निर्णय नं. १००२९ - मोही दर्ता नामसारी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७५।३।१९
०७२-CI-१८९४
मुद्दाः मोही दर्ता नामसारी
पुनरावेदक / वादी : जिल्ला सप्तरी, पटेर्वा गाउँ विकास समिति, वडा नं. ७ बस्ने रामप्रसाद चौधरी
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला सप्तरी, पर्टेवा गाउँ विकास समिति, वडा नं. ६ बस्ने नथुनीप्रसाद यादव
मोहीको हक जग्गा कमाउने व्यक्तिले कानूनले तोकेको सर्तहरू पालन गरी पूरा गरेको अवस्थामा मात्र प्राप्त हुने हक हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ अनुसार मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, बाबु, धर्मपुत्र आदिमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने कानूनी व्यवस्था भएकोले वादीको पिताको मोही हक कायम भइसकेको अवस्थामा जग्गाधनीले पत्याएमा निजको नाममा नामसारी हुने हो । निजका बाबुले नै मोही हक दाबी गरी हक प्राप्त नगरेको मोही हक स्वर्गीय पिताको नाममा कायम गराई आफ्ना नाममा नामसारी गराइ पाउँ भनी भन्नलाई भूमिसम्बन्धी ऐन, २०२१ ले वादीलाई त्यस्तो हक प्रदान गरेको नदेखिने ।
वादीका बाबुले नै आफ्नो नाममा मोहियानी हक कायम नगराएको अवस्थामा बाबुको मृत्युपछि मृतक व्यक्तिलाई मोही कायम गरी वादीका नाउँमा नामसारी गरी मोही दर्ता गरी दिने अवस्था देखिन नआउने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सनद देवकोटा
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
स.अ.बुलेटिन २०६९, पूर्णाङ्क ४८२, साउन १६-३२
सम्बद्ध कानून :
भूमिसम्बन्धी ऐन, २०२१
सुरू तहमा निर्णय गर्ने :
भूमि सुधार अधिकारी श्री पुष्करकुमार थापा
भूमिसुधार कार्यालय, सप्तरी
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री मु. साबिक हुसैन
माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती
पुनरावेदन अदालत, राजविराज
फैसला
न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) बमोजिम वादीको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी उक्त निवेदनमा निस्सा प्रदान भएको र पुनरावेदन दायरीमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
साबिक जग्गाधनी गनपैत सिंह नाउँको नरसिंहदेखि दक्षिण पैन सो पश्चिम नरसिंह दास गडेरीदेखि पूर्व गणेशसिंहदेखि उत्तर चार किल्लाभित्रको ०-७-० जग्गाको मेरो स्व. पिता सवुरलाल चौधरीले १ नं. फारम भरी २ नं. अनुसूची प्रकाशित भई सो २ नं. अनुसूचीमाथि जग्गाधनीले नियम ७ बमोजिम उजुर नगरीको सर्भे नापी हुँदा गाउँ विकास समिति, पटेर्वा वडा नं. ७ (ख) को कि.नं. १३८ को ०-१०-११/४ कायम भएको उक्त २ नं. भित्रको नरघटी सो जग्गा जोत आवाद गरी कुतबाली बुझाई आइरहेकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) बमोजिम मोही दर्ता गरी सोही ऐनको दफा २६(१) बमोजिम मोही नामसारी गरी मोही प्रमाणपत्र पाउँ भन्ने मिति २०६६।११।१६ को फिरादपत्र रहेको र मुद्दा चल्दाचल्दैको अवस्थामा उल्लिखित कित्ता जग्गा यिनै विपक्षी नथुनीप्रसाद यादवको नाउँमा कायम हुन आएको हुँदा निजलाई बुझी कानूनबमोजिम कारबाही गरिपाउँ भनी वादीको मिति २०६७।६।११ को निवेदनपत्र ।
मेरो नाउँ दर्ताको जिल्ला सप्तरी, पटेर्वा गाउँ विकास समिति, वडा नं. ७(ख) को कि.नं. १३८ को ०-१०-१५१/२ जग्गा र.नं. ३००९ मिति २०६७।५।२३ मा खरिद गरी लिएको हुँ । दाबीको जग्गा साबिक जग्गाधनीहरूको आफ्नै श्रमले जोतखोत आवाद गर्दै आएको र मैले खरिद गरेको सालदेखि आफैँ जोत आवाद गर्दै आएको हुँ । विपक्षीलगायत निजको पितासमेतले कुनै सर्तमा जोत आवाद गरेको छैन होइन । वादीका स्व. पिता सवुरलाल चौधरीले भूमिसुधार लागू भएको बखत जग्गाधनी गणपैत सिंह देखाई भूमिसम्बन्धी ऐन, २०२१ को नियम ३, अन्तर्गत १ नं. लगत भर्नुपर्ने र नियम ६ बमोजिम २ नं. अनुसूची प्रकाशित गराउनु पर्ने र सोही नियम ७ अन्तर्गत जग्गाधनीको उजुरी नपरेको खण्डमा नियम ९ को उपनियम (२) बमोजिम ४ नं. जोताहा अस्थायी निस्सा पुर्जी लिई नियमित रूपमा जग्गाको कुत बुझाई सो प्रमाणहरूको आधारमा सर्भे नापीमा उपस्थित भई मोही दर्ता गराउनु पर्ने थियो । सो उल्लिखित प्रक्रियाहरू पूरा गरेको देखिँदैन साथै गणपैत सिंहका नाममा कुनै प्रमाण वादीका बाबुले नपाएको नरहेको कुरा वादीकै लेखबाट देखिन्छ । विपक्षीको पिता सवुरलाल चौधरीले जग्गाधनी गणपैत सिंहको छोरीका नाममा प्रकाशित अनुसूचीको आधारमा ०-२-०, ०-४-० जग्गाको छुट्टाछुट्टै अनुसूची प्रकाशित भएको देखिन्छ । गणपैत सिंहको छोरीको नाउँको प्रकाशित अनुसूचीको आधारमा गणपैत सिंहको जग्गामा भूमिसम्बन्धी नियम ३, ६, ९ अन्तर्गत दाबी गर्न मिल्दैन । अर्कोतर्फमा दुई छुट्टाछुट्टै कित्ताको चौहदी बेग्लाबेग्लै छ, मेरा जग्गाको चारकिल्लासँग भिड्दैन । साथै ४ र २ कट्टा जग्गा सर्भे नापीमा ०-१०-१५१/२ कायम हुन सक्तैन भन्नेसमेत बेहोराको प्रतिवादीको प्रतिउत्तर जिकिर रहेको देखिन्छ ।
वादी, दाबीको जग्गाको मोही हो भन्ने नमिल्ने हुँदा वादीको माग दाबी नपुग्ने ठहर्छ भन्ने भूमिसुधार कार्यालय सप्तरीको निर्णय ।
सुरू फैसलामा चित्त बुझेन साबिक नापीमा र हाल नापीमा जग्गाको क्षेत्रफल घटबढ हुनु स्वाभाविक हो । मेरो पिता स्व. सवुरलाल चौधरीले भरेको मोही १ नं. लगतमा उल्लेख भएको ०-७-० जग्गा गणपैत सिंहको नाउँमा दर्ता रहेको जग्गाको मोही लगत भरेको हो । सोही जग्गा जिल्ला सप्तरी, पटेर्वा गाउँ विकास समिति, वडा नं. ७(ख) कि.नं. १३८ को ०-१०-१५१/४ जग्गा हो । वादीको जग्गाको क्षेत्रफल करिब ०-३-१५१/४ जग्गाको फरक रहेको भनी सुरूबाट भएको फैसला उल्टी गरी श्री सर्वोच्च अदालतबाट प्रतिपादित नजिर (ने.का.प. २०६७, अंक ७, निर्णय नं. ३८०) बमोजिम सुरू फिराद दाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदन पत्र ।
यसमा मिसिल संलग्न वादीबाट पेस भएको अनुसूची २ र जग्गाधनीको कुत बुझेको भरपाईसमेतको समुचित मूल्याङ्कन नगरी भएको सुरू भूमिसुधार कार्यालय सप्तरीको निर्णय प्रमाणको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजबाट मिति २०७०।८।२७ मा भएको आदेश ।
प्रतिवादीको लिखत प्रतिवाद मिसिल सामेल रहेको ।
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ अनुसार मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलको पति पत्नी, छोरा, बाबु, धर्मपुत्र आदि मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने कानूनी व्यवस्था भएकोले वादीको पिताको मोही हक कायम भइसकेको अवस्थामा जग्गाधनीले पत्याएको निजको नाममा नामसारी हुनेसम्म हो । यी वादीका बाबुले नै दाबीको जग्गाको मोही हक कायम गराउन नसकेको स्थितिमा यी पुनरावेदक वादीका बाबुको नाममा दाबीको जग्गाको मोही दर्ता गरी यी वादीका नाममा नामसारी गर्न कानूनसङ्गत हुन नदेखिएकाले दाबीको कि.नं. १३८ को ०-१०-११/४ जग्गामा मोही कायम गरी यी वादीका नाममा नामसारी गरिपाउँ भन्ने वादीको फिराद दाबी पुग्न नसक्ने ठहर्याएको सुरू भूमिसुधार कार्यालय, सप्तरीको मिति २०६८।९।१७ को फैसला मिलकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१।५।२ मा भएको फैसला ।
मेरो पिता स्व. सवुरलाल चौधरी भनेको मोहीको लगतअनुसारको २ नं. अनुसूची प्रकाशित हुँदा गणपैत सिंहको नाउँमा दर्ता रहेको ०-७-० जग्गा भरिएको छ । हाल सर्भे नापीमा उक्त ०-७-० जग्गा जिल्ला सप्तरी, पटेर्वा गाउँ विकास समिति, वडा नं. ७(ख) को कि.नं. १३८ को ०-१०-११/४ जग्गा कायम भएको छ । साबिक र हाल नापीमा क्षेत्रफल सामान्य रूपमा घटबढ भई नै रहेको छ । तर क्षेत्रफल नरघटी नरबढी भएको आधारले मोही नै कायम गर्न मिल्दैन तर जग्गा नाप जाँच ऐन, २०१९ को दफा ७ जग्गा घटबढ भएमा (१) जग्गा नाप जाँच हुँदा साबिकको क्षेत्रफलभन्दा घटबढ भएमा (१) जग्गा नाप जाँच हुँदा साबिकको क्षेत्रफलभन्दा घटीबढी हुन आएमा सोहीबमोजिमको जग्गाको क्षेत्रफल कायम सम्बन्धित जग्गाधनीको नाउँमा कायम गरिनेछ भन्ने कानूनविपरीत भूमिसुधार कार्यालय, सप्तरीले क्षेत्रफल अनुसूची र दाबीमा जग्गाको क्षेत्रफल करिब ०-३-१५१/४ जग्गाको फरक रहेको भन्ने तथ्यहीन आधार टेकी मोही नठहर्याउने नामसारी नगर्ने गरेको भूमि सुधार कार्यालय सप्तरीले गरेको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसलामा गम्भीर त्रुटि छ ।
प्रत्यर्थी नथुनीप्रसाद यादवले दाबीको जग्गाको साबिक जग्गाधनी गणपैत सिंहको छोरा बैजनाथ सिंहबाट जग्गा खरिद गरेको छ । निज बैजनाथ सिंहले म मोहीलाई भरपाई दिई आएको
छ । सो प्रमाणबाट म निवेदकले मोहीमा जग्गा जोती आएको साबित भइरहेको अवस्थामा मेरो मोहियानी कायम नगरेको भूमिसुधार कार्यालय सप्तरीको फैसला तथा पुनरावेदन अदालत राजविराजको फैसला गम्भीर त्रुटि हुँदा उल्टी गरिपाउँ भन्ने रामप्रसाद चौधरीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
यसमा निवेदकका बाबु सवुरलाल चौधरीको नामबाट विवादित जग्गाको १ नं. फाँटवारी २ नं. लगत प्रमाणित भई ४ नं. को जोताहा अस्थायी निस्सा प्राप्त भएकोमा मोही नामसारी नहुने गरी भएको पुनरावदेन अदालत राजविराजको मिति २०७१।५।२ को फैसलामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) भूमिसम्बन्धी नियमहरू २०२१ को नियम ९(३) प्रमाण ऐन,२०३१ दफा ३ र ५४ मुलुकी ऐन, अ.बं. २८४क, १८५ नं. सर्वोच्च अदालत बुलेटिन २०७२ वर्ष २४, अंक ४ पूर्णाङ्क ५५० (सोनाई मण्डल वि. किशोर कुमार मण्डल) को मुद्दामा प्रतिपादित नजिरसमेतको त्रुटि भई न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतबाट मिति २०७३।२।३ मा भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता सनद देवकोटाले वादीका बाबु सुवरलाल चौधरी उक्त जग्गाको मोही भई १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको छ । निजको मृत्युपश्चात् निजको एक मात्र हकदार वादी भएकोमा मोही कायम हुन नसक्ने ठहरी सुरू भूमिसुधार कार्यालयबाट भएको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) विपरीतको हुँदा उल्टी गरी सुरू फिराद दाबीबमोजिम हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदनसहितको मिसिल अध्ययन गरी विद्वान् वरिष्ठ अधिवक्ताको बहससमेत सुनी वादी दाबी पुग्न नसक्ने ठहरी सुरू भूमिसुधार कार्यालयबाट भएको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, साबिक जग्गाधनी गनपैत सिंह नाउँको ०-७-० जग्गा आफ्नो पिता सवुरलाल चौधरीले १ नं. फारम भरी २ नं. अनुसूची प्रकाशित भएकोमा सर्भे नापीका बखत कित्ता नं.१३८ को ०-१०-११/४ कायम भई जोतकमोत गरी कुत बाली बुझाई आएकोमा मोहीको प्रमाणपत्र प्राप्त नहुँदै पिता सुवरलाल चौधरीको मिति २०६२।७।२ मा र आमाको मिति २०५७।९।२२ मा आ-आफ्नो कालगतिले परलोक भएकोले निजहरूको हक खाने आफू एक मात्र हकदार भएकोले मोही नामसारी गरी मोही प्रमाणपत्र पाउँ भनी मिति २०६६।११।१६ मा फिराद गरेकोमा मुद्दा चल्दाचल्दै विपक्षी नथुनीप्रसाद यादवका नाउँमा कायम हुन आएकोले निजलाई समेत बुझी कारबाही गरिपाउँ भन्ने फिराद दाबी भएकोमा उक्त जग्गा मिति २०६७।५।२३ मा राजीनामा गरी खरिद गरी लिएको जग्गा हो । वादी तथा निजको बाबुले उक्त जग्गा जोत कमोत गरेको होइन । वादीका बाबुले १ नं. अनुसूची फाराम भरी २ नं. अनुसूची प्रकाशित भएको पनि देखिँदैन । तसर्थ वादी दाबी खारेज हुनुपर्छ भन्ने प्रतिउत्तर पत्र भएकोमा वादी दाबी नपुग्ने ठहर्याई सुरू भूमिसुधार कार्यालयबाट भएको फैसलाउपर वादीको पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परी पुनरावेदन अदालत राजविराजबाट वादी दाबी नपुग्ने ठहर गरेको सुरूको फैसला सदर गरेकोमा वादीको चित्त नबुझी मुद्दा दोहोर्याई हेरिपाउँ भनी निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पेस भएको पाइयो ।
३. सो सन्दर्भमा हेर्दा, जिल्ला सप्तरी, पटेर्वा गाउँ विकास समिति वडा नं. ७ (ख) कि.नं.१३८ को ०-१०-११/४ को जग्गा वादीका बाबु सवुरलाल चौधरीले मोहीको हैसियतले कमाई अनुसूची १ फाराम भरी २ नं. अनुसूची प्रकाशित भएको भन्ने वादीको भनाई
देखिन्छ । उक्त अनुसूचीहरू विवादित कि.नं. १३८ को जग्गाको हो भन्ने प्रमाण वादीले दाखिल गर्न सकेको देखिँदैन । वादीका बाबुको मिति २०६२ सालमा मृत्यु भएको भन्ने देखिँदा वादीका बाबुले आफ्नो जीवनकालमा विवादित जग्गाको मोही हक कायम गराउन कारबाही चलाएको भन्ने देखिँदैन । दाबीको जग्गा वादीका बाबुले मोहीको हैसियतले भोगचलन गरी आएकोमा २०६२ सालसम्म मोही हक दर्ता गराई मोहीको प्रमाणपत्र लिन सक्ने अवस्था विद्यमान रहिरहेको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ जारी हुनुभन्दा अगाडिदेखि नै मोहीको हैसियतले जग्गा निरन्तर जोतभोग गरेको देखिने प्रमाणहरू (कुत बुझे बुझाएको) पेस गर्न सकेको देखिएन ।
४. मोहीको हक जग्गा कमाउने व्यक्तिले कानूनले तोकेको सर्तहरू पालन गरी पूरा गरेको अवस्थामा मात्र प्राप्त हुने हक हो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ अनुसार मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, बाबु, धर्मपुत्र आदिमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने कानूनी व्यवस्था भएकोले वादीको पिताको मोही हक कायम भइसकेको अवस्थामा जग्गाधनीले पत्याएमा निजको नाममा नामसारी हुने हो । निजका बाबुले नै मोही हक दाबी गरी हक प्राप्त नगरेको मोही हक स्वर्गीय पिताको नाममा कायम गराई आफ्ना नाममा नामसारी गराइ पाउँ भनी भन्नलाई भूमिसम्बन्धी ऐन, २०२१ ले यी वादीलाई त्यस्तो हक प्रदान गरेको देखिँदैन । यस सम्बन्धमा सर्वोच्च अदालतबाट "निवेदकका बाबुले आफूले दाबी गरी प्राप्त नगरेको मोही हक स्वर्गीय पिताको नाममा कायम गराई आफ्नो नाममा नामसारी गराउनलाई भूमिसम्बन्धी ऐन, २०२१ ले वादीलाई त्यस्तो हक प्रदान गरेको नदेखिने" (स.अ.बुलेटिन २०६९, पूर्णाङ्क ४८२, साउन १६-३२, पृष्ठ ४१०) भन्ने व्याख्या भएको छ । यसरी वादीका बाबुले नै आफ्नो नाममा मोहियानी हक कायम नगराएको अवस्थामा बाबुको मृत्युपछि मृतक व्यक्तिलाई मोही कायम गरी यी वादीका नाउँमा नामसारी गरी मोही दर्ता गरी दिने अवस्था देखिन आएन ।
५. तसर्थ, वादीका बाबुले नै मोही हक कायम गराउन नसकेको स्थितिमा वादीका बाबुको नाममा दाबीको जग्गा मोही दर्ता गरी यी वादीका नाममा नामसारी गर्न कानूनसङ्गत नदेखिँदा दाबीको कि.नं.१३८ को ०-१०-११/४ जग्गामा मोही कायम गरी आफ्नो नाममा मोही नामसारी गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहराएको सुरू भूमिसुधार कार्यालय सप्तरीको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत राजविराजबाट मिति २०७१।५।२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत काटी नियमानुसार गरी मिसिल बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. बमकुमार श्रेष्ठ
इजलास अधिकृत : जगतबहादुर पौडेल
इति संवत् २०७५ साल असार १९ गते रोज ३ शुभम् ।