निर्णय नं. ९९८३ - अबन्डा जग्गा बन्डा
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
फैसला मिति : २०७४।११।१३
०७२-CI-०४२२
मुद्दा : अबन्डा जग्गा बन्डा
पुनरावेदक / वादी : स्व.किशोरी यादवको छोरा महोत्तरी जिल्ला बगडा गा.वि.स. वडा नं.३ बस्ने वर्ष ४७ को रामबाबु यादव
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : स्व.किशोरी यादवको छोरा महोत्तरी जिल्ला बगडा गा.वि.स. वडा नं.३ बस्ने वर्ष ५१ को रामविनोद यादवसमेत
कुनै पनि सम्पत्ति अबन्डा रहेको भनी बन्डापत्रमा उल्लेख नभएपनि उक्त सम्पत्तिको स्रोत, प्रकृति, पृष्ठभूमि, अवस्था र उक्त सम्पत्तिमा यी मुद्दाको पक्षको संलग्नता, उपस्थिति र लगाव एवं वादीको जीवनप्रतिको अधिकारको अवस्था एवं मनस्थितिसमेतलाई न्यायिक आधारमा हेरी एवं मूल्याङ्कन गरेर नै उक्त सम्पत्ति अबन्डा हो वा होइन ? भनी निर्धारण गर्नुपर्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीका तर्फबाट :
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवम् विद्वान् अधिवक्ता श्री राजु कटुवाल
अवलम्बित नजिर :
ने.का.प. २०६७, नि.नं. ८३७८, पृ.८१४
ने.का.प. २०६९, अंक ६, नि.नं.८८४६, पृ.९५१
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
मा.जिल्ला न्या.श्री नारायणप्रसाद श्रेष्ठ
महोत्तरी जिल्ला अदालत ।
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित
पुनरावेदन अदालत जनकपुर ।
फैसला
न्या.तेजबहादुर के.सी.: तत्कालीन पुनरावेदन अदालत, जनकपुरको मिति २०७१।०८।०८ को फैसलाउपर मुद्दा दोहोर्याई पाउँ भनी वादीको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
स्व.पिता किशोरी यादव तथा स्व.आमा वनारसी देवीका म वादी र विपक्षी रामविनोद यादव दुई छोरा रहेको र विपक्षी कुमिन्द्र कुमारी यादव भाउजू हुनुहुन्छ । हामी दुई दाजुभाइबीच मिति २०६५।६।२।५ मा मालपोत कार्यालय, महोत्तरीमा गई र.नं.१०९८(ख) बाट अंशबन्डाको लिखत पारित गरी अंशबन्डा छुट्याई बेग्लाबेग्लै बस्दै आएको र हामी वादी प्रतिवादीबीच सगोलमा रहँदाकै अवस्थामा सगोलको आर्जनबाट विपक्षी भाउजूको नाममा महोत्तरी जिल्ला बगडा गा.वि.स. वडा नं.४ अन्तर्गत पर्ने सर्वे नापी नभएको बाटोदेखि पूर्व, वुधु यादवदेखि पश्चिम, बाटोदेखि उत्तर र बाटोदेखि दक्षिण यति चार किल्लाभित्रको पूर्व मुखको फुसको छाना भएको घरसमेत भोगचलन गर्दै आएकोमा अंशबन्डाको लिखत पारित हुँदा सो घर घडेरी उल्लेख हुन छुट भएको कारण अबन्डा गोश्वारा सम्पत्तिकै रूपमा रहन गएकोले उक्त घर घडेरी जग्गामध्ये म वादीले भोगचलन गर्दै आएको दक्षिणतर्फबाट आधीको घर जग्गाको बन्डा छुट्याई दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
अंशबन्डा नलाग्ने सम्पत्ति भएकोले नै दाबीको घडेरी जग्गा बन्डापत्रमा उल्लेख नरहेकोले वादीको दाबीबाट फुर्सत दिलाई पाउँसमेत बेहोराको प्रतिवादीको प्रतिउत्तर जिकिर ।
प्रतिवादीको साक्षी राजकिशोर यादवले सुरू अदालतमा आई गरेको बकपत्र ।
सुरू अदालतको आदेशानुसार झिकाएको गा.वि.स. बगडा, महोत्तरीबाट प्राप्त भएको हक भोगका सिफारिस पत्र ।
दाबीको जग्गा अबन्डा रहेको बन्डा लाग्ने सम्पत्ति भएको भन्ने सम्बन्धमा वादीबाट प्रमाण प्रस्तुत हुनसकेको नदेखिएको हुँदा वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने महोत्तरी जिल्ला अदालतको मिति २०६९।११।१४ को सुरू फैसला ।
दाबीको जग्गा मसमेतको आधी अंश हक भई आधीको भोगचलन गर्दै आइरहेको भन्ने कुरा गा.वि.स.ले गरेको हकभोगको सिफारिससमेतबाट पुष्टि भइरहेकोमा दाबी नपुग्ने गरी भएको सुरू फैसला बदर गरी वादी दाबीबमोजिम गरिपाउँ भन्ने बेहोराको वादीको तर्फबाट पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदनपत्र ।
यसमा वादी प्रतिवादीका बीच मिति २०६५।०६।०२ मा अंशबन्डा पारित भएको देखिएको र सो बन्डापत्रमा आजसम्म हामी सगोलमा बसी आएको भन्ने बेहोरा उल्लेख भएको दाबीको अबन्डा जग्गा सगोलमा रहेको अवस्थामा खरिद गरेको अबन्डा सम्पत्तिको हकमा दाबी पुग्न नसक्ने ठहर्याई सुरूले गरेको फैसला फरक पर्नसक्ने देखिँदा अ.व.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत, जनकपुरको मिति २०७१।०३।२३ को आदेश ।
वादीले आफूहरूको सगोलको आर्जनबाट खरिद गरेको र भोग गर्दै आएको भनी जिकिर लिए पनि आफूले सगोलमा आर्जन गरेको सम्पत्तिबाट किनेको र भोग चलनसमेत गरी राखेको भए बन्डा मुचुल्का हुँदा उक्त जग्गालाई बाहेक गरी बन्डा गर्नुपर्ने कारणसमेत वादीले खुलाउन सकेको नदेखिँदा सगोलको पैतृक सम्पत्ति भन्ने नदेखिएको र आफूहरूबीच २०४१ सालमा मानो अलग गरी बसेको कुरालाई स्वीकार गरेको र सोपछि २०५७ सालमा खरिद भएको घर घडेरी सगोलकै अवस्थाको बन्डा हुने अवस्थाको नदेखिई बन्डा हुँदाको अवस्थामा समेत अबन्डा जनिएको समेत नदेखिएबाट वादी दाबी नपुग्ने ठहर्याएको महोत्तरी जिल्ला अदालतको मिति २०६९।११।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत, जनकपुरको मिति २०७१।०८।०८ को फैसला ।
दाबीको जग्गा प्रतिवादी कुमिन्द्रकुमारी यादवको नाउँमा मिति २०५७।११।०८ मा राजीनामा लिखतबाट खरिद भई आएकोमा विवाद छैन । म निवेदक वादी र प्रतिवादीहरूबीच मिति २०६५।०६।२० मा र.नं.१०९८(ख) बाट मालपोत कार्यालय, महोत्तरीमार्फत अंशबन्डा भएको हो । सो बन्डापत्रमा भूलवश दाबी जग्गा छुट्न गई जग्गा अबन्डा रही बराबर भोगचलनमा रहेको छ । अंशबन्डा हुनुपूर्व सगोलमा रही सगोलमा नै खरिद गरेको उक्त अबन्डा जग्गा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम समेत स्वयम् अदालतले सगोलकै हो भनी अनुमान गर्नुपर्ने हुन्छ । बन्डापत्रको बेहोरामा नै यतिका दिनसम्म सगोलमा रहेको र परस्पर चित्त नमिली अलगअलग भई आ-आफ्नो जीविका चलाउने भनी उल्लेख भएबाट समेत २०४१ सालमा मानो छुट्टिएको भन्ने आधार विवादास्पद रहेको छ । दाबीको जग्गा विपक्षी प्रतिवादीहरूको एकलौटी हकभोगको जग्गा हो भन्ने तथ्य मिसिल संलग्न झिनो प्रमाणसमेतबाट पुष्टि हुन सकेको छैन । एकासगोलमा रही आर्जन गरेको सम्पत्ति सगोलकै हुने एवम् एकलौटी हक भोगको सम्पत्ति हुन निजी आर्जनको स्रोत पुष्टि गर्नुपर्ने सन्दर्भसँग सम्बन्धित प्रतिपादित कानूनी सिद्धान्तसमेतको विपरीत पुनरावेदन अदालतबाट वादी दाबी पुग्न नसक्ने ठहर्याई भएको सुरू फैसलालाई सदर हुने गरी भएको फैसला प्रमाण र कानूनको रोहमा त्रुटिपूर्ण रहेकाले दोहोर्याई हेरी इन्साफ पाउँ भन्ने बेहोराको वादीको तर्फबाट यस अदालतमा पर्न आएको निवेदन ।
यसमा दाबीको घर जग्गा प्रतिवादीहरू सगोलमा रहेकै अवस्थामा कुमिन्द्रकुमारी यादवका नाउँमा मिति २०५७।११।०८ मा राजीनामा पत्रबाट प्राप्त भएको देखिन्छ । मिति २०६५।०६।०२ मा बन्डापत्र पारित हुँदा उक्त जग्गा उल्लेख नभएको अवस्थामा उक्त जग्गा वादी दाबी पुग्न नसक्ने ठहर्याई पुनरावेदन अदालतबाट मिति २०७१।०८।०८ मा भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४, अ.बं.१८४क नं.को त्रुटि हुनुका साथै ने.का.प. २०६९ अंक ६ नि.नं.८८४६ पृ. ९५१ मा प्रतिपादित सिद्धान्तसमेत विपरीत देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०७२।०४।३२ को निस्सा प्रदान गर्ने आदेश ।
यस अदालतको मिति २०७४।०१।२२ को प्रमाण मिसिल वादी रामविनोद यादव र प्रतिवादी रामबाबु यादव भएको ०७०-DP-०२३५ को दाखिल खारेज अबन्डा जग्गा बन्डा भन्ने मुद्दाको पुनरावेदन अदालतको फैसलासमेत रहेको सुरू मिसिलसमेतको मिसिल झिकाउने आदेशानुसार मिसिल प्राप्त भई प्रमाणको रूपमा मिसिल सामेल रहेको ।
यस अदालतको ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनपत्रसहितको मिसिल अध्ययन गरी प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवम् विद्वान् अधिवक्ता श्री राजु कटुवालले यी वादी प्रतिवादीहरू २०४१ सालबाटै व्यवहारमा अलग भई आएको तथ्य वादी रामबाबुले ०३७-०६७-०१०४३ को दाखिल खारेज अबन्डा जग्गा बन्डा मुद्दामा प्रतिउत्तर गर्दा सो तथ्यको खण्डन नगरी स्वीकारेका छन् । २०४१ सालमै मानो छुट्टिएको भए पनि वादी प्रतिवादीबीच अंशबन्डा भने मिति २०६५।०६।०२ मा मालपोत कार्यालय, महोत्तरीमा लिखत पारित गरी भएको हो । दाबीको जग्गा बन्डापत्रमा उल्लेख हुन छुटेको भए वादीहरूले अंश दपोटतर्फ मुद्दा दिनु पर्ने हो, सोसमेत दिएका छैनन् । सगोलको आर्जनबाट राजीनामामार्फत खरिद गरी लिएको जग्गा बन्डापत्रमा छुट्न गएको मनासिब कारणसमेत वादीले पुष्टि गर्न नसकेको अवस्थामा वादी दाबी पुग्न नसक्ने गरी भएको सुरू तथा पुनरावेदन अदालतको फैसला न्यायसङ्गत नै रहेको हुँदा सो इन्साफ सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त बहस जिकिर सुनी मिसिल संलग्न प्रमाण कागजात एवम् तथ्यहरूको अध्ययन गरी हेर्दा, पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्नसक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, स्व.पिता किशोरी यादव तथा स्व.आमा वनारसी देवीका हामी दुई दाजुभाइ रामबाबु यादव र रामविनोद यादवबीच मिति २०६५।६।२।५ मा मालपोत कार्यालय, महोत्तरीमा गई र.नं.१०९८(ख) बाट अंशबन्डाको लिखत पारित हुँदा विपक्षी भाउजूको नाममा महोत्तरी जिल्ला बगडा गा.वि.स. वडा नं.४ अन्तर्गत पर्ने सर्वे नापी नभएको पूर्व मुखको फुसको छाना भएको घर घडेरी उल्लेख हुन छुट भएको कारण अबन्डा गोश्वारा सम्पत्तिकै रूपमा रहन गएकोले उक्त घर घडेरी जग्गामध्ये म वादीले भोगचलन गर्दै आएको दक्षिणतर्फबाट आधीको घर जग्गाको बन्डा छुट्याई दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको फिराद दाबी रहेकोमा अंशबन्डा नलाग्ने सम्पत्ति भएकोले नै दाबीको घडेरी जग्गा बन्डापत्रमा उल्लेख नरहेकोले वादीको दाबीबाट फुर्सत दिलाई पाउँसमेत बेहोराको प्रतिवादीको प्रतिउत्तर जिकिर रहेको पाइन्छ । सुरू महोत्तरी जिल्ला अदालतबाट वादी दाबी पुग्न नसक्ने ठहरी भएको फैसलाउपर वादीको तर्फबाट पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत, जनकपुरबाट सुरू फैसला सदर हुने ठहर्याई फैसला भएको रहेछ । उक्त फैसलाउपर वादीको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई पाउनको लागि परेको निवेदनमा निस्सा प्रदान भई प्रस्तुत मुद्दा पेस हुन आएको पाइयो ।
३. वादी प्रतिवादी मूलतः दुई अंशियार रहेको, दाबीको जग्गा प्रतिवादी कुमिन्द्रकुमारी यादवको नाउँमा मिति २०५७।११।०८ मा राजीनामाबाट खरिद गरिलिएको एवम् निज वादी प्रतिवादीहरू बीच मिति २०६५।०६।०२ मा मालपोत कार्यालय, महोत्तरीमा अंशबन्डाको लिखत रजिस्ट्रेसन पारित भई विधिवत्रूपमा नै अंशबन्डा भएको कुरामा विवाद रहेको पाइँदैन । वादीले प्रस्तुत मुद्दा दोहोर्याई पाउँ भनी दिएको निवेदनमा प्रतिवादी कुमिन्द्रकुमारी यादवको नाममा दर्ता रहेको दाबीको घरघडेरी जग्गा सगोलको रही अंशबन्डापत्रमा छुट्न गएकोले अबन्डा जग्गा बन्डा गर्नुपर्ने भन्ने नै वादीको मुख्य जिकिर रहेको पाइन्छ । दाबीको जग्गा प्रतिवादी कुमिन्द्रकुमारी यादवले झालो यादवबाट राजीनामा पारित गरिलिएको देखिन्छ । सो राजीनामाबाट खरिद गरिलिएको जग्गा यो यस कारणले सगोलको सम्पत्तिबाट खरिद गरिएको भनी पुष्टि हुने कुनै प्रमाण वादीबाट पेस हुनसकेको छैन । प्रमाण ऐन, २०३१ को दफा २६ बमोजिम देवानी मुद्दामा आफ्नो दाबी प्रमाणित गर्ने भार वादीको हुने व्यवस्था रहेबाट समेत वादीले दाबीलाई पुष्टि गर्नुपर्ने देखिन्छ ।
४. यस अदालतबाट निस्सा प्रदान गर्दा पुनरावेदन अदालतबाट मिति २०७१।०८।०८ मा भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४, र अ.बं.१८४(क) नं. को त्रुटि भएको भनी पहिलो आधार लिएको देखिन्छ । उक्त दफा ३ मा अदालतले मुद्दामा ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्बद्ध कुराको मात्र प्रमाण बुझ्न हुन्छ । स्पष्टीकरणः “सम्बद्ध कुरा” भन्नाले मुद्दामा ठहर गर्नुपर्ने कुरालाई प्रमाणित वा खण्डन गर्न सहायता हुने कुरालाई सम्झनु पर्छ” र दफा ५४ मा प्रमाणको रूपमा अदालतले मुद्दामा विवादको निरूपणको क्रममा बुझ्नु हुने वा नहुने प्रमाणको बारेमा व्यवस्था गरेको पाइन्छ । प्रमाणको सम्बद्धतासम्बन्धी चार्ल्स गुरूमुख शोभराज विरूद्ध नेपाल सरकार, ने.का.प. २०६७, नि.नं.८३७८, पृ.८१४ मा “कानूनअनुरूप प्रमाणको रूपमा पेस गरिएका कुराहरूको मुद्दामा सम्बद्धता छ वा छैन भन्ने विषय अदालतले निर्धारण गर्न सक्ने” भनी कानूनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । पुनरावेदन अदालत, जनकपुरबाट फैसला गर्दा, यिनै वादी प्रतिवादीबीच चलेको ०३७-०६७-०१०४३ को दाखिल खारेज अबन्डा जग्गा बन्डा मुद्दामा पुनरावेदक वादी रामबाबु यादवले प्रतिउत्तर गर्दा फिराद दाबीकै रूपमा रहेको २०४१ सालमै मानो छुट्टिएको तथ्यलाई खण्डन नगरी मौन रहेबाट सो कुरा स्वीकार गरेको भनी सो तथ्यलाई आधार प्रमाणमा लिएको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्था एवम् प्रतिपादित कानूनी सिद्धान्तको रोहमा उक्त दाखिल खारेज अबन्डा जग्गा बन्डा मुद्दा र सो मुद्दामा स्थापित भएको तथ्यलाई प्रस्तुत मुद्दामा सम्बद्ध प्रमाण नहुने भन्न मिल्ने देखिँदैन ।
५. साथै यस अदालतबाट निस्सा प्रदानको दोस्रो आधार, पुनरावेदन अदालत, जनकपुरको फैसला ने.का.प. २०६९ अंक ६ नि.नं.८८४६ पृ. ९५१ मा प्रतिपादित सिद्धान्तको विपरीत रहेको भन्ने सम्बन्धमा विचार गर्दा, “सामूहिक भोगमा रहेको कुनै सम्पत्तिका हकमा बन्डापत्रमा सामूहिक वा साझा भोगमा रहने जनिएन भन्दैमा त्यो सम्पत्ति जसको नाममा छ उसैको एकलौटी हुने होइन । सम्पत्तिको प्रकृतिले यो पैतृक देखिई त्यो बन्डा हुने प्रकृतिको देखिन्छ र अन्य अंशियारको भोगमा समेत छ भने यस्तो सम्पत्तिलाई अंशबन्डाको ३५ नं. अनुसार बन्डाको माग गर्दै नालेस लाग्ने” भन्ने कानूनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दामा दाबीको जग्गा पैतृक सम्पत्ति हो भनी पुष्टि गर्न वादीले कुनै प्रमाण पेस गर्न सकेको छैन । कुनै पनि सम्पत्ति अबन्डा रहेको भनी बन्डापत्रमा उल्लेख नभएपनि उक्त सम्पत्तिको स्रोत, प्रकृति, पृष्ठभूमि, अवस्था र उक्त सम्पत्तिमा यी मुद्दाको पक्षको संलग्नता, उपस्थिति र लगाव एवं वादीको जीवनप्रतिको अधिकारको अवस्था एवं मनस्थितिसमेतलाई न्यायिक आधारमा हेरी एवं मुल्याङ्कन गरेर नै उक्त सम्पत्ति अबन्डा हो वा होइन ? भनी निर्धारण गर्नुपर्ने हुन्छ । दाबीको जग्गा प्रतिवादी कुमिन्द्रकुमारी यादवले झालो यादवबाट राजीनामा लिखत गरी प्राप्त गरेको देखिन्छ । सो राजीनामाबाट प्राप्त सम्पत्ति यो यस कारणले पैतृक सम्पत्ति तथा सगोलकै सम्पत्तिबाट खरिद गरिलिएको हो भनी वादीले पुष्टी हुने कुनै प्रमाण पेस गर्न सकेकोसमेत नदेखिँदा यस अदालतबाट प्रस्तुत मुद्दामा निस्सा प्रदान गर्दा लिइएका दोस्रो आधार कारणसमेत तथा वादीको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनको जिकिरसँग सहमत हुन सकिएन ।
६. अतः दाबीको जग्गा सगोलको पैतृक सम्पत्ति भन्ने नदेखिएको, आफूहरूबीच २०४१ सालमा मानो अलग गरी बसेको कुरालाई स्वीकार गरेको र सोपछि २०५७ सालमा खरिद भएको घरघडेरी सगोलकै बन्डा हुने प्रकृति र अवस्थाको सम्पत्तिको रूपमा नदेखिई बन्डा हुँदाको अवस्थामा समेत अबन्डा जनिएको समेत नदेखिएबाट वादी दाबी नपुग्ने ठहर्याएको महोत्तरी जिल्ला अदालतको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. डम्बरबहादुर शाही
इजलास अधिकृत:- कालिबहादुर साम्यु लिम्बु
इति संवत् २०७४ साल फागुन १३ गते रोज १ शुभम् ।