निर्णय नं. १००२८ - अपहरण, कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
फैसला मिति : २०७४।३।२१
मुद्दाः अपहरण, कर्तव्य ज्यान
०७१-CR-०५४५
पुनरावेदक / प्रतिवादी : जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं.५ घर भई हाल कारागार कार्यालय नेपालगञ्जमा थुनामा रहेको सोनु हलवाई
विरूद्ध
प्रत्यर्थी / वादी : अजय श्रेष्ठको जाहेरीले नेपाल सरकार
०७१-CR-०६२४
पुनरावेदक / वादी : जिल्ला बाँके नेपालगञ्ज नगरपालिका वडा नं.१६ बस्ने अजय श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं.१४ बस्ने अनमोल अग्रवालसमेत
मृतकलाई मिति २०६७।५।३ गते षड्यन्त्रपूर्ण ढंगबाट छलकपट, झुक्यानमा पारी नेपालगञ्ज स्थित निजको घरबाट व्यापार गर्ने बहानामा नेपालको सीमा कटाई भारतको रूपैडिया हुँदै लखनउ लगी हत्या गरेबाट अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. को कसुर नेपालमा नै भएको र सोही महलको ११ नं. ले नेपालबाहिर लैजाने कार्य गरेमा नेपालभित्रै कसुर गरेसरह मानी सजाय गर्न मिल्नेसमेत देखिने ।
प्रतिवादीबाट अपहरण गर्ने, सम्पत्ति लिने, खाने, मास्ने र हत्या गर्नेसमेतका जुन कसुर भएको भनी अभियोग पत्र पेस भएको छ सो एउटै कारोबार (Single transaction) को शृङ्खला हुँदा यहाँ भारतमा लास फेला परेको भन्ने मात्र कारणले नेपालमा मुद्दा नचल्ने भन्न मिल्ने देखिँदैन । त्यसो भन्ने हो भने कसैलाई नेपालमा नै अपहरण गरी हत्या गरेमा मुद्दा चल्न सक्ने तर विदेश लगी हत्या गरेमा मुद्दा नचल्ने एउटा विसङ्गतिपूर्ण निर्णय निष्कर्षमा हामी पुग्छौं, जुन कानून, न्याय र न्यायका मान्यता प्राप्त सिद्धान्तसमेत अनुकूल हुने नदेखिने ।
(प्रकरण नं.४)
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री श्याम लाल र श्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री यामबहादुर बानिया
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा. जिल्ला न्या. श्री कृष्णकमल अधिकारी
बाँके जिल्ला, अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा. न्यायाधीश श्री माधवप्रसाद पोखरेल
माननीय न्यायाधीश श्री दिनेशप्रसाद यादव
पुनरावेदन अदालत, नेपालगञ्ज
फैसला
न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः–
मिति २०६७/५/३ को बिहान ९:३० बजेको समयमा मेरो श्रीमती नर्मदा श्रेष्ठ (निर्मला श्रेष्ठ)ले नगद गरगहना गरी जम्मा रू.२,०२,०००।– बराबरको धन सम्पत्ति लगी बेपत्ता भएकीले खोजतलास गरिपाउँ भन्ने अजय श्रेष्ठको निवेदन पत्र ।
मेरो श्रीमती निर्मला श्रेष्ठलाई मिति २०६७/५/३ मा घरमा जाँदा नदेखेपछि खोजतलास गर्दासमेत कहीँकतै फेला नपरेको र म जाहेरवालाको पत्नीले प्रयोग गर्ने गरेको मोबाइल नं. ९७२८१५४२००, ९८४८०४२५२६, ९८०४५४७६४२ नम्बरहरूमा अनमोल अग्रवालले प्रयोग गर्ने गरेको फोन नं.९८४८०७३४२७ नम्बरबाट लामो समयसम्म फोन आउने गरेकोले निज श्रीमतीलाई नेपालगञ्ज नगरपालिका वडा नं.१४ मा बस्ने अनमोल अग्रवाल, अक्रम हल्वाईसमेतको मिलोमतोमा र योजनामा अन्यायी सोनु हलुवाईले मेरो श्रीमतीलाई विभिन्न प्रलोभन दिई, छलकपट गरी, झुक्यानमा पारी मिति २०६७/५/७ का राति १०:०० बजेको समयमा नमालुमको व्यक्तिले फोनबाट रू.५,००,०००।– फिरौती रकमसमेत माग गरेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने अजय श्रेष्ठको जाहेरी दरखास्त ।
प्रतिवादी सोनु हलवाईले प्रहरी हिरासतमा रहेका अवस्थामा बाथरूमबाट हातकाटी रगताम्मे अवस्थामा बाहिर आउँदादेखि थाहा पाएको हो भन्ने बेहोराको कागज ।
प्रतिवादी सोनु हलुवाई प्रहरी हिरासतमा रहेको अवस्थामा मिति २०६७/५/१० मा हिरासत कक्षमा रहेको पटरामा रहेको किलामा हात राखी आफैँ घाउ बनाएको हुँदा जानकारीको लागि अनुरोध भन्ने प्रहरी सहायक निरीक्षक रामकाजी के.सी.को
प्रतिवेदन ।
म नेपालगञ्ज स्थित अप्सरा टेलरमा कपडा सिलाउने काम गर्ने हुँदा निर्मला श्रेष्ठसँग चिनजान भएको हो । निजसँग सम्पर्क हुँदै जाँदा निज निर्मला श्रेष्ठको होटलसमेत भएको र निजसँग सुन पैसा धेरै छ, निजलाई भारत लगी निजको सुनका गहना लिई हत्या गर्नुपर्छ भनी म तथा अक्रम हलुवाई, रफिक बेहनासमेत भई निर्मला श्रेष्ठलाई मिति २०६७/५/३ को बिहान भारतमा लगी भारतको लखनउमा रहेको तुलसी होटलको ५६ नं. कोठामा निजलाई राखी मिति २०६७/५/४ मा सोही होटलमा नै बन्धक राखेका अवस्थामा म तथा अक्रम हलुवाई, रफिक बेहनासमेतले हत्या गरिसकेपश्चात् मृतक निर्मला श्रेष्ठको लास उक्त ५६ नं. कोठामा नै छाडी ६ गते राति, ऐ. ७ गते बिहानको समयमा भागी आएको हुँ भन्ने प्रतिवादी सोनु हलुवाईको बयान कागज ।
अजय श्रेष्ठ मेरो छिमेकी हुन्, निज घरमा नभएको अवस्थामा सोनु हलुवाई, अक्रम हलुवाई, अनमोल अग्रवाल, रफिक बेहनासमेतका व्यक्तिहरूले जाहेरवाला अजय श्रेष्ठसँग रकम असुल गर्ने, फिरौती रकम लिने उद्देश्यले मिति २०६७/५/३ मा निज निर्मला श्रेष्ठलाई अपहरण गरी लगेको हुँदा खोजतलास गर्दै जाँदा निज निर्मला श्रेष्ठको भारतको लखनउमा रहेको तुलसी होटलको कोठा नं.५६ मा मृतक लास फेला परेको सुनी थाहा पाएको हुँदा निज निर्मला श्रेष्ठलाई प्रतिवादीहरूले अपहरण गरी भारतमा लगी बन्धक बनाई राखी पछि कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने बेहोराको नन्दकुमार सिंह ठकुरी, रामकृष्ण कुर्मी, लल्लुबहादुर शाही, सुवास बानिया, राजिब ढकालसमेतका व्यक्तिहरूले गरिदिएको छुट्टाछुट्टै घटना विवरण कागज ।
अपहरणमा परेकी निर्मला श्रेष्ठ मेरी श्रीमती
हुन् । मिति २०६७/५/३ मा घरबाट एकाएक हराएपश्चात् खोजतलासको लागि हुलिया निवेदन पेस गरेकोमा पछि सोनु हलुवाई, अक्रम हलुवाई, रफिक बेहनासमेतले मेरो श्रीमती निर्मला श्रेष्ठलाई छलकपटमा पारी अपहरण गरी लगेकोमा किटानी जाहेरी पेस गरेको
हुँ । पछि निज श्रीमतीको भारतको लखनउ स्थित तुलसी होटलमा ५६ नं.कोठामा मृतक अवस्थामा लास फेला परेको भन्ने पत्रपत्रिकाबाट जानकारी प्राप्त भएकोले निज श्रीमतीलाई सोनु हलुवाई, अक्रम हलुवाई, रफिक बेहनासमेतले अपहरण गरी बन्धक राखी कर्तव्य गरी मारेका हुन् भन्ने बेहोराको अजय श्रेष्ठको घटना विवरण कागज ।
रफिक बेहनाको घरमा नियमपूर्वक खानतलासी गर्दा कुनै दशी प्रमाणको सामान फेला नपरेको भन्ने खानतलासी मुचुल्का ।
सोनु हलुवाईको घरमा नियमपूर्वक खानतलासी गर्दा कुनै दशी प्रमाणको सामान फेला नपरेको भन्ने खानतलासी मुचुल्का ।
जाहेरवाला अजय श्रेष्ठको श्रीमती निर्मला श्रेष्ठलाई सोनु हलुवाई, अक्रम हलुवाई, रफिक बेहना, अनमोल अग्रवालसमेतका व्यक्तिहरूले विभिन्न प्रलोभन देखाई झुक्याई मिति २०६७/५/३ को बिहान घरबाट अपहरण गरी लगेको भनी सुनी थाहा पाएको हुँ भन्ने बेहोराको राजेन्द्र कौशल, संजय बाल्मीकीसमेतले गरी दिएको घटना विवरण कागज ।
यसमा मृतक निर्मला श्रेष्ठलाई अभियुक्तहरूले अपहरण गरी, अपहरणपश्चात् कर्तव्य गरी मारेको र मृतकका साथमा रहेको नगद तथा सुनका गरगहनासमेत जबरजस्ती चोरी गरेको संकलित मिसिल प्रमाणबाट देखिन खुल्न आएकोले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ विपरीतको कसुरमा सोही महलको ३ नं. बमोजिम सजाय हुन र ७ र ९ नं. थप सजाय हुन र सोही महलको १२ नं. बमोजिम क्षतिपूर्ति दिलाई भराई प्रतिवादीहरूलाई ८ र ११ नं. बमोजिम समेत अभियुक्तहरू सोनु हलुवाई, अक्रम हलुवाई, रफिक बेहना र अनमोल अग्रवाललाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं.बर्खिलापको कसुर अपराधमा ऐ.महलको १३(३) नं.बमोजिम र मुलुकी ऐन चोरीको महलको १ र ४ नं.बर्खिलापको कसुरमा ऐ.महलको १४(२) नं.बमोजिम समेत थप सजाय हुन र मृतक निर्मला श्रेष्ठको साथमा रहेको अभियुक्तहरूले जबरजस्ती चोरी गरेको बिगो रू.२,०२,०००।– समेत मुलुकी ऐन चोरीको महलको १०(३) नं.बमोजिम विरूद्ध खण्डका अभियुक्तहरू सोनु हलुवाई, अक्रम हलुवाई, रफिक बेहना र अनमोल अग्रवालबाट जाहेरवाला अजय श्रेष्ठलाई दिलाई भराई दिनेसमेतको मागदाबी लिएको अभियोग पत्र ।
अनमोल अग्रवाल, अक्रम हलुवाई र रफिक बेहनालाई चिन्दैन । मिति २०६७/५/३ देखि ऐ.८ सम्म म नेपालगञ्ज नै थिएँ । सो मितिमा प्रतिवादीहरूसँग मेरो भेटघाट भएन । निर्मला श्रेष्ठलाई मैले अपहरण गरी मारेको होइन । कसले मारे थाहा भएन । जाहेरवाला अजय श्रेष्ठले किन मैले अपहरण गरी कर्तव्य गरी मारेको भनी ममाथि किटानी जाहेरी दिए थाहा छैन । मैले अजय श्रेष्ठलाई चिनेको छैन । निजले कसरी मेरो नाम लेखाए थाहा भएन । मलाई प्रहरीले मेरो पसल दोकानबाट बोलाई लगेपछि मलाई कुटपिट गरी रातमा कुटपिट गरी यातना दिएका र बयानमा मलाई केही नसोधी सहिछाप गराएका हुन् । हिरासतमा हुँदा मलाई रक्सीसमेत खुवाएका हुँदा बयान बेहोरा मेरो होइन भन्ने बेहोरा प्रतिवादी सोनु हलुवाईले सुरू अदालतमा गरेको बयान ।
९८४८०७३४२७ नं.को मोबाइल मेरो नामको नम्बर हो । उक्त मोबाइल नं. मिति २०६६/८/२५ मा हराएको हो । सो मिति २०६७/५/३ मा म आफ्नै घर पसलमा छु । मृतक निर्मला श्रेष्ठलाई कसले अपहरण गरे, मारे मलाई थाहा भएन । मैले अपहरण गरी कर्तव्य गरी मारेको होइन । उक्त जाहेरी दरखास्तको बेहोरा झुट्ठा हो गलत हो । उक्त ३ गतेदेखि ८ गतेसम्म म आफ्नै घर पसलमा छु । बैङ्क कारोबार ऐ.५ गते र ६ गते बागेश्वरी बैङ्क र एस.वि.आई. मा गरेको छु । सो पेस गर्ने छु । मैले उक्त मेरो हराएको नम्बरमा फोन गर्दा कहिले स्वीच अफ हुने र कहिले हेलो गरी कुरा गर्ने हुँदा पाएको मान्छेले फिर्ता देला भन्ने आशले लक गराएको होइन भन्ने बेहोरा प्रतिवादी अनमोल अग्रवालले सुरू अदालतमा गरेको बयान ।
पछि थप सबुद प्रमाणहरू बुझी जाँदा ठहरबमोजिम हुने नै हुनाले हाललाई प्रतिवादी सोनु हलुवाई अदालती बन्दोबस्तको ११८ नं. को दफा-२ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था देखिन आएकाले कानूनबमोजिम सिधा उपलब्ध गराउने गरी अदालती बन्दोबस्तको १२१ नं. को थुनुवा पुर्जीसहित थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु भनी अदालती बन्दोबस्तको १२४ ग नं. बमोजिम प्रस्तुत पर्चा गरिदिए भन्ने बाँके जिल्ला अदालतबाट मिति २०६७।६।११ मा भएको आदेश ।
मिति २०६७/५/८ को जाहेरी दरखास्तको बेहोरा सुनाउँदा सुनिपाएँ बेहोरा ठीक साँचो हो सहिछाप मेरो हो । अनुसन्धानको क्रममा मिति २०६७/६/६ मा गरेको कागज बेहोरा तथा सहिछाप मेरो हो सम्पूर्ण ठीक साँचो हो । मेरो श्रीमती निर्मला श्रेष्ठलाई सोनु हलवाई, अक्रम हलुवाई, रफिक बेहना र अनमोल अग्रवालले भारतको लखनउमा लगी तुलसी होटलमा कर्तव्य गरी मारेका हुन् । मारिसकेपछि ५ लाख रूपैयाँ दे, तेरो स्वास्नी मेरो कब्जामा छ भनी फोन आएको थियो । प्रतिवादीहरूले जाहेरवाला (तपाइँ) को श्रीमती निर्मला श्रेष्ठलाई अपहरण गरी लगी कर्तव्य गरेको निज निर्मला श्रेष्ठको साथमा रहेको नगद, सुनको गरगहना गरी बिगो रू. २,०२,०००।– जबरजस्ती चोरी गरी लगेको भन्ने अभियोग दाबी सम्पूर्ण ठीक हो । गरगहना सुनको सिक्रीसहित लकेट थियो । नगद १ लाख पचास हजार थियो । सोनु हल्वाईसहित उल्लिखित सबै कार्य चारै जनाले गरेका हुन् । कहिलेकाहीँ सोनु, रफिक बेहना, अक्रम हलुवाई घरमा जाने गर्थे । सोनु हलवाईले फोन गरेका थिए । फोन सोनु हलुवाईले गरेका हुन् कलर आइडी नहुँदा नम्बर आएन । प्रतिवादी सोनुले मिति २०६७/५/३ भन्दा पहिले फोन गरेका थिए । ९८४८०४२५२६ नम्बरमा सोनुले फोन गरेका थिए । २/३ वटा नम्बर थिए । यस नम्बरमा धेरै फोन
आउँथ्यो । सोनु हलुवाईले कुन नम्बरबाट गरे सो थाहा भएन । त्यो नम्बर त्यसैमा छ । सो कुरा मैले जाहेरीमा उल्लेख गरेको छु । मृत शरीर मैले देखेको हुँ । मृत्यु ३ जनाले विष दिई घाँटी थिची मारेका हुन् ११/४ वर्षको कुरो भएकोले जाहेरीका सम्पूर्ण कुरा याद छैन । लास मैले मिडियामा आजतक, उत्तर प्रदेश च्यानलमा हेरेको हुँ । सामुन्ने मैले देखिन । परिवारसँग पैसा थियो । सोनु हलुवाई, रफिक बेहना र अकरम हल्वाई कपडाको कारोबार गरौं भनी प्रलोभनमा पारेका थिए । नेपालगञ्जको धम्बोझीबाट अपहरण गरेका
हुन् । अपहरण गर्ने सोनु हलुवाई, रफिक बेहना, अकरम हलुवाई हुन् भन्ने बेहोराको जाहेरवाला अजय श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र ।
यसमा अनमोल अग्रवालको संलग्नता
छैन । मिति २०६७/५/३ देखि ऐ. ८ गतेसम्म प्रतिवादी अनमोल अग्रवाल नेपालगञ्जमै थिए । निजको र मेरो पसल सँगै भएकोले मैले देखेको हुँ । भेटघाट भएको
हो । निजको मोबाइल घटनाभन्दा पहिले नै हराई सकेको थियो । निज निर्दोष भएकोले सजाय हुनुपर्ने होइन भन्ने बेहोरा प्रतिवादी अनमोल अग्रवालको साक्षी दिलीप शाहले सुरू अदालतमा बकपत्र गरेको ।
मिति २०६७/६/१ को घटना विवरण कागज बेहोरा सुनाउँदा सुनी पाएँ । बेहोरा सम्पूर्ण ठीक साँचो हो सहिछाप मेरो हो । प्रतिवादीहरूले जाहेरवालाको श्रीमतीलाई अपहरण गरेका हुन् । कपडाको दोकान खोल्ने भनी प्रलोभन दिएका हुन्, उद्देश्य त्यही हो । मिति २०६७/६/१ मा गरेको घटनामा प्रतिवादी सोनु हलुवाई, अक्रम हलुवाई र रफिक बेहना यी तीनै जना हुन् अरू थाहा भएन । मिति २०६७/५/३ का दिन मेरो प्रतिवादी सोनु हलुवाईसँग भेट भएन । उक्त मितिमा मैले निर्मलालाई भेटिन भन्ने बेहोरा घटना विवरणका मानिस नरेन्द्र सिंह क्षेत्रीले सुरू अदालतमा बकपत्र गरेको ।
सोनु हलुवाई उक्त मिति २०६७/५/३ देखि ८ गतेसम्म मस्जितमा पूजा पाठ गरिरहेका थिए । हाम्रो सो समयमा रोजा चलिरहेको थियो । जाहेरी बेहोरा गलत हो । यो केटा त्यस्तो छैन भन्ने बेहोराको प्रतिवादी सोनु हलुवाईको साक्षी बच्चुलाल हलुवाई र आविद हलुवाईले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त मिति २०६७/६/१ मा भएको बेहोरा र सहिछाप ठीक साँचो हो । मिति २०६७/५/२ को बेलुकी अजयको घरमा सोनु र अक्रम आएको देखेको हुँ । २०६७/५/३ को बिहान निर्मला श्रेष्ठलाई अपहरण गरी भगाएर सोनु र अक्रमले लगेका हुन् । उक्त घटनामा रफिक बेहना पनि थियो भनी सुनेको छु । अजयको घरमा सोनु र अक्रम आउने गर्दथे । अजयको श्रीमती निर्मलाले व्यापार गर्ने कि नगर्ने भनेर मलाई सोधेपछि मैले बुझेर, सोचेर व्यापार गर भनेको थिएँ । मिति २०६७/५/३ मा अजयले भनेपछि अपहरण भएको कुरा सुनेको हुँ । सोनु हलुवाई, अक्रम हलुवाई र रफिक बेहनासमेतले हत्या गर्ने कार्य गरेका हुन् भन्ने बेहोराको घटना विवरणका मानिस रामकृष्ण कुर्मीले सुरू अदालतमा बकपत्र गरेको ।
मिति २०६७/६/१ को कागज बेहोरा सुनाउँदा सुनी पाएँ, भनेबमोजिम लेखिएको ठीक हो । बेहोरा मेरै हो सहिछापसमेत मेरो हो । सोनु हल्वाईसमेत भई निर्मला श्रेष्ठलाई कपडाको व्यापार गरौं भनी भनेको कुरा मलाई मृतक भाउजू निर्मला श्रेष्ठले भन्नु भएको थियो । मैले के कसो हो त्यस्तै व्यापार गर्नु हुँदैन भनी भनेको थिएँ । मिति २०६७/५/३ मा मृतक निर्मला श्रेष्ठ घरमा नभई खोजतलास गर्दा फेला नपरेको र हामीलाई समेत शंका लागि मेरो होटलनजिक दुकान भएका अक्रम हलुवाईको पसल र रफिक बेहनाको दाइको बेतबाँसको पसलमा समेत अक्रम हलुवाई र रफिक बेहना नभएका तथा सोनु हलुवाइको दुकानमा समेत निज सोनु नभएकोले यिनीहरूबीचमा कपडाको दोकान गर्ने भनी सल्लाह भएको र मृतक भाउजूले मलाई डेढ लाख मागेका छन् भनेको र यी प्रतिवादी ऐ.३ गतेबाट घर दोकानमा नभई एकैपटक ८ गते देखापरेकाले निजहरूले नै मृतक निर्मला श्रेष्ठलाई भारतमा लगी लखनउको तुलसी होटलमा कर्तव्य गरी मारेका हुन् । अनुसन्धानको क्रममा अनमोल अग्रवालको मोबाइल सिम प्रयोग भएको देखिँदा निजको पनि संलग्नता छ । मृतक निर्मला श्रेष्ठलाई अपहरण गरी हत्या गर्ने प्रतिवादीहरू अक्रम हलुवाई, सोनु हलुवाई, रफिक बेहना र अनमोल अग्रवाल हुन् । निजको सिम प्रयोग भएको देखिँदा अन्य प्रतिवादीहरू निजकै साथी होलान् । अपराधमा निजको पनि सहयोग छ । प्रतिवादी अनमोलको मोबाइलबाट जाहेरवालालाई फिरौती मागिएको थियो । कुरा अनमोलले गरे नगरेको मलाई जानकारी भएन । मोबाइल प्रयोग भएको मैले जाहेरवालाबाट थाहा पाएको हुँ । मिति मलाई थाहा भएन । पुरानो कुरा याद भएन । मृत्युअघि तथा मृत्युपछि ७ गतेसम्म मोबाइल प्रयोग भएको हो अपहरण गरेको मैले देखिन । निजसँग घुलमेल भएको कुराकानी भएको मैले देखेको हुँ । देखेको कारणले निजहरूको नै संलग्नता भएकोमा विश्वास लाग्छ । घरबाटै अपहरण भएको हो । मिति याद भएन । भदौमा हो । २ गते वा ३ गते हो घर नेपालगञ्ज वडा नं.१६ बेलासपुरमा छ भन्ने बेहोरा घटना विवरणका मानिस शुभाष बानियाँले सुरू अदालतमा गरेको बकपत्र ।
मृतक निर्मला श्रेष्ठलाई नेपालगञ्जबाट अपहरण गरी भारत लखनउ पुर्याई निजलाई कर्तव्य गरी मारेमा निज सोनु हलुवाई मौकामा साबित भई बयान गरेका सो बयान अन्यथा प्रमाणित हुन सकेको नहुँदा निजले अभियोग दाबीबमोजिम अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं.को कसुरमा ऐ.मा ३ र ७ नं.बमोजिम ९ वर्ष कैद र रू.५०,०००।- जरिवाना हुने ठहर्छ । साथै जाहेरवालालाई निज प्रतिवादी सोनु हलवाईबाट वारदात मितिदेखि भरीभराउ हुँदाका दिनसम्म दैनिक रू.५००।– का दरले क्षतिपूर्ति भराइदिने ठहर्छ । साथै निजले अपहरणपश्चात् भारत पुर्याई निर्मला श्रेष्ठलाई कर्तव्य गरी मारेको तथ्य स्थापित भएको हुँदा कर्तव्य ज्यानतर्फ दाबीबमोजिम ज्यानसम्बन्धीको महलको १ न.को कसुर गरेमा ऐ.१३ (३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । निज प्रतिवादी सोनु हलुवाईको हकमा अरू कुरामा अभियोग दाबी पुग्न सक्दैन । अर्का प्रतिवादी अनमोल अग्रवालको हकमा यो यसरी कसुरमा संलग्न रहेको भनी देखिने गरी जाहेरीमा किटान हुन नसकेको, मौकामा सहअभियुक्त सोनु हलुवाईले पोलसम्म पनि नगरेको, केबल फोन नम्बर मिलेको भनेकै भरमा कसुरदार ठहर गर्न
मिलेन । तसर्थ निज प्रतिवादी अनमोल अग्रवालले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू बाँके जिल्ला अदालतको मिति २०६९/०१/१८ को
फैसला ।
उक्त फैसलामा चित्त बुझेन । मुलुकी ऐन अदालती बन्दोबस्तको२९ नं.तथा न्याय प्रशासन ऐन,२०४८ को दफा ७(१) का दुवै कानूनी व्यवस्थाबमोजिम वारदात, कसुर घटित भएको स्थान अपराध भएको इलाका वा आफ्नो क्षेत्रभित्र रहेको अभियोग दाबीबमोजिम पुष्टि हुँदैन । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३(३) नं.र चोरीको महलको १, ४, १०, १४ नं.को अभियोग दाबी भारत लखनउ स्थित तुलसी होटलको रूम नं.५६ लाई वारदातस्थल कायम गरिएको हुँदा प्रस्तुत अभियोग माग दाबीबमोजिम दायर गरिएको अभियोगपत्र सम्मानित अदालतमा दर्ता भई मुद्दाको सुनुवाइ हुनसक्ने क्षेत्राधिकार नै स्थापित नहुँदा वादी दाबीभित्र प्रवेश गरी इन्साफ गर्न नमिल्नेमा अभियोग दाबीभित्र प्रवेश गरी मलाई हराई गरेको फैसला प्रत्यक्ष कानूनी त्रुटिपूर्ण
छ । भारत सरकारद्वारा कर्तव्य ज्यान मुद्दाको अभियोग दर्ता गरी अदालतसमक्ष विचाराधीन अवस्थामा रहेको स–प्रमाण देखिन्छ । भारत लखनउ स्थित घटेको घटनाको सम्बन्धमा नेपाल राज्यभित्र International jurisdiction सृजना गरी कानूनतः मुद्दा दायर गर्न फौजदारी न्यायको सर्वमान्य सिद्धान्त दोहोरो खतराको सिद्धान्तबमोजिम मिल्दैन । मलाई लखनउमा भएको वारदात सोही ठाउँमा नेपाल सरकारभन्दा अगावै जाहेरी दर्ता गरी मुद्दा चलाइएको अवस्था छ । सोही वारदातको कसुरमा नेपाल सरकारको तर्फबाट दोस्रो कारबाही चलाइएको अवस्था वादी पक्षले नै पेस गरेको प्रमाणबाट देखिएकोले फौजदारी न्यायको सिद्धान्त दुई खतराको सिद्धान्तप्रतिकूल रहेको हुँदा दाबी खारेज गर्नुपर्नेमा कसुर ठहर गरेको सुरू फैसला गम्भीर कानूनी त्रुटिपूर्ण छ । वादी पक्षले लिएको दोस्रो अभियोग दाबी मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक भएको ठहर निष्कर्षमा पुगेको सुरू फैसला न्यायोचित छैन । भारत सरकारसमक्ष दायर भएको जाहेरी सूचना र हालसालै प्राप्त भएको प्र. पत्र २ मा दण्ड प्रक्रिया संहिताको (IPC) धारा ३०२ को कसुर अर्थात् कर्तव्य ज्यान भएको देखिन्छ । भारतीय दण्ड प्रक्रिया संहिताको धारा ३६२ को कसुर अर्थात् अपहरण मुद्दा भएको भनी जाहेरी दर्ता भएको
देखिँदैन । जाहेरवालाले मिति २०६७/५/७ गते दर्ता गराएको निवेदनमा गरगहना नगद रूपैयाँ लिई बेपत्ता भएकी मेरी श्रीमतीको खोजतलास गरिपाउँ भन्ने निवेदन देखिन्छ । ऐ.८ गते प्रतिवादी सोनु हलवाईले लखनउदेखि नेपालगञ्ज कपडा ल्याई बिक्री गरौं बराबर लगानी गरौँ दोब्बर नाफा आउँछ भनी उक्साउने गरेको भन्ने कुरा बुझिन आएको भन्ने उल्लेख
छ । जाहेरवालालाई आफ्नो श्रीमतीले कुनै जानकारी दिएको भन्ने जाहेरीमा उल्लेख नभई बुझिन आएको उल्लेख छ । सो तथ्य कुन कसबाट बुझिन आएको हो । उक्त बुझिएको स्रोत जाहेरवालाले खुलाउन सकेको पाइँदैन । जाहेरवालाले नमालुमको मानिसले हो फिरौती रकमबापत रू.५ लाख चाहियो भनी फोन गरेको भनी जाहेरी दिएका छन् । यस्तो जाहेरीबाट मैले निर्मला श्रेष्ठलाई अपहरण गरेको स्थापित हुँदैन । निजले आफू अपहरण परेको भन्ने विषयमा कोही कसैसँग संवाद भएको देखिँदैन । नेपाल सरहदमा फकाएको, छलकपटमा पारेको, झुक्यानमा पारेको, नशालु पदार्थ सेवन गराएको डर, त्रास देखाई नेपाल सीमाबाहिर लगी बन्धक बनाएको भन्ने मौकामा कागज गर्ने कोही कसैले खुलाउन सकेको देखिँदैन । व्यक्तिहरूलाई बन्धक बनाउनेसम्बन्धी अपराध (The Crime Of Hostage taking) रोकथाम विषयक सन् १९७९ को संयुक्त राष्ट्र संघीय सन्धिको धारा १–१० सम्म गरिएको व्यवस्थालाई हेर्दा निर्मला श्रेष्ठको Hostage भारतमा भएको भए सोही देशको कानून IPC को धारा ३६२ बमोजिम अपहरण तथा शरीर बन्धकमा मुद्दा चल्न सक्ने देखिन्छ । तर सोबमोजिम मुद्दा चलेको
देखिँदैन । वादी पक्षबाट निर्मला श्रेष्ठको हत्या भएको हो भन्ने विषयमा कुनै वस्तुनिष्ठ ठोस सबुत प्रमाण पेस नगरेको अवस्थामा अदालत स्वयम् मृत्यु भएको निष्कर्षमा पुगेको छ । जुन न्यायोचित छैन । अनुसन्धानको बयान जबरजस्ती यातना दिई गराइएको हो । वादी पक्षबाट पेस गरिएका प्रमाणहरू स्वतन्त्र विवादरहित प्रमाणयोग्य छैनन् । वादी पक्षले आफ्नो प्रमाणबाट प्रस्तुत अभियोग पुष्टि गर्न सकेको अवस्था देखिँदैन । तसर्थ सुरू फैसला बदर गरी पूर्ण सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सोनु हलवाईको पुनरावेदन पत्र ।
प्रत्यर्थी प्रतिवादीहरूले षड्यन्त्र गरी मृतक निर्मला श्रेष्ठलाई भारतको लखनउबाट कपडा खरिद गरी ल्याई नेपालगञ्जमा बिक्री गर्दा बढी फाइदा हुन्छ भन्नेसमेतको प्रलोभन देखाई मिति २०६७/५/३ गते नेपालगञ्जबाट अपहरण गरी लखनउ स्थित तुलसी होटलमा लगी मिति २०६७/५/६ गते राति कर्तव्य गरी मारी निजको साथमा रहेको नगद र गरगहना लानुका साथै ऐ.७ गते बहराइचबाट प्रतिवादी रफिक बेहनाले मृतकको पति जाहेरवालालाई फोन गरी फिरौती रू.५ लाख माग गरेको विवरणलाई किटानी जाहेरी, जाहेरवालाको कागज, प्रतिवादी सोनु हलुवाईको मौकाको साबिती बयान तथा सहअभियुक्तउपरको पोल, प्रतिवादीहरू रफिक बेहना, अक्रम हलुवाईको फरारी अवस्था, घटना विवरणमा कागज गर्ने नरेन्द्रकुमार सिंहसमेतको किटानी बकपत्रसमेतले फरारी प्रतिवादीहरूको हकमा कसुरको पुष्टि गरिरहेको अवस्था छ । अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलअन्तर्गतको कसुरमा मुलतबी रहने कानूनी व्यवस्थाको अभावमा सोतर्फको अभियोग मागदाबीतर्फ ठहर फैसला गरी सोबमोजिम सजाय गर्नुपर्ने र ज्यानसम्बन्धी कसुरमा निजहरूको हकमा अदालती बन्दोबस्तको १९० नं.बमोजिम मुलतबी राखिनु पर्नेमा अपहरणतर्फको विषयमा ठहर इन्साफ नबोलेको विषयमा अदालती बन्दोबस्तको१९२ नं. ले त्रुटिपूर्ण रहेको छ । त्यस्तै अपहरण तथा शरीर बन्धक लिनेको ९ नं.को थप सजायको माग दाबी रहेको र अपहरण गरिएकी व्यक्ति महिला भएकोले थप सजाय गर्नुपर्नेमा सोतर्फ मौन रही भएको फैसला अदालती बन्दोबस्तको१९२ नं.ले त्रुटिपूर्ण रहेको छ । मृतकसँग रहेको नगद तथा धनमाल लिने खानेसमेतको उद्देश्यबाट नै प्रस्तुत अपराध गरेको भनी प्रतिवादी मौकामा साबित भएकोमा पनि उक्त नगद तथा गरगहना जबरजस्ती चोरी गरेको तर्फसमेत अभियोग माग दाबीबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी भएको फैसला त्रुटिपूर्ण रहेको छ । प्रतिवादीमध्येको अनमोल अग्रवालको मोबाइल नं.९८४८०७३४२७ बाट मृतक निर्मला श्रेष्ठको मोबाइलमा लामो समयसम्म फोन आउने गरेको निर्मलालाई यी प्रतिवादी अनमोलसमेतले भारततर्फ लगेको भन्ने जाहेरी र बकपत्रसमेतको विद्यमानता, वारदातको समयमा निज प्रतिवादी नेपालमा नभएको अवस्था, घटना विवरणमा कागज गर्ने राजेन्द्र कौशलसमेतले मृतकलाई यी प्रतिवादीसमेतले विभिन्न प्रलोभन देखाई झुक्याई अपहरण गरी लगेको सुनी थाहा पाएका हौं भन्ने बेहोराको कागज गरी दिएकोसमेत आधार प्रमाणहरू एवं नरेन्द्रकुमार सिंह क्षेत्रीसमेतको किटानी बकपत्रसमेतले अनमोल अग्रवालको मिलेमतो रहेको देखिँदादेखिँदै निजलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ । अतः उल्लिखित आधार, प्रमाण र कारणसमेतबाट प्रतिवादीहरू रफिक बेहना, अक्रम हलुवाईलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलअन्तर्गत ठहर फैसला नबोलिएको प्रतिवादी सोनु हलुवाईलाई थप सजायतर्फ नबोलिएको जबरजस्ती चोरीतर्फ सफाइ दिएको, प्रतिवादी अनमोल अग्रवाललाई पूरै सफाइ दिएको सुरू अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले बदर गरी सबै विषयमा बोल्न लगाई प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी रफिक र बिक्रम हलुवाई फरार भए पनि अपहरण तथा शरीर बन्धकतर्फ मुल्तबी राख्न नमिली ठहरे माफिक निर्णय गर्नुपर्नेमा पूरै अभियोगमा मुल्तबीमा राखेको नमिलेको, त्यस्तै प्रतिवादी अनोमल अग्रवाल पनि कसुरमा संलग्न भएको भन्ने स्थितिमा सफाइ दिएको नमिलेकोले निजहरूका हकमा अदालती बन्दोबस्तको २०२ नं.बमोजिम झिकाई तथा नेपाल सरकार तथा प्रतिवादी सोनुको दोहोरो पुनरावेदन देखिँदा एक आपसमा पुनरावेदनको प्रतिलिपिसहित पुनरावेदन परेको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत नेपालगञ्जबाट भएको आदेश ।
यसमा अपहरण तथा तथा शरीर बन्धक मुद्दा मुलतबीमा राखेकोसमेत सम्बोधन हुने गरी सो सम्बन्धमा कुनै नजिर भए सोसमेत संलग्न राखी १०(दश) दिनभित्र दुवै पक्षबाट लिखित बहसनोट लिई पेस गर्नु भन्ने पुनरावेदन अदालत नेपालगञ्जबाट भएको आदेश र सोअनुसार दुवै पक्षबाट पेस गरेको बहसनोट मिसिल संलग्न रहेको ।
आफूसँग चिनजान सम्बन्ध भई पार्टनरसिपमा व्यापार गर्न आग्रह गर्दा पतिलाई छाडी धन सम्पत्ति लिई आफैँसँग बस्ने भनी प्रस्ताव राखेपश्चात् निजसँगको सम्पत्ति प्राप्त गर्ने र भारत लगेर निजलाई मारी छुट्कारा पाउनेसमेतको उद्देश्यले अन्य साथीको मद्दत लिई छलकपट गरी झुक्याई भारतमा लगी मारी निजसँग भएको धनसम्पत्ति प्राप्त गरेको भन्ने प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयानबाट खुलेको मृतकसँग प्रतिवादीको चिनजान रहेको आपसमा सम्बन्ध रहेको बेहोरा अदालतमा बकपत्र गर्ने साक्षीहरूले खुलाएकोसमेतका अवस्थाबाट प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानलाई अन्यथा मान्न नमिल्ने अवस्था भएबाट समेत प्रतिवादीलाई अपहरण तथा शरीर बन्धक लिनेअन्तर्गतको कसुरमा र ज्यानसम्बन्धी कसुरमा सजाय गरेको फैसला अन्यथा भन्न मिलेन । प्रतिवादी अनमोलको फोनबाट फोन आउने गरेको भन्ने जाहेरवालासमेतको कथनसम्मको आधारमा निजले कसुर गरेको मान्न नमिल्ने हुँदा निजलाई सफाइ दिने गरी गरेको र अपहरणको जरियाबाट ज्यान मर्न गएको घटनामा दुईवटा कसुरको अभियोग दाबी भएको अवस्थामा ज्यान मुद्दामा असर पर्ने गरी अपहरणतर्फ फैसला गर्ने ज्यान भने मुल्तबीमा राख्नु पर्ने भन्ने पुनरावेदन जिकिरसँग पनि सहमत हुन सकिएन । महिला अपहरण गरेतर्फ अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ९ नं.ले थप २ वर्ष सजाय गर्नुपर्ने नगरेको र ऐ.को १२ नं.ले कसुर भएको दिनदेखि निजको मृत्यु हुँदासम्मको दिनको रू.५००।– ले ४ दिनको रू.२,०००।– क्षतिपूर्ति भराउनु पर्नेमा भरिभराउ मितिसम्मको दिनको रू.५००।– भराउने गरेको सुरू बाँके जिल्ला अदालतको फैसला सो हदसम्म केही उल्टी भई प्रतिवादी सोनु हलवाईलाई २ वर्ष थप कैद हुने र जाहेरवालाले रू.२,०००।– क्षतिपूर्ति भरिपाउनेसमेत ठहर्छ । प्रतिवादीले सफाइ पाउँ भनी लिएको पुनरावेदन जिकिर र प्रतिवादी अनमोलसमेतले सजाय पाउनु पर्ने भन्नेसमेतको नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०७०/११/१२ मा भएको फैसला ।
मुलुकी ऐन, अदालती बन्दोबस्तको २९ नं.तथा न्याय प्रशासन ऐन, २०४८ को दफा ७(१) का कानूनी व्यवस्थाबमोजिम वारदात, कसुर घटित भएको स्थान अपराध भएको इलाका वा आफ्नो क्षेत्रभित्र रहेको अभियोग दाबीबमोजिम पुष्टि हुँदैन । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३(३) नं.र चोरीको महलको १, ४, १०, १४ नं.को अभियोग दाबी भारत लखनउ स्थित तुलसी होटलको रूम नं. ५६ लाई वारदातस्थल कायम गरिएको हुँदा प्रस्तुत अभियोग माग दाबीबमोजिम दायर गरिएको अभियोगपत्र सम्मानित अदालतमा दर्ता भई मुद्दाको सुनुवाइ हुनसक्ने क्षेत्राधिकार नै स्थापित नहुँदा वादी दाबीभित्र प्रवेश गरी इन्साफ गर्न नमिल्नेमा अभियोग दाबीभित्र प्रवेश गरी मलाई सजाय गर्ने गरेको फैसला प्रत्यक्ष कानूनी त्रुटिपूर्ण छ । भारत सरकारद्वारा कर्तव्य ज्यान मुद्दाको अभियोग दर्ता गरी अदालतसमक्ष विचाराधीन अवस्थामा रहेको स–प्रमाण देखिन्छ । भारत लखनउ स्थित घटेको घटनाको सम्बन्धमा नेपाल राज्यभित्र International jurisdiction सृजना गरी कानूनतः मुद्दा दायर गर्न फौजदारी न्यायको सर्वमान्य सिद्धान्त, दुई खतराको सिद्धान्तबमोजिम मिल्दैन । लखनउमा भएको वारदात सोही ठाउँमा नेपाल सरकारभन्दा अगावै जाहेरी दर्ता गरी मुद्दा चलाइएको अवस्था छ । सोही वारदातको कसुरमा नेपाल सरकारको तर्फबाट दोस्रो कारबाही चलाइएको अवस्था वादी पक्षले नै पेस गरेको प्रमाणबाट देखिएकोले फौजदारी न्यायको सिद्धान्त दुई खतराको सिद्धान्तप्रतिकूल रहेको हुँदा दाबी खारेज गर्नुपर्नेमा कसुर ठहर गरेको सुरू फैसलामा केही उल्टी गरी सजाय थप गर्ने गरी गरेको फैसलामा गम्भीर कानूनी त्रुटिपूर्ण छ । जाहेरवालाले मिति २०६७/५/७ गते दर्ता गराएको निवेदनमा गरगहना नगद रूपैयाँ लिई बेपत्ता भएकी मेरी श्रीमतीको खोज तलास गरिपाउँ भन्ने निवेदन देखिन्छ । जाहेरवालाले नमालुमको मानिसले हो फिरौती रकमबापत रू. ५ लाख चाहियो भनी फोन गरेको भनी जाहेरी दिएका छन् । यस्तो जाहेरीबाट मैले निर्मला श्रेष्ठलाई अपहरण गरेको स्थापित हुँदैन । निजले आफू अपहरण परेको भन्ने विषयमा कोही कसैसँग संवाद भएको देखिँदैन । नेपाल सरहदमा फकाएको, छलकपटमा पारेको, झुक्यानमा पारेको, नशालु पदार्थ सेवन गराएको डर, त्रास देखाई नेपाल सीमा बाहिर लगी बन्धक बनाएको भन्ने मौकामा कागज गर्ने कोही कसैले खुलाउन सकेको देखिँदैन । व्यक्तिहरूलाई बन्धक बनाउनेसम्बन्धी अपराध (The Crime Of Hostage taking) रोकथाम विषयक सन् १९७९ को संयुक्त राष्ट्र संघीय सन्धिको धारा १–१० सम्म गरिएको व्यवस्थालाई हेर्दा निर्मला श्रेष्ठको Hostage भारतमा भएको भए सोही देशको कानून IPC को धारा ३६२ बमोजिम अपहरण तथा शरीर बन्धकमा मुद्दा चल्न सक्ने देखिन्छ । तर सोबमोजिम मुद्दा चलेको देखिँदैन । वादी पक्षबाट निर्मला श्रेष्ठको हत्या भएको हो भन्ने विषयमा कुनै वस्तुनिष्ठ ठोस सबुत प्रमाण पेस नगरेको अवस्थामा अदालत स्वयम् मृत्यु भएको निष्कर्षमा पुगेको छ । जुन न्यायोचित छैन । तसर्थ सुरू जिल्ला अदालतबाट फैसला केही उल्टी गरी सजाय थप गरी पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला बदर गरी पूर्ण सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सोनु हलवाईको पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दामा प्रतिवादीहरूले षड्यन्त्र गरी मृतक निर्मला श्रेष्ठलाई भारतको लखनउबाट कपडा खरिद गरी ल्याई नेपालगञ्जमा बिक्री गरौं, बढी फाइदा हुन्छ समेतको प्रलोभन देखाई मिति २०६७।५।३ गते नेपालगञ्जबाट अपहरण गरी भारतको लखनउ स्थित तुलसी होटलमा लगी मिति २०६७।५।६ गते राति कर्तव्य गरी मारी निजको हातमा रहेको नगद र गरगहना लिनुका साथै ऐ. ७ गते बहराइचबाट प्रतिवादी रफिक बेहनाले मृतकको पति जाहेरवालालाई फोन गरी फिरौती रू. ५,००,०००।– माग गरेको विवरणलाई किटानी जाहेरी, जाहेरवालाको कागज, प्रतिवादी सोनु हलुवाईको मौकाको साबिती बयान तथा प्रतिवादीहरू रफिक बेहना, अक्रम हलुवाईको फरारी अवस्था, घटना विवरण कागज गर्ने नरेन्द्रकुमार सिंह क्षेत्री, रामकृष्ण कुर्मी, सुभाष बानियाको किटानी बकपत्रसमेतले फरारी प्रतिवादी अक्रम हलुवाई, रफिक बेहनाको हकमा कसुरको पुष्टि गरिरहेको अवस्था छ । मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको अन्तर्गतको कसुरमा मुलतबी रहने कानूनी व्यवस्थाको अभावमा सोतर्फको अभियोग मागदाबीतर्फ ठहर फैसला गरी ज्यानसम्बन्धी र चोरीको कसुरमा निजहरूको हकमा मुलुकी ऐन, अ.बं. १९० नं. बमोजिम मुल्तबी राखिनु पर्नेमा माथि उल्लिखित अपहरणतर्फको विषयमा ठहर इन्साफ नबोलेको फैसला त्रुटिपूर्ण रहेको हुँदा बदरभागी छ ।
कसुर ठहर भएको प्रतिवादी सोनु हलुवाईले मृतकले साथमा लगेको नगद तथा सुनको गरगहना बिगो रू. २,०२,०००।– बराबरको धनमाल चोरी गरी लगेको भनी हुलिया निवेदन तथा जाहेरी परेको छ । जाहेरवालाको बकपत्रसमेतबाट जाहेरीको कथन पुष्टि भएको पाइन्छ । उक्त नगद र गरगहनाहरू मृतकसँग रहन सक्ने स्वभाविक अवस्था विद्यमान रहेको र नगद तथा उक्त धनमाल लिने खानेसमेतको उद्देश्यबाट नै प्रस्तुत अपराध गरेको भनी प्रतिवादी मौकामा साबित भएकोमा पनि उक्त नगद तथा गरगहना जबरजस्ती चोरी गरेकोतर्फ समेत अभियोग माग दाबीबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी चोरी बिगो मागदाबी पुग्न नसक्ने भनी गरिएको फैसला त्रुटिपूर्ण छ ।
प्रतिवादीमध्येको अनमोल अग्रवाललाई सफाइ दिइएको सम्बन्धमा लिइएको निर्णयाधारहरूलाई हेर्दा निजको मोबाइल नं. ९८४८-०७३४२७ बाट जाहेरवालाको श्रीमती मृतक निर्मला श्रेष्ठको मोबाइलमा लामो समयसम्म फोन आउने गरेको, पीडित निर्मलालाई यी प्रतिवादी अनमोल अग्रवालसमेतले भारततर्फ लगेको भन्ने बुझिएको भनी दिइएको जाहेरी र बकपत्रसमेतको विद्यमानता, उक्त वारदातको समयमा निज प्रतिवादीसमेत नेपालमा नभएको अवस्था र घटना विवरण कागज गर्ने राजेन्द्र कौशल, संजय बाल्मीकीसमेतले मृतक निर्मला श्रेष्ठलाई सोनु हलुवाई, अक्रम हलुवाई,रफिक बेहना र अनमोल अग्रवालले विभिन्न प्रलोभन देखाई झुक्याई मिति २०६७।५।३ गते बिहान घरबाट अपहरण गरी लगेको सुनी थाहा पाएको हौं भन्ने बेहोराको कागज गरी दिएकोसमेतका आधार प्रमाणहरू एवं नरेन्द्रकुमार सिंह, रामकृष्ण कुर्मी, सुभाष बानियाँको किटानी बकपत्रसमेतले जाहेरीमा उल्लेख भएअनुसार अनमोल अग्रवालको मिलमतो रहेको देखिँदादेखिँदै सफाइ दिएको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । अतः उल्लिखित आधार कारण एवं प्रमाणहरूबाट प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गर्नुपर्नेमा सोको विपरीत हुने गरी भएको पुनरावेदन अदालत, नेपालगञ्ज उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउन सम्मानित अदालतसमक्ष सादर अनुरोध छ भन्ने वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन
पत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी सोनु हलुवाईको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री श्याम लालले मृतक निर्मला श्रेष्ठको मृत्यु नेपाल सरहदभित्र नभई भारतीय भूमिमा भएबाट अदालती बन्दोबस्तको२९ नं.को कानूनी व्यवस्थाप्रतिकूल नेपालको क्षेत्राधिकार ग्रहण गर्न मिल्दैन । सोनु हलवाईको र मृतकबीचको उमेर अवस्थाबाट मृतकलाई फकाएको भन्ने कुरा मनासिब हुन आउँदैन । रू.५ लाख फिरौती मागेको भनी जाहेरीमा उल्लेख गरे पनि कसले माग गरेको हो स्पष्ट छैन । वादीका साक्षीले शंकासम्म व्यक्त गरेका छन् । शंकाको सुविधा प्रतिवादीले पाउँछन् । प्रतिवादीउपर लगाइएको आरोपित कसुर वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुनसक्ने प्रमाणको अभावमा पुनरावेदन अदालतबाट कसुरदार ठहर गरी भएको फैसला बदर उल्टी गरी प्रतिवादीले सफाइ पाउनु पर्छ भनी गर्नुभएको बहस सुनियो ।
वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री यामबहादुर बानियाले प्रतिवादीहरूले अपराधबाट उन्मुक्ति लिने गलत मनसायले विदेशी भूमिमा हत्या गरिएको छ । अपहरण गर्ने र अन्ततः कर्तव्य गरी मार्ने गरी दुईवटा कसुर भएको छ । वारदातको उठान नेपाल सरहदभित्रबाट भएकोले जे जुन ठाउँमा पुर्याई कर्तव्य गरी मारे पनि प्रतिवादीहरूले उन्मुक्ति पाउने अवस्था रहँदैन । मुलुकी ऐन, अदालती बन्दोबस्तको२९ नं.तथा अपहरण तथा शरीर बन्धक लिनेको महलको ११ नं. ले क्षेत्राधिकार ग्रहण गरी भएको फैसला सो हदसम्म सदर हुनुपर्दछ । प्रतिवादी रफिक बेहना र अक्रम हलुवाईलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलअन्तर्गत ठहर फैसला नबोली मुल्तबी राखेको मिलेको छैन । प्रतिवादी सोनु हलुवाईलाई जबरजस्ती चोरीतर्फ सफाइ दिएको र प्रतिवादी अनमोल अग्रवाललाई अभियोग दाबीबाट पूरै सफाइ दिएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
प्रतिवादी अनमोल अग्रवालका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’ ले अनमोलको फोनबाट सम्पर्क भएको भन्ने जाहेरी भए पनि सोको पुष्टि हुने आधार अभियोजन पक्षबाट पेस भएको छैन । सोनु र अनमोलका बीच सम्बन्ध रहे भएको देखिँदैन । यी प्रतिवादीले मिति २०६६/८/२६ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा आफ्नो मोबाइल हराएको सूचना दिएको देखिँदादेखिँदै निजको हराएको मोबाइलबाट फोन आएकै भरमा कसुरदार ठहर गर्न मिल्दैन । जाहेरीलाई पुष्टि हुने अन्य स्वतन्त्र प्रमाण नहुँदा सुरू अदालतबाट भएको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत नेपालगञ्जको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तबमोजिम पुनरावेदक वादी तथा प्रतिवादीतर्फका विद्वान् अधिवक्ताहरूले गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, नेपालगञ्जको फैसला मिलेको छ, छैन? पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादी सोनु हलुवाईको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन? सोही विषयमा केन्द्रित रही निर्णय दिनुपर्ने देखिन
आयो ।
२. यसमा प्रतिवादीहरू सोनु हलुवाई, अक्रम हलुवाई, रफिक बेहना र अनमोल अग्रवालले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. बमोजिमको कसुर गरेको हुँदा निजहरूलाई सोही महलको ३ नं., ७ नं. र ९ नं. बमोजिम सजाय गरी सोही महलको १२ नं. बमोजिम प्रतिवादीहरूबाट क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ र निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीतको कसुरमा सोही महलको १३(३) नं. तथा चोरीको महलको १४(२) नं. बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादीहरू अक्रम हलुवाई र रफिक बेहनाको हकमा मुल्तबी राख्ने र प्रतिवादी सोनु हलवाईलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ र ७ नं. बमोजिम ९ वर्ष कैद तथा ५०,०००।– जरिवाना गरी प्रतिदिन रू. ५००।- को दरले वारदात मितिदेखि भरिभराउ मितिसम्म क्षतिपूर्तिसमेत भराइदिने र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम जन्मकैद हुने एवम् प्रतिवादी अनमोल अग्रवालले सफाइ पाउने ठहर्याई बाँके जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी प्रतिवादी सोनु हलुवाईलाई थप २ वर्ष कैद र दिन ४ को रू.५००।– का दरले रू.२,०००।– भराई दिने गरी भएको पुनरावेदन अदालत, नेपालगञ्जको फैसलाउपर प्रतिवादी सोनु हलवाई र वादी नेपाल सरकारको पुनरावेदन परी पेस हुन आएको देखिन्छ ।
३. प्रतिवादीहरूमध्ये अक्रम हलुवाई र रफिक बेहनाले सुरू म्याद गुजारी बसेको देखिँदा निजहरूको हकमा अ.बं. १९० नं. बमोजिम मुद्दा मुल्तबीमा राख्ने गरी सुरू अदालतबाट आदेश भएको, यी प्रतिवादीहरू उपर विभिन्न तीनवटा ऐनअन्तर्गत दाबी लिइए पनि अपराधको स्वरूप हेर्दा एउटै कार्यकलाप (Single transaction) को शृङ्खलाको रूपमा वारदात घटेको, सोमध्ये गम्भीर अपराध ज्यानसम्बन्धी महलअन्तर्गतको रहेको देखियो । यसरी ज्यानतर्फको आरोप मुल्तबीमा रहने भएपछि अन्य आरोपमा खण्डे फैसला गर्न कानूनी र व्यावहारिक रूपमा समेत कठिन हुने भएकोले निजहरूको हकमा कानूनबमोजिम मुद्दा मुल्तबीबाट जगाई कारबाही हुने नै हुँदा प्रस्तुत पुनरावेदनको रोहबाट निजहरूको हकमा केही बोलिरहनु परेन ।
४. अब पुनरावेदक प्रतिवादीमध्येको सोनु हलुवाईको हकमा हेर्दा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. र अपहरण तथा शरीर बन्धक लिनेको महलको १, ३, ७, ९ र १२ नं. बमोजिम समेत सजाय माग भएको देखिन्छ । सुरू फैसलाउपरको पुनरावेदनमा र यस अदालतमा पुनरावेदन गर्दासमेत पुनरावेदकले आफ्नो निर्दोषिताको अतिरिक्त भारतमा मृत्यु भएको व्यक्तिको विषयमा नेपालमा मुद्दा चल्न नसक्ने भन्ने जिकिर लिएको पाइयो । पुनरावेदकको यो बेहोराबाट मृतक निर्मला श्रेष्ठको भारतमा मृत्यु भएको भन्ने कुरामा निजले शंका देखाएको पाइँदैन । मिसिल संलग्न भारतमा गरिएको पोस्टमार्टमलगायतका मुचुल्का, संलग्न सि.डी. एवं पत्रपत्रिकाको कटिङ्गबाट लखनउको अमीनाबाद स्थित तुलसी होटलको कोठा नं. ५६ मा मिति २०६७।५।४ गते राति निर्मला श्रेष्ठको हत्या भएको पुष्टि हुन आएको छ । मृतकलाई मिति २०६७।५।३ गते षड्यन्त्रपूर्ण ढंगबाट छलकपट, झुक्यानमा पारी नेपालगञ्ज स्थित निजको घरबाट व्यापार गर्ने बहानामा नेपालको सीमा कटाई भारतको रूपैहडिया हुँदै लखनउ लगी हत्या गरेबाट अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. को कसुर नेपालमा नै भएको र सोही महलको ११ नं. ले नेपालबाहिर लैजाने कार्य गरेमा नेपालभित्रै कसुर गरेसरह मानी सजाय गर्न मिल्नेसमेत देखिन्छ । यहाँ प्रतिवादीबाट अपहरण गर्ने सम्पत्ति लिने, खाने, मास्ने र हत्या गर्नेसमेतका जुन कसुर हुन भएको भनी अभियोग पत्र पेस भएको छ सो एउटै कारोबार (Single transaction) को शृङ्खला हुँदा यहाँ भारतमा लास फेला परेको भन्ने मात्र कारणले नेपालमा मुद्दा नचल्ने भन्न मिल्ने देखिँदैन । त्यसो भन्ने हो भने कसैलाई नेपालमा नै अपहरण गरी हत्या गरेमा मुद्दा चल्न सक्ने तर विदेश लगी हत्या गरेमा मुद्दा नचल्ने एउटा विसङ्गतिपूर्ण निर्णय निष्कर्षमा हामी पुग्छौं, जुन कानून, न्याय र न्यायका मान्यता प्राप्त सिद्धान्तसमेत अनुकूल हुन देखिँदैन ।
५. अब यी प्रतिवादी सोनु हलुवाईलाई अपहरण र हत्याको अभियोगमा सजाय गरेको सुरू र पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन भनी हेर्दा, सुरू अदालतसमक्ष बयान गर्दा यी प्रतिवादीले आफूउपरको अभियोगमा इन्कार रही बयान दिएको पाइन्छ । तर अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा निजले देहायको बयान पाइन्छ ।
६. “मिति २०६७।५।३ मा भारततर्फ जाने सल्लाहअनुसार अक्रम हलुवाई र रफिक बहानासमेतलाई आफू तथा निर्मला श्रेष्ठ लखनउ जाँदैछौं पैसा आउँछ, जाउँ निजले मलाई नछाड्नी भई होटलतिर मारी भागी आउँला पैसा बाँडौंला भनी सल्लाह गरी उक्त मितिमा निर्मला श्रेष्ठसहित रूपैडिया गयौं त्यहाँबाट गाडीमा बसी भारतको लखनउ पुगी लखनउ स्थित अमीनाबाद स्थित तुलसी होटलमा कोठा लिई एउटा कोठामा निर्मला श्रेष्ठ र म बस्यौं अर्को कोठामा अक्रम हलुवाई र रफिक बेहाना बसी सोही मिति २०६७।५।४ गते योजनाबमोजिम राति सुत्दा ढोका खुला राखी अर्को कोठाबाट अक्रम र रफिक आई निज निर्मला सुतेकीले मैले घाँटीमा दोपट्टा कसेँ र अक्रम र रफिकले खुट्टा समाती निजको घाँटी कसी मारेपछि राति कोठामा नै बसी बिहानै तीन जना होटलबाट निस्की बहराईच आई ७ गतेसम्म त्यहीँ बसी रफिकले अन्जन श्रेष्ठलाई फोन गरी रू. ५ लाख दे नत्र तेरो श्रीमती मारिदिन्छौं भनी धम्की दिएका हुन्” भन्नेसमेत बयान दिएको पाइन्छ ।
७. यी प्रतिवादीको उपर्युक्त बयानको अतिरिक्त निज मृतक निर्मला श्रेष्ठसँग सम्पर्कमा रहेको, निजको घरमा आउजाउ गर्ने गरेको, कपडाको व्यापार गरौं भनी फकाउने कार्य गरेको भन्ने मिसिलबाट देखिन्छ । अनुसन्धानमा कागज गरी अदालतमा बकपत्र गर्ने रामकृष्ण कुर्मीले सोनु हलवाईसमेत मृतकको घरमा आउजाउ गर्ने गरेको, सो क्रममा मिति २०६७।५।२ गते बेलुकी सोनु हलुवाई र अक्रम हलुवाई आएको देखेको, साथै मृतक निर्मलाले व्यापार गर्ने कि नगर्ने भनी आफूलाई सोधेको भनेका छन् । यस्तै बकपत्र सुभाष बानियाको समेत छ । सोनुसमेतले कपडाको व्यापार गरौं भनी भनेको कुरा निर्मलाले आफूलाई भनेका र आफूले के कसो हो त्यसै व्यापार गर्नु हुँदैन भनी निर्मलालाई भनेको भन्ने पनि निजले अदालतमा बकपत्र गरेको देखिन्छ । वारदातको दिन भदौ ३ गतेबाट ऐ. ८ गतेसम्म निज प्रतिवादी सोनु हलुवाईसमेत निजको पसलबाट गायब रहेको भन्ने सुभाष बानियाको भनाई रहेको छ । मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरूको समग्रमा मूल्याङ्कन गर्दा र यी प्रतिवादी सोनु हलुवाईको मिसिल संलग्न सि.डी.मा संग्रहित निजको बयानको अंश हेर्दा निज निर्दोष रहेछन भन्ने अवस्था देखिएन ।
८. जबरजस्ती चोरीतर्फ समेत सजाय हुनुपर्ने भन्ने नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ र प्रतिवादी अनमोल अग्रवाललाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा चोरीतर्फ अभियोग दाबी स्थापित गर्ने कुनै प्रमाण मिसिलमा रहे भएको पाइँदैन । तसर्थ सोतर्फ अभियोग दाबी पुग्न सक्दैन । अनमोलको फोनबाट सम्पर्क भएको भन्ने जाहेरी भए पनि सोको पुष्टि हुने आधार अभियोजन पक्षबाट पेस भएको देखिँदैन । सहप्रतिवादी सोनु हलुवाईले निजलाई पोलसम्म पनि गरेको
देखिँदैन । निजको अदालतसमक्षको बयानमा कसुरमा ईन्कार रही बयान गरेको देखिन्छ । यी प्रतिवादी अनमोल अग्रवालले वारदातपूर्व नै मिति २०६६/८/२६ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा आफ्नो मोबाइल हराएको सूचना दिएको देखिन्छ । निजको हराएको मोबाइलबाट फोन आएको भनेको भरमा कसुरदार ठहर गर्न मिल्ने देखिएन । अतः निज प्रतिवादी अनमोल अग्रवाललाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू बाँके जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत नेपालगञ्जको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । निजको हकमा वादी नेपाल सरकारको पुनरावेदन पुग्न सक्दैन ।
९. अतः माथि विवेचित तथ्य आधार र कारणसमेतबाट यी प्रतिवादी सोनु हलुवाईले मृतक निर्मला श्रेष्ठलाई अपहरण गरी हत्या गरेको देखिन आएको हुँदा, निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा १३(३) नं. बमोजिम जन्मकैद हुने र महिला अपहरण गरेतर्फ अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ९ नं. ले थप २ वर्ष सजाय गर्नुपर्ने नगरेको र सोही महलको १२ नं.ले कसुर भएको दिनदेखि निजको मृत्यु हुँदासम्मको दिनको रू. ५००।– ले ४ दिनको रू. २,०००।– क्षतिपूर्ति भराउनु पर्नेमा भरिभराउ मितिसम्मको दिनको रू. ५००।– भराउने गरेको सुरू बाँके जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर्याई प्रतिवादी सोनु हलवाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदबापत २० वर्ष कैद तथा मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं. कसुरमा सोही ३ र ७ नं. बमोजिम ९ वर्ष कैद र ९ नं. ले २ वर्ष थप कैद हुने र जाहेरवालाले रू. २,०००।– क्षतिपूर्ति भरिपाउनेसमेत ठहर्याई पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०७०/११/१२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीले सफाइ पाउँ भनी लिएको पुनरावेदन जिकिर र प्रतिवादी अनमोलसमेतले सजाय पाउनु पर्ने र प्रतिवादीलाई जबरजस्ती चोरीमा समेत सजाय गरिपाउँ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत काटी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. केदारप्रसाद चालिसे
इजला अधिकृतः जगतबहादुर पौडेल
इति संवत् २०७४ साल असार २१ गते रोज ४ शुभम् ।