शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९९७७ - कर्तव्य ज्यान

भाग: ६० साल: २०७५ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

फैसला मिति : २०७४।८।१३

०७१-CR-०८७०

 

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक / वादी : राजदेव मण्डलको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, लौनिया गाउँ विकास समिति वडा नं. ८ बस्‍ने सकुर मन्सुरी मियाँसमेत

 

जाहेरी दरखास्तमा नै उल्लेख नभएको कुरा पछि बकपत्र गर्दा सच्याएकोलाई प्रमाणमा लिन मिल्ने नदेखिने ।

(प्रकरण नं.४)

एक समूहका व्यक्तिले अर्को समूहका वारदातमा संलग्न नै नभएका व्यक्तिहरूलाई पनि झुट्ठा पोल गर्ने सम्भावना रहने हुनाले केवल पोल गरेको भनाइकै आधारमा मात्र न्याय निरूपण गर्दा निर्दोष व्यक्ति पनि सजाय भागी हुनसक्ने सम्भावना रहने हुनाले वारदातको प्रकृति, पीडितको अवस्था, बकपत्र गर्ने व्यक्तिको पीडित र प्रतिवादीसँग भएको सम्बन्धसमेतलाई विश्लेषण गरी त्यस्तो अनुसन्धानमा बुझिएका व्यक्तिहरूले गरेको कागज तथा बकपत्रलाई ग्रहण गर्नुपर्ने ।

(प्रकरण नं.७)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी

प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्नेः-

माननीय न्यायाधीश श्री रामप्रसाद ओली

माननीय न्यायाधीश श्री प्रकाश खरेल

सप्तरी जिल्ला अदालत ।

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री शान्तिराज सुवेदी

माननीय न्यायाधीश श्री बलराम विष्ट

माननीय न्यायाधीश श्री तेजबहादुर राई

पुनरावेदन अदालत राजविराज ।

 

फैसला

न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

जिल्ला सप्तरी, लौनिया गाउँ विकास समिति, वडा नं. ७ स्थित पूर्वमा बाँसघारी, पश्‍चिममा कोशी नहरको शाखा नहर, उत्तरमा बेचु मण्डलसमेतको खेत, दक्षिणमा रहमान मन्सुरीको यति चार किल्लाभित्रमा मिति २०५९।९।२० गते अपरान्‍ह ५ बजे लौनिया गाउँ विकास समिति, वडा नं. ९ बस्‍ने इद्रिस मन्सुरीसमेतले संजयकुमार मण्डलसमेतलाई कुटपिट गरी सो घटनामा सख्‍त घाइते भएका संजयकुमारको धरान घोपा अस्पतालमा उपचार हुँदाहुँदै निज संजयकुमार मण्डलको मृत्यु भएको वारदात स्थानमा बालुवा भएकोले जमिन माडिएको भन्‍ने छुट्टयाउन नसकिने तथा उक्त स्थानमा प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्‍ने देखिएअनुसारको घटनास्थल मुचुल्का ।

जिल्ला सप्तरी, लौनिया गाउँ विकास समिति, वडा नं. ७ स्थित जग्गामा लगाएको गहुँबालीमा मेरो कान्छा भाइ रामसेवक र छोरा संजय मण्डलले मिति २०५९।९।२० गते शनिबारका दिन पानी पटाई रहेको अवस्थामा निज इद्रिस मंसुरी मियाको छोरा ताज मंसुरीसमेत आई दुवै बाबु छोराले म रामसेवकलाई एक्लै पारी हात, मुड्की, लात र बाँसको पट्टासमेतले जत्रतत्र कुटपिट गरिरहेको अवस्थामा हल्ला सुनी गाउँलेहरू आई झगडा छुट्‌याई दिएपश्‍चात् म कुसुमले भाइ रामसेवकलाई लिई विपक्षीहरूले फुसको घर बनाई रहेको स्थानमा गई रामसेवकलाई किन कुटपिट गरेको भनी निजहरूलाई सोध्दा विपक्षीहरू एक हुल भई म कुसुम मण्डललाई समेत बाँसको फट्टाले प्रहार गर्दा मेरो टाउकोको अगाडि भाग फुट्न गयो । कुटपिट भएको हल्ला सुनी छोरा संजयकुमार मण्डल पनि घटनास्थलमा आइपुग्दा विपक्षी फूलो मंसुरीसमेतको मानिसहरूले बाँसको फट्टा, दबिया, बञ्चरो र लाठीसमेत लिई चारैतिरबाट छोरा संजयकुमार मण्डललाई घेरा हाली विपक्षीमध्येका फुलो मंसुरीले दायाँ हात र सकुरले बायाँ हात समाती सहिद मियाँले मार सालेलाई भनी वचन दिनासाथ इद्रिस मियाँले बञ्चरोले छोरा संजयकुमारको टाउकोमा प्रहार गरेपश्‍चात् बचाउन गएका भाइ रामसेवक मण्डल र बुहारी लक्ष्मीदेवी मण्डललाई समेत विपक्षीहरूले कुटपिट गरेको हुँदा उक्त वारदातमा सख्‍त घाइते भएका छोरा संजयकुमार मण्डलको उपचार हुँदाहुँदै मिति २०५९।९।२० गते राति १२ बजेको समयमा धरानमा मृत्यु भएकोले काका राजदेव मण्डलले तत्‍सम्बन्धी जाहेरी दिएको हुँदा हाम्रा आङ जीउमा लागेको चोटको घा जाँच गराई विपक्षीहरूलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍नेसमेत बेहोराको कुसुम मण्डल, रामसेवक मण्डल र लक्ष्मीदेवी मण्डलको संयुक्त निवेदन ।

बायाँ कानको पछाडिमा २×१ से.मी. काटिएको घाउ, दाहिने कुहिनाको ३×१ से.मी.काटिएको घाउ १, दाहिने हात पूरै सुनिएको एवं दाहिने हातको दोस्रो र तेस्रो औंलाको हड्डीहरू भाँचिएको भन्‍ने रामसेवक मण्डलको घाउ जाँच केस फाराम ।

निधारको बायाँतर्फका भागमा २ इन्च बराबरको चोट लागेको भन्‍ने कुसुम मण्डलको घाउ जाँच केस फाराम ।

बायाँ पाखुरामा ४×१ से.मी. को छाला खुइलिएको घाउ लागेको भन्‍ने लक्ष्मीदेवी मण्डलको घा केस फाराम । 

भतिजा कुसुमलाल मण्डलको खेतको उत्तरतर्फ विपक्षीमध्येका फुलो मंसुरीको खेत परेकोले खेतमा पानी लगाउने विषयमा विपक्षी फुलो मंसुरी र भतिजा कुसुमलाल मण्डलको बीचमा पटकपटक विवाद रहन्थ्यो । मिति २०५९।९।२० गते साँझ ५:०० बजेको समयमा भतिजा कुसुमलाल मण्डल निजका छोरा मेरो नाति संजयकुमार मण्डललाई लिई पानी पटाई रहेको अवस्थामा उक्त खेतको नजिकै घर भएका फुलो मंसुरी निजका छोराहरू इद्रिस मंसुरी, सहिद मंसुरी, इसरायल मंसुरी तथा अन्य सकुर मंसुरी, इब्राहिम मंसुरी रामदेव मण्डल र विष्णुदेव मण्डलसमेतका ८ जनाका हातमा नाङ्गो खुकुरी, बञ्चरो तथा विभिन्‍न प्रकारका लाठीहरू लिई आई विपक्षीमध्येका फुलो मंसुरी मियाले यी बाबु छोरा कुसुम लाल र संजयकुमारलाई नमारी छाड्न हुँदैन भनी वचन आदेश दिएपश्‍चात अन्य उल्लिखित व्यक्तिहरूले मेरो भतिजा र नातिलाई विभिन्‍न हतियारले प्रहार गरिरहेको अवस्थामा निज फुलोदेवी मंसुरीले बञ्चरोले नाति संजयकुमार मण्डलको टाउकोमा एक्‍कासी प्रहार गरेकोले निज रगताम्मे भई भुइँमा लडे । गाउँलेहरूले निज नाति संजयकुमार मण्डललाई पहिला सगरमाथा अञ्चल अस्पताल र त्यहाँ निको नभएपछि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा पुर्‍याई उपचार हुँदाहुँदै निजका सोही दिनको मध्यरात १२:०० बजेको समयमा मृत्यु भएकोले कानूनबमोजिम कारवाही गरिपाउँ भन्‍नेसमेत बेहोराको राजदेव मण्डलको जाहेरी दरखास्त । 

कपाल र अनुहारमा रगत लागेको टाउकोमा धारिलो हतियारले काटिएको ८ वटा टाँका लगाई सिलाएको घाउबाहेक शरीरको अन्य भागमा कुनै चोटपटक नीलडाम नदेखिएको भन्‍नेसमेत बेहोराको मृतक संजयकुमार मण्डलको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शवगृहमा गरिएको लास प्रकृति मुचुल्का । 

टाउकोमा ६×०.५ से.मी. बराबर काटिएको घाउ र उक्त घाउ सिलाएको खोपडी भाँचिएको टाउकोमा लागेको चोटबाट संजयकुमार मण्डलको मृत्यु भएको भन्‍नेसमेत बेहोराको शव परीक्षण  प्रतिवेदन ।

मिति २०५९।९।२० बेलुका अन्दाजी ५:०० बजेको समयमा म, छोराहरू सहिद मंसुरी, इसरायल मंसुरी जिल्ला सप्तरी, लौनिया गाउँ विकास समिति स्थित खेतमा घर बनाउनका लागि घडेरी सम्याइरहेको अवस्थामा संजयकुमार मण्डललाई भाग्न उम्कन नदेउ भन्दै निज संजयकुमार मण्डललाई बञ्चरोको धारबाट मैले प्रहार गरेको र सोही चोटबाट निजको मृत्यु भएको हो मबाहेक अरू कसैले पनि संजयकुमार मण्डललाई कुटपिट गरेका छैनन् उल्लिखित व्यक्तिहरूले घेराउसम्म गरेका हुन् भन्‍नेसमेत बेहोराको फुलो मंसुरी मियाँले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

अन्दाजी ५:०० बजेको समयमा रामसेवक मण्डलसमेत ५ जना मानिसहरूले घर बनाई रहेको स्थानमा आई संजयकुमार र रामसेवकलाई किन पानी पटाउन नदिएको भनी भकाभक कुटपिट गर्न थालेकाले हामी बाबु फुलो मंसुरी, भाइ इसराइल मंसुरी, दाजु इद्रिस मंसुरी र गाउँको सकुर मंसुरी, इब्राहिम मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डल र म समेत भएर दोहोरो कुटपिट भइरहेको अवस्थामा राजदेव मण्डलले भाटाले मेरो टाउकोमा हिर्काएकोले भुइँमा लडेपछि लरखरिँदै उठेको अवस्थामा संजयकुमार मण्डलले बाबु फुलो मंसुरीलाई बाँसको फट्टाले हिर्काएपछि सकुर मंसुरी, इसरायल मंसुरी, इद्रिस मंसुरी, विष्णुदेव मण्डल, रामदेव मण्डल र मसमेत भई बाँसको फट्टा लाठी बोकी घेराउ गरी बाबु फुलो मंसुरीले संजयकुमार मण्डलको टाउकोमा बञ्चरोले प्रहार गरी सख्त घाइते भई सोही चोटबाट निज संजयकुमार मण्डलको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको सहिद मंसुरी मियाँले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । 

संजयकुमार मण्डलले मेरो बाबु फुलो मंसुरीलाई हिर्काएको देखी सहिद मंसुरी, इसरायल मंसुरी, सकुर मंसुरी, इब्राहिम मंसुरी, विष्णुदेव मण्डल, रामदेव मण्डलसमेत भएर लाठी फट्टा लिई संजयकुमार मण्डललाई घेरा हाली बाबु फुलो मंसुरीले संजयकुमार मण्डलको टाउकोमा बञ्चरोले प्रहार गर्दा निज रगताम्य भई लडेका र सोही चोटको कारणबाट उपचारको क्रममा संजय मण्डलको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको इद्रिस मंसुरी मियाँले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

फुलो मंसुरीले संजयकुमार मण्डललाई बञ्चरोले प्रहार गर्दा निज रगताम्य भई भुइँमा लडेपछि हामी भागी गएका हौं भन्‍नेसमेत बेहोराको इसरायल मंसुरीले गरेले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

इद्रिस मंसुरीको निधारमा छाला खुइलेको घाउ र टाउकोको पछाडि भागमा काटिएको घाउ भएको घा जाँच केस फाराम ।

टाउकोको दायाँ भागमा ५×०५ र २×०.५० से.मी. काटिई सिलाई गरेको भन्‍ने सहिद मंसुरी मियाँको घाउ जाँच केस फाराम ।

बायाँतर्फ बीचको औलामा छाला दरफरिएका ०.५×०.५ से.मी. को घाउ १, बायाँ गोलीगाठो जोड्नी पछाडि ०.५×०.५ से.मी.को छाला खुइलिएको घाउ -१, दायाँ कानमा ०.२५×०.२५ से.मी. बराबरको छाला खुइलिएको घाउ भएको फुलो मंसुरी मियाँको घाउ जाँच केस फाराम ।

मिति २०५९।९।२० बेलुकी ५:०० बजेको समयमा संजयकुमार मण्डलसमेतलाई लौनिया गाउँ विकास समिति, वडा नं. ९ बस्‍ने फुलो मंसुरी, इब्राहिम मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डलसमेतका मानिसहरूले लाठी फट्टा तथा बञ्चरोले हिर्काई उपचारको लागि धरान अस्पतालमा उपचार गर्दागर्दै संजयकुमार मण्डलको सोही चोटबाट राति १२:०० बजेको समयमा मृत्यु भएको कुरा भोलिपल्ट महादेवा गाउँ विकास समितिबाट घर लिनिया गाउँ विकास समिति, वडा नं. ५ मा आइपुगेपछि थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको महाविर मण्डलको कागज ।

मिति २०५९।९।२ बेलुकी अन्दाजी ५:०० बजेको समयमा बाबु फुलो मंसुरी, दाजु इद्रिस मन्सुरी र सहिद मंसुरी, भाइ इसरायल मंसुरी र लौनिया वडा नं. ५ बस्‍ने संजयकुमार मण्डल, कुसुमलाल मण्डलको बीचमा खेतमा पानी लगाउने विषयमा वादविवाद मारपीट कुटपिट हुँदा संजयकुमार मण्डलसमेत सख्त घाइते भएका र उपचार हुँदाहुँदै संजयकुमार मण्डलको मृत्यु भएको कुरा म बिरामी भएको कारणले घरमा सुतिरहेको अवस्थामा सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको महमत सदिक मंसुरी, सकलदेव मण्डलको कागज । 

मिति २०५९।९।२० का दिन पानी पटाउने विषयमा मृतक र विपक्षीहरूको बीचमा विवाद भएको स्थान र सोही दिन बेलुका ५:०० बजेको समयमा घटना भएको घटनास्थलको चित्रण गरिएको रेखाचित्र । 

मिति २०५९।९।२० का दिन दिउँसो घरायसी सामानहरू खरिद गर्न भारतको कुनौली गई सामानहरू खरिद गरी घरमा आउँदा खेतको गहुँमा पानी पटाइरहेको अवस्थामा इद्रिस मंसुरीसमेतले पानी पटाउन नदिई कुटपिटसमेत गरेकोले म घरमा आएँ । निज इद्रिस मंसुरीसमेतसँग भाइ रामसेवकलाई पानी पटाउन किन नदिएको हो भनी सोध्दा कुटाई खान मन लाग्यो भन्दै फुलो मंसुरी, इद्रिस मंसुरी, इसरायल मंसुरी, सहिद मंसुरी, इब्राहिम मंसुरी, सकुर मंसुरी, रामदेव मण्डल र विष्णुदेव मण्डलसमेतले हातहतियार लाठ्ठी, भाटा, बञ्चरोसमेत लिई मलाई घेराउ गरी इद्रिस मंसुरीले भाटाले एक्‍कासी मेरो टाउकोमा प्रहार गरेकोले टाउको फुटी रगताम्‍य भई मार्‍यो भनी कराएको आवाज सुनी छोरा संजयकुमार मण्डल दौडेर आई विपक्षीको कुटाईबाट बचाउन खोज्दा निज छोरा संजयकुमार मण्डलको हात सकुर मंसुरी र इद्रिस मंसुरीले समाई जे भएको व्यहोरौंला मार सालेलाई भनी सहिद मंसुरीले वचन दिई अरू सबै प्रतिवादीहरूले हातमा लाठी फट्टा लिएर भाग्न उम्कन नपाउने गरी घेराउ दिनासाथ फुलो मंसुरीले बोकेको फलामको बञ्चरोले छोरा संजयकुमार मण्डलको टाउकोमा प्रहार गरेपछि निज संजयकुमार मण्डल मरेँ भनी रगताम्य भई भुइँमा लडेपछि बचाउन गएका रामसेवक मण्डल र लक्ष्मीदेवी मण्डलसमेतलाई प्रतिवादीहरूले कुटपिट गरी घाइते पारेपछि प्रतिवादीहरू भागेका हुन् । घाइते भएका संजयकुमार मण्डललाई पहिला सगरमाथा अञ्चल अस्पताल र पछि धरानमा उपचार गराउँदा गराउँदै निजको मिति २०५९।९।२० को राति मृत्यु भएको हो । म शोकाकुल अवस्थामा रहे भएकोले काका राजदेव मण्डलले तत्सम्बन्धी जाहेरी दिएका हुन् । मसमेतले घा जाँच गराई पाउँ भनी दिएको निवेदनमा लेखनदासको कारणबाट अन्यथा हुन गएको हो, सही बेहोरा यही हो भन्‍नेसमेत बेहोराको कुसुम मण्डलको कागज । 

मिति २०५९।९।२० गते अन्दाजी ४:०० बजेको समयमा खेतमा भएको गहुँ बालीमा पानी पटाई रहेको अवस्थामा लौनिया गाउँ विकास समिति, वडा नं. ८ बस्‍ने इद्रिस मंसुरीसमेतका मानिसहरू आई पानी पटाउन बाधा अवरोध खडा गरी झगडा हुँदा निजहरूले मलाई कुटपिटसमेत गरेकोमा गाउँलेहरूले झगडा छुटाई दिएकोले म घरमा आएर दाजु कुसुमलाल मण्डललाई भन्दा निज फुलो मंसुरीले घर बनाउँदै गरेको ठाउँमा गई मेरो भाइ रामसेवकलाई किन पानी पटाउन नदिई कुटपिट गरेको भनी सोध्दा फुलो मंसुरी, सहिद मंसुरी, इसरायल मंसुरी, सकुर मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डलसमेतले घेराउ हाली इद्रिस मंसुरीले बाँसको भाटाले दाजु कुसमलाल मण्डलको टाउकोमा हिर्काई घाइते बनाउँदा निजले कराउँदा आवाज सुनी भतिजो संजयकुमार मण्डल उक्त स्थानमा आउँदा निजलाई इद्रिस मंसुरी, सकुर मंसुरीले हातमा समाती सहिद मंसुरीले मार भनी वचन दिनासाथ इब्राहिम मंसुरी, इसरायल मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डलले घेराउ हाली फुलो मंसुरीले फलामको बञ्चरोले संजयकुमार मण्डलको टाउकोमा प्रहार गरी सख्‍त घाइते पारेका र भतिजा संजयकुमार मण्डल मरेँ भनी भुइँमा लडेको देखी निजलाई बचाउन जाँदा मलाई र मेरो श्रीमती लक्ष्मीदेवी मण्डलसमेतलाई विपक्षीहरूले कुटपिट गरेका हुन् । घाइते संजयकुमार मण्डलको उपचारका क्रममा सोही राति १२:०० बजे धरानमा मृत्यु भएको हो । मसमेतले घाउ जाँचको लागि दिएको निवेदनमा उल्लिखित बेहोरा हुनुपर्नेमा लेखनदासको कारणले अन्यथा हुन गएकोले उपर्युक्त कायम गरिपाउँ भन्‍नेसमेत बेहोराको रामसेवक मण्डलको कागज ।

मिति २०५९।९।२० गते बेलुका अन्दाजी ४:०० बजेको समयमा मेरो पति रामसेवक मण्डल गहुँ बालीमा पानी पटाउन गएको अवस्थामा प्रतिवादी इद्रिस मंसुरीसमेतका व्यक्तिले कुटपिट गरी पानी पटाउन नदिएकोले घर आउनु भयो । घर आइपुगेपछि उक्त कुरा जेठाजु कुसुमलाल मण्डललाई सुनाउँदा निजले विपक्षीले घर बनाएको स्थानमा गई किन मेरो भाइलाई पानी पटाउन नदिई कुटपिट गरेको भन्‍नासाथ इद्रिस मंसुरीसमेतले घेराउ गरी निज इद्रिसले बाँसको भाटाले जेठाजुको टाउकोमा हिर्काई घाइते बनाउँदा जेठाजु मरेँ भनी कराएको आवाज सुनी भतिजा संजयकुमार मण्डल बचाउन जाँदा संजयकुमारको हात इद्रिस मंसुरी, सकुर मंसुरीले समाए । सहिद मंसुरीले मार भनी वचन दिनासाथ इसरायल मंसुरी, इब्राहिम मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डलले घेराउ गरी फुलो मंसुरीले फलामको बञ्चरोले संजय मण्डलको टाउकोमा प्रहार गरेकोले भतिजा संजयकुमार भुईमा लडेको देखी म मेरो श्रीमान् निज भतिजालाई बचाउन जाँदा हामीलाई समेत कुटपिट गरी घाइते बनाएका हुन् । घाइते संजयकुमार मण्डलको उपचारको क्रममा सोही राति १२:०० बजे मृत्यु भयो । मसमेतले घाउ जाँच गराई पाउँ भनी दिएको निवेदनमा उपर्युक्त बेहोरा हुनुपर्नेमा लेखनदासको कारणले अन्यथा हुन गएको हुँदा उपर्युक्त बेहोरा कायम गरी कारवाही गरिपाउँ भन्‍नेसमेत बेहोराको लक्ष्मीदेवी मण्डलको कागज ।

मिति २०५९।९।२० गते साँझ ५:०० बजेको समयमा घटनास्थलको बाटो हुँदै आउँदाको अवस्थामा लौनिया गाउँ विकास समिति, वडा नं. ९ बस्‍ने फुलो मंसुरी, इद्रिस मंसुरी, सहिद मंसुरी, सकुर मंसुरी, इब्राहिम मंसुरी र ऐ.वडा नं. ५ बस्‍ने संजयकुमार मण्डल रामसेवक मण्डल, कुसुमलाल मण्डल र लक्ष्मीदेवी मण्डलबीचमा कुटाकुट, हानाहान भई राखेको थियो । मारपिट गर्न हुँदैन भनी मैले रोक्दारोक्दै माथि उल्लिखित सबै प्रतिवादीहरूले संजयकुमार मण्डललाई घेराउ गरी कुटपिट गर्दा सख्त घाइते भई भुइँमा लडेपछि मान्छे मार्‍यो भनी मसमेतले संजयकुमार मण्डललाई लगेको र सोही चोटबाट निजको मृत्यु भएको भन्‍नेसमेत विमलकुमार मण्डलको कागज ।

मिति २०५९।९।२० गते बेलुकी ४:०० बजे इद्रिस मंसुरी, राम सेवक मण्डलको बीचमा खेतमा पानी पटाउने विषयमा साधारण विवाद हुँदा गाउँलेहरूले छुट्याई दिएका सोही विषयलाई लिएर फुलो मंसुरीसमेतले घर बनाउँदै गरेको ठाउँमा हल्ला सुनी उक्त स्थानमा पुग्दा कुसुमलाल मण्डल, रामसेवक मण्डल, लक्ष्मीदेवी मण्डल, संजयकुमार मण्डल सख्‍त घाइते भई भुइँमा लडेको देखी निजहरूलाई उठाएका हौं । उक्त घटना घटाउने फुलो मंसुरी, इद्रिस मंसुरी, सहिद मंसुरी, इसरायल मंसुरी, सकुर मंसुरी, इब्राहिम मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डलसमेतले हात-हातमा लाठी, फट्टा, बञ्चरो लिई भाग्दै गरेको देखेको हुँ । उक्त घटनामा सख्त घाइते भएका संजयकुमार मण्डलको उपचार क्रममा मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको देवानन्द मण्डलको कागज । 

मिति २०५९।९।२० गते बेलुकी अन्दाजी ५:०० बजे घटनास्थलमा होहल्ला भएको सुनी मसमेत घटनास्थलमा आइपुग्दा रामसेवक मण्डल, कुसुमलाल मण्डल, संजयकुमार मण्डल, लक्ष्मीदेवी मण्डल घाइते भई जमिनमा लडी रहेका, फुलो मंसुरी, इद्रिस मंसुरी, सहिद मंसुरी, इसरायल मंसुरी, सकुर मंसुरी, इब्राहिम मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डलसमेत हात-हातमा लाठी, फट्टा, बञ्चरोसमेत लिई भाग्दै गरेको देखेको हुँ । संजयकुमार मण्डलको उपचारक्रममा मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको राजकुमार मण्डलको कागज ।

मिति २०५९।९।२० गते सप्तरी लौनिया वडा नं. ७ स्थित फुलो मंसुरीको खेतमा होहल्ला सुनी के भएको रहेछ भनी उक्त स्थानमा पुग्दा फुलो मंसुरी, इद्रिस मंसुरी, सहिद मंसुरी, इसरायल मंसुरी, सकुर मंसुरी, इब्राहिम मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डलसमेतले कुसुमलाल मण्डललाई घेराउ गरी कुटपिट गर्दा निजको टाउकोमा चोट लागी रगताम्य भई निजलाई छुट्याउन गएका निजका छोरा संजयकुमार मण्डलको हात सकुर मंसुरी, इद्रिस मंसुरीले समाती सहिद मंसुरीले मार भनी वचन दिई अन्य इब्राहिम मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डलले घेराउ गरी फुलो मंसुरीले फलामको बञ्चरोले संजयकुमार मण्डलको टाउकोमा प्रहार गरी घाइते पारी रगताम्य भई लडेपछि मान्छे मर्‍यो भनी संजयकुमार मण्डललाई बचाउन आएका रामसेवक मण्डलसमेतलाई कुटपिट गरी गाउँका रमाकान्त मण्डल र मसमेतका मानिसहरू छुटाउन जाँदा प्रतिवादीहरू घटनास्थलबाट भागी गएका हुन् । सोही चोटको कारणबाट उपचार हुँदाहुँदै धरानमा संजयकुमार मण्डलको मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको राधेश्याम मण्डल र रमानन्द मण्डलको एकै मिलानको कागज ।

मिति २०५९।९।२० गते साँझ ५:०० बजे खेतमा पानी पटाउने विषयलाई लिएर प्रतिवादी फुलो मंसुरी, इद्रिस मंसुरी, इसरायल मंसुरी, इब्राहिम मंसुरी, सकुर मंसुरी, रामदेव, विष्णुदेव मण्डलसमेतका मानिसहरूले कुसुमलाल मण्डललाई घेराउ गरी कुटपिट गरी चोट पुर्‍याएको देखी बचाउन आएका संजयकुमार मण्डललाई इसरायल मंसुरी, इब्राहिम मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डलले घेराउ गरी भाग्न उम्कन नदिई सकुर मंसुरी र इद्रिस मंसुरीसमेतले संजयकुमार मण्डलको हात समाती सहिद मंसुरीले मार भनी वचन दिनासाथ फुलो मंसुरीले फलामको बञ्चरोले संजयकुमार मण्डलको टाउकोमा प्रहार गर्दा निज सख्‍त घाइते भई लडेपछि बचाउन गएका रामसेवक मण्डल र लक्ष्मीदेवी मण्डलसमेतलाई प्रतिवादीहरूले कुटपिट गरी घाइते पारेको देखी बद्री मण्डल र मसमेतका मानिसहरू मान्छे मर्‍यो भन्दै घाइतेहरूले बचाउन जाँदा निज प्रतिवादीहरू घटनास्थलबाट भागे, सोही चोटबाट संजयकुमार मण्डलको धरानमा उपचार हुँदाहुँदै मृत्यु भएको हो भन्‍नेसमेत बेहोराको कपलेश्वर भन्‍ने कपल मण्डल र बद्री मण्डलको एकै मिलानको कागज ।

हालसम्म संकलित सबुत प्रमाणहरूको आधारमा प्रतिवादीमध्येका फुलो मंसुरी मियाँले प्रहार गरेको फलामको बञ्चरोको चोटबाट संजयकुमार मण्डलको मृत्यु भएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३ (१) अन्तर्गतको कसुरमा सोही महलको १३(१) र बमोजिम सजाय गरी पाउन, मृतक संजयकुमारलाई मार्नको निमित्त वचन आदेश दिने सहिद मंसुरी मियाँ र मृतक संजयकुमार मण्डलको हात समाती मार्न संयोग पारी दिने इद्रिस मंसुरी मियाँ र सकुर मंसुरी मियाँलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. अर्न्तगतको कसुरमा सोही महलको १३(४) नं. बमोजिमको सजाय गरी पाउन तथा संजयकुमार मण्डललाई भाग्न उम्कन नपाउने गरी घेरा दिई ज्यान मार्न संयोग पारिदिने इसरायल मंसुरी मियाँ, इब्राहिम मंसुरी मियाँ, रामदेव मण्डल र विष्णुदेव मण्डललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं. को कसुरमा सोही १७(२) नं. बमोजिम सजाय गरी पाउन माग दाबी लिई फुलो मंसुरी, सहिद मंसुरी, इद्रिस मंसुरी र इसरायल मंसुरीलाई यसैसाथ प्रस्तुत गरिएको छ । अनुसन्धानका क्रममा पक्राउमा नपरी रहेका प्रतिवादीहरू इब्राहिम मंसुरी मियाँ, सकुर मंसुरी मियाँ, विष्णुदेव मण्डल, रामदेव मण्डलको हकमा वारेन्टसहितको म्यादी पुर्जी जारी गरी कारवाही गरिपाउँ भन्‍नेसमेत बेहोराको नेपाल सरकारका तर्फबाट दायर हुन आएको अभियोग पत्र ।

संजयकुमार मण्डलको मृत्यु मेरो पिटाइबाट भएको होइन । गहुँ बारीमा भएको झगडामा म थिइँन । बेलुका हामी बाबु छोराले घर बनाउँदै गरेको जग्गामा उनीहरू नै आई झगडा गरे । राजदेव मण्डलले मलाई टाउकोमा हानेकाले म बेहोस भएँ । घटनाबारे थाहा भएन । अभियोग दाबीबाट फुर्सद पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी सहिद मंसुरीले सुरू अदालतमा गरेको बयान ।

वारदात मितिका दिउँसो पानीको विषयमा झगडा भएको कुरा थाहा भएन, बेलुका ५:३० बजेतिर हामी बाबु छोरा चारजना घर बनाउने ठाउँमा हुँदा कुसुमलालसमेतका मानिसहरूको हुल आई हामीलाई कुटपिट गर्दा हामी तुरून्तै भुइँमा पछारिएपछि उनीहरू कता गए थाहा भएन । संजयकुमारलाई कसले कुट्यो, कसको प्रहारले मृत्यु भयो त्यो मलाई थाहा भएन । हामीले कुटपिट नगरेकोले अभियोग दाबीअनुसार सजाय पाउनु पर्ने होइन भन्‍नेसमेत प्रतिवादी इसरायल मियाँले सुरू अदालतमा गरेको बयान । 

मिति २०५९।९।२० गते १०/१२ बजे धकेलाधकेल भई घर फर्की आएपछि बेलुका ५:०० बजेको समयमा पुरानो घर जाँदा कुसुमलालसमेतका मानिसहरू आई कुसुमलालले मेरो कलर समाती मेरो भाइ रामसेवकलाई किन हिर्काएको भनी साँझको बेला कसले कुन तर्फबाट बाँसको लाठीले मेरो टाउकोमा हिर्काउँदा बेहोस भएँ । त्यहाँपछि के के भयो थाहा भएन । मृतक संजयलाई हात समाती मार्न संयोग गरेको होइन, अभियोग दाबीबाट फुर्सद पाउँ भन्‍नेसमेत प्रतिवादी इद्रिस मंसुरी मियाँले सुरू अदालतमा गरेको बयान । 

मैले मृतक संजयकुमार मण्डललाई बञ्चरोले हिर्काएको होइन, वारदात मितिको साँझ ५:०० बजे छोराहरू र मसमेत घर फर्कंदै गर्दा सकलदेव मण्डलसमेत १५/२० जना आई सकलदेवले बाँसको फट्टाले मलाई हिर्काउँदा म हल्लिन जाँदा मृतकको कानपट्टिमा बाँसको फट्टाले लाग्यो, निजलाई निजका बाबुसमेतले उठाई लगे, मेरो छोरा सहिदलाई समेत टाउकोमा चोट लागेकोले उपचार गर्न राजविराज लगेँ । त्यसपछि कसले कसलाई मारपिट गरे छुट्याउन सकिन । म निर्दोष भएकोले अभियोग दाबीबाट सफाइ पाउँ भन्‍नेसमेत प्रतिवादी फुलो मंसुरीले सुरू अदालतमा गरेको बयान । 

वारदात मितिमा म नेपालमा नै थिइनँ । पुरानो रिसइवीले मेरो नाम पोलिएको हुनसक्छ । घटनाबारे केही थाहा छैन । अभियोग दाबीअनुसारको कसुर नगरेकोले सफाइ पाउँ भन्‍नेसमेत प्रतिवादी रामदेव मण्डलले सुरू अदालतमा गरेको बयान । 

वारदात मितिमा म घटनास्थलमा नभई भारत पञ्‍चवमा थिएँ । ममाथि मुद्दा परेको कुरा श्रीमतीले खबर गरेपछि थाहा पाएँ । घटनाबारे मलाई केही थाहा भएन । मृतकलाई मार्न मेरो संयोग र संलग्नता नभएकोले अभियोग दाबीबाट सफाइ पाउँ भन्‍नेसमेत प्रतिवादी विष्णुदेव मण्डलले सुरू अदालतमा गरेको बयान ।

आदेशानुसार वादी तथा प्रतिवादीका साक्षीहरूले गरेको बकपत्र मिसिल सामेल रहेको रहेछ । 

फरार रहेका प्रतिवादी सकुर मंसुरी मियाँ र इब्राहिम मंसुरीका हकमा मुद्दा अदालती बन्दोबस्त १९० नं. बमोजिम मुलतबीमा राखिदिने आदेश भई प्रतिवादीमध्ये फुलो मंसुरी मियाँलाई अभियोग दाबीअनुसार ज्यानसम्बन्धीको महलको १३ (१) ले सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादीहरू सहिद मंसुरी मियाँ, प्रतिवादी इद्रिस मंसुरी मियाँ र प्रतिवादी इसराइल मंसुरी मियाँलाई ज्यानसम्बन्धीको महलको १७(२) नं. बमोजिम जनही ५ (पाँच वर्ष) कैद सजाय हुने र प्रतिवादीमध्येका रामदेव मण्डलले अभियोग दाबीबाट सफाइ पाउने ठहरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६२।३।१४ मा भएको फैसला । 

प्रतिवादीहरू सहिद मंसुरी मियाँ, इद्रिस मियाँ, इसरायल मंसुरी मियाँ, फुलो मंसुरी मियाँले अभियोग दाबीबाट सफाइ पाउँ भनी र वादी नेपाल सरकारले अभियोग दाबीबमोजिम नै प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी पुनरावेदन गरेकोमा सप्तरी जिल्ला अदालतबाट मिति २०६२।३।१४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत पुनरावेदन अदालत राजविराजबाट  मिति २०६३।१।१९ मा भएको फैसला ।

हाजिर गराई पाउँ भनी फरार प्रतिवादीमध्येका सकुर मंसुरी मियाँले मिति २०६४।१।२७ मा निवेदन दिएको र सोही मिति २०६४।१।२७ का आदेशानुसार प्रस्तुत मुद्दा मुलतबीबाट जागेको र अर्का फरार प्रतिवादी इब्राहिम मंसुरी मियाँले २०६४।२।२ मा हाजिर हुने निवेदन दिई पुर्पक्षमा सामेल भएको देखियो । 

जाहेरीमा उल्लिखित मिति र समयभन्दा अगाडि पहिल्यैदेखि नै म राजविराज स्थित पम्प क्यानल अफिसमा चौकिदार पदमा काम गर्दै आई क्वाटरमा नै बसिरहेको र पछि बिदा लिई ११/२ महिनापछि मात्र गाउँमा फुलो मंसुरीको परिवारसँग जाहेरवालाहरूको झगडा भई कुटपिटको कारण संजयकुमार मण्डलको मृत्यु भएको भन्‍ने सुनेको हुँ । तर निजहरूको के विषयमा झगडा भयो । के कसको प्रहारबाट निजको मृत्यु भयो । त्यो घटनाबारे केही थाहा छैन । उक्त घटनामा मेरो कहिल्यै पनि त्यस्तो संलग्नता नहुँदा मेरो नाम पोल गरी परेको जाहेरी साँचो होइन । मैले घटना घटेको ११/२ महिनापछि मात्र गाउँ जाँदा थाहा पाएको हुँ । घटनामा म आफू सहभागी नै नभई गाउँघरमा नभई राजविराजमा जागिर खाँदै आइरहेको र आफूले घटना नै भएको नदेखेको हुँदा त्यस्तो सजाय पाउनु पर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादीमध्येका सकुरा मंसुरी मियाँले सुरू अदालतमा गरेको बयान ।

फरार प्रतिवादी इब्राहिम मंसुरीले हाजिर गराई पाउँ भनी मिति २०६४ । २।२ गते सुरू अदालतमा दिएको निवेदन ।

म पहिल्यैदेखि नै काठमाडौंमा इट्टा बोक्ने लेवर काम गर्दै आएको र कहिलेकाहीँ मात्र घर आउने गर्दथेँ । म मिति २०५९।९।२० मा आफ्नो गाउँ घरमा नभई काठमाडौंमा नै मजदुरी गर्दै आइरहेको र २०५९ साल फाल्गुनतिर घरमा खर्च लिएर आउँदा सोहीबखत मात्र थाहा भयो । गाउँमा फुलो मंसुरी र जाहेरवालाको भतिजा कुसुमलाल मण्डल र निजको छोरा संजय मण्डलबीच खेतमा पानी पटाउने विषयमा झगडा परी कुटपिटसमेत भई सोही चोटको कारण संजयकुमार मण्डलको मृत्यु भएको भन्‍ने सुनेको हुँ । घटना नदेखेको हुँदा को-को भई के-कुन परिबन्धबाट निजको मृत्यु भयो सो सम्बन्धमा मलाई केही थाहा छैन । घटनामा मेरो कुनै संलग्नता नभएको र कुटपिट नगरेको, घेरासमेत नहालेको र आफू सो मितिमा गाउँ घरमा नै नभएको हुँदा त्यस्तो सजाय पाउनु पर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी इब्राहिम मंसुरीले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादीहरू सकुर मियाँ र इब्राहिम मंसुरीलाई अदालती बन्दोबस्त ४७ नं. बमोजिम तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु तथा प्रतिवादी इब्राहिम मंसुरी साक्षी मो. इब्राहिम र प्रतिवादी सकुर मंसुरी मायाँको साक्षी बौबालाल खंगले बकेको बकपत्र सामेल रहेको छ ।

प्रतिवादी सकुर मंसुरीलाई ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसम्मको अभियोग दाबी पुग्न सक्दैन । प्रतिवादी सकुर मंसुरी मियाँ र इब्राहिम मंसुरी मियाँ वारदातस्थलमा रही मृतकलाई भाग्न उम्कन नदिई थुनछेक गरेको देखिँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७ (२) नं. बमोजिम जनही कैद वर्ष ५ हुने ठहर्छ भन्‍ने सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६६।१०।१३ मा भएको   फैसला ।

जाहेरवालाको जाहेरी दरखास्त एवं निजको अदालतको बकपत्रलगायतका मिसिल संलग्न कागज प्रमाणहरूबाट प्रतिवादी सकुर मंसुरी मियाँले वारदातमा मर्नेका जिउ शरीरमा हात हाली पक्री समाई मार्नलाई संयोग मारिदिएको तथ्य पुष्टि हुँदाहुँदै निजलाई अभियोग दाबीभन्दा कम सजाय गर्ने गरेको सुरू फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा उल्टी गरी निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेतको वादी नेपाल सरकारको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन  पत्र ।

शंकास्पद एवं विरोधाभाषयुक्त तथ्यलाई प्रमाण मानेर कसैलाई दोषी ठहर गर्न मिल्दैन । अभियोग माग दाबीबाट सफाइ पाएका अन्य प्रतिवादीहरूको तथ्यसमेत हेरी आरोपित कसुरबाट सफाइ पाउँ भन्‍नेसमेतको प्रतिवादी इब्राहिम मंसुरी मियाँको पुनरावेदन अदालत राजविराजमा पर्न आएको पुनरावेदनपत्र ।

यसमा यिनै प्रतिवादी भएको कर्तव्य ज्यान मुद्दा CS-१८८ मा नेपाल सरकारको र CS-०२४६ को कर्तव्य ज्यान मुद्दामा सकुर मंसुरी मियाँको पुनरावेदन परी दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं. को प्रयोजनार्थ दुवै पक्षलाई जानकारी गराई नियमानुसार पेस गर्नु भनी मिति पुनरावेदन अदालत राजविराजबाट भएको आदेश ।

प्रतिवादी इब्राहिम मंसुरी मियाँको तर्फबाट परेको पुनरावेदन मिसिलमा प्रस्तुत मुद्दा CS-१८८ र CS-२४६ को कर्तव्य ज्यान मुद्दासँग अन्तर प्रभावि रहेकोले प्रस्तुत मुद्दा पनि साथै राखी गर्नु भनी मिति २०७०।३।५ मा भएको आदेश ।

प्रतिवादीहरू वारदातस्थलमा उपस्थित रहेको कुरा पुष्टि भइरहेको भनी सुरू फैसलामा उल्लेख भएको छ सोतर्फ हेर्दा मौकामा कागज गर्ने व्यक्तिहरूको मौकाको कागज र अदालतको बकपत्र परस्परमा बाझिएका छन् । यी प्रतिवादीहरू समेत वारदातस्थलमा रही आरोपित कसुर गरेको भनी स्पष्टरूपमा लेखाउन सकेको देखिँदैन । मिसिल संलग्न रहेका कुनै पनि कागज प्रमाणहरूले यी प्रतिवादीहरूले मृतकलाई मार्न घेरा दिने, बाटो गौंडा छेक्ने, भाग्न उम्कनसमेत नपाउने गरी संयोग पारी दिएको भन्‍ने कुरा पुष्टि हुनसकेको पाइएन । यसैगरी वादी नेपाल सरकारले सोही वारदातमा संलग्न रहेका रामदेव मण्डल र विष्णुदेव मण्डललाई समेत मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं. बमोजिम सजाय गरिपाउँ भनी अभियोग दाबी लिएकोमा सुरू सप्तरी जिल्ला अदालतबाट यी प्रतिवादीहरू रामदेव मण्डल र विष्णुदेव मण्डलले आरोपित कसुरबाट सफाइ पाउने ठहर गरी मिति २०६२।३।१४ मा गरेको फैसला यस अदालतबाट सदर हुने ठहरी मिति २०६३।१।१९ मा फैसला भई सो अन्तिम भई बसेको देखिन्छ । सफाइ पाउने यी प्रतिवादीहरू र प्रस्तुत पुनरावेदन गर्ने यी प्रतिवादीहरू इब्राहिम मियाँ र सकुर मंसुरी मियाँको अवस्थामा तात्विक भिन्‍नतासमेत देखिँदैन । यसरी जाहेरी दरखास्त दिने राजदेव मण्डलको मौकाको जाहेर बेहोरा र अदालतमा गरेको बकपत्र, मौकामा कागज गर्ने बद्री मण्डल, सकलदेव मण्डलको कागज बेहोरा र निजहरूको अदालतमा भएको बकपत्रसमेत एक आपसमा एकै मिलानको नभई फरक पर्न गएको देखिएको छ । यी प्रतिवादीहरूका उपरको आरोपित कसुर गढाउ हुनसकेको देखिन आउँदैन । फौजदारी मुद्दामा प्रतिवादीउपरको अभियोग दाबी स्वतन्त्र प्रमाणहरूबाट पुष्टि भएको हुनुपर्दछ । प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीहरू मृतक संजयकुमार मण्डललाई मार्नमा यस तरहले संलग्न थिए र यस्ता किसिमका कार्यहरू गरी यी प्रतिवादीहरूको समेत संलग्नताबाट मृतकको ज्यान मर्न गएको हो भन्‍ने कुरा पुष्टि हुनसकेको देखिन आएन । शंकाको भरमा मात्र कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा दोषी करार गरी प्रतिवादीहरूलाई सजाय गर्न नमिल्ने र शंकाको सुविधा अभियुक्तले पाउने भन्‍ने सर्वमान्य सिद्धान्तसमेतको आधारमा यी पुनरावेदक प्रतिवादीहरू सकुर मंसुरी मियाँ र इब्राहिम मियाँलाई कसुरदार ठहर गरी सजाय गर्ने गरेको सुरू फैसला मिलेको देखिन आएन । अतः ज्यानसम्बन्धीको १७(२) मा घेरा दिने, बाटो गौंडा छेक्ने वा भाग्न उम्कन नपाउनेसमेत गैर काम गरी मार्ने संयोग पारी दिनेलाई सजाय गर्ने व्यवस्था भएकोमा यी प्रतिवादीहरूले सोअनुसार घेरा हाली मृतक संजय कुमार मण्डललाई भाग्न उम्कन नदिएको भन्‍ने अभियोग प्रमाणद्वारा पुष्टि हुनसकेको नदेखिँदा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीहरूको पुनरावेदन जिकिरअनुसार अभियोगबाट सफाइ पाउने ठहर्छ भन्‍ने पुनरावेदन अदालत राजविराजबाट मिति २०७०।९।२९ मा भएको फैसला ।

प्रतिवादीहरू फुलो मंसुरी, इसरायल मंसुरी, इद्रिस मंसुरी, सहिद मंसुरी, सकुर मंसुरी, इब्राहिम मंसुरी, रामदेव मण्डल, विष्णुदेव मण्डलसमेतका व्यक्तिले पानी पटाउने विषयमा वादविवाद भई निजहरूले संजयकुमार मण्डललाई घेरा दिई हात हातमा बाँसको फट्टा, दुबिया, बञ्चरो र लाठी लिई फुलो मंसुरीले दायाँ हात र सकुर मंसुरीले बायाँ हात समाती सहिद मियाँले मार सालेलाई परेको व्यहोरौंला भन्‍ने वचन दिनासाथ इद्रिस मंसुरीले टाउकोमा बञ्चरोले हानी सख्त घाइते बनाई उपचारको क्रममा मृत्यु भएको भनी घटनाबाट पीडितसमेत रहेका कुसुम मण्डल, रामसेवक मण्डलले घाउ खत, चोट जाँच गराई पाउँ भन्‍ने दरखास्त दिएको देखिन्छ । सोही बेहोरा मिलान हुने गरी राजदेव मण्डलले किटानी जाहेरी दिएको देखिन्छ । सोही बेहोरा समर्थन हुने गरी कुसुम मण्डल, कपलेश्‍वर भन्‍ने कपल मण्डल, बद्री मण्डलको मौकामा कागज गरिदिएका छन् । सोही बेहोरा मिलान हुने गरी अदालतमा आई किटानी बकपत्रसमेत गरिदिएको अवस्था देखिन्छ । उल्लिखित व्यक्तिहरू वारदातलाई प्रत्यक्षरूपमा देख्‍ने र वारदातबाट घाइतेसमेत भएका व्यक्तिहरू भएको तथ्य निजहरूको घाउ जाँच केस फारामले समेत पुष्टि गरिरहेको छ । यसरी वारदातलाई चश्‍मदिद रूपमा देख्‍ने प्रत्यक्षदर्शी व्यक्तिहरूले मौकामा व्यक्त गरेको कागजलाई समर्थन गर्दै अदालतमा उपस्थित भई गरेको बकपत्रलाई प्रमाण ऐन, २०३१ को दफा १० तथा दफा ३७ अनुसार प्रत्यक्ष प्रमाणको रूपमा लिनुपर्ने हुन्छ । चश्मदिद व्यक्तिहरूले सम्पूर्ण प्रतिवादीहरूको संलग्नता खुलाई वचन दिने, हात समाउने, प्रहार गर्ने तथा घेरा दिनेसमेतको नाम स्पष्ट गरी बकपत्र गरी रहेकोमा सो बकपत्रहरूलाई प्रमाणमा नलिई केही प्रतिवादीहरूलाई सफाइ दिने, केही प्रतिवादीहरूलाई दाबीभन्दा घटी सजाय हुने ठहर गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा १० तथा ३७ को व्याख्या र प्रयोगमा त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला बदर भागी रहेको छ ।

प्रतिवादीहरू इद्रिस मंसुरी मियाँ, रामदेव मण्डल, विष्णुदेव मण्डलसमेतका व्यक्तिहरू अदालतमा आई कसुर गरेकोमा इन्कार रही बयान गरेको देखिन्छ । आफू कसुरबाट उन्मुक्ति पाउनको लागि अदालतमा आई इन्कारी बयान गर्नु स्वाभाविक रहेको र उक्त इन्कारी मात्र निजहरूको निर्दोषिताको आधार हुन सक्दैन । उक्त इन्कारी बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न सक्नुपर्छ । प्रतिवादीहरूले आफ्नो इन्कारीलाई गफमेलका मानिसहरूलाई साक्षी राखी समर्थन गराउन खोजिए पनि अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्नसकेको छैन । यस्तो अवस्थामा पीडितसमेतले मौकामा गरिदिएको कागज तथा अदालतमा गरिएको बकपत्रलाई अन्यथा हुने गरी फैसला गर्न मिल्ने होइन । जाहेरवाला तथा मौकामा बुझिएका कुसुमलाल मण्डलसमेतका प्रत्यक्षदर्शी मानिसहरूले अदालतमा उपस्थित भई प्रतिवादीहरूलाई किटानी पोल गरी गरेको बकपत्रसमेतको प्रमाणलाई प्रतिवादी फुलो मंसुरी तथा इसरायल मंसुरीको हकमा अभियोग दाबीअनुसारको कसुर ठहर गर्दा प्रमाणको रूपमा लिइएको छ । अदालतसमक्ष उपस्थित भई बकपत्र गर्ने साक्षीहरूले लेखाएको बेहोरालाई केही प्रतिवादीहरूको हकमा प्रमाणको रूपमा लिइसकेपछि प्रमाणमा लिन नमिल्ने स्पष्ट आधार कारण भएको अवस्थामा बाहेक अन्य प्रतिवादीहरूको हकमा पनि प्रमाणमा लिई फैसला गर्नुपर्ने हुन्छ । स्पष्ट आधार कारण नभई एउटै बकपत्र कसैको हकमा प्रमाणमा लाग्ने कसैको हकमा प्रमाणमा नलाग्ने हुँदैन । त्यसैगरी समान अभियोग दाबी र समान प्रमाणबाट दोषी भएका प्रतिवादीमध्ये फरार रहेका प्रतिवादीहरू सकुर मंसुरी र इब्राहिम मंसुरी तथा मौकामा पक्राउ परी कसुरमा इन्कारी बयान दिएका प्रतिवादीहरू रामदेव मण्डल र विष्णुदेव मण्डलले अभियोग दाबीबाट सफाइ पाएको तथा मौकामा पक्राउ परी कसुरमा साबित भएका प्रतिवादीहरू सहिद मंसुरी, इसरायल मंसुरी, इद्रिस मंसुरीका हकमा कसुर ठहर भएको अवस्था छ । यसरी फरार रहनु तथा पक्राउ परे पनि कसुरमा इन्कार रहनु नै सफाइ पाउने आधार बन्‍ने तथा पक्राउ परी कसुरमा साबित हुँदा कसुरदार ठहर हुने अवस्था हुँदैन । यसरी मौकामा कागज गर्ने व्यक्तिहरूको बकपत्र कुनै प्रतिवादीका हकमा प्रमाणमा लिई कसुरदार ठहर गर्ने र कुनै प्रतिवादीका हकमा प्रमाणमा नलिकन समान प्रमाणबाट गुज्रिरहेका समान दाबी भएका प्रतिवादीहरूको बीचमा समेत स्पष्ट आधार कारणविना नै दोहोरो मापदण्ड (double standard) लिई फरकफरक किसिमका फैसला भई कसैको हकमा कसुर कायम भएको तथा कसैको हकमा सफाइ दिएकाले पुनरावेदन अदालत राजविराजबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा उक्त फैसला बदरभागी रहेकोले उल्टी गरी अभियोग दाबीबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले मौकामा कागज गर्ने व्यक्तिहरूको बकपत्र कुनै प्रतिवादीका हकमा प्रमाणमा लिई कसुरदार ठहर गर्ने र कुनै प्रतिवादीका हकमा प्रमाणमा नलिने गरी फरकफरक किसिमका फैसला भई कसैको हकमा कसुर कायम भएको तथा कसैको हकमा सफाइ दिएको फैसला मिलेको छैन । जाहेरवाला तथा घटना विवरण कागज गर्ने व्यक्तिहरूले सबै प्रतिवादीहरूलाई पोल गरी गरेको बकपत्रलाई यी प्रतिवादीहरूको हकमा प्रमाणमा नलिई पुनरावेदन अदालत राजविराजबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबमोजिम हुनुपर्छ भन्‍ने बहस गर्नुभयो ।

निर्णयतर्फ विचार गर्दा, उल्लिखित विद्वान् उपन्यायाधिवक्ताको बहस सुनी पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला मिलेको छ छैन? वादीको पुनरावेदन जिकिर पुग्नसक्ने हो होइन? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. सो सन्दर्भमा हेर्दा, प्रतिवादीमध्येका फुलो मंसुरी मियाँले प्रहार गरेको फलामको बञ्चरोको चोटबाट संजयकुमार मण्डलको मृत्यु भएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३ (१) अन्तर्गतको कसुरमा सोही महलको १३(१) र बमोजिम सजाय गरी पाउन, मृतक संजयकुमारलाई मार्नको निमित्त वचन आदेश दिने सहिद मंसुरी मियाँ र मृतक संजयकुमार मण्डलको हात समाती मार्न संयोग पारी दिने इद्रिस मंसुरी मियाँ र सकुर मंसुरी मियाँलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. अर्न्तगतको कसुरमा सोही महलको १३(४) नं. बमोजिमको सजाय गरी पाउन तथा संजयकुमार मण्डललाई भाग्न उम्कन नपाउने गरी घेरा दिई ज्यान मार्न संयोग पारिदिने इसरायल मंसुरी मियाँ, इब्राहिम मंसुरी मियाँ, रामदेव मण्डल र विष्णुदेव मण्डललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं. को कसुरमा सोही १७(२) नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोगपत्र भएकोमा फरार रहेका प्रतिवादी सकुर मंसुरी मियाँ र इब्राहिम मंसुरीका हकमा मुद्दा अदालती बन्दोबस्तको १९० नं. बमोजिम मुलतबीमा राखी दिने र प्रतिवादीमध्ये फुलो मंसुरी मियाँलाई अभियोग दाबीअनुसार ज्यानसम्बन्धीको महलको १३ (१) ले सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादीहरू सहिद मंसुरी मियाँ, इद्रिस मंसुरी मियाँ र इसराइल मंसुरी मियाँलाई ज्यानसम्बन्धीको महलको १७(२) नं. बमोजिम जनही ५ (पाँच वर्ष) कैद सजाय हुने र प्रतिवादीमध्येका रामदेव मण्डल र विष्‍णुदेव मण्डलले अभियोग दाबीबाट सफाइ पाउने ठहरी सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६२।३।१४ मा भएको फैसलाउपर प्रतिवादीहरू सहिद मंसुरी मियाँ, इद्रिस मियाँ, इसरायल मंसुरी मियाँ, फुलो मंसुरी मियाँले अभियोग दाबीबाट सफाइ पाउँ भनी र वादी नेपाल सरकारले अभियोग दाबीबमोजिम नै प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी पुनरावेदन परेकोमा सप्तरी जिल्ला अदालतबाट मिति २०६२।३।१४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत पुनरावेदन अदालत राजविराजबाट मिति २०६३।१।१९ मा फैसला भएको देखिन्छ । सुरूमा फरार रहेका प्रतिवादीहरू इब्राहिम मंसुरी मियाँ, सकुरा मंसुरी मियाँ सुरू जिल्ला अदालतमा निवेदनसहित हाजिर भई मुद्दा पुर्पक्ष गरी आएकोमा प्रतिवादी सकुर मंसुरी मियाँलाई ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसम्मको अभियोग दाबी पुग्न सक्दैन । प्रतिवादी सकुर मंसुरी मियाँ र इब्राहिम मंसुरी मियाँ वारदातस्थलमा रही मृतकलाई भाग्न उम्कन नदिई थुनछेक गरेको देखिँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७ (२) नं. बमोजिम जनही कैद वर्ष ५ हुने ठहर्छ भन्‍ने सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६६।१०।१३ मा भएको फैसला भएकोमा सो फैसलाउपर वादी नेपाल सरकारको र प्रतिवादीहरू सकुर मंसुरी मियाँ र इब्राहिम मंसुरी मियाँको पुनरावेदन परेकोमा मिसिल संलग्न रहेका कुनै पनि कागज प्रमाणहरूले यी प्रतिवादीहरूले मृतकलाई मार्न घेरा दिने, बाटो गौंडा छेक्ने, भाग्न उम्कनसमेत नपाउने गरी संयोग पारी दिएको भन्‍ने कुरा पुष्टि हुनसकेको पाइएन । यसैगरी वादी नेपाल सरकारले सोही वारदातमा संलग्न रहेका रामदेव मण्डल र विष्णुदेव मण्डललाई समेत मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं. बमोजिम सजाय गरिपाउँ भनी अभियोग दाबी लिएकोमा सुरू सप्तरी जिल्ला अदालतबाट यी प्रतिवादीहरू रामदेव मण्डल र विष्णुदेव मण्डलले आरोपित कसुरबाट सफाइ पाउने ठहर गरी मिति २०६२।३।१४ मा गरेको फैसला पुनरावेदन अदालतबाट सदर हुने ठहरी मिति २०६३।१।१९ मा फैसला भएकोमा सफाइ पाउने यी प्रतिवादीहरूले घेरा हाली मृतक संजयकुमार मण्डललाई भाग्न उम्कन नदिएको भन्‍ने अभियोग प्रमाणद्वारा पुष्टि हुनसकेको नदेखिँदा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीहरूको पुनरावेदन जिकिरअनुसार अभियोगबाट सफाइ पाउने ठहर्छ भन्‍ने पुनरावेदन अदालत राजविराजबाट मिति २०७०।९।२९ मा भएको फैसला र सुरू जिल्ला अदालतबाट मिति २०६२।३।१४ मा भएको फैसला सदर हुने ठहरी भएको फैसलासमेत उपर प्रतिवादीहरू सकुर मन्सुरी मियाँ, इब्राहिम मियाँ, सहिद मन्सुरी मियाँ, इद्रिस मन्सुरी मियाँ, रामदेव मण्डल र विष्णुदेव मण्डलउपर वादी नेपाल सरकारको पुनरावेदन परी पेस भएको पाइयो । 

३. प्रतिवादीमध्येका फुलो मंसुरी मियाँलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुन ठहरी भएको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत राजाविराजको फैसला यस अदालतबाट मिति २०६८।३।१७ मा साधक सदर हुने ठहरी फैसला भई अन्तिम भएकोले सो सम्बन्धमा बोली रहनु परेन । 

४. अब अन्य प्रतिवादीहरू सकुर मंसुरी मियाँ, इब्राहिम मंसुरी मियाँ, सहिद मंसुरी मिया, इद्रिस मंसुरी मियाँ, रामदेव मण्डल र विष्णुदेव मण्डलको हकमा हेर्दा, सर्वप्रथम सकुर मंसुरी मियाँ र इब्राहिम मंसुरी मियाँको हकमा विचार गर्दा निज प्रतिवादीहरूले मृतक संजयकुमार मण्डललाई मार्नको लागि हात समाती मार्नलाई संयोग पारी दिएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. को कसुरमा सोही १३(४) बमोजिम सजाय हुन माग दाबी लिएकोमा निज प्रतिवादीहरू सकुर मंसुरी मिया र इब्राहिम मंसुरी मिया आरोपित कसुरमा इन्कार रही अदालतमा बयान गरेको देखिन्छ । निजहरूले मृतक संजयकुमार मण्डललाई मार्न हात समाती दिएको भनी जाहेरी दरखास्तमा उल्लेख गरेको देखिँदैन । निज जाहेरवालाले अदालतसमक्ष बकपत्र गर्दा हात समाउने कार्य इद्रिस मियाले गरेको र अरूले नै चोट छाडेको भनी बकपत्र लेखाएको देखिन्छ । आफूले जाहेरी दरखास्तमा नलेखाएको कुरालाई अदालतमा बेहोरा फरक पारी बकपत्र गरेबाट निजको बकपत्रले उक्त वारदातमा यी प्रतिवादीको के कस्तो भूमिका थियो भनी खुलाउन र प्रमाणित गर्न सकेको पनि देखिँदैन । जाहेरी दरखास्तमा उल्लिखित बेहोरालाई जाहेरवालाले पुष्टिसम्म गर्ने हो जाहेरी दरखास्तमा उल्लेख भएको बेहोरा फरक पारी गरेकोलाई यी प्रतिवादीहरूको हकमा स्वतन्त्र र विश्‍वसनीय मान्‍न मिल्ने देखिँदैन । जाहेरी दरखास्तमा नै उल्लेख नभएको कुरा पछि बकपत्र गर्दा सच्याएकोलाई प्रमाणमा लिन मिल्ने देखिँदैन । यी प्रतिवादी वारदातस्थलमा रही कसुर गरेको भनी मौकामा कागज गर्दा लेखाए पनि मौकामा कागज गर्ने व्यक्तिहरूले अदालतमा बकपत्र गर्दा खुलाउन सकेको पनि देखिँदैन । यस्तो स्थितिमा यी प्रतिवादीहरूले मृतकलाई मार्न घेरा हाली छेकी भाग्न उम्कन नपाउने गरी संयोग पारी दिएको भन्‍ने कुरा वस्तुनिष्ट प्रमाणबाट पुष्टि हुन नसकेकोले निजहरूको हकमा ज्यानसम्बन्धीको महलको १३(४) नं. को अभियोग दाबी पुग्न सक्दैन । यी प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको पुनरावदेन अदालतको फैसला निजहरूको हकमा मिलेकै देखिन आयो ।

५. सहिद मंसुरी मियाँ र इद्रिस मंसुरी मियाँको हकमा विचार गर्दा वादी नेपाल सरकारले निजहरू विरूद्ध ज्यानसम्बन्धीको महलको १३(४) नं. को कसुरमा सोही नं. बमोजिम सजाय हुन मागदाबी लिएको देखिन्छ । उक्त मागदाबीमा सहिद मंसुरी मियाँले मृतक संजयकुमार मण्डललाई मार भनी वचन दिएको र इद्रिस मंसुर मियाँले मृतकको हात समाई मार्न संयोग पारीदिएको भन्‍ने अभियोग दाबी देखिन्छ । जाहेरवाला राजदेव मण्डलले मिति २०५९।९।२६ मा घाउ जाँच गराई पाउँ भनी दिएको दरखास्तमा इद्रिस मंसुर मियाँले चोट छाडेको भनी लेखाएको र निजले हात समाती मार्न संयोग पारिदिएको भनी कहीँकतै उल्लेख गरेको देखिँदैन । निज जाहेरवालाले अदालतमा इद्रिस मंसुरी मियाँले हात समाई मार्न संयोग पारिदिएको भनी बकपत्र गरेको देखिन्छ । निजले जाहेरी दरखास्त दिँदा उक्त कार्य गरेको भनी लेखाउन नसकेबाट अदालतमा आई बकपत्र गर्दा बेहोरा नै फरक पारी जाहेरी दरखास्तमा नै नपरेको बेहोरा लेखाई बकपत्र गरेको देखिन्छ । अदालतमा बकपत्र गर्दा तथ्य फरक पारी जाहेरी दरखास्तमा उल्लेख नगरेको कुरा थप गरी बकपत्र गरेकै आधारमा दोषी ठहर गर्न मिल्ने देखिँदैन । राजदेव मण्डलले दिएको जाहेरी दरखास्तमा यी प्रतिवादीहरू हातमा लाठी लिई वारदातस्थलमा उपस्थित भएको भन्‍ने तथ्य देखिएबाट यी प्रतिवादीहरू सहिद मंसुरी मियाँ र इद्रिस मंसुरी मियाँ वारदातस्थलमा उपस्थित रहेको र मृतकलाई भाग्न उम्कन नदिई छेकथुन गरेकोले निजहरूलाई सुरू जिल्ला अदालतबाट ज्यानसम्बन्धीको महलको १७(२) नं. अनुसार ५ वर्ष कैद हुने ठहर गरी भएको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत राजविराजबाट मिति २०६३।१।१९ मा भएको फैसला निजहरूको हकमा मिलेकै देखिन आयो ।

६. अर्का प्रतिवादीहरू रामदेव मण्डल र विष्णुदेव मण्डलको हकमा विचार गर्दा, निजहरू विरूद्ध ज्यानसम्बन्धीको महलको १७(२) नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग दाबी लिएको देखिन्छ । निजहरू आरोपित कसुरमा इन्कार रही बयान गरेको र उक्त बयानलाई निजहरूका साक्षी सत्रुघन राय र रतन रायले बकपत्र गर्दा समर्थन गरी निजहरू उक्त वारदातस्थलमा नभई अन्यत्र भएको भनी लेखाएको देखिन्छ । सहप्रतिवादी फुलो मंसुरी मियाँले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफू र आफ्नो परिवार मात्र वारदातस्थलमा उपस्थित भएको भनी बयान गरेको र यी जाहेरवालाले बकपत्र गर्दासमेत यी प्रतिवादीहरूले के कस्तो भूमिका निर्वाह गरे भनी खुलाउन सकेको देखिँदैन । यी जाहेरवाला र अन्य प्रतिवादीहरूका बीच खेत पटाउने विवादमा सो वारदात घट्न गएको भन्‍ने देखिन्छ । सो वारदातमा निजहरूको कुनै संलग्नता रहेको वस्तुनिष्ठ प्रमाण वादी पक्षबाट गुजार्न सकेको देखिँदैन । सो अवस्थामा अनुमानको भरमा कसैलाई कर्तव्य ज्यान जस्तो मुद्दामा कसुरदार ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तअनुकूल देखिँदैन । तसर्थ निज प्रतिवादीहरू रामदेव मण्डल र विष्णुदेव मण्डललाई अभियोग दाबीबाट सफाइ दिने ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत राजविराजबाट मिति २०६३।१।१९ मा भएको फैसला मिलेकै देखिन आयो ।

७. मौकामा कागज गर्ने व्यक्तिहरूले व्यक्त गरेको कुरा अदालतमा आई समर्थन गरी बकपत्र गरेकोमा केही प्रतिवादीका हकमा प्रमाणमा लिने र केही प्रतिवादीका हकमा प्रमाणमा नलिने गरी दोहोरो मापदण्ड अपनाएको भन्‍ने पुनरावेदन जिकिर रहेको देखिन्छ । मौकामा कागज गरी अदालतमा बकपत्र गर्ने व्यक्तिहरूको भनाइ निजहरूले पोल गरेको सबै व्यक्तिहरूका हकमा यान्त्रिक तबरले प्रमाणमा ग्रहण गर्न मिल्ने हुँदैन । कागज गर्ने व्यक्तिको वारदातस्थलमा रहेको उपस्थिति, वारदातको प्रकृति, वारदातमा प्रयोग भएको साधन, हातहतियार, पीडितलाई परेको घाउचोटको अवस्थासमेत विचारणीय हुन आउँछ । प्रस्तुत वारदातमा मृतक संजयकुमार मण्डलको टाउकोमा धारिलो हतियारले काटेको एउटा घाउबाहेक शरीरको अन्य भागमा कुनै चोटपटक निलडाम नदेखिएको भन्‍ने लास प्रकृति मुचुल्काबाट देखिएको छ । मृतकलाई एक जनाबाहेक अन्य व्यक्तिले चोट छाडेको देखिँदैन । प्रस्तुत वारदातमा मृतक र प्रतिवादीतर्फका समूहका बीच कुटपिट भएको तथ्य प्रतिवादीहरूको शरीरमा लागेको घा खतको केस फारामबाट पुष्टि भएको छ । एक समूहका व्यक्तिले अर्को समूहका वारदातमा संलग्न नै नभएका व्यक्तिहरूलाई पनि झुट्ठा पोल गर्ने सम्भावना रहने हुनाले केवल पोल गरेको भनाइकै आधारमा मात्र न्याय निरूपण गर्दा निर्दोष व्यक्ति पनि सजाय भागी हुनसक्ने सम्भावना रहने हुनाले वारदातको प्रकृति, पीडितको अवस्था, बकपत्र गर्ने व्यक्तिको पीडित र प्रतिवादीसँग भएको सम्बन्धसमेतलाई विश्लेषण गरी त्यस्तो अनुसन्धानमा बुझिएका व्यक्तिहरूले गरेको कागज तथा बकपत्रलाई ग्रहण गर्नुपर्ने हुन्छ । सबै प्रतिवादीहरूका हकमा समानरूपमा प्रमाण ग्रहण गर्नुपर्ने भन्‍ने वादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिन्‍न । 

८. तसर्थ प्रतिवादीहरू सहिद मंसुरी मिया र इद्रिस मंसुरी मियाँलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं. बमोजिम ५ वर्ष कैद सजाय हुने र अन्य प्रतिवादीहरू सकुर मंसुरी मियाँ, इब्राहिम मंसुरी मियाँ, रामदेव मण्डल र विष्णुदेव मण्डललाई अभियोग दाबीबाट सफाइ हुने ठहर्‍याई पुनरावेदन अदालत राजविराजबाट मिति २०६३।१।१९ र मिति २०७०।९।२९ मा भएका फैसलाहरू मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. प्रकाशमान सिंह राउत

 

इजलास अधिकृत : जगतबहादुर पौडेल

इति संवत् २०७४ साल मङ्सिर १३ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु