शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८६२ - गैंडालाई गोली हानी घाइते बनाएको

भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक:

सर्वोच्‍च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ

फैसला मिति : २०७३।१२।१३

 

मुद्दा : गैंडालाई गोली हानी घाइते बनाएको ।

 

०६८-CR-१०६३

पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, मेघौली गाउँ विकास समिति वडा नं. ३ घर भई हाल कारागार कार्यालय भरतपुरमा थुनामा रहेका सुकबहादुर कुमालको छोरा रणबहादुर कुमाल

विरूद्ध

प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालको जाहेरीले नेपाल सरकार

 

०६८-CR-१०६४

पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी, नयाँ बेलहानी गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय भरतपुरमा थुनामा रहेका बाबुलाल लामाको छोरा होमबहादुर लामा

विरूद्ध

प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालको जाहेरीले नेपाल सरकार

 

०६८-CR-११३६

प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालको जाहेरीले नेपाल सरकार

विरूद्ध

पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी, नयाँ बेलहानी गाउँ विकास समिति वडा नं. २ बस्ने बाबुलाल लामाको छोरा होमबहादुर लामा

 

०६८-CR-११७३

पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी, नयाँ बेलहानी गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय भरतपुरमा थुनामा रहेका बाबुलाल लामाको छोरा होमबहादुर लामा

विरूद्ध

प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालको जाहेरीले नेपाल सरकार

 

०६८-CR-११९३

पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन, मेघौली गाउँ विकास समिति वडा नं.३ घर भई हाल कारागार कार्यालय भरतपुरमा थुनामा रहेका सन्तबहादुर भन्ने पंकज कुमाल

विरूद्ध

प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालको जाहेरीले नेपाल सरकार

 

लोपोन्मुख प्रजातिलाई संरक्षण गर्न गैंडा मार्ने घाइते पार्ने जस्ता कसुरलाई गम्भीर कसुर मानी सजायको व्यवस्था हाम्रो विद्यमान कानूनमा समेत कठोररूपमा रहेको छ । गैंडा मार्ने योजनामा संलग्नता भए तापनि हरेक व्यक्तिको आआफ्नो कसुरको भूमिका रहेको हुन्छ । ऐनले नै तजबिजी सजायको व्यवस्था गरेको छ । तजबिजी सजायको प्रयोग पनि कसुरको मात्राअनुसार वाञ्छनीय हुने । 

कैद र जरिवानाको तजबिजी सजाय गर्दा न्यायकर्ताले सदैव कसुरदारको कसुरको मात्रालाई ध्यान दिनुपर्ने हुन्छ । तजबिजी सजाय गर्दा अपराधमा संलग्न व्यक्तिको पूर्व आपराधिक क्रियाकलापलाई पनि विचार गर्नुपर्ने हुन्छ । विश्वबाट नै लोपोन्मुख हुने सम्भावना भएको गैंडा प्रजातिको शिकार गरी खागको व्यापार गर्ने समूहको नेटवर्क नै हुने गरेको छ । सबै कसुरदारले गरेको कार्यको समष्टिगत परिमाणबाट नै अपराधले पूर्णता पाउने हुँदा हरेक अपराधीको भूमिका गम्भिर प्रकृतिको मान्नुपर्ने ।

(प्रकरण नं.११)

निकुञ्‍ज क्षेत्रभित्र गोली चलेको तथ्य पुष्‍टि भइरहेको अवस्था, गैंडा घाइते देखिएको भन्‍ने प्रतिवेदन र प्रतिवादीहरू भेला भई बसेको घरमा पक्राउ पर्दा बरामद भएका गैंडा मार्ने बन्दोबस्तीका सामानहरू बरामद भएका परिस्थितिजन्य प्रमाण र प्रतिवादीहरूको कसुर अपराधलाई स्वीकार गरी गरेको बयान कागजातबाट आरोपित कसुरमा प्रतिवादीहरूको संलग्नता थिएन भन्‍न नसकिने ।

(प्रकरण नं.१६)

 

पुनरावेदक / प्रतिवादीको तर्फबाट : 

प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क), दफा २८

 

सुरू तहमा फैसला गर्नेः 

प्रमुख संरक्षण अधिकृत डा.श्री नरेन्द्रमान बाबु प्रधान 

पुनरावेदन तहमा फैसला गर्नेः

मा.न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

मा.न्यायाधीश श्री सत्यमोहन जोशी थारू

 

फैसला

न्या. सारदाप्रसाद घिमिरे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम्‌ ठहर यस प्रकार छ :

मिति २०६४/५/२२ गते मेघौली गाउँ विकास समितिको दद्रनी गाउँको सिधा नारायणी पारी निकुञ्‍जभित्र गोली पड्‍केको सूचना पाई गाउँलेको सहयोगमा डुङ्गा तरी गस्ती गर्दा उक्त दिन केही फेला नपरेको र भोलिपल्ट गस्तीको क्रममा दाहिने फिलामा गोली लागी रगत चुहाउँदै हिँडेको गैंडा फेला परेको भनी सिंसवार पोष्‍टले मिति २०६४/५/२४ मा पेस गरेको मुचुल्का एवम् प्रतिवेदन । 

सिसवार पोष्‍टको रिपोर्टको आधारमा गैंडालाई गोली हान्‍ने मानिसको खोजी भइरहेको 

थियो । मिति  २०६४/६/६ गते पहिला गैंडालाई गोली हान्‍ने मानिस फेरी गैंडा मार्न आउँछन् भन्‍ने सूचनाको आधारमा चितवन राष्‍ट्रिय निकुञ्‍जको गस्ती टोलीले गस्ती गर्दै जाँदा जिल्ला चितवन, मेघौली गाउँ विकास समिति, वडा नं. २ बस्ने सन्तबहादुर कुमालको घरनजिक मानिसहरू जम्मा भएको देखी उक्त स्थानमा जाँदा मानिसहरू भागाभाग गरेको र निजहरूलाई घेरा हाली समात्‍ने क्रममा जिल्ला नवलपरासी, नयाँबेलहनी गाउँ विकास समिति, वडा नं. २ बस्ने होमबहादुर लामा, जिल्ला चितवन, मेघौली गाउँ विकास समिति वडा नं. ३ बस्ने रणबहादुर कुमाल र ऐ.ऐ. वडा नं.२ बस्ने माया कुमाललाई घेरा हाली समातेर सोधखोज गर्दा गैंडा मार्ने योजनाको लागि सल्लाह गर्न लागेको भन्‍ने कुरा खुल्न आएकोले निजहरूलाई केरकार गर्दा माया कुमालले आफ्नो घरमा राख्‍न दिएको पोकोसमेत ल्याएर दिएकोमा उक्त पोकोमा रडबाट बनाएको गोली, सिसाको गोली, बारूद र अन्य बन्दोबस्तीका सामानहरू समेत फेला परेकोले आवश्यक कारवाहीको लागि निजहरूलाई बरामद सामानसहित चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाएको स.सं.अ. श्री अणनाथ बरालसमेतको मिति २०६४/६/६ गतेको प्रतिवेदन ।

माया कुमालले आफ्नो घरबाट निकालेर दिएको पोको फुकाई हेर्दा फेला परेको गोली बारूद र बन्दोबस्तीका सामानहरू समेत बरामद भएको मिति  २०६४/६/६ गतेको बरामदी मुचुल्का । 

म गैंडा मारेको अभियोगमा जेल बसी निस्केको करिब २ महिना जति भयो । मेरो ससुराली गैंडाकोटमा जाँदा नारायणगढमा जिल्ला चितवन, कोराक गाउँ विकास समिति कालिखोला बस्ने राजकुमार प्रजा र जिल्ला चितवन खैरहनी गाउँ विकास समिति वडा नं. ४ बस्ने बुद्धिबहादुर प्रजासँग भेट भयो । बुद्धिबहादुर प्रजा मसँगै जेलमा बसेकाले चिनजान थियो । निजहरूले नारायणीको पुल नजिक एकान्तमा लगी गैंडा मार्ने कुरा गरे । मैले यो कुरा जिल्ला चितवन, मेघौली गाउँ विकास समिति वडा नं. २ बस्ने सन्तबहादुर कुमालसँग सल्लाह गर्नु भनेँ । त्यसपछि निजहरूले गैंडा मार्ने योजना बनाई मिति २०६४/५/२१ गते सन्तबहादुर कुमालको घरमा गई बसी ऐ. २२ गते नारायणी नदी तरी निकुञ्‍जको क्षेत्रमा गैंडालाई गोली हानेको र उक्त गैंडाको खाग लिन भनी बुद्धिबहादुर लामाको लु.१.प. ८१२३ नं. र बुद्धिबहादुर प्रजाको साथीको अर्को मोटरसाइलमा मेघौली साझापुरसम्म गई खाजा नास्ता खाई बेलुका होमबहादुर लामा र आफू प्रतिक्षालयमा सुतेको, सन्तबहादुर आफ्नो घरमा फर्केको, बुद्धिबहादुर प्रजा, राजकुमार प्रजा र थिङ्ग भन्‍ने मानिस मोटरसाइकलमा फर्केका, पुनः २०६४ साल असोज महिनाको ६ गते राजकुमार प्रजा, होमबहादुर लामा, सन्तबहादुर कुमाल, माया कुमाल र मसमेत बसी गैंडा मार्ने योजना बनाइरहेको अवस्थामा निकुञ्‍जको गस्ती टोलीले गोली, बारूद र बन्दोबस्तीका सामानसहित होमबहादुर लामा, म र माया कुमाललाई पक्राउ गरेको हो भनी प्रतिवादी रणबहादुर कुमालले अनुसन्धान अधिकारीसमक्ष मिति  २०६४/६/९ गते गरेको साबिती बयान । 

मैले गैंडा मार्ने र खाग बिक्री गर्ने कार्य गरेको छैन । तर मेरो श्रीमान् सन्तबहादुर कुमालका साथी भनेर १३-१४ दिन पहिला आई बास बसेका मानिसले दिएको सामानको पोको सुरक्षित राखिदिएकी हुँ । उक्त पोकोमा फलामको रड काटेर बनाइएको गोली, बारूदलगायत सिसाका गोली र अन्य बन्दोबस्तीका सामान पनि रहेका थिए । म उक्त मानिसलाई 

चिन्दिनँ । निजहरूसँग मेरो श्रीमान्‌ घरबाहिर गई गोप्य कुरा गरेको र के कुरा गरेको हो ? यो सामान के हो? भनी पटक पटक सोधपुछ गर्दा गैंडा मार्नको लागि ल्याएको सामान हो, यो पोको नफुकाउनु भनी भनेकाले उक्त सामान नहेरी राखिदिएको र निकुञ्‍जको गस्ती टोलीले होमबहादुर लामा, रणबहादुर कुमाल र मलाई पक्राउ गर्ने समयमा त्यो सामानको पोको मैले राखेको ठाउँबाट झिकी दिएको हुँ भनी प्रतिवादी माया कुमालले अनुसन्धान अधिकारीसमक्ष मिति २०६४/६/८ मा गरेको साबिती बयान । 

मैले गैंडा मारेको छैन र खाग बिक्री व्यवसाय गरेको रकम पनि पाएको छैन । तर मार्नको लागि सल्लाह गरेको हो र गैंडा मार्न गएका साथीहरूलाई खागसहित नारायणगढसम्म बिक्रीको लागि लैजानको लागि होमबहादुर लामाको लु.१.प. ८१२३ नं. को मोटरसाइकल र साथीको अर्को मोटरसाइकलमा मेघौली, साझापुर आई साथीहरूलाई भेट गर्दा गैंडालाई गोली ताकेको ठाउँमा नलागी पछाडिको फिलामा लागेकाले गैंडा नमरेकाले खाग लैजान पाइएन । यो घटना २०६४ साल भाद्र २२ गतेको हो । पुनः तिज मानेर २०६४ असोज ६ गते सन्तबहादुर कुमालको घर नजिक बसी गैंडा मार्ने योजना बनाइरहेको अवस्थामा निकुञ्‍जको गस्ती टोलीले हमीलाई बरामद भएका सामानसहित पक्राउ गरेको हो । भाद्र २२ गते गैंडा मार्न जानेमा सन्तबहादुर कुमाल, राजकुमार प्रजा र बौधे प्रजा हुन् । घटनामा जिल्ला चितवन, मेघौली गाउँ विकास समिति वडा नं. २ बस्ने सन्तबहादुर कुमाल, ऐ.ऐ. वडा नं.३ बस्ने रणबहादुर कुमाल, जिल्ला चितवन, कोराक गाउँ विकास समिति, कालिखोला बस्ने राजकुमार प्रजा, जिल्ला चितवन, खैरहनी गाउँ विकास समिति वडा नं. ४ बस्ने बुद्धिबहादुर प्रजा, कोराक गाउँ विकास समिति बस्ने बौधे प्रजा र ऐ.भ. बस्ने दिपे भन्‍ने रोगबहादुर कुमालसमेतका मानिसहरू सल्लाह गरिरहेको अवस्थामा निकुञ्‍जको गस्ती टोलीले पक्राउ गरी सोधखोज गर्दा सन्तबहादुर कुमालकी श्रीमती माया कुमाललाई हाम्रा साथीहरूले राख्‍न दिएको सामानहरू निकाल्न लगाई हेरेपछि हामीहरूलाई पक्राउ गरी निकुञ्‍जका कर्मचारीहरूले ल्याएका हुन् भनी प्रतिवादी होमबहादुर लामाले अनुसन्धान अधिकारीसमक्ष मिति  २०६४/६/९ गते गरेको साबिती बयान । 

गैंडा मार्न जानको लागि बन्दोबस्तीका सामान ओसार पसार गर्न प्रयोग भएको जिल्ला नवलपरासी नयाँ बेलहनी गाउँ विकास समिति वडा नं. २ बस्ने होमबहादुर लामाको लु.१ प. ८१२३ नं. मोटरसाइकल पक्राउ गरी मिति  २०६४/६/१३ मा पेस भएको प्रतिवेदन ।

आफूसँग सन्तबहादुर कुमालको घरमा गएको गैंडा मार्ने योजनामा संलग्न मानिसहरू मध्ये बौधे प्रजा र अर्का रोगे भन्‍ने दिपे प्रजा हुन् । मैले आफ्नो बयान दिँदा भुलेकोले नाम भन्‍न नसकेको हो भनी होमबहादुर लामाले मिति  २०६४/६/१५ गते गरेको ततिम्बा बयान । 

पक्राउ परेका मानिसहरू गैंडा मार्ने बन्दोबस्तीका सामानहरू सहित पक्राउ परेका हुन् भनी जिल्ला चितवन, मेघौली गाउँ विकास समिति वडा नं. २ बस्ने दानबहादुर कुमालसमेतका मानिसहरूले मिति  २०६४/६/१६ मा गरिदिएको सर्जमिन मुचुल्का । 

मिसिल संलग्न प्रमाण कागजातहरूको अध्ययन गरी हेर्दा प्रतिवादीहरूले राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) मा निषेधित गरेको वन्यजन्तु गैंडालाई गोली हानी घाइते बनाएकोमा सोही ऐनको दफा २६(१) बमोजिम हदैसम्मको दण्ड सजाय हुने मागदाबी लिएको मिति  २०६४/६/२७ गतेको अभियोग पत्र । 

मैले गैंडा मार्ने र खाग बिक्री गर्ने काम गरेको छैन । मेरो श्रीमान्‌ सन्तबहादुर कुमालका साथीहरू १३/१४ दिन पहिला मेरो घरमा आई बास बसेकोमा ती मानिसहरूले दिएको सामानको पोको सुरक्षित राखिदिएकी हुँ । उक्त पोकोमा फलामको रड काटेर बनाइएको गोली, बारूद, सिसाका गोली र अन्य सामान पनि थिए । म मेरा श्रीमान्‌का साथीहरूलाई चिन्दिनँ । तिनीहरूसँग मेरो श्रीमान्‌ घर बाहिर गोप्य कुरा गर्दथे । तर के कुरा गर्दथे मलाई थाहा हुँदैनथ्यो । सामानको बारेमा मैले सोधनी गर्दा गैंडा मार्नको लागि ल्याएको सामान हो भनी मेरा श्रीमान्‌ सन्तबहादुरले भनेकाले सामानहरू नहेरी राखिदिएको थिएँ । निकुञ्‍जको गस्ती टोलीले होमबहादुर लामा, रणबहादुर कुमाल र मलाई पक्राउ गर्ने क्रममा घरमा राखिएको त्यो सामानको पोको मैले राखेको ठाउँबाट झिकी दिएको हुँ भनी प्रतिवादी माया कुमालले मिति  २०६४/६/२८ गते सुरू कार्यालयसमक्ष गरेको बयान । 

२०६४ साल भदौ १९ गते मेरो ससुराली गैंडाकोटमा जाँदा नारायणगढमा जिल्ला चितवन, कोराक गाउँ विकास समिति कालीखोला बस्ने राजकुमार प्रजा र ऐ. खैरहनी गाउँ विकास समिति वडा नं. ४ बस्ने बुद्धिबहादुर प्रजासँग भेट भएको हो । उनीहरूसँग भेट हुँदा पहिला सन्तबहादुर कुमालसँग गैंडा मार्न गएका रहेछन् । तर गैंडा मरेन, त्यसै फर्किएछन् । मैले मेरो ज्वाईंं पर्ने जिल्ला चितवन, मेघौली गाउँ विकास समिति वडा नं. २ बस्ने सन्तबहादुर कुमाललाई भेटी सरसल्लाह गर्नु भनी म ससुरालीतिर गएँ । बुद्धि प्रजाले मलाई भोलिपल्ट नारायणी पुलमा भेट गर्न बोलाएको हुँदा म भोलिपल्ट जाँदा नारायणी पुलमा निज बुद्धिबहादुर प्रजासँग भेट भयो । त्यसै बखत जिल्ला नवलपरासी नयाँ बेलहनी-२ बस्ने होमबहादुर लामा र राजकुमार प्रजासमेत सँगै आएका थिए । त्यही नारायणी पुलमा बसी सरसल्लाह गरी म ससुराली गएँ । भेट हुँदा होमबहादुर लामाले लु.१.प. ८१२३ नं. को मोटरसाइकल ल्याएको 

थियो । मलाई पनि गैंडा मार्न जाउँ, गैंडा मार्ने गोली, बारूद र बन्दोबस्तीका सामानहरू हामीले व्यवस्था मिलाएका छौं भनी बुद्धिबहादुर प्रजाले भनेको थियो । त्यसपछि  २०६४ साल भदौ २२ गते २/३ बजे दिउँसोको समयमा गैंडालाई गोली हानेका रहेछन् । गैंडालाई गोली हान्‍न जानेमा बुद्धिबहादुर प्रजा, थिङ र गालामा कोठी हुने प्रजा र सन्तबहादुर कुमाल गएका थिए । गैंडा नमरेपछि बुद्धिबहादुर प्रजाले आफ्नो मोटरसाइकलमा चढाएर मलाई नारायणगढबाट मेघौलीतिर लिएर आएको हो । हामी साझापुरको होटलमा बसेर खाजा खायौं । त्यो दिन म त्यहीँ प्रतिक्षालयमा सुतेर भोलिपल्ट घर 

गएँ । उनीहरू मोटरसाइकलमा फर्किए भनी प्रतिवादी रणबहादुर कुमालले मिति २०६४/६/२८ गते सुरू निकुञ्ज कार्यालयसमक्ष गरेको बयान । 

२०६४ साल भदौ २२ गते नारायणी नदीको भंगालो तरी निकुञ्ज जङ्गलमा गई गैंडालाई गोली हानेको हो । उक्त बेला गोली हान्दा पछाडिपट्टि फिलामा लागी गैंडा भागी गयो । उक्त गैंडा मरे नमरेको थाहा भएन । गैंडा मार्न जानेमा जिल्ला चितवन, मेघौली गाउँ विकास समिति वडा नं. २ बस्ने सन्तबहादुर कुमाल, ऐ.ऐ. बस्ने रणबहादुर कुमाल, ऐ. कोराक गाउँ विकास समिति कालिखोला बस्ने सुकबहादुर प्रजाको छोरा राजकुमार प्रजा, जिल्ला चितवन, खैरहनी गाउँ विकास समिति वडा नं. ४ बस्ने बुद्धिबहादुर प्रजा, ऐ. जिल्ला, कोराक गाउँ विकास समिति बस्ने थिङ्ग भन्‍ने बौधे तामाङ र राजकुमार प्रजासँगै आएका ३५/३६ वर्षका दाहिने गालाको ओठनजिक कोठी भएका प्रजासमेतका मानिसहरू मिली गएका हौं । गोली हान्‍ने उनै कोठी भएका प्रजा हुन् । सन्तबहादुर कुमालको घरबाट अरू मानिसहरू भागी कता गए थाहा भएन । त्यतिबेला सन्तबहादुर कुमालको श्रीमती माया कुमाल, रणबहादुर कुमाल र म पक्राउ भएका हौं भनी प्रतिवादी होमबहादुर लामाले मिति  २०६४/११/८ गते सुरू कार्यालयसमक्ष गरेको बयान । 

२०६४ साल भाद्र २२ गतेका दिन मेरो जेठान रणबहादुर कुमालसहित ४ जना मैले नचिनेका मानिसहरू मेरो घरमा आएका हुन् । उनीहरूमध्ये २ जनाले २ वटा जिन्सको झोलामा गैंडा मार्ने बन्दोबस्तीका सामान ल्याएका रहेछन् । त्यस दिन राति मेरो घरमा बास बसेका हुन् । राति खानाको लागि उनीहरूले चाउचाउ ल्याएर पकाई खाएका हुन् । उक्त चाउचाउ मेरी श्रीमतीले पकाएको हो । आइल्याण्ड जङ्गलमा निकुञ्ज क्षेत्रभित्र गैंडा मार्न भनी होमबहादुर लामासमेतका मानिसहरू गएका हुन् । गैंडालाई फिलामा गोली लाग्यो । तर गैंडा मरेन । त्यही गैंडा मार्न प्रयोग भएको बन्दुक रणबहादुर कुमालले मेघौली सिसावासको वडा वनमा तारजाली लगाएको ठाउँमा लुकाएर राखेको रहेछ । म कारागार भरतपुरमा भेट गर्न जाँदा मेरो जेठान रणबहादुर कुमालले लुकाएर राखेको बन्दुक वडा वनको नारायणी नदीको भंगालोमा फालेको हुँ भनी प्रतिवादी सन्तबहादुर भन्‍ने पंकज कुमालले मिति  २०६५/३/२ गते सुरू कार्यालयसमक्ष गरेको बयान । 

प्रस्तुत मुद्दामा प्रतिवादीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र २६)१) बमोजिम कसुर अपराध गरेको मिसिल संलग्न प्रमाण कागजातबाट पुष्टि हुन आएकोले प्रतिवादीहरू होमबहादुर लामा, रणबहादुर कुमाललाई दफा २६(१) बमोजिम जनही १५ वर्ष कैद र रू.१,००,०००।– जरिवाना, प्रतिवादी सन्तबहादुर भन्‍ने पंकज कुमाल र फरारी प्रतिवादीहरू राजकुमार प्रजा, थिङ्ग भन्‍ने बौधे तामाङ, रोगे भन्‍ने दिपे प्रजा र बुद्धिबहादुर प्रजालाई सोही दफाबमोजिम १० वर्ष कैद र रू.५०,०००।– जरिवाना तथा प्रतिवादी माया कुमालले अभियोग दाबीबाट सफाई पाउने ठहर्छ भन्‍नेसमेत व्यहोराको सुरू चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसराबाट मिति  २०६७/७/१६ गते भएको फैसला । 

सुरू फैसलामा मेरो चित्त बुझेन । नेपालको अन्तरिम संविधान, २०६३ को धार २४(९) ले स्वच्छ सुनुवाइको हकलाई प्रत्यभूत गरेको म विरूद्धको मुद्दामा मलाई पक्राउ गरे पश्चात्‌ संविधानको धारा २४(२) र (१०) बमोजिम कानून व्यवसायीद्वारा सल्लाह तथा प्रतिरक्षा गर्न पाउने हकबाट वञ्‍चित गरियो । स्वच्छ सुनुवाइअन्तर्गत संविधानको धारा २४(८) अन्तर्गत आफू विरूद्ध गरिएको कार्यवाहीको जानकारी पाउने हक तथा नागरिक तथा राजनीतिक अधिकारको अन्तर्राष्‍ट्रिय अनुबन्ध (ICCPR) को धारा १४(३)(घ) ले "आफ्नो उपस्थितिमा सुनुवाइ हुने हक" प्रमाण ऐन, २०३१ को दफा ४९(२) अनुसार आफ्नो उपस्थितिमा बकपत्र हुनुपर्ने अधिकारहरूको हनन गर्दै स्वच्छ सुनुवाइ नै नगरी मलाई दोषी करार गरिएको 

छ । मुलुकी ऐन, अ.बं. १३, १४ र १५ नं. ले व्यवस्था गरेको मेरो सिघ्र सुनुवाइको हकलाई उल्लङ्घन गरी म विरूद्ध प्रमाण ग्राह्‍य प्रत्यक्ष प्रमाणको अभाव हुँदाहुँदै पनि मलाई दोषी ठहर गरी अभियुक्त उपरको अभियोग दाबी पुष्‍टि गर्न वादी सफल हुन सकेको अवस्थामा प्रतिवादीलाई गर्न सकिने सजायभन्दा बढी सजाय गरी भएको सुरूको उपर्युक्त उल्लिखित संविधान, अनुबन्ध तथा कानूनमा भएका बाध्यात्मक व्यवस्थाहरूको प्रतिकूल हुने गरी भएको फैसला बदर गरी आरोपित कसुरबाट सफाई पाउने गरी फैसला गरिपाउँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी होमबहादुर लामाको कारागार कार्यालय, चितवनमार्फत प्राप्त हुन आएको मिति २०६४/८/१७ गतेको पुनरावेदन पत्र । 

सुरू फैसलामा मलाई चित्त बुझेन । मेरो घरबाट बरामद भएका भनिएका सामानहरू मेरा 

होइनन् । ती सामानहरू गैंडाका शिकार गर्नमा काम लाग्ने अवस्थाका पनि छैनन् । सहअभियुक्तको पोल बयान स्वतन्त्ररूपमा प्रमाणित हुने प्रमाणको अभावमा केवल बास बस्न दिएको भन्‍नेसम्म कारणले मेरो अभियोग पुष्टि हुँदैन । बकपत्र, घटनास्थल एवम् लास प्रकृति मुचुल्कामा मेरो नाम कहिँकतै उल्लेख छैन । मबाट अभियोग दाबीबमोजिमको कसुर अपराध भएको भन्‍ने कुराको वादी पक्षले कुनै ठोस सबुद प्रमाण केही पनि पेस गर्न नसकेको अवस्थामा मलाई कसुरदार ठहर गरेको सुरू कार्यालयको फैसला विल्कुलै नमिलेकोले बदर गरी अभियोग दाबीबाट सफाइ पाउने गरी न्याय इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सन्तबहादुर भन्ने पंकज कुमालको कारागारमार्फत प्राप्त भएको मिति  २०६७/९/१ गतेको पुनरावेदन पत्र । 

सुरू फैसलामा चित्त बुझेन । मलाई गैंडालाई गोली हानी घाइते बनाएको अभियोग भए तापनि गोली हानी घाइते बनाइएको भनिएको गोलीको खोकासमेत कहिँकतैबाट बरामद भई दशी प्रमाणको रूपमा पेस हुन नसकेको अवस्थामा सहअभियुक्तको बयानको भरमा (अन्य प्रमाणबाट सहअभियुक्तको पोल समर्थन नभएकोमा प्रमाणमा लिनु हुँदैन । ने.का.प. २०५६, अंक २, पृष्ठ १४२) आरोपित कसुरमा संलग्न नभएको व्यक्तिलाई मुद्दामा फसाउने उद्देश्यले शंकाको भरमा मात्र मलाई १५ वर्ष कैद र रू. एक लाख जरिवाना हुने ठहर गरी सुरू कार्यालयबाट भएको फैसला उल्लिखित नजिर सिद्धान्त एवम् प्रचलित कानूनी व्यवस्थासमेतका आधारमा त्रुटिपूर्ण हुँदा उक्त त्रुटिपूर्ण फैसला उल्टी गरी आरोपित कसुरबाट सफाई दिलाई पाउँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी रणबहादुर कुमाललको कारागार कार्यालय, चितवनमार्फत प्राप्त हुन आएको मिति  २०६७/९/२१ गतेको पुनरावेदन पत्र । 

सन्तबहादुर भन्‍ने पंकज कुमालले गैंडा मार्न भनी निकुञ्‍ज क्षेत्रभित्र आफू नगएको कुरा लेखाएको अवस्थामा सो कुरासमेतलाई विवेचना र विश्‍लेषण गरी कारणसहित सजाय तोक्नुपर्नेमा त्यसो नगरी भएको चितवन राष्‍ट्रिय निकुञ्ज कार्यालयको फैसला फरक पर्नसक्ने देखिएकोले मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडालाई पेसीको सूचना दिई मिसिल नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०६८/२/१७ गतेको आदेश । 

सुरू कार्यालयबाट प्रतिवादी सन्तबहादुर भन्‍ने पंकज कुमाललाई दाबीभन्दा कम सजाय भएको र प्रतिवादी माया कुमालले सफाई पाएको हदसम्म सुरूको फैसलामा चित्त बुझेन । किनकी प्रतिवादी सन्तबहादुर भन्‍ने पंकज कुमाललाई दाबीबमोजिम कसुर कायम गरी सजाय गरेको भए पनि अन्य प्रतिवादीसरह हदैसम्मको सजाय निजलाई गरेको देखिन्‍न । यी प्रतिवादीलाई अन्य प्रतिवादीको तुलनामा कम सजाय गर्दा यो यस्तो कारणबाट कम सजाय गर्नु परेको हो भनी फैसलामा कहिँकतै आधार कारणहरू खुलाएको पनि पाईंदैन । यी प्रतिवादी प्रत्यक्षतः गैंडालाई गोली हानी घाइते तुल्याएको भन्‍ने नभए तापनि गैंडा मार्ने अन्य प्रतिवादीसँग आफ्नै घरमा बसी सरसल्लाह गरेको र सो कुरालाई प्रतिवादी होमबहादुर लामाको बयानले समेत समर्थन गरेको र गैंडा मार्ने कार्यमा प्रयोग हुने बन्दोबस्तीका सामानसमेत निजैका घरबाट बरामद भएको स्पष्ट देखिरहेको अवस्थामा गैंडा मार्ने कार्यको सल्लाह तथा सहमतिमा निज संलग्न रहेको र अन्य प्रतिवादीसरहको कसुर गरेको भन्‍ने पुष्टि भइरहेको अवस्थामा निजलाई अन्य प्रतिवादीहरूभन्दा कम सजाय हुनुपर्ने अवस्था देखिन्‍न । अर्का प्रतिवादी माया कुमालले मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा गैंडा मार्ने कार्यमा संलग्न अन्य मानिसहरू आफ्नो घरमा आई लोग्नेसँग सरसल्लाह गर्ने गरेको स्वीकार गरेकी 

छिन् । गैंडा मार्ने बन्दोबस्तीका सामान फलामको रड काटेर बनाएका गोली, बारूद, सिसाका गोली र अन्य सामान सुरक्षितसाथ राखेकी हुँ भनी स.ज.३ मा उल्लेख गरेकी छिन् । यसरी दुर्लभ गैंडा मार्ने कार्यमा प्रयोग हुने सामग्री सुरक्षित राखेको स्वीकारोक्तिले गैंडालाई गोली हानी घाइते तुल्याउनुमा निजको समेत सहभागिता पुष्टि हुँदा यस प्रकारको कसुरमा संलग्न रहेकी निज प्रतिवादीलाई दाबीबमोजिम सजाय हुनुपर्नेमा सफाई दिने गरी भएको इन्साफ उपर्युक्त आधार प्रमाणबाट त्रुटिपूर्ण हुँदा सुरूको फैसला सो हदसम्म बदर गरी प्रतिवादी सन्तबहादुर भन्‍ने पंकज कुमाललाई हदैसम्मको सजाय गरी र प्रतिवादी माया कुमाललाई दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पनुरावेदन सरकारी वकिल कार्यालय, हेटौंडामार्फत दर्ता हुन आएको मिति  २०६८/५/२८ गतेको पुनरावेदन पत्र । 

प्रतिवादी पंकज कुमालसमेतको पुनरावेदनबाट अ.बं. २०२ नं. बमोजिम आदेश भएपश्चात्‌ पंकज कुमालसमेतको हकमा नेपाल सरकारको पुनरावेदन परेको हुँदा नेपाल सरकारको पुनरावेदन प्रतिवादी पंकज कुमाललाई जानकारी गराई र गैंडा मार्ने कार्यमा प्रयोग हुने सामाग्री सुरक्षित राखे नराखेको सम्बन्धमा विवेचना नगरी प्रतिवादी माया कुमाललाई सफाई दिने गरी भएको फैसला विचारणीय हुँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी प्रतिवादी श्रीमती माया कुमाललाई झिकाई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८/७/१ गतेको आदेश । 

मैले तत्काल मौकामा र सुरू कार्यालयको इजलाससमक्ष बयान व्यहोरा मलाई केही पनि थाहा छैन, म निर्दोष छु । म कुनै पनि कार्यमा संलग्न छैन भनी इन्कारी बयान गरेकी थिएँ । म एक अनपढ जनजातिको महिलाले गरेको बयान कर्मचारीले आफैं अजमाई आफैं लेखी मेरो सहिछाप गराएको हुँदा उक्त मेरो झुट्टा बयानबाट मैले उन्मुक्ति पाउनु पर्ने भएकाले विपक्षी नेपाल सरकारको पुनरावेदन जिकिर र यस अदालतको मिति २०६८/७/१ गतेको आदेश मेरो विरूद्धमा कुनै आधार प्रमाण तुक नभएकोले मलाई सफाई गर्ने गरेको सुरू फैसला सदर गरिपाउँ भन्‍नेसमेत व्यहोराको प्रत्यर्थी प्रतिवादी माया कुमालको मिति  २०६८/९/६ गते पुनरावेदन अदालतमा गरेको लिखित प्रतिवाद । 

यसमा प्रतिवादीहरू होमबहादुर लामा, रणबहादुर कुमाल र सन्तबहादुर भन्‍ने पंकज कुमालले आरोपित कसुर गरेको ठहर गरेको सुरू चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसराको मिति २०६४/७/१६ को फैसला मिलेकै देखिन आयो । सजायको हकमा कसुरको मात्राअनुसार ऐनको मनसायविपरीत बढी सजाय गरेको हदसम्म केही उल्टी भई राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) अनुसार प्रतिवादी होमबहादुर लामा र रणबहादुर कुमाललाई जनही  १०/१० वर्ष कैद र रू.७५,०००।– का दरले जरिवाना तथा प्रतिवादी सन्तबहादुर भन्‍ने पंकज कुमाललाई ८ वर्ष कैद र रू.५०,०००।– जरिवाना हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत, हेटौंडाको फैसला ।

पुनरावेदन अदालत, हेटौंडाको फैसलामा चित्त बुझेन । फैसलामा आधार लिइएको भनिएको सिसरवा पोष्टले मिति २०६४/५/२४ मा पेस गरेको मुचुल्कामा घाइते गैंडाको दाहिने फिलामा सानो घाउ भएको कारणले गोली हानेको भन्‍ने मौखिक भनाईका आधारमा गोली हानेको भनी कसुर अपराध ठहर गर्न मिल्ने अवस्था हुँदैन । गोली हानिएको भनिएका बन्दुक र गोली बरामद भएको छैन । घाइते भनिएको गैंडाको फोटो मिसिल सामेल राखिएको अवस्था 

छैन । अनुसन्धानको क्रममा गराइएको बयान मलाई पढी वाची सुनाएको अवस्था छैन । मेरो साबिती भनी उल्लेख भएको बयानलाई अन्य प्रमाणले समर्थित गराउन सकेको छैन । केवल साबितीको आधारमा मात्र मलाई सजाय गरेको फैसला मिलेको छैन । गैंडा घाइते भएको भन्ने कुरा मिसिल प्रमाणबाट वस्तुनिष्ठरूपमा प्रमाणित भएको छैन । यस्तो स्थितिमा न्यूनतम सजाय हुने अवस्था रहेकोमा सोतर्फ ध्यान पुग्न सकेको 

छैन । म पुनरावेदक प्रतिवादी अन्य मुद्दामा थुनामा रहेको कारणले मात्र अभियोग दाबीबमोजिमको कसुर गरेको कुरा प्रमाणित हुने होइन । यस घटनाको कसुरमा मेरो संलग्नता देखिने कुनै पनि प्रमाण वादीले पेस गर्न सकेको छैन । यस्तो अवस्थामा विना आधार प्रमाण चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसराले गरेको फैसला केही उल्टी गरी मलाई कैद तथा जरिवानाको सजाय गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको नभई बदर भागी हुँदा बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्‍ने प्रतिवादी रणबहादुर कुमालको पुनरावेदन पत्र । 

चितवन राष्‍ट्रिय निकुञ्‍जको क्षेत्रभित्र मेघौली गाउँ विकास समितिको दद्रनी गाउँको सीधा नारायणी पारी गोली लागेको रगत चुहाउँदै हिँडेको गैंडा फेला परेको भनी सिसवार पोष्‍टले मिति  २०६४/५/२४ मा गरेको मुचुल्कामा मैले गैंडालाई गोली हानी घाइते बनाएको भन्‍ने कुरा उल्लेख छैन । घाइते गैंडाको दाहिने फिलामा सानो घाउ भएको कारणले गोली हानेको भन्‍ने मौखिक भनाइका आधारमा गोली हानेको भनी कसुर अपराध ठहर गर्न मिल्ने अवस्था हुँदैन । बन्दुक र गोली फेला पार्न वा बरामद भएको छैन । गैंडा घाइते भएको भन्‍ने तथ्य फोटो खिची मिसिल सामेल राखिएको अवस्था पनि छैन । निकुञ्‍जमा उपस्थित गराई लिइएको बयान मलाई पढी बाची सुनाइएको छैन । मेरो साबिती भनी उल्लेख भएको बयानलाई मिसिल संलग्न कुनै पनि प्रमाणबाट समर्थित गराउन सकेको अवस्था छैन । केवल साबितीको आधारमा मलाई सजाय गरेको मिलेको छैन । गैंडा घाइते नै भएको अवस्थामा पनि मलाई न्यूनतम सजाय हुनुपर्ने अवस्थातर्फ फैसलामा ध्यान पुग्न सकेको छैन । यस घटनाको कसुरमा मेरो संलग्नता देखिने कुनै पनि प्रमाण वादीले पेस गर्न नसकेको अवस्थामा अन्य मुद्दामा थुनामा रहेको कारण मात्र सजायको आधार हुन सक्दैन । यस्तो अवस्थामा विना आधार र कारण चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसराले गरेको फैसला केही उल्टी गरी मलाई कैद तथा जरिवानाको सजाय गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको नहुँदा बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्‍ने प्रतिवादी होमबहादुर लामाको यस अदालतमा दायर पुनरावेदन । 

अनुसन्धानको क्रममा र सुरू राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसरामा मेरो साबिती बयान स्वेच्छाको होइन । निकुञ्‍जका कर्मचारीले पहिले नै लेखी तयार गरेको बयान कागजमा मेरो दस्तखत र ल्याप्‍चे सहिछाप लगाइएको मात्र हो । गैंडाको शिकार गर्न अरू प्रातिवादीहरूसमेत म गएको होइन । कसले उक्त कथित घाइते गैंडालाई गोली हान्यो मलाई थाहा छैन । प्रतिवादी सन्तबहादुर कुमालको घरमा मसमेतको बन्दोबस्तीका सामान राख्‍न दिएकोसमेत होइन । आफैं वादी आफैं न्यायकर्तासमेत भएका पक्षले मलाई कब्जामा राखी फसाइएको हो । पुनरावेदन अदालत हेटौंडाबाट सफाई पाएपछि विदेश गई ल्याएको पैसाले खरिद गरेको मोटरसाइकलसमेत जफत गर्ने गरी झुठ्ठा अभियोग लगाइएको मात्र हो । वर्तमान संविधान र कानूनसरह लागू हुने अन्तर्राष्ट्रिय अनुबन्ध (ICCPR) समेतले प्रदान गरेको स्वच्‍छ सुनुवाइको मेरो अधिकारविपरीत फैसला भएको छ । फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुनेमा स्वतन्त्र र वस्तुनिष्‍ठ प्रमाण वादी पक्षले पेस गर्न सकेका छैनन् । सामुहिक कसुर कायम गरी सजाय गर्दासमेत प्रतिपादित सिद्धान्तविपरीत गरिएको हुँदा गम्भिर त्रुटिपूर्णरूपमा रहेको चितवन राष्‍ट्रिय निकुञ्‍ज, कसराको फैसला सजायका सम्बन्धमा केही उल्टी गरी अरू सदर गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्‍ने निज प्रतिवादी होमबहादुर लामाको यस अदालतमा दायर पुनरावेदन पत्र । 

प्रतिवादीमध्येका होमबहादुर लामा, सन्तबहादुर भन्‍ने पंकज कुमाल र रणबहादुर कुमालका हकमा सुरूले गरेको उपल्लो हदको सजाय (कैद र जरिवाना) घटाउने गरी फैसला गर्दा लिइएका आधारहरूमा स्पष्टता देखिँदैन । सजाय गर्दा स्वविवेकीय अधिकारको प्रयोग गर्दा सम्बद्ध तथ्य, कानून एवम्‌ न्यायको मान्य सिद्धान्तका आधारमा गर्नुपर्नेमा सोको युक्तिसङ्गत आधार र कारण खुलाउन सकेको 

देखिँदैन । मूलतः बन्दोबस्तीका सामानहरूसहित संगठितरूपमा गैंडालाई गोली प्रहार गर्नु भनेको गैंडा मारी त्यसको खाग तस्करी गर्नु नै हो । प्रतिवादीहरूले गैंडा मार्ने पूर्वयोजना बनाई समूहबद्धरूपमा उक्त वारदातमा संलग्न भई गोली फायर गरी गैंडालाई घाइते बनाएको देखिन्छ । मौकामा पक्राउ परी कसुरमा साबिती रहेका यी प्रतिवादीहरू अपराध सम्बद्ध सामुहिक भूमिका र संगठित अपराधका स्वरूपलाई विश्‍लेषण गरी उपल्लो हदको सजाय हुनुपर्नेमा समान तथ्यको आधारमा यी प्रतिवादीहरूबीच फरक फरक सजाय ठहर भएको फैसला त्रुटिपूर्ण रहेको छ । दुर्लभ वन्यजन्तुसँग सम्बद्ध अपराधलाई गम्भिर एवम्‌ संगिन प्रकृतिको अपराधको रूपमा अन्तर्राष्‍ट्रिय सन्धि, महासन्धिले मानेको अवस्था छ । फौजदारी विधिशास्त्रमा वन्यजन्तु मारी तिनका अङ्गहरूको बिक्री व्यवसाय गर्ने आपराधिक कार्य आफैँमा Organized Crime को रूपमा मानिएको छ । पटके प्रतिवादीहरू संगठितरूपमा गैंडा जस्तो संरक्षित तथा लोपोन्मुख वन्यजन्तु मारी खाग तस्करी गर्ने कार्यमा संलग्न भएको देखिन्छ । गैंडा मारी तिनका अङ्गको तस्करी गर्ने साझा उद्देश्यको लागि संगठितरूपमा वारदातमा संलग्न प्रतिवादीहरूका हकमा समान कसुरका आधारमा समानरूपमा सजाय हुनुपर्नेमा फरक फरक सजाय गरेको मिलेको छैन । अपराधको प्रकृति र संगठित अपराधको स्वरूपसमेतबाट कसुरमा संलग्न प्रतिवादीहरूलाई उपल्लो हदको सजाय हुनुपर्नेमा सुरूले गरेको सजाय घटाई गरिएको फैसला आत्मनिष्ठ र सजाय निर्धारणका सम्बन्धमा स्वीकार गरेको सिद्धान्त मान्यताविपरीत छ । प्रतिवादी माया कुमालले मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा गैंडा मार्ने बन्दोबस्तीका सामानहरू सुरक्षित राखेको कुरालाई स्वीकार गरेको अवस्थामा उक्त कसुरमा निजको समेत संलग्नता रहेको र उक्त कार्य राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) बमोजिम हुने सजायको भागीदार देखिएको अवस्थामा त्रुटिपूर्णरूपमा प्रमाणको मूल्याङ्कन गरी निजलाई सफाई दिने गरी भएको फैसला मिलेको छैन । प्रतिवादीहरू मध्ये होमबहादुर लामा, सन्तबहादुर भन्‍ने पंकज कुमाल र रणबहादुर कुमालको हकमा कसुरतर्फ सुरू फैसलालाई सदर गरी सजायको हद घटाएको तर्फ र एउटै मुद्दामा समान कसुरदार प्रतिवादी माया कुमाललाई सफाइ दिने ठहर गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम उपल्लो हदको सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको यस अदालतमा दायर पुनरावेदन पत्र । 

सिसवार पोष्‍टले मिति २०६४/५/२४ मा पेस गरेको मुचुल्कामा मैले गैंडालाई दाहिने फिलामा सानो घाउ भएको कारणले गोली हानेको भन्‍ने मौखिक भनाईका आधारमा गोली हानेको भनी कसुर अपराध ठहर गर्न मिल्ने अवस्था हुँदैन । गोली हानेको भए के कुन किसिमको बन्दुक वा राईफलको गोली हानी घाइते बनाएको हो सो बन्दुक र गोलीसमेत फेला पार्न वा बरामद नभएको अवस्थामा गैंडा घाइते भएको भन्‍ने तथ्य पुष्टि गर्न सकेको देखिँदैन । म प्रस्तुत मुद्दाको अनुसन्धानको क्रममा पक्राउ वा हाजिर भएको अवस्था  छैन । मुद्दाको अनुसन्धानको सिलसिलामा उपस्थित भई बयान नै नभएको मानिसलाई साबित भएको भनी कसुर अपराध ठहर गरेको मिलेको छैन । मैले गैंडालाई गोली हानेको बन्दुकसम्म लुकाउने कार्य गरेको हो भनी लेखिएको व्यहोरा मैले भनेबमोजिम लेखिएको हैन । सो साबिती नै भनी मानेको अवस्थामा पनि बन्दुक लुकाउने कार्यले गैंडालाई गोली हानेको र घाइते बनाएको भनी सजाय गर्न मिल्दैन । फैसलामा एकातर्फ कानूनले निर्धारण गरेको उच्चतम कसुरको सजाय हुने कोटीमा कायम गर्नुपर्ने स्थिति देखिएन भनी उल्लेख गरिएको, अर्कोतर्फ सुरू फैसला कानूनसङ्गत नदेखिएको भनी सुरूले गरेको फैसलाअनुसारको  कैद र जरिवाना कम गरी भएको सजायको आधार कारण उल्लेख नगरी भएको फैसला मिलेको छैन । उच्चतम सजाय गर्न मिलेन भनी ८ वर्ष कैद र रू.५०,०००।– सजाय गर्नुपर्ने ठोस वस्तुनिष्ठ आधार उल्लेख भएको अवस्था छैन । फैसलामा घटी सजाय गर्ने मनसाय व्यक्त भएको यस अवस्थामा मलाई राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) बमोजिमको न्युनतम सजाय पर्याप्‍त हुने अवस्थातर्फ कुनै ध्यान नदिएकोले वैकल्पिक पुनरावेदन जिकिरसमेत प्रस्तुत गर्दछु । उल्लिखित आधारमा पुनरावेदन अदालत, हेटौंडाबाट सुरू चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसराले गरेको फैसला केही उल्टी गरी मलाई कैद र  जरिवाना हुने गरी भएको फैसला बदर भागी हुँदा प्रत्यर्थी झिकाई उक्त दुवै फैसला बदर गरी न्याय इन्साफ पाउँ भन्‍ने सन्तबहादुर भन्‍ने पंकज कुमालको यस अदालतमा परेको पुनरावेदन पत्र ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुसालले दद्रनी गाउँको सिधा नारायणी नदी पारी निकुञ्‍जभित्र पोथी गैंडाको पछाडिको दाहिने फिलामा रगत चुहाइरहेको खोच्याउँदै हिँडिरहेको, रगत चुहिएको ठाउँमा ठूलो घाउ नभएकोले गैंडालाई गोली लागेको हो भन्‍ने मिति  २०६४/५/२३ को मुचुल्काबाट देखिन्छ । गैंडालाई ताकेको ठाउँमा गोली नलागी फिलातिर लागी गैंडा नमरेकाले खाग लगी बिक्री गर्न पाइएन भनी मौकामा र मुद्दा हेर्ने अधिकारीसमक्ष प्रतिवादी होमबहादुर लामा, रणबहादुर कुमालसमेतले कसुरमा साबित रही बयान गरेको, सन्तबहादुर भन्‍ने पंकज कुमाल र माया कुमालसमेत गैंडा मार्ने मत सल्लाहमा पसी साथ सहयोगमा लागेको तथ्यलाई बेवास्ता गरी सबै प्रतिवादीहरूको उक्त अपराधमा संलग्नता रहेको समान अवस्थाका कसुरदारमा माया कुमाललाई सफाई दिने र अन्य प्रतिवादीहरूलाई विना आधार कारण सुरू फैसलालाई सदर गरी सजायको हद घटाएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम उपल्लो हदको सजाय हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । 

यसमा प्रतिवादीहरूले राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५क मा निषेध गरेको वन्यजन्तु शिकार गरेकोले निजहरूलाई सोही ऐनको दफा २६(१) बमोजिम हदैसम्मको सजायको मागदाबी लिई अभियोग पत्र पेस भएकोमा सुरू चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसराबाट प्रतिवादीहरूमध्ये होमबहादुर लामा, रणबहादुर कुमाल, सन्तबहादुर भन्‍ने पंकज कुमाल र फरारी प्रतिवादी राजकुमार प्रजा, थिङ्ग भन्‍ने बौधे तामाङ, रोगे भन्‍ने दिपे प्रजा र बुद्धिबहादुर प्रजासमेतलाई कसुरदार ठहर गरी प्रतिवादीमध्येका सन्तबहादुर भन्‍ने पंकज कुमाललाई १० वर्ष कैद र रू.५०,०००।– जरिवाना र अन्य प्रतिवादीहरूलाई १५ वर्ष कैद र रू.१,००,०००।– जरिवाना हुने तथा प्रतिवादी माया कुमालले आरोपित कसुरबाट सफाई पाउने ठहर गरेको सुरूको फैसला सजायको हकमा कसुरको मात्राअनुसार ऐनको मनसायविपरीत बढी सजाय गरेको हदसम्म केही उल्टी भई राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) अनुसार प्रतिवादी होमबहादुर लामा र रणबहादुर कुमाललाई जनही १०/१० वर्ष कैद र रू. ७५,०००।– का दरले जरिवाना तथा प्रतिवादी सन्तबहादुर भन्‍ने पंकज कुमाललाई ८ वर्ष कैद र रू.५०,०००।- जरिवाना हुने ठहर्‍याई पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६८/९/२६ गते फैसला भएकोमा सो फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकार र प्रतिवादीहरू होमबहादुर लामा, सन्तबहादुर भन्‍ने पंकज कुमाल र रणबहादुर कुमालको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदनपत्र दायर हुन आएको देखियो । प्रतिवादी होमबहादुर लामाको मिति२०६८/१२/१६ र २०६९/०१/२०मा दोहोरो पुनरावेदनपत्र दर्ता भएको देखिँदा पछिल्लो पुनरावेदन पत्र वातिल गरिदिएको छ । तत्‍सन्दर्भमा पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ, छैन? पुनरावेदक वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने, नपुग्ने के हो ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, मिति  २०६४/५/२२ गते मेघौली गाउँ विकास समितिको दद्रनी गाउँको सिधा नारायणी पारी निकुञ्‍जभित्र गोली पड्केको सूचना पाई गाउँलेको सहयोगमा डुङ्गा तरी गस्ती गर्दा उक्त दिन केही फेला नपरेको र भोलिपल्ट गस्तीको क्रममा दाहिने फिलामा गोली लागी रगत चुहाउँदै हिँडेको पोथी गैंडा फेला परेको भनी सिसुवार पोष्‍टले मिति  २०६४/५/२४ मा पेस गरेको प्रतिवेदन मुचुल्काबाट प्रस्तुत मुद्दाको उठान भएको रहेछ ।

३. बुझ्दै जाँदा मिति  २०६४/६/६ गते सन्तबहादुर कुमालको घरमा जम्मा भई खरखजानासहित गैंडा मार्ने योजना बनाइरहेको अवस्थामा प्रतिवादीहरू मध्येका होमबहादुर लामा, रणबहादुर लामा र माया कुमाल सोही स्थानबाट पक्राउ परेका र अन्य प्रतिवादीहरू भागी गएका भन्‍ने स.स.अ. अणनाथ बरालसमेतको प्रतिवेदन रहेको देखियो । 

४. पक्राउ परेका प्रतिवादीहरूमध्ये रणबहादुर कुमालले गैंडा मार्नको लागि सल्लाह गरेको हो । साथीहरूलाई गैंडाको खागसहित बजार लैजान भनी मोटरसाइकलमा बजारबाट चढी मेघौली साझापुर आई साथीहरूलाई भेट गर्दा गैंडालाई गोली हानेको तर गैंडा नमरेकोले खाग लगी बिक्री गर्न पाइएन । भाद्र २२ गते हानेको गोलीबाट गैंडा नमरेकोले पुनः सल्लाह गरी असोज ५ गते गैंडा मार्न भनी साथीहरू आएकोमा सोही समयमा मसमेत पक्राउ परेको हुँ । बुद्धि प्रजा ज्वाईंं, सन्तबहादुर कुमालसमेतको सल्लाहले निज सन्तबहादुर कुमालकै घरमा बास बसी २२ गते गैंडालाई गोली हानेकोमा ताकेको ठाउँमा नलागी पछाडिको फिलामा लागी गैंडा भागेकाले खाग काटेर ल्याउन नपाई फर्केका हुन् भनी अनुसन्धानका क्रममा बयान गरेको देखिन्छ । 

५. त्यसैगरी प्रतिवादी सन्तबहादुर कुमालको पत्‍नी माया कुमालले पक्राउ पर्नुभन्दा १३/१४ दिन पहिला घरमा आएका मैले नचिनेका श्रीमान्‌का साथीहरूले दिएको सामानको पोको सुरक्षित राखिदिएको हुँ । उक्त पोकोमा फलामको रड काटेर बनाएको गोलीलगायत बारूद, सिसाका गोली र अन्य बन्दोबस्तीका सामान पनि रहेका थिए । होमबहादुर लामा मेरो श्रीमान्‌का साथी हुन् र गैंडा मार्ने कामको लागि आएका हुन् । रणबहादुर कुमाल मेरा सहोदर दाइ हुन् भनी मौकामा बयान गरेको पाइन्छ । 

६. अर्का प्रतिवादी होमबहादुर लामाले सोही बयान व्यहोरालाई समर्थन हुने गरी सन्तबहादुर कुमाल रणबहादुर कुमाल, राजकुमार प्रजा, बुद्धिबहादुर प्रजा, थिङ्ग भन्‍ने बौधे तामाङसमेत मिली सल्लाह गरी गैंडा मार्ने योजना बनाएको हो । बुद्धिबहादुर  प्रजासँग जेलमा बस्दा चिनजान भएको हो । पहिलो पटक गैंडा मार्नको लागि ल्याएको बन्दोबस्तीका सामानहरू माया कुमालले आफ्नो घरबाट निकालेर ल्याई गस्ती टोलीलाई दिएकी हुन् भनी बयान गरिदिएको पाइन्छ । 

७. मौकाको उल्लिखित बयान व्यहोरालाई स्वीकार गरी प्रतिवादी माया कुमालले र रणबहादुर कुमालले मुद्दा हेर्ने अधिकारी सुरू चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसराका प्रमुख संरक्षण अधिकृतसमक्ष समेत आफूले गरेको कार्यको सविस्तार वर्णन गरी बयान गरिदिएको देखियो । 

८. अनुसन्धानका क्रममा हिरासतबाट फरार रहेका प्रतिवादी होमबहादुर लामा पुनः पक्राउमा परी निजले चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसराका नि.प्रमुख संरक्षण अधिकृतसमक्ष बयान गर्दासमेत पक्राउ परेका अन्य प्रतिवादीहरूले गरिदिएको बयानसँग मिल्दो जुल्दो बयान गरी भाद्र २२ गते गैंडालाई गोली हानेको तथ्यलाई स्वीकार गरी बयान गरेको 

पाइन्छ । मिति २०६४/६/६ मा पक्राउ हुँदा निजले फलामे रड काटेर बनाएका गोली थान-५ समेतका बरामदी मुचुल्कामा उल्लिखित सामानहरू बरामद भएको व्यहोरालाई स्वीकार गरेको देखिन्छ । 

९. मिति  २०६५/३/१ मा पक्राउ परेका अर्का प्रतिवादी सन्तबहादुर भन्‍ने पंकज कुमालले समेत आफ्नो बयान व्यहोरामा रणबहादुर कुमालसहितका मानिसहरू घरमा आई गैंडा मार्ने मत सल्लाह भई होमबहादुर लामासमेतका मानिसहरू गई गैंडालाई गोली हानेकोमा गैंडा मरेनछ । प्रतिवादी रणबहादुर कुमालले लुकाई राखेको भरूवा बन्दुक मैले नारायणी नदीको भंगालोमा फालिदिएको हुँ भनी लेखाई दिएको पाइन्छ । आफ्नो घरबाट गैंडा मार्ने बन्दोबस्तीका सामानहरू बरामद भएको ठीक साँचो हो भनी किटानीरूपमा पोल गरी बयान पनि गरेको देखिन्छ । घटनास्थलमा गोली पड्‍केको आवाजसमेत सुनेको हुँ भनी सर्जमिन मुचुल्काका मानिसहरूले समेत खुलाई दिएकोमा जाहेरी र बरामदी मुचुल्काको रोहबरमा बस्ने यामबहादुर खनालले समेत सोही व्यहोरालाई समर्थन गरी बकपत्र गरिदिएको पाइयो ।

१०. प्रतिवादीमध्येका माया कुमालले अनुसन्धानको क्रममा र मुद्दा हेर्ने अधिकारीसमक्ष समेत आफू खेति किसान र ज्याला मजदुरी गरी खाने मानिस भएको र आफूले नचिनेका श्रीमान्‌का साथीहरूले ल्याई राख्न दिएको सामानहरू मैले हेरिन । गैंडा मार्न प्रयोग हुने सामान भएको थाहा भएपछि गैंडा मार्ने मान्छेहरूलाई बास बस्न दिनुहुँदैन भनी श्रीमान्‌लाई सम्झाउँदा यी सबै सामान फालिदिनुपर्छ भन्दाभन्दै पक्राउ गरेको हो । पक्राउ पर्ने क्रममा त्यो घरमा राखिएको पोको मैले राखेको ठाउँबाट ल्याई दिएको हो भनी कसुरमा इन्कार गरी व्यहोरा खुलाई बयान गरी दिएको पाइन्छ । निजको सो कसुर वारदातमा संलग्नता थियो भनी साबित हुने कुनै पनि प्रतिवादीहरूले पोलसम्म पनि नगरेको अवस्थामा पतिको आदेश मानी काम गरेकी ग्रामिण निरक्षर महिलालाई उक्त गैंडा मार्न प्रयोग हुने सामग्री थाहै नपाई सुरक्षित राखिदिएकै आधारमा कसुरदार ठहर गर्नुपर्ने अवस्था नभएकाले निजलाई सफाई दिने गरी भएको सुरूको फैसलालाई नै सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला अन्यथा हो भनी भन्न सकिने अवस्था मिसिल संलग्न प्रमाण कागजातहरूबाट देखिएन ।

११. राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित वन्यजन्तुको संरक्षित सूचीमा “गैंडा” लाई राखेको छ । विश्वबाट नै गैंडा प्रजाति लोपोन्मुख भई खतराको सूचीमा रहेको भन्ने नेपाल पक्ष रहेको “Convension on International Trade In Endangered Species of Wild Fauna and Fiora (CITES) मा समेत उल्लेख भएको 

देखिन्छ । लोपोन्मुख प्रजातिलाई संरक्षण गर्न गैंडा मार्ने घाइते पार्ने जस्ता कसुरलाई गम्भिर कसुर मानी सजायको व्यवस्था हाम्रो विद्यमान कानूनमा समेत कठोररूपमा रहेको छ । गैंडा मार्ने योजनामा संलग्नता भए तापनि हरेक व्यक्तिको आ-आफ्नो कसुरको भूमिका रहेको हुन्छा । ऐनले नै तजबिजी सजायको व्यवस्था गरेको छ । तजबिजी सजायको प्रयोग पनि कसुरको मात्राअनुसार वाञ्छनीय हुन्छ । यसर्थ कैद र जरिवानाको तजबिजी सजाय गर्दा न्यायकर्ताले सदैव कसुरदारको कसुरको मात्रालाई ध्यान दिनु पर्ने 

हुन्छ । तजबिजी सजाय गर्दा अपराधमा संलग्न व्यक्तिको पूर्व आपराधिक क्रियाकलापलाई पनि विचार गर्नुपर्ने हुन्छ । विश्वबाट नै लोपोन्मुख हुने सम्भावना भएको गैंडा प्रजातिको शिकार गरी खागको व्यापार गर्ने समूहको नेटवर्क नै हुने गरेको छ । सबै कसुरदारले गरेको कार्यको समष्टिगत परिमाणबाट नै अपराधले पूर्णता पाउने हुँदा हरेक अपराधीको भूमिका गम्भिर प्रकृतिको मान्नुपर्ने हुन्छ ।

१२. प्रस्तुत मुद्दाको तथ्यतर्फ हेर्दा प्रतिवादीमध्येका होमबहादुर लामा र रणबहादुर कुमालको  गैंडा मार्ने योजनामा कस्तो संलग्नता थियो भनी विचार गर्दा गैंडा मार्न भनी जानेमा रणबहादुर कुमालसमेतका व्यक्ति रहेको भनी निज प्रतिवादी होमबहादुर लामाले अनुसन्धानको क्रममा र मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गरिदिएको पाइन्छ । प्रतिवादी रणबहादुर कुमालले चाहिं आफ्नो बयान व्यहोरामा गैंडा मार्न नगएको भनी गैंडा मार्ने सल्लाहसम्ममा बसेको हुँ भनी लेखाइ दिएको पाइन्छ । त्यसैगरी गैंडा मार्न सन्तबहादुर कुमाल रणबहादुर कुमाल राजकुमार प्रजा बुद्धिबहादुर प्रजा थिङ्ग भन्ने बौधे तामाङसमेत अर्का एकजना मिली गएका हौं भनी प्रतिवादी होमबहादुर लामाले मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गरिदिएको देखिन्छ । पक्राउ पर्दा सन्तबहादुर कुमालको घरमा होमबहादुर लामा, रणबहादुर कुमाल र सन्तबहादुर कुमालको श्रीमती सँगसाथमा नै रहेको देखियो । निज होम बहादुर लामाले यी प्रतिवादीमध्ये सन्तबहादुर कुमाललाई समेत पोल गरी बयान गरेपनि गैंडा मार्न गएको कुरामा निज आफैं अनुसन्धानको क्रममा र मुद्दा हेर्ने अधिकारीसमक्षको बयानमा समेत इन्कार रहेको तथा अन्य प्रतिवादीहरूले निजहरूलाई गैंडा मार्न गएकोमा पोल गरेको पनि देखिँदैन । तर निजकै घरबाट गैंडा मार्न प्रयोग हुने बन्दोबस्तीका सामानहरू बरामद भएको गैंडा मार्ने योजना र कार्यमा निजको सहमति सल्लाह र सहयोग थिएन भन्न सकिएन । होमबहादुर लामा र रणबहादुर कुमाल गैंडा मार्ने मुख्य योजनामा नै रही सो गैंडालाई घाइते बनाउने कार्यमा संलग्नसमेत भएको देखिन्छ भने निज प्रतिवादीहरू होमबहादुर लामा र रणबहादुर कुमाल गैंडा मार्न प्रयोग गरिने सामग्री बरामद भएको स्थानबाट पक्राउ परेका, सन्तबहादुर सो समयमा घरमा नभएका र निजसमेत फरार भएको भन्ने कतैबाट खुल्नसमेत नआएको अवस्थामा अनुमानकै भरमा मुख्य व्यक्तिसरहकै हैसियतमा सजाय गरिनु पर्छ भन्नु न्यायोचित हुँदैन । फौजदारी न्यायको सिद्धान्तले प्रत्येक व्यक्तिलाई निजले गरेको कसुरको मात्राअनुसार सजाय गर्नुपर्ने हुन्छ । यस परिप्रेक्ष्य्यमा तत्काल घटनास्थलबाट पक्राउ परेका होमबहादुर लामा र रणबहादुर कुमाललाई १० वर्ष कैद र रू.७५,०००/- जरिवाना तथा सन्तबहादुर कुमाललाई ८ वर्ष कैद र रू.५०,०००/- जरिवाना हुने गरी भएको फैसला मनासिब नै देखियो । 

१३. मिति २०६४/५/२२ गते चितवन राष्‍ट्रिय निकुञ्‍जको क्षेत्रभित्र मेघौली गाउँ विकास समितिको दद्रनी गाउँको सीधा नारायणी पारी गैंडालाई गोली हानेको आवाज सुनी खोजी गर्दा भोलिपल्ट पोथी गैंडाको दाहिने फिलामा रगत चुहाउँदै हिँडेको फेला परेको भनी सिसवार पोष्‍टले मिति २०६४/५/२४ मा पेस गरेको मुचुल्का प्रतिवेदन, पक्राउ परेका प्रतिवादीहरूले अनुसन्धानका क्रममा र सुरू फैसला गर्ने चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसरामा बयान गर्दा आरोपित कसुर अपराधमा साबित रही गरेको बयान, बरामदी मुचुल्का र सर्जमिनसमेत व्यक्तिहरूले गरिदिएको कागज र बकपत्रसमेतबाट यी प्रतिवादीहरूको मत सल्लाह र संलग्नतामा गोली प्रहार भई गैंडालाई घाइते बनाएको कसुर स्थापित हुन आएको छ । 

१४. राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) मा "अधिकारप्राप्‍त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्‍ट्रिय निकुञ्‍ज तथा आरक्षभित्र वन्यजन्तुको शिकार गर्न वा आखेटोपहार ओसारपसार गर्न नपाउने" तथा सोही ऐनको दफा २६(१) मा "गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको वीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्‍ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रूपैयाँदेखि दस लाख रूपैंयासम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ" भन्‍ने व्यवस्था रहेको देखियो । 

१५. त्यसैगरी ऐनको दफा २८ मा "यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियमहरूको उल्लङ्घन गर्ने कसुरदार दोषी ठहरिएमा मुद्दा हेर्ने अधिकारीले अपराधसित सम्बन्धित आखेटोपहार, हातहतियार, सवारीको साधन र अन्य वस्तुहरू जफत गर्न सक्नेछ" भन्‍ने उल्लेख भएको पाइयो । 

१६. प्रस्तुत मुद्दामा पुनरावेदक  प्रतिवादीहरूले गैंडालाइ गोली लागेको भन्‍ने तथ्य नै यकिन नभएको अवस्थामा गोली चलेको आवाज सुनेको भनी शंका र अनुमानका आधारमा हामीहरूलाई कसुरदार ठहर गरेको सुरू फैसला र सोही फैसलालाई आधार र कारण विना पुनरावेदन अदालतले केही उल्टी गरी सजायसम्म घटाएको मिलेको नहुँदा उक्त फैसला बदर गरी सफाई पाउनु  पर्छ भन्‍ने नै मुख्‍य जिकिर लिएको पाइन्छ । निकुञ्‍ज क्षेत्रभित्र गोली चलेको तथ्य पुष्टि भइरहेको अवस्था, गैंडा घाइते देखिएको भन्‍ने प्रतिवेदन र यी प्रतिवादीहरू भेला भई बसेको घरमा पक्राउ पर्दा बरामद भएका गैंडा मार्ने बन्दोबस्तीका सामानहरू बरामद भएका परिस्थितिजन्य प्रमाण र प्रतिवादीहरूको कसुर अपराधलाई स्वीकार गरी गरेको बयान कागजातबाट उल्लिखित आरोपित कसुरमा यी प्रतिवादीहरूको संलग्नता थिएन भन्‍ने युक्तियुक्त तर्क र प्रमाणको अभावमा पुनरावेदन अदालत, हेटौंडाको फैसला मनासिब नै देखियो । 

१७. तसर्थ, माथि उल्लिखित तथ्य, कानूनी व्यवस्था, आधार र कारणबाट प्रतिवादी माया कुमालको हकमा सफाई पाउने गरी भएको सुरू फैसला सदर गरी अन्य पुनरावेदक प्रतिवादीहरू होमबहादुर लामा, रणबहादुर कुमाल र सन्तबहादुर भन्‍ने पंकज कुमाललाई आरोपित कसुर गरेको ठहर गरी सुरू चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, कसराले मिति  २०६७/७/१६ मा गरेको फैसलामा सजायमा केही उल्टी गरी प्रतिवादी होमबहादुर लामा र रणबहादुर कुमाललाई जनही १०/१० वर्ष कैद र रू.७५,०००।– का दरले जरिवाना तथा प्रतिवादी सन्तबहादुर भन्‍ने पंकज कुमाललाई ८ वर्ष कैद र रू.५०,०००।– जरिवाना हुने ठहर गरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको मिति २०६८/९/२६ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. विश्‍वम्भरप्रसाद श्रेष्ठ

 

इजलास अधिकृतः नगेन्द्रकेशरी पोखरेल

इति संवत् २०७३ साल चैत्र १३ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु