शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१०७ - जबर्जस्ती करणी

भाग: ५६ साल: २०७१ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश प्रा.डा. श्री भरतबहादुर कार्की

फैसला मिति M २०७०।९।

०६७-CR-०३४९

मुद्दा M जबर्जस्ती करणी ।

 

पुनरावेदक/प्रतिवादी M भारत, विहार, सीतामढी वैरगनिया घर भई हाल कारागार कार्यालय, पर्सा वीरगञ्जमा कैदमा रहेका महेश पटेल कुर्मी

विरूद्ध

प्रत्यर्थी/वादी M गीतादेवी पटेलको जाहेरीले नेपाल सरकार

 

§  अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूले अदालतमा साक्षी सरह बकपत्र नगरेसम्म त्यस्तो प्रमाणलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम ठोस र विश्वसनीय प्रमाण मान्न नमिल्ने

(प्रकरण नं.४)

§  विशेषज्ञले प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम साक्षी सरह अदालतमा उपस्थित भई बकपत्र नगरेको र त्यस्तो बकपत्रलाई अर्को पक्षले जिरह गर्ने मौका नपाएकोमा त्यस्तो विशेषज्ञको रायलाई प्रमाणमा लिन उक्त कानूनी व्यवस्थाबमोजिम मिल्ने नहुने ।

§  जाहेरवाला वा पीडितले अनुसन्धानको क्रममा व्यक्त गरेको कथनलाई निजहरू साक्षी सरह अदालतमा उपस्थित भई बकपत्र नगरेको अवस्थामा त्यस्तो कथनलाई पनि दफा १८ बमोजिम प्रमाणमा लिन नमिल्ने ।

§  वादीबाट अनुसन्धान तहककातको क्रममा तयार भएको लिखतमा उल्लेख भएको कुरा सो कुरा व्यक्त गर्ने व्यक्तिहरू, जाहेरवाला, डीत, डीतको शारीरिक परीक्षण गर्ने मेडिकल अधिकृत, वस्तुस्थिति मुचुल्कासमेतका व्यक्तिहरू अदालतमा साक्षी सरह उपस्थित भई बकपत्र गर्न नआएको र साक्षी सरह बकपत्र गरेको नदेखिएकोले अनुसन्धान तहककातका क्रममा घटनाका सम्न्धमा निजहरूले व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १८, २५ एवं २३(७) बमोजिम अकाट्‍य, निश्चयात्मक र विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने

(प्रकरण नं.५)

 

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता लिलामणि पौडेल

प्रत्यर्थी/वादीका तर्फबाट M विद्वान उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल

अबलम्वित नजीर M

सम्बद्ध कानून M

  • प्रमाण ऐन, २०३१ को दफा १८,२५, २३(७) ।

 

 

शुरू तहमा फैसला गर्ने M    मा.जि.न्या. श्री विष्णुप्रसाद कोइराला

पुनरावेदन तहमा फैसला गर्ने M मा.न्या. श्री एकराज आचार्य

                                   मा.न्या. श्री तेजबहादुर कार्की

 

 

फैसला

न्या.रामकुमार प्रसाद शाह M न्याय प्रशासन ऐन, २०४८ को ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ M

जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ११ स्थित नन्दु साहको घरमा डेरा गरी बसी आएकोमा सोही घरमा डेरा गरी बस्ने अभियुक्त महेश पटेलको कोठामा मिति २०६४।५।२८ गतेका दिन अपरान्ह १५M३० बजेको समयमा टि.भी.को ठूलो आवाज आएको, मेरी वर्ष ८ की छोरी रोएको जस्तो लागेको र निजको कोठाको ढोका बन्द रहेकोले झ्यालबाट कोठा खोली हेर्दा निज महेश पटेलले छोरी काजलकुमारी पटेललाई खाटमा सुताई सर्वाङ्ग नाङ्गो पारी आफ्नु लिङ्गलाई छोरीको योनीमा राख्ने गरेको देखी तत्काल हल्लाखल्लासमेत गरेकीले अन्य मानिसहरूसमेत आई निज महेश पटेललाई पक्राउ गरेका हुँदा निजलाई कानूनी कारवाही गरी पाऊँ भनी सो बखत छोरीले लगाएको पुरानो टिसर्टसमेत दाखिला गरेको छु भन्नेसमेत व्यहोराको गीतादेवी पटेलको जाहेर दरखास्त ।

जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका, वडा नं. ११ स्थित उत्तरमा खाली जग्गा, दक्षिण रामचन्द्रको घर, पूर्वमा सडक र पश्चिममा नागेन्द्र साहको घर यति ४ किल्लाभित्र पर्ने नन्दु साहको घरमा जाहेरवाला र अभियुक्त महेश पटेलसमेत डेरा गरी बसेका, सो महेश पटेलको डेरामा प्रवेश गरी हेर्दा बिस्तरासहितको खाट भएको, सोसँगै पश्चिम टेलिभिजन र अन्य सामानहरू भएको, खाटमा महेश पटेलले काजलकुमारी पटेललाई करणी गरेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।

जिल्ला प्रहरी कार्यालय, पर्साको कम्पाउण्डमा उपस्थित गराइएका अभियुक्त महेश पटेलले लगाएको रगतको टाटो (दाग) देखिएको पुरानो गम्छा र पीडित काजलकुमारी पटेलले लगाएको पुरानो नाइलनको निजको घुँडासम्म पुग्ने दुई ठाउँमा तरल पदार्थको दाग भएको भेष्ट बरामद भएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का ।

मिति २०६४।५।२८ गते अपरान्ह १५M३० बजेको समयमा मेरो आमाले मलाई नुहाई दिई कपडा धुन लाग्नु भएको र म कोठातिर आएकोमा अभियुक्त महेश पटेलले मलाई काजल एक ग्लास पानी ल्याई देउ भनेकोले पानी दिन निजको कोठामा जाँदा निज खाना खाँदै रहेछ । मैले पानी दिएपछि निजले मेरो हातमा समाती बसेर टि.भी. हेर भनेको हुँदा मैले टि.भी. हेरी बसेँ । निजले खाना खाई सकेपछि म बसेको खाटमा सँगै बसी मलाई लडाई नाङ्गो पारी बोलिस्, कराइस् भने मारी दिन्छु भनी धम्की दिई निजले आफ्नो लिङ्ग मेरो योनीमा पसाउन बल गरेको रुँदा कराउँदा पनि नछोडेको र पछि मेरो आमाले थाहा पाई हल्ला गरेको हो भन्नेसमेत व्यहोराको पीडित काजलकुमारी पटेलले गरेको कागज ।

पीडित काजलकुमारी पटेल र अभियुक्त महेश पटेलसमेतलाई स्वास्थ्य परीक्षण गरी पठाई दिन नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जलाई लेखिएको पत्र ।

मिति २०६४।५।२८ गते अपरान्ह १५M३० बजेको समयमा म आफ्नो डेरामा खाना खान लागेको बखत काजलकुमारी पटेल नुहाई आएको देखी मैले निजलाई एक ग्लास पानी देउ भनेकोले निज पानी लिई कोठामा आईन् । त्यसपछि निजको हात समाती बस, टि.भी. हेर  भनेँ । अनि उनी बसिन् र मैले खाना खाई निजसँगै बसेँ । त्यसपछि निजलाई खाटमा सुताई निजले लगाएको भेष्ट कपडा माथि सारी बोलिस, कराइस् भने मारी दिन्छु भनी धम्की दिई मेरो लिङ्गलाई निजको योनीमा रगड्दै गर्दा निजकी आमाले थाहा पाई हल्ला खल्ला गर्दा वरिपरिका मानिसहरूसमेत आई मलाई पक्राउ गरिएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी महेश पटेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

पीडित काजलकुमारी पटेलको Labia Majora मा Abrasion देखिन्छ भन्नेसमेत व्यहोराको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको स्वास्थ्य जाँच परीक्षण प्रतिवेदन ।

पीडित काजलकुमारी पटेलको शरीरबाट निकालिएको तरल जस्तो पदार्थ लागेको भेष्ट र अभियुक्त महेश पटेलको गम्छा परीक्षणको लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, महाराजगञ्ज काठमाडौँमा पठाएको पत्र ।

जाहेरवाला गीतादेवी पटेलले हल्लाखल्ला गरेको आवाज सुनी गई हेर्दा पीडित काजलकुमारी पटेल रुँदै बसेकी र अभियुक्त महेश पटेल तौलिया मात्र लगाएको अवस्थामा भएकोले बुझ्दा निज अभियुक्तले काजलकुमारी पटेललाई आफ्नो कोठामा लगी करणी गरेको रहेछ भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।

मिति २०६४।५।२८ गते अपरान्ह १५:३० बजेको समयमा यी प्रतिवादी महेश पटेल कुर्मीले जाहेरवालाकी छोरी वर्ष ८ की काजलकुमारी पटेललाई आफ्नै कोठामा बोलाई जबर्जस्ती करणी गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी महेश पटेल कुर्मीलाई मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. तथा ३ नं. को देहाय १ को कसूरमा ऐ. महलको ३ नं.को देहाय १ अनुसार सजाय हुन तथा ऐ.को १० नं.अनुसार पीडित काजलकुमारीलाई क्षतिपूर्तिसमेत भराई पाऊँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

मैले पीडित काजलकुमारी पटेललाई जबर्जस्ती करणी गरेको होइन, छैन । प्रहरीमा कुटपीट गरी बयान गराईएको हो । मैले तौलिया फेरिरहेको अवस्थामा मलाई पीडितकी आमाले पक्राउ गरेको हो, मेरो र जाहेरवालाको बीचमा झगडा भएकोले निजले मलाई फँसाउनको लागि झट्ठा जाहेरी दिएको हुँदा अभियोग दावीबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी महेश पटेल कुर्मीले पर्सा जिल्ला अदालतमा गरेको बयान ।

पीडितको मौकामा भएको शारीरिक जाँचको प्रतिवेदन, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, मौकामा बुझिएका पीडित र जाहेरवालासमेतका व्यक्तिहरूको कथनले प्रतिवादीले मौकामा गरेको बयानलाई पुष्टि र प्रमाणित गरेको देखिन्छ । प्रतिवादीले अदालतमा गरेको बयान र प्रतिवादीका साक्षीले पुष्टि हुने प्रमाण पेश हुन नसकेको समेतका आधारमा प्रतिवादीले पीडितलाई जबर्जस्ती करणी गर्ने प्रयाससम्म गरी पीडितको योनीको सम्वेदनशील भागमा Abrasion भएको देखिँदा यी प्रतिवादी महेश पटेल कुर्मीले अभियोग दावी अनुसारको कसूर अपराध नगरी मुलुकी ऐन, जबर्जस्ती करणीको महलको ५ नं.अनुसार जबर्जस्ती करणीको उद्योगसम्म गरेको देखिन्छ । प्रतिवादीले ऐ.३ नं.को देहाय १ अनुसार १० वर्ष भन्दा मुनिको बालिकालाई जबर्जस्ती करणीको उद्योग गरेको देखिँदा निजलाई ऐ.को ५ नं.अनुसार सोको आधा सजाय ५ वर्ष कैद हुने ठहर्छ भन्ने पर्सा जिल्ला अदालतबाट भएको मिति २०६५।१२।३० को फैसला ।

पीडित भनिएकी केटीको उमेर यकीन नगरिएको, वादीका साक्षीहरू, पीडित, जाहेरवालासमेतले अदालतमा आई कपत्र नगरेकाले वादी पक्षले अदालतसमक्ष आफ्नो साक्षी प्रमाणको स्वतन्त्र तवरले पुष्ट्‍याइँ गर्न सकेको छैन । अस्पतालबाट भएको परीक्षण रिपोर्टमा करणी भए नभएको भनी यकीन साथ भन्न नसकिने भनी उल्लेख भएको, अनुसन्धानको क्रममा मेरो बयान गराउँदा जबर्जस्ती साथ पहिले नै तयार भएको बयानमा सहीछाप गराएको र सोको खण्डन गरी मैले समयमा नै अदालतसमक्ष बयान गर्दा प्रतिवाद गरी सकेको समेतका आधारमा पर्सा जिल्ला अदालतबाट मिति २०६५।१२।३० मा भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी महेश पटेल कुर्मीले पुनरावेदन अदालत, हेटौडामा दिएको पुनरावेदनपत्र ।

प्रतिवादीले मौकामा बयान गर्दा मैले आफ्नो लिङ्ग काजलकुमारीको योनीको वरिपरि रगड्दै गरेको अवस्थामा जाहेरवालीले थाहा पाएकोले भाग्न लाग्दा मलाई नियन्त्रणमा लिएका हुन् भनी बयान गरेको, स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको योनीको Labia Majora मा Abrasion देखिन्छ भनी उल्लेख भएको, प्रतिवादीले आफ्नो लिङ्ग मेरो योनीमा रगड्दै बल प्रयोग गरी मेरो योनीमा पसाउन खोज्दै गर्दा मेरी आमाले थाहा पाई कोठामा आई ढोका खोल्दा निज भागेको भन्ने पीडित बालिकाले गरेको बयान र जबर्जस्ती करणी वारदात कायम हुनका लागि लिङ्ग र योनी बीच सामान्य घर्षण पर्याप्त हुने भन्नेसमेत कानूनी सिद्धान्त प्रतिपादन भएको र ८ वर्षकी बालिकाले प्रतिवादीलाई फँसाउनका लागि झट्ठा कुरा गरेकी होलिन् भन्ने अनुमान गर्नसमेत सकिने अवस्था नहुँदा प्रतिवादीले पीडित वर्ष ८ की काजलकुमारी पटेललाई जबर्जस्ती करणी गरेको तथ्य पुष्टि भैरहेको अवस्थामा प्रतिवादीले जबर्जस्ती करणीको उद्योग गरेको ठहर गरिएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग दावीअनुसार सजाय गरी पाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, हेटौंडामा दिएको पुनरावेदनपत्र ।

वादी प्रतिवादी दुबै पक्षको पुनरावेदन परेकाले अ.बं. २०२ नं.को प्रयोजनार्थ दुबै पक्षको पुनरावेदन एक-अर्कालाई परस्पर सुनाउनु भन्ने मिति २०६६।९।२८ गते पुनरावेदन अदालत, हेटौँडाबाट भएको आदेश ।

पुनरावेदक प्रतिवादीले पीडितको योनीमा लिङ्ग घुसारी घर्षण गरेको कारणबाट नै योनीको बाह्य ओठको भागमा खुइलिएको र चोटपटक परेको पुष्टि हुन आएकोले योनीमा वीर्य स्खलन हुनुपर्ने र योनीको अन्य भागमा चोटपटक हुनु नै पर्ने बाध्यात्मक स्थिति हुन सक्दैन । नाबालिका पीडितलाई वयस्क प्रतिवादीले सजिलै नियन्त्रण गरी लिङ्ग योनीमा छिराउन दल्दादल्दैका अवस्थामा जाहेरवालाले देखी हल्ला गरी प्रतिवादीलाई पक्राउसमेत गरेको कारणबाट पीडितको योनीमा अन्य थप चोटपटकहरू पर्न सक्ने अवस्था पनि भएन । यसरी मिसिल संलग्न सबूद प्रमाणहरूबाट पीडितलाई पुनरावेदक प्रतिवादीले जबर्जस्ती करणीको १ र ३ (१) नं. को कसूर गरेकाले ऐ.को ३ (१) नं. ले सजाय गर्नुपर्नेमा ऐ.को ५ नं. अनुसार पुनरावेदक प्रतिवादीलाई जबर्जस्ती करणीको उद्योगको कसूर कायम गरी सजाय गरेको शुरू फैसला मिलेको देखिएन । यस्तो अवस्थामा कसूरबाट सफाइ पाऊँ भन्ने पुनरावेदक प्रतिवादीको जिकीरसँग सहमत हुन सकिएन । तसर्थ उक्त आधार र कारणहरूबाट पुनरावेदक प्रतिवादीलाई जबर्जस्ती करणी उद्योगको कसूर सजाय गरेको पर्सा जिल्ला अदालतबाट मिति २०६५।१२।३० गते भएको फैसला नमिलेकोले सो फैसला केही उल्टी हुने र प्रत्यर्थी पुनरावेदक प्रतिवादी महेश पटेल कुर्मीलाई जबर्जस्ती करणीको ३(१) नं. ले १०(दश) वर्ष कैद हुने तथा ऐ.को १० नं. ले दश हजार रूपैयाँ क्षतिपूर्तिसमेत पीडित बालिकाले पुनरावेदक प्रतिवादीबाट भरी पाउने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, हेटौडाको मिति २०६६।११।११ को फैसला ।

प्रमाण ऐन, २०३१ को दफा २५ मा प्रमाणको भार वादीमा रहने व्यवस्था रहेकोमा वादीबाट ठोस र तथ्ययुक्त प्रमाण पेश हुन सकेको छैन । प्रतिवादीले अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कार रहेको स्थितिमा अनुसन्धान अधिकारीसमक्ष साबित रहेको भन्ने आधारमा मात्र कसूरदार ठहर्‍याउन मिल्दैन । घटनास्थल मुचुल्का, वस्तुस्थिति मुचुल्का, बरामदी मुचुल्काका मानिस तथा पीडित र जाहेरवालासमेतलाई अदालतमा उपस्थित गराई बकपत्र गराईएको छैन । अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने व्यक्तिले अदालतमा उपस्थित भई बकपत्र नगरेको अवस्थामा त्यस्तो कागज गर्ने व्यक्तिको भनाईलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिन मिल्दैन । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले पनि अदालतमा आई बकपत्र गरेको छैन । यसरी वादीले अनुसन्धानको क्रममा तयार गरिएका प्रमाण पुष्टि हुने गरी अदालतमा परीक्षण गराउन नसकेको अवस्थामा केवल अनुसन्धानको क्रममा तयार भएको प्रमाणको आधारमा मात्र कसूरदार ठहर्‍याउन नमिल्ने स्थितिमा आरोपित कसूर गरेको ठहर्‍याएको पुनरावेदन अदालत, हेटौडाको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफा पाऊँ भन्ने व्यहोराको प्रतिवादीले यस अदालतमा दिएको पुनरावेदनपत्र ।

प्रतिवादीले अदालतमा बयान गर्दा कसूरमा इन्कार रही बयान गरेको, अनुसन्धानको क्रममा बुझिएका मानिसहरूले आई बकपत्र गरेको नदेखिनुका साथै स्वास्थ्य जाँच गर्ने विशेषज्ञसमेतले बकपत्र नगरेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा १८, २३(७), ५४ तथा अ.बं. १८४क को परिप्रेक्ष्यमा प्रतिवादीलाई कसूरदार ठहर्‍याई सजाय गरेको पुनरावेदन अदालत, हेटौडाको फैसला फरक पर्न सक्ने देखिँदा अदालती बन्दोस्तको २०२ नं. बमोजिम छलफलको निमित्त महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६९।५।२० को आदेश ।

नियमबमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक/प्रतिवादी महेश पटेल कुर्मीका तर्फबाट विद्वान अधिवक्ता लिलामणि पौडेलले जाहेरवाला, पीडित र अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूले अदालतमा आई बकपत्र नगरेको स्थितिमा निजहरूले अनुसन्धानको सिलसिलामा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन मिल्दैन । प्रतिवादीले आरोपित कसूरमा इन्कार रही अदालतमा बयान गरेका छन् । जाहेरवालासँग रिसईबी रहेको भनी प्रतिवादीले अदालतमा गरेको बयानलाई निजका साक्षीले गरेको बकपत्रले पुष्टि गरेको छ । यस्तो स्थितिमा प्रतिवादीलाई कसूरदार ठहर गरी पुनरावेदन अदालत, हेटौडाबाट भएको फैसला नमिलेकोले उल्टी गरी प्रतिवादीलाई सफा दिने गरी फैसला हुनुपर्छ भनी बहस गर्नुभयो । यस्तै, प्रत्यर्थी/वादी नेपाल सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ता टिकेन्द्र दाहालले प्रतिवादी अनुसन्धान अधिकारीसमक्ष आरोपित कसूरमा साबित भई बयान गरेका छन् । प्रत्यक्षदर्शी/जाहेरवालाको कीटानी जाहेरी र पीडितले अनुसन्धानको क्रममा यी प्रतिवादीले आफलाई जबर्जस्ती करणी गरेको भनी लेखाई दिएकी छन् । पीडितको स्वास्थ्य जाँच प्रतिवेदनबाट योनीको मध्यभागको ओठमा खुइलिएको भन्ने देखिन्छ । त्यसकारण प्रतिवादीलाई अभियोग माग दावीबमोजिम सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत, हेटौडाको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनी बहस गर्नु भयो ।

उपयुक्त बहस जिकर एवं मिसील अध्ययन गरी पुनरावेदन अदालत, हेटौडाको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन भन्ने निर्णय दिनुपरेको छ ।

2. प्रतिवादी महेश पटेलले मेरी छोरी काजलकुमारीलाई मिति २०६४।५।२८ गते जबर्जस्ती करणी गरेकोले कारवाही गरी पाऊँ भन्ने जाहेरी भई पिडीतको बयान, शारीरिक परीक्षणसमेतबाट जबर्जस्ती करणी गरेको देखिँदा निज महेश पटेललाई मुलुकी ऐन, जबर्जस्ती करणीको ३(१) नं.को कसूरमा सजाय गरी निज प्रतिवादीबाट १० नं. बमोजिम क्षतिपूर्तिसमेत भराई पाऊँ भन्ने अभियोग दावी रहेको छ ।

3. प्रतिवादी महेश पटेल कसूरजन्य कुरामा अनुसन्धान अधिकारीमा साबित भए पनि अदालतमा इन्कार रही बयान गरेका छन् । प्रतिवादीले जाहेरवालासँग आफ्नो झगडा परेको कारणले फँसाउनका लागि जाहेरी दिएको भनी अदालतमा बयान गरेका छन् । निजको सो बयानलाई निजका साक्षी सुरेन्द्र मण्डलले अदालतमा बकपत्र गरी पुष्टि गरेको देखिन्छ ।

4. पीडित काजलकुमारी, निजकी आमा र जाहेरवाला, घटनास्थल तथा बरामदी मुचुल्का र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूलाई साक्षी सरह बकपत्र गर्न अदालतमा उपस्थित गराई दिन पर्सा जिल्ला अदालतले मिति २०६४।७।२९ मा जिल्ला प्रहरी कार्यालय, पर्सालाई लेखी पठाएकोमा जाहेरवालासमेतका सरकारी गवाहहरूको घर ठेगानामा जाँदा निजहरू फेला नपरेको भन्ने व्यहोराको मुचुल्का प्राप्त हुन आएको भन्ने जिल्ला सरकारी वकील कार्यालयको मिति २०६४।९।२ को पत्रबाट देखिन्छ । तत्पश्चात् पनि पर्सा जिल्ला अदालतले मिति २०६५।८।१६, मिति २०६५।१०।२७समेतका पत्रहरूबाट सरकारी पक्षका साक्षी गवाह उपस्थित गराई दिन पटकपटक जिल्ला प्रहरी कार्यालय, पर्सामा लेखी पठाएकोमा ती साक्षी गवाहलाई वादी पक्षले अदालतमा उपस्थित गराई बकपत्र गराउन सकेको देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा २५ ले प्रमाणको भार वादीमा रहने व्यवस्था गरेको परिप्रेक्ष्यमा जाहेरवाला, पीडित र अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूले अदालतमा उपस्थित भई बकपत्र गर्न सकेको देखिएन । अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरूले अदालतमा साक्षी सरह बकपत्र नगरेसम्म त्यस्तो प्रमाणलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम ठोस र विश्वसनीय प्रमाण मान्न मिल्दैन ।

5. प्रमाण ऐन, २०३१ को दफा १८ मा कुनै काम, घटना वा अवस्थाका सम्न्धमा भएको तहककात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल काननबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था रहेको छ । तर अनुसन्धान तहककातका सम्न्धमा घटना र वारदातका सम्न्धमा व्यक्त गर्ने पीडित काजलकुमारी र निजकी आमा जाहेरवाला गीतादेवी, पिडीतको शारीरिक परीक्षण गर्ने डाक्टरसमेत कोही पनि अदालतमा उपस्थित भई बकपत्र गरेको अवस्था देखिँदैन । यस्तै प्रमाण ऐन, २०३१ को दफा २३(७) मा कुनै व्यक्तिले व्यक्त गरेको कुनै राय सो व्यक्ति साक्षीको रूपमा आफै अदालतमा उपस्थित भएमा मात्र प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था रहेको पाइन्छ । तर पीडितको स्वास्थ्य परीक्षण गरी प्रतिवेदन दिने डाक्टर पनि अदालतमा साक्षीको रूपमा उपस्थित भएको देखिदैन ।

6. कुनै विशेषज्ञले प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम साक्षी सरह अदालतमा उपस्थित भई बकपत्र नगरेको र त्यस्तो बकपत्रलाई अर्को पक्षले जिरह गर्ने मौका नपाएकोमा त्यस्तो विशेषज्ञको रायलाई प्रमाणमा लिन उक्त कानूनी व्यवस्थाबमोजिम मिल्ने हुँदैन । त्यस्तै जाहेरवाला वा पीडितले अनुसन्धानको क्रममा व्यक्त गरेको कथनलाई निजहरू साक्षी सरह अदालतमा उपस्थित भई बकपत्र नगरेको अवस्थामा त्यस्तो कथनलाई पनि सो दफा १८ बमोजिम प्रमाणमा लिन मिल्दैन । यसरी वादीबाट अनुसन्धान तहककातको क्रममा तयार भएको लिखतमा उल्लेख भएको कुरा सो कुरा व्यक्त गर्ने व्यक्तिहरू जाहेरवाला, डीत काजलकुमारी, डीतको शारीरिक परीक्षण गर्ने मेडिकल अधिकृत, वस्तुस्थिति मुचुल्कासमेतका व्यक्तिहरू अदालतमा साक्षी सरह उपस्थित भई बकपत्र गर्न नआएको र साक्षी सरह बकपत्र गरेको नदेखिएकोले अनुसन्धान तहककातका क्रममा घटनाका सम्न्धमा निजहरूले व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १८, २५ एवं २३(७) बमोजिम अकाट्‍य, निश्चयात्मक र विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन ।

7. तसर्थ प्रतिवादी महेश पटेल प्रहरीसमक्ष कसूरमा साबित भए पनि अदालतमा इन्कार रहेक, अभियोग दावीका सम्न्धमा अनुसन्धानका क्रममा निजका विरूद्ध व्यक्त गर्ने व्यक्तिहरू अदालतमा उपस्थित भई बकपत्र नगरेको अवस्थामा तहककातका सिलसिलामा व्यक्त गरेको कथन मात्रलाई प्रतिवादीको विरूद्ध निश्चयात्मक, विवादरहित, ठोस र विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न नसकिने हुँदा पर्याप्त र शंकारहित निर्विवाद प्रमाणको अभावमा प्रतिवादी महेश पटेल कुर्मीलाई कसूरदार ठहर्‍याएको पर्सा जिल्ला अदालतको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत, हेटौडाको मिति २०६६।११।११को फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुने र आरोपित कसूरबाट प्रतिवादीले सफा पाउने ठहर्छ । अरूमा तपसील बमोजिम गर्न

तपसील

पुनरावेदक प्रतिवादी महेश पटेल कुर्मी के, माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरू र पुनरावेदन अदालतको फैसला उल्टी भई निज प्रतिवादी महेश पटेल कुर्मीले आरोपित कसूरबाट सफा पाउने ठहरी फैसला भएको हुँदा पुनरावेदन अदालत, हेटौडाको मिति २०६६।११।११को फैसलाबमोजिम प्रतिवादीलाई ठहरेको कैदको लगत र क्षतिपूर्ति भराई दिन राखेको लगतसमेत कट्टा गर्नु भनी पर्सा जिल्ला अदालतमा लेखी पठाउनु.......................

प्रतिवादी महेश पटेल कुर्मीले अभियोग दावीबाट सफा पाउने ठहरेकोले निजलाई थुनामुक्त गरी दिनु भनी सम्न्धित कारागारमा लेखी पठाउनु भनी मिति २०७०।९।१ मा छुट्टै आदेश भई सोबमोजिम निजलाई थुनामुक्त गरिदिन लेखी पठाई सकिएको देखिँदा थप केही गरी रहन परेन...............................................२

यो फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिन ..........................................................................................................................३

 

उक्त रायमा सहमत छु ।

न्या.प्रा.डा.भरतबहादुर कार्की

 

इति संवत् २०७० साल पुस १ गते रोज २ शुभम् ।

इजलास अधिकृत M किशोर घिमिरे

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु