शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०००९ - अपुताली हक कायम दर्ता चलन

भाग: ६० साल: २०७५ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. 

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की 

फैसला मिति : २०७४।२।९

०७१-CI-००५६

 

मुद्दाः अपुताली हक कायम दर्ता चलन

 

पुनरावेदक / वादी : रौतहट जिल्ला, इनरवारी गाउँ विकास समिति, वडा नं. ५ बस्ने नन्‍दलाल प्रसाद यादव

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : रौतहट जिल्ला, इनरवारी गाउँ विकास समिति, वडा नं. ६ बस्ने ओमप्रकाश राय यादवसमेत

 

अंश र अपुतालीका विषयहरू झट्ट हेर्दा उस्तै देखिने भए पनि पृथक विषयहरू 

हुन् । अंशको विवादमा अंशियार हुनलाई नाता सम्बन्ध महत्त्वपूर्ण हुन्छ । तर अपुतालीको सम्बन्धमा स्याहार सम्भार गर्ने व्यक्तिलाई मर्ने व्यक्तिको सम्पत्तिको हकदार मानिएको देखिन्छ । बाँचुञ्‍जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्ने कुरालाई प्रस्तुत कानूनी व्यवस्थाले अनुमति दिएको नदेखिने । 

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने : 

मा. जिल्ला न्यायाधीश श्री बाबुराज कार्की 

रौतहट जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी

पुनरावेदन अदालत, हेटौंडा

 

फैसला

न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः-

मूल पुरूष रामपृत राय यादवको ४ छोरा भएकोमा जेठा सुरूज राय यादव, माहिला हामी फिरादीहरूको स्व.बाबु अंचीत राय यादव, साहिला जादु राय यादव र कान्छा प्रतिवादीहरूको सगोलको बाबु रामप्रसाद राय यादव भएकोमा रामपृत राय यादवको मृत्युपछि चारै दाजु भाइ २०३७।८।४ मा रौतहट जिल्ला अदालतबाट अंशबन्डा भई भिन्दै बसी आउनु भएकोमा जेठा सुरूज राय यादवको एक मात्र छोरा विश्‍वनाथ राय यादव भएको निज विश्‍वनाथ राय यादवको एक मात्र श्रीमती सुनरी देवी भएको र विश्‍वनाथ राय र सुनरी देवीको छोरा छोरी कोही नभई विश्‍वनाथ राय यादवको मिति २०६५।५।६ र सुनरी देवी मिति २०६५।६।१० मा आफ्नो कालगतीले स्वर्गबास भई सक्नुभएको र माहिला अंचीत रायको दुई छोरा भएकोमा जेठा विन्दालाल राय यादव, कान्छा नन्दलालप्रसाद यादव भएको र साहिला जादु राय यादव र निजको श्रीमती चुनुचुनीया देवी लोग्ने स्वास्नी नि:सन्तान भई स्वर्गवास भएको र कान्छा रामप्रसाद राय यादवको एक मात्र श्रीमती हेमचली देवी भएको र निजहरूको २ छोरा भएकोमा जेठा जयप्रकाश राय यादव, कान्छा ओमप्रकाश राय यादव भएकोमा रामपृत राय यादव लोग्ने स्वास्नी, सुरूज राय यादव लोग्ने स्वास्नी र निज सुरूज राय यादवको छोरा विश्‍वनाथ राय यादव र निजको एक मात्र श्रीमती सुनरी देवी, माहिला अंचीत राय यादव लोग्ने स्वास्नी, साहिला जादुराय यादव निःसन्तान भई लोग्ने स्वास्नी, रामप्रसाद राय यादवसमेत अघिपछि गरी आ-आफ्नो कालगतीले स्वर्गबास भई सक्नुभएको छ । विश्‍वनाथ राय यादव र निजको श्रीमती सुनरी देवीको छोरा छोरी नभई विश्‍वनाथ राय यादव र सुनरी देवीको अपुताली खाने बेहोर्ने हकवाला हामी वादी र प्रतिवादीहरू मात्र हकवाला भएको र निज विश्‍वनाथ राय यादवको मृत्युपछि निजको क्रिया प्रतिवादी ओमप्रकाश राय यादवले र सुनरी देवीको क्रिया फिरादीमध्येको म विन्दालाल राय यादवले गरेको र विश्‍वनाथ राय यादव र सुनरी देवी लोग्ने स्वास्नीको श्राद्धमा लाग्ने खर्च हामी वादी र प्रतिवादीहरूले समानुपातिक तवरले लगाई श्राद्ध गरेको र विश्‍वनाथ राय यादव र सुनरी देवी बिरामी परेको अवस्थामा निज दाजु भाउजूको सेवा सुसार औषधी उपचार हामी वादी प्रतिवादीहरूले गर्दै आएकोले विश्‍वनाथ राय यादव र सुनरी देवीको अपुताली खाने बेहोर्ने हकवाला हामी भएकोले दाजु भाउजूको नाम दर्ताको जग्गाहरू हामी वादी प्रतिवादीहरूले नामसारी दर्ता गराई हालौं भनी प्रतिवादीहरूलाई भन्दा बाधा अवरोध गरी नामसारी दाखिल खारेज दर्ता गराउन नदिएकोले विश्‍वनाथ राय यादवको परेको अपुतालीमा २ भागको १ भाग प्रतिवादीहरूको स्व. लोग्ने बाबु रामप्रसाद राय यादवले र हाम्रो स्व. बाबु अंचीत राय यादवले पाउने १ भागमा परेको मोल रू. २,६२,०००।– जाने देहायबमोजिमका जग्गा घरहरूमा हामी वादीहरूको संयुक्त नाममा अपुताली हक कायम गरी हाम्रो नाउँमा दाखेल खारेज दर्तासमेत हुने र ऐलानी घर जग्गा र त्यसमा भएका घरहरूमा हक कायम भई भोग व्यवहार गर्न पाउनेसमेत गरिपाउँ भन्‍नेसमेत बेहोराको विन्दालाल राय यादव र नन्दलाल प्रसाद यादवको फिराद पत्र ।

दर्तावालाको नाम जिल्ला गा.वि.स. वडा नं. कि.नं. क्षेत्रफल

विश्वनाथ राय  यादव रौतहट ईनरवारी ५ ४७ ०-२-३ मध्ये पश्‍चिमबाट ०-१-११/२

,, ,, ,, ५ ६२ ०-१-० मध्ये उत्तरबाट ०-०-१०

,, ,, ,, ५ ६९ ०-१-१५ मध्ये पूर्वबाट ०-०-१७१/२

,, ,, ,, ५ ७७ ०-०-९ मध्ये दक्षिणबाट ०-०-४१/२

,, ,, ,, ५ ८७ ०-३-० मध्ये उत्तरबाट ०-१-१०

,, ,, ,, ५ ३२४ ०-०-५१/२ मध्ये पूर्वबाट   ०-०-२३/४

,, ,, ,, ६ २९७ ०-१-१८ मध्ये पूर्वबाट   ०-०-१९

,, ,, ,, ६ ३०४ ०-१-७ मध्ये पश्‍चिमतर्फबाट ०-०-१३१/२

विश्वनाथ राय यादव ,, पिपरीया १ ९४४ ०-१-१० मध्ये पूर्वबाट ०-०-१५

विश्वनाथ राय यादव रौतहट पिपरीया १ ९४६ ०-२-१५ मध्ये दक्षिणतर्फबाट ०-१-७१/२

,, ,, ,, ,, १२६४ ०-२-१४ मध्ये पूर्वबाट ०-१-७

,, ,, ,, ,, १२६८ ०-०-१० मध्ये दक्षिणतर्फबाट ०-०-५

,, ,, ,, ,, ९६४ ०-०-१५ मध्ये पूर्वबाट ०-०-७१/२

,, ,, ,, ,, ९८४ ०-१-१४ मध्ये पश्चिमतर्फबाट ०-०-१७

,, ,, ,, ,, ९९१ ०-२-१० मध्ये उत्तरतर्फबाट ०-१-५

,, ,, ,, ,, ९९५ ०-२-४ मध्ये पश्‍चिमतर्फबाट ०-१-२

,, ,, पिपरीया ५ ९०३ ०-१-० मध्ये उत्तरतर्फबाट ०-०-१०

विश्वनाथ राय यादवको हक प्राप्‍त भई भोगी आएको जग्गा रौतहट ईनरवारी ६ २६३ ०-०-५१/२ मध्ये पूर्वबाट ०-०-२३/४ फुसको घरसमेत 

    ,, ,, ,, ,, १६ ०-०-४ मध्ये पूर्वतर्फबाट ०-०-२र फुसको घरसमेत

सुरूज राय,,,,५२६००-०-२१/४ मध्ये दक्षिणतर्फबाट ०-०-१-२र फुसको घरसमेत

सुरूज राय,,पिपरिया (प)१९७८को जग्गा घरमध्ये पूर्वतर्फबाट ०-०-०-८ कनवामा बनेको फुसको घरसमेत

सुरूज राय,,,,१९८००-०-१८मध्ये दक्षिणतर्फबाट ०-०-९ र फुसको घरसमेत

 

 

काका सुरूज राय यादव र निजको छोरा दाजु विश्‍वनाथ राय यादव हाम्रो सगोलको अंशियार नभई निजहरू तथा हाम्रो पिताहरूबीच २०३७।८।४ मा रौतहट जिल्ला अदातलबाट अंशबन्डा भई बसेका अंशियार 

हौं । काका सुरूज राय यादव तथा दाजु विश्‍वनाथ राय यादव र भाउजू सुनरी देवीको सेवा सुसार औषधी उपचार तथा मृत्युपश्‍चात क्रिया श्राद्धसमेत हामी वादी प्रतिवादीले गरेको होइन छैन । निजहरूको क्रिया श्राद्ध औषधी उपचार रेखदेखसमेत निज सुरूज रायको छोरी तथा विश्वनाथ रायको बहिनी राजपती देवीले नै माइती घरमा बसी गरेकी हुन् । पछि वादी दाबीको जग्गा घर हामी वादी प्रतिवादीसमेतले कहिले पनि जोतभोग चलन गरेको होइन छैन । दाबीको घर जग्गा विश्‍वनाथ राय यादव तथा काका सुरूज राय आफ्नो जीवनकालमा आफैँले जोतभोग चलन गरेका हुन् । निजहरूको बुढेसकालमा निजको छोरी बहिनी राजपती देवीले दाबीको घर जग्गा जोतभोग गरी आएकोमा सो घर जग्गामा विपक्षीको खिचोला कब्जा लगाई दिएको हुँदा काका सुरूज रायको छोरी राजपती देवीले हामीसमेत उपर दे.नं. १३२९ को अपुताली हक कायम दर्ता चलन मुद्दा गरेकी हुन् । प्रमाण लगाई पाऊँ । वादी दाबीको घर जग्गामा यी वादी तथा हामी प्रतिवादीसमेतको अपुताली हक कायम दर्तासमेत हुनुपर्ने होइन छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी जयप्रकाश राय यादव र ओमप्रकाश राय यादवसमेतको संयुक्त प्रतिउत्तर पत्र ।

प्रतिवादी हेम चली देवी यादवको नाउँमा रौतहट जिल्ला अदालतबाट जारी भएको इतलायनामा मिति २०६५।११।११ गतेमा तामेल भई म्यादभित्रमा प्रतिउत्तर पत्र नदिई सुरू म्याद गुजारी बसेको ।

यी वादी प्रतिवादीहरू दाजुभाइ नाताका 

हुन् । मृतक विश्‍वनाथ राय र सुनरी देवीको सेवा सुसार रेखदेख औषधी उपचार तथा निजहरूको मृत्युपछि निजहरूका क्रिया श्राद्धसमेत यी वादीहरू तथा प्रतिवादीसमेत मिलीजुली सामुूहिकरूपमा गरेको 

हो । विश्‍वनाथ राय तथा निजको श्रीमती सुनरी देवीको अपुताली यी वादीहरू तथा प्रतिवादीहरू समेतले बराबर पाउनु पर्ने हो । फिराद पत्रमा उल्लिखित सम्पूर्ण जग्गाहरूमा वादी दाबीअनुसार वादीहरूको अपुताली हक कायम दर्तासमेत हुनुपर्ने हो भन्‍नेसमेत बेहोराको वादीको साक्षी जयनुल मियाँ अंसारीले रौतहट जिल्ला अदालतमा गरेको बकपत्र ।

अपुतालीको महलको १ नं. को व्यवस्थाअनुसार सात पुस्ताभित्रको नजिकको अंशीयार र २ नं. को अपुतालीको क्रम निर्धारणभित्र यी वादीहरू परेको देखिँदा यी वादीहरूको अपुताली हक दुई भागको १ भाग रहेको देखिँदा मृतक विश्‍वनाथ र सुनरी देवीको अपुताली परेको सम्पत्तिबाट वादीहरूले दुई भागको १ भाग अपुताली पाउने ठहर्छ । मृतकहरूका अपुताली मृतकको विवाहित बहिनी राजपतीले पाउनु पर्ने भन्‍ने प्रतिउत्तर जिकिर पुग्न सक्दैन भन्‍ने रौतहट जिल्ला अदालतबाट मिति २०६७।९।८ मा भएको फैसला ।

विपक्षीका पिता अंचीत राय र हाम्रो बाबु रामप्रसाद राय र राजपती देवीको बाबु सुरूज राय दाजु विश्वनाथ रायबीच सुरू अदालतबाट संवत् २०३७।८।४ मा विधिवत् अंशबन्डा भई अलगिया अंशियार रहेको तथ्य स्थापित छ । मृतक विश्वनाथको किरिया श्राद्ध यी विपक्षी वादीले नगरेको कुरा निजको फिराद लेखबाट खुलेको छ । मृतक विश्‍वनाथ राय यादव निजका श्रीमती सुनरी देवी र काका सुरूज रायको स्याहार सम्भार, औषधी उपचार तथा मृत्युपश्‍चात् किरिया श्राद्ध विश्‍वनाथको बहिनी राजपती देवीले गरेकी 

हुन् । अपुतालीको ७, ११ नं. बमोजिम दाबीको जग्गामा राजपती देवीको अपुताली पर्ने हो । अपुतालीको १, २ नं. सामान्य व्यवस्था हो भने सोही महलको ७, ११ नं. विशेष व्यवस्था हो । मृतकले खाएको ऋण निजको बहिनी राजपती देवीले अपुताली खाएको हुँदा निजबाट भरिपाउने लगाउको लेनदेन मुद्दाबाट ठहर भएको 

छ । यी आधार प्रमाणको आधारमा सुरू रौतहट जिल्ला अदालतबाट वादी दाबी पुग्ने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले उक्त सुरू फैसला उल्टी गरी हाम्रो सुरू प्रतिउत्तर जिकिरबमोजिम इन्साफ गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीहरू जयप्रकाश राय यादव र ओमप्रकाश राय यादवको पुनरावेदन पत्र ।

राजपती देवीले विश्‍वनाथको अपुताली खाएको आधार दिई २०६५ सालको दे.नं. १०७४।५२-०६५ को लेनदेन, २०६५।७।१८।२ दे.नं. १०९४ को लेनदेन, २०६५।६।१३।२ को दे.नं. १०३१ को लेनदेन मुद्दामा विश्‍वनाथले गरिदिएको लिखतअनुसारको साँवा ब्याज तिर्न बुझाउनु पर्ने गरी फैसला भइरहेको तथा मुलुकी ऐन, अपुतालीको ७ नं. तथा ११ नं. को व्याख्यात्मक प्रश्‍न विद्यमान रहेको सन्दर्भमा सुरूको फैसला विचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९।४।२८ मा भएको आदेश ।

सुरूजको छोरा विश्वनाथ र निजको श्रीमती सुनरीको मृत्युपश्‍चात् निजले खाएको ऋण अपुताली खाने बहिनी राजपतिदेवीले तिर्नुपर्नेसमेत ठहरी बिगोसमेत भराइसकेको स्थिति मिसिलबाट 

देखिन्छ । पुनरावेदक प्रतिवादी जयप्रकाश र ओमप्रकाशले विश्वनाथ र निजको श्रीमतीको पालनपोषण र काज किरियासमेत हामी वादी प्रतिवादीहरूले गरेको नभई बहिनी राजपतिदेवीले नै गरेको हो भनी प्रतिउत्तर फिराएको देखिन्छ । यसरी प्रतिवादीहरू मध्येका एउटाको हाँगाको व्यक्तिहरूले हामीले पालनपोषणसमेत गरेको छैन । बहिनीले नै गरेको हो भनेको स्थितिमा अर्को हाँगाको छोराहरूले हामी सबै भएर पालनपोषण र काजकिरिया गरेको हो भन्‍ने भनाइलाई विश्वास गर्ने स्थिति देखिएन । विश्वनाथले खाएको ऋण तिर्ने दायित्व बहिनी राजपति देवीले स्वीकार गरिसकेपछि अपुतालीमा पनि राजपति देवीको नै हक हुने स्थिति देखिन आयो । तसर्थ, विश्‍वनाथ र निजको श्रीमतीको अपुताली हक बहिनी राजपति देवीले पाउने ठहरी आज यसै इजलासवाट दे.पु.नं.०६८-DP-०६५५ को जग्गा खिचोला अपुताली हक कायम दर्ता चलन मुद्दामा फैसला भएको समेत हुँदा यस मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर गर्नुपर्नेमा वादी दाबीबमोजिम अपुताली हक कायम हुने ठहर्‍याएको सुरू रौतहट जिल्ला अदालतको मिति २०६७।९।८ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । वादी दाबी पुग्न सक्दैन भनी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०।१०।२७ मा भएको फैसला ।

विपक्षीहरूले हामीले अपुताली हक खाने भए भन्‍ने डरले विपक्षीहरूको मिलोमतोमा राजपती देवीले बाबु विश्‍वनाथ र आमा सुनरीदेवीलाई पालनपोषण गरेको भनी गलत प्रतिउत्तर लगाई हामीउपर कुनियत चिताई लेनदेनसमेतका मुद्दा दायर गरेका हुन् । मुलुकी ऐन, अपुतालीको ११ नं.ले नजिकको व्यक्तिले पालनपोषण नगरेमा टाढाको व्यक्तिले पालनपोषण गरेकोमा अपुताली हक खान पाउने हो । पालनपोषण नगरेकी राजपती देवीले अपुताली पाउने ठहर गरेको पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसला कायम गरिपाउँ भन्‍ने नन्दलालप्रसाद यादवको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी मृतक विश्‍वनाथ र सुनरी देवीको अपुताली परेको सम्पत्तिबाट वादीहरूले दुई भागको १ भाग अपुताली पाउने ठहर्‍याई रौतहट जिल्ला अदालतबाट भएको फैसला उल्टी हुने ठहर्‍याई पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसलामा चित्त नबुझाई वादीको तर्फबाट पुनरावेदन परेको देखिँदा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेको छ छैन ? वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? सोही विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।

२. प्रस्तुत मुद्दाको मिसिल अध्ययन गर्दा मूल पुरूष रामपृत राय यादवको ४ छोरा भएकोमा जेठा सुरूज राय यादव, माहिला हामी फिरादीहरूको स्व.बाबु अंचीत राय यादव, साहिला जादु राय यादव र कान्छा प्रतिवादीहरूको सगोलको बाबु रामप्रसाद राय यादव भएकोमा रामपृत राय यादवको मृत्युपछि चारै दाजु भाइ २०३७।८।४ मा रौतहट जिल्ला अदालतबाट अंशबन्डा भई भिन्दै बसी आउनु भएकोमा जेठा सुरूज राय यादवको एक मात्र छोरा विश्‍वनाथ राय यादव भएको निज विश्‍वनाथ राय यादवको एक मात्र श्रीमती सुनरी देवी भएको र विश्‍वनाथ राय र सुनरी देवीको छोराछोरी कोही नभई विश्‍वनाथ राय यादवको मिति २०६५।५।६ र सुनरी देवी मिति २०६५।६।१० मा आफ्नो कालगतीले स्वर्गबास भई सक्नुभएको र माहिला अंचीत रायको दुई छोरा भएकोमा जेठा विन्दालाल राय यादव, कान्छा नन्दलालप्रसाद यादव भएको र साहिला दुरा यादव र निजको श्रीमती चुनुचुनीया देवी लोग्ने स्वास्नी नि:सन्तान भई स्वर्गवास भएको र कान्छा रामप्रसाद राय यादवको एक मात्र श्रीमती हेमचली देवी भएको र निजहरूको २ छोरा भएकोमा जेठा जयप्रकाश राय यादव, कान्छा ओमप्रकाश राय यादव भएकोमा रामपृत राय यादव लोग्ने स्वास्नी, सुरूज राय यादव लोग्ने स्वास्नी र निज सुरूज राय यादवको छोरा विश्‍वनाथ राय यादव र निजको एक मात्र श्रीमती सुनरी देवी माहिला अंचीत राय यादव लोग्ने स्वास्नी, साहिला जदुराय यादव निःसन्तान भई लोग्ने स्वास्नी रामप्रसाद राय यादवसमेत अघिपछि गरी आ-आफ्नो कालगतीले स्वर्गबास भई सक्नुभएको छ । विश्‍वनाथ राय यादव र निजको श्रीमती सुनरी देवीको छोरा छोरी नभई विश्‍वनाथ राय यादव र सुनरी देवीको अपुताली खाने बेहोर्ने हकवाला हामी वादी र प्रतिवादीहरू मात्र हकवाला भएको र निज विश्‍वनाथ राय यादवको मृत्युपछि निजको क्रिया प्रतिवादी ओमप्रकाश राय यादवले र सुनरी देवीको क्रिया फिरादीमध्येको म विन्दालाल राय यादवले गरेको र विश्‍वनाथ राय यादव र सुनरी देवी लोग्ने स्वास्नीको श्राद्धमा लाग्ने खर्च हामी वादी र प्रतिवादीहरूले समानुपातिक तवरले लगाई श्राद्ध गरेको र विश्‍वनाथ राय यादव र सुनरी देवी बिरामी परेको अवस्थामा निज दाजु भाउजूको सेवा सुसार औषधी उपचार हामी वादी प्रतिवादीहरूले गर्दै आएकोले विश्‍वनाथ राय यादव र सुनरी देवीको अपुताली खाने बेहोर्ने हकवाला हामी भएकोले दाजु भाउजूको नाम दर्ताको जग्गाहरू हामी वादी प्रतिवादीहरूले नामसारी दर्ता गराई हालौं भनी प्रतिवादीहरूलाई भन्दा बाधा अवरोध गरी नामसारी दाखिल खारेज दर्ता गराउन नदिएकोले विश्‍वनाथ राय यादवको परेको अपुतालीमा २ भागको १ भाग प्रतिवादीहरूको स्व. लोग्ने बाबु रामप्रसाद राय यादवले र हाम्रो स्व. बाबु अंचीत राय यादवले पाउने १ भागमा परेको मोल रू. २,६२,०००।–जाने जग्गा घरहरूमा हामी वादीहरूको संयुक्त नाममा अपुताली हक कायम गरी हाम्रो नाउँमा दाखेल खारेज दर्तासमेत हुने र ऐलानी घर जग्गा र त्यसमा भएका घरहरूमा हक कायम भई भोग व्यवहार गर्न पाउनेसमेत गरिपाउँ भन्‍ने मुख्य फिराद दाबी भएको प्रस्तुत मुद्दामा काका सुरूज राय यादव तथा दाजु विश्‍वनाथ राय यादव र भाउजू सुनरी देवीको सेवा सुसार औषधी उपचार तथा मृत्युपश्‍चात् क्रिया श्राद्धसमेत हामी वादी प्रतिवादीले गरेको होइन छैन । निजहरूको क्रिया श्राद्ध औषधी उपचार रेखदेखसमेत निज सुरूज रायको छोरी तथा विश्वनाथ रायको बहिनी राजपती देवीले नै माइती घरमा बसी गरेको हुन् । वादी दाबीको घर जग्गामा यी वादी तथा हामी प्रतिवादीसमेतको अपुताली हक कायम दर्तासमेत हुनुपर्ने होइन छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी जयप्रकाश राय यादव र ओमप्रकाश राय यादवसमेतको संयुक्त प्रतिउत्तर रहेको वादी दाबीबमोजिम हुने ठहराई सुरू जिल्ला अदालतबाट फैसला भएकोमा पुनरावेदन अदालतबाट सुरू इन्साफ उल्टी भएकोले वादीको यस अदालतमा पुनरावेदन परी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको देखियो ।

३. वादीले आफू र प्रतिवादीहरूले मृतक विश्‍वनाथ र निजका बाबु सुरज रायको जीवनकालमा आफूसाथ पालन पोषण गरिआएको र निजको मृत्युपछि विवादित जग्गा भोगचलन गरिआएको हुँदा उक्त जग्गाको जग्गा पजनीको २ नं. र अपुतालीको महलको २ र २० नं. अनुसार आफू स्वाभाविक हकदार रहेको देखाउन खोजेको पाइन्छ । यस तथ्यलाई पुष्टि गर्न अन्य कुनै प्रमाणबाट समर्थित भएको देखिँदैन । उक्त तथ्यलाई प्रतिवादीहरूले प्रतिउत्तरमा इन्कार गरेको र वादी तथा आफूहरूले पनि परलोक भएका विश्‍वनाथ र निजको श्रीमती सुनरी देवीको सेवा टहल नगरेको र मृतक विश्‍वनाथकी बहिनी राजपति देवीले सेवा टहल गरेको भनी जिकिर लिएको देखिन्छ । यसबाट वादीले मर्ने विश्‍वनाथ र निजको श्रीमती सुनरी देवीको जीवनकालमा सेवा टहल नगरेको र मृत्युपछि श्राद्ध किरियालगायतका संस्कारहरू सम्पन्न नगरी मृतककी बहिनीले सेवा टहल गरेको भन्‍ने दे.नं. १३२९ को वादी राजपति देवी र प्रतिवादी ओमप्रकाश रायसमेत भएको घर जग्गा खिचोला अपुताली हककायम मुद्दामा विश्वनाथ र निजको श्रीमतीको अपुताली हक बहिनी राजपतिदेवीले पाउने ठहर भई मुद्दा अन्तिम भई बसेको भन्ने तथ्यमा विवाद देखिँदैन । त्यस्तै २०६५ सालको दे.नं. १०७४/५२-०६५, २०६५ सालको दे.नं. १०३१ का लेनदेन मुद्दाका साक्षीहरूले विश्‍वनाथ र निजको श्रीमतीको पालन पोषण र काजकिरियासमेत राजपति देवीले नै गरेकोले विश्‍वनाथले खाएको ऋण निज राजपति देवीले नै तिर्नु पर्ने हो भनी बकपत्र गरी सोही आधारमा उक्त लेनदने मुद्दाहरूमा विश्‍वनाथले खाएको ऋण राजपति देवीले तिर्नु पर्ने ठहर गरी भएको फैसला बदर गरिपाउँ भनी वादी नन्दलाल र विन्दलालले फिराद दिएकोमा वादी दाबी पुग्न नसक्ने ठहरी अन्तिम भई बसेको देखिन्छ । यसरी विश्‍वनाथ र निजको श्रीमतीको अपुताली हक बहिनी राजपति देवीको अपुतालीको महल अनुसार के कस्तो हक हुने रहेछ भनी हेर्दा मुलुकी ऐन, अपुतालीको ११ नं.मा देहायअनुसार कानूनी व्यवस्था रहेको देखिन्छः

११ नं. यस महलको अन्य नम्बरहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि अपुताली पर्दा मर्नेको स्याहार सम्भार नजिकको हकवालाले नगरी अन्य व्यक्तिले गरेको रहेछ भने त्यस्तो व्यक्तिको अपुतालीको सबै चल अचल सम्पत्ति त्यस्तो स्याहार सम्भार गर्नेले पाउँछ ।

 

४. प्रस्तुत कानूनी व्यवस्थाले अपुतालीको सम्बन्धमा मर्ने व्यक्तिको सँगसाथमा रही स्याहार सम्भार गर्ने व्यक्तिलाई मर्ने व्यक्तिको पहिलो प्राथमिकता प्राप्त हकवाला व्यक्तिको रूपमा राखेको पाइन्छ । प्रस्तुत मुद्दाका सन्दर्भमा हेर्दा मर्ने व्यक्तिको कुनै छोरा सन्तान नभएको तथ्यमा विवाद भएन । वादीले मर्ने व्यक्तिलाई स्याहार सम्भार गरेको भनी दाबी लिएकोमा सो सम्पत्तिबाट आधा हक प्राप्त गर्न सक्ने प्रतिवादीहरूले वादी र आफूहरू समेतले स्याहार सम्भार गरेको नभई विश्‍वनाथकी बहिनी राजपती देवीले स्याहार सम्भार टहल चाकर  गरेको भनी प्रतिउत्तर फिराएको र वादीले स्याहार सम्भार गरेको भन्‍ने दाबी खण्डित भएको यस्तो अवस्थामा विश्‍वनाथ र निजको श्रीमतीलाई सेवा सुसार औषधो उपचार हामी वादी प्रतिवादीले गरी मृत्युपश्‍चात् काज क्रिया, श्राद्ध गरेको भन्‍ने वादीको दाबी प्रमाणित हुनसकेको देखिएन ।  

५. प्रस्तुत विवादमा वादीको भनाइ मूलतः आफू र प्रतिवादीहरू मर्ने व्यक्तिको हकदार भएकोले मर्ने व्यक्तिसँगको नाताको आधारमा आफूले समेत अपुताली परेको सम्पत्तिमा हिस्सा पाउनु पर्ने भन्ने जिकिरमा आधारित देखिन्छ । तर प्रस्तुत विवाद अंशको सम्बन्धमा परेको नभई अपुताली सम्बन्धमा परेको देखिन्छ । अंश र अपुतालीका विषयहरू झट्ट हेर्दा उस्तै देखिने भए पनि पृथक विषयहरू हुन् । अंशको विवादमा अंशियार हुनलाई नाता सम्बन्ध महत्त्वपूर्ण हुन्छ । तर अपुतालीको सम्बन्धमा माथि विवेचना गरिएअनुसार स्याहार सम्भार गर्ने व्यक्तिलाई मर्ने व्यक्तिको सम्पत्तिको हकदार मानिएको देखिन्छ । बाँचुञ्‍जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्ने कुरालाई प्रस्तुत कानूनी व्यवस्थाले अनुमति दिएको देखिँदैन ।

६. अतः राजपति देवी अपुतालीको ११ नं. अनुसार मर्नेका स्याहार सम्भार गर्ने व्यक्ति भएकोले निज विश्‍वनाथ र निजको श्रीमतीको सम्पत्तिमा स्वाभाविक रूपमा हक लाग्ने व्यक्ति देखिएको हुँदा सुरू जिल्ला अदालतले वादी दाबीबमोजिम हुने ठहर्‍याई गरेको फैसला उल्टी हुने ठहर्‍याई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०।१०।२७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत काटी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत : जगतबहादुर पौडेल

इति संवत् २०७४ साल जेष्ठ ९ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु