शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९६० - ज्यान मार्ने उद्योग

भाग: ६० साल: २०७५ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत 

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

फैसला मिति : २०७४।११।२५

०७२-CR-१७३५

 

मुद्दा : ज्यान मार्ने उद्योग

 

पुनरावेदक / वादी : सुन्दरी पुनको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : बाँके जिल्ला नेपालगञ्ज नगरपालिका वडा नं.१ बस्ने बबिन भन्ने बिक्रम गुरूङ

 

प्रतिवादीले ताकेर गोली प्रहार गरी पीडित मर्न नपाएको अवस्था देखिनु नै मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं.को ज्यान मार्ने कसुर गरेको स्थापित हुने ।

(प्रकरण नं.३)

दिनदहाडै गोली प्रहारबाट पीडित घाइते भएको अवस्थालाई सामान्य कुटपिटको मात्र संज्ञा दिई प्रतिवादीलाई ज्यान मार्ने उद्योगको कसुरबाट उन्मुक्ति दिने कुरा न्यायोचित मान्न नसकिने ।

(प्रकरण नं.४)

 

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायधिवक्ता श्री सोमाकान्ता भण्डारी

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरे एवं अधिवक्ता श्री सुरेसकुमार पौडेल

अवलम्बित नजिर :

ने.का.प. २०४२, अंक ७, नि.नं. २४४०

ने.का.प. २०६८, अंक १२, नि.नं.८७३४

सम्बद्ध कानून :

हातहतियार खरखजाना ऐन, २०१९

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री अम्बरराज पौडेल

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिंहा 

माननीय न्यायाधीश श्री यमुना भट्टराई 

 

फैसला

न्या.प्रकाशमान सिंह राउत : तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जको मिति २०७२।०६।११ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई हाल न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

 

तथ्य खण्ड

जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वार्ड नं.१६ स्थित सडक किनारामा खडा भएका रवि पुनमगरलाई हाल नाम थर खुल्न नआएका भे.२प.८८२ नं.को मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरी रवि पुनमगरको बायाँ खुट्टाको साँप्रामा गोली लागि घाउ भएको, जमिनमा w.w.f.k.f.. लेखेको गोलीको खोका थान-१ र पेस्तोलको जस्तो गोली अगाडि भाग कुचिएको अवस्थामा रहेको भन्‍ने घटनास्थल मुचुल्का ।

मिति ०६७।०२।०३ को दिउँसो मेरो छोरा रवि पुनमगरलाइ पूर्व रिसइवीका कारणबाट जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१६ स्थित बबिन भन्‍ने बिक्रम गुरूङ र कालु भन्‍ने विपिन लामासमेतले भे.२प.८८२ नं.को मोटरसाइकलमा आई उखुको जुस खाई घरतर्फ फर्कंदै गर्दा निजहरूको साथमा रहेको पेस्तोल फाएर गरी छोरा रवि पुनमगरको साँप्रामा लागि सख्त घाइते बनाएको हुँदा निजलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्‍ने बेहोराको जाहेरी दरखास्त ।

म मिति २०६७।०२।०३ को दिउँसो बजार घुमफिर गर्न गएका अवस्थामा बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१६ कृषि विकास बैंकअगाडि जुस खाई घरतर्फ जाँदै गर्दा विपिन लामा, बिक्रम गुरूङ र बब्लु भन्‍ने केटाहरू मोटरसाइकलमा आई मलाई कालु भन्‍ने विपिन लामाले गोली प्रहार गरी भागी गएका हुन् भन्‍ने रवि पुनले गरेको कागज ।

मिति २०६७।०२।०३ मा म र साथी निर्मल चौधरी धम्बोजी चोकतर्फ आइरहेका बेला गोलीको आवाज सुनेपछि वारदात स्थानमा हेर्दा रवि पुन एक्कासी चिच्याएका र प्रतिवादी बिक्रम गुरूङसमेत भाग्दै गरेको देखी मसमेत उक्त स्थानतर्फ गई घाइते रवि पुनलाइ उठाइ उपचारका क्रममा भेरी अञ्चल अस्पतालतर्फ लगेका हौं भन्‍ने बेहोराको देवराम गिरीको कागज ।

मिति २०६७।०२।०३ मा वारदात स्थानमा गोली फायर भएको थाहा पाई वारदात स्थानमा मोटरसाइकल भएका मानिसले गोली फायर गरी भागेपछि रवि पुन घाइते अवस्थामा थिए । वारदातका सम्बन्धमा बुझ्दा बिक्रम गुरूङ, विपिन लामा र बब्लु भन्‍ने व्यक्तिले गोली प्रहार गरी भागी गएका हुन् भन्‍ने बेहोराको सफिक खान, ओमकार खान, रविन्द्र मल्ल, सुरेश खडका, साबिर खान, परमेश्वर थापा र सुशिला थापाको कागज ।

प्रतिवादी बिक्रम गुरूङ हाम्रो घर वतनका मानिस हुन । निजको वास्तबिक वतन जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१ हो । हाल निज कहाँ छन? थाहा छैन भन्‍ने बेहोराको फरार प्रतिवादी फेला नपरेको मुचुल्का ।

सुन्दरी पुनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुशिल थापासमेत भएको ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी सुशिल थापालाई हाजिर जमानी छाडिदिनु भन्‍ने जिल्ला सरकारी वकिल कार्यालय, बाँकेको च.नं.६३ मिति २०६७।०४।१९ को पत्र यस कार्यालयमा प्राप्त भएको हुँदा निजलाई खोजी भएका बखत उपस्थित गराउनेछु भनी जिल्ला दैलेख बेलपाटा ७ घर भई जिल्ला वन कार्यालयमा स.ब.र. जमदार पदमा कार्यरत थिरबहादुर थापा मगरले बुझिलिएको जिम्मा जमानी कागज ।

प्रतिवादी श्याम परियारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मसमेत भएको ज्यानमार्ने उद्योग मुद्दामा म फरार भई काठमाडौं गई बसेका अवस्थामा को कसले बाँके जिल्ला नेपालगञ्‍ज नगरपालिका वडा नं.१६ स्थित कृषि विकास बैंक अगाडि ऐ. वडा नं.८ बस्ने रवि पुनलाई गोली हानी घाइते बनाएको भनी साथीहरूले फोनबाट जानकारी गराएबाट थाहा पाएको  हुँ । निजलाई को कसले गोली प्रहार गरेका हुन्? थाहा भएन भन्‍ने बेहोराको प्रतिवादी कालु भन्‍ने विपिन लामाको अनुसन्धानको क्रममा भएको कागज ।

मिति २०६७।०२।०३ मा जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१६ कृषि बिकाश बैंक अगाडि सार्वजनिक स्थल बाटोमा हो-हल्ला भएको सुनी मसमेत उक्त स्थानमा जाँदा जाहेरवालाको छोरा रवि पुनलाई गोली प्रहार भई निज घाइते अवस्थामा थिए । निजलाई को कसले गोली प्रहार गरेका हुन् भनी बुझ्दा मोटरसाइकलमा आएका कालु भन्‍ने विपिन लामा, बिक्रम गुरूङ र बब्लु भन्‍ने केटासमेतले गोली प्रहार गरी भागी गएका हुन् भन्‍ने बेहोराको बिजय गुरूङ, भन्सार यादव, सहिद शेष, किशोर रेग्मीसमेतको कागज ।

प्रतिवादी बिक्रम गुरूङ हाल आफ्नो घर वतनमा छैनन् निजको वास्तबिक वतन जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१ हो भन्‍ने बेहोराको फरार मुचुल्का ।

यसमा अभियुक्तद्वय कालु भन्‍ने विपिन लामा र बबिन भन्‍ने बिक्रम गुरूङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १५ नं. बर्खिलापको कसुर अपराधमा ऐ. महलको १५ नं. बमोजिम सजाय हुन र अभियुक्त कालु भन्‍ने विपिन लामा प्रस्तुत मुद्दामा छुटी जाने अवस्था भएमा मिति २०६७।०२।२७ मा बाँके जिल्ला अदालतमा दायर गरिएको श्यामलाल परियारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विपिन लामासमेत भएको ज्यानमार्ने उद्योग मुद्दामा कारवाही गरिपाउँ भन्ने बेहोराको अभियोग पत्र । 

मेरो नाम कालू होइन, झुट्ठा बेहोरा लेखाई ममाथि जाहेरी दिएका हुन्, रवि पुनमगरलाई मैले चिनेको छैन । किन ममाथि जाहेरी दिए, थाहा छैन । रवि पुनमगरलाई कसरी चोट घाउ भयो? मलाई थाहा छैन । मलाई  सजाय हुने होइन, म कालू भन्‍ने विपिन लामा होइन । तसर्थ, दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कालु भन्‍ने विपिन लामाले सुरू अदालतमा गरेको बयान । 

वविन भन्‍ने बिक्रम गुरूङका नाउँमा जारी भएको म्याद पुर्जी मिति २०६८।०२।२६ मा तामेल भएकोमा म्यादभित्र हाजिर हुन नआई सुरू म्याद गुजारी बसेको ।

मिति २०६७।०२।०३ मा विपिन लामाले जाहेरवालाको छोरा रवि पुनलाई गोली हानेका होइनन् । को कसले रवि पुनलाई आक्रमण गरे निजलाई थाहा होला । मलाई आक्रमण गरेको कुरा थाहा छैन । सो मितिमा विपिन लामा भारत कलकत्तामा थिए । २०६५ भदौ महिनादेखि निज विपिन लामा भारत कलकत्ता गएका हुन्, घटना वारदात मितिमा निज नेपालमै नभएकोले रवि पुनलाई ज्यान मार्ने कसुर गर्ने कुरै भएन । निजलाई फसाउनको लागि झुट्ठा जाहेरी दिएका हुन् भन्‍ने बेहोराको प्रतिवादी विपिन लामाको साक्षी प्रितम प्रधानले सुरू अदालतमा गरेको  बकपत्र । 

उक्त मिति २०६७।०२।०३ को दिउँसो म टेम्फो समितिमा काम गर्न गइरहेको बेलामा धम्बोझीमा चार पाँच जना केटाहरूले मलाई घेरेर कुनामा लगे, तिनीहरूमा १ जना बबिन गुरूङलाई मात्र 

चिन्दछु । तँ कहाँ बस्छस्, के गर्छस्? भनी एउटाले सोध्यो र हिरो बन्छस् भनी पेस्तोल जस्तो हतियारले गोली हान्यो । त्यसपछि म बेहोस भएँ । मलाई बबिन भन्‍ने बिक्रम गुरूङले हानेको हो, अरूको नाम खुलाउन सक्दिन । सो घटनामा ३।४ जना मान्छे थिए । उक्त मितिमा प्रहरीसमक्ष गरेको कागजमा लेखिएको बेहोरामा विपिन लामा थिए भनी लेखिएको कुरा होइन । विपिन लामा थिएनन्, अरू सबै ठीक छ । सहिछाप, ल्याप्चे सहिछाप मेरै हुन् भन्‍ने बेहोरा पीडित रवि पुनले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त मिति २०६७।०२।०३ को दिउँसो म घरमै थिएँ । घटना धम्वोझीमा भएको हो,  कालु भन्‍ने विपिन लामाले घटना घटाएको हो । निजको साथमा अरू को थिए? मलाई थाहा भएन । मेरो छोरा रवि पुनलाई के चिज प्रयोग गरेर ज्यान मार्ने उद्योग गरेका हुन्, त्यो मलाई थाहा  भएन । ज्यान मार्ने उद्योग गरेका हुन् वा होइनन थाहा भएन । तत्काल चोट लागेको अवस्थामा प्रहरीसमक्ष जाहेरी दिएको थियो भन्‍ने बेहोरा जाहेरवाली सुन्दरी पुनले सुरू अदालतमा बकपत्र गरेको ।

ज्यानसम्बन्धीको १५ नं.मा उल्लेख भए अनुसारको मार्ने मनसायले गोली चलाएको नदेखिनुको साथै मर्नेसम्मको कार्य पनि नभएको भए तापनि निजले पीडितलाई गोली हान्ने कसुर गरेको कुरा स्थापित हुन आउँदा अभियोग मागदाबीबमोजिमको कसुर नभई कुटपिटको महलअन्तर्गत कसुर गरेको देखिन जाँदा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम यो मुद्दा कुटपिटमा परिणत गरी यसै मिसिलबाट कारवाही गर्नु भन्‍ने सुरू जिल्ला अदालतबाट मिति २०७१।०१।१६ मा भएको फैसला ।

पीडितको साप्रामा गोली लागि तत्काल उपचार भएका कारण ज्यान बच्न गएको हो । यदि सो गोली अन्य संवेदनशील अंगमा लाग्न गएको भए पीडितको ज्यान बच्न सक्ने अवस्थाको विद्यमानता नरहेकोमा गोली हानी कुटपिट गरेको भन्‍ने तथ्य नै विवादित रहेको छ । साँप्रामा गोली लागेको हुँदा मर्नेसम्मको नभएको कुटपिट सम्मको कसुर गरेको देखिने भनी प्रतिवादीलाई सफाइ दिई प्रस्तुत मुद्दालाई कुटपिटमा परिणत गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत नेपालगञ्‍जमा परेको पुनरावेदन पत्र ।

घाउ जाँच फारामबाट Gun Shot Injury भन्‍ने उल्लेख भएकोले सोको विवेचना र विश्‍लेषणको अभावमा भएको सुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय भई फरक पर्ने देखिएकोले छलफलको निमित्त अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीका नाममा सूचना म्याद जारी गरी म्यादभित्र उपस्थित भए वा हुने अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत नेपालगञ्‍जबाट मिति २०७२।०२।३१ मा भएको आदेश ।

अभियोग मागदाबीबमोजिमको कसुर नभई कुटपिटको महलअन्तर्गत कसुर गरेको देखिँदा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम यो मुद्दा कुटपिटमा परिणत गरी यसै मिसिलबाट कारवाही गर्नु भन्‍ने सुरू जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला । 

घटनास्थलबाट w.w.f.k.f. लेखिएको गोलीको खोका र पेस्तोलको जस्तो गोली बरामद भएको देखिन्छ । जाहेरवाली सुन्दरी पुनले जाहेरीमा रवि पुनमगर र प्रतिवादीहरू बीच २०६५ सालदेखि रिसइवी रहेकोमा वारदात मितिमा निज प्रतिवादीहरूले रवि पुनमगरलाई एकान्ततर्फ लैजाँदै गर्दा प्रतिवादीहरूको पञ्‍जाबाट फुत्किई भाग्दै गर्दा निजहरूले चलाएको गोली लागि घाइते भएको भनी उल्लेख गरेको पाइन्छ । पीडितको साँप्रामा गोली लागेको तथ्य घाउ जाँच केश फारामबाट देखिन्छ । पीडितले अदालतमा बकपत्र गर्दा आफूलाई प्रतिवादीहरू मध्येको बबिन भन्ने बिक्रम गुरूङले गोली हानेको हो भनी किटान गरी बकपत्र गरेको पाइन्छ । गोली अन्य संवेदनशील अङ्गमा लाग्न गएको भए पीडितको ज्यानै जान सक्ने जोखिमयुक्त अवस्था विद्यमान रहेको छ । ने.का.प.२०६८, अंक १२, नि.नं.८७३४, पृ.२०४५ मा बन्दुकबाट गोली फायर गर्न लागेको पीडकलाई सो फायर गर्न रोक्न नसक्ने अवस्थामा सो गोलीलाई छल्नुबाहेक त्यसबाट बच्न अन्य हस्तक्षेपको विकल्प रहन सक्ने अवस्था नरहने हुँदा ताकेर गोली फायर गरेको अवस्थामा मृत्यु नभएकै कारण मनसाय राखेको थिएन भन्नु न्यायसँगत र तर्कपूर्ण नहुने भन्ने सिद्धान्त प्रतिपादनसमेत भएको छ । उल्लिखित आधार कारणबाट प्रतिवादी बबिन भन्ने बिक्रम गुरूङले आरोपित कसुर गरेको पुष्टि हुँदाहुँदै निजलाई अभियोग मागदाबीबाट सफाइ दिई सो मुद्दालाई कुटपिटमा परिणत गरिदिने ठहर गरेको पुनरावेदन अदालत,  नेपालगञ्‍जको फैसला प्रमाण र इन्साफको रोहमा त्रुटिपूर्ण रहेकाले उल्टी गरी सुरू अभियोग मागदाबीबमोजिम नै प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मिति २०७२।१०।१९ मा पर्न आएको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन ।

प्रतिवादीले पीडितलाई पेस्तोलको गोली चलाएको गोली पीडितको अङ्गमा लागेको र हालसम्म प्रतिवादी फरार रहेको अवस्थामा प्रतिवादी विरूद्धको अभियोग दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत नेपालगञ्‍जको मिति २०७२।०६।११ को फैसला ने.का.प.२०६८, अंक १२, नि.नं.८७३४ को मुद्दामा प्रतिपादित सिद्धान्त मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १५ नं. को त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएकोछ भन्ने बेहोराको यस अदालतको मिति २०७३।०१।१४ को आदेश ।

 

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन पत्रसहितको मिसिल अध्ययन गरी हेरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमाकान्ता भण्डारीले घटनास्थलबाट w.w.f.k.f. लेखिएको गोलीको खोका र पेस्तोलको गोली बरामद भएको छ, जाहेरवाली सुन्दरी पुनले जाहेरीमा रवि पुनमगर र प्रतिवादीहरू बीच रिसइवी रहेको कुरा उल्लेख गरेकी छिन् । पीडितको साँप्रामा गोली लागेको तथ्य घाउँ जाँच केश फारामबाट पुष्टि भएको छ । पीडितले अदालतमा बकपत्र गर्दा प्रतिवादीको नाउँ किटान गरेको छ । समझमा रहेको व्यक्तिले अर्को व्यक्तिलाई ताकेर गोली फायर गर्नु मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १५ नं.को कसुर गर्नु हो । ने.का.प.२०६८, अंक १२, नि.नं.८७३४, पृ.२०४५ मा गोली फायर गर्नु नै ज्यान मार्ने मनसायपूर्णको कार्य हो भनी सिद्धान्त प्रतिपादनसमेत भएकोले पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला त्रुटिपूर्ण रहेको हुँदा सो फैसला उल्टी गरी प्रतिवादी बबिन भन्ने बिक्रम गुरूङलाई सुरू अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।

यसै गरी प्रतिवादी बबिन भन्ने बिक्रम गुरूङको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री गोपालकृष्ण घिमिरे एवं अधिवक्ता श्री सुरेसकुमार पौडेलले प्रतिवादी विपिन लामालाई सुरू र पुनरावेदन अदालतबाट सफाइ दिएको अवस्था छ । मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १५ नं. बमोजिमको ज्यान मार्ने उद्योगको कसुर हुन मनसाय तत्त्व प्रतिवादीहरूमा रहेको हुनुपर्दछ । अपराधका आवश्यक तत्वहरू र चरणहरू समेत शृङ्खलाबद्धरूपमा तादात्म्य भएको अवस्थामा मात्र अभियुक्तलाई कसुरदार करार गर्न मिल्ने हो । गोली पीडितको संवेदनशील अङ्गमा लागेको छैन । मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिमको कसुरदार करार गर्न नमिल्ने हुँदा सुरू जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर गरेको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला सदर गरिपाउँ भनी बहस गर्नुभयो ।

अभियुक्तद्वय कालु भन्‍ने विपिन लामा र बबिन भन्‍ने बिक्रम गुरूङले मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ र १५ नं.को कसुर गरेकाले ऐ.महलको १५ नं.बमोजिम सजाय र अभियुक्त कालु भन्‍ने विपिन लामा प्रस्तुत मुद्दामा छुटी जाने अवस्था भएमा वादी नेपाल सरकार र प्रतिवादी विपिन लामासमेत भएको ज्यानमार्ने उद्योग मुद्दामा कार्वाही गरिपाउँ भन्ने बेहोराको अभियोग मागदाबी रहेकोमा अभियोग मागदाबीबमोजिमको कसुर नभई कुटपिटको महलअन्तर्गत कसुर गरेको देखिएकोले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत गरी दिने ठहर्‍याई सुरू जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । सुरू जिल्ला अदालतको सो फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनमा सुरू फैसला सदर हुने ठहर गरी भएको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसलामा वादी नेपाल सरकारले चित्त नबुझाई यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भनी निवेदन दिएकोमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको रहेछ । 

घटनास्थलबाट w.w.f.k.f. लेखिएको गोलीको खोका र पेस्तोलको जस्तो गोली बरामद भएको, पीडित रवि पुनमगर र प्रतिवादीहरू रिसइवी रहेको, पीडितको साँप्रामा गोली लागेको तथ्य घाउँ जाँच केश फारामबाट देखिएको, पीडितले अदालतमा बकपत्रमा बबिन भन्ने बिक्रम गुरूङले गोली हानेको हो भनी किटान गरेको, ने.का.प.२०६८, अंक १२, नि.नं.८७३४, पृ.२०४५ मा गोली फायर गरेको अवस्थामा मृत्यु नभएकै कारण मनसाय राखेको थिएन भन्नु न्यायसङ्गत र तर्कपूर्ण नहुने भन्ने सिद्धान्त प्रतिपादनसमेत भएको हुँदा पुनरावेदन अदालत,  नेपालगञ्‍जको फैसला प्रमाण र इन्साफको रोहमा त्रुटिपूर्ण रहेकाले उल्टी गरी सुरू अभियोग मागदाबीबमोजिम नै प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने बेहोराको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन जिकिर रहेकोछ । प्रतिवादीले पीडितलाई पेस्तोलको गोली चलाएको, गोली पीडितको अंगमा लागेको र हालसम्म प्रतिवादी फरार रहेको अवस्थामा प्रतिवादी विरूद्धको अभियोग दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला ने.का.प.२०६८, अंक १२, नि.नं.८७३४ को मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको त्रुटि रहेको भन्ने बेहोराको यस अदालतको निस्सा प्रदान देखिँदा पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला मिलेको छ वा छैन्? वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदनको जिकिर तथा यस अदालतबाट निस्सा प्रदान गर्दा लिएका आधार कारण पुग्न सक्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो । 

२. निर्णयतर्फ विचार गर्दा, घटनास्थलबाट w.w.f.k.f. लेखिएको गोलीको खोका र पेस्तोलको जस्तो गोली बरामद भएको भन्ने तथ्य मिति २०६७।०२।०३ को घटनास्थल मुचुल्काबाट देखिएको छ । बबिन भन्‍ने बिक्रम गुरूङ र कालु भन्‍ने विपिन लामासमेतले भे.२प.८८२ नं.को मोटरसाइकलमा आई निजहरूको साथमा रहेको पेस्तोल फाएर गरी रवि पुनमगरको साँप्रामा लागि सख्त घाइते बनाएको हुँदा निजलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्‍ने बेहोराको जाहेरवाली पीडितको आमा सुन्दरी पुनको किटानी जाहेरी रहेको पाइन्छ । म र साथी निर्मल चौधरी धम्बोजी चोकतर्फ आइरहेका बेला गोलीको आवाज सुनेपछि वारदात स्थानमा हेर्दा रवि पुन एक्कासी चिच्याएका र प्रतिवादी बिक्रम गुरूङसमेत भाग्दै गरेको देखी मसमेत उक्त स्थानतर्फ गई घाइते रवि पुनमगरलाई उठाई उपचारका क्रममा भेरी अञ्‍चल अस्पतालतर्फ लगेका हौं भन्‍ने बेहोराको देबराम गिरीले गरी दिएको कागज देखिन्छ । प्रतिवादी बबिन भन्ने बिक्रम गुरूङ वारदातपछि फरार रहेको पाइन्छ । पीडितको घाउँ जाँच केस फारममा Type of Injury: Gun shot injury at lt. thigh, Remarks: Bullet has passed from upper part of thigh ... भन्ने उल्लेख भएको पाइन्छ । पीडितले अदालतसमक्ष बयान गर्दा मलाई बबिन भन्‍ने बिक्रम गुरूङले हानेको हो, अरूको नाम खुलाउन सक्दिन भनी उल्लेख गरेबाट वारदातमा बबिन भन्ने बिक्रम गुरूङले पीडितको बाँया साँप्रामा गोली प्रहार गरेको कुरामा विवाद देखिएन । प्रतिवादी बबिन भन्ने विक्रम गुरूङले पीडितको साप्रामा गोली हानी वारदात घटेको तथ्य स्थापित हुन आएको देखिँदा प्रतिवादीबाट गोली हानी भएको कसुर कुटपिटको हो वा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १५ नं. बमोजिमको ज्यान मार्नेसम्मको हो भन्ने कानूनी प्रश्‍नको विवेचना गर्नुपर्ने देखिन आयो । 

३. ने.का.प. २०४२, नि.नं.२४४०, अंक ७ मा जानी जानी भरूवा बन्दुकले फायर गरी घाइते पारेको देखिँदा ज्यान मार्ने उद्योग गरेको ठहर्छ, ने.का.प. २०६८, नि.नं.८७३४, अंक १२ मा  कुनै मानिसलाई ताकेर गोली प्रहार गरिएको छ भने त्यो निश्चित रूपले सो मानिसको ज्यानै मार्नका लागि प्रहार गरिएको भनी स्वाभाविक निष्कर्षमा पुग्न सकिने ।  बन्दूकको गोली प्रहार सामान्य शारीरिक क्षतिको लागि वा कुटपिटबाट पर्न सक्ने जस्तो चोट पुर्‍याउनका लागि हुँदैन । ज्यान मार्ने नै नियतले गोली प्रहार गरिएको भएपनि निशाना गलत भएमा वा पीडितको तत्कालको छलछाम वा आफूलाई बचाउन शरीरलाई गतिशील तुल्याएर होस् वा हान्ने मानिसको निशाना छल्न अन्य उपाय गरेर होस, प्रहारकर्ताको प्रहार सही ठाउँमा लाग्न नसकी पीडित मर्न नसकेको हुन्छ वा घाइते भएपनि तत्काल प्राप्त उपचारको कारण मर्न नपाएको हुन सक्छ । यी कुराहरू कुटपिट र ज्यान मार्ने उद्योगको कसुर कायम गर्ने सन्दर्भमा न्यायिक विश्लेषण र प्रमाण मूल्याङ्कनको विषय हुने भन्नेसमेतको सर्वोच्च अदालतबाट कानूनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उल्लिखित कानूनी सिद्धान्तबमोजिम प्रतिवादीले ताकेर गोली प्रहार गरी पीडित मर्न नपाएको अवस्था देखिनु नै निज प्रतिवादीले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं.को ज्यान मार्ने कसुर गरेको स्थापित हुने देखिन्छ ।      

४. हातहतियार खरखजाना ऐन, २०१९ को दफा २ मा “हातहतियार” भन्नाले राइफल बन्दुक, पिस्तौल, रिभल्भर, माईनिङ र ग्रिनेड, त्यसका पार्टपूर्जाहरू र त्यस्तो हातहतियार बनाउने कल मेसिनलाई समेत जनाउँछ भन्ने उल्लेख भएबाट पेस्तोलसमेत बन्दुकजन्य हातहतियार रहेको कुरा पुष्टि भएको देखिन्छ । बन्दुकजन्य हातहतियार समाजको शान्ति एवं सुरक्षा र व्यवस्थासँग सम्बन्धित रहेको हुन्छ । यस्तो सिङ्गो समाजको शान्ति एवं सुरक्षा र व्यवस्थासँग सम्बन्धित हातहतियारको उचित प्रयोगको व्यवस्था र दुरूपयोगको नियन्त्रण गर्न वाञ्‍छनीय हुन आउँछ । जथाभावीरूपमा गैरकानूनी तवरले बन्दुकजन्य हातहतियारबाट कुनै पनि व्यक्तिले अर्को व्यक्तिमाथि गोली प्रहार गर्नु समाजमा आतङ्क निम्त्याउनु हो । समाजमा अमन चयन, शान्ति, सुरक्षा र व्यवस्था तथा हातहतियारमाथि राज्यको यथोचित नियन्त्रण हुनुपर्नेमा सभ्य समाज सदैव अपेक्षित रहन्छ । प्रस्तुत मुद्दामा दिनदहाडै गोली प्रहारबाट पीडित घाइते भएको अवस्थालाई सामान्य कुटपिटको मात्र संज्ञा दिई प्रतिवादीलाई ज्यान मार्ने उद्योगको कसुरबाट उन्मुक्ति दिने कुरा उल्लिखित सैद्धान्तिक विवेचनाको परिप्रेक्ष्यमा न्यायोचित मान्न सकिँदैन । 

५. प्रतिवादीले ताकेर पीडितमाथि पेस्तोल फायर गरेको देखिई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १५ नं.बमोजिमको ज्यान मार्ने कसुर स्थापित हुन आएकाले अभियोग मागदाबीबमोजिम प्रतिवादी बबिन भन्ने बिक्रम गुरूङले ज्यान मार्ने उद्योगको कसुर गरेको देखियो । निज प्रतिवादीले गोली हानी गरेको कसुरलाई कुटपिटमा परिणत गरिदिने ठहर गरेको सुरू फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला मिलेको देखिएन । प्रत्यर्थी प्रतिवादीका तर्फबाट रहनुभएका कानून व्यवसायीहरूको बहस जिकिरसमेतसँग सहमत हुन सकिएन । 

६. अतः अभियोग मागदाबीबमोजिमको कसुर नभएको भन्‍ने आधारमा कुटपिटमा परिणत गरिदिने ठहर गरेको सुरू फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला मिलेको नदेखिँदा तत्कालीन पुनरावेदन अदालत नेपालगञ्‍जको मिति २०७२।०६।११ को फैसला उल्टी हुने ठहर्छ । प्रतिवादी बबिन भन्ने बिक्रम गुरूङले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १५ नं. बमोजिमको कसुर गरेको देखिँदा सोही महलको १५ नं. बमोजिम ५ वर्ष कैद हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल खण्ड

प्रतिवादी बबिन भन्ने बिक्रम गुरूङ केः- माथि इन्साफ खण्डमा लेखिएबमोजिम अभियोग मागदाबीबमोजिमको कसुर नहुँदा कुटपिटमा परिणत गरिदिने ठहर गरेको सुरू फैसला सदर हुने ठहर्‍याएको तत्कालीन पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला उल्टी हुने भई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम प्रतिवादी बबिन भन्ने बिक्रम गुरूङलाई ५ वर्ष कैद सजाय हुने ठहरी यस अदालतबाट फैसला भएको हुँदा सोको लगत कस्नु भनी सुरू बाँके जिल्ला अदालतमा लेखी पठाउनू ........................................................१

प्रस्तुत मुद्दाको फैसलाको प्रतिलिपि साथै राखी फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालय, रामशाहपथलाई जानकारी दिनू ..........................२

यस मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू .............३

 

उक्त रायमा सहमत छु ।

न्या. डम्बरबहादुर शाही

 

इजलास अधिकृत:- कालिबहादुर साम्यु लिम्बू

इति संवत् २०७४ साल फागुन २५ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु