निर्णय नं. १००३७ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला मिति : २०७५।३।२०
०७३-CR-०१६८
मुद्दाः- कर्तव्य ज्यान
पुनरावेदक / वादी : कास्की जिल्ला, माछापुच्छ्रे गा.वि.स. वडा नं.७ बस्ने जितबहादुर परियारको जाहेरीले नेपाल सरकार
विरूद्ध
विपक्षी / प्रतिवादी : कास्की जिल्ला, माछापुच्छ्रे गा.वि.स. वडा नं.७ बस्ने कुम्भसिंहको छोरा पदमबहादुर गुरूङसमेत
जाहेरीलाई अभियोग प्रमाणित गर्ने एक महत्त्वपूर्ण प्रमाण मानिन्छ तर जाहेरी दरखास्तमा उल्लेख भएको बेहोरा अन्य संकलित प्रमाणबाट समर्थित भएको हुनुपर्दछ । जाहेरी दरखास्त स्वयंमा निश्चयात्मक (Conclusive) प्रमाण होइन । अभियोग लगाइएको कुनै पनि व्यक्तिका विरूद्ध प्रमाणको रूपमा ग्रहण गर्नुपूर्व जाहेरी दरखास्तको न्यायिक परीक्षण आवश्यक हुने ।
प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम त्यस्तो जाहेरी दिने व्यक्ति स्वयम् साक्षीका रूपमा अदालतमा उपस्थित भई आफूले जाहेरी दरखास्तमा लेखाएको कुरालाई अदालतमा बकपत्र गरी समर्थन गरेको स्थिति पनि विद्यमान हुनुपर्दछ । अन्यथा जाहेरीको बेहोराले अपराध पुष्टि गर्ने प्रामाणिक महत्त्व ग्रहण गर्न सक्ने नदेखिने ।
(प्रकरण नं.३)
सहअभियुक्तको पोल आफैँमा सारभूत प्रमाण होइन, यो न्याय निर्क्योल गर्न एउटा थप आधार मात्र हो । यसैलाई मूल प्रमाण मानी इन्साफ गरिने पनि होइन । सहअभियुक्तको पोल स्वतन्त्र प्रमाणबाट समर्थित हुनुपर्छ तब मात्र त्यसलाई प्रमाणको रूपमा लिन सकिन्छ । त्यसरी समर्थित नभएमा प्रमाणमा लिन मिल्ने देखिँदैन । सहअभियुक्तले अपराध गर्नमा समान दायित्व कवुल गरी पोल गरेको नदेखिएको अवस्थामा सहअभियुक्तको पोल कसुर कायम गर्ने आधारभूत प्रमाणको रूपमा स्थापित हुने नदेखिने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : शाखा अधिकृत श्री नुमराज खनाल
विपक्षी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री पुरूषोत्तम प्रसाद ढकाल
कास्की जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री सत्यराज गुरूङ
माननीय न्यायाधीश श्री द्वारिकामान जोशी
पुनरावेदन अदालत पोखरा
फैसला
न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-
जाहेरी दरखास्त:
मिति २०६१/१/२८ गते साँझ विनोद गुरूङले मेरो छोराहरूसँग मकै खन्न नआएको भनी निहुँ खोजी विनोद गुरूङसमेतका व्यक्तिहरूले छोरा रामबहादुर परियार र किसान परियारलाई हात मुक्का तथा दाउरासमेतले हानी सख्त घाइते बनाएकोमा तत्काल उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याई उपचार गराएकोमा किसान परियारको सोही चोट पीडाबाट मृत्यु भएको र रामबहादुर परियारको स्वास्थ्यमा केही सुधार आएको हुँदा विनोद गुरूङसमेतका व्यक्तिहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त ।
लास जाँच मुचुल्काः
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको मुर्दा घरभित्र किसान परियारको उत्तानो अवस्थामा मृतक लास रहेको, टाउकोको अगाडि काटेको घाउ, गाला सुन्निएको, नाकबाट रगत आई सुकेको, सर्ट तथा पाइन्टमा रगत लागेको भन्नेसमेत बेहोराको लास जाँच मुचुल्का ।
रामबहादुर परियारको कागजः
मिति २०६१/१/२८ गते विनोद गुरूङले मकै खन्न बोलाएकाले सो दिन मकै खन्न नगएको हुँदा साँझ निजसमेतका जाहेरीमा उल्लिखित मानिसहरू रक्सी सेवन गरी मकै खन्न किन नआएको भनी निहुँ खोजी मलाई तथा भाइ किसान परियारलाई हात मुक्का तथा दाउराले शरीरको संवेदनशील भागमा प्रहार गरी सख्त घाइते बनाएकोमा हामीहरूले तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याई उपचार गराएकोमा भाइ किसान परियारको सोही चोट पीडाबाट उपचार हुँदाहुँदै मृत्यु भएको र मेरो स्वास्थ्यमा केही सुधार आएको हो भन्नेसमेत बेहोराको घाइते रामबहादुर परियारको कागज ।
घटनास्थल मुचुल्काः
कास्की माछापुच्छ्रे गा.वि.स. वडा नं. ७ मिरिसा भन्ने स्थान जाहेरवाला जीतबहादुर परियारको बारी, उक्त बारी घरदेखि ३० हात पूर्व रहेको, सो बारीमा केही मडारिएको, मिति २०६१/१/२८ गते जाहेरीमा उल्लिखित विनोद गुरूङसमेतका व्यक्तिहरूले हात मुक्का तथा दाउरासमेतले प्रहार गरी घाइते बनाएको घटनास्थल ठिक छ भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
पोस्टमार्टम रिपोर्टः
टाउकोको चोट पीडाबाट मृत्यु भएको भन्नेसमेत बेहोराको मृतक किसान परियारको नामको लास पोस्टमार्टम रिपोर्ट ।
प्रतिवादी विनोद गुरूङको मौकाको बयान कागजः
मिति २०६१/१/२८ गतेका दिन जाहेरवालाको छोरा रामबहादुर परियारलाई मकै खन्न भनी बोलाएकोमा खन्न आउन सक्दैन भनेकोले सो दिन मकै नखनी घर बस्यौँ । साँझ म, सुर्य परियार, पदम गुरूङ भई ३ जना घरतर्फ जाँदा बाटोमा भेषे दर्जीको घरनजिक जाहेरवालाको छोरा रामबहादुर परियारलाई भेटी किन मकै खन्न नआएको भनी भन्दा निज आवेशमा आई वादविवाद गर्न थालेपछि निज र मेरोबीच हात हालाहाल हुँदा निजको भाइ किसान परियारले हातमा हँसिया लिई आएको देखी मेरो साथी सुर्य परियार र पदम गुरूङसमेतले निज रामबहादुर, किसान परियारलाई हातपात गर्न थालेपछि किसान परियारले पछाडिबाट मेरो टाउकोमा हँसियाले हानी घाइते बनाएकोले हामी केही समय सोही ठाउँमा नै बस्यौँ । मेरो टाउकोमा चोट लागेको कारण रिस उठी जाहेरवालाको घरमा भेषे दर्जी, सुर्य परियार, खजना गुरूङ, सोमबहादुर परियार, रेला दर्जी, मिरू गुरूङ, पदम गुरूङ, रेला दर्जीको आमासमेत भई जाँदा घरबाहिर रामबहादुर परियार र किसान परियारलाई हात मुक्काले प्रहार गरेको र म तथा सुर्यबहादुर परियारले दाउराले निजहरूलाई प्रहार गरी सख्त घाइते बनाई छाडेकोमा घाइते किसान परियारको हामीहरूले प्रहार गरेको चोट पीडाबाट मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी विनोद गुरूङको साबिती बयान कागज ।
प्रतिवादी सुर्य परियारको मौकाको बयान कागजः
मिति २०६१/१/२८ गतेका दिन साँझ विनोद गुरूङले मकै खन्न नआएको भनी रामबहादुर परियार र किसान परियारसँग वादविवाद हुँदा किसान परियारले हँसियाले विनोद गुरूङको टाउकोमा हानी चोट पुर्याएकाले पछि निजको घरमा रेला दर्जी, निजको आमा, पदम गुरूङ, सोमबहादुर परियार, भेषे दर्जी, खजना गुरूङ, मिरू गुरूङ, विनोद गुरूङसमेत गई म र विनोद गुरूङले निजहरूलाई दाउराले प्रहार गरेको र अन्य व्यक्तिहरूले हात मुक्काले हानी सख्त घाइते बनाएकोमा किसान परियारको सोही चोट पीडाबाट मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी सुर्य परियारको साबिती बयान कागज ।
भिमबहादुर गुरूङको कागजः
मिति २०६१/१/२८ गतेका साँझ पदम गुरूङ, भेषे दर्जी, सोमबहादुर परियार, मिरू गुरूङ, रेला दर्जी, खजना गुरूङ, रेला दर्जीको आमा, सुर्य परियार र विनोद गुरूङसमेतका व्यक्तिहरूले जाहेरवालाको छोराहरूलाई हात मुक्का तथा दाउरासमेतले हानी सख्त घाइते बनाएकोमा घाइते किसान परियारको निजहरूले कुटपिट गरेको चोट पीडाबाट मृत्यु भएको हो भन्नेसमेत बेहोराको भिमबहादुर गुरूङको कागज ।
पोडे परियारको कागजः
मिति २०६१/१/२८ गतेका दिन जाहेरीमा उल्लिखित विनोद गुरूङसमेतका व्यक्तिहरूले जाहेरवालाको छोरा रामबहादुर परियार र किसान परियारलाई मकै खन्न नआएको निहुँमा वादविवाद गरी मुक्का तथा दाउरासमेतले हानी सख्त घाइते बनाएकोमा घाइते किसान परियारको सोही चोट पीडाबाट मृत्यु भएको कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको पोडे परियारको कागज ।
प्रतिवादी विनोद गुरूङको नामको घाउ जाँच केस फाराम रिपोर्टः
टाउको तथा हातमा धारिलो हतियारले काटेको चोट भन्नेसमेत बेहोराको प्रतिवादी विनोद गुरूङको नामको घाउ जाँच केस फाराम रिपोर्ट ।
अभियोगपत्रः
मिति २०६१/१/२८ गते किसान परियार प्रतिवादी विनोद गुरूङको घरमा मकै खन्न नआएको भन्ने रिसइवीका कारण जाहेरीमा उल्लिखित विनोद गुरूङसमेतका प्रतिवादीहरू किसान परियारको घरमा नै झैझगडा गरी किसान परियारलाई प्रतिवादी विनोद गुरूङले दाउराले र प्रतिवादी सुर्य परियारले लाठीले तथा जाहेरीमा उल्लिखित अन्य प्रतिवादीहरूले हात मुक्काले किसान परियार र किसान परियारका दाजु रामबहादुर परियारलाई कुटपिट गरेकोमा रामबहादुर परियार घाइते भएको र किसान परियार सोही चोटको कारण मिति २०६१/१/३० गते मृत्यु भएको मिसिल संलग्न जाहेरी दरखास्त, लास जाँच मुचुल्का, पोस्टमार्टम रिपोर्ट, पक्राउ परेका प्रतिवादीहरूको बयान र पीडित घाइते रामबहादुर परियार र बुझिएका मानिसहरूको कागजसमेतका आधार प्रमाणहरूबाट विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू विनोद गुरूङ, सुर्य परियार, भेषे दर्जी, सोमबहादुर परियार, पदम गुरूङ, मिरू गुरूङ, रेला दर्जी, खजना गुरूङ नाम नखुलेको प्रतिवादी रेला दर्जीकी आमासमेत जना ९ ले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. को कसुर अपराध गरेको पुष्टि हुन आएकोले निजहरूलाई सोही ऐनको दफा १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
प्रतिवादी सुर्य परियारले सुरू अदालतमा गरेका बयानः
मिति २०६१/१/२८ गते मैले केही मादक पदार्थ सेवन गरेको थिएँ । सहप्रतिवादी विनोद गुरूङले मृतक किसानलाई चिरूवा दाउराले टाउकोमा हानेका कारणबाट किसान भुइँमा ढलेपछि मात्र मैले नशाको सुरमा मृतक किसानलाई हानेकोसम्म हुँ । सहप्रतिवादी विनोद गुरूङले हानेको चोट पीडाबाट किसान मरेको हो । मैले किसानलाई मार्ने नै मनसायले लाठीले हानेको थिइनँ । नशाको सुरमा साधारण लाठीले सम्म हानेको हुँ । मृतकलाई मैले हानेको चोट पीडाबाट मृत्यु भएको नहुँदा अभियोग दाबीबमोजिमको सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी सुर्य परियारले गरेको बयान ।
प्रतिवादी विनोद गुरूङले सुरू अदालतमा गरेका बयानः
किसान परियारले पछाडिबाट मलाई हातमा लिएको हँसियाले टाउकोमा प्रहार गरेपछि भित्तामा ठोक्किन पुगेँ । मलाई निज किसान परियारले पुनः हँसियाले हान्न खोज्दा मैले हातले रोकेँ । किसानले मलाई अगाडिबाट हँसियाले हान्दा मेरो दायाँ हातका औंला र टाउकोमा काटियो, म ढलेँ । पछि मैले एउटा चिर्पट दाउरा भेटेँ र आफ्नो ज्यान जोगाउनका लागि दाउराले एकचोटि टाउकोमा हानेको हो । रामबहादुरलाई पनि त्यही दाउराले हानेको हो । त्यसपछि म आफैँ
ढलेछु । दोहोरो हानाहान भएको बेला सुर्य परियारसमेतले त्यहीँ अर्को लाठीले किसानलाई हानेको हो । मेरा आमा र साथीहरू आएर मलाई घरमा लगेका हुन् । भोलिपल्ट बिहान औषधी गरी मेरो मामाको घर गगनगौंडातिर गएँ । पर्सिपल्ट मृतक किसान परियार मरे भन्ने थाहा पाएँ । गल्ती मृतक र मृतकका दाजुको हो तापनि मैले हानेको चोट पीडाले किसान परियारको मृत्यु भएकाले कानूनबमोजिम सजाय होस् भन्नेसमेत बेहोराको प्रतिवादी विनोद गुरूङले गरेको बयान ।
म्यादै गुजारी बसेका प्रतिवादीहरू:
प्रतिवादीहरू पदम गुरूङ, मिरू गुरूङ, सोमबहादुर परियार, भेषे दर्जी, खजना गुरूङ, रेला दर्जी, रेला दर्जीको आमा नाम थाहा नभएकी महिला अं. वर्ष ३४ का नाउँमा यस अदालतबाट जारी भई गएको म्यादी पुर्जी निजहरूका नाउँमा मिति २०६१/११/२८ मा तामेल भएकोमा उक्त तामेली म्यादभित्र हाजिर हुन नआई सुरू म्यादै गुजारी बसेका रहेछन् ।
मिति २०६२/११/९ मा भएको सुरू अदालतको फैसलाः
चिरपट दाउरा र लाठीजस्ता वस्तुले मृतकको टाउकोसमेतमा गरेको प्रहारबाट किसान परियारको मृत्यु भएको देखिँदा प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसुर गरेको देखिन आयो । प्रतिवादी सुर्य परियार र विनोद गुरूङलाई सोही ऐनको १३(३) अनुसार जन्मकैद हुने ठहर्छ । प्रतिवादी विनोद गुरूङ र सुर्य परियारको उमेर वारदात गर्दाको अवस्था १६/१७ वर्षको मात्र
देखिन्छ । प्रतिवादीहरूले ज्यानै लिने पुरानो रिसइवी भएको कारण कर्तव्य गरी मारेको अवस्था पनि देखिन आउँदैन । घटना घटेको बखत रक्सी सेवन गरेको भन्ने प्रस्ट देखिन्छ । प्रतिवादीमध्येका विनोद गुरूङलाई मृतकले हतियारसमेत पहिला छोडेको भन्ने प्रतिवादीको बयान कागज तथा मिसिल सामेल घा-जाँच केस फारामबाट समेत देखिन आएको छ । किसान परियारको घटना घटेको समयमा तत्काल मृत्यु भएको नभई २ दिनको अन्तरालमा मरेको
देखिन्छ । प्रतिवादीहरूले आफूले गरेको कसुर अदालतमा समेत आएर स्वीकार गरी इमान्दारितासमेत देखाएको कारणले अपराध हुँदाको अवस्था विचार गर्दा प्रतिवादीहरूलाई जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिएकोले निजहरूलाई जनही १० (दश) वर्ष कैद गर्न उपयुक्त हुँदा अ.बं. १८८ नं. बमोजिम राय पेस गरिएको छ भन्नेसमेत फैसला भई फरारी प्रतिवादी भेषे दर्जी, सोमबहादुर परियार, पदम गुरूङ, निरू गुरूङ, रेला दर्जी, खजना गुरूङ तथा रेला दर्जीको आमा वर्ष ३४ की नाम थाहा नभएकीको हकमा प्रस्तुत मुद्दा मुलुकी ऐन, अ.बं. १९० नं. बमोजिम मुलतबी राखी दिएको छ भन्नेसमेत बेहोराको सुरू अदालतबाट भएको
फैसला ।
सुरू अदालतको आदेशानुसार मुलतबीबाट मुद्दा जागेकोः
प्रतिवादी चित्रकुमारी दमाई, पदमबहादुर गुरूङ र खजना गुरूङको हकमा मुद्दा क्रमश: मिति २०७१।०१।०८, मिति २०७१।५।२९ र मिति २०७१।७।२३ का आदेशानुसार मुलतबीबाट
जागेको ।
प्रतिवादी चित्रकुमारी दमाईले सुरू अदालतमा गरेका बयानः
मिति २०६१।१।२८ गते साँझ निज किसान परियारको घर वारदातस्थलमा म गएको होइन । मैले निज किसान परियारलाई कुटपिट गरेकोसमेत
होइन । मेराउपरको अभियोग दाबी झुठ्ठा हो । प्रतिवादी विनोद परियारसमेतले अधिकारप्राप्त अधिकारीसमक्ष बयान कागज गर्दा के कसरी मसमेत गई कुटपिट गरेको भनी लेखाए सो मलाई थाहा छैन । मैले हात, मुक्काले हानेकोसमेत होइन । विनोद गुरूङसमेतले दाउराले हानी निज किसान परियारको मृत्यु भएको भन्ने कुरा भोलिपल्ट बिहान मात्र थाहा पाएकी हुँ । म बालबच्चा भएकी महिलाले बच्चाहरू झगडा गरेको ठाउँमा गई छुट्टयाउनु पर्नेमा उल्टो मैले कुटपिट गरेको भनी लगाएको आरोप झुठ्ठा हुँदा मैले अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन, सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी चित्रकुमारी दमाईले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी खजना गुरूङले सुरू अदालतमा गरेका बयानः
मैले जाहेरवालाका छोराहरूलाई हात, मुक्कासमेतले कुटपिट गरेको केही होइन । म सो घटनास्थलमा थिइनँ । घटनास्थलमा हो-हल्ला भई हारगुहारको आवाज आएकोले म त्यहाँ के भयो भनी गएको हुँ । म त्यहाँ पुग्दा रामबहादुर परियार र किसान परियार भुइँमा लडिरहेका थिए । प्रतिवादीमध्येका विनोद गुरूङसमेत त्यहाँ थिएनन् । मैले त्यहाँ गई घाइतेलाई पट्टीसमेत बाँधी दिएको हुँ । मैले कुनै कुटपिट नगरेको हुँदा मेराउपरको अभियोपत्र झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी खजना गुरूङले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी पदमबहादुर गुरूङले सुरू अदालतमा गरेका बयानः
मेराउपर लगाइएको अभियोग झुठ्ठा हो । मैले यी घाइते रामबहादुर परियार र मृतक किसान परियारलाई कुटपिट गरेको होइन । मिति २०७१/१/२८ गते घटनास्थलसमेत गएको होइन, किन जाहेरी दिए थाहा भएन । अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी पदमबहादुर गुरूङले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादीका साक्षी सुर्जे गुरूङ र मिनाकुमारी गुरूङले गरेको बकपत्रः
विनोद गुरूङ, सुर्य परियार र किसान परियारको बीचमा झगडा भएको रहेछ । झगडा भएको खबर पाएपछि त्यहाँ जाँदा पदमबहादुर गुरूङ झगडा गरेको ठाउँमा थिएनन् । उनी गाउँमा नै थिए । यी प्रतिवादीले किसान परियारलाई घटनास्थलमा गई कुटपिट गरेका होइनन् भन्ने एकै मिलान बेहोराको सुर्जे गुरूङ र मिनाकुमारी गुरूङले गरेको बकपत्र ।
सुरू अदालतको मिति २०७१।१२।१५ गतेको फैसलाः
मृतकलाई यी प्रतिवादीहरूले के कुन हतियार प्रयोग गरेको भन्ने जाहेरी बेहोराबाट देखिँदैन । मौकाको वारदातमा मृतक किसान दर्जीसँगै घाइते भएका रामबहादुर परियारको कागजबाट वारदातस्थलमा यी प्रतिवादीहरूको उपस्थिति रहेको भन्ने
देखिँदैन । अदालतमा बयान गर्दा दुवै सहअभियुक्तहरूले आफूहरूले मात्र कसुर गरेको स्वीकार गरी बयान गरेको र यी प्रतिवादीहरूलाई कसुरमा पोल गर्न सकेको देखिँदैन । यी प्रतिवादीहरू उपरको वादीले लिएको अभियोग दाबी शंङ्कारहित तबरले प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षले पुष्टि गर्न नसकेकोले प्रतिवादीहरू उपरको अभियोग दाबी पुग्न नसक्ने भई प्रतिवादीहरू चित्रकुमारी दमाई, खजना गुरूङ र पदमबहादुर गुरूङले प्रस्तुत अभियोग दाबीको कसुरबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू कास्की जिल्ला अदालतको मिति २०७१/१२/१५ को फैसला ।
पुनरावेदन अदालतमा पेस गरेको पुनरावेदन पत्रः
सुरूको फैसलामा चित्त बुझेन । प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूसमेत भई मिति २०६१/१/२८ मा किसान परियारलाई लात्ता, मुक्का र दाउराले टाउकोसमेतमा प्रहार गरेकोमा सोही चोट पीडाको कारण उपचारको क्रममा किसान परियारको मिति २०६१/१/३० मा मृत्यु भएको भन्ने किटानी जाहेरी, मौकामा पक्राउ परेका प्रतिवादी विनोद गुरूङ र सुर्य परियार साबित रही यी प्रत्यर्थी प्रतिवादीहरूसमेत सो वारदातमा संलग्नता रहेको भनी पोल गरेको देखिएको छ । सहप्रतिवादीहरू सुर्य परियार, विनोद गुरूङ तथा यी प्रतिवादीको उक्त वारदातमा समान संलग्नता र समान हैसियत देखिएको अवस्थामा यी प्रत्यर्थी प्रतिवादी चित्रकुमारी दमाई अदालतमा इन्कार रहेपनि सो इन्कारी अन्य प्रमाणबाट समर्थित नभएको स्थितिमा कसुरबाटै सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । प्रतिवादी खजना गुरूङसमेतका व्यक्तिहरूले किसान परियार र रामबहादुर परियारसमेतलाई कुटपिट गर्ने कार्य गरेका थिए भनी मौकामा पक्राउ परेका प्रतिवादी विनोद गुरूङसमेत आफूहरू साबित रही पोल गरेको अवस्था छ भने अदालतमा आफूहरूले कुटपिट गरेको र अन्य प्रतिवादीहरू घटनास्थलमै रहे भएको कुरा लेखाई दिएका छन् । प्रतिवादीमध्येका पदमबहादुर गुरूङसमेत उपर किटानी जाहेरी परेको, वारदातपश्चात् फरार रहेका, अदालतमा बयान गर्दा कुटपिटमा आफ्नो संलग्नता नरहेको भने पनि सो कुरा अन्य प्रमाणबाट पुष्टि नभएको, सहअभियुक्तहरू उपर कसुर ठहर भई अन्तिम फैसला भई कैद भुक्तान गरिरहेको अवस्थामा यी प्रतिवादीहरूले आफूहरू वारदातमा नरहेको भन्ने अदालतमा भएको इन्कारी बयान अन्य प्रमाणले पुष्टि नगरेको स्थितिमा पनि आरोपित कसुरबाटै सफाइ दिने गरी भएको त्रुटिपूर्ण फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेद पत्र ।
पुनरावेदन अदालत पोखराको मिति २०७२।१२।२५ गतेको फैसलाः
अभियोजन पक्षले प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम यी प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गर्ने आपराधिक मनसाय राखी आपराधिक कार्य गरेको र उक्त कार्यको परिणामको पूर्वजानकारी र परिणाम घटाउने इच्छासमेत यो यसरी रहेको भनी वस्तुनिष्ठ एवं विश्वसनीय प्रमाण प्रस्तुत गर्न नसकेको परिप्रेक्ष्यमा अनुमान र अड्कलको आधारमा अभियोग दाबीबमोजिम निज प्रतिवादीहरूलाई कसुरदार ठहर्याई सजाय मिल्दैन । अत: सुरू अदालतबाट यी प्रतिवादी पदमबहादुर गुरूङ, खजना गुरूङ, चित्रकुमारी दमाईलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याई भएको फैसलालाई अन्यथा मान्न मिलेन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पोखराको फैसला ।
सर्वोच्च अदालतमा पेस गरेको पुनरावेदन पत्रः
प्रतिवादी पदमबहादुर गुरूङ, चित्रकुमारी दमाई र खजना गुरूङउपर समेत किटानी जाहेरी परेको, आरोपित कसुर अपराधबाट उन्मुक्ति पाउने अभिप्रायले छलछाम गरी मौकाको अनुसन्धानका क्रममा र अदालतको आदेशसमेतको अवज्ञा गरी म्यादमा हाजिर नभई लुकीछिपी बसी मुद्दा फैसला भई आफ्नो हकमा मुल्तबी रहेपश्चात् मात्र अदालतसमक्ष उपस्थित भई बयान गर्दा आरोपित कसुरमा इन्कार रहन खोजे तापनि स्वयं खजना गुरूङ आफू वारदातको समय वारदातस्थलमा उपस्थित भएको तथ्यलाई स्वीकार गरेकी छन् । निजसमेतको उक्त वारदातमा सहभागिता रहेको तथ्यलाई मौकाको जाहेरीलगायत प्रतिवादी विनोद गुरूङ, सुर्य परियारको मौकाको बयान, मौकामा कागज गर्ने घाइते रामबहादुर परियार, भिमबहादुर गुरूङ, पोडे परियारसमेतको भनाई लेखाइबाट थप पुष्टि भइरहेको छ । सहप्रतिवादीहरू विनोद गुरूङ र सुर्य परियारले अनुसन्धानको क्रममा बयान गर्दा कसुरमा पूर्णतः साबित हुँदै यी प्रतिवादीहरू पदमबहादुर गुरूङ, चित्रकुमारी दमाई र खजना गुरूङसमेतले पनि मृतक किसान दर्जीलाई लात, मुक्कासमेतले प्रहार गरेको भन्ने पोल गरेको अवस्थामा सबुद प्रमाणहरूको न्यायोचित मूल्याङ्कन नगरी निजहरूलाई सफाइ दिएको कास्की जिल्ला अदालतको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पोखराबाट भएको उक्त फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
नियमबमोजिम आजको दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न सम्पूर्ण कागजातहरू अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित शाखा अधिकृत श्री नुमराज खनालले यी प्रतिवादीहरू उपर किटानी जाहेरी परेको, प्रतिवादीमध्येका विनोद गुरूङ र सुर्य परियार आफू साबित भई यी प्रतिवादीहरूलाई पोल गरेका, मौकामा बुझिएका व्यक्तिहरूले यी प्रतिवादीहरू समेतले कुटपिट गरेका कारण किसान परियारको मृत्यु भएको भनी कागज गरेका प्रमाणसमेतबाट घटना बारदातमा यी प्रतिवादीहरू पदमबहादुर, खजना गुरूङ र चित्रबहादुर गुरूङसमेतको संलग्नता पुष्टि भएको हुँदाहुँदै यी प्रतिवादीलाई सफाइ दिने गरी भएको सुरू जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
अब यसमा सुरू कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको मिति २०७२।१२।२५ को फैसला मिलेको छ छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी सुर्य परियारसमतेका ९ जनाले मृतक किसान परियारलाई मिति २०६१।१।२८ गतेका दिन प्रतिवादी विनोद गुरूङको बारीमा मकै खन्न नआएको रिसइवीका कारण मृतकको घरमा गई झगडा गरी प्रतिवादी विनोद गुरूङले दाउराले, प्रतिवादी सुर्य परियारले लाठीले तथा अन्य प्रतिवादीहरूले हात मुक्काले किसान परियार र निजको दाजु रामबहादुर परियारलाई कुटपिट गरेकोमा किसान परियारको सोही चोटका कारण मिति ०६१।१।३० मा मृत्यु भएको हुँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. विपरीतको कसुर अपराधमा ऐ. १३ (३) बमोजिम सजाय गरिपाउँ भनी अभियोग दायर भएको देखियो । सुरू अदालतबाट जारी भएको वारेन्ट र म्यादी पुर्जीमा उपस्थित नभई तामेली म्याद गुजारी बस्ने पदमबहादुर गुरूङसमेत ७ जना प्रतिवादीको हकमा अ.बं.१९० नं. बमोजिम मुद्दा मुलतबीमा राखी प्रतिवादीमध्येका सुर्य परियार र विनोद गुरूङलाई कसुरदार कायम गरी ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम जन्मकैद सजाय हुने ठहर्याई अ.बं.१८८ नं. बमोजिम १० वर्ष कैद गर्नु उपर्युक्त हुने भनी रायसमेत व्यक्त गरी मिति ०६२।११।९ मा सुरू कास्की जिल्ला अदालतबाट फैसला भएको देखियो । सो फैसलाउपर साधक जाहेर भई पुनरावेदन अदालत पोखरामा पेस भएकोमा उक्त अदालतले सुरू जिल्ला अदालतको फैसला र अ.बं.१८८ नं. बमोजिम व्यक्त भएको रायसमेत सदर गरी मिति ०६४।८।१० मा फैसला गरेको पाइयो । सो फैसलाउपर प्रतिवादीमध्येका सुर्य परियारको पुनरावेदन परी पुनरावेदनको रोहमा र प्रतिवादीमध्येका विनोद गुरूङको हकमा साधकको रोहमा यस अदालतमा पेस भई पुनरावेदन अदालत पोखराको फैसला सदर गरी मिति २०६९।०३।३१ मा फैसला भएको देखियो । प्रतिवादीमध्येका पदम गुरूङसमेत ७ जना प्रतिवादीको हकमा अ.बं. १९० नं. बमोजिम मुल्तबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादी पदमबहादुर गुरूङ, खजना गुरूङ र चित्रकुमारी दमाईको हकमा मुल्तबीबाट जगाई यी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ हुने ठहर गरेको सुरू जिल्ला अदालत कास्कीको मिति २०७१।१२।१५ गतेको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको मिति २०७२।१२।२५ गतेको फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकारको यस अदालतमा प्रस्तुत पुनरावेदन परेको पाइयो ।
३. वादी नेपाल सरकारले पुनरावेदन पत्रमा यी प्रतिवादीहरू पदमबहादुर गुरूङ, खजना गुरूङ र चित्रकुमारी दमाईउपरसमेत पनि किटानी जाहेरी परेको र सहअभियुक्त विनोद गुरूङ र सुर्य परियार आफू साबित भई यी प्रतिवादीहरूलाई पोल गरेको अवस्थामा पनि प्रतिवादीहरूलाई सफाइ दिने गरेको सुरू कास्की जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसला उल्टी गरिपाउँ भनी मुख्य पुनरावेदन जिकिर रहेको देखियो । कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान गरी अभियोग पुष्टि गर्ने क्रममा जाहेरी दरखास्तको महत्त्वपूर्ण भूमिका रहन्छ । जाहेरी दरखास्तमा लेखिएका कुराहरूलाई आधार बनाई अपराधको अनुसन्धानकर्ताले अपराधको सम्बन्धमा महत्त्वपूर्ण सूचना संकलन गरी सम्भाव्य अपराधीको पहिचान गर्न र अपराध पुष्टि गर्न सहयोग प्राप्त गर्दछ । जाहेरीलाई अभियोग प्रमाणित गर्ने एक महत्त्वपूर्ण प्रमाण मानिन्छ तर जाहेरी दरखास्तमा उल्लेख भएको बेहोरा अन्य संकलित प्रमाणबाट समर्थित भएको हुनुपर्दछ । जाहेरी दरखास्त स्वयंमा निश्चयात्मक (Conclusive) प्रमाण होइन । अभियोग लगाइएको कुनै पनि व्यक्तिका विरूद्ध प्रमाणको रूपमा ग्रहण गर्नुपूर्व जाहेरी दरखास्तको न्यायिक परीक्षण आवश्यक हुन्छ । प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम त्यस्तो जाहेरी दिने व्यक्ति स्वयम् साक्षीका रूपमा अदालतमा उपस्थित भई आफूले जाहेरी दरखास्तमा लेखाएको कुरालाई अदालतमा बकपत्र गरी समर्थन गरेको स्थिति पनि विद्यमान हुनुपर्दछ । अन्यथा जाहेरीको बेहोराले अपराध पुष्टि गर्ने प्रामाणिक महत्त्व ग्रहण गर्न सक्ने देखिँदैन । प्रस्तुत मुद्दाको जाहेरी बेहोरा हेर्दा प्रतिवादी चित्रकुमारी दमाईको नाम किटानी रूपमा जाहेरीमा उल्लेख गर्न नसकेको, प्रतिवादी पदमबहादुर गुरूङसमेतले छोराहरूलाई दाउराले हानेको तथा प्रतिवादी खजाना गुरूङले छोरालाई घरपछाडि बोलाई लगेको भनी उल्लेख गरेको देखिन्छ । जाहेरी बेहोरामा यी प्रतिवादीहरूले के कस्तो हतियार वा काठ दाउरा प्रयोग गरी मृतकलाई मार्नमा यो यसको यस्तो भूमिका रह्यो भनी उल्लेख गरेको देखिँदैन । जाहेरवालालाई अभियोजन पक्षले साक्षीको रूपमा अदालतमा उपस्थित गराई जाहेरी दरखास्तमा लेखिएको कुरालाई समर्थन गराउन सकेको अवस्था पनि देखिएन । यस्तो अवस्थामा किटानी जाहेरी परेकै आधारमा अभियोग दाबीबमोजिम यी प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
४. सहअभियुक्त विनोद गुरूङ र सुर्य परियार आफू साबित भई यी प्रतिवादीहरूलाई पोल गरेको अवस्थामा पनि प्रतिवादीहरूलाई सफाइ दिने गरेको भन्ने पुनरावेदन जिकिर देखिन्छ । सहअभियुक्तको पोल आफैँमा सारभूत प्रमाण होइन, यो न्याय निर्क्योल गर्न एउटा थप आधार मात्र हो । यसैलाई मूल प्रमाण मानी इन्साफ गरिने पनि होइन । सहअभियुक्तको पोल स्वतन्त्र प्रमाणबाट समर्थित हुनुपर्छ तब मात्र त्यसलाई प्रमाणको रूपमा लिन सकिन्छ । त्यसरी समर्थित नभएमा प्रमाणमा लिन मिल्ने देखिँदैन । सहअभियुक्तले अपराध गर्नमा समान दायित्व कबुल गरी पोल गरेको नदेखिएको अवस्थामा सहअभियुक्तको पोल कसुर कायम गर्ने आधारभूत प्रमाणको रूपमा स्थापित हुने देखिएन । मौकामा बयान गर्ने सहप्रतिवादी विनोद गुरूङ र सुर्यबहादुर परियारले यी प्रतिवादीसमेत वारदातमा उपस्थित भई घाइते रामबहादुर र मृतक किसान परियारलाई हात मुक्कासमेतले चोट छाडेको भने तापनि सुरू अदालतसमक्ष दुवै सहप्रतिवादीले कसुर आफूहरूले मात्र गरेको तथ्य स्वीकार गरी बयान गरेको पाइयो । यी प्रतिवादीहरू उपर पोल गर्न सकेको देखिँदैन । मौकामा बुझिएका भीमबहादुर गुरूङ, पोडे परियारसमेतका व्यक्तिहरूले सुनेको आधारमा यी प्रतिवादीहरूको वारदातमा संलग्नता देखाई कागज गरेको देखिए तापनि के कस्तो भूमिकामा वारदातमा उपस्थित भएको हो भन्ने कुरा निजहरूको मौकाको कागज बेहोराबाट खुलेको देखिँदैन । यी प्रतिवादीहरूले सुरू अदालतसमक्ष आफू वारदातस्थलमा उपस्थित नभएको भनी कसुरमा पूर्ण इन्कार रही बयान गरेको देखिन्छ । उक्त बयानलाई निजहरूको साक्षीको बकपत्रसमेतले सम्पुष्टि गरेको अवस्था छ । प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहेकोमा यी प्रतिवादीहरूको कसुर शंकारहित तबरबाट वादी पक्षले पुष्टि गर्न सकेको देखिँदैन । ठोस सबुद प्रमाणको अभावमा उल्लिखित ३ जना प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर गरी सुरू अदालतबाट भएको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको फैसलालाई अन्यथा भन्न सकिएन । सहअभियुक्तहरूको पोलको आधारमा यी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर मनासिब देखिएन ।
५. तसर्थ माथि विवेचित आधार प्रमाणहरूबाट यी प्रतिवादीहरू पदमबहादुर गुरूङ, खजना गुरूङ र चित्रकुमारी दमाईलाई अभियोग दाबीको कसुरबाट सफाइ दिने ठहर गरेको सुरू कास्की जिल्ला अदालतको मिति २०७१।१२।१५ गतेको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको मिति २०७२।१२।२५ गतेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. प्रकाशमान सिंह राउत
इजलास अधिकृत: डल्लुराम चौधरी
इति संवत् २०७५ साल असार २० गते रोज ४ शुभम् ।