शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८९० - अपहरण तथा कर्तव्य ज्यान

भाग: ५९ साल: २०७४ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र 

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

फैसला मिति : २०७४।०३।१९

 

मुद्दाः अपहरण तथा कर्तव्य ज्यान

 

०७१-CR-०९४१

पुनरावेदक / प्रतिवादी : जिल्ला सुनसरी इनरूवा नगरपालिका वडा नं. १ घर भई हाल कारागार कार्यालय मोरङ विराटनगरमा थुनामा रहेको सञ्‍जयकुमार पोद्दार 

विरूद्ध

प्रत्यर्थी / वादी : भुवनेश्‍वर यादवको जाहेरीले नेपाल सरकार

 

 

०६९-CR-०४९८

पुनरावेदक / वादी : भुवनेश्‍वर यादवको जाहेरीले नेपाल सरकार 

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुनसरी इनरूवा नगरपालिका वडा नं.१ बस्ने सञ्‍जय कुमार पोद्दार 

 

वारदातमा नेपालबाट नाबालकलाई अपहरण गरी भारत पुर्‍याई भारतमा नै रहेको अवस्थामा ज्यान मारेकोले कर्तव्य गरी ज्यान मारेको कसुरमा समेत बहिर्क्षेत्रीय क्षेत्राधिकार लागू हुने अवस्था रहने भएकोले नेपालकै अदालतको बहिर्क्षेत्रीय क्षेत्राधिकार (Extraterritorial jurisdiction) लागू हुने । 

(प्रकरण नं. ६)

अभियोग दाबीअनुसारको कसुरगरेबापत हुने सजायबारे विवेचना नगरी अधिकतम सजाय हुने कसुरसम्मको सजाय हुने भनी ठहर गर्नुलाई कानूनअनुरूपको निर्णयको संज्ञा दिन सकिँदैन । धेरै कसुरबापत भएको सजायको हद तोक्ने सम्बन्धमा प्रचलित कानूनबमोजिम सजाय गाभिन सक्ने हुँदा कसुरदारले आरोपित कसुरहरू गरे नगरेको कुरा ठहर गर्नु न्यायकर्ताको कर्तव्य हुन आउने । 

(प्रकरण नं. ७)

कर्तव्य ज्यानको कसुरमा जन्म कैदको सजाय भइसकेको र दण्ड सजायको ८ र ४१ नं. बमोजिम सानो खतको कैद खापिने भएकोले अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३, ७ र ९ नं. बमोजिमको कैद सजाय थप गरिरहन नपर्ने । 

(प्रकरण नं. ८)

 

पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता सुरेश महतो

प्रत्यर्थी / वादीको तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी

पुनरावेदन तहमा फैसला गर्नेः

मा.मुख्य न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री गिरिराज पौड्‍याल

 

फैसला

न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, विराटनगरको मिति २०६९/२/३० को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छः-

मिति २०६७।३।१९ गते बेलुकी अं. ३,४ बजेको समयमा मेरो नाति वर्ष ७ को निरन्जन यादवलाई ट्याक्टरमा खेत जोत्‍न लागेको छ कुन खेत जोत्‍ने हो हजुरआमालाई सोधेर आइज भनी निजको आमाले पठाएकोमा हजुरआमा खेतबाट फर्की आउँदा नाति खोई भनी निजलाई सोध्दा मैले देखिन भनेपछि खोजतलास गर्दै जाँदा बाटोमा सेतो सर्ट, क्याप टोपी, फुल पाइन्ट लगाएको अं. २०-३० वर्षजतिको अपरिचित पुरूष मानिसले निरन्जन यादवलाई साइकलमा राखी लगेको भन्‍ने थाहा पाई बुझ्दै जाँदा भारत सुपोल जिल्ला मोतीपुर पञ्चायत हरिपुर गाउँमा एकजना मृत बालकको लास छ भन्‍ने कुरा थाहा पाई सो स्थानमा गई हेर्दा मेरो नाति निरन्जन यादवको घाँटीमा धारिलो हतियारले रेटी विभत्स हत्या गरेको हुँदा अपराधीहरू पत्ता लगाई हदैसम्मको कारवाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको भुवनेश्‍वर यादवको जाहेरी दर्खास्त । 

जिल्ला सुनसरी इनरूवा न.पा.१ स्थित जिल्ला स्वास्थ्य कार्यालय, सुनसरीको शवगृहको स्लाइडमा उत्तानो अवस्थामा रहेको मृतक निरन्जन यादवको लासलाई ओल्टाई पल्टाई हेर्दा दुवै कानबाट रगत निस्की सुकेको, लासको घाँटीमा ८ इन्च लम्बाई, ४ इन्च चौडाई र ५ इन्च चौडाई भई काटिएको, मृतकको अनुहारमा रगत लतपत्तिएको, गाला खुट्टा तथा शरीरको अन्य भागमा पोलेको जस्तो कालो फोकाहरू देखिएको भन्ने घटनास्थल लास जाँच मुचुल्का । 

जिल्ला सुनसरी भोक्राहा ७ स्थित पूर्वमा नारायण यादवको घर पश्चिममा इस्रीलाल कामतको नास्ता पसल, उत्तरमा केशव गुप्ताको घर, दक्षिणमा बलराम यादवको २ तल्ले पक्की घर सो घरको रेखदेख मुन्‍नादेवले गरेको, घरको भित्तामा सञ्‍जय पोद्दारले राखेको ATLAS लेडिज साइकल प्रहरीले बरामद गरेको ४ किल्लासहितको बरामदी मुचुल्का ।

मिति २०६७।३।१९ गते म आफ्नो घरमै थिएँ, म घरबाहिर निस्कँदा एकजना सेतो क्याप टोपी, कालो जिन्स पाइन्ट आकासे सेतो सर्ट लगाएको अ.२०-२५ वर्षको मानिसले बीचमा निलो हरियो, अगाडि पछाडि स्टील दराज कलर भएको लेडिज साइकलको पछाडि केरियरमा निरन्जन यादवलाई राखी हाँस्दै गफ गर्दै गएको देखेको हुँ, उक्त साइकल हाँक्ने व्यक्तिलाई मैले चिन्न सकिन र बच्चा घरमा आएन, कहाँ गयो भनी हल्ला हुँदा निज मानिसले लगेको भन्‍ने थाहा पाएको हुँ भन्‍ने मिना मगरले गरिदिएको घटना विवरण कागज ।

मिति २०६७।३।१९ गते म आफ्नो घरैमा थिएँ, बुबा भुवनेश्वर यादव खेतमा जानुभएको थियो र अ. दिनको ३:३० बजेको समयमा इनरूवा १ बस्ने सञ्जयकुमार पोद्दार घरमा आए, उहाँ अगाडि पनि आउने जाने गर्नुहुन्थ्यो र नानीहरूलाई चकलेट दिनुहुन्थ्यो त्यो दिन केही पनि ल्याउनु भएको रहेनछ । निजले गफ गर्दै जाँदा मेरो मोबाइल नम्बर मागे र तपाईको नम्बर दिनुहोस् भन्दा उहाँले ९८४२०९३०४३ नं. बताई निज जान लाग्दा मेरो छोराले मिठाई किन्न पैसा दिनु भनेपछि म किनी दिन्छु भनेर ताने केहिछिन पछि सप्तरीको ट्याक्टरवाला खेत जोताउने छैन - के कति जोत्‍नु छ भनी सोधेपछि मैले मेरो छोरा निरन्जन यादवलाई जा हजुरआमालाई खेत जोताउने मानिस आएको छ भन् भनी बोलाउन पठाएँ र निज हजुरआमालाई बोलाई फर्की आएनन । हजुरआमा घर आएपछि नाति कहाँ छ भनी सोध्दा मैले देखिन भनेपछि कता गयो भनी सोधखोज गर्दै जाँदा एकजना सेतो क्याप टोपी, कालो जिन्स पाइन्ट, आकासे सेतो सर्ट लगाएको अ. २०-२५ वर्षो मानिसले बीचमा निलो हरियो, अगाडि पछाडि स्टील दराज कलर भएको लेडिज साइकलको पछाडि केरीयरमा निरन्जन यादवलाई राखी हाँस्दै गफ गर्दै गएको भन्‍ने कुरा थाहा पाएँ बच्चा बेलुकासम्म नआए पछि खोजतलास भइरहेको थियो । मिति २०६७।३।२१ गते भारत सुपौल करजाइनमा छोरा निरन्जन यादवको मृत लास फेला परेको हो, त्यसरी मेरो छोराको घाँटी रेटी विभत्स हत्या भएको हुँदा अपराधी पत्ता लगाई कारवाही गरिपाउँ भनी तारादेवी यादवले प्रहरीमा गरिदिएको कागज । 

जाहेरवालाको घर र मेरो घर नजिकै छ, मिति २०६७।३।१९ गते आफ्नो धान खेतमा म काम गर्दै थिएँ त्यसैबेला निरन्जन यादवलाई एकजना सेतो क्याप टोपी, जिन्स पाइन्ट, आकासे सेतो सर्ट लगाएको अं. २०।२५ वर्षे मानिसले बीचमा निलो हरियो अगाडि पछाडि स्टिल दराज कलर फरक भएको लेडिज साइकलको पछाडि केरियरमा निरन्जन यादवलाई राखी हाँस्दै गफ गर्दै जाँदै गरेको देखेकी हुँ, बच्चा बेलुकीसम्म घरमा नआए पछि खोजतलास भइरहेको थियो । मिति २०६७।३।२१ गते भारत सुपौल करजाइनमा निरन्जन यादवको मृत लास फेला परेको भन्‍ने सुनेकी हुँ भनी गितादेवी उरावले गरी दिएको कागज । 

मिति २०६७।३।१९ गते म आफ्नो पि.सि.ओ.मा थिएँ । सोहीबेला इनरूवा १ बस्ने सञ्‍जयकुमार पोद्दार मेरो पि.सि.ओ.मा निलो हरियो अगाडि पछाडि स्टील दराज कलर फरक भएको लेडिज साइकलमा भीमनगरबाट ७:३० बजे बेलुका आई साइकल राखी दिनुहोस् म इनरूवा जान्छु भनेपछि बलराम यादवको घरमा साइकल राखी दिएको हो । सञ्‍जयकुमार पोद्दार मेरो सालोको छोरा हो चिनजान भएकोले मात्र साइकल राखी दिएको हुँ भनी मुन्नाकुमार देवले गरेको कागज । 

मिति २०६७।३।१९ गते बेलुकी अ. ३।४ बजेको समयमा मेरो नाति वर्ष ७ को निरन्जन यादवलाई ट्याक्टरबाट खेत जोत्‍ने मानिस आएको छ हजुरआमालाई सोधेर आइज भनी पठाएकोमा हजुरआमा खेतबाट फर्कि आउँदा नाति खोई भनी निजलाई सोध्दा नाति मैले देखिन भनेपछि खोजतलास गर्दै जाँदा बाटोमा सेतो सर्ट, क्याप टोपी, फुल पाइन्ट लगाएको अ. २०-३० वर्षजतिको अपरिचित पुरूष मानिसले निरन्जन यादवलाई साइकलमा राखी लगेको भन्‍ने थाहा पाई कारवाहीका लागि मिति २०६७।३।२२ गते नै जाहेरी दर्खास्त दिइसकेको छु, मिति २०६७।३।१९ गते मेरो घरमा सेतो क्याप टोपी सेतो सर्ट, कालो पाइन्ट, लेडिज साइकल लिई आएका जिल्ला सुनसरी इनरूवा न.पा. १ बस्ने श्याम पोद्दारको छोरा भएको र गाउँलेहरूले उक्त हुलिया भएको व्यक्तिले नै मेरो नातिलाई साइकलमा राखी लगेको कुरा खुल्न आएको र उक्त स्थानबाट अरूण झासमेत मिली राजमार्गको पश्चिम हुँदै अपहरण गरी लगेको कुरा आएकोले के कुन उद्देश्यले अवोध बालकलाई अपहरण गरी लगी भारतको करजाइनमा पुर्‍याई धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेका हुन् कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍ने भुवनेश्वर यादवको जाहेरी दर्खास्त । 

भुवनेश्वर यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सञ्‍जयकुमार पोद्दारसमेत भएको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा वारदात मितिदेखि फरार रहेको प्रतिवादी सञ्‍जय पोद्दार इनरूवा १ मा लुकीछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरी दाखिला गरेको हो भन्‍ने प्रहरीको प्रतिवेदन । 

जिल्ला सुनसरी इनरूवा १ स्थित रहेको पूर्व फर्किएको काठको घरको माथि उत्तर फर्किएको कोठामा सञ्‍जय पोद्दार सुत्ने र बस्ने गरेको कोठामा खानतलासी गर्दा ७२१० मोडेलको प्रीपेड सिमसहितको नोकिया मोबाइल सिम नं. ९८४२०९३०४३ को मोबाइल थान १ बरामद भएको ठिक साँचो हो भन्‍ने बरामदी   मुचुल्का । 

मिति २०६७।३।१९ गते म भोक्राहा ७ स्थित रहेको भुवनेश्वर यादवको घर गएको थिएँ र म पहिलादेखि नै निजको घर गई बस्ने निरन्जन यादवसँग बोल्ने हाँस्ने चकलेट दिने गर्दथेँ र सो काम मैले निज निरन्जन यादवलाई अपहरण गर्न सजिलो हुन्छ भन्‍ने मनसायले गरेको थिएँ र सो दिन निजको घरमा एकछिन बसी गफ गरी घरबाट मान्छेहरू काम विशेषले बाहिर गएको मौका छोपी निरन्जनलाई ललाई फकाई घुमाउन लान्छु भनी हाँस्दै बोल्दै अपहरण गरी भारतसम्म लगेको हो । निजलाई अपहरण गर्ने योजना १ हप्ता अगाडि नै इनरूवा ६ बस स्टैण्ट घर भई भारत सुपौल बनेलीपट्टी झाजी टोल बस्ने अ. वर्ष२८।२९ को अरूण झासँग सल्लाह भएको थियो । अपहरणका दिन मैले अरूण झालाई ९८४१६७५८९३ मा फोन गरेँ र निजले मेरो घर छेउको बस चोकमा आइज भने र म उक्त ठाउँमा गएँ । दुवै जना सुनसरी खोलाको पुलसम्म सँगै गयौँ । पुलको छेउमा पुगेपछि म घरमा गएर बच्चालाई लिएर आउँछु तिमी यहाँबाट हिँडेर वैष्णव पेट्रोल पम्पमा बसिराख्‍नु भनेर म निरन्जनको घरमा गएँ र निरन्जन यादवको आमासँग गफगाफ गरी मैले मेरो मोबाइल ९८४२०९३०४३ नम्बरको फोन निरन्जनको आमालाई टिपाएँ र आँखा छली बच्चालाई मैले अपहरण गरी भारतको बसमतीयाको रोड हुँदै भीमनगरमा ल्याएँ र मैले अरूण झालाई तैँले यो काम सल्टाउनु पर्छ भनेर निज निरन्जन यादवलाई अरूण झाको जिम्मा लगाए । अरूण झाले बच्चा निरन्जनलाई करजायनको नहर हुँदै एउटा गाउँ छ त्यहीँ आफन्तकोमा राख्छु भनेर मलाई भनेका 

थिए । हामीहरू बीच निजलाई अपहरण गरी बन्धक बनाई रकम असुल्ने र आधा आधा बाँड्ने सल्लाह भएको थियो । मिति २०६७।३।२० गते अपराधबाट बच्नको लागि आमा र भाइसँग भुवनेश्वर यादवको घर गएँ र गाउँलेहरूले मलाई शंका गरेका रहेछन् । उता बच्चा धेरै रूने कराउने गरेकोले लुकाई राख्न गार्‍हो भयो भनी अरूण झासँग फोनमा कुरा भएको र मलाई समेत शंका गरी गाउँमा हो हल्ला भई तहल्का मच्चिएपछि म आत्तिई डर लागी अपराधबाट बाँच्नलाई बच्चालाई मारी एकान्त ठाउँमा फाली दिनु भनी अरूण झालाई फोन गरी भनेको थिएँ । मिति २०६७।३।२१ गते अरूण झालाई फोन गर्दा बच्चा कहाँ छ भनी सोध्दा निजले निरन्जन यादवलाई मारी नहरको छेउमा खाल्डो खनेर पुरेको छु भन्यो । यसरी हामीले निज बच्चाको हत्या गरेको हो र म लुकीछिपी हिँडेको अवस्थामा मिति २०६६।३।२४ गते बिहान प्रहरीले पक्राउ गरेको हो भन्‍नेसमेत व्यहोराको सञ्‍जय कुमार पोद्दारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

मिति २०६७।३।१९ गते म आफ्नै घरमा नै थिएँ र गर्मी भएकोले घर छेउको रूखमुनी बसी रहेको थिएँ त्यही बेला निरन्जन यादवलाई एकजना सेतो क्याप टोपी, जिन्स पाइन्ट र आकासे सेतो सर्ट लगाएको अ. २०।२५ वर्षे मानिसले बीचमा निलो हरियो अगाडि पछाडि स्टिल दराज कलर फरक भएको लेडिज साइकलको पछाडि केरियरमा राखी हाँस्दै गफ गर्दै जाँदै गरेको देखेको हुँ । बच्चा बेलुकासम्म नआए पछि खोजतलास भइरहेको थियो । मिति २०६७।३।२१ गते भारत सुपौल करजाइनमा निरन्जन यादवको मृत लास फेला परेको भन्‍ने सुनेको हुँ भनी सितादेवी झाले गरेको घटना विवरण कागज ।  

मिति २०६७।३।१९ गते म आफ्नो घरमा थिएँ । छिमेकी मिना मगरको घर आँगन छेउमा भएको छहारीको मुनि सितलमा बसिरहेको थिएँ, त्यही बेला निरन्जन यादवलाई एकजना सेतो क्याप टोपी, जिन्स पाइन्ट र आकासे सेतो सर्ट लगाएको अ. २०।२५ वर्षको मानिसले बीचमा निलो हरियो अगाडि पछाडि स्टिल दराज कलर फरक भएको लेडिज साइकलको पछाडि केरियरमा राखी हाँस्दै गफ गर्दै जाँदै गरेको देखेको हुँ र बच्चा बेलुकासम्म नआएपछि खोजतलास भइरहेको थियो । मिति २०६७।३।२१ गते भारत सुपौल करजाइनमा निरन्जन यादवको मृत लास फेला परेको सुनेको हुँ भन्‍ने व्यहोराको लाहारी उँरावले गरिदिएको घटना विवरण कागज । 

मिति २०६७।३।२१ गते म आफ्नो पि.सि.ओ.मा थिएँ, सोही बेला इनरूवा १ बस्ने सञ्‍जयकुमार पोद्दारले मेरो पि.सि.ओ. बाट फोन गरिरहेका थिए, इन्टरनेटबाट फोन गरेको हुँदा विदेश नै गरेको हुनुपर्छ, निजले के कहाँ फोन गरेका हुन् - के के कुरा गरे सो मलाई थाहा भएन भन्‍नेसमेत व्यहोराको अशोक साहले गरिदिएको घटना विवरण कागज । 

मिति २०६७।३।१९ गते जाहेरवालाको नाति निरन्जन यादवलाई अपहरण गरी साइकलमा हाली लाने व्यक्ति को हो भनी जिल्ला प्रहरी कार्यालय, सुनसरीको अपराध अनुसन्धान शाखाको कोठाको पश्चिम साइडको भित्तामा एकै लाइनमा ४ जनालाई राखी सोधनी गरिएकोमा सोही लाइनमा पूर्व मोहडा बनाई उभ्याई सञ्‍जयकुमार पोद्दारलाई बायाँबाट तेस्रो र दायाँबाट दोस्रोमा राखी पालैपालो मिना मगर, लहरी उँराव, सितादेवी झा, उपेन्द्र उरावलाई सनाखत गरिदिनुहोस् भनी चिनाउँदा बायाँबाट तेस्रो, दायाँबाट दोस्रो स्थानमा उभिएका व्यक्तिले नै बच्चालाई साइकलमा राखी गफ गर्दै अपहरण गरी लिई गएका हुन् भनी गरिदिएको सनाखत कागज । 

प्रतिवादी सञ्‍जय कुमार पोद्दारले उल्लेख गरेका मोबाइल नम्बरहरूबाट पटकपटक फोन भएको देखिएको पाना ३ को Call detail रहेको ।

Death is Caused By Cut throat injury भन्‍ने निरन्जन यादवको शव परीक्षण प्रतिवेदन ।

सञ्‍जय पोद्दार, अरूण झा र गुड्ढ भन्‍ने गौरी झासमेतको संलग्नतामा उल्लिखित घटना घटेको हुँदा अरूण झा र गौरी झालाई खोजतलास गर्दा फेला पार्न नसकिएको भन्‍ने प्र.ना.नि. मनोज पौडेलको प्रतिवेदन । 

मिति २०६७।३।१९ गते हामी बाटोमा थियौं, त्यहीबेला निरन्जन यादवलाई एक जना सेतो क्याप टोपी, कालो जिन्स पेन्ट, आकासे सेतो सर्ट लगाएको अ. २०।२४ वर्षो मानिसले बीचमा निलो हरियो अगाडि पछाडि स्टिल दराज कलर फरक भएको लेडिज साइकलको पछाडि केरीयरमा निरन्जन यादवलाई राखी हाँस्दै गफ गर्दै जादै गरेको देखेको हुँ र बच्चा बेलुकासम्म नआएपछि खोजतलास भइरहेको 

थियो । मिति २०६७।३।२१ गते भारत सुपौल करजाइनमा निरन्जन यादवको मृत लास फेला परेको सुनेको हुँ र निज बालकलाई सञ्‍जय कुमार पोद्दार, अरूण झासमेतले अपहरण गरी घाँटी रेटी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कडा कारवाही गरिपाउँ भन्‍ने वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले गरिदिएको कागज । 

मिति २०६७।३।१९ गते जिल्ला सुनसरी भोक्राहा घर भएका निरन्जन यादवलाई निजैको घरबाट अपहरण गरी धारिलो हतियारले घाँटी रेटी विभत्स हत्या गरेको वारदात स्थापित हुन आएकोले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, ३, ७, ९ र १२ नं. बमोजिम कसुर गरेको देखिँदा ऐ. को ३ नं. बमोजिम प्रतिवादीहरूलाई सजाय गरी ऐ. महलको ७ र ९ नं. बमोजिम थप सजाय हुन ऐ. १२ नं. बमोजिम क्षतिपूर्ति भराई पाउन र प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) र १३(४) नं. को कसुरसमेत गरेकोले प्रतिवादी अरूण झालाई सोही महलको १३(१) नं. बमोजिम सजाय हुन, सञ्‍जयकुमार पोद्दार र गौरी झालाई ऐ.महलको १३(४) नं. बमोजिम सजाय हुन साथै निजहरूले मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(ग) को कसुर गरेको हुँदा ऐ. को दफा १५(ग) बमोजिम सजाय हुन र फरार प्रतिवादी अरूण झाको नाउँमा कानूनबमोजिम म्याद जारी हुन र गौरी झा विदेश भएकोले निज नेपाल सरहदमा फेलापरे यसै अभियोगबाट कारवाही हुन मागदाबी लिई पेस भएको अभियोग पत्र । 

मृतक निरन्जन यादवलाई निजकै घरभन्दा केही टाढा खेतबाट म र सहअभियुक्त अरूण झा भई मिति २०६७।३।१९ गते अ.४ बजेतिर अपहरण गरी लगेका हौं । मैले निज बच्चालाई घुम्न जाउँ भनेर साइकलमा हामीले निजलाई काखमा राखेर अरूण झाले देखाएको बाटो हुँदै भारतको भीमनगरसम्म पुर्‍याएका हौं । उक्त स्थानबाट म फर्किई आएँ निज अरूण झाले के कहाँसम्म लगे थाहा भएन, बच्चालाई निजले नै कर्तव्य गरे गराएका हुन् कर्तव्य गरी मार्नमा मेरो संलग्नता छैन, अपहरण गरी फिरौती माग्नुपर्छ र सो रकमको आधा रकम तिमीलाई दिन्छु भनेकोले मैले निजलाई अपहरण गर्न सहयोगसम्म गरेको हुँ । म भीमनगरबाट फर्केर आएपछि निज अरूण झालाई फोनबाट कुरा गर्दा बच्चा मर्‍यो भन्यो र के भएर मर्‍यो भन्दा बच्चा निकै रोयो तसर्थ निजलाई मैले विषालु पदार्थ खुवाएँ तत्पश्चात् उ मर्‍यो भन्यो, घटनामा गौरी झा संलग्न थिए वा थिएनन मलाई थाहा भएन, गल्ती भएको हुँदा कानूनले जो ठहर्छ भन्‍नेसमेत व्यहोराको प्रतिवादी सञ्‍जय कुमार पोद्दारले अदालतमा गरेको बयान । 

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी सञ्‍जय कुमार पोद्दारलाई पुर्पक्षको निमित्त अ.बं. ११८ को देहाय दफा २ नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्‍ने मिति २०६७।४।१८ गते को सुरू अदालतको थुनछेक आदेश । 

प्र. अरूण झाको नाउँमा यस अदालतबाट जारी भएको ७० दिने म्याद मिति २०६७।५।२२ मा तामेल भएकोमा निज उपस्थित नभई सुरू म्याद गुजारी फरार रहेको । आदेशानुसार जाहेरवाला भुवनेश्वर यादव, वस्तुस्थिति मुचुल्काका मानिस र मौकामा कागज गर्ने मानिसहरू तारादेवी, सीतादेवी मगर, गीता उराव, सत्यदेव यादवले यी प्रतिवादीसमेतका मिलोमतोवाट मृतक निरन्जन यादवलाई अपहरण गरी कर्तव्य गरी मारेको हो भनी गरिदिएको बकपत्र मिसिल सामेल रहेको ।

फरार प्रतिवादी अरूण झाका हकमा अ.बं. १९० नं. बमोजिम मुल्तबी राख्दै अर्का प्रतिवादी सञ्‍जयकुमार पोद्दारले दाबीबमोजिम कसुर गरेको देखिँदा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. एवं ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम कसुर गरेको देखिँदा निजलाई जन्म कैदसमेतको सजाय हुने ठहर्छ भन्‍नेसमेतको सुनसरी जिल्ला अदालतको फैसला ।

घटनापछि गाउँ समाजको ठूलो दबाब र आफ्नो तथा परिवारको सुरक्षाको खातिर बाध्य भएर अपहरणसम्ममा आफ्नो संलग्नता स्वीकार गरे पनि नाबालकलाई कर्तव्य गरी मारेको भन्‍ने कुरा मिसिल संलग्न कुनै पनि तथ्य तथा प्रमाणले पुष्टि गरेको अवस्था छैन । केवल जाहेरवालालगायत वादीका एकतर्फी भनाईहरू र जबरजस्ती मलाई गराइएको साबितीको आधारमा कसुरदार ठहर गरिएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको हुँदा उल्टी गरी सफाई पाउँ भन्‍ने पुनरावेदक प्रतिवादी सञ्‍जयकुमार पोद्दारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र । 

सुरू जिल्ला अदालतको अभियोग दाबीबमोजिम अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ३ नं. र ज्यानसम्बन्धी महलको १३(४) नं. को कसुर स्थापित गरिसकेपछि उल्लिखित आधारहरूबाट प्रतिवादी सञ्‍जयकुमार पोद्दारलाई सोही महलको ७ र ९ नं. हुने थप सजाय तथा १२ नं. बमोजिम क्षतिपूर्ति भराई दिने र मानव बेचबिखन ओसार पसार (नियन्त्रण) ऐन, २०३४ को दफा ४(ग) को कसुरमा ऐ. दफा १५(ग) को अभियोग दाबीतर्फ सजाय गर्नुपर्नेमा सो नगरिएको हदसम्मको सुरूको फैसला त्रुटिपूर्ण रहेकोले उल्टी गर्दै अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भन्‍ने नेपाल सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

जाहेरवालाले अदालतमा आई गरेको किटानी बकपत्र, वस्तुस्थिति मौकामा कागज गर्ने व्यक्तिहरूले गरेको बकपत्र र यी प्रतिवादीले अदालतमा गरेको बयानको आधार र प्रमाणबाट यी प्रतिवादीसमेत संलग्न भई मृतक निरन्जन यादवलाई चकलेट खुवाउँछु भनी ललाई फकाई अपहरण गरी भारतको भीमनगर पुर्‍याई हल्ला हुने डरले घाँटी रेटी हत्या गरेको अभियोग पुष्टि हुन आयो । यसरी प्रतिवादी सञ्‍जयकुमार पोद्दारले दाबीबमोजिम कसुर गरेको देखिँदा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. एवं ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम निजलाई जन्म कैदसमेतको सजाय गर्ने गरी सुरू जिल्ला अदालतले गरेको फैसला अन्यथा मान्न मिल्ने देखिएन । तसर्थ: पुनरावेदक प्रतिवादी सञ्‍जयकुमार पोद्दारलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. तथा ज्यानसम्बन्धी महलको १३(४) नं. को कसुरमा जन्मकैद सजाय हुने ठहर्‍याई सुरू सुनसरी जिल्ला अदालतवाट मिति २०६८।३।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०६९/२/३० को फैसला ।

मैले नै जाहेरवालाको नाति मृतक निरन्जनलाई साइकलमा लगेको हो भनी देख्‍ने कोही छैन । साइकल दशीको रूपमा बरामद भएको पनि 

छैन । मलाई चिनाई सनाखतसमेत गराइएको अवस्था छैन । जाहेरीमा मेरो भूमिका के हो ? सो पनि खुलाएको छैन यस्तो अवस्थामा किटानी जाहेरी मानेर मलाई सजाय गरेको कानूनसम्मत छैन । वारदातपछि गाउँ समाजको दबाबबाट मलाई अदालतमा अपहरण गरेको स्वीकार गर्न लगाई बयान गराइएको हो । त्यसमा पनि मैले स्वीकार गरेको अपहरणभन्दा बढी कसुर कायम गरी सजाय गरिएको छ । सोसमेत कानूनविपरीत छ । अतः म विरूद्ध कुनै पनि ठोस प्रमाण नरहेको अवस्थामा  मलाई जन्मकैदको सजाय गर्ने गरी भएको पुनरावेदन अदालत, विराटनगरसमेतको फैसला उल्टी गरिपाउँ भन्‍नेसमेत व्यहोराको प्रतिवादी सञ्‍जयकुमार पोद्दारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

प्रतिवादी / प्रत्यर्थीलाई ज्यानसम्बन्धी महलको दाबीअनुसार कसुर ठहर भएको छ तथा अपहरण तथा शरीर बन्धकको हकमा ३ नं. बमोजिम कसुरसमेत ठहर भएको छ तर सोही महलको ७ नं. बमोजिम २ जना भई अपराध गरेबापत र ९ नं. बमोजिम नाबालक विरूद्ध अपराध गरेबापत थप सजाय दिनेतर्फ तथा १२ नं. बमोजिम क्षतिपूर्ति भराई दिनेतर्फ फैसला मौन छ । मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को ४(ग) को कसुरमा १५(ग) को मागदाबीतर्फ समेत मौन रहेकोसमेतको हदसम्म फैसला त्रुटिपूर्ण रहेकोले बदरभागी छ । कसुर कायम भएपछि सजाय तोकिनुपर्नेमा सो नभएको र हुनपर्ने थप सजायहरू नगरेको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरिपाउँ भन्‍नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र ।

यसमा मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. बमोजिम कसुर ठहर भएपछि सोही नं. बमोजिम प्रतिवादीलाई जरिवाना गर्नुपर्नेमा सो गरेको नदेखिनुको साथै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरमा दाबी गरेको सम्बन्धमा समेत केही नबोली भएको पुनरावेदन अदालत, विराटनगरको फैसला मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. तथा अ.बं. १९२ नं. को त्रुटि भई फरक पर्ने देखिँदा र दुवै पक्षको पुनरावेदन परेको देखिँदा परस्पर सुनाई पेस गर्नु भन्‍नेसमेत व्यहोराको यस अदालतको मिति २०७४/१/६ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री सुरेश महतोले अदालतमा प्रतिवादी पूर्णरूपमा साबित छैनन् । प्रहरिसमक्षको साबितीलाई ठोस प्रमाणद्वारा पुष्टि गर्न सकेको अवस्था पनि छैन । यस्तोमा नेपाल सरहद बाहिर भएको वारदातको सम्बन्धमा समेत प्रतिवादीलाई कसुरदार कायम गर्ने गरी भएको फैसला त्रुटिपूर्ण रहेकोले उल्टी गरिपाउँ भनी गर्नुभएको बहस सुनी मिसिलसमेत अध्ययन गरी विचार गर्दा पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ, छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा निर्णयतर्फ विचार गर्दा, प्रतिवादी सञ्‍जय कुमार पोद्दारसमेत भई ७ वर्षको नाबालक निरञ्‍जन यादवलाई अपहरण गरी विदेश भारत पुर्‍याई घाँटी काटी ज्यान मारेकोले अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १, ३, ७, ९ र १२ नं. को कसुरमा ऐ. को ३ नं. बमोजिम सजाय गरी ऐ. को ७ र ९ नं. बमोजिम थप सजाय गरी १२ नं. बमोजिम क्षतिपूर्तिसमेत भराई पाउन र यी पुनरावेदक प्रतिवादीलाई १ र १३(४) नं. को कसुरमा सजाय गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(ग) को कसुरमा दफा १५(ग) बमोजिमसमेत सजाय हुन माग भई अभियोग पत्र दायर भएकोमा सुरू जिल्ला अदालतबाट यी पुनरावेदक / प्रतिवादीलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. एवं ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिमको कसुरमा जन्मकैदको सजाय हुने ठहर्‍याई फैसला भएको र सोउपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन अदालतमा पुनरावेदन परेकोमा सुरू फैसला सदर हुने ठहरी पुनरावेदन अदालतबाट भएको फैसलाउपर वादी तथा प्रतिवादी सञ्‍जयकुमार पोद्दारको यस अदालतमा दोहोरो पुनरावेदन पर्न आएको देखियो ।

३. जाहेरवाला भुवनेश्‍वर यादवले दिएको २०६७/३/२२ को जाहेरी दरखास्तमा नाबालक नाति मृतक निरञ्‍जन यादवलाई २०६७/३/१९ गते दिउसो अपरिचित व्यक्तिले साइकलमा राखी लिई गएको तथा पछि निज नाबालकको लास विदेश भारतमा फेला परेको भन्‍ने उल्लेख छ । पछि पुनः दिएको दोस्रो जाहेरीमा यी पुनरावेदक प्रतिवादी सञ्‍जय कुमार पोद्दारले नाति निरञ्‍जनलाई साइकलमा राखी लगेको भन्‍ने किटानी गरी लेखाई दिएको देखिन्छ । नाबालक निरञ्‍जन यादवलाई सेतो क्याप लगाएको व्यक्तिले लेडिज साइकलमा राखी लगेको भन्‍ने घटनास्थल मुचुल्का रहेको र सुनसरी जिल्ला हरिपुर ९ स्थित मुन्‍ना देवले रेखदेख गरेको घरभित्र सञ्‍जय पोद्दारले राखेको ATLAS  लेखिएको बीचमा हरियो निलो रङ्ग भएको लेडिज साइकल बरामद भएको तथ्य बरामदी मुचुल्काबाट देखिन्छ । मृतकको दुवै कानबाट रगत निस्की सुकेको, घाँटीमा धारिलो हतियारले काटेको गहिरो घाउचोट रहेको भन्‍ने लासजाँच मुचुल्काबाट देखिन्छ । तथा घाँटीमा काटेको कारण मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिएको अवस्था छ । प्रतिवादी सञ्‍जय कुमार पोद्दारले अनुसन्धानमा गरेको बयान, अदालतको बयान तथा बुझिएका मिना मगर, चित्रदेवीलगायतका व्यक्तिहरूको कागज र बकपत्र व्यहोरासमेतको आधारबाट नाबालक वर्ष ७ को निरञ्‍जन यादवलाई अपहरण गरी घाँटी काटी ज्यान मारिएको भन्‍ने वारदात पुष्टि हुन आयो ।

४. अब प्रस्तुत वारदातमा यी पुनरावेदक/प्रतिवादीको के कस्तो संलग्नता छ र के कस्तो सजाय हुनुपर्ने हो भन्‍नेतर्फ विचार गर्दा, बुझिएका मिना मगर, गीता उरावले २०/२५ वर्षको मानिसले बीचमा निलो हरियो रङ्ग भएको लेडिज साइकलमा निरञ्‍जन यादवलाई राखी लगेको देखेको हो भनी कागज गरिदिएको तथा मृतककी आमा तारादेवीले २०६७/३/१९ गते प्रतिवादी सञ्‍जय पोद्दार दिउँसो घरमा आएका र फोन नम्बर दिई गएका थिए भनी खुलाएको देखिन्छ । बुझिएका मुन्‍नाकुमार देवले प्रतिवादी सञ्‍जयले आफ्नो पिसिओबाट विदेश फोन गरेको र साइकल राखिदिनु भनेकोले राखिदिएको थिएँ भनी कागज गरिदिएको समेत देखिएको छ । यी पुनरावेदक प्रतिवादी सञ्‍जय कुमार पोद्दारले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा फिरौती माग्ने सल्लाह भएबमोजिम नाबालक निरञ्‍जन यादवलाई आफैँले अपहरण गरी साइकलमा राखी लगेको र अरूण झासमेतको साथ भई भारत पुर्‍याई छाडेको र पछि बच्चाले धेरै हल्ला गर्न रून कराउन थालेपछि फोनबाट निजलाई मारिदिने सल्लाह भएअनुसार मारेको हो भनी बयान गरेको देखिन्छ । बुझिएका असोक शाह, चित्रादेवी मगरसमेतका व्यक्तिहरूले साइकलमा राखी नाबालक निरञ्‍जनलाई लिई जाने व्यक्तिलाई देखेको हो, देखे चिन्‍नसक्छु भन्‍नेसमेतको व्यहोरा लेखाई कागज गरिदिएको देखिन्छ । सोबमोजिम चित्रदेवी, गिता उरावसमेतका व्यक्तिहरूबाट सनाखत गराउँदा निज प्रतिवादी सञ्‍जय पोद्दारलाई चिनी सनाखतसमेत गरिदिएको देखिन्छ । बुझिएका हरिनारायण पोद्दार, गंगा यादव, लक्ष्मी मण्डलसमेतका व्यक्तिहरूले यी पुनरावेदक प्रतिवादीले मृतकको अपहरण गरी ज्यान मारेको हो भनी लेखाइदिएको देखिएको र प्रतिवादी सञ्‍जय कुमार पोद्दारले अदालतमा आई बयान गर्दासमेत मृतकलाई आफैँले अपहरण गरी लगेको हो भनी लेखाई दिएको देखिन्छ ।

५. मृतक निरञ्‍जन यावदलाई लेडिज साइकलमा राखी सेतो क्याप लगाएको व्यक्तिले लगेको देखेको भनी मिना मगरसमेतका व्यक्तिहरूले भनेकोमा त्यसरी लैजानेले व्यक्ति यी पुनरावेदक प्रतिवादी सञ्‍जय पोद्दार रहेको कुरा सनाखत कागज तथा हरिनारायण पोद्दारसमेतका बुझिएका व्यक्तिहरूको कागजबाट पुष्टि भएको देखिन्छ । प्रतिवादीले अदालतमा बयान गर्दा अपहरण गर्न मात्र संलग्न भएको ज्यान मार्ने कुरामा सहमति थिएन भनी भने तापनि अधिकारप्राप्त अधिकारीसमक्षको बयान करकाप वा डरत्रासबाट भएको देखिने आधार छैन । ज्यान मार्ने कुरामा सहमति थिएन भनी भने तापनि अर्का प्रतिवादी अरूण झासमेतको सल्लाहबमोजिम फिरौती लिने योजना बनाई आफैँले निज मृतक निरञ्‍जन यादवलाई घरबाट लिई गएको तथा प्रतिवादी अरूण झासँग राजमार्गमा भेट भई निजसमेत सँगै भई भारत पुर्‍याएको भन्‍ने प्रतिवादीको बयानबाट खुल्न आएको छ । प्रतिवादी अरूण झासँग मृतक रहेको र निजसँग यी पुनरावेदक प्रतिवादीको पटकपटक फोन सम्पर्क भएको तथ्य मिसिल संलग्न call detail बाट देखिएको हुँदा फोनबाटै नाबालकलाई मार्ने सल्लाह भएको भन्‍ने यी पुनरावेदकको अनुसन्धान अधिकारीसमक्षको बयान तथ्यपरकरूपबाट पुष्टि भइरहेको देखिन्छ । निजले अपहरणमा प्रयोग गरेको लेडिज साइकल मुन्‍नादेवलाई भनी निजकै पि.सि.ओ. नजिकको घरमा राखेको भन्‍ने कुरा साइकलको बरामदी मुचुल्का तथा मुन्‍नादेवको कागजसमेतबाट पुष्टि भइरहेको देखिएको छ । बुझिएका सत्यदेव यादव, गीता उराव, चित्रादेवी मगर, तारादेवीलगायतका व्यक्तिहरू तथा जाहेरवालासमेतले अदालतमा आई बकपत्र गरी अनुसन्धानको क्रममा भएको कागज समर्थन गरी बकपत्र गरिदिएको तथा लासजाँच मुचुल्का, शव परीक्षण प्रतिवेदनसमेतका यावत् तथ्य प्रमाणको आधारमा यी पुनरावेदक प्रतिवादी सञ्‍जय कुमार पोद्दारसमेत भई फिरौती माग्ने योजना बनाई नाबालक वर्ष ७ को निरञ्‍जन यादवलाई अपहरण गरी भारत पुर्‍याई पुनरावेदककै योजना र वचनमा घाँटी काटी ज्यान मारे मराएको भन्‍ने सप्रमाण पुष्टि हुन आयो ।

६. अब प्रस्तुत वारदात विदेश भारतमा भएकोले नेपाल कानूनबमोजिम क्षेत्राधिकारभित्र नपर्ने हो कि भन्‍नलाई प्रस्तुत अपराध नाबालकलाई संरक्षकको मन्जुरीबेगर अपहरण गरी भारत पुर्‍याई ज्यान मारेको कसुरको वारदात भएको देखिएको हुँदा सो कसुर अपराधमा लागू हुने मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ११ नं. को कानूनी व्यवस्थासमेतलाई अवलोकन गर्नुपर्ने हुन्छ । उक्त ११ नं. मा उल्लेख भएअनुसार “कसैले कुनै व्यक्तिलाई नेपाल बाहिर लगी यस महलबमोजिम अपहरण गर्ने वा शरीर बन्धक लिने वा नेपाल नागरिकलाई नेपाल बाहिर यस महलबमोजिम अपहरण गर्ने वा शरीर बन्धक लिने कार्य गरे गराएको रहेछ भने निजले नेपालभित्रै कसुर गरेसरह मानी त्यस्तो व्यक्तिलाई यस महलबमोजिम सजाय गर्नुपर्छ” भन्‍ने बहिर्क्षेत्रीय प्रभाव (extraterritorial jurisdiction) प्रदान गर्ने गरी कानूनी व्यवस्था रहेको देखियो । उल्लिखित कानूनी व्यवस्थाको विवेचना गरी हेर्दा नेपाल बाहिर बसी अपहरण तथा शरीर बन्धक लिने महलअन्तर्गतको कसुर गरेमा नेपालभित्रै कसुर गरेसरह मानिने र कसैले नेपाली नागरिकउपर नेपाल बाहिर यस महलबमोजिमको कसुर गरेको अवस्थामा पनि नेपालभित्रै कसुर गरेसरह मानी सजाय गर्ने व्यवस्थासमेत गरेको देखिन्छ । यसरी नेपाल बाहिर बसी नेपालमा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलअनुसारको कसुर गर्ने र जहाँसुकै बसी नेपाली नागरिक विरूद्ध अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलअनुसारको कसुर गरेमा नेपालभित्रै गरेको मानी क्षेत्राधिकार कायम हुने गरी कानूनी व्यवस्था गरेको देखियो । सोही महलको ८ नं. ले “कसैले कुनै व्यक्तिलाई अपहरण गरी वा शरीर बन्धक लिई निजउपर प्रचलित कानूनबमोजिम सजाय हुने अन्य कुनै कसुर गरेको रहेछ भने त्यस्तो व्यक्तिलाई यस महलबमोजिम हुने सजायको अतिरिक्त सो कानूनबमोजिम हुने सजायसमेत गर्नुपर्छ” भन्‍ने व्यवस्था रहेबाट अपहरण गरी बन्धक बनाएको व्यक्तिउपर अन्य कसुर भएमा समेत सोही महलले निर्देश गरेअनुसार सजाय गरिने भएकोले अपहरण गर्ने तथा शरीर बन्धक लिने कसुरसँगै भएका अन्य कसुरका हकमा समेत बहिर्क्षेत्रीय क्षेत्राधिकार लागू हुने स्पष्ट देखिन्छ । प्रस्तुत वारदातमा नेपालबाट नाबालकलाई अपहरण गरी भारत पुर्‍याई भारतमा नै रहेको अवस्थामा ज्यान मारेकोले कर्तव्य गरी ज्यान मारेको कसुरमा समेत बहिर्क्षेत्रीय क्षेत्राधिकार लागू हुने अवस्था रहने भएकोले नेपालकै अदालतको बहिर्क्षेत्रीय क्षेत्राधिकार (Extra Territorial Jurisdiction) लागू हुने देखिएकोले सुनसरी जिल्ला अदालतको क्षेत्राधिकारको अभाव रहेको भन्‍ने पुनरावेदकतर्फको कानून व्यवसायीको जिकिरसँग सहमत हुन सकिएन ।

७. प्रतिवादीउपर अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं., ७ नं. र ९ नं. समेतको कसुरमा सजायको माग दाबी रहेको सन्दर्भमा उक्त ३ नं. को कानूनी व्यवस्था हेर्दा “कसैलाई ज्यान लिने, कुटपिट गरी चोट पुर्‍याउने... छुटकारा रकम (फिरौती) लिने वा शरीर बन्धकमा लिएको व्यक्ति वा निजको हकवालाको धन सम्पत्ति प्राप्त गर्ने... उद्देश्यले यस महलको १ वा २ नं. बमोजिम अपहरण गरेमा वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना र लेखिएबाहेक अन्य उद्देश्यले अपहरण गरेमा वा शरीर बन्धक लिएमा चार वर्षदेखि आठ वर्षसम्म कैद र पच्‍चीस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुन्छ” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । तथा सोही महलको ७ नं. मा “दुई वा दुईभन्दा बढी व्यक्ति मिली वा संगठितरूपमा कुनै व्यक्तिलाई अपहरण गरेको वा शरीर बन्धक लिएको भए सो काममा संलग्न सबै व्यक्तिलाई यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नुपर्छ” भन्‍ने कानूनी व्यवस्था रहेकोले अपहरण गर्ने तथा शरीर बन्धक लिने कसुर एकभन्दा बढी व्यक्ति मिलेर गरेको वा संगठितरूपमा गरेको अवस्थामा अन्य सजायको अतिरिक्त थप २ वर्ष कैद हुने देखिन्छ । त्यस्तै गरी ९ नं. मा रहेको व्यवस्था हेर्दा “यस महलको १,२ वा ३ नं. बमोजिमको कसुर महिला वा नाबालक विरूद्ध गरिएको भए यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नुपर्छ” भनी नाबालक र महिला विरूद्ध अपहरण गर्ने तथा शरीर बन्धक लिने कसुर भएमा थप २ वर्ष सजाय गर्नुपर्ने गरी कानूनी व्यवस्था गरेको देखियो । ७ नं. र ९ नं. मा “गर्नुपर्छ” भन्‍ने वाक्यांश रहेकोले थप सजाय गर्ने उक्त कानूनी व्यवस्थाहरू बाध्यात्मक रहेकोसमेत देखिन आउँछ । अभियोग दाबीअनुसारको कसुर गरेबापत हुने सजायबारे विवेचना नगरी अधिकतम सजाय हुने कसुरसम्मको सजाय हुने भनी ठहर गर्नुलाई कानूनअनुरूपको निर्णयको संज्ञा दिन सकिँदैन । धेरै कसुरबापत भएको सजायको हद तोक्ने सम्बन्धमा प्रचलित कानूनबमोजिम सजाय गाभिन सक्ने हुँदा कसुरदारले आरोपित कसुरहरू गरे नगरेको कुरा ठहर गर्नु न्यायकर्ताको कर्तव्य हुन आउँछ ।

८. अतः माथि विवेचित तथ्य प्रमाणको आधारमा पुनरावेदक प्रतिवादी सञ्‍जय कुमार पोद्दारले नाबालक वर्ष ७ को निरञ्‍जन यादवलाई संरक्षकको मन्जुरी बेगर अपहरण गरी कर्तव्य गरी ज्यान मारेको तथ्य पुष्टि भएको हुँदा निज प्रतिवादी सञ्‍जय कुमार पोद्दारलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. बमोजिम कसुर कायम गरिसकेपछि कानूनले निर्धारित सजाय गर्नुपर्नेमा सोबमोजिम सजाय नगरेको र ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिमको कसुरमा जन्मकैद हुने मात्र ठहर्‍याई भएको सुनसरी जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, विराटनगरको मिति २०६९।२।३० को फैसला केही उल्टी भई निज पुनरावेदक / प्रतिवादी सञ्‍जय कुमार पोद्दारलाई ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिम जन्मकैद हुने तथा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्ष कैद हुन्छ । दुई जना वा सोभन्दा बढी व्यक्ति मिली अपहरण गरेको देखिएकोले ऐ. महलको ७ नं. बमोजिम थप २ वर्ष कैद र नाबालक विरूद्ध कसुर गरेकोसमेत देखिएकोले ऐ. महलको ९ नं. बमोजिम थप २ वर्ष कैद हुने र ऐ. महलको ३ नं. बमोजिम निज प्रतिवादीलाई रू.५०,०००/- जरिवाना हुने र ऐ. महलको १२ नं. बमोजिम प्रतिवादीबाट मृतकका हकदारले प्रतिदिन रू.२,०००/- का दरले क्षतिपूर्तिसमेत भराई पाउने ठहर्छ । कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय भइसकेको र दण्ड सजायको ८ र ४१ नं. बमोजिम सानो खतको कैद खापिने भएकोले अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३, ७ र ९ नं. बमोजिमको कैद सजाय थप गरिरहन परेन । मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(ग) अनुसारको कसुर भएको पुष्टि हुन नसकेकोले त्यसतर्फ समेत सजाय हुनुपर्छ भन्‍ने पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

पुनरावेदक / प्रतिवादी सञ्‍जय कुमार पोद्दारलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम जन्मकैद हुने तथा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं. बमोजिम ७ वर्ष कैद तथा ऐ. को ७ र ९ नं. बमोजिम थप ४ वर्ष कैद हुने ठहरेकोमा दण्ड सजायको ८ र ४१ नं. बमोजिम सानो खतको कैद खापिने भएकोले जन्मकैदको लगत राखी असुल गर्नु भनी सुरू जिल्ला अदालतमा लेखी पठाइ दिनू ..............................१

मृतकका हकवालाले पुनरावेदक प्रतिवादीबाट प्रतिदिनको रू.२,०००/- का दरले हुने  जरिवाना प्रतिवादीबाट दिलाई भराई पाउँ भनी नेपाल सरहदको जेथा देखाई दरखास्त दिएमा कानूनबमोजिम भराई दिन लगत राख्‍नु भनी सुरू अदालतमा लेखी पठाइ दिनू ............................................................२

प्रस्तुत फैसलाको जानकारी पुनरावेदक प्रतिवादीलाई दिई मुद्दाको दायरी लगत कट्टा गरी अभिलेख शाखामा बुझाइ दिनू ....................................................३

 

उक्त रायमा सहमत छु ।

न्या. तेजबहादुर के.सी.

 

इजलास अधिकृत: सुमनकुमार न्यौपाने

इति संवत् २०७४ साल असार १९ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु