शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३२६ - दर्ता बदर

भाग: ३३ साल: २०४८ महिना: कार्तिक अंक:

निर्णय नं. ४३२६     ने.का.प. २०४८      अङ्क ७

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४५ सालको दे.पु.नं. ८२९

फैसला भएको मिति : २०४८।६।२ मा

पुनरावेदक/वादी : मोरङ जिल्ला बेलवारी गा.पं. वार्ड नं. ३ बस्ने ऋषिकेश सुवेदी

विरुद्ध

विपक्षी/प्रतिवादी : सुनसरी जिल्ला इटहरी गा.पं.वार्ड नं.८ बस्ने रामकुमार सुब्बासमेत

मुद्दा : दर्ता बदर

(१)    हक हस्तान्तरण गर्ने लिखतमा विवाद नभएपछि के कति जग्गा कस्को हो सबूद प्रमाण कानुनका आधारमा इन्साफ गर्नु पर्ने ।

(प्रकरण नं. १४)

पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की

फैसला

न्या.लक्ष्मणप्रसाद अर्याल

१.     प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ ।

२.    मैले बमबहादुर लिम्बुबाट २०२५।२।२६ मा रु. ३६५०।थैली हाली निज नाउँ दर्ताको जि.सुनसरी प्रवेली मौजे काला बंजरा इटहरी गा.पं. वार्ड नं. १ अन्तर्गतको साविक कि.नं. २८० को २।।।१।।। दुई कठ्ठा पौने सत्र धुर जग्गा राजीनामा गरी लिएको थिएँ । सो जग्गा नामसारी दाखेल खारेज गरी ०२५ साल देखि मालपोत तिरी २ नं. रसिद प्राप्त गरी जग्गा भोगी चर्ची आएकोले फिराद जिकिर गरे अनुसार विपक्षी रामबहादुरको जग्गा र मेरो जग्गा अलग अलग हुँदा हुँदै सो कुरालाई जानी जानी विपक्षीले मेरो हकको कि.नं. २२५ को ०१६१२ जग्गा मिति ०३९।७।१ मा नामसारी दाखिल दर्ता गरी लानुभएको र सो भन्दा अघि बिना आधार प्रमाण महेश्वर लिम्बुका नाममा दर्ता कायम भएको, विपक्षी रामबहादुर महेश्वरका नाममा दर्ता भएको कुरा मैले नामसारी दर्ताको कारवाही चलाएको सिलसिलामा मालपोत कार्यालय सुनसरीले ०४०।१।१२ मा गरेको निर्णय पर्चाको व्यहोराबाट थाहा पाएको हुँदा फिराद गर्न आएको छु । महेश्वरले दर्ता गरेपछि रामबहादुरले दर्ता गराएको कि.नं. २२५ को ०१६१२ जग्गाको दर्ता बदर गरी मेरो नाउँमा नामसारी दर्ता कायम गरी पाउँ भन्ने फिराद ।

३.    वादीले म प्र.पं.को नाउँमा उजूर गर्नु पर्दा कारण खुलाई पूर्व सूचना दिनु पर्ने दिनु भएको छैन, त्यसकारण म उपरको फिराद दावी खारेज गरी पाउँ भन्ने समेत प्र.पं.रामकुमार सुब्बाको प्रतिउत्तर ।

४.    वादी दावी झुठ्ठा हो । वादीको जग्गा मैले दर्ता गरी लिएको छैन । मेरो दाता चित्रकुमारी र धनकुमारी समेतले साविक दर्तावाला महेश्वर लिम्बुका नाउँमा दर्ता भएको जग्गा खरीद गरी लिएको हो । वादीको दाता र मेरो दाताहरु नै अलग अलग भएको हुँदा वादीको जग्गा दर्ता गराई लिएको होइन भन्ने समेत व्यहोराको रामबहादुरको प्रतिउत्तर ।

५.    वादीको फिरादपत्र हदम्याद नाघी दर्ता (साविक पेज नं. ३६४) भएको देखिएकोले खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको ०४२।६।३ को फैसला ।

६.    शुरु जिल्ला अदालतको फैसलामा चित्त बुझेन मेरो फिराद दावी बमोजिम गरी पाउँ भन्ने वादीको कोशी अञ्चल अदालतमा परेको पुनरावेदन ।

७.    वादी दावी खारेज हुने ठहर्‍याई गरेको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने कोशी अञ्चल अदालतको फैसला ।

८.    शुरु अदालत र अञ्चल अदालतको फैसला बदर गरी दावी बमोजिम गरी पाउन पुनरावेदनको अनुमति पाउँ भनी ऋषिकेश सुवेदीको पू.क्षे.अ.मा परेको निवेदनपत्र ।

९.    फिराद खारेज गरेको फैसला सदर गरेको कोशी अञ्चल अदालतको फैसला त्रुटिपूर्ण देखिएकोले न्या.प्र.सु. (संशोधन सहित) ऐन, ०३१ दफा १३(४) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश ।

१०.    विवादित कि.नं. २२५ मिति ०२८।११।२७ मा नै महेश्वर लिम्बुको नाउँमा दर्ता भएपछि तत्काल प्रचलित जग्गा पजनीको १७ नं., ज.मि.को १८ नं. बमोजिम आफ्नो जग्गा अरुको नाउँमा दर्ता भएमा २ वर्ष भित्र नालिश गर्नु पर्नेमा सो नगरी ०३४ सालमा संशोधित ज.प.को १७ नं. र ज.मि.को १८ नं. को सहारा लिई उजूर गर्न पाउँदैन । २ वर्षको हदम्याद नघाई फिराद गरेको देखिँदा हदम्याद नाघेको कारणबाट फिराद खारेज गर्ने ठहराइएको शुरुको निर्णय सदर गरेको कोशी अञ्चल अदालतको फैसला मनासिब देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन खारेजी निर्णय सदर हुन्छ भन्ने व्यहोराको मिति ०४५।१०।३ मा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला ।

११.    मेरो फिराद दावी म्यादभित्रको छ । मुद्दा गर्नु पर्ने कारण ०४०।१।१२ को मालपोत कार्यालयको पर्चा हुन गएको छ । बहाल रहेको ऐनको जग्गा पजनीको १७ नं. को म्याद भित्र फिराद परेको छ । पू.क्षे.अ.ले साविक ऐनको जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं. लाई लिएको छ जुन लिन मिल्दैन । जग्गा पजनीको २(क) को रोहमा अन्य हदम्याद हेरिनु पर्नेमा नहेरिएबाट समेत त्रुटिपूर्ण फैसला भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी ऋषिकेश सुवेदीले यस अदालतमा दिएको निवेदन ।

१२.   कुनै जग्गाको दर्ता सम्बन्धी विवादमा हक बेहकको प्रश्न उठेमा जग्गा पजनीको १७ नं. अनुसार ऐनको म्याद भित्र अदालतमा नालेश गरी निर्णय गराउनु पर्ने भन्ने सिद्धान्त (नि.नं. २५८३, ने.का.प. २०४३ पृष्ठ १ मा प्रकाशित) यस अदालत फूलबेञ्चबाट प्रतिपादन भइरहेको पाइन्छ । पू.क्षे.अ.को उक्त फैसला उल्लेखित कानुनी सिद्धान्त विपरीत देखिन आई न्या.प्र.सु. (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५)(ग) को अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।

१३.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र विपक्षी प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्कीको बहस समेत सुनियो । हदम्याद नाघेको कारण समेतबाट वादी दावी खारेज गर्ने ठहराएको शुरु सुनसरी जिल्ला अदालतको निर्णयलाई सदर गरेको को.अं.अ.को फैसलालाई मनासिब ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन निर्णय दिनु पर्ने हुन आयो ।

१४.   यसमा वादी ऋषिकेश सुवेदीले मिति ०४०।२।२३ मा दायर गरेको फिरादपत्रको प्रकरण २ मा मिति २०२४।११।१ मा कि.नं. २८१ सम्म खरीद गरी लिनेले मेरा दाता बमबहादुरले राजीनामा गरी लिएको कि.नं. २८० को बेगल चार (साविक पेज नं. ३६५) किल्लाको जग्गा अड्डा झुक्याई महेश्वरले दर्ता गरेको भन्ने र फिरादको प्रकरण ८ मा दर्ता नै हुन नसक्ने महेश्वरका नाउँमा दर्ता भई सोही नाताले हक खाने निजको छोरा रामबहादुर सुब्बाका नाउँमा र रामबहादुर उपर गैह्र कानुनी दर्ता बदरमा यो फिराद गरेको छु भन्ने र फिरादको प्रकरण ९ मा प्र.पं. रामकुमारले दिएको सिफारिश भूलले हुन गएछ भनी मिति ०३९।६।२९ मा इटहरी गा.पं.ले पत्र लेखेको, कि.नं. २२५ को जग्गा एरियाको नक्शा लिखत चौहदीबाट ऋषिकेश सुवेदीको प्रष्ट देखिन आएको हुँदा रामबहादुरलाई दिएको सिफारिश भूलसुधार गरी कि.नं. २२५ को जग्गाधनी पूर्जा ऋषिकेश सुवेदीलाई दिन हुन भनी मिति ०३९।१२।२१ मा पुनः मालपोत कार्यालय सुनसरीलाई पत्र लेखेको भन्ने र रामकुमार सुब्बाले निजको बाबु महेश्वरले आफू समेतले प्रभात शमशेरबाट मिति ०२४।११।१ मा राजीनामा गरी लिएको कि.नं. २८१ को जग्गा चित्रकुमारी, धनकुमारीलाई मिति ०२५।१।२७ मा र निजहरुले प्र.रामप्रसादलाई मिति ०२६।८।१० मा राजीनामा गरी दिई हक छाडी दिइसकेको जग्गाको मिति ०२८।११।२७ मा हकै नभएको अवस्थामा लिएको जग्गाधनी पुर्जा खडा गरेको श्रेस्ताको कानुनी मान्यता नहुने हुँदा त्यस्तो दूषित दर्ता बदर गरी रामबहादुरको नाउँमा मिति ०३९।१२।२१ मा भएको दर्ता बदर गरी पाउँ भन्ने मुख्य दावी देखिन्छ । मालपोत कार्यालयले वादीलाई महेश्वरका नाउँमा मिति ०२८।११।२७ मा दर्ता भएको जनाउ दिएपछि यो प्रस्तुत फिराद परेको देखिँदा वादी र प्रतिवादीतर्फका मूल दाता प्रभात शमशेरबाट राजीनामा गरी लिएको र तहतह लिखतहरु हुँदै गएको देखिएको, ती लिखतको सम्बन्धमा विवाद नभएको हुँदा हक हस्तान्तरण गर्ने लिखतमा विवाद नभएपछि के कति जग्गा कस्को हो सबूद प्रमाण कानुनका आधारमा इन्साफ गर्नु पर्ने प्रस्तुत मुद्दाको स्थिति देखिँदा फिराद दावी खारेज गर्ने गरेको शुरु अदालतको निर्णयलाई सदर गर्ने गरेको कोशी अञ्चल अदालतको निर्णय मनासिब ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा बदर हुने ठहर्छ । पुनः कानुन बमोजिम जो बुझ्नु पर्ने बुझी ठहर इन्साफ गर्न दुवै पक्षलाई तारेख तोकी मिसिल सुनसरी जिल्ला अदालतमा पठाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.मोहनप्रसाद शर्मा

इतिसम्वत् २०४८ साल आश्विन २ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु