निर्णय नं. १०००७ - जबरजस्ती करणी
प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडितको परिवारको सदस्यको नाममा ................. राखिएको छ ।
- सम्पादक
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७४।९।२३
०७२-CR-०८५३
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : कञ्चनपुर जिल्ला रौतेली विचवा गा.वि.स. वडा नं. ९ घर भई हाल जिल्ला कारागार कार्यालय कञ्चनपुर, महेन्द्रनगरमा रहेका दिपक रावल
विरूद्ध
प्रत्यर्थी / वादी : कमलादेवी खत्रीको जाहेरीले नेपाल सरकार
जबरजस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकाले त्यसमा प्रत्यक्षदर्शी साक्षी हुन सक्दैन । यस्तो अपराधमा पीडित महिलाको भनाइलाई अन्यथा नभएसम्म सर्वमान्य प्रमाणको रूपमा लिनुपर्दछ । अन्य वस्तुगत प्रमाणले पीडितको भनाइलाई गलत साबित नगराएसम्म त्यसलाई स्वीकार गर्नुपर्ने ।
सात वर्षकी कुनै पनि नाबालिकाले जबरजस्ती करणी जस्तो गम्भीर आपराधिक कार्यका बारेमा पर्याप्त मात्रामा बुझिसकेको नहुनुका साथै त्यस्तो विषयका बारेमा बनावटी रूपबाट विविध कुरा भन्न सक्ने क्षमता र चेतनासमेतको विकास निज जस्तो बालिकामा भइसकेको हुँदैन । यस्तो अवस्थाका अवोध बालिकाले अदालतमा समेत उपस्थित भई गरेको बकपत्रबाट पीडितउपर नै सो आपराधिक कार्य भएको रहेछ भनेर अन्यथा प्रमाणित भएमा बाहेक विश्वास गर्नुपर्ने ।
(प्रकरण नं.७)
सात वर्षकी पीडितको अन्य कारणले कन्याजाली च्यातिएको भन्ने तथ्य वस्तुनिष्ट रूपबाट पुष्टि नभएकाले निजउपर भएको जबरजस्ती करणी वारदातका स्वरूप र प्रकृतिका कारण नै निजको कन्याजाली च्यातिएको भन्ने अर्थ गर्नुपर्ने ।
(प्रकरण नं.८)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प. २०६५, अंक ५, नि.नं.७९६८
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री भोजराज अधिकारी
कञ्चनपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले
माननीय न्यायाधीश श्री रामेश्वरनाथ अमात्य
पुनरावेदन अदालत महेन्द्रनगर
फैसला
न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७२।४।१७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परी नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :-
मिति २०६८।११।१३ गते म जाहेरवाली घाँस काट्न भनी जंगलमा गएका अवस्थामा घरमा स-साना केटाकेटी र वृद्ध सासु मात्र रहेका थिए । मेरी वर्ष ७ की छोरी परिवर्तित नाम “आर कुमारी” घाँस काट्न भनी नजिकैको गहुँ बारीमा गएकी रहेछ । सोही अवस्थामा प्रतिवादी दिपक रावल सो ठाउँमा गई छोरीको डोको लुकाई दिएको र पछि निज अन्यायीले तिम्रो डोको म खोजी दिन्छु भनी छोरीलाई फकाई गहुँबारीमा लगी छोरीको मुख हातले छोपी जबरजस्ती करणी गरेको हो भन्नेसमेत बेहोराको पीडितकी आमा कमलादेवी खत्रीको जाहेरी दरखास्त ।
जिल्ला कञ्चनपुर रौतेली बिचवा गा.वि.स. वडा नं ९ स्थित बलबहादुर श्रेष्ठको गहुँबारी खेतको पूर्वमा नागु लुहारको जमिन‚ पश्चिम कमलादेवी खत्रीको जमिन उत्तर कुम्भराज खड्काको खेत दक्षिण शेरबहादुर विष्टको खेत यति चार किल्लाभित्र कञ्चनपुर रौतेली बिचवा ९ बस्ने बलबहादुर श्रेष्ठको गहुँबारी खेतमा पीडित “आर कुमारी” लाई मिति २०६८।११।१३ गते दिउँसो प्रतिवादी दिपक रावलले जबरजस्ती करणी गरिएको भनिएको घटनास्थल मुचुल्का ।
उल्लिखित वारदातको दिन मैले लगाएको कट्टु मसँग नै छ । मैले लगाएको swagat fine drawer लेखेको कलेजी रंगको कट्टु उक्त मुद्दाको अनुसन्धानको प्रक्रियाको लागि परीक्षणका लागि मबाट प्रहरीले लिएको ठिक साँचो हो भन्ने बेहोराको प्रतिवादी दिपक रावलले कट्टु बुझाई गरी दिएको कागज ।
कमलादेवी खत्रीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपक रावल भएको जबरजस्ती करणी मुद्दामा अनुसन्धानको क्रममा निज पीडित “आर कुमारी” को शारीरिक परीक्षणपश्चात् निजले लगाएको लुगा परीक्षण गर्ने आदेशानुसार वारदातको समयमा लगाएको लुगा खरानी रंगको ट्राउजरसमेत प्रतिवेदनसाथ पेस गरेको महिला प्रहरी जवान कलावती जोशीको प्रतिवेदन ।
मिति २०६८।११।१३ गते म आफ्नै खेतबारीमा घाँस काट्न गएकी थिएँ । सोही खेतको नजिक रहेको गन्ना बारीमा निज प्रतिवादी दिपक रावल राँगा चराउन गएको थियो । म घाँस काटिरहेको अवस्थामा निज प्रतिवादी दिपक रावलले मेरो डोको लुकाएको रहेछ म डोको खोजतलास गर्दै जाँदा निज प्रतिवादीले जबरजस्ती मलाई समाती गहुँबारीतर्फ लगी डोको यसरी समात्छन् भनी मलाई काखमा राखी मैले लगाएको ट्राउजर र कट्टु तल सारी आफ्नो पेन्टको चैन खोली आफ्नो लिङ्ग मेरो योनिमा राखी केहीबेर चलाई एकपटक भित्र छिराई मैले रोए कराएपश्चात् निजले बाहिर निकाली सोपश्चात् मलाई जमिन खेतबारीमा सुताइ आफू हात टेकेर मेरो माथि चढी आफ्नो लिङ्ग मेरो योनिभित्र छिराई मलाई रून कराउन नदिई मुख च्यापी धेरै बेरसम्म जबरजस्ती करणी गरेको भन्ने पीडित “आर कुमारी” ले आफ्नो आमाको रोहबरमा गरी दिएको कागज ।
वारदातस्थलबाट भागी फरार रहेको दिपक रावल भएको जबरजस्ती करणी मुद्दामा प्रतिवादी दिपक रावलको खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकीछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक कारबाहीका लागी दाखिल गरेका छौं भन्ने प्र.ना.नि. नरेन्द्र भण्डारीसमेतको प्रतिवेदन ।
मिति २०६८।११।११ गतेका दिन म गाउँकै दाजुको विवाहमा गई २ दिनसम्म सोही स्थानमा बसी मिति २०६८।११।१३ गते बिहान घरमा फर्की आइ घरनजिकै रहेको गन्नाबारीमा गई काटेको गन्ना एक ठाउँमा थुपार्ने काम गरी राखेको थिएँ । सोही स्थानमा मेरो आमालगायतका ७/८ जना गन्ना काट्ने तथा घाँस काट्ने काम गरी राखेका थिए । राँगा खेतमा नै बाँधी चराई राखेका थिए । दिउँसो अन्दाजी १३ बजेको समयमा आमालगायत गन्ना काट्ने महिलाहरू घरमा गएका हुन्, आमाले मलाई राँगाहरूलाई पानी खुवाई खेतमा बाँध्नु भनेबमोजिम मैले राँगाहरूलाई पानी खुवाउन सो स्थानबाट केही पर मामाको बारी नजिकै लैजाँदै गरेको अवस्थामा मामाको खेतबारीमा जाहेरवालीकी छोरी पीडित “आर कुमारी” समेत दुई जना नाबालिका घाँस काटिरहेका देखी मैले किन घाँस काट्दै छौ, त्यही आएर पिट्छु भनी भन्दा निजहरूले साथमा ल्याएको घाँस काट्ने डोको सोही खेतबारीमा छोडी रूँदै कराउँदै आ-आफ्नो घरतर्फ गएका हुन, मैले राँगालाई पानी खुवाइ पुनः आफ्नै खेतबारीमा लगी बाँधी केही समय सोही स्थानमा पल्टेको हुँ । सोपश्चात् अन्दाजी दुइ तीन बजेको समयमा आमा खाना खाई खेतबारीमा आएपछि मैले आमालाई गन्ना लैजान टेक्टर खोज्न जान्छु भनी हाम्रै वडाको पारी झिलमिला भन्ने स्थानमा गई मैले २/३ ठाउँमा टेक्टरबारे सोधपुछ गरी पुनः फिर्ता भइ हाम्रै गाउँ टोल नजिक केही समय फुटबल खेली ऐ. बेलुकी १७.०० बजेको समयमा घरमा आउँदा आमासमेतले घटनाको बारेमा मलाई सोधपुछ गरेका हुन् । सोपश्चात मैले उक्त कार्य गरेको छैन भनी जाहेरवालीको घरमा जाँदा पीडितको आमाले पीडितलाई पिट्दै मलाई गाली गर्दै थिई, मैले किन मलाई नभएको आरोप लगाउँदैछौ मैले उक्त अपराध गरेको छैन, सो घटनाबारे मलाई थाहा छैन भनेको थिए । जबरजस्ती करणीको अपराध गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी दिपक रावलको अनुसन्धान अधिकारीसमक्ष भएको बयान ।
वारदातको समयमा म कामको खोजीका सिलसिलामा भारतको दिल्लीमा थिएँ, जाहेरवाली ................. मेरो श्रीमती हो, पीडित “आर कुमारी” मेरी छोरी हो, प्रतिवादी दिपक रावलले पीडितलाई डोको लुकाई खोज्ने भनी जबरजस्ती करणी गरेको कुरा मलाई मेरी श्रीमतीले फोन गरी जानकारी गराएर थाहा पाएको हुँ भन्नेसमेत बेहोराको पीडितका बुबा .......................... को कागज ।
मिति २०६८।११।१३ गतेका दिन म विद्यालय गएकी थिएँ, विद्यालयबाट इन्टरभल अं. १३:०० बजेको समयमा घर आउन लागेको अवस्थामा पीडित “आर कुमारी” लाई रोई कराई घरतर्फ जान लागेकी देखी मैले के भयो किन रोएकी भनी सोधपुछ गर्दा प्रतिवादी दिपक रावलले मेरो घाँस काट्ने डोको लुकाई मलाई समाती गहुँबारीमा पल्टाई मेरो सुरूवाल ट्राउजर खोली आफ्नो पेन्टको चैन खोली उत्तेजित भएको लिङ्ग मेरो गुप्ताङ्ग योनिमा राखी करणी गरेको हो भनी भन्दा सुनी थाहा पाएकी हुँ भन्नेसमेत बेहोराको कमला कुमारी खत्रीको कागज ।
वारदातको मिति र समयमा म आफ्नै घरमा थिएँ, घटनाको बारेमा मैले सुनी थाहा पाएको हुँ । पीडित “आर कुमारी” लाई घटनाबारेमा सोधपुछ गर्दा प्रतिवादी दिपक रावलले खेतबारीमा घाँस काट्न गएको अवस्थामा जबरजस्ती समाती शरीरका लुगा कपडा खोली आफ्नोसमेत पेन्ट खोली शरीरमाथि चढी जबरजस्ती करणी गरेको हो भनी भन्दा थाहा पाएको हुँ । पीडितको अनुहारमा चोटपटकसमेत लागेको थियो भन्नेसमेत बेहोराको नारायण उपाध्यायको कागज ।
वारदात मिति र समयमा म आफ्नो घरमा थिएँ, पीडित “आर कुमारी”‚ जाहेरवाली र प्रतिवादीलाई म चिन्दछु, प्रतिवादी दिपक रावलले पीडितलाई घाँस काट्न गएकी अवस्थामा जबरजस्ती समाती खेतमा पल्टाई सुताई पीडितको शरीरमा लगाएको लुगा कपडा फुकाली आफ्नोसमेत पेन्ट खोली शरीर माथि चढी जबरजस्ती करणी गरेको भनी भन्दा सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको भानबहादुर खड्का‚ देवीलाल थापा र शेरबहादुर रोकायाले गरी दिएको करिब एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी दिपक रावलको कलेजी रंगको कट्टु १, पीडितको खरानी रंगको ट्राउजर १ पीडितको शरीरबाट निकालिएको रगत र प्रतिवादी दिपक रावलको शरीरबाट निकालिएको रगतसमेत परीक्षणको लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको भन्ने मिति २०६८।१२।९ को जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको पत्र ।
मिसिल संलग्न हुन आएका किटानी जाहेरी दरखास्त‚ घटनास्थल मुचुल्का‚ पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन‚ प्रतिवादीको बयान‚ पीडित एवं बुझिएका मानिसहरूले तथा वस्तुस्थिति मुचुल्काका मानिसहरूले लेखाई दिएकोसमेतका आधार प्रमाणहरूबाट मिति २०६८।११।१३ गतेको दिउँसो आफ्नो घरदेखि अन्दाजी ५०० मिटर टाढा रहेको गहुँबारीमा घाँस काट्न गएकी वर्ष ७ कि “आर कुमारी” लाई सोही गहुँबारी नजिकै रहेको गन्ना बारीमा राँगा चराई रहेको प्रतिवादी दिपक रावलले पीडितको डोको लुकाई पुनः आफैँ खोजी दिन्छु भन्दै गहुँबारीभित्र लगी काखमा राखी जबरजस्ती करणी गरेको भन्ने पुष्टि हुन आएकाले निज प्रतिवादी दिपक रावलको उक्त कार्य मुलुकी ऐन जबरजस्ती करणीका महलको १ र ३ नं बमोजिम कसुर अपराध गरेको पुष्टि भएकोले निज प्रतिवादी दिपक रावललाई सोही महलको ३ नं. को देहाय १ नं. बमोजिम सजाय हुन र पीडित परिवर्तित नाम “आर कुमारी” लाई सोही महलको १० नं. बमोजिम मनासिब क्षतिपूर्तिसमेत प्रतिवादी दिपक रावलबाट भराइ दिनु हुनसमेत मागदाबी लिइएको छ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
जाहेरीसमेतको सम्पूर्ण बेहोरा झुट्टा
हो । सो दिन पीडित र अर्की वर्ष ८ की ममता सुनार मेरो मामाको बारीमा घाँस काटी रहेका थिए, किन मामाको बारीमा घाँस काट्दै छौ भनी मैले दुवैलाई लाठीले हल्का चोट हान्न खोज्दा ममता भागीहालिन्, पीडितलाइ एक चोट हानेको थिए निज रोइ कराइ गरी भागेकी हुन्, सोही विषयमा पीडितकी आमाले निहुँ खोजी निज पीडितलाई सिकाई झुट्टा बेहोरा लेखाउन लगाएकी हुन्, मैले निजलाई जबरजस्ती करणी गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी दिपक रावलले सुरू अदालतमा गरेको बयान ।
पीडितकी बज्यैले प्रतिवादी दिपक रावलले परिवर्तित नाम “आर कुमारी” लाई स्वास्नी बनाएछ भन्यो मैले पनि पीडितको आँखानेर कोरिएको पीडितको सुरूवाल च्यातिएको, पेट र तिघ्रामा खोस्रेको जस्तो देखेको हुँ, पीडितलाई प्रतिवादी दिपक रावलले जबरजस्ती करणी गरेको भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्ने वस्तुस्थिति मुचुल्का गर्ने शेरबहादुर रोकायाको अदालतमा भएको बकपत्र ।
जाहेरवाला र प्रतिवादीका बीचमा जग्गा सम्बन्धमा विवाद थियो त्यही रिसइवीले झुट्टा जाहेरी गरेको हो जबरजस्ती करणी गरेको निजको शरीरमा कुनै लक्षण थिएन भन्ने प्रतिवादीका साक्षी अम्मरबहादुर रोकायाले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीको बाबु र जाहेरवाला पक्षबीच पैसाको लेनदेन र जग्गा विषयमा विवाद थियो, सोही रिसइवी साँध्न तथा प्रतिवादीको पैसा पचाई खाने नियतले झुट्टा जाहेरी दिएका हुन् प्रतिवादी निर्दोष हुँदा आरोपित कसुरबाट सफाइ पाउनु पर्छ भन्ने प्रतिवादीका साक्षी गोला देवी रोकायाको बकपत्र ।
छोरीको योनि पनि मैले हेरेको थिएँ । योनि सुन्निएको च्यातिएको थियो, छोरीको उपचार पनि गरेकी थिएँ, निज प्रतिवादी दिपक रावलले जबरजस्ती करणी गरेको हो भन्ने पीडितकी आमा ......................को बकपत्र ।
प्रतिवादीसँग खेतमा भेट हुँदा पहिला प्रतिवादीले मेरो डोको लुकाई दियो, डोको खोज्दा प्रतिवादीले मेरो हात समात्यो मुख च्याप्यो, म रून लागेँ मेरो कट्टु खोल्यो र करणी गर्यो, निजले करणी गर्दा गन्दा पानी फालेको थियो भन्ने पीडित परिवर्तित नाम “आर कुमारी” ले गरेको बकपत्र ।
सो घटना घटेको साँझ ६ बजेको समयमा म पसलमा आएको थिएँ । दिपक रावलले केटीलाई जबरजस्ती करणी गर्यो भनी मानिसहरू प्रहरी चौकीमा गएका थिए, प्रहरी चौकीमा म पनि गएँ सोधपुछ गर्दा दिपकले जबरजस्ती करणी गर्यो भनी केटीबाट सुनी थाहा पाएको हुँ भन्ने वस्तुस्थिति मुचुल्का गर्ने मानबहादुर खड्काको बकपत्र ।
उक्त वारदात मितिमा म आफ्नै गाउँघरमा थिएँ । घटना घटेको कुरा बेलुका थाहा पाएको थिएँ, त्यहाँ हल्ला भई झगडा भयो । नाबालक केटीलाई दिपक रावलले बलात्कार गर्यो भन्ने कुरा घरमा सुनेको हुँ । मेरो भाइ टिकाराम उपाध्यायले उक्त कुरा भनेकोले थाहा पाएको हुँ । केटीलाई तेस्रो दिन देखेको थिएँ भन्ने मौकामा कागज गर्ने नारायण उपाध्यायको बकपत्र ।
वारदातको दिन म भारत दिल्लीमा थिएँ, सोही दिनको बेलुका श्रीमतीले छोरी घाँस काट्न गएको अवस्थामा एक्लै भएको मौका छोपी दिपक रावलले जबरजस्ती करणी गरेको छ भनी खबर गरेकाले सोही बेलुका दिल्लीबाट घर आएको र ऐ. १४ गते बिहान जिल्ला प्रहरी कार्यालयमा पुगेको थिएँ भन्ने पीडितका बुबा मौकामा कागज गर्ने ........................ले सुरू अदालतमा गरेको बकपत्र ।
पीडित “आर कुमारी” को हाइमन च्यातिएको देखिएको थियो, तर रगत बगेको देखिएको थिएन बायाँ गालामा निलडाम भएको पाइएको थियो, अरू केही थिएन भन्ने विशेषज्ञ डा. राम बिहारी चौधरीको बकपत्र ।
उक्त मितिमा भएको मुचुल्कामा भएको सहिछाप मेरै हो । सनाखत गरी दिएँ । उक्त मुचुल्कामा के लेखेको थियो मलाई थाहा भएन, प्रहरीले मलाई पढीबाची सुनाएको थिएन भनी मौकामा कागज गर्ने कमलाकुमारी खत्रीले सुरू अदालतमा गरिदिएको बकपत्र ।
यसमा किटानी जाहेरी दरखास्त, जाहेरवाली (पीडितकी आमा) ........................समेतका वादी पक्षका गवाहहरूको अनुसन्धानक्रममा र अदालतसमक्ष गरेको बकपत्र, पीडितको स्वास्थ्य परीक्षण गर्ने डा. राम बिहारी चौधरीको बकपत्र, महाकाली अञ्चल अस्पतालको केस रजिस्टरमा पीडितको Hymen Tear भनी उल्लेख भएको, पीडितले अनुसन्धानको क्रममा तथा अदालतसमक्ष गरिदिएको बकपत्रसमेतका आधार प्रमाणहरूबाट प्रतिवादीले आरोपित कसुर गरेको प्रमाणित भइरहेको देखिएको हुँदा प्रतिवादीको इन्कारी बयानलाई मात्र आधार मानी प्रतिवादीलाई निर्दोष करार गर्न सकिएन । तसर्थ, प्रतिवादी दिपक रावललाई अभियोग मागदाबीबमोजिम जबरजस्ती करणीको महलको १ र ३ नं. बमोजिमको कसुरमा ऐ. को ३(१) नं. बमोजिम १० वर्ष कैद हुने र पीडितलाई प्रतिवादीबाट जबरजस्ती करणीको १० नं. बमोजिम रू. ५०,०००।- क्षतिपूर्ति भराई दिनेसमेत ठहर्छ भन्नेसमेत बेहोराको सुरू कञ्चनपुर जिल्ला अदालतको मिति २०७१।१०।४ को फैसला ।
मैले जबरजस्ती करणीको कसुर गरेको होइन भनी मौकामा र अदालतसमक्ष बयान गर्दा पूर्ण इन्कार रही बयान गरेको छु र मेरा साक्षीले समेत सो बेहोरालाई समर्थन गरी बकपत्र गरिदिएका छन् । मेरो मामाको गहुँबारीमा पीडित र ममता सुनार घाँस काटी रहेकोमा ममता सुनार भागी हालिन्, पीडितलाई हल्का एक चोट हानेको हुँ । यो नै यथार्थ हो । घटनास्थल मुचुल्कामा घटनास्थलमा गहुँ भाँचिएको, ढलेको मडारिएको केही देखिएको छैन । तथाकथित घटनाका विषयमा सर्वप्रथम आफ्नी फुपू ......................लाई बताएको भनी पीडितले मौकामा कागज गरेकोमा मौकामा निज ................ले गरेको कागज प्रहरीले आफैँ लेखेको हो भनी बकपत्र गरी दिएपछि प्रमाण ऐन, २०३१ को दफा १८ को व्यवस्थाबमोजिम अदालतसमक्षको कथन अमान्य र अदालतबाहिरको कथन मान्य हुने होइन । कुनै पनि फौजदारी कसुरलाई शंकारहित तवरले पुष्टि गर्नुपर्ने दायित्व अभियोजन पक्षको हो । संकलित प्रमाणबाट कसैउपरको अभियोग पुष्टि हुने अर्थात् त्यस्तो अभियोग शंकारहित देखिँदैन भने अदालतले वादी वा अभियोजन पक्षको हैसियत ग्रहण गरी विनाआधार कसैलाई दोषी ठहर गर्न मिल्दैन (ने.का.प. २०६९ अंक २ पृष्ट १७१ नि.नं.८७६४ यज्ञबहादुर थापा विरूद्ध नेपाल
सरकार) । पीडित वर्ष ७ कि नाबालिकालाई जबरजस्ती करणी गर्दा निजको योनि वा कन्याजाली फाट्ने स्वभाविक कुरा हो । त्यसरी कन्याजाली फाट्दा क्षतविक्षत हुनुपर्ने हो । जबरजस्ती करणीबाट कन्याजाली फाटेको भए जबरजस्ती करणी भएको १/२ दिनभित्र जाँचिएको खण्डमा गुप्तांगमा Hyman Rapture भएको ठाउँबाट रगत आउने, दुख्ने, सुन्निने, सो वरपर रक्ताम्य देखिने लक्षण भेटिनुपर्ने हुन्छ भनी Modi’s medical Jurisprudence को २१ औं संस्करणको पृष्ठ ३७५ मा उल्लेख छ । तर प्रस्तुत मुद्दामा R कुमारीको स्थिति सो थिएन भनी पीडितको स्वास्थ्य जाँच गर्ने डाक्टरको बकपत्रबाट देखिई रहेकोले पनि बनावटी वारदात खडा गरेको प्रस्टै छ । R कुमारीको गुप्ताङ्गमा कन्याजाली च्यातिएको भए निजको जीउमा हुन गएको पीडा निको पार्न वा सो घाउ (Tear) लाई निको पार्न कुनै औषधी उपचार पनि त्यहाँ भएको हुनुपर्ने हो, सो गरेको भन्ने निजको शारीरिक जाँच गर्ने डाक्टरको बकपत्र तथा जाहेरवालालगायत कथित पीडितले त्यस्तो आधार प्रमाण देखाउन सकेको
छैन । पीडितलाई जाँच गरेको रजिस्टरमा औषधी उपचारको विवरण तथा सुझावसमेत दिएको भन्ने कहिँकतै नभएबाट R कुमारीलाई वारदात मितिमा जबरजस्ती करणी गरेकोले कन्याजालीमा Tear भएको भन्ने ठाउँ छैन । R कुमारीको बकपत्रसमेतबाट धेरैबेरसम्म करणी गरी वीर्यसमेत स्खलन भएको भन्ने छ । निजको र मेरो तल्लो अंगमा लगाएका लुगा तत्काल परीक्षणका लागि कब्जा गरी परीक्षण गराएको छ । कहिँकतैबाट वीर्य वा जनेन्द्रियबाट निस्कने पदार्थ (Fluid) नभेटिएपछि निजको कथन तथा सोको आधारमा लगाएको आरोप मिथ्या साबित भएको छ । यसर्थ, उपर्युक्त पुनरावेदन जिकिरअनुसार सुरू अदालतको फैसला बदर गरी आरोपित कसुरबाट सफाइ दिलाई न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपक रावलको पुनरावेदन अदालत महेन्द्रनगरमा परेको पुनरावेदन पत्र ।
यसमा पीडितको च्यातिएको कन्याजाली (Hymen tear) पुरानो हो वा आलो हो भन्ने विषयमा विवेचना नगरी सुरू जिल्ला अदालतले गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन अ.बं. २०२ नं तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय महेन्द्रनगरलाई जनाउ दिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत महेन्द्रनगरको आदेश ।
सुरू कञ्चनपुर जिल्ला अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १० वर्ष कैद हुने र निज प्रतिवादीबाट पीडित नाबालिकालाई सोही महलको १० नं. बमोजिम रू. ५०,०००।- क्षतिपूर्ति भराइदिने ठहर गरी मिति २०७१।१०।४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७२।४।१७ को फैसला ।
पीडित भनिएकी आर कुमारीको आरोप पत्रसाथ प्रस्तुत स्वास्थ्य परीक्षण रिपोर्टमा हाइमन च्यातिएको रगत बगेको भन्ने उल्लेख छैन । अभियोग पत्रमा पनि हाइमन च्यातिएको रगत बगेको भन्ने तथ्य किटान छैन । निजको स्वास्थ्य परीक्षण गर्ने भनिएका डा. रामबिहारी चौधरीले अदालतमा बकपत्र गर्दा हाइमन अन्य कारणले समेत च्यातिन सक्छ भन्ने विवादास्पद बकपत्र गरेको छ । निजले मौकामा परीक्षण गर्दा हाइमन च्यातिएको पाइएमा वा तत्काल रजिस्टरमा सो बेहोरा अभिलेखिकरण गरेको भए मुलुकी ऐन अ.बं. ७७ नं. बमोजिम सो कुरा आरोप पत्रसाथ आउनु पर्थ्यो । तर त्यस्तो भएको, हुनसकेको अवस्था छैन । अभियोग दायर हुँदाका बखत प्रेषित मेडिकल रिपोर्टमा योनिबाट रगत बगेको भन्ने छैन । पीडित भनिएकी आर कुमारीले वारदात हुँदाका बखत लगाएको कपडाहरूमा रगत, सिमन आदि रहेको छ, छैन भन्ने सम्बन्धमा निज आर कुमारी तथा मेरो कपडाहरूको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाउँदा सो परीक्षण जाँच रिपोर्टमा त्यस्तो कुनै लक्षण नपाइएको भन्ने बेहोराको परीक्षण जाँच रिपोर्टले यसको संपुष्टि गरेको छ र डा. रामबिहारी चौधरीको अदालतसमक्षको बकपत्र सो आधारमा प्रमाणयोग्य छैन । निजको बकपत्र र अदालतमा प्रस्तुत भनिएको जाँच अभिलेख अविश्वसनीय विरोधाभाषयुक्त छ । फौजदारी मुद्दामा कसुर प्रमाणित हुने यथेष्ठ वस्तुनिष्ठ ठोस प्रमाण हुनुपर्दछ, हचुवा विवादास्पद प्रमाणको आधारमा प्रतिवादीलाई कसुरदार ठहर गर्न मिल्दैन भन्ने आधारमा हेर्दा फौजदारी न्यायको सिद्धान्त उल्लङ्घन भएको पुनरावेदन अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रत्यक्ष त्रुटि विद्यमान छ ।
जाहेरवाली ......................... प्रत्यक्षदर्शी होइनन् । सुनेको भन्ने आधारमा जाहेरी दिएको भन्ने तथ्य निजको जाहेरी बेहोराबाट उजागर
छ । अदालतसमक्ष बकपत्र गर्दा सुनेको भरमा जाहेरी गरेको तथ्य स्वीकार गरिएको र परस्पर मेल नखाने विसंगतियुक्त अवस्थाको छ । निजको जाहेरी बेहोरा अदालतसमक्षको बकपत्र तथा पीडित भनिएकी आर कुमारी, निजको बाबु ............................ को कागज र अदालतसमक्षको बकपत्र, ...................... मौकामा कागज गर्ने कमलादेवी खत्री वस्तुस्थितिको शेरबहादुर रोकाया तथा बुझिएकाहरूको अदालतसमक्ष गरेको बकपत्र आपसी विरोधाभाषपूर्ण प्रमाणयोग्य छैन । प्रत्यक्ष एवं ठोस प्रमाणको अभावमा फौजदारी कसुरमा मलाई कसुरदार ठहर गरेको पुनरावेदन अदालतको फैसला फौजदारी न्यायको मान्य सिद्धान्त प्रतिकूल छ ।
कागज गर्ने भनिएका तेजबहादुर खत्री, नारायण उपाध्याय, मानबहादुर खड्का, वस्तुस्थिति मुचुल्काका शेरबहादुर रोकायासमेतका मानिस प्रत्यक्षदर्शी
होइनन् । निजहरूले सुनी थाहा पाएको भनी आफ्नो बकपत्र बेहोरा उल्लेखन गरेका छन् । फौजदारी मुद्दामा सुनेको कुरा प्रमाणग्राह्य नहुने अर्थात् "Hearsay evidence is no evidence" भन्ने फौजदारी न्यायको मान्य सिद्धान्तको आधारमा प्रमाणग्राह्य नहुँदा निजहरूको भनाइ प्रमाणमा ग्रहण गरी मलाई कसुरदार ठहर गरेको पुनरावेदन अदालतको फैसला न्यायसङ्गत नहुँदा बदर गरी सफाइ दिलाई पाऊँ ।
जाहेरवाला, अनुसन्धानमा कागज गर्ने मानिसको भनाइ, केन्द्रीय विधि विज्ञान प्रयोगशालाको परीक्षण रिपोर्ट, चिकित्सकको विवादास्पद बकपत्रलगायतका मिसिल संलग्न कागजहरू एक अर्कामा मेल नखाएको प्रमाण ग्रहणयोग्य नभई शंकाको स्थिति विद्यमान रहेको र अवलम्बित नजिरको तथ्य यस विवादित तथ्यसँग मेल नखानेसमेतको परिप्रेक्ष्यमा उपयुक्त अन्तर्विरोधपूर्ण कागजहरूका आधारमा मलाई कसुरदार ठहर गरेको पुनरावेदन अदालतको फैसलामा प्रमाणको मूल्याङ्कनसम्बन्धी त्रुटि विद्यमान हुँदा स्वतः बदरभागी छ । अतः म पुनरावेदकको इन्कारी बयान त्यसलाई पुष्ट्याईं गर्ने साक्षी प्रमाण, जन्मदर्ता प्रमाण पत्रलगायतका प्रमाणको न्यायोचित रूपमा मूल्याङ्कन नगरी एवं तिनलाई प्रमाणमा ग्रहण नगरी हचुवा विवादास्पद प्रमाणहरूलाई ग्रहण गरी आत्मनिष्ठ दृष्टिकोणमा निहित भई विवादास्पद प्रमाणको आधारमा मलाई मुलुकी ऐन जबरजस्ती करणीको १ र ३ को कसुरमा ऐ. ३(१) बमोजिम १० वर्ष कैद र ऐ. १० नं. बमोजिम रू. ५०,०००।- क्षतिपूर्ति भराइदिने गरी कसुरदार ठहर गरी मिति २०७१।१०।४ मा कञ्चनपुर जिल्ला अदालतले गरेको फैसलालाई सदर हुने ठहर्याएको मिति २०७२।४।१७ को पुनरावेदन अदालत महेन्द्रनगरको फैसला फौजदारी न्यायको मान्य सिद्धान्त, मुलुकी ऐन अ.बं. ७७, ११५, १८४, १८४क, १८५, १८६ र प्रमाण ऐन, २०३१ को दफा ३, २५, २७, ३७(२), ५४ समेतको आधारमा त्रुटिपूर्ण हुँदा सो त्रुटिपूर्ण फैसला बदर गरी आरोपित कसुरबाट सफाइ दिलाई पाउँ भन्ने बेहोराको प्रतिवादी दिपक रावलको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
उल्लिखित बेहोरा भएको प्रस्तुत मुद्दामा मिसिल संलग्न प्रमाण कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत महेन्द्रनगरबाट मिति २०७२।४।१७ मा भएको फैसला मिले, नमिलेको सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णय सम्बन्धमा विचार गर्दा यी पुनरावेदक / प्रतिवादीले वर्ष ७ कि नाबालिकालाई जबरजस्ती करणी गरेको भन्ने किटानी जाहेरी परी उठान भएको प्रस्तुत मुद्दामा अनुसन्धान भई निजउपर मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. र ३(१) नं. बमोजिमको कसुरमा सोही महलको ३(१) नं. बमोजिम सजाय हुन एवं ऐ. महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई उचित क्षतिपूर्ति भराई दिन मागसहित सुरू कञ्चनपुर जिल्ला अदालतमा अभियोग दायर भएकोमा सुरू अदालतबाट निज प्रतिवादीलाई अभियोग दाबीबमोजिमकै कसुरमा ऐ. महलको ३(१) नं. बमोजिम १० वर्ष कैद तथा पीडितलाई निज प्रतिवादीबाट क्षतिपूर्ति स्वरूप रू. ५०,०००।- (पचास हजार) भराई दिने ठहर गरी मिति २०७१।१०।४ मा भएको फैसलाउपर यी पुनरावेदक प्रतिवादीको पुनरावेदन अदालत महेन्द्रनगरमा पुनरावेदन परेकोमा सो पुनरावेदन अदालतले समेत सुरू जिल्ला अदालतबाट भएको फैसलालाई नै सदर हुने ठहर्याई मिति २०७२।४।१७ मा फैसला गरेकोमा चित्त नबुझाई मिसिल संलग्न प्रमाण कागजातको यथोचित मूल्याङ्कन नगरी, सही प्रमाणलाई प्रमाणमा ग्रहण नगरी एवं सुनेका कुरा भनी जाहेरवाला र साक्षीहरूले भनेका हचुवा कुरालाई मात्र प्रमाणमा ग्रहण गरी मलाई दोषी ठहर गर्ने गरी भएको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७२।४।१७ को फैसला प्रमाणको विश्लेषण र मूल्याङ्कनको आधारमा त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्ने बेहोरा उल्लेख गरी प्रतिवादी दिपक रावलको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।
३. यसमा यी पुनरावेदक / प्रतिवादीउपर मिति २०६८।११।१३ गते घाँस काट्न गएकी वर्ष ७ की नाबालिका छोरीलाई दिउँसो अं. १ बजेको समयमा प्रतिवादी दिपक रावलले छोरीले बोकेको डोको लुकाई गहुँबारीमा लगी छोरीको कपडा खोली जबरजस्ती करणी गरेको र सो कुरा छोरीले रूँदै भनेकीले छोरीको स्वास्थ्य परीक्षण गराई निज दिपक रावललाई जबरजस्ती करणीको कसुरमा कारबाही गरिपाउँ भनी पीडितको आमा .................ले मौकामा दिएको किटानी जाहेरी दिएको र सो जाहेरीलाई समर्थन हुने गरी अदालतमा उपस्थित भई किटानी बकपत्र गरिदिएको अवस्थासमेत विद्यमान देखिन्छ ।
४. त्यसैगरी घाँस काटिरहेको अवस्थामा यी पुनरावेदक / प्रतिवादीले डोको लुकाइदिएका हुँदा डोको खोज्न जाँदा निजले मलाई जबरजस्ती समाती गहुँबारीमा लगी आफ्नो काखमा राखी मेरो ट्राउजर कट्टु तल सारी आफ्नो पाइन्टको चैन खोली निजको लिङ्ग मेरो योनिमा राखी केहिबेर चलाई भित्र छिराउँदा म रोएपश्चात् मेरो योनिबाट लिङ्ग बाहिर निकालेका र त्यसपछि मलाई जमिनमा सुताई आफू हात टेकेर ममाथि चढी रून कराउन नदिई मेरो मुख च्यापी निजको लिङ्ग मेरो योनिमा छिराई तलमाथि गरिरहेको अवस्थामा निजको चरिरहेको राँगा गहुँबारीमा गई गहुँ खान लागेकोले मलाई छाडी राँगा धपाउन गएका हुन् निज राँगा धपाउन गएपछि म डोको लिई रूँदै घर गएको हुँ भनी यी प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको घटनाक्रम बताई पीडितले मौकामा, अनुसन्धान क्रममा किटानी कागज गरिदिएको र अदालतमा बकपत्र गर्दासमेत सोही घटनाक्रमअनुसार प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेका र करणी गर्दा योनिबाट रगत नआए तापनि पीडा भएको थियो, निजले करणी गर्दा मुखमा कोतरेको र निजले वीर्य योनिमा नफाली बाहिर फालेको भनी मौकाको कागजलाई समर्थन हुने गरी बकपत्र गरेको देखिन्छ ।
५. त्यसैगरी मौकामा अनुसन्धानको क्रममा वस्तुस्थिति मुचुल्काको कागज गर्नेहरूमध्येका शेरबहादुर रोकायाले अदालतमा उपस्थित भई बकपत्र गर्दा वारदातको दिन दिउँसो मेरो घरपछाडिको बाटो हुँदै पीडित आर कुमारी र निजको बजै रूँदै प्रतिवादीलाई गाली गर्दै आइरहेको देखी के भएको भनी सोध्दा घाँस काट्न गएकी पीडितलाई प्रतिवादीले स्वास्नी बनाएछ भनी बजैले भनेकी थिइन्, पीडितको आँखानिर कोतरिएको घाउ लागेको, निजको सुरूवाल च्यातिएको जस्तो, पेट र तिघ्रामा खोस्रे जस्तो सक्रा र माटो लागेको देखेको हुँ, प्रतिवादीले मलाई जबरजस्ती करणी गरेको भनी पीडितले भनेकीले जबरजस्ती करणी गरेकोमा विश्वास लाग्छ भनी मौकामा कागज गरिदिएको हुँ भनी बकपत्र गरेका छन् भने घाँस काट्न गएको खेतमा प्रतिवादीले जबरजस्ती करणी गरेको भनी पीडितले भनेकी र निजको गालामा कोतरिएको देखेको हुँदा मौकामा जबरजस्ती करणी गरेकोमा विश्वास लाग्छ भनी वस्तुस्थिति मुचुल्काको कागज गरिदिएको हुँ भनी भानबहादुर खड्काले अदालतमा बकपत्र गरिदिएको देखिन्छ । वादी पक्षका अर्का साक्षी नारायण उपाध्यायले पीडितले मलाई म घाँस काटिरहेको खेतमा गई मेरो डोको फाली जबरजस्ती करणी गरी सेतो पानी फाल्यो र दुखाई भइरहेको छ भनी भनेकी हुँदा मौकामा जबरजस्ती करणी गरेको विश्वास लाग्छ भनी घटना विवरणको कागज गरिदिएको हुँ भनी अदालतमा बकपत्र गरेको देखिन्छ ।
६. वारदात घटेको दिनको साँझमा म भारतमा भएको अवस्थामा श्रीमतीले फोन गरी प्रतिवादीले छोरीलाई करणी गरेछ, तुरून्त घर आउनु भनी फोन गरेकीले घरमा आएको हुँ, घाँस काट्न गएकी छोरीलाई प्रतिवादीले जबरजस्ती करणी गरेको कुरा पीडित छोरीले म घर आएपछि भनेकी थिइन् भनी घटना विवरणको कागज गर्ने पीडितको बाबु ................ले पनि अदालतमा बकपत्र गरेको स्थिति छ । त्यसैगरी घटना विवरणको कागज गर्ने कमलाकुमारी खत्रीले अदालतमा उपस्थित भई बकपत्र गर्दा वारदातको दिन दिउँसो विद्यालयको इन्टरवलको समयमा म घर जान लाग्दा पीडित रोइरहेको देखी के भएको भनी सोध्दा घाँस काट्न जाँदा प्रतिवादीले गहुँबारीमा लगी जबरजस्ती करणी गरेको भनेकीले मैले निजको आमालाई सोही कुरा भनिदिएको र निजको आमा प्रहरीमा जान्छु भनी गएकी हुन्, प्रहरीमा गरेको कागजको सहिछाप मेरो हो सनाखत गरिदियाँ भनी बकपत्र गरेको अवस्था छ ।
७. जबरजस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकाले त्यसमा प्रत्यक्षदर्शी साक्षी हुन सक्दैन । यस्तो अपराधमा पीडित महिलाको भनाइलाई अन्यथा नभएसम्म सर्वमान्य प्रमाणको रूपमा लिनुपर्दछ । अन्य वस्तुगत प्रमाणले पीडितको भनाइलाई गलत साबित नगराएसम्म त्यसलाई स्वीकार गर्नुपर्ने हुन्छ । प्रस्तुत विवादमा पीडित, ७ वर्षकी नाबालिका भन्ने देखिन्छ । ७ वर्षकी कुनै पनि नाबालिकाले जबरजस्ती करणी जस्तो गम्भीर आपराधिक कार्यका बारेमा पर्याप्त मात्रामा बुझिसकेको नहुनुका साथै त्यस्तो विषयका बारेमा बनावटी रूपबाट विविध कुरा भन्न सक्ने क्षमता र चेतनासमेतको विकास निज जस्तो बालिकामा भइसकेको हुँदैन । यस्तो अवस्थाका अवोध बालिकाले अदालतमा समेत उपस्थित भई गरेको उल्लिखित बेहोराको बकपत्रबाट पीडितउपर नै सो आपराधिक कार्य भएको रहेछ भनेर अन्यथा प्रमाणित भएमा बाहेक विश्वास गर्नुपर्ने
हुन्छ । प्रस्तुत घटनाका सम्बन्धमा पीडितको उक्त बकपत्र खण्डित हुने कुनै वस्तुनिष्ठ प्रमाण प्रतिवादीले प्रस्तुत गर्नसकेको देखिँदैन भने जाहेरवाला, वस्तुस्थिति मुचुल्काका मानिस तथा घटना विवरणका मानिसहरूले मौकामा गरेको कागज एवं अदालतसमक्ष उपस्थित भई गरेको बकपत्रको बेहोरासमेतबाट यी पीडितउपर पुनरावेदक / प्रतिवादीबाट जबरजस्ती करणी भएको कुरा पुष्टि हुन आएको हुँदा केवल सुन्ने व्यक्तिहरूले भनेको भनाइका आधारमा मात्र आफूलाई दोषी ठहर गरेको भनी प्रतिवादीले पुनरावेदन पत्रमा लिएको जिकिर प्रथम दृष्टिमा नै खण्डित हुन पुगेको देखियो ।
८. पीडितको मौकाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजको बायाँ गालामा Abrasion (घस्रेको कोतारेको) देखिएको, Vaginal Swab मा Spermatozoa अर्थात् वीर्य नदेखिएको भन्ने उल्लेख भएको छ उक्त शारीरिक परीक्षण गर्ने महाकाली अञ्चल अस्पतालका डा. राम बिहारी चौधरीलाई बकपत्र गराउँदा पीडितको Hymen (कन्याजाली) च्यातिएको देखिएको थियो, तर रगत बगेको देखिएको थिएन, बायाँ गालामा निलडाम भएको पाइएको थियो, अस्पतालमा स्वास्थ्य परीक्षण हुने सबै केशको रेकर्ड राख्ने एउटा रजिस्टर हुन्छ, सो रेकर्डमा पीडितको Hymen च्यातिएको भन्ने उल्लेख छ । तर मौकामा स्वास्थ्य परीक्षण गर्न पठाउँदा Hymen च्यातिएको छ, छैन भन्नेबारेमा प्रश्न नसोधिएकोले सो कुरा नखुलाइएको भनी बकपत्र गरेका र निजको बकपत्रअनुसार पीडितको स्वास्थ्य परीक्षणको रेकर्ड लेखिएको रजिस्टर सो अस्पतालबाट झिकाई हेर्दा पीडितको Hymen Tear भएको र बायाँ गालामा Abrasion पाइएको भन्ने उल्लेख भएको देखिन्छ । नाबालिका वर्ष ७ कि पीडितले उमेर पुगेका लक्का जवान केटासँग ठूलो बल प्रयोग गरी संघर्ष गर्नसक्ने अवस्था भएन । तापनि पीडितको गालामा Abrasion भएको भन्ने तथ्यले यी पीडितले आफ्नो उमेरअनुसारको सामान्य बल प्रयोग गरेको भन्ने देखाउँछ । त्यसैगरी वारदातपछि पीडितलाई घर जान लाग्दा मेले देखेकी थिएँ, उनी रूँदै थिइन्, डोको बोकेकी थिइन्, उनको सुरूवाल / ट्राउजर च्यातिएको र पेट तथा तिघ्रामा खोस्रेको जस्तो देखिन्थ्यो । आँखानिर कोतरेको थियो भनी वस्तुस्थिति मुचुल्काका मानिस शेरबहादुर रोकायाले अदालतमा समेत आई बकपत्र गरेको देखिएबाट यी पीडितले आफूउपर जबरजस्ती करणी हुँदा सामान्य बल प्रयोग गरी प्रतिरोध गरेको देखिन आयो । यसका अतिरिक्त ७ वर्षकी पीडितको अन्य कारणले कन्याजाली च्यातिएको भन्ने तथ्य वस्तुनिष्ठ रूपबाट पुष्टि नभएकाले निजउपर भएको उक्त वारदातका स्वरूप र प्रकृतिका कारण नै निजको कन्याजाली च्यातिएको भन्ने अर्थ गर्नुपर्ने देखियो ।
९. अस्पतालमा स्वास्थ्य परीक्षण हुँदा केशको रेकर्ड राखिएको रजिस्टरमा पीडितको Hymen च्यातिएको भन्ने उल्लेख देखिएबाट स्वास्थ्य परीक्षण प्रतिवेदनमा हाइमन च्यातिएको उल्लेख नभएकाले अपराध भएको पुष्टि भएको छैन भन्ने पुनरावेदकको जिकिरमा सत्यता भएको देखिएन ।
१०. यी तथ्यका अतिरिक्त पीडित नाबालिका केवल ७ वर्षको उमेरकी भएकी र निजको यौनाङ्ग करणीजन्य क्रियाका लागि विकसित भई नसकेको अवस्थाका कारण प्रतिवादीबाट निजलाई करणी हुँदा निजलाई पीडा भएको तथ्य पीडितको भनाइबाट देखिएकै छ । प्रतिवादीको लिङ्गको केही भाग मात्र पीडितको योनिमा प्रवेश भएको र पूर्णरूपमा योनिमा प्रवेश हुन नसकेको कारण Hymen सम्म Tear भए तापनि योनिको भित्री अंग विच्छेद हुन नपाएको स्थिति हुँदा पीडितको योनिबाट रगत नबगेको अवस्था भएको र प्रतिवादीले पीडितको योनिभित्र वीर्य स्खलन नगरेको कारण वीर्य नदेखिनु स्वभाविकै मान्नुपर्ने हुन्छ । यसरी पीडितको योनिमा रगत नबगेको र पुरूष वीर्य नदेखिएको कारणले मात्र करणीको अपराध नभएको भन्न नमिल्ने भनी J.P. Modi को Medical Jurisprudence and toxicology को २१ औं संस्करणको पृष्ठ, ३६७ मा “…….to constitute the offence of rape, it is not necessary that there should be complete penetration of penis with emission of semen and rapture of hymen. Partial penetration of the penis within the labia majora on the vulva or pudenda with or without emission of semen or even an attempt at penetration is quite sufficient for the purpose of the law…..” अर्थात् "जबरजस्ती करणीको अपराध कायम हुन लिङ्गको पूर्ण प्रवेश, वीर्य स्खलन र योनिच्छेदन वा फाटेको हुन आवश्यक छैन । वीर्य स्खलनसहित वा रहित स्त्री जनेन्द्रिय (योनि) को बाह्य भागभित्र आंशिक लिङ्ग प्रवेश गराउनु वा लिङ्ग प्रवेश गराउने प्रयत्न गर्नु मात्र पनि कानूनी प्रयोजनको निमित्त जबरजस्ती करणी सिद्ध हुन पर्याप्त हुन्छ ।" भन्ने उल्लेख भएको देखिन्छ ।
११. जबरजस्ती करणीको सम्बन्धमा उल्लिखित विधिशास्त्रीय मान्यता विकास हुनुका साथै यस अदालतबाट "मुलुकी ऐन जबरजस्ती करणीको १ नं. अनुसार जबरजस्ती करणीको वारदात कायम हुनको लागि योनिभित्र लिङ्ग पूर्ण प्रवेश गरेको हुनुपर्ने वा योनिभित्र वीर्य स्खलन भएको हुनुपर्ने वा पीडितको योनिको कन्याजाली च्यातिएको हुनुपर्ने कुरा उल्लेख नभएको अवस्थामा लिङ्ग र योनिबीच सामान्य घर्षण पर्याप्त हुने, घटनासँग सम्बद्ध अन्य तथ्यहरूबाट जबरजस्ती करणीको आपराधिक कार्य गरेको कुरा पुष्टि हुन आएको अवस्थामा योनिभित्र लिङ्गको पूर्ण प्रवेश नभएको, कन्याजाली नच्यातिएको, वीर्य स्खलित नभएको भन्ने आधारमा अभियुक्तलाई आरोपित कसुरबाट मुक्त गर्न नमिल्ने" भनी ने.का.प. अंक ४, नि.नं. ७६८२ मा सिद्धान्त प्रतिपादन भई प्रकाशन भइसकेको देखिन्छ । त्यस्तै "उमेर नपुगेकी अवोध बालिकाउपर प्रतिवादीबाट भएको Sexual Assault (यौनसम्बन्धी आक्रमण) निर्दयी र लज्जित प्रकारको रहेको, अपराधजन्य मनसायबाट बालिकाउपर गरिएको कार्य indecent assault (अभिष्ट आक्रमण) भएको र त्यस्तो कार्य मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. बमोजिम sexual offence भित्र पर्ने भनी व्याख्या भई ने.का.प. २०६५, अंक ५, नि.नं. ७९६८ मा सिद्धान्त प्रकाशन भइसकेको देखिन्छ । तसर्थः पीडितको हाइमन नच्यातिएको तथा योनिबाट रगत नबगेको अवस्थामा पनि अन्य परिस्थितिजन्य प्रमाण एवं तथ्यगत अवस्थाले समर्थन गर्दछ भने जबरजस्ती करणी भएको मानिने हुँदा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा हाइमन च्यातिएको र रगत बगेको भन्ने उल्लेख नभएको अवस्थामा जबरजस्ती करणीको अपराधमा सजाय ठहर गरेको मिलेको छैन भन्ने पुनरावेदक प्रतिवादीको जिकिरसँग सहमत हुन सकिएन ।
१२. यस्तो करणीजन्य अवस्थाको विद्यमानता भई प्रतिवादीउपर आरोपित कसुरमा पीडितको आमाले दिएको जाहेरीलाई प्रतिवादीले जिकिर लिएअनुसार सुनेको आधारमा दिएको जाहेरी विश्वसनीय नहुने भनी भन्न मिल्ने देखिँदैन । यसका अतिरिक्त कुनै पनि संरक्षक आमा बाबुले आफ्नो छोरीको सामाजिक इज्जत, सम्मान र प्रतिष्ठामा आँच आउने गरी छोरीलाई प्रयोग गरी जबरजस्ती करणी जस्तो जघन्य अपराधमा झुट्टा जाहेरी दिएको भनी अनुमान लगाउनु सर्वथा न्यायोचित नहुने हुँदा जाहेरीका सम्बन्धमा प्रतिवादी / पुनरावेदकले व्यक्त गरेको कुरा न्यायोचित र औचित्यपूर्ण नभई अपराधपछि सजायबाट बच्न व्यक्त गरेको दूषित विचार मात्र भएको देखियो ।
१३. अतः माथि विभिन्न प्रकरणहरूमा विवेचित तथ्य, आधार र कारणसमेतबाट यी पुनरावेदक प्रतिवादीले पीडित वर्ष ७ कि बालिकाउपर जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन आएकोले निज पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १० वर्ष कैद हुने तथा ऐ. महलको १० नं. बमोजिम निजबाट रू. ५०,०००।- क्षतिपूर्ति स्वरूप पीडितले भराई लिन पाउने ठहर गरी भएको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०७२।४।१७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । तसर्थः उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी पुनरावेदकलाई दिई फैसलाको प्रति विद्युतीय अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.पुरूषोत्तम भण्डारी
इजलास अधिकृतः- उद्धवप्रसाद गजुरेल
इति संवत् २०७४ साल पौष २३ गते रोज १ शुभम् ।