर, उत्तरमा ढेगनीदेवी महतोको गोठ, दक्षिणमा शनिचर चौधरीको खेत यति चार किल्लाभित्र जलेको पराल तथा खरानीले छोपिएको अवस्थामा मृतक ढेगनीदेवी महतोको लास रहेको, सो नजिक रगत जस्तो पदार्थ लागेको ढुङ्गा, काठको चिरेको मुढा, मट्टितेलको गन्ध आएको हरियो जरकिन रहेको, मृतकको कपाल केही जलेको, टाउको निधार च्यापु फुटेको, जलेको कारण चिन्न नसक्ने अवस्थामा रहेको, दाहिने कान च्यातिएको, शरीरमा भएका कपडाहरू जली केही मात्र बाँकी रहेको, कम्मरदेखि माथि अगाडिको भाग जलेको योनि तथा मलद्वार जली रातो कालो भएको भन्नेसमेत व्यहोराको घटनास्थल एवम् लास जाँच मुचुल्का ।
जिल्ला चितवन, बघौडा गाउँ विकास समिति, वडा नं. २ स्थित घटनास्थलबाट मट्टितेलको गन्ध आएको, जरकिन, २ बट्टा सलाई, रगतजस्तो पदार्थ लागेको ढुङ्गा, बाँसको लाठी, दाउरा चिर्दै गरेको काठको ठुटो, मानिसको जस्तो देखिने २ वटा दाँत र अर्ध जलेको चोलो कपडा बरामद गरिएको भन्नेसमेत व्यहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
विक्रम महतोको विवाहित छोरी मन्जु महतो बिरामी भएको निहुँमा गाउँकै जुगेश्वर महतोलाई बोलाई बोक्सी बकाई मेरी बुहारी वर्ष ४० की ढेगनीदेवी महतोलाई बोक्सीको आरोप लगाई यो बोक्सीलाई नमारेसम्म धेरै मान्छे मार्छे भनी १४/१५ दिनदेखि बुहारीलाई बोक्सीको आरोप लगाई शारीरिक तथा मानसिक यातना दिँदै आएको र बुहारी मिति २०६८।११।५ गते बिहान गोठमा गोबर फाल्दै गरेको अवस्थामा विपक्षी विक्रम महतोसमेतले समाती आफ्नो घरमा पुर्याई ढुङ्गा, लाठी, हात मुक्कासमेतले कुटपिट गरी दुवै स्तनमा टोकी रगत चुसी बिभत्स तरिकाले हत्या गरी घाँस पराल राखी आगोसमेत लगाएको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको झारी महतोको जाहेरी दरखास्त ।
Cause of death is Burn Injury भन्नेसमेत व्यहोराको मृतक ढेगनीदेवी महतोको शव परीक्षण प्रतिवेदन ।
मेरो बहिनी मन्जु र ज्वाईंं विक्रम महतो मिति २०६८।१०।२७ गते घरमा आएपछि बहिनीले पेट दुख्यो भनी झाँक्री जुगेश्वरकोमा हेराउन जाँदा ४/५ दिनसम्म आउनु पर्छ भनेकाले २ दिनपछि म पनि गएको हुँ । हेराउँदा झाँक्रीले छिमेकी बोक्सीले दुःख दिएको छ खतम पार्नुपर्छ भनेका थिए । घर फर्केपछि ज्वाईंले काम्दै ढेगनी बोक्सी हो यसलाई नमारी हुँदैन भन्न थाले । मिति २०६८।११।४ गते रातभर आमा, बुबालगायत सबैलाई ज्वाईंले एउटै कोठाभित्र राखी काम्दै ढेगनीलाई आजै मार्नुपर्छ भनी कराए, भोलिपल्ट बिहान ६.०० बजे ज्वाईं कुदेर बाहिर निस्किए, हामी पनि निस्कियौं । ढेगनी गोठमा रहिछन् बहिनी मन्जु र ज्वाईंले जगल्ट्याएर ढुङ्गाले टाउकोमा हाने । दाउराको मुडाले समेत हानेर मारी दिए । बाबु विक्रम महतो र आमा विक्रमिया महतोले छेक्ने र हातले हान्ने गरेका हुन । म र बहिनीहरू त्यहीँ थियौं । हामीले घेरेका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मी महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरी श्रीमती मन्जु महतोको हातखुट्टा, पेट दुखेकोले हेराउन भनी जुगेश्वर महतो कहाँ जाँदा झाँक्रीले ससुराली नजिकैको महिला बोक्सी छ । त्यसलाई खतम पार्नुपर्छ भनेका हुन् । हेराउन जाँदै गर्दा म र श्रीमतीसमेत काम्न थालेका हौं । बुझ्दै जाँदा गाउँकै ढेगनीदेवी महतो बोक्सी भएको थाहा भयो । झाँक्रीले बोक्सीलाई खतम गर्नुपर्छ भनेकोमा विश्वास लागी मार्ने सल्लाह गरेका हौं । मिति २०६८।११।४ गते रातभर जागाराम बसी भोलिपल्ट बिहानै म बाहिर निस्कँदा ढेगनीलाई उसैको गोठमा देखेकोले म र श्रीमती दौडँदै गई चुल्ठोमा समाती लछार पछार गरी मैले ढुङ्गाले टाउकोमा प्रहार गरी दाउरा चिर्ने मुडाले समेत हानी मारी दिएको हुँ । श्रीमतीले ग्यालेनमा मट्टितेल ल्याई मैले परालले छोपी दिएँ र सासुले सलाई कोरेर आगो लगाई दिएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विक्रम महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो माइली दिदी मन्जु महतो बिरामी भएकीले मिति २०६८।१०।२५ गते देखि हाम्रो घरमा आई बसेकी हुन् । जुगेश्वर नाम गरेको झाँक्रीलाई देखाउन जाने भनी २०६८।१०।२७ गतेदेखि ५ दिनसम्म लगातार जाँदा दिदी र भिनाजु विक्रम महतोलाई समेत देउता आयो भनी काम्ने गरेका थिए । झाँक्रीले घरमा बोक्सीले सताएको छ भनी भनेको र घर नजिकैकी ढेगनीदेवी महतो बोक्सी भएको थाहा भएपछि मिति २०६८।११।३ गतेदेखि दिदी भिनाजु रातभर कामेर ढेगनीलाई मार्नुपर्छ भनी कराएर हामीलाई समेत सुत्न दिएका थिएनन् । २०६८।११।५ गते बिहान अन्दाजी ६.०० बजे भिनाजु बाहिर निस्केर गोठमा मल फाल्दै गरेकी ढेगनीलाई तानेर लडाई ढुङ्गा र दाउराको मुडोले हानेर मारेका हुन् । हामीले हात मुक्काले हान्ने छेक्ने गरेका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी सन्जु महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
दिदी मन्जु महतो र भिनाजु विक्रम महतो मिति २०६८।१०।२५ गते मामाको छोराको विवाहमा गई २७ गते हाम्रो घरमा आउनु भएको थियो । दिदी बिरामी भएकीले झाँक्री जुगेश्वर महतोकोमा हेराउन जाँदा बोक्सी लागेको छ, छिमेककै मान्छे बोक्सी हो । त्यसलाई खतम पार्नुपर्छ नत्र दुःख दिई रहन्छ भनेकोमा ढेगनी बोक्सी रहिछ भनी दिदी र भिनाजुले काम्दै भनेका थिए । मिति २०६८।११।४ गते भिनाजु रातभर कामी सबैलाई सुत्न दिएका थिएनन् । मिति २०६८।११।५ गते बिहान भिनाजु बाहिर निस्केकाले हामी पनि पछि लाग्यौं । आफ्नै गोठमा रहेकी ढेंगनीलाई दिदी र भिनाजुले तानेर ल्याई टाउकोमा ढुङ्गा र दाउराको मुडोले हानेका हुन् । दिदी मन्जुले लाठीले हानेकी हुन् । बाबु आमाले हातैले हिर्काएका हुन् । हामीहरूले भाग्न नदिई छेकेका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णकुमारी महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
छोरी मन्जु महतो बिरामी भएकीले मिति २०६८।१०।२७ गते झाँक्री जुगेश्वर महतोकोमा हेराउन जाँदा घर छेउछाउ मै रहेकी विधवा महिलाले बोक्सी लगाई दिएको छ । त्यसलाई खतम पार्नुपर्छ भनी बताएका हुन् । छोरी र ज्वाईं विक्रम महतो लगातार ५ दिनसम्म झाँक्रीकोमा गएको र घरमा आएपछि दुवै जना काम्न थाले । हामीलाई ढेगनीदेवी महतोले बोक्सी लगाई दिएकी छन् भन्ने गर्थे । मिति २०६८।११।४ गते राति छोरी र ज्वाईं काम्न थाले । ज्वाईं विक्रम महतोले ढेगनीले बोक्सी लगाइदिएको छ । यसलाई मार्नुपर्छ भनेकाले मार्नै पर्छ भनी सबैले सल्लाह गरी भोलिपल्ट बिहान अन्दाजी ६.०० बजे ज्वाईं विक्रम महतो घरबाट निस्कनासाथ ढेगनीदेवी महतोलाई गोठमा देखी आज यसलाई मार्नुपर्छ भनी बताएकाले हामी पनि बाहिर निस्कयौं । ढेगनी भाग्न लागेकीले हामीले छेकी समाती ल्यायौं । ज्वाईंले नजिकै रहेको ढुङ्गाले टाउकोमा हिर्काए । हामीहरूले हातमुक्का लात्ताले हान्यौं । छोरी मन्जु महतोले बाँसको लाठीले हिर्काई ढेंगनी बेहोस अवस्थामा रहेकीले ज्वाईंले पुनः चिर्दै गरेको दाउराको ठुटोले टाउकोमा हानेपछि ढेंगनीको मृत्यु भएको हो । छोरी मन्जुले मट्टितेल, सलाई लिई आइन् । ज्वाईंले पराल लिई आए त्यसपछि मट्टितेल खन्याई आगो लगाई दिएका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी विक्रमिया महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
छोरी मन्जु महतो बिरामी भएकीले झाँक्री जुगेश्वर महतोकोमा हेराउन जाँदा झाँक्रीले छिमेकमा बोक्सी रहिछ त्यही बोक्सी लागेको भनी बताएका रहेछन् । ५ दिनसम्म लगातार हेराउन गएपछि छोरी मन्जु र ज्वाईं विक्रम महतो रातिमा काम्दै बोक्सी ढेगनी नै हो झाँक्रीले यसलाई खतम पार्नुपर्छ भनेका छन् । खतम पारेपछि सबैलाई राम्रो हुन्छ भनेका छन् भनी बक्न थालेपछि मसमेतलाई विश्वास लाग्यो । मिति २०६८।११।४ गते राति छोरी ज्वाईं काम्दा म पनि केही कामेको जस्तो लाग्यो । ज्वाईंले ढेगनीलाई खत्तम पार्नुपर्छ भनेकाले मैलेसमेत सहमत जनाएको र भोलिपल्ट बिहान ज्वाईं बाहिर निस्कनासाथ गोठमा ढेगनीलाई देखी बोक्सी यही हो यसलाई मार्नुपर्छ भनेकाले निज भाग्न खोज्दा हामीहरूले घेरा हाली भाग्न उम्कन नदिई समातेपछि ज्वाईंले छेउमा रहेको ढुङ्गाले टाउकोमा हिर्काए । छोरी मन्जुले बाँसको लाठीले हानी । हामी अरूले लात्ती मुक्काले हान्यौं । भुइँमा लडेपछि अझै मरेको छैन भनी ज्वाईंले दाउरा चिर्दाचिर्दैको मुडोले टाउकोमा हानेपछि ढेगनीको मृत्यु भएको हो । त्यसपछि पराल राखी मट्टितेल खन्याई आगो लगाई दिएका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी विक्रम महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
केही महिनादेखि मेरो हात खुट्टा तथा पेट दुख्ने भएकोले हेराउन भनी झाँक्री जुगेश्वर महतोकोमा गएकोमा निज झाँक्रीले घर नजिकैको विधवा महिला ढेगनीदेवी महतोले बोक्सी लगाई दिएको छ । त्यसलाई खत्तम पार्नुपर्छ अनि ठीक हुन्छ भनेका हुन् । त्यसपछि लगातार ५ दिनस्म झाँक्रीकोमा जाने आउने गर्दा म तथा पति विक्रम महतोसमेत काम्न थालेका हौं । मिति २०६८।११।४ गते राति घरका सबै जना जागराम बसी ढेगनीदेवी महतोलाई मार्ने भन्ने सल्लाह गर्दा सबैले सहमति जनाएपछि भोलिपल्ट बिहानै बाहिर निस्कँदा ढेगनी गोठमा गोबर फाली रहेकी रहिछिन् । बोक्सी यही हो यसलाई मार्नुपर्छ भन्दा भाग्न खोजेकीले कपालमा समाती ल्याई पति विक्रम महतोले ढुङ्गाले टाउकोमा प्रहार गरेका हुन् । मैले बाँसको लाठीले हानेकी हुँ । पतिले पुनः दाउरा चिर्दाचिर्दैको मुडोले हिर्काएका हुन् । अरूले यो बोक्सी हो यसलाई मार्नैपर्छ भनी हातमुक्काले हिर्काएका हुन् । निज मरिसकेपछि पतिले अब आगो लगाई जलाई दिएपछि यसको शरीरमा भएको बोक्सी भाग्छ भनेकाले मैले मट्टितेल, सलाई लिई आएको र पतिले पराल ल्याई शरीरमा राखिदिएपछि आमाले सलाई कोरी आगो लगाई दिएकी हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी मन्जु महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मैले आफू बसेको डेरा कोठामा देवी देवताको फोटो टाँसी राखी सोही फोटोको अगाडि बसी झारफुक गर्ने काम गर्छु । मेरोमा दैनिक बिरामी मानिसहरू आई निको भएको विश्वास गरी फर्कने गर्छन् । मैले हेर्दा देखेको कुरा भन्दिने गर्थें । त्यस्तैमा मन्जु महतो बिरामी भएको भन्दै निज मन्जु महतो, विक्रम महतो र विक्रमिया महतोसमेत आई हेराउन आएको र ५ दिनसम्म आएपछि केही कम भएको छ हेरी दिनुपर्यो भनेपछि माइतीघरको छिमेकी महिला ढेगनीदेवी महतोले दुःख दिएको छ । त्यसलाई खतम पार्नुपर्छ त्यसपछि तिम्रो माइती घर तथा घरमा समेत सुख शान्ति हुन्छ भनेको थिएँ । मिति २०६८।११।५ गते बिहान निज विक्रम महतोसमेतले निज ढेगनीदेवी महतोलाई मारी आगो लगाई दिएछन् । मैले बोक्सीलाई झार्नुपर्छ खतम पार्नुपर्छ भनेको हुँ । घटनास्थलमा गएको थिइन भन्नेसमेत व्यहोराको प्रतिवादी जुगेश्वर महतो गुरौंले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
झाँक्री जुगेश्वर महतो मेरो बहिनी ज्वाईं हुन् । करिब ३/४ महिनादेखि निज ज्वाईं र बहिनी सरस्वती महतोसमेत मेरो घरमा कोठा भाडामा लिई बस्दै आएका हुन् । निज जुगेश्वर महतोको कोठामा दिनमा २०/३० जना मानिसहरू बिरामी भई हेराउन आउँछन् । यस्तैमा विक्रम महतो, निजको श्रीमती मन्जु महतो र आमा बाबुसमेत हेराउन आएको देखेकी हुँ । निजहरूलाई जुगेश्वर महतोले के भनी पठाए मलाई थाहा थिएन । मिति २०६८।११।५ गते निज विक्रम महतोसमेतले ढेगनीदेवी महतोलाई ढुङ्गा लाठीसमेतले कुटपिट गरी मारी मट्टितेल खन्याई आगो लगाई दिएको भन्ने सुनेको हुँ । निजहरूलाई जुगेश्वर महतोले ढेगनी बोक्सी हो त्यसैले दुःख दिएको हो त्यसलाई झार्नुपर्छ भनी पठाएको भनेपछि थाहा पाएको हुँ । घटनामा मेरो संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मी महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६८।११।५ गते बिहान आमा ढेगनीदेवी महतो उठी गोबर फाल्न लागेको अवस्थामा पल्लो घरको ज्वाईं विक्रम महतो र हजुरबुबा विक्रम महतोको घर परिवार सबै जनाले मिली आमालाई बोक्सीको आरोप लगाई ढुङ्गा, लाठीसमेतले हानी मारेका हुन् भन्नेसमेत व्यहोराको मृतकका छोरा समिर महतो र छोरी मिना महतोले गरेको कागज ।
मेरो फुपाजु विक्रम महतो र फुपू मन्जु महतो हाम्रो घरमा आएर बस्नु भएकोमा कामेर ढेगनी ठूली आमालाई बोक्सी छ । हामीलाई खान लागेको भन्नु भएको थियो । मिति २०६८।११।४ गते घरभित्र हजुरबुबा, हजुरआमा, फुपाजु र फुपुहरू एउटै कोठामा बस्नु भएको थियो । अर्को बिहान भएपछि बाहिर निस्केर गोठमा रहेकी ढेगनी ठूली आमालाई फुपाले ढुङ्गाले टाउकोमा हानेको । अरू सबैले बोक्सी भन्दै कुटेको, ठूलो मम्मीले म होइन भनेर कराउँदा फुपाले ठूलो दाउराले हानेर मारेको अनि पराल ल्याएर आगो लगाई दिएको हो । ठूलो मम्मीलाई उनीहरूले मारेको मैले देखेकी हुँ भन्नेसमेत व्यहोराको लिल्मा महतोले गरेको कागज ।
जुगेश्वर महतो मेरो घरमा आई ५ वर्षसम्म बसी मेरो खेत अधिया कमाई खाई पहिलेकै बस्तीमा फर्किएको थियो । सो समयमा निज बेला बखतमा बेहोस हुने गर्थ्यो । मिति २०६८।११।५ गते बिहान ढेगनीदेवी महतोलाई बोक्सीको आरोप लगाई विक्रम महतोसमेतले मारेको भन्ने थाहा पाएको हुँ, घटनाको बारेमा बुझ्दा जुगेश्वर महतोले झाँक्री बनेर ढेगनीलाई बोक्सीको आरोप लगाएका कारण अरू प्रतिवादीहरूले मारेका भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको हेमबहादुर बानियाले गरेको कागज ।
प्रतिवादी जुगेश्वर महतोले झाँक्री बनी मन्जु महतोसमेतका मानिसलाई झारफुक गर्ने गरेको र ढेगनीदेवी महतोलाई हेराउने क्रममा बोक्सी छ भनेको डेराकोठामा भगवानहरूको फोटो, रूद्राक्षका मालाहरू समेत रहेको भन्नेसमेत व्यहोराको प्रतिवादी जुगेश्वर महतोको डेराकोठाको मुचुल्का ।
मेरो दिदीको घरमा डेरा लिई बसेका बहिनी ज्वाईं जुगेश्वर महतोले झाँक्री बनी झारफुकको काम गर्ने गरेका र बघौडा ६ बस्ने विक्रम महतो र निजकी श्रीमती मन्जु महतोसमेत हेराउन आउँदा ज्वाईं जुगेश्वरले ढेगनीदेवी महतोले बोक्सी लगाई दिएकी छ ठीक पार्नुपर्छ भनेको हुँदा विक्रम महतो, मन्जु महतोसमेतका परिवारले मिति २०६८।११।५ गते निजलाई कुटपिट गरी मारेको भनी सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको पशुपतिया महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६८।११।५ गते बिहान ढेगनीदेवी महतोलाई प्रतिवादी विक्रम महतो, विक्रमिया महतो, विक्रम महतो, लक्ष्मी महतो, मन्जु महतो, सन्जु महतो, कृष्णकुमारी महतोसमेतका अभियुक्तहरूले बोक्सीको आरोप लगाई आफ्नै गोठमा गोबर फालिरहेको अवस्थामा ढुङ्गा, दाउरा, लाठीसमेतले कुटपिट कर्तव्य गरी मारी जलाएकासमेत हुन् भन्नेसमेत व्यहोराको बुझिएका मानिसहरू लिलाराम चौधरी, जितनी महतो, नन्दलाल चौधरी, भविश्वर चौधरी, आशा चौधरी, नारायणप्रसाद महतो, डिल्लीराम महतोसमेत जना ७ ले गरेको एकै मिलानको कागज ।
मिसिल संलग्न घटनास्थल प्रकृति एवम् मृतक ढेगनी देवी महतोको लास जाँच मुचुल्का, बरामदी मुचुल्का, झारी महतोको जाहेरी, ढेगनीदेवी महतोको शव परीक्षण प्रतिवेदन, घटना देख्ने लिल्मा महतो, समिर महतो, मिना महतो, जितनी महतो, नन्दलाल चौधरीसमेतको कागज, प्रतिवादीहरू विक्रम महतो, मन्जु महतो, विक्रमिया महतो, विक्रम महतोसमेतको बयान कागजसमेतका आधार प्रमाणहरूबाट प्रतिवादी जुगेश्वर महतोले ढेगनीदेवीलाई बोक्सी हो मारी खतम पार्नुपर्छ भनी प्रतिवादी मन्जु महतो तथा निजका पति विक्रम महतोसमेतलाई ज्यान मार्नमा वचन दिएको र प्रतिवादीहरू विक्रम महतो, निजको श्रीमती मन्जु महतो, प्रतिवादी मन्जु महतोको बाबु विक्रम महतो, आमा विक्रमिया महतो, बहिनी कृष्णकुमारी महतो, सन्जु महतो र दिदी लक्ष्मी महतोसमेत जना ७ ले ढेगनीदेवी महतोलाई बोक्सीको आरोपमा प्रतिवादी जुगेश्वर महतोसमेतको सल्लाहबमोजिम मार्ने पूर्वयोजना गरी मिति २०६८।११।५ गते बिहान अन्दाजी ६.०० बजे गोबर फाल्न गोठमा गएको अवस्थामा निज ढेगनीदेवीलाई समाती सबै जना भई घेरा हाली भाग्न उम्कन नदिई सामुहिकरूपमा हात, मुक्का, लाठी, काठको ठुटो, ढुङ्गासमेतले टाउको निधार, च्यापु, कान, स्तनसमेतमा सामुहिकरूपमा कुटपिट गरी आगोसमेत लगाई विभत्स तरिकाले कर्तव्यबाट हत्या गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. अनुसारको कसुर गरेको पुष्टि भएको हुँदा उक्त कसुरमा प्रतिवादीहरू वर्ष २६ को विक्रम महतो, वर्ष ५० को विक्रम महतो, विक्रमिया महतो, सन्जु महतो, मन्जु महतो, वर्ष २५ को लक्ष्मी महतो र कृष्णकुमारी महतोलाई सोही महलको १३(३) नं. अनुसार जन्मकैदको सजाय हुन र प्रतिवादी जुगेश्वर महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(४) नं. अनुसारको कसुर मा सोही महलको १३(४) नं. अनुसार जन्मकैदको सजाय हुन तथा प्रतिवादीहरू वर्ष ३५ को लक्ष्मी महतो, सरस्वती महतो र पशुपतिया महतोले मृतक ढेगनीदेवी महतोलाई बोक्सी भनी मार्ने मत सल्लाहमा पसेको र अरू किसिमको मतलबी रहेको देखिएकोले निजहरूको उक्त कार्य ज्यानसम्बन्धीको महलको १७(३) नं. अनुसारको कसुर देखिँदा उक्त कसुरमा निज प्रतिवादीहरू वर्ष ३५ की लक्ष्मी महतो, पशुपतिया महतो र सरस्वती महतोलाई सोही महलको १७(३) नं. अनुसार ६ महिनादेखि ३ वर्षसम्म कैद सजाय गरिपाउँ साथै प्रतिवादीहरूले ढेगनी देवीलाई बोक्सीको आरोप लगाउने एवम् बोक्सीको आरोपमा अमानवीय एवम् अपमानजनक व्यवहार गर्ने एवम् यातना दिने कार्यसमेत गरेको देखिँदा मुलुकी ऐन, अदलको महलको १० ख नं. ले त्यस्तो कार्य कसुर मानेको हुँदा उक्त कसुरमा समेत प्रतिवादीहरूलाई ३ महिनादेखि २ वर्षसम्म कैद वा पाँचहजार रूपैयाँदेखि पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।
मृतक ढेगनीदेवी मेरो नाताले भाउजू पर्दछिन् र निज भाउजूलाई मैले कहिल्यै पनि बोक्सी भनी आरोप लगाएको होइन । हाम्रो घरमा जुगेश्वर महतो गुरौलाई बोलाई बोक्सी बकाएको पनि
होइन । ढेगनीदेवी महतोलाई मेरो बहिनी ज्वाईंं विक्रम महतोले मारेको भनी हामीसँग भनेकोले थाहा पाएको हुँ । भाउजू ढेगनीदेवी महतोलाई कसले के कसरी मारे मैले आँखाले नदेखेकोले थाहा भएन । ढेगनीदेवी महतोलाई मारेको कुरा सत्य हो । मेरो बहिनी ज्वाईं विक्रम महतोले मैले ढेगनीलाई मारेको भन्दै हाम्रो घरमा आई भनेकाले मैले थाहा पाएको हुँ । उक्त घटना भएको भनिएको मिति र समयमा म आफ्नै घरमा थिएँ । घटनास्थलमा उपस्थित थिइँन । ज्वाईं बाहेक अरू को थिए । मलाई थाहा भएन । म घटनास्थलमा नगएकोले के कस्तो अवस्था थियो के कसरी कुन साधनबाट मारे मलाई थाहा भएन । मेराउपरको जाहेरी झुट्ठा हो । ढेगनीको गोठ र हाम्रो घर २/३ मिनेट फरकमा पर्छ मैले भाउजू ढेगनी कराएको हार गुहार मागेको सुनिन । ज्वाईं विक्रम महतो र बहिनी मञ्जु महतोसमेत २ जना मिली भाउजू ढेगनीदेवी महतोलाई मारेको कुरा पछि थाहा भएको हो । मैले ढेगनीदेवी महतोलाई घेरा हाली मार्ने कार्य नगरेकोले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी विक्रम महतोकी छोरी वर्ष २५ की लक्ष्मी महतोले सुरू अदालतमा गरेको बयान ।
मलाई पहिलादेखि नै टाउको दुख्ने, काम्ने, दिमाग फुस्केजस्तो हुने भएकोले वर्ष ३६ को लक्ष्मी महतोको घरमा डेरा गरी बस्ने जुगेश्वर महतोको कोठामा म, मेरो श्रीमती मञ्जु महतो र सासु विक्रमिया महतोसमेत भई गई देखाउँदा बाबामा चढाएको भोग राम्रोसँग भएको छैन । पुनः पूजा गरी बोका चढाउ भनेकाले पूजाको लागि ससुराली आई बसेको अवस्थामा मलाई पुनः काम्ने रिंगटा लाग्ने दिमागले काम नगर्ने भएको अवस्थामा म एक्लैले ढेगनीलाई ढुङ्गा र काठको मुडाले हानी मारी परालमा मट्टितेल छर्की सलाई कोरी आगो लगाई दिएको हुँ । मैले ढेगनीलाई बोक्सीको आरोप लगाएको
होइन । वारदातमा मबाहेक अरू कोही कसैको संलग्नता छैन । सो अवस्थामा काम्ने बिरामी भएकोले थाहा नै नभई घटना घटाउन पुगेको हुँ । मैले रगत पिएको
होइन । मैले मारेको हुँदा कानूनले तोकेको सजाय भोग्न तयार छु भन्नेसमेत व्यहोराको प्रतिवादी विक्रम महतोले सुरू अदालतमा गरेको बयान ।
दिदी मञ्जु महतो बिरामी भएका कारण जुगेश्वर कहाँ हेराउन भनी दिदी भिनाजु र बुबा जानु भएको हो । झाँक्रीले के भने मलाई थाहा
भएन । भिनाजुको दिमाग अर्कै भएको थियो । फाल्गुण ४ गते राति भिनाजु विक्रम महतोले मलाई र आमालाई गाली गर्दै कोपर्ने गरेका र त्यसको भोलिपल्ट निजले ढेगनीदेवीलाई कुटपिट गरी मारेको भन्ने सुनेको
हुँ । निजलाई मसमेतले कुटपिट गरी मारेको होइन । निजलाई मार्ने भिनाजु विक्रम महतो हुन् । मसमेतले मृतकलाई भाग्न नदिने गरी कुटपिट गरेको होइन । रगत चुसेको भन्नेसमेत जाहेरी झुट्ठा हो । अघिल्लो राति भिनाजुले मलाई कुटपिट गरी मुखमा लाठी कोचेकोले रगत आएको देखि मलाई झुट्ठा आरोप लगाएका हुन् । म चक्कर आएर भित्र सुतेको हुँदा मैले थाहा पाइन । पछि निज मरिसकेपछि बाहिर निस्कँदा थाहा पाएकी हुँ । अलिअलि जलेको देखिएको थियो । मैले अभियोग दाबीबमोजिमको कसुर नगरेको र ढेगनी देवीलाई मार्ने योजना र कुटपिटसमेत गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सञ्जु महतोले सुरू अदालतमा गरेको बयान ।
जाहेरी व्यहोरा झुट्ठा हो । मसमेतले ढेगनी देवीलाई मारेको होइन । मिति २०६८ फागुन ५ गते बिहान म आफ्नै घरमा थिएँ । घटनास्थल र मेरो घर नजिकै पर्ने र घटनास्थलमा मान्छेको हल्ला सुनेकोले बाहिर निस्कँदा ढेगनी देवीलाई भिनाजु विक्रम महतोले मारेको कुरा थाहा पाएकी हुँ । के कारणले निजलाई मारे मलाई थाहा छैन । मैले कुटपिट र बोक्सीको आरोपसमेत लगाएको होइन । माघ २८ गते झाँक्रीकहाँ हेराउन दिदी मञ्जु, भिनाजु विक्रम र आमा विक्रमिया जानु भएको थियो । भिनाजु फाल्गुण ३ र ४ गते कामेका र ५ गते बिहान त्यस्तो घटना घटेको हो । मृतकलाई बोक्सीको आरोप लगाएका पनि थिएनौं । बोक्सीको बारेमा विश्वास पनि लाग्दैन । मैले अभियोग दाबीबमोजिमको कसुर गरेको नहुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णकुमारी महतोले सुरू अदालतमा गरेको बयान ।
म र मेरो पति माइतीघर आएको अवस्थामा पतिको शरीर काम्ने भएकोले जुगेश्वर महतोको घर कोठामा देखाउन म, पति र आमा गएकोमा सबै ठीक छ । यो ल्वाङ खाउ भनी ल्वाङ खान दिएका र हामी माघ २८ गतेदेखि फाल्गुण ३ गतेसम्म फुक्न गएका र झारफुक गरी दिएका थिए । म र पति आफ्नो घर बघौडा ६ धोवाहा गएकोमा पति पुनः काम्न थालेकाले पुनः ३ गते माइतिघर आई बसेको र ४ गते राति पनि पतिले आमा विक्रमिया र बहिनी सञ्जुलाई कुटपिट गरेका र फाल्गुण ५ गते बिहान मेरो भाउजू नाता पर्ने ढेगनीदेवी महतोलाई मारेछन् । मलाई बोलाई मट्टितेल र लाइटर ल्याइदेउ भनेकाले मट्टितेल र सलाई लिई जाँदा मेरा पति विक्रमले ढेगनीलाई मारिसकेको अवस्थामा मैले देखेकी थिएँ । पछि आगो लगाई दिएका रहेछन् मैले आगो लगाएको देखिन । मैले चुल्ठो समाउने, घेरा हाल्ने मार्ने कार्य गरेको होइन । पतिले मारेको र पोलेको कुरा घर आई भनेपछि थाहा पाएको हुँ । मैले ढेगनीलाई बोक्सी भनेको होइन । मउपरको जाहेरी झुट्ठा हो । मैले अपराध गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी मञ्जु महतोले सुरू अदालतमा गरेको बयान ।
म आफूले माडी बघौडा-२ बैराठमा चिया पसल गरी बस्ने र मेरो घर बघौडा-२ बघौडामा मेरो बहिनी सरस्वती र ज्वाईं जुगेश्वर महतो गुरौलाई बस्न कोठा दिएकी हुँ । म पसलमा नै बस्ने गर्दछु । विक्रम चौधरी र मञ्जुसमेतले निज गुरौसँग झारफुक गरे नगरेको मलाई थाहा भएन । घटना भएको मिति र समयमा म चिया पसलमा नै थिएँ । ढेगनीलाई मारेको सम्बन्धमा मलाई थाहा थिएन । सोही दिन ८/९ बजेतिर प्रहरी आई इलाका प्रहरी कार्यालयमा लगेपछि ढेगनी मरेको थाहा भएको हो । ढेगनीलाई कसले किन कसरी मारे सो घटनामा को को थिए, मलाई थाहा
भएन । मउपरको जाहेरी झुट्ठा हो । मैले ढेगनीलाई नचिनेको र निजलाई बोक्सीसमेत भनेको छैन मार्न गएकोसमेत नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी विक्रम महतोकी छोरी मागर महतोकी श्रीमती लक्ष्मी महतोले सुरू अदालतमा गरेको बयान ।
जाहेरी व्यहोरा झुट्ठा हो । मसमेतले मृतकलाई भाग्न उम्कन नदिई योजना बनाई कुटपिटसमेत गरेको होइन । मृतक जाहेरवालासँग हामीहरूको कुनै रिसइवी छैन । ढेगनी देवीलाई जवाईं विक्रम महतोले कुटपिटसमेत गरी मारेछन् । सो समयमा म आफ्नै घरमा थिएँ । घटना भएको अघिल्लो राति मेरो घरमा ज्वाईं विक्रमले मलाई र सञ्जुलाई एक्कासी बहुलाए जस्तो गरी कुटपिट गरेका थिए । मलाई चोट लागेर उभिन सक्ने अवस्थामा थिइन् । त्यो घटनापछि म घरबाट बाहिर निस्कदा ज्वाईंले कुटपिट गरेको, आगो लगाएको देखेको होइन, मरिसकेपछि देखेको
हुँ । मैले अभियोग दाबीबमोजिमको कसुर गरेको नहुँदा मलाई दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी विक्रमिया महतोले सुरू अदालतमा गरेको बयान ।
जाहेरवाला र मृतकलाई मैले चिनेको
छैन । जाहेरी दरखास्त झुट्ठा हो । मैले मृतकलाई भाग्न उम्कन नपाउने गरी छेकेको पनि होइन । कुटपिट गरेको छैन, घटनास्थल र मेरो घर पैदल हिँड्दा १ घण्टा जति लाग्छ जुगेश्वर मेरो बहिनी ज्वाईं भएकोले मलाई पनि मुद्दा लगाएका होलान्, । घटना घटेको दिन म आफ्नै घरमा थिएँ । को कस्ले ढेगनीलाई कुटपिट गरे मलाई थाहा छैन, मृतकलाई बोक्सीको आरोपमा कुटपिट गरी मारे भन्ने सुनेको हुँ । प्रहरीले मलाई एक पटक प्रहरी कार्यालय आउनु भनेकाले म आएपछि पक्राउ गरेका हुन् । मैले ढेगनी देवीलाई बोक्सी भनेको पनि छैन अभियोग दाबीबमोजिमको कसुर गरेको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी पशुपतिया महतोले सुरू अदालतमा गरेको बयान ।
विक्रम महतो, निजको श्रीमती र आमा विक्रमियासमेत ३ जना म भएको ठाउँमा ३ दिनसम्म फुक्न आएका थिए । मैले जानेको झारफुक गरी दिएको हो । हेराउने क्रममा विक्रमलाई तिम्रो बाबाले विक्रम बाबाको भाकल गरेको छ । भाकल चढाउन भनेको हुँ । मैले ढेगनीलाई बोक्सी भनेको थिइन । ढेगनीलाई मार्नुपर्छ भनेको थिइन । ढेगनीदेवी महतोलाई को कसले के हतियारबाट मारे मलाई थाहा छैन । म घटना वारदातमा संलग्न छैन । मलाई फाल्गुन ५ गते करिब ८ बजेतिर पक्राउ गरी इलाका प्रहरी कार्यालयमा ल्याएपछि घटना थाहा भएको हो । घटनामा मेरो कुनै भूमिका, योजना र सहयोग छैन । मैले ढेगनीलाई बोक्सी हो मार्नुपर्छ भनी वचन दिएको नहुँदा सजाय हुनुपर्ने होइन सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी जुगेश्वर महतो गुरौले सुरू अदालतमा गरेको बयान ।
मेरो ज्वाईं विक्रमले मेरी छोरी मञ्जु महतोलाई सञ्चो नभएको कारण मेरो घरमा आएका र २/३ दिनसम्म जुगेश्वर महतो गुरौको कोठामा झारफुक गर्न जाने आउने गर्दथे । फाल्गुण ५ गते बिहान ६ बजेतिर मेरो बुहारी नाताकी ढेगनी आफ्नो गोठमा गोबर फालिरहेको अवस्थामा ज्वाईं विक्रम महतोले अचानक घरबाट गई बुहारी ढेगनीलाई लाठी, ढुङ्गा र मुढोसमेतको हतियार प्रयोग गरी घटनास्थलमा नै मारिदिएछन् । म घरमा निदाएको थिएँ । ज्वाईं विक्रमले मारिसकेपछि चिच्याउँदै घरमा आएकोले के भयो भनी सोध्दा ढेगनीलाई मारिदिएँ भनेकोले म हेर्न जाँदा ढेगनी मरिसकेकी रहिछन् । ज्वाईं पुनः उक्त स्थानमा गई परालले ढेगनीलाई पोलेका रहेछन् । उक्त वारदातमा अरू कोही संलग्न छैनन् । जाहेरी व्यहोरा झुट्ठा हो । मैले कसुर अपराध नगरेको र कर्तव्य गरी मारेको नहुँदा र मैले कहिल्यै पनि ढेगनीलाई बोक्सी भनेको नहुँदा सजाय हुनुपर्ने होइन सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी डोमा महतोको छोरा वर्ष ५० को विक्रम महतोले सुरू अदालतमा गरेको बयान ।
मसमेत भई जाहेरवालाको बुहारीलाई कर्तव्य गरी मारेको भन्ने कुरा झुट्ठा हो । म घटना हुँदाको समयमा आफ्नै घरमा थिएँ । बिहान ७/८ बजेको समयमा प्रहरी घरमा आएर मेरो श्रीमान् जुगेश्वर महतोलाई लिन आएका र प्रहरीले मेरो श्रीमान्लाई लिन आएपछि मात्र किन लैजान लागेको भन्दा थानामा गएपछि थाहा हुन्छ भनेका थिए । मैले ढेगनीदेवी महतोलाई देखेको
छैन । जाहेरी व्यहोरा झुट्ठा हो । घटनास्थलमा म नभएको हुँदा सो बारेमा मलाई थाहा भएन । जाहेरवाला र मृतकलाई चिनेको छैन । प्रतिवादीमध्ये जुगेश्वर मेरा पति, पशुपतिया र लक्ष्मी महतो मेरो दिदी हुन् अरूलाई चिन्दिन । म घटनास्थलमा गएकी होइन । घटना सम्बन्धमा मलाई थाहा भएन । मेरो श्रीमान्ले आजसम्म कसैलाई बोक्सी भनेको मलाई थाहा
छैन । मउपरको अभियोग झुट्ठा हुँदा र मैले कसुर गरेको नहुँदा सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सरस्वती महतोले सुरू अदालतमा उपस्थित भई गरेको बयान ।
प्रतिवादीहरूले मेरो बुहारी ढेगनी देवीलाई बोक्सीको आरोप लगाई ढुङ्गा, काठसमेतले प्रहार गरी मारेको र मृतक लासलाई परालमा आगो लगाई पोलिदिएका हुन् । निजहरूलाई कानूनबमोजिम कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको जाहेरवाला झारी महतोले सुरू अदालतमा गरेको बकपत्र ।
मृतक ढेगनी देवीलाई प्रतिवादीहरू सरस्वती महतो, पशुपति महतो, वर्ष ३६ की लक्ष्मी महतो र जुगेश्वर महतोले कर्तव्य गरी बोक्सीको आरोप लगाई मारेका होइनन् । मृतकलाई विक्रम महतोले मारी परालको आगोले पोलेको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू सरस्वती महतो, पशुपति महतो, वर्ष ३६ की लक्ष्मी महतो र जुगेश्वर महतोका साक्षी विक्रम महतोले सुरू अदालतमा गरेको बकपत्र ।
मृतक ढेगनी देवीको हत्या भएको सुनी थाहा पाएको हुँ । को कसले मिली मारेका हुन् मलाई थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादीहरू विक्रम महतो, विक्रमिया महतो, कृष्णकुमारी महतो, सन्जु महतो, मन्जु महतो, विक्रम महतो र लक्ष्मी महतोका साक्षी सोहन चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरूले मृतक ढेगनी देवीलाई बोक्सीको आरोप लगाइ ढुङ्गा, काठसमेतले प्रहार गरिरहेको समयमा मसमेत भई छुट्याउन जाँदा हामीलाई विक्रम महतोले लखेटेको हुँदा सुरक्षाको लागि प्रहरीमा आई बसेको अवस्थामा ढेगनी देवीलाई आगो लगाई पोलिदिए भनी सुनी प्रहरीसँग उक्त स्थानमा गएको हुँ । निजहरूलाई कानूनबमोजिम कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको घटना विवरणका मानिस भविश्वर चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरूले मृतक ढेगनी देवीलाई बोक्सीको आरोप लगाई ढुङ्गा, काठसमेतले प्रहार गरिरहेको समयमा मसमेत भई छुट्याउन जाँदा मलाई विक्रम महतोले खुकुरी देखाई हान्न खोजेको हुँदा सो स्थानबाट भागी गएको हुँ । परबाट नै कसैले सलाई ल्याउ, कसैले पराल ल्याउ भनी भनेको सुनेको हुँ । आगोको धुवाँ आएपछि गाउँलेहरू समेत गई विक्रमसमेतका अपराधीहरू भाग्न खोज्दा भाग्न नदिई प्रहरीहरूलाई बुझाएको हो भन्नेसमेत व्यहोराको घटना विवरणका मानिस नारायणप्रसाद महतोले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६८।११।५ गते म मेरै घरमा
थिएँ । मेरो घर नजिकै ढेगनी देवीको गोठ पर्छ । विक्रम महतोसमेतका प्रतिवादीहरूले मृतक ढेगनी देवीलाई बोक्सीको आरोप लगाई कसैले ढुङ्गा, कसैले काठ र कसैले चिरपटसमेतले प्रहार गरेको र उक्त प्रहारबाट ढेगनीदेवी ढलेको देखेको हुँ । उनीहरूको जमात धरै भएको हुँदा म उक्त स्थानमा जान सकिन । पछि प्रहरीहरूको सहयोगमा पक्राउ गरी प्रहरीमा बुझाएको हो भन्नेसमेत व्यहोराको घटना विवरणका मानिस लिलाराम चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६८।११।५ गते बिहान म सुतेको थिएँ । आमा गोठमा गोबर फाल्न गएको अवस्थामा बाहिर होहल्ला भयो म उठेँ मेरी आमा गोठ निरै बाँधेर लड्नु भएको थियो । टाउकोमा चोट भएको देखेको थिएँ । त्यहाँ विक्रम, कृष्ण कुमारी, सञ्जु, मञ्जु, अर्को विक्रम र विक्रमिया महतोले ढुङ्गा मुढा जे पायो त्यहीले हानी मारेका हुन् भन्नेसमेत घटना विवरणका मानिस मृतक ढेगनीदेवी महतोका छोरा समिर महतोले गरेको बकपत्र ।
मिति २०६८।११।५ गते बिहान ५ बजेतिर आमा गोठमा जानुभएको थियो । गोठमा होहल्ला भई आवाज आएको सुने । मार्ली मार्ली भनेर आमा बोलेको सुनी बाहिर आई हेर्दा आमालाई विक्रम महतो (विक्रम महतोको ज्वाईं) ले टाउकोमा ढुङ्गाले हानेको चोटले आमा लड्नु भयो अनि विक्रम महतो, विक्रमिया महतो उनीहरूकै छोरीहरू कृष्ण कुमारी, सञ्जु, मञ्जु, लक्ष्मीसमेतले दाउरा, ढुङ्गा, मुढासमेतले हानेका
हुन् । त्यसपछि पराल ल्याई छोपी मट्टीतेल हाली आगो लगाई जिउँदै जलाई मारेका हुन् भन्ने घटना विवरणकी मृतक ढेगनीदेवी महतोकी छोरी मिना महतोले गरेको बकपत्र ।
प्रतिवादी जुगेश्वर महतोले झारफुक गर्दा मृतक बोक्सी हो निजलाई खतम गरे मात्र रोग निको हुने वचन दिएबमोजिम पूर्वयोजना र सल्लाह गरी प्रतिवादीमध्येका मञ्जु महतोका पति विक्रम महतोले ढुङ्गा र मुढाले प्रहार गरेको, निजकी श्रीमती प्रतिवादी मञ्जु महतोले मट्टितेल ल्याई मृतकको शरीरमा खन्याई दिएको र प्रतिवादी विक्रमिया महतोले सलाई कोरी मृतकको शरीरमा आगो लगाई दिएको तथा अन्य प्रतिवादी विक्रम महतो, लक्ष्मी महतो, विक्रम महतोकी छोरी सञ्जु महतो, कृष्णकुमारी महतोले मृतकलाई भाग्न उम्कन नपाउने गरी मृतकलाई समाउने, हात मुक्काले हान्ने गर्दा मृतकको मृत्यु हुन गएको देखिएको हुँदा सबै प्रतिवादीहरूले प्रहार गरेको सामुहिक चोटबाट नै मृतकको मृत्यु भएको देखिन आएकोले यी प्रतिवादीहरूले वादी नेपाल सरकारको अभियोग मागदाबीबमोजिम आरोपित कसुर गरेको पुष्टि हुन आएको हुँदा प्रतिवादीहरू लक्ष्मी महतो, विक्रम महतो, मञ्जु महतो, सञ्जु महतो, कृष्णकुमारी महतो, विक्रमिया महतो, विक्रम महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम र प्रतिवादी जुगेश्वर महतोलाई सोही महलको १३(४) नं. बमोजिम जन्मकैदको सजाय हुन्छ । अन्य प्रतिवादीहरू सरस्वती महतो, लक्ष्मी महतो र पशुपतिया महतोले आरोपित कसुर गरेको भन्ने मिसिल संलग्न प्रमाण कागजबाट देखिन आएको अवस्था नहुँदा निज प्रतिवादीहरू उपरको अभियोग माग दाबी पुग्न
सक्दैन । आरोपित कसुरबाट निजहरूले सफाई पाउने ठहर्छ साथै अदलको महलको १० ख नं. अनुसार सबै प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न सक्दैन भन्नेसमेत व्यहोराको सुरू चितवन जिल्ला अदालतबाट मिति २०६९।९।२३ मा भएको फैसला ।
म सामान्य बिरामीहरूको झारफुक गर्ने अनपढ व्यक्ति हुँ । मैले मृतक ढेगनीदेवीलाई चिने जानेको छैन । मैले प्रतिवादी विक्रम महतोले श्रीमतीलाई झारफुक गर्न ल्याएकोमा चिन्दै नचिनेको ढेगनीदेवीलाई बोक्सी भनी कसरी भन्न सक्छु । त्यसको कुनै आधार जाहेरवालाले र अभियोगमा समेत खुलाउन सकेको छैन । प्रतिवादी विक्रम महतोले अदालतमा बयान गर्दा मृतकलाई आफूले मारेको हुँ अरू कसैको संलग्नता छैन भनी बयान गरेका छन् । जाहेरवालाले बकपत्र गर्दा शंका लागि जाहेरी दिएको उल्लेख गरेका छन् । केवल शंकाको आधारमा दिएको उजुरीको आधारमा मलाई हदैसम्म सजाय गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी जुगेश्वर महतो गुरौको पुनरावेदन पत्र ।
हामी पुनरावेदकहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको भनिएको बयान हाम्रो स्वेच्छाले गरेको होइन । अदालतमा हामीले गरेको इन्कारी बयान स्वतन्त्र बयान हो । जुन बयान व्यहोरालाई हाम्रा साक्षीहरूले समेत समर्थन गरी बकपत्र गरिदिएको अवस्था छ । प्रतिवादी विक्रम महतोले अदालतमा बयान गर्दा मृतकलाई आफूले मारेको हुँ । उक्त वारदातमा अरू कसैको संलग्नता छैन भनी बयान गरेका छन् । हामी पुनरावेदकहरूले मृतकलाई भाग्न उम्कन नपाउने गरी कपाल समाउने, हात मुक्काले हानेको भन्ने कुनै स्वतन्त्र प्रमाण मिसिल संलग्न छैन । केही व्यक्तिले अनुमान र शंकाको भरमा हाम्रो नाम लिँदैमा हामीलाई सजाय हुनुपर्ने नहुँदा फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हामीलाई हदैसम्म सजाय गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू लक्ष्मी महतो, सन्जु महतो र कृष्णकुमारी महतोको संयुक्त पुनरावेदन पत्र ।
म पहिलादेखि नै काम्ने, पागलपन जस्तो हुने अन्धविश्वासी व्यक्ति हुँ । मैले सुरू अदालतमा बयान गर्दा उक्त वारदात म एक्लैले अन्धविश्वासका कारण विक्षिप्त मानसिक अवस्थामा घटाएको हुँ भनी मेरो व्यहोरा लेखाएको छुँ । म घटनामा साबित भएपछि मलाई सो साबितीबापतमा कम सजाय गर्नुपर्नेमा सो साबितको बारेमा केही उल्लेख नगरी हदैसम्मको सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा कम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी विक्रम महतोको पुनरावेदन पत्र ।
म पुनरावेदकले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको भनिएको बयान स्वेच्छाले गरेको होइन । अदालतमा मैले गरेको इन्कारी बयान स्वतन्त्र बयान
हो । जुन बयान व्यहोरालाई मेरा साक्षीहरूले समेत समर्थन गरी बकपत्र गरिदिएको अवस्था छ । प्रतिवादी मेरा पति विक्रम महतोले अदालतमा बयान गर्दा मृतकलाई आफूले मारेको हुँ । उक्त वारदातमा अरू कसैको संलग्नता छैन भनी बयान गरेका छन् । घटनाको मुख्य व्यक्तिले कसुरको बारेमा गरेको साबितीलाई वास्तविक होइन भनी अनुमान गरी मलाई सजाय गर्न मिल्ने होइन । मैले मृतकलाई भाग्न उम्कन नपाउने गरी कपाल समाउने, हात मुक्काले हानेको र मट्टितेल सलाई ल्याई दिएको भन्ने कुनै स्वतन्त्र प्रमाण मिसिल संलग्न छैन । अनुमान र शंकाको भरमा मलाई सजाय हुनुपर्ने नहुँदा फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत मलाई हदैसम्म सजाय गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी मञ्जु महतोको पुनरावेदन पत्र ।
हामी पुनरावेदकहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको भनिएको बयान हाम्रो स्वेच्छाले गरेको होइन । अदालतमा हामीले गरेको इन्कारी बयान स्वतन्त्र बयान हो । जुन बयान व्यहोरालाई हाम्रा साक्षीहरूले समेत समर्थन गरी बकपत्र गरिदिएको अवस्था छ । प्रतिवादी विक्रम महतोले अदालतमा बयान गर्दा मृतकलाई आफूले मारेको हुँ । उक्त वारदातमा अरू कसैको संलग्नता छैन भनी बयान गरेका छन् । घटनाको मुख्य व्यक्तिले कसुरको बारेमा गरेको साबितीलाई वास्तविक होइन भनी अनुमान गरी हामीलाई सजाय गर्न मिल्ने हुँदैन । हामी पुनरावेदकहरूले मृतकलाई भाग्न उम्कन नपाउने गरी कपाल समाउने, हात मुक्काले हानेको भन्ने कुनै स्वतन्त्र प्रमाण मिसिल संलग्न
छैन । अनुमान र शंकाको भरमा हामीलाई सजाय हुनुपर्ने नहुँदा फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हामीलाई हदैसम्म सजाय गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू विक्रम महतो र विक्रमिया महतोको संयुक्त पुनरावेदन पत्र ।
अभियोग मागदाबीबमोजिम प्रतिवादीहरू लक्ष्मी महतो, विक्रम महतो, मञ्जु महतो, सञ्जु महतो, कृष्णकुमारी महतो, विक्रमिया महतो, विक्रम महतोलाई मुलुकी ऐन, ज्यानसमन्धीको महलको १३(३) नं. बमोजिम र प्रतिवादी जुगेश्वर महतोलाई ऐ. १३(४) नं. बमोजिम जन्मकैदको सजाय गरेको हदसम्म सुरू फैसला मिलेको र प्रतिवादीहरूले बोक्सीको आरोपमा अमानवीय कार्य गर्नु अदलको महलको १० ख नं. ले दण्डनीय अपराध हुँदा सुरू फैसलामा कुनै आधार कारणबिना नै सजाय गर्नु नपर्ने भनी गरेको फैसला सो हदसम्म नमिलेको हुँदा बदर
गरिपाऊँ । साथै प्रतिवादीहरू सरस्वती महतो, लक्ष्मी महतो र पशुपतिया महतो कसुरदार ठहर भएका जुगेश्वर महतोका नाताका मान्छे हुन् भन्ने मिसिल संलग्न कागजातबाट पुष्टि भएको अवस्था छ । निजहरू समेतले मृतकलाई बोक्सीको आरोप लगाई निजलाई मार्नमा सहयोग गरेको भन्ने मिसिल संलग्न प्रमाण कागजबाट देखिन आएको अवस्था हुँदाहुँदै निज प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाई दिने ठहर्याएको सुरूको फैसला सो हदसम्म नमिलेको हुँदा निजहरू समेतलाई अभियोग माग दाबीअनुसार सजाय गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा वादी नेपाल सरकार र प्रतिवादीहरू जुगेश्वर महतो, लक्ष्मी महतो, सन्जु महतो, कृष्णकुमारी महतो, विक्रम महतो (५१ वर्ष), विक्रमिया महतो, विक्रम महतो (२७ वर्ष) र मन्जु महतोसमेतको पुनरावेदन परेकाले दुवै पक्षलाई एक अर्काको पुनरावेदन सुनाई साथै प्रतिवादी लक्ष्मी महतो, पशुपतिया महतो र सरस्वती महतोको हकमा अदालती बन्दोबस्तको २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिमको प्रक्रिया पूरा गरी नियमानुसार पेस गर्नु भन्ने पनरावेदन अदालत, हेटौंडाको मिति २०७०।४।२९ को आदेश ।
अदालतमा बयान गर्दा कसुर गरेको होइन भनी भनेपनि वारदातस्थलमा उपस्थित भएको कुरालाई प्रतिवादीहरूले स्वीकार गरेका र घटनामा के कस्तो भूमिका कसले निर्वाह गर्यो भनी स्पष्ट पार्दै अनुसन्धान अधिकारीसमक्ष कसुरलाई स्वीकारी बयान गरेको अवस्था भएको र मौकामा कागज गर्ने मानिसहरू मीना महतो, लीलाराम चौधरी, नारायणप्रसाद महतो, भविस्वर चौधरी, जीतन महतो र समीर महतोसमेतका व्यक्तिहरूले घटनालाई प्रत्यक्ष देखेको व्यहोरा दर्साउँदै आ-आफ्नो व्यहोरा लेखाएको पाइन्छ । अझ लिलाराम चौधरी जसले मौकाको आफ्नो भनाइलाई समर्थन गर्दै माथि उल्लिखित पुनरावेदक यी प्रतिवादीहरूको नाम उल्लेख गरी कसैले लठ्ठी, कसैले ढुङ्गा, कसैले चिरपट, कसैले लौराले पिटेको देखेको हुँ । प्रतिवादीहरूको जमात धेरै भएकोले मेरो केही चलेन भनेर लेखाएका छन् भने नारायणप्रसाद महतोले लिलाराम चौधरीकै भनाईसँग मेलखाने गरी आफ्नो मौकाको व्यहोरालाई समर्थन गरी बकपत्र गरेका र प्रतिवादीहरू मध्येका विक्रम र निजको ज्वाईंले खुकुरी लिई मलाई नै लखेटेकोले पर भागेर बसेको हुँ भनी लेखाई दिएकोसमेत देखिन्छ । त्यसैगरी घटना देख्ने प्रत्यक्षदर्शी समिर महतो र मीना महतोले पनि लिलाराम चौधरी तथा नारायण प्रसाद महतोको व्यहोरासँगै मेलखाने गरी प्रतिवादीहरूको घटनामा संलग्नता भएको बारेमा स्पष्ट किटान गरी लेखाएको देखिन्छ । घटना देख्ने प्रत्यक्षदर्शी भविस्वर चौधरी र जीतनी महतोको भनाई पनि सोही किसिमको रहेको पाइन्छ । यसप्रकार प्रतिवादीहरू लक्ष्मी महतो, विक्रम महतो, मञ्जु महतो, कृष्ण कुमारी महतो, विक्रमिया महतो, विक्रम महतो, जुगेश्वर महतोसमेत आरोपित कसुरमा साबित रही अनुसन्धान अधिकारीसमक्ष निजहरूले बयान कागज गरेको, किटानी जाहेरी दरखास्त, घटनास्थल विवरण तथा मौकाका व्यक्तिहरू मीना महतो, लिलाराम चौधरी, नारायण प्रसाद महतो, भविस्वर चौधरी, जितनी महतो र समीर महतोसमेतले प्रत्यक्षदर्शी भई घटनामा प्रतिवादीहरूको संलग्नता बारेमा स्पष्ट लेखाई दिएको देखिँदा प्रतिवादीहरू लक्ष्मी महतो, विक्रम महतो, सञ्जु महतो, कृष्ण कुमारी महतो, विक्रमिया महतो, विक्रम महतो र जुगेश्वर महतोको हकमा अभियोग मागदाबीबमोजिम ज्यानसम्बन्धी महलअन्तर्गतको आरोपित कसुरमा सजाय गर्ने गरी भएको सुरू फैसला मिलेको नै देखियो ।
अब अदलको महलको १० ख नं. को कसुरमा सजाय भएन र प्रतिवादीहरू मध्ये सरस्वती महतो, लक्ष्मी महतो तथा पशुपति महतोलाई सफाई दिएकोमा चित्त नबुझाई परेको नेपाल सरकारको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा बोक्सी भन्ने कुराकै आरोपबाट घटना घटेको भन्ने देखिई त्यो कुरा घटनाको जरियासम्म देखिन आएको र मार्नुपर्छ भन्ने कुरा प्रतिवादी सरस्वती महतो, लक्ष्मी महतो र पशुपती महतोलाई थाहा थियो भन्ने कुरा उल्लेख गरिए पनि के कुन माध्यमले सो कुरा यी प्रतिवादीहरूलाई थाहा थियो त्यो मिसिलमा सप्रमाण स्थापित नभएको तथा यिनिहरूको घटनामा के कस्तो भूमिका रहेको थियो भन्ने जाहेरीमा पनि स्पष्ट उल्लेख नभएको र प्रत्यक्षदर्शीसमेतले यिनीहरूलाई किटान गरी स्पष्ट लेखाउन नसकेकोले अदलको १० ख अनुसार प्रतिवादीहरूलाई सजाय भएन तथा प्रतिवादीहरू सरस्वती महतो, लक्ष्मी महतो र पशुपती महतोलाई सफाई दिएको मिलेन भन्ने नेपाल सरकारको तर्फबाट बसहमा उपस्थित विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन । तसर्थ, माथि विवेचित आधार कारणहरूबाट प्रतिवादी जुगेश्वर महतोलाई ज्यानसम्बन्धी महलको १३(४) र लक्ष्मी महतो, विक्रम महतो, मञ्जु महतो, सञ्जु महतो, कृष्ण कुमारी महतो, विक्रमिया महतो, विक्रम महतो समेतका प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. ले सजाय गर्ने गरी र अदलको १० ख नं. ले सजाय गरी रहनु नपर्ने तथा प्रतिवादीहरू मध्ये सरस्वती महतो, लक्ष्मी महतो र पशुपतिया महतोसमेतले अभियोग माग दाबीबाट सफाई पाउने ठहर्याई चितवन जिल्ला अदालतबाट मिति २०६९।९।२३ मा भएको फैसला मिलेको नै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०७१।१।९मा भएको फैसला ।
म पुनरावेदक विक्रम महतो अपराध स्वीकार गरी अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दा मृतकलाई आफूले मारेको हुँ । उक्त वारदातमा अरू कसैको संलग्नता छैन भनी बयान गरेको
छु । घटनाको मुख्य व्यक्तिले कसुरको बारेमा गरेको साबितीलाई वास्तविक होइन भनी अनुमान गरी सबै प्रतिवादीलाई सजाय गर्न मिल्ने होइन । म प्रतिवादी मञ्जु महतोले मृतकलाई भाग्न उम्कन नपाउने गरी कपाल समाउने, हात मुक्काले हानेको र मट्टितेल सलाई ल्याई दिएको भन्ने कुनै स्वतन्त्र प्रमाण मिसिल संलग्न छैन । घटनाका प्रत्यक्षीदर्शी भनिएका व्यक्तिहरूले उक्त वारदात रोकथाम गर्नुपर्नेमा सो घटना देखेको भनी झुट्ठा बकपत्र गरेका हुन् । अनुमान र शंकाको भरमा सजाय हुनुपर्ने नहुँदा फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हामीलाई हदैसम्म सजाय गरी भएको सुरू फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी मञ्जु महतो र विक्रम महतोको संयुक्त पुनरावेदन पत्र ।
हामी पुनरावेदकहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको भनिएको बयान हाम्रो स्वेच्छाले गरेको होइन । अदालतमा हामीले गरेको इन्कारी बयान स्वतन्त्र बयान हो । जुन बयान व्यहोरालाई हाम्रा साक्षीहरूले समेत समर्थन गरी बकपत्र गरिदिएको अवस्था छ । प्रतिवादी विक्रम महतोले अदालतमा बयान गर्दा मृतकलाई आफूले मारेको हुँ । उक्त वारदातमा अरू कसैको संलग्नता छैन भनी बयान गरेका छन् । घटनाको मुख्य व्यक्तिले कसुरको बारेमा गरेको साबितीलाई वास्तविक होइन भनी अनुमान गरी हामीलाई सजाय गर्न मिल्ने हुँदैन । हामी पुनरावेदकहरूले मृतकलाई भाग्न उम्कन नपाउने गरी कपाल समाउने, हात मुक्काले हानेको भन्ने कुनै स्वतन्त्र प्रमाण मिसिल संलग्न छैन । जाहेरवालाले बकपत्र गर्दा हाम्रो भूमिका के हो हामीले के के संयोग पारी मृतकको मृत्यु भएको भनी खुलाउन सक्नु भएको छैन । अभियोग दाबीममा पनि प्रष्ट अभियोग लगाइएको छैन । उक्त वारदातमा हाम्रो भूमिका स्पष्ट नगरी अनुमान र शंकाको भरमा हामीलाई सजाय हुनुपर्ने नहुँदा फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हामीलाई हदैसम्म सजाय गरी भएको सुरू फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू विक्रम महतो र विक्रमिया महतोको संयुक्त पुनरावेदन पत्र ।
हामी पुनरावेदकहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको भनिएको बयान हाम्रो स्वेच्छाले गरेको होइन । अदालतमा हामीले गरेको इन्कारी बयान स्वतन्त्र बयान हो । जुन बयान व्यहोरालाई हाम्रा साक्षीहरूले समेत समर्थन गरी बकपत्र गरिदिएको अवस्था छ । प्रतिवादी विक्रम महतोले अदालतमा बयान गर्दा मृतकलाई आफूले मारेको हुँ । उक्त वारदातमा अरू कसैको संलग्नता छैन भनी बयान गरेका छन् । हामी पुनरावेदकहरूले मृतकलाई भाग्न उम्कन नपाउने गरी कपाल समाउने, हात मुक्काले हानेको भन्ने कुनै स्वतन्त्र प्रमाण मिसिल संलग्न छैन । घरका सबै सदस्यलाई सजाय भएको अवस्था एकातिर छ भने अर्कोतर्फ जाहेरवाला र अन्य प्रत्यक्षदर्शी भनिएका केही व्यक्तिले अनुमान र शंकाको भरमा हाम्रो नाम लिँदैमा हामीलाई सजाय हुनुपर्ने नहुँदा फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत हामीलाई हदैसम्म सजाय गरी भएको सुरू फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू सन्जु महतो र कृष्णकुमारी महतोको संयुक्त पुनरावेदन पत्र ।
म पुनरावेदकले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको भनिएको बयान मेरो स्वेच्छाले गरेको होइन । अदालतमा मैले गरेको इन्कारी बयान स्वतन्त्र बयान
हो । जुन बयान व्यहोरालाई मेरा साक्षीहरूले समेत समर्थन गरी बकपत्र गरिदिएको अवस्था छ । प्रतिवादी विक्रम महतोले अदालतमा बयान गर्दा मृतकलाई आफूले मारेको हुँ । उक्त वारदातमा अरू कसैको संलग्नता छैन भनी बयान गरेका छन् । मैले मृतकलाई भाग्न उम्कन नपाउने गरी कपाल समाउने, हात मुक्काले हानेको भन्ने कुनै स्वतन्त्र प्रमाण मिसिल संलग्न छैन । घरका सबै सदस्यलाई सजाय भएको अवस्था एकातिर छ भने अर्कोतर्फ जाहेरवाला र अन्य प्रत्यक्षदर्शी भनिएका केही व्यक्तिले अनुमान र शंकाको भरमा मेरो नाम लिँदैमा मलाई सजाय हुनुपर्ने नहुँदा फौजदारी न्यायका मान्य सिद्धान्तविपरीत मलाई हदैसम्म सजाय गरी भएको सुरू फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू लक्ष्मी महतोको पुनरावेदन पत्र ।
अभियोग माग दाबीबमोजिम प्रतिवादीहरू लक्ष्मी महतो, विक्रम महतो, मञ्जु महतो, सञ्जु महतो, कृष्णकुमारी महतो, विक्रमिया महतो, विक्रम महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम र प्रतिवादी जुगेश्वर महतोलाई ऐ. १३(४) नं. बमोजिम जन्मकैदको सजाय गरेको हदसम्म सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको र प्रतिवादीहरूले बोक्सीको आरोपमा अमानवीय कार्य गर्नु अदलको महलको १० ख. नं. ले दण्डनीय अपराध हुँदा फैसलामा कुनै आधार कारणबिना नै सजाय गर्नु नपर्ने भनी गरेको फैसला सो हदसम्म नमिलेको हुँदा बदर गरिपाऊँ । साथै प्रतिवादीहरू सरस्वती महतो, लक्ष्मी महतो र पशुपतिया महतो कसुरदार ठहर भएका जुगेश्वर महतोका नाताका मान्छे हुन् भन्ने मिसिल संलग्न कागजातबाट पुष्टि भएको अवस्था
छ । निजहरू समेतले मृतकलाई बोक्सीको आरोप लगाई निजलाई मार्नमा सहयोग गरेको भन्ने मिसिल संलग्न प्रमाण कागजबाट देखिन आएको अवस्था हुँदाहुँदै निज प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाई दिने ठहर्याएको सुरूको सदर हुने ठहर्याएको फैसला सो हदसम्म नमिलेको हुँदा निजहरू समेतलाई अभियोग माग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
म सामान्य बिरामीहरूको झारफुक गर्ने अनपढ व्यक्ति हुँ । मैले मृतक ढेगनीदेवीलाई चिने जानेको छैन । मैले प्रतिवादी विक्रम महतोले श्रीमतीलाई झारफुक गर्न ल्याएकोमा चिन्दै नचिनेको ढेगनीदेवीलाई बोक्सी भनी कसरी भन्न सक्छु । त्यसको कुनै आधार जाहेरवालाले र अभियोगमा समेत खुलाउन सकेको छैन । प्रतिवादी विक्रम महतोले अदालतमा बयान गर्दा मृतकलाई आफूले मारेको हुँ अरू कसैको संलग्नता छैन भनी बयान गरेका छन् । जाहेरवालाले बकपत्र गर्दा शंका लागि जाहेरी दिएको उल्लेख गरेका छन् । केवल शंकाको आधारमा दिएको उजुरीको आधारमा मलाई हदैसम्म सजाय गरी भएको सुरू फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादी जुगेश्वर महतो गुरौको पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री यदुनाथ शर्माले प्रतिवादीहरू लक्ष्मी महतो, विक्रम महतो, मञ्जु महतो, सञ्जु महतो, कृष्णकुमारी महतो, विक्रमिया महतो, विक्रम महतोलाई मृतक ढेगनी देवीलाई कर्तव्य गरी मारेकोमा जन्मकैदको सजाय गरेको हदसम्म सुरू फैसला सदर गरेको पुनरावेदनको फैसला मिलेको र निज प्रतिवादीहरूले मृतकलाई बोक्सीको आरोप लगाई अमानवीय कार्य गरेको स्पष्ट हुँदाहुँदै अदलको महलको १० ख. नं. बमोजिम सजाय गर्नुपर्नेमा कुनै आधार कारणबिना नै सजाय गर्नु नपर्ने भनी गरेको फैसला सो हदसम्म नमिलेको हुँदा बदर गरिपाउँ तथा अन्य प्रतिवादीहरू सरस्वती महतो, लक्ष्मी महतो र पशुपतिया महतोसमेतले गुट बनाई गरेको वारदात संयुक्त वारदात हुन्छ । पशुपतिया महतोसमेतले मार्नुपर्छ भनेको भनी मृतककी छोरी लिल्मी महतोले लेखाई दिएको मिसिल संलग्न कागजातबाट पुष्टि भइरहेको अवस्थामा निजहरूलाई आरोपित कसुरबाट सफाई दिने ठहर्याएको हदसम्म नमिलेको हुँदा निजहरूलाई समेत मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७ नं. बमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदक प्रतिवादी जुगेश्वर महतो गुरौको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री सुनिलकुमार पोखरेलले यी प्रतिवादी उक्त वारदातमा संलग्न भएको मिसिल संलग्न कागजातबाट पुष्टि भएको छैन । प्रतिवादीमध्येका विक्रम महतोले अदालतसमक्षको बयानमा जुगेश्वरले मार्न भनेका होइनन् निज जुगेश्वर र मृतक ढेगनीदेवीसँग अपरिचित व्यक्तिहरू रहेको हुँदा बिना आधार कारण प्रतिवादी जुगेश्वर महतो गुरौलाई जन्मकैदको सजाय गर्ने गरी भएको सुरूको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला निजका हकमा बदर हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदक प्रतिवादी लक्ष्मी महतोको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताद्वय श्री सानुमैया डंगोल र श्री विमला यादवले यी पुनरावेदकले अदालतमा स्वतन्त्र बयान गर्दा कसुरमा इन्कारी रही बयान व्यहोरा लेखाएका छन् । उक्त बयानलाई निजका साक्षीसमेतले समर्थन गरी बकपत्र गरिदिएको
देखिन्छ । यी प्रतिवादीको वारदातमा के कस्तो संलग्नता थियो भन्ने जाहेरी तथा अभियोग पत्रमा अभियोजन पक्षले खुलाउन सकेको छैन । शंकाको भरमा जाहेरी पर्दैमा मात्र कसुरदार ठहर गर्न मिल्ने होइन । जाहेरवाला यस वारदातका प्रत्यक्षदर्शीसमेत होइनन् । मुख्य प्रतिवादी विक्रम महतोले उक्त वारदात आफूले घटाएको हो यस वारदातमा अन्य कसैंको संलग्नता छैन भनी बयान गरेका छन् । यी पुनरावेदकले प्रहरीमा कागज गर्दा घटनामा हेरेर बसेको कुटपिटमा सरिक नभएको भन्दै प्रतिवादीमध्येका विक्रम महतोले ढेगनीलाई मारेका हुन् भनी लेखाएको हुँदा सर्वस्वसहित जन्मकैद गरेको फैसला नमिलेकोले निजलाई सफाई हुनपर्छ । यदि सजाय नै हुने स्थितिमा मुलुकी ऐन, अदालती बन्दोबस्तको १७(२) बमोजिम हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदक प्रतिवादीहरू विक्रम महतो (२७ वर्ष) र मन्जु महतो, सञ्जु महतो, विक्रम महतो (५१वर्ष), विक्रमिया महतो, कृष्णकुमारी महतोसमेतको तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री देवी रेग्मीले पुनरावेदक प्रतिवादीहरू मध्ये विक्रम महतो (२७ वर्ष) बाहेकका प्रतिवादीहरूले अदालतमा बयान गर्दा कसुरमा इन्कारी रही बयान गरेका छन् । उक्त बयानलाई निजहरूका साक्षीहरूले समर्थन गरी बकपत्र गरिदिएको देखिन्छ । यी प्रतिवादीहरूको वारदातमा के कस्तो संलग्नता थियो भन्ने जाहेरी तथा अभियोगपत्रमा अभियोजन पक्षले खुलाउन सकेको नहुँदा केवल शंकाको भरमा जाहेरी पर्दैमा कसुरदार ठहर गर्न मिल्ने होइन । मुख्य प्रतिवादी विक्रम महतोले उक्त वारदात आफूले घटाएको हो यस वारदातमा अन्य कसैको संलग्नता छैन भनी बयान गरेको अवस्था हुँदा विक्रम महतो (२७ वर्ष) बाहेकका प्रतिवादीहरूलाई कसुरदार ठहर गरेको फैसला बदर हुनुपर्छ तथा पुनरावेदक प्रतिवादी विक्रम महतो (२७ वर्ष) ले अदालत र अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा कसुरमा साबिती रही बकपत्र गरी अदालतसमेतलाई सहयोग गरेको अवस्था हुँदा अभियोग दाबीबमोजिम हदैसम्मको सजाय गर्ने गरी भएको फैसला नमिलेको हुँदा कम सजाय हुनुपर्छ भनी गर्नुभएको बहस सुनीयो ।
विद्वान् उपन्यायाधिवक्ता तथा प्रतिवादी तर्फका कानूनी व्यवसायीहरूको उपर्युक्त बहस सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मुलत देहायका प्रश्नहरूको निरूपण गर्नुपर्ने हुन आएको छ ।
(१) प्रस्तुत मुद्दा के कस्तो प्रकृतिको हो ?
(२) यसमा प्रतिवादीहरू उपर लगाइएको आरोप स्थापित हुने अवस्था छ वा छैन । सो सम्बन्धमा जिल्ला र पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ वा छैन ।
(३) प्रस्तुत मुद्दाको विशेष प्रकृतिको सन्दर्भमा कुनै थप आदेश जारी हुनुपर्ने अवस्था छ वा छैन ।
२. सर्वप्रथम पहिलो प्रश्नतर्फ हेर्दा प्रस्तुत मुद्दामा ढेगनी देवी महतोको हत्या जुन किसिमबाट भएको भनी अभियोग लगाइएको छ त्यो अन्य सामान्य मुद्दाभन्दा पृथक प्रकृतिको छ । मिसिल हेर्दा अपराध घट्नुपर्ने भौतिक कारण पीडिततर्फबाट उत्पन्न गरिएको अर्थात् प्रतिवादीहरूको जीउ ज्यान वा सम्पत्तिउपर कुनै भौतिक आक्रमण गरिएको वा क्षति पुर्याएको कारण वारदात घटेको अवस्था यो होइन । वर्तमान फौजदारी कानून वा त्यसअन्तर्गत प्रयोग गरिने कुनै प्रविधिले खोज्न वा परीक्षण गर्न नसक्ने विगतदेखि थोपारिँदै आएको अन्धविश्वासमा आधारित भई मृतकले प्रतिवादीहरूलाई क्षति पुर्याएको वा पुर्याउन खोजेको भन्ने आधारहीन मान्यताका कारण प्रस्तुत वारदात घटन गएको भन्ने आरोप देखिन्छ । समाजमा बोक्सा बोक्सी हुन्छन् र तीनले मानिस, जीवजन्तु र खेतीबालीमा नोक्सानी पुर्याउन सक्छन् भन्ने आधारहीन मान्यताको उग्र विष्फोटनको रूपमा प्रस्तुत वारदात घट्न गएको भनिएको छ । त्यसैले प्रस्तुत मुद्दा अन्य ज्यान मुद्दाभन्दा फरक छ ।
३. अब प्रतिवादीहरू उपर लागेको आरोप स्थापित हुने अवस्था छ वा छैन भन्ने दोस्रो प्रश्नतर्फ हेर्दा मिति २०६८।११।५ को बिहान चितवनको बघौडा गाउँको वस्तीमा घटेको एउटा जघन्य अपराधको विषयलाई लिएर प्रस्तुत मुद्दामा अनुसन्धान प्रारम्भ भएको देखिन्छ । प्रहरीहरू घटनास्थल पुग्दा ढेगनीदेवी महतोको लास आधी जलेको अवस्था भेटिएको छ । घटनास्थल एवम् लास जाँच मुचुल्कामा “मृतकको कपाल केही जलेको, टाउको, निधार, च्यापु फुटेको, दाहिने कान च्यातिएको, शरीरमा भएका कपडाहरू जली केही मात्र बाँकी रहेको, कम्मरदेखि माथि अगाडिको भाग जलेको, योनि तथा मलद्वार जली रातो कालो अवस्थामा रहेको र जलेको कारण लास चिन्नै नसकिने अवस्थामा रहेको” भन्ने उल्लेख भएको पाइन्छ । लाशको नजिक रगत जस्तो पदार्थ लागेको ढुङ्गा, काठको चिरेको दाउरो, मट्टितेलको गन्ध आएको जरकिन रहेको भन्ने मुचुल्कामा उल्लेख भएको देखिन्छ । ढेगनीको ससुरा झारी महतोले दिएको जाहेरी अनुसार मिति २०६८।११।५ को बिहान आफ्नो गोठमा गोबर फाल्न गएकी चालीस वर्षीय विधवा ढेगनी देवी महतोलाई उनकै नातेदार विक्रम महतोसमेतले समाती लछार पछार गर्दै ढुङ्गा, लाठी, हात, मुक्कासमेतले कुटपिट गरी दुवै स्तनमा टोकी रगत चुसी विभत्स तरिकाले हत्या गरेको र त्यसपछि घाँस पराल राखी आगो लगाएको भनिएको छ । यस्तो कार्य कैयौं प्रत्यक्षदर्शीको सामुन्ने भएकोबाट यसरी मारिएकी व्यक्ति ढेगनीदेवी महतो हुन् भन्नेमा विवाद देखिएन ।
४. अब उक्त वारदातमा को कसको संलग्नता रहेछ भनी हेर्दा, प्रस्तुत मुद्दामा पक्राउ परेका व्यक्तिहरूको बयान र अभियोगपत्रको व्यहोरासमेतबाट ढेगनीदेवी महतोलाई बोक्सीको आरोप लगाई केही समयदेखि मानसिक यातना दिइँदै आएको भन्ने देखिन्छ । सोही क्रममा मिति २०६८।१०।२७ गते जिल्ला चितवन बघौडा गाउँ विकास समिति बस्ने विक्रम महतो (५० वर्ष) र विक्रमिया महतोको घरमा निज छोरी मञ्जु र ज्वाईं विक्रम महतो (२६ वर्ष) आएको, माइती घरमा आएपछि मञ्जु महतोले पेट दुख्यो, हात खुट्टा दुख्यो भनी बिरामी परेको भनेपछि निजहरू भारत पश्चिम चम्पारण घर भई सो समयमा बघौडा गाउँ विकास समितिमा नै डेरा गरी झाँक्री (गुरौं) को काम गर्ने जुगेश्वर महतो कहाँ हेराउन गएको, "निजले तिम्रो छिमेकी विधवा महिला बोक्सी छ, त्यसले दुःख दिएको छ, निजलाई खत्तम पार्नुपर्छ" भनेको र निजकै कुरा पत्याई र निजकै कुरामा लागी मिति २०६८।११।५ को बिहान ६ बजे नै प्रस्तुत वारदात घटन गएको भन्ने अनुसन्धान अधिकारीसमक्ष बयान गर्ने मञ्जु महतो, मञ्जुको पति विक्रम महतो (वर्ष २६), मञ्जुकी आमा विक्रमिया महतो र निजको पति विक्रम महतो (वर्ष ५०), मञ्जुकी बहिनी लक्ष्मी महतो, कृष्ण कुमारी र सञ्जु महतोको बयानबाट देखिन्छ । घटनाक्रम हेर्दा घटनापूर्व लगातार ४/५ दिनसम्म मञ्जु निजको पति विक्रम महतो र परिवारका केही सदस्यहरू झाक्रीकहाँ गएको, झाक्री कहाँबाट घर आएपछि मञ्जु र निजको पति विक्रम महतो काम्न थालेको र ढेगनीले बोक्सी लगाई दिएको छ भनेको र निजलाई मार्ने सल्लाह गरेको भन्ने खुल्न
आउँछ । घटनाको दिन बिहान ६ बजे विक्रम महतो शशुराली घरबाट निस्कनासाथ ढेगनीलाई निजको गोठमा गोबर फाल्दै गरेको देखी एक्कासी झम्टन गएको, विक्रमसँग ससुराली परिवारका सबै सदस्यहरू निस्केको, ढेगनी भाग्न लाग्दा समाती, घेरा हाली ल्याएको र निजलाई लछार पछार गर्दै ढुङ्गा, लाठी, हात मुक्का, लात्ताले हानेको र निजको मृत्यु भएपछि परालले छोपी मट्टितेल खन्याई आगो लगाएको भन्ने खुल्न आउँछ । यस्तो आपराधिक कार्यमा मञ्जु महतो, निजको पति विक्रम महतो (२६ वर्ष), मञ्जुका बाबु आमा विक्रम महतो (५० वर्ष) र विक्रमिया महतो, बहिनीहरू सञ्जु, लक्ष्मी (२५ वर्ष), कृष्णकुमारी महतो संलग्न रहेको भन्ने निजहरूको अनुसन्धान अधिकारीमक्षको बयानबाट खुल्न आउँछ । यद्यपि मञ्जुको पति विक्रम महतो (२६ वर्ष) बाहेक अन्य सबै प्रतिवादीहरू अदालतमा बयान गर्दा इन्कार रहेका छन् र हत्याको सम्पूर्ण जिम्मेवारी विक्रम महतोले लिएको छ । तर वारदातको स्वरूप र चश्मदिदहरूको अनुसन्धानको कागज र अदालतमा भएको बकपत्रबाट निज एक्लैले सबै कार्य गरेको नभई सम्पूर्ण परिवारका सदस्यहरू संलग्न भएको खुल्न आउँछ । उदाहरणको लागि उक्त घटना देख्ने ढेगनीका नाबालक छोराछोरी समिर महतो र मिना महतो सोही ठाउँकी निजहरूको नातेदार लिल्मा महतो, बुझिएका लिलाराम महतो, जितनी महतो, नन्दलाल चौधरी, भविश्वर चौधरी, नारायण महतो, लिलाराम चौधरीसमेतको कागजबाट सम्पूर्ण परिवार नै वारदातमा संलग्न भएको
देखिन्छ । ढेगनीको बाह्र वर्षीय छोरा समिर महतोले बकपत्र गर्दा वारदात हुनुपूर्वको रात आमा र बहिनीसमेत सँगै सुतेको, आमा बिहानै उठेर गोठमा गोबर फाल्न गएको अवस्थामा बाहिर होहल्ला भएपछि उठेर हेर्दा “आमा गोठनिर बाहिर लडेको थियो, टाउकोमा चोट भएको देखेको, त्यहाँ विक्रम, कृष्ण, सञ्जु, मञ्जु, लक्ष्मी, अर्को विक्रम र विक्रमिया थिए । विक्रमिया, विक्रम महतोसमेतले ढुङ्गा मुढा जे पायो त्यहीले हानेका रहेछन् (स.ज.५) विक्रम महतो, विक्रमिया महतो, निजका छोरीहरू र अर्को विक्रम महतोले कसैले पराल ल्याउने, कसैले मट्टितेल ल्याउने, कसैले आगो लगाउने गरी मट्टितेल हालेर परालले छोपी आगो लगाउने काम गरेका हुन् (स.ज.११)” भन्ने उल्लेख गरेको पाइन्छ । त्यस्तै आमा सँगसँगै सुतेकी निजकी बहिनी ९ वर्षीया मिना महतोले पनि बकपत्र गर्दा होहल्ला भई उठ्दा “मार्ली मार्ली भनेर आमाले बोलेको सुने” बाहिर आई हेर्दा माथि उल्लेख गरेका प्रतिवादीहरू “कसैले दाउरा, कसैले मुढासमेतले हानेको, त्यसपछि पराल ल्याई छोपी मट्टितेल हाली आगो लगाई जिउँदै जलाएका हुन्, सोही कारणबाट आमा ढेगनी देवीको मृत्यु भएको हो” (स.ज.७) भनी स्पष्टरूपमा उल्लेख गरेको र माथि उल्लिखित कुरा आफूले देखेको भन्ने उल्लेख गरेको (स.ज.१०) पाइन्छ । त्यस्तैगरी घटना घटिरहेको अवस्थामा आफूसमेत भई छुट्याउन जाँदा विक्रम महतोले हान्न खोजेको र लखेटेको भन्ने नारायण महतो र भविश्वर चौधरीको बकपत्रबाट देखिन्छ । वारदातस्थलबाट आगोको धुवाँ आएपछि गाउँलेहरू भेला भएको र कसैले प्रहरीलाई खबर गरेको अन्य गाउँलेहरूले अभियुक्तहरूलाई भाग्न उम्कन नदिएको भन्ने पनि प्रत्यक्षदर्शी घटना विवरणका अदालतमा आई बकपत्र गर्ने डिलाराम चौधरीसमेतको बकपत्रबाट देखिन्छ । यसबाट प्रतिवादीहरू मध्येका वारदात भएको स्थान र घरमा रहे भएका मञ्जु महतो निजको पति विक्रम महतो (२६ वर्ष) मञ्जुका बाबु आमा विक्रम महतो (५० वर्ष) र विक्रमिया महतो, बहिनीहरू लक्ष्मी महतो (२५ वर्ष), सञ्जु महतो र कृष्णकुमारी महतोसमेत भई ढेगनीदेवी महतोलाई मार्नुपर्छ भन्ने सल्लाहमा पसी कुट्न, पिट्न, चोट प्रहार गर्न र मृत्यु भइसकेपछि जलाउनमा प्रत्यक्षरूपमा संलग्न रहेको देखियो । घटनाको समग्रमा मूल्याङ्कन गर्दा घटना क्रुरतापूर्वक र विभत्स तरिकाले घटाइएको त्यहाँ कसैले छुट्याउन र ढेगनीको उद्दार गर्न नै नपाएको देखियो । यस स्थितिमा हत्या कार्यमा प्रत्यक्ष रूपमा यी प्रतिवादीहरू संलग्न देखिएका हुँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुने ठहर्याएको सुरू र पुनरावेदन अदालतको फैसला मिलेकै देखिन आयो ।
५. अब प्रतिवादीमध्येका झाक्री (गुरौं) को जुगेश्वर महतोको हकमा हेर्दा निज भारतीय देखिए पनि बघौंडा गाउँ विकास समितिमा डेरा गरी बस्ने र झारफुक, धामी झाँक्रीको काम गर्ने व्यक्ति रहेको भन्ने माथि उल्लेख भइसकेको छ । विक्रम महतो (२६ वर्ष), निजको श्रीमती मञ्जु महतो, निजको आमा विक्रमिया महतो ३ दिनसम्म आफ्नोमा फुक्न आएको र आफूले झारफुक गरेको कुरा निजले अदालतमा पनि स्वीकार गरेको देखिन्छ । अनुसन्धानमा बयान गर्दा आफूले ५ दिनसम्म झारफुक गरेको र केही कम भएको छ हेरिदिनु पर्यो भनेपछि “माइतीघरको छिमेकी महिला ढेगनीदेवी महतोले बोक्सी लगाएर दुःख दिएको छ त्यसलाई खत्तम पार्नुपर्छ, त्यसपछि माइती घरमा र तिम्रो घरमा सुख शान्ति हुन्छ” भनी मञ्जु महतोसमेतलाई भनेको भनी उल्लेख भएको छ । निजउपर सह अभियुक्तहरू विक्रम महतो (२६ वर्ष), मञ्जु महतो, विक्रमिया महतोसमेतको पोल रहेको पनि छ । यद्यपि निज घटना घट्दा वारदातस्थलमा उपस्थित देखिँदैन तर ढेगनीलाई बोक्सीको आरोप लगाउने, बोक्सी हुन्छन् र बोक्सीले मानिसलाई टुनामुना मन्त्रद्वारा मार्न सक्छन्, त्यस्तो कार्य ढेगनीले गरेको छ भनी अन्धविश्वासमा बसीभूत बनाउँदै निज “ढेगनीलाई खत्तम पार्नुपर्छ र मारेमा मात्र बिरामी मञ्जुको माइती र घरमा समेत सुख शान्ति हुन्छ” भनी विश्वास दिलाउने व्यक्ति देखिन्छ । यसरी निजको कुरामा विश्वास गरी र वचन मानी माथि उल्लिखित अन्य प्रतिवादीहरूले ढेगनीलाई बोक्सीको आरोपमा कुट्ने, पिट्ने र मट्टितेल खन्याई परालले छोपी विभत्स किसिमले मार्ने कार्य गरेको पाइँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) को कसुर गरेको ठहर्याएको सुरू र पुनरावेदन अदालतको फैसला मिलेकै देखियो ।
६. अब सुरू चितवन जिल्ला अदालत र पुनरावेदन अदालत, हेटौंडाले समेत अभियोग दाबीबाट सफाई दिएका प्रतिवादी जुगेश्वरलाई कोठा भाडामा राख्ने लक्ष्मी महतो (३६ वर्ष), पशुपतिया महतो र सरस्वती महतोको हकमा हेर्दा, निजहरूले आरोपित कसुरमा इन्कार रही बयान गरेको
देखिन्छ । निजहरू ढेगनीलाई हत्या गर्ने परिवारका सदस्य पनि देखिँदैन । घटनाबारे अनुसन्धानमा साबित हुने कुनै पनि प्रतिवादीले निजहरू घटनास्थलमा थियो वा वारदातमा संलग्न थियो वा आफूहरूलाई उक्साएको थियो भनेको पाइँदैन । यस स्थितिमा निजहरू उपरको आरोप पुष्टि हुन सक्ने अवस्था विद्यमान नदेखिँदा निजहरूलाई सफाई दिने गरी भएको सुरू र पुनरावेदन अदालतको फैसला अन्यथा गर्नुपर्ने देखिएन ।
७. गडाउ भएका प्रतिवादीहरू उपर ढेगनीलाई बोक्सी आरोपमा यातनासमेत दिई हत्या गरेको भनी मुलुकी ऐन, अदलको महलको १०(ख) को समेत अभियोग लगाएको पाइन्छ । उक्त अदलको १०(ख) नं. मा देहायको व्यवस्था रहेको देखिन्छ ।
८. “कसैले कसैलाई बोक्सी वा बोक्सीको आरोप लगाउने वा त्यस्तो आरोपमा निजलाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने वा अन्य कुनै अमानवीय वा अपमानजक व्यवहार गर्ने वा यातना दिने काम गरेमा वा कुनै रोग लागेको व्यक्तिलाई त्यस्तो रोग लागेको कारणबाट तिरस्कार वा अमानवीय वा अपमानजक व्यवहार गरी निजलाई बसोबास गरेको ठाउँबाट निकाला गरेमा तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजार रूपैयाँदेखि पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।”
९. उपर्युक्त व्यवस्थाले बोक्सा बोक्सीको आरोप लगाउने, यातना दिने, अपमानजनक व्यवहार गर्ने वा अमानवीय कार्य गर्ने कुरालाई कसुर मानेको देखिन्छ । प्रस्तुत मुद्दामा ढेगनीदेवी महतोलाई जे जसरी बोक्सीको आरोप लगाउने, यातना दिने र मार्ने कार्य भयो यस्तो स्थितिमा उक्त १०(ख) नं. को कसुर कायम हुने नै देखियो । केवल सजायको हकमा सम्म प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) र १३(४) नं. बमोजिम सजाय भएको र वारदात एउटै हुँदा दण्ड सजायका ८ र ३८ नं. को समेतको व्यवस्थाबाट थप सजाय नहुने स्थिति देखिन आयो ।
१०. दोस्रो प्रश्नको निरूपण गर्ने सन्दर्भमा यति कुरा भनेर अब प्रस्तुत मुद्दा विशेष प्रकृतिको रहेको सन्दर्भमा कुनै आदेश हुनुपर्ने अवस्था छ वा छैन भन्ने तेस्रो प्रश्नतर्फ हेरौं । विज्ञान प्रविधिले यति धेरै उन्नती गरेको वर्तमान समयमा पनि हाम्रो समाजमा मानिसहरूलाई बोक्सा बोक्सीको आरोपमा सताउने, अपमान गर्ने, यातना दिने, बहिष्करण गर्ने र मार्नेसम्मका कार्य हुन्छन् र हाम्रो संविधान, कानून, हाम्रो न्याय प्रणालीले यसलाई निर्मूल गर्न सकेको छैन भन्नु अत्यन्त लाजमर्दो कुरा हो । बोक्सीको आरोपमा भएका घटनाहरू हेर्दा एक्काइसौं सताब्दीमा पनि बोक्सी प्रथामा विश्वास गर्ने एसिया र अफ्रिकाका केही अँध्यारा कुनाहरूमा हाम्रो देश पर्छ । यो यथार्थ हो । बोक्सीको आरोपमा मानिसहरू र विशेषतः महिला, वृद्ध, सामाजिकरूपमा परित्यक्त, अल्पसंख्यकहरू सताइएका घटनाहरू बरोबर अखबारमा आइरहन्छन् । किन यस्तो भइरहेको छ ? घटनाहरू किन दोहरी रहेका छन् ? किन र कसरी यति सहजरूपमा क्रूर कार्यहरू भइरहेका छन् ? किन हाम्रो न्यायप्रणालीले पीडित, उनका परिवार र सम्पूर्ण समाजलाई न्याय सुनिश्चित गर्न सकिरहेको छैन ? यसबारेमा गम्भीर समीक्षा हुन आवश्यक देखिन्छ ।
११. बोक्सी प्रथा बारेमा गरिएका अध्ययनहरूले के देखाउँछन् भने बोक्सीको मान्यता, प्रचलन र विश्वास कुनै न कुनैरूपले धर्म, इतिहास र संस्कृतिसँग जोडिएको विषय हो । हिन्दू, इस्लाम र क्रिस्तान आदि धर्मका धार्मिक ग्रन्थहरूमा बोक्सी बारेको विश्वासलाई उद्बोध गराउने दृष्टान्तहरू भेटिन्छन् । तर शिक्षाको प्रचारसँगै जब जब मानिसहरूले विज्ञान र तर्कवादमा विश्वास गर्न थाले तब समाजमा बोक्सी वा बोक्सा हुन्छन् र तिनले मानिस, वस्तु भाउ वा बाली नाली नष्ट गर्न सक्छन् भन्ने कुरा हराउँदै
गए । अहिले पश्चिमी समाजमा बोक्सी प्रथाको कुरा नै इतिहासको एउटा अँध्यारो कथा बनेको छ । अहिले यसलाई हुनै नसक्ने कसुर (impossible Crime) मानिन्छ । कानूनी विकासको दृष्टिबाट हेर्दा इतिहासको कुनै चरणमा “बोक्सी लगाउनु अपराध हो” भनिन्थ्यो भने अहिले “बोक्सीको आरोप लगाउनु अपराध हो” भन्ने मान्यतालाई विश्वका अधिकांश विकसित र विकासशील मुलुकहरूले अंगिकार गर्दै गैरहेका छन् । यसै अदालतबाट बोक्सीको आरोप लगाई हुने गरेको अन्याय, अत्याचार, उत्पीडन, यातना दिने कार्य रोकथाम, नियन्त्रण एवम् सजाय गर्ने प्रभावकारी ऐनको अभाव रहेकोले ऐनको तर्जुमा गर्नु भनी मिति २०६१।४।२६ मा आदेश भएपछि २०६३ सालमा मुलुकी ऐन अदलको १० (ख) को व्यवस्था गरिएको र २०७२ सालदेखि “बोक्सीको आरोप (कसुर र सजाय) ऐन” मार्फत हामीले अब “बोक्सीको आरोप लगाउनु अपराध हो” भन्ने पछिल्लो मान्यतालाई अङ्गिकार गरेका छौं । यो स्वागतयोग्य कुरा हो । कानूनी व्यवस्था कायम गर्ने बारे हामीहरूले केही प्रगति गरेको भएपनि यथार्थ के हो भने हाम्रो समाज अझैपनि बोक्सा बोक्सी, भूत प्रेत, धामी झाक्रीमा विश्वास गर्छ । यसले गर्दा सामाजिक विभेद, वहिष्करण र बन्चनाको स्थितिको सृजना भइरहेको र आर्थिक, सामाजिक, शैक्षिक रूपमा सीमान्तकृत वर्ग नै यसबाट बढी प्रभावित र पीडित बन्न पुगेको अवस्था छ । अक्सर वृद्ध, परित्यक्त, अशक्त महिला वा रोग लागी जन्मेका वा असामान्य जन्मेका व्यक्तिहरू बोक्सा बोक्सीको आरोपमा
पर्छन् । यस खालका व्यक्तिहरू सताइएका घटनाक्रमहरूले देखाउँछन् ।
१२. कसैलाई बोक्सी वा बोक्साको आरोप लगाउनु, सताउनु, अपहेलना, वा वहिष्करण गर्नु, आक्रमण गर्नु, सामाजिक बेइजति गर्नु वा मार्नु जघन्य अपराध हो । कसैलाई बोक्सा बोक्सीको आरोप लगाउनु मात्र पनि आरोपित व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रपूर्वक हिँड्डुल, कारोबार, व्यवसाय गर्न पाउने हकउपरको आक्रमण हो । यस दृष्टिबाट यो मानव अधिकारको गम्भीर उल्लङ्घनको प्रश्न हो । मानव अधिकारसम्बन्धी साहित्यमा यसबारे विवेचना भएको पनि छ । तर अध्ययनहरूले के पनि देखाउँछन् भने बोक्सी लगाएको भनी झारफुक गर्ने गराउने, बोक्सीको आरोप लगाई हिंसामा उत्रने वा त्यस्तो हिंसा हेरी ताली पिट्नेहरू बोक्सीको अस्तित्वमा विश्वास गर्छन् । बोक्सीउपर शारीरिक वा मानसिक हिंसामा उत्रनेहरू आफूहरूले बोक्सी भनी आरोप लगाइएका व्यक्तिहरू उपर अन्याय गरेको ठान्दैनन् बरू आफूले न्याय खोजेको र दैवी शक्तिको आडमा न्याय दिएको महसुस गर्छन् । यो मान्यता र अन्धविश्वासबाट समाजलाई बाहिर ननिकालेसम्म हामी यो समस्याबाट मुक्त हुन सक्दैनौं । त्यसको निम्ति सर्वप्रथम बोक्सी-बोक्सा हुँदैनन् भन्नेमा समाजलाई विश्वास दिलाउनु पर्छ । धामी झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसैको आडमा शोषण गरिरहेका छन् भन्ने पुरूष, महिला, बाल, युवा, पौढ सबैलाई बुझाउन जरूरी छ । बोक्सी प्रथाका विरूद्ध मात्र होइन त्यसको कारकको रूपमा रहेको धामी झाँक्री प्रथाको विरूद्ध नै हाम्रो राज्य, कानूनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नु पर्छ । यो वर्तमानको आवश्यकता हो ।
१३. बोक्सी प्रथाको विरूद्ध २०७२ सालमा व्यवस्थापिका संसद्ले एउटा ऐन निर्माण गरेको कुरा माथि उल्लेख भइसकेको छ । सो ऐनले बोक्सा वा बोक्सीको आरोप लगाउने, आरोपित व्यक्ति उसका परिवारका सदस्यलाई क्रूर अमानवीय वा अपमानजनक व्यवहार गर्ने, सामाजिक वहिष्कार गर्ने, बसेको ठाउँबाट निकाल्ने आदि कार्यलाई कसुर कायम गरी सरकार वादी मुद्दाको रूपमा अनुसन्धान गर्ने र कसुरको गाम्भीर्यअनुरूप सजायको व्यवस्था गरेको छ । साथै ऐनले पीडितको उपचार गराउने, पीडितको संरक्षण गर्ने, सुरक्षा व्यवस्था गर्ने गराउने, कसुरदारलाई थुनामा राखी कारवाही गर्ने आदि कुराका साथै क्षतिपूर्तिको व्यवस्थासमेत गरिसकेको छ । पीडितलाई सेवा केन्द्रमा राख्ने, कानूनी सहायता, मनोविमर्श वा मनोवैज्ञानिक सेवा र आर्थिक सहायता दिने र सचेतना कार्यक्रम सञ्चालन गर्ने आदि जस्ता सकारात्मक व्यवस्थाहरू उक्त ऐनमा गरिएका
छन् । ऐन जारी भएको धेरै भई नसकेको हुँदा यसको प्रभावकारी कार्यान्वयन र परिमार्जन गर्दै लैजानु पर्ने आवश्यकता अब हाम्रो सामुन्नेमा छ । त्यसैले प्रस्तुत मुद्दाको निरूपणसमेतको क्रममा समाजमा सचेतना वृद्धिको लागि “बोक्सा बोक्सी, भुत प्रेत हुँदैनन् धामी झाँक्रीको बलले कुनै रोग वा क्षतिलाई ठीक पार्न सकिँदैन, ठीक पार्न सकिन्छ भन्नु अन्धविश्वासबाहेक केही होइन । जुन कुरा विज्ञानसम्मत छैन, त्यसलाई स्वीकार गरिनु हुँदैन” यो सन्देश सोझोरूपमा जनतासमक्ष पुर्याइनु पर्छ । बोक्सीको आरोप त्यससँग जोडिएका आर्थिक, सामाजिक, कानूनी न्यायिक एवम् मानव अधिकारसम्बन्धी आयाम र यो कुप्रथाको कसरी अन्त्य गर्ने बारेमा रणनीतिसहितको विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्नु र सञ्चार माध्यमद्वारा प्रचार प्रसारसमेत गर्नु भनी शिक्षा तथा सञ्चार मन्त्रालयको नाउँमा र ढेगनीदेवी महतोका नाबालक सन्तानहरूको शिक्षादीक्षा, स्वास्थ्य र सुरक्षाको आवश्यक र उचित प्रवन्ध मिलाउनु भनी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयसमेतका नाउँमा आदेश जारी गर्नु न्यायको रोहमा आवश्यक देखिन आयो ।
१४. अतः माथि उल्लिखित आधार प्रमाणहरूबाट ढेगनीदेवी महतोलाई बोक्सीको आरोप लगाई हत्या गरी जलाउने कार्यमा प्रतिवादीहरू विक्रम महतो (२६ वर्ष), निजकी श्रीमती मञ्जु महतो, मञ्जुको बाबु विक्रम महतो (५० वर्ष), विक्रमिया महतो, मञ्जु महतोको बहिनीहरू सञ्जु महतो, लक्ष्मी महतो (२५ वर्ष), कृष्णकुमारी महतोसमेत संलग्न देखिँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम र प्रतिवादी जुगेश्वर महतोको हकमा निज ज्यान मार्नेमा वचन दिने कार्यमा संलग्न देखिँदा ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिम सजाय गर्ने गरेको सुरू चितवन जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।१।९ मा भएको फैसला मिलेकै देखियो । साथै ज्यानसम्बन्धीको १७ नं. को अभियोग लगाइएका लक्ष्मी महतो (३६ वर्ष), सरस्वती महतो, पशुपतिया महतोउपरको अभियोग दाबी पुग्न नसकेकोले निजहरूलाई सफाई दिने ठहर्याएको सुरू र पुनरावेदन अदालतको फैसला पनि मिलेकै
देखियो । तसर्थ पुनरावेदन अदालतको सो फैसला सदर हुने ठहर्छ । गडाउ भएका प्रतिवादीहरूले बोक्सीको आरोप लगाई ढेगनीदेवी महतोको हत्या गरेको हुँदा मुलुकी ऐन, अदलको १० (ख) को कसुर कायम
हुन्छ । तर सजायको हकमा ज्यानसम्बन्धीको महलको १३(३) र १३(४) नं. बमोजिम सजाय भइसकेकोले थप सजाय गर्नु परेन । साथै बोक्सा बोक्सी विरूद्ध सचेतनाको निम्ति उपयुक्त पाठ्यक्रम तयार गरी विद्यालय तहको शिक्षामा समावेश गर्नु भनी शिक्षा मन्त्रालय तथा सञ्चार मन्त्रालयको नाउँमा र ढेगनीदेवी महतोका सन्तानहरू समिर महतो, मिना महतो र अन्य सन्तान भए उनीहरूको समेत शिक्षादीक्षा, स्वास्थ्य, सुरक्षासमेतको समुचित व्यवस्था गर्नु भनी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयसमेतको नाउँमा आदेश जारी गरिदिएको छ । आदेश कार्यान्वयनको निम्ति फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमार्फत उक्त मन्त्रालयहरूमा पठाई दिनू । साथै जाहेरवालालाई पनि सुरू जिल्ला अदालतमार्फत फैसलाको जानकारी दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. केदारप्रसाद चालिसे
इजलास अधिकृत : जगतबहादुर पौडेल
इति संवत् २०७३ साल असार २१ गते रोज ४ शुभम् ।