निर्णय नं. १००३८ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
फैसला मिति : २०७४।१२।१९
मुद्दा: कर्तव्य ज्यान
०७२-CR-०५४०
पुनरावेदक / प्रतिवादी : जिल्ला इलाम माइपोखरी गा.वि.स. वडा नं. ३ घर भई ऐ. वडा नं. २ पुवाखोला बजारमा बसोबास भई हाल कारागार कार्यालय इलाममा थुनामा बसेको विरेन राई
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला ताप्लेजुङ हाङदेवा गा.वि.स. वडा नं.७ बस्ने वीरबहादुर कार्कीको जाहेरीले नेपाल सरकार
०७२-CR-०९९८
पुनरावेदक / वादी : जिल्ला ताप्लेजुङ हाङदेवा गा.वि.स. वडा नं. ७ बस्ने वीरबहादुर कार्कीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला इलाम माइपोखरी गा.वि.स. वडा नं.३ घर भई ऐ. वडा नं.२ पुवाखोला बजार बस्ने जितबहादुर राईको छोरा विरेन राई
भवितव्य ठहर्न, ज्यान लिने इविलाग वा मनसाय नभएको मात्र होइन प्रतिवादीले गरेको कार्यबाट पीडित मर्ला जस्तो पनि देखिनु हुँदैन । अर्थात् गरेको कुनै कार्यबाट मर्ला जस्तो देखिन्छ, अर्थात् गरेको कार्य र निस्केको परिणामबीच तादात्म्यता देखिन्छ र सोको जानकारी (Knowledge) भई कार्य गरेको छ भने त्यसलाई भवितव्य मान्न मिल्दैन । भवितव्य हो वा होइन भन्नेमा कारण र परिणामको के कस्तो सम्बन्ध छ सो हेरिनु पर्ने ।
(प्रकरण नं.९)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ताद्वय श्री गोपाल लामिछाने र श्री हरिशंकर ज्ञवाली
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री विजयकान्त मैनाली र विद्वान् अधिवक्ता श्री शंकर लिम्बू
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:
मा. जिल्ला न्यायाधीश श्री प्रकाश ढुंगाना
इलाम जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री रमेश पोखरेल
मा. न्यायाधीश श्री सहदेवप्रसाद बास्तोला
पुनरावेदन अदालत, इलाम
फैसला
न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
जिल्ला इलाम इनरूवा नगरपालिका वडा नं. २ स्थित इलाम जिल्ला अस्पताल इलाममा रहेको पोस्टमार्टम घरको भित्र दक्षिण शिर र उत्तर खुट्टा दुवै हात सिधा अवस्थामा रहेको दाहिने गालामा निलडाम, निधारको दाहिनेतर्फ निलडाम, नाकको डाँडीमा निल डाम, चिउँडोमा खोस्रिएको चोट (दाग) बायाँ हातको नाडीमा खोस्रिएको दाग, दायाँ नलीखुट्टामा खोस्रिएको दाग रहेको मृतक जानुका राईको घटनास्थल लास जाँच मुचुल्का ।
पुवाखोला टोलस्थित पूर्वमा मोहनसिंह लिम्बूको मूल घर, पश्चिममा गोविन्द गुरूङको घर, उत्तरमा मेची राजमार्ग, दक्षिणमा मोहनसिंह लिम्बूको बारी यति चार किल्लाभित्र टिनको छाना भएको भुइँतल्लासहित दुई तला भएको मोहनसिंह लिम्बूको घरमा डेरा गरी घर भाडामा लिई बस्ने विरेन राईले आफ्नै श्रीमती जानुका राईलाई सोही डेरा कोठामा कुटपिट गरी घाइते बनाएको भनिएको घटनास्थल मुचुल्का विवरण ठिक छ । साथै सो घरको पश्चिम दक्षिणपट्टिको कोठाको फल्याक (भुइँमा) रगत जस्तो रातो पदार्थको थोपाहरू देखिएको र सानो बालकले लगाउने कपडाको सर्टमा रगत जस्तो पदार्थ लागि खाटमुनि फालिएको देखिएको साथै फल्याकमा लागेको रगतलाई काठसहित काटेर उठाएको प.चि.JR र कपडामा लागेको रगतसमेत उठाएको प.चि.JS र प्रहरीले लिई गएको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।
म जाहेरवालाको छोरी जानुका राईले विरेन राईसँग भागी विवाह गरी इलाम पुवाखोला बजारमा बस्दै आएकोमा विरेन राईले मलाई कुटपिट गर्छन् भनी फोनबाट सुनाउने गरेकोमा मिति २०७१।६।२ गते राति ८:३० बजे अभियुक्त विरेन राईले निधारमा, नाकमा चन्नीलगायतका शरीरका विभिन्न भागमा कुटपिट गरेको कारण नाकबाट रक्तश्राव भई बेहोस अवस्थामा लडेपछि घर परिवारका सदस्यले उपचारको लागि इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हुँदा निज अभियुक्त विरेन राईकै कुटाईबाट मृतक छोरी जानुका राई (कार्की) को मृत्यु भएको हुँदा अभियुक्त विरेन राईलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको विरबहादुर कार्कीको जाहेरी दरखास्त ।
मिति २०७१।६।२ गते म पुवाखोलामा बालुवा निकाल्ने काम गरी सो दिनको साँझ अं. ६:३० बजेतिर घरमा आउँदा मेरो श्रीमती मृतक जानुका राई मातेको अवस्थामा देखेँ, छोरी मैले बोकेर खाना बनाउनु भनी म मेरो बाबुको डेराकोठा अर्को घरतर्फ गई केही समय बसेर घरमा आई खाना खाएर पुनः बजारतर्फ गई घरमा फर्किएर आउँदा मेरो श्रीमतीले पुनः मादक पदार्थ सेवन गरेर होला ओछ्यानमा मस्त निदाएकी र १० महिनाकी छोरी रोइरहेकी अवस्थामा देखेर छोरी बोकेर निज जानुका राईलाई उठाई निज ओछ्यानमा बसेपछि किन यसरी जाँड रक्सी खाएको मैले नखाउ भन्दा किन नमानेको भनी मलाई अतिनै रिस उठेकोले निज जानुका राईको गाला अनुहारमा मुड्की बक्सिङले भकाभक हानेँ र गालामा समेत १०–१२ पटक थप्पड हिर्काएपछि निज जानुका राई सोही स्थानमा लडेपछि के भयो भनी बोलाउँदासमेत नबोलेको कारण सानी छोरी लिएर बाबुको घरमा गई बाबु आमालाई बोलाएर ल्याई उपचार गराउन पर्छ भन्ने सल्लाहअनुसार इलाम अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी विरेन राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
Cause of Death: Blunt force trauma to the abdomen भन्नेसमेत बेहोराको पोस्टमार्टम रिपोर्ट ।
मिति २०७१।६।२ गते राति ८:३० बजेतिर विरेन राईले मेरो श्रीमती बिरामी भई गाडी खोजिदिनु पर्यो भनी मेरो घरमा आएको कारण निजको घरमा गई हेर्दा जानुका राई बेहोस अवस्थामा भुइँको ओछ्यानमा सुतिरहेकी थिइन्, निकै बिरामी होला भनी त्यहीँ पुवाखोला बजारकै भ्यान खोजेर इलाम अस्पताल पठाएको हो । बिरामी लिएर प्रतिवादी विरेन राई पनि गएका थिए । अस्पतालमा पुगेपछि बिरामीको मृत्यु भएको थाहा पाएपछि मृतकको अनुहारमा हेर्दा निलडामसमेत थियो । घरबाट अस्पताल लैजान लाग्दा नै जानुका राईको नाकबाट रगत आएको थियो र कोठाको फल्याकमा समेत रगतको थोपा छिटाहरू लागेको देखेको थिएँ । प्रतिवादी विरेन राईलाई बुझ्दा निज विरेन राईले कुटपिट गरेको कारणबाटै जानुका राईको मृत्यु भएको हो भन्नेसमेत बेहोराको गोविन्द गुरूङको घटना विवरण कागज ।
मेरो घर जिल्ला इलाम माईपोखरी गा.वि.स. वडा नं.२ मा पर्दछ । विगत २ वर्ष अगाडिदेखि नै ऐ. वडा नं.२ स्थित मोहन सिंह लिम्बूको घरमा डेरा गरी बस्दै आएका थियौं । विरेन राई र मृतक जानुका राई मेरो छोरा बुहारी हुन् । निजहरूबाट १ छोरा र १ छोरी जाय जन्म भएको र निजहरू मोहन सिंह लिम्बूकै अर्को घरमा कोठा डेरा गरी बस्दै आएका थिए । वारदात मिति २०७१।६।२ गते रातिको ८:३० बजेको समयमा छोरा विरेन राई साथमा १० महिनाको छोरी लिई म बसेको डेरा घरमा आई बुहारी जानुका राई बिरामी भइन् के भएछ जाउँ बुबा भनेर भनेपश्चात म वारदात स्थानमा गई हेर्दा बुहारी जानुका राई कोठाको भुइँमा नाकबाट रगत आई लडी सुतिरहेको अवस्थामा देखी अन्य मानिसहरू समेत भेला भई तत्काल उपचारको लागि गाडीमा इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । हाल मेरो छोरा विरेन राई प्रहरी हिरासतमा रहेकोले आवश्यक अनुसन्धान गरिपाउँ भन्नेसमेत बेहोराको जितबहादुर राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
जिल्ला इलाम माईपोखरी गा.वि.स. वडा नं.२ घर भई हाल ऐ. वडा नं.२ स्थित मेरो घरमा विगत २ वर्षअगाडि देखि प्रतिवादी विरेन राई र मृतक जानुका राई कोठा डेरा गरी बस्दै आएका थिए । प्रतिवादी विरेन राई र मृतक जानुका राईले मादक पदार्थ सेवन गरी झै-झगडा वादविवाद हुने गरेको भनी सुनी थाहा पाएको थिएँ । वारदात मिति २०७१।६।२ गते रातिको ८:३० बजेको समयमा प्रतिवादी विरेन राई मेरो घर कोठामा आई मेरो श्रीमती बिरामी भइन् अस्पताल लानु पर्यो जाउँ भनेपश्चात् म निजको कोठामा गई हेर्दा मृतक जानुका राईको नाकबाट रगत बगिरहेको देखी अस्पताल लानुपर्छ भनेर तत्काल गाडी खोजी इलाम अस्पताल ल्याउँदै गर्दा निज जानुका राईको मृत्यु भएको हो । पछि प्रतिवादी विरेन राईले नै भनेअनुसार मृतक जानुका राईले मादक पदार्थ सेवन गरेको कारणले रिस आवेसमा आई प्रतिवादी विरेन राईले गाला अनुहारमा बक्सिङले हानी भुइँमा लडाएका रहेछन् । मृतक जानुका राईको प्रतिवादी विरेन राईकै कुटपिटबाट मृत्यु भएको हुन सक्छ भन्नेसमेत बेहोराको मोहनसिंह लिम्बूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
मिति २०७१।६।२ गते प्रतिवादी विरेन राई मेरो श्रीमती बिरामी भई भनी राति अं. ८:३० बजेको समयमा भनेकोले मसमेत गई हेर्दा जानुका राई बेहोस भई ओछ्यानमा सुतिरहेकी देखेको कारण के भयो चाडो अस्पताल लानुपर्छ भनी इलाम अस्पतालमा पुगेपछि मृत्यु भएको हामीहरूले थाहा पाएको हो । मृतक जानुका राईको अनुहारमा निलडाम चोट र नाकबाट समेत रगत आएको कारण प्रतिवादी विरेन राईकै कुटाइको कारण जानुका राईको मृत्यु भएकोमा मलाई पूर्ण विश्वास
लाग्छ । निज प्रतिवादीले यसअघि पनि बेला बखत के कुन विषयमा झै-झगडा गरी कुटपिट गर्ने गर्दथेँ भन्ने सुनेको थिएँ भन्नेसमेत बेहोराको तिलबहादुर गुरूङसमेतका मानिसहरूले प्रायः एकै मिलान हुने गरी लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
मैले मृतक जानुका राईको पेटमा लात्ताले समेत प्रहार गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी विरेन राईले गरिदिएको ततिम्बा बयान ।
प्रतिवादी विरेन राईको कुटपिटबाट मृतक जानुका राईको मृत्यु भएको स-प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी विरेन राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(३) नं. को कसुर अपराधमा ऐ.ऐन ऐ.महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकारको तर्फबाट प्रस्तुत भएको अभियोग पत्र ।
मिति २०७१।६।२ गते म पुवाखोलामा गिटी बालुवा निकाल्ने काम गरी करिब ५:३० बजे कोठामा आउँदा श्रीमती घरकोठामा रहिन छिन् र केही समयपछि निज मातेको अवस्थामा छोरी लिएर आइन र खाना खाई म बुबाको तिर सिनेमा हेर्न गई आउँदा छोरी रोई रहेकी थिइन् भने श्रीमती जानुका निदाई रहेकी हुँदा उनलाई बोलाई उठाएपछि विवाद भयो र मसँग मुख लागिन् र मैले ३/४ थप्पड हानेपछि नाकबाट रगत बग्न थाल्यो र मलाई डर लागि बुबा आमालाई भन्दा उनीहरू आउनुभयो र अस्पताल लानु भनी गाडीमा अस्पताल ल्याई पुर्याउँदा उनको मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी विरेन राईले सुरू जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादी विरेन राईलाई मुलुकी ऐन अदालती बन्दोबस्तको महलको ११८ नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने सुरू अदालतको मिति २०७१।६।२९ को आदेश ।
मिति २०७१।६।२ गते बेलुका ६,७ बजेको समयमा विरेन राई मेरो श्रीमती बिरामी छ हस्पिटल लानु पर्यो जाउँ भनेकाले म बाटोमा निस्केँ । त्यही प्रतिवादी विरेनले बिरामी मृतकलाई ल्याई गाडीमा चढाए त्यसपछि मसमेत सोही गाडीमा चढी बिरामी लिई इलाम अस्पतालमा ल्याई उपचार गराउने क्रममा जानुका राईको मृत्यु भएको घोषणा हस्पिटलबाट भएको हो । श्रीमान् श्रीमतीको झगडाको कारणबाट मृतकको मृत्यु भएको हो भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्काका मानिस कैलासकुमार पोखरेलले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
मृत्यु के कसरी भएको हो तत्काल मलाई थाहा भएन भोलिपल्ट बिहान घटनास्थलमा लास देख्दा अनुहारमा निलडाम देखेकोले बक्सिङ्गले प्रहार गर्दा मृत्यु भएको हुन सक्छ भन्नेसमेत बेहोराको बुझिएका मानिस गोविन्द गुरूङले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
मृत्युको कारण के भएर भएको हो सो कुरा मलाई थाहा भएन भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचल्काका मानिस जयराज राईले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०७१।६।२ गते राति ८:३० बजे राति प्रतिवादी विरेन राईले कुटपिट गरी मारेको हो भन्नेसमेत बेहोराको जाहेरवाला वीरबहादुर कार्कीले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
यसमा मिसिल संलग्न तथ्य एवम् आधार प्रमाणसमेतबाट प्रतिवादी विरेन राईले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३ (३) नं. को कसुर गरेको पुष्टि हुँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी विरेन राई र मृतक जानुका राई श्रीमान् श्रीमती नाताका रहेका, निजहरूको बीचमा वारदात पूर्व कुनै रिसइवी रहेको भन्ने खुल्न नआएको, ज्यान मार्नका निम्ति योजना बनाई वारदात घटाएको भन्ने नदेखिनुका साथै कुनै हतियारको प्रयोग भएकोसमेत नदेखिँदा प्रतिवादी विरेन राईलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को हुने हुँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. बमोजिम ५ वर्ष कैद सजाय हुने राय व्यक्त गर्दछु भन्ने इलाम जिल्ला अदालतको फैसला ।
मार्नेसम्मको पूर्वरिसइवी मनसाय एवं तयारी गरेर मैले मेरो श्रीमती जानुकालाई कुटपिट गरेको होइन श्रीमतीको नाकबाट रगत आई अप्ठ्यारो भयो भनी श्रीमतीले भनेपछि तत्काल मैले उपचार गर्नको लागि इलाम अस्पतालमा ल्याई उपचार गर्दा गर्दै निजको मृत्यु भएको हो । जाहेरी दरखास्त, वस्तुस्थिति मुचुल्का र बरामदी मुचुल्काका मानिसहरूको बकपत्रबाट पनि सोही तथ्य पुष्टि भएको छ । यसै सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट पनि विभिन्न सिद्धान्तहरू प्रतिपादित भइरहेको अवस्थामा भवितव्य ज्यानतर्फ सजाय तोकिनु पर्नेमा सो नभई सर्वस्वसहित जन्मकैद हुने ठहर गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी भवितव्य ज्यानको कसुरमा मात्र सजाय गर्ने गरी इन्साफ पाउँ भन्ने विरेन राईको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन पत्र ।
यसमा वारदातको रूप, प्रकृति, प्रतिवादीको बयानसमेतका मिसिल संलग्न सबुद प्रमाणको अवलोकनबाट प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरेको सुरूको फैसला फरक पर्न सक्ने हुँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि पुनरावेदन सरकारी वकिल कार्यालय, इलामलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत इलामको आदेश ।
आफ्नी सानी छोरीको हेरविचारसमेत नगरी आमा मादक पदार्थ खाई सुतिरहेको देखी पुनरावेदक प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी आफ्नी श्रीमतीलाई लात्त मुक्का प्रहार गरी मृतकको मृत्यु भएको अवस्थामा पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय गर्नुपर्नेमा १३(३) नं.बमोजिम सजाय गर्ने गरेको सुरू इलाम जिल्ला अदालतको मिति २०७१।८।१६ को फैसला सो हदसम्म उल्टी भई पुनरावेदक प्रतिवादी विरेन राईलाई उल्लिखित ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० दश वर्ष कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत इलामबाट मिति २०७१।१२।३० मा भएको फैसला ।
मार्ने सम्मको पूर्वरिसइवी मनसाय एवं तयारी गरेर मैले मेरो श्रीमती जानुकालाई कुटपिट गरेको होइन । म आफू काममा गएर गलेर आएको बखत मेरी श्रीमतीले रक्सी आएर मातेको र छोरीको हेरचाहसमेत नगरेको र सम्झाउँदासमेत नमानेपछि रिस थाम्न नसकी ३/४ थप्पड हिर्काएको हुँ । श्रीमतीको नाकबाट रगत आई अप्ठ्यारो भयो भनी श्रीमतीले भनेपछि तत्काल मैले उपचार गर्नको लागि इलाम अस्पतालमा ल्याई उपचार गर्दा गर्दै निजको मृत्यु भएको हो । जाहेरी दरखास्त, वस्तुस्थिति मुचुल्का र बरामदी मुचुल्काका मानिसहरूको बकपत्रबाट पनि सोही तथ्य पुष्टि भएको
छ । आवेश प्रेरित हत्याको कसुर स्थापित हुनलाई तत्काल आवेशमा आई तत्कालमा आपराधिक मनसायले नै ज्यान मार्नेसम्मको कार्य गरेको हुनुपर्छ प्रस्तुत मुद्दामा यी तत्त्वहरूको सर्वथा अभाव छ रिसले एक दुई मुक्का हानेपछि तत्काल बिरामीको अवस्थाबारे जानकारी लिई बिरामीको उपचार गरी ज्यान बचाउनको लागि भर मग्दुर कोसिस गर्दा गर्दै श्रीमतीको ज्यान गएको हो । यस्तो अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा उल्लेख भए अनुसार आवेश प्रेरित हत्याको कसुर स्थापित हुने होइन । तसर्थ भवितव्य ज्यानतर्फ सजाय तोकिनु पर्नेमा सो नभई आवेश प्रेरित अपराधमा सजाय हुने गरी पुनरावेदन अदालत इलामबाट भएको फैसला सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भई त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी भवितव्य ज्यानको कसुरमा मात्र सजाय गर्ने गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको विरेन राईको यस अदालतमा परेको पुनरावेदन पत्र ।
मृतकको शरीरमा विभिन्न चोट पटक लागेको, पीडितको प्रतिवादीउपर लक्षित गरी तत्काल आवेगमा आउने कुनै कार्य नगरेको, सुतेको अवस्थामा श्रीमतीलाई अन्धाधुन्ध कुटपिट गरेको, प्रतिवादी विरेन राई र मृतक जानुका राई पति पत्नी रहेको र वारदातको दिनभन्दा अघि पनि प्रतिवादीले मृतकलाई पटकपटक कुटपिट गर्ने गरेको कुरा मृतकको बाबु जाहेरवालाको बकपत्रबाट पुष्टि भई मृतकलाई प्रतिवादीले पहिलेदेखि नै कुटपिट गर्ने गरेको तथ्य स्थापित भएको छ । वारदातको दिन कामबाट घरमा आउँदा श्रीमती जानुका राई मादक पदार्थ सेवन गरेर होला श्रीमती मस्त निदाएको र छोरी रोइरहेको देखिपछि जानुका राईलाई झक्झक्याएर उठाई निज ओछ्यानमा बसेपछि रक्सी नखाउ भन्दा किन नमानेको भनी गाला र अनुहारमा मुक्कीले १०/१२ पटक भकाभक हिर्काएको र जानुका राई लडेपछि बोलाउँदासमेत नबोलेको भनी घटना विवरण उल्लेख गरी अनुसन्धानको क्रममा प्रतिवादीले गरेको बयान गरेको देखिन्छ । प्रतिवादीको सो बयान There is bilateral periovital ecchymosis भनी चोटका विभिन्न नाप साइज उल्लेख भएको मृतकको Autopsy report ले Corroborate गरिरहेको अवस्थामा मृतकलाई प्रतिवादीले जाँड रक्सी खाने गरेको विषयको पूर्वरिसइवी लिई मातेर निदाइरहेको अवस्था झक्झक्याउँदै उठाई चोटमाथि चोट प्रहार गरी मारेको र सो तथ्यलाई लुकाउन श्रीमती बिरामी भएको भनी गाउँघरमा हल्ला गरेको अवस्थासमेतबाट प्रतिवादी विरेन राईले जानी जानी आफ्नो श्रीमतीलाई मारेको स्पष्ट देखिँदादेखिँदै पुनरावेदन अदालत इलामबाट मिति २०७१/१२/३० मा भएको फैसला प्रस्तुत मुद्दाको तथ्य, कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट प्रतिवादीउपर अभियोग दाबी पुष्टि भइरहेको अवस्थामा प्रतिवादीलाई अभियोग माग दाबीभन्दा कम सजाय गर्ने ठहरी पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा वादी नेपाल सरकार र प्रतिवादी विरेन राईसमेतको तर्फबाट पुनरावेदन परेकोले अ.व.२०२ नं. को प्रयोजनार्थ परस्परमा सुनाई कानूनबमोजिम गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७४।१।५ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेसहुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताद्वय श्री गोपाल लामिछाने र श्री हरिशंकर ज्ञवालीले प्रतिवादी विरेन राई र मृतक जानुका राई पति पत्नी रहेको र वारदातको दिनभन्दा अघि पनि प्रतिवादीले मृतकलाई पटकपटक कुटपिट गर्ने गरेको कुरा मृतक छोरीले फोनबाट सुनाउने गरेको भन्ने जाहेरी दरखास्त र सोबमोजिमको जाहेरवालाको बकपत्रबाट मृतकलाई पहिलेदेखि नै पटकपटक कुटपिट गर्ने गरेको भन्ने तथ्य स्थापित भएको छ । वारदातको दिन कामबाट घरमा आउँदा श्रीमती जानुका राई मातेको र छोरी रोइरहेको र श्रीमती रक्सीले मातेको हुँदा रक्सी नखाउ भनी सम्झाउने क्रममा १०/१२ मुक्का अनुहारमा हिर्काएको भन्ने घटना विवरण उल्लेख गरी अनुसन्धानको क्रममा बयान गरेको देखिन्छ । मृतकलाई प्रतिवादीले जाँड रक्सी खाने गरेको विषयको पूर्वरिसइवी लिई मातेर निदाइरहेको अवस्था झक्झक्याउँदै उठाई चोट माथि चोट प्रहार गरी मारेको र सो तथ्यलाई लुकाउन श्रीमती बिरामी भएको भनी गाउँघरमा हल्ला गरेको प्रस्ट देखिन्छ । निज प्रतिवादीले जानी जानी आफ्नो श्रीमतीलाई मारेको स्पष्ट देखिँदादेखिँदै अभियोग मागदाबीविपरीत भएको फैसला त्रुटिपूर्ण भई बदरभागी छ । मृतकको शरीरमा विभिन्न चोट लागेको स्थिति, पीडितको प्रतिवादीउपर लक्षित गरी तत्काल आवेगमा आउने कुनै कार्य नगरेको अवस्थामा सुतेको श्रीमतीलाई अन्धाधुन्ध कुटपिट गरेको कार्य मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. भित्र नपर्ने भएबाट उक्त फैसला त्रुटिपूर्ण भई बदरभागी
छ । निज प्रतिवादीले जानी जानी आफ्नो श्रीमतीलाई मारेको हुँदा अभियोग मागदाबी सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदक प्रतिवादी विरेन राईको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री विजयकान्त मैनाली र विद्वान् अधिवक्ता श्री शंकर लिम्बूले प्रतिवादीले श्रीमती जानुकालाई कुटपिट गरेको होइन । निज काममा गएर गलेर आएको बखत श्रीमतीले रक्सी खाएर मातेको अवस्थामा देखी सम्झाउँदा नमानेपछि रिसले ३/४ थप्पड हिर्काउँदा श्रीमतीको नाकबाट रगत बगेकाले तत्काल उपचारका लागि अस्पतालमा ल्याई उपचारकै क्रममा निजको मृत्यु भएको हो । बिरामीलाई बचाउनको लागि प्रयास गरेको छ । प्रस्तुत मुद्दाको सम्पूर्ण घटना परिस्थिति र मिसिल संलग्न कागज प्रमाणहरूको मूल्याङ्कन र विश्लेषण गर्दा भवितव्य ज्यान मुद्दाको तथ्य स्थापित भइरहेकोले प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको ६ नं. बमोजिम सजाय गर्नुपर्नेमा ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय गर्ने गरी भएको पुनरावेदन अदालत इलामको फैसला कानूनी व्यवस्थाविपरीत भई त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी इन्साफ पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
अब, पुनरावेदन अदालत इलामबाट मिति २०७१/१२/३० मा भएको फैसला मिलेको छ वा छैन वादी नेपाल सरकार र प्रतिवादी विरेन राईको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. सो सन्दर्भमा हेर्दा प्रतिवादी विरेन राईले आफ्नी श्रीमती जानुका राईलाई कुटपिट गरी सोही चोटबाट मृतकको मृत्यु भएको हुँदा निज प्रतिवादी विरेन राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसुर अपराधमा ऐ.को १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरी मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. बमोजिम ५ वर्ष कैद सजाय हुने राय व्यक्त गरी सुरू इलाम जिल्ला अदालतबाट फैसला भएको रहेछ । उक्त फैसलाउपर प्रतिवादी विरेन राईको पुनरावेदन परी पुनरावेदन अदालत इलामबाट सुरू फैसला केही उल्टी भई मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्याई मिति २०७१/१२/३० मा फैसला भएको रहेछ । उक्त फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकार र प्रतिवादी विरेन राई दुवैपक्षको पुनरावेदन परी निर्णयार्थ पेस भएको देखियो । प्रतिवादी विरेन राईले आफ्नी श्रीमतीलाई मनसायपूर्वक कुटपिट गरी हत्या गरेको हुँदा अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको र मृतकलाई मार्ने मनसायले नभई सामान्य कुटपिट गर्दा भवितव्य पर्न गई मृत्यु भएकोले भवितव्यमा सजाय गरिपाउँ भन्ने प्रतिवादी विरेन राईको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।
३. मिति २०७१।६।२ गते श्रीमती जानुका राई मादक पदार्थ सेवन गरेर ओछ्यानमा मस्त निदाएकी र १० महिनाकी छोरी रोइरहेकी देखी निज जानुका राईलाई उठाई किन यसरी जाँड रक्सी खाएको मैले नखाउ भन्दा किन नमानेको भनी वादविवाद हुँदा मलाई अति नै रिस उठेकोले निज जानुका राईको गाला अनुहारमा मुड्की बक्सिङले भकाभक हाने र गालामा समेत १०–१२ पटक थप्पड हिर्काएपछि निज जानुका राई सोही स्थानमा लडिन् । बोलाउँदा नबोलेको कारण उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको हो भनी प्रतिवादी विरेन राईले अधिकारप्राप्त अधिकारीसमक्ष कसुर अपराधमा साबिती जनाई बयान गरेको देखिन्छ । अदालतमा समेत आई बयान गर्दा आफूले थप्पड हानेको उनको मृत्यु आफ्नो कुटपिटको कारण भएको हो (सवाल जवाफ १४ नं.) भनी कसुरमा साबित भएको अवस्था छ । मृतकको दाहिने गालामा निलडाम, निधारको दाहिनेतर्फ निलडाम, नाकको डाडींमा निल डाम, चिउँडोमा खोस्रिएको चोट (दाग), बायाँ हातको नाडीमा खोस्रीएको दाग, दायाँ नलि खुट्टामा खोस्रिएको दाग रहेको भन्ने मृतकको लास जाँज प्रकृति मुचुल्का र पोस्टमार्टम रिपोर्ट हेर्दा पेटमा करिब तीन लिटर जति रगत जमेको, The spleen ruptured from its lateral surface भन्ने उल्लेख भएको, त्यस्तै गरी घाँटीमा Ligature mark देखिएको र Scalp hematoma measuring 9cm×9cm भन्नेसमेतका विवरणहरू उल्लेख भई मृत्युको कारण Blunt force trauma to the abdomen) भन्ने उल्लेखसमेतबाट प्रतिवादीको चोटका कारण मृत्यु भएको रहेछ भन्ने देखियो । आफूले कुटपिट गरेको भन्ने कुरामा प्रतिवादी अदालतमा समेत साबित रहेको र अन्य व्यक्तिले कुटपिट गरेको भन्ने मिसिलबाट नदेखिँदा प्रतिवादीकै कारण जानुका राईको मृत्यु भएको रहेछ भन्न पर्ने हुन आयो ।
४. अब प्रतिवादी विरेन राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद नै हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र भवितव्य परी मृत्यु भएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको ५ र ६ नं. बमोजिम हुनुपर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिर हुँदा सर्वप्रथम नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ
हेरौं ।
५. यी प्रतिवादी र मृतक श्रीमान् श्रीमती नाताका भएको र निजहरूबाट १ छोरा १ छोरीको जायजन्मसमेत भएको देखिन्छ । मृतकलाई प्रतिवादीले मार्नु पर्नेसम्मको पूर्वरिसइवी रहे भएको पनि देखिँदैन र हत्यामा जोखिमी हतियारको प्रयोग भएको अवस्थासमेत छैन । रक्सी नखानका लागि पटकपटक सम्झाउँदा पनि श्रीमतीले रक्सी खान नछाडेकी र आफू कामबाट थाकेर घरमा आउँदा रक्सीले माती सुतिरहेको सानो बच्चा रोइरहेको बच्चाको स्याहारसमेत नगरेको देखेपछि रिस उठी सोही रिस थाम्न नसकी थप्पड मुक्कासमेतले श्रीमतीलाई प्रहार गर्दा बेहोस भएपछि छरछिमेकसमेत गुहार गरी गाडी खोजी औषधी उपचार गर्नको लागि हस्पिटल लैजाँदै गर्दा मृतकको मृत्यु भएको देखिन्छ । प्रतिवादीले मृतकको ज्यान लिनेसम्मको इविलाग वा मनसायसहित मुक्का प्रहार गरी हत्या गरेको भन्ने कुरा मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि हुन सकेको देखिँदैन ।
६. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुन मनसाय तत्त्वको विद्यमानता प्रमाणहरूबाट नै पुष्टि हुनुपर्दछ । तर प्रस्तुत मुद्दाको वारदातमा प्रतिवादीको मार्नेसम्मको आपराधिक मनसाय रहेको तथ्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणहरूबाट पुष्टि गराउन सकेको पाइँदैन । जाहेरवालाले जाहेरीमा पहिला पनि प्रतिवादीले कुटपिट गरेको भनी फोनमा भन्ने गरेको भने पनि सो कुरा पुष्टि हुन सकेको पाइँदैन । अनुमान, आशंका र सम्भावना जस्ता मनोगत आधारमा कुनै पनि आपराधिक कार्यमा मनसाय तत्त्वको विद्यमानता छ भनी निष्कर्ष निकाल्नु न्यायोचित हुँदैन ।
७. मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १४ नं. को कानूनी व्यवस्था हेर्दा “ज्यान मार्ने मनसाय रहेनछ ज्यान लिनुपर्नेसम्मको इवि पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुँगा, लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ ” भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको पूर्वरिसइवी रहे भएको देखिँदैन । जोखिमी हतियारको प्रयोग भएको अवस्था पनि छैन । रक्सी नखान भनी पटकपटक सम्झाउँदा पनि अटेर गरी रक्सी खाएको र सानो बच्चाको राम्रो स्याहारसमेत नगरेको कारण तत्काल रिस उठी लात मुक्का प्रहार गर्दा मृतकको मृत्यु भएको देखिन्छ । यस्तो अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहरी पुनरावेदन अदालत इलामबाट भएको फैसलालाई अन्यथा गर्नुपर्ने स्थिति देखिएन । तसर्थ अभियोग माग दाबीबमोजिम नै सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
८. अब मृतकलाई मार्ने मनसायले कुटपिट गरेको नभई सामान्य कुटपिट गर्दा भवितव्य पर्न गई मृतक श्रीमतीको मृत्यु भएको हुँदा मुलुकी ऐन ज्यानसम्बन्धीको ५ नं.को कसुरमा ऐ ६ नं. बमोजिम सजाय हुनुपर्छ भन्ने पुनरावेदक प्रतिवादी विरेन राईको पुनरावेदन जिकिरतर्फ हेर्दा मुलुकी ऐन, ज्यानसम्बन्धीको ५ नं. मा “ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएकोमा भवितव्य ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ ।
९. उक्त व्यवस्थाबाट भवितव्य ठहर्न, ज्यान लिने इविलाग वा मनसाय नभएको मात्र होइन प्रतिवादीले गरेको कार्यबाट पीडित मर्ला जस्तो पनि देखिनु हुँदैन । अर्थात् गरेको कुनै कार्यबाट मर्ला जस्तो देखिन्छ, अर्थात् गरेको कार्य र निस्केको परिणाम बीच तादात्म्यता देखिन्छ र सोको जानकारी (Knowledge) भई कार्य गरेको छ भने त्यसलाई भवितव्य मान्न मिल्दैन । भवितव्य हो वा होइन भन्नेमा कारण र परिणामको के कस्तो सम्बन्ध छ सो हेरिनु पर्छ । यस दृष्टिबाट वारदातको प्रकृति हेर्दा प्रतिवादीले श्रीमती जानुका राईले रक्सी खाई माती ओछ्यानमा सुतेको र रोइरहेको छोरीको बेवास्ता गरकोले ज्यादै रिस उठी मुड्की तथा बक्सीङले १०/१२ थप्पड हिर्काउदा बेहोस भई भुइँमा लडेकोले उपचार गराउन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको भनी मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा समेत आई कसुरमा साबित रही बयान गरेको देखिन्छ । लास जाँच मुचुल्का तथा घटनास्थल मुचुल्का, जाहेरी दरखास्त, घटना विवरण कागज र बकपत्र र Cause of Death: Blunt force trauma to the abdomen भन्नेसमेत बेहोराको पोस्टमार्टम रिपोर्टसमेतबाट मृतकको मृत्यु कुटपिटको चोटको कारण भएको भन्ने उल्लेख भएको हुँदा भवितव्य रहेछ भन्न सकिने अवस्था देखिएन । समग्र मिसिल संलग्न कागज प्रमाणबाट श्रीमतीले रक्सी खाई मातेको र खाना नबनाएको भन्ने कुरामा प्रतिवादीले रिस थाम्न नसकी आवेशमा आई आत्म नियन्त्रण गुमाई तत्काल रिस उठी अन्धाधुन्ध मृतकलाई हिर्काउँदा सोही चोटको कारण मृतकको मृत्यु भएको भन्ने देखियो । मृतकको क्रियाकलापको जरियाबाट विवाद उत्पन्न भई सोही रिसका कारण लात मुक्का प्रहार गरी सोही चोटका कारण मृतकको मृत्यु भएको अवस्था छ । वारदातको प्रकृतिबाट मृतकको कारण आवेशपूर्ण हत्या भन्ने प्रस्ट देखिन आएको हुँदा भवितव्य भई मृतकको मृत्यु भएको भन्न मिल्ने अवस्था देखिएन । तसर्थ ज्यानसम्बन्धीको ५ नं.को कसुरमा ऐ.को ६ नं. बमोजिम भवितव्यमा सजाय हुनुपर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग पनि सहमत हुन सकिएन ।
१०. तसर्थ: माथि उल्लिखित आधार र कारणहरूबाट प्रतिवादी विरेन राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १० (दश) वर्ष कैद सजाय हुने ठहर्याई पुनरावेदन अदालत, इलामबाट मिति २०७१।१२।३० मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी एवं प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. अनिलकुमार सिन्हा
इजलास अधिकृत:- मनकुमारी जि.एम.विक
इति संवत् २०७४ साल चैत्र १९ गते रोज २ शुभम् ।