शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००३० - लिखत दर्ता बदर दर्ता

भाग: ६० साल: २०७५ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीरा खड्का

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

 फैसला मिति : २०७३।११।९

 

मुद्दा : लिखत दर्ता बदर दर्ता

 

०६७-CI-११६२

पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा गा.वि.स. रामनगरी वडा नं. ६ मा बस्ने मणिभुषण तिवारी

विरूद्ध

विपक्षी / वादी : जिल्ला पर्सा गा.वि.स. रामनगरी वडा नं. १ मा बस्ने रामानन्द पाण्डेसमेत

 

०६७-CI-११६३

पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा गा.वि.स. रामनगरी वडा नं. १ मा बस्ने ठाकुर पाण्डे

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला पर्सा गा.वि.स. रामनगरी वडा नं. १ मा बस्ने रामानन्द पाण्डेसमेत

 

२०४४ सालको बन्डा मुचुल्काको अस्तित्व रहे भएसम्म दाबी जग्गा सम्बन्धमा अंशियार वादी पक्षलाई प्रतिकूल पार्ने गरी गरे भएको कुनै पनि व्यवहार सदर हुनसक्ने अवस्था नदेखिँदा मुलुकी ऐन लेनदेन व्यवहारको महलको ४० नं. र जग्गा पजनीको महलको १७ नं. अनुसार फिराद दायर गर्न पाउने नै अवस्था देखिन आउने ।

२०४४ सालको बन्डा मुचुल्काबाटै स्पष्ट रूपमा अरू अंशियारको समेत भाग लाग्ने गरी तर्फसमेत खुलाई बन्डा मुचुल्कासमेत भइसकेको अवस्थामा फिल्डबुकमा आफ्नो नाम उल्लेख भएकै आधारमा प्रतिवादीले नाउँसारी गराउँदैमा वादीको अंश हक समाप्त हुने भन्न मिल्ने नदेखिने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट :

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं.

 

सुरू फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम

पर्सा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री एकराज आचार्य

माननीय न्यायाधीश श्री तेजबहादुर कार्की

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या. मीरा खड्का : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

देवेन्द्र पाण्डेको ४ छोराहरूमा जेठा वादी म रामानन्द पाण्डे, माहिला वादी म लक्ष्मीकान्त पाण्डे, साहिँला नित्यानन्द पाण्डे र कान्छा विपक्षी ठाकुर पाण्डे ब्राम्हण हुन् । हामीबीच निज ठाकुर पाण्डे वादी भई चलेको दे.नं. १३०५ तथा नित्यानन्द वादी भएको दे.नं. १२९८ को अंश मुद्दामा मिति २०३८।९।२६ को सुरू पर्सा जिल्ला अदालतको फैसला तथा मिति २०४०।१।१४ को तत्कालीन नारायणी अञ्चल अदालतको फैसलाबमोजिम मिति २०४४।२।५ मा बन्डा छुट्याउँदाका छुट जग्गा दाखिल खारेज दर्ता भएकोमा विपक्षी ठाकुर पाण्डेका नाउँमा नापी भएको जिल्ला पर्सा रामनगरी गा.वि.स., वडा नं. १ कि.नं. ६२ को ०-५-०, ऐ. वडा नं. १ कि.नं. १४ को ०-१-२ र घर समेत तर्फ छुट्याई चारै दाजुभाइ र आमासमेतको ५ अंश छुट्याएको भए पनि सो २ कित्ता जग्गा अप्रमाणित रहेकोले हाम्रा नाउँमा दा.खा. हुन सकेन । सो बाँकी जग्गाको दा.खा. गराउन म रामानन्द पाण्डेले मिति २०६४।२।१४ मा निवेदन दिँदा विपक्षी ठाकुर पाण्डेको नामबाट मिति २०६२।३।१७ मा अर्का विपक्षी मणिभूषण तिवारीको नाममा राजीनामा भई गइसकेको कुरा थाहा पाई सोही मितिमा नक्कल लिई प्रस्तुत फिराद गर्न आएको छु । आमा स्वर्गे हुनु भएकोले सो जग्गाहरूमध्येबाट ४ खण्डको २ खण्ड लिखत दर्ता बदर गरी हाम्रो नाउँमा दर्ता गरिपाउँ भन्ने बेहोराको वादी रामानन्द पाण्डे र लक्ष्मीकान्त पाण्डेको मिति २०६४।२।२३ को फिरादपत्र । 

दाबीको जग्गामा वादीहरूको हकभोग स्वामित्व छैन । मालपोत कार्यालय, पर्साको २०५६।१२।२४ को निर्णयले उक्त जग्गा मेरो नाउँमा दर्ता भएपछि एकलौटी भोगचलन गरी मिति २०६२।३।१७ को राजीनामा लिखतबाट मणिभूषणको नाममा गएकोमा वादीहरूको हक भए लेनदेन व्यवहारको १० नं. को हदम्यादभित्र फिराद गर्नुपर्नेमा नगरेबाट लिखत दर्ता बदर हुनुपर्ने होइन । लेनदेन व्यवहारको ४० नं, ज.प. को १७ नं. प्रस्तुत मुद्दामा आकर्षित नहुने हुँदा फिराद खारेज गरी झुठ्ठा दाबीबाट अलग फुर्सद गरिपाउँ भन्ने बेहोराको प्रतिवादी ठाकुर पाण्डेको मिति २०६४।५।१९ को प्रतिउत्तर पत्र । 

मैले जालसाजी गरी जग्गा लिएको नभई दाताको नामदर्ताको जग्गा मिति २०६२।३।१७ गते खरिद गरी सोही मितिबाट भोगचलन गरी आएको छु । सो जग्गामा वादीहरूको अंश भए समयमै फिराद गर्नुपर्ने नगरेबाट प्रस्तुत मुद्दामा ज.प. को १७ नं. र लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने अवस्था नभएकोले झुठ्ठा दाबीबाट अलग फुर्सद गरिपाउँ भन्ने बेहोराको प्रतिवादी मणिभूषण तिवारीको मिति २०६४।६।८ को प्रतिउत्तर पत्र । 

वादी दाबीका जग्गाहरू साबिकमा वादी प्रतिवादीबीच बन्डा हुँदा अप्रमाणित जग्गा रहेभएको तथ्य निर्विवाद भएपनि प्रतिवादी ठाकुर पाण्डेको नाममा दर्ता भएपश्चात् सो जग्गामा आफ्नो हक कायम गराई लिनेतर्फ वादीहरूको फिराद नपरेको र विपक्षीहरूबीच पारित भएको राजीनामाले वादीहरूको हक गएको भए लेनदेन व्यवहारको १० नं. ले निर्दिष्ट गरेको हदम्यादभित्र फिराद आउनुपर्नेमा असान्दर्भिक कानूनी प्रावधान र हदम्याद अँगाली नक्कल सारी थाहा पाएको मितिबाट हदम्याद गणना गरी मिति २०६४।२।२३ मा परेको फिराद हदम्यादसमेतको अभावमा अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने सुरू पर्सा जिल्ला अदालतको मिति २०६४।७।१४ को फैसला । 

अंश मुद्दामा अदालतबाट भएको अन्तिम फैसला र मिति २०४४।२।५ को बन्डा मुचुल्काबाट हाम्रो अंश छुट्टयाइएको कि.नं. ६२ को ज.वि. ०-५-० र कि.नं. १४ को ज.वि. ०-१-२ जग्गाहरू विपक्षी ठाकुर पाण्डेको नाउँमा दर्ता स्रेस्ता अप्रमाणित रहेको कारणले दा.खा. दर्ता हुन नसकेपनि सो अंश भागबमोजिम २०६४।२।१४ मा दाखेल खारेज गराउन मालपोत कार्यालय, पर्सामा निवेदन दिँदा विपक्षीमध्येका मणिभूषण तिवारीको नाममा राजीनामा भई गएको कुरा थाहा पाएकोले मुलुकी ऐन जग्गा पजनीको १७ नं. ले एकाको हकको जग्गा अर्कोले दर्ता गराएकोमा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस गर्न सक्ने कानूनी व्यवस्था रहेको र जग्गा पजनीको २क. नं. ले जहिलेसुकै दाखेल खारेज गराउन सक्ने व्यवस्था भएकोमा सुरू पर्सा जिल्ला अदालतले अंश नभएका अंशियारबीच लागू हुने कानून लगाई असम्बन्धित दफा र म्यादलाई प्रमाणमा लिई गरेको फैसला उल्टी गरी हक इन्साफ दिलाई पाउँ भन्ने बेहोराको वादी रामानन्द पाण्डे र लक्ष्मी पाण्डेको मिति २०६५।४।१९ को पुनरावेदन पत्र । 

विवादका जग्गाहरू २०४४ सालमै बन्डा भइसकेको देखिन आएकोमा लेनदेन व्यवहारको १० नं. को हदम्याद लगाई फिराद दाबी नै खारेज गरेको सुरूको इन्साफ कानूनको व्याख्याको प्रश्नमा फरक पर्न सक्ने देखिएकोले छलफलको लागि प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०६५।७।२८ को आदेश ।

विवादित जग्गा मैले उचित मूल्य तिरी खरिद गरेको हो । ऋणी ठाकुर पाण्डेको दर्तातर्फ उजुर नपरेकोले जग्गा पजनीको १७ नं. तथा लेनदेन व्यवहारको ४० नं. आकर्षित हुन सक्तैन । साथै पुनरावेदक रामानन्द पाण्डेले ठाकुर पाण्डेको सोही जग्गाबाट बिगो भराई पाउँ भनी पर्सा जिल्ला अदालतमा २०४२ सालमा दरखास्तसमेत दिएकाले विवादित जग्गा ठाकुर पाण्डेको एकलौटी भन्ने देखिँदा सुरू फैसला सदर गरी इन्साफ गरिपाउँ भन्ने प्रतिवादी मणिभूषण तिवारीको मिति २०६५।९।२७ को लिखित प्रतिवाद । 

पुनरावेदक रामानन्दले मबाट पाउने बिगोमा फिराद दाबीको जग्गा देखाई भरिभराउको लागि पर्सा जिल्ला अदालतमा २०४२ सालमा कारबाही गर्नुभएकोमा निजको बिगो मैले दाखेल गरी दिएकोले लिलाम नभई मेरो भाग स्वामित्वमा यथास्थितिमा रहेकोले प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम उक्त जग्गालाई दाबी गर्ने हकदैया पुनरावेदकलाई छैन । एकलौटी दर्ताको जग्गा राजीनामा लिखतलाई बदर गराउन पुनरावेदकको हक नपुग्ने हुँदा हकदैया र हदम्यादको अभावमा फिराद खारेज गर्ने गरी सुरूबाट भएको फैसला सदर गरिपाउँ भन्ने बेहोराको प्रतिवादी ठाकुर पाण्डे ब्राह्मणको मिति २०६५।९।२७ को लिखित जवाफ । 

दाबीको जग्गा अंश मुद्दाको फैसलाबमोजिम बन्डा छुट्टिएको जग्गा हुँदा वादीको एकलौटी होइन । सो अंश मुद्दाको फैसला कार्यान्वयन हुने गरी छुट्टिई भिन्न भएका अंशियारको अंश हक कायम गर्नुपर्ने हुँदा अघि अंशबन्डा भइसकेको अंशियारको बाँकी रहेको सम्पत्तिको विवादमा लेनदेन व्यवहारको १० नं. को कारण देखाई फिराद खारेज गर्ने गरी भएको सुरू फैसला कानूनसम्मत नहुँदा बदरभागी छ भन्ने पुनरावेदक वादीतर्फका अधिवक्ता सुमनकुमार मानन्धरको मिति २०६६।६।२५ को बहस नोट । 

ठाकुर पाण्डे वि. रामानन्द पाण्डसमेत भएको २०३४ सालको दे.नं. १२९८ को अंश मुद्दाको प्रमाण मिसिलसमेत प्राप्त भई साथै रहेको देखिन्छ ।

विवादका कि.नं. १४ को ज.वि. ०-१-२ र कि.नं. ६२ को ज.वि. ०-५-० मा पर्सा जिल्ला अदालतको मिति २०३८।९।२६ गतेको फैसला र मिति २०४४।२।५ गतेको बन्डा मुचुल्काबाट पुनरावेदक वादीहरूको ५ भागको १।१ भागले २ भाग अंश रहेको देखिन आएकोले हदम्यादको आधारमा फिराद खारेज हुने ठहर्‍याई सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६४।७।१४ गते भएको फैसला नमिलेकोले उल्टी भई वादी दाबीको मिति २०६२।३।१७ को राजीनामा लिखत ५ भागको १।१ भागले २ भाग लिखत र प्रत्यर्थी प्रतिवादी मणिभूषण तिवारीको दर्ता भई दक्षिणतर्फबाट पुनरावेदक वादीहरूका नाउँमा दर्तासमेत हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०६६/१०/२४ को पुनरावेदन अदालत हेटौंडाको फैसला ।

जिल्ला पर्सा गा.वि.स. रामनगरी वडा नं. १ कि.नं. ६२ को ०-५-०, कि.नं. १५ को ०-१-२ र यसमा भएको घरसमेत मेरो नाममा मालपोत कार्यालय पर्साको मिति २०५६।१२।२४ को निर्णयले दा.खा. दर्ता भएको थियो । सो मितिपूर्व मेरो नाममा दर्ता नहुँदा मेरो नाममा दर्ता भएको मितिदेखि उक्त जग्गा रैकर दर्ताको अस्तित्वमा आएको थियो । मेरो नामको कि.नं. ६२।१४ को जग्गा भनी अंश मुद्दाको फैसला र बन्डा मुचुल्कामा लेखेको भएपनि सो बखत मेरो नाममा दर्ता नभई दर्ता अप्रमाणित हुँदा तत्कालीन श्री ५ को सरकारको स्वामित्वमा थियो । मेरो नामको भनी भएको तत्कालीन नारायणी अञ्चल अदालतको २०४०।१।१४ को अन्तिम फैसला २०४४।२।५ को बन्डा मुचुल्काले ०५६।१२।२४ मा मेरो नाममा रैकर दर्ताको अस्तित्वमा आएको कि.नं. ६२।१४ को जग्गाको हकमा वादीहरूको हक स्थापित नहुने हुँदा मेरो नाममा दर्ता हुनुपूर्वको फैसलालाई मेरो विरूद्धमा प्रमाण ग्रहण गरी भएको फैसलामा प्रमाणको मूल्याङ्कनसम्बन्धी कानून अ.बं. को १८५क नं. प्रत्यक्ष त्रुटि भएको देखिन्छ । 

रैकरमा दर्ता हुनुभन्दा पुनरावेदनको फैसलाले प्रत्यर्थीहरूको हक स्थापित भएको भए मेरो नाममा रैकरमा दर्ता प्रमाण गर्न मालपोत कार्यालय पर्साबाट मिति २०५६।१२।२४ गते भएको निर्णयलाई बदर गराई प्रत्यर्थीहरूले आफ्नो हक स्थापित गराउनुपर्ने थियो । दर्ताको अस्तित्व दिएको मालपोत कार्यालयको २०५६।१२।२४ को निर्णय यथास्थितिमा हुँदासम्म पूर्णतः मेरो हक स्वामित्वमा रहेको बखत मैले गरेको लिखत दर्ता बदर हुनुपर्नेमा पर्सा जिल्ला अदालतको फैसलालाई उल्टाई लिखत दर्ता बदर दर्ता हुने गरी भएको  पुनरावेदन अदालत हेटौंडाको फैसलालाई बदर गरी हदम्यादको अभावमा दर्ता भएको फिराद पत्रलाई खारेज गर्ने गरी पर्सा जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी ठाकुर पाण्डेको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

अंश मुद्दाको पर्सा जिल्ला अदालतको मिति २०३८/९/२६ को फैसला, तत्कालीन नारायणी अञ्चल अदालतको २०४०/१/१४ को फैसला, २०४४/२/५ को बन्डा मुचुल्कामा फिराद दाबीको कि.नं. १४/६२ को जग्गा ठाकुर पाण्डेको हो भनी लेखेको पाइन्छ । सो बखत उक्त जग्गा ऋणी ठाकुर पाण्डेको नाममा दर्ता नहुँदा २०५६/१२/२४ को मालपोत कार्यालय पर्साको निर्णयले ठाकुर पाण्डेको नाममा आएको कि.नं. १४/६२ को जग्गामा प्रत्यर्थीहरूको हक भएको भन्न मिल्दैन । कि.नं. १४/६२ को जग्गामा प्रत्यर्थीहरूको अंश हक भएको भए ठाकुर पाण्डेको नाममा दर्ता गर्ने गरी मालपोत कार्यालयबाट भएको निर्णय बदर गर्नको लागि मुद्दा गरी हक कायम गर्नुपर्नेमा मालपोत कार्यालय पर्साको मिति २०५६/१२/२४ को निर्णयलाई बदर गराउन नसक्ने वादीको अंश हक भएको भन्न मिल्दैन ।

मालपोत कार्यालय पर्साको मिति २०५६/१२/२४ को निर्णय बदरतर्फ र लिखत बदरतर्फ लेनदेन व्यवहारको १० नं. अनुसार म्यादभित्र वादीको फिराद नपरेको म्याद नघाई असम्बद्ध जग्गा पजनीको १७ नं. लेनदेनको ४० नं. लाई अवलम्बन गरी फिराद पत्र वा लिखत दर्ता बदर हुनु नपर्नेमा लिखत दर्ता बदर हुने ठहर्‍याएको फैसला उल्टी गरी पर्सा जिल्ला अदालतको फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मणिभूषण तिवारीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पर्न आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न प्रतिवादीहरूको पुनरावेदन पत्र र सुरू तथा पुनरावेदन अदालतको फैसलासहितका मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ छैन पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा हामीहरूको समेत अंश हक लाग्ने विपक्षी ठाकुर पाण्डेका नाउँमा नापी भएको जिल्ला पर्सा रामनगरी गा.वि.स., वडा नं. १ कि.नं. ६२ र कि.नं. १४ को घरसमेत विपक्षी ठाकुर पाण्डेले विपक्षीमध्येका मणिभूषण तिवारीलाई मिति २०६२।३।१७ मा राजीनामा लिखत पारित गरिदिएकोले उक्त जग्गाहरूमध्येबाट ४ खण्डको २ खण्ड लिखत बदर गरी हामीहरूका नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी रहेकोमा दाबीको जग्गामा वादीहरूको हकभोग स्वामित्व नरहेको र मालपोत कार्यालय, पर्साको २०५६।१२।२४ को निर्णयले उक्त जग्गा ठाकुर पाण्डेको नाउँमा दर्ता भएपछि मिति २०६२।३।१७ को राजीनामा लिखतबाट मणिभूषणको नाममा गएको हुँदा लेनदेन व्यवहारको १० नं. को हदम्यादभित्र फिराद गर्नुपर्ने नगरेबाट लिखत दर्ता बदर हुनुपर्ने होइन भन्ने प्रतिवादी ठाकुर पाण्डेको र मैले जालसाजी गरी जग्गा लिएको नभई दाताको नामदर्ताको जग्गा मिति २०६२।३।१७ गते खरिद गरी लिएको हुँदा झुठ्ठा दाबीबाट अलग फुर्सद गरिपाउँ भन्ने बेहोराको प्रतिवादी मणिभूषण तिवारीको प्रतिउत्तर जिकिर रहेकोमा हदम्यादसमेतको अभावमा अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्‍याई भएको सुरू पर्सा जिल्ला अदालतको फैसलाउपर वादीको पुनरावेदन परी पुनरावेदन अदालत हेटौंडाबाट विवादका कि.नं. १४ र ६२ को जग्गामा वादीहरूको हक रहेको देखिएकोले हदम्यादको आधारमा फिराद खारेज हुने ठहर्‍याई भएको फैसला उल्टी भई वादी दाबीको मिति २०६२।३।१७ को राजीनामा लिखत ५ भागको १।१ भागले २ भाग लिखत र प्रत्यर्थी प्रतिवादी मणिभूषण तिवारीको दर्ता भई दक्षिणतर्फबाट पुनरावेदक वादीहरूका नाउँमा दर्तासमेत हुने ठहर्‍याई भएको फैसलाउपर प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको देखियो ।

३. प्रस्तुत मुद्दाका प्रतिवादी ठाकुर पाण्डे वादी तथा प्रस्तुत मुद्दाका वादीहरू प्रतिवादी भई पर्सा जिल्ला अदालतमा चलेको दे.नं. १२९८ को अंश मुद्दा २०३८।९।२६ गते पर्सा जिल्ला अदालतबाट र उक्त फैसलाउपर पुनरावेदन परी मिति २०४०।१।१४ मा तत्कालीन नारायणी अञ्चल अदालतबाट ठाकुर पाण्डेका नाउँको जिल्ला पर्सा, रामनगरी गा.वि.स., वडा नं. १ कि.नं. ६२ को क्षेत्रफल ०-५-० र ऐ. वडा नं. १ ग. कि.नं. १४ क्षेत्रफल ०-१-२ जग्गा बन्डा लाग्ने ठहरी भई अन्तिम भई बसेको देखिन्छ । फैसला कार्यान्वयनको क्रममा मिति २०४४।२।५ मा खडा भएको बन्डा मुचुल्काअनुसार हाल उक्त जग्गा अप्रमाणित रहेको र ठाकुर पाण्डेको नाउँमा रहेको भएपनि सबै अंशियारले अंश पाउने गरी तर्फसमेत खुलाएको देखिन्छ । 

४. प्रतिवादी ठाकुर पाण्डेले दाबीको जग्गा मालपोत कार्यालय, पर्साबाट मिति २०५६।१२।२४ मा आफ्नो नाउँमा एकलौटी दर्ता हुने निर्णय गराई उक्त जग्गा आफ्नो नाउँमा दर्ता भएपछि मिति २०६२।३।१७ को राजीनामा लिखतबाट प्रतिवादीमध्येका मणिभूषण तिवारीको नाममा गएको भन्नेमा विवाद देखिँदैन । वादीहरूले आफ्नोसमेत अंशभाग कायम भइसकेको जग्गा त्यसरी राजीनामा लिखत गरी मणिभूषण तिवारीलाई दिएउपर उक्त राजीनामा लिखत बदर गरिपाउँ भन्नेसमेतको दाबी लिई मुलुकी ऐन जग्गा पजनीको १७ नं. र लेनदेन व्यवहारको ४० नं. का आधारमा अंशियार रामानन्द पाण्डे एवं लक्ष्मी पाण्डेको २०६४ सालमा फिराद दाबी लिएको देखिन्छ । प्रतिवादी ठाकुर पाण्डेले आफ्नो अंश भागको जग्गा भए दर्ता बदर गरी आफ्नो नाउँमा दाखेल खारेज गराउनु पर्नेमा हदम्याद नघाई २०६४ सालमा मात्र दाबी लिएकोले झुठ्ठा दाबी खारेज गरिपाउँ भनी जिकिर लिएको देखिन्छ । प्रतिवादी ठाकुर पाण्डेले २०४४ सालको बन्डा मुचुल्काअनुसार मेरो मात्र अंश हकको जग्गा हो भनी जिकिर लिन सकेको भने देखिँदैन । प्रतिवादी ठाकुर पाण्डेले केवल मैले २०५६ सालमा मालपोत कार्यालयमा जग्गा दर्ता गर्न निवेदन दिँदाकै अवस्थामा उजुरी गर्नुपर्नेमा २०६४ सालमा मात्र दाबी लिन आएकोले हदम्यादको अभाव भएकोले वादी दाबी खारेज गरिपाउँ भनी जिकिर लिएको अवस्था देखियो ।

५. प्रस्तुत सन्दर्भमा मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. हेर्दा, "अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा एकाघर सगोलका अरू अंशियारको मन्जुरी लिनुपर्ने र त्यस्तो मन्जुर नहुनेले रजिस्ट्रेसन भएको १ वर्षसम्ममा उजुर गर्न पाउने" भन्ने बेहोरा उल्लेख भएको देखिन्छ । दाबीको जग्गा दर्ता प्रमाणित हुनुअघिदेखि नै त्यसमा वादीहरूको अंश हक स्थापित भइसकेपछि दर्ता प्रक्रिया सम्पन्न हुनासाथ प्रतिवादी ठाकुर पाण्डेले इमान्दारीसाथ सो जग्गा वादीहरूका नाउँमा दाखिल खारेज दर्ता गराई आपसी अंश विवादको छिनोफानो गराउनुपर्नेमा प्रतिवादी ठाकुर पाण्डेले पुनरावेदक वादीहरूलाई अंश भागबाट विमुख गर्ने गरी मणिभूषण तिवारीलाई राजीनामा लिखत पारित गरिदिएको अवस्थामा मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. आकर्षित हुनसक्ने देखिएन । खासगरी २०४४ सालको बन्डा मुचुल्काको अस्तित्व रहे भएसम्म दाबी जग्गा सम्बन्धमा अंशियार वादी पक्षलाई प्रतिकूल पार्ने गरी गरे भएको कुनै पनि व्यवहार सदर हुनसक्ने अवस्था नदेखिँदा प्रस्तुत मुद्दाको विषयमा मुलुकी ऐन लेनदेन व्यवहारको महलको ४० नं. र जग्गा पजनीको महलको १७ नं. अनुसार फिराद दायर गर्न पाउने नै अवस्था देखिन आयो । २०४४ सालको बन्डा मुचुल्काबाटै स्पष्ट रूपमा अरू अंशियारको समेत भाग लाग्ने गरी तर्फसमेत खुलाई बन्डा मुचुल्कासमेत भइसकेको अवस्थामा फिल्डबुकमा आफ्नो नाम उल्लेख भएकै आधारमा प्रतिवादीले नाउँसारी गराउँदैमा वादीको अंश हक समाप्त हुने भन्न मिल्ने देखिएन । 

६. तसर्थ माथि विश्लेषण गरिएका आधार कारण र प्रमाणसमेतबाट विवादका कि.नं. १४ को ज.वि. ०-१-२ र कि.नं. ६२ को ज.वि. ०-५-० मा पुनरावेदक वादीहरूको ५ भागको १।१ भागले २ भाग अंश रहेको देखिन आएकोले हदम्यादको आधारमा फिराद खारेज हुने ठहर्‍याई सुरू पर्सा जिल्ला अदालतबाट भएको फैसला नमिलेकोले उल्टी भई वादी दाबीको मिति २०६२।३।१७ को राजीनामा लिखत ५ भागको १।१ भागले २ भाग लिखत र प्रत्यर्थी प्रतिवादी मणिभूषण तिवारीको दर्ता बदर भई दक्षिणतर्फबाट पुनरावेदक वादीहरूका नाउँमा दर्तासमेत हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६६/१०/२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत: रामप्रसाद बस्याल

इति संवत् २०७३ साल फागुन ९ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु